![]() |
मेलाका लागि खाद्यान्न ढुवानी |
रसुवा । गोसाइँकुण्ड पुग्ने भक्तजनलाई भोजनको व्यवस्था मिलाउन खाद्यान्न ढुवानी गरिएको छ । साथै यात्रीको आवश्यक औषधोपचारका लागि ठाउँ ठाउँमा चिकित्सकको टोली सहितको स्वास्थ्य ‘युनिट’को समेत प्रबन्ध गरिएको छ ।
यही भदौ १४ गते जनैपूर्णिमासम्म लाग्ने पवित्र तीर्थ गोसाइँकुण्डको विशेष मेला भर्नका लागि १५ हजारभन्दा बढी भक्तजन नीलाद्री पर्वत पुग्ने आँकलन गर्दै स्थानीय व्यवसायीले खाद्यान्न ढुवानी गरेका हुन् । गोसाइँकुण्ड यात्राका लागि तिर्थयात्रीहरू अघिल्लो हप्तादेखिनै बाक्लो संख्यामा उकानलो लाग्न थालिसकेका छन् । रसुवाको धार्मिक तथा मुख्य पर्यटकिय स्थल गोसाइँकुण्डमा देशै भरीबाट तथा बाहिर देशबाट समेत पर्यटक तथा भक्तजनहरू आउने गरेका छन् ।
तीर्थाटनका लागि फाट्टफुट्टरूपमा भक्तजन आउने क्रम सुरू भइसकेको र धार्मिकमार्ग अन्तर्गत खन्ती, देउराली, डिम्सा, चन्दनबारी, चोलाङपाटी, लौरीविनायक र गोसाइँकुण्डसम्म खच्चरद्वारा खाद्यान्न ढुवानी गर्ने काम सम्पन्न भएको छ ।
होटल व्यवसायी संघका जिल्ला अध्यक्ष रामशरण गजुरेलले खन्तीदेखि गोसाइँकुण्डसम्म ३० टन चामल, १० टन दाल, ३० टनभन्दा बढी आलु, पाँच हजार लिटर खाने तेललगायत खाद्य सामग्री ढुवानी भइसकेकाले यात्रुलाई भोजनको समस्या नपर्ने बताए । देशका विभिन्न क्षेत्रबाट आएका भक्तजन धुञ्चेमा बास बसेर गोसाइँकुण्ड जाने गरेका छन् ।
गोसाइँकुण्डको तीर्थका लागि सामान्य रुपमा हिड्ने यात्रीहरूको लागि समेत एक रात धुञ्चे अर्को दिन चन्दनबारीमा बास बस्दा सहज हुने गर्छ । उकालोमा आवश्यक पर्ने लठ्ठी, बाँस, निगालोको व्यवस्था गरी ल्याउन र धार्मिक क्षेत्रका वन जङ्गलको कुनै पनि वनस्पति नमास्न तीर्थालुलाई अनुरोध गरिएको होटल व्यवसायी संघ रसुवाले जनाएको छ ।
यसै बीच, सुवाको गोसाइँकुण्ड आउने तिर्थयात्रुको उपचारका लागि चिकित्सक टोली तयार गरिएको छ । यही भदौ १४ गते जनैपूर्णिमाको दिन मुख्य रुपमा लाग्ने गोसाइँकुण्ड मेला भर्न आउने तिर्थालुलाई सहजताका लागि चिकित्सक टोली तयारी अवस्थामा राखिएको बताइएको छ ।
निलाद्री पर्वत पुग्ने भक्तजनलाई लेक लाग्ने (अक्सिजन अभाव) को समस्या हुन सक्ने अवस्थालाई ख्याल गर्दै हिमालय उद्धार संघले औैषधिसहित चिकित्सक टोली तयार गरेको हो । गोसाइँकुण्ड मेला भदौ ७ गतेदेखि १४ गतेसम्म लाग्ने छ । गोसाइँकुण्ड १४ हजार एक सय फिटको उचाइँमा पर्छ । भक्तजनलाई उपचार सेवा प्रदान गर्न अक्सिजनसहित छ चिकित्सक तयारी अवस्थामा राखिएको हिमालय उद्धार संघका कार्यकारी निर्देशक गोविन्द बत्स्यालले बताए ।
उक्त संस्थाका स्वास्थ्य सहायक प्रकाश खत्रीको अगुवाई एवं प्रत्यक्ष रेखदेखमा उपचार सेवा प्रदान गरिने छ । उक्त टोलीमा डा निसान्त जोशी, डा पशुपति पोखरेल, डा. श्रीयासी कार्की, डा. आयुस्का पन्त, डा. कृष्ण कँडेल र स्वास्थ्य प्राविधिक सचेत सुवेदी रहेका छन् । संघले दुई दशकदेखि कुण्ड क्षेत्रमा गोसाइँकुण्ड क्षेत्र विकास समिति, जिल्ला प्रशासन कार्यालय, जिल्ला स्वास्थ्य कार्यालय र जिल्ला अस्पताल रसुवासित सहकार्य गरी गोसाइँकुण्डमा विभिन्न सेवा दिँदै आएको छ । “दर्शनार्थीलाई चिकित्सकसहित औषधि, अक्सिजनलगायत सेवा उपलब्ध गराउँदै आएका छौँ”, कार्यकारी निर्देशक बत्स्यालले बताएका छन् । गोसाइँकुण्ड मेलाको आवश्यक प्रबन्ध मिलाउन विभिन्न उप–समितिसमेत गरिएको छ । गोसाइँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जिव डिएमका अनुसार १५ हजार भन्दा बढी भक्तजनलाई गोसाइँकुण्डमा सेवा प्रदान गर्ने लक्ष्यका साथ यात्रुको आवश्यक सेवा सुविधाका लागि संस्थाले काम गरिरहेको बताएका छन् ।
No comments:
Post a Comment