Monday, August 07, 2023

जिल्लामा सवारी चेकजाँचमा कडाइ

विदुर । जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटले मातहतका क्षेत्रमा सवारी चेकजाँचमा कडाइ गर्न थालेको छ ।
    मादक पदार्थ सेवन गरी सवारीसाधन चलाउनेको जाँचदेखि द्रुतगति र आवश्यक कागजातसमेतको चेकजाँच गरिरहेको छ । जिल्लामा दैनिकजसो ढिकुरे, खरानीटार, गुर्जेभञ्ज्याङ, तारुकाघाट, ककनी, ओखरपौवा र विदुर चेकपोस्टले पटक–पटक फरक स्थानमा बेलुका साँझको समयमा मापसे गरी सवारीसाधन चलाएको हो कि होइन भन्ने चेकजाँच दैनिकजसो गरिरहेको छ ।
    आवश्यकभन्दा बढी गतिमा सवारी चलाएको पाइए सवारी र चालक दुवैलाई नियन्त्रणमा लिएर कारबाही गरिने ब्लुबुक र लाइसेन्ससहित कागजात साथमा नभएका सवारीलाई समेत कारबाही गरिरहेको प्रहरीले जानकारी दिए । जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी प्रमुख एसपी रमेश पण्डितले ट्राफिक नियमको पालना गर्नु सबैको कर्तव्य हुने भएकाले ट्राफिक नियम उल्लंघन हुन नदिने गरी काम अघि बढाउन जिल्ला ट्राफिक प्रहरी कार्यालय र मातहतका प्रहरी कर्मचारीलाई निर्देशन दिएको बताए । जिल्ला प्रहरी प्रमुख भएर आउनेबित्तिकै उनले आफ्नो ध्यान ट्राफिक नियमको पालना गर्ने–गराउनेतर्फ केन्द्रित गरिरहेका छन् । रसुवागढी नाकाबाट केही महिनादेखि आवत–जावत खुला गरिएसँगै अवैध सामान भित्र्निे आशङ्कामा नुवाकोट प्रहरीले जिल्लाभित्र राजमार्गमा सवारी साधनलाई रोकेर विशेष चेकजाँच कडा गरिरहेको छ ।

No comments:

Post a Comment