Monday, August 28, 2023

‘नेताको फेरो समातेर चिनिनु छैन’

बासु सापकोटा

भोलाराज पौडेल

२०४२ सालमा च्वाडी स्कुलमा कक्षा ८ मा पढ्थेँ । पहिलो घण्डी लागेपछि स्कूलको प्राङ्गणमा आएर राष्ट्रिय गान राजाको गुणगान गाउनुपर्ने र त्यसपछि मात्रै कक्षामा जाने चलन थियो । शुक्रवार विद्यालयका शिक्षकहरूलाई प्रहरीले नियन्त्रणमा लिएको रहेछ । आइतवारको राष्ट्रिय गानपछि कक्षा ८ बन्द भन्ने कुरा मैले थाहा पाएँ । विद्यालयमा बामपन्थी शिक्षकहरूको बाहुल्यता थियो । शिवकुमार मिश्र, चद्र उप्रेती, भरत थापा, लवबहादुर डंगोललगायतका सरहरू जिल्लाको शैक्षिक आन्दोलनको हर्ताकर्ता थिए । पढाई नभएपछि घर आउने क्रममा बट्टारमा आदर्श विकास केन्द्र (हालको नुवाकोट आदर्श बहुमुखी क्याम्पस) त्यहाँ (शारदारमण, गणेश पण्डित) लगायतका सरहरू बसेर गतिविधि सञ्चालन गर्न‘हुँदो रहेछ । हामी विद्यार्थी झ्याल समातेर भित्रको गतिविधि हेरिरहेका थियौँ, प्रहरीको गाडी आयो । मलाई लाग्यो, त्यतिबेला लाग्यो, अव बट्टारदेखि विदुरसम्म हिँड्न नपर्ने भयो । त्यतिबेला मोटर चढ्ने रहर थियो । प्रहरीले घेरा हाल्यो, मसहित तीन जना विद्यार्थीहरू जो क्याम्पसको झ्यालबाट नियालिरहेका थियौँ, नजरमान श्रेष्ठ, ज्ञानु डंगोल, मसहितलाई प्रहरीले गाडीमा हाल्यो । मैले घर अगाडी पुगेपछि म ओर्लिन्छु भनेँ । प्रहरीले मलाई अपशब्द बोल्दै गाडीबाट ओलर्नै दिएन । आफूले चिनेका प्रहरी थिए । त्यसपछि मात्रै हामी विद्यार्थी पक्राउ परेको कुरा थाहा पायौँ । १७ जना सरहरूसहित हामी तीन जना गरी २० जना त्यस रात प्रहरी कस्टडीमा सुत्यौँ ।
    जेल परेको पहिलो दिन बेलुकी खण्डे थालमा जीवनमै पहिलो पटक खाना आइयो । आफ्नै सरहरूसँग बसेकाले पनि रमाइलो भयो । त्यसताका प्रहरीसँग राम्रै सम्वन्ध हुन्थ्यो, विदुरमा थोरै घर, हामी विदुरवासी नै भएकाले पनि सबैसँग सम्वन्ध राम्रै हुन्थ्यो । प्रहरीको बाहिरी सम्पर्क पनि कम हुने भएकाले हुन सक्छ । दुई रात थुनिएर हामी छुट्यौँ । सरहरूलाई भने बसमा हालेर नख्खु जेल पठाइयो ।
जब पञ्चायतले पिरोल्न थाल्यो
पक्राउ परेको भोलीपल्ट मलाई बयानका लागि बोलाइयो । पहिले फकायो, राम्रै कुरा ग¥यो, पुलिस आयो भनेर हल्ला गर्न बसेको हो ? भन्यो, मैले होइन मात्र भने । प्रहरीले वेस्सरी चड्कन हान्यो । १४ वर्षको मात्र थिएँ, निकै नरमाइलो लाग्यो । त्यसपछि तीन पाना नेपाली कागजमा सही गरेर म लगायत तीन जनालाई सिडिओ धनबहादुर बस्नेतले छाडिदिए । मलाई त्यति बेलासम्म राजनीति र पञ्चायत भन्ने थाहा थिएन । मेरो घरमा विभिन्न गाउँका प्रधानपञ्चहरू खाना खान आउने गरेका थिए । होटलको भात नखाने बाहुन पञ्चहरू मेरो आमालाई भात पकाउन लगाएर खाने गर्दथ्येँ । त्यसवापत उनीहरूले आमालाई पैसा पनि दिन्थे । सरहरूलाई समातेको र आफैं पनि पक्राउ परेपछि मलाई पञ्चायतले पिरोल्न थाल्यो ।
विष्णु आचार्य र पिपलबोट
काठमाडौं जानको लागि मलाई पैसा पर्दैनथ्यो । सीट खाली भए बस्न पाइन्थ्यो, नत्र पाइँदैनथ्यो । ठमेलसम्म वस जान्थ्यो । ठमेलबाट चावहिल मामाघर जानलाई महाभारत हुन्थ्यो । २०४४ सालमा स्व. युद्धविक्रम पाण्डे उहाँ अखिलको सिनियर कार्यकर्ता हुनुहुन्थ्यो । उहाँले चलाउनु भएको हर्कतभित्र म थाहै नपाई नेविसंघ भएछु । मेरो आदरणीय व्यक्तित्व भनेको स्वं. विष्णु आचार्य हुनुहुन्थ्यो । यस्ता सिनियर इतिहास भएको व्यक्तिको कांग्रेसमा लेखाजोखा हुँदैन । ‘विष्णु दाई’सँग विदुरको पिपलबोटमा (अहिलेको लोकतान्त्रिक चौतारो) मा भेट हुन्थ्यो । उहाँले धेरै कुरा सिकाउनु हुन्थ्यो । हरेक वर्ष साउन ५ गते र भदौ २३ गते पक्राउ पर्ने व्यक्ति नै विष्णु आचार्य हुन् । किनभने साउन ६ गते विपि जयन्ती र भदौ २४ गते विपिको जन्म दिन थियो । प्रहरी, प्रशासनले विष्णु आचार्यलाई पक्राउ गरेपछि नुवाकोटमा पञ्चायत विरुद्धको कांग्रेस गतिविधि बन्द हुन्छ भनेर अघिल्लो दिन नै पक्राउ गर्ने गर्दथ्यो । मैले विष्णुदाइलाई हत्कडी लगाएर लगेको देख्थ्येँ । यस घटनाले पनि मलाई नेपाली कांग्रेसमा आवद्ध भएर राजनीतिमा लाग्न बढी प्रेरित गरेको हो ।
२०४६ सालको सम्झना
२०४६ सालको आन्दोलनमा नेपाली कांग्रेस केन्द्रीय प्रचार विभागले पठाएको जनआन्दोलनको पक्षमा लाग्न उत्प्रेरित गर्ने खालको पोष्टर टाँस्ने जिम्मा पाएका थियौँ । आन्दोलनको प्रचार गर्ने अभियानमा हरिकृष्ण श्रेष्ठ म थियौँ । हरिकृष्ण श्रेष्ठ अहिले पनि पार्टी गतिविधिमै हुनुहुन्छ । त्यतिबेला हामीलाई साथ दिने निर्मल श्रेष्ठ पनि थिए । निर्मल अहिले सक्रिय राजनीतिमा छैनन् । रातको समयमा पोष्टर टाँस्ने क्रममा तत्कालीन सिडिओ भोजराज बरालको ढोका र जिल्ला पञ्चायतको ढोकामा हामीले पोष्टर टाँस्यौँ । अघिल्लो दिन हामीले सिडिओ र जिल्ला पञ्चायतको ढोकामा पोस्टर टाँसेका थियौँ, मेरो घरमा दुई जना प्रहरीको परिवारसहित बस्ने गरेका थिए । आफ्नै घरमा भएका प्रहरी परिचालन गरेर मलाई घरमै नजरबन्दमा राखियो । बाहिर जान दिइएन । म घर पछाडिबाट भागेर त्रिशूली बजार गएँ । प्रहरीले मलाई त्रिशूलीबाटै पक्राउ ग-यो ।
    प्रहरीले चर्को बयान लियो, मैले एक जनाको नाम भन्नै पर्ने भयो, मैले हरिकृष्ण र म भएर गरेको भनेँ । उहाँलाई पनि पक्राउ ग¥यो । चोकराज शाक्य र केशव खड्काले पोष्टर पठाउने काम गर्नुहुन्थ्यो । दुई महिना जेल बसियो । विष्णु आचार्य, चोकराज, नरेन्द्र महतलगायतका लक्ष्मण श्रेष्ठलगायतका यसअघि नै जेल पर्न‘भएको थियो । ठाकुर गजुरेललगायत २९ जना जेलमा रहेका थियाँै । स्व. पोष्टबहादुर बोगटीलाई ककनीबाट पनि पक्राउ गरेर ल्यायो । त्यतिबेला हामी सुत्ने ठाउँको ओढ्ने ओछ्याउने घरबाटै लैजानुपथ्र्यो । लक्ष्मणजी, पोष्टबहादुरजी र म मैले लगेको विस्तरामा सुत्ने गर्दथ्यौँ । बहुदल घोषणा भएसँगै हामी चैतको २६ गते राति ११ जना छुट्यौँ । कतिपय अघि नै छुटिसकेका थिए । ठाकुर गजुरेल र पोष्टबहादुर बामपन्थी विचारधारा र हामी सबै प्रजातान्त्रिक विचार बोक्ने रहेका थियौँ ।
एजेन्ट हुँदा नेता चिनेँ
काठमाडौंको गुणस्तर कार्यालय भएको ठाउँमा योगी नरहरीले कोटी होम लगाएका थिए । कोटीहोम दरवार र पञ्चायतको सपोर्टका लागि लगाएको भन्ने हल्ला थियो । त्यो कोटीहोमको नुवाकोटको एजेन्टको रुपमा काम गर्ने अवसर मैले पाएको थिएँ । कोटीहोमको एजेन्ट भएकाले मलाई एक दिन बिराएर सित्तैमा काठमाडौं जाने आउने सुविधा (पास) प्रशासनले दिएको थियो । संकलन भएको सामग्री, नगद पु¥याउनको लागि म काठमाडौं गइरहन्थ्येँ । र त्यहाँबाट पार्टीको निर्देशन र पोष्टर पम्प्लेट बोकेर नुवाकोट लेराउने गरेको थिएँ । संकलन भएको सामग्री कोटीहोम लगाएको ठाउँमा लगेपछि मेरो काम ठमेलमा जाने हुन्थ्यो । ठमेलमा कांग्रेस नेता चन्द्रशेखरजीहरू, स्व.विष्णु आचार्य, स्व.विष्णुप्रसाद अधिकारी (सठिया) डिल्लीबहादुर उप्रेती, क्याप्टेन प्रेमबहादुर रेग्मी, केशव भेटुवाललगायतसँग भेट हुन्थ्यो । पचास पैसा कप चिया खाएर हामी भेटघाट र योजनाहरू बनाउने काम गरिन्थ्यो । त्यतिबेला नेपाली कांग्रेसका नेताहरूसँग चिनजान राम्रैसँग बढ्दै गयो ।
अन्तर्घातको पूरानो रोग
प्रजातन्त्रको पुर्नवहालीपछि अर्ज‘ननरसिंह केसी कांग्रेसमा प्रवेश गर्ने हल्ला भयो । जिल्ला पञ्चायतको सभापति, सुर्यबहादुर थापाको राप्रपाको महामन्त्री रहेका र पञ्चायतको स्वास्थ्यमन्त्री बनेका केसीलाई पार्टी प्रवेश गराउने विषयमा तिब्र धु्रविकरण भयो । गणेशमान सिंहले पार्टीमा भित्र्याउनुपर्छ भन्ने र गिरिजाप्रसाद कोइरालालगायत पार्टीमा लिन हुन्न भन्ने लाइनमा विभाजन भयो । पहिलो पटक केसीको कांग्रेस प्रवेश गर्ने योजना असफल भयो । म अर्ज‘नदाईलाई कांग्रेसमा लेराउनुपर्छ भन्ने लाइनमा थिएँ । त्यतिबेला म उद्घोषण गर्ने कलामा पोख्त थिएँ । मैले पार्टीको हरेक गतिविधिमा उद्घोषण गर्दै आएको थिएँ ।
    दोस्रो पटक पुर्व राष्ट्रपति विद्या भण्डारीसँग कृष्णप्रसाद भट्टराईको चुनाव हुने भयो । उठ्न रोक्नु पथ्योँ, तर रोकिएन । भट्टराईलाई जिताउनको लागि हामी नुवाकोटबाट धेरै कार्यकर्ता त्यहाँ पुग्यौँ । सुरेन्द्र अधिकारी, हरिकृष्ण मेरो दुई ठाउँमा नामावली रहेको थियो । चुनाव प्रचारप्रसारमै रहँदा अर्ज‘ननरसिंह केसीसहितको गिरिजाप्रसाद कोइरालाको टोलीले आफ्नै सभापति हराएर विद्या भण्डारीलाई जिताउनको लागि सुर्य चिन्हमा मतदान गर्न आग्रह भएछ । हामीले यसको ठूलो प्रतिवाद ग¥यौँ । भट्टराईले चुनाव हारे । अर्ज‘नदाईको टोली भट्टराईलाई चुनाव हराउन लागेको प्रस्टै हामीले थाह पायौँ । आफ्नै पार्टीको सभापतिलाई हराउन शक्ति प्रयोग गर्नेसम्मको हर्कत नेताहरूबाट भयो । हामीले सिकेको, बुझेको र भोगेको कांग्रेस यर्थाथमा त्यो होइन रहेछ । २०५६ सालको निर्वाचनमा गिरिजाले हामी कृष्णप्रसाद भट्टराईको नेतृत्वमा चुनावमा जाँदैछौँ भनेर घोषणा गरेँ । कांग्रेसले जित्यो पनि । फेरी ६ महिना नै पुग्न नपाई गिरिजाले भट्टराईलाई पाखा लगाए । त्यसपछि गिरिजा आफैं प्रधानमन्त्री भए । ठूला उतावचढाव भए । नेपाली कांग्रेस यस्तै आन्तरिक कलहका कारण फुट्यो । पछिल्लो पटक कांग्रेस प्रजातान्त्रिकमा आवद्ध भए । नेताहरू धेरै जसो काठमाडौं बस्ने भएकाले सबै गतिविधि जिल्लाबाट मैले नै सम्हालेको थिए ।
२०६२/०६३ को जनआन्दोलन
२०६२/०६३ को जनआन्दोलनको सन्दर्भको कुरा गर्दा पहिलो कू मा मेरो अलि फरक मत थियो । जनताको निर्वाचित प्रधानमन्त्री पुर्नवहाली हुनुपर्छ भन्ने पक्षमा म थिएँ । दोस्रो कू को बेलामा सिष्टमको विरुद्धमा हामीले नाराबाजी सुरु ग¥यौँ । त्यतिबेला राजनीतिमा अत्यन्तै सक्रिय जुझारु नेता स्व. उपेन्द्र ओझा । गोविन्द नेपाली, विन्दा ढुंगानालगायतका बट्टार बजारबाट जुलुस निकालेर हामी विदुर आउने गर्दथ्यौँ । त्यतिबेला देशव्यापी आन्दोलनको कार्यक्रम घोषणा नै भएको थिएन । ज्ञानेन्द्रले नगर चुनावको घोषणा गरेका थिए । त्यो चुनावको विरुद्धमा हामी यहाँ आन्दोलनमा होमिएका थियौँ । हामीलाई मैथली व्यारेकबाट २९ जनालाई पक्राउ गर्यौ । हामी एक कम्तिमा एक महिना इलममा बस्यौं । कोही अलि चाडो र कोही अलि ढिलो निस्कएका थिए ।
आवश्यकतामा फिट हुने मान्छे
मान्छे आशावादी र महत्वकाक्षी स्वभावको हुन्छ । म रैतीबाट नागरिक बनाउने अभियानमा पटक पटक होमिएको थिएँ । म त्यतिबेला फिट भएँ । अहिले फिट रैनछु । म फेरी पनि भन्छु, आवश्यकता प¥यो भने यस्ता आन्दोलनमा सहभागी हुन्छु पनि । २०५४ सालको स्थानीय निर्वाचनमा मलाई वडा सदस्य पदको टिकट पाएको थिएँ ।
    झारपात सबै एमाले भएको बेला मैले शानदार मत ल्याएर चुनाव हारेँ । त्यो भन्दा ठूलो उपलब्धी मैले कांग्रेसमा लागेपछि प्राप्त गरेको छैन । पार्टीमा जिल्ला कमिटिको सदस्य धेरै पटक भएँ । कांग्रेसमा व्यक्तिको चाकडी गर्नेहरूले केही फाइदा लिएका छन् । पार्टी, संगठन र इमान्दारितापूर्वक काम गर्नेहरू जहिले पनि पछि परेका छन् । पार्टीको होइन, व्यक्तिको पछि लाग्नेहरूले फाइदा लिएका होलान् । स्वाभिमानमा विश्वास गर्ने, पार्टी निति र सिद्धान्तमा अडिक रहनेलाई स्वभाविक रुपमा पछि पार्दा रहेछन् ।
    तर, पनि मलाई कुनै गुनासो छैन । पार्टीले केही दिन्छ भनेर पार्टीमा लागेको होइन । व्यक्ति व्यक्तिको चाकडीमा आउने पदको कुनै लोभ मलाई छैन । अमुक नेताको फेर समातेर म यस्तो मान्छे भनेर चिनाउनु मलाई छैन । अहिले लागेको चाँहि अहिले प्रधानमन्त्रीले देशमा सर्वसत्तावाद लाद्न खोजेका छन् । यो कुरा स्वीकार्य छैन । कस्ता कस्ता शक्ति त ढलेका उदाहरण धेरै छन् । यस्ता झ्यास ओली धेरै दिन टिक्छन् जस्तो मलाई लाग्दैन । –यो समय डटकमबाट

No comments:

Post a Comment