Monday, August 21, 2023

तीनपिप्ले–रानीपौवा सडकमा १ अर्ब ३४ करोड

 तीनपिप्ले–रानीपौवा सडक

काठमाडौं । वर्षौंदेखि अलपत्र पारिएको पासाङल्हामु सडकको तीनपिप्ले–रानीपौवा खण्डलाई बहुवर्षीय ठेक्का प्रक्रियामा लगिने भएको छ ।
    काठमाडौंबाट नुवाकोट प्रवेश गर्ने सबभन्दा पुरानो मार्ग बालाजु–त्रिशुली सडकको तीनपिप्ले–रानीपौवा खण्डलाई बहुवर्षीय ठेक्काको सहमतिका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बिहीबार राष्ट्रिय योजना आयोगलाई लेखी पठाएको हो । मन्त्रालयका प्रवक्ता एवं सहसचिव भीमार्जुन अधिकारीले मन्त्रीस्तरीय निर्णयबाट तीनपिप्ले–रानीपौवा सडक बहुवर्षीय ठेक्का प्रक्रियाबाट निर्माणका लागि योजना आयोगमा सहमति मागिएको जानकारी दिए ।
    ‘चालु आ.व. २०८०/८१ को लागि तीनपिप्ले– रानीपौवा सडक खण्डको लागि ५० करोड रुपैयाँ विनियोजन भएको र उक्त सडकको चेनेज ९+०८५ देखि –१+६०० सम्म (१२.५१५ किमि) सडक स्तरोन्नतिको लागि १ अर्ब ३३ करोड ९३ हजार २६८ रुपैयाँको लागत अनुमान पेश भएकोले अन्य ठेक्काहरुसँग दोहोरोपना नहुने गरी, यसअघि सो खण्डमा भएको ठेक्काको सम्बन्धमा प्रचलित कानुन बमोजिमका एयकत–तभचmष्लबतष्यल का कार्यहरु सम्पन्न गरी साथै आयोजना कार्यान्वयनका सम्पूर्ण पूर्वतयारीका कार्यहरु सम्पन्न गरी प्रचलित कानुन तथा स्वीकृत मापदण्डको अधीनमा रही खर्च/कार्यान्वयन/व्यवस्थापन गर्ने गरी १ अर्ब ३३ करोड ९३ हजार ६८ रुपैयाँ रकम बराबरको बहुवर्षीय ठेक्का गर्न सहमति सम्बन्धमा अनुरोध गरी पठाइएको ब्यहोरा मिति २०८०/०४/३२ (मा. मन्त्रीस्तर) को निर्णयानुसार अनुरोध छ,’ शाखा अधिकृत अस्मिता पन्थीद्वारा हस्ताक्षरित पत्रमा उल्लेख छ ।
    सोही मार्ग (काठमाडौं–बालाजु–रानीपौवा खण्ड) को मुड्खु–तीनपिप्ले ५ किलोमिटर ‘फास्ट ट्रयाक’मार्फत गत वर्ष नै कालोपत्र गराइएको छ । बालाजु–रानीपौवाको १७.१० किलोमिटरमध्ये ५ किलोमिटर सडक स्तरोन्नति भएकाले अर्थको स्रोत सुनिश्चितासहित अब योजना आयोगले सहमति दिएपछि १२ किमि सडक असफाल्ट प्रक्रियाबाट निर्माणका लागि सडक सुधार तथा विकास आयोजना निर्देशनालयले ठेक्का आह्वान गर्नेछ ।
    बहुवर्षीय ठेक्कासम्बन्धी मापदण्ड २०७७ अनुसार आयोगमा आयोजना प्रस्ताव प्राप्त भएको मितिले सात दिनभित्र आयोगले मूल्यांकन गरी उपयुक्त देखिएको प्रस्तावका लागि स्रोतका सम्बन्धमा अर्थमन्त्रालयमा सहमति लिनु पर्ने व्यवस्था छ ।
    त्यसको अर्को सात दिनभित्र मन्त्रालयले सहमतिसम्बन्धी निर्णय आयोगलाई जानकारी दिनुपर्नेछ । त्यसपछि आयोगले मापदण्डबमोजिम सर्तको अधिनमा रही बहुवर्षीय ठेक्काको स्वीकृति दिन सक्नेछ भन्ने मापदण्डमा लेखिएको छ । दुई वर्षभन्दा बढी समय लाग्ने ठेक्कालाई बहुवर्षीय मानिन्छ ।
    नुवाकोट निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं पूर्वमन्त्री हितबहादुर तामाङले आफूहरुले लामो समयदेखि प्रतिनिधिसभा र सम्बन्धित मन्त्रालय अनि प्रधानमन्त्रीकहाँसमेत ध्यानाकर्षण र आवाज उठाइएकोले तीनपिप्ले–रानीपौवा सडकको स्तरोन्नतिको प्रक्रिया तीव्र गतिमा अगाडि बढेको जानकारी गराए । सांसद तामाङले आफ्नो सामाजिक सञ्जाल फेसबुकको आधिकारिक पेजमा शुक्रबार ‘पासाङल्हामु राजमार्गको तीनपिप्ले रानीपौवा सडकको भदौ महिनाभित्रै टेण्डर हुने’ सन्देश जारी गरेका छन् ।
    बालाजु–रानीपौवाको १७.१० किमि सडक स्तरोन्नतिका लागि ९ वर्षअघि भारतीय निर्माण कम्पनी एआईपीएलसँग शैलुङ कन्स्ट्रक्सनले संयुक्त ठेक्का लिए पनि काम हुन सकेको थिएन ।
    सात पटक म्याद थप्दा पनि आयोजनामा प्रगति नभएपछि सडक सुधार तथा विकास आयोजना निर्देशनालयले गत वर्षको असार ५ मा ठेक्का तोडेको थियो । ठेकेदार कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले गत भदौ ८ मा तीन वर्षका लागि कालोसूचीमा राखेको छ ।
    सुरुमा बालाजु–रानीपौवा खण्डको कुल ठेक्का रकम ३४ करोड ९४ लाख ७१ हजार रुपैयाँ रहेकामा १८ करोड ९५ लाख ४७ हजार रुपैयाँ भुक्तानीसमेत दिइएको थियो । रानीपौवा–त्रिशुली खण्डको पनि ठेक्का तोडिसकिएको थियो । पटक पटक म्याद थप्दा पनि प्रगति नभएपछि ठेक्का तोडिएको हो, जसको ठेक्का दिनेशचन्द्र आर अग्रवालसँग नागार्ज‘न–कोसी एन्ड न्यौपाने कम्पनीले जेभीमा लिएको हो । कम्पनीलाई तीन वर्षसम्म नयाँ ठेक्का नपाउने गरी गत वर्ष साउनमा कालोसूचीमा राखिएको हो । जुन खण्डको दूरी ३४.१८ किमि छ ।

No comments:

Post a Comment