Monday, August 21, 2023

२०८० साल भदौ ४ गतेको सम्पादकीय

 घरेलु तरिकाबाटै डेंगु छल्न सकिन्छ
सन् २००४ मा नेपालमा डेंगुको पहिलो रिपोर्ट आएदेखि हालसम्म हज्जारौ डेंगुका बिरामीको रिपोर्ट भएको छ । सन् २०१८ मा डेंगुका बिरामी झन्डै पाँच गुणा बढेको थियो । सन् २०१९ मा यो संख्या १४० गुणा बढी थियो । अहिले देशैभरी डेंगुको संक्रमण बढ्दो छ । अन्य वर्षहरू भन्दा यो वर्ष धेरै गुणले यसको संक्रमण फैलिएको अनुमान छ । केही वर्षदेखि मध्य पहाड र त्यस बाहिर फैलिने क्रम बढेको छ । जलवायु परिवर्तन र हिमाली क्षेत्रमा बढ्दो तापक्रमका कारण लामखुट्टेको वृद्धिदर बढ्दो छ । पृथ्वीको बढ्दो तापक्रम, अनियन्त्रित शहरीकरण, बढ्दो यातायात र लामखुट्टे नियन्त्रण प्रभावकारी हुन नसक्दा डेंगु समतल र पहाडी क्षेत्रहरूमा फैलिएको हुनसक्छ । त्यसैले दिनप्रतिदिन डेंगु ज्वरोका कारण बिरामी हुने दर पनि बढ्दो छ । तसर्थ सरकारले सम्भावित प्रकोपको बारेमा छिटो छरितो सतर्कता अपनाएर र डेंगुको रिपोर्टिङ गर्ने प्रणालीको विकास गरेको छ । तथापि डेंगुको प्रकोपलाई रोक्न सरकार र स्वास्थ्य क्षेत्रको सक्रियता पर्याप्त भने हुन सकेको छैन । भविष्यमा डेंगुको महामारीलाई कम गर्न निदान र स्रोतहरूको उपलब्धता बढाउन तत्काल उपायहरू अपनाउन र जनचेतना फैलाउन पनि आवश्यक छ । तसर्थ यस लेखमार्फ जनचेतना अभिवृद्धि गर्ने जमर्काे गरिएको छ । डेंगु ज्वरो ‘आर्बाेभाइरस’ को कारणले हुन्छ । जुन भाइरस पोथी एडिस एजिप्टाई र एडिस एल्बोपिक्टस लामखुट्टेबाट सर्ने गर्दछ । डेंगु संक्रमित व्यक्तिलाई टोक्दा एडिस एजिप्टाई र एडिस एल्बोपिक्टस लामखुट्टे पनि डेंगु भाइरसबाट संक्रमित हुन्छ । यस लामखुट्टे वर्षाको मौसममा वृद्धि हुन्छ । तर, पानीले भरिएको फूलको भाँडो, प्लाष्टिकको झोला र क्यानमा वर्षैभरि वृद्धि भइरहन्छ । संक्रमित लामखुट्टेको टोकाइले रोग लाग्नसक्छ । तर, डेंगु ज्वरो सीधै एक व्यक्तिबाट अर्काेमा सर्दैन । डेंगु ज्वरोको कारक भाइरसलाई मध्यवर्ती भेक्टरको रुपमा लामखुट्टले एक व्यक्तिबाट अर्को व्यक्तिमा लैजान्छ । मानिसहरूमा डेंगु भाइरसका चार मुख्य सेरोटाइपहरूमा डेन भी– १, डेन भी– २, डेन भी– ३ र डेन भी– ४ हुन्छन् । यीमध्ये कुनै पनि सेरोटाइपको संक्रमणले मानिसहरूमा आजीवन प्रतिरक्षा प्रदान गर्दछ । मनसुनपछिको समयलाई डेंगु भाइरसको उच्च प्रभावित सिजन मानिए पनि नेपालमा प्रि–मनसुन, मनसुन र मनसुनपछिको सिजनमा डेंगु ज्वरोको प्रकोप देखिएको छ ।
    डेंगुको रोकथाम गर्न रोग निम्त्याउने भाइरस बोक्ने लामखुट्टेको नियन्त्रण वा उन्मूलन आवश्यक हुन्छ । लामखुट्टेको टोकाइबाट बच्न लामो पाइन्ट र लामो बाहुला भएको लुगा लगाउनुपर्छ । व्यक्तिगत सुरक्षाको लागि डेंगुको महामारी भएको ठाउँमा जाँदा लामखुट्टे निरोधक स्प्रेहरू प्रयोग गर्नुपर्छ । झूलको प्रयोग गरेर सुत्ने बनी बसाल्नुपर्छ । लामखुट्टेको वृद्धि कम गर्न घर वरिपरि भएका खाल्डाहरू पुर्ने र पानी जम्न दिनु हुँदैन । पानी जम्ने पोखरी तथा खाल्डाहरूमा कीटनाशक विषादी प्रयोग गर्नुपर्छ । लामखुट्टे भगाउने गुण भएका लेमनग्रास वा तुलसी भाँडोमा पनि रोप्न सकिन्छ । यदि बगैंचा छ भने नीमको रुख रोप्न सकिन्छ । सुकेका नीमका पातहरू जलाएर, आफ्नो वरपरको लामखुट्टेलाई भगाउन सकिन्छ ।
    घरेलु विधिबाट पनि डेंगुको उपचारमा सहयोग पुग्छ । मेवाको हरियो पातको रसले रगतमा प्लेटलेटको संख्या बढाउनुका साथै प्रतिरोधात्मक क्षमता पनि बढाउँछ । यसले डेंगुको उपचारमा पनि मद्दत गर्छ । मेवाको पातको रस दुई चम्चा दिनमा तीन पटक ६ घण्टाको अन्तरालमा सेवन गर्नु उपयुक्त हुन्छ । अम्बाको रसमा धेरै पोषक तत्वहरू हुन्छन् । भिटामिन सी प्रशस्त मात्रामा पाइने हुँदा रोग प्रतिरोधात्मक क्षमता बढाउन यसले मद्दत गर्छ । एक कप अम्बाको ताजा रस दिनमा दुई पटक पिउने वा ताजा अम्बा पनि खान सकिन्छ । मेथीको दानामा पनि धेरै पोषक तत्व जस्तै भिटामिन सी, के र फाइबर प्रशस्त पाइन्छ । एक कप तातोपानीमा मेथीको दाना भिजाइ पानी चिसो बनाएर दिनमा दुई पटक पिउँदा डेंगु ज्वरोलाई नियन्त्रण गर्न र रोग प्रतिरोधात्मक क्षमता बढाउन मद्दत गर्दछ । आहारमा रोग प्रतिरोधात्मक क्षमता बढाउने खानेकुराहरू सुन्तला, कागती, अमला, अनार, फर्सी, तीते करेला, लसुन, बदाम, बेसार, दालचिनी, तेजपत्ता, अदुवाको धूलो आदिको सेवन गर्न सकिन्छ ।

No comments:

Post a Comment