Monday, August 07, 2023

चिनियाँ टोली नुवाकोट दरबार पुनर्निर्माणका लागि भ्रमणमा आएका होइनन्

 
चिनियाँ टोली सहित दोभाषे नेपालीलाई दरवार क्षेत्रमा स्वागत गर्दै विदुर नपाका मेयर राजन श्रेष्ठ (हात मिलाउँदै सेटो टिसर्टमा)  । तर, चिनियाँहरू दरवार मर्मत होइन हेर्न र घुम्न गएका हुन् ।
समाचार टिप्पणी

कपिलदेव खनाल
बुधवार चिनियाँ टोली नुवाकोटमा सम्भाव्यता अध्ययन गर्न आएको र अलपत्र रहेको नुवाकोटको साततले दरवार अनुगमन गरे छिट्टै पुनर्निर्माण सुचारु गर्ने प्रतिबद्धता जनाएको समाचार सार्वजनिक भयो । तर भ्रमणमा आएका ति चिनियाँ टोली न साततले दरवार पुनर्निर्माणसंग सम्बन्धित हुन् न दरवार पुनर्निर्माणमा चासो राखेर दरवार उक्लिएका हुन् ।
    विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठ, वडा अध्यक्ष दिपक कायस्थ लगायतका जनप्रतिनिधिहरू समेत चिनियाँ टोली दरवार बनाउने विषय बुझ्न आए भन्दै हुर्तुराउँदै बुधवार बिहानै उनीहरू भेट्न नुवाकोट स्थित साततले दरवार परिषर पुगे । उनीहरू दरवार पुनर्निर्माणसंग कुनै सरोकार नराख्ने टोली हो भन्ने जानकारी वडा नं. २ का अध्यक्ष दीपक कायस्थलाई मंगलवार बेलुकानै थियो । तर पनि जनप्रतिनिधिहरूले ‘के के न हुने भयो र को को न आयो’ जस्तरी उनीहरूलाई किन प्राथमिकता दिए र दरवार पुनर्निर्माण गर्न चिनियाँ पक्ष तयार रहेको र छिट्टै काम सुरु हुने भयो भन्ने प्रचार गरियो अनौठो विषय छ ।
    नुवाकोट जिल्लाका सम्भावित बिभिन्न ठाउँमा रेल मार्ग सहित नुवाकोटको विकासका लागि अध्ययन गर्नका लागि चिनियाँ टोली नुवाकोट आइपुगेको भनेर बुधवार समाचारहरू लेखिए । विभिन्न क्षेत्रको विकासका लागि सर्भे तथा नुवाकोटमा सम्भाब्यता अध्ययन गर्न नेपाल आएको टोलीले पहिलो दिन बुधबार नुवाकोटको साततले दरवारसहित त्यहाँ रहेका अन्य प्राकृतिक तथा विभिन्न सम्पदाहरूको अवलोकन गरेको जनप्रतिनिधिहरूलेनै आपचारिक रुपमा बताइरहेका छन् । तर उक्त चिनियाँ टोली नुवाकोट मंगलवारको रात बसेको र बुधवार नुवाकोटको साततले दरवार हेर्न मात्रै गएका हुन् । तर उनीहरूको भ्रमणको उद्देश्य र तातपर्य समेत नबुझी मेयर सहितका ‘जम्बो’ टोलीले चिनियाँ टोलीले साततले दरबार, गारद घर, रंगमहल, तुलजा मन्दिर, लामपाटी, सेतोपाटी, नारायण मन्दिर र विष्णु मन्दिरको अबलोकन गराए । अनि मेयर श्रेष्ठले तत्काल दरवारको पुन निर्माणमा चासो दिन सम्बन्धित निकायलाइ ध्यानाकर्षण गराएको र आफ्नो आग्रहलाई चनियाँ पक्षले सकारात्मक रुपमा लिएको र  छिट्टै काम थाल्ने आश्वासन दिएको बताए ।
    मंगलवार केरुङ हुँदै रसुवागढी नाबाबाट भित्रिएका सात जनाको चिनियाँ टोली मंगलवार राती नुवाकोट बास बसेका हुन् । नुवाकोट आइपुगेको बेलामा उक्त चिनियाँ टोलीसंग नेपाल घरेलु तथा साना उद्योग महासंघ नुवाकोटले बट्टारमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको थियो । रामकृष्ण राजभण्डारीको पहलमा नेपाल चीन आर्थिक प्रबद्र्धन सम्बन्धी अन्तरक्रिया कार्यक्रम बट्टारको होटल होरतीमा साँझ ५ बजे भएको थियो । चिनियाँ टोलीमा भने चीनकै केही विश्वविद्यलायका प्राध्यापकहरू, चीन सरकारको रेल विभागमा समेत कार्यरत एक प्रतिनिधिहरू सहभागि थिए । त्यो कार्यक्रममा पुर्न सांसद नारायणप्रसाद खतिवडा, विदुर नगरपालिकाका पुर्व मेयर सञ्जु पण्डित, पुर्व उपमेयर गीता दाहाल, वडा अध्यक्षहरू, व्यवसायीक तथा पेशागत संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरूको बाक्लो उपस्थिति थियो । अन्तरक्रिया कार्यक्रममा नुवाकोटकका लागि चीनसंगको अपेक्षा सहितको अन्तरक्रिया भनिएपछि यो पंक्तिकारले नुवाकोटको साततले दरवार समेत पुनर्निमाण गर्न नसकेर अलपत्र पार्ने चिनियाँसंग नुवाकोटको केही अपेक्षा नरहेको बताइदिएँ । त्यसपछि चिनियाँ टोलीसंग आएका नेपालका एक दोभाषे प्रतिनिधिले दरवार बनाउने टोली र उनीहरू फरक रहेको प्रष्ट पारे । त्यसो भए चिनियाँ पक्षले गर्छु भनेर लिएको एउटा जिम्मेवारी पनि कस्तो अवस्थामा छ त्यो उनीहरूले पनि थाहा पाउनुपर्छ, त्यसका लागि दरवार लगेर लेखाइदिन यस पंक्तिकारले आग्रह गरेको थिएँ । सोही कार्यक्रममा व्यक्त भएको प्रतिबद्धता अनुसार नै ति चिनियाँहरू बुधवार बिहान दरवार हेर्न गएका हुन्, त्यो बन्दा बढी र दरवार पुननिर्माण हुनै लाग्यो भन्ने गरी वास्तविकता केही होइन । त्यही कार्यक्रममा विदुर नगरपालिका वडा नंं. १ का अध्यक्ष लेलिन रञ्जितले पाँच वर्ष पहिला पनि चिनियाँ पक्ष र विदुर नगरपालिकाबीच औपचारिक छलफल भएको र विदुरलाई चिनियाँहरूले व्ययवसायिक ‘ट्रान्जिट प्वइन्ट’ बनाउने गरी काम अघि बढेको जानकारी दिएर गएको र अहिलेसम्म त्यस विषयमा लिखित, मौखिक जानकारी नआएको र केही प्रक्रृया नै अगाडी बढेको बताए ।  
    यही बुधवार चिनियाँ टोलीले दरवार अवलोकन गरेको र निर्माणको काम अघि बढ्ने भयो भन्ने गरी फैलिएको समाचार र त्यसको बास्तविकताको एउटा साक्षीको रुपमा यस पंक्तिकार रहेकै कारण यस्तो भन्न मन लागिरहेको छः हामी हावाकै तालमा कुदिरहेका छौं । कुनै चिनियाँ नागरिक आफ्नो कामले वा अन्य कुनै प्रयोजनमा नुवाकोट आयो भनेपनि रेल झोलामै हालेर ल्याएका छन्, अब छाडेर जान्छन् ।

No comments:

Post a Comment