Monday, August 28, 2023

नुवाकोटमा दुई ‘इलेक्ट्रिक चार्जिङ स्टेशन’

स्टेशन उद्घाटन गर्दै नगर प्रमुख श्रेष्ठ

विदुर । नुवाकोटमा पनि विद्युतीय सवारी साधन चार्जिङ स्टेशन निर्माण भएको छ । बट्टारको हावाघर र बट्टारकै बसपार्कमा निर्माण भएका चार्जिङ स्टेशन बुधवारदेखि सञ्चालनमा आएको छ ।
    विदुर नगरपालिका वडा नं. ४ बट्टार हावाघर र बट्टार वसपार्कमा नेपाल विद्युत् प्राधिकरणले दुई वटा चाजिङ स्टेशन निर्माण गरेकोहो । बुधवार विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठले उद्घाटन गरे । इलेक्टिक भेइकल चार्जिङ स्टेशन सञ्चालनमा आएपछि नुवाकोट आउने विद्युतीय सवारी साधन चार्ज गर्न सहज भएको छ । निजी सवारी साधनलाई हावाघरमा रहेको चार्जिङ स्टेशन र सार्वजनिक यातायातको सेवा प्रवाह गर्ने सवारी साधनलाई बसपार्कको चार्जिङ स्टेशनमा चार्जको व्यवस्था मिलाइएको छ ।
    हावाघरमा निर्माण भएको चार्जिङ स्टेशन प्राधिकरणकै जग्गामा निर्माण भएको हो भने बसपार्कमा निर्माण भएको स्टेशनको जग्गा विदुर नगरपालिकाले उपलब्ध गराएको हो । नुवाकोटमा विद्युतीय सार्वजनिक सवारीसाधनमार्फत सेवा दिँदा विदुर नगरपालिकाले आर्थिक सहयोग समेत उपलब्ध गराउने नगरप्रमुख राजन श्रेष्ठले प्रतिबद्धता जनाएका छन् । चार्जिङ स्टेशन स्थापना भएपछि विद्युतीय सार्वजनिक यातायातका साधन खरिद गरी सञ्चालनमा ल्याउने व्यवसायीलाई नगरपालिकाले प्रोत्साहनसमेत गर्ने नगर प्रमुख श्रेष्ठले प्रतिवद्धता व्यक्त गरे ।
    चार्जिङ स्टेशन उद्घाटन कार्यक्रममा विदुर नगरपालिकाका उपप्रमुख प्रभा बोगटी, विभिन्न वडाका अध्यक्षहरू, वडासदस्यहरू, स्टेशन निर्माण गर्ने नेपाल विद्युत प्राधिकरणका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

No comments:

Post a Comment