Monday, August 28, 2023

२०८० साल भदौ ११ गतेको सम्पादकीय

 पठनपाठनको शैली बदलौं
केही दिनअघि कक्षा १२ को परीक्षाको नतिजा प्रकाशित गरिएको छ । यस वर्ष झण्डै आधा (४९ प्रतिशत) विद्यार्थी असफल (ननग्रेडिङ) मा दर्ज भएका छन् । राष्ट्रिय परीक्षा बोर्डले दाबी गरे जस्तो अघिल्लो वर्षभन्दा दुई प्रतिशत बढी विद्यार्थी उत्तीर्ण भइहाल्दैमा शिक्षामा सुधार आयो भन्न मिल्दैन । यसो त उत्तीर्ण विद्यार्थी एक÷दुई प्रतिशत घटबढ हुनुले परिवर्तन आइहाल्यो भन्ने अर्थ दिंदैन । केही वर्षसम्म लगातार राम्रो प्रतिशतका साथ विद्यार्थी उत्तीर्ण हुने दर बढ्दै गएमा त्यतिबेला शिक्षामा सुधार हुँदै गयो भन्ने हिच्किचाइरहनु परेन । तर, यो राष्ट्रिय परीक्षाको नतिजामा आधा विद्यार्थी असफल हुनु देशको शिक्षा अवस्था कति नाजुक छ भन्ने तस्बिर छर्लङ्ग पारिदिएको छ । यो शिक्षा क्षेत्रको मात्रै सरोकारको विषय होइन । यो समग्र देशको विषय हो । देशको अवस्थाको प्रतिबिम्ब हो । यदि देशमा जिम्मेवार प्रधानमन्त्री र सरकार हुन्थ्यो भने तत्काल शिक्षाको नीतिगत तहमा काम गर्ने सबै सरोकारवाला पक्षलाई बोलाएर शिक्षा व्यवस्था जे–जसरी चलिरहेको छ त्यसलाई बदल्न लक्ष्य सहितको स्पष्ट मार्गचित्र सहित अग्रसर हुन्थे । तर, यसो भइरहेको छैन । यसको परिणाम धेरै वर्ष पछिसम्म पनि लाखौं विद्यार्थीले परीक्षामा असफलताको ‘ट्याग’ टाँस्नुपर्ने अवस्था देखिंदैछ । ठूलो संख्यामा विद्यार्थी असफल हुँदै गर्दा देशको शिक्षा हाँक्ने र सञ्चालन गर्ने निकाय पनि असफल भएको बारे कमै मात्र बहस हुने गरेको छ । यसरी हरेक वर्ष विद्यालय र क्याम्पसमा उच्च संख्यामा विद्यार्थी असफल हुनुको अर्थ शिक्षा मन्त्रालय असफल भएको हो । शिक्षा मन्त्री र नीति बनाउने कर्मचारी असफल भएका हुन् । विश्वविद्यालयका पदाधिकारी असफल भएका हुन् । राष्ट्रिय परीक्षा बोर्ड असफल भएको हो । विद्यालय शिक्षा सञ्चालन गर्ने अधिकार पाएको स्थानीय निकाय असफल भएको हो । पाठ्यक्रम असफल भएको हो । शिक्षणको तौरतरिका असफल भएको हो ।
    परीक्षाले विद्यार्थीको स्तर मात्र जाँच गर्दैन शिक्षाको नीति, पाठ्यक्रम, शिक्षण विधि, परीक्षा स्वयंको पनि जाँच गरेको हुन्छ । धेरै विद्यार्थी असफल हुनु र परीक्षामा पास भएका विद्यार्थीले पनि केही गर्न नसक्नुको सन्देश हो, शिक्षा प्रक्रिया असफल छ, यसको तौरतरिका बदल भनेको हो । समस्या एकातिर मात्रै छैन । पाठ्यक्रम, शिक्षकको क्षमता, शिक्षण विधि, परीक्षा प्रणाली सबैतिर केही न केही समस्या छ । शिक्षामा राजनीति, अपर्याप्त बजेट, लक्ष्यविहीन शिक्षा प्रणालीले देशलाई आवश्यक उत्कृष्ट मानव पूँजीको उत्पादन गर्नबाट छेकेको छ । तैपनि दशकौं अघिदेखिको शिक्षा प्रणाली आज पनि कायम छ । उही प्रक्रिया दोहो¥याएर फरक परिणाम हासिल हुन सक्दैनथ्यो, भएन । आज विद्यालयमा पढ्दै गरेको विद्यार्थीले आफ्नो वरिपरि सर्वत्र विश्वविद्यालय पढेर बेरोजगार दाइदिदीहरू देखेका छन् । कैयौं दाइदिदी उच्च शिक्षा लिएर पनि खाडी मुलुकदेखि कोरियासम्मका मुलुकमा श्रम गर्न उडिरहेको देखेका छन् । यसले आज विद्यालयमा पढ्न गएका विद्यार्थीमा पढे पनि स्वदेशमा भविष्य राम्रो छैन भन्ने सन्देश प्रवाह गरेको छ ।
    यस हुनुको कारण पनि कक्षाकोठाको शिक्षण र विद्यार्थीको प्रोत्साहनसँग जोडिएको छ भन्ने कुरामा स्पष्ट छ । कोरियन भाषा ३ महिना पढेपछि विद्यार्थीले महिनामा लाखौं कमाउने सम्भावनाको ढोका खुल्छ । ३ महिनाको कोर्सले विद्यार्थीलाई उज्ज्वल सपना देख्न प्रेरित गर्छ । त्यसले विद्यार्थीमा ऊर्जा र उत्साह थप्न सक्नेभयो । तर, हाम्रो औपचारिक शिक्षामा १२ कक्षा सकेर मात्रै होइन, स्नातक, स्नातकोत्तर सक्दा पनि भविष्य अन्योल र अनिश्चित छ । यसले विद्यार्थीको उत्साह भर्न सकेन । गतिला सपना देख्न प्रेरित गरेन । त्यसैले विद्यार्थी पढ्दैनन्, मात्र विद्यालयमा ‘टाइम पास’ गर्छन् । कुनै पनि विद्यार्थी माथिल्लो तहमा पास नै नहुने गरी यत्तिकै कमजोर हुँदैन । हाम्रा विद्यालयका कक्षाहरूमा सिकाइ नै कमजोर भएको कुरा विभिन्न अध्ययनले समेत देखाएकै छन् । त्यसको प्रभाव माथिल्लो कक्षामा पर्ने नै भयो । विद्यालयको शिक्षा मुलुकको भविष्यसँग जोडिएको विषय हो । शिक्षण तरिका नै बदल्ने गरी बजेट व्यवस्था र शिक्षकको सशक्तीकरण गर्न‘पर्ने आवश्यकता एसईईदेखि कक्षा १२ सम्मको नतिजाले देखाइरहेका छन् । शिक्षकको निरन्तर पेशागत विकास नगरिकन शिक्षणमा सुधार हुँदैन । गाउँघरतिरका विद्यालयमा विषयगत शिक्षकको अभाव भएर अर्कै विषयको शिक्षकले पढाउनु परिरहेको छ । दक्ष शिक्षकको अभाव दिनप्रतिदिन बढ्दो क्रममा छ । त्यसैले विभिन्न जिल्लामा गणित÷विज्ञान जस्ता विषयका शिक्षक नपाएर ९÷१० पटक सम्म पनि विज्ञापन गरिरहनुपर्ने अवस्था सिर्जना भएको छ । यसले हाम्रो भविष्यको शिक्षामा थप कालो बादलका संकेतहरू देखा पर्दैछन् ।
    अर्कोतिर, दशकौं अघि नियुक्ति भएका शिक्षकहरूका लागि नयाँ ज्ञान र प्रविधिसँग ‘अपडेटेड’ गराउने अर्थपूर्ण तालिम भइरहेका छैनन् । पहिले कक्षा १० सम्म सञ्चालन भइरहेका विद्यालयमा कक्षाकोठा थपेर १२ कक्षासम्म सञ्चालन गराइयो । त्यसका लागि शिक्षकको नयाँ दरबन्दी सिर्जना भएन । तल्लो तहमै पढाइरहेका शिक्षकले माथिल्लो कक्षामा जसरी–तसरी पढाइरहेको देखिन्छ । उनीहरूका लागि अध्ययन, अनुसन्धानको तालिम दिन स्थानीयदेखि केन्द्र सरकारको चासो देखिन्न । यसको प्रभाव कक्षाकोठा र त्यसको नतिजामा देखिने नै भयो । विश्वविद्यालय अन्तर्गतको शिक्षा संकायले शिक्षक उत्पादन गर्ने जिम्मा लिएको छ । अहिले त अब लगभग जुनसुकै संकाय पढेकाले पनि शिक्षक लाइसेन्स प्राप्त गर्ने व्यवस्था गरिएको छ । शिक्षाको क्षेत्रमा उत्कृष्ट परिणाम निकालेर विकासको उचाइमा पुगेका देशहरूमा शिक्षक उत्पादन गर्ने तौरतरिका निकै विशिष्ट छ । त्यहाँ पढाइमा अब्बल व्यक्तिलाई शिक्षक बन्न आकषिर्त गरेर निकै मिहिनेतका साथ शिक्षक उत्पादन गरिन्छ । हामीकहाँ शिक्षक बन्न सजिलो भयो । यो पेशालाई बढी सामान्य ठानियो । राम्रो ज्ञान र तालिम नभएको डाक्टरले शरीर चिर्दा बिरामीको जीवन जति खतरामा पर्छ त्यस्तै खतरा अयोग्य शिक्षकलाई कक्षाकोठामा पठाउँदा विद्यार्थीको भविष्यमाथि हुन्छ । जो अहिले देखिइराखेको छ । अब्बल शिक्षकको उत्पादन र उसको निरन्तर पेशागत विकास गर्ने प्रणाली बसाल्नु आवश्यक छ । यस तर्फ आजैबाट मनन गरौं । सोच केन्द्रीत गरौं । 

No comments:

Post a Comment