Monday, August 28, 2023

फरक घटनामा तीनको मृत्यु

विदुर । नुवाकोटमा गत हप्ता भएकाने फरक फरक तीन वटा घटनामा तीन जनाको मृत्यु भएको छ ।
    विदुर नगरपालिका–१० शुभघाटमा जिप दुर्घटना हुँदा गएको सोमवार एक जनाको मृत्यु भएको छ । म्यागङ गाउँपालिकाबाट काठमाडौंतर्फ आइरहेको प्रदेश ०१–०२ झ ६०५६ नम्बरको जिप गल्छी–त्रिशुली–मैलुङ सडक खण्डको शुभघाटमा अनियन्त्रित भई पल्टिएर दुर्घटना हुँदा भरतपुर नगरपालिका–३ पुल्चोकका ५५ वर्षीय होमबहादुर बस्नेतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
    दुर्घटनामा परेका बस्नेत र जिप चालक म्यागङ गाउँपालिका–५ का ३५ वर्षीय जसवीर तामाङलाई जिल्ला अस्पताल त्रिशूलीमा लगेकोमा चिकित्सकले बस्नेतलाई मृत घोषणा गरेका थिए भने चालकको अस्पतालमा उपचार भइरहेको छ । मृतक बस्नेत लेखापरीक्षक थिए । उनी लेखापरीक्षकका रूपमा केही समयदेखि म्यागङका विद्यालयमा अडिट गर्दै आएकोमा गएको सोमबार फर्किंदै थिए । जिपमा बस्नेत र चालक गरी दुई जनामात्रै भएको प्रहरीले जनाएको छ ।
    यसै बीच, मजदुरी काम गर्ने पाँचथरकी एक महिला ककनी गाउँपालिका–१ ठूलो खोलामा मृत फेला परेकी छन् । पाँचथर पौवागाउँपालिका–५ का सन्तोष राईकी श्रीमती मनकुमारी सारुमगर मृत भेटिएको प्रहरीले जनाएको छ । सुतिरहेको अवस्थामा बोलाउँदा नबोलेकी उनलाई उठेर हेर्दा मृत फेला परेपछि राईले प्रहरीमा खबर गरेका थिए । उनको शव पोष्टमार्टमको लागि शिक्षण अस्पताल काठमाडौं लगिएको र त्यसबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका डिएसपी खगेन्द्रबहादुर खड्काले बताएका छन् ।
    उनीहरू ठूलो खोलामा निर्माणाधीन कोल्डस्टोरमा काम गर्दै आएको र सोही भवनको एक कोठामा बस्ने गरेको प्रहरीले जनाएको छ । उक्त कोल्डस्टोर बन्चरेडाँडा ल्यान्डफिल्ड साइटको फोहोर बिसर्जन गर्ने बाटो नजिक र नुवाकोट–काठमाडौं सिमानामा छ ।
    उता, भीरबाट खसेर बेलकोटगढी नगरपालिका–१० मैदानटोलका एक स्थानीयको मृत्यु भएको छ । गएको आइतबार अपराह्न ६५ वर्षीय स्थानीय कोपबहादुर सुनार आफ्नो घरदेखि करिब २ सय मिटर तल रुखको छहारीमा बसिरहेको अवस्थामा अचानक भीरबाट खसेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका डिएसपी खगेन्द्रबहादुर खड्काले बताए ।

No comments:

Post a Comment