Monday, August 21, 2023

१४ अर्ब २७ करोडको बीमालेख ‘सरेन्डर’

काठमाडौं । अवधी (परिपक्वता) नसकिदैं सरेन्डर गरिने जीवन बीमालेख (लाइफ इन्स्योरेन्स पोलिसी) को संख्या र सरेन्डर रकम बढ्दै गएको छ । पछिल्लो समय पोलिसी सरेन्डर दोहोरो अंकले वृद्धि भएको हो ।
    गत आर्थिक वर्ष २०७९÷८० को असार मसान्तसम्ममा १ लाख ४ हजार ४०६ वटा पोलिसी सरेन्डर भएको छ । जुन, अघिल्लो आर्थिक वर्षको तुलनामा २७.६६ प्रतिशतले बढी हो । गत आवमा ८१ हजार ८६० वटा पोलिसी सरेन्डर भएको थियो । नेपाल बीमा प्राधिकरणले उपलब्ध गराएको तथ्याङ्कले यस्तो देखाएको हो । तथ्याङ्क अनुसार सरेन्डर रकम पनि बढ्दै गएको छ । समीक्षा अवधिमा १४ अर्ब २७ करोड ७५ लाख ८६ हजार रुपैयाँ बराबरको पोलिसी सरेन्डर भएको हो । यो रकम अघिल्लो आवको असार मसान्तसम्मको तुलनामा भने १७.२० प्रतिशतले बढी हो । अघिल्लो आवमा १२ अर्ब १८ करोड ८ लाख १८ हजार रुपैयाँ बराबरको बीमा शुल्क सरेन्डर भएको थियो ।
    आम मानिसले निश्चित अवधी तोकेर जीवन बीमा गर्ने गर्छन् । बीमा कम्पनीले पनि सोही अवधीभर नै सम्बन्धीत बीमितको जोखिम कभर गर्छ ।
    तर, उक्त अवधी नसकिदैं बीमितहरूले पोलिसी बन्द (सरेन्डर) गरेर आफुले पाउनुपर्ने रकम फिर्ता पनि लैजान सक्छन्, जुन प्रवृति पछिल्लो समय बढ्दै गएको कम्पनीहरू बताउछन् । पोलिसी सरेन्डर गर्दा बीमितले तिरेको बीमाशुल्क र पोलिसी सरेन्डर गर्ने मितिसम्मको बोनस रकम एकमुष्ठ बीमितलाई भुक्तानी गरिन्छ । त्यसपछि भने पोलिसी बन्द हुने गरेको छ ।
    बीमा विज्ञका अनुसार बीमा अभिकर्ताहरूले कमिशनको लोभमा बीमा गराउँदा पनि बीमितहरूले बीमालेख त्याग्नेको संख्या बढेको हो । उनले भने,–‘पछिल्लो समय अन्डरराइटिङ राम्रो नगरी र बुझ्दै नबुझी बीमा पोलिसी किनबेच भइरहेको पाइन्छ । त्यसले पनि सरेन्डर गर्ने बढेको छ ।’ बीमा योजनाको बारेमा राम्रोसंग बुझेर आफ्नो आवश्यकता अनुसार बीमालेख खरिद गर्ने अभ्यास नहुँदा पनि सरेडन्डर हुने गरेको ती विज्ञले बताए । बिशेषगरि पछिल्लो समय देखिएको आर्थिक संकटका कारण बीमालेख सरेन्डर बढ्दै गएको सरोकारवालाहरू बताउछन् । पछिल्लो समय आर्थिक संकटका कारण आम मानिसहरूमा आम्दानी प्रभावित भएको छ । बजार महंगी बढेको छ भने क्रय (खरिद) शक्ति घटेको छ । त्यो अवस्थामा कतिपय मानिसहरूले बीमालेख नविरकण गर्न सकेका छैनन् । साथै, आफ्नो आर्थिक समस्या समाधान गर्न बीमालेख सरेन्डर गरेर पैसा लिने गरेको प्राधिकरणका अधिकारीहरू बताउछन् ।
    प्राधिकरणका तथ्याङ्क अनुसार मासिक औसतमा ८ हजार ७०८ वटा पोलिसी सरेन्डर हुने गरेको छ । यो रकममा भने १ अर्ब १८ करोड ९६ लाख रुपैयाँ हुन आउँछ । तथ्याङ्क अनुसार सबैभन्दा धेरै सरेन्डर नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देखिएको छ । गत आवमा कम्पनीको ३२ हजार १२६ वटा पोलिसी सरेन्डर भएको छ ।
    समीक्षा अवधिमा नेपाल लाइफको ४ अर्ब ७८ करोड ८४ लाख ५६ हजार रुपैयाँ बराबरको रकम सरेन्डर भएको हो । कम्पनीको पोलिसी सरेन्डर २०.७६ प्रतिशतले बढेको हो । तर, रकमका आधारमा भने ४.५२ प्रतिशतले घटेको छ । अघिल्ला आवमा कम्पनीको ५ अर्ब १ करोड ५४ लाख ४९ हजार रुपैयाँ बराबरको २६ हजार ६०३ वटा पोलिसी सरेन्डर भएको थियो ।
    दोस्रो स्थानमा भने लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) रहेको छ । गत आवमा कम्पनीको ३ अर्ब ५१ करोड १८ लाख ९५ हजार रुपैयाँ बराबरको २० हजार १८० वटा पोलिसी सरेन्डर भएका छन् । कम्पनीको पोलिसी सरेन्डर अघिल्लो आवको तुलनामा १०४.५० प्रतिशतले वृद्धि भएको हो । यो रकममा भने १९.५८ प्रतिशतले बढोत्तरी देखिएको छ ।
    तेस्रो स्थानमा रहेको राष्ट्रिय बीमा संस्थानको भने १ अर्ब १७ करोड ४२ लाख ९६ हजार रुपैयाँ बराबरको सरेन्डर भएको छ । गत आवमा कम्पनीको १४ हजार ४११ वटा पोलिसी सरेन्डर भएको हो । अघिल्लो आवमा भने कम्पनीको ८५ करोड ५५ लाख ९४ हजार रुपैयाँ बराबरको १६ हजार ९१७ वटा पोलिसी सरेन्डर भएको थियो ।
    यस्तै, गत आवमा नेशनल लाइफको १ अर्ब ४४ करोड २३ लाख रुपैयाँ बराबरको ९ हजार ९ वटा, हिमालयन लाइफको ९३ करोड २१ लाख रुपैयाँ बराबरको ७ हजार ५६८, एशियन लाइफको ४९ करोड ३९ लाख बराबरको ६ हजार ५७९, मेट लाइफको ४२ करोड ७२ लाख बराबरको ४ हजार ४५६ र सूर्यज्योति लाइफको ७७ करोड ४४ लाख बराबरको ३ हजार ६६६ वटा पोलिसी बन्द भएका छन् ।
    गत आवमा रिलायवल नेपाल लाइफको ७ करोड ८८ लाख रुपैयाँ बराबरको १ हजरा ५०८ वटा, सिटिजन लाइफको ११ करोड ८४ लाख बराबरको १ हजार २९५, सानिमा रिलायन्सको १८ करोड ८५ लाख बराबरको १ हजार २२४ वटा र आइएमई लाइफको १० करोड २७ लाख रुपैयाँ बराबरको १ हजार ७१ वटा पोलिसी सरेन्डर भएका प्राधिकरणले जनाएको छ ।
    प्राधिकरणको तथ्याङ्क अनुसार साविकको प्रभु लाइफको १५ करोड ७३ लाख रुपैयाँ बराबरको ६५९ वटा, सन नेपाल लाइफको ४ करोड ८९ लाख बराबरको ४४२ वटा र साविकको महालक्ष्मी लाइफको ३ करोड ५७ लाख रुपैयाँ बराबरको ३१२ वटा पोलिसी सरेन्डर भएको छ ।

No comments:

Post a Comment