Tuesday, September 12, 2023

नगरपालिका पानीको मुहान खोज्दै

पानीको मुहान खोज्दै

विदुर । विदुर नगर क्षेत्रमा बढ्दो सहरीकरण र जनघनत्व बृद्धिका कारण खानेपानी समस्या बढ्दै गएपछि नगरपालिकाले संघीय सरकारको सहयोगमा वडा नम्वर १, ७, ८ र ९ लाई लक्ष्यित गरि खानेपानी आयोजना कार्यान्वयनमा ल्याउन लागेको छ । म्यागङ गाउँपालिका वडा नम्वर २ र किस्पाङ गाउँपलिका वडा नम्वर ३ को सीमामा पर्ने गद्धीयाखोला मुहानगरि कार्यान्वयन गरिने उक्त खानेपानी योजनाको लागि आवश्यक प्रकृयाहरू पुरा गर्न बिदुर नगरपालिका क्रियाशिल बनेको छ । गएको आईतबार विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठ, उपप्रमुख प्रभा बोगटी, वडा नम्वर ३ का वडा अध्यक्ष बद्रीप्रसाद रिमाल र वडा नम्वर ९ का वडा अध्यक्ष हरेराम भण्डारीसहित प्राबिधिक र सरोकारवालाहरूको टोलीले खानेपानी मुहान क्षेत्र अवलोकन गरि आयोजना कार्यान्वयनको सम्भाव्यता र समस्याहरूका बारेमा जानकारी लिएको छ ।
    उक्त क्षेत्रको अवलोकन पछि नगरप्रमुख श्रेष्ठले गद्दिया खोलामा सबै समय पानीको प्रचुर उपलब्धता रहने देखिएकोले अव सम्बन्धित स्थानीयतहहरूसंगको समन्वयमा आयोजना कार्यान्वयनमा तिब्रता दिईने नगरप्रमुख श्रेष्ठले बताए । खानेपानी आयोजना कार्यान्वयनका लागि विदुर नगरपालिका वडा नम्वर ९ का सुनील श्रेष्ठको अध्यक्षतामा चारवटै वडाका उपभोक्ताका प्रतिनिधिहरूरहेको समिति गठन गरि काम अघि बढाईएको नगरपालिकाले जनाएको छ । संघीय सरकारबाट अघिल्लो आर्थिक बर्षमा प्राप्त एककरोड रुपैयाँबाट चारवटै वडामा खानेपानी संकलन ट्यांकी बनाईसकिएको र यसबर्ष मुहान दर्ता लगायतका प्रकृयाहरू पुरा भएपछि पाईपलाईन बिस्तारको काम सुरु गरिने बताईएको छ ।
    विदुर नगरपालिकाका १, ७, ८ र ९ नम्वर वडाका करिब तीनहजार उपभोक्ता प्रत्यक्ष लाभान्वित हुने उक्त खानेपानी आयोजनाका लागि संघीय सरकारले अघिल्लो आर्थिक बर्षबाट क्रमागतरुपमा बिशेष अनुदान उपलब्ध गराउँदै आएको छ ।

No comments:

Post a Comment