Monday, September 04, 2023

माओवादीको रूपान्तरण अभियान

तीन महिने अभियान शनिबारदेखि सुरु भएको छ

विदुर । नेकपा माओवादी केन्द्रको ‘जनतासँग माओवादी विशेष रूपान्तरण’ तीन महिने अभियान शनिबारदेखि सुरु भएको छ । २५ लाख जनताबीच पुग्ने लक्ष्यसहित माओवादीले तीन चरणको अभियान सुरु गरेको हो ।
    अभियानलाई सफल बनाउन नेताहरू तोकिएका आ–आफ्ना क्षेत्रमा छन् । सम्बन्धित वडाले बनाएको कार्यतालिका अनुसार तीन चरणको अभियान सञ्चालन हुनेछ । वडा–वडाले तोकेको कमान्डरको नेतृत्वमा अभियान सञ्चालन बताइएको छ । अभियानमा समाजवादी मोर्चाको अवधारण पत्र, पार्टीको दस्ताबेज, केन्द्रीय समितिले तय गरेका नारा तथा कार्यक्रम लिएर सबै जना जनताको घरघर पुग्ने लक्ष्य राखिएको छ । स्थानीय तहमा पुग्दा जनताको काम जनतासँगै गर्ने र बस्दा, हिँड्दा, बोल्दा पार्टीको कुरा गर्ने गरी निर्देशिका नै बनाइएको छ । सम्बन्धित प्रदेशका इन्चार्ज, केन्द्रीय सदस्य र प्रदेशका पदाधिकारी बसेर केन्द्रले जारी गरेको  परिपत्रअनुसार नेताहरूको कार्यविभाजन, जनपरिचालन, अभियानको मोडालिटी लगायत विषय टुङ्गिएको सचिव डिलाराम आचार्यले बताए ।
    माओवादीमा सात प्रदेशबाहेक उपत्यका विशेष, सम्पर्क समन्वय र प्रवास गरी तीन वटा गैर भौगोलिक प्रदेश छन् । प्रवासमा ६ वटा क्षेत्रमध्ये दक्षिण एसियाका नेता तथा कार्यकर्ता आ–आफ्नै वडामा पुगेर अभियानमा सहभागी हुने र बाँकी क्षेत्रका व्यक्तिहरूले आर्थिक संकलन गरी अभियानलाई सहयोग गर्ने निर्णय गरेको छ । उपत्यका विशेष र सम्पर्क समन्वय समितिका पदाधिकारी तथा सदस्यहरू उपत्यकाका अन्तरजिल्ला पर्ने गरी कार्यविभाजन गरिएको छ ।
    ‘घर–घरमा माओवादी, जन–जनमा माओवादी’ नारासहित ७५३ पालिकाको ६ हजार ७४३ वडामा ८८ समूह बनाएर एकसाथ अभियान सुरु गरेको छ । उदटनको दिन सबै केन्द्रीय सदस्यहरू वडा तहमा पुगेको र बाँकी वडामा प्रदेश कमिटीका पदाधिकारी र सदस्यहरू पुग्ने व्यवस्था मिलाइएको सचिव आचार्यको भनाइ छ ।
कसले के गर्छन् ?
परिपत्रअनुसार प्रदेश इन्चार्जहरूले आ–आफ्नो प्रदेशको अभियानको संयोजन गर्ने व्यवस्था गरिएको छ । अभियानलाई प्रभावकारी बनाउन प्रदेशमा खटिएका स्थायी समिति सदस्यहरू र प्रदेश अध्यक्ष पदेन रहने गरी प्रदेश इन्चार्जको संयोजकत्वमा अभियान सञ्चालन सचिवालय गठन गरी सञ्चालन गर्ने व्यवस्था गरिएको छ । त्यस्तै स्थायी समिति सदस्य नरहेका प्रदेशहरूमा वा स्थायी समिति सदस्यहरू भए पनि केही वरिष्ठ केन्द्रीय सदस्यहरू समेत समावेश गर्न‘पर्ने आवश्यकता देखिएमा सोही अनुसार समावेश गरी अभियान सञ्चालन सचिवालय गठन गर्न सकिने व्यवस्था मिलाइएको छ ।
    अभियान सञ्चालन सचिवालयमा प्रदेश सभाका दल नेताहरू नपरेमा, दल नेताहरूलाई आमन्त्रित गर्ने व्यवस्था गरिएको छ । अभियानमा सम्पूर्ण जनवर्गीय संगठन मोर्चाहरूलाई परिचालन गर्नका लागि जनवर्गीय संगठन मोर्चाहरूको प्रकृति अनुसार पदाधिकारीको नेतृत्वमा संयोजन समिति बनाएर सञ्चालन गर्ने व्यवस्था गरिएको छ ।
    यसैगरी तीन महिने अभियानलाई वडा केन्द्रित गर्ने व्यवस्था गरिएको छ । वडा केन्द्रित अभियानको नेतृत्व केन्द्रीय सदस्य÷आयोग सदस्य÷सल्लाहकार आदि केन्द्रीय निकायको वरिष्ठ सदस्यले गर्नेछ ।
    एउटा अभियान टोलीको जिम्मामा १०/११ वडा पर्न सक्नेछन् । जिम्मेवारी तोकिएका बाहेक अन्य नेताहरूको कार्यविभाजन आ–आफ्नो मतदाता नामावली भएको वडामा अभियानमा जोडिने व्यवस्था गरिएको छ । पार्टी केन्द्रीय अध्यक्षदेखि साधारण सदस्यसम्म कुनै न कुनै वडाको अभियानमा सहभागी हुने व्यवस्था गरिएको छ । अभियान टोलीमा सोही क्षेत्रमा खटिरहेका पार्टी कमिटीका नेताहरू, सम्बन्धित क्षेत्रका जनप्रतिनिधिहरू, सोही क्षेत्रका जनवर्गीय संगठन मोर्चाका सदस्यहरू सहभागी हुने व्यवस्था गरिएको छ । उपत्यकाका काठमाडौँ, ललितपुर र भक्तपुरको अभियानको लागि बागमती प्रदेश, उपत्यका विशेष प्रदेश र सम्पर्क समन्वय प्रदेशको संयुक्त टोलीले अभियान सञ्चालन गर्नेछ ।
के हो अभियानको लक्ष्य ?
१. नवीकरण र विस्तारको माध्यमबाट पार्टी सदस्यता संख्या ८ लाख पु¥याउने गरी पार्टी र जवस÷मोर्चाका सबै कमिटीका बैठक सम्पन्न गर्ने ।
२. कम्तीमा २५ लाख मतदातासँग प्रत्यक्ष भेटघाट गरी सरकारले सुशासन, समृद्धि र सामाजिक न्यायको क्षेत्रमा गरेका कामहरूको बारेमा जानकारी गराउने ।
३. आत्मनिर्भरता बढाउने उद्देश्यका साथ पार्टीको नेतृत्वमा सञ्चालित स्थानीय सरकारहरूले कम्तीमा १÷१ वटा उत्पादन र उद्यमसँग सम्बन्धित कार्यक्रम सुरु गर्ने । संघीय सरकारले कृषि तथा वनमा आधारित साना उद्योग, उत्पादन र बजारीकरणको क्षेत्रमा पार्टी प्रदेश समितिको सिफारिसबमोजिम ७ वटै प्रदेशमा एक÷एक वटा आयोजना सञ्चालनको सम्भाव्यता अध्ययन गर्ने ।
४. अभियानको संयोजन र सञ्चालन सम्बन्धित प्रदेशका इञ्चार्जहरूले गर्ने ।
५. अभियान अवधिभर सामान्यतया केन्द्रीय पदाधिकारीहरूलाई अन्तर प्रदेश, स्थायी समिति सदस्य र केन्द्रीय सदस्यहरूलाई अन्तर जिल्ला तथा प्रदेश सदस्यहरूलाई अन्तर पालिका खटाउने गरी कार्यक्षेत्र विभाजन गरिनेछ । जहाँ जनता त्यहाँ संगठनको मान्यता अनुसार अस्थायी बसोबास स्थलमा समेत कार्यक्षेत्र तोकी पठाइनेछ ।
६. सामान्य कार्यक्षेत्र प्रदेश, जिल्ला पालिका तोकिए पनि मुख्य कार्यक्षेत्र (योजना कार्यान्वयनको क्षेत्र) वडालाई बनाउनुपर्नेछ ।
७. पार्टी केन्द्रीय सदस्य÷आयोग सदस्य÷सल्लाहकार सदस्यहरूको नेतृत्वमा पार्टी प्रदेश कमिटी सदस्य, जिल्ला समन्वय समिति सदस्य, पालिका पदाधिकारी, केन्द्रीय र प्रदेश विभागका सदस्य, जवस÷मोर्चाका केन्द्रीय सदस्य र प्रदेश समिति पदाधिकारीहरू सम्मिलित वडा केन्द्रित अभियान टीम बनाइनेछ ।
८. अभियान टिमले पालिका, वडा र टोलस्तरसम्म कार्यक्रमहरू सञ्चालन गर्नेछ । अभियान टिममा कलाकार, संस्कृतिकर्मीहरूलाई पनि सहभागी गराउनुपर्नेछ ।
९. अभियान सञ्चालनका लागि प्रदेशमा एक सचिवालय गठन गरिनेछ ।

No comments:

Post a Comment