Monday, September 18, 2023

नुवाकोट र रसुवामा १२ सय पशु मरे

विदुर । देशैभरि फैलिएको ‘लम्पी स्क्रिन’ रोगको कारण नुवाकोट र रसुवाका पशुपालक कृषकले करोडौँको क्षति व्यहोरेका छन् । नुवाकोट र रसुवामा ‘लम्पी स्क्रिन’ रोगबाट एक हजार २७० भन्दा बढी पशु चौपाया मरेको तथ्याङ्क भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नुवाकोटले सार्वजनिक गरेको छ ।
    नुवाकोटमा गत २०७९ चैत ३१ गते सूर्यगढी गाउँपालिका–५ को फेदीबेँसीमा बिरामी पशु चेकजाँच गर्दा ‘लम्पी स्क्रिन’ रोगको पुष्टि भएको थियो । रोग पुष्टि भएको साढे चार महिनाको अवधिमा नुवाकोटमा एक हजार ३४ पशु चौपाया मरेका छन् भने रसुवामा यो अवधिमा २३६ पशु चौपया मरिसकेका छन् । लम्पी स्क्रिन रोगको महामारी फैलिएसँगै नुवाकोट र रसुवा जिल्लामा पशु चौपायालाई लम्पी स्क्रिनविरुद्धको खोप लगाउन सुरु गरेको भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नुवाकोटले जानकारी दिएको छ । दुई जिल्ला कार्यक्षेत्र रहेको उक्त कार्यालयले स्थानीय तह र प्रदेश सरकारबाट प्राप्त लम्पी स्क्रिनविरुद्धको खोप पालिकासँग समन्वय गरेर यो अवधिमा १३ हजार पाँच सय पशुलाई लगाएको कार्यालय प्रमुख भरत पाण्डेले जानकारी दिए ।
    नुवाकोटको १२ पालिकामा प्रदेशबाट प्राप्त तीन हजार नौ सय र स्थानीय तहबाट प्राप्त आठ हजार सात सय खोप भदौ १४ गतेसम्म लगाइसकेको विवरण कार्यालयले सार्वजनिक गरेको छ ।
    रसुवाका पाँच पालिकामा समेत लम्पी स्क्रिन रोगको महामारी फैलिएसँगै भदौ १४ सम्म प्रदेशबाट प्राप्त एक हजार चार सय र स्थानीय तहबाट खरिद भएको चार हजार पाँच सय खोप लगाइसकिएको छ । खोपको माग बढिरहे पनि कार्यालयले तत्काल खोप उपलब्ध गराउन सक्ने अवस्था छैन । महामारीबाट नुवाकोटमा १५ हजार पाँच सय ५६ र रसुवामा दुई हजार १९३ पशु सङ्क्रमण रहेको तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको छ । महामारीबाट नुवाकोटमा सङ्क्रमणमुक्त पशु चौपायाको संख्या १६ हजार ५२८ र रसुवामा दुई हजार तीन सय २९ रहेको कार्यालयका पशु चिकित्सक डा. बबलु ठाकुरले जानकारी दिएका छन् ।
हरेक हप्ता सङ्क्रमणमुक्त पशुको संख्या घट्ने क्रममा रहेको उनले बताए । गत हप्ता सङ्क्रमणमुक्त पशु चौपायाको संख्या नुवाकोटमा १५ हजार पाँच सय ५६ रहेको थियो भने यो हप्ता सङ्क्रमणमुक्तको संख्या बढेर १६ हजार ५२८ पुगेको छ ।
    त्यसैगरी, रसुवामा अघिल्लो हप्ता सङ्क्रमणमुक्त पशु चौपायाको संख्या दुई हजार १९२ रहेकोमा यो हप्ता बढेर सङ्क्रमणमुक्त संख्या दुई हजार ३२९ पुगेकोसमेत उनले जानकारी दिए । नुवाकोटमा प्रभावित पशुको संख्या गत हप्तासम्म १९ हजार ४४५ रहेकोमा सबैभन्दा बढी प्रभावित पशुको संख्यामा गाईगोरु १९ हजार १७८, भैँसी २३८, चौँरी २९ रहेको छ । त्यसैगरी, रसुवामा प्रभावित पशुको संख्या दुई हजार ७४० मध्ये गाईगोरुको संख्या दुई हजार चार ४४६, भैँसीको संख्या १६, चौँरीको २७८ रहेको छ । लम्पी स्क्रिन रोगबाट मृत्यु भएका पशुको संख्या नुवाकोटमा एक हजार ३४ मध्ये सबैभन्दा बढी विदुर नगरपालिकामा ३२० र सबैभन्दा कम किस्पाङ गाउँपालिकामा २६ रहेको छ । मृत्यु हुने पशुमध्ये नुवाकोटको १२ पालिकामा एक हजार ३१ गाईगोरु र चौँरीको संख्या तीनवटा छ ।
    विज्ञ केन्द्रको तथ्याङ्कअनुसार लम्पी स्क्रिन रोगबाट नुवाकोटमा हालसम्म भैँसीको मृत्यु भएको छैन । प्रभावित पशुको संख्यामा पनि गाईगोरुको अनुपातमा भैँसीको संख्या कम रहेको छ । रसुवाको पाँच पालिकामध्ये लम्पी स्क्रिन रोगबाट प्रभावित पशुको संख्या सबैभन्दा बढी गोसाइँकुण्ड गाउँपालिकामा १ हजार ३२५ रहेको छ । गोसाइँकुण्डमा एक हजार एक सय ५० गाईगोरु र १७५ चौँरी रोगबाट प्रभावित भएको छ । रसुवामा लम्पी स्क्रिन रोगबाट सबैभन्दा कम प्रभावित पशुको संख्या उत्तरगया गाउँपालिकामा १७५ रहेको छ । प्रभावित पशु सबै गाईगोरु रहेका छन् ।
    कार्यालयले पालिकासँगको समन्वयमा किसानको गोठगोठमै पुगेर पशु प्राविधिकले लम्पी स्क्रिनको नियन्त्रणका लागि प्राप्त खोप लगाइसकेका छन् । कार्यालय प्रमुख पाण्डेका अनुसार भेटेरेनरी अस्पतालको समन्वयमा रोग नियन्त्रणका लागि स्थानीय तहले पशु प्राविधिकलाई खटाएको छ । किसानलाई पशुमा लम्पी स्क्रिन देखिनासाथ सगोलमा रहेको पशुलाई छुट्याएर राख्न सुझाव दिएको उनले बताए । पशुलाई टोक्ने लामखुट्टे, झिँगाबाट जोगाउन किसानलाई सचेतना जोगाउने काम पनि भएको छ । प्रमुख पाण्डेले भने, ‘नुवाकोटमा विशेषगरी गाईभैँसीपालन व्यावसायिक रूपमा हुने गरेकाले पशुमा क्षति नपुगोस् भनेर लम्पी स्क्रिनविरुद्धको खोप लगाइसकेका छौँ ।’ थप खोपका लागि प्रदेश र स्थानीय तहमा माग गरेर यसको नियन्त्रणका लागि भेटेरेनरी अस्पतालले परामर्श दिइरहेको छ ।

No comments:

Post a Comment