Monday, September 04, 2023

खोलेगाउँका सुर्य अन्तराष्ट्रिय प्रतिस्पर्धामा

सुर्यकुमार तामाङ

विदुर । ५५ औं एसियाली शारीरिक सुगठन तथा फिजिक्स स्पोर्टस् च्याम्पियनसिपमा नुवाकोट शिवपुरी गाउँपालिका वडा नम्बर ६ खोलेगाउँका सुर्यकुमार तामाङले पनि प्रतिस्पर्धा गर्ने भएका छन् । एसियन शारीरिक सुगठन तथा फिटनेस महासंघको आयोजनामा काठमाडौंमा प्रतियोगिता हुन लागेको हो ।
    विभिन्न १७ राष्ट्रका २३६ खेलाडीले विभिन्न विधामा प्रतिस्पर्धा गर्ने प्रतियोगितामा तामाङले ७५ केजी तौलमा प्रतिस्पर्धा गर्ने भएका हुन् । खेलमा तामाङसहित १६८ पुरुष र ६८ महिला गरी २३६ खेलाडीहरूले विभिन्न ४५ विधामा प्रतिस्पर्धा गर्नेछन् । शारीरिक सुगठनको प्रतियोगितामा पहिलो पटक ठुलो प्रतियोगिताको रूपमा रहेको च्याम्पियनसिपमा नेपाल सहित भुटान, चीन, हङ्गकङ्ग चाइना, भारत, काजकिस्तान, मकाउ चाइना, मालदिभ्स, मलेसिया, म्यानमार, सिंगापुर, दक्षिण कोरिया, श्रीलङ्का, थाइल्यान्ड, ताजाकिस्तान, उज्बेकिस्तान र भियतनामको सहभागिता रहेको छ ।
    दरवारमार्गस्थित याक एण्ड यती होटलको रिगल बाल रुममा हुने च्याम्पियनसिपमा पुरुष तर्फ २८, महिला तर्फ १६ र मिक्स १ गरी ४५ विधामा प्रतिस्पर्धा हुनेछ । प्रतिस्पर्धा गर्ने सबै देशका खेलाडी, अफिसियल र डेलिगेट्सहरू नेपाल आईसकेको बताइएको छ । प्रतियोगिताको अन्तिम दिन शारीरिक सुगठन तर्फको ५५, ६०, ६५, ७०, ७५, ८०, ८५, १०, १०० र ११० केजी गरी १० समूहका प्रथम स्थान प्राप्त गर्ने खेलाडीहरूबिच प्रतिस्पर्धा गराई सर्वोत्कृष्ट हुने खेलाडीलाई मिस्टर एसिया २०२३ घोषित गरिनुका साथै ट्रफी प्रदान गरिने बताइएको छ ।

No comments:

Post a Comment