Monday, September 04, 2023

स्वर्ग जाने बाटो को कथा

शिवराम ढकाल (लिखु गा.पा.१, नुवाकोट)
“हिँडे देखि छेऊ लाग्छ बसे लेहुँ लाग्छ” भनेझैं जब हिडीन्छ जीवन र जगत को प्रत्यक्ष्य अनुभव गर्न पाइन्छ । बाइकमा ढिकुरे हुँदै पासाङ्गल्हामु राजमार्ग गंगटे भन्ने ठाउँबाट छिचोल्दै करिब ३ घण्टा जति को यात्राबाट धुन्चे पुगियो, आफ्नै कार्यालयका सरहरूको मिठो आतिथ्यमा धुन्चे बजारमा बिहानको खान खाइयो । केही बुझेको, केही सुनेको आधारमा ट्रेकिङ्का लागि आवश्यक बन्दोबस्त गरी बिहानको करिब ११ बजे धुन्चे बजारदेखि घट्टे खोला हुँदै यात्रा तय गर्ने तरखर गर्दै थियौ । गेटमै निःशुल्क स्वास्थ्य परामर्श सँगै आवश्यक औषधि वितरण, ठूलो आवाज सहित स्पिकरमा बजेका महत्वपूर्ण हटलाइन फोन नम्बरहरू, आकस्मिक सेवा लिग्न आग्रह गर्दै गरिरहनु हुने राष्ट्र सेवकहरू देखेसि झनै मनमा आनन्द र सुरक्षित यात्राको महसुश भयो ।
    स्थानीय सरकारले राजश्व आम्दानीलाई आत्मसाथ गर्दै त्यो गोरेटो बाटोसँगै बनाएको थुर्प‘ (कटेरो)सँगै राखिएको थुर्पु नम्बर, थुर्प‘ भित्रै पाकेका लोकल परिकारहरू, बाटो कै छहारी भित्रको हल्का चिसोले उत्ताउलो बनेको वातावरण अनि चराचुरुंगीहरूको चिर्बिराहट, झ्याउँकिरीहरूको लयात्मक संगीत अनि तामे ढुकुरझैं देखिने प्रेमील जोडीहरूको फिरफिराहट, त्यो गोरेटो पनि साँच्चिकै धर्तीको स्वर्ग जाने बाटोझैं प्रतीत हुन्थ्यो । अनि क्यामरामा कैद गर्न कोसिस गरिन्थ्यो, तर सकिदैनथ्यो । किन भने मन भित्रका उत्औंलो मज्जा कति कैद गर्न सकिन्थ्यो र ! करिब ३ घण्टाको नाकको डाँडी छुने उकालो हिँडाइबाट देउराली पुगेपछि केही तेर्सो सजिलो बाटो पार गरी चण्दनबारी हुँदै फेरि उकालो यात्रा तय गर्दै चोलाङपाटीमा साँझ बास बस्यौँ ।
    धुन्चे पछिको त्यो ८ घण्टाको यात्रा साच्चिकै जीवन र जगत लाई दृष्यहरू, अवस्था हरूको एकमुष्ट रसास्वादन गर्न सुवर्ण अवसरका रूपमा पाएको महसूस भयो । एकै दिन धेरै ट्रेकर्सहरू हिँडडुल गरेका कारण हामी कुनै एक हल जस्तै लामो थुर्प‘ अर्थात् कटेरोमा बास बस्यौ । म भने आँखा झिमिक्क पनि गर्न सकिनँ, बिहानको करिब २ बजेनै हामी लौरी र मोबाइलको उज्यालोको साहयताले बिस्तारै लौरी बिनाको उकालो अनि बुद्ध मन्दिर हुँदै बिहानको चिसो–चिसो हावासँगै खुलेको आकाश, लाङ्टाङ हिमालका दृश्य, धुन्चे बजारको दृश्य र कुइरो लुकामारी खेले झै गरी लुटपुटिन थालेको दृश्य अचम्मै मनमोहक लाग्यो ।
     सरस्वती कुण्ड (जहाँ नेपालको झन्डा जस्तै आकृति पनि देख्न सकिन्छ), भैरब कुण्डको आगमनसंगै अघाएर निदाइरहेको काखे बच्चा जस्तै गरी ढुंगाहरू पहाडका काखीमा च्यापेर बसेको त्यो मनमोहक दृश्य, आँखा भरीका डाँडाहरूमा भुइँ भरी फुलेका हरेक रंगका फूलहरू साँच्चै लालायित हुँदै झण्डै सात घन्टाको हिंडाइपछि जब आँखै अगाडी साक्षत रुपमा वर्षौंदेखि मानसपटलमा सजिएको गोसाइँकुण्ड जीवन्त दृष्य देखियो, कुण्डमा स्नान गरेपछि यात्राका सबै दुःखकष्टहरू कपास बनेर हावामा उड्न थाले । यात्राको थकानले भारी भएको शरीर बेलुनझैं आकाशमा उडेको प्रतीत हुन थाल्यो । केहीबेर निःशब्द भइयो । बस् केही क्षणका लागि सबै कुरा बिर्सिइयो किनकि आफ्नो आँखैमा थियो वर्षाैंको सपना कुण्ड, अर्थात् धर्तीको स्वर्ग गोसाइँकुण्ड ।

No comments:

Post a Comment