![]() |
स्थलगत अवलोकन एवं निरीक्षण |
नुवाकोट । काठमाडौँको टोखाबाट नुवाकोटको शिवपुरी आवतजावत लागि निर्माण गर्न लागिएको ‘टोखा छहरे सुरुङमार्ग’सरकारको राष्ट्रिय गौरव र प्राथमिकताप्राप्त आयोजनाका रूपमा अगाडि बढाइने भएको छ ।
उक्त सुरुङमार्गको वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) सुरु गर्न सोमबार अर्थमन्त्री डा प्रकाशशरण महत, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, वन तथा वातावरणमन्त्री डा. वीरेन्द्रप्रसाद महतो लगायतले स्थलगत अवलोकन एवं निरीक्षण गरेका हुन् ।
सुरुङमार्ग निर्माणका लागि चालु आर्थिक वर्षमा एक अर्ब २५ करोड रुपैयाँ विनियोजन गरिएको र बाँकी स्रोतको व्यवस्थापनका लागि जतिसक्दो छिटो इआइए सुरु गर्न विषयगत मन्त्रालयको तर्फबाट अनुगमन गरिएको अर्थमन्त्री महतले जानकारी दिए ।
उनको अनुसार सुरुङमार्ग निर्माणका लागि प्रारम्भिक अध्ययन पूरा भइसकेकाले सम्भावित स्थानलाई केन्द्रित गरेर आयोजना निर्माणबाट लिनसक्ने लाभ र पुग्नसक्ने प्रभावको सम्बन्धमा इआइए गर्न लागिएको हो । ‘सुरुङमार्ग निर्माण अघि बढिसकेकाले कामलाई तीव्र बनाउन देखापर्ने समस्या समाधान गर्न संयुक्तरूपमा लागेका छौँ’, अर्थमन्त्री डा महतले भने, ‘प्रधानमन्त्रीसहितको नेपाली पक्षको आसन्न चीन भ्रमणमा सुरुङ निर्माणमा चिनियाँ सहयोग खोजिने छ ।’
चीन सरकारको सहयोगमा यसअघि गरिएको सुरुङमार्गको प्रारम्भिक अध्ययनमा ‘उपयुक्त हुने’ देखिएकाले काम सुरु गर्न लागिएको भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले बताए । उनका अनुसार सुरुङ निर्माण गर्न काठमाडौँतर्फ टोखा नगरपालिका वडा नं १ झोरमा दुईवटा बिन्दुको पहिचान गरिएको छ भने नुवाकोटतर्फ शिवपुरी वडा नं ७ र ८ मा तीनवटा बिन्दु सम्भावित देखिएका छन् ।
‘थोरै लगानी र छोटो समयमा नै निर्माण गर्न सक्ने गरेर प्रारम्भिक अध्ययनमा देखिएकाले निर्माण सुरु गर्न लागिएको हो’, मन्त्री ज्वालाले भने, ‘मुख्य चुनौती लगानीको भएकाले आर्थिक स्रोतका लागि नेपाली टोलीको आसन्न चीन भ्रमणमा ‘टोखा–छहरे’ सुरुङमार्गसहित सडकतर्फ सातवटा आयोजनामा सहयोग माग्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले प्रस्ताव तयार गरेको छ ।’
सुरुङ निर्माणका लागि शिवपुरी राष्ट्रिय निकुञ्ज लगायतका क्षेत्रमा इआइएसहितको काम अघि बढाउन आवश्यक कानुनी बाटो मन्त्रालयबाट खुला गरिने वन तथा वातावरण मन्त्री डा. वीरेन्द्रप्रसाद महतोले बताए । उनले आयोजना निर्माणबाट वन तथा निकुञ्जलाई दीर्घकालीन जोखिम नपर्ने देखिएकाले काम अघि बढाउन कानुनी समस्या नहुने बताए ।
टोखा–छहरे सुरुङमार्ग निर्माणले चीनसँगको व्यापारिक गतिविधिमा उल्लेख्य योगदान पुग्ने भएकाले सरकारको प्राथमिकता प्राप्त र राष्ट्रिय गौरवको आयोजनाका रूपमा काम सुरु गर्न लागेसँगै विषयगत मन्त्रालयका मन्त्री, सचिवसहित नुवाकोटबाट प्रतिनिधिसभा सदस्यद्धय हितबहादुर तामाङ, विमला सुवेदी लगायतका सरोकारवालाबाट स्थलगत अवलोकन गरिएको हो ।
प्रारम्भिक अध्ययनको क्रममा सुरुङमार्ग निर्माणका लागि विभिन्न तीनवटा बिन्दुलाई केन्द्रित गरेर थप अध्ययन गर्न लागिएको छ । तीन दशमलव तीन, तीन दशमलव छ र चार दशमलव दुई किलोमिटर लम्बाइको हुनसक्ने अध्ययनमा देखिएको छ ।
सुरुङमार्ग निर्माणले नुवाकोटबाट काठमाडौँ जानका लागि अहिले सञ्चालनमा आइरहेको छहरेबाट टोखा पुग्न शिवपुरी निकुञ्ज पार गर्दै जानुपर्ने करिब १२ किमी सडक छोटो हुनेछ ।
के आयो निष्कर्ष ?
अलोकनका क्रममा नुवाकोटतर्फ सुरुङमार्ग निस्कने तीनवटा विकल्प तयार पारिएको छ । यस्तै टोखा नगरपालिकाको झोरतर्फ भने दुईवटा विकल्प तयार पारिएको छ । उक्त विकल्प अनुसार सबैभन्दा छोटो दुरी साढे तीन किलोमिर रहेको सो दुरी टोखा नगरपालिकाको टोखा झोरहुँदै शिवपुरीको चापाबोटसम्म मात्र हुनेछ ।
चापाबोटबाट छहरे पुग्न अझै १० किलोमिटर रहेको छ । यसरी सुरुङमार्ग बनाउँदा त्यति धेरै उपलब्धि हुने दखिएको छैन । जम्मा १० किलोमिटर सडककमा सुरुङ बनाउँदा ४ किलोमिटर मात्रै सुरुङ बन्ने छ । जसको लागत करिब ४० अरब खर्च हुने अनुमान गरिएको छ । टोखा–छहरे सुरुङमार्ग बने ७ किमिको हुनेछ । भौगोलिक रुपका कारण टोखाबाट चापाबोटसम्म मात्र सहज हुने देखिएको छ । त्यो भन्दा तल बोहेरेखोलासम्म जाँदा ओरालो बढि हुने र त्यसले सुरुङमार्ग लागि उपयुक्त नहुने देखिएको छ ।
यस्तै चीन सरकारले वातावरणीय प्रभाव, घर जग्गा पर्ने अवस्था, निकुञ्जको क्षेत्रफल प्रयोग हुने विभिन्न विषयहरू अघि सारेर निर्णय लिएको छैन । चीनले मुख्य रुपमा वातावरणीय प्रभावका विषयमा चासो राखेपछि सरकारी टोलीले उक्त क्षेत्रको निरीक्षण गरेको हो । उसले वन क्षेत्र र त्यसले पार्ने असरका विषयमा निकुञ्जलाई सोधेको र निकुञ्जले पनि विभिन्न प्रश्नहरू तयार पारेर आफू मातहतका निकायहरूलाई सोधेपछि त्यसको जवाफ समेत पेश भएको छैन । जसका कारण सरकारी टोली नै अन्योलमा थियो ।
वातावरणीय प्रभावका विषयमा सकारात्मक प्रतिक्रिया दिने वितिक्कै चीन सुरुङमार्ग निर्माणका लागि सहमत हुने मन्त्री महतको विश्वास छ । सरकारी टोलीले उक्त सुरुङमार्ग निर्माण गर्दा वातावरणीय प्रभाव नपर्ने र निकुञ्जक्षेत्रलाई पनि प्रभाव नपार्ने निश्कर्ष निकालेको छ । तर सो अनुसार निर्माण गर्दा चापबोटसम्म मात्रै सुरुङमार्ग लैजान सकिने देखाइएको छ । अन्य दोस्रो र तेस्रो विकल्पको रुपमा भने बोहेरेखोलासम्म पुग्ने अवस्था रहेको छ । सुरुङमार्ग जति लामो भयो त्यति नै केही आरोलो गर्दै जान सकिने भएकाले केही तलसम्म लैजान सकिने सरकारी टोलीको निश्कर्ष रहेको थियो । निरीक्षणसँगै सरकारले वातारणीय प्रभावका बारेमा तत्काल चीनलाई पत्र लेख्ने तयारी गरिरहेको छ ।
काठमाडौंको टोखाबाट छहरेसम्म सुरुङमार्ग निर्माणका नेपाल सरकारले यस आर्थिक वर्षका लागि एक अरब बजेट विनियोजन गरेको छ । प्रधानमन्त्री चीन भ्रमणअघि नै वातावरणीय प्रभाव मुल्याङ्कन गर्ने उद्देश्यकासाथ सरकारका मन्त्रीहरू उक्त मार्गको अवलोकनका लागि आएका हुन् । टोलीमा सडकको अवस्था, उक्त क्षेत्रमा पर्ने वन जंगलको वास्तविक तथ्याङ्कका साथै अन्य विषयमा जानकारी लिनका लागि मन्त्रीहरूको टोलीले उक्त क्षेत्रको अवलोकन गरेको छ ।
चीनको सहयोगमा राजधानी काठमाडौं र रसुवागढी जोड्ने सडक निर्माण तथा स्तरोन्नति गर्ने सहमति भएको थियो । चिनियाँ राष्ट्रपति सी चिनफिंगको भ्रमणका क्रममा काठमाडौं टोखा–छहरे नवाकोटको सदरमुकाम विदुर हुँदै बेत्रावती र स्याफ्रुवेंसीसम्म सुरुङ सहितको सडक निर्माण गरिदिन चीन सहमति भएको थियो । सुरुङमार्ग निर्माण सहयोग सम्बन्धमा अर्थ मन्त्रालय र चीन अन्तराष्ट्रिय विकास सहयोग एजेन्सीबीच सम्झौता भएको थियो । चीनसँग भएका २० समझदारीमध्ये यो पनि एक हो ।
हाल सञ्चालनमा रहेको प्रमुख मार्ग काठमाडौं–गल्छी–स्याफ्रुबेशी र रसुवागडी पुग्न १२८ किलोमिटर लाग्छ । काठमाडौंको बाइपास, नुवाकोटको विदुर, रसुवाको धुन्चे र स्याफ्रुबेशी हुँदै रसुवागडीको दुरी १५२ किमि छ । टोखा–छहरे–गंगटे ४४ किलोमिटर छ । गल्छी–छहरेमा निर्माण गर्दा यो खण्ड १२ किमि घट्छ । गँगटे–वेत्रावती १७ किमि, वेत्रावती–मैलुङ १० किमि, मैलुङ–स्याफ्रुबेशी १९ किमि, स्याफ्रुबेशी–रसुवागढी १६ किमि छ । दोस्रो चरणमा निर्माण हुने भनिएको मैलुङ–स्याफ्रुबेशी सुरुङमार्ग भने सरकारले नबनाउने निश्कर्ष निकालेको छ । मैलुङस्याफ्रुबेशी नेपाली सेनाले ट्रयाक खोलेर २०७५ जेठ ६ गते हस्तान्तरण गरिसकेको छ । अहिले यो खण्ड सहित धादिङको गल्छीदेखि रसुवागडीसम्म सडक निमाधीन अवस्थामा छ ।
चीन सरकारले स्याफ्रवेंसी–रसुवागडी १६ किमि सडक विस्तार गर्दैछ । मुस्किले एकलेनको सडक दुई लेनमा विस्तार हुँदैछ । यो सुरुङमार्ग सहितको सडक निर्माण भइ सञ्चालनमा आएमा मालबहाक सवारी रसुवागडीदेखि काठमाडौंसम्म दुई देखि तीन घण्टामा आइपुग्नेछ । सुरुङमार्ग बनेको खण्डमा सिंगो मुलुक त्रिदेशीय व्यापारिक क्षेत्र बन्ने सम्भावना रहेको छ । अझ यसबाट नुवाकोटसहित रसुवा र धादिङसम्मका नागरिकले बढी लाभ लिनेछन् ।
No comments:
Post a Comment