Tuesday, September 12, 2023

एमालेका विरुद्ध स्टन्टबाजी नगर : पोखरेल

पत्रकार सम्मेलन

बट्टार । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सत्ताको डोली डुलाउनेहरूले एमालेका विरुद्ध कुनै पनि स्टन्टबाजी नगरे हुन्छ भनेका छन् ।
    सरकारले भ्रष्टाचारका काण्डको छानबिन र कारबाही गर्नेभन्दा पनि भ्रष्टाचारमा म्ंलग्नलाई उन्मुक्ति दिने काम गरिरहेको उनले बताए । झापाको गिरीबन्धु टी–स्टेटलगायत गोकर्ण फरेस्ट रिसोर्टलगायत एमाले सरकारको पालामा भएका नीतिगत निर्णयलाई छानबिन गर्न उनले चुनौती दिए । एमाले नुवाकोटको जिल्लास्तरीय प्रशिक्षण कार्यक्रमका प्रमुख अतिथिको रूपमा नुवाकोट आएका वरिष्ठ उपाध्यक्ष पोखरेलले बुधबार पत्रकार भेटघाट कार्यक्रममा उक्त कुरा बताएका हुन् ।
    उनले एमालेको अडानपछि सरकार सुन काण्डको विस्तृत अध्ययनका लागि उच्चस्तरीय आयोग बनाउन तयार भएको जनाउँदै सो आयोगमार्फत सत्य–तथ्य छानबिन गर्न पार्टीले सहयोग गर्ने जानकारी दिए । बुधबार र बिहीबार हुने जिल्लास्तरीय प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले एमालेले संगठन सुदृढीकरणका लागि प्रशिक्षण भेला गरिरहेकाले सुदृढ एमालेले नै राष्ट्रियताको जगेर्ना र जनजीविकाको सवालमा खरो ढंगले काम गर्न सक्ने बताए । सो कार्यक्रममा प्रशिक्षणको विषयवस्तुबारे जानकारी गराउँदै एमाले नुवाकोटका अध्यक्ष बद्री मैनालीले नुवाकोटमा एमालेको गतिविधिको जानकारी गराएका छन् ।
    प्रशिक्षण कार्यक्रममा सूचना प्रविधि र सञ्चारबारे वाइपी आचार्य, अर्थ राजनीतिबारे एमालेका स्थायी समिति सदस्य एवम् केन्द्रीय लेखा समितिका संयोजक पुष्पराज कँडेल, ‘समृद्ध नेपाल सुखी नेपाली’को आकांक्षा र परिकल्पनाबारे बागमती प्रदेश कमिटीका इन्चार्ज स्थायी कमिटी सदस्य गुरु बराल, जबजको विकास, दशौँ महाधिवेशनको कार्यदिशा र कार्यभार विषय–वस्तुमा एमालेका वरिष्ठ उपाध्यक्ष एवम् पूर्वउपप्रधानमन्त्री ईश्वर पोखरेलले पहिलो दिन बुधबार प्रशिक्षण दिएका थिए ।
    एमाले नुवाकोटका उपाध्यक्ष बुद्धिबहादुर प्रधानले दिएको जानकारीअनुसार दोस्रो दिनको प्रशिक्षणमा केन्द्रीय स्कुल विभागका रामशरण प्याकुरेलले प्रशिक्षण, सीप, कला र शैली, पार्टीका पोलिटब्युरो सदस्य एवम् केन्द्रीय स्कुल विभागका उपप्रमुख ईश्वरी रिजालले माक्र्सवादी विश्व दृष्टिकोण, बागमती प्रदेश कमिटीका अध्यक्ष केशवराज पाण्डेले जनसङ्गठन र पार्टीबीचको अन्तरसम्बन्ध, पूर्वपोलिटब्युरो सदस्य एवम् पराराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले संविधान कार्यान्वयन र पार्टीका उपमहासचिव विष्णु रिमालले राजनीतिक पार्टीहरूको तुलनात्मक अध्ययन र मिसन २०८४ को विषयवस्तुमा प्रशिक्षण दिएका छन् ।

No comments:

Post a Comment