![]() |
घर टहरा भत्काइएपछि आक्रोशित बनेका ईन्द्रायणी चौरमा बस्दै आएका भुकम्प पिडितहरू । |
विदुर । जिल्ला प्रहरी कार्यालयले गत शनिबार भएको घटनामा सात जनालाई पक्राउ गरि मुद्दा चलाउने भएको छ ।
विदुर नगरपालिका, जिल्ला बिपद ब्यवस्थापन समिति तथा गृह मन्त्रालयको सिफारिसमा नेपाल सरकार मन्त्रिपरिषदको २०७९ भदौं २७ गतेको बैठकले विदुर नगरपालिका वडा नं. १ स्थित ईन्द्रायणी चौरमा रहेको साविक भैरवी –१ कित्ता नम्बर ५० को १४२–१०–२–३ रोपनी जग्गा क्षेत्रफल लिजमा सिटिइभिटी अन्तर्गतको पोष्ट बहादुर बोगटी बहुप्राविधिक शिक्षालयलाई दिने निर्णय भएकोमा २०७२ साल को भुकम्प पश्चात जिल्लाका बिभिन्न स्थानबाट आएर उक्त जग्गामा लामो समयदेखि अबैध रुपमा कब्जामा लिई टहरा बनाई बस्दै आएका थिए ।
उक्त शिक्षालयले बिदुरनगरपालिकालाई जग्गा खालि गराउन अनुरोध गरे अनुसार वैशाख १७ गते गते बिदुर नगरपालिकाले सर्वदलीय बैठक मार्फत जग्गा खाली गराउने निर्णय गर्दै पटक पटक जग्गा खाली गर्न सूचना प्रकाशित गर्दै आएकोमा अटेरी गरेपछि भदौं ७ गते भएको जिल्ला सुरक्षा समितिको निर्णयानुसार ९ गते शनिवार जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोली लगायतको टोली जग्गा खाली गर्न उक्त स्थानमा पुगेको थियो । प्रहरी पुगेपछि उनीहरूले ढुंगामुढा गरि प्रहरी माथि आक्रमण गरेपछि घटनालाई नियन्त्रणमा लिन प्रहरीद्वारा ११ सेल अश्रुग्याँस प्रहार गरी स्थिति नियन्त्रणमा लिएको थियो । उक्त घटनामा प्रहरी निरीक्षक सहीत ७ जना प्रहरी घाईते भएका थिए ।
घटनामा सम्लग्न ७ जनालाई पक्राउ गरि मुलुकी अपराध संहिता २०७४ अन्तर्गत अभद्र ब्यहार कसूरमा दिन ७ (सात) म्याद लिई अनुसन्धान अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । पक्राउ परि मुद्दा दर्ताका लागि म्याद थप भएकाहरूमा नुवाकोट किस्पाङ गाउँपालिका वडा नं. १ का ३६ वर्षीय तर्क बहादुर तामाङ, ४५ वर्षीय तेजबहादुर तामाङ, ३३ वर्षीय बहादुर बिक, ४५ वर्षीय श्रीमाया तामाङ, ४४ बर्षिया जितबहादुर तामाङ, रसुवा आमाछेदिङमो वडा नं. १ का ३५ वर्षीय तेन्जिङ तामाङ र रसुवा नौकुण्ठ गाउँपालिका वडा नं. ५ का २९ वर्षीय ठाकुर तामाङ छन् ।
आठ वर्षदेखि बसोवास रहेको ६५ घरटहरा भत्काइयो
विदुर । भूकम्पपछि सुरक्षित स्थान खोज्दै आएर विदुर नगरपालिका–१ सिम्बुटारमा बसेका ६५ घरधुरीलाई स्थानीय प्रशासनले शनिबार बल प्रयोग गरेर हटाइएको छ । नगरपालिकाको नेतृत्वमा प्रहरीले घरटहरा भत्काइदिएको हो । घरटहरा भत्काउने क्रममा सुकुम्बासी र प्रहरीबीच झडप भएको छ ।
सुकुम्बासीको ढुंगामुडाबाट केही प्रहरी घाइते भएका छन् । प्रहरी निरीक्षक रुद्र कँडेलको टाउकोमा गहिरो चोट लागेको छ भने एक सहायक हवल्दार घाइते भएका छन् । सूचना दिएर बारम्बार आग्रह गर्दा पनि ठाउँ छाड्न नमानेपछि बल प्रयोग गर्न‘परेको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताएका छन् । स्थिति नियन्त्रणमा लिन प्रहरीले ११ सेल अश्रुग्यास प्रहार गरेको उनले बताए । ‘नगरपालिकाले पटक–पटक ठाउँ छाड्न गरेको आग्रहलाई अटेर गरेपछि सुरक्षाकर्मीको सहयोगमा हटाइएको हो,’ प्रजिअ पौडेलले भने, ‘०७५ सालदेखि विभिन्न निकायले पटक–पटक कोसिस ग¥यो । ३ पटक वडाले, ३ पटक नगरपालिकाले, सर्वदलीय बैठकबाट निर्णय गरेर आग्रहसहित माइकिङ गर्दा पनि नहटेपछि नगरपालिकाले नेतृत्व लिएर अगाडि बढ्न चाहेको बेलामा सुरक्षा दिएका हौ ।’
भूकम्पपीडितले भने हटेर जाने समय नै नदिइ घरटहरा जबर्जस्ती भत्काएको बताएका छन् । सिम्बुटार बस्दै आएकी रसुवा ठूलोहाकुकी मिना घलेले बर्खाको बेला नहटाइदिन आग्रह गरे पनि प्रशासनले बलमिच्याइँ गरेको बताइन् । ‘बाढीपहिरो आएका बेलामा हामी कहाँ जाने ?,’ उनले भनिन्, ‘बर्खामासमा कहाँ गएर बस्ने ? समय दिनु प-यो । चराचुरुंगीले त गुँड खोजेर बसेको छ, हामी त मान्छे हो ।’ व्यवस्थित बसोबास भएपछि जान्छौं भने पनि जबर्जस्ती बिचल्ली पारिएको उनले बताइन् ।
नुवाकोट किस्पाङ–१ भाल्चेका जीतबहादुर घले भूकम्पले गाउँ तहसनहस पारेकाले बस्ने ठाउँ नभएरै सिम्बुटारमा शरण लिएको बताए । ‘गाउँमा पहिरो छ । बर्खाको बेला नउठाइदिए हुन्थ्यो,’ उनले भने । सोही ठाउँकी श्रीमाया घलेले तीन महिनाजति समय दिए सर्न तयार रहेको आग्रह गर्दागर्दै घरटहरा भत्काएर बिजोग बनाइदिएको बताइन । उनले भनिन् ‘हामीलाई जाने ठाउँ व्यवस्था गरिदिनुस् जग्गा छोडिदिन्छु भनेका हौं ।’
विदुर नगरप्रमुख राजन श्रेष्ठले पटकपटक समय दिँदा पनि नहटेपछि जबर्जस्ती गर्नु परेको बताए । ‘उहाँहरूलाई समय दिएका थियौं,’ उनले भने,‘जहिले पनि एक/एक वटा बहाना गरेर बस्दै आए । अति भएपछि बल गरेर हटाउनु प¥यो ।’
२०७२ वैशाखको भूकम्पपछि विभिन्न ठाउँका विस्थापित सिम्बुटारमा बसोबास गर्दै आएका थिए । सुरुवातका केही वर्ष भूकम्पपीडितका बस्तीमा राहत पनि वितरण गरिएको थियो ।
सुरुमा म्यागङ, किस्पाङ, सूर्यगढी गाउँपालिका र रसुवा हाकुका गरी ९३ घरपरिवार भूकम्पपीडित बसेका थिए । पछि २८ घरधुरी आफ्नो थातथलो फर्किए भने ६५ धुरी बसिरहेका थिए । भूकम्पपीडितका लागि निजी आवास निर्माणमा सघाउने सरकारी लाभग्राही सूचीमा परेर राहत लिए पनि थातथलो फर्किन नमानेकालाई विदुर नगरपालिकाले २०७५ देखि सिम्बुटारको जग्गा खाली ३÷३ पटक ताकेता गर्दा अटेर गरेको जनाएको छ ।
सिम्बुटारमा भूकम्पपीडित बसेको जग्गा विदुर नगरपालिका, जिल्ला विपद् व्यवस्थापन समिति र गृह मन्त्रालयले २०७९ सालमा पोष्टबहादुर बोगटी बहुप्राविधिक शिक्षालयको नाममा सरकारले भाडामा दिएको छ । उक्त जग्गा १४३ रोपनी छ ।
No comments:
Post a Comment