भुलिदै दसैंको मौलिक परम्परा
यसपटकको दसैं सकिएको छ । दसैंको महत्व अन्य भन्दा हिन्दु धर्मालम्बीहरू मााझ छ । यसलाई बिजयको खुसीयाली भएकैले होला बिजयादशमी भनिन्छ । बिजयादशमी पर्व हिन्दु धर्मालम्बीहरूले धुमधामका साथ मनाउने गर्छन् । हुनेले खाने, पिउने, लगाउने नै भए । नहुनेले ऋणधन गरेर पनि मिठो खाने र राम्रो लगाउने पर्वका रुपमा दसैंलाई मनाउने गरेको पाईन्छ । दसैंको रौनक हरेक तरिकाबाट देखिन्छ । अझै पनि बजारमा भन्दा गाउँमा दसैं आएको रौनक बढी हुने अनुभव हुन्छ । छोराछोरी पढाउन बजारतिर बस्नेलाई पनि चाडपर्व सुरु भएपनि छिटो गाउँ फर्किन मन लाग्छ । चाडपर्वको महत्व भनेको गाउँमा बढी हुने गरेको छ । बजारतिर सरसामान किन्नेको भिडभाड भएपनि गाउँमा भने मौलिक सांस्कृति र परम्परागत तौरतरिका हुन्छ । तर, युवा पलायन, प्रविधिको विकास र बसाइँसराइका कारण चाडपर्वको मौलिकता र परम्परागत ग्रामीण परिवेशमा पनि परिवर्तन आएको छ । रातो माटो र कमेरोले पोतिएर घर गाउँमा देखिन छोडेका छन् । इनामेल र आयातित रंगले घरघर रंगिन थालेपछि गाउँका मड्किना गृहिणीहरूले विर्सिसकेका छन् । ढिकीमा चिउरा कुट्ने परम्परा हराएर गएको छ । सबै बस्तु बजार आश्रित भएको छ । नयाँ लुगा लगाउन दसैँ नै पर्खनु पर्दैन अब । दसैं नयाँ लुगा लगाउने र मासु खाने पर्वका रूपमा चिनिए पनि यी दुवै चिजको सहजताले दसैँको रौनक हटेको छ । अहिले घरहरू रातो माटो र कमेरो माटोले पोतिँदैनन् । मौलिक शैलीका घरलाई सिमेन्टबाट बनेका आधुनिक घरले विस्थापित गरिसकेका छन् । शहरदेखि गाउँसम्म आधुनिक घरहरू बनाइएका छन् । दशैं धार्मिक, सांस्कृतिक र सामाजिक चाड पनि हो । दशैंले समाजलाई जोड्छ । नाता सम्वन्धलाई नविकरण गरिदिएर सदभाव र अपनत्वको भाव उत्पन्न गरिदिन्छ । तर,मोवाइल र ईन्टरनेटको प्रयोगले नाता सम्वन्धहरू औपचारिकतामा मात्रै सीमित हुन थालेका छन् । सानासाना नानीबाबुहरू मावली जान भन्दा मोवाइलमा गेम खेल्न रुचाउँछन् । पैदल हिडेर रात साँझमा माइती, मावली र ससुराली जानेहरू गाउँगाउँ सडक सञ्जाल पुगेपछि सवारी साधनमा हुइँकिन थालेपछि गाउँमा गोरेटो बाटोहरू पनि सुनसान देखिन्छन् । वर्षदिनको चाडपर्वमा भेट हुँदा आफ्ना दुःखसुख बाँड्ने समय पनि हराईसकेको छ । गाउँको मौलिकता हराएको छ । गाउँलेहरू बजारमा आश्रित बनेका छन् । अचेल बढ्दो शहरीकरणसँगै आर्थिक रूपमा सवल भएका परिवारका लागि राम्रो खान र लगाउन दसैँ कुरी रहनु नपर्नेभएको छ ।
अहिले शहरीकरण र बसाइँसराइले गर्दा पनि पहिलाको तुलनामा दशैंको त्यो रौनक हराउँदै गएको छ । नयाँ लुगा लगाउन र मिठो खान दशैं नै कुर्न‘ पर्छ भन्ने कुरा हराएको छ । पहिला आफ्ना आफन्त नातेदार, दाजुभाइसँगै एक गाउँठाउँमा बस्थे र हरेक चाडपर्वमा जम्मा भई दुःख सुख साटासाट हुन्थ्यो । अहिले आएर अबसर र सुखद भविष्यको खोजीमा सुबिधा सम्पन्न ठाउँमा बसाइँ सर्ने प्रक्रिया तिव्र छ । परिणाम आफ्ना र आफन्तबीचमा दुरी बढेको छ । अहिलेको दशैं पहिलेकोझैं आत्मीय र सभ्य छैन । रमाइलोका नाममा रक्सी र मासुको व्यापार बढी भएको देखिन्छ । जसले गर्दा दशैंको त्यो रौनकता, आफन्तको सामिप्यता हराउँदै गएको छ । जुन दशैं हामीले देख्यौं मनायौं त्यसको महत्व हामीले अबका पुस्तालाई बुझाउन सकेनौं भने दशैंको असली रुप हराउँदै जानेछ । लाहुरे आएपछि उसकै घरमा लौ खसी काट्ने भन्ने सुनिन्थ्यो । अहिले भने लाहुरेको खासै मतलव छैन । बजारतिर सुनसान बन्दै जाादा गाउँतिर रौनक बढ्न सुरु हुन्छ । खसी, बोका खोज्न दुर्गम गाउँतिर जानेहरूको छुट्टै मजा छ । दसैंलाई पालेको खसी मोटायो कि दुब्लायो भनेर हेर्न जाने गर्थे । दसैंं सुरु भएपछि गाउँ–गाउँमा माईकका आवाज आउन थाल्छ । पहिले पहिले भने नवदुर्गा सुरु भएपछि दैनिक कोटघरमा बन्दुक पड्काउने, मेला लाग्ने हुन्थ्यो । तर गाउँको रौनकका रुपमा लिईने भरुवा बन्दुक कमै पड्कन थालेका छन् । १५÷२० वर्ष अघिसम्म गाउँमा भरुवा बन्दुक पड्केको आवाजले दसैंं आएको रौनकै बेग्लै हुने गर्दथ्यो । तर, अहिले भने कमै सुनिन्छ । गाउाका कोटघरमा घटस्थापनामा जमरा राख्नेदिन देखिनै दैनिक भरुवा बन्दुकको आवाज आउन थालेपछि दसैंको महशुष हुने गर्दथ्यो ।
आजकाल भने दसैं आएजस्तो पनि नहुने अवस्था छ । स्थानीयबासी मौलिक परम्परा हराउदै गएकोमा चिन्तित छन् । समय, काल, परिस्थितिले पनि यस्तो भएको हुनसक्छ । गाउँमा पहिले प्रायः भरुवा बन्दुक हुने गर्दथ्यो । तर, माओवादी द्वन्द्वयता भने प्रशासनले त्यस्ता बन्दुक राख्न दिएको छैन । भरुवा बन्दुक बिहे, दसैं, अन्य चाडपर्वमा साईत हेरेर पड्काउने गरिन्छ । गाउँघरमा भरुवा बन्दुक पड्काउने, शंख फुक्ने आवाज आउन छाडिसकेको छ । गाउँघर र छिमेकी गाउँमा घटस्थापनादेखि सुरु हुने सामुहिक पुजा, कोटघरमा रमाईलोसंग गरिने पुजा पनि कमै मात्र हुन थालिसकेको छ । बैद्धिक विधिअनुसार नवरात्रका नौ दिनसम्म कुल देवता र शक्तिपिठमा बसेर गाउलेले पुजा गर्ने, नौ दिन निराहार बस्ने र अष्टमीका दिनमा कालरात्री पुजा गरिसकेपछि मात्रै खाने चलन समेत हट्न थालिसकेको छ । बजारमा बस्नेलाई यस्ता कुराको कुनै मतलव नै छैन । घर घरमा मानो उठाउने र मठ मन्दिरमा बृद्ध, युवाहरू नवरात्रमा बस्ने चलन पनि हट्न थालेको छ । गाविसमा भएका कोटघरमा सामुहिक पुजामा समेत समस्या आईसकेको छ । कोटघरमा जाने बाटो खन्न समेत छाडिएको छ । अहिले सरकारी पैसा आएपछि मात्र बाटो खनिन्छ । अझै टाठाबाठा उपभोक्ता समूह परे भने त त्यो बाटो पनि खनिदैन । सरकारी रकम आउला र बाटो खनम्ला भन्ने हुन थालिसके । युवाको विदेश पलायन, आधुनिक संस्कृतिको विकाससंगै पुराना चलनहरू हट्दै गएको हुन सक्छ । यातायात र सञ्चारको विकाससंगै भित्रिएको बाह्य संस्कृतिले मौलिक पर्वहरू आधुनिक बन्दै गएका हुन् । दसैं पनि सांस्कृतिक अतिक्रमणमा परेको छ । गाँउघरमा राखिने रोटे पिङ्ग, लिङ्गे पिङ्ग, जाँंते पिङ्ग समेत कम हुदै गएको छ । तर, मौलिक परम्परा भुल्दै जानु दुःख पक्ष हो ।
No comments:
Post a Comment