Monday, October 09, 2023

एउटा पुल बन्न आठ वर्ष

खोलाको बहाव नियन्त्रणमा लापरबाही भएसँगै पाँच वर्षसम्म अलपत्र भएको पुल अहिले सञ्चालनमा

विदुर । एउटा पक्की पुल निर्माण सम्पन्न हुनकालागि कत्ति अवधी लाग्ला ? सायदै एक/दुई आर्थिक वर्षमा सम्पन्न हुने गरेको छ । तर नुवाकोटको विदुर नगरपालिका–५ र बेलकोटगढी नगरपालिका–१२ को तादी खोलामा निर्माण थालेको आठ वर्षपछि मोटरेबल पक्की पुलको निर्माण सम्पन्न भएर सञ्चालनमा आएको छ ।
    निर्माण सम्पन्न गरिसक्नुपर्नेभन्दा थप पाँच वर्ष ढिलो गरेर पुल निर्माण सम्पन्न भएको सडक डिभिजन नुवाकोटले जानकारी दिएको छ । विदुर नगरपालिका–५ र बेलकोटगढी नगरपालिका–१२ तादी–सिन्दुरे मोटरेबल पुल निर्माण सम्पन्न भएपछि अनौपचारिक रूपमा गत असार मसान्तदेखि नै सञ्चालनमा आएको हो ।
    ठेक्का लागेर निर्माण सुरु भएपछि खोलाले बाटो परिवर्तन गर्दा निर्माण अन्योल भएको थियो । उक्त पुलको दायाँ–बायाँ, वारि–पारि, तल्लो भाग, माथिल्लो भागमा तटबन्दी निर्माण गरेर खोलाको बहाव नियन्त्रणका लागि थप निर्माणकार्य गर्न २०७७ बाट सुरु भएको थियो । पुर्व डिभिजन प्रमुख (दुई साता अघि नुवाकोटबाट सरुवा भएका) अमृतमणि रिमालका अनुसार पुल निर्माणका क्रममा परिवर्तन गरिएको खोलाको बहाव नियन्त्रणमा लापरबाही भएसँगै पाँच वर्षसम्म अलपत्र भएको पुल अहिले सञ्चालनमा आएको हो ।
    ११ मिटर चौडा रहेको उक्त पुलको लम्बाइ दुई सय ५४ मिटर लामो छ । उनले भने, ‘पुल निर्माणको क्रममा तादी खोलाको बहावले विदुरतर्फ खोलाको बहाव परिवर्तन भएसँगै अहिले बनाएको पुलको दूरी जत्तिकै थप स्पान आवश्यक पर्ने जनाउँदै काम रोकिएको थियो । खोलाको बहाव नियन्त्रण गरेसँगै पाँच वर्षसम्म जुन अवस्थामा रहेको थियो, सोही अवस्थाकै पुललाई अहिले सञ्चालनमा ल्याइएको हो ।’
    पुल निर्माणको क्रममा डिपिआरमा औँल्याइएको र सुरुवाती ठेक्काको समयमा गरिएको सम्झौताअनुसार १२ करोड ५९ लाख लगानीमा निर्माण सम्पन्न भएको डिभिजन कार्यालयका इन्जिनियर सुमनराज बस्नेतले जानकारी दिए । उनका अनुसार पुल निर्माणको जिम्मेवारी पाएको शर्मा–वाइबा जेभी कम्पनीलाई अझै दश प्रतिशत रकम भुक्तानी दिन बाँकी छ । तादी र सिन्दुरे खोलाको दोभानमा निर्माण गरिएको उक्त पुलले नुवाकोटको सदरमुकाम विदुरलाई राजधानी काठमाडौंसँग जोड्न सबैभन्दा छोटो दूरी पर्छ ।
    विदुरबाट पाँच किलोमिटरको दूरीमा रहेको उक्त पुल हुँदै ककनीसम्मको दूरी १८ किलोमिटर पर्दछ । अझै यो पुलबाट सीधा मध्यपहाडी सडकको सेराको जोड्ने हो भने हालको दूरीभन्दा कम हुनेछ ।
    हाल सडक घुमाउरो पाराले क्रसर, कोल्ड स्टोर हुँदै मध्यपहाडी सडकखण्डको गँगटे सेरामा जोडिँदाभन्दा पुलबाट सीधै मध्यपहाडी सडकको सेरामा जोड्दा डेढ किलोमिटर कम हुने इन्जिनियर बस्नेतले बताए । मध्यपहाडी सडकमा जोडिँदा नयाँ बस्ती विकास हुने र उक्त क्षेत्रको जग्गाको मूल्याङ्कन वृद्धि हुनेछ ।
    पुलको लम्बाइ दुई सय ५४ मिटर र डेढ मिटर फुटपाथबाहेक ७.५ मिटरमा मोटर गुड्नेछ । प्रिस्ट्रेस आरसिसी पुलको ६ स्पान रहेको छ । साबिकको पासाङल्हामु राजमार्गअन्तर्गत ककनीबाट बालाजु २२ किलोमिटरको दूरीमा रहेकाले नुवाकोटको सदरमुकामबाट काठमाडौं जोड्न तादी खोलाको अहिले सञ्चालनमा आएको पुल सबैभन्दा बढी उपयोगी हुने ककनी गाउँपालिकाका अध्यक्ष सुमन तामाङले बताएका छन् ।
    उनका अनुसार पुलबाट सवारीसाधन आउजाउ गर्न थालेसँगै ककनी गाउँपालिका पूरै र बेलकोटगढी नगरका पाँच वडाका बासिन्दालाई अहिले प्रयोग गर्दै आएको पासाङल्हामु राजमार्गको भन्दा आधा दूरी छोटो पर्दछ । उनले भने, ‘ककनीमा उत्पादित कृषि सामग्री जिल्लाको सदरमुकामसम्म पु-याउँदा काठमाडौं घुमाएर अर्को सडकको प्रयोग गर्नपर्ने बाध्यता टरेको छ । सडकलाई बाह्रै महिना सञ्चालनमा ल्याउन आवश्यकता अनुसार स्तरोन्नतिमा तीनै तहका सरकारले प्राथमिकता दिएका छौं ।’

No comments:

Post a Comment