![]() |
महंगोमा मेसिन किन्नकै लागि सरुवा |
उपेन्द्र खड्का/उकेरा डटकम
काठमाडौँ । तीन जिल्लाका अस्पतालका लागि तीन वटा सिटी स्क्यान मेसिन किन्न बागमती प्रदेश सरकारले २४ करोड बजेट छुट्टायो । नुवाकोट, सिन्धुली र भक्तपुर अस्पतालमा आठ करोडका दरले तीन वटा सिटी स्क्यान मेसिन खरिद प्रक्रिया अगाडि बढिसकेको छ ।
त्यसमध्ये नुवाकोटको त्रिशूली अस्पतालका लागि सिटी किन्ने प्रक्रिया टेन्डर भएर प्रिबिड मिटिङ समेत सकिइसक्यो । इमानदार भएर किन्ने हो भने यी तीनै मेसिन करिब १५ करोडमा जडान गर्न सकिन्छ । तर केन्द्रदेखि प्रदेशसम्मको स्वास्थ्यमन्त्रीको इन्ट्रेस्टमा सिधै नौ करोड बढी मूल्यमा सिटी किन्ने तयारी गरेका छन् । यसमा प्रत्यक्ष सम्लग्न देखिए स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत । प्रदेशको स्वास्थ्य मन्त्रालयका सचिव बद्री खड्का, सम्बन्धित अस्पतालका प्रमुखसम्म उनका सहयोगी देखिएका छन् । सेटिङ मिलाउन मन्त्री बस्नेतको नाताले भान्जा पर्ने ज्ञानेन्द्र थापा देखिएका छन् ।
सेटिङमा मेसिन आपूर्ति गर्नेमा ‘मेट्रोनिक्स नेपाल प्रालीका कार्यकारी निर्देशक धिरज थपलिया अनि भण्डारी सर्जिकल हाउसका मालिक आरएस भण्डारी सक्रिय छन् । त्रिशूली अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. प्रतीक सिंह यो समूहको मुख्य सहयोगी बनेका छन् । सिटी स्क्यान खरिदकै लागी उनलाई त्रिशूली अस्पतालमा सरुवा गरिएको हो ।
सिन्धुली र भक्तपुर अस्पतालले पनि त्रिशूलीकै मूल्यमा सिटी स्क्यान मेसिन खरिदको तयारी गरेका छन् । भक्तपुर अस्पतालका मेडिकल सुपरीटेण्डेण्टमा डा. त्रिभुवनचन्द्र झा छन्। उनले सिटी स्क्यान राख्ने ठाउँ लगायतका बारेमा अध्ययन अगाडि बढाइसकेका छन् ।
सिन्धुली अस्पतालमा निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. अविशेक थपलिया छन् । सिन्धुलीमा खरिद प्रक्रिया अगाडि बढाउन खरिद इकाई गठन भइसकेको खुल्यो । मिलेमतोमा हुन लागेको खरिदमा बिचौलियाको रूपमा नातामा स्वास्थ्यमन्त्रीका भान्जा पर्ने थापा सबैभन्दा धेरै सक्रिय देखिए । सम्बन्धित अस्पतालको प्रमुखसँग भेट्ने, आफू निकट आपूर्तिकर्ताको प्राविधिक स्पेशिफिकेशन अनुसारकै स्पेशिफिकेशन बनाउन लगाउन उनी सक्रिय देखिए । स्वास्थ्यमन्त्री बस्नेतले प्रदेशको स्वास्थ्यमन्त्री उत्तम जोशीलाई बाइपास गर्दै प्रदेश सचिव मार्फत काम अगाडि बढाएको विश्वस्त स्रोतले उकेरालाई जानकारी दियो । जोशीसँग उकेराले खरिदबारे कुरा गर्दा उनले त्यही संकेत गरे ।
क्यानननै सिटी किन्न स्पेक लक
सो समूहले तीनवटै अस्पतालमा क्यानन–तोसिवाको सिटी स्क्यान मेसिन खरिद गराउन सोही अनुकूल स्पेशिफिकेशन बनाउन लगाएका छन् । त्रिशूलीको स्पेशिफिकेशन लक्ड छ । अन्त पनि सोही स्पेशिफिकेशन अनुसार टेन्डर आव्हान गर्ने तयारी अगाडि बढिसकेको देखियो । क्यानन–तोसिवा एउटै कम्पनीका दुई ब्रान्च भएकाले यीमध्येबाटै सिटी खरिदको तयारी गरिएको छ । दुई वर्ष अघि मेसिन उत्पादक कम्पनी ‘तोसिवा’लाई ‘क्यानन’ले लिएको हो । क्यानन जापानी मेसिन हो । क्याननको आधिकारिक नेपाली सप्लायर्स (कम्पनी) ‘मेट्रोनिक्स नेपाल प्रा.ली.’ हो । यसका प्रमुख धिरज हुन् । भण्डारी सर्जिकल हाउसका मालिक आरएस भण्डारी हुन् । उनी ह्याम्स अस्पतालका अध्यक्ष समेत हुन् । स्वास्थ्य मन्त्री बस्नेतका भान्जा ज्ञानेन्द्र थापा, धिरज र आरएसका मुख्य सहयोगी हुन् । मेसिन उत्पादक कम्पनी क्याननको आधिकारिक नेपाली सप्लायर्स (कम्पनी) ‘मेट्रोनिक्स नेपाल प्रा.ली.’ भए पनि मेट्रोनिक्सले यो सिटीको टेन्डर प्रस्ताव नगरी आरएस भण्डारीले भण्डारी सर्जिकल वा उनी निकट अन्य कम्पनीमार्फत त्रिशूलीको सिटी खरिदका लागि टेन्डर पार्ने रणनीति रहेको देखिन्छ ।
यी सबै चाँजोपाँजो मिलाउन सक्रिय देखिएका थापासँग उकेराले सम्पर्क गर्दा उनले ‘आफू स्वास्थ्य मन्त्री बस्नेतको आफ्नै भान्जा नभए पनि नाताले भान्जा पर्ने’ बताए । उनले आरएस भण्डारीसँग पनि चिनजान भएको स्विकारे । ‘आरएस भण्डारी चिन्छु,’ थापाले भने । उनले मिलेमतोमा सिटी स्क्यान मेसिन किन्न आफू संलग्न रहेको झुटो भएको दाबी गर्दै भने ‘म मन्त्रालयमा केहीमा पनि छैन । खरिदमा न मेरो फर्म छ, न यो विषयमा मलाई केही थाहा छ । मैले यो विषयमा अहिलेसम्म काम गरेको पनि छैन । जिरो छु, खासै मलाई केही थाहा पनि छैन ।’
उनले जे दाबी गरे पनि उकेराले प्राप्त गरेको तथ्यहरूले उनी सिटी मेसिन खरिद प्रक्रिया आफू अनुकूल बनाउन सक्रिय रहेको देखिन्छ । थापाले ‘माथिको आदेश’ भन्दै त्रिशूली, सिन्धुली र भक्तपुरमा सिटी खरिदका लागि सिटीको खरिद प्रक्रिया चाँडो अगाडी बढाउनका दबाब दिँदै आएका छन् । तीन अस्पतालमध्येका एकका कर्मचारीले भने ‘छिटो गर्नुपर्यो भन्ने हिसाबले मलाई प्रेसर आइरहेको छ ।’ खरिद प्रक्रियामा संलग्न एक जनाले स्वास्थ्यमन्त्री बस्नेतका भान्जा बताउँदै थापाले आफूलाई भेटेर खरिदमा मलाई सहयोग गर्नुपर्यो भनेको उकेरालाई बताए ।
त्रिशूली अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. सिंहले एउटा कम्पनीको मेसिनसँग मात्रै मिल्ने गरी प्राविधिक स्पेशिफिकेशन नबनाएको र मेसिन खरिदमा कमिसनको खेल नरहेको दाबी गरे । बागमती प्रदेश स्वास्थ्य मन्त्रालयबाट सिटी खरिदको प्राविधिक तथा आर्थिक लगायतको कागजात स्वीकृति भएर आएको उनले बताए । ‘स्पेशिफिकेशन प्रदेश (स्वास्थ्य) मन्त्रालयबाट नै अप्रुभ भएर आउने हो,’डा. सिंहले भने । पाँच करोड भन्दा बढी मूल्यको सामान खरिद गर्दा प्रदेश स्वास्थ्य मन्त्रालयबाट खरिद अनुमति लिनुपर्ने उनले जानकारी दिए । उनले दिएको जानकारीबाटै यो खरिद बदमासीमा प्रदेशको स्वास्थ्य मन्त्रालयका अधिकारीको संलग्नता थप पुष्टि गर्छ । सिटी खरिदको विषयमा आरएस भण्डारीले आफू संलग्न नरहेको दाबी गरे । ‘मैले २५ वर्षको करिअरमा आजका दिनसम्म एउटा सिटी पनि बेचेको छैन,’ भण्डारीले भने, ‘सिटी स्क्यान मेसिन सप्लाई गर्दा पनि गर्दिनँ । मसँग कम्पनी पनि छैन ।’ उनले आफूसँग कम्पनी नरहेको दाबी गरे पनि भण्डारी सर्जिकल हाउस उनकै हो । उनले अहिले सो कम्पनी आफ्नो भाइहरूले चलाउने गरेको खुलाए । ‘६–७ वर्षदेखि यो (मेडिकल) बिजनेस मेरो भाइहरूले हेरिरहेका छन्, म हेर्दिन,’ उनले दाबी गरे ‘भण्डारी सर्जिकल हाउस भन्ने मेरो हैन, भाइहरूले गर्छन् । म त्यसमा इन्भल्भ छैन । म अहिले ह्याम्समा मात्रै इन्भल्भ छु ।’
त्रिशूलीमा प्रिबिड, अन्त खरिद तयारी
नुवाकोटको त्रिशूली अस्पतालले ‘१२८’ स्लाइसको सिटी स्क्यान मेसिन किन्ने प्रक्रिया अगाडि बढाइसकेको छ । उसले सो मेसिन करिब आठ करोडमा खरिद गर्ने गरी टेन्डर (बोलपत्र) आह्वान नै गरिसकेको छ । त्रिशूली अस्पतालले २०८० असोज दुई गते (२०२३, सेप्टेम्बर १९) मा सिटी स्क्यान मेसिन खरिदका लागि टेन्डर आह्वान गरेको थियो । त्रिशूली अस्पतालले किन्न लागेको सिटी स्क्यान मेसिनको करिब पाँच करोड रुपैयाँ लागत पर्ने जानकारस्रोतले बतायो ।
सिन्धुली अस्पताल र भक्तपुर अस्पतालले पनि त्रिशूलीकै मूल्यको सिटी स्क्यान मेसिन खरिदको तयारी गरेका छन् । भक्तपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. त्रिभुवनचन्द्र झाले अहिले सिटी स्क्यान राख्ने ठाउँ लगायतका बारेमा अध्ययन भइरहेको जानकारी दिए । ‘सिटी कहाँ राख्ने, कस्तो किसिमको किन्ने भन्ने बुझ्न एउटा टिमलाई लगाएका छौँ, ’डा. झाले भने, ‘उहाँहरूको रिपोर्ट आइसकेपछि मात्रै खरिद प्रक्रिया अगाडी बढ्छ ।’
सिन्धुली अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. अविशेक थपलियाले प्राविधिक नभएकाले सिटी स्क्यान मेसिनको खरिद प्रक्रिया अगाडी नबढेको र प्रक्रियामा रहेको जानकारी दिए । डा. थपलियाका अनुसार सिटी किन्नेबारे प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रसँग समन्वय भइरहेको छ । ‘हामीले आपूर्तिलाई पठाएका छौँ, हाम्रोमा कोही पनि टेक्निसियन हुनुहुन्न,’ उनले भने, ‘खरिद इकाइहरूमात्रै गठन भएको छ, खासै केही पनि भएको छैन ।’
त्रिशूलीमा तीन करोडको खेल
त्रिशूली अस्पतालका प्रमुख सिंह नै निश्चित कम्पनीको उत्पादनसँग मात्रै मिल्ने गरी प्राविधिक स्पेशिफिकेशन बनाउन सक्रिय देखिए । खरिदमा जोडिएका अस्पतालका केही कर्मचारीले निश्चित कम्पनीको उत्पादनसँग मात्र मिल्ने गरी स्पेशिफिकेशन नबनाई खुल्ला प्रतिस्पर्धामा जान सुझाव दिएका थिए । उनले माथिबाटै दबाब छ भन्दै स्पेशिफिकेशन बदल्न मानेनन् नै बरु खरिद प्रक्रिया सुरु भएपछि बायोमेडिकल इन्जिनियरलाई नै निकाले । डेढ वर्ष अघि (२०७८, फागुन) मा स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, बागमती प्रदेश (हेटौँडा) ले पाँच वटा सिटी स्क्यान मेसिन खरिदका लागि टेन्डर आह्वान गरेको थियो । त्यो बेला प्रदेशले आह्वान गरेको टेन्डर चाहेको कम्पनीलाई दिने प्रयास गर्दा कमिसनमा विवाद निम्तिएपछि प्रक्रिया नै रद्द भएको थियो । जापानी कम्पनी हिताचीको नेपाली सप्लायर्सले गत वर्ष यही मुख्य प्राविधिक स्पेशिफिकेशन भएको सिटी स्क्यान मेसिन करिब पाँच करोडमा ल्याइदिनेगरी प्रस्ताव गरेका थिए ।
क्यानन–तोसिवाले करिब ६ करोड ४० लाखको टेन्डर हालेको थियो । स्पेशिफिकेशन अहिले जुन हो मुख्य बुँदा अहिले पनि त्यही नै हो । त्यो बेला पाँच वटा सिटी स्क्यान मेसिन खरिदका लागि टेन्डर सूचनामा सिटी स्क्यान मेसिनको खरिदका लागि बोलपत्र प्रस्तावक कम्पनी (बिडर)ले कम्तीमा ८० लाख बोलपत्र जमानत रकम (बीड सेक्युरिटी अमाउण्ट) राख्नुपर्ने उल्लेख गरेको थियो । सो जमानत रकमको आधारमा हेर्दा औसतमा पाँच वटा सिटी स्क्यान मेसिन करिब ३२ करोडमा किन्न टेन्डर भएको पुष्टि हुन्छ ।
यसरी हेर्दा स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, बागमती प्रदेश (हेटौँडा) ले डेढ वर्ष अघि खरिद गर्न खोजेको एउटा सिटीको लागत मूल्य करिब ६ करोड ४० लाख देखिन्छ । यो त मेसिन खरिदका लागि छुट्टाइएको बजेटको सिलिङ हो । मेसिन यो रकम भन्दा कममा खरिद हुन पनि सक्थ्यो । तर, डेढ वर्षको अन्तरालमा नै त्रिशूली अस्पतालले त्यही किसिमको मेसिन करिब तीन करोड बढी मूल्यमा किन्न टेन्डर गर्यो ।
स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, बागमती प्रदेश (हेटौँडा) ले सिटी स्क्यान मेसिनको टेन्डर गर्दा उसले पाँच वर्षको वारेन्टी राखेको थियो । ‘दी वारेन्टी पिरियड फर दीज् आइटम्स स्यालबी फाइव एयर्स कम्प्रिहेन्सीभ वारेन्टी इन्क्लुडिङ एक्स–रे ट्युब, अल पार्टस् एन्ड लेवर’, डेढ वर्षअघि आपूर्ति व्यवस्थापन केन्द्रले गरेको सिटीको टेन्डरको कागजातमा भनिएको थियो ।
तर, त्रिशूली अस्पतालले ‘दी वारेन्टी पिरियड फर दीज आइटम इन्क्लुडिङ एक्स–रे ट्युब स्यालबी टु एयर्स आफ्टर सक्सेसफुल इन्स्टलेशन अगेन्स्ट एनी म्यानिफ्याक्चर डिफेक्ट्स’ लेखेर अहिले सिटी मेसिनको वारेन्टीको समय दुई वर्ष मात्रै राखेको छ ।
वारेन्टीको समय घटाउनासाथ मेसिनको मूल्य कम हुनुपर्ने हो । तर उल्टो बढ्यो । वारेन्टीको अवधिभर मेसिनमा कुनै समस्या आए कम्पनीले बेहोर्न‘पर्ने हुन्छ । तर, वारेन्टीको समय सकिएपछि मेसिन खरिद गर्ने संस्थाले नै मर्मत लगायतका खर्च बेहोर्न‘पर्ने हुन्छ । जति छोटो समयको वारेन्टी राख्यो मेसिन ल्याउने सप्लायर्सलाई त्यति बढी फाइदा हुन्छ । वारेन्टी पाँच वर्षबाट घटाएर दुई वर्ष बनाउँदा मेसिनको मूल्य नै करिब तीन करोड कम हुने एक जानकारले बताए । ‘दुई वर्ष वारेन्टी राखेको छ भने त तीन करोड जति फरक हुन्छ,’ ती जानकारले भने, ‘बजेट बढ्ने भनेकै वारेन्टीले हो यस्तोमा ।’
यो मेसिनमा जुत्ता किन्दा छुट्टै तुना किन्नुपर्छ भन्ने जस्तै गरी प्राविधिक स्पेशिफिकेशन बनाइए देखिन्छ । तर डा. सिंह आठ वर्षको कम्प्रिहेन्सिभ पिरियड भएकाले दुई वर्षपछि मेसिन बिग्रिए पनि अस्पताललाई आर्थिक भार नपर्ने कुतर्क गर्छन् । ‘आठ वर्षको कम्प्रिहेन्सिभ पिरियड छ । दुई वर्षको वारेन्टी छ । त्यो स्ट्याण्डर्ड नै हो भनेका छन्,’ उनले भने, ‘सीएमसी छ, उनीहरूले आएर बनाउँछन् ।’ कुराकानीका क्रममा डा. सिंहले मेसिनै छनोट भइसकेजस्तै गरी कुरा गरेका थिए । ‘जुनजुन कम्पनीको बीडमा परेन नि, यिनीहरूले ठ्याक्कै यही–यही प्रश्न गरेको छन्,’ डा. सिंहले भने ।
कर्मकाण्डी प्री–बिड मिटिङ
त्रिशूलीको टेन्डर सूचनामा सिटी स्क्यान मेसिन खरिदका लागि बोलपत्र प्रस्तावक कम्पनी (बिडर) ले कम्तीमा २१ लाख १३ हजार दुई सय बोलपत्र जमानत रकम (बीड सेक्युरिटी अमाउण्ट) राख्नुपर्ने उल्लेख छ । सो जमानत रकमको आधारमा हेर्दा औसतमा करिब आठ करोड ४५ लाख २८ हजार मूल्यको सिटी स्क्यान मेसिन खरिदको लागि टेन्डर भएको देखिन्छ । तर, यो सिटी खरिदका लागि बजेटको सीमा आठ करोड मात्र हो ।
सामान्यतया टेन्डर आह्वान गर्न‘ अघि खरिद गर्ने मेसिनको लागत अनुमान तयार गर्न मेसिन खरिदका लागि बोलपत्र (टेन्डर) पेस गर्ने सम्भावित सप्लायर्स कम्पनीहरूलाई खरिद गरिने मेसिनको स्पेशिफिकेशन पठाइन्छ । सप्लायर्सले दिएको मेसिनको लागत अनुमानलाई आधार मानेर टेन्डर गर्ने संस्थाले मेसिन खरिदका लागि लाग्ने सम्भावित लागत अनुमान तयार गर्छ । सामान्यतया कम्तीमा तीन वटा कम्पनीसँग दररेट मागेर लागत तयार गरी टेन्डर प्रक्रिया अगाडी बढाउनुपर्ने हुन्छ ।
त्रिशूलीको टेन्डर आह्वानको सूचनामा ‘प्रि–बिड मिटिङ’ हुने मिति कात्तिक एक गते बुधवार दुई बजे (अक्टोबर १८) लाई तोकिएको थियो । तोकिएको समयमा अस्पतालले ‘प्रि–बिड मिटिङ’ पनि राखेको देखिन्छ । टेन्डर आह्वानपछि ‘प्रि–बिड मिटिङ’को छलफलमा नै खरिद गरिने मेसिनको स्पेशिफिकेशन र बोलपत्रका सर्तमा विभिन्न सप्लायर्स कम्पनीले आ–आफ्नो तर्फबाट मेसिनको विशेषता तथा गुणस्तर लगायतका बारेमा प्रस्तुति दिने हो ।
प्रि–बिड मिटिङको छलफलमा नै सप्लायर्स कम्पनीहरूले टेन्डर प्रक्रियामा रहेको खरिद गरिनुपर्ने मेसिनको कुनै प्राविधिक विषयमा चित्त नबुझेको खण्डमा संशोधनको सुझाव सहितको लिखित माग गर्न सक्छन् । त्रिशूली अस्पतालको ‘प्रि–बिड मिटिङ’मा पुगेका सप्लायर्स कम्पनीका प्रतिनिधिहरूले खरिद हुने सिटी स्क्यान मेसिनको प्राविधिक स्पेशिफिकेशन लगायतका बुँदामा असहमति जनाउँदै लक्ड भएका बुँदा संशोधनको माग समेत गरेका थिए । अस्पतालले क्यानन–तोसिवालाई मात्रै मिल्नेगरी प्राविधिक स्पेशिफिकेशन बनाएको विषय सप्लायर्सहरूलाई थाहा हुने नै भयो । उनीहरूले प्राविधिक स्पेशिफिकेशनका बुँदा संशोधनको माग पनि गरे ।
अस्पतालले कात्तिक १३ गते सोमबार (अक्टोबर, ३०) मा सिटी स्क्यान मेसिनको प्राविधिक स्पेशिफिकेशनका केही सामान्य बुँदाहरू संशोधन गरेको देखिन्छ । तर, प्रमुख बुँदाहरूमा भने झन् बढी क्यानन–तोसिवाकै सिटी स्क्यान मेसिनको स्पेशिफिकेशनसँग मिल्नेगरी संशोधन गरियो । करिब २४ घण्टा (साउन १९ गते) भित्रमा स्पेशिफिकेशन बुझाउन ‘माथिबाटै अर्डर आएको छ’ भन्दै अस्पतालकै एक कर्मचारीले साउन दुई गते त्रिशूली अस्पतालका सम्बन्धित कर्मचारीलाई स्पेशिफिकेशन सहित पठाएको म्यासेज उकेरासँग सुरक्षित रहेकाले यसले समेत खरिदमा भइरहेको मिलेमतो पुष्टि गर्छ ।
डा. सिंहले गरेको कुराकानीबाट समेत निश्चित कम्पनीको उत्पादकसँग मिल्नेगरी स्पेशिफिकेशन बनाएको पुष्टि हुन्छ । उनले प्रि–बीड मिटिङमा ४–५ वटा सप्लायर्स सहभागी भएको र प्रि–बीडमा आएको राय अनुसार स्पेशिफिकेशन थप खुला गरेर सबैजसोले टेन्डर हाल्न पाउने वातावरण बनेको दाबी गरे । ‘स्पेशिफिकेशन पब्लिष्ट भएपछि तीन वटा जस्तोले मात्रै बीड गर्न पाउँछ डाक्टरसाप भनेर कुरा आयो । (बीड गर्न) अरू नपाउनेहरू आए,’ डा. सिंहले भने, ‘प्रि–बिडमा सबैको राय लियौँ । अब त लगभग सबैलाई नै ओपन छ त्यो ।’
त्रुटि देखिए खरिद रोक्न लगाउँछु
खरिद प्रक्रियामा संलग्नताबारे स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतसँग सम्पर्क गर्ने प्रयास सफल भएन । उता बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले भने सिटी खरिद प्रक्रियामा कुनै त्रुटिका गुनासो आए र त्रुटि देखिए प्रदेश सचिवमार्फत खरिद प्रक्रिया नै रोक्न निर्देशन दिने बताए । उनले त्रिशूली, सिन्धुली र भक्तपुरमा सिटी आवश्यक देखिएपछि खरिदका लागि बजेटको व्यवस्थापन गरेको जोशीले बताए । ‘त्यस्तो भएको भए, उजुरी केही परेको भए म सचिवज्यूमार्फत त्यो (खरिद प्रक्रिया) रोक्न लगाउँछु, हेर्न लगाउँछु,’ स्वास्थ्यमन्त्री जोशीले भने, ‘त्रुटि छ भने त (खरिद प्रक्रिया रोक्न) निर्देशन दिन सकिहालिन्छ नि ।’
स्वास्थ्यमन्त्री जोशीले सिटी खरिदका लागि अस्पताललाई तोकेर नै बजेट विनियोजन भएको बाहेक आफूलाई खरिद प्रक्रियाको बारेमा जानकारी नभएको बताए । ‘प्रक्रिया अगाडी बढाउने काम अस्पतालको हो,’ मन्त्री जोशीले भने, ‘त्यो (काम) मन्त्रालयको हैन ।’
मिलेमतोबारे जिज्ञासा राख्दा उनले मन्त्रालय आफैँले यस्तो खरिदको काम गर्नु हुँदैन र नीति नियम बनाउने काम हो भन्ने आफ्नो मान्यता रहेको तर्क गर्दै उनले मन्त्रालय आफैँले सामान खरिद गर्ने काम गर्नु हुँदैन भनेर अस्पतालहरूलाई जिम्मा दिएको बताए ।
No comments:
Post a Comment