तिहारको हार्दिक शुभकामना
उज्यालो/झिलिमिली चार्ड तिहार । नेपालीहरूको घर–घरमा भित्रिन अब चार दिनम ात्रै बाँकी छ । बजारमा तिहार लक्षित किनमेल बढेको छ । नेपालीहरूले मनाउने विभिन्न चाडपर्वमध्ये तिहारको आफ्नै महत्व छ । तिहार पारिवारिक रूपमा दिदीबहिनी र दाजुभाइको पुनर्मिलन मात्र नभई सामाजिक रूपमा सद्भाव अभिवृद्धिको चाड हो । तिहारको देउसी–भैलो सामाजिक सद्भाव र पुनर्मिलनको प्रतिक हो । काग, कुकुर, गाई–गोरु आदिको पूजा गरी जनावर एवम् प्रकृतिसँगको मानवसम्बन्ध दर्शाउने पर्वका रुपमा लिइने यस तिहार पर्वले सामाजिक, सांस्कृतिक र धार्मिक महत्व बोकेको छ । साथै दाजुभाइ–दिदीबहिनीको सुमधुर स्नेहलाई बलियो बनाउन पनि यस चार्डले विशेष भूमिका निभाएको हुन्छ । तिहारको पहिलो दिन कागको पूजा गरिन्छ । कागलाई शुभ र अशुभ दुवै किसिमका सन्देश ल्याउने पक्षीका रूपमा लिइन्छ । दोस्रो दिन कुकुरको पूजा गरिन्छ । कुकुरलाई घरको रक्षक, आज्ञाकारी र सेवकका रूपमा लिइन्छ । तिहारको तेस्रो दिन गाई तिहार मानिन्छ । यो दिन गाईको पूजा गर्नुका साथै यही दिन धनधान्यकी देवी लक्ष्मीको पनि पूजाअर्चना गरिन्छ । प्राचीन तथा वैदिक कालदेखि गाईलाई गौमाता भन्दै आमाका रूपमा लिइँदै आएको हो । त्यसैले यो दिन बिहान गाई पूजा र साँझ धनकी प्रतीक लक्ष्मीको पूजा गर्ने गरिएको हो । पूजाअर्चना मात्र होइन, यो दिनमा वर्षकै सबैभन्दा बढी उज्यालो र झिलिमिली पनि पारिन्छ । तिहारको चौथो दिन गोवर्धन पूजा गरिन्छ जसलाई गोरु तिहार पनि भनिन्छ । तिहारको पाँचौं अथवा अन्तिम दिनमा भाइटीका मनाइन्छ जुन दिन दिदीबहिनीले दाजुभाइको पूजा गर्छन् । पौराणिक मान्यताअनुसार यस दिन यमुनाले दाजु यमराजको पूजा गरेकी थिइन् । त्यही सम्झनामा यो दिन दिदीबहिनीले दाजुभाइलाई पूजा गर्ने र टीका तथा माला लगाइदिने चलन चलेको हो । यस दिन दिदीबहिनीले दाजुभाइलाई सप्तरंगी टीका, मखमली माला लगाइदिने र मिष्ठान्न भोजन तथा खानेकुरा खान दिने गर्छन् । दाजुभाइले पनि दिदीबहिनीहरूलाई दक्षिणा, वस्त्र, गहनालगायत सामग्री दिने परम्परा तथा प्रचलन रहँदै आएको छ ।
भाइ पूजामा प्रयोग गरिने सप्तरंगी टीका, मखमली माला लगायतका सामग्री दीर्घायु र सुस्वास्थ्यका प्रतीक मानिन्छन् । भाइटीकाका क्रममा प्रयोग गरिने ओखर, तिल, तेलको घेराले भने दीर्घ जीवनको प्रतिनिधित्व गर्छन् जसका कारण यी सामग्रीलाई दीर्घायु र स्थायित्वका प्रतीकका रूपमा लिने गरिन्छ । तिहारको अन्तिम दिन भाइटीकाको दिन दाजुभाइको पूजा हुने र दिदीबहिनीलाई पनि टीका लगाई दक्षिणा, वस्त्र र गहना दिने प्रचलन रहेकाले यो पर्वलाई दाजुभाइ तथा दिदीबहिनीको पर्वका रूपमा लिने गरिन्छ । एक हिसाबले भन्ने हो भने यो पर्व र दिनलाई दाजुभाइ र दिदीबहिनीबीचको सम्बन्ध र मेलमिलाप अझ बलियो हुने रूपमा लिने गरिन्छ । यसका साथै यही दिनदेखि नेपाल संवत्अनुसार नयाँ वर्षको प्रारम्भ पनि हुन्छ ।
नेपालीहरूको बडा दशैं पछिको दोस्रो ठुलो पर्व तिहारको चौतर्फी उत्साह र रौनकता लगभग भाइनै सकेको छ । शहदेखि गाउँसम्म तिहार पर्वको खुशियाली छाएको छ । उज्यालो पर्वको रुपमा मनाइने यस पर्वमा झिलिमिलि बत्तीले घरहरू रंगिने सुरसार भएका छन् । शहर बजारमा फूल र अरु व्यापार व्यवसायको चहलपहल सुरु भएको छ । तिहार उज्यालो पर्व त हुँदै हो । यसका अतिरिक्त रंगहरूको पर्व पनि हो । नेपालमा पर्वहरूको धार्मिक रंग मलिनो हुँदै गएको अवस्थामा तिहारमा प्रयोग गरिने रंगले सांस्कृतिक चमक बढाइरहेको छ । दसैंजस्तै तिहार पनि कुनै जात, समुदाय वा सम्प्रदाय विशेषमा सीमित छैन । शरद् ऋतुको मध्यमा पर्ने तिहारमा काग, कुकुर, गाई, गोरु, गोवर्धन पर्वत, दाजु, भाइ, दिदी, बहिनी सबैलाई सम्मान गर्दै पाँच दिनसम्म पूजा गर्ने प्रचलन छ ।
केही वर्ष यता छठ पर्व पहाडमा पनि मनाउन थालिएको छ । तिहार पर्वले पनि दशैं जस्तै सर्वत्र व्यापकता पाउदै गएको छ । तिहारले पनि राष्ट्रिय महत्व पाएको छ । बडादशैं पछि नेपाल सरकारले सबै भन्दा धेरै दिन सार्वजनिक विदा दिने गर्दछ । यस पर्वको मुख्य सन्देश र भावना नै आपसी सद्भाव, आदर–सम्मान, मेलमिलाप, भ्रातृत्व र सहिष्णुता हो । चाहे त्यो पशुपंक्षी, मान्छे र प्रकृति बीचमा होस् या दाजुभाइ, दिदीबहिनीहरूका बीचमा होस् । तिहारले छुट्टै खालको आत्मियता, हार्दिकता र भावनात्मक सम्बन्धलाई स्थापित गर्छ । यस वर्षको तिहारले पनि नेपाली समाजमा सबैका माझमा अझी बढी आपसी सद्भाव र सामाजिक सहिष्णुताको विकास गर्न सकोस् । समग्रमा तिहार पर्वको मुख्य सन्देश र भावना नै आपसी सद्भाव, आदर–सम्मान, मेलमिलाप, भ्रातृत्व र सहिष्णुता हो । त्यसैले यो तिहारले समाजमा अझै बढी सद्भाव र सहिष्णुताको विकास गरोस् । तपाई सम्पूर्ण पाठक महानुभावहरूमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि र प्रगतिको शुभकामना व्यक्त गर्दछौ ।
प्रकाशक : कपिलदेव खनाल, सम्पादक : शर्मिला उप्रेती, सह–सम्पादक : सुजित भण्डारी, प्रमुख समाचारदाता : प्रितिका थापा, कार्यालय : विदुर नपा– ४ विदुर नुवाकोट, फोन नं. ०१०५६१६७८,९८५१०९३२९० email : imageweekly@gmail.com
Wednesday, November 08, 2023
२०८० साल कात्तिक २० गतेको सम्पादकीय
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment