Wednesday, November 08, 2023

लामटाङमा विदेशी भन्दा स्वदेशी पर्यटक बढी

 लामटाङमा स्वदेशी पर्यटक

रसुवा । नेपालको तेस्रो पर्यटकीय गन्तव्य रसुवा जिल्लाको लामटाङ विदेशीभन्दा स्वदेशी पर्यटकले अहिले भरिभराउ भएको छ । गोरो छाला हुनेलाई मात्र पर्यटक मान्ने नेपालीको सोचाइलाई लामटाङ पदमार्गमा स्वदेशी पर्यटकको भिडले सोच बदलेको छ ।
    यस क्षेत्रमा पर्यटकीय सिजन वर्षको ६ महिना अर्थात् असोज, कात्तिक, मंसिर र फागुन, चैत, वैशाख रहेको छ । यस वर्षको पहिलो पर्यटकीय सिजनमा विदेशीभन्दा स्वदेशी पर्यटक ओइरिएपछि यहाँका होटेल, लज भरिभराउ भएका छन् । लामटाङ राष्ट्रिय निकुञ्जमा रहेको यो क्षेत्र गोसाइँकुण्ड गाउँपालिका– ४ मा पर्छ । लामटाङ पदमार्ग स्याफ्रुबेँसीबाट सुरु हुन्छ । स्याफ्रुबेँसीदेखि लामटाङसम्म २९ किलोमिटर रहेको छ । काठमाडौंबाट स्याफ्रुबेँसीसम्म सडकमार्ग छ ।
    लामटाङका व्यवसायीलाई असोज लागेपछि पर्यटकलाई वास राख्न र खुवाउन भ्याइनभ्याई भइरहेको वडा नम्बर ४ का अध्यक्ष ढिण्डुप जाङ्वाले बताए । यसपटक नेपाली पर्यटक अत्यधिक आएकोसमेत उनले जानकारी दिए । कोरोना महामारीपछि बिस्तारै लामटाङमा पर्यटक संख्या र गतिविधि बढ्दै गएको छ ।
    दसैँ, तिहारको समयमा रसुवाको लामटाङ र गोसाइँकुण्ड क्षेत्रमा घुम्न आउने पर्यटकको सङ्ख्या बढेको पर्यटन होटेल व्यवसायी संघ रसुवाका अध्यक्ष रामशरण गजुरेलले बताए । मौसम खुलेको समय र दसैँ, तिहारको लामो बिदाको समयमा प्राकृतिक सुन्दरतामा रमाउन चाहनेका लागि पहिलो रोजाइमा गोसाइँकुण्ड र लामटाङ क्षेत्र पर्ने गरेका छन् ।
    काठमाडौंबाट छोटो दूरी र छोटो समयमा पदयात्रा गर्न सकिने भएकाले पनि रसुवाका यी दुई क्षेत्र विदेशी र स्वदेशी पर्यटकको रोजाइमा पर्ने गरेका हुन् ।
    गत साता ललितपुर गोदावरीका अशोक सिलवाल चारजना साथी लिएर रसुवाको सदरमुकाम धुन्चे हुँदै स्याफ्रुबेँसीबाट लामटाङ प्रस्थान गरेका थिए । प्राकृतिक सुन्दरताको आनन्द लिँदै हिमालको दृश्य अवलोकन गर्न गोदावरीबाट दसैँको बिदामा आएको उनले बताए । रसुवा कालिकास्थानका प्रह्लाद खतिवडा पनि दसैँको टीका लगाएर ६ जनाको दलबलसहित लामटाङको दृश्यावलोकनका लागि गत हप्ता प्रवेश गरेका थिए । उनी मात्र होइन, सर्वोच्च अदालतका न्यायाधीशसहित उच्च अदालतका न्यायधीशको टिमले समेत दसैँअगाडि यस क्षेत्रको भ्रमण गरेको क्यान्जिन गुम्बाका होटेल व्यवसायी तेन्जिन डोल्मा लामाले बताइन् । विदेशीका अलावा लामटाङ क्षेत्रको भ्रमण गर्नेमा नेपाली सेनाको उच्च तहका व्यक्तिसमेत रहेका छन् । नेपाली सेनाका अवकाशप्राप्त सहायकरथी (जर्नेल) शंकर पण्डितले त यस वर्षको दसैँ यतै बिताए । दसैँ यस वर्ष नभएकाले काठमाडौंबाट नजिकको पदयात्रामार्ग लामटाङ हिमालको दृश्य अवलोकन गर्न रोजेको उनले बताए ।
    लामटाङ राष्ट्रिय निकुञ्जभित्र पर्ने लामटाङ पदमार्ग क्षेत्र घुम्न आन्तरिक तथा बाह्य पर्यटकको पहिलो रोजाइमा पर्दै गएको छ । विगतमा दसैँको समयमा बाह्य पर्यटकको मात्र चहल–पहल हुने गरेकामा यस वर्ष नेपालीको चाप थेग्नसमेत होटेल व्यवसायीलाई गाह्रो परिरहेको छ ।
    विदुरका ओमराज श्रेष्ठ दाजुभाइ दसैँ बिदाको समय सदुपयोग गर्न लामटाङ भ्रमणमा आएको भेटियो । उनी भन्छन्, ‘लामो समयदेखि लामटाङ आउने योजना थियो, बल्ल यस वर्ष आउने समय मिल्यो ।’ लामटाङ आएर यहाँको प्रकृतिसँग रमाउनुको मज्जा नै बेग्लै रहेको श्रेष्ठको भनाइ छ । ‘हामी धेरै पछाडि छौँ, प्रकृतिसँग खेल्न र प्रकृतिलाई बुझ्न सकेका छैनौँ, यहाँको सुन्दरता छाडेर विदेश घुम्ने योजना बनाउँछौँ, पहिले आफ्नो देशको प्रकृतिलाई बुझ्न सक्नुपर्छ, अनि विदेश भ्रमण गर्ने हो, यहाँ छ असली प्रकृति र संस्कार, संस्कृति, हामीले घुमेर र बुझेर नै प्रवद्र्धन गर्न सक्नुपर्छ,’ उनले भने ।
    श्रेष्ठजस्तै नुवाकोट बट्टारकी रिता कार्की पनि आफन्तको टोली बनाएर आइतबार लामटाङको प्राकृतिक सौन्दर्यसँग रमाउन व्यस्त थिइन् । ‘लामटाङबाहेक अरू कुन ठाउँ हुन सक्छ स्वर्ग ? यही हो, एकपटक आउनैपर्ने ठाउँ नै लामटाङ हो, जीवित अवस्थामा नै स्वर्ग पुगेको आभास भइरहेको छ,’ कार्कीले भनिन् । ‘मरेपछि स्वर्ग पुगिन्छ–पुगिँदैन, जिउँदै आएका छौँ हामी त स्वर्गमा, यस ठाउँमा एकपटक सबै नेपाली आउनुपर्छ, प्रकृतिको असली स्वर्ग घुम्न जरुरी छ,’ उनले भनिन् ।
    चिसो बढ्दै गरेको अवस्था र जोखिम बढी हुने क्षेत्र भएकाले यहाँ आउँदा भने जानकारी लिनु पनि आवश्यक रहेको कार्कीको सुझाव छ । सात सय वर्षभन्दा पुरानो क्यान्जिङ गुम्बा, एसियाकै पहिलो उच्च स्थानमा रहेको याक चिज उत्पादन केन्द्र, लामटाङ बेसक्याम्प, हिमाली दृश्यावलोकन गर्ने क्यान्जिन रीलगायत अवलोकन गर्ने ठाउँ रहेको छ ।
    यहाँ पुग्ने पर्यटकले लामटाङ पदमार्गको हिमाली दृश्यको साथसाथै तामाङ संस्कार, संस्कृति र परम्परालाई अनुभवसँगै लामटाङको आतिथ्य सत्कारलाई भरपूर रूपमा आनन्द लिन सक्छन् । यहाँका बाटोमा आउँदा झरना, खोला, खोल्सा, भिर, पहाड, उकाली–ओरालीको भरपूर रूपमा घुम्दै एक हप्ता बिताउन सकिन्छ । कार्कीले भनिन्, ‘यहाँ आएपछि त फर्किन नपरोस् जस्तो पो लाग्ने रहेछ, यहाँका प्रकृतिसँग रमाउँदै बस्न पो मन लाग्ने रहेछ ।’ यहाँ आएर हिमालको एकदम नजिक पुगेजस्तो भइरहेको छ । बिदाको समय सदुपयोगसँगै नयाँ ठाउँको भ्रमण र प्रवद्र्धनमा टेवा पुग्ने उनको भनाइ छ ।
    यसले प्रस्ट हुन्छ कि नेपाली समाजमा भ्रमण गर्ने प्रचलन बढेको छ । नेपालीमा बिस्तारै भ्रमण गर्ने योजनासहित नयाँ स्थानको भ्रमण तथा अवलोकन गर्ने प्रचलन बढ्दै गएको छ । बिदाको समयलाई नेपालीले भरपूर सदुपयोग गर्न थालेका छन् । यसमा हिन्दूहरूको महान् पर्व बडादसैँ र तिहार यस वर्ष एउटै महिनामा परेको छ । अहिले नेपालीले बिदाको समय पूर्ण रूपमा भ्रमणमा सदुपयोग गरिरहेका छन् ।
    दसैँ र तिहार मनाउनका लागि विदेशबाट स्वदेश फर्किएका नेपाली र कलेज, स्कुल अध्ययनरत विद्यार्थी लामो बिदाको सदुपयोग गर्दै लामटाङ भ्रमणमा निस्कने गरेको पाइन्छ । अहिले नेपालका विभिन्न स्थानबाट हिमाली जिल्ला लामटाङ आउने आन्तरिक पर्यटक बढेका छन् । दसैँ र तिहार बिदामा पर्यटकीय क्षेत्र लामटाङको भ्रमणमा आउने बढेको स्थानीय बताउँछन् । विगतको तुलनामा आन्तरिक पर्यटक बढ्नुले नेपालीमा भ्रमण तथा अवलोकनमा निस्कने प्रचलन बढेको वडाध्यक्ष ढिण्डुप जाङ्वाले बताए । उनका अनुसार दसैँको बिदामा दैनिक रूपमा लामटाङ आउने आन्तरिक पर्यटक ह्वात्तै बढेका छन् । आन्तरिक पर्यटक बढ्दै गर्दा कोभिडका कारण सुस्ताएको व्यवसाय उकासिने अपेक्षासहित व्यवसायीमा खुसी छाएको छ ।
    स्थानीय होटेल व्यवसायी निमा लामा भन्छिन्, ‘आन्तरिक पर्यटक आगमन हुँदा रात परेको थाहै भएन, काम गर्न भ्याइनभ्याई छ ।’ दसैँको बिदामा दैनिक आन्तरिक पर्यटक एक हजार पाँच सयभन्दा बढी आइसकेको लामाले बताइन् । ‘हामीलाई भ्याइनभ्याई भएको छ, स्थानीय होटेल व्यवसायीलाई त पर्यटकको स्वागतमा नै व्यस्त हुँदा दसैँ आउँदाको भन्दा बढी खुसी छाएको छ,’ उनले भनिन् । अहिले लामटाङका सबैजसो होटेल भरिभराउ रहेको उनले बताइन् ।
    आन्तरिक पर्यटकले लामटाङलाई गन्तव्य बनाएर आउँदा होटेल तथा पर्यटन व्यवसायी बन्द–व्यापार चलायमान भएको बताउँछन् । बाह्य पर्यटकसँगै आन्तरिक पर्यटकको आगमनले दुई वर्ष कोभिडले थलिएको व्यापारमा उत्साह थपिएको स्थानीय होटेल व्यवसायी याङजिन तामाङले बताए । ‘यस वर्ष लामटाङ पर्यटकीय स्थल हो भनेर आभास भएको छ, नभए दुई वर्ष त सिजनमा पनि सुनसान भएको थियो, यस वर्ष आन्तरिक तथा बाह्य दुवै खालका पर्यटकको आगमन बढेको छ,’ उनले भने । पर्यटकले यस क्षेत्र प्रवेश गर्दा मौसम र वासस्थानका लागि भने आवश्यक जानकारी लिनुपर्ने उनको सुझाव छ । चिसो मौसममा होटेल नपाउने समस्या हुन सक्ने अवस्था रहेकाले आवश्यक जानकारी लिएर आउन उनको सुझाव छ ।
    तामाङले भने, ‘विगतमा बाह्य पर्यटकको मात्रै आगमन हुने यस सिजनमा यस वर्ष आन्तरिक पर्यटकको पनि उल्लासमय आगमन भइरहेको छ ।’ यसले गर्दा सुस्ताएको व्यापारमा आशा पलाएको उनले बताए । पर्यटकीय सिजन भएकाले सबै प्रकारका होटेलमा पर्यटक रहेका वडाध्यक्ष जाङ्वाले जानकारी दिए । आन्तरिक पर्यटकको तथ्याङ्क राख्ने काम नभए पनि उल्लेख्य आगमन भएको उनले बताए ।
    ‘जुनसुकै होटेलमा धेरथोर भए पनि पर्यटक रहेको पाइन्छ,’ जाङ्वाले भने । हिउँद लाग्ने बेलामा र वर्षायाम सुरुवातको समयमा गरी दुई सिजनमा लामटाङ घुम्न अनुकूल समय मानिन्छ । यसै समयलाई मध्यनजर गरी लामटाङमा पर्यटक घुम्न आउने गर्दछन् ।
    पर्यटक हिमाल, पहाडका दृश्य, उच्च पहाड, लामटाङवासीको रीतिरिवाज, प्राकृतिक सुन्दरता हेर्नुका साथै लामटाङ हिमाल चढ्न र पुरानो ऐतिहासिक गुम्बा (७ सय वर्ष पुरानो) तथा एसियाकै पहिलो याक चिज उत्पादन केन्द्र (२००९ सालमा स्थापना भएको) को अध्ययन गर्न लामटाङ आउने गरेको चिज उत्पादन केन्द्रका प्रमुख (विगत २७ वर्षदेखि कार्यरत) ग्याल्बो तामाङले बताए । लामटाङ पदमार्गमार्फत पदयात्रामा आएका पर्यटकले त्यस क्षेत्रका होटेलले लिने शुल्क एकरूपता नभएकोबारेमा गुनासो गर्ने गरेका छन् । पदमार्गका होटेलले खाना र वासको शुल्क तल्लो क्षेत्र बम्बो, रिन्चेन, लामा होटेलमा भन्दा माथिल्लो क्षेत्र घोडातबेला, लामटाङ, क्यान्जिङ गुम्बा क्षेत्रमा केही सस्तो रहेको सञ्चारकर्मी एवम् डबली खबर अनलाइनका सञ्चालक सुनील श्रेष्ठले बताए ।
    पर्यटकीय पदयात्रामार्ग पहिलो सगरमाथा बेसक्याम्प, दोस्रो अन्नपूर्ण बेसक्याम्प र तेस्रो लामटाङ बेसक्याम्प रहेको पर्यटन व्यवसायी एवम् तारागाउँ विकास समितिका सञ्चालक सदस्य शिव लामिछानेले जानकारी दिए । पर्यटन व्यवसाय आतिथ्यतामा आधारित व्यवसाय भएकाले स्थानीय व्यवसायीमा त्यो गुण हुनुपर्नेसमेत उनले बताए ।
    लामटाङ क्षेत्रका व्यवसायीले सगरमाथा बेसक्याम्पकै जति खाना, नास्ता र वासलगायत अन्य खाद्य तथा पेयपदार्थको मूल्य रहेको यस क्षेत्रमा आउने पर्यटक र गाइडहरूले बताउने गरेका छन् । यस क्षेत्रमा आउने पर्यटकले गुणस्तरीय परिणाम र स्वाभाविक मूल्य हुनुपर्ने सुझाव दिने गरेका छन् ।
    जिल्लाका सरोकारवाला निकायले गुणस्तरीय परिणाम र स्वाभाविक मूल्य भए–नभएको अनुगमन गरेर यो मार्गको भ्रमण गर्ने पर्यटकले यस क्षेत्रको बारेमा सकारात्मक सन्देश लैजाने वातावरण बनाइदिन सके पर्यटकको सङ्ख्या वृद्धि हुने पर्यटन व्यवसायी एवम् तारागाउँ विकास समितिका सञ्चालक सदस्य लामिछानेको धारणा रहेको छ । वर्षको ६ महिना स्वदेशी तथा विदेशी पर्यटक ओइरिने यो मार्गको कतिपय ठाउँमा बाटो बगेको, कतिपय ठाउँमा फड्के र पुल हाल्नुपर्ने, पदयात्रीका लागि ठाउँठाउँमा जानकारीमूलक सूचना बोर्ड अपडेट सम्बन्धित निकायले गरिदिनुपर्नेसमेत उनले सुझाव दिए ।
    यो पदमार्गमा घोडा, खच्चर र स्थानीय व्यवसायी तथा पर्यटक जोखिम मोलेरै आवत–जावत गर्ने गरेका छन् । गत वर्ष यो मार्गमा विदेशी र स्वदेशी दुई–दुईजनाको लडेर र ढुङ्गाले लागेर मृत्यु भएको थियो ।

No comments:

Post a Comment