Monday, January 09, 2023

एकीकरण पदयात्रामा सेना


विदुर । गोरखादेखि काठमाडौसम्मको पैदल मार्गमा नेपाली सेनाले सुरु गरेको पदयात्रा आइतवार नुवाकोटबाट अगाडी बढेको छ । यात्रा पुस २७ गते काठमाडौं पुगेर समापन हुने छ । गोरखाका राजा पृथ्वीनारायण शाहको जन्मजयन्तीको अवसर पारेर सेनाले पदयात्रा सुरु गरेको हो । बिहीवार गोरखा दरवारको हनुमान भञ्याङ चौताराबाट पदयात्रा सुरु गरेको हो । यो पदयात्रालाई सेनाले एकीकरण पदयात्रा नाम दिएको छ ।

उपसेनानी बम बोगटीको नेतृत्वमा ३० जनाको टोली यात्रामा सहभागी छन् । नेपालको राष्ट्रिय झण्डा, टर्च र पृथ्वीनारायण शाहले तत्कालिन समयमा खडा गरेका नेपाली सेनाका प्रथम पाँच कम्पनी (श्रीनाथ, कालीबक्स, पुरानो गोरख, बर्द बहादुर र सवुज) का झण्डाहरू लिएर पृथ्वीनारायण शाहकालीन पोशाकमा बाजागाजा सहित टोली यात्रामा निस्किएको गणपती विष्टले जानकारी दिए । गोरखा दरवारबाट सुरु भएको यात्रा धादिङ हुँदै नुवाकोट आइपुगेको थियो । नुवाकोटबाट यात्रा आइतवार काठमाडौं तर्फ हिडेको छ । उक्त टोली गोरखा नगरपालिकाको ताप्ले, भीमसेन थापा गाउँपालिको अश्राङ, बोर्लाङ हुदै बोर्लाङघघाट धादिङ आइपुगेको थियो । धादिङको शिवदल गणलाई टर्च र झण्डा बुझाएर गोरखाको टोली फर्किएको थियो । धादिङको टोलीले नुवाकोटको जबरजंग गणका सेना टोलीलाई नेपालको राष्ट्रिय झण्डा, टर्च र पृथ्वीनारायण शाहले तत्कालिन समयमा खडा गरेका नेपाली सेनाका प्रथम पाँच कम्पनी (श्रीनाथ, कालीबक्स, पुरानो गोरख, बर्द बहादुर र सवुज) का झण्डा हस्तान्तरण गरेको छ । 

नुवाकोटले काठमाडौको कालीध्वज गणलाई उक्त टर्च र झण्डा बुझाउँने छ । काठमाडौंको टोलीले मंगलवार (पुस २६ गते) बालाजु बाइपासमा रहेको सार्द‘लजंग गुल्ममा टर्च र झण्डा हस्तान्तरण गर्ने छ । उक्त टर्च र झण्डा हेडक्वार्टर हुदै २७ पुसमा हनुमान ढोका लगिने छ । पदमार्ग, कोट, गढी र किल्लाहरू सम्वद्र्धन र प्रवद्र्धन गर्ने नेपाली सेनाको कार्यक्रम अन्तर्गत पदयात्रा गरिएको बताइएको छ । राज्य एकीकरणको क्रममा पृथ्वीनारायण शाहले प्रयोग गरेको मार्गलाई एकीकरण मार्गको रुपमा विकास गर्न केही बर्षदेखि पदयात्राले निरन्तरता पाउँदै आएको छ । 

‘एकीकरण पदमार्ग’ यसरी गर्न सकिन्छ यात्रा 


– किरण लोहनी

गोरखा । वि. सं. २०३१ सालमा पृथ्वी राजमार्ग चालु हुनुअघि काठमाडौंबाट पश्चिमी भेगका बासिन्दा राजधानी काठमाण्डौसम्म पैदलै ओहोरदोहोर गर्थे । काठमाडौंबाट पश्चिमतर्फ गोरखासम्मको यही बाटोलाई नेपाल सरकारले एकीकरण पदमार्गका रुपमा विकास गर्न थालेको छ । अहिलेको नुवाकोटको त्रिशुली किनारसम्म फैलिएको गोरखा राज्य विस्तारका क्रममा पृथ्वीनारायण शाह र उनका फौज ओहोरदोहोर गरेको बाटोलाई एकीकरण पदमार्गका रुपमा विकास गर्ने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको तयारी छ । 

पृथ्वीनारायण शाहले वि. सं. १८०१ मा नुवाकोट र वि. सं. १८२५ मा काठमाडौं राज्य जितेका थिए । त्यस क्रममा उनी दर्जनौँ पटक गोरखादेखि नुवाकोट हुँदै काठमाडौंसम्म ओहोरदोहोर गरेको इतिहासमा भेटिन्छ । लडाइँको तयारीका क्रममा उनले ठाउँठाउँमा गढी, किल्ला र कोटहरू निर्माण गरे । कतिपय संरचनाको भग्नावशेष अझै पनि देख्न सकिन्छ । त्यसबाहेक बटुवाको बसोबासका लागि बनाइएका पाटी, पौवा, ऐतिहासिक मठमन्दिर लगायत पुरातात्विक संरचना बाटो आसपास प्रशस्तै देख्न सकिन्छ । यही पदमार्गको प्रचारप्रसारका लागि भन्दै नेपाली सेनाले गोरखाबाट काठमाण्डौसम्मको पदयात्रा पनि सुरु गरेको छ । 

अग्रज पुस्ताले वर्षौंसम्म हिँडेको यो पैदलबाटो कस्तो छ त ? सेनाले पदयात्रा सुरु गरेपछि यो बाटोबारे धेरैको चासो बढेको छ । गोरखा–धादिङ–नुवाकोट हुँदै काठमाडौंसम्मको यात्रा चार दिनमा गर्न सकिन्छ । 

पहिलो दिन 

एकीकरण पदमार्गको यात्रा गोरखा दरबारबाट सुरु हुन्छ । गोरखा दरबार नजिकैको हनुमान भञ्ज्याङ, काठमाडौंको हनुमानढोकाबाट २६ कोसको दुरीमा रहेको छ । त्यहाँबाट पोखराथोक, मेलबिसौना, कोखेआहाले हुँदै एक घण्टाको उकालो चढेपछि ताप्लेकोट पुगिन्छ । अहिले गोरखा नगरपालिका–२ मा पर्ने ताप्लेकोट हनुमानढोकाबाट २४ कोसको दुरीमा जनाउ दिने कोसेढुङ्गा बाटोको छेउमै छ । ताप्लेकोटबाट आधा घण्टा ओरालो पछि गोरखा–आरुघाट सडक किनारको झिँगटेबजार पुगिन्छ । 

त्यहीँबाट भीमसेन थापा गाउँपालिकाको सीमा सुरु हुन्छ । अब यात्रा अश्राङ हुँदै बोर्लाङतर्फ अघि बढ्छ । झिँगटेबाट बोर्लाङसम्मको पुरानो पैदलबाटो पनि सडकका कारण मासिएको छ । ठाउँठाउँमा बाटोको डोब र केही चौताराहरू भने देख्न सकिन्छ । पहिलो दिनको बास बोर्लाङ गाउँमा हुन्छ । 

दोस्रो दिन

बोर्लाङ गाउँबाट १५ मिनेटमाथि चढेर बोर्लाङकोटको अवलोकन गर्दै दोस्रो दिनको यात्रा सुरु गर्न सकिन्छ । यात्राको केही मिनेटमै नेपालका प्रथम प्रधानमन्त्री भीमसेन थापाको घरको भग्नावशेष बाटो किनारबाटै देख्न सकिन्छ । त्यहाँ भीमसेन थापाको पुरानो वर्गाकार दरबार थियो भन्ने पाका पुस्ताको भनाइ छ । पुराना इँटा र बुट्टेदार काठपात अहिले पनि भग्नावशेष आसपास यत्रतत्र छरिएका देखिन्छ । भीमसेन दरबारबाट केही मिनेटको पैदलयात्रापछि भने पुरानै पैदलबाटो भेटिन्छ र जङ्गलै जङ्गल आधा घण्टाको ओरालोपछि बोर्लाङको महादेवटार पुगिन्छ । 

जङ्गलको बीचमा पनि भीमसेन थापाकालीन हिटी चौतारा, पौवा धारो र पुरानो पौवाको अवलोकन गर्न सकिन्छ भने महादेवटारमा रहेको जागेश्वर माविको आडैमा भीमसेन थापाकालीन पुरानो कलात्मक धारो छ । वि. सं. १८७६ सालमा निर्माण गरिएको धारोमा अहिले पानी त झर्दैन तर झण्डै डेढ किलोमिटरपरको मुहानबाट धारोसम्म पानी ल्याउन झिँगटीले बनाइएको नहरको भग्नावशेष भने देख्न सकिन्छ । महादेवटारबाट घाटबेसी हुँदै बूढीगण्डकी नदीको झोलुङ्गे पुल तरेपछि धादिङ जिल्लाको सिमाना सुरु हुन्छ । धादिङको कछारगाउँ हुँदै यात्रा सल्यानटारतर्फ अघि बढ्छ । 

कछारगाउँमा माझी बस्ती पनि छ । पैदलमार्गबाट यात्रा गर्नेहरूलाई काठबाट निर्मित डुङ्गाबाट नदी वारपार गराउँदाको अनुभव बटुलेका पुराना माझीहरूसँगको कुराकानी यात्राका क्रममा रोचक हुन सक्छ । अहिलेको त्रीपुरासुन्दरी गाउँपालिकामा पर्ने सल्यानटार आसपास प्राचीन मल्लपूरी रहेको थियो भन्ने इतिहासकारहरू बताउँछन् । 

यात्रा अघि बढाउँदै जाँदा सल्यानटारबाट पौवा डिल–खोल्छी–कुमालखोला हुँदै त्रिपुरासुन्दरीको मन्दिर पुगिन्छ । त्रिपुरासुन्दरीलाई घर र माईती गर्ने देवीका रुपमा पनि चिनिन्छ । त्यहाँबाट हाँसे–सुकौरा–खहरे बजार हुँदै यात्रा अघि बढ्छ । खहरेबाट अचाने हुँदै चरङ्गेफेदी पुगेपछि उकालो बाटो सुरु हुन्छ । झण्डै आधा घण्टाको उकालोपछि चरङ्गे गाउँ पुगिन्छ । दोस्रो दिनको बास त्यहीँ गर्न सकिन्छ ।

तेस्रो दिन

चरङ्गे गाउँबाट थोरै उकालो उक्लिएपछि कटुञ्जे बजार पुगिन्छ । त्यहाँ ८० भन्दा बढी घरधुरी रहेका छन् । भादगाउँबाट बसाइ सरेर आएकाहरूले स्थापित गरेको कटुञ्जे बजारमा बज्राचार्य, शाक्य, मानन्धर, गुभाजू लगायतका समुदायको बसोबास रहेको छ । 

अहिलेको नेत्रावती डबजोङ गाउँपालिका ५ मा पर्ने कटुञ्जे बजारमै निकै आकर्षक पुरानो पौवा छ । तर तीन तले कलात्मक पौवा मध्यपहाडी लोकमार्ग निर्माणका क्रममा संकटमा परेको छ । कटुञ्जेबाट यात्रा सेल्लेबजारतिर अघि बढ्छ । त्यहाँबाट भोगटेनी–थर्प‘ भञ्ज्याङ–भ¥याङभुरुङसम्मको ओरालो बाटो झरेपछि नुवाकोटको सीमा सुरु हुन्छ । 

धादिङ र नुवाकोटलाई जोड्ने गरि वि. सं. १९९० सालमा बनाइएको झोलुङ्गे पुल तरेपछि नुवाकोटको म्यागङ गाउँपालिका टेकिन्छ । मेघाङ ६ को बिन्दुकेशर मावि आसपास पृथ्वीनारायण शाहले स्थापना गरेको टक्सारको भग्नावशेष देख्न सकिन्छ । त्यहाँबाट मोटरबाटोबाट जोरचौतारा–तिँदूभट्टी हुँदै सामरी भञ्ज्याङ पुगिन्छ । सामरी पनि पुरानो बस्तीमध्येको एक हो । 

पैदलबाटो यात्रा गर्नेहरूको सुविधाका लागि बनाइएका पुरानो एक तले पाटी र दुई तल्ले जीर्ण पौवाको अवलोकन गर्दै यात्रा नुवाकोटको त्रिशूली बजारतर्फ अघि बढ्छ । काभ्रेबास, चिलाउनेबास, हुलाकघर, कागुने, देउडी र बागबानी हुँदै त्रिशुलीबजारसम्मकै पुरानो पैदलबाटो मासिएको छ । ठाउँठाउँमा पुराना चौतारा भने देख्न सकिन्छ । त्रिशूली बजारबाट बटार–गँगटे–शेरा– मालकोट हुँदै सिँदुरेफेदीसम्मको यात्रा पनि पुरानो पैदलबाटो सडकका कारण लगभग मासिएको छ । तेस्रो दिनको बास सिँदुरेफेदीमा हुन्छ । 

चौथो दिन

चौथो तथा अन्तिम दिनको यात्रा कठिन उकालो बाटोबाट सुरु हुन्छ । यो बाटो यात्रा गरेका पुरानो पुस्ताका मान्छेहरूले अझै पनि बरवण्डीको उकालोको सम्झना गर्छन् । सिँदुरेफेदीबाट चतुराले–बरबण्डी हुँदै रानीपौवासम्मको झण्डै चार घण्टाको लगातारको उकालो उक्लिएपछि रानीपौवा बजार पुगिन्छ । रानीपौवाबाट काउलेथाना हुँदै ककनीसम्मै पासाङ ल्हामू राजमार्गको किनारै किनार यात्रा अघि बढ्छ । चिसापानीधारा नजिकैबाट पुरानो पदमार्ग भेट्न सकिन्छ, जुन अहिले पनि चालु छ । 

चिसापानीधाराबाट आधा घण्टाको यात्रापछि काठमाडौं र नुवाकोटको सीमानाको ठूलो खोला तरेपछि पाँचमाने भञ्ज्याङ पुगिन्छ । जहाँबाट काठमाण्डौ उपत्यकाको अधिकांश भागको अवलोकन गर्न सकिन्छ । पाँचमानेबाट ओरालो झरेपछि पुगिने जीतपुरफेदीमा वरिष्ठ अभिनेता मदनकृष्ण श्रेष्ठको कलात्मक पुरानो घर बाटो छेउमै देख्न सकिन्छ । 

सवारी साधनको बाक्लो आवतजावत हुने भएकाले पैदलयात्रालाई जीतपुरफेदिमै टुङ्ग्याउन पनि सकिन्छ । हनुमानढोकासम्मै पैदलयात्रा जारी राख्ने हो भने जीतपुरफेदीबाट धर्मस्थली–बाइपास–बालाजु–सोह्रखुट्टे–क्षेत्रपाटी–नरदेवी हुँदै हनुमानढोका पुगेर ऐतिहासिक एकीकरण पदमार्गको यात्रा समापन हुन्छ । 

एकीकरण पदमार्गका मुख्य आकर्षण

नुवाकोटको पाटी

पुरातात्विक क्षेत्रमा काम गर्नेहरू भन्छन्, ‘पुराना बाटोहरू पनि आफैमा ऐतिहासिक र पुरातात्विक सम्पदा हुन् ।’ यो भनाइलाई मान्ने हो भने गोरखादेखि काठमाण्डौसम्मको पुरानो बाटो पछ्याउँदै गरिने यात्रा यसै पनि रोमाञ्चक हुने भैहाल्यो । तपाईँलाई ऐतिहासिक विषयवस्तुमा रुचि छ भने त यात्रा झन् रमाइलो र ज्ञानवर्द्धक पनि हुनेछ । यात्राका क्रममा केही विषयले भने सबैको ध्यान तान्नेछ । 

कोसेढुङ्गा

कोसेढुङ्गालाई सामान्यरुपमा दुरी सूचक स्तम्भ पनि भन्न सकिन्छ । हनुमानढोकाबाट देशका विभिन्न क्षेत्रमा जाने पैदलबाटोको हरेक एक एक कोसमा कोसेढुङ्गा राखिएको पाइन्छ । हनुमानढोकाबाट गोरखासम्मको दुरी २६ कोस रहेअनुसार यो पदमार्गमा पनि २६ वटा कोसेढुङ्गा राखिएको थियो । तर धेरै ठाउँमा भने कोसेढुङ्गा मासिएका छन् । गोरखाको हनुमान भञ्ज्याङ, ताप्लेकोट, अश्राङको ठाँटी र बोर्लाङको घाँटबेसीका कोसेढुङ्गा सुरक्षित छन् । फिनामको मेलबिसौना र बोर्लाङगाउँ आसपास हुनुपर्ने कोसेढुङ्गा भने देखिँदैनन् । 

धादिङको पनि सल्यानटारको रानीपौवा र कटुञ्जे नजिकैको देउरालीमा मात्रै कोसेढुङ्गा सुरक्षित छन् । नुवाकोटमा हुनुपर्ने ६ वटा कोसेढुङ्गामध्ये एउटा पनि छैनन् । काठमाण्डौमा पनि हरेक एक–एक कोसमा हुनुपर्ने कोसेढुङ्गा भेटिँदैनन् । 

वि. सं. १९९० मा बनेको पुल

त्यतिबेला कोस निर्धारण गर्दा दुई वटा विधि अपनाइने जानकारहरू बताउँछन् । उनीहरूका अनुसार कोस विभाजन रुमाल वा रुखको स्याउलाको सहायतामा गरिन्थ्यो । रुखको हाँगो भाँचेर बोक्दै अघि बढ्दा जहाँ पुगेपछि ओइलाउँथ्यो, त्यो दुरीलाई एक कोस मानिन्थ्यो । यस्तै रुमाललाई पानीमा भिजाएर टाउकोमा राख्दै अघि बढ्दा रुमाल सुक्नेबेलासम्मको दुरीलाई पनि एक कोस बराबर मान्ने चलन रहेको जानकारहरू बताउँछन् । 

उतिबेलाका स्याउले र रुमाले कोस अहिलेको आधुनिक दुरी मापन पद्धतिसँग कत्तिको मेल खान्छन् त ? पदयात्राका क्रममा तपाईँको खोजको विषय पनि बन्न सक्छ । 

पाटीपौवा, हुलाकघर र चौताराहरू

गोरखा काठमाण्डौको २६ कोस यात्राका क्रममा ठाउँठाउँमा पुराना पाटी पौवा भेटिन्छन् । बटुवालाई बास बस्नका लागि भनेर बनाइएका यस्ता पाटी पौवाका पनि आफ्नै रोचक इतिहास छन् । बाटोको पाटी एक तल्लाको हुने र पौवाहरू तीन तल्लासम्मको हुने पुराना पुस्ताको भनाइ छ । 

गोरखाको भीमसेन धारा

पौवामा तल्लाअनुसार घोडा बाँध्ने ठाउँ, कैदीबन्दीहरू राख्ने ठाउँ, खाना खाने ठाउँ, सर्वसाधारण सुत्ने र विशिष्ट व्यक्तिहरू सुत्ने कक्ष बनाइएका हुन्थे । गर्मी र जाडो दुवै यामलाई उपयुक्त हुने गरि बनाइएको यस्ता पौवाहरूको अवलोकन पनि यात्राका क्रममा रोमाञ्चक पक्ष हुन सक्छ । 

हुलाकघरहरू भने मासिएका छन् तर त्यतिबेला हुलाकीको जागिर गरेकाहरूलाई भने भेट्न सकिन्छ । उनीहरूसँगको कुराकानी पनि चाखलाग्दो हुन सक्छ । तपाईँले पुरानो पदमार्गलाई पछ्याउन चौतारोले सहयोग गर्छ । कतै बाटो भुल्नुभयो भने परसम्म नियाल्दा जतातिर चौतारो देखिन्छ, त्यतै अघि बढ्दा बाटो बिराउने सम्भावना असाध्यै कम हुन्छ । 

अग्रज पुस्ता

सडक बाटो नखुल्दासम्म यी पैदलबाटाहरू अहिलेको राजमार्गभन्दा बढी व्यस्त हुन्थे भनिन्छ । मानिसहरू कहाँ कसरी बास बस्थे, के खान्थे, खोला र नदी कसरी तर्थे जस्ता सामान्य विषयको जवाफ खोज्दै जाँदा बाटोमा भेटिने पुरानो पुस्ताले साट्ने अनुभव र भोगाइ कुनै कथाको किम्वदन्तीभन्दा कम लाग्ने छैन ।  

(पत्रकार लोहनीले २०७६ सालमा सेनासंग पदयात्रा गरेर तयार गरेको यो आलेख उज्यालो अनलाईन डटकममा प्रकाशित छ ।)

साढे छ सय सेना तयार


विदुर । नं. १ शैन्य तालिम केन्द्र मैथली ब्यारेक नुवाकोटबाट ६५७ जनाले सैन्य आधार तालिम पुरा गरेका छन् । सि.सं. ७७ सैन्य आधार तालिमको अन्तिम दलले कबाज बुधवार सम्पन्न भएको छ । 

नौ महिन अबधिको तालिम सकेर १११ महिला र ५४६ पुरुष सेनाले नेपाली सेवामा सेवा सुरु गरेका छन् । उनीहरूको अन्तिम दलले कवाजको नेपाली सेनाका बलाधिकृत रथी सरोजप्रताप राणाले अबलोकन गरेका छन् । त्यस अवसरमा आयोजित औपचारिक कार्यक्रममा तालिममा उत्कृष्ठ भएका दुई सैनिकलाई पुरस्कार प्रदान गरिएको थियो । तालिमका क्रममा सैद्धान्तिक र ब्यबहारिक रुपमा उत्कृष्ठ भएका तनहँुका बबिता नेपाली र गोरखाका हिमाल खड्गवासलाई पुरस्कार प्रदान गरिएको नं. १ सैन्य तालिम केन्द्र नुवाकोटका केन्द्रपति प्रमुख सेनानी सुनिल घिमिरेले जानकारी दिएका छन् । 

यस अघि मैथली तालिम केन्द्रको नामले चिनिने नुवाकोट बट्टारको सैन्य तालिम केन्द्रको नाम अहिले नं. १ सैन्य तालिम केन्द्र भएको छ । यो सैन्य तामिल केन्द्र २०४२ सालमा भक्तपुरबाट बट्टार सारिएको थियो । अहिले नेपाली सेनाको दुई  वटा मात्रै तामिल केन्द्र रहेको छ । नं. २ सैन्य तालिम केन्द्र रुपनदेहीको सैनामैनामा छ ।   


महिला भन्दा पुरुष विक्रि बढी


विदुर । एक वर्षको अवधीमा नुवाकोटमा मानव बेचविखनको घटना एउटा मात्रै रहेको सरकारी तथ्याङ्क रहेको छ । विशेष गरी महिला बेचविखनको घटना अत्याधिक हुने नुवाकोटमा पछिल्लो समय त्यसमा कमी आएको हो । अंग्रेजी वर्ष अनुसार सन् २०२२ को अबधि भरीमा नुवाकोटमा मानव बेचविखनको मुद्दा एउटा मात्रै रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख एसपी रमेश पण्डितले बताएका छन् । उना अनुसार उक्त मुद्दाको पिडितमा भने पुरुष छन् । वैदेशिक रोजगारीको क्रममा एक पुरुष बेचिएको घटना मात्रै मुद्दाको रुपमा दर्ता भएको छ । 

यो तथ्याङ्कसंगै नुवाकोटमा पछिल्लो दुई वर्षदेखि महिला विक्रिको घटना शुन्य बनेको छ । गएको हप्ता अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले आयोजना गरेको नेपाल मानव अधिकार वर्ष पुस्तक–२०२३ को बार्षिक पुर्व समीक्षामा तथ्याङ्क राख्दै एसपी पण्डितले मानव अधिकार हनन्का घटना नुवाकोटमा केही कम भएको बताएका छन् । मानव बेचविखनको सन्र्दभमा महिला भन्दा पुरुषको घटना बढी आउने गरेको पनि उनले बताएका छन् । ‘बैदेशिक रोजगारीमा जाने क्रमम ठगिएका र बेचिएकाहरू आउने गरेका छन्, त्यसमा महिला भन्दा पुरुषको संख्या अधिक छ’, एपसी पण्डितले भने, ‘मुद्दा कै रुपमा चाँही अगाडी बढेको मानव बेचविखनको घटना भने हामीकहाँ एउटा मात्रै रहेको छ ।’

इन्सेकले पुस्तकको पुर्व समीक्षाको क्रममा अंग्रेजी वर्ष २०२२ अन्र्तगत नुवाकोटमा भएको मानव अधिकार हननको घटना र मुद्दा विवरण समेत सार्वजनिक गरेको छ । 

इन्सेक नुवाकोटको प्रतिनिधि नवदीप श्रेष्ठका अनुसार जर्वजस्ती करणीमा १५, जर्वजस्ती करणी उद्योगमा ६, कर्तब्य ज्यानमा ७, मानव बेचविखनमा १, बहुविवहामा ४, धरेलु हिंसामा १ र बोक्सी आरोपमा १ मुद्दा नुवाकोटमा एक वर्षको बीचमा रहेको छ । 

नुवाकोटका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालले सरकारी पक्षबाट नुवाकोटमा मानव अधिकार उलंघनको घटना नभएको बताएका छन् । जिल्ला कारागारमा क्षमता भन्दा बढी कैदीबन्दी राख्नु परेकोले त्यहाँ केही मानव अधिकारको संकुचन भएको हुनसक्ने उल्लेख गर्दै अन्य पक्षमा सरकारी पक्ष चनाखो र सावधानीपुर्वक काम गरिरहेको रिसालले बताए । 

‘मानव अधिकार हननका गम्भिर घटना नुवाकोटमा उल्लेख्य छैन र कानून कार्यान्वयनको अवस्थामा कमजोरी भइरहेको छ भन्ने सूचना पाउने वित्तिकै हामी तदारुकता देखाउनेछौं’ प्रजिअ रिसालले भने । 

जिल्ला न्यायाधीवक्ता टेकराज भुषालले मानव अधिकार हननका घटनाको मुद्दाहरूमा जाहेरी आउदा देखिनै मुद्दा र अपराधको उठान प्रष्ट रुपमा नहुँदा कहिलेकाही समस्या हुने गरेको बताए । अहिलेको अवस्थामा विकासको अधिकार र नैसर्गिक अधिकारको कुरा प्राथमिकतामा रहेको भुषालले बताए । 

नेपाल पत्रकार महासंघ नुवाकोटका अध्यक्ष कपिलदेव खनालले इन्सेकले प्रकाशन गर्ने वर्ष पुस्तक मानव अधिकारको क्षेत्रमा सरकारी दस्तावेज सरह रहेको बताउँदै नुवाकोटका घटनाहरू पुस्तकमा कम आउनु सुखद पक्ष रहेको बताए । मानव अधिकार हनन र अपराधका कुरा कम हुनु नै कानूनी समाजको नमूना रहेको उल्लेख गर्दै खनालले पछिल्लो समय मानव अधिकार हनन्का सन्र्दभमा नुवाकोटमा कमै मात्रामा घटना भएको बताएका छन् । 

ट्याङ्कीदेखि मुहानसम्म अनुगमन


विदुर । विदुर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले सञ्चालन गरिरहेको नुवाकोटको ठूलो खानेपानी आयोजनाको मंगलवार अनुगमन भएको छ । पानी संकलन तथा शुद्धिकरण हुने ट्याङ्कीदेखि पानी ल्याउने मुहानसम्म जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, सरकारी अधिकृत, पत्रकार तथा उपभोक्ताहरूले अनुगमन गरेका छन् । संस्थाको आयोजना भएको अबलोकन तथा निरिक्षण कार्यक्रम विदुर नगरपािलका वडा नं. २ दिवाकरडाँडामा रहेको पानी ट्याङ्कीदेखि विदुर नगरपािलका वडा नं. १० स्थित फलाँखु खोला मुहानसम्म भएको छ । 

संस्थाले खानेपानीको आपुर्ती विदुरमा कसरी गरिरहेको छ र पानीमा गुणस्तरियता प्रदान गर्नका लागि के प्रयास भएको छ भन्ने देखाउन उक्त भ्रमण गराइएको संस्थाा अध्यक्ष सञ्जिबबहादुर श्रेष्ठले बताए । झण्डै १५ किलोमिटर परबाट पानी ल्याउदा आइपरेको झण्झटका बारेमा उपभोक्ता तथा सरोकारवाहरूलाई बुझाउन पनि भ्रमणको आयोजना गरिएको श्रेष्ठले बताएका छन् । अनुगमनमा जिल्ला समन्वय समितिका प्रमुख रजिन्द्रविक्रमसिंह ठकुरी, विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठ, उपप्रमुख प्रभा बोगटी, पुर्व प्रमुख सञ्जु पण्डित, प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसाल लगायतका सरकारी अधिकारी, उपभोक्ताको सहभागिता थियो ।

नेपाल सरकार र एसियाली विकास बैंक (एडीबी) को सहयोगमा निर्माणाधीन तेस्रो साना शहरी खानेपानी आयोजनाको अनुगमनपछिको बैठकले विदुर खानेपानी आयोजनाको पूर्ण निर्माणमा दबाब दिन, वैकल्पिक स्रोत र खानेपानी वितरणमा तदारुकता दिने निर्णय गरेको छ । विदुर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाबाट आयोजित निरीक्षण तथा सर्वेक्षण गर्दा फलाखु खोलाको मुहानमा शेरवाल र चेक ड्याम बनाई संरक्षण गर्न‘पर्ने देखिएकोले उक्त कार्य गर्न खानेपानी आयोजना व्यवस्थापन कार्यालयलगायत सम्बन्धित निकायमा आवश्यक पहल गर्न‘पर्ने निर्णय गरेको हो । बेत्रावतीको पहिरोमा मुख्य पाईप लाइन जोखिममा परेकोले त्रिशुली खोला नजिक संरक्षणको कार्य अगाडी बढाउन सम्बन्धित निकायहरूमा पहल गर्न‘पर्ने बताइएको छ । 

खानेपानी संस्थाका उपाध्यक्ष नवराज न्यौपानेका अनुसार निर्माण व्यवसायी सिको कालिका तुन्दी जेभीले बाँकी कार्य सम्पन्न गर्न‘पर्नेमा विदुर नगरपालिका वडा नम्बर ९ मा करिब एकहजार घरधुरीमा खानेपानी सञ्चालन नभएकाले छिटोभन्दा छिटो खानेपानी सञ्चालित गराउन सम्बन्धित निकायमा जानकारी गराउने अन्यथा आवश्यक कारवाही अगाडी बढाउन माग गरेको छ । वैकल्पिक स्रोतमा तादी खोलाको मुहान गरी समवेल प्रविधिबाट बट्टार ट्याङ्की र विदुर ट्याङ्कीमा प्रति सेकेण्ड कम्तिमा ६० लिटर बराबर पानी ल्याउन आयोजना व्यवस्थापनको कार्यालय पानीपोखरी काठमाडौंलाई आवश्यक पहल गर्न निर्णय गरेको छ । संस्थाबाट सञ्चालित खानेपानीमा विभिन्न स्थानका उपभोक्ताबाट अनियमित तथा दुरुपयोगको कारण सबै स्थानमा खानेपानी सञ्चालन गर्न नसकिएकोले सम्पूर्ण उपभोक्तालाई खानेपानी खुवाउने दायित्व उपभोक्ताको साथै स्थानीय सरकारलगायत सरोकारवाला गरी खानेपानी सञ्चालन कार्यमा सहयोग पुर्याउन अनुरोध गर्ने निर्णय गरेको छ ।

२०७३ सालमा सञ्चालन भएको तेस्रो साना शहरी खानेपानी आयोजना विविध कारण एवं निर्माण व्यवसायीको ढिलाईको कारण हालसम्म आयोजना सम्पन्न नभएतापनि विदुर नगरपालिकाको वडा नम्बर १, २, ४, ५ र ६ का चार हजार घरधुरीमा खानेपानी सञ्चालन गर्न सफल भएको विदुर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका सचिव राजेन्द्र पाण्डेले बताएका छन् । 

हाल विदुर नपा–२ को दिवाकर डाँडामा २० लाख लिटर क्षमता भएको ट्याङ्कीबाट फलाखु मुहानबाट प्रति सेकेण्ड ८० लिटर पानीलाई फिल्टर मिडिया प्रविधिबाट शुद्धिकरण गरि चारहजार दुईसय घरधुरीलाई खानेपानी आपुर्ती गर्दै आईरहेको सचिव पाण्डेले बताए । बाढी र पहिरोले विदुरको नगरस्तरीय खानेपानी आयोजनालाई विगतमा धेरै क्षति पु¥याउदै आएको छ । समय–समयमा आउने विपदले खानेपानी प्रणालीको मुहान, पाइप र अन्य पूर्वाधारहरू बगाउने वा नष्ट गर्ने गरेको छ ।

२०५२ सालमा स्थापना भएको विदुर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले अहिले झण्डै पाँच हजार घरमा खानेपानी पु¥याउँदै आएको छ । बट्टारको दिवाकरडाँडाबाट ४२ सय घरमा पानीको व्यवस्था गरिएको छ । खानेपानी संस्थाले बेलकोटगढीको नलगाउँ स्थित नाम्ले मुहानबाट ल्याइएको पानीबाट वडा नंं. ५ को ५४० घरमा पानी वितरण गर्दै आएको छ । बर्खाको समयमा मुहानबाटै धमिलो पानी आउने हुँदा पाँच महिनाका लागि बैकल्पिक रुपमा संस्थाले डिपबोरिङबाट पानी संकलन गर्दै आएको छ । जसमा देविघाट प्राधिकरण परिषरमा रहेको दुई वटा डिपबोरिङ र कृषि ज्ञान केन्द्रको कार्यालय परिषर रहेको एउटा डिपबोरिङ रहेको छ । यस बाहेक नादी नदीको किनारमा ‘समवेल’ प्रविधिबाट डिपबोरिङ गरी प्रतिसेकेण्ड ६० लिटर पानी संकलन गर्ने तयारी भइरहेको छ ।    

निर्माण व्यवसायीको ढिलाइका कारण अझै संस्थाको कार्यक्षेत्रका घरमा पानी पु-याउन नसकिएको र पटक पटक ध्यानाकर्षण गराइएको संस्थाका अध्यक्ष सञ्जिबबहादुर श्रेष्ठले बताए । उनका अनुसार विदुरको वडा नंं. ८ र वडा नं. ९ को एक हजार घर, वडा नं. ५ को रक्तकाली विद्यलायसंगैका २५ घर, वडा नंं ६ को वडा कार्यालय वरपरका ४९ घर, वडा नंं ५ को तल्लोपिपल्टार र देविघाटको २९० घरमा पानी पु-याउन बाँकी छ ।  

तस्बिर समाचार

मिस त्रिशुलीको ताज मुस्कान बज्राचार्यले पहिरिए । आरबी क्राउन एन्ड मेनेजमेन्टले गरेको प्रतियोगितामा भावना थापामगर दोस्रो, भूमिका थापामगर तेश्रो भए । 


दर्पण सहकारीको १३ औं बार्षिक साधारण सभा


विदुर । १२ वर्ष अघि युवाहरूले नियमित बचत गर्न स्थापना गरेको समुहबाट सहकारीमा परिणत भएको विदुरको दर्पण बचत तथा ऋण सहकारी संस्थाले शनिवार १३ औं बार्षिक साधारण सभा मनाएको छ । युवा पुस्ताहरूले आफ्नो पुँजी आफ्नै आर्थिक गतिविधिमा लगानी गर्नका लागि सुरु भएको उक्त सहकारी पुँजी परिचालन र शेयर सदस्यहरूको आर्थिक उन्नतीका लागि उदाहरणिय देखिएको छ । 

१३ औं बार्षिक साधारण सभामा प्रतिवेदन प्रस्तुत गर्दै संस्थाका अध्यक्ष राजकुमार तिमिल्सिनाले ३२४ शेयर सदस्य रेहेको जानकारी दिए । उक्त सहकारीको शेयर पुँजी ८४ लाख १७ हजार रुपैयाँ रहेको छ । गएको आर्थिक वर्षमा सहकारीले एक करोड ९५ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ । साधारण सभामा सहकारीका कोषाध्यक्ष रामेश्वर अधिकारीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । त्यस्तै लेखा तथा सुपरिवेक्षण समितिका संयोजक सुनिल विष्टले सहकारी संस्थाको समग्र लेखाजोखाको प्रतिवेदन पेश गरे । प्रतिवेदन अनुसार विदुर नगरपालिका भित्र छरिएर रहेको पुँजीलाई सहकारिताको भावना अनुरुप एकीकृत गरी व्यवसायिक तथा उत्पादनमूलक कार्यमा सदुपयोग भएको छ । 

सहकारीका कोषाध्यक्ष रामेश्वर अधिकारीले आउँदो आर्थिक वर्षका लागि आम्दानी तथा खर्च प्रक्षेपणको प्रतिवेदन समेत प्रस्तुत गरेका छन् । उनको प्रतिवेदन अनुसार गएको आर्थिक वर्षमा सहकारी संस्थाले झण्डै ७५ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । त्यस्तै, चालु आर्थिक वर्षमा एक करोड ४० लाख रुपैयाँ कर्जा लगानी गर्ने लक्ष्य सहकारीले लिएको छ । चालु आर्थिक वर्षमा पाँच करोड ६० लाख रुपैयाँ निपेक्ष संकलन गर्ने योजना सहकारीको रहेको छ ।  

दर्पण बचत तथा ऋण सहकारीले शेयर सदस्यहरूलाई चाडपर्व बचत, शेयर सदस्य विरामी उपचार सहयोग कार्यक्रम, बालबालिका बचत योजना जस्ता नमूना कार्यक्रमहरूलाई बेर्षेनी निरन्तरता दिँदै आएको छ । 

सारथी सहकारीमा पुनः गोकर्ण रोक्का


विदुर । सारथी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्यक्षमा पुनः गोकर्ण रोक्का निर्वाचित भएका छन् । 

गएको शुक्रबार सम्पन्न संस्थाको तेस्रो अधिवेशनले यसअघिकै नेतृत्वलाई निरन्तता दिदैं आगमी चार वर्षको लागि नयाँ सञ्चालक समिति एवं लेखासमिति समेत निर्विरोध निर्वाचित गरेको हो । सञ्चालक समितिको उपाध्यक्षमा शान्ति गुरुङ, सचिवमा बासुदेव खड्का र कोषाध्यक्षमा राजकुमार नगरकोटी छन् । सदस्यहरूमा सावित्री भट्ट बोगटी, मनिष श्रेष्ठ, सविन श्रेष्ठ, अम्बिका उप्रेती र अरुणिमा श्रेष्ठ छन् । लेखा सुपरिवेक्षण समितिको संयोजकमा रविन्द्र नेपाली र सदस्यहरूमा जलबहादुर तामाङ र विकास रोक्का चयन भएका छन् ।

बार्षिक साधारण सभामा सहकारीका अध्यक्ष गोकर्ण रोक्काले वार्षिक प्रतिवेदन तथा भावी योजना प्रस्तुत गरेका थिए । यस्तै, कोषाध्यक्ष राजकुमार नगरकोटी र रविन्द्र नेपालीले प्रतिवेदन प्रस्तुत गरेका थिए । सहकारीको शेयर पुँजी १ करोड ५० लाख ४३ हजार रहेको छ । गएको आर्थिक वर्षमा सहकारीले १२ करोड ४० लाख १४ हजार बचत संकलन र १२ करोड ९० लाख १७ हजार कर्जा लगानी रहेको छ ।

महासंघको पर्यटन उपाध्यक्षमा उप्रेती


विदुर । होटल व्यवसायी महासंघ नेपालको चौथो महाधिवेशनवाट नुवाकोटका सन्तोष उप्रेती पर्यटन उपाध्यक्षमा सर्वसम्मत निर्वाचित भएका छन् । साधारण सभाले दिनेशकुमार चुकेको अध्यक्षतामा नयाँ कार्य समिति निर्वाचित गरेको हो । 

महासंघको वरिष्ठ उपाध्यक्षमा शेर बहादुर थापा (शेरु), प्रशासन (संगठन), उपाध्यक्षमा वीरमञ्जन बटाला, पर्यटन उपाध्यक्षमा सन्तोष उप्रेती, उपाध्यक्षमा भाईचन्द्र श्रेष्ठ, मोदनाथ बेलबासे, तीलक बहादुर कार्की, देवी गौतम रविन, महिला उपाध्यक्षमा धनादेवी चोखाल सर्वसम्मत निर्वाचित भएका छन् । चितवनको भरतपुरमा सम्पन्न महाधिवेशनले पदाधिकारीसहित सिंगो कार्यसमिति निर्विरोधरुपमा निर्वाचित गरेको हो । उपाध्यक्ष उप्रेती नुवाकोट उद्योग बाणिज्य संघका द्धितिय उपाध्यक्ष हुन् । साथै उनी होटल तथा पर्यटन ब्यवसायी संघ बागमती प्रदेश अध्यक्ष छन् । 

महासंघको नवनिर्वाचित महासचिवमा तुल्सीराम भण्डारी (शंकर), उपमहासचिवमा राजेश महोत्रा (क्षेत्री), सचिवमा राजु अधिकारी, कलमबहादुर बम, धनेश्वर भण्डारी, ताराप्रसाद आचार्य बाबुराम, जनकबहादुर सिंह, बुद्धिप्रसाद पन्त, नारायणबहादुर सेन वली, मित्रप्रसाद ढकाल, कोषाध्यक्षमा कृष्ण कुमार श्रेष्ठ, सहकोषाध्यक्षमा, सुदिपकुमार श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका छन् ।

केन्द्रीय सदस्यहरूमा दिपेन सुवेदी, दिलबहादुर खत्री, कृष्णबहादुर कार्की, मोहन थेबे, सन्तोषकुमार थापा क्षेत्री, राजेन्द्रविक्रम शाही, रामप्रसाद पोखरेल, लालबहादुर खत्री, लक्ष्मण बस्याल, रमेशकुमार बराल, गोपी सार्की, राजिव श्रेष्ठ, महोदत्त कँडेल, गोपाल विसी, रुद्रबहादुर डाँगी, श्यामकुमार मण्डल, अजय त्रिपाठी, भीमलाल कँडेल, प्रेमकुमार श्रेष्ठ, मोहनसिंह ठकुरी, राधिका लम्साल, केशबदत्त पाण्डेय, सुरेश पाण्डे, उमा ग्राण्डन, जगदिशचन्द्र भट्ट, पिताम्बर पौडेल, गोपालबहादुर खत्री, लक्ष्मण भण्डारी, हरिप्रसाद गैरे, डम्बरकुमारी श्रेष्ठ, निशादविक्रम बम, सागर बडुवाल, नेत्रलाल वली, भरतकुमार भट्टराई, विकास डीसी, ज्ञानबहादुर गजमेर, टिकाबहादुर रायमाझी, बालकृष्ण खड्का, अर्ज‘न देवकोटा, भिविन्द्र न्यौपाने, सुरेन्द्रलाल श्रेष्ठ, सन्दिपकुमार बस्नेत, प्रदिपकुमार साह, टिकाराम श्रेष्ठ, ज्ञानेन्द्रकुमार ढकाल, कुलबहादुर बस्नेत, महेन्द्र श्रेष्ठ, रचनेन्द्र सिंह थापा, बालकृष्ण पौडेल, नारायणप्रसाद भुसाल, खिमराज पौडेल, सुनिता पन्त, प्रकाश कुँबर, शंकरलाल श्रेष्ठ, हरिशा पाण्डे सर्वसम्मत निर्वाचित भएका छन् ।

लेखा समिति सदस्यहरूमा सुलभ गौली, रवीन लामा, रामशरण अधिकारी (आर एस), रञ्जना कुमारी अर्याल, ईन्द्रबहादुर दहाल सर्वसम्मत निर्वाचित भएका छन् । महासंघमा देशभरका करिब ८० हजार होटेल व्यवसायी आवद्ध ७७ वटै जिल्लाको प्रतिनिधित्व रहेको छ ।

वान हर्टले खर्चियो दुई करोड ६६ लाख

वान हर्टको सहयोगमा तयार भएको चतुरोलेको बर्थिङ सेन्टरको निरिक्षण गर्दै जिल्ला समन्वय समितिका प्रमुख रजिन्द्रविक्रमसिंह ठकुरी, प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसाल लगायत । तस्बिर : इमेज

विदुर । चार वर्षदेखि नुवाकोट जिल्लामा कार्यरत वान हर्ट वल्र्ड बाइडले आफ्नो परियोजना समापन गरेको छ । यस क्रममा संस्थाले जिल्लामा दुई वटा परियोजना सञ्चालन गरेको वान हर्ट वल्ड वाइडका कार्यकारी निर्देशक सुर्य भट्टले जानकारी दिएका छन् । उनका अनुसार ‘आमा र बच्चाका लागि सुरक्षा सञ्जाल’ र ‘स्थानीय सरकारको साझेदारीमा मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढिकरण’ परियोजनाहरू सञ्चालनमा रहेका थिए । जस अन्र्तगत नुवाकोट जिल्लामा दुई करोड ६६ लाख रुपैयाँ खर्च भएको छ । त्यस बाहेक सात वटा अल्ट्रासाउण्ड भिडिओ एक्सरे मेसिन समेत परियेजना अन्र्तगत नुवाकोट भित्रिएको छ ।   

स्थानीय सरकारको क्षमता अभिवृद्धि, स्वास्थ्य सेवाको मागमा वृद्धि, मातृ तथा शिशुलाई सेवा प्रदान लगायतका क्षेत्रमा परियोजना प्रभावकारी रहेको परियोजना कार्यान्वयन चरण समापन बैठकले निष्र्कष निकालेको छ । चार वर्षदेखि मातृ शिशु तथा नवजाज शिशुको क्षेत्रमा कार्यरत संस्था वान हर्ट वल्र्ड बाइड अन्तराष्ट्रिय गैर सरकारी संस्था हो । सन् २०११ बाट नेपालमा कार्यरत यो संस्थाले नेपालका विभिन्न जिल्लामा सन् २०३० सम्म परियोजना सञ्चालन गर्ने छ । नुवाकोटमा भने परियोजना समापन भएको छ । 

मातृ तथा नवजात शिशुका लागि सुरक्षा सञ्जाल पद्दती मार्फत् काम गरेको वान हर्ट वल्र्ड बाइडले नुवाकोटको ग्रामिण क्षेत्रमा स्वास्थ्य सेवा प्रदान गर्ने गरी काम गरेको छ । 

परियोजनाले नुवाकोटको सात वटा स्थानीय सरकारलाई अल्ट्रासाउण्ड भिडिओ एक्सरे मेसिन प्रदान गरेको छ । अत्याधुनिक र उक्त महंगो प्रविधि आवश्यकताका आधारमा पालिका भित्रका विभिन्न स्वास्थ्यकेन्द्रमा लैजान मिल्ने गरी हस्तान्तरण गरिएको छ । बेलकोटगढी नगरपालिका, ककनी, सुर्यगढी, दुप्चेश्वर, लिखु, शिवपुरी र तारकेश्वर गउाँपालिकालाई वान हर्ट वल्र्ड बाइडले अल्ट्रासाउण्ड भिडिओ एक्सरे मेसिन हस्तान्तरण गरेको छ । संस्थाका अनुसार परियोजनामा खर्च भएको दुई करोड ६६ लाख रुपैयाँ बाहेक नै दातृ निकायबाट उक्त सामाग्री नुवाकोटका लागि उपलब्ध भएको छ । 

परियोजना अन्र्तगत जिल्लाको ३ वटा स्वास्थ्य संस्थामा बर्थिङ्ग सेन्टरको निर्माण र मर्मत भएका छन् । जसमा शिखरवेशी, चतुराले र समुन्द्रटार स्वास्थ्य चौकी रहेका छन् । त्यस्तै जिल्लाका १६ वटा स्वास्थ्य संस्थाहरूमा बथिङ्ग सेन्टरका लागि आवश्यक उपकरण र सामाग्री सहयोग गरेको छ । 

पाँच वटा स्वास्थ्य चौकीमा नविकरणिय उर्जा प्रविधि सहयोग भएको वान हर्ट वल्र्ड बाइड नुवाकोट फिल्ड अधिकृत सन्दिप सिलवालले जानकारी दिएका छन् । जसमा राउतवेशी, ककनी, चाउथे, हल्देकालिका र नर्जामण्डप स्वास्थ्य चौकीमा सोलार सेट उपलब्ध गराइएको छ । 

ककनी गाउँपालिका वडा नं. ७ चतुरालेमा गाउँपालिकासंगको सहकार्यमा वान हर्टले स्थापना गरेको बर्थिङ्ग सेन्टर जिल्लाकै नमूनाको रुपमा रहेको छ । ककनी गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख जीवनारायण भट्टराईका अनुसार ग्रामिण स्वास्थ्य । मातृ शिशु सुरक्षाका लागि उक्त बर्थिङ्ग सेन्टर बढी प्रभावकारी भएको छ । 

जिल्ला स्वास्थ्य कार्यालय नुवाकोटका प्रमुख महेन्द्रध्वज अधिकारीले वान हर्डले नुवाकोटमा सञ्चालन गरेको परियोजनाले स्वस्थ नागरिक तयार गर्ने सरकारको नीतिलाई टेवा पुगेको बताएका छन् । परियोजना समापनको क्रममा समीक्षा गर्दै विश्व महामारी कोभिड–१९ को समयमा मानव स्वास्थ्यका सबै क्षेत्रमा उत्तिकै सक्रिय हुनुपर्ने सरकारलाई वान हर्टले मातृ शिशु स्वास्थ्यको साथमा कोभिडबाट नागरिकहरूको सुरक्षा गर्ने दायित्वसम्म वहन गरेको स्मरण गर्दै सहयोग मिलेको बताए । 

नुवाकोटका सहायक प्रमुख जिल्ला अधिकारी बेदप्रसाद अर्यालले परियोजना र संघसंस्था भन्ने वितिक्कै कागजी काम मात्रै बढी हुने भन्ने आम सोचलाई वान हर्डले गलत सावित गरेको बताएका छन् । आफ्नो निर्दिष्ट लक्ष्यमा क्रियाशिल वान हर्डका कारण नुवाकोटमा मातृ शिशुको स्वास्थ्य सुरक्षा र दिगो स्वास्थ्य अभियानमा सहयोग पुगेको बताएका छन् । 

सुर्खेतको बाघको मनोवाद


विनोदराज खनाल

उस्स, म पनि बाघ रे !

यसो ऐना हेर्छु रंग बाहेक केही मिल्दैन, दश पटक वरिष्ट बाघ प्लास्टिक सर्जनकहाँ गएर थुतुनो सर्जरी गराउँदा पनि साँच्चै बाघको थुतुनो हुँदैन होला । हे प्रभु ! समाजको अघि पिता पुर्खाको विरासत र ईज्जत कसरी राख्नु ? बनाउन जंगलमै बनाए, रंग मिलाए, आखिर चार खुट्टा, पुच्छर सबै बनाए नाम पनि बाघ नै राखे तर ‘नाममा के छ ?’ भनेजस्तो भएँ, नामले बाघ भनेपनि मलाई कसैले बाघ देख्दैनन् । धत्तेरी ! सबै गरे पनि बाघ नाम त नरखिदिनु नी, हाम्रा पिता पुर्खामा सधैं रिस र गर्जन हुन्थ्यो मेरो थुतुनो त हाँस्य टेलीश्रृङ्खला हेरेर मुर्छा परेजस्तो छ, खरायो आएर जिस्काउने होला मलाई देखेर, जरायोले लात्ताले हानेर जाने होला, हरिण लें ‘ओए बाघ तलाई खाइदिम’ भन्ने होला, हे भगवान ! मलाई कस्तो बाघ बनायौं ? 

जंगलको राजा, साहसी, सिकारी, पराक्रमी सबैको एउटै नाम बाघ ! तर खलकमा नभएको यी सबै विशेषता हराए जस्तो बाघ भए म, मलाई बनाउने बेला भगवान गाँजा खाएर वास्तै नगरे जस्तो छ, या त मेरा शत्रुहरूबाट घुस खाएर मलाई यस्तो बनाए जस्तो छ, उफ् ! सोच्दै पागल हुन्छु, मलाई किन यस्तो सजाय भगवान ?

बाँदरबाट मान्छे भएजस्तै म पनि पुरानो बाघ हुँ भनु भनेपनि आधुनिक जमानामा जन्मिएको छु, फेसबुक, ट्विटर जताततै फोटो भाइरल बनाएका छन्, कोहीले भ्यागुते थुतुनो भनेका छन्, कोहीले सुँगुरे भनेका छन्, हैट ! यो सहन नसकेर मरौ मरौ लाग्छ फेरि बाघले आत्महत्या गरेर मर्यो भने मान्छेहरू के गर्लान् ? भो मान्छेकै लागि पनि अपमान सहेर बाँच्ने त होला ?

सोच्छु, बरु मलाई बिरालो बनाइदिनु, बिरालो हुम भनेर स्वाभिमानले बाँच्न त पाउँथे । बाघको नाम बोकेर अनेकौं लान्छना, आरोप र ट्याग भिरेर बाँच्नु परेको छ, अझ कोही ५० हजारे, कोही १३ लाखे कोही १९ लाखे भन्छन्, हे दैव ! कुन जुनीमा निर्धो अनि कमजोर हरिण सिकार गरेको पाप लाग्यो ? ‘बाघ मर्छ बरु घाँस खाँदैन’ भन्ने उखान पनि मेरो लागि उखानै भयो आखिर घाँस खाएर बाँच्नु पर्या छ, थुक्क जिन्दगी !

बनाउनेले बनायो पैसा लयो खानेले खायो पनि तर बेइज्जत मेरो छ, छि : बाघ देखेर मान्छे तर्सन्थे अब त मलाई देखेर मान्छेहरू मेरै घोडा चढ्ने भए, विश्वव्यापी बेइज्जत, मान्छेले धाक लगाउँछ अब ‘हेर बाघको घोडा चढेर हिड्या छु’ भन्ने होला, दैब ! रडिस जिन्दगी लिएर जन्मेछु, यस्तो त कसैलाई नपरोस् ।

अस्ति घरमा बिहेको कुरा भो, छिमेकी अंकल भन्दै थिए ‘केटो कुल घरमा नभएको निस्कियो यस्तालाई कुनले छोरी देला र?’ अनि फेरि काकीले भनिन् ‘बघिनी त कसैले दिँदैनन् थुतुनो पनि मिल्दो छ एउटी सुगुर्नी खोजेर ब्या गर्दिए हुन्छ ।’ कुना पसेर धरधरी रोएँ, अनि बनाउनेलाई गाली गरे, हरे ! के बनाइदिएको ? भगवान म जस्तो पशुलाई बनाउँदा त घुस नखानु नी, मान्छेलाई मेहेनत गरेर बनाउँछन् कति राम्रो न एक रुपियाँ घुस खान्छन् न कमिसन तर मान्छेले घुस खान्छ, कमिसन खान्छ तर विचरा मलाई बनाउँदा भगवानले घुस खाएर यस्तो कुरुप बनाए म त मेहेनतले खाने बाघलाई । अब म पनि मान्छे जस्तै बन्छु । सिकार गर्न बनको हरिण जरायो हैन हात्तीको सिकार गर्छ‘ त्यो पनि नोटवाला ।।।

सातौं झिल्टुङ क्रन्सकन्ट्री दौड माघमा

विदुर । ‘जे गरौं, गजबले गरौं’ भन्ने नारासाथ झिल्टुङ क्रसकन्ट्री दौडको सातौ संस्करण माघ १४ गते शनिबार हुने भएको छ । 

नुवाकोटको बेलकोटगढी नगरपालिका–५ को आयोजना र एथलेटिक्स परिवारको प्राविधिक सहयोगमा हुने दौड प्रतियोगिता कोल्पुटारबाट सुरु भएर बेलिनी, छाप, राजओडार, खड्काछाप, सालचौर हुँदै पुनः कोल्पुटारमा पुगेर सकिनेछ । प्रतियोगितामा १३.५ किमि दौडका पुरुष तथा महिला विजेताले १५ हजार, दोस्रोले १० हजार र तेस्रो हुनेले समान ५ हजार रुपैयाँ पाउनेछन् । स्थानीय बेलकोटगढी नगरपालिकाभित्रका पुरुष विजेताले १० हजार, दोस्रोले ७ हजार र तेस्रो हुनेले समान ५ हजार पाउनेछन् ।

४.५ किमि खुला जुनियर छात्र/छात्रा विजेताले समान ६ हजार, दोस्रो हुनेले ४ हजार र तेस्रो हुनेले २ हजार पाउनेछन् । स्थानीय छात्रछात्रातर्फ विजेतालाई ६ हजार, दोस्रोलाई ४ हजार र तेस्रो २ हजार प्रदान गरिनेछ । ४.५ किमितर्फ ४५ वर्ष माथिको स्थानीय पुरुष विजेताले ६ हजार, दोस्रोले ४ हजार र तेस्रोले २ हजार तथा १३.५ किमि खुला भेट्रान पुरुष विजेताले ८ हजार, दोस्रोले ६ हजार र तेस्रोले ४ हजार प्राप्त गर्नेछन् । त्यस्तै ४.५ किमिको आमा समूह दौड विजेताले १२ हजार, उपविजेताले ९ हजार र तेस्रोले ६ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

दौड प्रतियोगितामा करिब ५ सय खेलाडीले भाग लिने अनुमान गरिएको आयोजकले प्रेस विज्ञप्तिमार्फत जनाएको छ । प्रतियोगिताको व्यवस्थापकमा बेलकोटगढी नगरपालिका–५ का वडाध्यक्ष मदन भुजेल र संयोजकमा एथलेटिक्स परिवार नेपालका सल्लाहकार मोहन नेपाल छन् ।

श्री स्वस्थानी व्रत कथा सुरु

विदुर । हरेक वर्षको पौष शुक्ल पूर्णिमाका दिन सुरु हुने श्री स्वस्थानी व्रत कथा तथा माधवनारायणको पूजा शुक्रवार (पुस २२ गते) बाट सुरु भएको छ । 

पौष शुक्ल चतुर्दशीको दिन हात गोडाका नङ काटी, स्नान गरी, शुद्ध वस्त्र पहिरिएर यसको शुरुआत हुन्छ । बिहान माघ स्नान गरी नित्य मध्याह्नकालमा महादेवको पूजा गरिन्छ । बेलुकी स्कन्द पुराणको केदार खण्डअन्तर्गत माघ माहात्म्यको कुमार अगस्त्यबीच संवाद भएको स्वस्थानी व्रत कथा सुन्ने सुनाउने परम्परा छ ।

प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिनासम्म हरेक दिन घर–घरमा स्वस्थानीको कथा भन्ने र सुन्ने गरिन्छ । स्वस्थानीको व्रत बसे, कथा भने र सुने मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ । गोमा ब्राह्मणीले सप्तऋषिले सिकाएको विधिअनुसार व्रत गर्दा पुत्र वियोगबाट मुक्ति मिलेको र व्रतकै प्रभावले छोरा नवराज लावण्य देश (हालको साँखु क्षेत्र)को राजा भएको कथासमेत स्वस्थानीमा वर्णन गरिएको छ । त्यसैले साँखुको शालीनदीमा स्वस्थानीमा विशेष मेला लाग्छ । 

माघ महिनामा शालीनदीमा स्नान गरेर माधवनारायणको दर्शन गरेमा पाप पखालिई पुण्य कमाइने धार्मिक विश्वास छ । यो विश्वासमा प्रत्येक वर्ष यहाँ लाखौँ भक्तजन आउने गर्छन् । स्वस्थानी व्रत हरेक वर्ष विभिन्न बहसका कारण चर्चाको विषय बन्ने गर्छ । स्कन्ध पुराणको केदार खण्डमा रहेको माघ महात्म्यमा समेटिएको यो कथालाई कसैले नारी अधिकारको कुरा गरेर आलोचना गर्छन् भने कसैले तत्कालीन समयको समाजसँग चित्रित गरेर यसलाई स्वाभाविक मान्छन् । 

यत्तिका बहस चलिरहँदा पनि स्वस्थानीको कथा शुरुआती अवस्थामा नै यस्तै अवस्थामा थियो कि थिएन ? यो कतैको सत्य घटनामा आधारित कथा हो कि होइन ? भन्ने जस्ता मूलभूत विषयमा भने अझै यकिन हुन सकिरहेको छैन ।

कति पुरानो हो स्वस्थानी कथा ?

स्कन्ध पुराणको केदार खण्डमा रहेको माघ महात्म्यमा समेटिएको यो कथालाई कसैले नारी अधिकारको कुरा गरेर आलोचना गर्छन् भने कसैले तत्कालीन समयको समाजसँग चित्रित गरेर यसलाई स्वाभाविक मान्छन् । यत्तिका बहस चलिरहँदा पनि स्वस्थानीको कथा शुरुआती अवस्थामा नै यस्तै अवस्थामा थियो कि थिएन ? यो कतैको सत्य घटनामा आधारित कथा हो कि होइन ? भन्ने जस्ता मूलभूत विषयमा भने अझै यकिन हुन सकिरहेको छैन ।

२०७६ माघ २८ गते प्रतिनिधिसभामा बोल्दै सत्तारुढ तत्कालीन नेपाल कम्युनिस्ट पार्टीकी सांसद यशोदा सुवेदी गुरुङले महिनावारी हुँदा छोइछिटो गर्ने परम्परालाई मजबुत पार्ने स्वस्थानी व्रतकथा र ऋषिपञ्चमीका कथाहरू च्यात्नुपर्ने बताएकी थिइन् । 

धार्मिक अन्धविश्वास र परम्परालाई भत्काउने मजबुत खालको अभियानको खाँचो परेको उनको अभिव्यक्तिले उनलाई विवादमा तान्यो । त्यसो त जब माघ महिना शुरु हुन्छ, स्वस्थानी व्रत कथामाथि यावत टीकाटिप्पणी आउने गर्छन् । व्रतमाथि अनेक बहस पनि हुने गर्छन् । तर यसको कथाको प्रसंग र कुन अवस्थामा यसको शुरुआत भएको थियो त ?

अमेरिकाको पेनस्टेट विश्वविद्यालयमा एसियाली अध्यययन, महिला अध्ययन, लैंगिकता तथा यौनिकता पढाउने जेसिका भेन्टिन बिर्कन्होल्जले चार वर्षअघि नेपालमा स्वस्थानी व्रतसँग सम्बन्धित एउटा पुस्तक तयार पारिन् । दुई दशकको अध्ययनपछि उनले प्रकाशित गरेको पुस्तकमा स्वस्थानीको बारेमा हुने दुईवटा मिथकलाई विश्लेषण गरिएको छ । मिथकहरूमा महिलालाई प्रायः दुई स्वरूपमा देखाइएको हुन्छ । पहिलो : शान्त, भद्र र नरम, अनि सधैं उनीहरूका पतिका साथमा रहने, जस्तो, पार्वती । अनि दोस्रो : अविवाहित तथा पुरुष साथीबिना एक्लै रहेकी, अनि आक्रामक र लडाकु स्वभावकी, जस्तो, दुर्गा वा काली । तर, स्वस्थानी देवी एक जटिल चरित्र हुन् र अन्य सबैभन्दा फरक छिन् । शान्त र भद्र भइकन पनि उनलाई चन्द्रावतीको कथामा उग्र र माफी दिन नसक्ने जसरी देखाइएको छ ।

स्वस्थानी व्रत कथा कति पुरानो हो भन्नेमा विद्वानहरूबीच एक मत छैन । तर यो एउटा सत्य कथामा आधारित पुस्तक हो भन्नेमा भने धेरै सहमत छन् । शुरुमा नेवारी भाषामा लेखिएकोमा नेपालीकरण गर्ने बेलामा यसलाई केही अतिरञ्जित पनि गरिएको पाइन्छ । तर यसमा समेटिएका अधिकांश कथा काठमाडौं उपत्यका र त्यसमा पनि साँखु क्षेत्रको कथासँग सम्बन्धित रहेको कुरामा धेरै सहमत देखिन्छन् ।

नेवारी समाजमा र यसबाहिर छुट्टाछुट्टै पाण्डुलिपिहरू भेटिएका छन् । यसमा गोमा, नवराजको मुख्य कथा छन् । 

यद्यपि अठारौं शताब्दीमा गोरखाबाट पाइएको अर्काे पाण्डुलिपिमा भने नवराजसँगै महादेव र पार्वतीको कथा पनि जोडिएको कुरा प्राचीन नेपालमा प्रमोद बस्नेतले लेखेको ‘कसरी शुरु भयो स्वस्थानीको कथा’ नामक अनुसन्धानमूलक आलेखमा उल्लेख छ । पछि तयार पारिएका पाण्डुलिपिमा मात्रै शिव पार्वतीको चर्चा थपिएको कुरामा दुई दशकसम्म स्वस्थानीको अध्ययन गरेकी जेसिका भेन्टिन पनि सहमत छिन् ।

दुई वर्षअघि भेन्टिनले भनेकी थिइन्, ‘मैले करिब ८०० प्रकारका स्वस्थानीका किताब फेला पारें र तीमध्ये १२५ को जाँच गरें । त्यसमध्ये पनि प्रकाशन मिति उल्लेख गरिएका, आकारप्रकार नबिग्रिएका र पूरा कथा भएका करिब दुई दर्जन छानेर पढें ।’ १७ औं शताब्दीदेखि २१ औं शताब्दीसम्म आइपुग्दा स्रोत पुस्तक र अहिलेको पुस्तकमा धेरै भिन्नता आएको उनी बताउँछिन् ।

बस्नेतको अनुसन्धानमूलक आलेख अनुसार हालसम्म पाइएको सबैभन्दा पुरानो स्वस्थानी भनेको नेपाल संवत् ६९३ (वि.सं. १६२९) को स्वस्थानपरमेश्वर्या व्रतकथा हो । जुन हस्तलिखित पुस्तक हो । 

यो संस्कृत भाषामा लेखिएको छ । त्यसको ३० वर्षपछि नेवारी भाषामा लेखिएको स्वस्थानी भेटियो । यो अहिले राष्ट्रिय अभिलेखालयमा संग्रहित छ । त्यसको झण्डै ११८ वर्षपछि मैथिली भाषामा लेखिएको स्वस्थानी भेटिएको छ ।

नेपाली भाषामा भने पहिलो पटक वि.सं. १८६७ मा लेखिएको हस्तलिखित स्वस्थानी भेटिएको छ । यिनै प्रमाणको आधारमा स्वस्थानी कथा १७ औं शताब्दीभन्दा पुरानो मान्न सकिन्छ । तर यही नै समयमा शुरु भयो भन्ने तथ्य भने भेट्न सकिएको छैन ।

स्वस्थानीको किताबमा के छ ?

स्वस्थानीको मूल कथा शिव भट्ट ब्राह्मणबाट सुरु हुन्छ । गोमाको जन्म तथा अनमेल विवाह, नवराजको जन्म तथा विवाह, गोमा र चन्द्रावतीको स्वस्थानी व्रत र अन्तमा नवराजको राजामा वरणपछि गोमाले पाएको सुख तथा सन्तोष नै स्वस्थानी कथाको सार हो । लगभग तीन सय वर्षसम्म यही प्रारम्भिक कथा नै प्रचलनमा थियो । प्रचलित कथामा भएका अन्य प्रसङ्गहरू पटक–पटक गरेर पछिल्लो दुई सय वर्षमा थपिएका हुन् ।

एकतीस अध्याय र एक महिनाको व्रत पनि पछिल्लो समयको रूपान्तरण हो । यसअघि बाइस अध्याय मात्र थियो । प्रचलित स्वस्थानी कथा किताबमा उल्लेख गरिने स्वस्थानी व्रत तथा पूजा विधि नेपाली भाषामा स्वस्थानी प्रचलनमा आएपछि विकास गरिएको हो। व्रत/उपासना पनि अड्चालिस घन्टेबाट एक महिनामा अठारौँ शताब्दीमा मात्र विस्तार गरेको प्रमाण पाइएको छ (बर्केन्होल्ज, पृ. १०९) । जेसिकाका अनुसार नेपाली भाषामा पुराणीकरण हुन थालेपछि नेपाल भाषामा पनि पुराणका अंशहरू थपिन थालेका हुन् । तर, नेपाल भाषामा थपिएका अंश नेपाली भाषाको अंशसँग ठ्याक्क मेलचाहिँ खाँदैनन् । 

प्रचलित स्वस्थानी कथाका प्रत्येक अध्यायपछि कथाको स्रोत भनेर स्कन्द पुराणलाई उल्लेख गरेको पाइन्छ । स्कन्द पुराण भनेको महादेव(पार्वती (वा गंगा) पुत्र कुमार (स्कन्द) बाट वाचन गरिएको कथा हो। स्वस्थानीमा पनि कथावाचक कुमार नै छन् । तर, स्वस्थानी स्कन्द पुराणको अंश भने होइन । स्वस्थानीको उपासना गरिएको गोमाको मूल कथा कुनै पनि पुराणको अंशको रूपमा प्रमाणित भएको छैन । स्वस्थानी स्वयंको पनि देवीका रूपमा पुराणमा उल्लेख भएको भेटिँदैन । हालका संस्करणहरूमा पद्मपुराण र स्कन्द पुराणको सन्दर्भ दिने गरिए पनि प्रारम्भकालीन स्वस्थानीलाई लिङ्ग पुराणको अंश भनेर उल्लेख गरिएको छ । जबकि प्रचलित लिङ्ग पुराणमा पनि स्वस्थानीको यो कथा भेटिँदैन । छुट्टै पुराण पनि नबनिसकेको र स्रोत भनेर उल्लेख गरिएको पुराणमा कथा नभेटिनु खोजको विषय हो ।

२०७९ साल पुस २५ गतेको सम्पादकीय

अन्तराष्ट्रिय पर्व : सोनाम ल्होछार

तामाङहरू सामान्यतया नुवाकोट, रसुवा, धादिङ, मकवानपुर, चितवन, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, दोलखा, रामेछाप र सिन्धुली जिल्लामा बसोबास गर्दै आएका छन् । यी बाहेक, काठमाडौं, ललितपुर र भक्तपुरसहित देशका अरु विभिन्न जिल्लाहरूमा पनि भेट्न सकिन्छ । तामाङ जातिहरू नेपालमा मात्र नभई विश्वका धेरै देशहरूमा पनि बसोबास गरेको पाइन्छ, केही भने पूर्वी भारत विशेष गरी दार्जलिङ, सिक्किम, मेघालय, आशाम, नागाल्याण्ड र गुहाटी, भुटान र वर्मामा बसाइँ सरेका छन् । यी बाहेक तिब्बत, सिंगापुर, मलेसिया, म्यानमार, थाइल्यान्ड, बेलायत, अमेरिका, बेलायत, अष्ट्रेलिया, जापानलगायत युरोपका विभिन्न देशहरूमा पनि भेट्न सकिन्छ । तामाङ जातिहरूले नयाँ वर्षको रुपमा सोनाम ल्होछार मनाउने गर्दछन् जुन हरेक वर्ष विक्रम सम्बत् अनुसार माघ महिनाको शुक्ल प्रतिपदाको दिनमा पर्दछ । यसपटक माघ ८ गते परेको छ । ल्होछारको शाब्दिक अर्थ हेर्ने हो भने ल्हो भन्नाले ‘वर्ष’ अनि ‘छार/सार’ भन्नाले ‘नयाँ’ भन्ने जनाउँछ । यसको अर्थले नयाँ वर्षको आरम्भ भयो भन्ने बुझाउँछ । यो पर्व तामाङ जातिले मात्र नभई विभिन्न समुदायले मनाउने गरेको पाईन्छ । तामाङ समुदायमा १२ वटा विभिन्न पशु–पन्छीको प्रतिकसँग वर्ष गन्ने चलन छ । यो मुसाबाट सुरु हुन्छ र सुंगुरमा समाप्त हुन्छ । मुसा(जिवा), गाई(लङ), बाघ(च्यान/तक), खरायो(हे/कुरी), ड्रागन/मेघ(डुक), सर्प(डुल), घोडा(ता), भेडा(लुक), बाँदर(टे), कुखुरा/चरा (च्या/ज्या), कुकुर (खि/नगि) र सुँगुर(ड्वा/फक) गरी १२ वर्गमा सोनाम ल्होछारलाई विभाजन गरिएको छ ।

नेपालमा ल्होछार मनाउने प्रचलन चीन तथा चीन प्रशासित राज्यबाट भित्रिएको मानिन्छ, किनभने चिनियाँ पात्रोमा पनि नयाँ वर्षलाई बिभिन्न पशुपन्छीका नामले सम्बोधन गरिन्छ । त्यसो त तामाङ समूदायले चिनीयाँ पात्रोभन्दा बेग्लै अनि मौलिक आफ्नै पात्रोको प्रयोग गर्ने गर्दछन् जसलाई ‘चन्द्र पात्रो’ भनिन्छ । बौद्ध धर्म अनुसार तामाङ जाती महायान सम्प्रदायका हुन् । तामाङहरूका अलवा ल्होछार पर्व शेर्पा, गुरुङ, मगर, थकाली, जिरेल, नेस्याङ्वा, भोटे, दुरा र लेप्चा लगायतका जातीले मनाउँदछन् । गुरुङले मनाउने ल्होछारलाई तोला ल्होछार, तामाङ लगायतका जातिले मनाउनेलाई सोनाम ल्होछार, शेर्पा र भोटे जाती लगायतले मनाउने ल्होछारलाई ग्याल्पो ल्होछार भनिन्छ । सोनाम ल्होछार पर्व तामाङ जातीहरू पुगेका नेपाल सहितका अन्य मुलुकहरू सिङ्गापुर, मङ्गोलिया, मलेसिया, भारत, थाइल्यान्ड, भियतनाम, भुटान, लाओस, म्यान्मार, जापान लगायतका देशमा मनाइदै आएको छ । यी देशहरूका अधिकांश वौद्धविहारहरू रगिंन र उल्लासमय हुन्छन्, रंगीन सजावटका ध्वजा पताका अनि पुष्पद्वारलगायत अन्य मनमोहक सजावटले वौद्धविहार बडो गज्जब देखिन्छ । मुख्यतया डाँडाकाँडामा भएका नेपाली वौद्धविहारहरूमा गरिएको यस्तो सजावटले परैबाट आँखा तान्दछ, असिम आनन्दको अनुभुती हुन्छ ।

तामाङ समुदायमा विभिन्न चाडपर्वहरू मनाउने गरेको पाईन्छ । ती मध्ये ल्होछार, परिचित र विशेष चाड पनि हो । मानिसहरू गुम्बा, स्तूपा र चैत्यहरूमा जान्छन् र त्यहाँ धार्मिक अनुष्ठानहरू गर्छन् । ल्होछारको पहिलो दिन मानिसहरूले पिठोले १२ वटा जनावरको (१२ ल्हो) आकृति बनाउँछन् । यो पर्व १५ दिनसम्म मनाइन्छ। आफन्त र प्रियजनहरूबीच खापसे, आलुमबाट बनेको परम्परागत परिकार आदानप्रदान गरिन्छ । परिवारका मूलीले टीका (सेतो टिका अर्थात् अक्षता र दही मिसाएर बनाएको) लागाएर आशिर्वाद दिने गर्छन् । यसको साथै को–को मेहन्दोको तामाङ संस्कृति र संस्कारमा खुबै प्रयोग गरिन्छ, जुन एकदमै शुद्ध र पवित्र मानिन्छ । शुभ–अवसरहरू जस्तैः विवाह, छेवर, ल्होछार आदिमा को–को मेहेन्दोको टिका लगाउने चलन छ । अहिले यसलाई तामाङ पहिचानको प्रतिकको रुपमा लिने गरिन्छ । यो विशेष दिन आफ्नो संस्कृति अनुसारको भेष–भुषामा मानिसहरू सजिन्छन । पहिरनमा खेन्गा, आङ्ग्रे, लुङगी, कुलागी/तागी लगाउछन् भने सांस्कृतिक गरगहनामा जन्तर, जुन आदि लगाउने गर्छन् अनि तामाङ सेलो गाउँदै डम्फूको तालमा नाच्दै रमाइलो गरेर एकअर्कामा सद्भाव, माया र खुसी साटसाट गर्दछन् । तामाङ समाजलाई निरन्तर जीवन्त र गतिशील राख्न तामाङमा छ प्रकारका प्रमुखहरू हुन्छन् : ताम्बा, गान्बा, बोन्बो, लबोम्बो, लामा र चोहो । समाजका प्रमुखहरू आफ्नो योग्यता र क्षमताले सशक्त हुन्छन् । समाजको विकासमा उनीहरूको आ–आफ्नो र महत्वपूर्ण भूमिका हुन्छ । सांस्कृतिक पक्षको हेरचाह गर्ने र विवाह समारोहहरूका लागि ताम्बाको महत्त्वपूर्ण भूमिका छ । गान्बा सबै प्रकारका सामाजिक, राजनीतिक र धार्मिक गतिविधिहरूमा सहभागी हुन्छन् । उनले ताम्बा, बोन्बो, लामा, लबोम्बो, चोहो आदिले आफ्नो संस्कार र क्षमताले पूरा गरे वा गरेनन् भन्ने लगायतका समाजका विभिन्न गतिविधिहरू अवलोकन गर्छन् र गतिविधिहरूको मूल्याङ्कन गरी सुझाब दिन्छन् । बोन्बोले स्थानीय देवी–देवताहरूलाई प्रोत्साहन गर्दछन् र गाउँमा बिरामी र खाँचोमा परेकाहरूलाई उपचार प्रदान गरेर सहयोग गर्दछ । लबोम्बो (लप्तबा) ले कुल देवताहरूको पूजा गरेर वंश र वंशको इतिहासलाई जीवित राख्ने गर्दछन् । 

नेपाल जसरी प्राकृतिक विविधताले धनी छ, सांस्कृतिक विविधताले पनि उत्तिकै धनी मुलुक हो । सांस्कृतिक विविधताबीच पृथक/मौलिक सांस्कृतिक पहिचान भएको प्रमुख समुदाय तामाङ समुदाय पनि हो । भौगोलिक क्षेत्रफलले सानो मुलुकमा रहेको प्राकृतिक विविधतासँगै सांस्कृतिक विविधतालाई पनि संरक्षण, प्रवर्द्धन र विकास गर्न सके नेपाललाई सांस्कृतिक विविधताको अध्ययन केन्द्र र पर्यटकीय गन्तव्य बनाउन थप मद्दत पुग्ने देखिन्छ । सोनाम ल्होछारको शुभकामना ! 

२०७९ साल पुस २५ गते । वर्ष:१६ अंक:१३