Tuesday, January 17, 2023

त्रिशुली अस्पताल फेरि नेपालकै पहिलो


विदुर । नुवाकोटको जिल्ला अस्पताल ‘त्रिशुली अस्पताल’ यस वर्ष पनि न्युनतम सेवा मापदण्डमा नेपालकै उत्कृष्ठ ठहरिएको छ । यो सहित तीन वर्षदेखि त्रिशुली अस्पताल न्युनतम सेवामा देशै भरी लगातार पहिलो हुँदै आइरहेको छ । 

एक सयमा यस वर्ष ९६ अंक ल्याइ त्रिशुली अस्पताल उत्कृष्ठ भएको स्वास्थ्य विभागका बरिष्ठ नर्सिङ प्रशासक बाला राईले जानकारी दिइन् । न्युनतम सेवा मापदण्डमा त्रिशुली अस्पतालले अघिल्लो वर्ष (२०७८ सालमा) ९४ अंक ल्याई देशकै पहिलो भएको थियो । २०७७ सालमा ८८ अंक ल्याई पहिलो पटक त्रिशुली अस्पताल देशकै पहिलो भएको थियो । यस वर्ष पनि त्रिशुली अस्पताल देशै भरीको सरकारी अस्पतालमा पहिलो भएको बागमती प्रदेश स्वास्थ्य निर्देशनालयका बरिष्ठ स्वास्थ्य प्रशासक डा. नरेन्द्रकुमार झाले बताएका छन् । बर्दियाको जिल्ला अस्पतालले यसपालि ९५ प्रतिशत अंक प्राप्त गरेकोमा त्रिशुली अस्पतालले ९६ प्रतिशत अंक प्राप्त गरी देशै भरी पहिलो भएको झाले बताए । 

शुक्रवार त्रिशुली अस्पतालमा आयोजित ‘अस्पतालको गुणस्तर सुधारको लागि न्युनतम सेवा मापदण्ड फलोअप समीक्षा’ कार्यक्रममा त्रिशुली अस्पतालले प्राप्त गरेको अंक घोषणा भएको हो । न्युनतम सेवा मापदण्ड परिक्षणका लागि संघीय सरकारको स्वास्थ्य विभाग र बागमती प्रदेशको स्वास्थ्य निर्देशनालयका उच्चपदस्थ अधिकारीहरूले दुई दिन त्रिशुली अस्पतालको अनुगमन गरेका थिए । 

त्रिशुली अस्पताल ‘हब हस्पिटल’ को रुपमा विकास हुनु, अस्पताल आफैले ‘ब्लड बैंक’ सञ्चालन गर्नु, नेपाल सरकारका सबै नीति र निर्देशनको अंक्षरश पालना हुनु, तीन वटै तहका सरकारसंग प्रभावकारी सहकार्य र समन्वय हुनु, अस्पताल आफ्नै ‘अक्सिजन प्लाण्ट’ हुनुले पहिलो बनाउन बढी सहयोग मिलेको बताइएको छ । त्रिशुली अस्पताल व्यवस्थापन तथा सञ्चालन समितिका अध्यक्ष राजु पण्डितका अनुसार ओपिडी सेवा विस्तार भएको, जिल्ला अस्पतालमा हुने भन्दा बढी सेवा (आइसियु, एनआसियु) जस्ता माथिल्लो तहको सेवा हुनुले त्रिशुली अस्पताललाई देशै भरीको सरकारी अस्पतालमा पहिलो बन्न सघाएको छ । 

उक्त कार्यक्रममा आफ्नो भनाई राख्दै बागमती प्रदेश स्वास्थ्य निर्देशनालयका स्वास्थ्य निर्देशक महेन्द्र श्रेष्ठले त्रिशुली अस्पतालले प्रदान गरिरहेको सेवाका कारण आफुहरूलाई समेत काम गर्ने प्रेरणा जाग्नेगरेको बताएका छन् । ५० बेडको जिल्ला अस्पतालको रुपमा रहेको त्रिशुली अस्पताल आफ्नै सेवाका कारण क्षेत्रियस्तरको देखिएको उनले बताए । ‘अब हामी छिट्टै त्रिशुली अस्पताललाई एक सय बेडको बनाउने छौं’, श्रेष्ठले भने, ‘अघिल्ला प्रदेश सांसद हिरानाथ खतिवडा खुब धाउनु भयो यो अस्पताललाई सय बेडको बनाउन, महिनाको दुई पटक जत्ति आउनुहुन्थ्यो, अब त्रिशुली अस्पताललाई एक सय बेडको बनाउने अन्तिम तयारीमा छौं’ श्रेष्ठले भने । 

साथै उनले न्युनतम सेवाको मापदण्ड जाँच गर्दा ९६ प्रतिशत मात्रै आएकोमा अझै सरकारी अस्पतालले न्युनतम सेवामा पनि ४ प्रतिशत काम गर्न बाँकी नै रहेको स्मरण गराए । आफु सरकारी अस्पतालहरूको न्युनतम सेवाको अवस्था हेर्न बागमती प्रदेशका सबै जिल्ला अस्पतालमा भ्रमण गरेको अनुभव सुनाउँदै उनले रामेछाप जिल्ला अस्पतालको समेत प्रशंसा गरे । एक वर्षको बीचमा रामेछाप अस्पतालले समेत व्यापक सुधार गरेको र अब विस्तारै सरकारी अस्पतालहरू सेवा दिने सन्र्दभमा अब्बल ठहरिन थालेको उनले बताएका छन् ।

स्वास्थ्य निर्देशनालयका बरिष्ठ स्वास्थ्य प्रशासक डा. नरेन्द्रकुमार झाले नेपालमा सरकारी अस्पतालहरूले प्रदान गरिरहेको गुणस्तरिय सेवाले निजी अस्पताललाई पछाडी पार्न थालेको बताए । 

उनले काठमाडौंका नाम चलेका निजी अस्पतालहरूले समेत त्रिशुलीबाट सिक्नुपर्ने बताएका छन् । ‘ग्राण्डी, नर्भिक जस्ता अस्पतालहरूले अब हाम्रो सेवा र गुणस्तर हेरोस्’ झाले भने, ‘ति अस्पतालहरूलाई समेत त्रिशुलीमा आएर हेर्न र सिक्न अनुरोध गर्छु ।’

नुवाकोटका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालले त्रिशुली अस्पतालको व्यवस्थापन र सेवा प्रदानको अवस्था अब्वल रहेको बताएका छन् । सरकारी कार्यालय भइकन सेवा प्रदान गर्ने सन्र्दभमा अस्पतालले देखाउने तदारुकता र गतीले आफुलाई सधैं अचम्मित पार्ने गरेको उनले बताएका छन् । 

त्रिशुली अस्पतालका मेडिकल सुपरिटेण्डेण्ड डा. दिपेन्द्र पाण्डेले लगातार तेश्रो वर्षसम्म नेपालकै पहिलो नम्वरमा अस्पताल रहेको प्रति आफ्नो बढी जिम्मेवारी थपिएको बताए । अहिले अस्पतालले दिइरहेको सेवामा कमी आउला वा गुणस्तर खस्किएला भन्ने चिन्ता बढी रहेको उनले बताए । बिरामीलाई उपचारको सेवा दिने देखि प्रशासनिक काम समेत गर्नुपर्ने भएकोले अस्पतालका कर्मचारीहरूलाई देशकै पहिलो नम्वरको अस्पतालको गरिमा बचाउन र नागरिकहरूको बढ्दो आकांक्षा पुरा गर्ने थप चुनौती रहेको डा. पाण्डेले बताएका छन् ।  

अस्पताल व्यवस्थापन तथा विकास समितिका अध्यक्ष राजु पण्डितले विशेषज्ञ डाक्टरहरूलाई अस्पतालमा निरन्तर रुपमा राख्न नसक्नु मुख्य चुनौती रहेको बताएका छन् । सिमित आयआर्जन रहेको व्यवस्थापन समितिले एक सय प्रतिशतसम्म भत्ता दिएर विशेषज्ञहरू जिल्लामा टिकाइराख्न मुस्किल परेको उनले बताए । बिरामीलाई बेहोस बनाउने डक्टर जिल्ला अस्पतालबाट केही दिन अघि मात्रै गएकाले अप्रेसन गर्ने काम हिजोआज रोकिएकोले तत्कालै व्यवस्था गर्न र सेवा सुचारु गराउन उनले स्वास्थ्य विभाग र प्रदेश स्वास्थ्य निर्देशनालयको ध्यानाकर्षण गराएका छन् । 

त्रिशुली अस्पतालसंग ८५ प्रतिशत सन्तुष्ट

त्रिशुली । नुवाकोटको जिल्ला अस्पतालको त्रिशुलीले सेवाग्राहीहरूलाई सेवा प्रदान गरिरहेको आफ्नो पक्षको विषयमा तेस्रो पक्षबाट परिक्षण गरेको छ । सामाजिक परिक्षणबाट त्रिशुली अस्पतालका सेवाग्राही मध्ये ८५ प्रतिशत सन्तुष्ट रहेको प्रतिवेदन सार्वजनिक भएको छ । 

सामाजिक परिक्षणका क्रममा ८५ प्रतिशत सेवाग्राहीहरूले अस्पतालको सेवा गुणस्तरिय रहेको बताएका छन् । त्यस्तै १० प्रतिशतले मध्यमखाले सेवा पाएको प्रतिक्रिया दिएका छन् भने पाँच प्रतिशतले अस्पतालको सेवामा असन्तुष्टि जनाएको सामाजिक परिक्षणमा सम्लग्न अधिवक्ता गोकर्ण पुडासैनीले जानकारी दिए । 

त्रिशुली अस्पतालका मेडिकल सुपरिटेण्डेण्ड डा. दिपेन्द्र पाण्डेले अस्पतालको सेवा प्रवाह प्रति असन्तुष्टि जनाउने पाँच प्रतिशत सेवाग्राहीको संख्या पनि कम नरहेको उल्लेख गर्दै असन्तुष्टि जनाउनेहरूको संख्या शुन्यमा ल्याउने गरी काम गर्ने प्रतिबद्धता जनाएका छन् । डा. पाण्डे अस्पतालमा कार्यरत रहेदेखि दुई वर्षसम्म देशैभरीका सरकारी अस्पतालमाहरूमा त्रिशुली अस्पताल उत्कृष्ठ रहदै आएको छ । डा. पाण्डेले आफुहरूले गरिरहेको काम र सेवा प्रवाहको प्रतिक्रिया नागरिहरूबीच कस्तो रहेछ भन्ने जानकारी लिनका लागि सामाजिक परिक्षण गरेको बताएका छन् । ‘यो सामाजिक परिक्षण बाध्यकारी थिएन तर हामी सधै क्लिनिकल अडिट गर्छौ, बिरामीहरूको अवस्था के कस्तो छ मात्रै सोधिखोजी गर्छौ, तर कहिल्यै सामाजिक अडिट गर्दैनौं अनि समाजमा हाम्रो कामको सोधिखोजी गदैंनौं’ डा. पाण्डेले भने, ‘हाम्रो काम र सेवाको बिषयमा सामाजिक स्तरबाट प्रतिक्रिया लिऔं भनेर यो परिक्षण गरेका हौं ।’ उनका अनुसार सेवामा गुणस्तरिया ल्याउनका लागि स्वतन्त्र रुपमा तेस्रो पक्षबाट सामाजिक परिक्षण गरिएको हो ।

लगातार दुई वर्षदेखि न्युनतम सेवा प्रदानमा नेपाल भरीकै अस्पतालमा उत्कृष्ठ हुँदै आएको त्रिशुली अस्पताललाई तेस्रो वर्षपनि पहिलो स्थानमा टिकाइराख्नका लागि चुनौती रहेको प्रतिवेदन सार्वजनिक कार्यक्रममा सहभागिहरूले बताएका छन् । अस्पतालले मंगलवार अस्पतालमा एक कार्यक्रमको आयोजना गरी सेवाग्राही, जनप्रतिनिधि र सरोकारवालाहरू बीचमा सामाजिक परिक्षण प्रतिवेदन सार्वजनिक गरेको थियो । त्यस अवसरमा प्रतिवेदनमाथी टिप्पणी गर्दै विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठले नुवाकोट, रसुवा र धादिङका नागरिकहरूलाई न्युनतम गुणस्तरिय स्वास्थ्य सेवा दिने सन्र्दभमा त्रिशुली अस्पतालमा राम्रो रहेको बताए । उनले अस्पताललाई जनशक्ति र भौतिक पक्षबाट सहयोग गर्नका लागि स्थानीय सरकार तयार रहेको र त्रिशुली अस्पतालको विकास र क्षमता विस्तारका लागि सधै विदुर नगरपालिकाको प्राथमिकतामा पर्ने बताएका छन् । प्रमुख श्रेष्ठले अस्पताललाई आवश्यक पर्ने जग्गा नेपाल विद्युत् प्राधिकरणबाट भाडामा लिनका लागि आवश्यक प्रक्रिया विदुर नगरपालिकाबाट मिलाइदिने पनि बताएका छन् । 

अस्पताल विकास समितिका अध्यक्ष राजु पण्डितले अस्पतालमा पछिल्लो समय जनशक्तिको अभाव हुन थालेको बताउँदै त्यसैका कारण गुणस्तरमा कमी आउला की भन्नेमा चिन्ता व्यक्त गरे । विशेषज्ञ डाक्टरहरूलाई अस्पताल विकास समितिले एक सय प्रतिशतसम्म भत्ताको व्यवस्था गरेर काममा राखिरहेको र समितिको आम्दानीको श्रोत सिमित भएकोले दिर्घकालिन आर्थिक व्यवस्थापनकोपाटो चुनौती पुर्ण रहेको अध्यक्ष पण्डितले बताएका छन् ।  

विदुर नगरपालिका वडा नं. ९ का अध्यक्ष हरेराम भण्डारीले आफ्नो वडामा समेत पर्ने उत्तः अस्पतालका कारण विदुर नगरपालिकाले सान प्रस्तुत गर्न पाएको बताए । सबै खाले न्युनतम स्वास्थ्य सेवा जिल्ला अस्पतालबाटै उपलब्ध हुनु र केही जटिल अप्रेसन समेत जिल्ला अस्पतालमा हुनेले आफुलाई आनन्द आउने गरेको उनले सुनाए । वडाको तर्फबाट अस्पतालको विकासका लागि सबै पक्षबाट सहयोग हुने उनले प्रतिवद्धता व्यक्त गरेका छन् । 

प्रतिवेदन सार्वजनिक कार्यक्रममा नेपाल पत्रकार महासंघ नुवाकोटका अध्यक्ष कपिलदेव खनालले त्रिशुली अस्पतालले अझै गुणस्तरिय सेवा दिनुपर्ने तर्फ सचेत गराएका छन् । अस्पतालमा सेवा लिन आएका बिरामीहरूको संख्याकै आधारमा मात्रै खुसी नभई सेवालाई थप विस्तार र गुणस्तरिय बनाउनु पर्ने बेला भइसकेको उनले बताए । सरकारले लागू गरेको स्वास्थ्य बीमा कार्यक्रमका कारण बीमाबाट खर्च गर्ने गरी त्रिशुली अस्पतालमा बिरामीहरू आउने कारणले अधिक चाप देखिएको र नागरिकहरूले अस्पतालको सेवा खस्कन थालेको टिप्पणी गर्न थालेकोले त्यस तर्फ सेचेत बन्न अध्यक्ष खनालले आग्रह गरेका छन् । 

नुवाकोटका ४० वटा क्रसरमा ताला

विदुर । जिल्ला प्रशासन कार्यालय नुवाकोटले नुवाकोटका ४० वटा क्रस उद्योगहरूमा ताला लगाएको छ । 

गएको सोमवारदेखि सहायक प्रमुख जिल्ला अधिकारी बेदप्रसाद अर्यालले अनुगमन गरी सबै उद्योगहरू बन्द गराए । 

गएको सोमवार जिल्लाका चार वटा र मंगलवार १५ वटा र बिहीवार २१ वटा क्रसर उद्योगमा ताला लगाई आवश्यक कारबाही अगाडी बढाएको सहायक प्रमुख जिल्ला अधिकारी अर्यालले जानकारी दिएका छन् । कानूनविपरीत सञ्चालनमा रहेका क्रसरहरूमा बेलकोटगढी नगरपालिकाको २७ वटा, विदुर नगरपालिकाको सात वटा, लिखु गाउँपालिकाको तीन, पञ्चकन्या, तारकेश्वर र तादी गाउँपालिकाका एक÷एक वटा छ । 

स्थलगत रुपमा निरीक्षण गरी मापदण्ड विपरित सञ्चालन भएको नपाइएपछि प्रचलित कानून बमोजिम मुचुल्का गरी तत्काल बन्द गराएको अर्यालले बताए । बन्द गराइएको बेलकोटगढी नगरपालिकाका क्रसर तथा बालुवा प्रशोधन उद्योग र खानीहरूमा वडा नंं. ५ को सिद्धिविनायक वालुवा प्रशोधन उद्योग, पञ्चकन्या वालुवा प्रशोधन उद्योग, क्वालिटी वालुवा प्रशोधन उद्योग, त्रिशुली स्याण्ड वासिङ वालुवा प्रशोधन उद्योग, रिव्सु वालुवा प्रशोधन उद्योग, हाम्रो वालुवा प्रशोधन उद्योग, ओम क्यौरेनी स्याण्ड वास उद्योग, चतुर्भ‘ज वालुवा प्रशोधन उद्योग छन् । 

बेलकोटगढी नगरपालिका वडा नं. ७ को विशाल रोडा ढुंगा उद्योग प्रालि, हिमाल एग्रिगेट प्रालि, श्री एग्रिगेट प्रालि, कल्चेडी स्याण्ड वासिङ उद्योग, रातमाटे बालुवा प्रशोधन उद्योग, मामा भाञ्जा बालुवा प्रशोधन उद्योग, कुमारी माई बालुवा प्रशोधन उद्योग, अक्षभ्य बालुवा प्रशोधन उद्योग, शुभ शिलादेवी बालुवा प्रशोधन प्रालि, तेजश्वी बालुवा प्रशोधन उद्योग र प्रकाश बालुवा प्रशोधन उद्योग छन् । 

बेलकोटगढी नगरपालिकाकै वडा नं. ८ को त्रिशुली एग्रिगेट एण्ड स्याण्ड प्रालि, त्रिबेणी बालुवा प्रशोधन उद्योग र नाम पत्ता नलागेको अर्को एउटा सिल भएको छ । वडा नं. १० को निरञ्जना रोडा ढुंगा उद्योग पनि बन्द गराएको छ । बेलकोटगढी नगरपालिका वडा नं. १२ मा राजेश फुँयालले दर्ता समेत नगरी सञ्चालन गर्दै आएको एउटा उद्योगमा पनि ताला लागेको छ । 

बेलकोटगढी नगरपालिका भित्र सञ्चालनमा रहेका तर दर्ता समेत नभएको अन्य तीन वटा उद्योगहरू पनि कारबाहीमा परेका छन् । जसमा त्रिशुली बालुवा प्रशोधन उद्योग प्रालि, ध्रुबतारा प्रशोधन कम्पनी प्रालि र त्रिमुर्ती बालुवा प्रशोधन छन् ।  

विदुर नगरपालिकाको वडा नं. ३ को  पवित्रा बालुवा प्रशोधन उद्योग, आर्दश बालुवा प्रशोधन उद्योग, रोमान्स बालुवा प्रशोधन उद्योग, दोभान बालुवा प्रशोधन उद्योग र ज्वाला बालुवा प्रशोधन उद्योग बन्द गरिएकोछ । 

विदुरकै वडा नं. ५ मा रहेको बर्ड स्टोन क्रसर उद्योग प्रालि र बाघभैरुम बालुवा प्रशोधन उद्योगमा पनि जिल्ला प्रशासन कार्यालयले ताला लगाएको छ । 

सहायक प्रजिअ अर्यालले लिखु गाउँपालिका–१ स्थित सुर्यकुण्ड रोडा ढुंगा उद्योग प्रालि, लिखु गाउँपालिका वडा नं. ४ स्थित क्षेत्रपाल क्रसर प्रालि र नुवाकोट क्रसर उद्योग प्रालि पनि बन्द भएको छ । तादी गाउँपालिका–३ स्थित दुप्चेश्वर क्रसर उद्योग र पञ्चकन्या गाउँपालिका–२ नेसनल लाईन एण्ड स्टोन प्रालिमा ताला लगाएको थियो । तारकेश्वर गाउँपालिका वडा नं. ४ मा रहेको बनदेवी ढुंगा बालुवा प्रशोधन पनि सील भएको छ । लिखु गाउँपालिका वडा नं. ४ को मृत सञ्जिवनी क्रसर र पञ्चकन्या गाउँपालिका–२ मा रहेको नाट्यश्वरी रोडा ढुंगा उद्योग प्रालिलाई सचेत गराएको छ । अनुगमन टोलीले ताला लगाएका क्रसरहरूलाई सात दिनभित्र आधिकारिक पत्रसहित विवरण खुलाई पेश गर्न निर्देशनसमेत दिएको छ । 

धादिङका सबै क्रसर उद्योग बन्द

धादिङ । जिल्ला प्रशासन कार्यालय धादिङले मापदण्डविपरीत सञ्चालन भइरहेका क्रसर उद्योग र बालुवा खानी सञ्चालनमा पूर्ण रूपमा रोक लगाउने निर्णय धादिङ जिल्लामा प्रभावकारी रुपमा कार्यान्वय भएको छ । जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार जिल्लाका सबै उद्योगहरू बन्द गरिएको छ ।  

गृह मन्त्रालयले देशभर अवैध रूपमा सञ्चालनमा रहेका क्रसर उद्योग बन्द गर्न र दर्ता प्रक्रिया पूरा गरे नगरेको छानबिन गर्न निर्देशन दिएसँगै धादिङमा सञ्चालनमा रहेका १७१ वटा क्रसर, बालुवा धुने फिरफिरेलगायतका खानी आइतबारबाट बन्द गराइएको हो ।

२०७४ सालबाट स्थानीय तहको संरचना कार्यान्वयनमा आएपछि धादिङमा मापदण्डविपरीत अवैध उत्खनन निकै बढेर गएको थियो । 

गृह मन्त्रालयले प्राकृतिक स्रोतको उत्खनन र अवैध रूपमा निकासी पैठारी भएको भन्दै तत्काल बन्द गर्न निर्देशन गरेपछि जिल्ला प्रशासन कार्यालय धादिङले ढुङ्गा, गिट्टी र बालुवाका सबै उद्योग र खानीहरू बन्द गर्न निर्देशन दिएको धादिङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले जानकारी दिएका छन् । 

जिल्लामा सञ्चालन हुँदै आएका यस्ता उद्योग र खानीले मापदण्ड पूरा गरे नगरेको साथै दर्तासमेत भए नभएको छानबिन गर्न निर्देशन दिइसकेको प्रमुख जिल्ला अधिकारी लम्सालले बताए । केही समयदेखि क्रसर उद्योग दर्ता नगरी बालुवा प्रशोधनका नाममा दर्ता भएका उद्योगले ढुङ्गा, गिट्टीका सबै काम गर्न थालेपछि झनै समस्या उत्पन्न भएको थियो । प्राकृतिक स्रोतको निकासी पैठारीमा समेत कर छली गर्ने गरेको र जथाभाबी उत्खनन् गर्दा वातावरणमा प्रतिकूल प्रभाव पर्न थालेपछि गृह मन्त्रालयले यस्तो अभियान सुरु गरेको जनाइएको छ । क्रसर र खानीजन्य उद्योग सञ्चालन गर्न भूगर्भ विभागबाट स्वीकृति लिई स्थानीय तहबाट दर्ता गराएर मात्र सञ्चालन गर्न‘पर्छ । उद्योग सञ्चालन गर्दा कम्तीमा २० रोपनी जग्गा हुनुपर्ने कानुनी व्यवस्था छ तर ती कुनै पनि कानुनी व्यवस्था पूरा नगरी जिल्लामा अवैध रूपमा क्रसरहरू सञ्चालन हुँदै आएको बताइएको छ ।

अर्कोतर्फ क्रसर उद्योग सञ्चालन मापदण्डअनुसार खोलाको किनार, पुलपुलेसा, सार्वजनिक महत्वका स्थान, हाइटेन्सन लाइनलगायत राजमार्गबाट पाँच सय मिटरवरपर यस्ता उद्योग स्थापना गर्न पाइनेछैन । त्यसैगरी शिक्षण संस्था, सुरक्षा निकायलगायतका क्षेत्रबाट दुई किलोमिटरबाहिर मात्रै क्रसर उद्योग सञ्चालन गर्न पाइन्छ । मुलुक सङ्घीय संरचनामा गएसँगै प्राकृतिक स्रोतको उत्खनन र व्यवस्थापन जिम्मा प्रदेश र स्थानीय तहलाई दिएपछि झनै समस्या भएको गुनासो छ ।

नुवाकोटको गोरु जुधाइ मनोरञ्जनदेखि इतिहाससम्म

नुवाकोटको बेत्रावतीमा आइतवार गोरु जुधाईदै । बेत्रावतीमा नौं हल गोरु जुधेको छ । तस्बिर : इमेज

विदुर । माघे संक्रान्ति पर्वका अवसरमा नुवाकोटसहित आसपासका जिल्लामा गोरु जुधाइएको छ । नुवाकोटको तारकेश्वर गाउँपालिका–३ तारुका चन्दनीमा २८ हल, विदुर नगरपालिका वडा नंं १० बेत्रावतीमा नौ हल गोरु जुधाइएको हो । 

स्थानीय सरकार (गाँउपालिका)को सहयोगमा स्थानीय क्लब तथा समूहमार्फत जिल्लाको पञ्चकन्या गाउँपालिका–३ पिपलडाँडा, लिखु गाउँपालिका–३ कट्टीछाप लगायतका स्थानमा गोरु जुधाई प्रतिस्पर्धा आयोजना गरिएको थियो । नुवाकोटसहित यहाँसँग जोडिएका बस्ती धादिङको नीलकण्ठ नगरपालिका–५ खाल्टेको फ्याक्सेमा सात हल र नीलकण्ठ नपा–१४ धुवाँकोटस्थित भङ्गेरीमा १७ हल गोरु जुधाइएको छ । केही स्थानमा जुधाउने गोरुको यसअघि नै दर्ता गरेर ‘वान भर्सेज वान’ अनुसार जुधाइन्छ ।

नेपालको गोरु जुधाइलाई स्पेनको ‘बुल फाइट’सँग तुलना गरेर प्रत्यक्ष अवलोकन गर्न आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन यो मेला निकै प्रभावकारी बन्दै आएको जनाउँदै स्थानीय सरकारसहित संघ र प्रदेश सरकार, पर्यटन प्रवद्र्धनको क्षेत्रमा क्रियाशील संघसंस्थाको प्रथामिकतामा परेको तारेकश्वर गाउँपालिकाको अध्यक्ष शिव अधिकारीले बताएका छन् । 

तारुका दुई दिन जुधाइने–माघे संक्रान्ति पर्वका अवसरमा तारुकामा आयोजित गोरु जुधाइ ‘माघे संक्रान्ति गोरु जुधाइ महोत्सव’ व्यवस्थापन समितिमार्फत गर्न लागेको समितिका अध्यक्ष मदन श्रेष्ठले जानकारी दिए र उनका अनुसार यो वर्ष विभिन्न सांस्कृतिक कार्यक्रमसहित गोरु जुधाइलाई महोत्सवका रूपमा आइतवार र आज सोमवार दुई दिन राखिएको छ । ‘अघिल्ला वर्ष मेलाका रूपमा मनाइने गरिएको भए पनि यो वर्ष महोत्सवका रूपमा दुई दिन मनाउन लागिएको छ’, उनले भने, ‘गोरुलाई समय निर्धारण नगरी जुधेसम्म जुधाइने छ भने राष्ट्रिय तथा स्थानीय कलाकारमार्फत लोकदोहोरीलगायतका अन्य मनोरञ्जनका गतिविधिसमेत समावेश गराइएको छ ।’

तारुकाको गोरु जुधाइलाई नेपालकै उद्गम थलोका रूपमा लिइन्छ । तत्कालीन बझाङ्गी राजा विक्रमबहादुर सिंहको छोरा जयपृथ्वीबहादुर सिंह नुवाकोटको तारुकास्थित मामाघरमा आएको समयमा विसंं १८८७ मा पहिलोपटक गोरु जुधाएर रमाइलो देखाइएको थियो भन्ने यहाँका बूढापाकाको भनाइमा गोरु जुधाइलाई निरन्तरता दिइएको गाउँपालिका अध्यक्ष शिव अधिकारीले जानकारी दिए । गोरु जुधाइलाई अहिले धेरै स्थानमा अनुशरण गरिएको र आधुनिकता दिए पनि तारुकाको गोरु जुधाइमा मौलिकपन कायम राखेर परम्पराको निरन्तरता र माघे संक्रान्ति पर्वको महत्वको गरिमालाई कायम राखेर सञ्चालन गरिँदै आएको गाउँपालिका अध्यक्ष अधिकारीको भनाइ छ ।

बेत्रावतीमा नेपाल–भोट सन्धिमा प्राप्त उपलब्धिमा सुरु– बेत्रावतीको गोरु जुधाइको इतिहास भने फरक रहेको यहाँ गोरु जुधाउँदै आएको आयोजक गोसाइँकुण्ड युवा क्लबका अध्यक्ष सुवास डङ्गोल ‘दिपु’ले बताए । नेपाल र भोटबीच भएको युद्धअन्तर्गत विसं १८४९ मा वेत्रगङ्गा (फलाखु) नदी किनारमा भएको व्यापारिक सन्धिपछि नेपाली पक्षको जितको उत्सवमा गोरु जुधाइ सुरु भएको उनको भनाइ छ । ‘नेपाल–भोट युद्धमा नेपालले के पायो भनेर प्रश्न पनि उठ्छ । तर यहीँ (बेत्रावती)मा भएको सन्धिमा नेपाल–तिब्ब्त मैत्रीपूर्ण सम्बन्ध रहने, उपहार साटासाट गर्ने, नेपालीलाई बाह्य शक्तिले आक्रमण गर्दा चीनले सघाउने, नेपालले लुटेको सम्पत्ति फिर्ता दिने, दुई पक्षबीचको विवादमा चिनियाँ आवासीय मन्त्रीसमक्ष पेस गर्नेलगायत सहमति भएको पाइन्छ’, अध्यक्ष डङ्गोलले, ‘नेपाल आक्रमण गर्न यही (बेत्रावती)सम्म आएको चिनियाँ सैनिक फौज फर्केर गएपछि नेपालको सीमा रसुवागढीसम्म कायम भयो । यसलाई यहाँ नेपालको जितको उत्सवमा गोरु जुधाएर विजयीको गाथा गाइएको हो ।’

नुवाकोट रसुवावासीको संयुक्त पहलमा बेत्रावतीमा विसं २०६७ देखि गोसाइँकुण्ड युवा क्लबको पहलमा व्यवस्थितरूपमा गोरु जुधाउन थालिएको क्लबका पूर्वअध्यक्ष सुरज लवटले जानकारी दिए । 

पञ्चकन्यामा घले राजाको मनोरञ्जन तथा विजयोत्सवमा–नुवाकोटको तारुका, बेत्रावतीभन्दा पञ्चकन्यामा गोरु जुधाइने परम्पराको इतिहास फरक छ । यहाँ घले र तामाङ समुदायको बासोबास रहेको स्थानमा गोरु जुधाइको इतिहास घले राजालाई मनोरञ्जन दिनदेखि तत्कालीन घले राज्यमा विजयोत्सव मनाइएको जोडिन्छ । पञ्चकन्या गाउँपालिकामा जुधाइने गोरु 

बाइसे÷चौबीसे राज्य सञ्चालनको समयमा घले राजाहरूले मनोरञ्जन लिन गोरुलगायतका पशु÷चौपाय जुधाउने गरेको इतिहासलाई निरन्तरता दिइएको गाउँपालिका अध्यक्ष तेजबहादुर तामाङ (रमेश)ले जानकारी दिए । यहाँ विसं २०७२ देखि संस्थागतरूपमा गोरु जुधाउन थालिएको हो ।

गोरुधनी किसानको उल्लेख्य सहभागिता–यहाँ जुधाइने गोरुलाई ‘वान भर्सेज वान’का आधारमा नछुट्टिएसम्म जुधाइने गरिएको छ भने विजेता गोरुको धनीलाई नगदसहित प्रशंसापत्रले सम्मान गर्ने गरिएको छ । प्रतिस्पर्धामा गोरु सहभागी गराउन गोरुधनी किसान उत्साहित हुने गरेका छन् भने उनीहरूलाई आकर्षण गर्न आयोजकले जुधाइने गोरुको बीमा, उत्कृष्ट तथा आकर्षण जुधाइलाई थप प्रोत्साहनको समेत व्यवस्था मिलाएको जनाएको छ । 

‘खेती गर्नसमेत गोरु पाल्न छाडेका किसानले मकर संक्रान्तिमा प्रतिस्पर्धा गराउनलाई भनेर व्यावसायिकरूपमा गोरु पालेर जुधाउन ल्याउने गरेका छन् । तारकेश्वर–३ नुवाकोटका वडाध्यक्ष सूर्यमान श्रेष्ठले भने, ‘उत्कृष्ट गोरुको धनी बन्न किसानले पौष्टिकयुक्त दाना, कुखुराको अण्डा, चना खुवाएर हामी कहाँ हिमालजस्तो जुरो बनाएर गोरुहरू पाल्ने गरेका छन् ।’

गोरु जुधाइ भिडन्तलाई धार्मिक एवं सांस्कृतिक प्रतिस्पर्धा मात्र नभई पछिल्लो समय खेल पर्यटनको प्रवद्र्धनमा समेत टेवा पुग्दै आएको छ । गोरु जुधाइलाई आन्तरिक तथा बाह्य पर्यटन भित्र्याउन सम्बन्धित पालिकामार्फत आर्थिक सहयोग पुगेको छ भने नेपाल पर्यटन बोर्डले समेत प्रवद्र्धन गर्दै आइरहेको छ ।

मकर संक्रान्ति पर्वका अवसरमा नुवाकोटको विभिन्न स्थानमा जस्तै नुवाकोटसँग सीमा जोडिएको धादिङको खाल्टे, भङ्गेरीलगायतमा स्थानमा गोरु जुधाइ प्रतिस्पर्धासहित कृषि प्रदर्शनीलगायतका माध्यमबाट परम्परालाई निरन्तरता दिइएको छ ।

नुवाकोटको घटनाबारे बुझिरहेका छौं : राजदूत


काठमाडौं । नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्प्सनले अमेरिकी सहयोग परियोजना (एमसिसी) अन्तर्गत नुवाकोटमा निर्माणाधीन सबस्टेशन र सडक विस्तारमा हालै भएका घटनाबारे बुझिरहेको बताएका छन् । साथै उनले दाङमा भएको घटनाको समेत अध्ययन भइरहेको बताएका छन् । बुधबार संवाददाताहरूसँग कुरा गर्दै राजदूत थम्प्सनले एमसिसी परियोजनाहरू सम्झौताअनुसार अघि बढिरहेको भए पनि अनावश्यक हल्ला र चर्चा भएको बताए ।

‘हालै नुवाकोटको रातमाटेमा निर्माण गर्न लागिएको सबस्टेशनबारे स्थानीयले विरोध गरेको र दाङमा एमसिसीअन्तर्गत बन्न लागेको सडकमा स्थानीय प्रशासनको जानकारीबिनै सयौं रूख काटिएको भन्ने खबरहरू आएका छन् । ती घटनाबारे बुझ्न तत्कालै सम्बन्धित ठाउँमा एमसिए नेपालका अधिकारीहरू पुगेर सत्यतथ्य बुझिरहनु भएको छ ।’ उनले भने । 

यसै बीच, केही दिनअघि पूर्व–पश्चिम राजमार्गअन्तर्गत दाङको देउखुरी क्षेत्रमा रूख काटिएको थियो । 

एमसिसीअन्तर्गत बनिरहेको सडकमा पूर्वजानकारीबिना रूख काटिएको भन्दै जिल्ला प्रशासन कार्यालयले चासो राखेपछि रूख काट्न रोकिएको छ । एमसिसीबारे अहिले पनि अफवाह र गलत सूचनाहरू प्रवाह भइरहेको राजदूत थम्प्सनले बताए ।

‘एमसिसीका परियोजनामा काम गर्न आउने अमेरिकीहरूको सुरक्षाका लागि अमेरिकी सेना आउँछजस्तो भ्रामक सूचना पनि मानिसहरूलाई पु¥याइएको रहेछ,’ राजदूत थम्प्सनले भने,‘म स्पष्ट पार्न चाहन्छु, जसरी नेपालस्थित हाम्रा दूतावासका कर्मचारीको सुरक्षा नेपाल सरकारले गरिरहेको छ त्यसरी नै अरू अमेरिकी नागरिकको सुरक्षा नेपाल सरकारले नै गर्छ ।’

नेपालले अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी) मा सहभागी नहुने भनी गरेको निर्णयलाई सम्मान गर्दै रक्षा क्षेत्रमा भावी दिनमा नेपाल–अमेरिकाबीच सहकार्य जारी रहने उनले बताए । ‘विपद्का बेला उद्धार तथा राहतको काम गर्न र शान्ति सेनामा नेपाली सैनिकको क्षमता बढाउन उक्त कार्यक्रम गर्न खोजिएको थियो,’ राजदूत थम्प्सनले भने, ‘नेपालले उक्त कार्यक्रममा सहभागी नहुने निर्णय गरेको छ । नेपालको यो निर्णयको हामी सम्मान गर्छौं। रक्षा क्षेत्रमा हाम्रो अन्य सहकार्य भने रहिरहन्छ ।’ नेपालसँगको सम्बन्धलाई अमेरिकाले द्वीपक्षीय सम्बन्धका रूपमा महत्व दिएको उल्लेख गर्दै उनले भारतको आँखाबाट नेपाललाई नहेर्ने बताए ।

विज्ञान माविको बार्षिकोत्सव


नर्जामण्डप । तादी गाउँपालिका वडा नंं. ५ नर्जामण्डपमा रहेको विज्ञान माध्यमिक विद्यालयले बुधवार ४१ औं बार्षिकोत्सव मनाएको छ । २०३८ सालमा माध्यमिक तहको पढाई सुरु गरेको यस विद्यायलको स्थापना भने २०१४ सालमा भएको हो । ५० को दशकसम्म आयुर्वेद, ज्योतिष, संस्कृत आचार्य लगायतका विषयमा समेत पढाई हुने यस विद्यालयले २०४८ सालसम्म दिवा र रात्री विद्यालयको रुपमा पठनपाठन गराएको थियो । दिउँसोको कक्षामा सहभागि हुननसक्ने (त्यसबेलाका किसान)का लागि विज्ञान माविले राती पढाउने गरेको थियो । 

बुधवार भएको बार्षिकोत्सव कार्यक्रममा बोल्दै नुवाकोट क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य एवं नेकपा माओवादी केन्द्रका पोलिटव्युरो सदस्य हितबहादुर तामाङले नर्जामण्डप र विज्ञान माविको इतिहास बेग्लै रहेको बताएका छन् । विकासको पुर्वाधारको पनि पुर्वाधार शिक्षा रहेको उल्लेख गर्दै २०१४ सालदेखि नर्जामण्डपमा सुरु भएको पठनपाठनले नुवाकोटको पुर्वी भेगका नागरिकहरूको चेतना विकासमा पहिलो भुमिका खेलेको तामाङले बताए ।  

विद्यालयको बार्षिक साधारण सभामा प्रदेश सांसद तथा बागमती प्रदेशका पुर्व उपसभामुख राधिका तामाङ, प्रदेश सांसद रमेशकुमार महत, तादी गाउँपालिकाका अध्यक्ष सन्तमान तामाङ, विद्यालयका संस्थापक प्रधानाध्यापक जनार्दन भण्डारी, माओवादी केन्द्रका नेता किरणकुमार रिजाल लगायतले शुभकामना मन्तब्य व्यक्त गरेका थिए । 

कार्यक्रममा विद्यालयका पुर्व शिक्षक तथा कर्मचारीहरूलाई सम्मानपत्र, विभिन्न कक्षाका उत्कृष्ठ विद्यार्र्थीहरूलाई पुरस्कार, जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नारायणप्रसाद भण्डारीले जानकारी दिएका छन् । कार्यक्रममा माओवादी केन्द्रका नेता किरणकुमार रिजालले विद्यालयमा अध्ययनरत ३२५ जना विद्यार्थीलाई बेल्ट र टाइ हस्तान्तरण गरेका छन् । 

विनायक माविको ६६ औं बार्षिकोत्सव


फलाँटे । सुर्यगढी गाउँपालिका वडा नं. ३ फलाँटेमा रहेको विनायक माध्यमिक विद्यालयले बिहीवार आफ्नो स्थापनाको ६६ औं बार्षिकोत्सव मनाएको छ । बार्षिकोत्सवमा सामुदायिक विद्यालयहरूमा घट्दो विद्यार्थी संख्याको विषयमा चिन्ता व्यक्त गरिएको छ ।

कार्यक्रममा प्रमुख अतिथिको तर्फबाट मन्तब्य राख्दै प्रदेश सभाका सांसद एवं नेपाली काँग्रेस नुवाकोटका सभापति रमेशकुमार महतले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार अहिलको मुख्य चुनौती रहेको बताएका छन् । विशेष गरी ग्रामिणस्तरमा रहेको सामुदायिक विद्यालयहरूमा शैक्षिक गुणस्तर खस्कदो रहेको र त्यसैका कारण विद्यार्थीहरू निजी विद्यालय तर्फ आकर्षित भएको उनले बताए । सामुदायिक विद्यालयहरूको गुणस्तर सुधारका लागि अभिभावकहरूको भुमिका नै प्रधान हुने उनको भनाई रहेको छ । 

कार्यक्रममा सुर्यगढी गाउँपालिकाका अध्यक्ष सन्तबहादुर घले तामाङ, गाउँपालिकाका उपाध्यक्ष मञ्जु बुढाथोकी लगायतले शुभकामना मन्तब्य व्यक्त गरे । कक्षा १२ सम्म सञ्चालन भएको विनाय माविमा हाल २५१ विद्यार्थी अध्ययन गरिरहेको प्रधानाध्यापक ऋषिप्रसाद नेपालले जानकारी दिएका छन् । 

कार्यक्रममा नेकपा माओवादी केन्द्रका बागमती प्रदेश सदस्य जानुका धमलाले एक लाख रुपैयाँको अक्षेय कोष स्थापना गर्ने घोषणा गरेका छन् । उनले जनयुद्धको समयमा सहिद भएका आफ्नो श्रीमान् र नन्दको स्मरणमा विद्यालयमा अक्षय कोष स्थापनाको घोषणा गरेका हन् । 

‘उषा–आनन्द थापा फाण्डेसन’ स्थापना गरिएको र सोही फाउण्डेसनबाट विद्यालयमा स्थापना हुने अक्षय कोषमा रकम हस्तान्तरण गरिने उनले कार्यक्रममा घोषणा गरे ।   

विदुर कल्याणकारी सहकारीको रजत जयन्ती


विदुर । २०५३ सालमा विदुरमा स्थापना भएको विदुर कल्याणकारी बहुमुखी सहकारी संथा लिमिटेडले शनिवार रजत जयन्ती मनाएको छ । सहकारीको २५ औं बार्षिक साधारण सभा तथा रजतजयन्तीको अवसरमा सहकारीले संस्थापक अध्यक्ष पुर्णलाल श्रेष्ठलाई सम्मान गरेको छ । 

कार्यक्रमका प्रमुख अतिथि विदुर नगरपालिकाको मेयर राजन श्रेष्ठले सहकारीको तर्फबाट उत्कृष्ठ बचतकर्ता सुमन श्रेष्ठ र सहकारीका उत्कृष्ठ कर्मचारी अनिता सिलवाललाई समेत सम्मान गरे । कार्यक्रममा बोल्दै मेयर श्रेष्ठले सहकारीहरूको विकास र नागरवासीले सहकारीमा राखेको पैसाको सुरक्षा गर्ने जिम्मा आफ्नो भएको बताएका छन् । आर्थिक संकटमा गुज्रिरहेका सहकारीहरूलाई टेवा दिनुका साथै आवश्यक अनुगमन र रेखदेखाका लागि नगरपालिकाले विशेष भुमिका खेल्ने उनले बताएका हुन् । 

जिल्ला सहकारी संघ लिमिटेड नुवाकोटका अध्यक्ष गोकर्णनाथ न्यौपानेले सहकारीहरूले आफ्नो पहिचान र विशेषतामा केन्द्रीत रहनुपर्ने बेला भएको बताएका छन् । विभिन्न उद्देश्यका साथ सहकारीहरू स्थापना हुने गरेपनि काम उही प्रकृतिको गर्ने गरेको उल्लेख गर्दै हरेक सहकारीले मौलिकता खोज्ने बेला भएको बताएका छन् । प्रारम्भिक सहकारीहरू हरेको क्षमता विकास र प्रविधिसंग सहकारीलाई जोड्दै बढी भन्दा बढी सेवा आफ्ना शेयर सदस्यसम्म पु¥याउन प्रत्येक सहकारीलाई सक्षम बनाउने जिल्ला सहकारी संघको योजना रहेको न्यौपानेले बताएका छन् ।

होटल तथा पर्यटन ब्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष सन्तोष उप्रेतीले २५ वर्ष अघि विदुरको समग्र विकास र आर्थिक योगदानका लागि स्थापना भएको उक्त सहकारीले त्यस क्षेत्रको आर्थिक नेर्ततव गर्ने बेला अब भएको बताएका छन् । विदुरको रैथानेहरू शेयर सदस्य रहेको विदुर कल्याणकारी सहकारीलाई अब सामाजिक गतिविधिको नेतृत्व गर्ने थलोको रुपमा समेत विकास गर्नुपर्ने उपाध्यक्ष उप्रेतीको भनाई रहेको छ । 

नेपाल पत्रकार महसंघ नुवाकोटका अध्यक्ष कपिलदेव खनालले उक्त सहकारीले विदुर नगरपालिका भित्रको पनि विदुरकै प्रतिनिधित्व गर्ने गरी आफुलाई प्रस्तुत गर्नेपर्ने बताएका छन् । आसपासका अन्य सहकारीलाई गाभेर विदुरमा सोही सहकारीको नेतृत्वमा एकीकृत सेवा दिनुपर्ने सुझाव छ । 

सहकारीको २५ औं बार्षिक साधारण सभामा सहकारीका पुर्व अध्यक्ष पुर्णलाल श्रेष्ठ, नुवाकोट उद्योग बाणिज्य संघका द्धितिय उपाध्यक्ष राजेन्द्र श्रेष्ठ, विदुर–४ का पुर्व वडा सदस्य बसन्त रिजाल, आइएमई इन्स्योरेन्सका नुवाकोट प्रमुख सीताराम पौडेल लगायतले शुभकामना मन्तब्य ब्यक्त गरे । साधारण सभामा सहकारीका अध्यक्ष अमित गजुरेलको बार्षिक प्रतिवेदन, कोषाध्यक्ष बसन्त रिजालको आर्थिक प्रतिवेदन र लेखा तथा सुपरिवेक्षण समितिका संयोजक टेकबहादुर अधिकारीको प्रतिवेदन प्रस्तुत भएको छ । 


अवैध काठसहित पाँच जना पक्राउ


विदुर । जिल्लामा अवैध काठसहित पाँच जना पक्राउ परेका छन् । सूर्यगढी गाउँपालिका–३ बिसमुरेमा काठ काटिरहेको अवस्थामा दुई जना र शिवपुरी गाउँपालिका–८ मा तीन जना पक्राउ परेको डिभिजन वन कार्यालय नुवाकोटका प्रमुख दीर्घनारायण कोइरालाले बताए । उनका अनुसार सूर्यगढी गाउँपालिका–३ बिसमुरेमा २१० गोलिया र फलाँटेको एक फर्निचरबाट चिरान गरेको १०६ थान सालको काठसमेत बरामद गरिएको छ । 

शिवपुरी गाउँपालिका–८ मा बा ४ ख १००३ नम्बरको आइचर गाडीसहित २६ थान गोलिया सालको काठ बरामद गरिएको वन कार्यालयले जनाएको छ । ककनी गाउँपालिका ८ मा अवैधरुपमा लुकाइछिपाई राखेको एक ट्रिप सालको गोलिया काठसमेत बरामद भएको छ । पक्राउ परेकाहरूलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ ।

बरामद काठ र पक्राउ परेकामाथि अनुसन्धान भइरहेको वन कार्यालय नुवाकोटका प्रमुख कोइरालाले बताए ।

भद्रुटारमा स्वावलम्बन कृषि सहकारी


पञ्चकन्या । नुवाकोटको पञ्चकन्या गाउँपालिका वडा नं. ५ भद्रुटारमा गठन भएको भद्रुटार स्वावलम्बन कृषि सहकारी संस्था लिमिटेडको पहिलो अधिवेशन सम्पन्न भएको छ । १७ सदस्यीय सञ्चालक समिति र ३ सदस्यीय लेखा समिति चयन भएको छ । 

वडा नं. ५ का अध्यक्ष माधब सिटौलाको प्रमुख आथित्यता भएको कार्यक्रममा उक्त वडाको १५ वटा स्वावलम्बन समुहका १२० जनाको उपस्थिति रहेको थियो । जसमा स्थानीय सहकारी संस्थाका प्रतिनिधिहरू, स्थानीय बिद्यालयका प्रधानाध्यापकहरूले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमका प्रमुख अतिथि वडा अध्यक्ष सिटौलाले साच्चै गरिवी मुक्तिका लागि सहकारी   अभियानका भन्ने मुल नाराका साथ सहकारी संस्था अगाडी बढाउन शुभकामना दिँदै भर्खर उम्रेको सहकारीको बिरुवा हुर्काउन सबै लाग्नुपर्ने र त्यसको लागि वडाको तर्फबाट हरेक कुरामा सहयोग रहने बताएका छन् । ग्रामीण स्वावलबन बिकास केन्द्रका तर्फबाट ‘फिल्ड कोअर्डिनेटर’ साधुराम सापकोटाले संस्थाबाट सहकारी निर्माणमा सहजीकरण गरिएको स्मरण गराउदै सहकारीलाई सहकारीको मर्म अनुसार सञ्चालन गर्नको लागि आग्रह गरे । कार्यक्रमका सभापति तथा उक्त सहकारी संस्थाका संस्थापक अध्यक्ष गोकर्ण गिरीले सहयोगी  संस्थालाई धन्यवाद दिदै भद्रुटारमा समुह हुँदै बनेको सहकारीका कारण कृषकहरूमा नविन जागरण आएको बताए । 

यसै बीच, उक्त भद्रुटार स्वावलम्बन कृषि सहकारी संस्था लिमिटेडको पहिलो अधिवेशनले गोकर्ण पौडेलको अध्यक्षतामा सञ्चालक समिति गठन गरेको छ । जसको उपाध्यक्षमा समिर सुबेदी, सचिवमा हरि मगर, सह सचिवमा कल्पना खनाल, कोषाध्यक्षमा लक्ष्मी पाण्डे छन् । 

यस्तै सञ्चालक समिति सदस्यहरूमा शान्ति श्रेष्ठ, रुपा थपलिया, सिता गिरी, हरि थपलिया, विमला तामाङ, सुमित्रा गिरी, ईन्दिराकुमारी कँडेल, गणेश गिरी, अञ्जु मगर, रोशन भट्टराई, सन्तोष सिटौला र सन्तोष सुर्खेती छन् । लेखा तथा सुपरिवेक्षण समिति संयोजकमा यशोदा पाठक, सदस्यहरूमा पुष्कर लामिछाने र सुमित्रा गिरी छन् ।

चीनमा बढ्यो नेपाली सामानको माग

रसुवा । रसुवागढी नाकाबाट चीनतर्फ निर्यात खुलेपछि तिब्बतमा नेपाली सामानको माग हुन थालेको छ । झन्डै तीन वर्षपछि रसुवागढी नाकाबाट नेपाली सामान चीनतर्फ निर्यात हुन थालेको हो । कोरोना महामारीका कारण रोकिएको निर्यात गत मंगलबारदेखि पुनः सुरु भएको छ ।

निर्यात सुरु भएसँगै तिब्बतमा नेपाली सामानको माग हुन थालेको व्यावसायीहरूले बताए । रसुवागढी हुँदै चीनतर्फ मैदा, बेसार, खुर्सानी, बाँसका मुडा, अम्रिसोको कुचो, हस्तकलाका सामान, कस्मेटिक, चाउचाउ लगायत सामान निर्यात हुँदै आएको थियो । तिब्बतका व्यवसायीले फोन गरेरै नेपाली सामान मगाउन थालेको कालिका गाउँपालिका–५ जीवजीवेका व्यवसायी मुकुन्द पौडेलको भनाइ छ । ‘अहिले उताका व्यवसायीबाट नेपाली सामानको माग हुन थालेको छ,’ पौडेलले भने, ‘चिनियाँ नागरिकले नेपाली सामान औधी मन पराउँछन् ।’

तिब्बतबाट सामानको माग आएपछि आफूले निर्यात गर्ने सामान संकलन गर्न थालेको पौडेलले बताए । निर्यातका लागि दुई कन्टेनर बाँसका मुडा बुक भइसकेको उनको भनाइ छ । नेपालबाट निर्यात भएका सामान ल्हासा, सिगात्से आम्दोलगायत ठाउँमा पुग्ने गरेका छन् । रसुवागढीबाट सामान निर्यात सुरु भएदेखि गएको सोमबारसम्म ११ कन्टेनर सामान चीनतर्फ निकासी भइसकेको रसुवा भन्सार कार्यालयले जनाएको छ । सामान लैजान चिनियाँ कन्टेनर नेपाली भूभागमै आउने गरेका छन् । एक सातामा एक करोड ३१ लाख १६ हजार नेपाली रुपैयाँ बराबरको सामान निर्यात भएको प्रमुख भन्सार अधिकृत नारायणप्रसाद भण्डारीले बताए । मूर्ति, कार्पेट, बाँसका मुडा, ह्यान्डीक्राफ्ट, तामाका सजावटका सामानलगायत वस्तु चीनतर्फ निर्यात भएको उनको भनाइ छ ।

रसुवागढी नाका हुँदै करिब डेढ सय व्यापारीले सामान निर्यात गर्दै आएका छन् । २०७६ माघ १५ देखि नै रसुवागढी नाका भएर चीनबाट हुने आयात तथा निर्यात प्रभावित भएको थियो । सुरुमा हिमपात र ल्होसार पर्वका कारण आयातनिर्यात बन्द भएको थियो । पछि कोरोना भाइरस देखा परेपछि आयात, निर्यात थप प्रभावित भयो । साढे पाँच महिना भने कोरोना महामारीका कारण नाका ठप्प रह्यो । ०७७ असार २२ बाट पुनः आयात सुरु भए पनि निर्यात ठप्प थियो । रसुवागढीबाट आयात सुरु भए पनि कहिले कोरोना, कहिले पहिरो र हिमपातका कारण पटकपटक नाका प्रभावित हुँदै आएको छ । 

बारम्बार आइरहने यस्ता समस्याका कारण व्यापारी भने मर्कामा छन् । नाका प्रभावित भएपछि सामान आयात पनि घटेको छर । सामान आयात घटेसँगै राजस्व संकलन पनि घटेको भन्सार कार्यालयले जनाएको छ ।

अहिले नाकाबाट प्रतिदिन १४ कन्टेनर मात्र चिनियाँ सामान आयात भइरहेको छ । सामान आयातनिर्यात भए पनि मानिसको आवतजावत हुन सकेको छैन । नाका सहज हुँदा मासिक ४० टनसम्म बेसार र खुर्सानी मात्रै रसुवागढी हुँदै निर्यात भएको व्यवसायी बताउँछन् । 

आर्थिक वर्ष ०७६÷७७ मा रसुवागढी हुँदै ७३ करोड ३० लाख ३४ हजार मूल्य बराबरको सामान चीनतर्फ निर्यात भएको भन्सार कार्यालयले जनाएको छ । रसुवागढी चीनबाट नेपालमा व्यापार हुने सबैभन्दा पुरानो नाका हो ।

१५ दिनमा ३ करोडको निर्यात


रसुवा । नेपालबाट निर्यात खुलेको १५ दिनमा रसुवा भन्सारबाट ३ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ । 

रसुवा भन्सार कार्यालयकाअनुसार १२ पुसयता नेपालबाट २० वटा गाडीमा ती मूल्यको नेपाली वस्तु चीनतर्फ निर्यात भएको बताइएको छ ।

प्रमुख भन्सार अधिकृत नारायणप्रसाद भण्डारीकाअनुसार नेपालबाट कार्पेट, बाँसको मुडा, नेपाली मूर्ति र माँटाका भाँडाहरू चीनतर्फ निर्यात भएका छन् । नेपालबाट वस्तु निर्यात हुँदा भन्सार शुल्क नलाग्ने र प्रज्ञापन शुल्क बापत एक सय रुपैयाँ मात्रै तिरे पुग्ने भन्सार कार्यालयले जनाएको छ ।नेपालबाट वस्तु निर्यात सुरु भएपछि व्यवसायीहरू उत्साहित भएको रसुवा उद्योग वाणिजय संघले जानकारी दिएको छ ।

संघका अध्यक्ष खिसाङ नोर्व‘ तामाङले निर्यात सुरु हुनु सकारात्मक भएको बताए । ‘तीन वर्षदेखि रोकिएको निर्यात खुलेसँगै व्यवसायीहरू उत्साहित भएका छन् । तर कोभिड–१९ सम्बन्धी प्रोटोकलहरू अझै बाँकी छन्,’ अध्याक्ष तामाङले भने, ‘केरुङतर्फ परम्परागत रुपमा व्यापार गरेर बसेका नेपालीहरू कोभिड–१९ का कारण विस्थापित हुँदा नेपाली वस्तुको चीनतर्फको बजार पहिल्याउन अझै समस्या छ ।’

रसुवा नेपालबाट चीनमा वस्तु निर्यातकालागि सजिलो बिन्दु भएको भन्दै उनले चीनतर्फ रसुवाकै उत्पादन निर्यात गर्नेबारे व्यवसानयीहरूसँग छलफल गरिरहेको बताए ।

तातोपानीबाट निर्यात अन्यौल

उता तातोपानी भन्सारबाट भने चीनले निर्यातको कोटा वृद्धि गरेको छ । भन्सार कार्यालयकाअनुसार शनिबारदेखि चीनले तीन वटाबाट बढाएर कन्टेनर संख्या ५ पु¥याएको छ । अहिले चीनबाट तातोपानी नाका भएर स्याउ आयात भइरहेको छ । ‘कन्टेनर भित्रिने संख्या ३ बाट बढाएर ५ पु¥याइएको छ,’ भन्सार अधिकृत दयनन्द केसीले भने, ‘नाकाबाट दुवैतर्फको व्यापार सहजीकरण गर्न चीन सकारात्मक रहेको पाएका अनौपचारिक जानकारी आएको छ ।’ ल्हासास्थित नेपाली महावाणिज्य दूतावासले नाका सञ्चालनका लागि पहल गरिरहेको भन्सार प्रमुख केसीले बताए ।

चिनियाँ टोली रेलमार्ग अध्ययन गर्न रसुवामा


विदुर । बहुचर्चित काठमाडौं–केरुङ अन्तरदेशीय रेलमार्गको विस्तृत सम्भाव्यता अध्ययन सुरु भएको छ । चीनबाट १२ पुसमा आएको प्राविधिक टोलीले रसुवा र नुवाकोट पुगेर विस्तृत अध्ययन थालेको हो ।

रेल विभागको टोलीसँगै रसुवा पुगेको टोलीले त्यहाँको भौगोलिक अवस्थाको अवलोकन गर्दै विस्तृत परियोजनाको अध्ययन सुरु गरेको हो । चीन सरकारको चाइना रेल–वे सर्भे एन्ड डिजाइन ग्रुप कम्पनी लिमिटेडका प्राविधिकहरू रेल विभागका महानिर्देशक रोहितकुमार बिसुरालसँग नुवाकोट आएका थिए । उनीहरूले नुवाकोटको केही स्थान अध्ययन गरेर रसुवामा विस्तृत अध्ययन थालेका छन् । विभागका अनुसार चिनियाँ प्राविधिक टोलीले साढे ३ वर्षमा विस्तृत सम्भाव्यता प्रतिवेदन तयार गरेर बुझाउनेछ । पहिलो एक वर्षमा सर्भेको काम सकिने छ भने त्यसपछिको डेढ वर्षभित्र फिल्डमा पुगेर नापी र नक्साङ्कनको काम गरिनेछ । अर्को एक वर्षभित्र इन्जिनियरिङ अध्ययन प्रतिवेदनलाई अन्तिम रुप दिएर पेश गर्ने कार्यतालिका छ ।

विभागका एक अधिकारीका अनुसार चिनियाँ टोलीले काठमाडौंमा नै कार्यालय राख्नेछ । अध्ययनका लागि काम गर्न फिल्ड पनि पनि क्याम्पहरू स्थापना हुनेछन् । चीनले आफ्नै खर्चमा अध्ययनको काम गर्नेछ । सुरक्षा र सहजीकारणको काम नेपाली पक्षले गर्नेछ ।

चीनले २४ मंसिर २०७५ मा हस्तान्तरण गरेको केरुङ–काठमाडौं रेलमार्गको प्रारम्भिक अध्ययन प्रतिवेदनअध्ययन अनुसार विस्तृत अध्ययनको काम यतिबेला सकिनु पर्ने थियो । केरुङ–काठमाडौं, काठमाडौं–पोखरा र पोखरा–लुम्बिनी रेलमार्गको डीपीआर बनाउने समझदारीपत्रमा २०७६ असोजमा भएको चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका क्रममा हस्ताक्षर भएको थियो । त्यो समझदारी कार्यान्वयनका लागि कठमाडौंमा २०७६ मंसिर दोस्रो सातामा भएको नेपाल र चिनियाँ अधिकारीहरूको बैठकले काम बाँडफाँट गरेको थियो ।

चीन सरकारले कोरोना नियन्त्रणका लागि लिएको कडा नीतिका कारण लामो समयसम्म प्राविधिक टोली आउन सकेको थिएन । चीनले शून्य कोभिड–१९ नीति हटाएर यात्रा प्रतिबन्धहरू खुला गरेपछि यो परियोजनाको काम अब कार्ययोजनाअनुसार नै हुने अपेक्षा छ ।

अप्ठेरो भूगोलमा करिब ९८ प्रतिशत सुरुङमार्ग र पुल राखेर बन्ने आयोजना महँगो हुने निश्चित छ । त्यसैले आर्थिक लाभ विश्लेषणका आधारमा लगानी जुटेर रेलमार्ग निर्माण भएमा यो परियोजनाले नेपालको रेल्वे ‘कनेक्टिभिटी’ चीनको बन्दरगाहरूसम्म हुनेछ ।

माघ ७ गते बट्टारमा सोनाम ल्होछारको कार्यक्रम


बट्टार । नेपाल तामाङ घेदुङ जिल्ला कार्य समिति नुवाकोटले २८५९ औं सोनाम ल्होछारको अवसरमा माघ ७ गते शनिवार  बट्टारमा कार्यक्रम गर्ने भएको छ । 

गएको आइतवार बट्टारमा नेपाल तामाङ घेदुङले पत्रकार भेटघाट गरेर आफ्नो कार्यक्रमको तयारीको बारेमा जानकारी गराएको छ । सोनाम ल्होछार समारोह समिति नुवाकोटका संयोजक जयमान वाइवाका अनुसार बागमती प्रदेशका सांसद तथा पुर्व प्रदेश उपसभामुख राधिका तामाङको प्रमुख आतिथ्यतामा कार्यक्रम हुन लागेको हो । तामाङ प्लाजाको परिसरमा (बट्टार बसपार्क नजिकै) आयोजना गरिने उक्त कार्यक्रमलाई तामाङ जातीको उत्सवको रुपमा प्रस्तुत गरिने बताइएको छ । तामाङ जातीको कलासंस्कृति, रहनसहन, झाकी सहितको प्रस्तुती रहेन उक्त कार्यक्रमलाई सोनाम ल्होछारको नुवाकोट जिल्लाकै साझा कार्यक्रमको रुपमा प्रस्तुत गरिने संयोजक वाइवाले जानकारी दिएका छन् । 

नेपाल तामाङ घेदुङ जिल्ला कार्यसमितिका ईञ्चार्ज एवं घेदुङका केन्द्रीय सदस्य उषा वाइवाले साढे २८ सय वर्ष भन्दा पुरानो इतिहास रहेको सोनाम ल्होसारको महत्व र अहिलेको आवश्यकताको बारेमा अहिलेका पुस्ता र अन्य जातजातीको समुदायमा समेत जानकारी दिनु आवश्यक रहेको बताइन् । त्यही उद्देश्य अनुरुप पनि माघ ७ गतेको कार्यक्रमलाई प्रस्तुत गरिने उनको भनाई रहेको छ । उक्त कार्यक्रममा नुवाकोट जिल्लाम हालै निर्वाचित स्थानीय, प्रदेश र संघीय जनप्रतिनिधिहरूको समेत सम्मान कार्यक्रम तय भएको बताइएको छ । त्यसका साथै घेदुङको विकास र समुदायमा विभिन्न क्षेत्रबाट योगदान पु¥याएका तामाङ समुदायका व्यक्तिहरूको समेत सम्मान हुने भएको छ । 

यसै बीच पत्रकार सम्मेलनमा नेपाल तामाङ घेदुङ नुवाकोटको भावी केही कार्यक्रमहरू समेत सार्वजनिक गरिएको छ ।  जस अनुसार आउँदो चैत १८ गतेसम्ममा जिल्ला भेला, फागुन २७ भित्रमा नुवाकोटका सबै पालिकाहरूमा भेला र फागुन १३ गते भित्र नुवाकोटको ८८ वटै वडामा घेदुङको भेला आयोजना गरिने जिल्ला अध्यक्ष सोमबहादुर तामाङले जानकारी दिए ।

पारिवारिक पाठ सिकाउने विद्यालय


– विवेक पोख्रेल

भरतपुर । देवी पाठक ढुंगेललाई कान्छि छोरीले तेल लगाएर कपाल बाटिदिइन् । हातखुट्टा राम्रोसँग धोइदिइन् र कपडाले मुख पुछिदिएर आफैंले तयार गरेको खानेकुरा खुवाइन् । पृष्ठभूमिमा आमाबुबाका विषयमा विभिन्न कुराहरू बजिरहेका थिए । ६ कक्षामा पढ्ने १२ वर्षकी छोरी गरिमा ढुंगेलको स्याहारले भावुक बनेकी देवीको आँशु थामिएन । उनलाई केही वर्षअघि गुमाएको श्रीमान्को याद आयो र उनी रुन थालिन् । ‘आज बुबा भएको भए मेरी छोरीले बुबालाई पनि यसरी नै माया गर्थिन् होला । हामी कति खुसी हुन्थ्याँ होला,’ श्रीमानको मृत्युपछि परिवारको जिम्मेवारी आफंैले लिएकी तीन छोरीकी आमा ४६ वर्षीया देवी फेरि मुख छोपेर रुन थालिन् ।

३२ वर्षीया मीना महत्तो विद्यालयमा नै कार्यालय सहयोगीको रुपमा काम गर्छिन् । २ कक्षामा पढ्ने साढे ६ वर्षकी छोरीले उनलाई मायाका साथ नङ काटिदिने, कपाल कोरिदिने गरिरहेकी थिइन् । आमाले भनेको सधैं मान्ने बताउँदै सानी छोरी अँगालो हालेर रुन थालिन् । बाबाले गाडी चलाउनु हुन्छ । लामो यात्राको क्रममा महिना दिनसम्म पनि आउनु हुन्न । त्यसैले न्यास्रिएकी होला,’ मीनाले भनिन् । छोरीको आँशु देखेपछि उनले पनि आँशु थाम्न सकिनन् । देवी र मीनाजस्तै भरतपुरमा रहेको नारायणी नमुना माध्यमिक विद्यालयको परिसरमा ३० भन्दा बढि विद्यार्थीले आफ्नो अभिभावको रेखदेख गरेका थिए । सहभागीको क्रियाकलाप र दृश्यले त्यहाँ उपस्थित अभिभावक, शिक्षक र विद्यार्थी सबैको अँखामा आँशु देखिन्थ्यो । कोही आँशु लिँदै कार्यक्रम भरी बसे, कोही भारी मन लिएर बस्न नसकी कार्यक्रमको बीचमै निस्किए ।

कोही विद्यार्थी आफ्नो आमाबुबा त कोही हजुरबा हजुरआमाको साथमा आएका थिए । कोही हजुरआमा छोराको त कोहीलाई छोरीको सन्तानले रेखदेख गरेका थिए । यो कार्यक्रमको लागि उनीहरूले आफैं खानेकुरादेखि रेखदेखका लागि आवश्यक सामाग्री जुटाएका थिए । यो कार्यक्रमको परिकल्पनाकार यसै विद्यालयका शिक्षक विशाल अधिकारी हुन् । नारायणी नमुना माध्यमिक विद्यालय भरतपुर १० ले हीरक महोत्सव (स्थापनाको ६० वर्षं)को अवसरमा अभिभावक रेखदेख तथा प्रतिबद्धता कार्यक्रममा गरेको हो । शिक्षक अधिकारी पनि ७५ वर्षीय आफ्नो हजुरआमा टंकमायालाई विद्यार्थीसँगै स्याहारसुसार गर्दै थिए ।

बुबाआमालाई किशोर अवस्थामा हेरचाह गर्न लाज मान्ने र बुढेसकालमा वृद्धाश्रम पुर्याउनेको संख्या बढेको छ । शिक्षक अधिकारीले भने, ‘कार्यव्यस्थता वा संस्कार दुबैका कारण आमाबुबा बृद्धाश्रममा पुग्नु भएको छ । सानैबाट सँस्कार सिकाउन सकियो भने पक्कै हाम्रो घर पनि सुन्दर बन्छ ।  त्यही सन्देशका लागि यो कार्यक्रम गरेका हौँ ।’ नारायणी नमुना माविका विद्यालयका प्रधानाध्यापक पूर्णप्रसाद दवाडीले कार्यक्रम सन्देशमूलक भएको र आगामी दिनमा विद्यालयको नियमित कार्यक्रममा पनि राख्ने प्रतिबद्धता जनाए ।

चितवनको भरतपुर– १० मा रहेको नारायणी नमुना माध्यमिक विद्यालयमा नर्सरीदेखि १२ कक्षासम्मको पढाइ हुन्छ । नर्सरीदेखि पाँच कक्षासम्म एवं कक्षा ११ र १२ मा अंग्रेजी भाषा तथा ६ देखि १० कक्षासम्म नेपाली र अंग्रेजी दुवै भाषामा पढाइ हुन्छ । तीन हजार पाँच सय विद्यार्थी अध्ययनरत यो विद्यालय अहिले देशकै उत्कृष्ट सामुदायिक विद्यालय बनेको छ । नारायणी नमुना माविले नेत्रहीन विद्यार्थीहरूका लागि ब्रेल लिपीमासमेत पढाइ सञ्चालन गर्दै आएको छ ।

२०७९ साल माघ २ गतेको सम्पादकीय

व्यवस्थित रुपमा मात्रै उपयोग गरौं

गृह मन्त्रालयले पुस २० गते देशभरका सबै जिल्ला प्रशासन कार्यालयलाई अवैधानिक क्रसर उद्योग बन्द गर्ने सम्बन्धमा निर्देशनात्मक परिपत्र गरेपछि नुवाकोटमा मात्रै ७६ वटा क्रस उद्योग बन्द भएको प्रतिवेदन गृह मन्त्रालयले आइतवार सार्वजनिक गरेको छ । ७१ वटा व्यवसायिक र ५ वटा आयोजनाको नाममा नुवाकोटमा क्रसर र बालुवा खानीहरु सञ्चालनमा रहेको पाइएको हो । सुरुमा २५ वटा क्रसर उद्योगको सूची बोकेर अनुगमनमा निस्किएको सरकारी टोली एक हप्ताको बीचमा ७६ वटा क्रसर फेला परेपछि झस्किएको छ । गृह मन्त्रालयले कानूनविपरीत दर्ता नगरी, सञ्चालन अनुमति नलिई वा नवीकरण नगरी सञ्चालनमा रहेका ढुंगा, गिट्टी,रोडा तथा बालुवा उत्खनन्, प्रशोधन कार्यमा संलग्न क्रसर उद्योगहरूलाई तत्काल बन्द गर्न निर्देशन दिएको थियो । त्यस्तै, विभिन्न आयोजना विकास तथा निर्माणका क्रममा सोही आयोजनाका लागि आवश्यक परिमाणमा ढुंगा, गिट्टी, रोडा तथा बालुवा उत्खननको अनुमति प्राप्त उद्योग तथा निर्माण व्यवसायीले आयोजना समाप्त भएपछि पनि त्यस्तो उत्खनन कार्य गरिरहेको भए सो समेत छानबिन गरी तत्काल बन्द गर्न गत पुस २० गते सबै जिल्ला प्रशासन कार्यालयहरूलाई मन्त्रालयले परिपत्र गरेको थियो  ।

वातावरण संरक्षण ऐन, २०७६ को पालना र यस सम्बन्धमा अदालतबाट भएको आदेश कार्यान्वयन गर्न आवश्यक देखिएको भन्दै पुस २० गते गृहसचिव स्तरीय निर्णय गरी अवैधानिक क्रसर उद्योग बन्द गर्न मन्त्रालयले जिल्ला प्रशासन कार्यालयहरूलाई परिपत्र गरेको थियो । सोही परिपत्रको कार्यान्वयनका सन्दर्भमा प्रमुख जिल्ला अधिकारीहरूले अनुगमन गर्दै अवैध क्रसर उद्योगमा सिलबन्दी गरिरहेका छन् । अवैध क्रसर उद्योगहरूका सन्दर्भमा सर्वोच्च अदालतले २०७७ चैत ९ गते वटा प्रश्न सोध्दै निर्देशनात्मक आदेश दिएको थियो । नेपाल अधिराज्यका हरेक जिल्लामा के कति संख्यामा बालुवा प्रशोधन र क्रसर उद्योग सञ्चालनमा रहेका छन् ? तीमध्ये कुन–कुन र कति उद्योगहरू वैध तथा अवैध रूपमा सञ्चालित छन् ?  जस्ता प्रश्नको उत्तर अदालतले खोजेको थियो । हरेक उद्योगको अभिलेख तयार गरी अवैध उद्योग बन्द गराउन अदालतले आदेश दिएको थियो । सर्वोच्चको फैसलामा भनिएको छ, ‘मापदण्ड पूरा नगरी सञ्चालनमा रहेका त्यस्ता उद्योगलाई एकपटकलाई निश्चित समयावधि प्रदान गरेर त्यसभित्र मापदण्ड पूरा गर्न लगाउने र सोको पनि अवज्ञा गर्ने उद्योगहरूको दर्ता नै खारेज गर्ने प्रक्रिया अपनाउनुपर्छ । कुनै पनि व्यवसायीको एक्साभेटर, टे«क्टर, जेसीभी र टिप्परलाई नदीजन्य सामग्रीको गैरकानूनी उत्खनन र ओसारपसार गर्ने कार्यका लागि खोला र नदीमा प्रवेश गर्न नै नदिने गरी अनिवार्यतः नियन्त्रण गर्नुपर्दछ ।’ सर्वोच्च अदालतको उक्त निर्देशानात्मक आदेशको विषयमा २०७९ साउन ९ गते फैसला कार्यान्वयन निर्देशनालयले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, गृह मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिञ्चाइ मन्त्रालय, सशस्त्र प्रहरी बलको मुख्यालय, नेपाल प्रहरी प्रधान कार्यालयलाई उक्त आदेशका विषयमा के कार्यान्वयन भयो भन्ने विषयमा जवाफ लेखी पठाइदिन पत्राचार गरेको थियो ।

क्रसर उद्योग निर्माण व्यवसायसँग जोडिने व्यवसाय हो । विकास निर्माणका लागि अत्यावश्यक, गिट्टी, ढुंगा, बालुवा क्रसर उद्योगबाटै प्राप्त हुने हो । यसलाई व्यवस्थित गर्न सकियो भने देशको आन्तरिक आवश्यकता पूरा गरेर निर्यात पनि गर्न सकिन्छ । तर, हाम्रो वातावरणीय प्रभाव मूल्यांकन (इआइए) का प्रावधान निकै कठोर र अव्यावहारिक पनि छन् । इआइएका लागि विज्ञहरू फिल्डमा जानुपर्छ, सरोकारवालासँगै बसेर अध्ययन गर्नुपर्छ । यसका लागि खानी तथा भूगर्भ विभाग, वातावरण विभाग तथा जलस्रोत विभागलगायत सबैले आ–आफ्ना विज्ञहरू परिचालन गरी प्रतिवेदन तयार गर्नुपर्ने हो। तर, हामीकहाँ कसैले पनि इमानदारपूर्वक त्यस्तो अध्ययन नै गर्दैनन् । त्यसैले, यस्तो समस्या आएको होरु। यसमा नियमन र अनुगमन दुवैमा कमजोरी प्रस्ट देखिन्छ । खानी तथा भूगर्भ विभाग, वातावरण विभाग र जलस्रोत विभागलगायत सरोकारवाला निकायका विज्ञहरूले कमिसन र दबाबका भरमा काम गर्दा यस्तो समस्या आएको हो । यससम्बन्धी काम गर्न सरकारले यति धेरै निकाय र विज्ञ कर्मचारीलाई तलब, सुविधा दिएर पालिरहेको छ । यस्तोमा सम्पूर्ण सरोकारवाला निकायले लोकप्रियतावादी विधि नदेखिने गरी उद्यमी, व्यवसायीसित बसेर समाधान खोज्नुपर्छ । 

त्यसो त, छिटो लाभ पाउन प्राकृतिक स्रोतको बढी दोहन भइरहेको र यसले अकल्पनीय क्षति निम्त्याउने भएकाले भावी पुस्ताका लागि साँचेर व्यवस्थित उपयोग गर्नुपर्ने हुन्छ । हुन त, नदीजन्य पदार्थको संकलन र उत्खननलाई पारदर्शी उद्योगका रूपमा विकास गर्दै उत्पादित सामग्रीलाई प्रतिस्पर्धी मूल्यमा बिक्रीको वातावरण बनाउनुपर्ने आबाज पनि उठिरहेको छ । सामुदायिक वन जस्तै अन्य प्राकृतिक स्रोतको उपयोगमा पनि सर्वसाधारणको साझेदारी मोडल अपनाउन सकिने अर्को उपाया पनि रहेको छ । गिट्टी, ढुङ्गा सहितका स्रोतको संरक्षण र व्यवस्थित उपयोगका लागि स्थानीयको साझेदारी आवश्यक पर्ने मोडल बनाउन सकिन्छ, त्यसले दिगो उपयोग मार्फत आर्थिक लाभको बाँडफाँड र वातावरण संरक्षण दुवैमा सहयोग गर्छ । नदीजन्य पदार्थको दोहनमा राज्यलाई चर्को घाटा र व्यवसायीलाई अधिक लाभ, उपभोक्तालाई मार र वातावरणको विनाश भइरहेकाले मापदण्ड तयार गरी क्रसर उद्योगहरू सार्वजनिक कम्पनीका रूपमा मात्र खोल्न पाउने व्यवस्था गर्न सकिए मात्रै यसको दीर्घकालिन समाधान हुने छ । 

२०७९ साल माघ २ गते । वर्ष:१६ अंक:१४