Monday, February 06, 2023

नागरिकता प्रतिलिपि लिने बढे


सुनिल श्रेष्ठ

विदुर । नुवाकोटमा नागरिकताको प्रतिलिपि लिनेको संख्यामा तेब्बरले वृद्धि भएको छ । जिल्ला प्रशासन कार्यालयले सार्वजनिक गरेको त्रैमासिक स्वतः प्रकाशनअनुसार गत कात्तिकदेखि पुष महिनासम्ममा २ हजार ५८९ जनाले नागरिकता प्रतिलिपि लिएका छन् ।

तथ्यङ्कअनुसार दोस्रो त्रैमासिकको कार्तिकमा ८९९, मङ्सिरमा ८१९ र पुषमा ८७१ वटा नागरिकताको प्रतिलिपि वितरण गरिएको छ । आव २०७९/०८० को पहिलो त्रैमासिक साउनदेखि असोज महिनासम्ममा ८०२ जनाले नागरिकता प्रतिलिपि लिएका थिए । प्रमुख जिल्ला अधिकारी किरण थापाले राष्ट्रिय परिचयपत्र, राहदानी, बसाँईसराई, सामाजिक सुरक्षा भत्ता, सम्बन्धविच्छेद, जन्मदर्ता अनुसार शैक्षिक संस्थाको अभिलेखिकरण लगायतका विषयले गर्दा नागरिकता प्रतिलिपि लिनेको संख्या वृद्धि भएको बताए । वैदेशिक रोजगार, विदेशमा रहेका सन्तानले आफ्ना आमाबुबालाई विदेश लाने प्रयोजनको लागि राहदानी बनाउँदा, सामाजिक सुरक्षा भत्ताको लिने प्रक्रियागत क्रममा पहिलेनै लिएका नागरिकता पुरानो हुने, फोटो नचिने, अक्षर अस्पष्ट लगायतका कारणले प्रतिलिपि लिनेको संख्या बढेको उनले बताएका छन् ।

सेवाग्राहीले नागरिकताको जतन नगरेको एकातिर छ भने अर्कोतिर नयाँ नागरिकता लिई हाले तापनि कार्यालयबाट प्रिन्ट गरिएको नागरिकताको प्रमाणपत्र प्लास्टिकको खोलमा राख्दा प्राविधिक समस्या आउने गरेको बताए । यो समस्या नुवाकोटमा मात्र नभई देशभरकै प्रशासन र नागरिकता प्रदान गर्ने इलाका कार्यालयमा रहेको बताए ।

कार्यालयका प्रशासकीय अधिकृत सुरेश खतिवडाले राष्ट्रिय परिचयपत्रमा नागरिकता सक्कलनै स्क्यान गर्नुपर्ने प्रावधान रहेकोले पुराना, झुत्रो, केरमेट भएको, अक्षर अस्पष्ट, नागरिकता जारी मिति नबुझिने नागरिकता राखेर स्क्यान गर्न नमिल्ने हुनाले दिनहुँ नयाँ प्रतिलिपि लिनेको संख्यामा वृद्धि भएको बताए । उनी थप्छन्, ‘नागरिकताको गुणस्तरको प्राविधिक पक्षमा सुधारको एक पक्ष त छँदैछ, तर नागरिकले पनि नागरिकता बनाउनको लागि खिचिएको फोटो उच्च गुणस्तरको छपाई नहुने र नागरिकता सुरक्षित राख्न नसक्नाले प्रतिलिपि लिने बढेको हो ।’

नागरिकता प्रमाणपत्रको प्रतिलिपि अनुसूची फारममा पूरा विवरण भरी गाउँपालिका/नगरपालिकाका वडाको सिफारिसमा नागरिकता प्रमाणपत्र नम्बर वा जारी मिति खुलेको भएमा हालसालै खिचिएको दुवै कान देखिने अटो साइजको फोटो २ प्रति नागरिकताको प्रतिलिपि लिने पाईने व्यवस्था छ । 

यस्तै, बसाईंसराईं गरी आएका अन्य जिल्लाहरूबाट नागरिकता प्रमाणपत्र लिएका व्यक्तिका हकमा बसाईंसराईं दर्ताको प्रमाणपत्र, विवाहित महिलाको हकमा पतिको नागरिकता प्रमाणपत्र र विवाहदर्ता प्रमाणपत्र र पति वा एकाघरको ससुरा वा सासू वा जेठाजु वा देवरको नाता खुल्ने प्रमाण सहित सनाखत, दलितहरूको थर परिवर्तन गर्न‘ परेमा राष्ट्रिय दलित आयोगबाट प्रकाशित थर सूचीमा रहेको थर बमोजिम हुनेगरी वडा कार्यालयको यकीन सिफारिसको आधारमा नागरिकताको प्रतिलिपि लिने व्यवस्था छ ।

दैनिक ५०/५० जनाको हाराहारीमा नयाँ नागरिकता लिने र प्रतिलिपि लिने रहने नागरिकता फाँटका कम्प्युटर अपरेटर सरस्वती थापाले जानकारी दिईन् । आमाबुबाको विवरण संशोधन, विवाहितको हकमा पतिको नाम र सम्बन्धविच्छेदको हकमा पतिको नाम हटाउने लगायतका समस्या लिएर नागरिकताको प्रतिलिपि लिनेको संख्या बढेको उनले बताइन् ।

दुप्चेश्वर गाउँपालिका–२ का श्यामबहादुर तामाङले आफ्नो नागरिकताको नम्बर केरमेट र अक्षर अस्पष्ट भएकोले नागरिकता प्रतिलिपि लिन आएको बताए । ‘राष्ट्रिय परिचयपत्र बनाउन आईतबार आएको थिएँ, तर नागरिकता पुरानो र केरमेट भएकोले स्क्यान गर्न मानेन, अनि नयाँ नागरिकता बनाउन आज फेरी सदरमुकाम आएको हुँ ।’ 

यस्तै, कार्यालयको प्रविवेदनअनुसार जिल्लामा वंशजको आधारमा नयाँ नागरिकता लिनेमा २ हजार १४७ जना रहेका भने ४ हजार ३५९ जनाले राहदानीको लागि आवेदन दिएकोमा ३ हजार २६६ जनालाई राहदानी वितरण गरिएको जनाएको छ ।

भलिबलको उपाधी म्यागङलाई


खरानीटार । नुवाकोटको तादी गाउँपालिकाले आयोजना गरेको अन्तरपालिकास्तरिय तादी अध्यक्ष भलिबल कप प्रतियोगितामा म्यागङ गाउँपालिका विजयी भएको छ । प्रतियोगिताको अन्तिम खेल शनिवार सम्पन्न भएको हो । 

अमरज्योति माध्यामिक विद्यालयको खेलमैदान खरानीटारमा भएको फाईनल खेलमा म्यागङ गाउँपालिकाले आयोजक तादी गाउँपालिकाई २५–२१, १५–२५, २५–२३ र २५–२३ सेटको अंकले जितेको हो । प्रतियोगितामा पञ्चकन्या गाउँपालिकाको टिम तेस्रो र दुप्चेश्वर ‘बी’ समुह सान्त्वना भएका छन् । प्रतियोगितामा प्रथम १ लाख ५० हजार, द्वितीयले १ लाख रुपैयाँ र तृतीयले ५० हजार रुपैयाँ नगद पुरस्कारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरे । यस्तै, दुप्चेश्वर ‘बी’ ले २० हजार नगद पुरस्कार प्राप्त गरे ।

विजयी टिमहरूलाई प्रतिनिधिसभा सदस्य तथा नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य हितबहादुर तामाङले पुरस्कार प्रदान गरेका थिए । ‘खेल मार्फत विकास, अनुशासन र गतिशिलता’ मूलनाराका साथ आयोजना गरिएको प्रतियोगितालाई नेपाली काँग्रेसका केन्द्रीय प्रवक्ता डा. प्रकाशशरण महतले उद्घाटन गरेका थिए । 

जनआन्दोलन घाइतेको निःशुल्क उपचार

विदुर । त्रिशुली अस्पताल नुवाकोटले जनआन्दोलनका घाइतेको उपचार निःशुल्क गर्ने भएको छ । 

त्रिशुली अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डा. दीपेन्द्र पाण्डेको अनुसार अस्पतालमा हुने उपचारसहित सबै किसिमको सेवा यस साताबाट निःशुल्क थालिएको हो । उनका अनुसार बागमती प्रदेश सरकारको सहयोगमा ‘जनआन्दोलनका घाइते’का लागि अस्पतालबाट उपलब्ध रहेको सेवा प्रवाह गर्न प्राप्त कार्यदेशानुसार त्रिशुली अस्पतालले उक्त कार्यक्रम सञ्चालन गरेको छ ।

‘जनआन्दोलका क्रममा घाइते भएका व्यक्तिका लागि सरकारले उपलब्ध गराएको परिचयपत्रका आधारमा अस्पतालबाट उपलब्ध सेवा निःशुल्क गर्न थालिएको छ’ मेसु डा. पाण्डेले भने, ‘घाइते भएकाहरूको बल्झिएको व्यथामात्र होइन, उनीहरूको स्वास्थ्यमा देखिएका समस्या अस्पतालबाट उपलब्ध सेवा निःशुल्क प्राप्त गर्न सक्नेछन् ।’ 

त्रिशुली अस्पतालमा यसअघिदेखि नै ज्येष्ठ नागरिक र आर्थिकरूपमा विपन्न भएकालाई सामाजिक सेवा एकाइको सिफारिसमा निःशुल्क उपचार पु-याउँदै आइरहेको छ । ‘अस्पतालको गुणस्तर सुधारका लागि न्यूनतम सेवा मापदण्ड’मा देशभरकै पहिलो बनेको उक्त अस्पतालमा उच्चस्तरीय प्रविधिका सहयोगमा विशेषज्ञसहितको सेवा उपलब्ध छ ।

स्कुलमा परम्परागत पोशाक


जगदीश खनाल

म्यागङ । मौलिक पहिरनको संरक्षण गर्ने अभियानमा नुवाकोटको म्यागङ गाउँपालिका जुटेको छ । 

बढ्दो आधुनिकीकरणले परम्परागत मौलिक पहिरन लोप हुन सक्ने अवस्थालाई दृष्टिगत गर्दै हप्तामा एक दिन मौलिक पहिरनमा नै विद्यालय सञ्चालन गर्न गाउँपालिकाले निर्देशन दिएको हो । 

विद्यालयमा कार्यरत कर्मचारी, शिक्षक, शिक्षिका, विद्यार्थी सबैले हरेक हप्ताको बुधबार आ–आफ्नो जातअनुसारको पहिरन लगाउनैपर्ने गाउँपालिकाका अध्यक्ष आशा तामाङले बताए । ‘जातीय पहिचानका रूपमा विशेषगरी पहिरनलार्ई लिने गरिन्छ । चाडपर्व, मेला, महोत्सव, घुमफिरमा जाँदा आधुनिक पोशाक लगाउने बानी बसिसकेको अवस्था छ । विद्यालय आउँदा विद्यालयको पोशाक अनिवार्य गरिएको छ । आफ्नो मौलिक पहिरनका बारेमा बालबालिका अनभिज्ञ हुने भएकाले पालिकाले यस्तो निर्णय गरिएको हो’, अध्यक्ष तामाङले भने, ‘मौलिक पहिरनका बारेमा बालबालिकालाई जानकारी दिन, जातीय÷सांस्कृतिक पहिरनको संरक्षण गर्न यो अभियान सुरु गरिएको हो । जसले गर्दा बालबालिकालाई एकअर्का बीचको जातीय पहिरनका बारेमा पनि जान्ने अवसर सिर्जना हुने अपेक्षा गरेको छु ।’

गाउँपालिकाको शिक्षा ऐन, २०७८ बमोजिम सांस्कृतिक पहिरनमा विद्यालय सञ्चालन गर्न थालिएको हो । पालिकामा २२ वटा सामुदायिक विद्यालय र दुईवटा निजी विद्यालय रहेका छन् । शिक्षा ऐनअनुसार आंशिकरूपमा भए पनि हरेक हप्ताको बुधबार सांस्कृतिक पहिरनमा विद्यालय सञ्चालन हुने गरेको शिक्षा अधिकृत शेरसिंह रावतले बताए । ‘चालु शैक्षिक सत्रको सुरुआतदेखि नै हरेक हप्ताको बुधबार मौलिक पहिरनमा विद्यालय सञ्चालन गर्ने भन्ने शिक्षा ऐन लागू भएको हो । हालसम्म शतप्रतिशतमा लागू भइसकेको अवस्था भने होइन । यस अभियानलाई शतप्रतिशत पु¥याउन निरन्तर विद्यालयहरूलाई झक्झकाइरहेका छौँ’, रावतले भने, ‘प्रायः निजी विद्यालयहरूले हप्तामा एक दिन बाहिरी पोशाकमा विद्यालय सञ्चालन गरिरहेको हुन्छन् । त्यसलाई अनुसरण गर्दै बाहिरी पोशाकमा पनि मौलिकता झल्कने पोशाकमा जोड दिन सकियो भने परम्परागत संस्कृतिको जगेर्ना हुन्छ भनेर यो शिक्षा ऐन ल्याएका हौँ । विद्यार्थीहरू पनि फरक पहिरनमा खुसी हुन्छन् ।’

पाठ्यपुस्तकमा परम्परागत जातीय पहिरन, संस्कार, संस्कृतिका बारेमा प्रशस्त उल्लेख गरिएको हुन्छ । विद्यार्थीहरूले सैद्धान्तिकरूपमा त्यस विषयको ज्ञान लिइरहेको हुन्छ । हप्तामा एक दिन मौलिक पहिरनमा विद्यालय सञ्चालन हँुदा व्यावहारिक ज्ञान विद्यार्थीहरूले प्राप्त गरिरहेको म्यागङ गाउँपालिका–२ मा अवस्थित सरस्वती माध्यमिक विद्यालयका प्रधानाध्यापक मोतिखर अधिकारीको बुझाइ छ । 

‘भदौ महिनादेखि विद्यार्थीहरूलाई मौलिक पहिरनमा नै पढाउन थाल्यौँ । त्यस समयमा सबै विद्यार्थीसँग आफ्नो जातअनुसारको पहिरन उपलब्ध थिएन । दसँैपछि भने सबै विद्यार्थीले उत्साहका साथ मौलिक पहिरन लगाएर आउने गरेका छन्’ प्रधानाध्यापक अधिकारीले भने, ‘हाम्रो विद्यालयमा विशेषगरी तामाङ, ब्राह्मण, क्षेत्री र दलित समुदायका विद्यार्थी पढ्न आउँछन् । उनीहरूमा पहिरनको विविधता हुँदा एकअर्काबीच नै सिकाइ भइरहेको हुन्छ । व्यावहारिक शिक्षाका रूपमा पनि यसलाई लिने गरेको छु । अभिभावकबाट पनि सकरात्मक प्रतिक्रियाहरू आइरहेको हुन्छ ।’

कित्ताकाट नहुँदा राजस्वमा असर

रसुवा । गत असारदेखि बन्द कित्ताकाटसम्बन्धी कार्य छिटो खुला गरिदिन यहाँका नागरिकले सरकारसामु आग्रह गरेका छन् । जग्गा जमिनको कित्ताकाट बन्द हुँदा सानोतिनो घडेरी जग्गा खरिदबिक्री, घरखर्च मिलाउन आफूसँग भएका दुई÷चार आना जग्गा बिक्री वितरण गर्न, कित्ताकाट गरेर पैतृक सम्पत्ति अंशबण्डामार्फत आफ्नो स्वामित्वमा ल्याउन नपाउँदा मर्का परेका कारण छिटो खुलाइदिन स्थानीय बासिन्दाले अनुरोध गरेका हुन् ।

भूउपयोग नीति लागू गराउन स्थानीय निकायलाई सरकारले दिएको आदेश समयमै कार्यान्वयन हुन नसकी आवादी, कृषि क्षेत्रका जग्गा जमिनको वर्गीकरण नहुँदा कित्ताकाटका सम्पूर्ण काम रोकिँदा एकातिर किसानलाई समस्या र अर्काेतर्फ मालपोतको राजस्व असुलीमा समेत गिरावट आएको छ । जग्गा जमिन भूउपयोग ऐन २०७६ र सोसम्बन्धी बनेको नियमावली २०७९ बमोजिमका मापदण्ड कार्यान्वयन गर्न गराउन तालुक मन्त्रालय तथा विभागले दिएको निर्देशनबाट कित्ताकाट रोकिएको र वर्गीकरणका लागि स्थानीय निकायले छिटो निकास दियोस भन्ने अपेक्षा गरिएको मालपोत कार्यालयका कर्मचारी बताउँछन् ।

कित्ताकाट सम्बन्धी काम पुनः सञ्चालन गराउन स्थानीय निकायका पदाधिकारी सम्मिलित जमिनको वर्गीकरण व्यवस्थापन समितिको निर्णयप्रति प्रतीक्षारत रहेको नापी कार्यालयले जनाएको छ । रसुवा जिल्लामा पाँच गाउँपालिका रहेको र हालसम्म कुनै पनि गाउँपालिले भूउपयोगसम्बन्धी निर्णय दिन नसक्दा नापी तथा मालपोतको काम प्रभावित बन्दै गएको र राजस्वमा समेत गिरावट आएको बताइएको छ ।

मालपोत कार्यालय रसुवाका अनुसार चालु आर्थिक वर्षको गत साउनदेखि पुस मसान्तसम्मको अवधिमा एक सय ४४ थान बैंक तथा वित्तीय संस्थाको धितोसम्बन्धी लिखत र एक सय १३ थान जग्गा जमिन खरिद बिक्रीको राजीनामा पारित भएको छ । जग्गाधनी प्रमाण पुर्जाबाट पूरा कित्तानै हक हस्तान्तरण गरेका जग्गाको मात्र रजिष्टे«शन पास हुने गरेका कारण गत वर्षको तुलनामा यो वर्ष साउनदेखि पुससम्मको छ महिनामा ७४ लाख ८२ हजार राजस्व गिरावट भएको छ । 

गत आर्थिक वर्षको यस अवधिमा ७९१ थान लिखत पारित भई कूल ९९ लाख ३८ हजार २८२ राजस्व असुली भएकोमा यस वर्ष साउनदेखि पुस मसान्तसम्म २४ लाख ५६ हजार १५१ मात्र राजस्व संकलन भएको मालपोतका राजस्व अभिलेखकर्ता (कर्मचारी) छेक्याल तामाङले जानकारी दिए । कित्ताकाट गरी आफ्ना स्वामित्वको जग्गा जमिन बिक्री वितरण गर्न नपाउँदा रसुवाली नागरिकलाई घर व्यवहार चलाउन अप्ठयारो पर्दै गएकाले छिटोभन्दा छिटो कानुनी अड्चन फुकाइदिन सरोकारवाला निकायसँग आग्रह गरिएको रसुवा नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङले बताए ।

लि–निङको पाँचौं शोरुम त्रिशुलीमा


त्रिशुली । खेलकुद सामग्री उत्पादन चाइनिज कम्पनी लि–निङको पाँचौ शोरुम नुवाकोटको त्रिशुलीमा सञ्चालनमा आएको छ ।

खेल र खेलाडीको लागि चाहिने सम्पूर्ण सामग्री पाइने शोरुमको तेक्वान्दोकी ओलम्पियन तथा राष्ट्रिय प्रशिक्षक संगीना वैद्य र कम्पनीका कार्यकारी निर्देशक राजन महर्जनद्वयले संयुक्तरुपमा शाखाको उदटन गरेका छन् । त्रिशुली शाखाका अनु इन्टरप्राइजेजका सञ्चालक विप्लप अमात्यले बास्केटबल, ब्याडमिन्टन, ज्याम्यास्टिक, रनिङलगायतका खेलहरूको सम्पूर्ण सामग्री पाइने बताए । नुवाकोट र रसुवाका खेलाडीहरू आफूले चाहिने सामग्री किन्न अब काठमाडौँ धाउनु नपर्ने उनले बताए । ग्राहकले शोरुमबाट २५ प्रतिशत छुटको सुविधा लिन सकिने उनले जानकारी दिए ।

कार्यक्रममा बोल्दै राष्ट्रिय खेलकुद परिषदको तालिम तथा प्रशिक्षण विभागका उपनिर्देशक समेत रहेका वैद्यले नेपालको खेल क्षेत्रमा सहयात्रीको रुपमा रहेको उक्त कम्पनीका सामग्रीहरू खेलाडीलाई सहजको साथै सुहाउँदो रहेकी बताईन् । आफ्नै जन्मथलोमै उक्त कम्पनीको शोरुम सञ्चालनमा आउँदा उनले खुशी व्यक्त गरिन् ।

ललितपुर जावलाखेलमा मुख्य कार्यालय रहेको कम्पनीको काठमाडौंलगायत देशका मुख्यमुख्य शहरमा शोरुम तथा आउटलेट रहेको कम्पनीका निर्देशक महर्जनले जानकारी दिए ।

लिनिङ चाइना ट्रेड लिंकको ब्राण्ड हो । १९८२ मा ज्याम्यास्टिकमा विश्व च्याम्पियन बनेका खेलाडीको नामबाट १९९० मा लिनिङ ब्राण्डको स्थापना गरिएको हो ।

तस्बिर समाचार

गएको हप्ता नुवाकोटको प्रमुख जिल्ला अधिकारीको कार्यभार सम्हाल्न आइपुगेका किरण थापा कार्यकक्षामा नुवाकोटका पत्रकाहरूसंग कुराकानी गर्ने क्रममा । तस्बिर : इमेज

तस्बिर समाचार

नेकपा माओवादी केन्द्रका नेता किरणकुमार रिजाललाई रालुका माविको तर्फबाट सम्मान पत्र प्रदान गर्दै संघीय सांसद हितबहादुर तामाङ, साथमा बागमती प्रदेश सांसद राधिका तामाङ । रिजालले तादी गाउँपालिका वडा नं. २ स्थित रालुका माविका २५० जना विद्यार्थीलाई एक/एक सेट न्यानो कपडा वितरण गरेका थिए । तस्बिर : प्रदिप शर्मा


भण्डारी नुवाकोट जेसीज अध्यक्ष


एक महिना अघि जिल्ला अधिवशेन उद्घाटन भएर विवादका कारण अड्किएको नुवाकोट जेसीजको सन् २०२३ का लागि नयाँ कार्य समिति गएको सोमवार चयन भएको छ । 

सुमन भण्डारी नुवाकोट जेसीज बर्ष २०२३ को अध्यक्ष निर्वरोध निर्वाचित भएका छन् । उनीहरूको मंगलवार पदस्थापन भएको छ ।  नुवाकोट जेसीजको कानुनी सल्लाहकारमा अरुणराज पाठक चयन भएका छन् । 

आइपिपीमा नमराज सुबेदी, कार्यकारिणी उपाध्यक्षहरूमा किशोर अर्याल, हिमन रिमाल, उपाध्यक्षहरूमा जीबन तमाङ, नारायण प्याकुरेल, सनिष अधिकारी र राजेन्द्र पनेरु चयन भएका छन् ।

पाठक क्यानको कार्यवाहक सचिव


विदुर । नेपाल क्रिकेट संघ (क्यान)को कार्यवाहक सचिवको जिम्मा दुर्गाराज पाठकले पाएका छन् । पाठक नुवाकोटका हुन् । कार्यवाहक सचिव प्रशान्तबिक्रम मल्लले पोखरामा भएको क्यानको केन्द्रीय कार्यसमितिको बैठकमा पदबाट राजिनामा दिएपछि केन्द्रीय सदस्य पाठकलाई कार्यवाहक सचिवको जिम्मेवारी तोकिएको हो ।

पछिल्लो समय नेपाल टी २० लिग लगाएतका विभिन्न विषयमा क्यानभित्रै विवाद बढेपछि मल्लले पदबाट राजिनामा दिएको बुझिएको छ । आउँदो असोजसम्म कार्यसमितिको कार्यकाल रहेकोमा मल्लले कार्यवाहक सचिवबाट राजिनामा दिएपछि पाठकले यो बाँकी कार्यकालमा कार्यवाहक सचिवको रुपमा काम गर्ने छन् । तर, क्यानको निर्वाचन आउँदो जेठमा हुने लगभग तय भएको बुझिएको छ । यस्तो अवस्थामा पाठकले पाँच महिना यो जिम्मेवारी सम्हाल्ने छन् । पाठक क्यानको पाँच सदस्यीय कार्य सम्पादन समितिको सदस्य पनि छन् । 

२०७८ असोजमा अशोकनाथ प्याकुरेलले सचिव पदबाट राजीनामा दिएपछि मल्ललाई कार्यवाहक सचिव बनाइएको थियो । मल्ल नेपाल टी–२० लिगमा गभर्निङ काउन्सिल अध्यक्षको भूमिकामा पनि थिए । नेपाल टी–२० लिगमा प्रक्रियासंगत निर्णय नलिँदा विवाद भएको तथा कार्यसम्पादन समितिको नाममा पदाधिकारीको मनोमानी बढेको भन्दै असन्तुष्ट केन्द्रीय सदस्यहरूले मंगलबार अध्यक्ष चतुरबहादुर चन्दसहित कार्य सम्पादन समितिका पाँच जनाको राजीनामा मागेका थिए ।

स्कुल बस चेकजाँचमा कडाई


विदुर । शैक्षिक संस्थाका बसहरू मापदण्ड विपरित सञ्चालनमा हुदैं आएको र जोखिम मोलेर आफ्नो बालबालिकालाई विद्यालय बसमा चढाउनुपरेको गुनासो अभिभावकबाट आएपछि जिल्लामा सञ्चालित विद्यालय तथा क्याम्पसका बसको जिल्ला ट्राफिक प्रहरी कार्यालयले चेकजाँच अभियान थालेको छ ।

सदरमुकाम विदुर, बट्टार, त्रिशुली, कोलनी, तारुका, ढिकुरे, छहरेलगायत जिल्लाका मुख्य बजार क्षेत्र हुँदै गुड्ने विद्यालय तथा क्याम्पस बस र भाडामा चलाईएका विद्यालयका बसको बुधबारदेखि अभियानको रुपमा चेकजाँच सुरु गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायव निरिक्षक मिलनकुमार सिंहले बताए । विद्यालय बस चेकजाँचका क्रममा सवारीचालक अनुमतिपत्रलगायत आवश्यक कागजपत्र साथमा नभएको, सिट क्षमताभन्दा बढी विद्यार्थी राख्ने गरेको, तीव्र गतिमा लापरवाही तरिकाले सवारीसाधन गुडाउने, कतिपय बसमा नम्बर प्लेट नै नरहेको पाईएको उनले बताए ।

ट्राफिक नियम विपरित सञ्चालित विद्यालय तथा क्याम्पसका बस चालकलाई सम्झाई बुझाइ पहिलोपटकमा छोडिएको उनले बताए । सडक सुरक्षाको साथै विद्यार्थीको यात्रा सुरक्षित राख्न र दुर्घटनामा न्यूनीकरण गर्न यस किमिसको अभियान थालिएको उनले बताए ।

ट्राफिक नियमको पालना गरी विद्यार्थीहरूलाई बस पूर्ण रुपमा रोकि सकेपछि मात्र चढ्न र ओर्लन दिन, विद्यार्थीहरू राम्रोसँग सिटमा बसिसकेपछि मात्र सवारी साधन गुडाउन, विद्यार्थीहरूको कुनै पनि शारिरीक अंगहरू बसबाहिर निकाल्न नदिन, हतारमा र बढि गतिमा सवारी साधन नचलाउन अनुरोध गरिएको उनले बताए ।

अभियानपछि पनि ट्राफिक नियम विपरित असुरक्षित तरिकाले शैक्षिक संस्थाका सवारीसाधन गुडाईएको पाईएमा कडा कारबाही गरिने चेतावनी समेत उनले दिए ।

चालकको स्वास्थ्य परीक्षण


विदुर । जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटले सवारी दुर्घटना न्यूनीकरण गर्न लागी चालक र सहचालकको स्वास्थ्य परीक्षण थालेको छ । 

गएको आइतवारबाट जिल्ला ट्राफिक प्रहरी कार्यालयले नुवाकोटमा सवारीसाधन चलाउँदै आएका चालक र सहचालकको स्वास्थ्य परीक्षण गर्न थालेको हो । उक्त अभियान अन्र्तगत विदुरको सडक हुँदै आउजाउ गर्ने विशेष गरेर यात्रुबाहक सवारी साधनको चालक र सहचालकको स्वास्थ्य परीक्षणसहित औषधि उपलब्ध गराइएको ट्राफिक प्रहरी कार्यालय नुवाकोटका प्रमुख वरिष्ठ प्रहरी नायब निरीक्षक मिलनकुमार सिंहले जानकारी दिएका छन् । उनका अनुसार सवारी दुर्घटना न्यूनीकरण गर्न लागी चालक र सहचालकको स्वास्थ्य परीक्षण गरेर चिकित्सकको पुर्जीअनुसार उनीहरूलाई अत्यावश्यक औषधि निःशुल्क वितरण थालिएको हो । ‘सवारी दुर्घटनाको कारणमध्ये चालकको लापर्बाहीमा उसको स्वास्थ्य अवस्था प्रमुख समस्या पाइएपछि शिविर सञ्चालनमा ल्याइएको हो ।’ उनले भने, ‘परीक्षणमा सम्लग्न स्वास्थ्यकर्मीले चालक–सहचालको आँखा, ब्लडप्रेसरलगायतको अवस्थालाई प्राथमिकता दिएर परीक्षण गरिएको छ ।’

ट्राफिक प्रहरीले यसअघि ‘चालकसँग दुई मिनेट’ कार्यक्रममार्फत यात्रामा रहेका चालकलाई रोकेर ट्राफिक नियम तथा जनचेतना जगाउँदै आइरहेको थियो । उक्त कार्यक्रम प्रभावकारी भए पनि चालकले गाडी रोकर बस्न बाध्य बनाएकोजस्तो प्रतिक्रिया देखाएपछि उक्त अभियानलाई समेत सहयोग पु-याउने उद्देश्यले परिस्कृत स्वरुपमा स्वास्थ्य शिविर सञ्चालनमा ल्याइएको हो । यात्रुबाहक सवारी साधनको चालक र सहचालकले यात्रुलाई सेवा पु-याउने क्रममा आफ्नो घरमा समेत पुग्न नसक्ने, स्वास्थ्य जाँच गराउन समय दिन नसक्ने तथा स्वास्थ्य समस्या देखिएपनि गाडी चलाएर आउजाउ गर्दा बाँसस्थान परिवर्तनले नियमित औषधि सेवन गर्न नपाएको समस्यालाई समेत शिविरबाट लाभ पुग्ने प्रहरीले जनाएको छ ।

पछिल्लो एक महिनादेखि सबै किसिमका सवारी साधनको पाटपुर्जाको अवस्था जाँच सुरु गरेको ट्राफिक प्रहरीले गएको आइतबारदेखि सुरु गरेको चालकको स्वास्थ्य परीक्षण शिविरलाई नियमितरुपमा अघि बढाउदै लैजाने जनाएको छ । 

स्वास्थ्य परीक्षणको लागि सापकोटा मेडिकल हल तथा पोलिक्लिनिक बट्टारले स्वास्थ्यकर्मी र आवश्यक औषधि निःशुल्क उपलब्ध गराएको छ । शिविरमार्फत चालक र सहचालकको स्वास्थ्य परीक्षणसहित उनीहरूलाई ट्राफिक नियमसम्बन्धीको जानकारी गराउने र सोही समयमा सवारी साधनको पाटपुर्जासमेत जाँच गरिने ट्राफिक प्रहरी प्रमुख सिंहले बताए । 

ट्राफिक सचेतना कार्यक्रम


त्रिशुली । बढ्दो सवारी दुर्घटना न्यूनीकरण गर्न राष्ट्रिय युवा संघ नेपाल नुवाकोट र नुवाकोट ट्राफिक प्रहरीको आयोजनामा जनचेतनामुलक कार्यक्रम भएको छ ।

युवाको लागि ट्राफिक प्रहरी मेरो साथी भन्ने नाराको साथ भएको उक्त कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायव निरिक्षक मिलनकुमार सिंहले ट्राफिक नियम चिह्न तथा संकेतहरू, सवारी चलाउँदा सवारीमा यात्रा गर्दा अवलम्बन गर्नुपर्ने सुरक्षा सतर्कता, सवारीसाधनको सुरक्षा र चेकजाँच लगायतका सडक दुर्घटना पुर्व सुरक्षित रहन अपनाउनुपर्ने उपाय बारेमा जानकारी दिए ।

त्रिभुवन त्रिशुली माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा ११ र १२ मा पढ्ने विद्यार्थीहरूलाई जोखिम नियन्त्रण तथा दुर्घटना कम गर्न ट्राफिक नियम सम्बन्धि जानकारी दिन उक्त कार्यक्रम गरिएको संघका अध्यक्ष प्रज्वल सापकोटाले जानकारी दिए । युवामाझ ट्राफिक नियम सम्बन्धि कम ज्ञान हुने र सवारी दुर्घटना हुनबाट पुर्वसचेत रहनको लागि एक दिने कार्यक्रम गरिएको उनले बताएका छन् । 

कार्यक्रम विद्यालयको व्यवस्थापन समिति, आखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) र जिल्ला प्रहरी कार्यालयको सहयोगमा भएको उनले जानकारी दिए ।

प्रेस सेन्टरको १९ औँ स्थापना दिवस


विदुर । गएको आइतवार प्रेस सेन्टर नेपालको १९ औँ स्थापना दिवस तथा वार्षिकोत्सवको अवसरमा नुवाकोटमा अन्तरक्रिया कार्यक्रम भएको छ ।

कार्यक्रममा नेकपा माओवादी केन्द्र नुवाकोटका संयोजक पुष्प लामिछानेले स्थापना कालदेखि नै प्रेस सेन्टरले पछाडि पारिएका वर्ग र श्रमजीवि पत्रकारको मुद्दालाई सदैव प्रमुखताका साथ उठाउँदै आएको बताएका छन् । निकै चुनौतीपूर्ण समयमा संगठन स्थापना भएको उल्लेख गर्दै उनले एक हातमा वम र एक हातमा कलम लिएर जानुपर्ने अवस्थामा पनि क्रान्तिकारी पत्रकारहरूले शोषित पीडित जनताको मुद्दालाई सदैव प्रधानताका साथ अगाडि बढाएको बताए । 

शाहीकालमा मूलधारका भनिएका मिडियाहरू राज्यसत्ताको प्रत्यक्ष नियन्त्रणमा सञ्चालन हुनुपर्ने अवस्थामा क्रान्तिकारी पत्रकारहरूले जनताको आवाज बुलन्द बनाएको लामिछानेले स्मरण गरे । वर्गसंघर्षको रूप फेरिएको उल्लेख गदै उनले अहिलेको अवस्थामा झन् चनाखो बन्नुपर्ने आवश्यकता औँल्याएका छन् । परिवेश र संघर्षको स्वरुप बदलिएको उल्लेख गर्दै उनले क्रान्तिकारी पत्रकारहरूको लक्ष्य भने नबदलिएको बताए । क्रान्तिकारी पत्रकारहरूले जनतासंग जोडिने, आलोचनात्मक र रचनात्मक चेतका साथ जनतातर्फ फर्केर कलम चलाइरहनुपर्ने उनको भनाई छ ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य ध्रुबकुमार रावलले संगठन स्थापना हुँदाको लक्ष्य अहिले हेर्दा पनि नछाडेको उल्लेख गर्दै हिजोको तुलनामा आज अझ भूमिका बढाउनुपर्ने स्थिति आएको बताएका छन् । बदलिएको परिस्थितिमा पनि शोषित पीडित जनताको पक्षमा निरन्तर उभिन प्रेस सेन्टरमा आवद्ध पत्रकारहरूलाई उनले सुझाव दिएका छन् । त्यस्तै, श्रमजीवि पत्रकारको समस्या बढेको भन्दै साना लगानीका मिडिया र श्रमजीविको समस्या समाधानमा थप सशक्त बन्न समेत उनले आग्रह गरे । 

प्रेस सेन्टरका केन्द्रीय सदस्य बद्री प्याकुरेलले संगठनको स्थापनाको १९ वर्षमै संगठन हस्तक्षेपकारी भूमिकामा पुगेको उल्लेख गर्दै आगामी दिनमा थप सक्रिय हुनुपर्ने बताएका छन् । सामान्य रुपमा स्थापना भएको संगठन अहिले निकै विशाल भएको उल्लेख गर्दै उनले सोही अनुसार चुनौती पनि बढेको उल्लेख गरे । तर, आफूहरू अविचलित रूपमा आफ्नो लक्ष्यमा अडिग रहने उनको भनाइ छ ।

नेपाल पत्रकार महासंघ नुवाकोटका अध्यक्ष कपिलदेव खनालले प्रेस सेन्टरले श्रमजीवीको पक्षमा आफूलाई सतिसाल जस्तै उभ्याइरहेको उल्लेख गर्दै धन्यवाद ज्ञापन गरे । उनले प्रेस सेन्टरले छोटो समयमा ठूलो उपलब्धी हासिल गरेको भन्दै यसमा योगदान दिनेहरूलाई बधाई दिएका छन् । प्रेस सेन्टरको बागमती प्रदेश उपाध्यक्ष समेत रहेका खनालले संस्थाको स्थापनाको १९ औँ वर्षमा संगठन सुदृढ भएको र थप सुदृढ बनाउनुपर्ने विचार व्यक्त गरे । संगठनले उठाएका मुद्दा थप मजबुत बनाउन लागिरहनुपर्ने उनको भनाइ छ ।

अन्तरक्रिया कार्यक्रममा प्रेस युनियन नुवाकोट शाखा अध्यक्ष नवराज सुवेदीले जनपक्षिय पत्रकारहरूको छाता संस्था प्रेस सेन्टरले नागरिकको पक्षमा अझ सक्रियताका साथ पत्रकारिता गर्नुपर्ने बताएका छन् । उनले नुवाकोटमै पनि प्रेस सेन्टरले संगठनात्मक रुपमा आफुलाई गरेको विकासले सकारात्मक र गुणात्मक पत्रकारिता हुनेमा विश्वास व्यक्त गरेका छन् । 

प्रेस चौतारी नेपाल नुवाकोट अध्यक्ष नवदीप श्रेष्ठले युद्धकालिन बेलामा स्थापना भएको प्रेस सेन्टर अहिलेको अवस्थासम्म आइपुग्दाको आरोह अवरोह साच्चिकै लोभ लाग्दो रहेको बताए । पत्रकारहरूलाई पेशामै टिकाइराख्न, पेशालाई थप मर्यादित पार्नका लागि प्रेस सेन्टरले नुवाकोटमा खास भुमिका खेल्न सक्ने उल्लेख गर्दै सहकार्य र समन्वयको पक्षबाट प्रेस सेन्टरले नेतृत्वदायी भुमिका खेल्ने उनले विश्वास ब्यक्त गरेका छन् । 

प्रेस सेन्टर नेपाल नुवाकोटका अध्यक्ष रामहरि गजुरेलले संगठनको १९औँ स्थापना दिवसको अवसरमा सबैलाई शुभकामना व्यक्त गरे । कृष्ण सेन ’इच्छुक’लगायत महान शहीद र मिलन नेपालीलगायत बेपत्ता योद्धाहरूले देखाएको बाटोमा आफूहरू अविचलित रूपमा लागिरहने दृढता उनले व्यक्त गरे । उनले माघ १ गते पोखरामा यती एयरलाइन्सको विमान दुर्घटनामा परी निधन भएका प्रेस सेन्टरका केन्द्रीय उपाध्यक्ष तथा गण्डकी प्रदेश इन्चार्ज त्रिभुवन पौडेल र पोखरा महानगर कमिटी सदस्य अनिल शाहीलाई स्मरण गर्दै उनीहरूप्रति सम्मान व्यक्त गरेका छन् ।

छ महिनामा ट्राफिक जरिवाना ७० लाख

विदुर । नुवाकोटमा सडक विस्तार र सवारीसाधनको संख्या वृद्धिसँगै ट्राफिक नियम उल्लंघन गर्नेको संख्यामा वृद्धि भएको छ । 

जिल्लामा चालू आवको छ महिनामा ट्राफिक प्रहरीको सक्रियता बढिरहेको छ । ट्राफिक कार्यालय नुवाकोटको सक्रियता वृद्धिसँगै चालू आवको छ महिनामा ट्राफिक कारबाहीमा पर्नेको संख्या, जरिवाना र राजस्व बढेको छ । यो अवधिमा सवारी कसुर बमोजिमको कारबाहीबाट ७० लाख १५ हजार राजस्व संकलन भएको छ ।

ट्राफिक कार्यालय नुवाकोटले न्यून जनशक्तिको बाबजुद पनि सचेतनाको कार्यक्रम र आकस्मिक चेकजाँचलाई भने निरन्तरता दिइरहेको छ । जिल्लाको १३ वटा विद्यालयका आठ सय २५ जना विद्यार्थीलाई ट्राफिक नियमबारे कक्षा सञ्चालन चालू आवको छ महिनामा दिइसकेको छ । 

नयाँ चालक एक हजार २२५ जनालाई जिल्लाको २५ स्थानमा ट्राफिक नियमको कक्षा, ४९५ जना यातायात व्यवसायी र चालकलाई प्रशिक्षण, ६ सयभन्दा बढी सर्वसाधारणलाई ट्राफिक सचेतनाको कक्षा सञ्चालन कार्यालयले गरेको थियो । 

कार्यालयले जिल्लाको विभिन्न स्थानमा त्रिशूली बचत तथा ऋण सहकारी संस्था त्रिशूलीबजारको सहयोगमा ट्राफिक सचेतनामूलक होर्डिङबोर्ड राखिसकेको छ । ट्राफिक जनचेतनाका लागि पर्चा पम्प्लेट र सवारीचालकको स्वास्थ्य चेकजाँच तथा सवारीसाधनको प्राविधिक परीक्षण सडकमै गरिरहेको प्रहरी वरिष्ठ नायव निरीक्षक एवं जिल्ला ट्राफिक प्रमुख मिलन सिंहले बताए । 

कार्यालयले जिल्ला प्रहरी कार्यालयसँग समन्वय गरेर दैनिक मापसे चेकिङलाई कडाइका साथ विभिन्न स्थानमा गरिरहेको समेत उहाँले जानकारी दिए । चालू आवको ६ महिनामा जिल्लामा मापसे गर्नेको संख्या २७६ छ । सबैभन्दा कम साउनमा ३२ जना र पुसमा बढी ८३ जना मापसे कारबाहीमा परे । यो अवधिमा २७ हजार ६ सय मापसे जरिवाना उठेको छ । छतमा यात्रु राख्ने १५ साधनबाट १५ हजार, ओभरलोड बोक्ने १६ सय ८८ वटाबाट १४ लाख ६७ हजार पाँच सय राजस्व संकलन भएको हो । 

सिटबेल्ट र हेलमेट नलगाउने सवारीसाधनका ६९८ चालकबाट चार लाख २८ हजार पाँच सय, कागजपत्र साथमा नबोक्ने सवारीचालक तीन हजार ५५२ बाट २४ लाख ३८ हजार पाँच सय, सवारीचालक अनुमतिपत्र नभएका एक हजार २०५ बाट ११ लाख ९५ हजार, बत्तीको अवस्था ठीक नभएको २८९ सवारीसाधनबाट १९ हजार, रूट परमिट नभएका ४६५ सवारीसाधनबाट चार लाख ६२ हजार ५०० राजश्व संकलन भएको छ । 

प्रयोजनविपरीत लगेज लोड बोक्ने १३८ सवारीसाधनबाट एक लाख ३८ हजार, सिट क्षमताभन्दा बढी यात्रु बोक्ने तीन सय ५० सवारीसाधनबाट तीन लाख १७ हजार पाँच सय र १७४ अन्य कारबाहीबाट ८७ हजार कसुरबमोजिमको राजस्व उठेको ट्राफिक कार्यालयले जानकारी दिएको छ ।

ट्राफिक नियम उल्लंघन गर्नेको संख्या घटाउने अभियानमा कार्यालय रहे पनि जनशक्तिको अभावमा सफल हुन सकेको छैन ।

दाङसिङमा सोनाम ल्होछार


तारकेश्वर । यस गाँउपालिकामा २८५९ औं सोनाम ल्होछार मंगलवार भव्य रुपमा मनाईएको छ । 

गाँउपालिकाको वडा नम्बर १ दाङसिङमा फँलाटे युवा परिवारले आयोजना गरेको कार्यक्रममा बागमती प्रदेशका सांसद राधिका तामाङले लोप हुदै गएको तामाङ जातीको कला, संस्कृति र भेषभुषा जगेर्नाका लागि स्थानीयस्तरबाटै पहल गर्नुपर्ने औल्याएकी छिन् । 

नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य समेत रहेका तामाङले विभिन्न जातजातीको आ–आफ्नै कला संस्कृति, भेषभुषा र रहनसहन भएकाले सबैले आफ्नो क्षेत्रबाट जगेर्नाको पहल गर्नुपर्ने बताइन् । 

कार्यक्रममा जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख रजिन्द्रबिक्रमसिंह ठकुरीले नेपालीहरूले मनाउने चाडपर्वहरू भड्किलो रुपमा मनाउने परम्परा बस्दै गएकाले आफ्नो क्षमता अनुसार मनाउँदै कला संस्कृति र नेपालीपन झल्काउन सल्लाह दिए । यस्तै, नेपाली काँग्रेसमा महाधिबेशन प्रतिनिधी एवं चिकित्सक संघका पुर्व अध्यक्ष डा. केदारनरसिंह केसीले तामाङ र गुरुङ जातीले मनाउदै आएको ल्होछार पर्वको छुट्टै महत्व रहेको बताउँदै नेपालमा विभिन्न जातजातीको कला संस्कृति, रहनसहन, भेषभुषा र रीतिरिवाज छुट्टाछुट्टै रहेकाले सबैको संरक्षणको लागि राज्यले बिशेष पहल गर्न‘पर्ने बताए ।

कार्यक्रममा तारकेश्वर गाँउपालिका अध्यक्ष शिव अधिकारीले आफ्नो पालिकामा सबै जातजातिको आआफ्नै महत्व रहेकाले गाँउपालिकाले गर्ने हरेक कार्यहरू बराबरी रुपमा गर्दै आएको बताए । साथै तामाङ समुदायका लागि गाँउपालिकाले बिशेष रुपमा हेर्दै आएको उनले बताएका छन् । कार्यक्रममा नेपाल तामाङ घेदुङका केन्द्रिय सचिव जयमान वाईवाले तामाङ समुदायले मनाउने पर्वहरूको छुट्टै पहिचान रहेको बताए । सचिव वाईवाले तामाङ समुदायहरूले मनाउने विभिन्न चाड पर्वलगायत, कला संस्कृति, रहनसहन, भेषभुषानै नेपालको पर्यटन क्षेत्रको प्रमुख आधार रहेको बताए । तामाङ समुदायहरूको कला संस्कृति, पहिरन र रहनसहनमा विदेशीहरूको मोह रहेकोले संरक्षणमा जोड दिनुपर्ने उनको भनाई छ । 

गाँउपालिकाका उपाध्यक्ष हरिप्रसाद रिमाल, विभिन्न वडाका वडा अध्यक्षहरू, नेकपा माओवादी केन्द्र तारकेश्वरका अध्यक्ष सोमबहादुर तामाङलगायते तारकेश्वर गाँउपालिकाको समग्र विकासको लागि सबै पक्षसंग जोडदार माग गरेका छन् । कार्यक्रममा बिभिन्न साँस्कृतिक कार्यक्रम सहित तामाङ नाच, तामाङ पहिरनलगायत तामाङ जातिको पहिचान प्रस्तुत गरिएको थियो ।   

रसुवागढी नाका खुल्यो

चिनियाँ नयाँ वर्षका कारण बन्द गरिएको रसुवागढी नाका बुधबारदेखि खुला गरिएको छ । ल्होसार पर्व अर्थात् चिनियाँ वर्षका कारण माघ ६ गतेदेखि रसुवागढी नाकाबाट सामान आयात तथा निर्यात रोकिएको थियो ।

चिनियाँ नयाँ वर्षका कारण रोकिएको सामान बुधबार बिहानदेखि आउन थालेको भन्सार कार्यालयले जनाएको छ । बुधबार बिहान ७ वटा र साँझ ७ वटा गरी १४ वटा चिनियाँ कन्टेनर सामान आयात गरिएको रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत नारायणप्रसाद भण्डारीले बताए । ल्होसार पर्व अर्थात् चिनियाँ नयाँ वर्षका कारण १२ दिनदेखि आयात रोकिएको थियो । शुक्रबार बिहान तयारी कपडा, रबर, प्लाष्टिकका जुत्ता चप्पल विद्युतीय जिप, जलविद्युत् आयोजनाका सामग्री लगायत वस्तु नाकाबाट आयात गरिएको हो ।

अहिले नाकाबाट दैनिक रुपमा १४ कन्टेनर मात्र सामान आयात भइरहेको छ । यस्तै नेपाली सामान पनि चीनतर्फ निर्यात हुन थालेको एक महिना पूरा भइसकेको छ । तीन वर्षपछि गत पुस १२ गतेदेखि मात्रै चीनतर्फ सामान निर्यात हुन थालेको थियो ।

निर्यात खुलेपछि अहिलेसम्म नेपालबाट ५१ कन्टेनर सामान चीनतर्फ निर्यात भइसकेको बताइएको छ । रसुवागढी नाकाबाट अहिलेसम्म करिब ७ करोड मूल्य बराबरको ५१ कन्टेनर सामान चीनतर्फ निर्यात भएको रसुवा भन्सारले बताएको छ । नाकाबाट सामान आयात–निर्यात गरिए पनि मानिसको आवतजावत भने अझै खुलेको छैन । कोरोना महामारीका कारण रसुवागढी नाकाबाट आयात–निर्यात प्रभावित भएको तीन वर्ष पूरा भइसकेको छ ।

२०७६ माघ १५ देखि नै रसुवागढी नाका भएर चीनबाट हुने आयात तथा निर्यात प्रभावित भएको थियो । पछिल्लो समय आयात–निर्यात खुलाइए पनि कोरोना महामारी सुरु हुनुभन्दा पहिलेको अवस्थामा अझै नपुगेको बताइएको छ । सुरुमा हिमपात र ल्होसार पर्वका कारण आयात–निर्यात बन्द भएको थियो भने पछि कोरोना भाइरस (कोभिड–१९) देखा परेपछि रसुवागढी नाका भएर चीनबाट हुने आयात–निर्यात थप प्रभावित भएको हो । साढे पाँच महिना भने कोरोना महामारीका कारण नाका ठप्प रह्यो । २०७७ असार २२ गतेबाट पुन सामान आयात सुरु भए पनि निर्यात ठप्प थियो । साथै आयात पनि कोरोना, पहिरो र हिमपातले नियमित हुने गरेको छैन ।

झिल्टुङ, अर्चलेकोट : नेपाल उपत्यका आक्रमणको आधार शिविर !

नारायण नेपाल

नुवाकोटको दक्षिण पश्चिममा पर्ने एक अग्लो थुक्कालाई कोटथुम्का भनिन्छ । त्रिशुली नदीले उत्तर पश्चिम घुमेर बगेको यो गाउँको प्राचीन नाम झिल्टुङ हो । कतिपयले त्यो थुम्को झिल्टुङकोट हो भनेर भन्ने गरेका छन् भने कतिपयले कोटको नामै एकीन हुन नसकेको तर्क गरिरहेका छन् । इतिहासको अध्ययन पर्गेल्दै केही तथ्यबारे यसलेखमा विमर्श गरिएको छ ।

लिच्छवीकालीन बस्तीमा खस मल्लको नजर

मध्यकालीन नेपाल सैन्य हिसाबमा कमजोर राज्यको रूपमा थियो । लिच्छवीकालीन बस्तीमा खस मल्ल शासकको नजर परेको पाइन्छ । खसहरूको आक्रमण र राज्यविस्तारको अभियानले पश्चिम कर्णाली प्रदेशमा नयाँ शक्तिशाली खस राज्यको उदयपछि तिनीहरूले पूर्वतिर आफ्नो प्रभाव फैलाउँदै लगेका तथ्य मध्यकालीन इतिहासमा पाइन्छ । हाल धादिङको थाक्रे गाउँपालिका साविक केवलपुर गाउँको लामीडाँडा क्षेत्रको बसाहडाँडामा फेला परेको लिच्छवीकालीन धु्रवदेव जिष्णु गुप्तको अभिलेख एक महत्वपूर्ण तथ्य हो । यो शिलालेखले त्रिशुली पूर्वको यो भूगोलमा भएको लिच्छवीकालीन आवाद वस्तीलाई प्रमाणित गरेको छ ।

लिच्छवीकालीन ‘नुप्पुन्न’ निक्कै पुरानो बस्ती भएको इतिहासमा उल्लेख छ । लिच्छवीकालीन इतिहासमा राजा वसुराजको नाम उल्लेख छ । उनीपछिको श्रीमहिदेवले यस क्षेत्रमा सुविधा उपलब्ध गराएको प्रसङ्गसमेत अभिलेखमा उल्लेख छ । लिच्छवीकालीन इतिहासमा राजा वसुराजको अस्तित्व रहेको प्रमाणित हुनु र त्यो शिलालेखमा वसुराजको प्रसङ्ग उल्लेख हुनुले इतिहासको तथ्य प्रमाणित गर्दछ भने त्यही वसुराजको दरबार वा भवन भएको डाँडा अपभ्रंश भएर कालान्तरमा बसाहडाँडा नामकरण भएको हुन सक्छ । अथवा त्यो शिलालेखमाथि रहेको बसाहचित्रले यो स्थानको नाम रहेको हुन सक्छ । ध्रुवदेव जिष्णुगुप्तको अभिलेख स्रोत योगी नरहरिनाथ, सन्धिपत्र संग्र्रह भाग १ र लिच्छवीकालीन अभिलेख संग्र्रह ः पुरातत्व विभाग पृ. ४१४–१८ मा उल्लेख छ ।

आजको काठमाडौंलाई नेपाल भन्ने बूढापाका अझै भेटिन्छन् । इतिहासको बारेमा उतिबेला नेपाल जाने पश्चिमी मूलबाटो स्वयम्भू, सीतापाइला रामकोट, भीमढुंगा देउराली हुँदै जाने बाटो नै प्रमुख थियो । त्यो बेलाको बाटोमा रहेका चिनोहरू आजसम्म उस्तै छ । यो खस सेनाका मार्गमा रहेका देउराली चौतारी, फाँटको पौवा, फेदीको पौवा, ढुंगे धारो, गढीको थुम्को, थपिन्थुम्को अहिले पनि इतिहासका चिनो हुन् ।

खस राज्य र त्यसको पूर्वी सिमानाबारे कहिले स्वतन्त्र र कहिले नेपाल उपत्यकाको अधिनमा रहेको यो क्षेत्रबारे केही भ्रम वा विवादास्पद तथ्य हुन सक्छ । तर पश्चिममा प्रभाव विस्तार गरेको खसराज्यको सिमानाबारे इतिहासकार डा.सूर्यमणि अधिकारीले लेख्नुभएको छ । उहाँका अनुसार, ‘खस राज्यको सिमानाबारे पूर्वमा त्रिशुली नदी रहेको थियो ।’ (अधिकारी, २०६०ः १५) । मल्लकालीन नेपालमा यो क्षेत्र नेपाल उपत्यकाको अधिनमा रहेको क्षेत्र हो भन्ने तथ्य मल्लकालीन इतिहासका तथ्य उजेल्ने लेखकहरूले उल्लेख गरेका छन् । इतिहासकार श्रीकृष्ण आचार्य लेख्नुहुन्छ, ‘बेलकोटगढीमा रहेको गढी किल्लाको पतन भएपछि तादी नदीभन्दा पारितर्फका नुवाकोट इलाकाका दक्षिण पश्चिम भेगमा रहेको लामीडाँडा इलाकासम्म कान्तिपुर राज्यका सम्पूर्ण भू–भागहरू गोरखा राज्यकै नियन्त्रणमा पर्न पुगे ।’ (नेपालका पछिल्ला मल्ल राजाहरूको अन्तकलह खण्ड एक ः श्रीकृष्ण आचार्य पृ. ११८ ।) लामीडाँडा क्षेत्र हाल केवलपुरमा फेला परेको लिच्छवीकालीन शिलालेख अंशुवर्मा र नुवाकोटको ठकुरी वंशको शासनसँगै रहेको तथ्य मात्रै होइन, नुवाकोटतिर भेटिएको लिच्छवीकालीन संरचना र इतिहासको क ख नजानेका बुढापाकाको जनश्रुति किन मिल्छ होला ? त्यो खोज अनुसन्धानको विषय हो ।

खस मल्लद्वारा नेपाल उपत्यकामा आक्रमण

पश्चिमका खस मल्ल शासकहरूद्वारा नेपाल उपत्यकामा बारम्बार आक्रमण गरेका तथ्य इतिहासमा उल्लेख छ । गोपाल वंशावलीको पत्र उल्लेख गर्दै वि.सं. १३४४ देखि १३९१ सम्म सात पटक खस सम्राटहरूले उपत्यका आक्रमण गरेका थिए । इतिहास अध्येता डा.सूर्यमणि अधिकारीका अनुसार खस मल्ल राजा जितारी मल्लका पालादेखि नेपाल उपत्यका आक्रमण गर्न थाले (अधिकारी, २०६०ः ११) । त्यसबेला खस सेनाहरू पश्चिमबाट वि.सं. १३४४ मा पहिलोपल्ट नेपाल उपत्यका पसेका थिए । त्योबेला आठ सय सेनालाई स्वयम्भूमा सिध्याएर सबै वन पसेपछि खस सेना फर्किएका थिए । त्यसपछि एक बर्षपछि उनै खस सम्राट जितारीको सेनाले गाउँमा आगो लगाएर उपत्यका कब्जा गरेर वि.सं. १३४७ मा आफ्नो देश फर्किएको तथ्य नुवाकोटको ऐतिहासिक रूपरेखा पुस्तकमा उल्लेख छ । पश्चात्ख शियाववः । राजा जयतारि प्रथम प्रबिष्ट ः सम्वच्छर चारी सय आठ पौषमासे साह्यगुस्थाने खशिया अबुठ शय पातयित्वा, राष्ट्र सर्व वने सेवितम् तेन पालियतम् लोक स्वस्थेत स्वस्थानस्थितम् । तस्य सम्वच्छर प्रवर्तते फाल्गुन मास शुल्क त्रयोदशी । पुनःद्वितीय जयतारी प्रविष्टः । ग्रामादि अग्निदाह कारेति स्येगुचेत प्रस्थयति  (बज्राचार्य र श्रेष्ठः २०३१, २७) ।

यो आक्रमणपछि खस राजा रिपु मल्लको अल्पअवधिको शासन चलेको थियो । त्यसपछि जितारी मल्लको छोरा आदित्य मल्ल सिञ्जाको राजगद्धीमा बसेको इतिहासमा उल्लेख छ । उनले नेपाल आक्रमण गरेको तथ्य इतिहासमा फेला परेको छ, आदित्य मल्लको पालामा खस सेनाले दुईपटक नेपाल उपत्यका आक्रमण गरेका थिए । (अधिकारी, २०६०ः १३) । वि.सं. १३७७ र वि.सं. १३८५ मा खस राजा आदित्य मल्लले नेपाल उपत्यका आक्रमण गरेका थिए भन्ने अधिकारीले उल्लेख गरेका छन् । त्यस अतिरिक्त पुण्य मल्लको पालामा वि.सं. १३९१ सम्म नेपाल उपत्यका आक्रमण भएको पाइन्छ ।

एक वर्षपछि लगत्तै आक्रमण गर्ने जितारीका सेनाहरूले शक्ति सञ्चय गर्न सिञ्जा पुगे होलान् कि नजिकै कुनै स्थानमा किल्ला खडा गरेर बसे होलान् ? त्यो खस मल्लकाल सँगको साइनो जोडिएको त छैन अचलैकोटको मौलोमा ? यो ऐतिहासिक खोजीको पक्ष हो । त्यतिबेला राजा र उनका सेनाहरूले कुन बाटोबाट उपत्यका प्रवेश गरे होलान् ? कहाँ कहाँ बसेर युद्धको तयारी गरे होलान् ? इतिहासमा खस साम्राज्यको विस्तारमा नेपाल उपत्यकाको आक्रमण पूर्वतयारीको किल्ला कुन कुन थियो होला ? कतै इतिहासको यी गुमनाम तथ्यहरू यही नुवाकोटको माटोमा त बिलाएको छैन ? खोज उत्खनन जरुरी छ ।

आजको काठमाडौंलाई नेपाल भन्ने बूढापाका अझै भेटिन्छन् । इतिहासको बारेमा उतिबेला नेपाल जाने पश्चिमी मूलबाटो स्वयम्भू, सीतापाइला रामकोट, भीमढुंगा देउराली हुँदै जाने बाटो नै प्रमुख थियो । त्यो बेलाको बाटोमा रहेका चिनोहरू आजसम्म उस्तै छ । यो खस सेनाका मार्गमा रहेका देउराली चौतारी, फाँटको पौवा, फेदीको पौवा, ढुंगे धारो, गढीको थुम्को, थपिन्थुम्को अहिले पनि इतिहासका चिनो हुन् ।

इतिहासको अध्ययनमा फेला परेका तथ्यहरूसँग मिल्दाजुल्दा भग्नावशेष र जनश्रुतिहरू झिल्टुङको बस्तीमा रहेको पाइन्छ । त्यो लडाईंको आहान राजा–रानी भागेर लुकेको राजओडार रानीओडारसँगै त्यो लडाईंको मिथक ती ओडारको परिचयमा जोडिएको पाइन्छ ।

खस मल्लद्वारा नुवाकोट आक्रमण

मध्यकालीन नेपालको इतिहास अध्ययन गर्दा खसिया राजाहरूले गोर्खासम्म आफ्नो हातमा पारेका थिए भन्ने प्रष्ट तथ्य पाइन्छ । त्यतिबेला नुवाकोट भने नेपाल उपत्यका राज्यअन्तर्गत रहेको थियो । गोपाल वंशावलीमा नुवाकोटको चर्चा कर्णाली प्रदेशका खस राजा जितारी मल्लले नुवाकोट कब्जा गरेको प्रसङ्गमा आएको पाइन्छ । (बज्राचार्य र श्रेष्ठः २०३१, २७) । खसराजा जितारी मल्लले वि.सं. १३४४ तिर नेपाल उपत्यका आक्रमण गरे । 

यसपछि रुद्र मल्लले वि.सं. १३७४ मा नुवाकोट कब्जा गरेको इतिहासमा उल्लेख छ । मित्रताको नातामा नेपाल भ्रमण गर्न आएका खस राजा रिपु मल्लको यात्रासँगै खसहरूको नुवाकोट राज्यमा दृष्टि गढेको सुइँको पाएका रुद्र मल्लले नुवाकोटलाई राम्रोसँग कज्याएको प्रसङ्ग गोपाल वंशावलीमा उल्लेख भएको इतिहास अध्येता बज्राचार्यको ठहर छ । समस्त नेपाल श्री जयरुद्र मल्ल इवनुवकोट भुङ्तीप्रजंत राज कृतंम् । 

(बज्राचार्य र श्रेष्ठः २०३१ः ३३) । रुद्र मल्लको शासनकालमा नुवाकोट केन्द्र सम्मिलित थियो । र, त्यसपछि आदित्य मल्लको आक्रमणपछि नुवाकोट खस राज्यको मातहत भएको तथ्य पाइन्छ । खस राजा आदित्य मल्लले वि.सं. १३८४ को फागुनमा नेपाल उपत्यका आक्रमण गरेको र त्यो आक्रमणको पहिलो मार नुवाकोटमा परेको प्रसङ्ग इतिहासमा उल्लेख भएको छ । नुवाकोटको ऐतिहासिक रूपरेखा पुस्तककाअनुसार : उनको आक्रमणको पहिलो मार नुवाकोटमा पर्यो, केन्द्रले नुवाकोट थेग्न सकेन । यसो हुनाले सजिलोसँग नुवाकोटमा आदित्य मल्लको अधिकार जम्यो  (बज्राचार्य र श्रेष्ठः २०३१ः ३४) ।

इतिहासको अध्ययनमा फेला परेका तथ्यहरूसँग मिल्दाजुल्दा भग्नावशेष र जनश्रुतिहरू झिल्टुङको बस्तीमा रहेको पाइन्छ । त्यो लडाईंको आहान राजा–रानी भागेर लुकेको राजओडार रानीओडारसँगै त्यो लडाईंको मिथक ती ओडारको परिचयमा जोडिएको पाइन्छ । वयोवृद्ध समाजसेवी तथा पूर्वप्रधानपञ्च छविलाल श्रेष्ठ भन्नुहुन्छ, ‘त्यो कोटघर भन्दा तल एक खावा थियो, अहिले मासियो ।’ यहाँको कोट जात्रापर्व संस्कृति राजा शिशु मल्लको पालादेखि चलिआएको चलन हो भन्ने प्रचलन छ ।

लाखेजात्रा र कोट कटुवालले उल्लेख गर्दै आएको त्यो शिशु मल्लबारे इतिहासमा कुनै तथ्य फेला परेको छैन । तर कौशिकादि सन्तती पुस्तकमा पूर्णप्रकाश नेपालले लेख्नुभएको छ,  ‘पहिलोपल्ट मण्डन प्रवेश गर्दा सगोत्रबान्धव बसुदाखर बरालका हितमा कौमुदी र वसुपाध्याले सिन्धुकोटका राजा शिशु मल्लका रोहबरमा कोल्पुटार र बेत्रावती बिर्ता, मण्डन र पाचखालसँग सटापटा गरेका हुन् भन्ने जनश्रुति छ  (नेपालयात्री, २०४५ः १७८) । को हुन् शिशु मल्ल ? कहाँका राजा थिए ? कसरी कोल्पुटार बेत्रावती र सिपामण्डन बिर्ता सट्टापट्टा गरिदिए उनले ? भन्ने प्रश्न पनि उठ्न सक्छ । सिन्धुकोटका राजा सम्भवतः शिव मल्ल हुन सक्ने अनुमान सत्यको नजिक भएको तर्क छ पुर्णप्रकाश नेपालको (नेपालयात्री, २०४५ः १७८) । रिपु मल्ल भन्दा भन्दै शिशु भयो कि शिव मल्ल हुन् ? त्यो अन्योल नै रहेको छ । तर रोचक तथ्य के छ भने उनी को हुन् ? कहाँका राजा हुन् ? त्यो तथ्य इतिहासकारले उजेल्न सकेका छैनन् । तर उनै शिशु मल्लको आदेशमा चलेको चलन भन्दै अहिलेसम्म यो झिल्टुङको समाज र सभ्यतामा सांस्कृतिक सभ्यताको जीवितता उनै शिशु मल्लको आदेश हो भन्ने भेट्न सकिन्छ ।

खस मल्लद्वारा नेपाललाई झिल्टुङ बिर्ता

झिल्टुङ, अर्चलेकोट यही स्थानमा रहेको थियो भन्ने प्रमाणित एकीन पहिचान भएको छैन । झिल्टुङभित्र भएको विभिन्न स्थानको नामकरणलाई लिएर हेर्ने हो भने एक अर्चले भन्ने स्थान रहेको पाइन्छ । नेपालको अंशवण्डा हुने बेलाको जनश्रुतिको श्लोकमा समेत अर्चलेबारी अंशबण्डाको प्रसङ्ग उल्लेख छ ।

अर्चलेबारी, तितेपातीघारी, बेसी दाहालटारी, नेपालटारी ।

भालु खोलापारी दाहाल भान्जालाई पूर्णसारी

कान्तु र कुन्तुलाई आधा आधा पारी ।

नेपाल वंशावली खोज तथा पुनर्लेखन यात्रा दशकौँ देखिका अविराम यात्री रामप्रसाद नेपाल भन्नुहुन्छ, ‘त्यही अर्चलेबारीमा रहेको महादेव मन्दिर र धामीले गाडेको ढुङ्गो भएको क्षेत्रमा नै अर्चलेकोट रहेको हुन सक्छ ।) खस राजा जितारी मल्लका राजपुरेत विद्वान भास्कर पण्डितका सन्तानलाई राजा आदित्य मल्लले झिल्टुङमा बिर्ता दिएका थिए । त्यतिबेला धैवुपाध्य नेपाललाई खस राजा आदित्य मल्लले विर्ता दिएको इतिहासका तथ्यहरूमा स्पष्ट उल्लेख छ । 

खस सम्राट आदित्यमल्लद्वारा धैवुपाध्य नेपाललाई त्रिशुली र बेत्रावतिबीचको भूभाग झिल्टुङ, बरितुङ्ग आदि गाउँहरू बिर्ता दिए । त्यस भेगमा भृतसेनाका तैनाथवाला बनाएकाले धैवुका खलकहरू त्यस भेगमा फैलिएका (नेपालयात्री, २०४५ः १७८) ।

नेपालले बिर्ता पाएको यो स्थान र इतिहासमा खस सम्राटले नेपाल उपत्यकामा आक्रमण गरेको तथ्यलाई तुृलना गरेर हेर्दा वि.सं. १३७७ देखि वि.सं. १३८५ सम्म नेपाल आक्रमण गरेको खस राजा आदित्य मल्ल रहेको पाइन्छ । त्यो क्षेत्रमा रहेको युद्ध अवशेषहरू त्यही खस साम्रज्यकालीन नहोला भन्न सकिन्न ।

नुवाकोट भैरवीको धामीको अर्चलेकोट यात्रा

खस राजा रिपु मल्ल धार्मिक राजा भएको पाइन्छ । संस्कृति नै राज्यको मेरुदण्ड मान्ने खस राज्यको मान्यता थियो । रिपु मल्लले घण्ट चढाएको प्रमाण नुवाकोटमा रहेको घण्ट र शिलालेखले दिएको छ । 

श्रीरिपु मल्ल देवेन । 

सद्भक्तद्या दीपिका निदितयामि ।। 

प्रदत्ता पुण्यभावेज कुशलानि हि मे  सदा राज्यलक्ष्मीष्ठिरनश्चंवप्राप्त सिद्धि । 

नुवाकोट दरबारमा रहेको नारायण मन्दिरको अभिलेखबारे इतिहासकारको दाबी छ । 

ने.सं. ५६१ वि.सं. १४९८ मा भाद्रशुक्ल सप्तमी बुधवारका दिन दीपिका पानस चढाइएको उल्लेख छ । (बज्राचार्य र श्रेष्ठ, २०३१ः ४) । रिपु मल्ल १३६९–७० खस राज्यको राजा भएको देखिन्छ भने उनको नेपाल आगमन ने.सं. ४३३ वि.सं. १३६९ मा भएको तथ्य इतिहास अध्येता डा.अधिकारीले उल्लेख गरेका छन् (अधिकारी, २०६०ः १२) ।

झिल्टुङ अर्चलेका स्थानीय प्रेमबहादुर तामाङ भन्छन्, ‘मेरो हजुरबुवा पुर्णबहादुर तामाङले मलाई भन्नु भएअनुसार त्यो अर्चलेटारमा रहेको घण्ट धामीले चढाएको हो र त्यहाँ गाडेको ढुङ्गा धामीले गाडेको हो । यहाँको जात्रामा धामी आउने गरेको थियो ।’ झिल्टुङको अर्चलेटारमा लाग्ने मेला पर्वको चिनो रहेको छ टारको महादेव मन्दिर, देवीथान र धामीले गाडेको ढुङ्गा । विगतमा जस्तो मेलाजात्रा विस्तारै लोप हुँदै गएको छ । हिजो आज लगभग चहलपहल शुन्य छ यो टारतिर ।

उमेरले ९० वर्ष पुगेका पुर्णबहादुरकी बहिनी धनकुमारी तामाङलाई सम्झना भएअनुसार यो अर्चलेटारमा आउने धामी लिन उहाँका दाजु पुर्णबहादुर केही पर रहेको धामी रुम्टोसम्म जाने गरेका थिए । नुवाकोट भैरवीबाट देवीघाटमा आएको धामी धामीरुम्टोमा आइपुगेर नुहाएर कपडा फेरेपछि बाटोमा कपडा बिछ्याउँदै अर्चलेटारसम्म लैजाने गरेका थिए । भैरवी र अर्चलेकोटको यो सम्बन्धको पाटो के थियो र कसरी पूर्णविराम लाग्यो ? खोजीको अर्को सवाल हो ।

नामकरण र सांस्कृतिकरण

नुवाकोटमा रहेको भौतिक र अभौतिक प्रमाणको रूपमा यो नामकरणको सवाललाई लिन सकिन्छ । अर्चले, मालिकाथान, कामरु, देउराली, गढीको थुम्को, फाँटको पौवा इतिहासका अवशेषका केही प्रतीकमात्रै हुन् । राज्यशासनको जग नै संस्कृति हो भन्ने मानेर महत्व दिएका थिए खस राजाहरूले । त्यही आधार यो क्षेत्रमा रहेको अभौतिक सम्पदा, संस्कृतिलाई लिन सकिन्छ ।

७ सय झिल्टुङको आहान

प्राचीन कालमा राज्यहरूको बारेमा विभिन्न आहान बन्ने गरेका छन् । त्यस्तै ७ सय झिल्टुङको आहान त छैन तर कसैले ७ सय गाउँको राज्य हो भन्ने गरेका छन् भने कतिले ७ सय मुरी माटो । कति हो झिल्टुङ र कहाँसम्म थियो सिमाना ? भन्ने प्रष्ट सवालसमेत छैन भने सिन्धुकोटको राजाले बेत्रावती र कोल्पुटारसँग पाँचखाल र मण्डन साटफेर गर्ने ल्याकत राख्न सक्ने हो भने त्यो राज्य उपत्यका बाहेकमा उही सुनकोशी, बेत्रावती र लामीडाँडासम्म त थिएन ? भारतको छत्तिस लाख गाउँको, कान्यकुञ्ज देश, नेपाल एक लाख गाउँको देश भएको तथ्य छ भने ७ सय गाउँको झिल्टुङ राज्य हुन पनि त सक्छ । यो ७ सय झिल्टुङ भन्ने आहान कतै मिल्न पनि त सक्छ । भारतमा काव्यकुञ्ज देशको निर्माण गर्न छत्तिस लाख गाउँहरूको सहयोग थियो । यस्तो किटान पद्यपुराण एवं स्कन्द पुराणमा लेखिएको छ :

एकोलक्षन्तु नेपाले ग्रामत्तत्र प्रवर्तते ।

षड्स्त्रिंसल्लक्षमानन्तु कान्यकुब्जे प्रतिष्ठित ।।

पद्यपुराण पाताल खण्ड ४१ अध्याय २०१ पद्य, तत्कालीन नेपालको निर्माणमा एक लाख गाउँहरूको सहयोग थियो । यस्तो किटान पद्यपुराण एवं स्कन्दपुराणमा लेखिएको छ ,

एकोलाक्षश्च नेपाले ग्रामाणां परिकीतितः ।

षड्स्त्रिंसल्लक्षमानन्तु कान्यकुब्जे प्रर्कीतितम् ।।

(नेपालयात्री, २०४५ः १६६) ।

नेपालको इतिहासमा त्रिशुली नदी सभ्यताको र खस राज्यको इतिहासको बारेमा मिल्दोजुल्दो तथ्य धेरै रहेको पाइन्छ । कतै यो झिल्टुङको सभ्यताले पनि त्यही आदिम इतिहास त बोकेको छैन ? प्रमाणित इतिहासका तथ्यहरूलाई केलाएर विमर्श गर्न जरुरी छ ।

चिनियाँ रेशमी मार्गको इतिहासको त्यान्द्रो हाम्रो कुन भू–सतहमा थियो होला ? के नेपाल पक्षले यसको ऐतिहासिकताको अध्ययन गर्न सकेको छ ? दक्षिण चितवनको सोमेश्वरगढी र उत्तर रसुवाको रसुवागढीको किल्लाले सङ्केत गर्ने छिमेक सम्बन्ध र भू–राजनीतिक सम्बन्धको आयामका बारेमा यो माटोमा इतिहासका केही तथ्य रहेका हुन सक्छन् । 

समाजशास्त्रीय कोणबाट खोज जरुरी छ । विडम्वना, अनेक व्यवस्था फेरिए पनि हालसम्म झिल्टुङ गाउँको प्राचीन संस्कृति र इतिहासको तथ्यबारे एकीन अध्ययन, अनुसन्धान र प्रमाणिक अन्वेषण कार्य हुन सकेको छैन ।

न्दर्भ सामग्री : १. अधिकारी, सूर्यमणि । २०६० । बाइसे राज्यको इतिहास । २. नेपालयात्री, पुर्णप्रकाश । २०४५ । कौशिकादि सन्तति । काठमाडौंः नेपाल वंशज परिषद । ३. बज्राचार्य, धनबज्र र श्रेष्ठ, टेकबहादुर । २०३१ । नुवाकोटको ऐतिहासिक रूपरेखा ।  कीर्तिपुरः एसियाली अध्ययन संस्थान त्रिवि ।


२०७९ साल माघ २३ गतेको सम्पादकीय

खेलकुदमा स्थानीय सरकार

गएको हप्ता नुवाकोटको तीन वटा स्थानीय सरकारले बेग्लोग्लै खेलकुदका कार्यक्रम तथा प्रतियोगिताहरूको आयोजना गर्यो । तीन वटा पालिका, तादी, सुर्यगढी र शिवपुरीले खेलकुदका लागि गरेको खर्चकै मात्रै हिसाव पनि एकमुष्ठ रुपमा एक करोड हुन आउँछन् । स्थानीय सरकार विशेष गरी विकास निर्माणमा बढी जोडिनुपर्ने अपेक्षा नागरिहरूसंग रहने गरेको छ । उसोभए यसरी खेलकुदमा हुने खर्चलाई फजुल खर्च भन्न सकिएला त ? पक्कै पनि खेलकुदको महत्व र आवश्यकता फरक छ । तर त्यसलाई स्थानीय सरकारले प्रभावकारी रधारिलो रुपमा प्रस्तुत गर्नसक्नु पर्दछ । हामीले अन्तराष्ट्रिय स्तरका प्रतियोगिताहरूलाई हेर्ने केलाउने हो भने पनि खेलकुल अब राष्ट्र, समुदाय अनि गाउँको इज्जतसंग जोडिएको पाउन सक्छौं । त्यसबाहेक खेलकुद र देश जोडिएको अर्को विषय हो– देश विकास । सुन्दा अलिकति अनौठो सुनिएला, तर खेलकुद र देश विकासमा समानुपातिक सम्बन्ध छ । केही अपवादलाई छाड्ने हो भने संसारका धेरैजसो खेलकुदमा राम्रो गर्ने देशहरू सबैजसो विकसित देशहरू नै हुन्छन् । विकसित देशमा सरकारले खेलकुदमा राम्रो लगानी गरेको हुन्छ, त्यहाँका सबै जनता खेलकुदको फाइदाप्रति सचेत हुन्छन् । त्यसैले सानैदेखि उनीहरूमा खेलकुदप्रति रुची हुन्छ र पदक पाउनका लागि भन्दा पनि आफ्नो स्वास्थ्य राम्रो राख्नका लागि सबैले सानातिना भए पनि खेलकुदमा भाग लिइराखेका हुन्छन् । खेलकुदमा भाग लिँदा शारीरिक र मानसिक स्वास्थ्य राम्रो हुने नै भयो, जनता सामाजिक हुने भए । स्वस्थ र सामाजिक जनताको उत्पादकत्व अस्वस्थहरूको भन्दा बढी हुने नै भयो । अनि, उत्पादकत्व बढी भएमा देश विकास छिटो हुने नै भयो । त्यसको अतिरिक्त जुनसुकै खेलकुदमा पनि दुवै पक्षलाई मान्य हुने गरी नियमहरू बनाइएका हुन्छन् । त्यसैले खेलकुदमा भाग लिने मान्छेहरू नियम र अनुशासनले बाँधिएका हुन्छन् । उनीहरूलाई कानुनको सर्वोच्चता थाहा हुन्छ । उनीहरूले नियम मिच्ने काम गर्दैनन् । त्यसैले नियम मान्ने मान्छेहरूबाट स्वतः रुपमा कानुनको राज्य स्थापना गर्न सजिलो हुन्छ र कानुनी राज्य स्थापना भएमा देश विकासमा टेवा पुग्छ ।

त्यस्तै, हरेक खेलकुदमा अवसर अवसर छोप्न नसके परास्त भइन्छ । जो चनाखो हुन्छ र आएको राम्रो अवसरलाई खेर जान दिँदैन, उसैले खेलमा विजय हासिल गर्छ । खेलकुदमा भाग लिएका मान्छेहरूलाई जीवनमा त्यो पाठ लागु गर्न सजिलो पर्छ अनि जीवनमा आएका हरेक राम्रा अवसरहरूलाई उनीहरूले खेर जान दिँदैनन् । ती हरेक राम्रा अवसरहरूलाई पुरापूर उपयोग गर्ने व्यक्तिहरूले आफ्नो व्यक्तिगत र पारिवारिक विकाससँगै देशको विकासमा पनि टेवा पु-याएका हुन्छन् । देश विकास मात्र होइन, खेलकुदले राष्ट्रियता सुदृढ बनाउन पनि मद्दत गर्छ । हामीले देखेकै छौँ क्रिकेट या फुटबलको कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगिता हुन थाल्यो भने हिमालदेखि तराईसम्मका र पूर्वदेखि पश्चिमसम्मका युवायुवतीहरू गालामा नेपालको झन्डा टाँसेर नेपाली ‘टिम’लाई समर्थन गर्न र उनीहरूको हौसला बढाउन स्वतःस्फूर्त रुपमा निस्केका हुन्छन् । सागको फुटबल फाइनलमा नेपालको समर्थनमा दाशरथ रंगशाला उर्लेको भिडले त्यो कुरो पुष्टि गर्छ । ती युवायुवतीहरूलाई देख्दा थाहा हुन्छ, खेलकुदले राष्ट्रियता र राष्ट्रिय एकताका लागि पनि निकै महत्व पूर्ण योगदान दिएको हुन्छ । 

तर, नेपालमा अझैं पनि सरकार र जनताको तर्फबाट पनि खेलकुदको क्षेत्रमा गम्भीरतापूर्वक ध्यान दिएको पाइँदैन । जब प-यो राति, अनि बुढी ताती भनेझैँ जब–जब खेलकुदका आयोजना शुरु हुन थाल्छन्, अनि मात्र सरकार तात्छ र रङ्गशाला मर्मत गर्न थाल्छ, त्यो पनि विदेशीको सहयोगमा । तर, धेरै ढिलो भइसकेको छैन । यदि जनतालाई अनुशाशित तथा स्वस्थ राख्न अनि जनताको उत्पादकत्व बढाउनुछ भने सरकारले खेलकुदमा अहिले नै ठूलै लगानी गर्नुपर्छ । सागले हामीलाई खेलकुदप्रति सचेतना जगाएको छ, यही मौका छोपेर खेलाडीहरूलाई आकर्षिक गर्ने योजना ल्याउनु जरुरी छ । अहिले खेलकुदमा गरेको लगानीले कालान्तरमा देशलाई र जनतालाई निकै फाइदा पु-याउनेछ भन्नेमा दुई मत छैन । सरकारले अहिले नै खेलकुदका व्यवसायिक पाठशालाहरू खोल्ने, हरेक स्थानीय तहमा कम्तिमा पनि एउटा रंगशाला या कभर्ड हल खोल्ने, खेलकुदका सामग्रीहरू सुलभ बनाउने, व्यवसायिक खेलाडीहरूलाई समाजका अन्य सम्मानित र उच्च पारिश्रमिक पेशाजत्तिकै पारिश्रमिक दिने, अन्तरराष्ट्रिय स्तरमा राम्रो प्रदर्शन गर्ने खेलाडीलाई राज्यस्तरबाटै सम्मान प्रदान गर्ने, स्कुल देखि नै शारीरिक शिक्षालाई खालि देखाउन लागि मात्रको नभई व्यावहारिक रुपमा कडाइका साथ लागुगर्ने काम शुरु गर्नुपर्छ । 

२०७९ साल माघ २३ गते । वर्ष:१६ अंक:१७