Monday, February 20, 2023

‘सर’ माग्दै सडकमा

विषयगत शिक्षकको माग सहित तीन महिनादेखि हुननसकेको पढाईको जानकारी दिन भिमसेन माविका विद्यार्थीहरूले बट्टारको मुख्य सडकमा बुधवार गरेको प्रर्दशन । तस्बिर : केदार ढकाल

केदार ढकाल

बट्टार । लामो समयदेखि विषयगत शिक्षकको अभाव झेलिरहेको विदुर नगरपालिकाको वडा नम्बर २ बट्टारस्थित भिमसेन माध्यामिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूले गएको हप्ता सडकमै उत्रिएर प्रदर्शन गरे । 

बिषयगत शिक्षकको माग गर्दै उनीहरूले बुधवार बट्टारको मुख्य सडकसमेत तीन घण्टा अवरुद्ध पारे । विद्यार्थीहरू हातमा कापीकिताव लिएर सडकमा बसेर नाराबाजी गर्न थालेपछि तत्कालिन अवस्थामा त जिल्लाकै ध्यान त्यही तानियो । तर मागको सम्वोधन भने हुन सकेको छैन । बुधवार (फागुन ३ गते) देखि विद्यार्थीहरू दुई दिन ‘राम्रो पढाई हुने’ आशामा विद्यालय गए । दुई दिनदेखि भइरहेको लगातार सार्वजनिक विदाका कारण विद्यार्थीहरूले आफ्नो मागका बारेमा औचारिक रुपमा के भइरहेको छ भनेर जानकारी लिन पाएका छैनन् । 

कक्षाकोठामा पढिरहनुपर्ने बेलामा विद्यार्थीहरू सडक आन्दोलन गर्न थालेपछि विदुर नगरपालिकाका मेयर, वडा अध्यक्षहरू, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षा शाखाका अधिकृतहरू हस्याङ्फस्याङ गर्दै बट्टार पुगे । तर विद्यार्थीहरूको माग अनुसारको शिक्षक र गतिलो पढाईको आश्वासन भने पुरा हुन सकेको छैन । बुधवार विद्यार्थीहरूले गरेको प्रदर्शन र आन्दोलन पछि विद्यालय र पढाईमा राम्रो परिर्वतन आउने आशामा विद्यार्थीहरू थिए । तर आउनेहरू आए, भन्नका लागि के के भने, वडा अध्यक्ष र मेयरबीच झण्डै कुटाकुट भयो, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र जनप्रतिनिधिहरूले एकअर्कालाई सत्तोसराप गरे तर विद्यार्थीहरूले शिक्षक र विद्यालयमा पढ्ने वातावरण चाँही अझै पाउन सकेका छैनन् । 

विदुर नगरपालिकाको बेवास्ता र राजनीतिक खिचातानीका कारण आफ्नो विद्यलायको अवस्था दयनिय रहेको र तीन महिना भन्दा बढी समयदेखि पढाई समेत नभएको विद्यार्थीहरूले बताएका छन् । बर्षौदेखी दरबन्दी अनुसारको शिक्षक नहुनु र बिद्यालयको पढाईको अबस्था खस्किदै गएपछि एकाएक सडकमा उत्रिन आफुहरू बाध्य भएको विद्यार्थीहरूले बताएका छन् । हालको व्यवस्थापन समिति खारेजी, बिद्यालयको अनियमितता नियन्त्रणका साथै विषयगत शिक्षक उनीहरूको माग रहेको छ । 

बिद्यालयमा ३ वटा शिक्षकको पद रिक्त भएसंगै ब्यवस्थापन समितिले नगरपालिकालाई बारम्बार झकझकाउदा समेत नगरपालिकाले कुनै वास्ता नगरेको गरेको बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष उत्सव अर्यालले बताएका छन् । नगरपालिकालाई पटकपटक जानकारी गराउँदा समेत मेयर राजन श्रेष्ठले वास्ता नगरेको उनको आरोप रहेको छ । यता नगरपालिकाका प्रमुख राजन श्रेष्ठले भने विद्यालय ब्यवस्थापन समितिको अध्यक्ष अर्यालको कमजोरीका कारण बिद्यालयमा शिक्षकको पदपुर्ति गर्न नसकिएको बताएका छन् । मेयर श्रेष्ठले ब्यवस्थापन समितिका अध्यक्षलाई बैठकमा बोलाउदा नआउने र विद्यालयप्रति चासो नदिएको कारण शिक्षकको पदपुर्ती गर्न नसकेको आरोप लगाएका छन् । बिद्यालय ब्यवस्थापन समितिको लडाईले गर्दानै विद्यालय यस्तो परिस्थितिमा आईपुगेको विदुर नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष दिपक कायस्थले बताए । हालको ब्यवस्थापन समिति परिवर्तन गरेमात्रै स्कुलको अबस्था सुधार हुने वडा अध्यक्ष कायस्थको भनाई रहेको छ ।

विद्यालयले बिगत ४ बर्ष देखी बार्षिक प्रगती विवरण देखाउन नसकेको, शिक्षक ब्यवस्थापन गर्न नसकेको र बिद्यार्थीहरूको गुनासो बिद्यालयले सुनुवाई गर्न नसकेकोमा बिद्यालयकै कमजोरी रहेको भिमसेन माविका निमित्त प्रधानाध्यापक नारायणप्रसाद अधिकारीले बताए । उनले ब्यवस्थापन समितिकै कमजोरी र बिद्यालयप्रति विदुर नगरपालिकाले वास्ता नगर्दा बिद्यालयको हालत खराब भएको बताए । 

दुर्घटनामा श्रीमान् श्रीमतीकै निधन

बिहीवार चैनपुरमा भएको बस दुर्घटना

विदुर । नुवाकोटमा बिहीबार भएको बस दुर्घटनामा तारकेश्वर गाउँपालिकाकाका एकै परिवारका दुई जनाको ज्यान गएको छ । ३ जनाको मृत्यु भएको उक्त बस दुर्घटनामा २३ जना घाइते भएका छन् । 

तारकेश्वर गाउँपालिका भमराका ७८ वर्षिया रामप्रसाद अर्याल र उनको श्रीमती सीतादेवी अर्यालको निधन भएको हो । उनीहरू तारकेश्वर गाउँपालिकाका नेपाली काँग्रेसका सभापति केशवराज अर्यालका बाआमा हुन् । मृत्यु हुने थप एक जनामा विदुर नगरपालिका ३ का ६३ वर्षीय बाबुराम दर्जी नेपाली छन् ।  


विदुर नगरपालिका ४ बट्टारबाट तारकेश्वर गाउँपालिका वडा नं. १ दाङसिङतर्फ जाँदै गरेको बा २ ख ८४५ नम्बरको बस विदुरको चैनपुरमा दुर्घटना भएको हो । दुर्घटनामा परी अन्य २३ जना घाइते भएका थिए । बस सडकबाट २० फिट तल खसेको थियो । 

यसै बीच, बिहीवार नै नुवाकोटमा भएको अर्को सवारी साधन दुर्घटनामा परी ४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जानकारी दिएको छ । दुप्चेश्वर वडा नं. ३ र ६ को सिमानामा पर्ने दोरदोरे खोल्चामा बोलेरो जिप दुर्घटनामा परेको हो ।  

संसारकै ठुलो खुकुरी महोत्सवमा

सातौं नुवाकोट महोत्सवमा प्रर्दशनीको लागि राखिएको ६३ किलोको खुकुरी । तस्बिर : इमेज

पिपल्टार । सातौं नुवाकोट महोत्सवको आठौं दिन शुक्रवार महोत्सव प्रवेश गर्ने मुख्य गेटमा आइपुगेर एउटा ट्याक्टर रोकियो। ट्याक्टरबाट ओर्लिएका तुलबहादुर विकले जब खुकुरी बोक्न अर्को मान्छे बोलाउन थाले अनि गेटमा जम्मा भएका अन्य मानिसहरू अलमलमा पर्न थाले । १० फिट लम्बाई रहेको फलामको खुकुरी दुई जानले मुस्किलले बोकेर स्टिलसम्म पु-याएका तुलबहादुर विकलाई अहिले त्यही खुकुरीसंगै बसेर दर्शकलाई फोटो खिचाउनमै भ्याइनभ्याई छ । 

लिखु गाउँपालिका वडा नं. २ लब्धुका तुलबहादुर विकले तयार गरेको ६८ किलाको उक्त फलामको खुकुरी अहिले नुवाकोट महोत्सवको मुख्य आकर्षणमा परेको छ । महोत्सवकै लागि भनेर डेढ महिनादेखि घरमै निर्माण भइरहेको उक्त खुकुरी विकले शुक्रवार मात्रै महोत्सव स्टलमा ल्याएका हुन् । ‘अझै धेरै काम बाँकी छ, यो खुकुरीमा, तर महोत्सव आधाआधी भइसक्यो भनेर हत्तार गरेर ल्याए’ उनले इमेज साप्ताहिकसंग भने । 

अहिलेसम्म ४० किलोको मात्रै खुकुरी बनेको सुनेका विकलाई जीवनमा सबै भन्दा ठूलो खुकरी बनाउने रहर थियो । तर त्यसलाई कसरी बनाउने र कहाँ प्रदर्शन गर्ने भन्ने सोचिरहेका तुलबहादुर बिकले दुई महिना अघि सातौं नुवाकोट महोत्सव हुने जानकारी पाए । उनलाई वर्षैदेखि लागेको ठूलो खुकुरी बनाउने र दुनियाँलाई देखाउने रहर पुरा गर्नका लागि यही महोत्सवलाई प्रयोग गर्ने हुटहुटी चल्यो र ‘संसारकै ठुलो खुकुरी’ बनाउन जुटे । उनले आफ्नो परिवारका सदस्यहरूको साथ लिएर यो खुकुरी बनाएका हुन् । 

२०६३ सालबाट सुरु भएको नुवाकोट महोत्सबदेखि नै आफ्नो सिर्जनालाई स्टलमा राखेर देशदुनियाँलाई देखाउँदै आएका तुलबहादुर बिकलाई अहिले यही संसारकै ठुलो खुकुरी भनिएको ६८ किलोको फलामे खुकुरीले चर्चामा ल्याएको छ । अहिले उक्त कुखुरीको माग धेरैले गरेका छन् । महोत्सव आयोजक संस्थादेखि विभिन्न व्यक्ति र संस्थाले उक्त खुकुरी आफ्नो लागि विक्रि गर्न आग्रह गरिरहेको उनले बताए । अन्तराष्ट्रिय प्रर्दशनीका लागि समेत उक्त कुखुरीको माग आएको विकले सुनाए । खुकुरीको मुल्य यत्तिनै भनेर नतोकिएको र अझै यसमा निर्माणको काम बाँकी रहेको उनको भनाई रहेको छ । 

यो खुकुरी तयार गर्न नै ७०/८० हजार रुपैयाँ खर्च भइसकेको उनको अनुमान छ । नुवाकोट महोत्सवको २१२ नम्वरको स्टलमा लिखु–२ लब्धुका तुलबहादुर विकले तयार गरेको ‘संसारकै ठुलो खुकुरी’ राखिएको छ । 

७५ हजारले गरे महोत्सवको अवलोकन

पिपल्टार । सातौं नुवाकोट महोत्सवको हालसम्म ७५ हजार दर्शकले अबलोकन गरेका छन् । माघ २७ गतेदेखि फागुन ७ गतेसम्म १० दिनको अवधिमा उक्त संख्यामा दर्शकहरूले महोत्सव अबलोकन गरेको नुवाकोट उद्योग बाणिज्य संघका द्धितिय उपाध्यक्ष सन्तोष उप्रेतीले जानकारी दिएका छन् । महोत्सव अझै तीन दिन सञ्चालन हुने छ । महोत्सवको समापन बुधवार (फागुन १० गते) दिउँसो नेकपा माओवादी केन्द्रका पोलिटब्यरो सदस्य एवं नुवाकोट क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य हितबहादुर तामाङले गर्ने छन् ।  

बाघमारा : सुनको कचौरा

नुवाकोटको तादी गाउँपालिका वडा नंं ४ मा रहेको बाघमार

अधिवक्ता रामेश्वर भण्डारी

नुवाकोट  जिल्लाको पुर्बीभेग अन्तरगत तादी गाउँपालिका वडा नं. ४ सुन्दरादेबीमा अबस्थित बाघमारा साच्चिकै रमणिय अनि सुन्दर पर्यटन क्षेत्रको रुपमा चिरपरिचित ठाउँ हो । काठमाडौबाट टोखा छहरे मार्ग हुँदै करिव ३ घण्टा भित्रमा बाघमारामा पुक्न सकिन्छ । बाइपास ककनी हुँदै त्रिशुली निस्केर पनि पुग्न सकिन्छ त्यसै गरी काठमाडौ गल्छी त्रिशुली हुँदै पनि जान सकिन्छ । बाघमारा नुवाकोटको स्थानीय पर्यटन स्थलको रुपमा केहि बर्षदेखि चलन चल्तीको रुपमा आएको पाइन्छ । 

मुलुकको अहिलेको शासन ब्यबस्था संघीय अनि तीन तहको सरकारको अबधारणाले गर्दा आज बाघमारा जस्ता ठाउँको खोजिनीति हुने गरेको पाइन्छ ।

नुवाकोट जिल्लाको अतिनै सुन्दर ठाउँको रुपमा रहेको यो पर्यटन क्षेत्रलाई बिकास गर्ने हो भने त्यस क्षेत्रका ब्यक्तिहरू लगायत सिङ्गो नुवाकोट जिल्ला को आर्थिक सामाजिक रुपामा ठुलो टेवा पुग्ने देखिन्छ । तीन तहको सरकारले यस क्षेत्रलाई प्राथमिकतामा राखेर बिकास गर्न‘ पर्ने देखिन्छ । सातबिसे बाघमारा सडक २०५४ साल देखि सुरु गरेको पाइएता पनि जुन उद्देश्यको लागि सडक बनाउने काम गरिएको थियो त्यस उद्देश्यलाई आज सातबिसे बाघमारा सडक खण्डले पुरा गर्ने सकेको छैन । पाँच किलोमिटर बाटोलाई करोडौं लगानी गर्दा पनि आज सडकको गुणस्तरलाई हेर्दा निकै नै कमजोर अबस्थामा सडक रहेको छ । अहिलेसम्म पनि बर्षायाममा गाडी जान गाह्रो पर्ने अबस्थामा सडक रहेको देखिन्छ ।

२०५४ सालको गाउँ बिकासमा जसरी पनि बाघमारामा बिकास गर्न‘ पर्छ भन्ने काउलेका  मानबहादुर तामाङ अनि रामेश्वर भण्डारी लगायतले नब युवा बिकास मञ्चको गठनगरि पर्यटन अनि कृषिमा जोड दिनु आबश्यता हो भनी रसुवा मुहान भएको सिचाइको ब्यबस्थापन गर्ने काम सेभद चिल्ड्रेन अन्तराष्ट्रिय गैरसरकारी संस्थाले गरेको थियो । त्यहाका किसान कृष्णप्रसाद सिटौला मानबहादुर तमाङ लगायत दर्जनभन्दा बढी किसानहरूले उच्च क्षेत्रमा अर्गानिक घिउसिमी लगाएत आलु जौउ लगायत कृषिको सुरु गरेको पाइन्छ ।

नब युवा कल्बले आफ्नो उद्देश्य अनुसार काम गर्न पाएन संस्था राजनीतिका कारण संस्थाले गति लिन सकेन । २०५७ सालसम्म सक्रिय रहेको संस्था पछि मुलुकमा भएको जनयुद्धको कारण बन्द हुन पुग्यो । अनि मानबहादुर तमाङ अझै बाघमारामा सपना देखिरहेका छन् अनि रामेश्वर भण्डारी भने काठमाडौंमा बाघमाराको सपना देखिरहेका छन् ।

साच्चिकै बाघमारा सुनको कचौरो हो हामी सुनको कचौरोलाई हातमा लिएर माग्न हिडिरहेका छौ । आज मुलुकले नयाँ मोड लिएको छ । सिंहदरवारको काम आज गाउँपालिकाले गर्न सफल भएको छ । बाघमाराको बिकासमा सबै भन्दा अगाडी गाउपालिकाले आफ्नो दायित्व पुरा गर्न‘ पर्ने हुन्छ । जुन स्थानीय सरकार उसको प्रमुख भुमिका त्यस क्षेत्रमा हुने गर्दछ । हामी सम्पुर्ण नुवाकोटबासीहरूको मात्र होइन कि यो क्षेत्रलाई बिश्वसामु पुराउनु पर्ने छ स्थानीय पर्यटन क्षेत्र मात्र होइन अन्तर्राष्ट्रिय पर्यटन क्षेत्र बनाउनु पर्नेछ ।

हामीले बाघमाराको लागि एउटा छुट्टै बिकास समिति बनाएर सरोकारवाला बिज्ञहरूको रोडम्यापमा काम गर्ने हो भने गाउँपालिका लगायत सिङ्गो जिल्लाको बिकासमा टेवा पुर्याउने काम बाघमाराले गर्ने छ । बाघमारा बास्तबमा सुनको कचौरा हो हामी बाघमारालाई चिन्ने प्रयास गरौ अनि बुझ्ने काम गरौ ।  

८० सालको चैते दसैं ८१ सालमा

८० सालको विदा क्यालेण्डर

विदुर । नयाँ वर्षमा हिन्दुहरूका सबैजसो चाड करिब १५ दिन पछाडि सर्ने भएका छन् । नयाँ वर्ष २०८० सालको दसैं कात्तिकमा पर्ने भएको छ । हरितालिका तीजको व्रत असोजमा पर्न गएको छ । 

२०८० सालको घटस्थापना असोज २८ गते हुनेछ । विजयादशमी कात्तिक ७ मा पर्ने छ । यो वर्षको घटस्थापना असोज १० मै परेको थियो । यसरी धकेलिने क्रममा २०८० सालमा चैते दसैं नै नहुने भएको छ । २०८० सालको चतुर्थी तिथिमै चैत्र मास सकिने भएकाले चैते दसैं २०८१ सालको वैशाखमा सर्ने भएको हो । 

त्यसै अनुरुप आउने वर्षको तिहार पनि करिब १५ दिन धकेलिने छ । साउनमा अधिक मास पर्न गएकाले सोही बमोजिम अरु चाड पछि सर्ने भएका हुन् । श्रावण कृष्णपक्ष असार १९ बाटै सुरु हुनेछ । साउन २ देखि १६ गतेसम्म अधिक श्रावण कृष्णमास सुरु हुन्छ । फेरि साउन १७ देखि ३१ सम्म अधिक श्रावण कृष्णपक्ष परेको छ । फेरि साउन ३२ देखि भदौ १४ सम्म श्रावण शुक्लपक्ष परे अनुसार पात्रो बदलिएको छ । असार १९ देखि भदौ १४ सम्म एउटै मास पर्न गएकाले यसलाई अधिक मास अर्थात् मलमास भन्ने गरिन्छ । भदौ १४ सम्म तिथिका आधारमा ‘श्रावण मास’ नै पर्ने भएको हुँदा आउने सालका सबै चाडहरू यो वर्षको भन्दा कम्तिमा पनि १५ दिन पछाडि धकेलिएका हुन् ।

फागुनमा मात्रै ११ दिन सार्वजनिक बिदा

विदुर । फागुन महिनाभर ११ वटा सार्वजनिक बिदा पर्ने भएका छन् । विभिन्न दिवस, पर्व र शनिबारीय सहित यो फागुन महिनामा मात्रै ११ वटा सार्वजनिक बिदा पर्ने भएका हुन् । 

फागुन १ देखिनै यो महिनाको सार्वजनिक विदा सुरु भएको थियो । सरकारले १ गते जनयुद्ध दिवसको बिदा दिएको थियो । ७ गते प्रजातन्त्र दिवस मनाइएको छ । शिवरात्री शनिवार परेकोले एक दिनको विदा अझ छलिएको छ । ९ गते ग्याल्पो ल्होछार, १५ गते मगर दिवस, २२ र २३ गते पहाड र तराईमा फागुपूर्णिमा तथा २४ गते नारी दिवसको बिदा छ । मगर दिवस राजपत्रमा प्रकाशित बिदामा सूचिकृत नभएपनि अधिकांश स्थानीयतहले बिदा दिने गरेका छन् । फागुन ६, १३, २० र २७ गते शनिबारको बिदा छ ।  

जिल्लामा प्रदेश सरकारको कार्यालय

विदुर । बागमती प्रदेश सरकारले १३ वटा जिल्लामा सेवा विस्तारका लागि कार्यालय खोल्ने गरी तयारी गरेको छ । 

सरकारले प्रदेशका १३ वटै जिल्लामा एकीकृत कार्यालय खोल्ने तयारीका लागि अध्ययन कार्यदल गठन गरेको छ । प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशका १३ वटा जिल्लामा एकीकृत सेवा सञ्चालनको लागि अध्ययन गर्न कार्यदल गठन गर्ने निर्णय गरेको प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री गङ्गानारायण श्रेष्ठले जानकारी दिए । समितिको संयोजकमा प्रदेशका प्रमुख सचिव मुकुन्द प्रसाद निरौला छन् । आवश्यकताका आधारमा मन्त्रालयका सचिवलाई कार्यदलको सदस्य नियुक्त गर्नेछन् ।

प्रदेश सरकारका योजना कार्यान्वयनमा भएका समस्या समाधानका लागि एकीकृत कार्यालय सञ्चालनको तयारी गिरिएको मन्त्री श्रेष्ठले बताए । प्रदेश सरकार मातहतको प्रशासनिक सङ्गठनहरू जिल्ला जिल्लामा नहुँदा योजनाहरू कार्यान्वयनमा जटिलता आएको र सम्बन्धित स्थानीय तहले पनि त्यस तर्फ चासो कम देखाउँदा ती योजनाहरू समयमा नै सम्पन्न हुन नसक्ने गरेको उनको भनाई छ । प्रदेश सरकारका सबै प्रशासनिक कार्यहरू हेटौँडा र काठमाडौंबाट मात्र संचालन हुँदा सेवाग्राहीहरू समस्यामा पर्दै आएकाले एकीकृत कार्यालय सञ्चालनको तयारी गरिएको उनले बताए ।

कार्यदलले अध्ययन गरेर मन्त्रिपरिषद्मा प्रतिवेदन बुझाएपछि  १३ वटै जिल्लामा  कार्यालय स्थापना गरी सेवा प्रवाह गर्ने छ । प्रशासनिक खर्च, सेवा प्रवाह लगायतका विषयमा अध्ययन गर्ने र आवश्यकताका आधारमा सम्बन्धित मन्त्रालयको मातहतमा रहने गरी कार्यालय खोल्ने सुझाव सहित प्रतिवेदन पेस गर्ने उनले बताए ।

कला/साहित्य

बेत्रावतीका कलाकार शशीकुमार डंगोलले तयार गरेको नुवाकोटको जिवित देवी कुमारीको चित्रकला । 


स्ट्रबेरी खेतीबाट वार्षिक ६ करोड

ककनीको स्ट्रबेरी खेती

कृष्ण थापा

नुवाकोट । ककनी गाउँपालिका २ तमभित्ताकी ३६ वर्षीया सूर्जेमाया तामाङको दिनचर्या स्ट्रबेरीखेतीमै बित्ने गरेको छ । उनी अहिले स्ट्रबेरी टिप्ने र घरमाथि ककनी–चाउथे ग्रामीण सडक छेउमा बसेर स्थानीय ठेकेदारहरूलाई ग्रेडिङ (सानोठूलो) छुट्याएर स्ट्रबेरी जोखेर दिने गर्छिन् । 

‘एक दिन बिराएर स्ट्रबेरी टिपिन्छ,’ उनले भनिन्, ‘टिपेको स्ट्रबेरी गाउँमै लिन आउँछन् ।’ जति बिरुवा लगाउन सक्यो उति फाइदा हुने उनी बताउँछिन् । ‘१० देखि १५ हजार बिरुवा रोप्न सक्यो भने ९/१० लाख रुपैयाँ आम्दानी हुन्छ,’ उनले भनिन्, ‘तर ६–७ हजार बिरुवा रोपेमा ३ लाख रुपैयाँ आम्दानी बस्छ ।’ कात्तिक, मंसिर, पुस र माघ चार महिना स्ट्रबेरीले राम्रो उत्पादन दिने उनी बताउँछिन् । उनले ३ रोपनीमा ७ हजार बिरुवा लगाएकी छन् । पुरानो फलेको बिरुवा हटाएर यहाँका किसानले नयाँ बिरुवा भदौमा सार्छन् । भदौमा रोपेपछि कात्तिकबाट उक्त बिरुवाले फल दिन थाल्ने उनले बताइन् । ‘कोदो ४० रुपैयाँ प्रतिकिलो भाउ पनि आउँदैन,’ उनले भनिन्, ‘स्ट्रबेरी त साना फलकै किलोको डेढ सय आउँछ भने ठूलोको प्रतिकिलो ३–४ सय रुपैयाँसम्ममा बिक्री हुन्छ ।’ मकै र कोदोभन्दा स्ट्रबेरीले फाइदा भएपछि लगाउन छाडिदिएको उनले बताइन् ।

सूर्जेमायाका २ छोरी र १ छोरा छन् । उनी एकल महिला हुन् । उनको श्रीमान्को हृदयघातका कारण मृत्यु भएको ३ वर्ष भइसकेको छ । त्यसपछि स्ट्रबेरीकै कमाइले बच्चा पढाउने खर्च धानेकी छन् । दुई छोरी ककनीको ब्राइटार स्कुलमा पढाएकी छन् । ‘सानी छोरी आयुष्मा कक्षा १ मा पढ्छे । छोरो अमृत १२ कक्षामा पढ्दै छ । ठूली छोरी अमृता ९ कक्षा पढ्दै छे,’ उनले स्ट्रबेरी टिप्दै भनिन् । उनले ३/४ सय बिरुवाबाट यो खेती थालेकी हुन् । ‘त्यतिबेला डेढ लाख रुपैयाँ आम्दानी भयो,’ उनले भनिन् । यहाँका किसानले नेहारा र तोची जातका स्ट्रबेरी लगाउने गरेको उनले बताइन् । उनका छिमेकी बलराम लामा २७ वर्षका युवा हुन् । उनले १० हजार बिरुवाको स्ट्रबेरीखेती गरेका छन् । एक दिन बिराएर ४०–४५ किलो स्ट्रबेरी उत्पादन गरेर बिक्री गर्छन् । ठेकेदारले ३ सय रुपैयाँ किलोका दरले गाउँबाट लैजान्छन् । ‘धान, मकै र कोदो एकमुरी बेच्दा पनि ३/४ हजार रुपैयाँ आउँदैन,’ उनले भने, ‘यो एक क्रेट बेच्दा ३/४ हजार आउँछ । फाइदा छ ।’

वैदेशिक रोजगारीभन्दा स्वदेशकै स्ट्रबेरीले कमाइ दिएको उनी बताउँछन् । ‘विदेशमा गए पनि दुःख गर्न‘पर्छ,’ उनले भने, ‘दुःख गर्दा यहीँ पैसा छ ।’ उनले पनि एक्लै यो खेतीबाट वार्षिक ५÷६ लाख रुपैयाँ कमाउने गरेको बताए । १४ सयदेखि १९ सय मिटर उचाइमा दक्षिणपूर्वी फर्किएको पाखोमा लगाए स्ट्रबेरी खेती फस्टाउने किसानहरूको अनुभव छ । गाउँकै स्थानीय ठेकेदारले गाउँमा फलाएका स्ट्रबेरी जम्मा गर्ने गरेका छन् । जम्मा गरेका स्ट्रबेरी ग्रेड छुट्याएर छुट्टै क्रेटमा राखिन्छ । ठूलो, मझौला र सानो गरी तीनथरि बनाएर जोखेपछि स्थानीय ठेकेदारले गाडीमा राखेर बजार पु¥याउँछन् । काउले, चित्रे र तमभित्तामा बढी तामाङ समुदायले अहिले यो खेती गर्छन् । स्ट्रबेरी खेतीलाई प्रोत्साहित गर्ने काम नभएको स्ट्रबेरी उठाउने स्थानीय ठेकेदार मेघबहादुर तामाङले बताए ।

उनले स्ट्रबेरी बेच्न थालेको ४/५ वर्ष भयो । यहाँ ३ सय रुपैयाँमा जोखेको स्ट्रबेरी बजारमा २ सय रुपैयाँमा पनि बिक्री भइरहेको उनी बताउँछन् । ‘ज्याला बस्छ, त्यति हो,’ मेघबहादुर तामाङले भने ।’ उनी मंसिरबाट चैतसम्म बिक्री गर्छन् । स्थानीय ठेकेदार र किसानको स्ट्रबेरी खेतीलाई पकेट वा जोन क्षेत्रको रुपमा विकास गर्न‘पर्ने माग छ । उत्पादित स्ट्रबेरी काठमाडौंको न्युरोड, कालीमाटी, पोखरा, नेपालगन्ज र भारतसम्म पुग्ने गरेको छ । सरकारले उत्पादित स्ट्रबेरीलाई बजारीकरण गर्ने र प्याकेजिङका लागि सहुलितपूर्ण यन्त्र खरिद गर्न र हवाई माध्यमबाट बाहिर निकासी गर्न सके किसान र बिक्रीकर्ताले राम्रो आम्दानी लिन सक्ने ठेकेदार मेघबहादुर र किसान बलराम तामाङले बताए ।

सुजिम बजारको शाखा विस्तार

त्रिशुली बजारमा भएको उद्घाटन समारोह

त्रिशुली । सुजिम बजारले त्रिशुलीमा आफ्नो पहिलो शाखा सञ्चालनमा ल्याएको छ । गएको शनिबार एक कार्यक्रमबीच विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठले उक्त बजारको उद्घाटन गरेका हुन् ।

कार्यक्रममा नगरप्रमुख श्रेष्ठले निजी क्षेत्रलाई स्थानीय सरकारले अघि बढाएको सार्वजनिक साझेदारी अवधारणा अन्तर्गत निजीलाई सँगसँगै लिएरमात्र राष्ट्रको विकास सम्भव हुने भएकोले स्वस्थ निजी क्षेत्रलाई प्रवद्र्धन गराएर कलकारखाना, उद्योग भित्र्याउन सक्षम रहने नगरप्रमुख श्रेष्ठले बताएका छन् । सुजिम जिल्लामा मात्र सिमित नभई राष्ट्रियस्तरको ब्राण्डमा विकास हुन शुभकामना व्यक्त गरेका छन् ।

त्रिशुली बाघटार कोलनीमा मुख्य कार्यालय रहेको सुजिमले उपभोक्ताको जीवनशैलीलाई ध्यानमा दिएर आधुनिक प्रविधिसहितको सामाग्री किनमेल गर्ने विकासको लागि शाखा विस्तार गरिएको बजारका प्रबन्धक सुजिम श्रेष्ठले बताए । निकट भविष्यमा जिल्लाका मुख्य बजार क्षेत्रमा आफ्नो शाखा विस्तार गर्ने लक्ष्य छ । स्थानीय तथा स्वदेशी उत्पादन सामाग्रीलाई प्राथमिकतामा राखेका छौं । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विभिन्न ब्राण्डका चार हजारभन्दा बढीका सामानहरू सुजिममा रहेको उनले जानकारी दिएका छन् ।

नुवाकोट, रसुवा र धादिङका उपभोक्ताहरूलाई व्यवसायिकमार्फत् उपभोग्य समान उपलब्ध गराउँदै आईरहेका जिल्लाकै प्रतिष्ठित व्यापारी शुक्रमान श्रेष्ठका तीन छोराहरूको नाम सुवर्ण, जीतेन्द्र र महेन्द्रको पहिलो अक्षरबाट सुजिम नाम रहन गएको सुजिम बजारका कार्यकारी निर्देशक जितेन्द्र श्रेष्ठले जानकारी दिए । 

बजारको आकर्षक ठाउँमा रहेको भुइँतल्लादेखि चौथौं तल्लासम्म बालबालिका, महिला र पुरुषको लागि आवश्यक खाद्य, पिय पदार्थ, शृंगार लगायतका 

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्रान्डका सामाग्रीहरू छन् । निश्चित सामानमा १० देखि २० प्रतिशत छुटको व्यवस्था छ । सुजिममा नगदसहित फोनपे, क्युआर र क्रेडिट तथा डेबिट कार्डद्वारा बिल भुक्तानी गर्न सकिने सुविधा रहेको छ ।

गीताका जीवनोपयोगी ६ श्लोक

विदुर फुँयाल

श्रीमद्भागवत गीतामा सात सयवटा श्लोक छन् । र, सम्पूर्ण गरेर १८ वटा अध्याय छन् । यसमा अर्ज‘नको विषाद योगबाट सुरु भएर मोक्ष सन्यास योगसम्म समेटिएका छन् । यसमध्ये सुरुको एउटा श्लोकले भन्छ, गीता अध्ययन गर्ने र प्राणायामको अभ्यास गर्ने मान्छेको यो जन्म मात्र होइन, पूर्वजन्मको पनि पाप नष्ट हुन्छ भनिएको छ । 

यसमा विज्ञान र मनोविज्ञान दुवै छ । खासमा गीताले मान्छेलाई शारीरिक, मानसिक, आत्मिक र सामाजिक रुपमा स्वस्थ हुने मार्गदर्शन दिएको छ ।

श्रीमद्भागवत गीतालाई कतिले धर्मसँग जोड्ने गरेका छन्, कतिले सम्प्रदायसँग । तर यो जीवन दर्शनको एक सर्वोच्च ग्रन्थ हो । गीताले जीवन र जगतलाई बोध गराएर सही र सन्तुलित जीवन बाँच्नका लागि बाटो देखाइदिन्छ । गीताको रचना नै रणभूमिबाट भएको छ । कुरुक्षेत्र मैदानमा अर्जुन र कृष्णजीबीच भएको संवादबाट गीताको रचना भएको भनिन्छ । अतः यसको सुरुवात हुन्छ, अर्जुन विषाद युगबाट ।

यहाँ रणभूमिलाई आजको संसारको रुपमा चित्रण गर्न सकिन्छ । अनि अर्जुनमा जुन किसिमको विषाद देखिएको छ त्यसलाई आजको हाम्रो विचलित मनको प्रनिनिधि मनोदशा मान्न सकिन्छ । यो संसार नै एउटा कुरुक्षेत्र हो । 

यहाँ आएपछि माया, मोह, घृणा, इष्र्या सबैकुराले हामीलाई पिरोलेको छ । हाम्रो खुसी र आनन्द दुर्लभ भएको छ । सबै मान्छे समस्या नै समस्याको घेराबन्दीमा छन् । त्यही कारण एउटा सुन्दर चोला लिएर जन्मिएका मान्छे आफैंलाई सिध्याउने मनोदशामा पुगिरहेका छन् । यिनै कुरामाथि श्रीकृष्णले दिएको सारभूत जवाफ नै श्रीमद्भागवत गीताको गुदी हो । अध्ययनले देखाएको छ, अहिले प्रत्येक ४० सेकेन्डमा एक जना मान्छेले आत्महत्या गर्छ । छिमेकी मुलुक भारतमै प्रत्येक दुई मिनेटमा एक जनाले आत्महत्या गरेका छन् । अमेरिकामा प्रत्येक नौ मिनेटमा एक जनाले आत्महत्या गर्छ । 

नेपालमा दिनमा औसत १३ देखि १४ जनाले आत्महत्या गर्छ । विश्व स्वास्थ्य संगठन भन्छ, सन् २०३० सम्ममा संसारको सबैभन्दा ठूलो समस्या आत्महत्याजनित हुनेछ । मान्छेहरू चाँडै डिप्रेसनमा जानेछन् । 

कसरी थाहा पाउने ग्यास सिलिन्डरको म्याद ?

ग्यास सिलिण्डरमा भएको म्याद

खाना पकाउने ग्यास सिलिन्डर लिक भएर नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीको घरमा लागेको आगोले हाम्रो भान्छा कति सुरक्षित छ भन्ने प्रश्न फेरि टड्कारो रूपमा उठेको छ । यस्तो दुर्घटनाका विभिन्न कारणमध्ये म्याद गुज्रिएको सिलिन्डर पनि एक हो ।

म्याद गुज्रिएको सिलिन्डर प्रयोग गर्न‘ जोखिमपूर्ण हुन्छ । तर धेरै उपभोक्तालाई सिलिन्डरको म्याद हुन्छ कि हुँदैन वा भए पनि कसरी हेर्ने जानकारी छैन । उपभोक्ताले ग्यास बिक्रेताबाट जुन मितिको सिलिन्डर प्राप्त भयो, त्यही सिलिन्डर भान्छामा प्रयोग गरिरहेका छन् र खतरा निम्त्याइरहेका छन् । 

तपाईंहरूले आफ्नो घरमा प्रयोग भइरहेको ग्यास सिलिन्डर हेर्न‘भयो भने त्यसको माथिल्लो भागमा सिलिन्डर प्रयोग गर्न सकिने अन्तिम मिति लेखिएको हुन्छ । उक्त मिति हेरेर उपभोक्ता आफैंले म्याद गुज्रिएको छ कि छैन थाहा पाउन सक्छन् । म्याद गुज्रिएको सिलिन्डर फेला प¥यो भने तुरून्तै बिक्रेतालाई खबर गरेर साट्न लगाउनुपर्छ ।

एलपी ग्यास उद्योग संघका अध्यक्ष कुशप्रसाद मालीका अनुसार सिलिन्डर उत्पादन भएको मितिबाट १० वर्षसम्म प्रयोग गर्न सकिन्छ । दस वर्षपछि उक्त सिलिन्डरको भारवहन क्षमता छ कि छैन वा त्यो सिलिन्डर प्रयोग गर्न लायक छ कि छैन भनेर हाइड्रोलिक परीक्षण गरिन्छ । सिलिन्डरमा पानीको फोहोराले दबाब दिएर हाइड्रोलिक परीक्षण गरिने मालीले बताए । ‘सुरूमा १० वर्षपछि हाइड्रोलिक परीक्षण हुन्छ । परीक्षण पास भएको सिलिन्डर फेरि प्रयोगमा पठाइन्छ । त्यसपछि ५ वर्षमा अर्को हाड्रोलिक परीक्षण गरिन्छ,’ उनले भने, ’ पाँच वर्षपछि पनि परीक्षण पास भएको सिलिन्डरलाई फेरि तीन वर्षमा परीक्षण गरिन्छ ।’

यसरी पटकपटक हाइड्रोलिक परीक्षण गर्दा जबसम्म सिलिन्डर फेल हुँदैन, तबसम्म प्रयोग गरिने र फेल भएपछि नष्ट गरिने माली बताउँछन् । ‘हाइड्रोलिक परीक्षण गर्दा फेल भएको सिलिन्डरलाई आयल निगम र गुणस्तर विभागको प्रतिनिधि राखेर बिगारिन्छ र फलामका रूपमा बेचिन्छ,’ उनले भने । हाइड्रोलिक परीक्षण सबै ग्यास उद्योगमा हुँदै आएकाले म्याद गुज्रिएका र जोखिमपूर्ण अवस्थाका सिलिन्डर बजार पठाइने सम्भावना कम रहेको अध्यक्ष मालीले दाबी गरे । उनका अनुसार सिलिन्डरको म्याद ग्राहक आफैंले थाहा पाउन सक्छन् । सिलिन्डरको माथिल्लो सतहमा जहाँ रेगुलेटर हुन्छ, त्यसको पछाडिको भागमा म्याद उल्लेख भएको हुन्छ । म्याद अंग्रेजीमा लेख्ने गरिन्छ । 

उदाहरणका लागि, सिलिन्डरको म्यादमा ए, बी, सी वा डी भनेर चारवटा अंग्रेजी अक्षरमध्ये एउटा लेखिएको हुन्छ । उक्त अक्षरको पछाडि अंक लेखिएको हुन्छ ।

‘एउटा अल्फाबेट (अक्षर) ले तीन महिना जनाउँछ,’ मालीले भने, ’ए लेखिएको छ भने जनवरीदेखि मार्चसम्म भन्ने बुझिन्छ । त्यस्तै, बी लेखिएको छ भने अप्रिलदेखि जुन, सी लेखिएको छ भने जुलाईदेखि सेप्टेम्बर र डी लेखिएको छ भने अक्टोबरदेखि डिसेम्बरसम्म भन्ने बुझ्नुपर्छ ।

अक्षरको पछाडि जुन अंक हुन्छ, त्यसले चाहिँ सिलिन्डर प्रयोग गर्न मिल्ने अन्तिम वर्षको संकेत गर्छ । यदि सिलिन्डरमा ए.२६ लेखिएको छ भने त्यो सन् २०२६ मार्चसम्म प्रयोग गर्न मिल्छ भन्ने बुझ्नुपर्छ । त्यस्तै, सी.३० लेखिएको छ भने त्यो सिलिन्डर सन् २०३० सेप्टेम्बरसम्म प्रयोग गर्न लायक हुन्छ । आफ्नो भान्छा सुरक्षित राख्ने एउटा उपाय मिति नगुज्रिएको ग्यास सिलिन्डर मात्र प्रयोग गर्ने हो । यसको निम्ति उपभोक्ताले ग्यास खरिद गर्दा अनिवार्य रूपमा सिलिन्डरको मिति हेर्नुपर्छ । 

  ग्यास लिक भए बिजुलीको स्विच नछुनुस्

ग्यास लिक भएर कोठा भरिँदा बिजुली बत्ती बाल्न हुन्छ कि हुन्न भन्ने जनचेतना नभएकाले यस्ता आगलागी हुने गरेको छ । 

जुद्ध वारूण यन्त्र काठमाडौंका पूर्वप्रमुख तथा अग्नि नियन्त्रक किशोरकुमार भट्टराईका अनुसार धेरै मानिसलाई ग्यास भरिएको कोठामा बिजुली बत्ती बाल्दा स्पार्क भएर आगलागी हुन्छ भन्ने नै थाहा छैन । भट्टराईले भने ‘कतिलाई चाहिँ बत्ती बाल्नु हुँदैन भन्ने थाहा छ तर त्यस्तो अवस्था बत्ती निभाउनु पनि हुँदैन भन्ने थाहा छैन ।’

कुनै कोठामा ग्यास भरिँदा त्यो हावासँगै ग्यास बिजुलीको स्विचभित्र पसिसकेको हुन्छ । स्विच अन वा अफ गर्दा निस्कने स्पार्क (झिल्को) ले हामीले ग्यास जलाउँदा बाल्ने लाइटरले झैं काम गर्छ । 

‘हामीले ग्यास खोलेर लाइटर खट्याक्क गरेर बाल्छौं नि, हो त्यसै गरी स्विच अन÷अफ गर्दा पनि स्पार्क निस्किन्छ,’ भट्टराईले भने, ‘त्यसपछि आगो लागिहाल्छ । कोठामा भएको मान्छे ढलिहाल्छ ।’ ग्यास लिक भएको शंका लागेको कोठामा जाँदा बिजुली बत्तीको स्विच छुनै नहुने भट्टराई बताउँछन् । 

‘बत्ती बलेको छ भने बल्न दिनुपर्छ, बन्द छ भने खोल्नुहुन्न । बरू कोठाका झ्याल–ढोका खोलेर ग्यासलाई बाहिर जान दिनुपर्छ’ भट्टराईले भने ।

डान्सिङ स्टार र दोहोरी च्याम्पियन

डान्सिङ स्टार र दोहोरी च्याम्पियन

प्रभा ढुङ्गाना

ककनी । नुवाकोटको ककनीमा डान्सिङ स्टार र दोहोरी च्याम्पियन प्रतियोगिता भएको छ । राष्ट्रिय संगितकर्मी संघ नुवाकोटको आयोजना र राष्ट्रिय संगितकर्मी संघ ककनी गाउँपालिकाको सह आयोजनामा राखिएको डान्सिङ स्टार र दोहोरी च्याम्पियन प्रतियोगिता कार्यक्रम सम्पन्न भएको हो । 

कार्यक्रममा ककनी गाँउपालिकाका अध्यक्ष सुमन तामाङले सांस्कृतिक प्रतियोगिताहरूले आफ्नो संस्कृति जगेर्ना, कला प्रस्फुटन, लुकेका प्रतिभाहरूको उजागर हुने बताए । कला, संस्कृति, रितिरिवाजको जगेर्नाका आफ्नो सधै साथ र सहयोग रहिरहने अध्यक्ष तामाङले बताए । कार्यक्रममा बेलकोटगढी नगरपालिकाका नगरप्रमुख जगतबहादुर गुरुङ, ककनी गाउँपालिका उपाध्यक्ष मिठुमाया लामाले गाँउठाँउमा गुम्सिएर बसेका कलाकर्मीहरूलाई अगाडी बडाउनको लागी जिल्लामा रहेका प्रतिभाहरूलाई प्रस्फुटन गर्न र गराउनका लागि गरिएको कार्यक्रमको प्रशंसा गरे । ककनी गाँउपालिकाका वडा अध्यक्षहरू, सदस्यहरू, समाजसेवी, राष्ट्रिय संगितकर्मी संघका विभिन्न पालिका अध्यक्षहरू, स्थानियहरू लगायतको उपस्थिति थियो ।

प्रतियोगिताको दोहोरी च्याम्पियनमा १२ जना कलाकाकारहरूले दोहोरी च्याम्पियन र १९ जनाले नृत्यमा सहभागिता जनाए । दुवै प्रतियोगितामा प्रथम हुने कलाकारलाई २५/२५ हजार रुपैयाँ नगद, दोश्रो स्थान हासिल गर्नेलाई नगद १५/१५ हजार रुपैयाँ र तेश्रो स्थान हासिल गर्ने कलाकारलाई नगद १०/१० हजार रुपैयाँ सहित ट्रफी र प्रमाणपत्र प्रदान गरिएको छ । 

दोहोरीतर्फ चर्चित गायक प्रकाश कटुवालको संयोजकमा अमृत खाती र सैलाफ वाइबाको निर्णयले सबिन तामाङ र रिता गुरुङले प्रथम स्थान हासिल गरे । दोश्रो स्थानमा दिल श्रेष्ठ, सबिना तामाङ र तेश्रो स्थान अम्बिका ढुंगाना र जगत बोगटीले हासिल गरे । त्यस्तै सान्त्वना स्थान उत्तम लामिछाने र सरिता तामाङले पाएका थिए । 

नृत्यतर्फ शुक्र लामाको निर्णायक सम्योजकमा बिजय लामा र दीक्षा घिमिरेको निर्णयले विशाल तामाङ पहिलो, अनिशा तामाङ दोश्रो सुरेन तामाङ तेश्रो र सबिन लामा सान्त्वना स्थानमा  बिजयी भएका छन् ।

अर्चना स्याङतानको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय संगीतकर्मी संघ केन्द्रीय बरिष्ठ उपाध्यक्ष प्रकाश कटुवाल, केन्द्रीय महासचिव अमृत खाती, संघका बागमती प्रदेश अध्यक्ष रामहरि भण्डारी, संघका जिल्ला सल्लाहकार शैलाप वाईबा, जिल्ला सल्लाहकार विकी लो लामा र गायक समीर लामालगायतको उपस्थिति थियो । 

एमालेको सुदृढीकरण अभियान

विदुर । नुवाकोटमा नेकपा एमालेको संगठन सुदृढीकरणका लागि पाँच जना केन्द्रीय सदस्यलाई एमालले जिम्मेवारी दिएको छ । जिम्मेवारी पाउनेमा शर्मिला कार्की, माधव अर्याल, भारती पाठक, हरिकृष्ण व्यञ्जनकार र गीता कार्की छन् । 

शर्मिला कार्कीलाई बेलकोटगढी नगरपालिका र तारेकश्वर गाउँपालिकको जिम्मेवारी तोकिएको छ । त्यस्तै भारती पाठकलाई विदुर नगरपालिका, किस्पाङ गाउँपालिका र म्यागङ गाउँपालिकाको जिम्मेवारी तोकिएको छ । त्यस्तै माधव अर्याललाई दुप्चेश्वर गाउँपालिका, सूर्यगढी  गाउँपालिका र तादी गाउँपालिकाको जिम्मेवारी दिइएको छ । हरिकृष्ण व्यञ्जनकार लाई ककनी र लिखु गाउँपालिकामा तोकिएको छ । गीता कार्कीलाई पञ्चकन्या र शिवपुरी गाउँपालिकाको जिम्मेवारी छ ।

एमालेको दिइएको दुई महिने पार्टी सुदृढीकरण तथा विस्तार अभियान यही फागुन ५ गतेबाट शुरू भएको छ । पार्टीका करिब ९ लाख संगठित सदस्यसहित देशभरका लाखौं कार्यकर्ताहरूलाई एकैपटक सक्रिय गराउन एमालेले २ महिने अभियान थाल्नेको हो । 

इन्जिनियरिङ पढ्नेलाई गाउँपालिकाले दियो अनुदान

छात्रबृत्तिको रकम गाउँपालिकाको तर्फबाट हस्तान्तरण हुँदै । 

रानीपौवा । ककनी गाँउपालिकाले इन्जिनियरिङ अध्ययनका लागी छात्रबृत्ति प्रदान गरेको । गाँउपालिकाका अध्यक्ष सुमन तामाङले यसअघि आफ्नो पालिका भित्रका बिद्यालयबाट एसईई उतिर्णपछि डाक्टर र ईन्जिनियर अध्ययन गर्ने बिद्यार्थीलाई छात्रबृत्ति दिने घोषणा गरेका थिए । 

घोषणा अनुरुप ककनी गाउँपालिकाले वडा नम्बर २ का अमृत बलामीलाई इन्जिनियर पढ्नका निम्ति छात्रवृत्ति बापत रकम प्रदान गरेको छ । बलामीलाई इन्जिनियर पढ्नका निम्ति छात्रवृत्ति बापत दुई लाख पचास हजार रुपैयाँको चेक गाउँपालिका उपाध्यक्ष मिठुमाया तामाङले हस्तान्तरण गरे । 

बलामी हाल कोसमोस कलेज ललितपुरमा अध्ययनरत छन् । गाउँपालिकाले दिएको छात्रवृत्तिको सहि सदुपयोग गरी भविष्यमा आफ्नै गाउँपालिकाकै लागि कहि गरेर देखाउने ईच्छा रहेको बलामीको भनाई रहेको छ ।

विद्यालय भवन हस्तान्तरण

नवनिर्मित विद्यालय भवन

देविघाट । विदुर नगरपालिका वडा नं. ५ देवीघाटमा रहेको शहिद जगतप्रकासजंग शाह संस्कृत माविका लागि निर्मित तीनवटा भवन गएको हप्ता हस्तान्तरण भएको छ । 

कार्यक्रमका प्रमुख अतिथि नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं नुवाकोटका प्रतिनिधि सभा सदस्य अर्जुननरसिंह केसीले दातृ संस्थाको तर्फबाट विद्यालयलाई भवन हस्तान्तरण गरेका हुन् । भूकम्पबाट क्षतिग्रस्त सो विद्यालयमा पठनपाठन तथा दैनिक कार्य सहजताका लागि १० करोड १५ लाख रुपैयाँको लागतमा तीनवटा २४ कोठे भवन विद्यालयलाई हस्तान्तरण गरिएको हो । कक्षा १० सम्म पठनपाठन हुँदै आइरहेको सो विद्यालयमा हाल २८ जना आवासीयसहित ५५० जना विद्यार्थी अध्ययनरत छन् । 

७० अंक ल्याए लाइसेन्स पाइने

विदुर । बागमती प्रदेशमा गएको मंगलबारबाट सवारी लाइसेन्समा ग्रेडिङ सिस्टम लागू भएको छ । प्रदेशका सम्पूर्ण यातायात सेवा कार्यालयहरूमा पहिलो पटक सवारी चालक अनुमति पत्र (लाइसेन्स) मा ७० अंक ल्याए पास हुने गरी ग्रेडिङ सिस्टम लागू गरेको हो । फागुन १ गतेबाटै लागू गर्ने तयारीमा रहेको प्रदेश सरकारले १ गते बिदा परेकोले २ गते आजबाट लागू गर्ने भएको हो । 

प्रदेशमा पटक पटक रोकिँदै आएको लाइसेन्स लिन ७० अंक ल्याए ट्रायल पास हुने प्रणाली आजबाट लागू हुने प्रदेशको श्रम रोजगार तथा यातायात मन्त्रालयले जानकारी दिएको छ । प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले निर्देशन दिएपछि सवारी चालक अनुमति पत्र लिन ७० अंक ल्याए पास हुने प्रणाली लागू हुने भएको हो । 

यसअघि सरकारका श्रम, रोजगार तथा यातायात मन्त्री घनश्याम दाहालले उक्त प्रणाली लागू गर्न खोजे पनि तत्कालीन मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले हस्तक्षेप गर्दा लागू हुन सकेको थिएन । मुख्यमन्त्री पाण्डेको हस्तक्षेपको कारण ३ पटकसम्म रोकिएको ७० अंक ल्याए ट्रायल पास हुने प्रणालीलाई वर्तमान सरकारका लागू गर्न निर्देशन दिएको हो । सो प्रणाली अन्य प्रदेशहरूमासमेत लागू भइसकेको छ । 

ग्रेडिङ सिस्टममा अंकभार

ट्रायल पास हुन ७० अंक ल्याए पुग्ने प्रणाली लागू भए मोटरसाइकल, स्कुटर तथा मोपेडका लागि कुल अंकभार १ सय तोकिएको छ । त्यसमा ७० अंक प्राप्त गर्ने प्रशिक्षार्थी अनुमति पत्रका लागि योग्य मानिने व्यवस्था गरिएको छ । बागमती प्रदेश सरकारले तयार पारेको निर्देशिकाअनुसार मोटरसाइकल, स्कुटर र मोपेड चालकका लागि घुमाउरो ८ (एट आकार) को अंकभार २० तोकिएको छ । दुई पटकसम्म अङ्कित रेखा छोएमा प्रत्येक पटक ५ अंकको दरले १० अंकभार घट्नेछ तर पनि ट्रायल भने फेल भइँदैन । 

यस्तै दुई पटकभन्दा बढी उक्त रेखा छोएमा, सवारीको टायर अङ्कित रेखाभन्दा बाहिर गएमा, एक पटकभन्दा धेरै पटक खुट्टाले भुईँ टेके, ठीक दिशाबाट वा ठीक तरिकाबाट ८ आकार नबनाए वा सवारीको स्टार्ट बन्द भएको अवस्थामा भने अनुत्तीर्ण भएको घोषणा गरिने व्यवस्था छ । 

यसैगरी साँघुरो फलेकको अंकभार १० तोकिएको छ । साँघुरो फलेकमा खुट्टाले भुईंमा टेकेमा, फलेकको लम्बाइ पार गर्नुअगावै फलेकबाहिर निस्के पनि अनुत्तीर्ण हुनेछन् । निर्देशिकामा यु–टर्नको अंकभार १० तोकिएको छ । टर्निङ लाइट नबालेको खण्डमा १० अंक घटाइनेछ । त्यस्तो अवस्थामा पनि अङ्कित रेखा छोए भने अनुत्तीर्ण हुनेछन् । ट्राफिक सङ्केतका लागि १५ अंकभार तोकिएको छ । ट्राफिक संकेत पालना नगरेको खण्डमा १५ अंक घटाइनेछ । निर्देशिकामा उबडखाबडको अंकभार १५ तोकिएको छ । एक पटकसम्म सवारीको स्टार्ट बन्द भएको खण्डमा ५ अंकभार घटाइनेछ । एक पटकभन्दा बढी स्टार्ट बन्द भयो भने प्रयोगात्मक परीक्षा दिने अनुत्तीर्ण हुनेछन् । उकालो (¥याप) को अंकभार २० तोकिएको छ । त्यसैगरी परीक्षार्थीको व्यवहारगत पक्षको समग्र मूल्याङ्कनलाई १० अंकभार तोकिएको छ । 

कार, जिप, डेलिभरी भ्यानको प्रयोगात्मक परीक्षाको कुल अंकभार १ सय तोकिएको छ । जसमा ७० प्रतिशत ल्याएको खण्डमा प्रशिक्षार्थी उत्तीर्ण भएको मानिनेछ । निर्देशिकाअनुसार कार, जिप, डेलिभरी भ्यानको प्रयोगात्मक परीक्षामा घुमाउरो ८ (एट) को अंकभार २० तोकिएको छ । दुई पटकसम्म अङ्ति रेखा छोए प्रत्येक पटक ५ अंकको दरले १० अंकभार घट्नेछ तर ट्रायल फेल भइँदैन । 

दुई पटकभन्दा बढी अङ्कित रेखा छोए, सवारीको टायर अङ्कित रेखाभन्दा बाहिर गए, ठीक दिशाबाट वा ठीक तरिकाबाट ८ आकार नबनाएमा वा सवारीको स्टार्ट बन्द भएको अवस्थामा भने अनुत्तीर्ण हुने व्यवस्था गरिएको छ । निर्देशिकामा ट्राफिक सङ्केतको अंकभार १५ तोकिएको छ । पालना नगरे १५ अंक घट्ने प्रावधान राखिएको छ । त्यसैगरी यु–टर्नको अंकभार १० तोकिएको छ । टर्निङ इन्डिकेटर लाइट नबालेको खण्डमा १० अंकभार घटाइनेछ । अङ्कित रेखा छोएको खण्डमा भने प्रशिक्षार्थी अनुत्तीर्ण हुनेछन् । चारपांग्रेलाई -याम (उकालो)का लागि अंकभार १५ तोकिएको छ । 

तोकिएको रेखा नाघी सवारी रोकेमा वा सवारी अगाडि बढेमा, रोकिएको अवस्थामा सवारीसाधन अगाडि बढाउँदा सवारीको पछाडिको टायर ६ इन्चभन्दा पछाडि सरेमा, उकालो पार गरी ओरालोबाट झर्ने क्रममा तोकिएको सीमा नाघी सवारी रोकेमा वा एक पटकभन्दा धेरै सवारी स्टार्ट बन्द भएमा अनुत्तीर्ण हुनेछ । ग्यारेज पार्किङको अंकभार १० तोकिएको छ । परीक्षार्थीको व्यवहारगत पक्षको समग्र मूल्याङ्कनलाई १० अंकभार तोकिएको छ ।

चोरी घटनामा नुवाकोटको सात पक्राउ

प्रहरीले सार्वजनिक गरेको चोरीमा सम्लग्नहरु । 

विदुर । प्रहरीले काठमाडौं महानगरपालिका–१६ माछापोखरी चोकमा प्रहरी गाडी, प्रहरी विट तथा ट्राफिक आइल्याण्ड तोडफोड गरी आगजनी गरेको अभियोगमा नुवाकोटका एक जना सहति ६ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा नुवाकोटका सात जना छन् । पञ्चकन्या गाउँपालिका–३ घर भई काठमाडौं बानियाँटार बस्ने ३० वर्षीय रामहरि भण्डारी, ककनी गाउँपालिका–८ घर भई हाल बालाजु बस्ने १८ वर्षिया सुनिल कालिकोटे, ककनी वडा नंं ७ घर भई बालाजु बस्ने १८ वर्षिया सुदिप तामाङ, सुर्यगढी गाउँपालिका–४ घर भई लोलाङ बस्ने १९ वर्षिया केशर राई, तादी गाउँपालिका घर भई जरंखु बस्ने २४ वर्षिया सुमन तामाङ, शिवपुरी गाउँपालिका–६ घर भई हाल लोलाङ बस्ने ३० वर्षिया रञ्जितकुमार तामाङ छन् । यसै गरी नुवाकोट घर भई माछापोखरी बस्ने २० वर्षिया रवि तामाङ पनि पक्राउ परेका छन् । त्यस्तै, उदयपुर बलमता गाउँपालिका–२ घर भई काठमाडौं तार्केश्वर नगरपालिका–१० मनमैजु बस्ने ४० वर्षीय बिक्रम राई, र लमजुङ वेशीशहर नगरपालिका–५ घर भई काठमाडौं तार्केश्वर नगरपालिका–१० बस्ने २३ वर्षीय विवेक श्रेष्ठ रहेका छन् । यस्तै काभ्रेपलाञ्चोक मानेडाँडा गाउँपालिका घर भई काठमाडौं–१६ बस्ने ३१ वर्षीय राजेश तामाङ, प्युठान कडी गाउँपालिका–१ घर भई काठमाडौं गोंगवु बस्ने १८ वर्षीय किशोर र काभ्रेपलाञ्चोक भुम्लु गाउँपालिका–२ घर भई काठमाडौं–१६ गंगाहल बस्ने २० वर्षीय आशिष खड्कालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रदर्शनकारीहरूले प्रहरी वृत्त बालाजुको बा२ झ १४४ र बा१ झ ७२२४ नम्बरको गाडीमा आगजनी, माछापोखरीस्थित प्रहरी विटमा ढुङ्गामुढा तथा आगजनी र सोही ठाउँमा रहेको ट्राफिक आईल्याण्डमा समेत तोडफोड तथा आगजनी गरेको घटनामा संलग्न उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो । 

बुद्धभूमि हाइड्रोपावरको नाफा बढ्यो

विदुर । नुवाकोटको बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ८४ लाख ५२ हजार रुपैयाँ खुद नाफा कमाएको छ । असोज मसान्तसम्ममा यसले ४ लाख २२ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो । गत वर्ष यसले विद्युत उत्पादन सुरु गरेको थिएन । कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी ८ करोड ४८ लाख ४८ हजार रुपैयाँ पुगेको बताइएको छ । 

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा यसले विद्युत बिक्रीबाट ३ करोड ६९ लाख रुपैयाँ आम्दानी गरेको थियो । 

चिलिमे जलविद्युतको नाफा घट्यो

विदुर । चालु आर्थिक वर्षको दोस्रो चौमासिकमा चिलिमे जलविद्युत कम्पनीको नाफा घटेको छ । चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीले ३९ करोड ३८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १.८३ प्रतिशत कम हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ४० करोड १२ लाख रुपैयाँ नाफा कमाएको थियो ।

विद्युत बिक्री आम्दानी बढेपनि खर्च बढेका कारण कम्पनीको नाफा घट्न पुगेको हो । कम्पनीको अगुवाईमा स्थापना भएका जलविद्युत कम्पनीहरूमाफृत प्रबद्र्धित कुल २७०.३ मेगावाट क्षमताका ४ जलविद्युत आयोजनाहरू निर्माणको अन्तिम चरणमा रहेको कम्पनीले जनाएको छ । समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी ८७ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ३.७९ प्रतिशत घटेको छ । त्यसैगरी कम्पनीको वित्तीय आम्दानी समीक्षा अवधिमा ७.८६ प्रतिशत बढेको छ । बैंक मौज्दात बढेको र ब्याजदर पनि बढेका कारण कम्पनीको यस्तो आम्दानी बढ्न पुगेको हो ।

नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि घटेको छ । गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ११ रुपैयाँ ८९ पैसा रहेको कम्पनीको यस्तो आम्दानी, चालु आर्थिक वर्षको सोही अवधिसम्ममा १० रुपैयाँ ८५ पैसामा झरेको छ । सो अवधिसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १४१ रुपैयाँ ३९ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ४१.३२ गुणा रहेको छ । ७ अर्ब २५ करोड ८१ लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको रिटेन्ड अर्निङ्ग ३ अर्ब ४० लाख रुपैयाँ छ । 

गुणस्तरीय सेवा दिने प्रतिबद्धता

रसुवा । हिमाली क्षेत्रको अवलोकन गर्ने आन्तरिक एवं बाह्य पर्यटकलाई गुणस्तरीय सेवा दिन यहाँका पर्यटन व्यवसायीले प्रतिबद्धता जनाएका छन् । 

होटल तथा पर्यटन व्यवसायी संघको तेस्रो जिल्ला अधिवेशनका क्रममा उनीहरूले पर्यटकीय होटललाई व्यवस्थित एवं मर्यादितरूपले सञ्चालनमा ल्याई आगन्तुक पाहुनालाई गुणस्तरीय सेवामा एकरूपता ल्याउने दृढ सङ्कल्प गरेका हुन् । जाडोको याममा हिमपातसमेत हुने भएकाले होटलमा सिरकको संख्या बढाउने, कोठामा हिटरको व्यवस्थापन गर्ने, खाना खाने स्थानमा सुधारिएको चुलोमार्फत तातोको व्यवस्था मिलाउने कार्यसमेत अगाडि बढाउने जनाइएको छ । 

कोठामा तातोपानीको व्यवस्थापन गर्ने तथा रैथाने जातका सागसब्जीको मात्र तरकारी खुवाउनेजस्ता विविध सेवामूलक विषयमा छलफल एवं सहमति भएको संघले जनाएको छ । अधिवेशनले रामशरण गजुरेलको अध्यक्षतामा नयाँ जिल्ला कार्यसमिति चयन समेत गरेको छ । कार्यसमितिको उपाध्यक्षमा धनकुमारी तामाङ, सचिवमा फुर्प‘सिङ्गी तामाङ, सहसचिवमा विशाल घले, कोषाध्यक्षमा बुद्वलक्ष्मी तामाङ निर्विरोध चयन भए । 

सदस्यमा छविलाल पौडेल, सन्तोष तामाङ र सुनिता तामाङ, सञ्जीव उप्रेती, पवित्रा भट्ट र छेतेन ग्याल्पो तामाङ रहेका छन् । सबै होटल तथा लज आन्तरिक राजस्व कार्यालयमा दर्ता गराइ स्थायी लेखा नम्वर लिने, सरकारी दस्तुर समयमै बुझाउने, समयसाक्षेप होटल तथा लजको सुदृढीकरण गराउने, व्यवसायीको हितमा आवाज उठाउने र पाहुनालाई गुणस्तरीय सेवाप्रवाहको विषयमा अनुगमन गर्ने जनाइएको छ । 

अध्यक्ष गजुरेलले नयाँ कार्यसमितिले धुञ्चे, ठूलोस्याफ्रु, चन्दनबारी, लौरीविनायक, गोसाइँकुण्ड हुँदै हेलम्बु रूट, स्याफ्रुबेँसीबाट लाङ्टाङ क्याञ्जेन क्षेत्र र तामाङ सम्पदा मार्गअन्तर्गत गतलाङ, नाकथली, थुमन तथा बृद्विम होमस्टेसमेतका क्षेत्रका होटललाई व्यवस्थित गर्दै पर्यटकलाई गुणस्तरीय सेवा पुर्याउन केन्द्रित रहने बताए । 

वृद्ध मृत भेटिए

विदुर । नुवाकोटको विदुर नगरपालिका २ स्थित सेराको सडक किनारमा गएको सोमवार  एक वृद्ध मृत अवस्थामा भेटिएका छन् ।

लिखु गाउँपालिका वडा नं. ४ चौघडाका ७१ वर्षीय झिल्के राई मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं डीएसपी रुपक खड्काले बताए । उनको पोष्टर्माटम गरी आफन्तलाई शव बुझाइएको प्रहरीले जनाएको छ । मृत्युको कारण यकिन भएको छैन । साथै घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

संगितकर्मी संघको अध्यक्षमा लामा

विदुर । गएको सोमबार बट्टारमा भएको राष्ट्रिय संगितकर्मी संघ नुवाकोटको पाँचौ साधारण सभाले अध्यक्षमा बिकी लामा लोलाई सर्वसम्म निर्वाचित गरेको छ । 

संघको बरिष्ठ उपाध्यक्षमा कुमार लामा, प्रथम उपाध्यक्षमा अर्चना स्याङतान, महिला उपाध्यक्षमा फुलमाया तामाङ, उपाध्यक्षमा महेन्द्रमान तामाङ र उत्तम भण्डारी, महासचिवमा करण तामाङ चयन गरेको छ । यस्त ैसचिवमा शान्ति मम्बा, सह सचिवमा माधब अधिकारी, कोषाध्यक्षमा रेलीमाया गुरुङ, सह कोषाध्यक्षमा समीर लामा, प्रवक्तामा सन्दिपकुमार तामाङ चयन भएका छन् । 

जिल्ला कार्य समितिको सदस्यहरूमा पुजा तामाङ, सरिता तामाङ, शुसिला तामाङ, शान्ति तामाङ, शिव गोतामे, अनिता तामाङ, सुनिल कार्की लगायत छन् । 

यसैबीच, संघको साधारण सभाको उद्घाटन गर्दै नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं बागमती प्रदेश सभाका सदस्य राधिका तामाङले नुवाकोटमा हुने मेला महोत्सव तथा साँस्कृतिक कार्यक्रमहरूमा नुवाकोटकै कलाकारहरूलाई प्राथमिकताका साथ अबसर दिनुपर्ने बताएका छन् । 

खर्च विवरण नबुझाउने उम्मेदवारलाई कारबाही नहुने

विदुर । सर्वोच्च अदालतले निर्वाचन खर्च विवरण नबुझाउने स्थानीय तहका उम्मेदवारलाई तत्काल कुनै कारवाही नगर्न अन्तरिम आदेश दिएको छ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले दर्ता गरेको रिट निवेदनमाथि सुनुवाई गर्दै सर्वोच्च अदालतको संवैधानिक इजलासले निर्वाचन आयोगले जरिवाना तोकेका उम्मेदवारलाई तत्काल कारबाही नगर्न अन्तरिम आदेश दिएको हो ।

निर्वाचन आयोगले ३१ भदौं २०७९ मा स्थानीय निर्वाचनमा प्रतिस्पर्धा गरेका तर खर्च विवरण नबुझाएका उम्मेदवारहरूलाई जरिवाना तिराउने निर्णय गरेको थियो । निर्णयविरुद्ध काठमाडौं महानगरपालिकाका मेयर शाह सर्वोच्च अदालत गएका थिए । निर्वाचन आयोगले गरेको निर्णयमा संवैधानिक तथा प्रक्रियागत त्रुटिको प्रश्न उठेको भन्दै कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, डा. आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमान सिंह राउतको इजलासले रिट निवेदनको अन्तिम टुंगो नलागेसम्म जरिवाना तिराउने लगायतका कुनै कारवाही नगर्न आदेश दिएको हो ।

आयोगको निर्णयले जननिर्वाचित संस्थाहरू र प्रतिनिधिमूलक लोकतन्त्रमा नै देशव्यापी प्रतिकुल प्रभाव पर्ने भन्दै सर्वोच्च अदालतले तत्काल कार्यान्वयन नगर्न आदेश दिएको हो । सर्वोच्च अदालतको आदेशमा भनिएको छ, ‘छ महिनाभित्र जरिवाना दाखिल गराउने, नबुझाएको अवस्थामा निर्वाचन सम्बन्धी अयोग्यता सिर्जना गर्ने निर्णयमा उल्लेखित कुराहरू हाल कार्यान्वयन नगरी यथास्थितिमा राख्नू ।’ 

संवैधानिक इजलासले निर्वाचन खर्च विवरण नबुझाउने उम्मेदवारहरूलाई स्पष्टिकरण सोध्ने, भनाइ राख्ने मौका दिने लगायतको काम नगरी गोश्वारा निर्णयबाट जरिवाना तोक्ने काम उचित नभएको प्रारम्भिक निश्कर्ष निकालेको हो । निर्वाचन आयोग ऐन, २०७३ को दफा २६ मा निर्वाचनको खर्च विवरण पेश नगर्ने उम्मेदवारहरूलाई आयोगले जरिवाना तोक्नसक्ने व्यवस्था छ । आयोगले तोकेको जरिवाना नबुझाएमा सम्बन्धित उम्मेदवारलाई आयोगले छ बर्षसम्म निर्वाचनमा भाग लिन रोक लगाउन सक्ने व्यवस्था छ ।

साथै खर्च विवरण नबुझाउने जनप्रतिनिधिको निर्वाचन बदर गर्नसक्ने व्यवस्था समेत ऐनमा छ । तर दफा २६(४) मा भनिएको छ, ‘जरिवाना गर्न‘ वा निर्णय गर्न‘अघि आयोगले सम्बन्धित राजनीतिक दल वा व्यक्तिलाई आफ्नो सफाई पेश गर्ने मनासिब मौका दिनु पर्नेछ ।’ एक लाख २३ हजार ६२४ उम्मेदवारहरूलाई जरिवाना तिराउने निर्णय गर्नुअघि निर्वाचन आयोगले उनीहरूलाई स्पष्टिकरण पेश गर्न वा सफाई पेश गर्ने अवसर दिएको थिएन ।

कानूनी प्रक्रिया नपु¥याई जरिवानाको निर्णय गर्नु ‘स्वच्छ सुनुवाइको हक’ विपरीत हुने प्रारम्भिक निष्कर्ष सहित संवैधानिक इजलासले जरिवानाको निर्णय कार्यान्वयन नगर्न‘ भनेको हो । ती उम्मेदवारहरूलाई स्वच्छ सुनुवाइ तथा कानूनी प्रतिवादको अवसर प्रदान नगरी आयोगले गरेको निर्णयले उनीहरू अयोग्य हुने र निर्वाचन नै बदर हुने सम्भावना हुने भन्दै सर्वोच्च अदालतले निर्वाचन आयोगबाट भएको त्रुटीपूर्ण निर्णयको तत्काल प्रयोग नगर्न आदेश दिएको हो ।

सर्वोच्च अदालतले आयोगको निर्णयले प्रतिनिधिमूलक लोकतन्त्रमा देशव्यापी गम्भीर प्रतिकुल प्रभाव समेतलाई दृष्टिगत गरी निर्णय कार्यान्वयन नगर्न आदेश दिएको हो । निर्वाचन आयोगले गत भदौ ३१ गते एक लाख २३ हजार ६२४ स्थानीय तहका उम्मेदवारलाई खर्च विवरण नबुझाएको आरोपमा जरिवाना तोकेको थियो । जरिवानामा परेकामध्ये करिव १७ हजार जना निर्वाचित जनप्रतिनिधि छन् । उनीहरूले आगामी ३० फागुनभित्र जरिवाना बुझाउनुपर्ने थियो ।

निर्वाचन आयोगले जरिवाना निर्धारण गरेपछि त्यसका विरुद्ध काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह सर्वोच्च अदालत गएका थिए । निर्वाचन आयोगले खर्च विवरण नबुझाउने, उम्मेदवारहरूलाई प्रचारप्रसार गर्न पाउने अधिकतम रकमको हक बराबर जरिवाना तोकेको थियो ।

रसुवा भन्सारका पुर्व अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा

विदुर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रसुवा भन्सार कार्यालयका तत्कालीन भन्सार अधिकृत दानबहादुर केसीविरुद्ध गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा २ करोड रुपैयाँभन्दा बढी बिगो, त्यति नै जरिवाना र कैद सजाय मागदाबिसहित विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले केसी तथा नातागोताका नाममा भएको सम्पत्तिमध्ये २ करोड १० लाख १० हजार ४८२ रुपैयाँको वैध स्रोत खुलाउन नसकेको भन्दै स्रोत नखुलेको सम्पत्तिलाई बिगो कायम गरी त्यति नै जरिवाना र कैद तथा अवैध सम्पत्तिबाट बढे/बढाइएको सम्पत्ति जफत गर्न मागदाबी लिएको छ । 

अख्तियारले केसीकी पत्नी सुशीला पण्डितका नाममा घरजग्गा खरिद, बैंक खाताहरूमा रकम मौज्दात लगायतमा गरिएका खर्चमध्ये स्रोत पुष्टि हुन नसकेका तथा लागत मूल्य बराबरको भागको स्रोत नखुलेको सम्पत्ति बिगो र त्यसबाट बढेबढाएको सम्पत्ति जफत गर्ने प्रयोजनका लागि उनलाई पनि प्रतिवादी बनाएको छ ।

अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले केसी सरकारी सेवामा प्रवेश गरेयताको सम्पत्ति जाँचबुझ गर्दा वैध स्रोत नखुलेको सम्पत्तिउपर बिगो, जरिवाना र कैद सजाय मागदाबीसहित मुद्दा दायर गरिएको बताए । २०४३ साउन १ बाट सरकारी सेवा प्रवेश गरेका केसीमाथि २०७८ असार ३० सम्मको ३५ वर्षमा आयआर्जन गरेको सम्पत्ति तथा खर्चविवरणमाथि अख्तियारले अनुसन्धान गरेको थियो । 

‘सरकारी सेवा प्रवेश गरेयताको ३५ वर्षमा निजको सम्पूर्ण वैधानिक आयहरूमा पारिश्रमिक बचत, विभिन्न प्रोत्साहन भत्ता पुरस्कार रकम, जग्गा बिक्री, कर्मचारी सञ्चयकोषबाट लिएको कर्जा आय, स्वआर्जित घर बहाल आय, पैतृक घर बहाल आय, कृषि आय, अंशबन्डाबाट प्राप्त नगद, बीमा परिपक्व भई प्राप्त गरेको रकम र बैंक ब्याजबाट प्राप्त रकम समेत गरी ३ करोड ५१ लाख १६ हजार २० रूपैयाँ २२ पैसा देखिन्छ,’ प्रवक्ता भण्डारीले भने । तर, सोही अवधिमा उनले गरेको खर्च तथा लगानी आयभन्दा २ करोड १० लाख रुपैयाँभन्दा बढी देखिएको भण्डारीले बताए ।

अख्तियारको अनुसन्धानमा केसीको सम्पूर्ण व्यय (खर्च तथा लगानी)मा घर निर्माण, जग्गा खरिद र रजिस्ट्रेसन दस्तुर, संगोलमा रहँदा नै जग्गा खरिद गर्दा भएको निजको भागमा पर्न आउने खर्च, छोरा÷छोरीहरूको अध्ययन खर्च, सञ्चयकोषको कर्जा भुक्तानी, स्वआर्जित घर बहाल कर, पैत्रिक घर बहाल कर, बीमाको प्रिमियम भुक्तानीमा भएको खर्च, छोरीहरूलाई दिएको रकम, शेयर खरिदमा भएको खर्च, सवारी साधन खरिदमा भएको खर्च, निजी भ्रमणमा भएको खर्च, औषधि उपचार खर्च, सुन खरिदसमेत गर्दा भएको खर्च र बैंक मौज्दातसमेत गरी ५ करोड ६१ लाख २६ हजार ५०२ रुपैयाँ ७३ पैसा देखिएको छ ।

स्रोत नखुलेको सम्पत्ति केसीले सार्वजनिक पदको दुरुपयोग गरी आर्जन गरेको अख्तियारले विशेष अदालतमा पेस गरेको अभियोगपत्रमा उल्लेख छ । ‘निजको कुल वैधानिक आयलाई निजले गरेको कुल व्ययसँग तुलना गर्दा आयभन्दा २ करोड १० लाख १० हजार ४८२ रूपैयाँ ५१ पैसाको वैधानिक स्रोत पुष्टि हुन नसकेकोले प्रचलित कानुनबमोजिम सार्वजनिक पद धारण गरेको राष्ट्रसेवक कर्मचारीले पदमा बहाल रहँदाका बखत अमिल्दो तथा अस्वाभाविक सम्पत्ति आर्जन गर्न‘का साथै मनासिब कारणबिना अमिल्दो र अस्वाभाविक उच्च जीवनस्तर यापन गरेको पुष्टि हुन आयो ।’

अख्तियारले अकूत सम्पत्तिबाट बढेबढाइएको सबै चलअचल सम्पत्ति जफतको मागदाबी गरेको छ ।

२०७९ साल फागुन ८ गतेको सम्पादकीय

प्रजातन्त्र दिवसको सान्दर्भिकता

स्वतन्त्र नेपालीको स्वाभिमानी सपनाहरू प्रजातान्त्रिक अभ्यासहरूभित्र कोरिंदै आएको छ, तत्कालिन जहानिया राणा शासनका विरुद्धमा उत्रेको जनलहरकासामू राणा शासकहरूको केही जोर चलेन्, जनताको बोलीका अगाडी बन्दुकका गोली टिक्न सकेन अनि नयाँ नेपालको प्रथम खाकाको प्रथम कदम उचालिएको थियो आजभन्दा ७२ वर्ष अघि, २००७ साल फागुन ७ गते । राज्य ब्यवस्थाले नागरिकहरूबीच कुनैपनि दृष्टिमा भेदभाव गर्न हुँदैन भन्ने प्रजातन्त्रको प्रथम आधार हो, स्वतन्त्र विचरण अनि फरक मतको सम्मान लगायतका अभिब्यक्ति स्वतन्त्रता नै प्रजातन्त्रको स्तम्भहरू हुन् । प्रजातन्त्रमा नागरिकहरू चुनेर पठाएका ब्यक्तिहरूले शासनव्यवस्था सञ्चालन गर्ने गर्दछन्, यसअर्थमा जनताद्वारा जनताकालागी गरिने हितकारी शासन अभ्यासलाई प्रजातन्त्र भनेर बुझ्न सकिन्छ । उतिबेला आएको प्रजातन्त्र नेपालीहरूको पोल्टाबाट फेरि वि. सं. २०१७ मा खोसिएको इतिहास जिवितै छ । क्रमशः धाँधलीकाबीच भएको ३६ सालको जनमतसंग्रह सहित विभिन्न कालखण्डमा भएका नागरीकको आवाज दबाउने श्रृङ्खलाहरूको अन्त्य भने २०४७ सालमा आएको बहुदलीय प्रजातन्त्र अनि संबैधानिक राजतन्त्रको ब्यवस्थाले गरेको थियो । क्रमशः विभिन्न चरणका आन्दोलन, जनयुद्ध हुँदै २०६२÷६३ सालको आन्दोलनसँगै नेपाल संघीय गणतान्त्रिक गणतन्त्रात्मक देश भईसकेको छ । तर राष्ट्रिय उत्सवका रूपमा जुनकुनै दिवसहरू मनाइँदा चाहिँ प्रस्ट धारणा बन्नु आवश्यक देखिन्छ । हरेक राजनीतिक परिवर्तनले एउटा महत्वपूर्ण दिन हामीलाई छोडेर गएको छ । २००७ सालमा पाएको प्रजातन्त्र २०१७ मा गुम्यो । ०४६ मा पुनः प्राप्त भएको प्रजातन्त्र २०६१ मा फेरि खोसियो र २०६२÷६३ को जनआन्दोलनको बलले फेरि मुलुकमा लोकतन्त्र आएको छ । यस दौरानमा हामीसँग प्रजातन्त्र दिवस, लोकतन्त्र दिवस, गणतन्त्र दिवस, जनआन्दोलन दिवसलगायतका दिवसहरू छन् । यी सबै ऐतिहासिक दिनहरूको विशिष्ट महत्व छ । सबैको आआफ्नो सन्दर्भमा महत्वपूर्ण योगदान छ । यद्यपि हामीले आगामी दिनमा मुलुक संघीय लोकतान्त्रिक गणतान्त्रिक पद्दतिमा अघि बढ्दै गर्दा यी दिवसहरूलाई के कसरी स्मरण गर्ने, राष्ट्रिय उत्सवका रूपमा कुन दिनलाई कसरी मनाउने भन्ने कुरामा प्रस्ट हुनु जरुरी छ । फागुन ७ कै सन्दर्भमा फर्किंदा, यो दिन नेपालको प्रजातान्त्रिक आन्दोलनका लागि एक जुगमा आएको एउटा दिन थियो । कठोर निरंकुशताविरुद्धको जनक्रान्ति सफल भएको यो दिनलाई साक्षी राखेर अप्ठेरा र चुनौतीपूर्ण क्षण बेहोर्दै अघि बढेका हामीले मुलुकको स्वार्थ र राष्ट्रियता अनि विकासलगायतका मुद्दालाई केन्द्रमा राखी अविचलित भएर अघि बढ्ने सपथ लिनु जरुरी छ । 

यिनै ईतिहासका दस्तावेज पल्टाउँदै नेपाली प्रजातान्त्रिक अभ्यासका प्राप्ती, प्रगती र नेपालीजनको हितलाई नियाल्दा पनि केही प्रश्न स्वाभाविक रुपमा उठ्छन् । यहाँ आन्दोलनको मर्महरूलाई शाषकहरूले कत्तिको ध्यान दिन सकेका छन् अनि जनलहरको उद्देश्य साँच्चै संवोधन गरिएको छ त भन्ने जस्ता प्रश्नहरू खडा हुने गरेको छ । राणाकालिन निरंकुशताले जनअधिकार खोसिएको भन्दै प्रजातन्त्र, नागरिक अधिकार र स्वतन्त्रताको चेतना फेरि प्रज्ज्वलित हुन थाल्यो । त्यही चेतना सामुहिक शक्ति बनेर निरंकुश राणा शासन ढाल्न सफल भयो । वि.सं. २००७ साल फागुन ७ गते भएको राजनीतिक परिवर्तन नेपालीको चेतना, एकता, प्रजातन्त्रप्रतिको प्रेम र समर्पणको परिणाम थियो । त्यही दिनले नागरिक अधिकार, स्वतन्त्र अस्तित्व, राष्ट्र र राष्ट्रियताप्रति गौरवबोध गर्न सिकायो नेपालीलाई । तर, शासक वर्ग भने जनभावना विपरीत सत्ता र शक्ति आर्जन, सञ्चय गर्ने दाउकै दुष्चक्रबाट आजसम्मै मुक्त हुन सकेका छैनन् । संघीय गणतान्त्रिक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धि नेपालीको अपेक्षा हो । यसले देशको स्वतन्त्रता, सार्वभौमिक, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता र स्वाभिमानको रक्षा गर्नु पर्दछ । यसले जनताको सार्वभौम अधिकार, स्वायत्तता, स्वशासनको अधिकारलाई आत्मसात गर्दै राष्ट्रहित, लोकतन्त्र र परिवर्तनको चाहनालाई पूरा गर्नुपर्छ ।  यसकै लागि राणाकालदेखि आजपर्यन्त भएका संघर्ष र वलिदानको गौरवपूर्ण योगदानको सम्मान गर्दै पूर्वजहरूप्रति श्रद्धा प्रकट गर्नु पर्दछ । खासगरी राजनीतिक दल, तिनका नेतृत्व वर्ग एवं शासकहरूले नेपाली जनतालाई सुरक्षित, संगठीत र समृद्ध बनाएर राष्ट्रको पहिचान विश्व माझ स्थापित गर्ने संकल्प गर्नुपर्छ ।

नेपालको लोकतान्त्रिक आन्दोलनमा फागुन ७ गतेको ऐतिहासिक महत्व छ । पूर्वराजा ज्ञानेन्द्र शाहले भनेका छन्, ‘नेपाली जनता र राजाबीचको सहकार्यको परिणामस्वरुप प्राप्त प्रजातन्त्रको अवसरमा म हाम्रा जिजुबुबा राष्ट्रपिता श्री ५ त्रिभुवनसहित प्रजातन्त्रका निमित्त त्याग र उत्सर्ग गर्ने सबैको स्मरण गर्न चाहन्छु ।’ प्रजातन्त्रमा सबैले सम्मानित महसूस गर्दछन् भन्ने विश्वव्यापी मान्यता र विश्वास छ । प्रजातन्त्र भनेको निर्वाचनहरूको आयोजनामात्र हो भन्ने भ्रम राखिनुहुन्न । देशको राष्ट्रियता, राष्ट्रिय एकता र सार्वभौमसत्तालाई सवल तुल्याउँदै जनताको सर्वोपरी हितलाई केन्द्रमा राखेर व्यवहार गर्ने व्यवस्थामात्र प्रजातान्त्रिक हुन सक्छ । ०६३ साल वैशाख ११ गते हामीमा निहीत राजकीय सत्ताको प्रयोग गरी भएको राजनीतिक परिवर्तनपछिको दशकमा देश र जनताका हितप्रति संवेदनशील एवं जिम्मेवार व्यवहार प्रस्तुत भइरहेको छ या अझै केन्द्रित सोचको पासोमा देशको राजनीति अल्झिएको छ, त्यसको समीक्षाको समय आएको छ । कानुनी राज एवं सुशासनको प्रत्याभूूति दिलाउन नखोज्ने अवस्थालाई नेपाली जनताले कहिलेसम्म व्यहोर्नुपर्ने हो ? सबैको भावना समेट्ने र राष्ट्रिय एकता समृद्ध बनाउने साधनको रूपमा प्रजातन्त्र प्रयुक्त बन्न सकोस् । 

२०७९ साल फागुन ८ गते । वर्ष:१६ अंक:१९