Monday, March 06, 2023

अतिक्रमण रोक्न ‘ल्यान्ड मार्किङ’

प्राधिकरणले गरेको ‘ल्यान्ड मार्किङ’

त्रिशुली । त्रिशुली जलविद्युत् आयोजनाको जग्गा अतिक्रमण हुन थालेपछि ‘ल्यान्ड मार्किङ’ सुरु गरिएको छ । 

आयोजनाले ५० प्रतिशत जग्गा अतिक्रमण भएकोले ल्यान्ड मार्किङको काम सुरु गरेको जनाएको छ । 

जलविद्युत् आयोजना निर्माण गर्दा सरकारले करिब ३५ सय रोपनी जग्गा स्थानीयबाट अधिग्रहण गरेको थियो । बाँध बनाउने क्रममा तत्कालीन समयमा अधिग्रहण गरिएको जमिनबाट माटो निकालिएको त्रिशूली जलविद्युत् आयोजना वितरण केन्द्र प्रमुख बाबुराजा महर्जनले बताए । उनका अनुसार तत्कालीन सरकारले जग्गा अधिग्रहण गरेर माटो सम्याउनका लागि थप जग्गा अधिग्रहण गरिएको थियो । तर,जग्गा उपयोग नभएपछि स्थानीयले त्यहाँ अतिक्रमण गरेको आयोजनाले जनाएको छ । त्रिशुलीजलविद्युत् आयोजनाका लागि त्रिशूली नदीमा बनाइएको बाँध । नदीबाट बहने करिब ९० प्रतिशत पानी जलविद्युत् उत्पादनका लागि लगिँदै आइएको छ ।

त्रिशुली जलविद्युत् आयोजनाको निर्माणका लागि सन् १९५८ को नोभेम्बर २० मा नेपाल र भारत सरकारबीच समझदारी भएको थियो । नेपाल विद्युत् प्राधिकरणका अनुसार तत्कालीन समयमा आयोजना निर्माणका लागि भारत सरकारको १४ करोड भारु खर्च भएको थियो । सम्झौता भएको करिब ९ वर्षपछि आयोजना सञ्चालनमा आएको महर्जनले बताए । सुरुवातमा २१ मेगावाट क्षमताको भए पनि सन् १९९५ मा स्तरोन्नति गर्दै आयोजनाको क्षमता २४ मेगावाटको बनाइएको थियो ।

हाल त्रिशुली जलविद्युत् आयोजनाका अतिक्रमित जमिन विदुर नगरपालिकाको वडा नम्बर ७,९ र १ नम्बर वडामा पर्छन् । ती क्षेत्रमा रहेका ५० प्रतिशत जग्गा अतिक्रमण भएको हो । ‘२ सयदेखि ३ सय वटा घरटहरा आयोजनाको जग्गामा निर्माण भएका छन्,’ महर्जनले भने । भूकम्पअगाडि सामान्य किसिमका संरचना भए पनि भूकम्प पुर्ननिर्माण प्राधिकरणले घर निर्माणका लागि पीडितहरूलाई अनुदान दिएको थियो । अनुदानबाट प्राप्त रकमबाट आयोजनाको जग्गाभित्रै ती कंक्रिटका संरचना निर्माण भएको बताइएको छ । धेरै नै घरटहरा भएपछि आयोजनाले जग्गा अतिक्रमण गरेर निर्माण भएका घर हटाउन सकेको छैन । 

जग्गा अतिक्रमण थप बढ्न सक्ने भएकाले ‘ल्यान्ड मार्किङ’को काम सुरु गरिएको महर्जनले जानकारी दिए । हाल ७ सय वटा कुनामा विद्युत् प्राधिकरणको लोगोअंकित पहेँलो रंगको पिल्लर गाडेर रेखांकनको काम सुरु गरिएको छ । यो कार्यका लागि पछिल्ला ५ वर्षमा डेढ करोड रुपैयाँ खर्च गरेको छ । ‘आयोजना निर्माणका लागि खरिद गरिएको जग्गाबाट माटो निकालेर बाँध बनाउन प्रयोग भएको थियो,’ महर्जनले कान्तिपुरसित भने, ‘त्यो जग्गा प्रयोग नभइकन त्यत्तिकै थियो विस्तारै अतिक्रमणमा परेको देखिन्छ । पहिल्यै डिमार्केसन गरेको थियो भने यो अवस्था हुँदैन थियो । ’ डिमार्केसन गरिएको क्षेत्रमा वृक्षारोपण गरिएको छ । ५ सयभन्दा बढी वटा बिरुवा रोपिएको महर्जनले जानकारी दिए ।

३० वर्षपछि जलाशय सफाइ

जलाशय क्षेत्रमा बालुवा र लेदोको मात्रा धेरै भएपछि त्रिशुली जलविद्युत् आयोजनाले ३० वर्षपछि सफा गर्न थालिएको छ । आयोजनाका कर्मचारी हरिप्रसाद प्याकुरेलका अनुसार २०४९ सालपछि जलाशय सफा गरिएको थिएन । पिक समयमा धेरै उत्पादन गर्ने र सुक्खा समयमा पानी जम्मा गरेर विद्युत् उत्पादन गर्ने परियोजना भएकाले त्रिशुलीमा ४ सय रोपनीको क्षेत्रफलमा १ लाख ३० हजार स्क्वायर मिटर क्षेत्रफलको जलाशय निर्माण गरिएको थियो ।

जलाशयमा बालुवा भरिँदा पिक समयमा उत्पादन क्षमता कम हुने गरेको छ । ‘नदीमा आधरित परियोजना हो त्रिशुली, त्यसैले जलाशयमा बालुवा भरिनु स्वभाविक हो,’ महर्जनले कान्तिपुरसित भने, ‘ पानी जम्मा गर्नका लागि हामीले पोखरी बनाएका थियौं । ३० वर्षसम्म धेरै ने बालुवा भरिएकाले पानी भण्डारण क्षमताअनुसार हुन सकिरहेको थिएन ।’ बालुवाको मात्रा धेरै हुँदा पानी चाहिने समयमा कम भण्डारण हुँदा पिक समयमा धेरै समयसम्मका लागि मात्रै विद्युत् उत्पादन हुँदै आएको छ । ‘दिउँसोलाई भन्दा बिहान र बेलुका ३÷४ घण्टाको पिक समयमा विद्युत् आपूर्ति धेरै हुन्छ । राति १० बजेसम्म विद्युत् आपूर्तिको माग धेरै नै गरेको छ,’ महर्जनले भने, ‘ बालुवा धेरै थुप्रिँदा पानी कम जम्मा हुन्छ र लामो समयसम्म विद्युत् उत्पादन नहुँदा एक्स्काभेटर पनि प्रयोग गर्दै आएको थियो ।’

तर उक्त मेसिनले हरेक १५ मिनेटमा साढे ५ फिट गहिराइ र ३० मिटरको चौडाइ क्षेत्रफलको मात्रै बालुवा निकाल्ने भएकाले जलाशयमा बालुवाको मात्रा थुप्रिँदै गएको थियो । जलाशयमा २ लाख घनमिटर बालुवा जम्मा भएको विद्युत् प्राधिकरणले जनाएको छ । फागुनभित्र बालुवा निकाल्ने काम सम्पन्न हुने महर्जनले जानकारी दिए । यसरी जम्मा भएको लेदोसहितको माटो उपयोग गर्न नमिल्ने भएपछि प्राधिकरणले आफ्नै जमिनमा लगेर व्यवस्थापन गरिरहेको छ । करिब १४ करोडको ठेक्का लगाएर बालुवा निकाल्ने काम भइरहेको छ । १२ सय मिटरको बाइपास क्यानल(नहर) निर्माण गरेर विद्युत् उत्पादन भइरहेको छ । यो जलाशय करिब ४ सय रोपनी क्षेत्रफलमा फैलिएको छ । नयाँ निर्माण गरिएको नहर । 

जलाशय सफा गर्नुपर्ने भएपछि आयोजनाले १२ सय मिटर लम्बाइको बाइपास नहर निर्माण गरेको छ । विदुर नगरपालिकाले पनि जलाशय क्षेत्रको करिब २ सय ५० रोपनी क्षेत्रफलमा जलविहार गर्नका लागि परियोजना निर्माण भइरहेको नगर प्रमुख राजन श्रेष्ठले जानकारी दिए । प्राधिकरणसँगको सहकार्यमा जलबिहार गर्ने र पर्यापर्यटन विकासका लागि योजना बनाइएको श्रेष्ठले बताए । हाल डीपीआर गर्ने÷नगर्ने भन्ने विषयमा छलफल भइरहेको उनले बताए ।

जलविद्युत् उत्पादनस्थल । यहाँ ७ वटा युनिट रहेका छन् । ६ वटा युनिटले ३ दशमलव ५ मेगावट र एउटा युनिटले ३ मेघावाट गरेर २४ मेगावाट विद्युत उत्पादन गर्छन् ।

यसैबीच, मुलुककै पुरानो जलविद्युत् आयोजना त्रिशुलीको जीर्णोद्धार र आधुनिकीकरणको काम भइरहेको छ । अहिले जलाशय क्षेत्रमा जम्मा भएको बालुवा र लेदो निकाल्ने कामबाहेक नयाँ उपकरण जडान तथा ट्रान्सफर्मरसमेत परिवर्तन गर्ने काम भइरहेको छ । प्राधिकरणको अघिल्लो आर्थिक वर्षको वार्षिक प्रतिवेदन अनुसार त्रिशुल जलविद्युत आयोजनाले गत वर्ष १३७.१ गिगावाट विद्युत् उत्पादन गरेको थियो । त्रिशूलीको कूल क्षमता १६३ गिगावाट विद्युत् उत्पादन रहेको छ । स्थापना भएयता आयोजनाले ५ हजार ६९३.९३ गिगावट विद्युत् उत्पादन गरेको प्राधिकरणले जनाएको छ 

सहिदको सालिक अनावरण

अनावरण भएको शालिकमुनी अतिथिहिरु

घ्याङस्वाँरापार्क । नुवाकोटको पञ्चकन्या गाउँपालिकामा जनयुद्धका क्रममा शाहदत प्राप्त १३ जना सहिदहरूका अर्धकदको शालिक शनिवार अनावरण भएको छ । 

नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य तथा नुवाकोट क्षेत्र नं. १ का संघीय सांसद हितबहादुर तामाङ, अर्का केन्द्रीय सदस्य एवं वाग्मती प्रदेशसभाका सदस्य तथा निवर्तमान उपसभामुख राधिका तामाङलगायतको उपस्थितिमा शनिबार पञ्चकन्या गाउँपालिका–४ घ्याङस्वाँरामा सहिद स्मारक पार्कमा निर्मित शालिक अनावरण गरिएको हो । कार्यक्रममा प्रमुख अतिथि, विशेष अथिति र गाउँपालिका अध्यक्ष तेजबहदुर तामाङले दोसल्ला ओढाएर सहिद परिवारलाई सम्मान गरेका छन् । 

कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वमन्त्री एवं संघीय सांसद हितबहादुर तामाङले सहिदहरूको सम्मान गर्ने पक्षमा रहेको बताए । उनले अनावरण गरिएको शालिक मानव जीवनरहेसम्म रहिरहने विश्वास व्यक्त गरे । 

प्रदेश सांसद राधिका तामाङले यसअघि राज्यले गर्न नसकेको जनयुद्धका सहिदहरूको सम्मान पञ्चकन्या गाउँपालिकाले दिएर प्रशंसनीय काम गरेको भन्दै गाउँपालिका अध्यक्षलगायत सबै टिमलाई धन्यवाद दिए । उनले अरु गाउँपालिकाको तुलनामा पञ्चकन्या गाउँपालिकाले विकास र सुशासनको निमित्त राम्रो काम गरेर धेरै अघि रहेको उल्लेख गरे । पञ्चकन्याका विकासका लागि गाउँपालिकामात्रै नभई सबै पक्षले सहयोग गर्न‘पर्नेमा उनले जोड दिएका छन् । 

पञ्चकन्या गाउँपालिकाले ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ अन्तर्गत निर्माणाधीन घ्वाङस्वाँरापार्कमा तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको जनयुद्धका क्रममा सहादत भएका १३ जना सहिदहरूको अर्धकदको शालिक निर्माण गरेको छ । जसमा वडा नम्बर १ का सुमन तामाङ (दिपेश), मधुकर राई, रामकृष्ण राई, वडा २ का श्रीकृष्ण राई, रामशरण नेपाली, 

वडा ३ का ईश्वर थापा, वडा ४ का समुन्द्र मल्ल ठकुरी (अजित), वडा नम्बर ५ का केशवराज पाण्डे, गौरी सिटौला, शिवशरण भारती, पुरुषोत्तम खतिवडा र सुनिलकुमार तामाङ छन् । 

टोखा–छहरे सडक खण्डमा लुटपाट

प्रहरी कार्यालयमा दर्ता भएको निवेदन

विदुर । नुवाकोट–काठमाडौं आउजाउ गर्ने छोटो दुरीको टोखा–छहरे सडक खण्डअन्तर्गत शिवपुरी राष्ट्रिय निकुञ्जभित्र एक युवालाई लुटपाट गरिएको छ । बिहीबार राति करिब ९ बजे नुवाकोट शिवपुरी गाउँपालिका–६, फेदीबाट काठमाडौं जाँदै गरेका १९ वर्षीय सबिन तामाङलाई अज्ञात व्यक्तिहरूले निकुञ्जभित्र उनी चढेको मोटरसाइकल रोकी नगद तथा मोबाइल लुटेर भागेका हुन् । 

काठमाडौं तारकेश्वर नगरपालिका–१ मा पर्ने निकुञ्जको जगात वनमा आफू लुटिएपछि तामाङले शुक्रबार प्रहरी वृत्त बालाजुमा उजुरी दिएका छन् । उजुरीमा उल्लेख भएअनुसार नगद ३० हजार, मोबाइल, नागरिकता, शैक्षिक योग्यताको प्रमाणपत्र, ब्लुबुक, लाइसेन्स (सवारी चालक अनुमतिपत्र)जस्ता महत्वपूर्ण कागजात लुटिएको छ । सडक किनारमा बसिरहेका अपरिचित ४ व्यक्तिले बाटो छेकी मोटरसाइकल रोकेको र सँगैका साथी र आफूलाई दाउराले हानेर नगद र कागजात रहेको झोला लुटेर भागेको तामाङको उजुरीमा लेखिएको छ 

प्रहरी वृत्त बालाजुका प्रहरी नायब उपरीक्षक (डिएसपी) मनोजजीत कुँवरले लुटपाटको घटनाबारे प्रहरी चौकी टोखा र साङ्लालाई समेत जानकारी गराई अनुसन्धान अघि बढाइएको बताए । 

माथिल्लो त्रिशूली–१को सुरुङको निर्माण

निर्माण सम्पन्न भएको सुरुङ

विदुर । प्रत्यक्ष वैदेशिक लगानीमा रसुवामा निर्माणाधीन २१६ मेगावाटको माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजनाको बाँधलगायत संरचना (हेडवक्र्स्) निर्माणका लागि नदी फर्काउन बनाइएको डाइभर्सन सुरुङको निर्माण सम्पन्न भएको छ ।

रसुवाको आमाछोदिङमो गाउँपालिका–१ हाकुमा बाँध निर्माणका लागि ४२० मिटर लम्बाइ र ५ मिटर व्यास भएको पूर्ण कंक्रिट लाइनिङ डाइभर्सन सुरुङ निर्माण सम्पन्न भएको आयोजनाले जनाएको छ । सुरुङ निर्माण सम्पन्न भएपछि गएको मंगलबारदेखि सोही सुरुङबाट नदी फर्काइ बाँध निर्माण सुरु गरिएको आयोजनाको प्रवद्र्ध्धक नेपाल वाटर एण्ड इनर्जी डेभलप्मेन्ट कम्पनीका प्रमुख कार्यकारी अधिकृत ताइ हक युनले बताएका छन् । ‘आयोजना निर्माणका लागि एउटा माइलस्टोन पुरा भएको छ, मुख्य तथा प्रवेश सुरुङ, टेलरेसहित सुरुङको जम्मा लम्बाइ १३.५ किलोमिटर रहेकोमा अहिलेसम्म ४.५ किलोमिटर सम्पन्न भएको छ’, उनले भने ।

आयोजनाको भूमिगत विद्युतगृह खन्ने कार्य करिब २१ प्रतिशत सम्पन्न भएको समेत आयोजनाले उल्लेख गरेको छ । आयोजनाको समग्र भौतिक प्रगति १४ प्रतिशत रहेको छ । आयोजनाको मुख्य निर्माण गत २०७८ पुसदेखि सुरु गरिएको थियो । आयोजना निर्माणमा अहिले करिब ७ सय कामदार परिचालित छन् । 

त्यसमध्ये करिब ३ सय रसुवाका स्थानीय हुन् । आयोजना निर्माणका लागि इन्जिनियरिङ, खरिद र निर्माण मोडलमा कोरियन कम्पनी डुसान हेवी इण्डष्ट्री एण्ड कन्स्ट्रक्सनले काम गरिरहेको छ ।

उत्पादित विद्युत आन्तरिक खपतका लागि प्रत्यक्ष वैदेशिक लगानीमा निर्माण हुन लागेको माथिल्लो त्रिशूली—१ हालसम्मकै ठूलो जलविद्युत आयोजना हो । आयोजनाको प्रवर्द्धक नेपाल वाटर एण्ड इनर्जी डेभलप्पमेन्ट कम्पनीमा कोरियन सरकारको स्वामित्वमा रहेको कोएन, विश्व बैंक समूह अन्तर्गतको अन्तर्राष्ट्रिय वित्त निगमलगायतको सेयर लगानी रहेको छ । आयोजनाका लागि ७० प्रतिशत ऋण र ३० प्रतिशत इक्विटीबाट जुटाउने गरी वित्तीय व्यवस्थापन गरिएको छ ।

कुल अनुमानित लागत ६४ करोड ७३ लाख अमेरिकी डलर (निर्माण अवधिको व्याजसहित) रहेको आयोजनामा ९ अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरूले ४५ करोड ३२ लाख अमेरिकी डलर लगानी गर्ने सम्झौता गरेका छन् । बाँकी रकम स्वपूँजी (इक्विटी)बाट जुटाइएको छ । आयोजनाबाट वार्षिक रुपमा १ अर्ब ५३ करोड ३१ लाख युनिट ऊर्जा उत्पादन हुने छ । आयोजनाबाट उत्पादन हुने कुल वार्षिक ऊर्जामध्ये ३८.७५ प्रतिशत हिउँदयाममा र ६१.२५ प्रतिशत वर्षायामा उत्पादन हुने छ । उत्पादित उर्जा नेपाल विद्युत प्राधिकरणले निर्माण गरिरहेको त्रिशूली–३बी हब सबस्टेसनमा जोडी राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह हुने छ ।

काठमाडौं लोडसेन्टरबाट नजिक रहेको र विद्युतको अध्याधिक माग हुने हिउँदमा समेत १०४ मेगावाट विद्युत प्राप्त हुने छ । आयोजनाबाट वर्षभरि नै १०४ मेगावाट स्थिर (फार्म) ऊर्जा प्राप्त हुने छ । आयोजनाको निर्माण २०८३ को मंसिरभित्र सक्ने लक्ष्य छ ।

तेस्रो नाट्यश्वर म्युजिक अवार्ड सम्पन्न

अवार्ड वितरण समारोह

विदुर  । राजधानीको चाबहिल स्थित चलचित्र बिकाश बोर्डमा तेस्रो नाट्यश्वर म्युजिक अवार्ड–२०७९ सम्पन्न भएको छ ।

यस कार्यक्रममा प्रल्हाद केसीको अध्यक्षता रहेको थियो भने नेपाली कांग्रेसका युवा नेता तथा सांसद प्रदिप पौडेलको प्रमुख आतिथ्यता रहेको थियो । ‘नाट्यश्वर भगवान हामी सबै कलाकारको शान, कलाकार र कलाकारिताको जग्रेना गर्ने हाम्रो अभियान’ भन्ने मूल नाराका साथ आयोजना गरिएको सो अवार्ड समारोहमा गीत संगीत, पत्रकारिता र समाजका विविध क्षेत्रमा योगदान पु¥याउने व्यक्तित्वलाई समेत सम्मान गरिएको थियो ।

अवार्डमा २०७७ असारदेखि २०७९ असार मसान्तसम्मका गीतबाट आवेदन दिएका गीतमध्ये उत्कृष्ट पाँचबाट सर्वोत्कृष्टलाई अवार्ड प्रदान गरिएको कार्यक्रम निर्देशक किरण अधिकारीले बताए । गीत संगीत सहित विशेष प्रस्तुतिका साथ सम्पन्न भएको अवार्ड समारोहमा विभिन्न ६४ विधामा अवार्ड प्रदान गरिएको थियो । विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायलाई दीर्घ साधाना सम्मान गरिएको छ । 

अवार्ड समारोहका प्रमुख अतिथि सांसद तथा नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलका साथै अन्य अतिथिले दोसल्ला, फूलमाला र दीर्घ साधाना सम्मान पत्रका साथै नगद ५१ हजार एक सय एघार रुपैयाँ सहित सम्मान गरिएको थियो ।

यस कार्यक्रमममा बिशेष कला सम्मानद्धारा ईन्द्रणीका सञ्चालक कृष्ण कंडेल, सञ्चारकर्मी सम्मान अन्तर्गत ‘दशक पत्रकारिता सम्मान’द्धारा पत्रकार प्रकाश बराईली ‘अभिब्यक्ति‘ लाई सम्मान गरिएको थियो । साथै बरिष्ठ लोक दोहोरी गायक ईन्द्र जिसी, सागर गुरुङ, प्रदिप कार्की, शिखर श्रेष्ठ, बिष्णु तरुके, पुष्पा शर्मा, बिजयरत्न तुलाधर, नायिका तथा मोडल सबिना कार्की, गायक अलिफ खान, पत्रकार बर्षा खनाल लगायतका ब्यक्तिहरू सम्मानित भएका छन् । त्यस्तै सागर लम्साल (बले), दुर्गेश थापा, जनक सिंह, निरेन श्रेष्ठ, रमिला न्यौपाने, सुनितामी परियार, शोभा त्रिपाठी, जुनु रिजाल लगायत अन्यले बिभिन्न बिधामा ६० जनाले अवार्ड चुमेका छन् ।

अवार्ड वितरण समारोह


ज्येष्ठ नागरिकको सम्मान र स्वास्थ्य परीक्षण

जेष्ठ नागरिकसंग मेयर गुरु

बेलकोटगढी । नुवाकोटको बेलकोटगढी नगरपालिकाले ज्येष्ठ नागरिकलाई सम्मान तथा स्वास्थ्य जाँच गराएको छ । 

नगरपालिकाको महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाले ‘जेष्ठ नागरिकसँग मेयर’ कार्यक्रमअन्तर्गत वडा नम्बर ३ का २ सय २० जना ज्येष्ठ नागरिकलाई सम्मान, स्वास्थ्य जाँच गर्न‘का साथै जिन्सी सामग्री वितरण गरेको हो । बेलकोटगढी प्रमुख जगतबहादुर गुरुङको अध्यक्षता तथा संघीय सांसद विमला सुवेदीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा जेष्ठ नागरिकलाई ब्याग, हर्लिक्स, ब्ल्याङ्केट, ओढ्ने पछयौरा वितरण गरिएको नगरपालिकाले जनाएको छ । त्यस्तै वाद्यवादनको सामग्रीहरू हार्मोनियम, मादल, तबलालगायत ज्येष्ठ नागरिक दिवा सेवाका लागि आवश्यक सामग्रीहरू समेत हस्तान्तरण गरिएको छ ।

कार्यक्रममा विशेष अथितिमा बेलकोटगढी नगरपालिकाका प्रशासन प्रमुख सूर्यदर्शन पण्डित, धुनीबेँसी नगरपालिका वडा नं ६ अध्यक्ष रमेश आचार्य वडाध्यक्ष, कार्यपालिका सदस्य, नगरपालिकाको कर्मचारीका साथै नागरिकको सहभागिता थियो । देवनाथ पुडासैनीको अध्यक्षतामा ११ सदस्यीय ज्येष्ठ नागरिक दिवा सेवा केन्द्रको पनि स्थापना गरिएको छ ।

शिक्षकलाई तिखार्न शिक्षककै हाजिरिजवाफ

देउराली । म्यागङ गाउँपालिकाको शिक्षा तथा खेलकुद शाखाले शिक्षकहरूलाई सहभागी गराई हाजिरिजवाफ प्रतियोगिता सञ्चालन गरेको छ । शिक्षकहरूलाई विभिन्न परीक्षमा समेत काम लाग्ने र विद्यार्थीहरूलाई सिकाउन सहयोग मिल्ने भन्दै हाजिरिजवाफ प्रतियोगिताको आयोजना गाउँपालिकाका अध्यक्ष आशा तामाङले बताएका छन् । 

शिक्षक सेवा आयोगको तयारीलाई सहयोग पु¥याउने उदेस्यले हाजिरिजवाफ प्रतियोगिता सञ्चालन गरिएको शिक्षा अधिकृत शेरसिहं रावतले जानकारी दिए । प्रतियोगितामा शिक्षक सेवा आयोगको पाठ्यक्रममा आधारित प्रश्नहरू सोधिएको थियो । प्रतियोगितामा सहभागी १२ विद्यालयहरू मध्ये विन्दुकेशर माध्यमिक विद्यालय प्रथम, ग्रामसेवा माध्यमिक विद्यालय द्वितीय र भूमेदेवी माध्यमिक विद्यालय तृतीय भएको थियो । विजयी विद्यालयहरूलाई प्रमाणपत्र सहित मायाको चिनो प्रदान गरिएको रावतले जानकारी दिए । 

गाउँपालिकाका अध्यक्ष आशा तामाङ, उपाध्यक्ष सीता तामाङ, सबै वडाका वडा अध्यक्षहरू सहित जनप्रतिनिधि, शिक्षा शाखामा कार्यरत कर्मचारी, पालिका भित्रका विद्यालयहरूको व्यवस्थापन समितिका अध्यक्ष, प्रधानाध्यापक लगायत शिक्षकहरूको सहभागितामा उक्त हाजिरिवाफ प्रतियोगिता संचालन भएको थियो । साथै कार्यक्रममा सहभागीहरू बीच पालिकामा शिक्षाको गुणस्तर बढाउनलाई सञ्चालन गर्न‘पर्ने गतिविधिको बारेमा छलफल समेत भएको थियो । गाउँपालिकाका अध्यक्ष आशा तामाङले शैक्षिक क्षेत्रमा देखिएको समस्यालाई समाधान गर्दै लैजाने बताए । त्यस्को लागि आवस्यक बजेटको व्यवस्था गर्न गाउँपालिका प्रतिवद्ध रहेको उनको भनाई छ । 

शैक्षिक गुणस्तरवृद्धि गर्न जनप्रतिनिधि सहित शिक्षा तथा खेलकुद शाखाले पालिकाभित्रका प्रत्येक विद्यालयको बास्तबिक अवस्थाको बारेमा जानकारी लिन प्रत्यक्ष रुपमा अनुगमनका गतिविधिहरू सञ्चालन गर्दै आइरहेको छ । अनुगमनको क्रममा प्राप्त समस्या समाधानको लागि विद्यालय व्यवस्थापन समिति सहित शिक्षक, वडा कार्यलय, गाउँपालिकाको कार्यलय, र शिक्षा तथा खेलकुद शाखा कुन बढी जिम्मेवार छ पहिल्याएर अघि बढ्ने गरेको शिक्षा अधिकृत रावतले बताए । 

विद्यार्थीको शैक्षिक अवस्थाको बारेमा जानकारी लिनलाई कक्षागत अनुगमनको साथै विद्यार्थी र अभिभावकसँग अन्तरक्रिया समेत गर्ने गरिएको उनको भनाई छ ।


लिच्छविकालीन विहारको अध्ययन

अध्ययन गरिएको नुवाकोटको लिच्छविकालीन विहार

नुवाकोट । नुवाकोटको विदुर नगरपालिका–२ सरस्वतीथानमा रहेको विहार/चैत्यको पुरातत्व विभागले अध्ययन थालेको छ । 

इतिहासअनुसार १४ सय वर्षअघि लिच्छविकालीन समयमा निर्माण गरिएको उक्त विहार जीर्ण भइ भग्नावशेषमा परिणत हुन लागेपछि विभागले उत्खनन कार्य थालेको हो । विभागले यहाँ अध्ययन र अन्वेषणसहित पुरातात्विक स्वरुपमा पुनर्निर्माणका लागि अध्ययन गर्ने जनाएको छ ।

हालै अध्ययनका लागि बेलायतको दुराम विश्वविद्यालयबाट आएका पुरातत्वविद्ले अत्याधुनिक उपकरणको प्रयोगगरी जमिनमुनि रहेका संरचनाको जानकारी संकलन गरेको विभाग मातहत नुवाकोटमा रहेको स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालय प्रमुख अर्ज‘न फुँयालले बताए । उनका अनुसार पाइएका स्वयम्भू–चैत्यको संरचना निकै पुरानो पाइएको छ । जमिनमुनिको पाइएको तथा देखिएका तथ्यका आधारमा अर्को चरण अध्ययन गरिने स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयले जनाएको छ ।

हालै स्वयम्भू(चैत्य)को अध्ययन गर्न बेलायतको दुराम विश्वविद्यालयका दुई सदस्य पुरातत्वविद् डंकन नेभिल्लेहे, इयुयान डेनिस जोन र पुरातत्व विभागका उपनिर्देशक रामबहादुर कुँवरको टोलीले अत्याधुनिक उपकरण प्रयोग गरेर विवरण संकलन गरेको स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयले जनाएको छ । सरस्वतीस्थानमा वरिपरि ढुंगाले बनेका साना चैत्यहरूका बीचमा फराकिलो पीठको बीचमा अर्को पूर्णता पूरा बाँकी रहेको मूल चैत्य अवस्थित छ ।

चैत्यको पूर्वी मोहडाको दायाँबायाँ दुई वटा सिंहको पत्थरमूर्ति राखेर प्रवेशब्दार बनाइएको छ । चैत्यको अगाडि बायाँ भागमा गणेशको मूर्ति रहेको छ । पुरातात्विक वस्तुको उत्खनन, संरक्षण र इतिहासको दस्तावेजलाई अध्ययन गरेर बाहिर ल्याउन नगरपालिका लागि परेको विदुर नगरपालिकाको मेयर राजन श्रेष्ठले बताए ।

लिच्छविकालीन राजा अंशुवर्माले वि.सं. ६६२ देखि ६७८ भित्रको शासनकालमा ती सरस्वतीथामा मन्दिर र चैत्य निर्माण गरिएको इतिहासमा रहेको छ । छोरी भृकुटी बस्ने ठाउँ, दक्षिणपूर्वी भेग फैलिएको स्थानमा अंशुवर्माले निर्माण गर्न लगाएका चैत्य, नजिकै भित्तामा भैरवको मूर्ति छ । मूर्तिका मुखभाग आधा पुटेको छ । 

पूर्वीकोणमा गणेशको मूर्ति छ । चैत्यमा पूर्व फर्केका दुई सिंह छन् । पश्चिम कोणमा तत्कालीन राजा पृथ्वीनारायण शाहले उक्त स्थानलाई मर्मत सुधार गरी लेखिएको शिला छ । मर्मत संभार हुन नसक्दा अक्षरहरू मेटिदै गएको छ । राजाले त्यतिबेला पूजाआजा गरी शक्ति मागेको किंवदन्ती छ । पश्चिमकोणमा दुई साना चैत्य छन् ।

सोही चैत्यको भित्तामा मञ्जुश्रीको मूर्ति छ । पूर्वोत्तर भागमा एउटा चैत्य छ । दक्षिणकोणपट्टिको एउटा सानो चैत्य मासिइसकेको छ । ती सबैलाई मिलाएर पञ्चबुद्ध समेत भन्ने गरिएको छ । पश्चिमपट्टी एउटा भत्केको पाटी छ । पश्चिम मोहडा फर्किएको नाटेश्वरीको मूर्ति छ । त्यसको उत्तरपट्टि सरस्वतीको मन्दिर छ । नजिकै बरको चौताराको रुख छ । सोही रुखमुनि अंशुवर्माले बनाएको झिंगटीको दरबार रहेको बुढापाकाको भनाइ थियो । भृकुटीको तिब्बतका राजा स्रंङचङगम्पोसँग विवाह भएपछि घर माइती गर्दा यही दरबारमा बस्ने गरेको किंवदन्ती छ ।

यही चैत्य १ सय मिटर पूर्वी भागमा एउटा धारा छ । यसलाई सहरपानी धारा नामले चिनिन्छ । यहीँ भृकुटीले नुहाउने गरेको अद्यपि किंवदन्ती रहिआएको छ । पहिला काठमाडौं, भक्तपुर, ललितपुर, कीर्तिपुरका नेवार समुदायहरू बाजा बजार पूजा गर्न यही चैत्यमा आउने गरेका थिए । अहिले त्रिशूलीका नेवार समुदायले विदुर नगरपालिका–१ बान्द्रेमा चैत्य बनाएपछि यता आउन छाडेका छन् ।


होटल तथा पर्यटन व्यवसायी संघको अध्यक्षमा नेपाल

नयाँ कार्य समिति

विदुर । होटल तथा पर्यटन व्यवसायी संघ नेपाल, बागमती प्रदेशको अध्यक्षमा दामोदर नेपाल सर्वसम्मत निर्वाचित भएका छन् । बुधबार चित्लाङमा सम्पन्न संघको दोस्रो अधिवेशनले नेपाललाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो । 

नवनिर्वाचित अध्यक्ष नेपाल यसअघि संघको महासचिव थिए । नुवाकोटका उनी अहिले काठमाडौंमा होटल व्यवसाय गर्छन् । यस्तै संघको वरिष्ठ उपाध्यक्षमा श्यामकुमार भालु निर्वाचित भएका छन् । प्रथम उपाध्यक्ष र द्धितिय उपाध्यक्षमा निपु सर्राफ र राजकुमार श्रेष्ठ चयन भएका छन् । संघको महासचिवमा भने राजकुमार प्याकुरेल चयन भएको निर्वाचन समितिले जनाएको छ । महासचिव प्याकुरेल समेत नुवाकोटका हुन् । उनी हाल धादिङमा होटल व्यवसाय सञ्चालन गर्दै आएका छन् । यस्तै, सचिवमा राजेन्द्रकुमार पिया, सहसचिवमा हरिगोपाल सापकोटा, कोषाध्यक्षमा शेखरमान श्रेष्ठ र सहकोषाध्यक्षमा विनोद लामिछाने चयन भएका छन् । लामिछाने नुवाकोटको बट्टार स्थित होटल स्वायर सञ्चालन गर्छन् । 

सदस्यहरूमा रामशरण नेपाल, अमृत बहादुर श्रेष्ठ, होम बहादुर श्रेष्ठ, सुनिल अर्याल, ललितजंग सिंह, सन्तोष घले, नमराज मरहठ्ठा, कल्पना पौडेल, सुदिप देवकोटा र राजन भट्ट चयन भएका छन् । भट्ट नुवाकोटको विदुरमा रहेको होटल शमनदार सञ्चालन गर्छन् । 

नुवाकोटका पत्रकार शरण उत्सुक सापकोटालाई सम्मान गर्दै बागमती प्रदेशका मुख्य मन्त्री शालिकराम जम्कट्टेल 
नुवाकोट होटल तथा रेष्टुरेष्ट ब्यवसायी संघका पुर्व अध्यक्ष मधुसुदन थपलियालाई सम्मान गर्दै मुख्य मन्त्री जम्कट्टेल


गाउँपालिकामा नमूना युवा संसद अभ्यास

नमूना युवा संसद अभ्यास

सुनिल श्रेष्ठ

कालिकास्थान । युवा पुस्तालाई गाउँपालिकाको नीतिगत व्यवस्थाबारे जानकारी गराउने उद्देश्यले कालिका गाउँपालिकामा नमुना युवा संसद अभ्यास अन्तर्गत गाउँसभा सञ्चालन भएको छ । ‘समृद्ध नेपाल निर्माणका लागी स्वस्थ, कर्मठ र उद्यमी युवा’ भन्ने मुल नाराका साथ कालिका गाउँपालिकास्तरीय नमूना युवा गाउँसभा अभ्यास प्रशिक्षण कार्यक्रम गरिएको हो । युवाहरूले गत बिहीबार फाल्गुण ११ गते कालिका गाउँपालिकाको कार्यपालिका सभाहलमा गाउँसभाको अभ्यास गरेका हुन् ।

सभाहलको ड्यासमा अध्यक्षको बायाँतिर उपाध्यक्ष, दायाँतिर सचिव र अगाडी गाउँपालिकाका सदस्यहरू बसेका थिए भने देब्रेतिर सञ्चारकर्मीहरू लहरै बसेका थिए । गाउँसभा बैठकजस्तै देखिने यो दृश्य भने कालिका गाउँ कार्यपालिकाको कार्यालयले पहिलोपटक आयोजनामा गरेको नमूना युवा गाउँसभा अभ्यास तथा प्रशिक्षण कार्यक्रमको हो । नवनिर्वाचित अध्यक्षमा कृतिका न्यौपाने र उपाध्यक्षमा सारुमगरले भूमिका निर्वाह गरेका थिए । यसैगरी कवितादास परियार, संजिता तामाङ, रोहित देवकोटा, बिमला तामाङ, वीरबहादुर तामाङ, रोजिना पौडेल, समिर न्यौपाने, पुजा तामाङ, समिर मोक्तान, आदित्य नगरकोटी, भक्तबहादुर तामाङलगायतले गाउँपालिकाको कार्यपालिका सदस्यको भूमिका निर्वाह गरेका थिए ।

गाउँसभा अभ्यासको क्रममा निर्वाचित सदस्यहरूले रसुवा जिल्ला पर्यटकीय क्षेत्रको विस्तारमा होमस्टे, पर्यटकीय मार्ग, जिल्लामै उत्पादित जडिबुटीको प्रशोधन र बजारको व्यवस्था, कृषिमा युवा जागरुक, स्वरोजगार, घरेलु व्यवसाय, वैदेशिक रोजगारलाई निरुत्साहित गरी स्वदेशमै रोजगारको सिर्जना लगायतका सुझाव राख्नुको साथै गाउँपालिकाको आर्थिक नीति, विधयेक, करलगायतका बारेमा संशोधन मागसहित सुझाव पेश गरेका थिए ।

गाउँसभामा सबैको प्रतिनिधित्व हुने गरी समावेशी कार्यपालिका सदस्य गठन गरिएको थियो । सहभागीहरूले मर्यादित भएर आफ्ना कुराहरू कसरी राख्ने लगायतका कुराहरू सिकाइ भएको र सबै पक्षलाई समेटेर कसरी टिमको नेतृत्व गर्ने भन्ने सिकाई भएको बताएका छन् ।

समापन कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष हरिकृष्ण देवकोटाले युवा पुस्तामा यस्तो ज्ञान अति आवश्यक रहेको धारणा राखेका थिए । अध्यक्ष न्यौपानेले आफ्नो कर्तव्यमा युवालाई अग्रसर बनाउँदै गाउँपालिकालाई सुझाव दिन सक्ने युवा तयार पार्नको लागि पालिकाले यो कार्यक्रम गरेको जानकारी दिए ।

भविष्यमा युवाहरूले नै नेतृत्व गर्ने भएकोले त्यो क्षमताको जग निर्माण गर्न पनि अभ्यास आवश्यक रहेको गाउँपालिकाकी शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख कुमारी सरिता जोशीले बताईन् ।

नमूना युवा संसद अभ्यासद्वारा कालिका गाउँपालिकाको अध्यक्ष पदमा निर्वाचित प्रितिका न्यौपानेले वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिईन् । उनले युवा अवस्थामा यस्तो खाले तालिम प्रयोगात्मक हुदाँ युवालाई गाउँपालिकाको नीति निमार्णमा समेत सहज भुमिका खेल्न सक्ने विश्वास व्यक्त गरिन् । यस्तै, सभामा गाउँपालिकाकाकी उपाध्यक्ष कञ्चना सारुमगरले वार्षिक बजेट वक्तव्य पेश गरेकी थिईन् ।

गाउँपालिकाभित्रका १६ वर्ष देखि २४ वर्ष उमेरका १५ जना तन्नेरी युवाहरूले फाल्गुण ८ गतेदेखि ११ गतेसम्म गाउँपालिका चलाउने गाउँसभा अभ्यास गरेका थिए ।

नमूना संसद अभ्यासमा गाउँपालिकाकी उपाध्यक्ष मीरा तामाङ, प्रमुख प्रशासकीय अधिकृत शितलबहादुर रावल, वडाध्यक्षहरू, विषयगत शाखाका प्रमुख, पत्रकारलगायतको उपस्थिति रहेको थियो ।

राजनीति खतरामा पर्न सक्छ : तामाङ

सांसद हितबहादुर तामाङ

चौघडा । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा संघीय सांसद हितबहादुर तामाङले राष्ट्रिय सहमति र एकताको पहलकदमी नलिए राजनीति खतरा पर्ने सक्ने बताएका छन् । 

नुवाकोट खेलकुद विकास समितिद्वारा लिखु गाउँपालिका–४, चौघडामा आयोजित जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता आइतबार उद्घाटन गर्दै सांसद तामाङले अहिलेको अवस्थामा राष्ट्रिय सहमति र एकताको पहलकदमी नेतृत्वले नलिए राजनीति भासमा डुब्ने धारणा राखे । 

‘आवश्यकता परेको बेलामा राष्ट्रिय सहमतिका निमित्त र राष्ट्रिय एकताको निमित्त पहलकदमी लिन सकेनौं । त्यस कित्तामा आफूलाई उभ्याउन सकेनौं भने राजनीति खतराको भाषमा डुब्न सक्ने संभावना छ,’ सांसद तामाङले भने, ‘त्यसलाई ख्यालमा राखेर युवा खेलाडीहरूले आफ्नो खेलको अतिरिक्त सबै वर्तमान परिवेशलाई ध्यानमा राखेर अघि बढ्नुपर्छ ।’ नेता तामाङले मुलुकमा राजनीतिक अस्थिरता कायम रहेको भन्दै हरेक पेसा, व्यवसाय, युवा खेलाडी वा विद्यार्थीहरूमा राजनीतिप्रति वितृष्णा पैदा भएको बताए । उनले भने, ‘यो वितृष्णा के कारण ले पैदा भयो । राजनीतिप्रति युवाहरूको आकर्षण किन घटिराखेको छ । यसको व्यापकरुपमा छलफल गर्न‘पर्ने विषय निश्चितै हो ।’

सांसद तामाङले राजनीतिक स्थिरताका लागि लामो समयदेखि लडेर प्राप्त गरेको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान कार्यन्वयन प्रक्रियामा अघि बढिराखेको बताए । उनले भ्रष्टाचाररहित समाज निर्माण गर्न युवाहरूलाई आह्वान गरे । पूर्व युवा तथा खेलकुदमन्त्री तामाङले खेलकुदको भौतिक पूर्वाधारको विकास हुन नसकेकोमा चिन्ता व्यक्त गर्दै आफूले बजेटका लागि पहल गर्ने आश्वासन दिए । कार्यक्रममा संघीय सांसद विमला सुवेदी, जिल्ला समन्वय समितिका प्रमुख रजिन्द्रविक्रम सिंह ठकुरी, नेकपा एमालेका जिल्ला अध्यक्ष बद्री मैनाली, एमाले नेता पूर्णलाल श्रेष्ठ, तादी गाउँपालिका अध्यक्ष सन्तमान तामाङलगायतले खेलकुदको विकास गरी राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्न पर्याप्त बजेट नभएको बताए । मंगलबारसम्म चल्ने प्रतियोगितामा एथ्लेटिक्स, भलिबल, कबड्डी, तेक्वान्दो, कराते र उसु खेल हुने छन् ।

ग्यास पड्किएर आगलागी

ग्यासको सिलिण्डर पड्किएर भएको आगलागी

बेलकोटगढी । नुवाकोटको यस नगरपालिका ८ पाँचखलेस्थित विश्वनाथ पुडासैनीको घरमा ग्यासको सिलिण्डर पड्किएर आगलागी हुँदा साढे तीन लाख रुपैयाँ बराबरको क्षति पुगेको बताइएको छ ।

आगलागीमा परी अन्नपात, भाँडाकुँडा, लत्ताकपडा जलेको तर कुनै मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं डीएसपी खगेन्द्र खड्काले बताए । जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष किरण थापाले आगलागी पीडितलाई स्थानीय प्रशासन र नेपाल रेडक्रस सोसाइटीको संयुक्त रुपमा आवश्यकीय सहयोग र सामग्री प्रदान गरेका थिए । ढुंगा, माटोले बनेको र जस्ताले छाएको घर आगलागीमा परेर घर पूर्णरुपमा जलेको छ । बिदुर नगरपालिकाको दमकल र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा ल्याइएको थियो । 

१५ वर्षपछि पक्राउ

विदुर । नुवाकोटको विदुर नगरपालिकास्थित पन्ध्र वर्षअघि सवारी ज्यान मुद्दामा कैद सजाय तोकिएका एक जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय नुवाकोटबाट खटिएको टोलीले साविक खड्गभञ्ज्याङ गाविस ९ हाल बिदुर नगरपालिका ३ बस्ने ४६ वर्षीय राजु राईलाई पक्राउ गरेको हो ।

प्रहरीले राईलाई गएको आइतबार बिहान ९ बजे पक्राउ गरी सार्वजनिक गरेको हो । पक्राउपछि प्रहरीले आरोपितलाई नुवाकोट जिल्ला अदालतमा पेस गरी कैद भुक्तानको लागि जिल्ला कारागार नुवाकोट चलान गरिएको डीएसपी खगेन्द्र खड्काले बताए । राईको तनहुँ जिल्ला अदालतले २०६४ साल असार १९ गतेको फैसलाले सवारी ज्यान मुद्दामा २ वर्ष कैद सजाय तोकेपछि उनी फरार थिए ।


 

मुख्यमन्त्रीलाई सम्मान पत्र दिँदै उप्रेती

सन्तोष उप्रेती, निर्वतनमा अध्यक्ष

होटल तथा पर्यटन व्यवसायी संघ नेपाल बागमती प्रदेश

होटल तथा पर्यटन व्यवसायी संघ नेपाल बागमती प्रदेशको तेश्रो साधारण सभा तथा दोश्रो अधिवेशन मकवानपुर जिल्लाको सांस्कृतिक तथा पर्यटकियनगरी चित्लाङमा सम्पन्न पार्नका लागि सहयोग गर्नुहुने सम्पूर्ण अग्रज, प्रमुख अतिथि, अतिथि, सहयोगी संघसंस्था तथा व्यक्तित्वहरू, होटल तथा पर्यटन व्यवसायीमा लाग्नु भएका देशैभरीमा तमाम् उद्योगी व्यवसायी मित्रहरू तथा उर्जाशिल सहकर्मीहरूलाई हृदयदेखि कृतज्ञता ज्ञापन गर्न चाहान्छु । 

हाम्रो तेश्रो साधारण सभा तथा दोश्रो अधिवेशनको उद्घाटन समारोहका प्रमुख अतिथि बागमती प्रदेशका मुख्यमन्त्री माननिय शालिकराम जम्कट्टेलज्यू, बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री माननिय एकालाल श्रेष्ठज्यू, संविधान सभा सदस्य सुवासचन्द्र ठकुरीज्यू, मकवानपुरका प्रमुख जिल्ला अधिरकारी राजेन्द्रदेव पाण्डेज्यू, होटल व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष दिनेश चुकेज्यू, पुर्व अध्यक्ष एवं संरक्षक अमृत भुजेलज्यू, नेपाल पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष शिव देवकोटाज्यू, नुवाकोट उद्योग बाणिज्य संघका अध्यक्ष ताराबहादुर कार्कीज्यू, यस होटल तथा पर्यटन व्यवसायी संघको बागमती प्रदेशका १३ वटै जिल्लाका अध्यक्षज्यूहरू प्रति हार्दिक आभार प्रकट गर्न चाहान्छु ।   

होटल तथा पर्यटन व्यवसायी संघ नेपाल बागमती प्रदेशको पहिलो साधारण सभा तथा अधिवेशन नुवाकोटको विदुर हुँदै दोश्रो साधारण सभा रसुवाको पर्यटकिय क्षेत्र गत्लाङ अनि अहिले तेश्रो साधारण सभा तथा दोश्रो अधिवेशन मकवानपुरको चित्लाङसम्म भइरहँदा हाम्रो यस संस्थालाई सहयोग, स्नेह र दिलोज्यान लिने तपाई धेरै आदरणिय व्यक्तित्वहरू हुनुहुन्छ । त्यस मध्येबाट पनि पत्रकारिता क्षेत्रबाट हाम्रो होटल तथा पर्यटन व्यवसायलाई असाध्यै प्राथमिकतामा राख्नुहुने नुवाकोटका अग्रज पत्रकार शरण उत्सुक सापकोटा, यस संघको पहिलो साधारण सभा र अधिवेशन नुवाकोटको विदुरमा सम्पन्न गर्नका लागि मुख्य भुमिका निर्वाह गर्ने तत्कालिन नुवाकोट होटल तथा रेष्टुरेष्ट व्यवसायी संघका अध्यक्ष मेरा प्रिय भाई मधुसुदन थपलियालाई यसपटकको बार्षिक साधारण सभामा कदर स्वरुप सम्मान गर्न पाउदा खुसी छु । 

साथै निर्वाचन समितिका रहेर अधिवेशन सम्पन्न गर्नका लागि महत्वपूर्ण भुमिका निर्वाह गर्नुहुने प्रमुख निर्वाचन अधिकृत अधिवक्ता विष्णुप्रसाद भण्डारी, गणेश ढकाल र पत्रकार महासंघ नुवाकोटका अध्यक्ष कपिलदेव खनालप्रति आभार व्यक्त गर्न चाहान्छु । 

अन्त्यमा, दोश्रो अधिवेशनबाट सर्वसम्मत निर्वाचित हुनुहुने अध्यक्ष दामोदर नेपाल, बरिष्ठ उपाध्यक्ष श्यामकुमार भालु, प्रथम उपाध्यक्ष निप्पु सर्राफ, द्धितिय उपाध्यक्ष राजकुमार श्रेष्ठ, महासचिव राजकुमरा श्रेष्ठ, सचिव राजेन्द्रकुमार पिया, कोषाध्यक्ष शेखरमान श्रेष्ठ, सह–सचिव हअरिगोपाल सापकोटा, सह–कोषाध्यक्ष विनोद लामिछाने, सदस्यहरू रामशरण नेपाल, रामकृष्ण बस्नेत, अमृतबहादुर श्रेष्ठ, होमबहादुर श्रेष्ठ, सुनिल अर्याल, ललितजंग सिंह, सन्तोष घले, नवराज मरहठ्ठा, कल्पना पौडेल, सुदिप देवकोटा र राजन भट्टलाई हार्दिक बधाई ज्ञापन गर्दै पुनः सफल कार्यकालको भब्य शुभकामना व्यक्त गर्दछु । 

सूर्यगढी सामुदायिक क्याम्पसको १५ औं बार्षिक उत्सब

 सूर्यगढी सामुदायिक क्याम्पसको १५ औं बार्षिक उत्सब 

चोकते । नुवाकोट जिल्ला सुर्यगढी गाउँपालिका वडा नं. ३ मा स्थित सूर्यगढी गाउँपालिकाको एक मात्र सामुदायिक क्याम्पसको गत सोमबार १५ औं बार्षिक उत्सब तथा क्याम्पस भवन समुद्उद्घाटन भएको छ । 

सूर्यगढी क्याम्पसको बार्षिक उत्सब तथा भवन उद्घाटन कार्यक्रममा प्रमुख अतिथि पूर्व खेलकुद मन्त्री तथा संघीय सांसद हितबहादुर तामाङ, विशेष अतिथि पूर्व कृषि राज्यमन्त्री तथा पूर्व बागमति प्रदेशको उपप्रमुख र हाल प्रदेश सदस्य राधिका तामाङ, विशेष अतिथि पूर्व प्रदेश मन्त्री तथा प्रदेश सांसद, नेकपा एमालेको जिल्ला अध्यक्ष बद्री मैनाली, विशेष अतिथि प्रदेश संसाद रमेशकुमार महत, जिल्ला समन्वय समितिका प्रमुख रजिन्द्रविक्रमसिंह ठकुरी, गाउँपालिकाको अध्यक्ष सन्तबहादुर घले तामाङ लगायतको उपस्थिति थियो । यस्तै, प्रमुख जिल्ला अधिकारी किरण थापा, त्रिभुवन विश्वविद्यालयको रसायन शास्त्र विभागको प्रमुख प्राध्यापक डा. रामेश्वर अधिकारी, नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक पुष्प लामिछाने, राप्रपाका अणबहादुर प्याकुरेलसमेत उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो । 

संघीय सांसद बिमला सुवेदीको सभापतित्वमा भएको उक्त कार्यक्रममा बार्षिक प्रतिवेदन तथा हालसम्म भएका गतिविधिको बारेमा क्याम्पस प्रमुख शिवबहादुर भण्डारीले जानकारी दिएका थिए । 

क्याम्पस प्रमुखको प्रतिवेदन अनुसार उक्त भवन निर्माण गर्नको लागि विश्वविद्यालय अनुदान आयोगबाट १ करोड ९ लाख, बागमती प्रदेशबाट ५० लाख प्राप्तभएको साथै विभिन्न शैक्षिक, भौतिक निमार्ण गर्नको लागि तत्कालिन जिविस नुवाकोट ५ लाख, सुर्यगढी गाउँपालिकाबाट ६ लाख ४८ हजार प्राप्तभएको छ । भवननिर्माण गर्नको लागि स्थानिय विभिन्न व्यक्तिले दिइएको जग्गादाताहरूलाई समेत उक्त कार्यक्रममा सम्मान गरियो । 

क्याम्पस भवननिर्माणको लागि जग्गादिने जग्गादातामा सुर्यगढी गाउँपालिका वडा नं. ३ का बालकृष्ण अधिकारीले ५ आना, सूर्यगढी ३ निवासी कृष्णप्रसाद नेपाल र स्व. रामकृष्ण खनालले केही क्षेत्रफलको जग्गा दिएका छन् । 

 सूर्यगढी सामुदायिक क्याम्पसको १५ औं बार्षिक उत्सब 


नुवाकोटमा मतदाता नामावली अद्यावधिक गर्न थालियो

निर्वाचन कार्यालयले आयोजना गरेको कार्यक्रम

विदुर । निर्वाचन आयोगले नुवाकोटमा मतदाता नामावली अद्यावधिक गर्न थालेको छ । दोहोरो मतदाता, निधन भएका, नाम फरक, दुई स्थानीय तहमा नामावली रहेको लगायत त्रुटि सच्याउने कार्य थालिएको हो ।

जिल्लाका १५ सय दोहोरो मतदाता हटाइएको जिल्ला निर्वाचन कार्यालयका जयप्रसाद गौतमले बताएका छन् । साथै चितवन २ मा हुन गइरहेको उपनिर्वाचनलाई लक्षित गरेर अन्तरक्रिया कार्यक्रम गरिएको छ । आयोगले तयार गरेको फोटोसहितको मतदाता नामावलीमा मतदाताले आफ्नो नाम विवरण हेर्न एवं अद्यावधिक गर्न सहज पहुँच प्रदान गर्ने जनाएको छ । नुवाकोटमा २ संघीय र ४ प्रदेश निर्वाचन क्षेत्र छन् । 

निर्वाचन कार्यालयका अनुसार जिल्लामा मतदाता संख्या २ लाख ४० हजार २७८ पुगेको छ । १३२ मतदानस्थल र २८८ स्थायी मतदान केन्द्र छन् भने २ वटा अस्थायी मतदान केन्द्र छन् ।

स्ववियुमा सत्तारुढ दलको सहकार्य

विदुर ।  त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा सत्तारुढ गठबन्धन निकटका विद्यार्थी सङ्गठनहरूले सहकार्य गर्ने भएका छन् । 

स्ववियु निर्वाचनमा नेपाल विद्यार्थी संघ, अनेरास्ववियु (क्रान्तिकारी), अनेरास्ववियू, समाजवादी विद्यार्थी युनियन लगायतका सत्तारुढ गठबन्धन दलका भातृसङ्गठनबीच सहकार्य गरेर जाने सहमति भएको अनेरास्वयिु (क्रान्तिकारी)का अध्यक्ष पञ्चा सिंहले जानकारी दिए । उनले विद्यार्थी आन्दोलन जोगाउन आठ विद्यार्थी सङ्गठन सहकार्य गरेर अगाडि बढ्ने सहमति भएको बताए । यही फागुन १९ गते स्ववियु निर्वाचनका लागि विद्यार्थी सङ्गठनले क्याम्पसमा नाम दर्ता गराएका छन् । ती विद्यार्थी सङ्गठनले छुट्टाछुट्टै सङ्गठनको नाम दर्ता गराएका हुन् । आगामी चैत ५ गते देशभरिका त्रिविका ६२ आङ्गिक र एक हजार ४० वटा सम्बन्धन प्राप्त क्याम्पसहरूमा हुँदैछ ।

कार्यतालिकाअनुसार यही फागुन २१ गते मतदाता सूची प्रकाशन, फागुन २७ गते बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म समानुपातिक तथा प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता गरिनेछ । यस्तै स्ववियु निर्वाचन चैत ५ गते बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्मका लागि तोकिएको तोकिएको छ ।

पाँच वर्षमा १२ सय जनालाई राहत

रसुवा ।  वन्यजन्तुले अन्नबाली तथा पशुधनमा क्षति गरेपछि लाङटाङ राष्ट्रिय निकुञ्जले ५ वर्षमा १ हजार २ सय १७ कृषकलाई राहत रकम दिएको छ । 

१ करोड १५ लाख ३० हजार ६९२ रुपैयाँ प्रदान गरेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराईले बताएर । धेरैजसो कृषकले जंगली बँदेलले अन्नबाली क्षति गरेको निवेदन दिएका छन् । 

निकुञ्जले ०७४÷०७५ देखि जिल्लाबाटै कृषकलाई राहत दिन थालेको होर । त्यसअघि क्षेत्रीय वन निर्देशनालय हेटौंडाले राहत दिने व्यवस्था थियोर । 

घरगोठ र खाद्यान्न बालीको क्षतिका लागि बढीमा १० हजार, वयस्क भैंसी, जोत्ने उमेरको राँगा, गोरु वा उन्नत गाई वा साँढेको मृत्यु भएमा बढीमा ३० हजार रुपैयाँसम्म दिने व्यवस्था छर । निर्देशिकामा मानवीय, पशुधन, घरगोठ, भण्डारका अन्न र खाद्यान्न बालीको क्षतिका लागि राहत दिने व्यवस्था छ ।

रसुवामा दुई प्रहरी चौकी निर्माण

रसुवा । रसुवामा दुई प्रहरी चौकी निर्माण भएको छ । नौकुण्ड गाउँपालिकाको पारच्याङ र आमाछोदिङ्मो गाउँपालिकाको हाकुबेँसीमा प्रहरी चौकी निर्माण गरिएको हो । बागमती प्रदेश प्रहरी कार्यालय हेटौडाका प्रहरी नायब महानिरीक्षक दीपक थापाले मङ्गलबार ती दुवै चौकीको उद्घाटन गरे । दुई करोड ५७ लाखको लागतबाट पारच्याङमा तथा दुई करोड २४ लाखको लागतमा हाकुबेँसीमा प्रहरी चौकी निर्माण गरिएका हुन् । नेपाल सरकारको अनुदानअन्तर्गत निर्माण भएका दुवै चौकी एउटै ढाँचाका रहेका छन् । 

विद्युत् प्रसारण लाइन निर्माणबारे छलफल

विदुर । चीन सरकारको ऋण अनुदानको बेल्ट एन्ड रोड इनिसियटिभ (बिआरआई)अन्तर्गत प्रस्तावित आयोजना रातमाटे–रसुवा–केरुङ प्रसारण लाइनको छलफलका लागि नेपाल–चीन संयुक्त कार्यदल (ज्वाइन्ट–वर्किङ ग्रुप)को बैठक सम्पन्न भएको छ । नेपाल विद्युत् प्राधिकरण र स्टेटग्रिड कर्पोरेसन अफ चाइनाको संयुक्त कार्यदलको बैठक मंगलबार काठमाडौंमा भएको हो ।

प्राधिकरणका तर्फबाट प्रसारण लाइन निर्देशनालयका प्रमुख दीर्घायु श्रेष्ठ र चाइना ग्रिडका डेपुटी चिफ इन्जिनियर ज्हु ग्वाङ चाओको नेतृत्वमा बैठक बसेको हो । समिति गठनपछि पहिलो उक्त बैठक मुख्यतया प्रसारण लाइनको प्राविधिक पक्षमा केन्द्रित रहेको थियो । ‘प्रसारण लाइनलाई कुन भोल्टेजमा बनाउने भन्ने सम्बन्धमा छलफल भएको छ । उक्त लाइनबाट कतिसम्म विद्युत् व्यापार हुन सक्छ भन्ने अध्ययन गरी भोल्टेज निर्धारण गर्न कार्यदलले सुझाएको छ,’ प्राधिकरणका एक अधिकारीले भने । प्रसारण लाइनको लगानीको विषयमा भने छलफल नभएको बताइयो । आयोजना सुरुवाती चरणमा नै रहेकाले यो नेपाल–चीन सरकार (जिटुजी) हो कि ऋण हो कि अनुदान हो कि भन्ने टुङ्गो लागेको छैन । उक्त टोलीले गत हप्ता नै प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँग भेटवार्ता गरेका थिए भने काठमाडौंको स्युचाटारमा रहेको भार सम्प्रेषण केन्द्रको पनि अवलोकन गरेका थिए ।

छिमेकी मुलुक चीनसँग विद्युत् आदान–प्रदान गर्ने उद्देश्यले रातमाटे–रसुवागढी–केरुङ ४०० केभी प्रसारण लाइन निर्माणका लागि छनोट गरिएको हो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको क्रममा बेल्ट रोड इनिसियटिभ (बिआरआई)अन्तर्गत प्रस्ताव गरी उक्त सम्झौता भएको हो । सन् २०१८ जुन २० तारिखमा स्टेटग्रिड कर्पोरेसन अफ चाइनाका महानिर्देशक कोउ बिगी र प्राधिकरणका कार्यकारी निर्देशक घिसिङबीच बेइजिङमा सम्झौता भएको थियो । सुरुमा ज्वाइन्ट टेक्निकल टिम भनेर गठन गरिएको थियो । दुई वर्षसम्म एकपटक पनि बैठक नबसी सन् २०२२ मा यसको समय सकिएको थियो । ऊर्जा मन्त्रालयले पुनः ज्वाइन्ट कर्पोरेसन सम्झौताअनुसार करिव ६ महिनाअघि यो कार्यदल गठन गरेको हो ।

रातमाटे–रसुवा–केरुङ प्रसारण लाइन सुरुमा चार सय (किलोभोल्ट–केभी) को बनाउने भन्ने थियो । तर, अहिले नेपाल र चीनबीच हुन सक्ने विद्युत् व्यापारलाई आधार मानेर सोही भोल्टेजमा बनाउने वा सिंगल सर्किट दुई सय २० केभीमा झार्ने भन्ने सम्बन्धमा अध्ययन गर्न आवश्यक रहेको उक्त कार्यदलले सुझाएको छ । गत साता आएको चाइना ग्रिडको टोली स्वदेश फर्किसकेको छ । यो प्रसारण लाइन बेल्ट एन्ड रोड इनिसियटिभ (बिआरआई) अन्तर्गत प्रस्तावित आयोजना हो । बिआरआई चीनको महत्वाकांक्षी परियोजना हो । नेपालले पनि सन् २०१७ मे १२ मा यसमा हस्ताक्षर गरेको थियो । नेपालले बिआरआईअन्तर्गत नौ आयोजना प्रस्ताव गरेको थियो ।

केरुङ–काठमाडौं रेलमार्ग, रातमाटे–केरुङ चार सय केभी प्रसारण लाईन, कोसी–गण्डकी–कर्णाली इकोनोमिक करिडोर प्रस्तावित आयोजना हुन् । त्यसैगरी, मदन भण्डारी प्राविधिक शिक्षालय, किमाथांका–हिले सडक, तमोर जलविद्युत् परियोजना, गल्छी–रसुवागढी सडक स्तरोन्नति र दिपालय–चीन सीमा सडक पनि प्रस्तावित आयोजना हुन् । प्रस्तावित परियोजनामा विमानस्थल कतै उल्लेख छैन । यो आयोजना ऋण, अनुदान वा सहुलियतपूर्ण ऋणमा कसरी बन्ने टुङ्गो पनि लागेको छैन । सम्झौता भएको चार वर्षमा रातमाटे–रसुवागढी–केरुङ चार सय केभी प्रसारण लाइन आयोजनाको नेपालतर्फको सम्भाव्यता अध्ययन भने पूरा भइसकेको छ ।

फागुपूर्णिमाको ऐतिहासिक र सांस्कृतिक महत्व

फाइल तस्बिर

प्रवीण अधिकारी

फागुपूर्णिमा वा होली वशन्त ऋतुको सुरुवाती चरणमा  मनाइने पर्व हो ! हामी खश पर्वतेहरूले हाम्रो पात्रो अनुसार चतुर्दशी तिथिमा पूर्णिमा तिथि मिसिदा (पूर्व विद्धा) यो पर्व मनाउछौ भने तराइ क्षेत्रमा होलिका दहन गरिने भएकोले पूर्णिमा तिथिमा परेवा तिथि मिसिएपछि (परा विद्धा) मनाइने चलन छ ! पहिलो दिन सन्ध्याकालमा होलीका दहन गरिन्छ भने दोश्रो दिन अवीर, रंग एक अर्कालाई लाएर अवीर र रंग खेल्ने काम गरिन्छ ! नेपाल   अधिराज्यको तराइ क्षेत्रमा यो चाड मुख्यतः देवर भाउजु बीच रंग खेली मनाइने चाड भए पनि साथीभाई बीच आपसी मनोमालिन्य हटाउन खेल्ने चलन परापूर्व कालदेखि रहेको  पाइन्छ !

वैदिक र पौराणिक महत्वः

होली मनाउने वैदिक र पौराणिक मत दुवै  चलन  चल्तीमा  छन् !  वैदिक कालमा यो पर्व नवान्नेष्टि नामले चिनिन्थ्यो ! नेपालको तराई क्षेत्रमा यो दिन खेतमा पाक्तै गरेका अधकल्चा अन्नहरू होलीका डढाउन तयार पारिएको अग्निमा अर्पण गरी प्रसाद स्वरुप खाने चलन चलाइएको देखिन्छ जसलाई  भन्ने गरिन्छ ‘ओराहा’ ! त्यसरी पूर्ण रुपमा नपाकेको अन्नलाई ‘होल’ भनिन्छ ! नयाँ अन्न ‘होला’ अग्निलाई अर्पण गरी मनाइने भएकोले यो पर्व  होलिकोत्सव’ हुनपुगेको हो ! प्राचीन संस्कृत साहित्यमा होलीको वर्णन गरिएको छ ! श्रीमद्भागवत महापुराणमा रशको समूहद्वारा  राशको वर्णन, भगवान कृष्णको लीलाहरूमा होलीको वर्णन, ‘रंग’ उत्सवको वर्णन, कालिदाशको ‘कुमारसंभवम्’ तथा ‘मालविकाग्निमित्रम्’ ऋतुसंहारमा एउटा सर्गनै ‘वसन्तोत्सव’ भनेर वर्णित भेटिन्छ !

सनातन हिन्दु ग्रन्थमा देवी देउताको मदन, राधा–कृष्णको मदन, राम सीताको मदन, उमा महेश्वरको मदन आदि अनेकानेक प्रसंग मिसाएर वर्णन गरिएको छ भने त्यै फागु  प्रह्लाद, हिरण्यकशिपु, आगोमा भस्म  नहुने होलीकाको कथामा प्रह्लादको अर्थ ‘आनन्द’ हुन पुग्छ ! ऋष र उत्पीड़नको प्रतीक होलीका (बाल्ने दाउरा) बल्दा प्रेम र उल्लासको प्रतीक प्रह्लाद (आनन्द) अक्षुण्ण रहन गएको देखाइएको छ ! होली पर्व प्राचीन भएपनि यसको स्वरुप र उद्देश्य समयसंग बदलिदै गएको छ ! प्राचीन कालमा यो पर्व विवाहित महिलाहरूद्वारा परिवारको सुख समृद्धिकोलागि खेलिन्थ्यो र पूर्ण चन्द्रको पूजा गरिने चलन थियो कारण चन्द्रमा यै दिन जन्मिएका थिए ! होलीका दहन गर्ने दिन  सार्वजनिक स्थल या घरको छेउमा झण्डा या डण्डा गाडी होलीका अग्निकोलागि दाउरा जुटाई अन्न डढाईने चलन थियो !

कंशको  निर्देशनमा राक्षशनी पुतना श्रीकृष्णलाई मार्न जाँदा उसले श्री कृष्णलाई विषपूर्ण दुग्धपान गराई ! बालक श्रीकृष्णले उसको दूध चुस्दा चुस्दै उ मरी र उसको शरीर पनि लुप्त भयो ! नन्द गाउ (मथुरा) बासीले पुतनाको पुतला बनाई दहन गरेपछि मथुरामा होली मनाउन थालिएको प्रसंग जोडिएको पाइन्छ भने पार्वतीलाई मद्दत गर्न आएका कामदेव   भगवान शिवको तपस्या भंग गर्दा शिवजीको क्रोधबाट भष्म हुन् पुगेपछि शिवलाई शान्त गर्न  शिव र पार्वती बीच बिहे गराइएको थियो ! कृष्णले गोपिनीको बस्त्र हरण गरेको, विष्णु भक्त प्रल्हादलाई मार्न हिरण्यकश्यपुले आफ्नी बहिनी होलीकालाई आगोमा होमाएको जस्ता पक्षसँग पनि यो पर्वलाई जोडिएको छ ! फागु पूर्णिमा अर्थात मदनोत्सब वायु पुराण, भविष्य पुराण र महाभारतमा उल्लेखित पर्व हो ! महर्षि नारदको सल्लाहमा तत्कालिन राजा युधिष्ठिरले आफ्ना राज्यमा भएका सम्पूर्ण कैदीहरूलाई उनीहरूका बाँकी सम्पूर्ण कशुर माफ गरी आजैको दिन अभयदान दिएका थिए ! त्यहि अभयदान पाएको बेलादेखि फागू पर्व रंग खेलेर उन्मुक्त भावनामा मनाइने चलन चलेर गएको हो पनि भनिएको भेटिन्छ !

जे सुकै भएता पनि विभिन्न ४ युग– सत्य, त्रेता, द्वापर, कलीमा होली बिभिन्न किसिमले बेग्लाबेग्लै नामले मनाउदै आइएको पाइन्छ ! यो पर्व वशन्त ऋतुको संदेशवाहक पर्व भएकोले संगीत र रंग यसको प्रमुख अंग हो ! फाल्गुण  महिनामा मनाइएकोले  फाल्गुनी हुदै  फागु भनिएको हो ! यो पर्व नेपालमा वशन्त पञ्चमीमा वशन्त श्रवण गरिसके पछी शास्त्रीय रुपमा  शुरु भएको मानिन्छ !

प्रतीकात्मक अर्थ

अग्निको वासनात्मक आकर्षणलाई प्रतीकात्मक रूपमा जलाएर साँचो प्रेमको विजय हुन् पुगेको खुशीयालीमा विजयोत्सवको रुपमा यो पर्व मनाउन थालिएको प्रसंग पनि कतै कतै उल्लेख गरिएको  देखिन्छ  भने मनुस्मृति अनुसार यसै दिन मनु जन्मिएको तथा ती मनुनै यस पृथ्वीका पहिलो मानव हुन पुगेको हुदा यसैलाई पृथ्वीमा मानव बंशको उत्पत्ति भएको दिन मानी यो उल्लास पर्व मनाउन थालेको बुझिन्छ ! यसै दिन भगवान बिष्णुको नर–नारायण स्वरुपको जन्म भएको थियो भनेर भगवान विष्णुको २४ अवतार मध्ये चौथो अवतार मानी त्यसैको खुशियालीमा  मनाइएको उल्लेख पनि पाइन्छ !

प्रणय, प्रेम र शृंगार

फागुलाई मदनोत्सब भनिन्छ ! याँहा मदनको अर्थ हो प्रणय, प्रेम र शृंगार ! हाँस र  हँसाउ, जसले रंग लाइदिञ्छ उसलाई रंग लाइदेउ, क्षमा गर सहनशील बन यसको मुख्य सन्देश हो ! फाल्गुण पूर्णिमा चन्द्रमाको जन्म दिन हो ! नेपालमा फागू पूर्णिमालाई चीर पर्व  पनि भन्ने गरिन्छ !  फागु पूर्णिमा सद्भावको प्रतीक हो ! पूर्वा फाल्गुणी नक्षत्र पूर्णिमाको दिन रहन पुग्दा यो महिनालाई फाल्गुन भनिएको हो ! फागु सालको परागकण पनि हो ! यसै  महिनादेखि साल फुल्न शुरु गर्छ ! थारू शब्द फल्ग्वाबाट फागु शब्द ल्याउदा यसको शाब्दिक अर्थ हुन्छ पहेँलो रङ ! फाल्गुण पूर्वा फाल्गुनी नक्षत्र हो वायुपुराणका निम्ति ! फाल्गुनीको अर्थ हो–जुन दिनको संस्कारले व्यक्तिलाई सुन्दर बनाउँछ ! फाल्गुन र लिंग पर्यायवाची पनि हुन् ! फाल्गुन शिवलाई विशेष पुज्ने महिना पनि हो । फाल्गुन सौभाग्य शयनको महिना पनि हो, त्यसैले  उन्मत्त  हुन्छ  फाल्गुने बैंस ! फागुपूणिर्मालाई चन्द्रमाको जन्मदिन पनि मानिन्छ, जुन नेपालका शिवको शिरको गहना पनि ठानिन्छ ! फागुने बैंस’ थामिनसक्नु, सम्हालिनसक्नु हुने गर्दछ  नेपाली परम्परामा ! ‘संस्कृत कोष’ अनुसार अग्निमा डढाइएको अन्नलाई ‘होलिका’ भनिन्छ ! प्राचीनकालमा अग्निमा अन्नद्वारा हवन गरी अन्त्यमा यज्ञभष्म शिरमा लगाई मनाइने गरिन्थ्यो ! अहिले पनि यज्ञादी कर्म सकिएपछि डढेको चरु लाउने चलन छदैछ !

फागुको  महत्व/होली मनाउने पद्दति

चाड पर्व मनाउनुको पछाडी केही  नैसर्गिक, सामाजिक, ऐतिहासिक एवं आध्यात्मिक कारण रहन्छन ! यी चाड मनाउनुको पछाडी चाड मनाउने व्यक्तिले उस्को सामाजिक जीवनमा  लाभ पाओस् भन्ने अभिप्राय लुकेको हुन्छ ! फेरी चाड पर्व मनाइदा नै समाजको आध्यात्मिक उन्नति सम्भव हुन्छ ! त्यसकारण चाड पर्वको शास्त्राधार के हो थाहा पाउनु जरुरी हुन्छ ! होली संक्रान्ति सरह कि देवी हुन् ! मानव शरीरको षड्विकारहरू माथि विजय प्राप्त गर्ने क्षमता होलीका देवीमा रहेको मानिन्छ ! त्यसैले मानव विकार माथि विजय प्राप्त गर्न होलिका देवी संग प्रार्थना गरिन्छ ! अग्नि प्रति कृतज्ञता व्यक्त गर्न‘ यसको दोश्रो अंग हो ! होली अग्निदेवताको उपासनाको एक अंग हो ! अग्निदेवताको उपासना गर्दा व्यक्ति बिशेषको तेजतत्व बढन पुग्छ र उसको रजो र तमो गुण घट्दछ ! त्यसकारण होलीका दहन रात्रीकालमा गरिएको हो ! पृथ्वी, पानी, तेज, वायु र आकाश यी पाँच तत्वहरूको  सहायताले देव तत्वलाई पृथ्वीमा ल्याउने माध्यम यज्ञ हो ! पृथ्वीमा स्पन्दन नहुदा त्रेतायुगमा  पञ्च तत्वमा विष्णुतत्व प्रकट हुन् पुग्यो ! यज्ञको ज्वाला संगै यज्ञकुंडमा विष्णुतत्त्व प्रकट भएको दिन फाल्गुन पूर्णिमाको दिन थियो ! दुष्प्रवृत्ति एवं अमंगल विचार नाश गरी, सद्प्रवृत्तिका मार्ग देखाउने , ईश्वरीय चैतन्य प्राप्त गर्ने आध्यात्मिक साधनामा अग्रसर हुने, अग्निदेउता  प्रति कृतज्ञता व्यक्त गर्ने पर्व हो फागु ! गुईठा ,उखु ,सुपारीको पात, दाउराको सामाग्रीको साथै आबश्यक पूजा सामाग्रीहरू तयार गरी थाली, बेसार–कुमकुम, चन्दन, फूल, तुलसी पत्र, अक्षता, अगरबत्ती, फुलबाती, आरति, कर्प“र, कर्प“रार्ती, दियो, सलाई कलश, आचमनी, पञ्चपात्र, ताम्रपात्र, घण्टा, तेल बाती, गुलियो परिकारको नैवेद्य तयारपारी अग्नि पूजा गरिन्छ!

फागु पूर्णिमानै मदनोत्सव

वशन्त पञ्चमीदेखि नै  मदनोत्सव मनाइने परम्परा मान्छेको उत्पत्ति र उसको ऋतुकाल धर्मसंग सम्बन्धित तुल्याइएको छ ! छः ऋतुमा बाडिएको मौसम संग हाम्रो परस्पर सहसंबंध स्थापित छ ! जसरी प्रत्येक जीव–जन्तुकालागि भिन्न–भिन्न ऋतुहरू प्रकृतिले छुट्याइदिएको छ त्यसरी नै हाम्रा ऋषि मुनिहरूले वशन्त ऋतुलाई मानव मात्रकोलागि छुट्याइएको हो! ऋषिमुनिहरूले वसन्त पञ्चमीको दिन देखि हर्षोल्लासका साथ मदनोत्सब 

मनाउने संकेत गरे ! महको लागि माहुरीलाई यसैवेला आकृष्ट तुल्याए ! त्यसकारण वशन्त ऋतु मदनोत्सवको रुपमा रती र कामदेवको उपासना पर्व मानिन पुग्यो ! त्यसैले हाम्रा पुर्खाहरूले वशन्त पञ्चमीमा सरस्वती र कामदेवको उपासना गर्न सिकाए ! ‘भ्यालेन्टाइन  डे‘ उच्छ्रिङ्कलताको प्रतीक हो भने मदनोत्सव पति–पत्नी, सम्बन्धी  र नातेदारहरू बीचको मर्यादित आपसीप्रेम, अभिव्यक्ति एवं सुदृढ़ीकरणको शालीन पर्व हो ! ‘भ्यालेन्टाइन डे’ को विपरीत मदनोत्सव विवाहोत्तर अथवा विवाहपूर्व संबंधकोलागि होइन यो विशुद्घ रूपमा दाम्पत्य सम्बन्ध बलियो बनाउने पर्व भएको कारण नैतिक–सामाजिक दृष्टिले पूर्ण रुपमा स्वीकार्य छ, श्रीमद्भागवत महापुराण अनुसार, भगवान श्रीकृष्णले तिनलाई पति रूपमा चाहने गोपिनीहरूसंग यसै दिवशमा वृन्दावनमा महारास गरे ! श्रीकृष्ण कामदेव भन्दा नि सुन्दर भएकाकारण मदन मोहन अर्थात कामदेव लाई पनि मोहित गर्ने अथवा मन्मथ अर्थात सबै प्राणीहरूको मनलाई मथने र कामदेवको मन मथने भनिएको छ ! ऋतूराज वशन्तको आगमन पछि प्रकृतिमा कामदेवले वाण छोड़छन् रे ! 

त्यसैकुरोलाई स्वीकार्दै मदनोत्सवको वर्णन गर्दै कालिदास भन्छन्– मदनोत्सव, बसंतोत्सव, कामदेवोत्सव  लोकानुरंजनको लागि हो ! तन र मन मदनोत्सवको समयमा सर्वाभरण भूषित भएर घुम्दा अषोक वृक्ष फुल्न थाल्छ ! वशन्त र कामोत्सवको दुंदुभी बज्न थाल्छ ! त्यतिखेर हरेक दिन रात वशन्त युक्त हुन्थ्यो अहिले  होलिका या होलीको दिन आएर टुङ्गियो ! ‘काम’ हिन्दु  दर्शनका  सम्पूर्ण पुरूषार्थहरूमा श्रेष्ठ पुरुषार्थ हो ! नर कामदेव स्वरुप  र प्रत्येक नारी रति हुन् !

वशंतोत्सवमा काम र रतिको पूजा विधान समेटिएको हुन्छ ! उपनिषद, वेद, पुराणले काम प्रति सहजता देखाई प्रश्ट्याएको छ ! त्यसैले कुमार चरित जस्तो ग्रन्थले होली र फागुको उल्लेख ‘मदनोत्सव’ भनेर  गरिदिएको छ ! वशन्त ऋतु कामको सहचरी हो ! यसैले वशन्त ऋतुमै मदनोत्सव मनाउने बिधान बताइएको हो ! 

हाम्रो संस्कृतिले कामलाई दैवी स्वरूप मानेर कामदेवको रुपमा स्वीकार्यो ! काम विकृत हुन् पुग्दा भगवान शिवले आफ्नो क्रोधाग्निले ‘काम’लाई भष्म गरे र  ‘अनंग’ अर्थात अंग बिहिन अवस्थामा  जीवित गरे ! ‘काम’ को सहचर्य उत्सव मनाउन थालियो ! काम जब सम्म मर्यादामा रहन्छ त्यतिखेर सम्म त्यसलाई भगवानले  पनि विभूति स्विकार्द्छन् ! कामले मर्यादा छोड़दा आत्मघाती हुन् पुग्छ ! शिवको तेश्रो नेत्र (विवेक) ले त्यसलाई भस्म गरिदिन्छ ! हाम्रा प्रत्येक चाड पर्व हाम्रो सांस्कृतिक चेतनाको प्रतीक हुन ! आशा, आकांक्षा, उत्साह अनि उमंग प्रदाता हुन् ! इनले मनोरञ्जन, उल्लास एवं आनन्द दिएर हामीलाई, हाम्रो जीवनलाई सरस बनाउदछन् ! त्यसकारण युगौंदेखि चलेका हाम्रा सांस्कृतिक धरोहर, परम्परा, मान्यता एवं सामाजिक मूल्य मान्यताका मूर्त प्रतिविम्ब ठानिएका छन् ! यी चाड पर्व हामीलाई हाम्रो संस्कृतिको अन्तर सम्बन्ध दर्शन गराउने तत्व हुन ! सत्, चित, आनन्द रूपी त्रिगुणात्मक ब्रह्मको एक अंग हुन् ! त्यसैले हाम्रो चाडले हामीलाई आनन्द दिन्छन् ! मानव जीवनमा मंगल एवं सौभाग्यलाई आमंत्रित गर्दछन !

होली वसन्त ऋतुको यौवनकाल हो, ग्रीष्म ऋतुको आगमनको सूचक हो ! यो ‘नवान्नवेष्टि यज्ञ’ पनि हो ! फाल्गुन शुक्ल पूर्णिमाकै दिन हाम्रा प्राचीन आर्य पुर्खाहरू नयाँ  अन्नको बाला बोकी अग्निहोत्र कार्य गर्थे ! यसलाई ‘यव ग्रहण यज्ञ’ भनिन्थ्यो ! अन्नको  बालोलाई संस्कृतमा ‘होलक’ भनिन्छ ! वसन्त ऋतुमा सूर्य दक्षिणायणबाट उत्तरायण हुन् पुग्छ ! फल–फूलहरू मा मुजुरा  लाग्दा  मौसममा ‘अमृत प्राण’ भरिन्छ ! त्यसैले होली पर्व ‘मन्वन्तर को आरम्भ’ हुन् पुगेको हो ! रंगले भरिएको चाडले जीवनलाई रंगीन बनाउछ ! आत्माको मधुरतम र प्रियतम भाव अनुभव गर्नु यस चाडमा प्रकट हुने अनुराग हो !

२०७९ साल फागुन २२ गतेको सम्पादकीय

 फागुपूर्णिमाको महत्व र परम्परा

फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली पर्व आज हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदैछ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने परम्परा छ । त्रेता युगमा दैत्यराज हीरण्यकश्यपुले विष्णुभक्त आफ्ना पुत्र प्रह्लादलाई मार्ने उद्देश्यले ब्रह्माबाट आगोले छुन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रह्लादका साथ दन्किरहेको आगोमा पस्न लगाउँदा होलिका आफैँ भष्म भएकी तर भक्त प्रह्लादलाई आगोले छुन नसकेको कथा यो पर्वसँग जोडिएको छ । त्यसै बेलादेखि शक्तिको दुरुपयोग गर्ने पापी प्रवृत्तिकी प्रतीक बनेकी होलिका मारिएको उपलक्ष्यमा होली ९फागु० खेल्ने परम्परा चलेको मानिन्छ । यसैगरी द्वापरयुगमा श्रीकृष्ण भगवान्लाई मा’र्न कंशद्वारा पठाइएकी राक्षसनी पुतनाले आफ्नो विष दलिएको स्तन चुसाउन लाग्दा असफल भई मारिइन् । निजलाई व्रजवासीले ज’लाई फागु महोत्सव मनाउने परम्परा चलेको पनि धर्मग्रन्थमा उल्लेख छ । राम्रो तरिकाले तयार पारिएका रङ र अबिरले छालाको रोग निवारण गर्ने भएकाले यस्ता रङको प्रयोग गरी फागु खेल्नाले शीतकालमा शरीरमा उत्पन्न कफको विनाश हुन्छ । बालिएको चीरको धुवाँबाट शीतकालका अनेकौँ रोगका कीटाणु निर्म“ल हुने हुनाले यो पर्वको आयुर्वेदिक महत्व पनि छ । फागु पर्वका उपलक्ष्यमा परम्परादेखि सरकारले सार्वजनिक बिदा दिँदै आएको छ । तराई क्षेत्रमा भने यो पर्व पूर्णिमाको भोलिपल्ट मनाउने गरिन्छ । यस वर्ष पनि तराईमा भोली मंगलबार होली मनाइँदै छ । 

यस पर्वका उपलक्ष्यमा आजभोलि रमाइलोका निम्ति गाँजा, भाङ, जाँड–रक्सीजस्ता नशालु पदार्थको सेवन गरी गुन्डागिरी गर्ने, शरीरमा प्रतिकूल असर गर्ने खालका रासायनिक पदार्थ प्रयोग गर्ने तथा सवारीसाधनमा समेत लोला हिर्काउनेजस्ता विकृति पनि कम हुँदै गएको छ । यस दिन विशेष गरेर भाङ मिसाइएका खानेकुरा खाई विविध रङबाट रङ्गिएर बाजागा’जाका साथ नाचगान गर्दै महिला तथा पुरुषका समूह आफ्नो क्षेत्रमा बिहानदेखि साँझसम्म घुम्दै रमाइलो गर्छन् । यो चाडमा थकाली रङ्गीबिरङ्गी पोशाकमा सजिएर सपरिवार भेला भई तिर हान्ने प्रतियोगिता गर्छन् । सात दिनसम्म चल्ने यो पर्वमा प्रत्येक दिन आफ्ना दाजुभाइ तथा नातेदार भेला भई मीठामीठा खानेकुरा खाई रमाइलो गरिन्छ । फागु पर्व नेपाल र भारतलगायत अन्य देशमा पनि मौलिक तरिकाले मनाउने गरेको पाइन्छ । इटालीमा ‘बेलियाकोनोन्स’ को नामले मनाइने यो पर्वमा एकापसमा सुगन्धित जल छर्की घाँसको विशेष प्रकारको रङ्गीचङ्गी आभूषण लगाएर खेल्ने गरिन्छ । चीनमा १५ दिनसम्म ‘च्वेज’ नामले यो पर्व मनाइन्छ । यस पर्वमा नयाँ लुगा र गहना लगाउने गरिन्छ । अमेरिकामा ‘होबो’ नामले मनाइने यो पर्वमा मानिस विभिन्न प्रकारका हास्यजनक वेषभूषा लगाई प्रतियोगिताको आयोजना गरी विजयीलाई पुरस्कार दिइन्छ । यसैगरी श्रीलङ्का र इन्डोनेशियाको जाभामा आगोको पूजा गरेर, म्यान्मा र थाइल्यान्डमा पानीको पूजा गरेर, बौद्ध मन्दिरमा भिक्षुलाई दान दिएर, जापान र इन्डोनेशियाको सुमात्रामा नयाँ अन्नलाई नाचगानका साथ स्वागत गरेर, चीनको युनानमा डाइनोसियस देवताको पूजा तथा नाचगान गरेर र इजिप्टमा हास्य, विनोद तथा नाचगान गरी यो पर्व मनाइन्छ ।

रंगहरूको पर्व फागुपूर्णिमा अर्थात होली देशभर उल्लासका साथ मनाइँदै छ । हिन्दू धर्मालम्बीहरूको ठूलो पर्वहरू मध्ये होली एक हो । हिन्दू पन्चाङ्ग अनुसार फागुनशुक्लपक्षको अष्टमी तिथिदेखि होलाष्टक शुरु भएर फागुपूणिर्माको दिन समाप्त हुन्छ । नेपाल कला र सस्कृतिले भरिएको देश हो । जहाँ विभिन्न चाडपर्वहरू मनाउने गरिन्छ । तीमध्ये होली पनि एक हो । जसले नेपाली सस्कृतिलाई झल्काउने गर्दछ । फागु पुर्णिमाको रुपमा पनि लिने गरिएको पाईन्छ । होली हिन्दू संस्कृतिमा प्रत्येक वर्षको फागुनशुक्ल पूर्णिमा अर्थात होली पूर्णिमाको दिन मनाइन्छ । होली नेपाल, भारत तथा अन्य राष्ट्रमा रहेका हिन्दूहरूको एउटा महत्वपूर्ण चाड हो । यो चाड वसन्त ऋतुमा फागुनको महिनामा मनाइन्छ । होली रङ्गहरूको चाड हो । होलीको दिन मानिसहरूले एक अर्कामाथि विभिन्न प्रकारका रङ्गहरू हालेर एक अर्कालाई रङ्गिन बनाउछन् । धार्मिक मान्यतावाट अलग्ग बनाएर केवल उत्साह अनि सदभावका रुपमा हेरेरै त होला नेपालीजनहरू चाहे जुनसुकै धर्म या समुदायका हुन्, होलीमा एउटै आँगन र तालमा झुम्मीन्छन् । बालक बालिकाले पिच्कारी अनि ससाना बेलुनहरूका साथमा मज्जा लन्छन्, फेरि पिच्कारी बजारमा किन्न पाउने मात्र नभई तराई तिर बाँस काटेर त्यसका ढोडवाट बनाईएका पिच्कारीहरू अथवा प्रयोग गरिसकेका पुराना प्लास्टीकका बोतलवाट बनाईएका पिच्कारीहरू पनि हुन्छन्, वयस्ककालागी होली रंगहरू अनि भातृत्व र साहसको पर्व हो । शुरुशुरुमा जो कोही पनि यसपाला म रंग खेल्दिन भनेर बसेतापनि रंगीन माहोल अनि साथीभाईको रंग भरिएका हात अनि पानीका फोहोरावाट बच्न हम्मे हम्मे पर्दछ । पुराना यादहरू सँगाल्दै अनि अविर र केसरीको चुटुक्क टिकाका साथमा वृद्ध पुस्ताले दिएका आशिषको विशेष महत्व रहन्छ । फागुपूर्णिमाको सम्पूर्णमा हार्दिक शुभकामना ।

२०७९ साल फागुन २२ गते । वर्ष:१६ अंक:२१

 





Sunday, March 05, 2023

एमालेकोे ‘मिसन ग्रासरुट’

नेकपा एमालेले नुवाकोटको बट्टारमा आयोजना गरेको पत्रकार समेलनमा केन्द्रीय सचिव गोकर्ण विष्ट (बाँयाँबाट दोश्रो) लगायतका नेताहरू । तस्बिर : इमेज

बट्टार । नुवाकोट, रसुवा र धादिङसहित ७७ वटै जिल्लामा फागुन ९ गतेदेखि नेकपा एमालेले ‘मिसन ग्रासरुट’ अभियान सुरु गरेको छ । एमालेले पार्टी सुढृदीकरण तथा विस्तारका लागि ‘मिसन ग्रासरुट’ अभियान सुरु गरेकोछ ।

एमाले नुवाकोटले शनिबार जिल्ला कमिटीको बैठक गरेर अभियानलाई १२ वटै पालिका र ८८ वटै वडामा गर्ने कार्यक्रम तय गरेको छ । बैठकको उद्घाटन पार्टीका केन्द्रीय सचिव गोकर्ण विष्टले गर्दै सङ्गठित सदस्य बढी भए पनि पार्टी सङ्गठन क्रियाशील हुन नसकेकाले सक्रिय र सङ्गठनप्रति आबद्ध सदस्यको भौतिक उपस्थितिमा सदस्यता नवीकरण गर्ने निर्देशन दिए । जिल्ला पार्टी अध्यक्ष बद्री मैनालीको सभापतित्वमा भएको बैठकले यो अभियानका लागि स्थायी कमिटी सदस्य रघुजी पन्त, केन्द्रीय समितिबाट खटिएका केन्द्रीय सदस्य कृष्णबहादुर राई, हरिकृष्ण व्यञ्जनकार, शर्मिला कार्की, गीता कार्की, माधव अर्यालको सहभागितामा दुई महिनाका लागि कार्यक्रम तयार गरेको छ । जिल्लाको १२ वटै पालिकामा केन्द्रीय प्रतिनिधिसँगै बागमती प्रदेश कमिटी, क्षेत्रीय कमिटी, प्रदेश कमिटी र जिल्ला कमिटीका सदस्यलाई फरक–फरक भूगोलमा खटाइएको उपाध्यक्ष बुद्धिबहादुर प्रधानले जानकारी दिए । 

खटाइएको प्रतिनिधिसँगै पालिका कमिटीको अध्यक्ष र पदाधिकारीको अनिवार्य उपस्थिति हुनुपर्ने निर्देशन जिल्लाले गरेको छ । यो अभियानमा जिल्ला कमिटीका, प्रदेश, क्षेत्र र वडा कमिटीका सबै पदाधिकारी र सदस्यको हाजिरी रेकर्ड राख्नसमेत जिल्लाले निर्देशन गरेको छ । जिल्लामा सम्पन्न बैठकले अभियानका लागि जिल्ला आएका केन्द्रीय सदस्यसहित प्रदेश कमिटी सदस्य, जिल्ला कमिटीका पदाधिकारी र पालिका कमिटीका अध्यक्षहरूको संयुक्त बैठक बसेर वडा तहका कार्यक्रम बनाइरहेको सचिव सुदर्शन नेपालले बताएका छन् । 

अभियानका लागि जिल्लामा खटिएका पाँचजना प्रतिनिधिले पार्टी कमजोर बन्दै गएको पूर्ववर्ती मान्यतालाई पुनस्र्थापित गर्ने बताए । अभियानअन्तर्गत पार्टी सदस्यता नवीकरण, सदस्य विस्तार, प्रशिक्षणलगायतका कार्यक्रम सञ्चालन हुने र सङ्गठनदेखि जनप्रतिनिधि र पार्टीबीच सम्बन्ध सुधारका लागि सुझाव संकलन गरिने जिल्ला पार्टी अध्यक्ष बद्री मैनालीले जानकारी दिए । पार्टीले अङ्गीकार गरेको जनताको बहुदलीय जनवाद कार्यान्वयनका लागि ‘मिसन ग्रासरुट’ अभियान सुरु गरिएको उपसचिव नीलकण्ठ आचार्यले बताए । उनले अबको निर्वाचनमा एमालेलाई पहिलो पार्टी बनाउन यो अभियानले सघाउने बताए । सिङ्गो जिल्ला कमिटीसँगै प्रदेश, क्षेत्र र पालिका कमिटीलाई क्रियाशील गराइएकोसमेत उनको भनाइ छ । अभियानअन्तर्गत पार्टीका सङ्गठित कार्यकर्ताको कागजात छानबिन गर्ने र सङ्गठित सदस्यको नवीकरण भौतिक उपस्थितिमा मात्र गरिने जनाइएको छ ।

सङ्गठित सदस्य बढी भए पनि पार्टी सङ्गठनमा क्रियाशील नरहेका सदस्य पनि देखिएपछि सक्रिय र सङ्गठनप्रति आबद्ध सदस्यको भौतिक उपस्थितिमै सदस्यता नवीकरण गर्ने नीति एमालेले ल्याएको हो । पार्टीको संगठित सदस्यता शुद्धीकरण अभियानअन्तर्गत अब एमालेका प्रत्येक सदस्यले आफैँ भौतिक रूपमा उपस्थित भएर मात्र आफ्नो सदस्यता नवीकरण गर्नुपर्नेछ । एमालेले बागमती प्रदेश कमिटीका ३३ जना जिल्ला कमिटीका १४२ जनासहित प्रदेश, क्षेत्र र पालिका कमिटीका पदाधिकारी र सदस्यलाई अनिवार्य उपस्थित भएर यो अभियान सफल गर्ने जिम्मेवारी दिएको छ । 

सो कार्यक्रममा प्रदेश कमिटीका सचिवालय सदस्य नारायण खतिवडा, रामशरण प्याकुरेल, ठाकुर गजुरेलसहितको उपस्थिति रहेको थियोे । कार्यक्रमका वक्ताले यो अभियानबाट पार्टीभित्र साङ्गठानिक अराजकता र दक्षिणपन्थी अवसरवाद देखा परेकाले त्यसको अन्त्यका लागि यो अभियान सञ्चालन गरिएको र यसबाट पार्टी सुदृढ हुने विश्वास सबैले व्यक्त गरे । पार्टी पङ्क्तिलाई वैचारिक र शैद्धान्तिक रूपमा सक्षम बनाउन अभियान सार्थक हुने विश्वास सबैले व्यक्त गरेका छन् ।

पार्टीको सङ्गठन सुदृढीकरण तथा विस्तार अभियानको विशेष अभियानका रूपमा ‘मिसन ग्रासरुट’ फागुन ५ गतेबाट औपचारिक रूपमा देश भर सुरु भइसकेको एमालेले जनाएको छ । यो अभियान ७५३ स्थानीय तहमै केन्द्रित हुनेछ । वडा तहसम्ममा आवश्यकताअनुसार विभिन्न क्रियाकलाप सञ्चालन गरिनेछ । अभियानमा भूगोल, विभाग र फाँटमा जिम्मेवारी रहेका स्थायी कमिटी, पोलिटब्युरो तथा केन्द्रीय कमिटीका सदस्यसहित तीन सय ६० जना नेता केन्द्रीय प्रतिनिधिका रूपमा परिचालित भएका छन् । २०७९ फागुन ५ गते पार्टीका अध्यक्ष केपी ओलीको भर्चुअल सम्बोधनबाट सबैै प्रदेशमा एकैचोटि आरम्भ भएको यो अभियान आगामी २०८० साल वैशाख ९ गते पार्टीको स्थापना दिवसमा विशेष समारोहसहित सम्पन्न गरिने बताइएको छ । यो अभियानमा अनुगमनको जिम्मेवारीमा स्थायी कमिटीका सदस्य छन् । 

यो अभियानमा प्रदेश कमिटीका सदस्य, जिल्ला सदस्य र अन्य प्रतिनिधिलाई समेत आफू कार्यरत क्षेत्रबाहिरका कार्यक्षेत्रमा जिम्मेवारी तोकिएको छ । पालिका तहमा केन्द्रीय प्रतिनिधिको नेतृत्वमा प्रदेश कमिटी सदस्य, जिल्ला कमिटी सदस्य र तोकिएका व्यक्ति सम्मिलित टोली निर्माण गरिएको छ । यो अभियानलाई प्रभावकारी बनाउन पालिकामा प्रशिक्षण तथा वडा र टोलसम्मका सूक्ष्म योजना निर्माण गरी अगाडि बढ्ने निर्णय गरिएको छ । ‘होलबडी चेकअप’का रूपमा यो अभियानले पार्टीलाई अझ व्यवस्थित बनाएर लैजाने अपेक्षा गरिएको छ । दुईमहिने ‘मिसन ग्रासरूट’ अभियानले नेता–कार्यकर्तामा उत्साह थप्ने विश्वास गरिएको छ । पार्टीका सबै नेता–कार्यकर्ता एउटै लयमा हिँड्नुपर्नेमा कहिलेकाहीँ अन्तर्विरोध देखिने गरेकाले अनौपचारिक संवादका माध्यमबाट पनि समझदारी कायम गरेर अघि बढ्नुपर्ने पार्टीलाई एकताबद्ध लयमा हिँडाउनु अहिलेको आवश्यकता रहेकाले पनि यो अभियानले पार्टी थप व्यवस्थित र बलियो बन्नुका साथै कार्यकर्ताको सक्रियता पनि बढ्ने विश्वास गरिएको एमालेले जनाएको छ ।

स्थानीय तहको परिणामपछि विभिन्न तहमा समीक्षा गर्दै केन्द्रको निर्देशनअनुरूप त्यस निर्वाचनमा देखिएका कमी–कजोरीलाई सच्याउने, आपसमा देखिएका मनमुटाव हटाउने, कमजोर बनेका सङ्गठन सङ्गठित र सुदृढ बनाउँदै निराश बनेको मनस्थितिमा ऊर्जा थपेर मङ्सिर ४ को प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा जाने तयारी प्रदेश कमिटीको तर्फबाट राम्रैसँग गरिए तापनि एमालेको ठूलो पङ्क्तिमा एकखालको नैराश्यता र निष्क्रियता बढिरहेको थियो । पछिल्लो समयमा समाजका विभिन्न क्षेत्रमा विकृति–विसङ्गति, कार्यकर्ताको बीचमा अराजकता, स्वछन्दता बढिरहेकाले पार्टीको मूल्य, मान्यता र परम्परामा ह्रास आउन खोजिरहेका घटनाप्रति एमालेको इमानदार पङ्क्तिमा चिन्ता व्याप्त थियो । समाजका सम्पूर्ण अवयवलाई आपसी सहिष्णुता कायम गर्दै इमानदारिता, जवाफदेहिता, नैतिकता र पारदर्शितालाई उच्च प्राथमिकता दिन पार्टीले कार्यक्रम र्न ढिला भइसकेको थियो ।

अर्कोतर्फ विभिन्न कमिटीमा रहेर जिम्मेवारी बहन गरिरहेका जिम्मेवार नेताहरूको कार्यप्रति र उहाँहरूको जिम्मेवारी निर्वाह नगर्ने प्रवृत्तिप्रति पनि असन्तुष्टि व्यक्त हुने क्रम तीव्र रूपमा बढिरहेको थियो । गत निर्वाचनमा एमालेले जे–जति असफलता भोग्नुप¥यो, त्यसको प्रमुख कारण पार्टीभित्रको अनुशासनमा कमी र अनुशासन उल्लंघन रहेको सबैले महसुस गरिरहेकै थिए । एमालेमा बसेर एमालेका उम्मेदवार हराउन लाग्नेहरू नै पार्टी नेतृत्वको वरिपरि घुमेर शक्ति उन्मादमा पार्टी सङ्गठनमा भने माखो नमार्ने व्यक्ति वा कमिटीलाई क्रियाशील बनाएर पार्टीलाई बलियो बनाउनुपर्ने पनि चौतर्फी आवाज उठिरहेको थियो । दुईवटा निर्वाचनमा पार्टीका उम्मेदवालाई जिताउन नलाग्ने, नेताहरूको घरदैलोमा मात्रै पुग्नेहरूको  हिसाबकिताब गर्नुपर्ने पनि त्यत्तिकै आवश्यक भएको पनि जनाइएको छ ।

पार्टी र सङ्गठन चल्ने विचारले हो । हामीसँग हाम्रो पार्टी सञ्चालनका लागि मात्र होइन देश सञ्चालन गर्ने सही दृष्टिकोण र विचार छ । तसर्थ यो विचार आमपार्टी पङ्क्ति र जनताका बीचमा पु-याउनु जरुरी छ । पार्टी पङ्क्तिभित्र राजनीतिक, सैद्धान्तिक र साङ्गठनिक प्रशिक्षण सञ्चालन गर्ने र जनताका बीचमा जाँदा पार्टी विचारलाई व्यवस्थित रूपले उनीहरूले बुझ्ने भाषामा राख्ने हैसियत नुवाकोट जिल्ला नेतृत्वले प्रमाणित गर्न सकेको छैन । आमकार्यकर्ता, शुभचिन्तक र पार्टी सदस्यका चरम नैराश्यता र जिल्लाको वर्तमान नेतृत्वप्रतिको असन्तुष्टि चरम रूपमा छ । सातौँ जिल्ला अधिवेशन भएको एक वर्ष बितिसक्दा पनि विधानतः जिल्ला कमिटीको सङ्ख्या कति हो भनेर टुङ्गो लगाउन सकेको छैन । कतिलाई म जिल्ला कमिटीको सदस्य छु कि छैन भन्नेसमेत थाहा छैन । विधानतः एक सय ४२ हो कि अहिले भन्ने गरिएको १८३ भन्ने नै टुङ्गो लागेको छैन । तीन हजार दुई सय शुल्क बुझाएका र खाएका उनीहरूलाई पटक–पटक अपमानित गर्ने गरिएको छ । नेतृत्वका आसेपासेलाई प्रश्रय दिने काम भएको छ ।

एउटै बैठकलाई कहिले पूर्णबैठक, कहिले विस्तारित बैठक गरेर भ्रम सिर्जना गरिएको छ । जिल्ला कमिटीको बैठकमा कहिले त्यही व्यक्तिलाई बोलाउने, कहिले नबोलाउने गरेको पनि पाइएको छ । बैठक सञ्चालनका आधारभूत कुरालाई समेत ख्याल गर्ने गरिएको छैन । बैठकमा जति जना उपस्थित भए पनि त्यसले पूर्ण बैठकका हैसियतले निर्णय गर्ने गरिएको छ । जुनसुकै बैठकमा पनि पाँचजना पदाधिकारीले गरेको निर्णयमा ताली बजाउन लगाउने मात्र गरिएको छ । अस्तिको आयोजना भएको र जिल्ला कमिटीको बैठकसमेत भनिएको कार्यक्रममा नै केन्द्रीय अतिथिले भेलामा भएको सदस्यको ज्यादै न्यून उपस्थितिबारे प्रश्न गर्दासमेत कोही जिम्मेवारले उत्तर दिन चाहेनन् ।

सम्पन्न स्थानीय, प्रदेश र संघीय निर्वाचनमा एमालेको मतदाता र समर्थक–शुभचिन्तकको ठूलो संख्या रहे पनि जिल्ला पार्टीले सही नेतृत्व दिन सकेन र अनपेक्षित रूपमा हार व्यहोनुप-यो । वर्तमान नेतृत्वले त्यसको हालसम्म पनि वस्तुगत रूपमा गम्भीर छलफल गरेर योजना बनाउन सकेको छैन । ठूला नेताहरूको ठेलमठेलमा स्थानीय नेता–कार्यकर्ता मिचिएका छन् । काठमाडांैमा ठूलाठूला कुरा गर्ने, नेताहरूको निवास र पार्टी केन्द्र गोलचक्कर लगाइरहने र जिल्लामा एक दिन पनि बिताउन नचाहने, जिल्लामा देखिने कार्यक्रममा भने उपस्थित हुने नेतृत्वपङ्क्ति रहेसम्म यस्ता जुनसुकै अभियान सफल नहुने बताउनेको संख्या बलियो छ एमाले पार्टीभित्र ।

जिल्लाका नेताहरू आफैँ अनुशासित र परिवार, गाउँ, समाज र पार्टीमा नमुना बन्नुपर्ने र मातहतका नेता–कार्यकर्तालाई पनि अनुशासित र आदर्श व्यक्ति बन्न प्रेरित गर्न बाँकी नै छ । नेकपा (एमाले)का नेता–कार्यकर्ता समाजमा रहेका असल मान्छेभन्दा पनि ज्ञान, व्यवहार र आचरणमा श्रेष्ठ नभएको गुनासो ज्यादै नै रहेको छ । यो अभियानले पार्टी र जनसङ्गठन आमजनसमुदाय तहमा पुग्नैपर्ने भएकाले पार्टीका पक्षमा जनमत तयार हुने, कार्यकर्ता उत्पादन हुने, विषयगत दक्ष जनशक्ति तयार हुने र सम्बन्धित क्षेत्रका जनसमुदायसँग सम्बन्ध घनिष्ट हुने यथार्थलाई मध्यनजर गरिएको जनाइए तापनि नुवाकोटमा भने ‘मिसन ग्रासरुट’ होइन मिसन झ्यासझुस पो हुने हो कि भन्न आशंका रहेको नाम नबताउने सर्तमा एकजना जिल्ला नेताले बताए ।

नुवाकोट पार्टी सङ्गठनभित्र अर्को गम्भीर समस्याका रूपमा रहेको अल्छीपन, अराजक, अनुशासनहीनताको अवस्थाबाट चिन्तित हुनुपर्ने र निर्ममतापूर्वक समीक्षा गरी कदम चाल्नु आवश्यक छ । अभियानले अनुशासनसम्बन्धी तालिम दिएर कार्यकर्ता र नेता हुनुको अर्थ सिकाउनुपर्ने पनि त्यत्तिकै आवश्यक छ ।

मोही लागेको जग्गाको स्वामित्व बाँडफाँट हुने

विदुर । नुवाकोटमा मोही लागेको जग्गाको जग्गा धनी र मोहीबीच जग्गा बाँडफाँटको प्रक्रिया सुरु भएको छ । त्यसका लागि मोहीसँग निवेदन संकलन सुरु गरिएको मालपोत कार्यालयका प्रमुख अधिकृत होमनाथ सेढाईंले जानकारी दिए । उनका अनुसार व्यक्तिका नाममा रहेको (रैकर) जग्गामा लागेको मोही अन्त्य गर्न जग्गाको सम्बन्धित जग्गा धनी र मोहीलाई बराबर हुने गरेर बाँडफाँट गर्न सूचना जारी गरेर निवेदन संकलन थालिएको छ । जग्गामा रहेको द्वैध (दोहोरो) स्वामित्व अन्त्यका लागि सुरु भएको निवेदन संकलन विसं २०८२ चैत मसान्तलाई अन्तिम म्याद दिइएको छ ।

‘भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको परिपत्र र गत असोज १० मा जारी भएको राजपत्रका आधारमा निवेदन संकलन थालिएको हो’, प्रमुख मालपोत अधिकृत सेढाईंले भने, ‘गुठी बाहेकका जग्गा (रैकर)का लागि जग्गाधनी व्यक्ति भएको र मोही पनि व्यक्ति भएको जग्गा कानुनअनुसार आधा–आधा हुने गरेर अलगअलग गराउन मोहीलाई निवेदन दिन सूचना जारी गरिएको छ ।’ जग्गाधनी र मोहीले जग्गामा रहेको द्वैध स्वामित्व अन्त्य गर्ने सरकारको लक्ष्य र जग्गामा रहेको दोहोरो स्वामित्व हटाउने कार्य मोही किसानका लागि महत्वपूर्ण अवसरका रुपमा लिइएको छ । ’जग्गामा रहेको दोहोरो स्वमित्व अन्त्य गर्न यसभन्दाअघि पटकपटक जग्गा बाँडफाँट भए पनि लक्ष्यअनुसारको उपलब्धि हासिल गर्न सकिएको थिएन,’ उनले भने, ’यो अन्तिम पटकका लागि अवसर प्राप्त भएकाले मोही कोही छुट्नु हुन्न भनेर वडा कार्यालयमार्फत सबैलाई सूचित गराउन परिपत्र गरिएको छ ।’

प्राप्त निवेदनको कारबाही अघि बढाउँदै लागिने मालपोत कार्यालयले जनाएको छ । अन्तिम म्याद विसं २०८२ चैत मसान्तसम्म तोकिएकाले उक्त अवधिसम्म प्राप्त निवेदनको विसं २०८३ असार मसान्तसम्म टुङ्ग्याउनुपर्ने कानुनमा भनिएको छ । उक्त लक्ष्य पूरा भएपछि जमिनमा मोहियानी हक लाग्ने व्यवस्था अन्त्य गरिने सरकारको लक्ष्य छ । जग्गा जमिनमा मोहियानी हक लाग्ने व्यवस्था विसं २०८३ असार मसान्तपछि खारेज गर्ने लक्ष्यअनुसार रैकर जग्गामा लागेको दोहोरो स्वामित्वअनुसार जग्गाधनी र मोहीलाई बराबर जग्गा बाँडफाँटका लागि दाबी पेस गर्न कार्यालयले जारी गरेको सूचनामा भनिएको छ ।

अर्कैको नाममा रहेको जग्गाका लामो समयदेखि खेती गर्दै आएका विपन्न तथा आर्थिक अवस्था कमजोर भएका किसानका लागि न्याय दिन कानूनअनुसार यसअघि नै मोही कायम गरिएको थियो । सोही जग्गालाई सम्बन्धित जग्गाधनी र खेती गर्ने किसानलाई बराबर हुने गरेर बाँडफाँट गराउन लागेको हो ।

रसुवामा हात्तीपाइलेको जीवाणु देखियो

रसुवा । राष्ट्रिय हात्तीपाइले निवारण कार्यक्रमअन्तर्गत स्वास्थ्य मन्त्रालयले रसुवासहित १५ जिल्लामा हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउने अभियान सुरु गरेको छ । सन् २०२० मा जिल्लाका ३३ वटा विद्यालयका चार सय ८० जना विद्यार्थीमा गरिएको जाँचमा ११ जना विद्यार्थीमा हात्तीपाइले रोगको जीवाणु देखिएको स्वास्थ्य कार्यालय रसुवाले जानकारी दिएको छ ।

रसुवासहित ६४ जिल्लामा हात्तीपाइले रोगको जीवाणु देखिएपछि मन्त्रालयले औषधि खुवाउने अभियान सुरु गरेको हो । गत बिहीबार फागुन ११ गतेदेखि रसुवासहित १५ जिल्लामा हात्तीपाइले रोगको औषधि खुवाउन सुरु गरिएको छ । हात्तीपाइले रोगको जोखिममा रहेका रसुवासहित १५ जिल्लामा २५ फागुनसम्म औषधि खुवाउन सुरु गरेको मन्त्रालयले जानकारी दिएको छ । सरकारले सन् २०३० सम्म हात्तीपाइले रोग निवारण गर्ने लक्ष्य लिएको छ । जिल्लामा फागुन ११ गतेदेखि दुई हप्तासम्म हात्तीपाइले रोगको औषधि घरघरमा गएर खुवाउने अभियान सुरु भइरहेको छ । 

जिल्लाको पाँचवटै स्थानीय तहका केही विद्यालयमा गरेको परीक्षण जाँचमा हात्तीपाइले रोगको जीवाणुु देखिएको हो । सन् २०३० सम्ममा नेपालबाटै हात्तीपाइले रोग निवारण गर्ने अभियानअन्तर्गत फागुन ११ गतेदेखि जिल्ला स्वास्थ्य कार्यालयले स्थानीय सरकारसँग समन्वय गरेर हात्तीपाइले रोगविरुद्ध औषधि खुवाउने अभियान सुरु गरिरहेको छ । हात्तीपाइले रोगका जीवाणुु भएको मानिसलाई फाइलेरिया नामक पोथी लामखुट्टेले टोकेर स्वस्थ मान्छेलाई टोक्दा यो रोग सर्ने स्वास्थ्यकर्मी बताउँछन् । 

दुई सातासम्म सञ्चालन हुने औषधि सेवन कार्यक्रममा स्वास्थ्यकर्मी र स्वयम्सेविकाले नजिकको स्वास्थ्य केन्द्र र घर–घरमा पुगेर औषधि खुवाइरहेका छन् । हात्तीपाइले रोगको औषधि दुई वर्षभन्दा कम उमेरका बालबालिका, कुपोषण भएका पाँच वर्षमुनिका बालबालिका, गर्भवती महिला, सिकिस्त बिरामी, मुटुरोगी, क्यान्सरका बिरामी, मिर्गौलारोगी, छारेरोग भएका व्यक्तिले सेवन गर्न नहुने स्वास्थ्यकर्मीले बताएका छन् ।

बञ्चरेडाँडा ल्याण्डफिलको आयु घट्दै

 बञ्चरेडाँडा ल्याण्डफिल

ककनी । बिहान ४ बज्दा नबज्दै फोहोर बोकेका ट्रकहरू बालाजुबाट बञ्चरेडाँडा जाने तर्फ लामबद्ध देखिन्छन् । बिहानैदेखि रिक्सा, ट्याक्टर र मिनी ट्रकमा संकलन गरिने फोहोर अघिल्लो दिन राति नै टिपरमा लोड गरेर त्रिपालले छोपेर राखिन्छ र बिहानको झिसमिसैमा बञ्चरेतिर पठाइन्छ ।

दैनिक १९० टिपर फोहोर यसरी नै बञ्चरेडाँडा ल्याण्डफिल साइट पुग्छ । सबै टिपरमा त्रिपालले फोहोर छोपिएको हुन्छ भने लिच्चड सडकमा नचुहियोस् भनेर पाइपमार्फत गाडीमै राखिएको सानो ट्यांकीमा संकलन हुने गर्दछ । ‘पहिले पहिले जस्तो फोहोर देखाएर झोल चुहाउँदै लैजान मिल्दैन’, फोहोर बोकेर बञ्चरेडाँडा जाँदै गरेका टिपर चालक वीरसिंह थिङ भन्छन्, ‘केही गरी पाइप छुट्टिएर लिच्चड चुहियो भने आर्मी क्याम्पबाट फर्किनुपर्छ ।’ शिवपुरी राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएका नेपाली सेनाले फोहोर बोकेका ट्रकको निगरानी गर्छन् । साथै काठमाडौं महानगरपालिकाले पनि बाटोमा खसेको फोहोर उठाउन बालाजुदेखि बञ्चरेडाँडासम्म दैनिक रुपमा सानो भ्यान गुडाउँछ । वातावरण विभागका अनुसार बालाजुदेखि तिनपिप्ले र तिनपिप्लेदेखि बञ्चरेसम्मको सडक पनि दैनिक दुई पटक पानीका फोहोराले सफा गरिन्छ ।

काठमाडौंबाट गएका फोहोरको गाडी बञ्चरेडाँडा पुग्नु अगाडि नै कवाडी संकलकहरू जम्मा भइसकेका हुन्छन् । गाडीबाट फोहोर झर्नेवित्तिकै उनीहरूले पुनः प्रयोग गर्न मिल्ने तथा प्लाष्टिकजन्य फोहोर संकलन गर्छन् । त्यसपछि ल्याण्डफिल साइटमा रहेको डोजरले फोहोर सम्याउने र माटोले पुर्ने काम हुन्छ । ल्याण्डफिल साइटमा भइरहेको गतिविधि नियाल्न ५ वटा सीसीटिभी जडान गरिएको छ, जसको मद्दतले मेयर बालेन साहले कार्यकक्षबाट बञ्चरेडाँडाको अवलोकन गर्छन् ।

छुट्याएका फोहोर फेरि एकै ठाउँमा

काठमाडौं महानगरले १ साउनदेखि स्रोतमै फोहोरको वर्गीकरण गर्नुपर्ने सूचना निकालेको थियो । मेयर बालेन आफैं फोहोर वर्गीकरण गर्न आग्रह गर्दै सार्वजनिक ¥याली र कार्यक्रममा सहभागी भएका थिए । आइतबार र बुधबार नकुहिने र सोमबार र शुक्रबार कुहिने फोहोर संकलन गर्ने तालिका समेत बताएको थियो । साथै कुहिने र नकुहिने फोहोर नछुयाउनेलाई ५०० रुपैयाँ जरिवाना गर्ने महानगरको चेतावनी थियो । ९ असारको सूचनामा भनिएको थियो, ‘फोहोर संकलनका क्रममा फोहोरको पृथकीकरण नगरेको पाइए हरेक पटक जरिवाना गरिने छ ।’

यो महानगरका सबै (३२) वडामा लागू हुन सकेको छैन । पूर्वतयारी विना सूचना निकाल्दा पूर्ण कार्यान्वयन गर्न नसकेको महानगरको स्वीकारोक्ति छ । अहिले ८ वटा वडामा मात्र कुहिने र नकुहिने फोहोर छुट्याएर संकलन गरिन्छ । तर यसरी छुट्याएर संकलन गरिने फोहोर पनि बञ्चरेडाँडामा लगेर एकै ठाउँमा व्यवस्थापन गर्ने गरिएको छ । ‘निश्चित फोहोर मात्र वर्गीकरण गर्नुको विकल्प छैन’, महानगरको फोहोर व्यवस्थापन समेत हेरिरहेका पूर्वाधार सल्लाहकार सुनिल लम्साल भन्छन्, ‘कि सबै फोहोर छुट्टिएर आउनुप¥यो, नभए एकै ठाउँ पुरिने छ ।’

व्यवस्थापन राम्रो नहुँदा आयु घट्दो

सहरी विकास मन्त्रालयले करिब १ अर्ब लागतमा बञ्चरेडाँडा ल्याण्डफिल साइट बनाएको हो । आयोजनाका इन्जिनियर माधव कटुवालका अनुसार काठमाडौैंको फोहोर व्यवस्थापन गर्ने सबैभन्दा ठूलो परियोजनाको रुपमा यो निर्माण भएको हो, जहाँ लिच्चड पोखरी, फिल्टर पुल समेत बनाइएको छ ।

५० लाख घनमिटर क्षेत्रफलमा फैलिएको ल्याण्डफिल साइटको सेल–१ गत भदौ १२ गते काठमाडौं महानगरलाई फोहोर व्यवस्थापनका लागि उपलब्ध गराइएको थियो । सेल–२ भने महानगरलाई हस्तान्तरण गरिएको छैन । सेल–१ को भद्रगोल अवस्था देखेर दोस्रो महानगरलाई हस्तान्तरण नगरेको इन्जिनियर कटुवाल बताउँछन् ।

ल्याण्डफिल्ड साइट प्रयोगमा ल्याउने क्रममा काठमाडौं महानगरले फोहोेर वर्गीकरण गर्ने प्रतिवद्धता जनाएको थियो । तर त्यसअनुसार काम नभएको भन्दै आयोजनाका इन्जिनियर कटुवाल भन्छन्, ‘ल्याण्डफिल साइट जुन डिजाइनमा निर्माण भएको हो, त्यसअनुसार काम गर्न‘ नि ! अहिले एकदम अव्यवस्थित ढंगले काम भइरहेको छ । यसरी जाने हो भने ल्याण्डफिल्ड साइटकै आयु घट्छ ।’

सहरी विकास मन्त्रालयका अधिकारीहरूका अनुसार वर्गीकरण नगरी फोहोर फाल्ने हो भने बञ्चरेडाँडा ल्याण्डफिल साइट २० वर्षमै भरिनसक्छ । तर फोहोर वर्गीकरण गरेर मात्रै फाल्ने हो भने ल्याण्डफिल साइटको आयु ४० वर्षसम्म बनाउन सकिन्छ ।

काठमाडौं महानगरका पूर्वाधार सल्लाहकार लम्साल भने महानगरले फोहोर वर्गीकरणको योजना बनाइरहेको दाबी गर्छन् । भन्छन्, ‘अहिलेकै अनुपातमा नै फोहोर फाले सोचेभन्दा छिट्टै भरिने हो । हामीले यहाँ लामो समय यसरी फोहोर फाल्दैनौं, यहाँ त वर्गीकरणबाट काम नलाग्ने फोहोरहरू मात्रै फाल्ने हो ।’ उनका अनुसार महानगरले कुहिने फोहोरबाट ग्याँस र कम्पोस्ट मल बनाउने तथा नकुहिने तर पुनः प्रयोग गर्न मिल्ने फोहोरलाई पुनः प्रयोग गर्ने र अरुलाई इन्सिलेन्टरबाट नष्ट गर्ने योजना बनाएको छ । कुहिने फोहोरको लागि ५ ठाउँमा एक–एक रोपनी जग्गामा प्रशोधन केन्द्र र एक ठाउँमा २ सय रोपनीको मल उत्पादन केन्द्र बनाउने योजना छ । नकुहिने फोहोरको लागि २ ठाउँमा २०–२० रोपनी जग्गामा प्रशोधन केन्द्र खोल्ने तयारी छ ।

८ ठाउँको सार्वजनिक जग्गा दिन संघीय सरकारसमक्ष प्रस्ताव पठाइएको छ, मन्त्रिपरिषदबाट निर्णय हुनासाथ प्रशोधन केन्द्र निर्माणको काम थाल्ने महानगरको दाबी छ ।

वर्षायाममा समस्या आउनसक्छ

पछिल्लो समय फोहोर व्यवस्थापन तथा संकलनमा कुनै समस्या नभएको महानगरले बताएको छ । महानगरका अनुसार अहिले दैनिक ३११ जना सरकारी कूचिकारले ८ वटा वडा, पार्क र मूल सडक सफा गर्छन् । यस्तै ३८ वटा निजी कम्पनीमार्फत दैनिक ३१४ कूचिकारले महानगरको अन्य वडामा र भित्री गल्लीहरू सफाइ गर्छन् ।

यसरी संकलन हुने फोहोर ल्याण्डफिल्ड साइटसम्म लैजाने सडकको पासाङ ल्हामु मार्ग भदौसम्म कच्ची थियो । शहरी विकास मन्त्रालयको जोडबलमा त्यो सडक अहिले पिच भइसकेको छ । मन्त्रिपरिषद् बैठकबाट निर्णय गरेर बालाजु (मुड्खु)–तीनपिप्ले सडकखण्डको करिब साढे ४ किलोमिटर सडक छिटो प्रक्रियाबाट ठेक्का लगाएको थियो । तीनपिप्लेदेखि बञ्चरेडाँडासम्म भने अहिले कच्ची सडकको रुपमा २ सय मिटर जति एकतर्फी कंक्रिट ढलान गर्न मात्रै बाँकी छ । महानगरका भौतिक पूर्वाधार सल्लाहकार लम्साल भन्छन्, ‘सिसडोलको फोहोरमाथि बनेको सडकमा पनि केही मर्मत गर्न बाँकी छ ।’

तीनपिप्लेबाट मुड्खु (बालाजु)तर्फ जाने एक ठाउँ र तीनपिप्लेबाट बञ्चरेतर्फ जाने ५ ठाउँमा वर्षायाममा पहिरो झर्ने जोखिम देखिएको छ । सडक मर्मत गर्न एउटा डोजर र महानगरको अनुदान रकमबाट १० जना स्थानीय नियमित रुपमा खटाइएको छ । सिसडोलका स्थानीय हुकुम लामा पनि वर्षायाममा सिसडोलको फोहोरमाथि बनेको सडकमा गाडी फसेपछि तीन पिप्लेभन्दा मुनीसम्म गाडी रोकिने गरेको विगत सम्झिन्छन् । भन्छन्, ‘त्यो बेला यहाँ वरपर बसिनसक्नु हुन्छ ।’

त्यही बेला स्थानीयवासीले आन्दोलन गर्ने गर्छन् । अनि काठमाडौंका सडक किनारमा फोहोर थुप्रिन्छ । काठमाडौं महानगरपालिकाका पूर्वाधार सल्लाहकार लम्साल पनि फोहोरमाथि बनेको बाटो र पहिरो झर्ने स्थानमा वर्षायाममा समस्या हुनसक्ने स्वीकार गर्छन् । ‘पहिरो झर्दा फोहोर रोकिन्छ भन्नेमा हामी सचेत छौं’, उनले भने, ‘वर्षामा हुनसक्ने जोखिमको आंकलन गरेर पहिरो र सडक भासिने समस्या रोक्न एक करोडको ठेक्का दिने तयारी गरिरहेका छौं ।’