Friday, April 07, 2023

तीन वर्षपछि आवागमन खुला


धुञ्चे । चीनले रसुवागढी नाकाबाट स्थलमार्ग हुँदै पर्यटक आवागमन खुला गरेको छ । कोभिड–१९ महामारीका कारण नेपाल सरकारले ११ चैत २०७६ मा सबै अन्तर्राष्ट्रिय नाका बन्द गर्ने घोषणा गरेको चीनले तीन वर्षपछि मानव आवागमन खुला गरेको हो ।

शनिवार एक नेपाली टोली उक्त नाकाबाट चीन प्रवेश गरेसँगै आवागमन औपचारिक रुपमा खुला भएको नेपालका लागि चिनियाँ राजदूत छेन सङले जानकारी दिएका छन् । नाकाबाट चीन प्रवेश गरेको नेपाली टोलीलाई स्वागत गर्दै उनले दुईतर्फी रुपमा मानिसको आवागमन खुलाले द्विपक्षीय सहयोग र जनताबीचको सम्बन्ध अझ गहिरो हुने उल्लेख गरेका छन् । रसुवागढी नाका खुला भए पनि नेपाल चीनको दोस्रो ठूलो तातोपानी नाका भने स्थलमार्गको आवाजावतका खुला हुने टुंगो छैन ।

कोरोना महामारीका कारण तीन वर्ष ठप्प भएका प्रमुख दुई नाका खोल्न चीन सहमत भएको छर । बुधबार ल्हासामा नेपाल–चीन सीमा व्यापार तथा सहयोग समन्वय संयन्त्रको पहिलो बैठकमा तत्काल रसुवागढी–केरुङ र वैशाख तेस्रो साता तातोपानी–झाङ्मु नाकामा आवतजावत नियमित गर्ने सहमति बनेको छ । 

सहमतिअनुसार शनिबार (१८ चैत) देखि रसुवागढी–केरुङ र आगामी १८ वैशाखदेखि तातोपानी–झाङ्मु नाकाबाट सामान तथा नागरिकको आवतजावत सुरु गर्ने सहमति भएको हो । बैठकमा नेपालका तर्फबाट उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनी र चीनका तर्फबाट तिब्बत स्वायत्त क्षेत्रको जनसरकारका कार्यकारी उपाध्यक्ष चेन योङ्छीले प्रतिनिधिमण्डलको नेतृत्व गरेका थिए । ‘दुवै पक्षबीच १८ चैतदेखि रसुवागढी–केरुङ नाकामा दुईतर्फी व्यापार र जनताको आवतजावतका लागि पूर्ण रूपमा सञ्चालन गर्ने सहमति भएको छ । यसैगरी, तातोपानी–झाङ्मु हुँदै दुईतर्फी व्यापार र जनताको आवागमन १८ वैशाखदेखि सुरु हुनेछ,’ संयन्त्रको बैठकपछि बुधबार ल्हासास्थित नेपाली महावाणिज्य दूतावासद्वारा जारी विज्ञप्तिमा छ । 

बैठकमा सीमापार व्यापार र जनताबीचको आवतजावतलाई अधिकतम स्तरमा सुरु गर्ने, स्थल बन्दरगाहको सहज सञ्चालन, व्यापार सहजीकरण, भन्सार सहयोग, सीमा क्षेत्रको विकास, व्यापारसँग सम्बन्धित पूर्वाधारलगायत सीमा व्यापार र सहकार्यमा सहयोगका नयाँ उपाय खोज्ने विषयमा छलफल भएको थियो । बैठकमा नेपालको अनुरोधमा चिनियाँ पक्षले नेपाल–चीन सीमामा बहुउपयोगी प्रयोगशाला स्थापनाका लागि सकारात्मक जवाफ दिएको छ । सचिव मरासिनीले सीमापार विशेष आर्थिक क्षेत्र निर्माण गर्न र नेचुङ–लिजी सीमा बन्दरगाहमा नेपालतिर पूर्वाधार निर्माणका लागि प्राविधिक तथा आर्थिक सहयोग उपलब्ध गराउन आग्रह गरे । चीनले यो प्रस्तावलाई स्वागत गरेको महावाणिज्य दूतावासले जनायो । चिनियाँ पक्षले नेपाल–चीन सीमामा मौसमी सीमा व्यापार नाका खोल्ने आश्वासन दिएको छ । कोभिड– १९ को महामारीसँगै मौसमी व्यापार नाका बन्दछन् । 

बैठकमा दुई देशबीचको घनिष्ठ आर्थिक र व्यापारिक सम्बन्धको महत्वबारे चर्चा भएको थियो । बैठकमा चीनमा नेपालबाट फलफूल, ड्राई मिट र औषधिजन्य जडीबुटी, कृषि तथा पशुजन्य उत्पादनको निर्यात लगायतका क्षेत्रमा सम्भावित सहयोगबारे छलफल भएको थियो । बैठकमा नेपालको उत्तरी हिमाली क्षेत्रका सीमावर्ती जिल्लाहरूका बासिन्दाको जीवनस्तरमा सुधार ल्याउन सहयोगको स्तर बढाउन नेपालले अनुरोध गरेको थियो । बैठकमा चिनियाँ पक्षले नेपालमा उत्पादन, कृषि र गार्मेन्टजस्ता क्षेत्रमा लगानी गर्न आफ्ना व्यवसायीलाई प्रोत्साहित गर्ने आश्वासन दिएको छ ।

कोभिड– १९ पछि दुवै देशले अपनाएका स्वास्थ्य प्रोटोकललाई मध्यनजर गर्दै दुवै पक्षले ‘नेपाल–चीन संयुक्त महामारी रोकथाम तथा नियन्त्रण संयन्त्र’को नाम परिवर्तन गरी ‘सीमा व्यापार तथा सहयोगसम्बन्धी नेपाल–चीन समन्वय संयन्त्र’ राख्ने सहमति गरेका छन् । वार्तामा नेपाली प्रतिनिधिमण्डलमा परराष्ट्र मन्त्रालय, ल्हासास्थित नेपालको महावाणिज्य दूतावास, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, अर्थ मन्त्रालय, कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अधिकारी सहभागी थिए । त्यसैगरी, चिनियाँ प्रतिनिधिमण्डलमा तिब्बत स्वायत्त क्षेत्रको वाणिज्य विभाग, भन्सार, एक्जिट–एन्ट्री र स्वास्थ्य विभागका विदेश मामिला कार्यालयका अधिकारी सहभागी थिए । 

बुधबारै सचिव मरासिनीले तिब्बत स्वायत्त क्षेत्रको जनसरकार अध्यक्ष महामहिम यान जिङहाईसँग शिष्टाचार गरे । भेटमा नेपाल र तिब्बतका पारस्परिक हितका विषयमा छलफल भएको थियो । अध्यक्ष यानले नेपाली प्रतिनिधिमण्डलको सम्मानमा ल्हासामा रात्रिभोज आयोजना गरेका थिए । 

काठमाडौं–ल्हासा उडान प्रस्ताव 

नेपालले कोभिड महामारीपछि बन्द भएको काठमाडौं–ल्हासा उडान सुरु गर्न पनि चीनसँग प्रस्ताव गरेको छ । बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनीले काठमाडौं–ल्हासा सीधा उडानको आवश्यकतामा जोड दिँदै चिनियाँ पक्षलाई तत्कालै सीधा उडान सुचारु गर्न आग्रह गरेका थिए । उनको प्रस्तावलाई चिनियाँ पक्षले सकारात्मक रूपमा लिएको जवाफ दिए ।

दुप्चेश्वर दुर्घटनामा मृत्यु हुने तीन पुग्यो


विदुर । नुवाकोटको दुप्चेश्वर गाउँपालिका–४ कोल्फुबाट काठमाडौंका लागि छुटेको ना १ ज ३९८४ नम्बरको गाडी अनियन्त्रित भई कोल्फु सडक छेउ भीरबाट खस्दा ३ सय मिटर खसेको हो । 
घटनास्थलमै दुई जनाको ज्यान गएको हो भने एक जनाको उपचारको क्रममा काठमाडौंस्थित राष्ट्रिय ट्रमा सेन्टरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका सूचना अधिकारी एवं डिएसपी खगेन्द्रबहादुर खड्काले बताए । 
मृत्यु हुनेमा दुप्चेश्वर गाउँपालिका वडा नम्बर ४ का २५ वर्षीय छिरिङ तामाङ र १६ वर्षीया मनमाया तामाङ र वडा ७ की ४५ वर्षीया सानुकान्छी तामाङ रहेको डिएसपी खड्काले बताएका छन् । सानुकान्छीको मृत्यु ट्रमा सेन्टरमा उपचारको क्रममा भएको हो । सुमोमा १३ जना सवार थिए । उक्त घटनामा चालकसमेत घाइते भएका छन् ।

कारागारमा बिरामी बढे


विदुर । नुवाकोट कारागारमा स्वास्थ्यकर्मी अभावमा धेरै कैदीबन्दी बिरामी पर्न थालेका छन् ।  कारागारमा स्वास्थ्यकर्मी नहुँदा नियमित जँचाउनुपर्ने बिरामी पनि त्यत्तिकै बस्न बाध्य भएका छन् । 

‘बिरामी परेमा जेलभित्र उपचार गराउन अवस्था छैन,’ कारागारका जेलर गंगालाल योगीले भने, ‘१३ जना जति मानसिक रोगी नै छन् । ती रोगीलाई बाहिर उपचार गराउन समस्या छ । औषधि खुवाइरहनुपर्छ । बिरामी धेरै हुने गरेका छन् । स्वास्थ्यकर्मी अभाव छ ।’ कारागारका लागि एकमात्र सिनियर अहेवको दरबन्दी छ, स्वास्थ्यकर्मी छैनन् । कारागारमा १६ महिला एक दुई वर्षको नाबालक गरी जम्मा १४१ जना छन् । त्यसमध्ये विदेशीको हकमा एक जना अमेरिकी पुरुष र एक बोलेभियन महिला नागरिक छन् । 

कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी छन् । उनीहरूलाई सहज रुपमा सुत्न र बस्न गाह्रो भएको छ । कारागारको क्षमता पुरुष र महिला ५०/५० जनाको हो । 

तर यही कारागारभन्दा करिब ६ किलोमिटर दूरीमा विदुरमा आधुनिक सुविधासम्पन्न केन्द्रीय कारागार बनिरहेको छ । तीन वर्षदेखि कैदीबन्दीलाई स्थानान्तरण गर्ने भनिए पनि अहिलेसम्म भएको छैन ।

एसईई परीक्षामा नुवाकोटमा ५१ परीक्षार्थी अनुपस्थित

विदुर । माध्यमिक शिक्षा परीक्षा (एसईई) को पहिलो दिन शुक्रबार नुवाकोटमा ५१ जना परीक्षार्थी अनुपस्थित भएका छन् । अनुपस्थित हुनेमा २६ जना छात्रा रहेका छन् । पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा भएको हो । जिल्लामा २४ परीक्षा केन्द्रमा चार हजार दुई सय ९७ जना परीक्षार्थी सहभागी हुनुपर्नेमा ५१ जना अनुपस्थित भएका हुन् ।

पहिलो दिन जिल्लाका सबै केन्द्रहरूमा शान्तिपूर्ण रूपमा परीक्षा सम्पन्न भएको शिक्षा विकास इकाई नुवाकोटका प्रमुख देवकुमार बरालले जानकारी दिए ।


पहिलो दिन ५४ कन्टेनर केरुङ पुगे


रसुवा । पूर्णरूपमा रसुवागढी नाका खुलेको पहिलो दिन लोड भएका र खाली गरी ५४ कन्टेनर केरुङ पुगेका छन् । सामान लोड भएका २२ र खाली भएका ३२ कन्टेनर केरुङ पुगेका हुन् । शनिबार बिहानदेखि रसुवागढी नाका कोभिडभन्दा अगाडि जस्तै गरी मानिसको आवतजावतसहित पूर्णरूपमा सञ्चालन आएको हो ।

पूर्णरूपमा नाका संचालनमा आएपछि रसुवागढी नाकाबाट सामान लिन केरूङ जान लागेको कन्टेनर । रसुवागढी नाका चीनतर्फको भूभागमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनी र चीनको तिब्बत स्वायत्त क्षेत्रको जनसरकारका उपाध्यक्ष सिलाङ निमाको उपस्थितिमा दुवै देशका अधिकारीले औपचारिक कार्यक्रम गरेर शनिबारदेखि पूर्णरूपमा रसुवागढी नाका खुलेको घोषणा गरेको प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले जनाए । रसुवागढी नाकाबाट आंशिक रूपमा आयात–निर्यात हुँदै आएको थियो ।

नाकाबाट हुने सामान निर्यात पनि ३५ महिनापछि गत पुस १२ देखि खुलेको हो । यसअघि नाकाबाट प्रतिदिन चिनियाँ १४ कन्टेनरले सामान नेपालतर्फ ल्याइदिने गरेका थिए । निर्यात हुने सामान पनि तिनै कन्टेनरले लैजान्थे । शनिबार पैठारी भएका २२ कन्टेनरमा मूर्ति, कार्पेट, बाँसको मुढा, ह्यान्डिक्राफ्ट र तामाका सजावटका सामानलगायत वस्तु रहेको रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत नारायणप्रसाद भण्डारीले बताए । शनिबार रसुवागढी नाकाबाट २५ जना आएको र १२ जना गएको पनि अध्यागमन कार्यालय रसुवाका अध्यागमन अधिकृत कृष्णप्रसाद पौडेलले बताए । अध्यागमन कार्यालय रसुवागढीले जारी गर्दै आएको नेपाल–चीन सीमा क्षेत्रका नागरिकका लागि प्रस्थान प्रवेश अनुमतिपत्र लिएका २ सय ४० जनाको नवीकरण पनि शनिबार भएको छ ।

नेपाल–चीन सीमा व्यापार तथा सहयोग समन्वय संयन्त्रे बैठकले ल्हासामा गत बुधबार आयात निर्यात गर्ने सहमति गरेपछि रसुवागढी नाका पूर्णरूपमा सञ्चालनमा आएको हो । बैठकले रसुवागढीबाट निकासी पैठारी र मानिसको आवतजावतसहित पूर्णरूपमा सञ्चालन गर्ने सहमति गरेको ल्हासास्थित नेपाली महावाणिज्य दूतावासका महावाणिज्यदूत नवराज ढकालले बताए । 

अब सीमा क्षेत्रमा व्यवसायीले कुनै किसिमको समस्या भोग्नुनपर्ने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनीको भनाइ छ । तातोपानी नाका पनि एक महिनापछि पूर्णरूपमा खुल्ने चिनियाँ अधिकारीले जनाएका छन् । रसुवागढी नाका पूर्णरूपमा सञ्चालनमा आएपछि व्यवसायी, सीमा क्षेत्रका बासिन्दा तथा सरोकारवाला उत्साहित छन् ।

१ लाख मुढा चीन निर्यात

रसुवागढी नाकाबाट चीनतर्फ निर्यात गर्न लगिएका बाँसका मुढा ।

रसुवा । निर्यात खुलेको तीन महिनामै रसुवागढी नाका हुँदै चीनतर्फ करिब एक लाख थान बाँसका मुढा निर्यात भएका छन् । 

पुस १२ देखि चैत १५ सम्म ३ करोड २० लाख ३४ हजार बराबरको ९७ हजार ६०४ वटा मुढा निर्यात भएको रसुवा भन्सार कार्यालयका प्रमुख नारायणप्रसाद भण्डारीले बताए । 

कोरोनाका कारण बन्द निर्यात ३५ महिनापछि गत पुस १२ देखि खुलेको हो । बाँसका मुढा सस्तो र बलियो हुने भएकाले चीनमा माग बढी छ । विभिन्न कारागारमा कैदीले बनाएको मुढा संकलन गरेर व्यवसायीले चीनतर्फ निर्यात गर्दै आएका छन् । निर्यात रोकिँदा कैदीबन्दीका उत्पादन गोदाममै थन्काएर राख्नुपरेको व्यवसायी मुकुन्द पौडेलको भनाइ छ । ‘अहिले निर्यात खुल्यो, तिब्बतबाट माग पनि आउन थाल्यो,’ उनले भने ।

कार्यालयमा अब विद्युतीय हाजिरी

विदुर । बागमती प्रदेश सरकारले २०८० वैशाखबाट मन्त्रालय र मातहतका सबै कार्यालयमा कर्मचारीको विद्युतीय हाजिरी अनिवार्य गर्ने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले आगामी वैशाखबाट विद्युतीय हाजिरीको व्यवस्था गर्ने निर्णय गरेको हो ।

प्रदेश सरकार गठन भएको पाँच वर्ष बितिसक्दासमेत प्रदेश सरकारको मन्त्रालय र मातहतका कतिपय कार्यालयमा कर्मचारीको दैनिक हाजिर हाजिरीपुस्तिकामा हुँदै आएको थियो । प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठले निर्णय वैशाख १ गतेबाट लागू गरिने जानकारी दिए । मन्त्रिपरिषद् बैठकले प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा प्राडा नरविक्रम थापालाई नियुक्त गर्ने निर्णय गरेको छ । बागमती प्रदेश सरकारको मुख्यमन्त्री शालिकराम जम्कट्टेल भएपछि प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा नियुक्त गरिएको यो दोस्रो पटक हो । यसअघि जम्कट्टेल नेतृत्वको सरकारले आयोगको उपाध्यक्षमा नियुक्त प्राडा होमनाथ चालिसेले पदबाट राजीनामा दिएपछि थापालाई उपाध्यक्षमा नियुक्त गरिएको छ । 

बैठकले सरकारको प्रवक्ताको जिम्मेवारी आन्तरिक मामिला तथा कानुनमन्त्री श्रेष्ठलाई दिने निर्णय गरेको छ। यसअघि प्रदेश सरकारको प्रवक्ता नेकपा (एमाले) बागमती प्रदेशका संसदीय दलका नेता एवं आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलिया रहनुभएकामा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै थपलियासहित चारै जना मन्त्रीले राजीनामा दिएपछि प्रवक्ता रिक्त रहेको थियो । प्रदेश सरकारका प्रवक्तासमेत रहनुभएका श्रेष्ठले मन्त्रिपरिषद् बैठकले प्रदेशमा बसोबास रहेका सीमान्तकृत समुदाय चेपाङ र माझी समुदायको पर्वमा सार्वजनिक बिदा दिने निर्णय गरेको जानकारी दिए । उनले भने, “बैठकबाट चेपाङ समुदायको पर्व न्वागी र माझी समुदायको लदी पर्वमा चेपाङ र माझी समुदायलाई सार्वजनिक बिदा दिने निर्णय भएको छ ।” बैठकमा मुख्यमन्त्रीसहित नेकपा माओवादी केन्द्रका चार मन्त्रीको सहभागिता थियो । यस प्रदेशका ११ मन्त्रालय रहेकामा मन्त्रिमण्डल विस्तार हुन नसक्दा चार सदस्यीय मन्त्रिमण्डल छ ।

केन्द्रीय कारागार काठमाडौं, सुनसरीको झुम्का कारागार, मकवानपुरको भीमफेदी, धादिङलगायतका कारागारबाट कैदीबन्दीले बनेको मुढा व्यवसायीले संकलन गर्छन् । सस्तो र बलियो भएकाले बाँसबाट बनेका मुढाको माग चीनमा बढी छर । यहाँका मुढा चीनको ल्हासा, सिगात्से, न्यालम र धिग्रीसम्म पुग्ने गरेका व्यवसायी बताउँछन् । विशेषगरी चाडबाडका बेला मुढाको माग धेरै हुने गरेको व्यवसायीको भनाइ छर । पाहुनालाई चिनियाँहरूले नेपाली हस्तकलाबाट बनेका सामग्री उपहार दिन्छन् । अहिले रसुवागढी नाकाबाट चीनतर्फ मूर्ति, कार्पेट, बाँसका मुढा, ह्यान्डीक्राफ्ट, तामाका सजावटलगायत वस्तु निर्यात भएका छन् । २०७६ माघ १५ देखि नै रसुवागढी नाका भएर चीनबाट हुने आयात–निर्यात प्रभावित भएको थियो ।

मधुमेह र चुरोट सेवन


डा. विनय  भट्टराई

धुम्रपान जोकोहीका लागि पनि हानिकारक हुन्छ । एक सर्को चुरोट तान्दा सात हजारभन्दा बढी हानिकारक केमिकल मानिसको शरीरमा प्रवेश गर्छन् भनिन्छ । त्यसमध्ये पनि २५० केमिकल निकै खतरनाक हुन्छन् ।

त्यसैले स्वस्थ व्यक्तिका लागि पनि हानिकारक हुने चुरोटले कुनै रोगबाट पीडितलाई कति असर गर्ला ? अझ मधुमेहका बिरामीका लागि चुरोट खानु भनेको मृत्युको मुखमा धकेल्नु जस्तै हो । हामीले खाएको खानेकुराबाट रगतमा ग्लुकोज बन्दछ । गुल्कोजको मात्रा बढी भएपछि मधुमेह रोग लाग्ने हो । प्याङ्क्रियाजबाट उत्पादन हुने इन्सुलिनमार्फत कार्बोहाइड्रेटलाई कोषिकाहरूमा छिराएर शरीरले शक्ति पाउँछ र त्यो इन्सुलिनको उत्पादन कम भयो वा उत्पादन हुन छोड्यो भने मधुमेह हुन्छ ।

धुम्रपानले इन्सुलिनको स्तर कायम राख्न गाह्रो हुन्छ । चुरोटमा पाइने निकोटिन शरीरमा प्रवेश गरेपछि यसको मात्रा बढ्दै जाँदा इन्सुलिनको प्रभाव कम हुन्छ । रगतमा गुल्कोजकोे मात्रा नियन्त्रण गर्न इन्सुलिनको मात्रा बढी चाहिन्छ तर चुरोटमा हुने निकोटिनले ग्लुकोज पु¥याउने  कोषिकाहरूलाई सुनाउँछ । जसले इन्सुलिन छिर्न पाउँदैन र भएका इन्सुलिनले काम गर्न सक्दैन । जस्तोसुकै प्रकारको मधुमेह भएपनि धुम्रपानले मधुमेहलाई व्यवस्थापन गर्न गाह्रो बनाउँछ । अत्यधिक चुरोट पिउँदा इन्सुलिन प्रतिरोधी भइदिन्छ र औषधिले पनि काम गर्न छोड्छ । र, यसले हाई डोजको औषधि दिने अवस्था आउँछ । धुम्रपानले मधुमेह भएका व्यक्तिको सम्पूर्ण शरीरमा नराम्रो असर गर्छ । यो मानिसको प्रारम्भिक मृत्युलाई निम्तो दिनु जस्तै हो । यदि मधुमेह भएका व्यक्ति धुम्रपान गर्छन् भने उनीहरूलाई  जुनसुकै बेला हृदयघात हुन सक्छ ।

आँखामा असर : धुम्रपानको धुवाँमा पाइने रसायनले धुम्रपान गर्नेको आँखाका लागि विषाक्त हुने आँखाका कोषिकाहरूमा नोक्सान पु-याउँछ । यी जोखिम हुनुको साथै मधुमेह भएका व्यक्तिमा धुम्रपानका कारण रेटिनामा रगतको प्रवाहमा कमी आउँछ र त्यहाँ अक्सिजन ठीकसँग पुग्दैन । यो अवस्थाले आँखामा रेटिनोप्याथी गराउन सक्छ ।

घाउ छिटो भरिंदैन : कुनै पनि चोटपटक लाग्दा केही समयपछि घाउ विस्तारै निको हुँदै जान्छ तर धुम्रपान गर्नेहरूमा भने निको पार्ने प्रक्रियालाई सुस्त बनाउँछ । घाउ र चोटका छिटो फैलिन्छन् । र, छिटो निको हुन सक्दैन ।

मिर्गौलामा असर : धुम्रपानले उनीहरूमा मिर्गौला फेल र स्नायुसम्बन्धी रोगको जोखिम बढाउछ । चुरोट पिउनाले मधुमेहका बिरामीहरूमा अल्बुमिनको कमी ज्यादा हुने सम्भावना बढ्छ ।

मधुमेह अनियन्त्रित : मधुमेहका बिरामीले रगतमा चिनीको मात्रा सधैं कम राख्ने प्रयास गर्छन् तर धुम्रपानले रगतमा ग्लुकोजको मात्रा ह्वात्तै बढाउँछ । तब औषधिले पनि यसको प्रभाव कम गर्न सक्दैन ।

रक्तचाप र मुटुरोगको जोखिम : धुम्रपानले धमनीलाई कडा पार्ने काम गर्ने भएकाले यसबाट हुने क्षति दोब्बर हुने हुँदा मुटुको समस्या, रक्तचाप पनि बढाउँछ । मधुमेहका बिरामीले चुरोट पिउँदा इन्सुलिन प्रतिरोध हुन्छ, जसले गर्दा रगतमा ग्लुकोजको मात्रा अनियन्त्रित हुन्छ । यो मुख्यतया घातक हृदयघात वा कोरोनरी हृदयरोगको जोखिम बढी हुन्छ । धुम्रपानका कारण मुटुमा जम्मा हुने निकोटिनले रक्तनलीमा क्षति पु-याउँछ ।

डिप्रेसन : जब मानिस डिप्रेसनको सिकार हुन्छ, तब मात्र उसले धुम्रपानको बारेमा सोच्छ, त्यसपछि उसलाई धुम्रपानको लत लाग्न थाल्छ । डिप्रेसनमा रहनु मधुमेह भएका व्यक्तिका लागि बढी हानिकारक हुन्छ ।

यौन दुर्बलता : धुम्रपान गर्नेहरूमा यौन दुर्बलताको समस्या हुन सक्छ । यदि मधुमेहका बिरामी हो भने यसलाई झनै बढावा दिन्छ । यसबाहेक मधुमेहका बिरामीमा निकोटिनको मात्राले  अनिद्रा, तनाव, मोटोपन बढ्ने, क्यान्सर र मधुमेहका जटिलता झनै जोखिम देखिने सम्भावना प्रबल हुन्छ । 

(डा. भट्टराई मधुमेह तथा थाइराइड विशेषज्ञ हुन् । उनीसँग अनलाईन खबरका मनिषा थापाले गरेको कुराकानीमा आधारित)

अनाथ बालबालिकालाई भत्ता

घलेभञ्याङ्ग । नुवाकोटको पञ्चकन्या गाउँपालिकाले अनाथ बालबालिका संरक्षण कार्यक्रम सञ्चालन गरेको छ ।

कार्यक्रम अन्तर्गत अनाथ बालबालिकालाई सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरेको छ । पालिकाले कार्यक्रममा समावेश भएका बालबालिकालाई भत्ता वितरण सुरु गरेको अध्यक्ष तेजबहादुर तामाङ रमेशको भनाइ छ । बागमती प्रदेश सामाजिक विकास मन्त्रालयको सहयोगमा पालिकाको महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाले भत्ता वितरण गरेको हो । गाउँपालिकामा आमाबावु विहीन बालबालिका २२ जना रहेका छन् । त्यसमध्ये बालिका १२ जना र बालक १० जना रहेका छन् । उनीहरूलाई मासिक २ हजार रुपैयाँको दरले सामाजिक सुरक्षा भत्ता वितरण गर्ने गरिएको छ ।

दाइको विरासत थाम्लान् महतले ?


काठमाडौं । नेपाली कांग्रेस नेता डा. प्रकाशशरण महत अर्थमन्त्रीका रुपमा सिंहदरबार प्रवेश गरेका छन् । यसअघि ऊर्जा र परराष्ट्र मन्त्रालयको नेतृत्व गरिसकेका उनले यसपटक अर्थमा अवसर पाएका छन् ।

तेस्रोपटक मन्त्रीका रुपमा सिंहदरबार पस्दै गर्दा महतका अगाडि अर्थतन्त्रका सूचकहरूले रातो बत्ती बालिरहेका छन् । विज्ञहरूका अनुसार देशको आर्थिक अवस्था हेर्दा यो कुनै सुविधाको बेला हुँदै हैन । अहिले देशको अर्थतन्त्र अप्ठेरो अवस्थासँग जुधिरहेको छ । बाह्य क्षेत्रको चुनौती कम हुँदै गएपनि अर्थतन्त्रका वास्तविक, सार्वजनिक वित्त र मौद्रिक क्षेत्र समस्यामा छन् ।

राजस्वले चालु खर्च धान्न मुस्किल छ । भन्सारदेखि आन्तरिक राजस्वसम्म गत वर्षको भन्दा कम उठिरहेको छ । अर्थतन्त्रलाई गति दिन सघाउने पूँजीगत खर्च कमजोर छ । बजारमा वस्तु तथा सेवाको माग घटेर उद्योग र सेवा क्षेत्र समस्याग्रस्त छ ।

व्यापार र निर्माण क्षेत्रमा पनि मन्दी छ । उच्च ब्याजदर र तरलता अभावले वित्तीय क्षेत्रमाथि निजी क्षेत्रको विश्वास घटेको छ । नयाँ परियोजनामा लगानी घट्दा कर्जा विस्तार नभएर बैंकहरू समस्यामा छन् । पूँजीबजारमा निराशा मात्रै छ । पर्यटन क्षेत्रमा उत्साह छैन । घरजग्गा कारोबारमा पुरै मन्दी छ । ठूला सहकारीहरू समस्यामा फस्दै गएका छन् ।

यस्तो कमजोर आर्थिक परिसूचकहरूलाई सुधार्नेगरी अर्थमन्त्रीले ल्याउने योजना र गर्ने काम भविष्यको अर्थतन्त्रको अवस्था निर्धारण गर्ने अर्थविद्हरू बताउँछन् । अर्थविद् विश्वास गौचन नयाँ अर्थमन्त्रीले संकट टार्न थुप्रै अलोकप्रिय निर्णय लिनुपर्ने बताउँछन् । त्यसका लागि आँट चाहिने उनको भनाइ छ ।

राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष दीपेन्द्रबहादुर क्षेत्री नयाँ अर्थमन्त्रीले अर्थतन्त्रको समस्या पहिचान गरी सुधारमा निर्भिकतापूर्वक अडिन सक्नुपर्ने बताउँछन् । यसका लागि सबै पक्षलाई विश्वासमा लिएर निचोडमा पुग्नुपर्ने उनको सुझाव छ । अर्थमन्त्रीका अगाडि चालु खर्चमा व्यापक कटौती गर्नुपर्ने चूनौती रहेको उनको विश्लेषण छ ।

अन्तर्राष्ट्रिय दातृ निकायहरूसँग सम्बन्ध सुमधुर राख्दै थप आर्थिक तथा लगानीको स्रोत खोज्नुपर्ने डा. महतको दायित्व हुनेछ । आँउदो १५ जेठमा आउने आगामी आर्थिक वर्ष २०८०÷०८१ को बजेटलाई राजनीतिकभन्दा बढी आर्थिक लाभमा उपयोग गर्नु उनको दायित्व हुनेछ ।

खुम्चिएको स्रोत बढाउनु र बजेटमा ठूला कार्यक्रमहरूको माग व्यवस्थापन गर्नु महतका लागि फलामको चिउरा सावित हुनेछ ।

पार्टीभित्रका अन्य आकांक्षीलाई पन्छाउँदै सभापति शेरबहादुर देउवाको मन जितेर अर्थमन्त्रालयको बागडोर सम्हाल्न आएका महतलाई अर्थतन्त्रको संकट पार लगाउँछन् भनेर आम विश्वास जित्नु नै मुख्य चुनौती हुने अर्थविदहरू बताउँछन् । अर्थतन्त्रका समस्यासँग जुध्दै व्यावसायिक जगत र अन्तर्राष्ट्रिय समुदायलाई पनि आश्वस्त पार्नु उनको मुख्य जिम्मेवारी हुनेछ ।

यस्ता चुनौतीसँग जुध्न उनी सक्षम हुनेछन् भन्ने शंकै छ । संकटापन्न अर्थतन्त्र सम्हाल्ने जिम्मा लिएर आएका अर्थमन्त्री महतको शैक्षिक योग्यता भने अर्थशास्त्रसँगै सम्बन्धित छ ।

उनी बहुदलीय प्रजातन्त्र पुनर्स्थापनापछि नेपाली अर्थतन्त्रको रुपरेखा कोर्ने डा. रामशरण महतका भाइ हुन् । विदेशमा आकर्षक जागिर खाइरहेका डा. रामशरण महतलाई २०४८ सालमा सत्ता नेतृत्वमा आएका गिरिजाप्रसाद कोइरालाले बोलाएर नेपाल राष्ट्रिय योजना आयोगको उपाध्यक्ष बनाएका थिए । त्यसपछि उनी पटक–पटक अर्थमन्त्री भए ।

नेपाली अर्थतन्त्रको सकारात्मक, नकारात्मक सबैखाले पाटोको चर्चा हुँदा डा. महतको नाम स्वतः आउने गर्छ । उनै रामशरणका भाइ प्रकाशशरण अहिले अर्थ मन्त्रालयको नेतृत्वमा पाएका छन् । उनी अर्थशास्त्रमा त्रिभुवन विश्वविद्यालय, काठमाडौंका स्नातक, अमेरिकाको युनिभर्सिटी अफ इलिनोइस एट अर्बाना–च्याम्पेनबाट स्नातकोत्तर र साउदर्न इलिनोइस विश्वविद्यालयका पीएचडी हुन् ।

२०६३ सालको अन्तरिम व्यवस्थापिकाको सदस्यको रुपमा संसदीय यात्रा आरम्भ गरेका डा. महत पहिलो संविधानसभा र दोस्रो संविधानसभा दुवैमा सभासद थिए । उनी २०६६ देखि २०६७ चैतसम्म ऊर्जा मन्त्री भएका थिए । त्यसपछि नेकपा माओवादी र नेपाली कांग्रेसको संयुक्त सरकारमा उनी परराष्ट्रमन्त्री भए ।

२०७४ को चुनाव हारेका उनी ०७९ सालमा भने समानुपातिक तर्फबाट सांसद भए । २०५८ असोजदेखि २०५९ वैशाखसम्म प्रधानमन्त्री रहँदा आफ्ना सल्लाहकार बनाएका शेरबहादुर देउवाले यसपटक महतलाई कांग्रेसको कोटाबाट अर्थमन्त्री बनाएका छन् । उनीसँग राष्ट्रिय योजना आयोगको सदस्य भएर काम गरेको अनुभव पनि छ ।

१६ कात्तिक २०१६ मा नुवाकोटको पञ्चकन्यामा जन्मिएका डा. महत पार्टी केन्द्रीय सदस्य र प्रवक्ताको जिम्मेवारी निर्वाह गरिसकेका नेता हुन् । उनी कांग्रेसको १४औं महाधिवेशनमा महामन्त्रीमा उठेर पराजित भएका थिए । ०७४ को चुनावमा उनी काठमाडौं ५ मा एमालेका ईश्वर पोखरेलसँग पराजित भएका थिए ।

राजनीतिक रुपमा अनुभवी भएपनि महतले अर्थतन्त्रमा कौशल देखाउने भूमिका पाएका थिएनन् । उनले मुलुकको आर्थिक अवस्थाबारे सार्बजनिक टिप्पणी र विश्लेषण गरेको पनि सुनिने गरेको थिएन । बौद्धिकभन्दा बढी राजनीतिक व्यक्तित्वका रुपमा चिनिएका उनले अब कसरी अर्थमन्त्रालय चलाउलान् भन्नेमा निजी क्षेत्र सशंकित छ ।

नेपाल उद्योग वाणिज्य महासंघका एक पदाधिकारी यसअघि ऊर्जामन्त्री हुँदा महतले खासै राम्रो नेतृत्व नदिएको अनुभवका कारण विश्वस्त हुने अवस्था नरहेको बताउँछन् । अर्थशास्त्रका विद्यावारिधी भएकाले नयाँ ढंगले चलाउलान् कि भन्ने आशा भने रहेको बताउँदै उनले भने, ‘उहाँमाथि भरोसा नभएपनि शंकाको सुविधा छ, त्यत्ति हो ।’

डा. महत राजनीतिक रुपमा चतुर र नेतृत्वनजिक रहेर आफ्नो भनाइमा सहमत गराउन माहिर छन् । अर्थमन्त्रीका रुपमा उनले आफ्नो सबल पक्षको उपयोग गरे भने सफल हुने ती व्यवसायीको भनाइ छ ।

कांग्रेस नेता तथा अर्थविद् डा. गोबिन्दराज पोखरेल भने अर्थशास्त्र पढेको मात्र नभई मन्त्री भएर प्रशासनिक संयन्त्र पनि बुझेको हिसावले अर्थमन्त्रीमा महत सफल हुने बताउँछन् ।

‘राजस्व र वैदेशिक मुद्राको स्रोतमा विविधीकरण आवश्यक छ,’ उनी भन्छन्, ‘उहाँले लगानी र उद्योगधन्दा बढाउने गरी आर्थिक विषयसँग सम्बन्धित ऐनहरू संशोधन गरेर सुधारका प्रयास थालिहाल्नुपर्छ ।’

त्रिभुवन विश्वविद्यालयका अर्थशास्त्र विभाग प्रमुख डा. शिवराज अधिकारी नयाँ अर्थमन्त्रीबाट धेरै आशा गरिएको बताउँछन् । ‘मूल रुपमा उहाँले आफूमाथि भरोसा बढाउन सक्नुपर्छ,’ उनी भन्छन्, ‘अर्थतन्त्रको समस्या समाधान हुन्छ भनेर जनतालाई विश्वास दिलाउनु नै उहाँको मूल चुनौती हो, त्यसकै लागि काम गर्नुपर्छ ।’

मनोबल बढाउने गरी काम गर्छु : अर्थमन्त्री महत

नवनियुक्त अर्थमन्त्री डा. प्रकाशशरण महतले निराशमा रहेका व्यवसायीको मनोबल बढाउन नेपाल राष्ट्र बैंकसँग समन्वय गरी काम गर्ने बताएका छन् । शुक्रबार मन्त्रालयमा पदभार ग्रहण गर्दै उनले व्यवसायीमा देखिएको नैराशयता अन्त्य गर्न राष्ट्र बैंकको अहम भूमिका रहेको भन्दै अर्थ मन्त्रालयले राष्ट्र बैंकसँग समन्वयन गरेर काम गर्ने बताए ।

‘लघुवित्त र सहकारीहरू समस्यामा छन् । यसमा राष्ट्र बैंकको अहम् भूमिका छ । अर्थ मन्त्रालयले राष्ट्र बैंकसँग समन्वय गरी काम गर्न जरुरी छ,’ उनले भने, ‘अर्थतन्त्रमा रहेका निराशालाई आशामा बदल्नु छ । सकारात्मक सोचमा बदल्नु छ । ब्याजदर उच्च छ, सेयर बजारमा निराशा छ, उद्योगी व्यवसायी सबैमा निराशा बढेको छ । सबैको आत्मविश्वास बढाउनुपर्ने छ । त्यसका लागि राष्ट्र बैंकसँग समन्वयन गरी अर्थ मन्त्रालयले सक्रियताको साथ काम गर्छ ।’

लगानीमा नकारात्मक वातावरण बनेको भन्दै उनले त्यसलाई सकारात्मक बनाउन आवश्यक रहेको बताए । त्यसमा राष्ट्र बैंकको ठूलो भूमिका हुने भन्दै उनले यो र त्यो भन्ने भन्दा पनि राष्ट्र बैंक सँगसँगै काम गर्ने बताए । ‘यो र त्यो भन्ने होइन । हामी सँगै काम गर्ने हो । राज्य संरचनाको जिम्मेवारीलाई यो र त्यो नभनी अर्थतन्त्रलाई उकास्ने हो’ मन्त्री डा. मतहले भने ।

अमेरिकी तारोमा टिकटक

काठमाडौं । टिकटकका प्रमुख कार्यकारी अधिकृतलाई अमेरिकी संसदले बयान लिएको छ । विश्वभरका बालबालिकाको मानसिक स्वास्थ्य र अमेरिकी सुरक्षामा खलल पु¥याएको भन्दै अमेरिकी संसदले टिकटकका प्रमुख कार्यकारी अधिकृत सोझी चिउसँग पाँच घण्टा बयान लिएको हो ।

अमेरिकामा टिकटक प्रतिबन्ध नलगाउनु पर्ने कारणबारे स्पष्ट पार्न उनीसँग संसदले बयान लिएको थियो। बालबालिकाको मानसिक स्वास्थ्य र राष्ट्रिय सुरक्षामा चिनियाँ एप्लिकेसनले चुनौती थपेको भन्दै अमेरिकामा टिकटक प्रतिबन्धका विषयमा बहस भइरहेको छ । डेढ करोड अमेरिकीले टिकटक प्रयोग गरिरहेको तथ्यांक रहेको छ । बयानका क्रममा चिउले कसैको डेटाको अनधिकृत वा अनैतिक तवरले प्रयोग नहुने बताएका छन्। उनीहरूको डेटाबारे अमेरिकाले बारम्बार चासो राखेपछि चिनियाँ कम्युनिस्ट पार्टीले समेत डेटामा कुनै खेलबाड नहुने बताएको थियो ।

‘अमेरिकीहरूको डेटा अमेरिकन सर्भरमा नै रहन्छ । अमेरिकी भूमिमा अमेरिकी कर्मचारीहरूले नै डेटा हेर्दा कुनै हिसाबले असुरक्षित हुँदैन’, चिउले संसदमा भनेका छन् । चिउका अनुसार डेटा सुरक्षाकै निम्ति डेढ अर्ब अमेरिकी डलर खर्च गरेर अमेरिकी कम्पनी ओ¥याकलसँगको सहकार्यमा १५०० जनालाई रोजगारी दिइएको छ । संसदमा कसैले पनि टिकटकको समर्थन गरेनन् । यसले बालबालिकामा नकारात्मक प्रभाव पारेको धेरैको तर्क थियो । टिकटकले बालबालिका यौनशोषणको जोखिममा पर्दै गएको सांसदहरूको जिकिर थियो । डेमोक्र्याट सांसद क्याथि क्यास्टरले भनेका छन् ‘बालबालिकाको सुरक्षामा ध्यान दिएर एप्लिकेशन बनाउनुपर्नेमा नाफा केन्द्रित भएर त्यसको बेवास्ता गरिएको छ ।’

त्यस एप्लिकेशनको गोपनीयताको सवालमा प्रश्न तेर्सिएपछि एप्लिकेशन चिनियाँ सरकारको इशारामा नचल्ने बताइएको छ । ‘टिकटकमा आएका सामग्रीलाई हामी चिनियाँ सरकारको आग्रहमा प्रवर्धन पनि गर्दैनौं र हटाउँदैनौं’ उनको जवाफ थियो । टिकटक प्रयोगकर्तालाई कुनै पनि सरकारको हस्तक्षेपबाट टाढै राख्ने र बालबालिकाको सुरक्षामा निकै संवेदनशील रहेको जवाफ टिकटकले दिएको छ । संसदमा १० डेमोक्र्याट र १० रिपब्लिकन सांसदले टिकटकलाई प्रतिबन्ध लगाउन बाइडेन प्रशासनले कानुन ल्याउनुपर्ने प्रस्तावमा सहमति दिएका छन् ।

टिकटकका अनुसार बाइडेन प्रशासनले चिनियाँ लगानीकर्ताको स्वामित्व फिर्ता गरे मात्रै अमेरिकामा प्रतिबन्ध नलगाउने शर्त छ । चीनको वाणिज्य मन्त्रालयले अमेरिकाले टिकटकलाई प्रतिबन्ध लगाएमा अमेरिकामा चिनियाँ लगानी र सामान बिक्रीबारे सोच्नुपर्ने चेतावनी दिएको छ । 

डेमोक्र्याटका सांसद टोनी काडेनले टिकटकले बालबालिकाको मानसिक स्वास्थ्यमा गम्भीर असर पु¥याएको बताएका थिए। ‘आफ्नो स्वार्थका लागि बालबालिकाको सुरक्षामा ध्यान नदिने यस्ता कम्पनीबाट हामी स्वयंले हाम्रा बालबालिका बचाउनुपर्छ’, उनको भनाइ थियो ।

अमेरिकाले टिकटक प्रतिबन्धका लागि पहल बढाइरहेको छ । त्यसअघि उसले टिकटकलाई आफ्नो भनाइ राख्ने मौका दिएको हो । प्रतिबन्ध कहिले लगाउनेछ भन्ने निश्चित छैन तर संसद टिकटकको प्रतिबन्धमा एकमतझैं छ । बाइडेन प्रशासनले टिकटक प्रतिबन्ध लगाएमा वासिङ्टन र बेइजिङको सम्बन्धमा थप दरार उत्पन्न हुने निश्चित छ । अमेरिकी संसदको एक समितिले प्रतिबन्ध सम्बन्धी विधेयकलाई अनुमोदन गरेको छ र यदि यो विधेयक कानुन बनेमा राष्ट्रपतिलाई उपयुक्त लागेको अवस्थामा टिकटकमाथि प्रतिबन्ध लगाउन सक्ने अधिकार हुनेछ ।

अमेरिकी राष्ट्रपति जो बाइडेन आफैंले संघीय सरकारको स्वामित्वमा रहेका सबै स्मार्टफोनबाट टिकटक एप हटाउन आदेश दिएका छन् ।

लाङटाङ बाहेक क्षेत्रमा यातायात


रसुवा । रसुवाको लाङटाङ क्षेत्रबाहेक अन्य सबै गाउँमा नियमित बस सेवा सञ्चालन भएको छ । 

काठमाडौँलगायत विभिन्न स्थानको यात्रामा जान गाउँ टोलबाटै बस चल्न थालेपछि स्थानीय बासिन्दालाई आउजाउ गर्न सहज भएको छ । रसुवा घुम्न आउने पर्यटकलाई समेत यात्रा गर्न सहज भएको छ ।

प्रत्येक गाउँ टोलमा मोटरबाटो पु¥याउन स्थानीय सरकारले सडक निर्माणलाई पहिलो प्राथमिकता दिएका कारण अहिले रसुवाका गाउँगाउँमा बस सेवा सञ्चालन हुन थालेको हो । भौगोलिक विकटताले सबैभन्दा बढी दूरदराज मानिएको यार्साको सिङ्वन्दी, गाङ्मरसमेतका स्थानमा सडक निर्माण भएपछि बिरामी अस्पताल जान, खाद्यान्न ढुवानी गराउन, गाउँठाउँबाट यात्रा गर्नसमेत सहज भएको स्थानीय समाजसेवी लछिन नुर्पु तामाङले बताएका छन् ।

स्थानीय सरकार गठन भएसँगै सडक मार्ग खोल्न गरिएको प्रायासअन्तर्गत हालसम्म ६४ किलोमिटर सडकको ट्रयाक खोल्ने काम सम्पन्न गरी ठाडो खोलाका पुल निर्माण कार्य गराउन लागिएको नौकुण्ड गाउँपालिका अध्यक्ष नुर्वु स्याङ्वो घलेले बताए । मोटरबाटो खुलेसँगै स्थानीयस्तरमा उत्पादित कृषिउपज ताजाताजै व्यापारिक केन्द्रमा पु¥याउन सहज भएको किसानले बताएका छन् ।

काठमाडौँको बालाजुदेखि रसुवाको सरमथली, यार्सा, भोर्ले, जिवजिवे, कालिकास्थान, डाँडागाउँ, हाकु, मनिगाउँ कर्मिडाँडा, धुञ्चे, गतलाङ, स्याफ्रुबेँसी, चिलिमेको थाम्बुचेत, तातोपानी, थुमन, टिमुरे, बृद्विमसमेतका स्थानमा नियमित बस सेवा सञ्चालन भएको नमस्ते पासाङ ल्हामु बस व्यवसायी यातायात समितिले जनाएको छ ।

अधिकांश सडक कच्ची र कतिपय खोलामा पुल बन्न बाँकी रहेका कारण हिउँदयामको समयमा मात्र बस सेवा सञ्चालन हुने समस्या छ । यसै वर्षदेखि बृद्विमदेखि–काठमाडौँसम्म नियमित बस सेवा सञ्चालन भएको छ । हिमाली पदयात्रामा जाने पर्यटकलाई लाङटाङ जान र फर्कन सहज सहज भएको पर्यटन व्यवसायीले बताएका छन् । शेर्पा गाउँ, रिम्चे, लामा होटल, घोडा तबेला हुँदै छड्के छड्के पैदलमार्गबाट लाङटाङ पुगी सहजरूपले यात्रा गर्न सकिने पथप्रदर्शकले बताएका छन् ।

सिंहदरबार बाहिरको मन्त्रालय


पुष्पराज चौलागाईं

काठमाडौं । देशको सर्वोच्च प्रशासनिक केन्द्र हो, सिंहदरबार । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मात्र होइन, मन्त्रालयदेखि योजना आयोगसम्म सबै सिंहदरबारमै अटाएका छन् ।

बीचमा केही समय बाहिर (नयाँबानेश्वरमा) रहेको संसद भवन पनि सिंहदरबारभित्र धमाधम बनिरहेको छ । तर नेपाल सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय भने २०३० सालदेखि सिंहदरबार बाहिरै छ । २५ असार २०३० को आगलागी अघिसम्म यो मन्त्रालय पनि सिंहदरबारभित्रै थियो । अचानक भएको आगलागीले सिंहदरबारको पश्चिम भागबाहेक सबै ध्वस्त भयो । अधिकांश निकाय सिंहदरबार बाहिर सरे । स्वास्थ्य मन्त्रालय पनि टेकुमा रहेको राष्ट्रिय स्वास्थ्य, शिक्षा, सूचना तथा संचार केन्द्रको पुरानो भवनमा स¥यो ।

पद्मसुन्दर लावती स्वास्थ्य मन्त्री भएपछि फराकिलो कार्यालयको खोजी भयो । २०३९ सालमा रामशाहपथस्थित सर्वोच्च अदालतको ठीक अगाडि रहेको परिवार नियोजन तथा मातृ शिशु कल्याण योजनाको कार्यालयमा स्वास्थ्य मन्त्रालय स¥यो ।

फ्रान्सका प्रख्यात आर्किटेक्ट लुइस इसाडोर कानले डिजाइन गरेको यो भवन राजा वीरेन्द्रले आफ्नो ३१औं जन्मोत्सवको अवसरमा १३ पुस २०३२ मा उद्घाटन गरेका थिए । तत्कालीन मन्त्री लावतीको जोडबलमा स्वास्थ्य मन्त्रालय यो भवनमा सरेको थियो । आगलागीबाट क्षतिग्रस्त भएको सिंहदरबार पुनर्निर्माण गर्न‘का साथै नयाँ भवनहरू बन्दै जाँदा मन्त्रालयहरू सिंहदरबार फर्कंदै गए । रामशाहपथमा विशेष किसिमको भवन भेटेको स्वास्थ्य मन्त्रालय भने बाहिरै रमाएको छ ।

पहिले चाहेन, चाहदा पाएन 

स्वास्थ्यका पूर्वअधिकारीहरूको अनुभवमा सिंहदरबार बाहिरै काम गर्न ‘कम्फर्टेबल’ भएकाले भित्र जान धेरै जोडबल गरिएन, प्रशासनतर्फका अधिकारीहरूले पनि स्वास्थ्य मन्त्रालय भित्र नआइदिए हुन्थ्यो भन्ने मन गरेका थिए । २०६५ असोजदेखि २०६८ मंसिरसम्म स्वास्थ्य सचिव रहेकी डा. सुधा शर्मा काम गर्न मन्त्रालयको भवन पर्याप्त र कम्फर्टेबल भएकाले सिंहदरबारभित्र जान सक्रिय रूपमा पहल नगरेको सुनाउँछिन् । ‘बेलाबेला भित्र लैजाने खासखुस कुरा चल्थ्यो, तर हामीलाई बाहिरै सहज थियो’ डा. शर्माले भनिन्, ‘भवन बनाउन करोडौं खर्चिनुभन्दा आमा सुरक्षा कार्यक्रमलाई देशव्यापी गर्नमा लाग्यौं ।’ 

२०७४ मा स्वास्थ्य सचिव रहेकी डा. किरण रेग्मी पनि जनताको प्रत्यक्ष सरोकार राख्ने मन्त्रालय भएका कारण सहजै सिंहदरबारभित्र लैजान सम्भव नभएको अनुभव सुनाउँछिन् । ‘जिल्ला–जिल्लाबाट स्वास्थ्यकर्मीहरू सेवा लिन आइरहनुपर्छ । सिंहदरबारभित्र हुँदा सहजसँग आउजाउ गर्न सम्भव हुन्न’ पूर्व स्वास्थ्य सचिव डा. रेग्मीले अनलाइनखबरसँग भनिन्, ‘बाहिर रहँदा हामीलाई पनि स्वतन्त्रता भएको महसुस हुन्थ्यो । भित्र जाँदा गाभिनुपर्ने जस्तो महसुस भएकाले सक्रिय रूपमा सिंहदरबारमा जान पहल गरेनौं ।’

पछिल्लो पटक भने भीडभाड बढ्दै गएको भन्दै स्वास्थ्य मन्त्रालयले सिंहदरबारभित्र जान चाह्यो, तर पाएन । अनावश्यक मानिसहरू स्वास्थ्य मन्त्रालय छिरेर काम प्रभावित भइरहेको महाशाखाका प्रमुख गुनासो गर्छन् । मन्त्रालयका नीति, योजना तथा अनुगमन महाशाखाका प्रमुख डा. कृष्णप्रसाद पौडेल भने बाहिर हुँदा सुरक्षा व्यवस्था कमजोर हुने र अनावश्यक रूपमा बढी भीडभाड भइरहेको बताउँछन् ।

‘काम नभएका मानिसहरू पनि अनावश्यक रूपमा आइरहेकाले काम प्रभावित भइरहेको छ । स्वास्थ्य मन्त्रालय सिंहदरबारभित्र रहँदा यस्तो अवस्थामा न्यूनीकरण हुन्थ्यो’, उनी भन्छन् ।

हामीले स्वास्थ्य मन्त्रालय सिंहदरबारभित्र लैजानुपर्छ भनेर जोडबल गरेका थियौं । तर गृहले आफूलाई चाहिने अडान लिएपछि हामी त्यो भवनमा सर्न पाएनौं भन्छन् पूर्वस्वास्थ्य मन्त्री हृदयेश त्रिपाठी । स्वास्थ्य मन्त्रालयका पूर्व प्रमुख विशेषज्ञ डा. सुशीलनाथ प्याकुरेलका अनुसार तत्कालीन मन्त्री उपेन्द्र यादव हुँदा स्वास्थ्य मन्त्रालयलाई भित्र सार्ने छलफल भएको थियो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली सकारात्मक पनि थिए । किनकि २०७२ को भूकम्पले क्षतिग्रस्त बनेको प्रधानमन्त्रीको कार्यालय रेट्रोफिट भइरहेको थियो । र, प्रधानमन्त्री कार्यालय अस्थायी रूपमा बसेको संघीय मामिला मन्त्रालयको भवन खाली हुने क्रममा थियो ।

३ फागुन २०७७ मा प्रधानमन्त्री कार्यालय आफ्नै भवनमा सरेपछि यो भवन खाली पनि भयो । किनकि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय तत्कालीन स्थानीय प्रशासनको भवनमा सरिसकेको थियो । तर प्रधानमन्त्री कार्यालयले छाडेको भवनमा स्वास्थ्यसँगै गृह मन्त्रालयले दाबी ग¥यो । ‘त्यसबेला हामीले स्वास्थ्य मन्त्रालय सिंहदरबारभित्र लैजानुपर्छ भनेर जोडबल गरेका थियौं । तत्कालीन प्रधानमन्त्री पनि सकारात्मक हुनुहुन्थ्यो’ तत्कालीन स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठी भन्छन्, ‘तर गृहले आफूलाई चाहिने अडान लिएपछि हामी त्यो भवनमा सर्न पाएनौं ।’

अहिले पनि राष्ट्रिय योजना आयोगले संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयसँग मिलेर सिंहरदरबारको मास्टर प्लान बनाएको छ, जसमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सिंहदरबारभित्र ल्याउने योजना नै छ ।

व्यवस्थापन कार्यालयका प्रमुख कुमार घिमिरे सरकारको योजना अनुसार सबै मन्त्रालय सिंहदरबारभित्रै लैजाने काम भइरहेको बताउँछन् । घिमिरेका अनुसार हाल सिंहदरबारभित्र भएका अस्थायी प्रकृतिका भवन भत्काउने र नयाँ भवन बनाइनेछ । त्यहाँ सिंहदरबार बाहिर भएको स्वास्थ्य मन्त्रालय र सिंहदरबारभित्र एउटै भवनमा भएका मन्त्रालयलाई छुट्टै भवन दिइनेछ ।

मास्टर प्लानका अनुसार संघीय संसद सचिवालयका लागि छुट्टै भवन बनाउने योजना छ । ‘संसद सचिवालयका लागि नयाँ भवन निर्माण भएपछि स्वास्थ्य मन्त्रालय त्यस ठाउँमा ल्याउने तयारी गरेका छौं’ घिमिरेले अनलाइनखबरसँग भने, ‘नयाँ भवनको निर्माणका लागि योजना बनिसकेको छ । केही समयमै योजना मन्त्रिपरिषद्मा पेश भएर स्वीकृत भएपछि काम अगाडि बढ्छ ।’

स्वास्थ्य सेवा विभागका पूर्वमहानिर्देशक डा.यशोवर्धन प्रधान स्वास्थ्य मन्त्रालयका लागि सिंहदरबारको भीडभाडभन्दा बाहिरै रहेको उपयुक्त ठान्छन् । ‘आम जनतालाई पनि बाहिरको यो मन्त्रालयमा भित्रका अरू मन्त्रालयमा भन्दा पहुँच सहज छ’, उनी भन्छन् ।

विश्वव्यापी रुपमा चुलिँदै छ चामल संकट


आधाभन्दा बढी विश्व चामलमा आश्रित छ । विशेषगरी अफ्रिका र एसियामा यसको माग बढ्दो छ । इन्डोनेसियाली किंवदन्तीअनुसार जाभा टापुलाई धान वरदानका रूपमा भगवती देवी श्रीले प्रदान गरेकी थिइन् । त्यसअघि यहाँको मुख्य खाद्यवस्तु कासाभा (सावुदाना) थियो । जमिनमुनि माटामा फल्ने कन्दमुल ‘कासाभा’ खाने यहाँका बासिन्दामाथि दया जागेर देवी श्रीले उनीहरूलाई हरिया सिमखेतमा धान कसरी फलाउने भनेर सिकाइन् । भारतमा हिन्दू देवी अन्नपूर्णको भूमिका यस्तै बताइन्छ । जापानीहरू धान इनारी देवीले दिएको मान्छन् । एसियाभर धान–चामललाई देवीसँग जोडिन्छ ।

धानको यस्तो मिथकीकरण बोधगम्य नै छ । हजारौँ वर्षदेखि यस स्टार्चयुक्त वनस्पति अर्थात् ओरिजा सातिभा (जसलाई अक्सर एसियाली धान भनिन्छ), एसिया महाद्वीपको मुख्य खाद्यान्न रही आएको छ । विश्वको कुल धान उत्पादनको ९० प्रतिशत हिस्सा एसियाले ओगटेको छ भने खपत पनि यो महादेशले यही अनुपातमा गर्छ । एसियालीहरूले आफ्नो एकचौथाइभन्दा धेरै दैनिक क्यालोरी चामलबाट प्राप्त गर्छन् । संयुक्त राष्ट्रसंघको आकलनअनुसार एसियालीहरूले औसतमा वर्षमा ७७ किलो चामल खपत गर्छन्, जुन अफ्रिकी, युरोपेली र अमेरिकीको कुल औसतभन्दा बढी हो । एसियाका करोडौं किसान धानबालीमा निर्भर छन् । यहाँका किसान थोरै जमिनमा भए पनि धान लगाउन रुचाउँछन् । तर, विश्वमा धानको उत्पादन घट्न थालेको छ । 

विश्वमा चामलको माग विशेषगरी अफ्रिका र एसियामा बढ्दो छ । जबकि उत्पादन भने घट्दै गएको छ । धान उत्पादनका लागि आवश्यक पर्ने जमिन, पानी र श्रम झन्–झन् कम हुँदै गएको छ । धानबालीका लागि जलवायु परिवर्तन गम्भीर खतरा बनेको छ । धानबालीलाई बढ्दो तापक्रम र बारम्बार आउने बाढीले तहसनहस बनाइरहेको छ । किनभने, धानखेतहरूले प्रशस्त मात्रामा शक्तिशाली हरितगृह ग्यास मिथेनको उत्सर्जन गर्छन् । 

बढ्दो मागले समस्यालाई झनै चर्काएको छ । सन् २०५० सम्ममा एसियामा पाँच अर्ब ३० करोड र अफ्रिकामा एक अर्ब ४० करोडबाट बढेर दुई अर्ब ५० करोड मानिस हुनेछन् । नेचर फुड जर्नलमा प्रकाशित एक अध्ययनले जनसंख्याको यो वृद्धिले चामलको मागमा ३० प्रतिशतले वृद्धि हुने अनुमान गरेको छ । एसियामा केवल जापान र दक्षिण कोरियाजस्ता धनी देशहरूमा मात्र रोटी र पास्ताले भोजनमा भातको एकाधिकार तोड्न थालेका छन् । 

यसैबीच, एसियामा धानको उत्पादकत्व वृद्धिदर घट्दो क्रममा छ । संयुक्त राष्ट्रसंघको तथ्यांकअनुसार धानको गत दशकको वार्षिक औसत उत्पादकत्व वृद्धिदर ०.९ प्रतिशत थियो, जुन त्यसभन्दा अघिल्लो दशकको १.३ प्रतिशतभन्दा कम हो । यो गिरावट दक्षिण–पूर्वी एसियामा सबैभन्दा तीव्र छ, जहाँ धानबालीको उत्पादकत्व वृद्धिदर १.४५ बाट ०.४५ मा झरेको छ । इन्डोनेसिया र फिलिपिन्स ठूलो परिमाणमा चामल आयात गर्ने स्थितिमा पुगिसकेका छन् । नेचर फुडको अध्ययनअनुसार यदि उत्पादन वृद्धि भएन भने यी देश आफ्ना ४० करोड मानिसलाई खुवाउन अन्य मुलुकमा बढ्दो रूपमा निर्भर हुँदै जानेछन् । 

यद्यपि सन् १९६० को दशकमा सुरु भएको हरित क्रान्तिको दूरगामी प्रभावका कारण वर्षाैंसम्म धान उत्पादन र बढ्दो मागको तालमेल मिल्दै आयो । कम उत्पादकत्वलाई सम्बोधन गर्न फिलिपिन्सस्थित इन्टरनेसनल राइस रिसर्च इन्स्टिच्युट (आइआरआरआई) का वैज्ञानिकहरूले आइआर–८ नामक एक प्रजातिको विकास गरे, जुन मल र सिँचाइ प्रणालीको प्रयोगबाट खुबै फस्टायो । चीन अनिकालबाट बाहिर निस्किरहेको र भारत अनिकालको डिलमा पुगेको समयमा विकसित आइआर–८ आम जीवनरक्षक सावित भयोर । आइआर–८ एसियाभर फैलिएपछि फिलिपिन्सदेखि पाकिस्तानसम्म धानको उत्पादनमा वृद्धि भयो । अधिक उत्पादकत्वले धानलाई अझ आकर्षक बाली बनायो । धेरैभन्दा धेरै स्रोत धानबालीमा खन्याइए । खाद्य असुरक्षाको चिन्ता घट्दा एसियाका सरकारलाई औद्योगीकरण र आर्थिक वृद्धिमा ध्यान केन्द्रित गर्न अवसर मिल्यो । 

धानका नयाँ प्रजातिहरू विकास गरेको छ, जसले यस सफलताको केही पुनरावृत्ति गर्न सक्छ । यी प्रजातिको उत्पादकत्व आइआर–८ भन्दा अझै बढी छ । साथै, यी प्रजातिमा जलवायु प्रभावसँग जुझ्ने क्षमता पनि बढी छ । पानी पनि धेरै चाहिँदैन । तैपनि, बढ्दो माग पूरा गर्न सन् १९६० को दशकको तुलनामा कठिन देखिन्छ । सहरीकरण र जमिनको अनवरत खण्डीकरणले धानखेत घटाइरहेको छ । सन् १९७१ देखि २०१६ को बीचमा भारतीय किसानसँग भएका खेतको औसत क्षेत्रफल २.३ हेक्टरबाट घटेर १.१ मा झरिसकेको छ, जुन पहिलेको तुलनामा आधाभन्दा बढीको गिरावट हो । 

यसले विशेषगरी श्रमको कमी भएको स्थानमा उत्पादकत्व वृद्धिलाई थप कठिन बनाउनेछ । खेत तयार गरेर धानको रोपाइँ गर्न, त्यसपछि गोडमेल र कटाइको झन्झटिलो प्रक्रियाका कारण एसियामा धानबालीका लागि कामदारहरू पाउन मुस्किल हुँदै गएको छ । धानबालीका लागि चाहिने अर्काे महत्ववपूर्ण चिज पानी हो, जुन दुर्लभ हुँदै गएको छ । धेरै ठाउँमा रासायनिक मलखाद र कीटनाशकको अत्यधिक प्रयोगले गर्दा माटो विषाक्त हुँदै गएको छ भने क्षयका कारण माटोको तहसमेत पातलिँदै गएको छ ।

आइआरआरआईका वैज्ञानिकहरू विश्वव्यापी तापमानबाट धानबाली अन्य बालीको तुलनामा बढी जोखिममा रहेको बताउँछन् । सन् २००४ मा गरिएको एक अध्ययनअनुसार न्यूनतम तापक्रममा एक डिग्री सेल्सियसको वृद्धिले बालीको उत्पादनमा १० प्रतिशतले कमी ल्याउँछ । तापक्रम वृद्धिको अर्काे दुष्परिणाम अर्थात् समुद्री सतह बढ्दा धानखेतीका लागि प्रख्यात मेकोङ डेल्टाको तल्लो क्षेत्रमा नुनको प्रवाह भएर धानको उत्पादनमा ह्रास आइरहेको छ । धान–चामलको विश्वको चौथो ठूलो निर्यातक पाकिस्तानमा गत वर्ष आएको भीषण बाढीले १५ प्रतिशत धानबाली नष्ट गरेको अनुमान छ ।

विश्व तात्नुमा धानबालीको योगदानले सकारात्मक प्रतिक्रियाको प्रतिनिधित्व गर्छ । धानखेतमा सिँचाइ गर्दा त्यहाँको माटोमा अक्सिजन कम हुन्छ । पानीले मिथेन उत्सर्जक ब्याक्टेरियालाई फस्टाउन प्रोत्साहित गर्छ । परिणमतः उड्डयन क्षेत्रको तुलनामा धानबाली कुल मिथेन उत्सर्जनको १२ प्रतिशत र कुल हरितगृह–ग्यास उत्सर्जनको १.५ प्रतिशतका लागि जिम्मेवार मानिएको छ । भियतनामको धानखेतले त्यहाँको यातायात क्षेत्रले भन्दा धेरै कार्बन उत्सर्जन गर्छ ।

चामलको पोषणको गुणस्तर अर्काे बढ्दो चिन्ताको विषय हो । चामलमा ग्लुकोजको मात्रा अत्यधिक हुन्छ, जसले मधुमेह र मोटोपनमा योगदान गर्छ, जबकि महत्ववपूर्ण सूक्ष्म पोषकतत्वहरू फलाम र जिंकको मात्रा भने एकदमै न्यून हुन्छ । दक्षिण एसियामा मधुमेह र कुपोषणको व्यापकता चामलमा अत्यधिक निर्भरताको कारण भएको सहजै अनुमान लगाउन सकिन्छ ।

यति धेरै समस्याहरूलाई सम्बोधन गर्नु निकै जटिल छ । आइआरआरआईका महानिर्देशक जिन बाली पहिलो हरित क्रान्ति उत्पादकत्वको क्रान्ति थियो, अब अर्काे क्रान्तिले ‘एउटा दुइटा समस्या समाधानको सट्टा प्रणालीहरूमा नै ध्यान केन्द्रित गर्न‘पर्छ’ भन्छन् । उनका अनुसार यो संकटले धानका विभिन्न प्रजातिको विकासका साथै राम्रा नीतिहरूको पनि माग गरेको छ ।

कमजोर वा पुरानो ढर्राका सरकारी हस्तक्षेपहरू नै उत्पादकत्व र वातावरणसम्बन्धी अधिकांश चिन्ताका सर्जक हुन् । तिनले बजारलाई विकृत पारेका छन् भने परिवर्तनका लागि प्रोत्साहित गर्न सकेका छैनन् । उत्तरी भारतीय राज्य हरियाणाको एउटा सानो गाउँ बस्सी अकबरपुरका किसान सन्दीप सिंहकै उदाहरण लिऊँ । धानखेती गरे पनि उनी रोटी खान रुचाउँछन् । हरियाणाको तातो, सुक्खा हावापानीका लागि धानभन्दा गहुँ धेरै उपयुक्त बाली हो । तर, अन्य करोडौँ भारतीय किसानजस्तै सिंह पनि खेतमा आलोपालो धान र गहुँ नै लगाउँछन् । किनकि सरकारले धान–गहुँको चक्रीय खेतीलाई अनुदान सहयोग दिन्छ । 

भारतले किसानबाट निश्चित मूल्यमा धान खरिद गर्छ, जुन प्रायः बजारमूल्यभन्दा माथि नै हुन्छर । त्यसपछि धानको खपतलाई बढावा दिँदै गरिबहरूलाई सहुलियत मूल्यमा चामल बेचिन्छ । धानखेतीका लागि मलखाद र पानीमा पनि अनुदान दिइएको छ । यस्ता हस्तक्षेपहरू एसियाभर नै व्याप्त छन् । यी नीति मधुमेह र वातावरणीय लागत आजको तुलनामा निकै कम चिन्ताको विषय भएको र खाद्य असुरक्षा उच्च रहेको समयमा ल्याइएका नीति हुन् । 

दशकौँदेखि जब्बर हुँदै गएको नीतिगत गाँठो फुकाउन निकै कठिन छर । किसानहरू महत्ववपूर्ण भोट बैंक हुन् । त्यसैले सरकारहरू उनीहरूलाई भड्काउने हिम्मत गर्दैनन् । कठोर तर आवश्यक उपायहरू लागू गरेको भनेर गर्व गर्ने भारतको सत्तारुढ पार्टी भारतीय जनता पार्टीले पनि यो कुरा बुझिसकेको छ । किसानहरूको कडा प्रतिवादका कारण सन् २०२१ मा ऊ आफूले ल्याएका कृषि सुधार कानुन फिर्ता गर्न बाध्य भएको थियो । 

धानको बढ्दो संकटको कुनै एउटा सिंगो समाधान नभए पनि आंशिक समाधान भने थुप्रै छन् । म्यानमार र फिलिपिन्सजस्ता उत्पादन कम भएका एसियाका केही भागमा गम्भीर वातावरणीय क्षति नपु¥याई मलखाद एवं कीटनाशकको प्रयोग बढाएर उत्पादकत्व बढाउन सम्भव छ ।

आइआरआरआई र अन्य अनुसन्धान संस्थाका वैज्ञानिकहरूले धानका बाढी, खडेरी र गर्मीप्रतिरोधी प्रजातिहरू विकास गरेका छन् । तिनले विकास गरेका प्रजाति अधिक पौष्टिक पनि छन् । खेतीमा भएका नवप्रवर्तन (जस्तै– सीधै बिउ छर्ने विधि)को प्रयोग गर्दा रोपाइँका लागि पानी र श्रम कम भए पनि पुग्छ । यो विधिले वातावरणीय क्षति कम गर्न र उत्पादन बढाउन पनि सहयोग गर्छ । एसियाभरिका प्रयोगहरूले यसलाई पुष्टि गरेका छन् । सन् २०२१ मा फुड पोलिसी जर्नलमा प्रकाशित एक अध्ययनअनुसार बारम्बार बाढी आइरहने बंगलादेशमा बाढी प्रतिरोधी ‘सब–१’ जातको धानखेती गर्ने किसानले ६ प्रतिशत बढी उत्पादन र ५५ प्रतिशत बढी नाफा कमाएका थिए । ग्लोबल फुड सेक्युरिटीले गरेको परीक्षण खेतीको समीक्षाले सुक्खा प्रतिरोधी धानका प्रजातिबाट प्रतिहेक्टर ०.८ देखि १.२ टन उत्पादन वृद्धि हुन सक्ने देखाएको छ ।

पर्याप्त मात्रामा उन्नत बिउबिजन र खेतीका उन्नत विधिहरू अपनाउनु चुनौतीपूर्ण छ । धेरै किसानलाई त यसबारे थाहासमेत छैन । केही किसान नयाँ कुरा कोसिस गर्न हिचकिचाउँछन् । सन् २०१७–१८ मा भारतका धानखेती गर्ने किसानमाथि गरिएको राष्ट्रव्यापी सर्वेक्षणले २६ प्रतिशतले मात्र सन् २००४ यता विकास गरिएका धानका जातहरू अपनाएको देखाएको थियो ।

सरकारहरूले नयाँ जात र नयाँ विधिका फाइदाहरू उजागर गर्न ठूलो भूमिका खेल्न सक्छन् । भियतनाम यो मामलामा अग्रणी देखिएको छ । उसले हालैमा १० लाख हेक्टरमा लो–कार्बन (न्यून कार्बन उत्सर्जन गर्ने) धानको खेती गर्ने महत्ववाकांक्षी योजना घोषणा गरेको छ । उसले यसलाई श्रम बचत र किफायतीपनमा सुधार गर्ने माध्यमको रूपमा पनि अपनाएको छ । आइआरआरआईका जलवायु वैज्ञानिक बिजोर्न ओले स्यान्डर उत्सर्जन न्यूनीकरणलाई किसानहरूले बोझको रूपमा बुझ्न नहुनेमा सचेत गराउँछन् । हरित क्रान्तिका लागि तलबाट माथिको दृष्टिकोण महत्ववपूर्ण हुन्छ । कृषिक्षेत्रका कामदारहरूले प्रविधिको प्रसारमा ठूलो भूमिका खेल्न सक्छन् । तर, यो कुरालाई नीति–निर्माताहरूले अक्सर उपेक्षा गर्ने गरेका छन् । अधिकांश सरकारी कृषि खर्च अनुदान र सिँचाइमा जाने गर्छर । जसले धेरै जमिन भएका धनी किसानहरूलाई नै बढी फाइदा पु-याउँछ । 

धान–चामलमा जनताको निर्भरता कम गर्न सरकारले थुप्रै काम गर्न आवश्यक छ । भारतको आग्रहमा संयुक्त राष्ट्रसंघले सन् २०२३ लाई ‘कोदो वर्ष’ घोषणा गरेको छ । धान र गहुँभन्दा निकै पोषिलो र निकै कम पानी आवश्यक पर्ने यो बालीमा किसान र उपभोक्ता दुवै आकर्षित हुने भारतको अपेक्षा छ । इन्डोनेसियाले पनि यस्तै गरिरहेको छ । आज दिल्लीका स्वास्थ्यप्रति सचेत केही व्यक्तिले मात्र चामलको सट्टा कोदोको यिर्बानी रोज्छन् । तर, जेकुरालाई सम्भ्रान्तवर्गले नेतृत्व गर्छन्, त्यसलाई आमजनताले अक्सर पछ्याउँछन् । यदि कोदोको ठूलो बजार सिर्जना भयो भने त्यसले किसानहरूलाई अझ धान उत्पादन गरिरहेका किसानहरूलाई समेत विविधीकरणका लागि अभिप्रेरित गर्नेछ ।

पहिलो हरित क्रान्तिले एसियाको अनिकालको विपत्तिलाई टारेको थियो । अहिले परिस्थिति त्यस्तो नाजुक छैन, तर चुनौती केही अर्थमा अझ ठूलो छ । देशहरूले कम प्रयासमै र वातावरणको धेरै ख्याल राख्दै धेरैभन्दा धेरै उत्पादन गर्न आवश्यक छ । र, यही मात्र वास्तविक हरित क्रान्ति हुनेछ भन्छन्, आइआरआरआईका प्रमुख बाली । त्यो क्रान्तिको प्रतिफल पनि अभूतपूर्व हुन सक्छ । अधिक दिगो खेती र बढ्दो उत्पादनले किसानलाई उच्च र स्थिर आय प्रदान गर्नेछ । यसले उनीहरूलाई जलवायु परिवर्तनसँग अनुकूलन हुन मद्दत गर्नेछ भने जलवायु परिवर्तनमा बालिनालीको योगदान कम गर्न सघाउनेछ । यो सफलताले निश्चय नै एसियाली र विश्वकै लागि खाद्य सुरक्षाको प्रत्याभूति दिलाउन मद्दत गर्नेछ । –द इकोनोमिस्टबाट

२०७९ साल चैत २० गतेको सम्पादकीय

वर्षेनी खस्कदो सडक सुरक्षा 

नेपालमा हुने अधिकांश सवारी दुर्घटना लापरवाहीले गर्दा भएको देखिन्छ । के दुर्घटना न्यूनीकरण गर्न सकिँदैन ? हामी योजनावद्ध तवरमा काम गर्नेभन्दा पनि प्रतिकारात्मक तरिकाले काम गर्न रुचाउँछौं । त्यसैको फलस्वरुप आज दिन प्रतिदिन दुर्घटना बढिराखेका छन् । मुलतः सडक दुर्घटना अहिले विश्वका धेरै देशको ठूलो समस्याको विषय हो । फरक के मात्र हो भने विकसित देशमा भन्दा कम विकसित देशमा सडक दुर्घटना बढी हुने गरेको विभिन्न तथ्यांकले देखाउँछ । अफ्रिकी मुलुकमा सडक दुर्घटना अन्य मुलुकमा भन्दा धेरै छ । त्यसमा पनि निम्न आय हुने मानिस र पुरुषहरू बढी प्रभावित हुने गरेको पाइन्छ । अहिले विश्वमा १.२ विलियन सवारी साधन सडकमा गुड्ने गरेको पाइन्छ भने यो संख्या सन् ०३५ सम्म बढेर २ विलियन हुने अनुमान गरिएको छ । दिनानुदिन सडकमा सवारी साधनको संख्या थपिँदै जाने र दुर्घटना बढ्दै जाने हो भने अकालमा ज्यान गुमाउने संख्या झनै बढ्ने देखिन्छ । डब्लुएचओको प्रतिवेदनलाई आधार मान्दा प्रत्येक वर्ष १.२५ मिलियन मानिसले सडक दुर्घटनामा ज्यान गुमाइरहेका छन् भने यसको ९० प्रतिशत मध्यम तथा निम्न आय हुने देशका पर्ने गरेका छन्, जहाँ विश्वको ५४ प्रतिशत मात्र सवारी साधन छन् । सडक दुर्घटनामा ज्यान गुमाउनेको संख्या बढी हुने मुलुकमा भारत पहिलो नम्बरमा पर्छ भने चीन, अमेरिका, रसिया र ब्राजिल क्रमशः दोस्रो, तेस्रो, चौथो तथा पाँचौं नम्बरमा पर्छन् ।

सडक दुर्घटना हुने प्रमुख कारणहरूमा सडकको अवस्था , सवारी साधनको अवस्था र  सवारी चालकको अवस्थालाई लिइने गरिन्छ । अन्य कारणहरूमा बाटो काट्ने बटुवा, जनावरहरू र सवारी साधनमा यात्रा गर्ने यात्रु पनि दुर्घटनाको कारण बन्ने गरेको पाइन्छ । सवारी दुर्घटना कम गर्न कुनै एक पक्षमात्रै लागेर हुँदैन । यसमा सरकार, निजी क्षेत्र तथा आम जनताको साथ र सहयोग आवश्यक पर्छ । नेपालमा दुर्घटना हुने मुख्य तीन कारण छन्ः सडक, साधन र चालक । यी तीनपक्ष नै सुदृढ अवस्थामा नभएकैले दुर्घटना बढेको पाइन्छ । यदि यी अवस्थाहरू ठीक छन् भने दुर्घटना कम हुन सक्छ र ठीक छैन भने सवारी दुर्घटना बढी हुने गर्छ । यदि सरकारले सडक दुर्घटना कम गर्न चाहन्छ भने यी तीनवटा कुरामा ध्यान दिई उचित कदम चाल्नु उचित देखिन्छ । अन्यथा, जति नै छानविन समिति बनाए पनि र जति प्रतिवेदन बनाए पनि दुर्घटना कम गर्न सकिँदैन ।

सडक देश विकासको मेरुदण्ड होभन्दा अन्यथा नहोला । विश्वका जति पनि विकसित देशहरू छन् त्यो देशका सडक अति नै मजबुत देखिने गर्छन् । अर्को अर्थमा, कुनै देश वा ठाउँको सडकको अवस्थाले त्यो देश वा ठाउँ कति विकसित छ भन्ने देखाउँछ । उदाहरणका लागि जापान, चीन, अमेरिकाले सडक निर्माणमा ठूलो लगानी गरिसके र त्यहाँका सडकहरू अत्यन्त मजबुत र उच्चस्तरीय हुने गर्छ । हाल प्रचलनमा रहेको र धेरै सवारी साधन गुडने सडकमध्ये पूर्वपश्चिम राजमार्ग तथा काठमाण्डौ जाने सडक जो दुई लेनको मात्र छ । अन्य सडकहरू कुनै पनि हिसाबले बैज्ञानिक छैनन् । पहाडका प्रायः सडकहरू साँघुरा छन् । दुईवटा सवारी साधन एकैपटक छिर्न धौधौ पर्दछ, ग्रेडिङ मिलेको छैन । सडकहरू कच्ची छन्, घुम्तीहरू नजिक नजिकवाट काटिएका छन्, प्रायः घुम्तीहरूमा गाडी घुमाउनेसम्म ठाउँ पुग्दैन । पुराना सडकहरू जुन सदरमुकामसँग जोडिएका छन्, ती प्रायः मान्छेले खनेर बनाएका सडकहरू हुन् जतिखेर दिनमा एउटा वा दुईवटा मात्र गाडी गुड्ने गर्दथे । पछि तिनै सडकहरू ठेकेदारको जिम्मा लगाइयो र कालोपत्रे गरियो । सडकमा कतै सडक संकेतसम्म राखिएको छैन ।

सवारी धनीले सवारी साधन किनेपछि त्यसको माया लाग्नु र त्यसलाई सुरक्षित राख्नु स्वाभाविकै हो । त्यसैले होला, प्रायः नयाँ गाडीहरू शहरका पीच बाटोहरूमा चल्छन् भने पुराना तथा थोत्रा गाडीहरू अप्ठ्यारो ग्रामीण भागमा चलाउने गरिन्छ । उदाहरणका लागि जति सुगममा जानुहुन्छ, त्यहाँ नयाँ गाडीहरू देख्न पाइन्छ भने जति दुर्गममा गयो, त्यहाँ पुराना गाडीहरू देख्न पाइन्छ । तिनै पुराना र थोत्रा गाडीमा हामी असुरक्षित यात्रा गर्न बाध्य हुन्छौं । सरकारी तवरबाट चलाइएका साझा लगायतका गाडी पनि सहर केन्द्रित नै हुने गरेको छ । प्रायः पुराना र थोत्रा सवारी साधनहरूमा समस्या आउने र दुर्घटनामा पर्ने गरेको पाइएको छ । आवश्यक मात्रामा सवारी साधनको सर्भिसिङ नगर्ने, यात्रुको सुरक्षा भन्दा पैसा कमाउनमा बढी ध्यान दिने गर्दा सवारी साधनको अवस्था बिग्रिने गरेको पाइन्छ । सवारी साधनको ब्रेक फेल हुने, टायर फुट्ने, टायर निस्कने जस्ता समस्याले गर्दा दुर्घटना हुने गरेको छ । सम्पूर्ण सवारी साधनको समय–समयमा सरकारी तवरबाट अनिवार्य जाँच तथा परीक्षण गर्ने र निश्चित अवधि तोकेर मापडण्ड नपुगेका साधनलाई हटाउने व्यवस्था मिलाउन सकियो भने सवारी साधन दुर्घटनाबाट हुने क्षति न्यूनीकरण गर्न टेवा पुग्नेछ । यसका लागि प्रत्येक वर्ष सवारी साधन पुनः दर्ता गर्नुपर्ने अनिवार्य व्यवस्था र दर्ता गर्न ‘चलाउनका लागि सुरक्षित’ मापडण्ड पूरा गर्नुपर्ने बाध्यकारी व्यवस्था लागु गर्न सक्नुपर्छ ।

नेपालमा प्रायः ठाउँबाट रात्रिकालीन सवारी साधनहरू चल्ने गर्छन् र सबैजसो सवारी साधन एकजना चालकको भरमा रातभर गुडिराखेका हुन्छन् । एकजना चालकले कति घण्टासम्म गाडी चलाउन सक्छ ? हामी बेलाबेलामा दुईजना चालकको व्यवस्था गर्ने भनेर कुरा उठाउँछौं तर कार्यान्वयन हुँदैन । धेरै देशहरूमा नियमित रुपमा एक दिनमा ८ घण्टासम्म एकजनाले सवारी साधन गुडाउन सक्छ भन्ने मान्यता छ र आफ्ना नागरिकलाई त्यही बमोजिमसचेत बनाएको हुन्छ । सवारीसाधन चलाउँदा मोबाइलमा कुरा गर्ने, नजिकमा बसेको यात्रुसँग कुरा गर्ने, मादक पदार्थ सेवन गरेर सवारी साधन चलाउने, तिब्र गतिमा सवारी चलाउने आदि कारणले चालकको ध्यान साधनमा नभई अन्यत्र हुने हुँदा सडक दुर्घटना बढ्ने गरेको पाइएको छ । त्यस्तै यात्रु बोक्ने साधनमा बाख्रादेखि सुँगुरसम्म, मलदेखि चामलसम्म बोक्ने र क्षमताभन्दा बढी यात्रु बोक्ने गरिन्छ । सुरक्षित यात्राका लागि सवारी चालक स्वास्थ्य हुनु र सडक सुरक्षाको पूर्ण ज्ञान हुनु जरुरी छ । हामीलाई सडकको अवस्था सुधार गर्न केही समय लागे पनि सवारी साधनको अवस्था र चालकको अवस्था मात्र सुधार गर्न सक्यौं भने पनि सडक दुर्घटना कमीमा उल्येख्य सुधार ल्याउन सकिने देखिन्छ । यसमा सडक नियम पालना गराउन जिम्मा पाएको निकायको प्रमुख रुपमा तदरुकता हुनु आवश्यक छ ।

फोहोर ओभरफ्लोले सास्ती


ककनी । बर्खा नजिकिँदा नुवाकोट र धादिङ सीमा क्षेत्रमा पर्ने बन्चरेडाँडास्थित ल्यान्डफिल साइटको लिचेड ओभरफ्लो हुन लागेपछि आसपासका बासिन्दा चिन्तित छन् । लिचेड भरिएर कोल्पुखोलामा लेदोयुक्त पानी मिसिन सक्ने भन्दै स्थानीयले यसको समाधानका लागि सरकारसँग पहल गर्न जनप्रतिनिधिसमक्ष माग गरेका छन् । 

‘लिचेड भरिएर ओभरफ्लो हुन लागेको छ । बन्चरेडाँडाको मुनिबाट कोल्पुखोला बगिरहेको छ । अब पानी परेर लिचेड बग्न थाल्यो भने यो कोल्पुखोलामा मिसिने खतरा छ,’ ककनी गाउँपालिका–३ का घननाथ बजगाईंले भने । सिसडोलमा फोहोर भरिएपछि गत वर्ष जेठमा माथिल्लो क्षेत्रमा पर्ने बन्चरेडाँडामा फोहोर विसर्जन गर्न थालिएको थियो । वर्षायाम सुरु भएसँगै उक्त फोहोर पनि भरिएर दुर्गन्ध फैलिन सक्ने भएपछि स्थानीय चिन्तित बनेका हुन् । शुक्रबार नुवाकोट–१ का प्रतिनिधिसभा सदस्य माओवादी केन्द्रका हितबहादुर तामाङ, सांसद विमला सुवेदी, जिसस प्रमुख रजिन्द्रविक्रमसिंह ठकुरी, पालिका अध्यक्षलगायतको टोली र सदरमुकाम विदुरबाट जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समिति प्रतिनिधि, सुरक्षा निकाय, वन कार्यालय प्रतिनिधिसहितको टोली बन्चरेडाँडा अवलोकनमा पुगेको थियो । यसक्रममा स्थानीयले फोहोर व्यवस्थापनको काम दिगो रूपमा समाधान गर्न‘पर्ने माग गरेका छन् । साथै मानव बस्तीमा दुर्गन्ध फैलिन सक्ने भन्दै उनीहरूले जनप्रतिनिधिहरूलाई दबाब दिए । अवलोकनका क्रममा सांसद तामाङले मान्छे र फोहोर एकै ठाउँमा राख्न नपाइने बताएका थिए । उनले फोहोरलाई दिगो रूपमा बस्तीबाट टाढा लगेर व्यवस्थापन गर्न‘पर्ने सुझाव दिएका थिए । बन्चरेडाँडामा हरेक वर्ष देखिने समस्याको विकल्प सरकार र काठमाडौं महानगरपालिकाले खोज्नुपर्ने उनको भनाइ थियो ।

फोहोर विसर्जनका लागि यसअघि काठमाडौं महानगरपालिका, सहरी विकास मन्त्रालय, धुनीबेंसी नगरपालिका र ककनी गाउँपालिकाबीच समझदारी भएको थियो । तर उक्त सम्झौताअनुसार कार्यान्वयन नहुँदा फेरि समस्या निम्तिएको स्थानीयको गुनासो छ । ककनी गाउँपालिकाका अध्यक्ष सुमन तामाङले भने यसअघि भएको सम्झौतालाई संघीय सरकार र काठमाडौं महानगरबाट बेवास्ता भएको बताए । ‘मापदण्ड पु¥याएर व्यवस्थापन गरेका छैनन् । लिखित रूपमा गरेका मागका सम्झौता कार्यान्वयन नभएपछि स्थानीयले माग उठाएका छन् । फोहोर र मान्छेसँगै नबस्ने भनिएको छ ।

फोहोरले प्रभावित स्थानीयलाई अन्यत्र स्थानान्तरण गर्ने भनेका थियौं । कम प्रभावित क्षेत्रका बासिन्दालाई विकास निर्माणमा प्राथमिकता दिने र लिचेटलाई खोलामा नहाल्ने भनिएको थियो । यहाँका बासिन्दालाई लक्षित गरी तत्काल १० शैयाको अस्पताल स्थापना गर्ने भनिएको थियो । तर अहिलेसम्म भएको छैन,’ गाउँपालिकाका अध्यक्ष तामाङले भने ।

काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन गर्ने क्रममा नुवाकोटको ककनीसहित धादिङको धुनीबेंसीका १८ हजार मानिस प्रभावित छन् । तर ती मानिसको जीउधनको सुरक्षा र वातावरण विनाशको समस्याप्रति सरोकारवाला निकाय जिम्मेवार हुन नसकेको ककनी–३ का स्थानीय तथा बन्चरेडाँडा ल्यान्डफिल साइट प्रभावित क्षेत्र सरोकार समितिका संयोजक श्रीराम ढुंगाना गुनासो गर्छन् । यसबाहेक लामो समयदेखि फोहोर थन्क्याउने काममात्रै भइरहँदा स्थानीयमा विभिन्न स्वास्थ्य समस्या देखिने गरेको उनीहरूको गुनासो छ । 

स्थानीयमा क्यान्सरलगायतका समस्या देखिनुमा पनि फोहोरलाई कारक मानिएको छ । ककनी–१ का वडाध्यक्ष पदमबहादुर श्रेष्ठका अनुसार फोहोरकै कारण क्यान्सरले वार्षिक रूपमा ५ देखि १० जनाले ज्यान गुमाउनुपरेको छ । अर्का स्थानीय राजु घिमिरेका अनुसार स्थानीयहरूमा छाती र फोक्सोका बिरामीको संख्या पनि बढ्ने क्रम छ ।

२०६२ सालमा नुवाकोटको ओखरपौवामा २÷३ वर्षका लागिमात्रै फोहोर फ्याँक्ने सहमति बने पनि काठमाडौं महानगर र सरकारले उचित व्यवस्थापन भने खोज्न सकिरहेको छैन । हरेक वर्ष वर्षायाममा दुर्गन्ध फैलिने क्रम बढेपछि स्थानीय विरोध गर्छन् । तर सरकार र महानगरले स्थानीयलाई विभिन्न आश्वासनसहित थामथुम पार्ने गरेका छन् । तीन वर्षका लागि फोहोर फाल्ने भनिएको सम्झौता उल्लंघनमात्रै हैन, हाल काठमाडौं महानगरसहित १८ वटा नगरपालिकाको १० देखि १२ टन फोहोर दैनिक यहाँ विसर्जन हुने गरेको छ । १७ वर्षको अन्तरालमा ७२ पटक सम्झौता गरिए ।

कोल्पुखोला किनारमा रहेको खाल्टो फोहोरले भरिएर करिब २ सय मिटर अग्लो पहाडकै रूपमा खडा भयो । फोहोरकै पहाडमाथि फोहोर बोक्ने गाडीहरू कुद्न थाले । गत जेठमा काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले स्थानीयसँग गरेको सम्झौतासँगै ल्यान्डफिल साइट तयार पारिएपछि उक्त समस्या समाधान हुने अपेक्षा गरिएको थियो । तर यस पटकको वर्षा सुरु भएसँगै दुर्गन्ध फैलिएर विकराल रूप लिने देखिएको छ । काठमाडौं महानगरले फोहोर फाल्ने ठाउँ खोजिरहँदा बन्चरेडाँडा आसपासका बासिन्दा भने राजधानीको दुर्गन्धको विकल्प खोजिरहेका छन् । हिउँदका महिनामा धूलो खाइरहेका उनीहरू वर्षामा हिलो र दुर्गन्धबाट मुक्ति पाउने उपाय खोजिरहेका छन् । 

फोहोर बोक्ने गाडीलाई टाइमकार्ड

ओखरपौवा । मुड्खु नाकाबाट तीनपिप्ले हुँदै ओखरपौवा चल्ने फोहोर बोक्ने गाडीलाई शनिबारबाट टाइमकार्ड लागू गरिएको छ ।

दुर्घटनाको जोखिम हुने गरी तीव्र गतिमा सवारी साधन चलाउने गरेको र असुरक्षित महसुस भएको गुनासो स्थानीयबाट आए पछि काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय र काठमाडौँ महानगरपालिकाको संयुक्त पहलमा उक्त सडकखण्डमा फोहोर बोक्ने गाडीका लागि शनिवारबाट टाइमकार्ड लागू गरिएको हो । मुड्खु नाकामा चालकलाई टाइमकार्ड दिइने छ र पालना भए/नभएको जाँच तिनपिप्ले र ओखरपौवा चेकपोष्टमा हुने छ । मुड्खुदेखि तीनपिप्लेसम्मको सडकखण्डमा प्रतिघण्टा ३० किलोमिटर र तीन पिप्लेदेखि ओखरपौवा चेकपोष्टसम्मको सडकखण्डमा प्रतिघण्टा २० किलोमिटर गति निर्धारण गरिएको छ । मुड्खुदेखि तीनपिप्लेसम्मको ५ किलोमिटर सडकखण्ड पार गर्न न्यूनतम १० मिनेट र तीनपिप्लेदेखि ओखरपौवासम्मको ८ किलोमिटर सडकखण्डमा न्यूनतम २५ मिनेट समय निर्धारण गरिएको छ ।

तोकिएको स्थानमा निर्धारित समयभन्दा छिटो पुगेमा कारबाही गरिने काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए । टाइमकार्डले आवागमन व्यवस्थापनको साथमा गन्तव्य स्थानमा छिटो पुग्नका लागि तीव्र गतिमा सवारी साधन चलाउने प्रवृत्तिलाई निरुत्साहित गर्नेछ ।

बैंकिङ कसुरमा पक्राउ

विदुर । बैंकिङ कसुरमा मोरङ उर्लाबारीका विवश पाण्डे पक्राउ परेका छन् । नुवाकोट तादीगाउँपालिका ३ आरम्भ चौतरी लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय खरानीटारबाट ८ करोड २२ लाख ६५ हजार ५९७ रुपैयाँ बैंकिङ कसुरको अपराध गरेकोमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं डीएसपी खगेन्द्रबहादुर खड्काले बताए ।

उनलाई उच्च अदालत पाटनबाट बैंकिङ कसुर मुद्दामा सात दिनको म्याद लिई थप अनुसन्धानका लागि नुवाकोट ल्याइएको प्रहरीले जनाएको छ । लुकिछिपी काठमाडौंस्थित महाराजगंजमा बसेको अवस्थामा उनलाई प्रहरीले सुराकीको आधारमा पक्राउ गरी नुवाकोट ल्याएको जनाएको छ । 

उक्त संस्थाबाट निज पाण्डेले विभिन्न मितिमा किर्ते कागजात तयार पारी अनधिकृत रुपमा रकम निकालेको र मातहतका कर्मचारीहरूलाई प्रभावमा पारी झुक्याई रकम दुरुपयोग गरेको प्रहरीले जनाएको छ ।

तामाङ र नेवारी भाषालाई सरकारी बनाइने

विदुर । बागमती प्रदेशभित्र तामाङ र नेवारी भाषालाई पनि सरकारी कामकाजको भाषा बनाउन भाषा सम्बन्धि कानून निर्माण गरिने भएको छ ।

गएको शुक्रबार काठमाडौंमा बसेको तामाङ/नेवारी(नेपाल भाषा) कार्यान्वयन तयारी सम्बन्धि समितिको बैठकले प्रदेशभित्र सरकारी कामकाजको भाषा नेपालीसँगै तामाङ र नेवारी भाषा कार्यान्वयन गर्न एक महिनाभित्र ऐन निर्माण गर्ने निर्णय भएको सामाजिक विकास मन्त्री कुमारी मोक्तानले बताइन् ।

‘तत्कालका लागि हामीले प्रदेश भित्र सबैभन्दा बढी बोलिने भाषा तामाङ र नेवार भाषालाई कामकाजको भाषा बनाउन लागेका हौं ।’ उनले भनिन्, ‘प्रदेशमा अरु थुप्रै भाषा छन्। हामी कानून बनाउँदा जहाँ जुन भाषाको बाहुल्यता छ त्यँहा त्यहि भाषालाई कामकाजको भाषा बनाउने गरि बनाउँछौं ।’ स्थानीय तहहरूले समेत आफ्नो ठाउँमा बोलिने भाषालाई सरकारी कामकाजको भाषा बनाउन मिल्नेगरि कानून बन्ने मोक्तानको भनाइ छ । आउँदो वैशाख महिनाभित्र भाषा सम्बन्धि विधेयक संसदमा पेश गरिने जानकारी दिइन् ।

प्रदेश सरकारले एक महिनाअघि  तामाङ र नेवार भाषाालाई कामकाजको भाषा बनाउन सामाजिक विकास मन्त्री मोक्तानको अध्यक्षतामा समितिको निर्माण गरेको थियो । समितमा श्रम रोजगार तथा यातायात मन्त्री एकालाल श्रेष्ठसँगै दुई जना विज्ञ डा. गणेश योन्जन र ओमकार्यश्वर श्रेष्ठ सदस्य छन् ।

परीक्षा नदिइ स्कुल अध्यक्ष ८ कक्षा उत्र्तिण

विदुर । नुवाकोटको एक विद्यालयले सोही विद्यालयका व्यवस्थापन समितिका अध्यक्षलाई परीक्षा नै नदिइ कक्षा ८ को परीक्षा उतीर्ण गराएको पाइएको छ । 

एक वर्षअघिकै घटना भए पनि राजनीतिक प्रभावमा लुकाएर राखिएको अहिले सार्वजनिक भएको हो । नुवाकोटको दुप्चेश्वर गाउँपालिका वडा नम्बर ७ को शिखरबेशीमा रहेको बछला माध्यमिक विद्यालयका तत्कालीन प्रधानाध्यापक अशोककुमार पण्डितले कानुनविपरित त्यहि विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष डिलबहादुर तामाङलाई परीक्षा नै नदिइ कक्षा ८ को परीक्षामा उच्च अंकसहित उत्तीर्ण गराएका हुन् । परीक्षामा सहभागी नै नभइ उत्कृष्ट अंकसहित उत्तीर्ण भएका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डिलबहादुर तामाङ रहेका छन् । 

शिक्षा ऐन अनुसार प्राथमिक विद्यालयको व्यवस्थापन समितिको अध्यक्ष हुनको लागि सामान्य लेखपढ गर्न जान्ने, निम्न माध्यमिक विद्यालयको व्यवस्थापन समितिको अध्यक्ष हुनको लागि कम्तीमा कक्षा आठ उत्तीर्ण गरेको हुनुपर्ने र माध्यमिक विद्यालयको व्यवस्थापन समितिको अध्यक्ष हुनको लागि कम्तीमा एसएलसी वा सो सरहको परीक्षा उत्तीर्ण गरेको हुनुपर्ने योग्यता तोकिएको छ । सोही अनुसारको योग्यता पुर्याउनका लागि तामाङलाई परीक्षा नदिइ उत्तीर्ण गराइएको हो ।

२०७८ सालको कक्षा ८ को गाउँपालिका स्तरीय वार्षिक परिक्षाको परिक्षा फाराम भराइ परीक्षामा उपस्थिति नै नभइ विद्यालय व्यवस्थापन समितिका अध्यक्षलाई ४२ विद्यार्थी मध्ये सातौँ स्थानमा उत्तीर्ण गराइएको छ । यस विषयमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा समेत उजुरी परे पनि कुनै कारबाही नभएको पाइएको छ । 

प्रधानाध्यापकले राजनीतिक प्रभावमा अध्यक्ष तामाङको शैक्षिक योग्यता पुर्याइदिनका लागि परीक्षा नदिइनै उत्कृष्ट अंकसहित उत्तीर्ण गराइदिएका हुन् । तामाङ अहिले पनि समिति अध्यक्षमा रहेका छन् । 

डिलबहादुर तामाङले कक्षा ८ को वार्षिक परिक्षा फाराम भरेर विद्यार्थीको रुपमा रहेको तर परिक्षामा उपस्थित नभएको विद्यालयभित्र मात्रै होइन शिखरबेसीका सबै जनताले समेत जानकारी पाइसकेका छन् । तर उनी अहिले पनि व्यवस्थापन समितिको अध्यक्षमै बाहल रहिरहेका छन् ।

अख्तियारमा परेको उजुरी अनुसार तामाङलाई परीक्षा नै नदिइ उत्कृष्ट अंक ल्याएर उत्तीर्ण गराउन तत्कालीन प्रधानाध्यापक अशोककुमार पण्डित, सहायक प्रधानाध्यापक अच्युत थापाले महत्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गरिएको छ । 

तामाङसहित तीनै जना उक्त कसुरमा कारबाहीमा पर्न‘पर्नेमा राजनीतिक संरक्षणमा थप पुरस्कृत भएर बसेपछि विद्यालय परिवारका अन्य सदस्य भने निराश भएका छन् ।

आयोगमा परेको उजुरीमा तीनै जना व्यक्ति मिलेर विज्ञान प्रयोगशालाको नाममा भ्रष्टाचारको गरेको पनि उल्लेख गरिएको छ । उनीहरूले विज्ञापन प्रयोगशालाका नाममा नक्कली बिल बनाएर शिक्षा विकास निर्देशनालय वाग्मति प्रदेश हेटौडाबाट भुक्तानी लिएको दाबी उजुरीमा गरिएको छ । 

फेरि बल्झियो फोहोरको समस्या

स्थलगत अनुगमनका लागि संघीय सांसद हितबहादुर तामाङ, विमला सुवेदीलगायत शुक्रबार बञ्चरेडाँडामा । तस्बिर : इमेज साप्ताहिक

विदुर । वर्षायाम सुरु हुनै लाग्दा नुवाकोट र धादिङको सीमा क्षेत्रमा पर्ने बन्चरेडाँडास्थित ल्यान्डफिल साइटको लिचेट ओभरफ्लो हुन लागेपछि आसपासका बासिन्दाहरू चिन्तित देखिएका छन् । लिचेट भरिएर लेदोयुक्त पानी कोल्पुखोलामा मिसिनसक्ने भन्दै स्थानीयहरूले यसको समाधानका लागि सरकारसँग पहल गर्न जनप्रतिनिधिसमक्ष माग गरेका छन् ।

‘लिचेट भरिएर ओभरफ्लो हुन लागेको छ । बन्चरेडाँडाको मुनिबाट कोल्पुखोला बगिरहेको छ । अब पानी परेर लिचेट बग्न थाल्यो भने यो लिचेट कोल्पुखोलामा मिसिने खतरा छ,’ ककनी गाउँपालिका–३ का घननाथ बजगाईंले भने । सिसडोलमा फोहोर भरिएपछि गत वर्ष जेठमा माथिल्लो क्षेत्रमा पर्ने बन्चरेडाँडामा फोहोर बिसर्जन गर्न थालिएको थियो । वर्षायाम सुरु भएसँगै उक्त फोहोर पनि भरिएर दुर्गन्ध फैलन सक्ने भएपछि स्थानीयहरू चिन्तित बनेका हुन् । शुक्रबार सदरमुकाम विदुरबाट जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समिति प्रतिनिधि, नेपाल प्रहरी, सशस्त्र प्रहरी, वन कार्यालयसहितको टोली बन्चरेडाँडा अवलोकनमा पुगेको थियो । यस क्रममा स्थानीयहरूले फोहोर व्यवस्थापनको काम दीगोरुपमा समाधान गर्नुपर्ने माग गरेका छन् । साथै मानव बस्तीमा दुर्गन्ध फैलन सक्ने भन्दै उनीहरूले जनप्रतिनिधिहरूलाई दबाब दिए ।

शुक्रबार नुवाकोट क्षेत्र नं. १ बाट प्रतिनिधिसभामा निर्वाचित नेकपा माओवादी केन्द्रका सांसद हितबहादुर तामाङ, सांसद विमला सुवेदी, जिसस प्रमुख रजिन्द्रविक्रमसिंह ठकुरी, पालिका अध्यक्ष लगायतको टोलीले अवलोकनका लागि बन्चरेडाँडा पुगेको थियो ।

अवलोकनको क्रममा सांसद तामाङले मान्छे र फोहोर एकै ठाउँमा राख्न नपाइने बताएका थिए । फोहोरलाई दिगो रुपमा बस्तीबाट टाढा व्यवस्थापन गर्न‘पर्ने उनले सुझाव दिएका थिए । बन्चरेडाँडामा हरेक वर्ष देखिने समस्याको विकल्प सरकार र काठमाडौं महानगरपालिकाले खोज्नुपर्ने उनको भनाइ थियो । त्यसो त, फोहोर बिसर्जनका लागि यसअघि काठमाडौं महानगरपालिका, सहरी विकास मन्त्रालय, धुनीबेसी नगरपालिका र ककनी गाउँपालिकाबीच समझदारी भएको थियो । तर उक्त सम्झौताअनुसार कार्यान्वयन नहुँदा फेरि समस्या निम्तिएको स्थानीयहरूको गुनासो छ । ककनी गाउँपालिकाका अध्यक्ष सुमन तामाङले भने यसअघि भएको सम्झौतालाई संघ सरकार र महानगरबाट बेवास्ता भएको बताए ।

‘मापदण्ड पु¥याएर व्यवस्थापन गरेका छैनन् । लिखितरुपमा गरेका मागका सम्झौता कार्यान्वयन नभएपछि स्थानीयले माग उठाएका छन् । फोहोर र मान्छे सँगै नबस्ने भनिएको छ । फोहोरले प्रभावित पार्ने स्थानीयलाई अन्यत्र स्थानान्तरण गर्ने भनेका थियौं । कम प्रभावित क्षेत्रका बासिन्दालाई विकास निर्माणमा प्राथमिकता दिने र लिचेटलाई खोलामा नहाल्ने भनिएको थियो । र यहाँका बासिन्दालाई लक्षित गरी तत्काल १० शय्याको अस्पताल स्थापना गर्ने भनिएको थियो । तर अहिलेसम्म भएको छैन,’ अध्यक्ष तामाङले भने ।

काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन गर्ने क्रममा नुवाकोटको ककनीसहित धादिङको धुनीबेंसीका १८ हजार मानिस प्रभावित छन् । तर ती मानिसको जिउधन रक्षा र वातावरण विनासको समस्याप्रति सरोकारवाला निकाय जिम्मेवार हुन नसकेको गुनासो गर्छन् ककनी गाउँपालिका ३ का स्थानीय तथा बन्चेरेडाँडा ल्यान्डफिल साइट प्रभावित क्षेत्र सरोकार समितिका संयोजक ढुंगाना ।

यसबाहेक लामो समयदेखि फोहोर थन्क्याउने काममात्रै भइरहँदा स्थानीयहरूमा विभिन्न स्वास्थ्य समस्या देखिने गरेको स्थानीयहरूको गुनासो छ । स्थानीयहरूमा क्यान्सर लगायतका समस्या देखिनुमा पनि काठमाडौं उपत्यकाकै फोहोरलाई कारक मानिएको छ । ककनी गाउँपालिका–१ का वडाध्यक्ष पदमबहादुर श्रेष्ठ बलामीका अनुसार फोहोरकै कारण क्यान्सरले वार्षिकरुपमा ५ देखि १० जनाले ज्यान गुमाउनु परेको छ । बर्सेनि ३ वडामा स्थानीयको स्वास्थ्यमा असर पुग्ने गरेको र क्यान्सरका रोगी बढेको अध्यक्ष बलामीको दाबी छ । स्थानीय राजु घिमिरेका अनुसार स्थानीयमा छाती र फोक्सोका बिरामी बढ्ने क्रम छ ।

२०६२ सालमा नुवाकोटको ओखरपौवामा २÷३ वर्षका लागिमात्रै फोहोर फ्याँक्ने सहमति बने पनि काठमाडौं महानगर र सरकारले उचित व्यवस्थापन भने खोज्न सकिरहेको छैन । हरेक वर्ष वर्षायाममा दुर्गन्ध फैलने क्रम बढेपछि स्थानीयहरू विरोध गर्छन् । तर सरकार र महानगरले स्थानीयलाई विभिन्न आश्वासनसहित थामथुम पार्ने गरेका छन् । तीन वर्षका लागि फोहोर फाल्ने भनिएको सम्झौता उल्लंघनमात्रै हैन, हाल काठमाडौं महानगरसहित १८ वटा नगरपालिकाको १० देखि १२ टन फोहोर दैनिक यहाँ बिसर्जन हुने गरेको छ । १७ वर्षको अन्तरालमा ७२ पटक सम्झौता गरिए ।

कोल्पुखोला किनारमा रहेको खाल्टो फोहोरले भरिएर करिब २ सय मिटर अग्लो पहाडकै रुपमा खडा भयो । फोहोरकै पहाडमाथि फोहोर बोक्ने गाडीहरू कुद्न थाले । गत जेठमा काठमाडौं महानगरका मेयर बालेन्द्र साहले स्थानीयसँग गरेको सम्झौतासँगै ल्यान्डफिल साइट तयार पारिएपछि उक्त समस्या समाधान हुने अपेक्षा गरिएको थियो । तर यसपटकको वर्षा सुरु भएसँगै दुर्गन्ध फैलिएर विकराल रुप लिने देखिएको छ । काठमाडौं महानगरले फोहोर फाल्ने ठाउँ खोजिरहँदा बन्चरेडाँडा आसपासका बासिन्दा भने राजधानीको दुर्गन्धको विकल्प खोजिरहेका छन् । हिउँदका महिनाहरूमा धुलो खाइरहेका उनीहरू वर्षासँगै हिलो र दुर्गन्धबाट मुक्ति पाउने उपाय खोजिरहेका छन् ।

बोक्सी आरोप र दुरुत्साहनमा कैद

विदुर । नुवाकोटको उर्लेनी गाउँका का २ जनालाई बोक्सी आरोप तथा दुरुत्साहन मुद्दामा कैद फैसला भएको छ ।

जिल्ला अदालतले पीडितलाई क्षतिपूर्ति तथा राहत दिनुपर्नेसमेत ठहर गरेको छ । बोक्सी आरोप तथा आत्महत्या दुरुत्साहन कसूरमा तादी गाउँपालिका–१ उर्लेनीका ४८ वर्षीय लक्षु तामाङ र ५५ वर्षीय सम्बर तामाङलाई नुवाकोट जिल्ला अदालतले दुवै जनालाई २ वर्ष दुई महिना कैद सजायको फैसला गरेको हो । जिल्ला न्यायाधीश मदनबहादुर धामीको एकल इजलासले आइतबार गरेको अन्तिम फैसलाको अभियोगमा आंशिक दाबी पुग्ने ठहर गर्दै जनही कैद सजाय, २१ हजार ५ सय रुपैयाँ जरिवाना, ५० हजार रुपैयाँ क्षतिपूर्ति र ८६० रुपैयाँ पीडित राहत कोषमा दाखिला गर्ने फैसला भएको नुवाकोट जिल्ला अदालतले जनाएको छ । 

लक्षु र सम्बरले तादी–१ की ५५ वर्षीया सन्चमाया तामाङलाई बोक्सी आरोप लगाएर शारीरिक तथा मानसिक यातना दिएपछि गत २०७७ असोज १६ गते विष सेवन गरेर आत्महत्या गरेको दाबी गर्दै पीडित पक्षले जिल्ला प्रहरी कार्यालयमा असोज १८ गते उजुरी दिएका थिए । सो मुद्दाको अन्तिम फैसला भएको अदालतकी सूचना अधिकारी तथा इजलास अधिकृत रीता लामिछानेले बताइन् । नुवाकोट जिल्ला अदालतले तामाङ द्वयलाई २०७७ कात्तिक १३ गते पुर्पक्षको लागि थुनामा राख्ने आदेश दिएको थियो ।

घरमै नागरिकता

विदुर । नुवाकोटको बेलकोटगढी नगरपालिका–३ कुमरी झ्याङ्लीपोखरीकी अशक्त किशोरीले घरमै नेपाली नागरिकता पाएकी छिन् ।

शारीरिक तथा मानसिक रूपमा अशक्त १७ वर्षीया रोजिना बजगाईंलाई जिल्ला प्रशासन कार्यालय नुवाकोटले शनिबार घरमै पुगेर नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गरेको हो । 

सहायक प्रमुख जिल्ला अधिकारी वेदनिधि अधिकारीको नेतृत्वमा गएको टोलीले किशोरीलाई नागरिकताको प्रमाणपत्र प्रदान गरेको कार्यालयले जनाएको छ ।

वडाध्यक्ष कौशिला पुडासैनीले आवश्यक कागजपत्रसहित जिल्ला प्रशासन कार्यालयमा गत माघ २२ गते नेपाली नागरिकता प्रदान गर्नका लागि सिफारिस गरेकी थिइन् । 

कार्यालयमा आउन असमर्थ रहेकाले घरमै पुगेर नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गरिएको सहायक प्रजिअ अधिकारीले बताए । नागरिकता पाएपछि खुसी हुँदै रोजिनाका परिवारले अपांगता प्रोत्साहन भत्ता र अन्य सुविधाका लागि सहज भएको बताएका छन् । तीन वर्षमा १२ जनालाई घरमै पुगेर नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गरिसकिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

निःशुल्क आँखा शिविर

विदुर । नुवाकोटको बेलकोटगढी नगरपालिकाको विभिन्न निःशुल्क आँखा शिविर सञ्चालन भएको छ । 

नगरपालिकाको आयोजनामा ३, ४ र ८ नम्बर वडामा सञ्चालन गरिएको शिविरमा तीन सय जनाले सेवा लिएका छन् । शिविरमा छनौट भएका ७१ जनाको मोतियाविन्दुको शल्यक्रिया गरिएको छ । दृष्टि आँखा केन्द्र कलंकीको प्राविधिक सहयोगमा शिविर सञ्चालन गरिएको प्रमुख प्रशासकीय अधिकृत सूर्य दर्शन रेग्मीले जानकारी दिए ।

तीन करोड पनि पुगेन नेपालको जनसंख्या


विदुर ।  राष्ट्रिय जनगणना २०७८ को नतिजा शुक्रवार सार्वजनिक गरिएको छ । सोल्टी होटलमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय जनगणना २०७८ को नतिजा सार्वजनिक गरेका हुन् । राष्ट्रिय जनगणना २०७८ अनुसार (जनगणना सन्दर्भ दिन २०७८ साल मंसिर ९ गते) नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ रहेको छ । जसमध्ये पुरुषको संख्या १ करोड ४२ लाख ५३ हजार ५५१ (४८.९८ प्रतिशत) र महिलाको संख्या १ करोड ४९ लाख ११ हजार २७ (५१.०२ प्रतिशत) छर । जस अनुसार लैङ्गिक अनुपात अर्थात् प्रति १०० जना महिलामा पुरुषको संख्या ९५.५९ जना रहेको छ ।

गत २०६८ सालको जनगणना अनुसार कुल जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५०४ र लैङ्गिक अनुपात ९४.१६ थियो । राष्ट्रिय योजना आयोगले राष्ट्रिय तथ्यांक कार्यालय मार्फत २५ कात्तिकदेखि ९ मंसिर २०७८ सालको जनगणना संकलन गरेको थियो । त्यसको प्रारम्भिक नतिजा गत वर्ष माघमै सार्वजनिक गरिएको थियो । प्रारम्भिक रिपोर्टमा नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० छ । नेपालमा हरेक १०–१० वर्षमा राष्ट्रिय जनगणना हुँदै आएको छ ।

अन्य लिङ्गीको पनि गणना

राष्ट्रिय जनगणना २०७८ को नतिजा अनुसार कुल जनसंख्यामध्ये अन्य लिङ्गी (लैङ्गिक तथा यौनिक अल्पसंख्यक) को जनसंख्या २ हजार ९२८ देखिएको छ जुन कुल जनसंख्याको ०.०१ प्रतिशत हो । जनगणना अवधिमा वार्षिक औसत जनसंख्या वृद्धिदर प्रतिवर्ष ०.९२ प्रतिशत रहेको छ, जुन २०६८ सालको जनगणनामा १.३५ प्रतिशत प्रतिवर्ष थियो । जिल्लागत रुपमा हेर्दा सबैभन्दा बढी वार्षिक औसत जनसंख्या वृद्धिदर भएको जिल्ला भक्तपुर (३.३५ प्रतिशत) र सबैभन्दा कम वार्षिक औसत जनसंख्या वृद्धिदर भएको जिल्ला रामेछाप —१.६७ प्रतिशत) रहेका छन् । 

रौतहटमा बढी

जनगणनाको नतिजाअनुसार जनघनत्व (प्रतिवर्ग किलोमिटर क्षेत्रफलमा रहेको जनसंख्या) १९८ जनाप्रतिवर्ग किलोमिटर रहेको छ, जुन २०६८ सालमा १८० वर्ग कि.मि. मात्र थियो । भौगोलिक क्षेत्रअनुसार हेर्दा सबैभन्दा धेरै जनघनत्व तराई क्षेत्रमा ४६० जना प्रतिवर्ग किलोमिटर र सबैभन्दा कम हिमाली क्षेत्रमा ३४ जना प्रतिवर्ग किलोमिटर रहेको छ । सबैभन्दा धेरै जनघनत्व काठमाडौं जिल्लामा (५१६९ जना प्रतिवर्ग किलोमिटर) र सबै भन्दा कम मनाङ जिल्लामा (३ जना प्रतिवर्ग किलोमिटर) रहेको छ ।

जनगणना २०७८ अनुसार देशमा बसोबास गर्ने कुल परिवार ६६ लाख ६६ हजार ९३७  छन् । जसमध्ये व्यक्तिगत परिवार ६६ लाख ६० हजार ८४१ र संस्थागत परिवार ६ हजार ९६ रहेका छन् । प्रतिपरिवार अक्सर बसोबास गर्ने सदस्य औसतमा ४.३७ जना रहेको छ, जुन २०६८ सालमा ४.८८ जना रहेको थियो ।

भौगोलिक क्षेत्रअनुसार हेर्दा २०७८ मा प्रतिपरिवार हिमाली क्षेत्रमा ४.३३ जना, पहाडमा ३.९९ जना र तराई क्षेत्रमा ४.७३ जना सदस्य रहेका छन्र । परिवारको आकार रौतहट जिल्लामा सबैभन्दा बढी (५.९४) र गोरखा र दोलखा जिल्लामा सबैभन्दा कम (३.४९) रहेको छ । २०६८ सालको जनगणनामा कुल परिवार संख्या ५४ लाख २७ हजार ३०२ रहेको थियो ।

२०७८ को जनगणना अनुसार नगरपालिकाहरूमा बस्ने जनसंख्या ६६.१७ प्रतिशत रहेको छ भने गाउँपालिकाहरूमा बस्ने जनसंख्या ३३.८३ प्रतिशत रहेको छ । २०६८ अनुसार नगरपालिकाहरूमा बस्ने जनसंख्या ६३.१९ प्रतिशत थियो,  गाउँपालिकाहरूमा बस्ने जनसंख्या ३६.८१ प्रतिशत रहेको थियो ।

भौगोलिक क्षेत्रअनुसार तराईमा कुल जनसंख्याको ५३.६१ प्रतिशत (१ करोड ५६  लाख ३४ हजार ६ जना), पहाडमा ४०.३१ प्रतिशत (१ करोड १७ लाख ५७ हजार ६२४ जना) र हिमाली क्षेत्रमा ६.०८ प्रतिशत (१७ लाख ७२ हजार ९४८ जना) जनसंख्या रहेको छ । प्रदेशगत रुपमा जनसंख्याको वितरण हेर्दा सबैभन्दा धेरै जनसंख्या बागमती प्रदेशमा २०.९७ प्रतिशत र सबैभन्दा कम कर्णाली प्रदेशमा ५.७९ प्रतिशत रहेको छ । जिल्लागत रुपमा सबैभन्दा बढी जनसंख्या भएको जिल्ला काठमाडौं (२० लाख ४१ हजार ५८७ जना) र सबैभन्दा कम जनसंख्या भएको जिल्ला मनाङ (५ हजार ६५८ जना) हो ।

५ लाख घर खाली

नेपालमा देशभर करिब पौने ५ लाख घर खाली अवस्थामा रहेको पाइएको छ । राष्ट्रिय जनगणना २०७८ को नतिजा अनुसारमा नेपालमा ७५ लाख ५२ हजार ६६ घरमध्ये ४ लाख ७२ हजार ५ सय १६ (६.३ प्रतिशत) घर खाली देखिएका छन् ।

जनगणना विवरण अनुसार खाली घरमध्ये पहाडमा आधाभन्दा धेरै देखिन्छन् । पहाडी क्षेत्रमा २ लाख ६० हजार ९ सय १६ (५५.२ प्रतिशत) घर खाली छन् । यस्तै हिमालमा ५९ हजार ९४२ (११.७ प्रतिशत) घर खाली भने तराईमा १ लाख ५१ हजार ६५८ (४.१ प्रतिशत) घर खाली छन् ।

पालिका अनुसार हेर्ने हो भने नगरपालिकामा खाली घरको संख्यामध्ये २ लाख ५७ हजार ११२ (५.४ प्रतिशत ) घर खाली छन् भने गाउँपालिकामा २ लाख १७ हजार ४३६ (४६ प्रतिशत) घर खाली देखिन्छन् ।

प्रदेश अनुसार खाली घर मध्ये सबैभन्दा धेरै घरखाली बागमती प्रदेशमा देखिन्छ । जहाँ ३० दशमलव २ प्रतिशत घर खाली छन् । सबैभन्दा कम मधेश प्रदेशमा ४ प्रतिशत घर खाली देखिन्छ ।

शहरमा थुप्रिए मान्छे

विदुर । सुविधा खोज्दै गाउँबाट शहर र पहाडबाट तराई झर्ने चलन नेपाली समाजमा धेरै पुरानो हो । यद्यपि पछिल्ला दशकमा बढेको आन्तरिक बसाइँसराइको दर बढ्दै गएको राष्ट्रिय जनगणना २०७८ ले देखाएको छ ।

२०७८को कात्तिक–मंसिरमा भएको जनगणनाको पूर्ण विवरण शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सार्वजनिक गरेका छन्, जसले आन्तरिक बसाइसराइ अत्यधिक हुँदा मुलुकमा जनसंख्याको वितरण असन्तुलित देखिएको छ । विवरण अनुसार ३४ वटा जिल्लाको जनसंख्या २०६८ सालमा भन्दा पनि कम (जनसंख्याको ऋणात्मक वृद्धिदर) देखिएको छ । जनसंख्या वृद्धि ऋणात्मक हुने जिल्लामा अधिकांश पहाडी र हिमाली जिल्ला रहेका छन् । तराईका समथर जिल्ला, संघीय र प्रदेश राजधानी रहेका पहाडी जिल्लामा जनसंख्या वृद्धि उच्च देखिएको छ । जनसंख्या वृद्धिदर सबैभन्दा बढी ऋणात्मक हुने पाँच जिल्लाहरूमा रामेछाप, खोटाङ, मनाङ, भोजपुर र तेह्रथुम छन् । सबैभन्दा बढी रामेछापमा वार्षिक जनसंख्या वृद्धिदर माइनस १.६७ प्रतिशत छ । खोटाङमा माइनस १.५६, मनाङ र भोजपुरमा समान माइनस १.३९ तथा तेह्रथुममा माइनस १.३० प्रतिशत छ ।

सेवा सुविधा कहाँ प्राप्त हुन्छ भनेर मान्छेले त्यही अनुसार आफ्नो बस्ने ठाउँहरू रोज्ने गरेका छन् । राज्यले पहाड वा गाउँमै सुविधा पुर्याइदिने हो भने शहर, तराई वा काठमाडौं केन्द्रित हुने थिएनन् भन्छन् प्रा. डा. योगेन्द्रबहादुर गुरुङ । जनसंख्या वृद्धिदर सबैभन्दा बढी देखिएको जिल्लामा भक्तपुर पहिलो स्थानमा छ । जनसंख्या वृद्धिदरको राष्ट्रिय आकडा ०.९२ रहँदा भक्तपुरमा ३.३५ प्रतिशतले जनसंख्या वृद्धि भएको छ । यसैगरी रुपन्देहीमा २.३३, चितवनमा २.०७ तथा बाँके र झापामा समान १.९७ प्रतिशतको दरले जनसंख्या वृद्धि भएको छ । हिमाली जिल्लाहरूमध्ये मुगुमा सबैभन्दा बढी (१.४९ प्रतिशतले) वार्षिक जनसंख्या वृद्धि भएकोछ ।

त्रिभुवन विश्वविद्यालय जनसंख्या संकायका विभागीय प्रमुख प्रा. डा. योगेन्द्रबहादुर गुरुङ सरकारी सेवा, शिक्षा र स्वास्थ्य शहर केन्द्रित हुँदा मान्छे गाउँमा बस्न छाडेको बताउँछन् । उनले पहाडमा सेवा सुविधा र अवसर सिर्जना नहुँदा मानिस थात थलो छोडेर तराई झर्न थालेको बताए ।

‘सन्तुलित विकास नहुँदा जनसंख्याको क्षेत्रफल र आकार एकदम असन्तुलित देखिएको छ’, उनले उदाहरण दिए, ‘एउटा मान्छे बाह्य बसाइँसराइ जान्छ (विदेश जान्छ) उसले कमाएपछि आफ्नो परिवारलाई शहर वा तराई अर्थात जहाँ सुविधा हुन्छ, त्यहीँ सार्ने गर्छन्, आफ्नो छोराछोरीलाई राम्रो विद्यालय पढाउने, आमा बुबालाई स्वास्थ्य सेवा पायक पर्ने ठाउँमा सार्छ, यो क्रम पहाडी क्षेत्रमा देखिन्छ ।’ राज्यले सन्तुलित विकासलाई ध्यान नदिएका कारण जनसंख्या असन्तुलितभएको गुरुङ बताउँछन् ।

२०७८ को जनगणना अनुसार नगरपालिकाहरूमा बस्ने जनसंख्या ६६.१७ प्रतिशत रहेको छ भने गाउँपालिकाहरूमा बस्ने जनसंख्या ३३.८३ प्रतिशत छ । 

यो तथ्यांकले ग्रामीण क्षेत्रमा बसोबास गर्ने भन्दा शहरी क्षेत्रमा बसोबास गर्नेको संख्या बढेको देखाउँछ । जबकी २०६८ अनुसार नगरपालिकाहरूमा बस्ने जनसंख्या ६३.१९ प्रतिशत रहेको थियो भने गाउँपालिकाहरूमा बस्ने जनसंख्या ३६.८१ प्रतिशत रहेको थियो ।

प्रदेशगत रुपमा जनसंख्याको वितरण हेर्दा सबैभन्दा धेरै जनसंख्या बागमती प्रदेशमा २०.९७ प्रतिशत र सबैभन्दा कम कर्णाली प्रदेशमा ५.७९ प्रतिशत रहेको छ । बागमतीपछि धेरै जनसंख्या मधेश प्रदेशमा छ । त्यसपछि क्रमशः कोशी, लुम्बिनी, सुदूरपश्चिम र गण्डकी प्रदेश छन् ।

परिवार खण्डीकरण बढ्यो

पछिल्लो १० वर्षमा नेपालमा घरधुरीको संख्या करिब १२ लाख बढेको छ । २०७८ को जनगणना अनुसार नेपालमा घरधुरीको संख्या ६६ लाख ६० हजार ८४१ रहेको छ । जुन २०६८ सालको गणनामा ५४ लाख २७ हजार ३०२ रहेको थियो ।

घरधुरीको संख्या बढे पनि परिवारको आकार भने घटेको देखिन्छ । २०७८ को गणना अनुसार एउटा परिवारमा ४.३७ जना रहेका छन् । जुन २०६८ सालमा ४.८८ जना थियो । परिवारको संख्या बढ्नु र आकार सानो हुनुले परिवार खण्डित हुँदै गएको देखिन्छ ।

परिवारको औसत आकार हिमाली क्षेत्रमा ४.३३ जना, पहाडमा ३.९९ जना र तराईमा ४.७३ जना रहेको छ । रौतहटमा औसतमा एउटा परिवारमा ५.९४ जना छन् भने गोरखा र दोलखामा ३.४९ जना छन् । ‘सेवा सुविधा कहाँ प्राप्त हुन्छ भनेर मान्छेले त्यही अनुसार आफ्नो बस्ने ठाउँहरू रोज्ने गरेका छन् । राज्यले पहाड वा गाउँमै सुविधा पुर्याइदिने हो भने शहर, तराई वा काठमाडौं केन्द्रित हुने थिएनन्’ जनसंख्या विभाग प्रमुख गुरुङ भन्छन् ।

आधा भन्दा धेरै तराईमा

मुलुकको कुल भूगोलमध्ये तराई १७ प्रतिशत, पहाडी क्षेत्र ६८ र हिमाली क्षेत्रले १५ प्रतिशत क्षेत्र ओगट्छ । तर मानिसको बसोबास भने आधा भन्दा बढी तराईमा छ । तराईका २२ जिल्लाको जनसंख्या १ करोड ५६ लाख ३४ हजार देखिन्छ । जुन कुल जनसंख्याको ५३.६१ प्रतिशत हो । पहाडमा ४०.३१ प्रतिशत अर्थात् १ करोड १७ लाख ५७ हजार र हिमाली क्षेत्रमा ६.०८ प्रतिशत १७ लाख ७२ हजार मात्रै जनसंख्या रहेको छ ।

मानिसले सधैं प्रगतितर्फ उन्मुख हुने भएकाले त्यसको लागि चाहिने विकासका पूर्वाधार, व्यापारको  सुविधा, सेवा प्राप्तिको दृष्टिकोणले अगाडि रहेको ठाउँमा बसाइँ सर्ने गुरुङ बताउँछन् । पछिल्लो १० वर्षमा सबैभन्दा धेरै जनसंख्या बढ्नेमा काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका पहिलो स्थानमा छ । कागेश्वरी मनोहराको जनसंख्या २०६८ को भन्दा दोब्बरले बढेको छ । २०६८ मा ६० हजार २३७ रहेको यहाँको जनसंख्या २०७८ मा १ लाख ३० हजार ४३३ पुगेको छ ।  ललितपुरको महालक्ष्मी नगरपालिकाको जनसंख्या पनि करिब दोब्बर बढेको छ । २०६८ मा ६२ हजार १७२ रहेको यहाँको जनसंख्या २०७८ मा १ लाख २३ हजार ११६ पुगेको छ । काठमाडौंको तारकेश्वर नगरपालिकामा २०६८ मा ८१ हजार ४४३ जनसंख्या रहेकामा २०७८ मा १ लाख ५१ हजार ४७९ पुगेको छ । काठमाडौंको नागार्ज‘न नगरपालिकामा २०६८ मा ६७ हजार ४२० रहेको जनसंख्या बढेर २०७८ मा १ लाख १५ हजार ४३७ पुगेको छ ।

पहाडी नगरपालिकामा बसेनन् मानिस

सरकारले २०७३ सालमा स्थानीय तह पुनर्संरचना गरेर ७५३ स्थानीय तह निर्माण गर्दा २९३ वटा नगरपालिका तोकेको थियो । कतिपय ग्रामीण क्षेत्रलाई पनि समेटेर नगरपालिका बनाइएको थियो । तर पहाडी क्षेत्रका नगरपालिकाबाट समेत बसाइसराइ अत्यधिक भएको छ ।

सबैभन्दा बढी जनसंख्या घट्नेमा अछामको साफेबगर नगरपालिका पहिलो स्थानमा छ । त्यहाँको जनसंख्या २०६८ सालमा ३३ हजार ७८८ रहेकामा २०७८ मा घटेर २५ हजार ८९१ मा झरेको छ । बागलुङको जैमिनी गाउँपालिकाको जनसंख्या २०६८ मा ३२ हजार ४६ रहेकामा २०७८ मा २४ हजार ६२८ मा झरेको छ ।

अछामकै मंगलसेन नगरपालिकाको जनसंख्या पनि १० वर्षमा ६ हजार भन्दा धेरै घटेको छ । २०६८ सालमा ३२ हजार ५०७ रहेको यहाँको जनसंख्या २०७८ मा घटेर २६ हजार ५०७ मा आइपुगेको छ । स्याङ्जाको गल्याङ नगरपालिका र पर्वतको फलेबास नगरपालिका पनि धेरै जनसंख्या घट्ने ५ पालिकाभित्र परेका राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।

तराईका गाउँपालिकामा धेरै

जनगणनाको नतिजा अनुसार हिमाली र पहाडी क्षेत्रका नगरपालिकाको तुलनामा तराईका गाउँपालिकाहरूमा धेरै गुणा बढी जनसंख्या देखिएको छ ।

डोल्पाको ठुलीभेरी नगरपालिकाको जनसंख्या  ९ हजार ८६१ रहेको छ, जबकि बाँकेको बैजनाथ गाउँपालिकाको जनसंख्या ६९ हजार ४७२ जना रहेको छ ।  ५० हजार भन्दा बढी जनसंख्या हुने गाउँपालिकाको संख्या १२ वटा छ । जबकि २० हजार भन्दा कम जनसंख्या हुने नगरपालिकाको संख्या भने १४ रहेको छ । जनसंख्या विभाग प्रमुख प्रा.डा.गुरुङ यातायातको पहुँच, सहज व्यापार, तुलनात्मक रुपमा धेरै सेवा र अवसरका कारण समथर भूभागमा जनसंख्या बढेको बताउँछन् । जनगणना अनुसार सबैभन्दा धेरै जनघनत्व काठमाडौं जिल्लामा छ । यहाँ एक वर्ग किलोमिटरमा ५,१६९ जना बस्छन् । सबैभन्दा कम मनाङ जिल्लामा एक वर्ग किलोमिटरमा ३ जना बस्छन् । २०७२ सालमा संविधानले नेपाल राज्यको नै पुनर्संरचना गरेको थियो । केन्द्रीकृत राज्य प्रणालीलाई संघीय व्यवस्थामा रुपान्तरण गरिएको थियो । सिंहदरबारको अधिकार गाउँमा पुर्याउने भनिएको थियो । २०७४ सालको चुनावबाट गठित ७ वटा प्रदेश सरकार र ७५३ स्थानीय सरकारले ५ वर्षे कार्यकाल पूरा गरेर दोस्रो पटक चुनाव भएर सरकारहरू बनिसकेका छन् ।

तर संघीयताले पनि जनसंख्याको असन्तुलित वितरणलाई रोक्न सकेन । राष्ट्रिय सभा सदस्य संघीयता विज्ञ डा. खिमलाल देवकोटा स्थानीय र प्रदेश सरकारलाई अधिकार नदिएका कारण अहिले पनि कतिपय सेवा लिन काठमाडौं नै धाउनुपर्ने बाध्यता रहेको बताउँछन् । ‘केन्द्र सरकारले प्रदेश र स्थानीय सरकारलाई अधिकार हस्तान्तरण गरेर स्थानीय स्तरमै सेवा र अवसर सिर्जना गरे अहिले देखिएको असन्तुलन रोकिन सक्छ’ देवकोटा भन्छन् ।

विकासका पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रभावकारी सार्वजनिक सेवा र गाउँमै रोजगारीको अवसर हुने हो भने मान्छे शहर नपस्ने देवकोटाको बुझाइ छ । ‘विश्वभरि नै ग्रामीण भेगहरू शहरकै रुपमा स्थापित हुँदै गइरहेको देखिन्छ, नेपालमा गाउँलाई शहर बनाउने भन्दा पनि गाउँको मान्छे शहर छिर्ने गरेका छन्’ उनले भने ।

जनसंख्या विभागका प्रमुख गुरुङ पनि संघीयताको प्रभावकारी कार्यान्वयनले जनसंख्या असन्तुलनलाई रोक्ने बताउँछन् । ‘राज्य सत्ता नै गाउँमा लैजान भनेर संघीयता ल्याएको हो,’ गुरुङ भन्छन्, ‘एउटा राहदानीको  लागि पनि मान्छे काठमाडौं नै आउनुपर्छ, उपल्लो मुद्दा लड्न पनि काठमाडौं नै आउनुपर्छ, एउटा विद्यार्थीले उच्च शिक्षा हासिल गर्यो तर ट्रान्सकिप्ट लिन काठमाडौं नै आउनुपर्छ । यी सबै कुरा पालिका र प्रदेशमै सल्टिने हो भने मान्छे  किन काठमाडौं केन्द्रित हुन्छ र ?’

शहर निर्माण नहुनु कारण 

राष्ट्रिय योजना आयोगका पूर्वअध्यक्ष पुष्प कँडेलले जनसंख्याको सन्तुलन कायम गर्न पहाडमा शहरी पूर्वाधार विकास गर्न‘को विकल्प नभएको बताउँछन् । मानिसहरू गाउँबाट शहरमा बसाई सर्न‘ सामान्य भन्दै उनी पहाडी क्षेत्रमा शहर निर्माण भएका कारण समथर भूभागमा झर्नु बाध्यता भएको बताउँछन् ।

मध्यपहाडी लोकमार्ग जस्ता योजनाहरू प्रभावकारी ढंगले निर्माण गरेर पहाडी शहरहरू निर्माण गर्न सरकारले योजना बनाउनुपर्ने उनको सुझाव छ । ‘पन्ध्रौं पञ्चवर्षीय योजना कोरोनाको कारण सफल हुन सकेन तर १६ औं योजनामा यस्ता कुराहरूमा ध्यान दिनुपर्ने हुन्छ,’ कँडेलले भने ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठले जनसंख्याको नतिजाले तीनै तहको सरकारलाई नीति र योजना बनाउन बाटो देखाउने बताए । ‘यो तथ्यांकले हाम्रो तीनै तहको सरकारलाई नीति र योजनाहरू कसरी निर्माण गर्ने भन्नेबारे मार्ग देखाउँछ’ राष्ट्रिय जनगणनाको प्रतिवेदन सार्वजनिक कार्यक्रममा टउनले भने, ‘१६ औं पञ्चवर्षीय योजना निर्माण गर्दा यो तथ्यांकको आधारमा निर्माण हुनेछन् ।’