Monday, April 10, 2023

नुवाकोटमा रेलमार्ग सर्भे

चिनियाँ टोली नुवाकोटको मुख्य ब्यापारिक केन्द्र बट्टार बजारमा सर्भे गर्दै । तस्बिर : इमेज

विदुर । काठमाडौं–केरुङ र काठमाडौं–रक्सौल रेलमार्ग राष्ट्रिय चर्चामा आएको वर्षौँ भइसक्यो । राष्ट्रिय चर्चामा रहेका यी दुई रेलमार्गको प्राविधिक अध्ययन सुरु गर्ने जिम्मा र अध्ययनका लागि आवश्यक आर्थिक स्रोत जुटाउने जिम्मा उत्तर र दक्षिणका मित्रराष्ट्रलाई दिएको थियो । काठमाडौं–केरुङ रेलमार्गको सर्भेका लागि चीन सरकारको चासो बढेको छ । चिनियाँ प्राविधिक टोलीले काठमाडौं–केरुङ रेलमार्गको फिल्ड सर्भे गत हप्तादेखि सुरु गरेको छ भने काठमाडौं–रक्सौल रेलमार्गको अध्ययन गत असोजमा भारत सरकारले सकेर अन्तिम प्रतिवेदन तयारीमा छ र । चिनियाँ नयाँ वर्ष मनाएर गत फागुन २४ मा फर्किएको प्राविधिक टोली सर्भेका लागि रसुवा पुगेको होर । टोलीमा ४० जना प्राविधिक रहेका छन् । अध्ययन असोजमा सकिए पनि अन्तिम प्रतिवेदन तयार भइसकेको छैन ।

चिनियाँ टोली काठमाडौं, नुवाकोट हुँदै रसुवा पुगेको हो । यी तीनवटै जिल्लामा फिल्ड सर्भे हुने रेल विभागका सिनियर डिभिजनल इन्जिनियर एवम् प्रवक्ता अमन चित्रकारले बताए । ‘अहिलेसम्म विभिन्न समयमा गरेर ४० जनाको प्राविधिक टोली अध्ययनका लागि नेपाल आएर फिल्डमा गइसकेको छ,’ उनले भने, ‘दुई देशबीच भएको सहमतिअनुसार अध्ययन अघि बढ्नेछ ।’ पुस तेस्रो साता पनि चिनियाँ प्राविधिक टोली रसुवागढी पुगेको थियो । त्यतिबेला स्याफ्रुबेँसी, धुन्चे र रसुवागढीलगायत ठाउँको सर्भे गरेर टोली काठमाडौं फर्किएको थियो ।

सुरुमा चाइना रेलवे फस्र्ट सर्भे एन्ड डिजाइन इन्स्टिच्युट ग्रुपको ६ जना प्राविधिक टोली सर्भेका लागि आएको थियो । अहिले पनि त्यही कम्पनीको प्राविधिक टोली थपिएर अध्ययनका लागि आएका हुन् । ‘यसअघि आएर टोलीले सामान्य फिल्ड हेरेर चिनियाँ नयाँ वर्ष मनाउन गएको थियो,’ चित्रकारले भने, ‘अब भने नियमित अध्ययन हुनेछ ।’ उनका अनुसार रेलमार्ग जहाँ–जहाँ बनाइने भनिएको छ, त्यहाँको भौगोलिक बनावटदेखि निर्माणमा लाग्ने कुल लागत अध्ययनबाट थाहा हुनेछ । रेल विभागका प्राविधिक कर्मचारी आवश्यक सहजीकरणका लागि चिनियाँ प्राविधिक टोलीसँगै फिल्डमा गएको उनको भनाइ छ । ‘एरिएल सर्भेबाट फिल्डको अध्ययन गरिनेछ,’ उनले भने, ‘त्यसका लागि हेलिकोप्टर, ड्रोनलगायत उपकरण प्रयोग हुनेछन् ।’

चिनियाँ प्राविधिक टोली कसरी अध्ययन गर्ने भन्नेबारे दुई दिनसम्म छलफल गरेर फागुन २९ मा फिल्ड गएको रेल विभागका महानिर्देशक रोहित बिसुराल बताउँछन् । ‘लामो समयपछिको प्रतीक्षापछि फिल्ड सर्भे सुरु भएको छ,’ उनले भने, ‘केही समस्या नआए तोकिएको समयमै अध्ययन सकिनेछ ।’ अध्ययनका लागि आवश्यक पर्ने उपकरण उपलब्ध भएसम्म नेपालकै प्रयोग गर्ने र नभएको खण्डमा मात्र चीनबाट ल्याउने उनको भनाइ छ । प्रारम्भिक अध्ययनअनुसार सम्भाव्यता अध्ययन गर्न ४२ महिना लाग्नेछ । सम्भाव्यता अध्ययनबाट रेलमार्गको 

वास्तविक दूरी, लागत, सुरुङ, पुलको उचाइ, स्टेसनलगायत विषय टुङ्गिनेछ । ०७८ चैतमा काठमाडौं–केरुङ रेलमार्गको सम्भाव्यता अध्ययन गर्न दुई देशबीच औपचारिक सहमति भएको थियो । ०७६ असोजमा चीनका राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका क्रममा सम्भाव्यता अध्ययन सुरु गर्नेबारे सहमति जुटेको थियो । प्रारम्भिक अध्ययनअनुसार रसुवागढीदेखि काठमाडौंसम्म ७२ किलोमिटर दूरी रहने रेलमार्गमा ९८ प्रतिशत पहाड पर्नेछ, जसलाई छेडेर रेलमार्ग बनाइनेछ । यसको अध्ययन चीनले आफ्नै खर्चमा गर्नेछ । उक्त रेलमार्ग निर्माणगर्न दुई खर्ब ७१ अर्ब ३६ करोड ८० लाख रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान छ ।

काठमाडौं–केरुङसँगै चर्चामा रहेको काठमाडौं–रक्सौल रेलमार्गको अध्ययन गत असोजमा सकिए पनि अन्तिम प्रतिवेदन तयार भइसकेको छैन । अध्ययनअनुसार उक्त रेलमार्ग निर्माण गर्न तीन खर्ब २० अर्ब रुपैयाँ लाग्नेछ । विस्तृत अध्ययनमार्फत सबै संरचना निर्माणमा लाग्ने खर्चसहितको यो लागत अनुमान निकालिएको हो । ०७८ असोज २२ मा नेपाल र भारत सरकारका उच्च अधिकारीबीच भएको समझदारीपत्र (एमओयू) अनुसार अध्ययन अघि बढाइएको थियो । विभागका महानिर्देशक बिसुरालका अनुसार आगामी वैशाख दोस्रो साताभित्र तयार भइसक्नेछ । भारतको कोंकण रेलवे कर्पोरेसनको प्राविधिक टोलीले यसको अध्ययन गरेको हो । अन्तिम अध्ययनअनुसार रेलमार्गको दूरी एक सय ४० किलोमिटर हुनेछ । ‘यो विस्तृत परियोजना रिपोर्ट (डिपिआर) बराबरकै अध्ययन हो, अन्तिम प्रतिवेदन तयारपछि यसैका आधारमा निर्माणमा जान सकिनेछ,’ बिसुरालले भने, ‘लागत र दूरीमा भने प्रतिवेदन तयार पार्दासम्म तलमाथि हुन सक्छ ।’ कोंकणले नेपाल सरकारसँगको समन्वयमा आठ महिना लगाएर अध्ययन प्रतिवेदन तयार पारेको थियो ।

८८४६ बालबालिका जन्म दर्ताबाट वञ्चित


सुनिल श्रेष्ठ

विदुर । राष्ट्रिय तथ्यांक कार्यालयले १२ औं राष्ट्रिय जनगणना २०७८ को पूर्ण विवरण गत साता सार्वजनिक गरेको छ ।

तथ्यांकअनुसार देशभर ३० लाख ७ हजार ६४८ बालबालिकाको जन्मदर्ता रहेकोमा ७ लाख ८० हजार ९३३ बालबालिका जन्म दर्ताबाट वञ्चित रहेको छ । जसमा नुवाकोट जिल्लामा ६८ हजार ६७९ परिवार संख्या रहेकोमा २३ हजार १९६ बालबालिकाको मात्र जन्मदर्ता रहेको छ । जसमा ८ हजार ८४६ बालबालिका जन्म दर्ताबाट वञ्चित रहेको तथ्यांकले देखाएको छ ।

जिल्लाका दुई नगरपालिकामा २ हजार ९०६ जना र १० गाउँपालिकामा ५ हजार ९८० जना बालबालिका जन्मदर्ता बाहिर रहेको तथ्यांक छ । विदुर नगरपालिकामा ५ हजार १६३ बालबालिकाको जन्मदर्ता रहेकोमा १ हजार ५९५ जना र बेलकोटगढी नगरपालिकामा २ हजार ९२० बालबालिकाको जन्मदर्ता रहेकोमा १ हजार ३११ जना बालबालिका जन्मदर्ता बाहिर रहेको छ ।

गाउँपालिकातर्फ दुप्चेश्वरमा १ हजार ३ जना, तादीमा ६९५ जना, सुर्यगढीमा ३६९ जना, किस्पाङमा ३७२ जना, म्यागङमा ४३५ जना, तारकेश्वरमा ४४३ जना, लिखुमा ५३७ जना, पञ्चकन्यामा ४५८ जना, शिवपुरीमा ६०७ जना र ककनीमा १ हजार ६१ जनाको जन्मदर्ता नभएको तथ्याङ्क रहेको छ ।

गाउँपालिकातर्फ दुप्चेश्वरमा कुल २ हजार ३३८ जना, तादीमा १ हजार ४७८ जना, सुर्यगढीमा १ हजार २८९ जना, किस्पाङमा १ हजार ४०१ जना, म्यागङमा १ हजार १५३ जना, तारकेश्वरमा १ हजार ३१७ जना, लिखुमा १ हजार ४९४ जना, पञ्चकन्यामा १ हजार ७८ जना, शिवपुरीमा १ हजार ३१९ जना र ककनीमा २ हजार २४४ जना बालबालिकाको जन्मदर्ता छ ।

जन्मदर्ता नहुनुमा पारपाचुके, विविध पारिवारिक उल्झनको कारणले छुटिएको आमाबुबा, अत्यावश्यक काम नपरी आफ्नो बालबालिकाको जन्मदर्ता नगर्ने लगायतका कारण बालबालिकाको जन्मदर्ता नभएको प्रतिवेदनमा उल्लेख छ । संविधानले जन्मिएको ३५ दिनभित्र जन्मदर्ता गर्नुपर्ने प्रावधान राखे पनि सडक बालबालिका, परिवार त्याग गरेका बालकालिका कानूनी पहिचानबाट वञ्चित हुनुपरेको छ ।

जिल्लामा १ लाख २८ हजार ९९८ पुरुष र १ लाख ३४ हजार ३९३ महिला गरी कुल २ लाख ६३ हजार ३९१ जना देखिएको छ । जसमा २ हजार ४९४ पुरुष र २४९ महिला गरी कुल २ हजार ७४३ जनाको संस्थागत तथ्यांक छ । वार्षिक जनसंख्या वृद्धि दर ०.५ प्रतिशतका दरले जनसंख्या वृद्धिमा ऋणात्मक देखिएको छ ।

राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालको कूल जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ छ । यसमा पुरुषको संख्या १ करोड ४२ लाख ५३ हजार ५५१ (४८.९८ प्रतिशत) र महिलाको संख्या १ करोड ४९ लाख ११ हजार २७ (५१.०२ प्रतिशत) छर । अन्य लिङ्गी (लैङ्गिक तथा यौनिक अल्पसंख्यक) को जनसंख्या २ हजार ९२८ छ जुन कूल जनसंख्याको ०.०१ प्रतिशत हो ।

काम गर्न आठ हजार विदेशिए

विदुर । नुवाकोटबाट वैदेशिक रोजगारीमा जाने बढेका छन् । आर्थिक वर्ष २०७८÷७९ जिल्लाबाट वैदेशिक रोजगारीमा जानेको संख्या ८ हजार ४२० जना पुगेका छन् । वैदेशिक रोजगारीमा जाँदा सिप, कानुनी प्रक्रिया अपनाएर जान र सचेत गराउन थालिएको छ । त्यसका लागि अपनाउनुपर्ने विषयका बारेमा विहिबार आयोजित सुरक्षित वैदेशिक रोजगारका विषयमा नुवाकोटका पत्रकारहरूसंग गरिएको अन्तरक्रियामा उक्त जानकारी दिएको हो ।

वागमती प्रदेशबाट मात्रै वैदेशिक रोजगारीमा जान श्रम स्वीकृत लिनेको संख्या ९१ हजार ५१० जना रहेका छन् । रोजगारका लागि दिनानुदिन वैदेशिक रोजगारीमा जाने क्रम बढेपछि उनीहरूलाई सिप विकास, कानुनी विधि प्रक्रिया अपनाएर सुक्षित रोजगारीमा जानुपर्ने विदुर नगरपािलकाका मेयर राजन श्रेष्ठले बताए । 

देशभरि सिप सिकेर जाने ३८ प्रतिशत छ । सिप नसिकेका ५४ प्रतिशत रहेको कार्यक्रममा बताइएको थियो । वैदेशिक रोजगारलाई सुरक्षित, मर्यादित एवं शोषणरहित बनाउन नेपाल सरकार र स्वीस सरकार बीच भएको व्दिपक्षीय सम्झौता अनुसार वैदेशिक रोजगारका लागि सुरक्षित आप्रवासन परियोजनामा सुरक्षित आप्रवासन सूचना तथा परामर्श केन्द्र नुवाकोटमा संचालित छ । २०७२ देखि विदुर नगरपालिका, बेलकोटगढी नगरपालिका, लिखुगाउँ पालिका र शिवपुरी गाउँपालिकामा कार्यक्रम लागू गरिएको छ । 

भिजिट भिसा र अध्ययन गर्न जानेको संख्या नुवाकोटमा बढिरहेको स्वीस अन्तर्गत हेल्वेटासका कार्यक्रम अधिकृत भागीराम थारुले आफ्नो कार्यपत्र प्रस्तुत गर्दै बताए । वैदेशिक रोजगारमा गएकाहरू दैनिक ४÷६ जनाको शव आउने जानकारी दिए । विदेश जान सही सूचना र सिप लिएर मात्रै वैदेशिक रोजगारीमा जान उनले सुझाव दिए । 

कानुनी प्रक्रिया नबुझेर विदेशमा रोजगारगारीमा जाने क्रम बढ्दै गएको विदुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार खनालले बताए । वैदेशिक रोजगारीले आव २०७८÷७९ मा १० खर्ब ७ अर्व रेमिट्यान्स देशमा भित्रेपनि सुरक्षित र दक्ष जनशक्ति अभाव कायमै रहेको कार्यक्रममा जानकारी दिइयो । नेपालबाट दैनिक २५ सय जना वैदेशिक रोजगारमा जाने गरेका छन् ।

जिल्ला प्रशासन कार्यालय नुवाकोटका अनुसार गत साउनदेखि फागुनसम्ममा ९ हजार ६६ जनाले राहदानी आवेदन संकलन गरेको छ । गएको ८ महिनामा ८ हजार ४ जनालाई राहदानी वितरण गरिएको प्रमुख जिल्ला अधिकारी किरण थापाले बताए । राहदानी वितरण हुन बाँकी साढे ५ हजार रहेको छ । नागरिकले दक्ष, कानुनी प्रक्रिया बुझेर व्यवस्थित, भरपर्दो र सुरक्षित भएर वैदेशिक रोजगार अपनाउनु पर्ने प्रजिअ थापाले बताए ।

नुवाकोटको सिन्दूरे जात्रा सुरुवात मिति यकिन छैन

जिवित देवताको रुपमा पुजिने ८५ वर्षिया धामी हरिमानसिंह डंगोल । तस्बिर : इमेज फाइल

विदुर । नुवाकोटको ऐतिहासिक ‘भैरवी वर्षबन्धन–२०७९’ को सिन्दूरे जात्राअन्तर्गतका मुख्य गतिविधिहरू सकिएका छन् । तर जात्रा भनेको विधि भने २०८० सालको बैशाख ३ गतेसम्म जारी रहन्छ । भैरवी वर्षबन्धन–२०७९ को धार्मिक विधि वैशाख ३ गतेसम्म कायम रहने नुवाकोट दरबार मौला अमालका द्वारे (सरकारका प्रतिनिधि) महेन्द्रकुमार शाहीले जानकारी दिएका छन् । 

गत फागु पूर्णिमाको दिनदेखि सुरु भएको यो वर्षको भैरवी वर्ष बन्धनअन्तर्गत यही चैत २२ गते साँझ बूढीदेवता स्थान परिसर र भैरवीदेवी मन्दिर परिसरमा लिंगो ठडाएसँगै यहाँको वातावरण उल्लासमय भएको थियो । जात्राको मुख्य उल्लाख भने चैत २५ गते सिन्दूर खेलेपछि सकिएको छ । ‘सरकारी जात्राका रुपमा रहेको सिन्दूरे जात्रा कहिलेदेखि सुरु भएको भन्ने यकिन मिति पाइन्नँ’, शाहीले भने, ‘विसं १८०१ मा नुवाकोटमाथि पृथ्वीनारायण शाहले विजय गरेपश्चात् भैरवीदेवी मन्दिर परिसरमा साततले दरबार निर्माण गरेर जात्रालाई विशेष रुपमा मनाउने व्यवस्था मिलाइएको देखिन्छ ।’

सिन्दूरे जात्राको विशेष रौनक लिंगो उठाउने, भैरवीदेवी मन्दिरको रथयात्रा, जीवित भगवान्का रुपमा रहेका धामीको जालपादेवी मन्दिर प्रस्थान, जालपादेवी मन्दिरमा भोग बलि, राष्ट्रमा के हुन्छ भनेर उनले गर्ने भविष्यवाणी, जालपादेवी मन्दिरबाट फर्केपछि जिल्लाभरका  व्यक्तिहरूको उपस्थितिमा खेलिने सिन्दूर मुख्य आकर्षण र महत्वका रुपमा रहन्छ ।

शुक्रबार बिहान १ बजे देवीघाटस्थित जालपादेवी मन्दिर पुगेका हरिमानसिंह डंगोलले भोग बलि खाएर आगामी वर्ष राष्ट्रमा के हुन्छ भन्ने विषयमा गोप्य रुपमा भविष्यवाणी गरे । शाहीका अनुसार शनिवार बिहान दोस्रो चरणको भोग खाएपछि बिहान ५ बजे भगवान्सँगको प्रत्यक्ष साक्षात्कारका रुपमा दैवी शक्ति स्वरुपाका धामीले सो भविष्यवाणी गरेका हुन् । ‘भोग बलि खाइसकेपछि आगामी वर्ष (विसं २०८० मा) मुलुकमा के हुन्छ भनेर गोप्य रुपमा भविष्यवाणी गर्न‘भएको र त्यसलाई गोप्य रुपमा नै राष्ट्राध्यक्ष (राष्ट्रपति) समक्ष पठाइनेछ’, द्वारे शाहीले भने, ‘धामीले भविष्यवाणी बोलेर गर्ने भएकाले त्यसलाई शब्दमा उतारेर राष्ट्रपतिसमक्ष पठाउने गरिएको छ । शुभ रहेमा हर्षोल्लास गरिनेछ भने अशुभ संकेत देखिएमा राष्ट्रप्रमुखका तर्फबाट राष्ट्रपतिले क्षमापूजा गर्न लगाउनुहुनेछ ।’

चैतशुक्ल पूर्णिमाका दिन शुभसाइत बनाई गुभाजुमार्फत विशेष अनुष्ठान र तान्त्रिक विधिबाट भगवान्मा चढाइएको धामीलाई जीवित भगवान् (भैरवी देवीको प्रतीक)का रुपमा लिने गरिन्छ । बिहीबार साँझ भैरवीदेवी मन्दिरबाट देवीघाटस्थित जालपादेवी मन्दिरतर्फ प्रस्थान गरेका धामी–धमिनीसहितको लवालस्कर नुवाकोटबाट बट्टारबजार, पुरानोपाटी, इनारपाटी, बाणाचौतारो, तल्लो पीपलटार हुँदै देवीघाट पुगेको हो । परम्परादेखि नै भैरवीदेवीको रथयात्रा गराउँदै आएका लच्याङ्गी गुठियारहरूले बिहीबार साँझ भैरवीदेवीको रथयात्रा भैरवीदेवी मन्दिरबाट देवीघाटस्थित जालपादेवी मन्दिर परिसर पु-याएका थिए । अहिले देवीघाटमा रहेका धामीधमिनीसहितको भैरवीको रथयात्रा शनिबार अपराह्न नुवाकोट मण्डलातर्फ पु-याइएको थियो ।

धार्मिक विधिअनुसार गुठीको जग्गामै बनाइएको पदमार्गमा धामीले यात्रा गर्ने गरिए पनि उनको ढल्कँदै गएको उमेर (हाल ८५ वर्ष) र स्वास्थ्य अवस्थालाई दृष्टिगत गर्दै केही स्थानमा सवारीसाधनमार्फत यात्रा गराइएको छ । जात्रालुहरूले धामीले जालपादेवी मन्दिर पुग्नुअघि एक किमी अगावै पृथ्वी स्मारक उद्यान नजिकै त्रिशूली नदीमा स्थान गरेसँगै उनी हिँड्ने बाटोमा शुद्ध र सफा सेतो कपडा ओछ्याएर जालपादेवी र भैरवीदेवी माताको जय–जयकार गर्दै जालपादेवी मन्दिरसम्म पु-याएका थिए ।

जिल्लास्थित सरकारी कार्यालयका प्रमुखहरूसहित राजनीतिक दलका प्रतिनिधि, सामाजिक संघसंस्थाका प्रतिनिधिहरूको उपस्थितिमा जबरजंगगण देवीघाटका नेपाली सैनिकहरूले निशान झन्डा र भैरवी सलामीको बढाई दिँदै लावालस्करसहित भैरवीदेवी मन्दिर परिसरमा पुगेपछि द्वारेबाट सिन्दूर हालेसँगै यो वर्षको सिन्दूरे जात्रा समापन भएको छ । 

अध्यागमन कार्यालयमा भीड


रसुवा । गएको शनिबारबाट रसुवागढी नाका पूर्णरूपमा खुलेसँगै अध्यागमन कार्यालय घझ्खोेलामा सेवाग्राहीहरूको भीड लागेको छ । अध्यागमन कार्यालय रसुवागढीले जारी गर्दै आएको नेपाल चीन सीमा क्षेत्रका नागरिकहरूका लागि प्रस्थान : प्रवेश अनुमतिपत्र नवीकरण तथा नयाँ लिनेको भीड लागेको हो । 

नाकाबाट मानिसको आवतजावत ३८ महिनादेखि ठप्प रहेको थियो । दुईतर्फी रुपमा मानिसको आवतजावत पनि शनिबार बिहानबाट खुलेको छ । मानिसको आवतजावत खुलेसँगै चीन प्रवेश गर्नको लागि पास नवीकरण तथा नयाँ लिनेहरूको भीड लागेको अध्यागमन कार्यालयले बताएको छ ।

नाकामा आवतजावत बन्द हुँदा तीन वर्षदेखि नेपाल चीन सीमा क्षेत्रका नागरिकहरूले प्रस्थान : प्रवेश अनुमति पत्रको नवीकरण तथा नयाँ बनाउन पाएका थिएनन् । शनिबार बिहानैदेखि प्रस्थान : प्रवेश अनुमति पत्र नवीकरणको लागि कार्यालय खोलिएको थियो । उक्त दिन नेपाल चीन सीमा क्षेत्रका नागरिकहरूका लागि प्रस्थान : प्रवेश अनुमति पत्र लिएका २ सय ४० जनाको नवीकरण गरिएको अध्यागन कार्यालय रसुवागढी, रसुवाका अध्यागमन अधिकृत कृष्णप्रसाद पौडेलले बताए । त्यस्तै, आवतजावत खुलेको ३८ महिनापछि शनिबार रसुवागढी नाकाबाट २५ जना अराइभल र १२ जना डिपार्चर भएको उनले बताए ।

चीनसँग सीमा जोडिएका जिल्लाबासीहरूलाई चीन सरकारले एक वर्षसम्म प्रवेशका लागि अनुमति दिँदै आएको छ । नेपाल चीन सीमा क्षेत्रका नागरिकहरू नेपाल चीन सीमा क्षेत्रका नागरिकहरूका लागि प्रस्थान : प्रवेश अनुमतिपत्रको आधारमा चीन प्रवेश पाउने गर्दछन् । पहिलो दिन शनिबार प्रस्थान : प्रवेश अनुमति पत्र नवीकरण गरेका चालक, कामदार, व्यापारी र व्यावसायी गरी ८१ जना जिल्लाबासी पनि केरुङतर्फ पुगेका छन् । उक्त प्रस्थान : प्रवेश अनुमतिपत्र लिएका जिल्लाबासी चीनको स्वशासित क्षेत्र तिब्बतको केरुङसम्म आवतजावत गर्न पाउँछन् । अनुमतिपत्र अध्यागमन कार्यालयले २०७२ असोज २८ गतेदेखि दिन थालेको हो ।

अर्को पनि दमकल खरिद गर्ने निर्णय

विदुर । नुवाकोटमा सुख्खायाममा आगजनी नियन्त्रणका लागि दमकल पर्याप्त नभएको कारण थप दमकल खरिद गर्ने तयारी भएको छ । जिल्ला विपद व्यवस्थापन समिति नुवाकोटले १२ स्थानीय तह रहेको नुवाकोटमा छिमेकी स्थानीय तहहरूबीचको समन्वयमा दमकल खरिद गर्ने निर्णय गरेको छ ।

प्रमुख जिल्ला अधिकारी किरण थापाको अध्यक्षतामा विदुरमा बसेको  जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले नुवाकोट आगलागी जन्य विपदबाट जोखिम रहेकाले आगो नियन्त्रणको लागि दमकलको आवश्यक रहेको भन्दै यस्तो निर्णय गरेको हो । जिल्लाको १२ वटै स्थानीय तहहरू मध्ये बढीमा ३ वटा पालिकाहरूबीचको समन्वयमा दमकल खरिद गरी सञ्चालनमा ल्याउन सकिए आगलागी जन्य घटनाबाट क्षतिको न्यूनीकरण गर्न सहज हुने प्रमुख जिल्ला अधिकारी किरण थापाले बताएका छन् ।

जिल्लाभरिमा सदरमुकामको विदुर नगरपालिकाले मात्रै २ वटा दमकल सञ्चालन गर्दै आइरहेको छ । नगरपालिकाले सञ्चालन गर्ने  दमकलले नगरभित्र मात्रै नभई जिल्लाभर नै सेवा पु-रहेकोले सञ्चालनको लागि अन्य पालिकाहरूबाट आर्थिक सहयोगको अपेक्षा गरिएको मेयर राजन श्रेष्ठले बताए । तादी गाउँपालिकाका अध्यक्ष सन्तमान तामाङले दम्कल सञ्चालनको ग्रामीण भेगमा सञ्चालित सडक साँघुरो रहेको गुनासो गरे । सडक नजिकका बाहेक वनजंगलमा आगलागी हुँदा दमकलको प्रयोग गर्न असम्भव भए पनि गाउँबस्तीमा आगलागी भएमा दमकलको उपयोगिता बढी हुने उनको भनाइ छ । 

त्यस्तै बैठकमार्फत् विभिन्न ९ बुँदे निर्णयसमेत गरेको छ । सुख्खायामको समयमा आगलागीको घटनाहरू बढ्ने भएकोले त्यस्ता जोखिम युक्त स्थानहरूको पहिचान गरी त्यसलाई नियन्त्रण गर्न स्थानीय तह, वडा कार्यलय, डिभिजन वन कार्यलय, प्रहरी युनिट मार्फत नियमित निरिक्षण गर्ने निर्णय बैठकले गरेको छ ।

किसानलाई हाते ट्रयाक्टर

विदुर । खेती गर्ने मौसम सुरु भएपछि किसानहरूको सुविधाका लागि नुवाकोटको माझिटारमा किसानहरूलाई हाते ट्रयाक्टर वितरण गरिएको छ । 

विदुर नगरपालिका ५ माझिटारमा रहेको अक्कलादेवी कृषि सहकारी संस्थाले आफ्ना किसान सदस्यहरूलाई अनुदानमा हाते ट्रयाक्टर वितरण गरेको हो । सो सहकारीको पहलमा कृषि ज्ञान केन्द्र नुवाकोटको आर्थिक वर्ष  २०७९–०८० को  स्वीकृत   दलहन बाली  प्रर्वद्धन कार्यक्रमका लागि कृषकलाई  प्रबिधि हस्तान्तरण गर्ने कार्यक्रम अन्तरगत  ५० प्रतिशत अनुदानमा हाते ट्रयाक्टर वितरण गरेको सहकारीका अध्यक्ष राजकुमार अर्जेलले जानकारी दिए ।

अक्कलादेवी कृषि सहकारी संस्थामा आवद्ध १२ जना किसानलाई खेती गर्नका लागि जोतखन गर्नका लागि हाते ट्रयाक्टर प्रदान गरिएको हो । किसानहरूलाई खेत तथा बारी जोतखन गर्न सुविधा पुगेको कृषि ज्ञान केन्द्र नुवाकोटले जनाएको छ ।

विज्ञान माविका पुर्व विद्यार्थीहरूको भेला


काठमाडौं । नुवाकोटको तादी गाउँपालिका वडा नं. ५ नर्जामण्डपमा रहेको विज्ञान माविका भुतपुर्व विद्यार्थीहरूको भेलाले तदर्थ समिति गठन गरेको छ । विद्याल स्थापनादेखि हालसम्म एसएलसी÷एसईईसम्म अध्ययन गरेका पुर्व विद्यार्थीहरूको धभेपुर्व विद्यार्थीहरूको भेला सम्पन्न भएको हो । काठमाडौंमा चैत २५ गते भएको पुर्व विद्यार्थीहरूको भेलाले १५ सदस्यीय तर्दथ समिति गठन गरेको छ । 

अध्यक्षमा केशवप्रसाद भण्डारी, उपाध्यक्षमा कृष्णबहादुर राजभण्डारी, सचिवमा बासुदेव अधिकारी, सह–सचिवमा रामशरण खनाल, कोषाध्यक्षमा बैकुण्ठ थापा र सह–कोषाध्यक्षमा बासुदेव खनाल छन् ।  

सदस्यहरूमा सुशीला अधिकारी, कृष्णबहादुर सत्याल, रेखा खनाल, सितालाल तामाङ, अशोक रिजाल, लक्ष्मण खनाल, राजकुमार ओझा, श्यामबहादुर तामाङ र सिर्जना खनाल छन् । 

तस्बिर समाचार

ग्रामिण स्वाबलम्वन विकास केन्द्र (आरएसडिसी)ले नुवाकोटको पञ्चकन्या गाउँपालिकाका सहकारी संस्थाका पदाधिकारी र कर्मचारीहरूलाई चार दिने लेखा तालिम प्रदान गरेको छ । तालिम समापन समारोहमा पञ्चकन्या गाउँपालिकाका उपाध्यक्ष बिमला केसी (बाँयाँ) सहभागिलाई प्रमाणपत्र हस्तान्तरण गर्दै । 


नुवाकोटको सिन्दूरेजात्रा


रिना खनाल

नेपाल एकीकरणपछि एक दशक देशको दोस्रो राजधानीको रूपमा परिचित सांस्कृतिक केन्द्र नुवाकोट सम्पदा र संस्कृतिको भण्डार मान्न सकिन्छ । सङ्घीय राजधानी काठमाडौंजस्तै विभिन्न जात्रा नै जात्राको गाउँभन्दा पनि फरक नपर्ला । जात्रा तथा पर्वमा रमाइरहन नुवाकोट यतिबेला भने सिन्दूरेजात्राको उल्लास छ । सांस्कृतिक नगरी नुवाकोट जात्रामय बनेको छ । मुख्य आकर्षणको केन्द्र रथयात्रा र जीवित भगवान्को रूपमा पुजिने धामी–धमिनी नै हुन् ।

नेपालको इतिहासमा उल्लेख भएअनुसार साततले दरबारको दक्षिणतर्फ रहेको माता भैरवीलाई देशको रक्षक मानिन्छ । नेपाल–चीन युद्घ हुँदा श्री ५ रणबहादुर शाहले भैरवीको आराधना गरेका र दैवी शक्तिका कारण युद्धमा विजय प्राप्त गरेको भन्ने विश्वास इतिहासका ज्ञाताले गर्दै आएका छन् । यही जितका कारण रणबहादुरले मन्दिरमा सुनको जलप लगाइएको छाना र गजुर चढाएको मानिँदै आएको छ । बहादुर शाहले मन्दिरको प्रवेशद्वारमा सुनको जलप लगाइएको ढोका चढाएका थिए भन्ने विश्वास पनि गरिन्छ । भैरवीको सिन्दुर यात्रा सांस्कृतिक रूपले अपरम्पार छ । देवीजात्रा अर्थात् सिन्दूरेजात्रालाई यस क्षेत्रमा विशेष महत्व साथ हेरिन्छ । हरेक चैत्रशुक्ल पूर्णिमाका दिन सिन्दूरेजात्रा धुमधाम साथ मनाइन्छ । यो जात्रा फागुपूर्णिमादेखि सुरु भएर महिना दिनसम्म चलिरहन्छ । फागु पूर्णिमाका दिनदेखि जात्राको तयारी गरिन्छ र यस दिनदेखि पुजारीले जहाँ पायो त्यहाँ खाँदैनन् । यो जात्रा चलिरहँदा नारायण जात्रा पनि धुमधामका साथ मनाइन्छ । यो जात्रा घोडेजात्राको दिन र त्यसको भोलिपल्ट गरेर दुई दिन चल्ने गर्छ । यसलाई मिनी सिन्दूरेजात्रा पनि भनिन्छ । अघिल्लो दिन नारायण देवता बेसी जाने र भोलिपल्ट नारायण देवता बेँसीबाट फर्कन्छन् ।

सिन्दूरेजात्रालाई प्रत्येक वर्ष परम्परागत रूपमा सञ्चालन गर्नका लागि धामी (भैरवी मन्दिरका पुजारी) धमिनीका साथै द्वारे (सरकारका प्रतिनिधि), कुमार, गणेश तथा गुठियारको व्यवस्था हँुदै आएको छ । चैत्रशुक्ल चतुर्दशी (यसपटक चैत २२ गते बुधबार) का दिन बेलुका कुमारीको हातबाट लिएको धामीको स्नान कार्यसँगै जात्रा मुख्य विधि सुरु हुन्छ । बन्दुक पड्केको विशेष साइतमा स्नान कार्य गरेपछि धामीलाई पोसाक पहिराइन्छ । सुनौला मुकुट, गहना, बाला, चाँदीको पेटी, डमरु पात्र, भोटो र जामा आदि वेशभूषामा धामी निकै भव्य र आकर्षक देखिन्छन् । त्यसपछि धामी आफ्नो निवासमा सगुन लिएर बाहिर निस्की दौडेर द्वारेको घरमा पुग्छन् । धामी दौडेको दृश्य रमाइलो र केही डरलाग्दो देखिन्छ । तान्त्रिक विधिद्वारा बज्राचार्यले मन्त्रोचारण गर्ने र तदनुसार गुठियारद्वारा धामीलाई पूजा गर्ने गरिन्छ र बज्राचार्यद्वारा धामी–धमिनीमा भैरवभैरवी चढाउने विधि गरिन्छ । यसप्रकार धामी–धमिनीमा देवीको रूप धारण भइसकेपछि काम्न थाल्दछन् । भैरवलाई चढाइएको महाबलिको जाँड पिउन धामी निकै डरलाग्दोसँग झम्टन्छन् । यसपछि मन्त्रोच्चारणका साथ बज्राचार्यले धामीलाई गाजल लगाइदिन्छन् । महाबलिको कार्य सम्पन्न भइसकेपछि बुढी भैरवी (देवी भैरवीको आमा) र भैरवी मन्दिरको पछाडि एक–एकवटा लिङ्गो गाड्ने गरिन्छ । लिङ्गो गाड्ने ठाउँ स्थायी छ, जुन लिङ्गोको लम्बाइअनुसार त्यति गहिरो छैन । पहिले लिङ्गो गाड्ने काम स्थानीय व्यक्तिबाट हुन्थ्यो । केही वर्षदेखि नेपाली सेनाद्वारा गाड्ने गरिएको छ । सामान्य बुद्घि लगाएर लिङ्गो गाड्न सकिँदैन । लिङ्गो गाड्ने बेलामा धामी खाल्टोसँगै भैरवीको रूपधारण गरी आसन जमाएर बसिरहनुपर्दछ । यो अवधि धामीका लागि कष्टकर हुन्छ । तर, भैरवीको शक्तिका कारण केही नहुने विश्वास गरिन्छ । यो लिङ्गो वैशाख कृष्ण नवमी (वैशाख १) र दशमी (वैशाख २) का दिन क्रमशः ढालिन्छ ।

चैत शुक्ल पूर्णिमाको दिन (चैत २३ गते बिहीबार) बिहान धामीलाई गणेशको घरमा भोज खुवाइन्छ । त्यसपछि द्वारेद्वारा धमिनीलाई साततले दरबारको बैठक कक्षमा वस्त्र प्रदान गरिन्छ । हाल साततले दरबार भूकम्पले क्षति पुगेर टेकोको भरमा अड्याएर राखिएकाले त्यस दरबारबाहिर प्रदान गरिने गरिएको छ । धामी, कुमार, गणेश र अन्य खलकीलाई पगरी (फेटा) दिइन्छ । जात्रा सकिएपछि गणेशलाई प्रदान गरिएको पगरी फिर्ता लिइन्छ । धामी–धमिनी आफ्नो निवासतर्फ लाग्छन् । केही बेरपछि विशेष बाजागाजा साथ धामी–धमिनी र गणलाई तलेजु मन्दिरतर्फ लगिन्छ । तलेजु भवानी भूकम्पले तहस–नहस बनाएपछि र बर्खाको पानीले ढलेको छ, यसले गर्दा बाहिर कटेज बनाएर राखिएको छ । त्यहाँ बज्राचार्यद्वारा आवश्यक पूजाआजा गर्ने कार्य सकिएपछि यो जात्रा भैरवी मन्दिरदेखि दक्षिण–पश्चिमपट्टि सूर्यकती र गण्डकीको संगमस्थल देवीघाट (जालपा मन्दिर)तर्फ प्रस्थान गर्दछन् । खटमा भैरवभैरवी र अष्टमातृकाका मूर्ति राखिएको हुन्छ । त्यो खटलाई लच्याङका तामाङले बोक्छन् । यो यात्रा धरमपानी, बट्टार, माझीटार र ठूलो बगैँचा हुँदै देवीघाटमा पु¥याइन्छ । भैरवीको बिर्तामा बसेको कुमालेले बाराही मन्दिरदेखि नै भव्य पूजाआजा तथा रथ बोक्ने कार्य गर्दछन् । देवीघाटमा बज्राचार्यद्वारा विशेष अनुष्ठान गरी राति धामीलाई राँगा, बोकाको भोग दिइन्छ । अन्त्यमा माछाको भोग दिइन्छ ।

देवता चढेका धामीबाट आउँदो सालको भविष्यवाणी हुन्छ । यो भविष्यबाणी सुन्ने अवसर गुभाजु, द्वारे, बाह्रभाइ खलक आदिलाई मात्र प्राप्त हुन्छ । उल्लेखनीय वाणीलाई पहिले राजदरबारमा द्वारे (महेन्द्रकुमार शाही)मार्फत पु¥याइन्थ्यो ।

हाल राष्ट्रप्रमुखसमक्ष पु¥याउने गरिन्छ । प्रतिपदाको दिन (२४ गते) देवीघाटको मेला सकिएपछि धामी–धमिनीलगायत अन्य गण बाजागाजासाथ रमाइलो यात्रा गर्दै नुवाकोट डाँडातर्फ लाग्छन् । 

माझीटार, बट्टार हँुदै नुवाकोटको धरमपानीमा पुगेपछि धामी–धमिनीको पूजा गरिन्छ र भोज खुवाइन्छ । भोलिपल्ट अथवा द्वितीयाको दिन (चैत २५ गते शनिबार) धरमपानीमा जिल्लाका सरकारी कार्यालय प्रमुखको उपस्थितिमा दुई सलामी (निशान झण्डा र भैरवी सलामी) बढाइँ दिइन्छ । त्यस्तै साततले दरबारअगाडि र तलेजु भवानीमा पनि सलामी बढाइँ गरिन्छ । बढाइँ सकिएपछि रथ उठाएर धामी–धमिनीको यात्राका साथ सैनिकको संलग्नतामा बन्दुकको आवाजमा बाजागाजासहित धुमधामसँग यात्रा गर्दै धरमपानीबाट तलेजु भवानीको मन्दिरतर्फ लागिन्छ । यो जात्रा देवी भैरवी मन्दिर दक्षिणतर्फ रहेको महिषासुर (दुर्गा) मन्दिरको अगाडि बज्राचार्यले विशेष पूजाआजा गरेपछि विजय उत्सवको रूपमा द्वारेले धमिनीलाई सिन्दूर हालिन्छ र यसले सिन्दूरे जात्राको रूप लिन्छ । किंवदन्तीअनुसार जालपादेवी (भैरवीको दिदी) आएको अवसरमा सिन्दूरे जात्रा गरी हर्षबढाइँ गरिएको मानिन्छ । विशेष लयमा नाच्दै रमाउँदै चिराग लिएर नाइकेको अनुमतिमा रथ उचालेपछि यात्रा तुलजा भवानीतर्फ लम्कन्छ । तुलजाकोे कार्यक्रम सकिएपछि त्यो समूह पुनः भैरवी स्थानतर्फ फर्कन्छ । 

रथलाई भैरवी मन्दिरको पछाडि डबलीमा राखेपछि धामी–धमिनी आफ्नो निवासमा भित्रिन्छन् । भोलिपल्ट अर्थात् (चैत २६ गते आइतबार) बिहान झिसमिसे हुँदा भैरवी मन्दिरको पछाडि राखिएको अष्टमातृकाको खटअगाडि डबलीमा धामीलाई सरकारी वकिलतर्फबाट दुईवटा राँगाको विशेष भोग खुवाइने गरिन्छ । यस अवसरमा बढाइँ गरिन्छ । देवताको रूप धारण गरेका धामीले राँगा, बोकाको रगत पिउँछन् । रगत पिउन धामी डरलाग्दो गरी झम्टन्छन् ।

वैशाख कृष्ण अष्टमीका दिन बाहिर खटमा रहेका देवीदेवताका मूर्तिलाई मन्दिरमा पुनस्र्थापना गरिन्छ । बाह्र भाइ खलकीद्वारा मन्दिरमा क्षमापूजा समापन भएपछि देवी जात्रा समाप्त हुन्छ । 

यसपछि पनि स–साना जात्रा भइरहन्छन् । देवी जात्रा तान्त्रिक विधिद्वारा मनुष्यमा दैवीशक्ति धारण गर्ने काम सफल भएको खुसियालीमा उत्सवको रूपमा मनाइने परम्परा छ । सिन्दूरेजात्रा कहिलेदेखि मनाउन थालिएको हो भन्ने यकिन प्रमाण भने भेटिएको छैन । धार्मिक, सांस्कृतिक, ऐतिहासिक, भौगोलिक हरेक दृष्टिले महत्वपूर्ण छ नुवाकोट । 

यहाँका अनेकौँ देवीदेवता, सांस्कृतिक रीतिरिवाज, कलात्मक मन्दिर, ऐतिहासिक गाथा, पुरातात्विक दरबार, प्राचीन वस्तु भूकम्पले ध्वस्त बनायो । तैपनि यी स्थल स्वदेशी तथा विदेशी पर्यटकको ध्यान तान्न अझै सक्षम छन् । देशकै सबैभन्दा लामो रथयात्रा मानिने पर्वमा स्थानीय सरकारले  बिदा नदिनु गैरजिम्मेवारी मान्ने पो हो कि ? यस पर्वबारे जानकारी गराउन भए पनि नगरपालिकाले सबै जनसमुदायलाई उपस्थित गराउन सार्वजनिक बिदा दिन चुकाउनुहुँदैनथ्यो । यसतर्फ स्थानीय सरकार तथा जनप्रतिनिधिले चासो दिनु जरुरी छ । देश र समाजको एकता र प्रगतिका लागि संस्कार र संस्कृतिलाई आत्मसात् गर्दै प्रवद्र्धन गर्न मद्दत मिल्छ ।

जथाभावी कोट्याउनु हुँदैन नाक

प्रा. डा. ढुण्डीराज पौडेल

नाक सफा गर्नुपर्छ ? नाकलाई स्वस्थ राख्न के गर्नुपर्छ ? यसबारे खासै हेक्का हुँदैन । बेलाबखत नाक बन्द हुँदा वा सास फेर्न असहज हुँदा मात्र हाम्रो ध्यान नाकतर्फ जान्छ । खासमा नाकको भित्री भागलाई सफा गर्न‘ जरुरी हुन्छ कि हुँदैन ? नाक बन्द भएको अवस्थामा के गर्ने ? नाकलाई कसरी स्वस्थ राख्ने ?

नाक शरीरको बाहिरी अंग हो, जसले बाह्य वातावरणसँग प्रत्यक्ष सरोकार राख्छ । वातावरणमा रहेको धुलोको कण, संक्रमण गर्ने विभिन्न भाइरस नाकमा प्रवेश गर्छन् । एलर्जी गर्ने ‘प्रोटिन’ कण पनि नाकको माध्यमबाट शरीरमा पुग्छ । धुलो, धुवाँ, संक्रमण गर्ने भाइरस र एलर्जी नाकको माध्यमबाट शरीरमा पुग्दा कसैलाई रोग लाग्छ र कसैलाई रोग लाग्दैन किन भन्ने प्रश्न पनि आउँछ । जो व्यक्तिमा रोगसँग लड्ने क्षमता कमजोर हुन्छ, नाक सुख्खा भइरहन्छ र एलर्जी भइरहन्छ । उनीहरूमा लामो समयसम्म रुघा लाग्ने, पिनास हुने, नाकको हड्डी बाङ्गो हुने जस्ता नाकको समस्या हुन्छ ।

हामी सामान्य रूपमा नाकबाट राम्ररी अक्सिजन लिइरहेका हुन्छौं । तर नाकमा कुनै समस्या भएको खण्डमा भने नाकबाट राम्ररी अक्सिजन लिन सक्दैनौं ।

सफा गर्नु पर्दैन

स्वस्थ व्यक्तिले नाकको भित्री भागलाई सफा गर्न‘ जरुरी छैन । कुनै रोग नलागेको अवस्थामा नाक, कान जस्ता अंग स्वतः सफा हुन्छ । तर नाकमा संक्रमण भयो, केही जमेर बस्यो र पिनास भयो भने मात्र सफा गर्नुपर्छ । नत्र सामान्य अवस्थामा सफा गर्नु पर्दैन ।

कोट्याउनु हुन्न

नाकलाई सफा र स्वास्थ राख्न जथाभावी कोट्याउन हुँदैन । अनावश्यक सफा गर्न‘ हुँदैन । धुलो र प्रदूषणबाट जोगिने, धुम्रपान नगर्ने, प्रदूषित ठाउँमा जानै परे मास्कको प्रयोग गर्नुपर्छ । प्रशस्त मात्रामा पानी पिउने र भिटामिन सीयुक्त खानेकुरा खानुपर्छ  । भिटामिन सी भएको खानेकुराले शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउन सहयोग गर्छ ।

नाक, मुख र घाँटीलाई चिसो राख्न पानी र धेरै तरल पदार्थ पिउने गर्न‘पर्छ । यसले ब्याक्टेरिया वा भाइरसको प्रवेश रोक्न सहयोग गर्छ । नाक, घाँटी सुक्खा हुँदा भाइरस वा ब्याक्टेरियाले आफूलाई वृद्धि गर्ने अवसर प्राप्त गर्छ । कुनै लक्षण क्रमशः बढ्दै गएको छ भने तुरुन्तै नजिकको चिकित्सकसँग परामर्श लिनुपर्छ ।

सुतेको बेला 

नाकको प्वाल पालैपालो कहिले दायाँ कहिले बायाँ खुल्ने हुन्छ । यो नाकको सामान्य चक्र हो । तर लामो समयसम्म एउटा नाक बन्द भइरहने, नाकबाट बाक्लो सिंगान आउने, टाउको दुख्ने र नाक दुख्ने हुन्छ भने नाकको रोगको लक्षण हुन सक्छ ।

रुघा लाग्दा  

रुघा लाग्ने भनेको भाइरल संक्रमणले हुने हो । भाइरल संक्रमण हुँदा नाकमा पानीको मात्रा बढेर नाक वरपरको कोष सुन्निन्छ र साँघुरिन्छ, जसले नाक बन्द हुन्छ ।

हड्डी बाङ्गो भए

जन्मने बेला पाठेघरको हड्डीमा नाक ठोक्कियो, नाकको विकास हुने क्रममा कतै ठोक्कियो वा बच्चाहरूमा खेल्दा लडेर नाकमा चोट लाग्यो भने नाकको हड्डी बाङ्गो हुन्छ । नाकको हड्डी बाङ्गो भएर वा बढेर नाकको प्वाल बन्द हुने र टाउको दुखिरहने भयो भने शल्यक्रिया गरेर बाङ्गो भएको हड्डीलाई सिधा बनाउनुपर्छ ।

(प्रा. डा. पौडेल नाक कान घाँटीरोग विशेषज्ञ हुन् । उनीसँग अनलाईन खबरका सुमित्रा लुइटेलले गरेको कुराकानीमा आधारित)

समाजवादीको विदुर अध्यक्षमा सजन


विदुर । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी नुवाकोटको विदुर नगर स्तरीय कार्यकर्ता भेलाले २५ सदस्यीय नगर कमिटी गठन गरेको छ । 

विदुर नगर कमिटीको आयोजनामा शनिवार भएको भेलाले विदुर नगर कमिटीको संयोजकमा सजनकुमार श्रेष्ठलाई चयन गरेको हो । पार्टी उपसचिव उद्वव पनेरुका अनुसार सहसंयोजकमा सुजना खतिवडा, सचिवमा दिपेशलाल चित्रकार र सहसचिवमा वर्षा चित्रकारलाई चयन गरेको छ । त्यस्तै, सदस्यहरूमा जीवन कुमाल, दिपक थापा, सविता श्रेष्ठ, हरिमाया तामाङ श्रेष्ठ, गौरी विक, राजु रिमाल, शंकर गजुरेल, साजन राई, गोपिनी केसी, बासु चित्रकार, अनिश्मा राई, सीता राई, सविता सडौला, कृति थापा, हरि गुरुङ, निर्जल राई, विनोद केसी, शारदा गजुरेल, सम्भव न्यौपाने, महेन्द्रलाल डंगोल छन् । 

कार्यक्रमका प्रमुख अतिथि केन्द्रीय उपमहासचिव गंगालाल तुलाधारले समाजवादी पार्टीलाई नुवाकोटको १२ वटै पालिकाहरूमा वडा कमिटी देखि पालिका किमिटी सम्मका सबै संगठन बिस्तार गर्दैलैजानका लागि सहयोग गर्न केन्द्रीय पार्टीले नुवाकोटमा खटाएको र पार्टीको निर्देशन अनुसार सबै भातृसंगठन बनाएर जाने प्रतिवद्वता व्यक्त गरे । उनले संगठनमा आवद्ध सदस्यहरूले पार्टीका हरेक मोर्चामा आफूलाई दरिलो र तर्कसंगत रुपमा टोल र बस्तिहरूमा समाजवादको नारा लिएर जान निर्देशन दिए । तुलाधारले भने – ‘एकीकृत समाजवादी र समाजवादका विषयमा पशिक्षण कार्यकर्तामा दिएर समाजवाद किन चाहिन्छ भन्ने परिभाषा नागरिकहरू माझँ परामर्श दिनुआजको मुख्य आवश्यकता रहेको छ ।’

कार्यक्रममा नेकपा एकीकृत समाजवादी पार्टी इन्चार्ज राजेन्द्रप्रसाद लोहनी, केन्द्रीय परिषद सदस्य सुर्यबहादुर कँडेल, पार्टी अध्यक्ष गोबिन्द नेपाली, केन्द्रीय निर्वाचन आयोगका सदस्य शसन्त बस्नेत, केन्द्रीय परिषद सदस्य यमकुमार खाती, कृष्णप्रसाद दाहाल प्रदेश कमिटी सदस्य राजु सडौला, पार्टी सचिव पदम उप्रेती, जिल्ला कमिटी सचिवालय सदस्य प्रकाश नेपाल, नेपाल खेलकुद महासंघ समाजवादी बागमती प्रदेश कमिटी अध्यक्ष उत्तम श्रेष्ठ, युवासंघ नेपाल नुवाकोटका अध्यक्ष सुरेश अधिकारी, समाजवादी प्रेस संगठन नुवाकोटका अध्यक्ष जमुना गजुरेल लगाएतको उपस्थिति रहेको थियो ।

यसै बीच, उक्त कार्यक्रममा नेकपा एमाले बेलकोटगढी नगरपालिका नगर कमिटी सदस्य सोमप्रसाद भट्टले एमाले पार्टी परित्याग गर्दै एकीकृत समाजवादीमा समाहित भएका छन् । 

महिला संघ समाजवादीमा शान्ता


विदुर । अखिल नेपाल महिला संघ (समाजवादी) नुवाकोटको जिल्ला अधिवेशन आयोजक भेलाले ५१ सदस्यीय सहितको पदाधिकारी चयन गरेको छ ।

विदुरमा भएको भेलाबाट संघको संयोजकमा शान्ता थापा अधिकारी र सचिवमा जमुना गजुरेललाई चयन गरेको छ । सदस्यहरूमा ईश्वरी नेपाल, नानीमैया बस्नेत, शर्मिला राई, सुजना खतिवडा, चम्पा तामाङ, संस्कृति बिश्वकर्मा, बिविना लामिछाने लगायत अन्य ४२ सदस्यहरू चयन भएका छन् । 

भेलालाई सम्बोधन गर्दै नेकपा एकीकृत समाजवादी पार्टी नुवाकोटका जिल्ला इञ्चार्च राजेन्द्रप्रसाद लोहनीले महिलालाई घरदेखि वडा, पालिका हुदैं सदनसम्म पुर्याउन पार्टीगत या संगठनका रुपमा सबैले एक्यबद्धता जनाउनुपर्ने बताए । केन्द्रीय परिषद सदस्य सुर्यबहादुर कँडेलले महिला संगठन पार्टीको मात्र नभई हरेक महिलाको हक, अधिकारको ओकालत गर्न सक्षम हुनुपर्ने बताए ।

नर्वाचितको सम्मान


विदुर । नेपाल खेलकुद महासंघ समाजवादी जिल्ला कमिटीले स्वतन्त्र विद्यार्थी यूनियनमा निर्वाचित चार विद्यार्थी नेतालाई सम्मान गरेको छ । खेलकुद महासंघले अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन अनेरास्ववियूको तर्फबाट नुवाकोट आदर्श बहुमुखी क्याम्पस नुवाकोटको स्ववियु निर्वाचनमा निर्वाचित भएका तीन जनालाई सम्मान गरेको महासंघका अध्यक्ष रामकाजी दीक्षितले जानकारी दिए । सम्मानित हुनेमा स्ववियुका कोषाध्यक्ष मनोज पौडेल र सदस्यहरू सन्जिता रिमाल र प्रदिप ढुङ्गाना रहेका छन् ।

यसैगरी खेलकुद महासंघले शंकरदेव क्याम्पसको स्ववियुको सदस्य पदमा निर्वाचित नुवाकोटकी बिबिना लामिछानेलाई सम्मान गरेको छ । नवनिर्वाचित विद्यार्थी नेताहरूलाई नेकपा एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य एवम् पूर्व सांसद राजेन्द्रप्रकाश लोहनी, नेकपा एकीकृत समाजवादी नुवाकोटका सचिव पदम उप्रेती, जिल्ला युवा समितिका अध्यक्ष उद्धव पनेरुलगायतले संयूक्तरुपमा खादा लगाई सम्मान–पत्रले सम्मान गरेको छ ।

सशस्त्रको आधारभूत तालिम


ककनी । नुवाकोटमा सशस्त्र प्रहरी जवानको आधारभूत तालिम समापन भएको छ । ककनी गाउँपालिका–५ स्थित सशस्त्र प्रहरी बल यूएन शान्ति स्थापना तालिम शिक्षालयमा यही वैशाख १४ गतेदेखि सञ्चालित तालिम शुक्रबार समापन गरिएको हो । 

सशस्त्र प्रहरी जवान आधारभूत तालिमको दीक्षान्त कवाच समापन कार्यक्रममा राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक तथा सशस्त्र प्रहरीका डीआईजी अभिकुमार खत्री उपस्थित थिए । उनले नेपाली जनताको जीउधन, स्वतन्त्रता रक्षाका लागि कटिबद्ध रहेको बताए । ‘नेपाल, नेपाली जनताको जीउधन, स्वतन्त्रता रक्षाका लागि पेसागत दक्षता र मानवअधिकार सम्मान सम्बर्द्धन गर्दै कार्यान्वयनको पूर्ण जिम्मेवारीका साथ कार्य गर्नुपर्ने छ,’ उनले भने । परिस्थितिअनुसार उच्च मनोबलका साथ कार्य क्षेत्रमा खटिन उनले  निर्देशन दिए ।

आधारभूत तालिममा ९३ मध्ये ८५ जना प्रशिक्षार्थीहरू मात्र सहभागी थिए । ३४ हप्ता प्रशिक्षण अवधि रहेकोमा पहिलो चरणमा १७ हप्ता र दोस्रो चरणमा १७ हप्ता गरी दुई चरणमा सञ्चालन भयो ।

तालिमप्राप्त जवानलाई डीआईजी खत्री, सशस्त्र प्रहरी बल यूएन शान्ति स्थापना तालिम शिक्षालयका प्रमुख एसएसपी कृष्ण ढकाल, प्रमुख जिल्ला अधिकारी किरण थापा, जिल्ला प्रहरी कार्यालयका एपी रमेश पण्डितले जवानलाई दज्र्यानी चिह्न लगाइदिएका थिए । धादिङ ज्वालामुखी गाउँपालिका–६ का नवीन श्रेष्ठलाई डीआईजी खत्रीले सुरुमा खुकुरी प्रदान गरेका थिए ।

लेखापढी अध्यक्षमा उत्तमराज


विदुर । नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसन नुवाकोटको अध्यक्षमा उत्तमराज पाण्डे निर्विरोध निर्वाचित भएका छन् ।

गएको शनिबार विदुरमा भएको एसोसिएसनको ८ औं अधिवेशनबाट पाण्डेको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति गठन भएको छ । समितिको उपाध्यक्षमा राजेन्द्र पाण्डे, सचिवमा रुकबहादुर हमाल, सहसचिवमा श्यामराज पाण्डे, कोषाध्यक्षमा शुसिला वाइबा तामाङ र सहकोषाध्यक्षमा नितु थापा शाह निर्वाचित भएका छन् ।

कार्यसमितिका सदस्यहरूमा तोयानाथ गजुरेल, गोविन्द चालिसे, सृजना तामाङ, माधव सिलवाल, सुरेन्द्र श्रेष्ठ, राजेन्द्रप्रसाद पाण्डे र नारायण पौडेल रहेका छन् । 

कार्यक्रममा जिल्ला न्यायाधीश मदनबहादुर धामिले सेवाग्राहीको अवस्था र मर्मलाई बुझेर सहजीकरण गर्ने र निस्वार्थ भावनाले आफ्नो जिम्मेवारी पुरा गर्न‘पर्नेमा जोड दिएका छन् । साथै नयाँ कार्यसमितिले प्रविधि मैत्रीपूर्ण, समय सापेक्ष प्रशिक्षणमूलक कार्यक्रमहरू आयोजना गरी सेवाग्राहीलाई सरल छिटोछरितो ढङ्गले कार्यसम्पादन गर्न शुभकामना व्यक्त गरेका छन् ।

सात स्थानीय तहले जग्गा वर्गीकरण गरेनन्

विदुर । नुवाकोटको सात वडा स्थानीय तहहरूले अहिलेसम्म जग्गाको बर्गीकरण गर्न सकेका छैनन् । तोकिएको म्याद नाघेको तीन महिना बितिसक्दा पनि जिल्लाका विदुर नगरपालिका, म्यागङ, किस्पाङ, शिवपुरी र तारकेश्वर गाउँपालिका बाहेकका स्थानीय तहले जग्गाको बर्गीकरण गर्न नसकेका हुन् । 

ती पालिकामा जग्गाको वर्गीकरण भूउपयोग नियमावलीअनुसार वर्गीकरण गरेर मालपोत कार्यालय पठाएपछि अहिले जग्गाको कित्ताकाटको काम खुला भएको छ । गत वर्ष ०७८ जेठ महिनाको अन्तिम साता सरकारले भूउपयोग ऐन र नियमावली जारी गरेको थियो । उक्त नियमावलीअनुसार स्थानीय तहलाई जग्गा वर्गीकरण गर्न गत पुस २२ गतेसम्म समय–सीमा दिएको थियो । भूउपयोग ऐन र नियमावलीअनुसार जग्गाको वर्गीकरण गरेर मात्र बेचबिखन गर्नुपर्ने व्यवस्था रहेको थियो । यसको निम्ति कृषि र गैरकृषियोग्य जग्गालगायत १० विभिन्न क्षेत्रमा जग्गाको वर्गीकरणलाई नियमावलीले अनिवार्य गरेको छ । वर्गीकरणको आधारमा मात्र अंशबन्डा, किनबेच साथै कित्ताकाटको काम गर्न सकिने नियमावलीमा उल्लेख छ । 

सात वटा स्थानीय तहले जग्गाको वर्गीकरण नगरेको कारण जग्गाको कित्ताकाट रोकिएको मालपोत कार्यालयले नुवाकोटले जनाएको छ । पटक–पटक ताकेता गरिरहँदा पनि जिल्लाको आठवटा स्थानीय तहले आफ्नो क्षेत्रको जग्गा वर्गीकरण गर्न नसकेको मालपोत कार्यालय नुवाकोटले जनाएको छ । 

सरकारले दिएको छ महिना जग्गा वर्गीकरण गर्ने समयसीमालाई नुवाकोटका पाँच स्थानीय तहले कार्यान्वयनमा ल्याएपनि अझै सात स्थानीय तहमा जग्गाको कित्ताकाट नहुँदा किनबेच, अंशबन्डा गर्न स्थानीयले पाएका छैनन् । पालिकाले जग्गाको वर्गीकरण नगर्दा सर्वसाधारणलाई मर्का परिरहेको छ भने सरकारको राजस्वमा समेत प्रभाव परेको छ ।

कृषि र गैरकृषि भूमि वर्गीकरण गर्न नसक्दा जिल्लाको ककनी, तादी, लिखु, पञ्चकन्या, सूर्यगढी, दुप्चेश्वर गाउँपालिका र बेलकोटगढी नगरपालिकामा कित्ताकाट ठप्प हुन पुगेको छ । दायित्व र जिम्मेवारीलाई ख्याल नगर्दा जिल्लाका आठ पालिकाका जनतालाई मर्का परिरहेको छ । नियमावलीमा नै जग्गाको वर्गीकरणको अधिकार स्थानीय सरकारलाई तोकिएको भए पनि नुवाकोटका सात पालिकाले अझै महत्व नदिँदा आमजनताको धरायसी व्यवहारमा प्रतिकूल प्रभाव परिरहेको छ । भूउपयोग नियमावलीमा भूमिलाई कृषि क्षेत्र, आवासीय क्षेत्र, व्यावसायिक क्षेत्र, औद्योगिक क्षेत्र, खानी तथा खनिज क्षेत्र, वन क्षेत्र, नदी, खोला, ताल, सिमसार क्षेत्र, सार्वजनिक उपयोगको क्षेत्र, सांस्कृतिक तथा पुरातात्विक महत्वको क्षेत्र, नेपाल सरकारबाट आवश्यकताअनुसार तोकिएका वा अन्य क्षेत्र भनी १० प्रकारमा वर्गीकरण गर्न‘पर्ने व्यवस्था गरिएको छ । 

नुवाकोटको सात स्थानीय तह सहित देशभरिका झण्डै ६ सय स्थानीय तहले जग्गाको वर्गीकरण टुङ्गयाउन सकेका छैनन् । देशभरका सात सय ५३ वटै पालिकाले गत मङ्सिर २३ गतेसम्म आफ्नो क्षेत्रको जग्गालाई कम्तीमा कृषि र गैरकृषि क्षेत्रमा वर्गीकरण गरिसक्नुपर्ने थियो । सरकारले भूउपयोग नियमावली, २०७९ जारी गरेको नौ महिना भइसक्दा पनि करिब ८० प्रतिशत पालिकाले जग्गा वर्गीकरणमा अलमल गरिरहेको विभागको विवरणले देखाउँछ । जग्गा वर्गीकरण नटुङ्गिँदा देशभर कित्ताकाट पनि ठप्प छ । 

स्थानीय तहले भूउपयोग ऐन, २०७६ र भूउपयोग नियमावली, २०७९ ले तोकेको मापदण्डका आधारमा कृषि र गैरकृषि क्षेत्रमा वर्गीकरण गरी सिफारिस नगरेको जग्गा कित्ताकाट गर्न नपाउने निर्णय गरी परिपत्र भएको थियो । नियमावलीमा भूमिलाई विभिन्न १० प्रकारमा वर्गीकरण गर्नुपर्ने व्यवस्था छ । तर, तत्काललाई कृषि र गैरकृषि भूमि वर्गीकरण गरेर कित्ताकाट खुलाउने तयारी थियो । २३ मङ्सिरभित्र कृषि र गैरकृषि भूमि वर्गीकरण गर्नुपर्नेमा ८० प्रतिशत स्थानीय तहले अहिलेसम्म वर्गीकरण टुङ्ग्याउन सकेका छैनन् ।

२०७९ साल चैत २७ गतेको सम्पादकीय

जग्गा बर्गीकरणमा किन उदाशिनता ?

सधैँजसो भरिभराउ हुने जिल्ला मालपोत कार्यालय नौं÷दश महिनादेखि सुनसानजस्तै बनेको छ । कार्यालयमा सेवाग्राही घट्नुको कारण संघीय सरकारले ल्याएको ‘भू–उपयोग नियमावली २०७९’ रहेको छ । भू–उपयोग नियमावली राजपत्रमा प्रकाशित भएको महिनौ बितिसक्दा पनि नुवाकोटका सात वटा स्थानीय तहमा कार्यान्वयनमा आएको छैन । यो कार्यान्वयनमा नआउँदा जग्गाको कित्ताकाट र रजिस्ट्रेसन तथा दृष्टिबन्धक पास गर्ने काम भएको छैन । सिङ्गै कित्ताको नामसारी र बैंक रोक्काबाहेक अरु काम नहुँदा सर्वसाधारण मर्कामा परेका छन् । नुवाकोटका पाँच वटा स्थानीय तहमा मात्रै यो कार्यान्वयन भएको छ । बाँकी रहेका स्थानीय तहले जग्गाको वर्गीकरणको काम थालेका छैनन् । स्थानीय तहको ढिलासुस्तीले ऐन कार्यान्वयनमा आउन ढिलाइ भएको हो । भूमिको वर्गीकरण, समुचित उपयोग र प्रभावकारी व्यवस्थापनका लागि बनेको ‘भू–उपयोग ऐन २०७६’ कार्यान्वयनमा गराउन सरकारले जेठ २३ गते ‘भू–उपयोग नियमावली–२०७९’ जारीगरेको थियो । तर स्थानीय तहहरूले भने सरकारले बनाएको ऐन, नियमावली नै वैज्ञानिक नभएको जनाउँदै आलटाल गरिरहेका छन् । 

भू–उपयोग क्षेत्र तथा भू–उपयोग योजना तर्जुमा तथा कार्यान्वयनका लागि प्रत्येक स्थानीय तहमा एक स्थानीय भू–उपयोग परिषद् बनाउनुपर्ने प्रावधान छ । नापी विभागले तयार गरेको भू–उपयोग तथ्याङ्क तथा स्थानीय आवश्यकता हेरेर स्थानीय सरकारले जग्गालाई १० किसिमबाट वर्गीकरण गर्ने व्यवस्था नियामवलीमा छ । नापी विभागले यसअघि नै सबै स्थानीय तहलाई भू–उपयोग डाटा उपलब्ध गरिसेकेको छ । जग्गालाई १० किसिमबाट वर्गीकरण गर्न गाउँपालिका भए गाउँपालिका अध्यक्ष तथा नगरपालिका भए नगरपालिकाका प्रमुखको संयोजकत्वमा भू–उपयोग परिषद् गठन गर्ने व्यवस्था गरिएको छ । काम सुरु नै गर्न नसक्दा मालपोत र नापी कार्यालयको काम ठप्पजस्तै छ । दैनिक सयौंको संख्यामा रजिस्ट्रेशन पास र दृष्टिबन्धक पास हुँदै आएकामा अहिले छिटफुट मात्रै काम हुने गरेको छ । जग्गा रजिस्ट्रेशन र कित्ताकाटबाट उठ्ने राजस्वमा पनि परेको छ । गत आवको साउनमा भन्दा यो आवको साउनमा राजस्व संकलनमा पनि झण्डै ७० प्रतिशतले गिरावट आएको छ । जग्गा कित्ताकाट नभएपछि अंशवण्डा, वैदेशिक रोजगारीमा जाने र जग्गा किनबेच गर्नेहरूका लागि सबैभन्दा ठूलो समस्या भएको छ । जग्गा बेचेरै र दृष्टिबन्धक राखेरै घर चलाउने वर्गका सर्वसाधारण प्रत्यक्ष मारमा परेका छन् भने राजस्वसमेत गुम्दै गएको छ ।

भू–उपयोग नियमावलीमा जग्गालाई १० किसिमबाट वर्गीकरण गर्ने व्यवस्था गरिएको छ । एउटा प्रयोजनमा वर्गीकरण गरिएको जग्गा अर्काे प्रयोजनबाट उपयोग गर्न नपाउने व्यवस्था नियमावलीमा गरिएको छ । नियमावलीअनुसार कृषि प्रयोजनका लागि उल्लेख गरिएको जग्गा आवासीय तथा अन्य प्रयोजनमा प्रयोग गर्न पाइँदैन । निययमावलीमा जग्गालाई कृषि, आवासीय, व्यावसायिक, औद्योगिक, खानी तथा खनिज क्षेत्र, वन क्षेत्र, नदीनाला ताला सिमसार क्षेत्र, सार्वजनिक उपयोग क्षेत्र, सांस्कृतिक तथा पुरातात्विक महत्वको क्षेत्र तथा नेपाल सरकारको आवश्यकतानुसार तोकिएको अन्य क्षेत्र गरी १० किसिमबाट वर्गीकरण गर्ने व्यवस्था गरिएको छ । व्यवस्थाअनुसार आवासीय क्षेत्र भनी लालपुर्जामा उल्लेख गरिएको कित्तामा मात्र घर निर्माण गर्न पाइनेछ । नियमावलीअनुसार आवासबाहेक अन्य विवरण लेखिएको कित्तामा कसैले घर बनाउन चाहेमा स्थानीय सरकारले नक्सापासका लागि अनुमति दिने छैन । यसैगरी कृषि भनी उल्लेख गरिएको जग्गामा कृषि प्रयोजनबाहेक अन्य कुनै प्रयोजनमा प्रयोग गर्न सकिने छैन । 

भूउपयोग परिषद्ले स्थानीय भूउपयोग योजना स्वीकृत गर्ने, भूमिसम्बन्धी लगत सङ्कलन, विश्लेषण र उपयोग गर्ने, नक्सा अद्यावधिक गराउने, भूउपयोग उपक्षेत्र वर्गीकरण गर्ने, भूउपयोग योजना कार्यान्वयनका प्रक्रिया र मापदण्ड तयार गरी लागू गर्ने, भूउपयोगसम्बन्धी आवश्यक नीति तर्ज‘मा गरी पारित गर्ने अधिकार परिषद्लाई नै दिएको छ । जग्गाधनी प्रमाणपुर्जा अद्यावधिक गर्नेछ । लालपुर्जामा उक्त जग्गा कस्तो हो भनी वर्गीकरण गरी अद्यावधिक गरिने छ । एउटा वर्गीकरणमा परेकाको जग्गा अर्काे प्रयोजनमा प्रयोग गर्न‘परेमा आधार र कारण खुलाइ निवेदन पेश गर्न‘पर्नेछ । स्थानीय तहले भू–बनोट, भूमिको क्षमता र उपयुक्तता, उपयोग र आवश्यकताका आधारमा जग्गाको वर्गीकरण गर्न‘पर्नेछ । कृषियोग्य जमिनलाई उपत्यकामा पाँच सय वर्गमिटर (करिब १५ आना ३ पैसा) भन्दा सानो हुने गरी टुक्क्र्याउन पाइने छैन । तराई र भित्री मधेसमा ६७५ वर्गमिटर (करिब दुई कठ्ठा) को सीमा तोकिएको छ । अन्यत्र एक हजार वर्गमिटर (एक रोपनी १५ आना)को नियम बनाइएको छ । आवासीय क्षेत्रका लागि १३० वर्गमिटर (करिब चार आना डेढ दाम)भन्दा कम हुने गरी टुक्र्याउन मिल्ने छैन ।

जति छिटो स्थानीय तहले काम गर्न सक्यो, त्यति नै छिटो कित्ताकाटको काम सुरु हुन्छ । तर, स्थानीय सरकार नतातेसम्म कर्मचारीले केही गर्न सक्दैनन् । संघीय सरकारले भूमिको समुचित उपयोग तथा सार्वजनिक हित समेतलाई ध्यानमा राखी नेपालको सबै क्षेत्रमा भू–उपयोग कार्यक्रम सञ्चालन गर्ने भने पनि स्थानीय तहकै बेवास्ताले ढिलाइ भएको हो । नियमावलीले व्यवस्था गरेअनुसार जग्गा वर्गीकरण गर्न त्यत्ति सजिलो त छैन । तर लामो समयसम्म कित्ताकाटको काम रोकियो भने सर्वसाधारण भड्किन सक्छन् र त्यसले नकारात्मक रूप लिन सक्छ । अब यो नौं महिनाभन्दा बढी ढिला नगरौं । 

२०७९ साल चैत २७ गते । वर्ष:१६ अंक:२५