प्रकाशक : कपिलदेव खनाल, सम्पादक : शर्मिला उप्रेती, सह–सम्पादक : सुजित भण्डारी, प्रमुख समाचारदाता : प्रितिका थापा, कार्यालय : विदुर नपा– ४ विदुर नुवाकोट, फोन नं. ०१०५६१६७८,९८५१०९३२९० email : imageweekly@gmail.com
Monday, April 17, 2023
नुवाकोट उद्योग बाणिज्य संघ
![]() |
बाँयाँबाट क्रमश : नुवाकोट उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष गीता अमात्य, प्रथम उपाध्यक्ष राजेन्द्र श्रेष्ठ र द्धितिय उपाध्यक्ष सन्तोष उप्रेती |
विदुर । बैशाख ८ गतेबाट सुरु हुने नुवाकोट उद्योग बाणिज्य संघको १८ औं बार्षिक साधारणसभा तथा ११ औं अधिबेशनमा काँग्रेसभित्र विभाजन देखा परेको छ ।
अधिबेशनले आगामी तीनबर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्ने छ । त्यसका लागि भोली मंगलवार उम्मेदवारी मनोनयन गर्ने कार्यक्रम रहेकाले भएकाले व्यवसायी नेताहरू नेतृत्व चयनको दौडधुपमा लागिसकेका छन् ।
बिगतमा काँग्रेस र एमाले निकट व्यवसायीहरूबीच नेतृत्वका लागि प्रतिस्पर्धा हुने गरेको भएपनि यसपटक काँग्रेसबीचमै प्रतिस्र्धाको सम्भावना छ आपसमै प्रतिस्पर्धा हुने भएपछि काँग्रेस निकट व्यवसायीहरूले पार्टीका केन्द्र देखि जिल्ला तहका नेताहरूलाई आफ्नो पक्षमा देखाउने कसरत समेत सुरु गरिसकेका छन् ।
हालका बरिष्ठ उपाध्यक्ष गीता अमात्य र प्रथम उपाध्यक्ष राजेन्द्र श्रेष्ठबीच प्रतिस्पर्धा हुने देखिएको छ । अमात्य र श्रेष्ठ नेपाली काँग्रेसको एउटै समूहमा भएपनि पार्टी भित्र दुईवटा धार देखापरेको छ । अमात्यलाई अर्थमन्त्री डा. प्रकाशशरण महत र बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बहादुरसिंह लामाको समर्थन रहेको छ । जिल्ला सभापति रमेशकुमार महत एकमात्र उम्मेदवार बनाएर जानुपर्ने पक्षमा रहेपनि पार्टीको आन्तरिक समिकरणको प्रभाव बाणिज्य संघमा देखिएका कारण निर्वाचनको बिकल्प देखिएको छैन । विदुरका मेयर राजन श्रेष्ठले महत–लामा समुहमा रहेर काँग्रेस भित्र राजनीति गर्न थालेका भएपनि उनले अध्यक्षको उम्मेदवारमा राजेन्द्र श्रेष्ठलाई अगाडी सारेका छन् । काँग्रेस जिल्ला सभापति महतले समेत श्रेष्ठलाई समर्थन गर्ने सम्भावना बढी देखिएको छ । उता, आफू निकटकाहरूको सम्मानजनक उपस्थिती खोजिरहेको अर्जुननरसिंह केसीसमूहको निर्णय संघको निर्वाचनमा निर्णायक हुने अवस्था बन्दै गएको छ । केसी समुहबाट हालका द्धितिय उपाध्यक्ष सन्तोष उप्रेतीले नेतृत्व गर्नेछन् । श्रोतका अनुसार उप्रेतीलाई बरिष्ठ उाध्यक्षमा राख्ने कसरत भइरहेको छ । उनले श्रेष्ठ समुहसंग बढी निकट रहेर छलफल चलाइरहेका छन् ।
संघको प्रथम उपाध्यक्ष, द्वितिय उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष र प्रबक्ता पदमा कृष्ण अधिकारी, उपेन्द्र बुढाथोकी, दिनेशकुमार श्रेष्ठ, सबिन राजभण्डारी, उद्धव पन्त, मधुसुदन थपलिया, हरिशरण रिमाल, निरज खड्गी, राजकुमार आचार्य, बिष्णु प्याकुरेल, मेघनाथ घिमिरे, सुमन भण्डारी लगायतको नाम चर्चामा रहेको छ । नुवाकोट उद्योग बाणिज्य संघमा करिब एकहजार तीनसय मतदाता छन् । संघको निर्वाचनमा काँग्रेस बाहेकका सबै व्यवसायी एक पक्षमा उभिएपनि काँग्रेसले नै जित्ने पक्का भएकै कारण अन्य दलमा आवश्यक व्यवसायीहरू समेत काँग्रेसभित्र विभाजन चाहिरहेका छन् ।
काँग्रेसले सत्तारुढ दल माओवादी केन्द्र, एकीकृत समाजवादी लगायतका दलका व्यवसायीहरूलाई मिलाएर साझा टिम बनाउने बारेमा समेत आइतवार साँझबाट छलफल थालेको नुवाकोट काँग्रेसका उपसभापति राजु थापाले जानकारी दिएका छन् ।
एमालेले संघको आशन्न निर्वाचनलाई कसरी ‘फेस’ गर्छ भन्ने अनुमान अहिले गर्न सकिएको छैन । काँग्रेस नेतृत्वमा सर्वसम्मत हुन नदिने र हार्ने नै भएपनि अध्यक्ष सहितको महत्वपूर्ण केही पदमा चुनवा गराउने रणनीति एमालेले लिने बताइएको छ । संघको चुनावको विषयमा एमाले नुवाकोटले कुनै आधिकारिक धारणा सार्वजनिक गरेको छैन ।
केन्द्रीय कारागार निर्माण सुस्त
![]() |
नुवाकोटमा निर्माण भइरहेको केन्द्रीय कारागार |
विदुर । सरकारले केन्द्रीय कारागार निर्माणका लागि छैटौं पटक म्याद थप्दा पनि भौतिक प्रगति ८० प्रतिशत मात्र भएको छ । विदुर नगरपालिका–६ स्थित चण्डीपोखरीमा कारागार बनिरहेको छ । यहाँ बन्दीगृह, डाइनिङ, वर्कसप, सुरक्षा, शौचालय, अस्पताल, विद्यालय र कार्यालय गरी जम्मा ३० वटा भवनहरू छन् । त्यसमा सुरक्षा निकायका लागि ४ र कार्यालय सञ्चालनका लागि एक निर्माण भइरहेको छ ।
कारागारको क्षमता १३ हजार कैदीबन्दी अटाउने छ । केन्द्रीय कारागार निर्माणका लागि ६२० रोपनी जग्गा कारागार व्यवस्थापन विभागको नाममा स्वामित्व हस्तान्तरण गरी सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय धादिङमार्फत निर्माण भइरहेको हो । ‘आधुनिक कारागार भवनभित्र बिजुली लाइनका लागि वायरिङको काम भइरहेको छ,’ आयोजनाका सबइन्जिनियर अजय भट्टराईले भने, ‘कहीं खापा हाल्न काठको काम भइरहेको छ । सेन्ट्री पोस्टको काम थालिए पनि अहिले रोकिएको छ ।’
पहिलो चरणमा ०७१/७२ मा २ करोड ५ लाख ७ हजार रुपैयाँमा वरिपरि पर्खाल लगाइएको थियो । दोस्रो चरणको निर्माण सम्झौता २०७३ असोज ३० मा भएको हो । ८० करोड रुपैयाँ लागतमा ठेक्का सम्झौता घटाघटमा ४२ करोड ३१ लाख रुपैयाँ लामा र रमण जेभीले सकारेको थियो । उक्त ठेक्कामा १० वटा कैदीबन्दी बस्ने भवन, ५ वटा वर्कशप, ५ वटा शौचालय, ५ वटा भान्सा, सशस्त्र र नेपाल प्रहरीका लागि २ वटा भान्सा, छात्रवास, जेलरका लागि एउटा प्रशासनिक भवन गरी जम्मा ३० वटा भवन बनाउनुपर्ने सम्झौता छ । त्यसमध्ये १० सेन्ट्री पोस्ट, सेक्युरिटी वाल, ट्यांकी, सेप्टिक ट्यांकी सक्रिट रहेको सबइन्जिनियर भट्टराईले बताए । निर्माणाधीन भवनका छतका प्लास्टर उप्किन थालेका छन् भने प्रयोग गरिएको बालुवा पाँगोमाटोयुक्त छ ।
२०७७ सालदेखि १५ सय कैदीबन्दी नवनिर्मित भवनमा सार्ने भनिएको थियो । कारागारमा कैदीबन्दीलाई विशेषज्ञसहित स्वास्थ्य सेवा, पार्क, सुधारगृह, विद्यालय, पुस्तकालय, सीप केन्द्र, खेल मैदानलगायतको सुविधा रहनेछ । ‘३ वर्षमा सिध्याउनुपर्ने ठेक्का हो,’ सबइन्जिनियर भट्टराईले भने, ‘अझै सकिएको छैन ।’ प्रमुख जिल्ला अधिकारी किरण थापाले निर्माणस्थलको अनुगमन गर्दै कैदीबन्दीलाई स्थानान्तरण गर्न पाए सहज हुने उनले बताए । राजधानीको चाप घटाउन र सुविधायुक्त जेलका लागि २०७० चैत २० गते बसेको मन्त्रिपरिषद्को बैठकले नुवाकोटमा कारागार सार्ने निर्णय गरेको थियो ।
केन्द्रीय कारागारका लागि अर्को ४ अर्ब ९७ करोडको लगत इस्टिमेट भएको छ । त्यसमा अहिले निर्माण भइरहेकाबाहेक कैदीबन्दीका लागि थप ३ वटा ब्लक बन्नेछन् । त्यसमा कैदीबन्दीका लागि ३० वटा भवन, १५ वर्कसप, १५ शौचालय, १५ डायनिङ, आन्तरिक बाटो २.७ किमि बाटो, ५० शैयाको अस्पताल, स्कुल भवन, सशस्त्र र नेपाल प्रहरीको भवन, सशस्त्रको डीएसपी र इन्स्पेक्टरको छुट्टै भवन हुनेछ भने नेपाल प्रहरीको डीएसपी र इन्स्पेक्टर बस्ने एउटै भवन हुनेछ । डाक्टर र कर्मचारीको १/१ आवास भवन, नेपाल प्रहरी र सशस्त्रको पुरुष तथा महिलाका लागि छुट्टै ब्यारेक भवन बन्नेछ । सशस्त्रका लागि थप ५ वटा बन्नेछ । नेपाल प्रहरीको पुरुष र महिलाका लागि १/१ ब्यारेक हुनेछ । बाहिरको वालमा फिनिसिङ वाल लगाएर घुमाउरो तार लगाई पूरै कारागार घेरिने भट्टराईले बताए । अब ३ वर्षको अवधिमा निर्माण सम्पन्न गर्नुपर्ने छ । टेन्डर भई मूल्यांकनको चरणमा रहेको आयोजनाले जनाएको छ ।
जिल्ला प्रशासनमै कर्मचारी छैनन्
विदुर । जिल्ला प्रशासन कार्यालय नुवाकोट र इलाका प्रशासन कार्यालय सानविसेमा दरबन्दीअनुसारको कर्मचारी नहुँदा सेवा प्रवाह प्रभावित भएको छ । दरबन्दी छ, कर्मचारी नहुँदा सेवा प्रवाहको चाप थेग्न प्रशासन कार्यालयलाई सकस भईरहेको हो ।
प्रशासन कार्यालयमा ७ जना नायव सुब्बाको दरबन्दी भएपनि ३ जना मात्र कार्यरत रहेका छन् । तिनजनामध्ये एकजना नायव सुब्बाको सरूवा भईसकेको छ । पाँचजना नायव सुब्बा खाली छ । दरबन्दीअनुसारको चारजना खरिदार हुनुपर्नेमा अहिले एकजना मात्र कार्यरत रहेका छन् । सिमित कर्मचारीबाट सेवा दिनुपरेकोले सेवाग्राहीलाई घण्टौं लाम बस्नु परिरहेको छ । जिल्ला प्रशासन कार्यालयमा काम र जिम्मेवारी थपिंदै छ तर कर्मचारी भने दरबन्दीअनुसारका नहुँदा सेवाग्राहीलाई सेवा लिन समय लाग्ने, घण्टौं कुर्नु परिरहेको छ । जिल्ला प्रशासनमा लेखाका कर्मचारी समेत नहुँदा कोष तथा लेखा नियन्त्रक कार्यालयले खटाएका कर्मचारीबाट काम लिनुपर्ने अवस्था रहेको बताइएको छ ।
भएका कर्मचारी सरूवा हुने तर पठाउन सामान्य प्रशासन मन्त्रालयले समयमा नसक्ने हुँदा सेवाग्राहीले घण्टौं लाईनमा बस्नुपर्ने र थप झन्झट बेहोर्न बाध्य भएका छन् ।
इलाका प्रशासन कार्यालय सातबिसेमा नायव सुब्बा दुई जनाको दरबन्दी भएपनि एक जना नहुँदा प्रमुख प्रशासकिय अधिकृत एकजना र कम्प्युटर सहायकलाई दैनिक सेवा दिन मुश्किल परिरहेको छ । लेखा एक, नायव सुब्बा दुई जना कर्मचारी नहुँदा र नेपाल टेलिकमको इन्टरनेट भरपर्दो नहुँदा राहदानी र राष्ट्रिय परिचयपत्र बनाउने कार्य गर्न सकेको छैन । नागरिकता राहदानी र राष्ट्रिय परिचयपत्र बनाउने सेवाग्राहीको चाप बढिरहेको छ तर कर्मचारीको अभावमा प्रशासन कार्यालयलाई सेवा प्रवाहमा निकै सकस परिरहेको छ । प्रमुख जिल्ला अधिकारी किरण थापाले दरबन्दीअनुसारको कर्मचारी नहुँदा सेवा प्रवाहमा समस्या रहेको र यसबारेमा माथिल्लो निकायमा जानकारी गराईरहेको बताए ।
प्रतिवादी ७ वर्षपछि पक्राउ
विदुर । मानव बेचबिखन मुद्दामा फरार रहेकी प्रतिवादी ७ वर्षपछि पक्राउ परेकी छन् । नुवाकोट साबिक तलाखु गाविस ७ हाल शिवपुरी गाउँपालिका १ की ४० वर्षीया हेरिङ डोल्मा तामाङलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई खोजतलास गर्दै जाने क्रममा आइतबार विदुर नगरपालिका २ बाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं डिएसपी खगेन्द्रबहादुर खड्काले बताए ।
उनलाई नुवाकोट जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार २०७३ साल वैशाख ३ गते एक पीडितलाई पटक–पटक फोन गरी भक्तपुर जिल्ला सूर्यविनायक चोकमा ललाइफकाइ जाहेरवाली (पीडित)लाई ट्याक्सी चढाइ हेटौंडा पु-याइएको थियो । त्यहाँबाट इलाम जिल्लाको पशुपतिनगर हुँदै सो स्थानबाट सीमा पार गराइ भारतको दार्जिलिङ, सिलुगढी हुँदै रेल चढाइ ३ दिनको रेल यात्रापछि भारतको मुनिरका भन्ने स्थानमा पु¥याएका थिए । त्यहाँ रहेका कुमार तामाङले लिएर राखेको फ्ल्याटमा एक महिनासम्म राखी जबर्जस्ती करणी गरी त्यसपछि जीवी रोडमा कोठी सञ्चालन गरी बस्ने हेरिङ डोल्मा तामाङलाई ५ लाखमा बिक्री गरी जीवी रोडस्थित ६८ नम्बर कोठीमा लगेर ४ महिनासम्म यौन व्यवसायमा लगाइएको थियो ।
यही मानव बेचबिखन मुद्दामा त्यतिबेला हेरिङ डोल्मा तामाङलाई पीडितले स्पष्ट किटानी नाम भन्न नसकेपछि प्रहरीले पक्राउ गर्न सकेको थिएन । तर सोही मुद्दामा अर्का प्रतिवादी जिल्ला सिन्धुपाल्चोक साबिक राम्चे गाविस १ बस्ने ३४ वर्षीय कुमार तामाङलाई ०७५ साल कात्तिक १४ गतेको नुवाकोट जिल्ला अदालतले २० वर्ष कैद र ५० हजार जरिवानासहित फैसला गरेको थियो । उनी कारागारमा कैद भुक्तान गरिरहेको प्रहरीले जनाएको छ ।
नापी र मालपोत एउटै हुने
विदुर । भूमि प्रशासनको सेवा प्रवाहलाई प्रभावकारी बनाउन नापी कार्यालय र मालपोत कार्यालय एकीकृत गरिने भएको छ । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव डा. दामोदर रेग्मीले नापी र मालपोत एउटै प्रकृतिका दुई कार्यालय भएको र सेवाग्राहीले दुईवटा निकाय धाउँदा समस्या भोग्नु परेकाले शीघ्र एकीकरण गर्ने कार्य योजना अघि बढाइएको बताए ।
विभागका कर्मचारीलाई मंगलवार सम्बोधन गर्दै उनले नापी प्रशासक विषयगत विज्ञ र दक्ष भएकाले यो दक्षताको प्रयोग जनताले सरल र झन्झटरहित हिसाबले सेवा पाउनुपर्ने बताए । ती दुई कार्यालयलाई एकीकृत गरिएमा सरकारी खर्चमा केही हदसम्म मितव्ययितासमेत कायम गर्न योगदान पुग्नेछ । सचिव डा. रेग्मीले भने, “भूमि हुने र नहुने दुवैमा भूस्वामित्व हुनु आवश्यक हुन्छ, नापीले सबै जग्गाको विवरण तयार गरी भूमिहीनलाई भूस्वामित्व दिने वातावरण निर्माण गर्न सहयोग गर्नुपर्दछ ।” नापी विभागका महानिर्देशक जनकराज जोशीले जिल्लामा मालपोत र नापी दुई बेग्लाबेग्लै कार्यालय रहन आवश्यक नरहेकाले कार्यालय एकीकरण गरी एकै थलोबाट सेवा प्रवाह गरिने बताए । उनले भने, “भूमिसम्बन्धी सेवा एकै स्थानबाट हुनुपर्छ भन्ने जनताको माग हो ।”
बागमतीको सबै पालिकामा बैंक
विदुर । धादिङ जिल्लाको भौगोलिक हिसाबले विकट उत्तरी क्षेत्रमा पर्ने रुबिभ्याली गाउँपालिकामा बैंक पुगेको छ । बंैक अफ काठमाण्डूले आइतबारदेखि रुबिभ्यालीको वडा नं.३ सेर्तुङ गाउँमा बैंकको शाखा विस्तार गरेसँगै धादिङको १३ वटै स्थानीय तहमा बैंक पुगेको छ ।
गाउँपालिका अध्यक्ष रामसिंह तामाङको खाता खोलेर बैंकको सेवा सुरु भएका थिए । यससँगै बागमती प्रदेशको सबै स्थानीय तहमा बैंकका शाखा पुगेको छ । बागमती प्रदेशमा दुई हजार नौ सय ४१ बैंक तथा वित्तीय संस्थाका शाखा स्थापना भएका छन् । नयाँ आर्थिक वर्ष ०७९/८० बाट गाउँपालिकाको सम्पूर्ण आर्थिक कारोबार बैंक अफ काठमाण्डूबाट गरिने भएको छ । संघीयता कार्यान्वयनमा आएसँगै पहिलो स्थानीय तह निर्वाचन २०७४ पछि नेपाल राष्ट्र बैंकले सबै बैंकलाई स्थानीय तहमा पुग्न निर्देशन दिए पनि रुबिभ्यालीका सर्वसाधारणमा बैंक पहुँच पुग्न चार वर्ष ढिलो भयो । बैंकले दुर्गममा शाखा खोल्न अग्रसरता नदेखाएपछि गोलाप्रथा गर्दा बैंक अफ काठमाण्डूलाई रुबिभ्याली गाउँपालिका भागमा परेको थियो । भाग लागेका अरू पालिकामा शाखा खोले पनि रुबिभ्यालीमा सडक, विद्युत्, हाइस्पिडको इन्टरनेट टेलिफोनजस्ता सञ्चारसाधन, भवन र सुरक्षाको प्रत्याभूति नभएकाले शाखा खोल्न बैंकले आनाकानी गरिरहेको थियो । रुबिभ्यालीमा बैंक पुगेपछि गाउँपालिकाको योजना भुक्तानी लिन धादिङबेँसी पुग्नुपर्ने बाध्यता हटेको गाउँपालिका अध्यक्ष तामाङले बताए ।
‘कतिपय कारोबार बैंकिङ प्रणालीबाट मात्रै हुँदै आएको छ । वृद्धाभत्ता, कर्मचारीलाई तलब बैंकबाटै गर्नुपर्छ,’ उनले भने, ‘धेरै काम गर्न सदरमुकाम धादिङबेँसीमै जानुपथ्र्यो, अब त्यो बाध्यता रहेन ।’ गाउँपालिकामा बैंक नपुग्दा विकास निर्माणका काम सम्पन्न गरी लिनुपर्ने भुक्तानी, विदेशबाट आफन्तले पठाएको पैसा निकाल्न दुई–तीन दिन लगाएर धादिङबेँसीमै धाउन स्थानीय बाध्य थिए । अब गाउँपालिकाको सम्पूर्ण आर्थिक कारोबार बैंक अफ काठमाण्डूबाट सुरु भएको छ ।
रुबिभ्यालीमा वैदेशिक रोजगारीका लागि जानेको संख्या उल्लेख्य रहेको छ । बैंक स्थापना भएसँगै वैदेशिक रोजगारीमा गएका व्यक्तिलाई घरमा पैसा पठाउन सहज भएको छ । गाउँमै बैंक सेवा सुरु भएसँगै स्थानीयले गाउँमै बैंकिङ सेवा पाएका छन् । रुबिभ्यालीको बैंक वडा नं.३ सेर्तुङ गाउँमा बैंकको शाखा स्थापना भएको छ । पालिका भवन निर्माण भएपछि स्तानान्तरण गरिने बताइएको छ ।
फेरि भेटियोे मानिसको पेटभित्र बोतल
विदुर । धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचारका लागि पुगेका एक वृद्धको पेटमा बिहीवार रक्सीको सिसी भेटिएको छ । बिरामीको पेटभित्र भोड्का रक्सीको एक क्वार्टरको खाली सिसी भेटिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष निर्मल शाहले जानकारी दिए ।
धनगढी उपमहानरपालिका– १४, फूलबारीका ६१ वर्षीय जमनसिंह रोक्कामगरको पेटमा खाली सिसी रहेको एक्सरेमा देखिएको हो । पेट दुखेपछि उनी उपचारमा आएको अस्पतालले जनाएको छ । पेटभित्र सिसी गएको विषयमा अनुसन्धान भइरहेको छ ।
यस अघि, फागुन तेश्रो साता रौतहटका एक युवाको पेट भित्र पनि रक्सीको बोतल भेटिएको थियो । पेटभित्र रक्सीको बोतल भेटिएका ति रौतहटको युवकको नाम भने गोप्य राखिएको छ । कलेज अफ मेडिकल साईन्सेस शिक्षण अस्पताल (सिएमएस) पुरानो मेडिकल कलेजमा उपचार गरेरउनी चैत १५ गते बाट आज डिचार्ज भएका छन् ।
गत फागुन तेस्रो साता उनी सो अस्पतालमा भर्ना भएका थिए । मदिराको सुरमा बोतल नै खाएपछि अस्पताल आउँदा बोतलको आधा भाग पेटभित्र र आधा भाग ठूलो आन्द्राभित्रै रहेको थियो ।
बोतलको टुप्पो आन्द्रा फुटालेर बाहिर निस्किएको थियो । पेटभित्र दिसा फैलिएर आन्द्राहरू सबै सुन्निइसकेका थिए । डा. बेलबासेको टिमले पेटभित्रको बोतल अपरेसन गरेर निकालेको थियो ।
समाजवादी अध्यक्ष एमालेमै फर्किए
कालिकास्थान । नेपाल एकीकृत समाजवादी पार्टी रसुवाका जिल्ला कमिटि अध्यक्ष विष्णु देवकोटासहित शिर्ष नेताहरू पुरानै पार्टी नेकपा एमालेमा नै फर्किएका छन् । अध्यक्ष देवकोटासहित अन्य नेता मंगलबार पुरानै पार्टी नेकपा एमालेमा फर्किएको बताईएको छ ।
गएको मंगलबार बालकोटमा एकिकृत समाजवादी पार्टी जिल्ला कमिटी अध्यक्ष विष्णु देवकोटा र प्रदेश कमिटी सदस्य भरत विश्वकर्मा तथा जिल्ला समन्वय समितिका ठाकुर पौडेललाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले खादा टिका लगाई एमालेमा प्रवेश गरेका हुन् । नेपाल एकिकृत समाजवादी पार्टी देशलाई परिवर्तन गर्ने राजनीतिक विचार योजना कुनै पनि नरहेको तर पद, शाक्तिको मात्र भक्त रहेकोले हामी पुरानै पार्टी नेकपा एमालेमै फर्किएका जिल्ला कमिटी अध्यक्ष विष्णु देवकोटाले बताए । एमाले मात्र एक सच्चा देशभक्त असल कम्युनिष्ट र देश विकास गर्न सक्ने राजनीतिक विचार र योजना भएको पार्टी भएकोले देशभक्त साथीहरू विस्तारै अन्य बाँकी साथीहरू पनि एमालेमा फर्किनुको कुनै विकल्प नरहेको जिल्ला कमिटी अध्यक्ष देवकोटाले बताए ।
नेपाल एकिकृत समाजवादी पार्टीका सबै साथीलाई एमालेमा फर्किए सदस्यता नविकरण गरी पुरानै जिम्मेवारीमा आ–आफ्नो काम गर्न वातावरणको सृर्जना गर्ने नेकपा एमाले, रसुवाका अध्यक्ष कन्र्याल तामाङले बताए । बालकोटको पार्टी प्रवेश कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, केन्द्रिय सदस्य माधव अर्याल, संविधानसभा सदस्य छोवाङ तेन्जिन तामाङ, जिल्ला पार्टी सचिव जर्नादन ढकाललगायत अन्य जिल्लाका शिर्ष नेताहरूको उपस्थिती रहेको थियो ।
युरिया मलको विकल्पमा नानो युरिया
विदुर । नेपालमा खेतीको समयमा प्रत्येक वर्ष रासायनिक मलको अभाव हुन्छ । जुनसुकै सरकार भए पनि मल ल्याउन नसकेको विषय आलोचनाको विषय बन्छ । अघिल्लावर्षमा जस्तै यो वर्ष पनि मल अभावको विषय सदनसम्म पुगेको छ । नेकपा एमालेले यो मल अभावको विषय संसदमा चर्कोगरी उठायो । नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईसमेतले रासायनिक मलको अभाव सम्बन्धमा छलफल गर्न अन्यन्त जरुरी सार्वजनिक महत्वको स्थगन प्रस्ताव दर्ता गरेपछि प्रस्तावमाथि संसदमा लामो छलफल भयो ।
छलफलका क्रममा उठेको प्रश्नको जवाफ दिने क्रममा युरिया मलको विकल्पमा तरल रुपमा उपलब्ध हुने नानो युरिया प्रयोग गर्न सकिने बताएका थिए । उनले भारतबाट ५ लाख लिटर तल्काल आयात गर्ने सहमति भइसकेको बताउँदै भारतले ५० लाख लिटर क्रमिकरुपमा उपलब्ध गराउने सहमति नै जनाइसकेको बताए । यतिमात्रै नभएर ६१ हजार लिटर नानो युरिया नेपाल आइसकेको उनले बताएका थिए ।कृषिमन्त्रीको उक्त सम्बोधनपछि नानो युरिया के हो र यसको प्रयोग कसरी गर्ने भन्ने चासो देखिएको छ । यसले युरिया मलले विरुवालाई प्रदान गर्ने तत्व प्रदान गर्छ ? भन्ने चासो बढेको छ ।
नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) का वैज्ञानिक श्रीप्रसाद विष्ट नानो युरिया परीक्षण गरेर प्रयोगको लागि सिफारिस गरिएको बताउँछन् । “नानो युरिया पनि युरिया नै हो, यो लिक्विड फर्ममा उपलब्ध छ, यसमा र युरियामा समान तत्व रहेको पुष्टि गरेर मन्त्रालयलाई सिफारिस गरेका हौं,” उनले बाह्रखरीसँग भने, “हामीले हिउँदे तरकारी बाली काउलीमा परीक्षण गर्दा युरिया मलमा पाइने तत्व यसबाट पनि प्राप्त भएको र गुणस्तर पनि रहेकोले युरिया मलको वैकल्पिकरुपमा प्रयोग गर्न सकिन्छ ।”
नार्कको सिफारिसको आधारमा कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले रासायनिक मलको स्पेसिफिकेसनमा ‘नानो युरिया’ लाई थप गरी त्यसको प्रयोग गर्न सकिने बाटो खुला गरिसकेको छ । यसलाई माटोमा प्रयोग गर्न नभई विरुवामा स्प्रे गर्न‘पर्ने उनले बताए । युरिया मल र नानो युरिया जुन प्रयोग गरे पनि विरुवाले पाउने नाइट्रोजन नै रहेको र युरिया मलमा पाइने बराबरको नाइट्रोजन ‘नानो युरिया’ ले उपलब्ध गराउन सक्ने उनले बताए ।
“५०० एमएल ‘नानो युरिया’मा नै ५० केजी युरिया मलमा पाइने नाइट्रोजन पाइन्छ, यसलाई त्यहीअनुसार प्रयोग गर्न‘पर्ने हुन्छ,” उनले भने, “प्रतिलिटर पानीमा ३ एमएल नानो युरिया मिसाएर प्रयोग गर्न‘पर्छ, धानमा रोपेको केही दिनमा र त्यसको करिब १ महिनापछि गरेर दुवैपटक र मकैमा पनि गोडेमेल गर्ने बेलामा र केही पछि गरेर २ पटक प्रयोग गर्नुपर्छ ।” उनका अनुसार बिरुवाको पात भिज्नेगरी स्प्रे गर्नुपर्ने हुन्छ ।
नेपालमा स्प्रे मेसिन खरिद गर्नुपर्ने भएकोले त्यसलाई समेत ध्यान दिएर किसानलाई लागत पनि कम पर्ने र युरियाको काम गर्ने भएकोले अहिलेको मल अभावको अवस्थामा त्यसको प्रयोग गर्न सकिन्छ भनेर सिफारिस गरेको उनले बताए । कृषि मन्त्री यादवका अनुसार नेपाली बजारमा ‘नानो युरिया’ प्रतिकेजी ८०० रुपैयाँ पर्छ ।
प्रदेश नम्बर एकको विराटनगरमा नेपाल मल्टी ट्रेड सेन्टरले नानो युरिया सार्वजनिक गरिसकेको छ । सोमबार प्रदेश १ को कृषि मन्त्रालयमा आयोजित एक कार्यक्रममा कृषि मन्त्री झलकबहादुर दर्लामीसहितका उच्च सरकारी अधिकारीहरूले उक्त युरिया सार्वजनिक गरेका हुन् । गएको सोमबार संसदमा सम्बोधन गर्ने क्रममा भारतमा सफल भइसकेको नानो युरिया नेपालमा पनि भित्र्याइएको बताएका थिए । नेपालमा ६१ हजार लिटर भित्रिएको र ५ लाख लिटर ल्याउन सहमति भइसकेको उनले बताएका थिए । विराटनगरमा उक्त मल ल्याएर सार्वजनिक गर्ने नेपाल मल्टी ट्रेड सेन्टरका सञ्चालक राकेश सुराना भारतका किसानले पाउने मूल्यमा नै नेपालका किसानलाई उपलब्ध गराउने बताउँछन् ।
कृषि मन्त्रीले प्रतिलिटर मुल्य ८०० रुपैयाँ पर्ने संसदमा नै भाषण गरे पनि सुराना भने ४०० रुपैयाँ प्रतिलिटरमा नै नेपालमा किसानले प्राप्त गर्ने बताउँछन् ।
विराटनगरमा प्रदेश कृषि मन्त्रीमार्फत सार्वजनिक गरिएको भए पनि नेपालभरी उपलब्ध गराउने उनले बताए । नर्मल युरिया र डीएपीको ८० प्रतिशत खपत नानो युरियाले विस्थापित गर्ने उनले दाबी गरे । मल उत्पादन गर्ने भारतीय कम्पनीका प्रतिनिधि नै प्रयोग कसरी गर्ने भनेर तालिम दिन नेपाल आएको बताए ।
पशुपति मन्दिरमा भेटीको घ्याम्पै गायब
काठमाडौं । शिवरात्रिमा पशुपति मन्दिर परिसरमा राखिएको भेटीको घ्याम्पो नै गायब पारिएको छ । भेटीको घ्याम्पो गायब पारिएको घटना सार्वजनिक भएपछि कोषले नै टोली गठन गरेर छानबिन गरेको थियो । पर्यटन मन्त्रालयले यस विषयमा थप छानबिन गरी कारबाही गर्न गृह मन्त्रालयमार्फत नेपाल प्रहरीलाई लेखी पठाउने निर्णय गरेको छ ।
सुरक्षाकर्मीको बाक्लो उपस्थिति र भक्तजनको घुइँचो हुने पशुपति मन्दिर परिसरबाट घ्याम्पो हराएको विषय आफैँमा आश्चर्यजनक रहेको मन्त्रालय बताउँछ । मन्त्रालयका अनुसार सिसिटिभीको तार काटेर घ्याम्पो गायब गरिएको थियो । जसका कारण सिसिटिभी रेकर्डसमेत हेर्न नमिलेको मन्त्रालय बताउँछ । अझ अचम्म त हराएको केही घन्टामै घ्याम्पो यथास्थानमा भेटिएको थियो । घ्याम्पोमा कति भेटी रकम थियो भन्नेचाहिँ यकिन छैन । सुरक्षासँग जोडिएको विषय भएका कारण छानबिन र कारबाहीका लागि पर्यटन मन्त्रालयले गृहमार्फत प्रहरीलाई पत्राचार गरेको हो ।
शिवरात्रिमा मिलेमतो पशुपति क्षेत्र विकास कोषले गत फागुन पहिलो साता भएको महाशिवरात्रि मेलाको ठेक्का लगाउँदा हिनामिना गरेको छ । ७ देखि १३ फागुनसम्म अर्थात् सात दिन मेला चलाउन कोषले एमएमबिकेएल इभेन्टस् एन्ड बहुउद्देश्यीय प्रालिसँग सम्झौता गरेको थियोर । तर, कोषका पदाधिकारीको मिलेमतोमा थप सात दिन (२० फागुनसम्म) मेला चलाएर २० लाख ५० हजार राजस्व गुमेको सरकारी छानबिन समितिको निष्कर्ष छ ।
पर्यटन मन्त्रालयका सहसचिव राजेन्द्रकुमार केसीको संयोजकत्वमा उपसचिव अर्जुन राई र पुरातत्व अधिकृत जयन्ती श्रेष्ठ सम्मिलित छानबिन समितिले सर्तविपरीत दोब्बर समय मेला चलाएर राजस्व अपचलन गरेको निष्कर्षसहित थप छानबिन गरी कारबाही सिफारिस गरेको हो । राजश्व अपचलन घटनाबारे छानबिन गरी कारबाहीका लागि छानबिन प्रतिवेदनसहित बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पत्राचार गरेको छ । अख्तियारले छानबिन अघि बढाउनेछ ।
सात दिनमा हुने कारोबारको अनुमान गरेर राजस्व यकिन गरिएको थियो । आठौँ दिनमा मेला सञ्चालक पक्षले ठाउँ खाली गर्नुपर्ने सम्झौतामा उल्लेख थियो । सर्त उल्लंघन गरे कारबाही हुने व्यवस्था सम्झौतामा थियो ।
तर, करिब २० गतेसम्म पनि मेला सञ्चालनमा रहेको भेटिएकाले सर्तविपरीत दोब्बर समय मेला चल्यो । अतिरिक्त सात दिनको २० लाख ५० हजार नै राजस्व गुमेको ठहर छ । ‘सम्झौताविपरीत मेला सञ्चालन हुँदा कोषले पाउनुपर्ने राजस्व घटी भएको देखियो,’ पर्यटन मन्त्रालय स्रोत भन्छ । समितिले पशुपतिमा मेला लागेको क्षेत्रको अध्ययन, सिसिटिभी फुटेज, पशुपति क्षेत्र विकास कोषका पदाधिकारी र मेला सञ्चालकसँग सोधपुछसमेत गरेर प्रतिवेदन तयार गरेको छ ।
महाशिवरात्रिको अवसरमा एक साता (७–१३ फागुन) मेला आयोजना गर्न कोषले गत माघमा टेन्डर आह्वान गरेको थियो । त्यसबापत कोषलाई २० लाख ५० हजार राजस्व बुझाउनुपर्ने सर्तमा उल्लेख थियो । तर, सूचनाबमोजिम एउटा मात्र बोलपत्र परेको थियो । त्यही बोलपत्रलाई सदर गरेर कोषले ठेक्का लगाएको थियो । सातौँ दिन मेला चलाएपछि आठौँ दिन स्थान खाली गर्नुपर्ने सम्झौतामा उल्लेख थियो । यही सर्तबमोजिम ठेक्का पाएको कम्पनीले अग्रिम राजस्व दाखिला गरेर कोषसँग सम्झौता गरेको थियो ।
७ देखि १३ फागुनसम्म चलाउने गरी सम्झौता भए पनि २० गतेसम्मै मेला चलेको भेटिएको स्रोतले बतायो । ‘सिसिटिभी फुटेजहरू हेर्दा २१÷२२ गते सामान हटाउँदै गरेको भेटियो,’ स्रोत भन्छ । कोष र मेला सञ्चालक पक्ष दुवैले सम्झौता उल्लंघन गरेको छानबिन टोलीले फेला पारेको छ ।
पर्यटनमन्त्री सुदन किराँतीले शिवरात्रिमा पशुपतिमा सञ्चालित मेलामा सम्झौताविपरीत काम भएको र छानबिन गर्दा सोझै घोटाला भएको देखिएकाले थप अनुसन्धान गरी दोषीउपर कारबाहीका लागि अख्तियारमा पठाउने निर्णय मंगलबार नै सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका थिए ।
नुवाकोटका पत्रकार कुईंकेल विभूषित
![]() |
पत्रकार एवं मानवअधिकारकर्मी राजनप्रसाद कुईकेल |
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलबाट पत्रकार एवं मानवअधिकारकर्मी राजनप्रसाद कुईकेल विभूषित भएका छन् । उनी नुवाकोटका हुन् । विभिन्न क्षेत्रमा योगदान पु-याएका व्यक्तित्वहरूलाई शुक्रबार मानपदवी, अलंकार र पदकबाट सुशोभन गर्नेक्रममा राष्ट्रपति पौडेलले पत्रकार कुईंकेललाई जनसेवाश्री पदकबाट सुशोभित गरेका हुन् ।
राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति पौडेलले उक्त मानपदवी, अलंकार र पदक शुक्रबार प्रदान गरेका हुन् । नेपालको संविधानको धारा २७७ (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा विभूषण प्रदान गरिँदै आएको छ । राष्ट्रिय दिवस तथा संविधान दिवसका अवसरमा असोज ३ गते विभूषण घोषणा गरिएको थियो । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिबाट विविध क्षेत्रका व्यक्तिहरूलाई विभूषण दिने घोषणा गरिएको थियो ।
यस वर्ष नेपाल रत्न दिवंगत पूर्वप्रधानमन्त्री सुशील कोइरालालाई दिइएको छ । भने राष्ट्र गौरवबाट दिवंगत राजनीतिज्ञ जीवराज न्यौपाने आश्रित, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी र संस्कृतिविद् सत्यमोहन जोशी विभूषित भएका छन् । यस्तै, सुप्रिसद्ध प्रबल जनसेवाश्रीबाट संस्कृतिविद् डा. जगमान गुरुङ विभूषित भएका छन् ।
राष्ट्र र जनतााके पक्षमा विभिन्न क्षेत्रबाट योगदान पु¥याउनेलाई हरेक वर्ष संविधान दिवसमा घोषणा गरेर वैशाख १ मा विभूषण वितरण गर्ने कानुनी व्यवस्था छ ।
विभूषित कुईंकेल बिगत दुई दशकभन्दा लामो समयदेखि नेपाली पत्रकारिता क्षेत्रमा सक्रिय छन् भने मानवअधिकार क्षेत्रमा पनि उत्तिनै समयदेखि अभियानरत छन् । कुईंकेल विश्वकै प्रतिष्ठित मानव अधिकारवादी संस्था एम्नेष्टी इन्टरनेशनल नेपाल शाखाको अध्यक्षसमेत रहिसकेका छन् ।
तक्मा बाँड्दा सकियो ३४ करोड
काठमाडौं । सरकारले विभूषण तयार गर्न तीन वर्षमा ३४ करोड ५८ लाख खर्च गरेको छ । मानपदवी,अलंकार र पदक तयार गर्न तीन वर्षमा सो रकम खर्च भएको महालेखा परीक्षकको ६० औं वार्षिक प्रतिवेदनमा उल्लेख छ ।
विभिन्न क्षेत्रमा विशिष्ट योगदान पु्या-उने व्यक्तिलाई विभूषित गर्न तीन वर्षको अवधिमा चार प्रकारका १२ श्रेणीका मानपदवी, ९ प्रकारका अलंकार र १३ प्रकारका पदक तयार पारिएको हो । मन्त्रिपरिषदबाट २०७६/७७ मा ६३३ जना, २०७७/०८८ मा ५९३ जना र २०७९ मा ८८७ जनालाई विभूषित गर्ने निर्यण गरेको थियो । यसैगरी २०७९/८० मा ९८२ जनालाई विभूषित गर्ने मन्त्रिपरिषदले निर्णय गरेको थियो ।
घोषणा गरेका विभूषण तयार गर्न २०७६ मा १५ करोड ८६ लाख, २०७७/०७८ मा १० करोड २२ लाख र २०७८मा १५ करोड ८६ लाख खर्च भएको प्रतिवेदनमा उल्लेख छ । विगतमा घोषणा भएमध्यो १७६ मानपदवी, ३६ अलंकार र ६२ पदकसमेत २७४ विभूण वितरण नभइ मौज्दात रहेकाले उपयोगमा ल्याउन मिल्ने विभूषणको व्यवस्थापन गर्नपर्ने महालेखा परीक्षकले औंल्याएको छ । विभूषण तयार गर्न लाग्ने लागत बर्सेनि बढ्दै गएकाले लागतमा कमी ल्याउने र विभूषित हुने संख्या निश्चित गरी खर्चमा नियन्त्रण गर्ने‘पर्ने महालेखाको सुझाव छ ।
विभिन्न क्षेत्रमा विशिष्ट योगदान पु्याउने व्यक्तिलाई सरकारले प्रत्येक वर्ष विभूषित गर्दै आएको छ
मानसिक स्वस्थ्य शिबिर
![]() |
पञ्चकन्या गाउँपालिकामा भएको निःशुल्क मानसिक स्वास्थ्य शिविरपछि आयोजक संस्थाका प्रतिनिधिहरु । |
कविलास । पञ्चकन्या गाउँपालिकामा एक गैर सरकारी संस्थाको सहयोगमा निःशुल्क मानसिक स्वास्थ्य शिविर सञ्चालन भएको छ । ‘सबैका लागि मानसिक स्वास्थ र मनोसामाजिक सुस्वास्थ्य’ भन्ने मुल मर्म बोकेर सामाजिक चेतना अभिवृद्धि, क्षमता अभिवृद्धि, नीति निर्माण, नितिको कर्यान्वयन, मानसिक स्वास्थमा पहुँच वृद्धि, मानसिक स्वस्थ्यमा मनोसामाजिक परामर्श र उपचारात्मक सेवा प्रदान गर्दै आइरहेको कोशिस, राष्ट्रिय मानसिक स्वस्थ्य स्वाबलम्बन संगठन, नुवाकोटले पञ्चकन्या गाउँपालिकाको दुई वडामा शिविरको आयोजना गरेको हो । वडा नंं १ र वडा नंं. ५ स्थित स्थानीय स्वास्थ्य चौकीमा शिविर भएका छन् । चैत्र २९ गते बानियाँटार स्वस्थ्य चौकी र चैत्र ३० गते भद्रुटार स्वस्थ्य चौकीमा भएको उक्त शिबिरबाट ५४ जनाले लाभ लिएको बताइएको छ ।
शिबिरमा त्रिशुली अस्पतालका मनोचिकित्सक डा. अनुशा मानन्धरले मनोसामाजिक चिकित्सकिय सेवा र कोशिसका मनोबिद सफल सापकोटा, शैलेन्द्र शर्मा र अनुप आचार्यले मनोसामाजिक परामर्श प्रदान गरेका छन् । उक्त शिबिर सञ्चालनमा परियोजना संयोजक लोकप्रसाद गौतमले समन्वय, सहकार्य र ब्यबस्थापकिय भुमिकामा सहजीकरण गरेका थिए । मानसिक स्वस्थ्य पनि आधारभुत स्वस्थ्यकै एक अङ्ग भएको हुँदा मानसिक स्वस्थ्यको सेवा बिस्तार र सेवामा पहुँचको सुनिश्चिततामा स्वंयम ब्यक्ति, परिवार, सरोकारवाला, सरकारले हातेमालो गरी कार्य गर्नु पर्ने संयोजक गौतमले बताए ।
डा. अनुशा मानन्धर तथा कोशिसको टिमललाई बानियाँटारमा वाड अध्यक्ष माहानन्द ढकाल र स्वस्थ चौकी इन्चार्ज रमेश कार्की तथा भद्रुटारमा स्वस्थ्य चौकी इन्चार्ज रबिन्द्र शाह तथा वाड सदस्य रामजंग बुढाथोकीले सम्मान सहित आभार व्यक्त गरेका थिए । सो अबसरमा वडा नं. १ का अध्यक्ष माहानन्द ढकालले मानसिक स्वस्थ्यमा जनचेतना अभिवृद्धि गर्न कोशिससंगको सहकर्यमा सडक नाटक कार्यक्रम गर्न रकम उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन् । साथै कोशिसको कार्यक्रमको निरन्तर लागि अनुरोध सहित आगामी आर्थिक बर्षमा वडाबाट समेत देखिने खाले सहयोग गर्ने प्रतिबद्ध वडा अध्यक्ष ढकालले जनाएका छन् ।
घेदुङको अध्यक्षमा बीरबहादुर
![]() |
घेदुङले आयोजना गरेको पत्रकार सम्मेलनमा नवनिर्वाचित पदाधिकारीहरु । |
विदुर । नेपाल तामाङ घेदुङ नुवाकोटको अध्यक्षमा वीरबहादुर तामाङ चयन भएका छन् । उनी शिवपुरी गाउँपालिकाका उपाध्यक्षसमेत हुन् । घेदुङ नुवाकोट जिल्ला कार्यसमितिको पाँचौं अधिवेशनबाट तामाङको नेतृत्वमा १७ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको हो ।
उपाध्यक्षमा सरोज तामाङ र शक्तिमाया तामाङ, सचिवमा रूपबहादुर तामाङ, दिपेश तामाङ र कोषाध्यक्षमा सूर्यबहादुर तामाङ चयन भएका छन् । सदस्यहरूमा सीतादेवी तामाङ, पूर्णबहादुर तामाङ, सुशीला तामाङ, चतुरमान तामाङ, गोपाल तामाङ, प्रतीक तामाङ, पुष्प तामाङ, सोनाम तामाङ, रोजत तामाङ, उर्मिला तामाङ र टेकबहादुर लामा तामाङ चयन भएका छन् । ४ जना मनोनीत हुन बाँकी रहेको घेदुङ नुवाकोटले जनाएको छ ।
गएको शनिबार बट्टारमा आयोजित भेला माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं नुवाकोट क्षेत्र नम्बर १ का सांसद हितबहादुर तामाङले उद्घाटन गरेका थिए । कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख रजिन्द्रविक्रमसिंह ठकुरी, माओवादी केन्द्र नुवाकोटका संयोजक पुष्प लामिछाने, जनप्रतिनिधिहरूको उपस्थिति थियो ।
यसैबीच, नवनिर्वाचित अध्यक्ष तामाङले जिल्लाका विद्यालयस्तरको आधारभूत तहमा मातृभाषा पठनपाठन गराउनुपर्ने माग गरेका छन् । तामाङ बाहुल्यता रहेको नुवाकोटमा मातृभाषामा पठनपाठन गराउनुपर्ने नेपाल तामाङ घेदुङ नुवाकोटको माग रहेको उनले बताए । आफूहरूको भाषा, संस्कृति र इतिहासलाई जगेर्ना गर्दै जान मातृभाषाले सघाउ पुग्ने उनको भनाइ छ ।
नुवाकोटमा १ सय ३३ वटा गुम्बा रहेको र भूकम्पले भत्किएका गुम्बा र तिनको अवस्थाबारे बाहिर ल्याउने घेदुङले जनाएको छ । पाठ्यक्रमको तहमा मातृभाषाको रुपमा शिवपुरी गाउँपालिकाले १० लाख रुपैयाँ बजेट विनियोजनसमेत गरेको उनले जनाए । शिवपुरी गाउँपालिकामा नयाँ पाठ्यक्रम बनाइसकेको र त्यसलाई नयाँ शैक्षिक सत्रदेखि पठनपाठन थालिने अध्यक्ष तामाङले बताए ।
पञ्चकन्या र दुप्चेश्वर गाउँपालिकामा तामाङ मातृभाषामा पठनपाठन सुरु भइसकेको तामाङ घेदुङ नुवाकोटले जनाएको छ ।
संसदमा के भने नुवाकोटका सांसदले ?
सुरुङमार्गको काम अघि बढाउ : अर्जुननरसिंह केसी
नुवाकोटको क्षेत्र नम्बर २ बाट निर्बाचित सांसद तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्ज‘नरसिंह केसीले बजेट विनियोजन भएको टोखा–छहरे सुरुङमार्ग निर्माणको काम तत्काल अघि बढाउन माग गरेका छन् । प्रतिनिधि सभाको बैठकमा उनले सुरुङमार्ग नुवाकोट, रसुवा र धादिङको मात्र नभई उत्तरी छिमेकीसँग जोड्ने मार्गका रुपमा रहेको भन्दै तत्काल यसको निर्माण अगाडि बढाउन सरकारसँग माग गरेका हुन् ।
“आर्थिक वर्ष २०७७/७८ मा छ अर्ब ४२ करोड बजेट विनियोजन भए पनि अहिलेसम्म त्यसमा खोस्रने पनि काम भएको छैन । सरकारले गरेका वचनबद्धता र छुट्याइएको बजेटलाई एकातर्फ राखेर निर्माणको काम भएको छैन । यतातर्फ म सरकारको गम्भीर ध्यानाकर्षण गराउँछु”, उनले भने ।
भाषा ऐन छिटो निर्माण गरौ : हितबहादुर तामाङ
नुवाकोटको क्षेत्र नम्बर १ बाट निर्बाचित नेकपा (माओवादी केन्द्र)का सांसद हितबहादुर तामाङले संघीय राष्ट्र भाषा ऐन छिटोभन्दा छिटो निर्माण गर्न सरकारसँग माग गरेका छन् । प्रतिनिधिसभाकोे बैठकमा सांसद तामाङले प्रदेशलाई राष्ट्रभाषा ऐन बनाउन अप्ठेरो परेकोले संघीय राष्ट्र भाषा ऐन बनाउन माग गरेका हुन् ।
सांसद तामाङले अघिल्लो संसदमा यो विषय उठाए पनि कुनै प्रगति नभएको भन्दै पुनः सरकारको ध्यानाकर्षण गराएका छन् । आफुले पटक पटक सदनमा आबाज उठाएपनी सरकारले नसुनकोे टिप्पणी उनले गरेका छन् । पटक पटक आबाज उठाउदा समेत अहिलेसम्म त्यससम्बन्धी कुनै जानकारी नआएकोले नेपाल सरकारले छिटोभन्दा छिटो संघीय राष्ट्र भाषा ऐन निर्माण गर्नका निमित्त नेपाल सरकारको ध्यानाकर्षण गराएको सांसद तामाङले बताएका छन् ।
किसानलाई मल खै ? : बिमला सुवेदी
नेकपा माओवादी केन्द्रकी सांसद विमला सुवेदीले किसानलाई समयमै मल उपलब्ध गराउन माग गरेका छन् । प्रतिनिधिसभा बैठकको विशेष समयमा सांसद सुवेदीले आगामी बजेटमा देशभित्रै रासायनिक मल उत्पादनको विषयलाई महत्व दिनको लागी आग्रह गरे ।
नेपालमै रासानियक मल उद्योग स्थापनाका निम्ति सरकारले आगामी बजेटमा ब्यबस्था गर्दै दिर्घकालीन योजनाका साथ कृषि क्षेत्रको स्तरउन्नतीको लागी अगाढी बढ्न उनले माग गरेका छन् । कृषि क्षेत्रमा अनुदान बढाउदै आबाश्यक मल बिउको ब्यस्बस्थापनमा राज्यले तत्कालै निति बनार कार्यान्वयनमा ल्याउनको लागी उनले माग गरेका हुन् । यस्तै, सांसद सुवेदीले पछिल्लो समय जङ्गली जनावरबाट किसानको खेतीबालीमा पुगेको नोक्सानी प्रति समेत सरकारको ध्यानाकर्षण गराएका छन् ।
३० वर्षदेखि तोरी मिलमा
योगेन्द्रवीर शाक्य
सुनिल श्रेष्ठ
त्रिशुली । ३० वर्षदेखि निरन्तर रुपमा त्रिशूलीमा तोरी पेल्ने मिलको रुपमा स्थापित करुणामय तोरी मिल विदुर नगरपालिका वडा नम्बर १ त्रिशुलीस्थित त्रिवेणी चोकमा रहेको छ । प्रधानपञ्चबाट करिब ८५ हजारमा ६ भोल्ट क्षमता भएको मिल किनेर सुरु गरिएको परिवारिक व्यवसायको आजपनि सञ्चालनमै रहेको छ ।
बुबा रत्नवीर शाक्यले चलाई आएका तोरी पेल्ने मिल कान्छा छोरा योगेन्द्रवीर शाक्यले वि.सं २०४९ सालयता परिवारको साथबाट चलाउँदै आईरहेका छन् । त्यसपछि केहि अन्तरालमा एकलाख ५० हजारमा अर्को पनि उत्तिकै क्षमतामा अर्को मेशिन थपेका थिए । उनले नुवाकोट जिल्लामा पहिलोपटक आधुनिक धान कुट्ने मिल भित्राएका थिए । हात्तीगौंडामा केहि समय धान मिल सञ्चालन गरेपछि बुबाले चलाउँदै आएको तोरी मिल चलाएका थिए ।
“तोरी मिल चलाउँदा त्यो समय त्रिशूलीमा मात्र चारवटा मिल थियो । अहिले आफु मात्र छु । मिलमा काम गर्न गाह्रो हुने भएकोले अरुले उद्योग नै छाडी अन्य व्यवसायतिर लागेका हुन् ।” “उबेला दिनरात पनि मिल चल्थ्यो ।
लोडसेडिङ पनि धेरै हुन्थ्यो । ट्याक्टरको ईन्जिनलाई प्रयोग गरी बिजुली गएको समयमा पनि मिल चल्नको लागि आफैले नै उपकरण बनाएको थिएँ ।”
उनी केहि हदसम्म इन्जिनियरका सरह काम गर्ने क्षमता रहेको अनुभव सुनाए । २०५१ सालताका दशैंतिहारको समयमा सात दिनसम्म मेशिन बन्दनै नगरीकन तोरी पेलेको पनि अनुभव सुनाए । “जिल्लाको विदुर, ढुंगे, देउराली, बगुवा, देउडी, साल्मे, भाल्चे लगायतका स्थानहरूबाट ग्राहकहरू तोरी पेल्न ल्याउने गथ्र्यो । आईरहेका छन् पनि ।” “प्रायः ग्राहकहरूले आफ्ना खेतबारीमा फलेका तोरी ल्याउने छ । मिलमा पेलेको तोरीको तेल शुद्ध र स्वास्थ्यबर्धक हुन्छ ।”
“तोरी सुख्खा हुने गरी पेलि तेल निकाल्ने भएकोले आफ्ना पुराना ग्राहकहरू अझैपनि तोरी पेल्न मिलमा आउँछन् ।” “मेसिन ठुलो भएकोले एकचोटीमा १० पाथीको घान पुगेपछि मात्र तोरी पेल्ने गरेका छौं । एक पाथीमा दुईमाना तोरीको तेल आउँछ । चिसो ठाउँको लेकाली तोरीबाट एकलिटर ५०० मिलिलिटर आउँछ । तोरी पोटिलो भएमा तेल राम्रो आउँछ ।”
केही ग्राहकहरू स्वयंले काठमाडौंबाट पनि तोरी मगाई पेल्न आउने गरेको छ । रेप्सी, काल, संस्यू, रायो जातका तोरी लगायत स्थानीय जातका तोरी पेल्ने गरेको बताए ।
हरेक दिन बिहान, हरेक साताको शनिबार या घान पुगेमा दिनमा पनि तोरी पेल्ने गरेका उनी भने चर्को आवाज निकाल्ने मेसिनमा कुनै स्वास्थ्य कवज विना नै तोरी पेल्ने गरेका छन् । “आफुले अहिलेसम्म त्यस्तो कुनै पनि स्वास्थ्य सुरक्षाका सामाग्री अपनाएको छैन । बानी परेकोले असहजताको महसुश भएको छैन ।”
सुरुताका पाथीको दुई रुपैँयासम्म लिने गरेको सम्झना सुनाए । “अहिले पाथीको ३० रुपैंया लिने गरेको थिएँ”, उनले भने “त्यो पनि चलनचल्तीमा जोखेर लिने गरेकाले तोरी पेलेको प्रतिकिलो १५ रुपैँया लिने गरेको छु । पिना छोडेमा ज्याला लिने गरेका छैनौ ।”
तोरी पेलेको पिना गाई, वस्तुभाउलाई खुवाउन, कुखुराको दाना बनाउन लगायतमा प्रयोग गर्न सकिने छ । ज्याला नलिई पिना छोडेमा आफुलाई मुनाफा थप हुने उनले बताए । अहिलेसम्म कुनै पनि बजारीकरण नगरी तोरी पेल्दै आएको उनले बताए । पसल पसलमा गएर तेल बेच्न नगएको बताए । स्थानीय मिलमा पेलेको तोरीको निखार तेलको महत्व बुझी ग्राहक स्वयम् आउने गरेको बताए । “केहि समयअघि शुद्ध तोरीको तेल बजारमा पु¥याउन आफुले प्रयास भने नगरेको होईन । कामै नसिकी बढी तलबको अपेक्षा राख्ने प्रवृत्तिले गर्दा दक्ष कर्मचारी र प्राविधिकको कारणले गर्दा त्यो योजना त्यतिकै तुहियो ।”
मेसिन बिग्रेमा आफैले नै मर्मत गर्ने खुबी भएका उनले भुटेको तोरीको तेल निकाल्नको लागि पनि मेशिन जडान भने नगरेको होईन रहेछ । तर दक्ष कामदारको अभावले त्यो पनि लगानी खेर गएको बताए ।
हात्तिगौंडामा रहेको रिमाल मेटल उद्योगमा बनाएको उक्त मेशिन जिर्ण अवस्थामै मिलभित्रै रहेको छ । मिल चलाउँदै अनि बिग्रेको बेला जेनतेन गरी उनले मेशिन मर्मत गर्ने गरेको अनुभव पनि सुनाए ।
“नुवाकोट वाणिज्य उद्योग संघमा समेत सदस्य रहेतापनि त्यहाँ वार्षिक नविकरण गरिन्छ । चुनावको बेला मात्र भोट हाल्ने काम हुन्छ । वार्षिक प्यानको तिर्नुपर्ने राजश्वको काममा मात्र सहजिकरण भएको छ । तर त्यहाँबाट कुनै पनि प्रोत्साहन स्वरुप सहयोग नभएको बताए ।” “न त स्थानीय तहले हेर्छ न त सरोकारवालाले नै । यस्तै, हो भने जिल्लामा रहेका साना तथा मझौंला उद्योग, व्यवसाय बिलिन हुनुको साथै परनिर्भतामै जिल्ला रहने कुनै दुईमत नहोला कि ।”
तामाको मूर्ती समेत बनाउने कालिगढको समेत अनुभव सम्हालेका उनको परिवारमा एक श्रीमती, दुई छोरी र एक छोरा रहेका छन् । मिलमा काम गर्न र कामदार पाउन कठिन भएकोले आफुपछि तोरी पेल्ने मिलको व्यवसाय परिवारले नअगाँल्ने बताए ।
चोरीको मोटरसाइकलसहित पक्राउ
विदुर । चोरीको मोटरसाइकलसहित नुवाकोट लिखु गाउँपालिका–२ घर भई काठमाडौं तार्केश्वर नगरपालिका–४ लोलाङ हाइट बस्ने ३९ वर्षीय रमेश बहादुर राईलाई प्रहरीले पक्राउ गरेको छ ।
सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–३ हैबुङ घर भइ काठमाडौं थली बस्ने कृष्ण बहादुर तामाङको बागमती प्रदेश ०२–०१५ प १७ ७४ नम्बरको मोटरसाइकल हराएको भन्ने उजुरीको आधारमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय पीडित सहायता इकाइबाट खटिएको ट्राफिक प्रहरीले राईले उक्त मोटरसाइकलमा नम्बर प्लेट नराखी चलाइरहेको अवस्थामा काठमाडौं लोलाङ हाइटबाट फेला पारी उनलाई पक्राउ गरेको हो । उनलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि प्रहरी वृत्त महाराजगंज पठाइएको छ ।
गैसस अध्यक्षमा भट्टराई सर्वसम्मत
![]() |
नयाँ कार्य समिति |
विदुर । गैर सरकारी संस्था महासंघ जिल्ला शाखा नुवाकोटको बिहीवार विदुरमा सम्पन्न भएको अधिवेशनले लोचन भट्टराईको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ ।
समितिको उपाध्यक्षमा गोकर्ण नेपाल, सचिवमा यशोदा खतिवडा, सहसचिवमा कपिलदेव खनाल र कोषाध्यक्षमा ध्रुबप्रसाद पुडासैनी निर्विरोध निर्वाचित भएका छन् ।
सर्वसम्मत रुपमा निर्वाचित भएको कार्य समितिको सदस्यहरूमा विनोदराज पाठक, नारायणप्रसाद नेपाल, टंक लामा, अञ्जली पाण्डे, गंगा बोगटी, नरेन्द्र थिङ्ग, रोजिना बानियाँ, नवदीप श्रेष्ठ, राजकुमार गजुरेल र राजकुमार आचार्य छन् ।
यस अघि गैसस महासंघ जिल्ला शाखा नुवाकोटको १६ औं साधारण सभा तथा सातौं अधिवेशनको उद्घाटन गर्दै जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख रजिन्द्रविक्रमसिंह ठकुरीले सामाजिक संस्थाहरूको नुवाकोटमा सञ्चालन भएको अभियान साच्चिकै प्रशंसा गर्न योग्य रहेको बताएका छन् । भौतिक विकासदेखि मानविय क्षमता विकास र आपत्विपत्मा सरकारी पक्ष भन्दा गैर सरकारी संस्थाहरूले अब्बल र छिट्टो काम गरेको उनले बताएका छन् ।
महासंघको केन्द्रीय सदस्यमा ताराबहादुर कार्की विजयी
![]() |
ताराबहादुर कार्की |
विदुर । नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष तारावहादुर कार्की नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा भारी मतले विजयी भएका छन् ।
बिहिबार विहान सम्पन्न मतगणना अनुसार कार्कीले ८१ मत प्राप्त गरि विजयी भएका हुन् । जिल्ला नगरतर्फ ११७ मत खसेको थियो । जसमा ९ मत भने बदर भएको निर्वाचन समितिले जनाएको छ । कार्कीले निर्वाचनमा जिल्ला नगर सदस्यमा वरिष्ठ उपाध्यक्षका उम्मेदवार उमेशलाल श्रेष्ठको प्यानलबाट चुनाव लडेका थिए ।
कार्की २०६१ सालदेखि नुवाकोट उद्योग वाणिज्य संघमा सक्रिय छन् । संघको २०६५ मा भएको अधिवेशनबाट सदस्य, २०६९ मा प्रथम उपाध्यक्ष, २०७२ र २०७५ मा अध्यक्षमा निर्वाचित कार्की हाल नुवाकोट उद्योग वाणिज्य संघको अध्यक्ष रहेका छन् ।
जिल्लामा खाद्य किराना व्यवसायको अगणी रहेका कार्कीको सबैसँग माया र साथले आफु निर्वाचित भएको बताएका छन् । उनले आफु महासंघको केन्द्रिय सदस्यमा निर्वाचित भएसँगै नुवाकोटमा पनि उद्योगभन्दा र कल– कारखाना खोल्न पहल गर्ने बताएका छन् ।
पहाडी क्षेत्रको जनसंख्या घट्दै
विदुर । बागमती प्रदेशको सहरी क्षेत्रको अनुपातमा पहाडी क्षेत्रमा जनसंख्या वर्षेनी घट्दै गएको छ । राष्ट्रिय जनगणनाअनुसार २०६८ को तुलनामा २०७८ मा प्रदेशको पहाडी क्षेत्रमा जनसंख्या बृद्धिदर घटेको छ ।
२०६८ देखि २०७८ को एक दशकको अवधिमा यस प्रदेशमा जनसंख्या बृद्धिदर बढेको पाईए पनि पहाडी क्षेत्रको जनसंख्या बृद्धिदर ऋणात्मक देखाएको हो । यस प्रदेशको रसुवाको जनसंख्या बृद्धिदर भने सबै पालिकामा धनात्मक रहेको छ । २०६८ मा ४३ हजार ३ सय जनसंख्या रहेकोमा २०७८ मा बढेर ४६ हजार ६ सय ८९ जनसंख्या पुगेको छ । धादिङ जिल्लामा २०६८ मा ३ लाख ३६ हजार ६७ जनसंख्या थियो । २०७८ मा पुग्दा ३ लाख २५ हजार ७१० भएको छ । १३ पालिकामध्ये नौवटा पालिकामा जनसंख्या बृद्धिदर ऋणात्मक छ । नुवाकोट जिल्लामा २०६८ को जनगणनाअनुसार २ लाख ७७ हजार ४७१ जनसंख्या भएकोमा २०७८ को जनगणनामा घटेको छ । अहिलेको जनसंख्या २ लाख ६३ हजार ३९१ रहेको छ । यस जिल्लाको १२ पालिकामध्ये १० पालिकामा ऋणात्मक जनसंख्या बृद्धिदर भएको राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको तथ्याङ्कमा छ ।
बागमती प्रदेशमा २०६८ को जनगणनाअनुसार जनसंख्या ५५ लाख २९ हजार ४५२ रहेकोमा दश वर्षमा बढेर ६१ लाख १६ हजार ८६६ पुगेको छ र समग्रमा प्रदेशको जनसंख्या बृद्धिदर ०.९७ रहेको राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ । साथै, यस प्रदेशको १३ जिल्लामध्ये रसुवा, चितवन, मकवानपुर, सिन्धुली, ललितपुर, भक्तपुर र काठमाडौं गरी सात जिल्लाको जनसंख्या बृद्धिदर धनात्मक रहेको छ । जनसंख्या बृद्धिदर ऋणात्मक रहेका जिल्लामा नुवाकोट, रामेछाप, काभ्रेपलाञ्चोक, धादिङ, सिन्धुपाल्चोक र दोलखा पर्छन् । यसैगरी देशमै सबैभन्दा बढी जनसंख्या वार्षिक बृद्धिदर भएको जिल्लामा भक्तपुर (३.३५ प्रतिशत) र सबैभन्दा बढी वार्षिक जनसंख्या घट्ने दर भएको जिल्ला रामेछाप(–१.६७ प्रतिशत) छ ।
यस्तै, प्रदेशको ११९ स्थानीय तहमध्ये ४६ वटा स्थानीय तहको जनसंख्या बृद्धिदर धनात्मक र ७३ वटा स्थानीय तहको जनसङख्या बृद्धिदर ऋणात्मक रहेको तथ्याङ्क छ । जनसंख्या सबैभन्दा बढी दरमा घटेको पालिकामा काभ्रेपलाञ्चोक जिल्लाको चौंरीदेउराली गाउँपालिका (–३.७६ प्रतिशत) र जनसंख्या बृद्धिदर सबैभन्दा बढी रहेको पालिकामा काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका (७.४१ प्रतिशत) रहेको छ । दोलखा जिल्लामा २०६८ को जनगणना अनुसार १ लाख ८६ हजार ५५७ जनसंख्या रहेका थिए भने २०७८ मा १ लाख ७२ हजार ७६७ मा झरेको छ । दुई नगरपालिकासहित ९ पालिका रहेको दोलखामा जनसंख्या बृद्धिदर बिगु, तामाकोशी, कालिञ्चोकलगायत सबै गाउँपालिकामा ऋणात्मक रहेको छ । सिन्धुपाल्चोक जिल्लामा २०६८ मा कुल जनसंख्या २ लाख ८७ हजार ७९८ रहेकोमा २०७८ को जनगणनामा २ लाख ६२ हजार ६२४ पुगेको छ । १२ पालिका रहेको यस जिल्लाको पाँचपोखरी थाङ्पाल गाउँपालिका बाहेक सबैको ऋणात्मक छ ।
यस प्रदेशको हिमाली जिल्ला रसुवाको जनसंख्या बृद्धिदर भने सबै पालिकामा धनात्मक रहेको छ । २०६८ मा ४३ हजार ३ सय जनसंख्या रहेकोमा २०७८ मा बढेर ४६ हजार ६८९ जनसंख्या पुगेको छ । धादिङ जिल्लामा २०६८ मा ३ लाख ३६ हजार ६७ जनसंख्या थियो । २०७८ मा पुग्दा ३ लाख २५ हजार ७१० भएको छ । १३ पालिकामध्ये नौवटा पालिकामा जनसंख्या बृद्धिदर ऋणात्मक छ । नुवाकोट जिल्लामा २०६८ को जनगणनाअनुसार २ लाख ७७ हजार ४७१ जनसंख्या भएकोमा २०७८ को जनगणनामा घटेको छ । अहिलेको जनसंख्या २ लाख ६३ हजार ३९१ रहेको छ । यस जिल्लाको १२ पालिकामध्ये १० पालिकामा ऋणात्मक जनसंख्या बृद्धिदर भएको राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ । काठमाडौं जिल्लाको २०६८ को जनसंख्या १७ लाख ४४ हजार २४० रहेकोमा २०७८ मा बढेर २० लाख ४१ हजार ५८७ पुगेको छ । ११ वटा नगर रहेको काठमाडौं जिल्लामा काठमाडौं महानगरपालिका बाहेकको नगरपालिकामा जनसंख्या बृद्धिदर धनात्मक रहेको छ ।
यसैगरी, भक्तपुर जिल्लामा २०६८ मा जनसंख्या ३ लाख ४ हजार ६५१ रहेकामा २०७८ मा बृद्धि भई ४ लाख ३२ हजार १३२ पुगेको छ । चारवटा नगरपालिका रहेको यस जिल्लामा भक्तपुर नगरपालिका बाहेकका सबै नगरपालिकाको जनसंख्या बृद्धिदर धनात्मक छ । तीन गाउँपालिकासहित ६ वटा पालिका रहेका ललितपुर जिल्लाको जनसंख्या बृद्धिदर तीनवटै गाउँपालिको ऋणात्मक रहेको छ । २०६८ सालमा यस जिल्लाको जनसंख्या ४ लाख ६८ हजार १३२ रहेकोमा २०७८ मा ५ लाख ५१ हजार ६६७ पुगेको छ । यस्तै काभ्रेपलाञ्चोक जिल्लामा २०६८ को जनगणनाअनुसार ३ लाख ८१ हजार ९३७ रहेकोमा २०७८ को जनगणनामा घटेर ३ लाख ६४ हजार ३९ भएको छ । १३ पालिका रहेको यस जिल्लाको जनसंख्या बृद्धिदर तीन पालिकाको मात्र धनात्मक छ । २०६८ मा रामेछाप जिल्लाको जनसंख्या २ लाख २ हजार ६४६ रहेकोमा २०७८ मा घटेर १ लाख ७० हजार ३०२ छ । यस जिल्लाको सबै पालिकाको जनसंख्या बृद्धिदर ऋणात्मक छ ।
सिन्धुली जिल्लाको जनसंख्या २०६८ मा २ लाख ९६ हजार १९२ रहेकोमा २०७८ मा बढेर ३ लाख २६ पुगेको तथ्याङ्क छ । नौ पालिका रहेको यस जिल्लाको जनसंख्या बृद्धिदर तीनवटा पालिकाको मात्र धनात्मक रहेको देखिन्छ ।
मकवानपुरको जनसंख्या २०६८ मा ४ लाख २० हजार ४७७ भएकोमा २०७८ मा बृद्धि भई ४ लाख ६६ हजार ७३ भएको छ । १० पालिका रहेको यस जिल्लाको जनसङख्या बृद्धिदर सात पालिकाको ऋणात्मक रहेको छ । २०६८ को जनगणनाअनुसार चितवन जिल्लाको जनसंख्या ५ लाख ७९ हजार ९८४ रहेकोमा २०७८ मा बढेर ७ लाख १९ हजार ८५९ भएको छ । यस जिल्लाको सबै पालिकाको जनसंख्या बृद्धिदर धनात्मक रहेको तथ्याङ्क सार्वजनिक भएको छ ।
२०८० साल बैशाख ४ गतेको सम्पादकीय
बसाइँसराइ व्यवस्थित गर्नु आवश्यक
राष्ट्रिय जनगणनाअनुसार २०६८ को तुलनामा २०७८ मा प्रदेशको पहाडी क्षेत्रमा जनसंख्या बृद्धिदर घटेको छ । त्यसो त बागमती प्रदेशको मात्रै चर्चा गर्ने हो भने पनि बागमती प्रदेशमा २०६८ को जनगणनाअनुसार जनसंख्या ५५ लाख २९ हजार ४५२ रहेकोमा दश वर्षमा बढेर ६१ लाख १६ हजार ८६६ पुगेको छ र समग्रमा प्रदेशको जनसंख्या बृद्धिदर ०.९७ रहेको राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ । २०६८ देखि २०७८ को एक दशकको अवधिमा यस प्रदेशमा जनसंख्या बृद्धिदर बढेको पाईए पनि पहाडी क्षेत्रको जनसंख्या बृद्धिदर ऋणात्मक देखाएको हो । हिमाली र पहाडी क्षेत्रबाट विदेश जानेहरूको संख्या बढेको छ । पहाड र हिमालबाट तराई पनि झर्छन् । माथिल्लो भेगबाट तल्लो भेगमा बसाइँ सर्ने भएका कारण पनि तराई क्षेत्रको जनसंख्या बढिरहेको र अरू क्षेत्रको घटिरहेको बुझ्न सकिन्छ । अहिले बसाइँसराइ गर्नेमा १५ देखि २५ वर्षसम्मको उमेर समूहको जनसंख्या बढी छ । उनीहरूले नयाँ परिवार बसाउन खोज्ने भएका कारण पनि यस्तो स्थिति देखिएको हुन सक्छ । तर मधेसबाट अन्यत्र बसाइँसराइ खासै छैन । मधेसमा अहिले पनि जन्मदर उच्च छ । मुख्य गरी हिमाली र पहाडी क्षेत्रमा अहिले पनि केही गाउँ रित्तिने अवस्थामा पुगिसकेका छन् । खाली नै हुने अवस्था अहिल्यै नरहे पनि बिस्तारै खाली हुँदै गएको देख्न सक्छौं । इटालीमा जन्मदर निकै घटेको थियो । युवावयका मान्छे विश्वविद्यालयमा पढ्न सहर आउनुपर्ने हुन्थ्यो । सहर आएकाहरू गउँ नफर्किएपछि त्यहाँ घरहरू नै खाली भए । सरकारले कर छुटलगायतका सुविधा दिएर बोलाए पनि उनीहरू फर्केनन् । त्यस्तै अवस्था यहाँ नआउला भन्न सकिँदैन । युरोपेली मुलुकका हिमाली क्षेत्र रित्तन थालेको सय वर्षभन्दा पनि बढी भयो । युरोपका देश मात्र होइन, चीन, जापानलगायत विकसित देशमा पनि यस्तो प्रवृत्ति देखिन्छ । ग्रामीण भेगको जनजीवन कष्टकर हुने भएका कारण युवावस्थाका मानिस गाउँ फर्किन चाहँदैनन् । हाम्रोमा पनि त्यो सम्भावना छ । पहिले युवा सहर आउँछन् र पछि उनीहरूका अभिभावक पनि बोलाउँछन् । हामीकहाँ विदेश गएका मानिसले पहिले छोराछोरी, श्रीमतीलाई सहर बोलाउँछन् । बिस्तारै अभिभावक पनि उनीहरू भएकै ठाउँ सहर वा विदेश पुग्छन् । यसकारण गाउँ खाली हुँदै जाने क्रम बढ्छ । डेमोगाफिक टूान्जिसन थ्योरीले जनसंख्याको विश्लेषण गर्दा आदिमकालमा जन्मदर र मृत्युदर दुवै बढी हुन्छ भन्छ । त्यस्तो अवस्थामा औसत आयु निकै कम हुन्छ । विकास हुँदै गएपछि शिक्षा, स्वास्थ्यजस्ता क्षेत्रमा सुधार हुनेबित्तिकै मृत्युदर घट्न थाल्छ । बिस्तारै पछि जन्मदर पनि घट्न थाल्छ । किनभने समाजमा धेरै बच्चा पाउन नहुने रहेछ भन्ने चेतना बढ्छ । हामी अहिले डेमोग्राफिक टूान्जिसनको अन्तिम बिन्दुतिर छौं । अर्थात् हामीकहाँ अहिले मृत्युदर र जन्मदर दुवै घटेको छ । हामी मृत्युदर अझै घटाउन सक्छौं । औसत आयु बढाउने ठाउँ हामीसँग छ ।
त्यसो त, सरकार आफैं पहिलेदेखि नै जनसंख्या कसरी घटाउने भनेर लागेको थियो । अहिले घटेको छ । यसमा त खुसी हुनुपर्ने हो । जनसंख्या घट्दा केही देशले चिन्ता किन गर्छन् भने उनीहरूको भूराजनीतिक अवस्थालाई जनसंख्याले अर्थ राख्छ । युद्धको कारण हेरेर जनसंख्या घट्दा समस्या मान्ने देशहरू पनि छन् । कुनै देशभित्रै पनि कुनै जाति वा समुदायको जनसंख्या घट्दा आन्तरिक द्वन्द्व देखिने सम्भावना रहन्छ । धेरैजसो देशले मुस्लिम समुदायको जनसंख्या बढ्नुलाई चुनौतीका रूपमा देख्छन् । नेपालको हकमा यस्ता विषय नरहेकाले जनसंख्या वृद्धिदर घट्नु समस्या होइन । बरु सरकारले रोजगार र त्यसको उचित मूल्य पाउने प्रबन्ध गर्नुपर्छ । हाम्रा युवा जबसम्म रोजगारी र तलब सुविधाका हिसाबले आफूलाई कमजोर ठानिरहन्छन्, विदेशिने समस्या रहिरहन्छ । अहिले कस्तो सीप भएको मान्छे कुन देशमा गएर कति कमाउँछ भन्ने थाहा पाउन गाह्रो छैन । अरू देशमा राम्रो जागिर र कमाइ भएपछि उनीहरूको सोचाइ नै विदेश जाने भन्ने हुन्छ । नेपालमा जबसम्म तलब बढ्दैन, तबसम्म यो क्रम चलिरहन्छ । हाम्रो सरकारी नीति रेमिट्यान्स मात्र ल्याउने हो कि भन्ने देखिन्छ । तर आन्तरिक श्रमको मूल्य कति पाएका छौं भनेर सोचिएको छैन । हाम्रा युवा कसरी अरू देशमा पठाउने भन्नेतर्फ मात्रै हाम्रो नीति केन्द्रित भएको जस्तो देखियो । देशभित्रै रोजगारको अवस्था कमजोर छ । हामीकहाँ रोजगारी सुरक्षित छैन । यो सुूिन समय लाग्छ । यसको सामाजिक प्रभावका रूपमा एक्लोपन, अभिभावकबाट एक्लो हुने आदि समस्या युवामा देखिरहेका छौं । परिवार नियोजनसँग सम्बन्धित नीतिलाई अब पुनर्विचार गर्नुपर्छ । सबै क्षेत्र र समुदायका लागि होइन, केही क्षेत्र र समुदायमा केन्द्रित भएर जानुपर्छ । त्यस्तै कम उमेरमा विवाह गर्ने र कम उमेरमै आमा बन्ने प्रवृत्ति पनि कम भएको छैन । कानुन नै बनाए पनि त्यो नियन्त्रण भएको छैन । त्यसकारण एकातिर परिवार नियोजनसँग सम्बद्ध मुद्दालाई पन्छाउनुपर्नेछ भने अर्कातिर अझै प्रभावकारी बनाउनुपर्ने देखिन्छ । हामीले ध्यान दिनुपर्ने महत्त्वपूर्ण क्षेत्र भनेको बसाइँसराइ नै हो । आन्तरिक र बाह्य दुवै खालको बसाइँसराइलाई व्यवस्थित गर्नतर्फ लाग्नुपर्छ । घटाउने वा बढाउनेभन्दा पनि त्यसलाई कसरी व्यवस्थित गर्ने भन्नेतर्फ हाम्रा नीति केन्द्रित हुन जरुरी छ ।