Monday, April 24, 2023

सकिएन किसानका दुःख

न्यूरोडमा आमरण अनशनमा रहेको नुवाकोटका कृषक श्रीराम घिमिरेलाई भेट्दै नुवाकोटका पुर्व सांसद नारायणप्रसाद खतिवडा (ढाकाको टोपीमा) र एमाले नुवाकाटका उप सचि निलकण्ठ आचार्य । 

विदुर । नेताहरूले नै करोडौँ रूपैयाँ अनुदान कुम्याउने नुवाकोट जिल्लाका एक किसान व्यवसायका लागि लिएको ऋण तिर्न कठिन हुने देखेपछि कृषिमा अनुदान दिनुपर्ने लगायतका केही माग राखेर न्यूरोडमा आमरण अनशनमा बसेका छन् । नुवाकोटको ककनी–२ सिउडेनीका श्रीराम घिमिरे किसानले सस्तो व्याजमा ऋण पाउनुपर्ने र अनुदान पाउनुपर्ने लगायतका माग राखेर न्यूरोडको भूगोलपार्कको चौरमा अनशनमा बसेका हुन् ।

कुखुरा तथा कालिज फार्म सञ्चालन गर्न लिएको ऋणले समस्यामा परेपछि श्रीराम अनशनमा बसेको उनी निकटहरूले बताएका छन् । यद्यपी श्रीरामले भने कृषकलाई अनुदान दिलाउन, बैँकको ब्याजदर २ प्रतिशत कायम गर्न, कृषि मल, बिऊ र औजार अनुदानमा प्राप्त गर्न, कुल बजेटको कृषिमा १० प्रतिशत विनियोजन गर्न, किसान कार्ड लागू गर्न र किसानलाई यातायात भाडामा ५० प्रतिशत छुट दिलाउने माग राखेर सबैका लागि अनशन बसेको बताएका छन् ।

शनिबार श्रीरामको अनशनप्रति ऐक्यबद्धता जनाउँदै नुवाकोटका राजनीतिक नेता र सामाजिक कार्यकर्ताले उचित सम्बोधनका लागि नेपाल सरकारसँग माग गरेका छन् । नुवाकोटका पूर्व सांसद् एवं नेकपा (एमाले) बागमती प्रदेश कमिटी सदस्य नारायणप्रसाद खतिवडाले पीडितको माग सम्बन्धोन गर्नुपर्ने र सर्वप्रथम सरकारले जीवन रक्षाका लागि पहल गर्नुपर्ने बताए । यस्तै समृद्ध नुवाकोट अभियानका महासचिव माधवप्रसाद तिवारीले सरकारले किसानका नाममा बाँड्ने अर्बौ रकम सदुपयोग भएको छ कि छैन भनेर तत्कालै एक उच्चस्तरीय छावनिन समिति बनाएर अनुसन्धान गर्नुपर्ने बताए । नेकपा एमाले नुवाकोटका उप सचिव निलकण्ड आचार्यले वास्तविक किसानहरू चाहिँ आमरण अनशन बस्नुपर्ने र पहुँचवाला नेताहरूले तीनै किसानको नाममा करोडौँ अनुदान कुम्ल्याउने प्रवृतिको अन्त्य हुनुपर्ने बताए ।

अनशसन स्थलमा पुगेका नेकपा एमाले नुवाकोटका उपसचिव निलकण्ठ आचार्यले घिमिरेको जीवनरक्षा पहिलो शर्त भएको बताए । उनले कृषिमन्त्रीको ध्यानाकर्षण गराउन खोज्दा सम्पर्कमा आउन नचाहेको र संम्बधित क्षेत्रका प्रतिनिधिसभा सदस्यको पनि ध्यानाकर्षण गराएको बताए ।

आत्मनिर्भर नेपाल निर्माण अभियानका मुख्य किसान जनस्वयंसेवक नारायणप्रसाद धिमालले राजनीतिका कारण सबै बिग्रिएको भन्दै घिमिरेको जीवनरक्षाका लागि पहल गरिदिन सबैसँग अनुरोध गरे ।  मागका सम्बन्धमा कृषि मन्त्रालय र किसान आयोगले चासो लिएको भए पनि ठोस पहल नभएको घिमिरेले बताए । यस्तै, अखिल नेपाल किसना महासंघ नुवाकोट जिल्ला कमिटिका अध्यक्ष रमहरि पाण्डेले विज्ञप्ती जारी गरी घिमिरेको माग तत्काल सम्बोधन गर्न आग्रह गरेका छन् । 

खनाल सहित चार सम्मानित

पत्रकार खनाललाई सम्मान गर्दै महासंघका अध्यक्ष ढकाल ।

विदुर । यस इमेज साप्ताहिकका प्रकाशक एवं नेपाल पत्रकार महासंघ जिल्ला शाखा नुवाकोटका अध्यक्ष कपिलदेव खनालसहित चार जनालाई नुवाकोट उद्योग बाणिज्य संघले सम्मान गरेको छ । 

सम्मानति हुनेमा खनाल, नुवाकोट उद्योग बाणिज्य संघका कार्यकारिणी सचिव ईश्वर डंगोल, इलम प्रशिक्षण केन्द्र विदुरका कार्यालय सहायक माधवप्रसाद दाहाल र प्रिन्ज आर्ट बट्टारका श्रबण प्रधान छन् । शुक्रवार सम्पन्न संघको १८ औं बार्षिक साधारण सभा तथा ११ औं अधिवेशनमा  उनीहरूलाई नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सम्मान पत्र प्रदान गरेका हुन् । खनाललाई आम सञ्चारको माध्याम मार्फत् संघको संस्थागत विकास र नागरिकहरूको सूचनाको हक स्थापित गरेवापत, डंगोल र दाहाललाई कार्यालयको नियमित गतिविधि सञ्चालनमा अनवरत रचनात्मक सक्रियता देखाएवापत र प्रधानलाई जिल्लामा सूचना, प्रविधिको आधुनिक उद्योग भित्र्याएवापत सम्मान गरिएको नुवाकोट उद्योग बाणिज्य संघका निर्वतमान अध्यक्ष ताराबहादुर कार्कीले बताएका छन् । 

बँदेल भन्ठानेर भालुसंग ‘सेल्फी’ खिच्न लाग्दा पाँच जना घाइते

भालुको आक्रमणबाट घाइते भएका

ककनी । शिवपुरी नागर्जुन राष्ट्रिय निकुञ्जबाट झरेको भालुको आक्रमणमा परी ककनी गाउँपालिकाका पाँच जना सख्त घाइते भएका छन् । कननी १ ओखरपौवाका ४ जना स्थानीय र वडा ४ का १ जना गरी ५ जनालाई भालुले आक्रमण गरी घाइते बनाएको वन डिभिजन कार्यालय नुवाकोटका डीएफओ दीर्घनारायण कोइरालाले जानकारी दिए ।

घाइतेहरूको काठमाडौं बसुन्धरास्थित ग्रिनसिटी अस्पतालमा उचपार भइरहेको छ । उनका अनुसार सुरुमा निकुञ्जको जंगलबाट भालु झरेर मध्यवर्तीको सानो जंगलमा बसेको स्थानीयले बँदेल भन्ठानेर हेर्ने र सेल्फी खिच्ने भनेर लाग्दा भालुले एक्कासी आक्रमण गरी गएको बुधबार घाइते बनाएको थियो । ‘२ जनालाई सेल्फी खिच्दा घाइते बनाइदियो,’ उनले भने, ‘चारैतिर खैलाबैला भयो । निकुञ्जमा खबर गरे, भालु भाग्यो । गएको बिहीबार बिहान फेरि एक जना र अर्को सोही जंगलबाट बाटो हिँडिरहेको गरी दुई जनालाई भालुले घाइते बनाएपछि ललितपुरस्थित सदर चिडियाखाना जावलाखेलको उद्धार टोलीले अपराह्न ४ बजे भालु फेला पारेर लठ्याउने सुई लगाई उपचारका लागि जावलाखेल लगेका छन् ।’

भालुले आक्रमण गरी घाइते बनाएको ककनी गाउँपालिकाका अध्यक्ष सुमन तामाङ सज्जनले पनि पुष्टि गरे । उनले ग्रिनसिटी अस्पतालमा पुगेर घाइतेको अवस्था बुझेर आएको बताए । गाउँपालिका अध्यक्ष तामाङका अनुसार एक जना घाइतेको अनुहार नै क्षतविच्छेद भएको, अधिकांशको टाउकोमा र एक जनाको गोडामा चोट छ ।

पासाङल्हामू राजमार्गको तत्कालन स्तरोन्नती र छहरे–टोखा सुरुङ्ग मार्ग निर्माणको माग

नेकपा एकीकृत समाजवादी पार्टीका पोलिटब्यूरो सदस्य राजेन्द्रप्रकाश लोहनी पासाङल्हामू राजमार्गको ठेक्का तत्काल खोल्न भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको ध्यानाकर्षण गर्दै । 

काठमाडौँ । पासाङल्हामू राजमार्गको ठेक्का तत्काल खोल्न भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको ध्यानाकर्षण गराइएको छ । नुवाकोटका पूर्व सांसद समेत रहेका नेकपा एकीकृत समाजवादी पार्टीका पोलिटब्यूरो सदस्य राजेन्द्रप्रकाश लोहनीसहित सरोकारवालाहरूले मन्त्री ज्वालाको ध्यानाकर्षण गराएको अधिवक्ता बसन्त बस्नेतले जानकारी दिए ।

अधिवक्ता बस्नेतले मुख्य रूपमा दुई विषयमा मन्त्रीको ध्यानाकर्षण गराएको बताए । उनका अनुसार पासाङल्हामू राजमार्गको निर्माणको तत्काल ठेक्का आव्हान र छहरे टोखा सुरूङ्ग मार्गका लागि बजेट सुनिश्चत गरेर तत्काल काम अघि बढाउन मन्त्रीको ध्यानाकर्षण गराइएको हो । ध्यानाकर्षण गराउने क्रममा पूर्व सांसद लोहनीले पासाङल्हामू राजमार्गको दुरावास्थाका कारण धेरै जनताले दुःख पाएको, सडकको दुरावस्थाका कारण कतिपय बिरामीले बाटोमै ज्यान गुमाउनु परेको लगायतको विषयको मन्त्रीलाई जानकारी गराएका थिए ।

लोहनीसहितको टोलीको ध्यानाकर्षण पछि मन्त्री ज्वालाले विभाग र आयोजनाका प्रमुखसँग बसेर तत्काल ठेक्का लगाउनका लागि आफूले पहल गर्ने प्रतिवद्धता जनाए । भारतीय एक्जिम बैंकको ऋणमा बिस्तार सुरू गरिएको राजमार्गको स्तरोन्नती अहिले अबरूद्ध छ । तीन वर्षमा निर्माण सम्पन्न गर्ने उद्देश्यले काम सुरू भएको भए पनि ठेकेदारहरूका कारण सडक नौ वर्षदेखि बेहाल बनेको छ ।

चीन नेपाल र भारत जोड्ने त्रिदेशीय मार्गसँग जोडिने पासाङल्हामु राजमार्ग जीर्ण बन्दा रसुवा र धादिङको केही भेगका नागरिकले समेत यातायात सेवा राम्रोसँग लिन पाएका छैनन् । सो अवसरमा अधिवक्ता बस्नेत, समृद्ध नुवाकोट अभियानका महासचिव माधव्रसाद तिवारी, अभियानका सदस्य समेत रहेका राससका वरिष्ठ समाचारदाता प्रकाश सिलवाल, विदुर नगरपालिका ६ का पूर्व अध्यक्ष राजु सडौला लगायत सरोकारवालाको उपस्थित रहेको थियो ।

बालाजुको बाइपासदेखि रौनीपौवासम्म १७ किलोमिटर एउटा र रानीपौवादेखि पिपलटारसम्म ३४ किलोमिटरको अर्को गरी दुई वटा ठेक्का भएकोमा दुबैमा ठेकेदारको लापरवाही काम भएन । पटक पटक म्याद थप्ने र ठेक्का महंगो बनाउने लैजाने काम मात्र गरे । भौतिक प्रगती हुन नसकेपछि सरकारले दुबै ठेक्का तोडिसकेको छ । बालाजुदेखि रानीपौवासम्मको सडकको ठेक्का शारदाप्रसाद अधिकारीको शैलुङ कन्स्ट्रक्सनको जेभी र रानीपौवादेखि पिपलटारसम्मको सडक कोशी न्यौपाने एण्ड कम्पनीको जेभीको कम्पीले ठेक्कामा लिएका थिए । ठेक्का तोडिएको लामो समय भए पनि सडक आयोजनाले नयाँ ठेक्का खोल्न ढिलासुस्ती गरिरहेको छ ।

नुवाकोट प्रवेशको मुख्य नाका मानिने पासाङल्हामू राजमार्गको एक दशकको हविगतले त्यहाँका धेरै स्थानीय विस्थापित नै बन्न पुगेका छन् । सडक भत्काएर छाडिदा समयमै अस्पताल पुग्न नपाएर ज्यान गुमाउनेहरू पनि छन् । सरकारको पटक पटक ध्यानाकर्षण गराउँदा समेत काम हुनसकेको छैन ।

पासाङल्हामु राजमार्ग नेपालका १४ वटा पुराना राजमार्गमध्ये एक भएको २०२१ फागुन २१ गते तत्कालीन सरकारले प्रकाशित गरेको ‘नेपाल गजेट’मा उल्लेख गरिएको छ । त्यतिबेला यो सडकको चौडाइ बीचबाट दायाँबायाँ २५÷२५ गज तोकिएको थियो । तर, सडक एकलेनको मात्र भएको कारण सरकारले विस्तारको काम थालेको भए पनि विभिन्न कारणले काम हुन सकेको छैन ।

वाणिज्य संघमा सर्वसम्मत

नुवाकोट उद्योग वाणिज्य संघको नयाँ नेतृत्व

विदुर । नुवाकोट उद्योग वाणिज्य संघको नयाँ नेतृत्व सर्वसम्मत चयन भएको छ । शुक्रबार आयोजना हुने संघको ११ औं वार्षिक साधारणसभाले नयाँ नेतृत्व चयन गर्ने भएपनि उम्मेदवारीका लागि तोकिएको समयसम्म दोहोरो उम्मेदवारी नपरेपछि सर्वसम्मत नेतृत्व चयन भएको हो । 

निर्वाचन समितिले अध्यक्षमा राजेन्द्र श्रेष्ठको नेतृत्वमा संघको सबै पदाधिकारी सर्वसम्मत चयन भएको घोषणा गरेको छ । अध्यक्ष श्रेष्ठसँगै संघको वरिष्ठ उपाध्यक्षमा होटल व्यवसायी महासंघको केन्द्रीय उपाध्यक्ष समेत रहेका व्यवसायी सन्तोष उप्रेती सर्वसम्मत भएका छन् । संघको प्रथम उपाध्यक्षमा दिनेशकुमार श्रेष्ठ, द्वितीय उपाध्यक्षमा सविन राजभण्डारी, महासचिवमा उपेन्द्र बुढाथोकी, सचिवमा मधुसूदन थपलिया, कोषाध्यक्षमा मेघनाथ घिमिरे र प्रवक्तामा सुमन भण्डारी चयन भएका छन् । 

खुल्ला सदस्यहरूमा राजकुमार आचार्य, पुरुषोतम कार्की, नवराज पाण्डे, पवन नेपाल, दिपक तिमिल्सिना, प्रेमलाल श्रेष्ठ, सुजित श्रेष्ठ, सन्जिव थपलिया, हरिकृष्ण तिमिल्सिना चयन भएका छन् । यसैगरी तीन महिला सदस्यहरूमा ज्ञानुमाया गिरी, नानू गुरुङ्ग र सुजना खतिवडा चयन भउका छन् । वस्तुगत सदस्यतर्फ सविन श्रेष्ठ र पुरुषोत्तम अधिकारी सर्वसम्मत चयन भएका छन् । 

करणी अभियोगमा ६ पक्राउ

विदुर । सामूहिक करणी अभियोगमा किस्पाङ गाउँपालिका–५ का पाँच जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा १९ वर्षीय निर्मल तामाङ, २० वर्षीय अमृत तामाङ र १७ वर्षीयसहित तीन नाबालक रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । १५ वर्षिया किशोरीमाथि बलात्कार गरेको अभियोग उनीहरूमाथि लागेको छ । 

प्रहरीका अनुसार गएको आइतबार निर्मलले किस्पाङ गाउँपालिका–५ मा पर्ने सुकुटे पुलमा ती किशोरीलाई भेट्न बोलाएका थिए । त्यस क्रममा निर्मल र उनका साथीहरू मिलेर जबर्जस्ती करणी गरेको जिल्ला प्रहरी कार्यायलका सूचना अधिकारी एवं डिएसपी खगेन्द्रबहादुर खड्काले बताए । आरोपीहरूलाई नुवाकोट अदालतबाट ५ दिने म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको छ । 

यस्तै बिदुर नगरपालिका–१ ढुंगेस्थित याग्रा होटलबाट जबर्जस्ती करणी गरेको अभियोगमा रसुवाको गोसाइँकुण्ड गाउँपालिका–५ स्याफ्रुबेंसी २८ वर्षीय ग्याल्सन तामाङ पक्राउ परेका छन् । गत चैत २७ गते पीडित घरबाट रसुवा कालिकास्थान जाने क्रममा मोटरसाइकलमा सवार अभियुक्तसँग लिफ्ट मागेकी थिइन् । अभियुक्तले चिनजान गरेर उनका छोराछोरीलाई विदेशका विभिन्न विद्यालयमा निःशुल्क छात्रवृत्तिमा पढाउन पठाइदिने प्रलोभन देखाएर पुनः भेट्न बोलाएका थिए । छात्रवृत्तिका लागि पीडितका बालबालिकाको तस्बिर लिएर गत चैत ३० गते विदुर नगरपालिका–१ स्थित ढुंगेकै याङ्ग्रा होटलमा बोलाई जबरजस्ती करणी गरी फरार भएको प्रहरीले जनाएको छ ।

खोजतालसकै क्रममा विदुर नगरपालिका–१० स्थित बेत्रावतीबाट गएको सोमबार पक्राउ गरिएको हो । उनलाई नुवाकोट अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी खगेन्द्रबहादुर खड्काले बताए ।

काठमाडौं महानगरलाई दुई पालिकाको १५ दिने अल्टिमेटम

दुई पालिकाले जारी गरेको संयुक्त विज्ञप्ती ।

रानीपौवा । नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनिवेशी नगरपालिकाले फोहोर विसर्जन गर्न नदिने चेतावनी दिएका छन् । काठमाडौंको फोहोर विसर्जन हुँदै आएको क्षेत्रका यी दुई पालिकाले १५ दिनभित्र यसअघि भएका सहमती र सम्झौताहरूको कार्यान्वयन नभए फोहोर फाल्न नदिने चेतावनी दिएका हुन् ।

धुनिवेशी नगरपालिकाका मेयर बालकृष्ण आचार्य र ककनी गाउँपालिकाका अध्यक्ष सुमन लामाले संयुक्त विज्ञप्ति जारी गर्दै गत जेठमा सरोकारवालाहरूसँग भएको सहमति र सम्झौता कार्यान्वयनका लागि १५ दिनको अल्टिमेटम दिएका छन् । यसैबीच प्रभावित क्षेत्रको जग्गा अधिग्रहण गरी मुआब्जा दिनुपर्ने, फोहोरमैलाका कारण न्यून प्रभाव पार्ने गरी फोहोरबाट निस्किएको लिक्विडको व्यवस्थापन गर्न‘पर्नेलगायतका माग गरेका छन् ।

ककनी र धुनिवेशीका वडाहरूमा वार्षिक १० करोड बराबरको शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधार विकास तथा रोजगारीका योजनाहरू सञ्चालन हुनुपर्ने उनीहरूको माग रहेको छ ।

बालमैत्री कक्षाकोठाका लागि सामाग्री हस्तान्तरण

सामाग्री हस्तान्तरण समारोह

पञ्चकन्या । शैक्षिक क्षेत्रमा कार्य गर्दै आएको गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा ग्रामिण विकास तथा सशक्तिकरण केन्द्र (रुडेक नेपाल)ले गत बर्ष फागुनदेखि नुवाकोटमा सञ्चालन गर्दै आएको एकीकृत सामुदायिक विकास परियोजना सम्पन्न गरेको छ । 

परियोजना अन्तर्गत नुवाकोटको पञ्चकन्या गाँउपालिकाको नव सञ्जिवनी मावि र मंगला आधारभुत विद्यालय तथा दुप्चेश्वर गाउपालिकाको सरस्वती माविमा बालमैत्री कक्षाकोठा व्यवस्थापनको लागी सामाग्री हस्तान्तरण गरेको छ । सामग्री हस्तान्तरण कार्यक्रममा पञ्चकन्या गाँउपालिकाको उपाध्यक्ष विमला केसी, वडा अध्यक्ष रामशरण श्रेष्ठ, रुडेक नेपालका अध्यक्ष मीनकुमार केसी, गुड नेवर्स इन्टरनेशनल नेपाल नुवाकोट प्रतिनिधि दिपक पौडेल, शिक्षा तथा संरक्षण अधिकृत राजेन्द्र पौडेल तथा परियोजना व्यवस्थापन समिति सदस्य अस्मिन कार्की लगायतको उपस्थितिमा सम्वन्धित विद्यालयको प्रधानाध्यापकलाई सामग्री हस्तान्तरण गरिएको छ । 

परियोजनाले हस्तान्तरण गरेको सामग्रीहरूमा राउण्ड टेवल, सामग्री राख्ने -याक, कुसन, कार्पेट, पिफर्म, स्मार्ट टिभि, पेन ड्राइभ, ह्वाइट बोर्ड तथा अन्य ३२ प्रकारका कक्षाकोठाको सिकाई सामग्रीहरूको सेट रहेको रुडेक नेपालका अध्यक्ष मीनकुमार केसीले जानकारी दिए । सामग्री हस्तान्तरण कार्यक्रममा पञ्चकन्या गाँउपालिकाको उपाध्यक्ष विमला केसीले सामग्रीहरूको उचित सदुपयोग गरी साना बिद्यार्थीहरूको सिकाई प्रभावकारी बनाउदै शैक्षिक गुणस्तरमा ध्यान दिनको लागी सामुदायिक विद्यालयको शिक्षकहरूलाई आग्रह गरेका छन् । 

समस्या समाधानका लागि निजी क्षेत्र तयार

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल

विदुर । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले वर्तमान आर्थिक समस्याको समाधानका लागि नेपाल सरकार र निजी क्षेत्र दुवैको पहिलो प्राथमिकतामा रहेको बताएका छन् । 

नुवाकोट उद्योग वाणिज्य संघद्वारा शुक्रवार आयोजित १८ औँ वार्षिक साधारणसभा तथा ११ औं अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले आर्थिक समस्या समाधानका लागि सरकार र निजी क्षेत्रबीचको सहकार्यले छिट्टै समाधान हुने विश्वास व्यक्त गरे । ‘हालै सम्पन्न नेपाल उद्योग वाणिज्य महासंघको साधारणसभामा उल्लेख गरिएको प्राथमिकतामा आर्थिक समस्या समाधानलाई पहिलो प्राथमिकता दिइएको छ’, उनले भने, ‘नयाँ कार्यसमितिले अर्थमन्त्री, नेपाल राष्ट्र बैंकका गभर्नर लगायतसँगको भेटमा समाधानका उपायका बारेमा छलफल भएको छ । वर्तमान आर्थिक समस्या समाधान गर्न सरकार र निजी क्षेत्र दुवैले बनाएका योजनालाई संयुक्तरूपमा कार्यान्वयनमा ल्याएर समाधानको उपाय निकाल्ने छौँ ।’

संघीय राजधानी काठमाडौँसँग जोडिएको नुवाकोटमा कृषि, पर्यटन र जलस्रोतको धेरै सम्भावना भएकाले त्यसलाई उपयोगमा ल्याउन वाणिज्य संघ नुवाकोट सफल हुनेमा केन्द्रीय अध्यक्ष ढकालले विश्वास व्यक्त गरेका छन् । 

त्यसका लागि सम्भावित क्षेत्रमा आयोजनाको पहिचान, पूँजी र प्रविधिको व्यवस्थापन र लगानीको वातावरण मिलाउन नेपाल उद्योग वाणिज्य महासंघले सहयोग गर्ने उनले प्रतिबद्धता जनाएका छन् । 

    नुवाकोट उद्योग बाणिज्य संघको १८ औं बार्षिक साधारण सभा तथा ११ औं अधिवेशनको शुक्रवार विदुरमा उद्घाटन गर्दै नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय अध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघले ७७ वटै जिल्लामा उद्योगधन्दाहरू स्थापनाका लागि अग्रसरता लिन लागेको र त्यसको सुरुवात नुवाकोटबाट गर्ने अध्यक्ष ढकालले घोषणा गरेका छन् । साथै आफु व्यक्तिगत रुपमा जलविद्युत्को क्षेत्रमा लगानीकर्ताको रुपमा नुवाकोट प्रवेश गरिसकेको समेत ढकालले बताएका । 

ट्रेडयुनियन अध्यक्षमा मुडवरी

विदुर । अखिल नेपाल ट्रेडयुनियन महासंघ  नुवाकोटको दोस्रो जिल्ला भेलाबाट बेदनिधि मुडवरी अध्यक्ष पदमा निर्विरोध निर्वाचित भएका छन् । बरिष्ठ उपाध्यक्षमा ज्ञनकुमार श्रेष्ठ, उपाध्यक्षद्धयमा रामकृष्ण रैला र रुपा बिक, सचिवमा जगन्नाथ प्याकुरेल, सहसचिवमा प्रकाश बलामी र कोषाध्यक्षमा ईश्वर श्रेष्ठ निर्वाचित भएका छन् । कार्यसमितिमा २७ जना सदस्य छन् । 

    श्रम ऐन, सामाजिक सुरक्षा ऐन कार्यान्वयन गराऔ, सबै खाले असमानता को विरुद्ध एक जुट हौं भन्ने मुल नाराका साथ मनाइएको उक्त जिल्ला भेलामा नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक पुष्प लामिछाने, अखिल नेपाल ट्रेडयुनियन महासंघ केन्द्रिय सचिव सोम तामाङ, बागमती प्रदेश अध्यक्ष शिब पोखरेल, मजदुर युवा सहइन्चार्ज राजेन्द्र न्यौपाने, माओवादी केन्द्रका नेताहरू नारायण नेपाल, भोजराज पनेरू, लिला न्यौपाने, किसान नेता श्यामराज कँडेल लगायतको उपस्थिति रहेको थियो । 

फिकुरी लेकको सम्भाव्यता अध्ययन

अध्ययन भ्रमणमा सहभागि दल

विदुर । रसुवा जिल्लाको उत्तरगया गाउँपालिकाले फिकुरी लेकलाई पर्यटकीय क्षेत्र बनाउन सम्भाव्यत अध्ययन थालेको छ । पालिकाले सम्भाव्यता अध्ययन गर्न उक्त क्षेत्रमा तीन दिने पदयात्रा सम्पन्न गरेको छ । फिकुरी लेकलाई पर्यटकीय क्षेत्र बनाउन सम्भाव्यता अध्ययनका लागि पदयात्रा गरिएको उत्तरगया गाउँपालिकाका अध्यक्ष माधवप्रसाद अर्यालले बताएका छन् ।

‘सम्भाव्यत अध्ययनका लागि गरिएको पदयात्राको प्रारम्भिक अध्ययनबाट फिकुरी नेपालको पहाडी पर्यटनमा एउटा महत्वपूर्ण ट्रेल हुने छ,’ उनले भने, ‘फिकुरी ट्रेलले विशेष पर्यटकीय सम्भावना बोकेकोले पूर्वाधार विकासमा ध्यान दिनु पर्छ ।’

काठमाडौं उपत्यकाबाट नजिकै रहेको फिकुरी डाँडा करिब ३८०० मिटरको उचाइमा रहेको छ । फिकुरीबाट रसुवा, नुवाकोटको विभिन्न चुभागका साथै लाङटाङ, गोसाइँकुण्ड, नार्गाजुन, ककनी, गणेश, दोर्जे लाक्पा हिमाल तिब्बती हिमश्रृंखला देखिनुका साथै प्रकृतिको भरपुर फाइदा उठाउन सकिन्छ । डाँडागाउँबाट सुरु भएको पदयात्रा बास्थला, फिकुरी, गोङ्गा भञ्जायाङ हुँदै डाँडागाँउ नै आएर सम्पन्न भएको थियो । पदयात्रामा गाउँपालिकाका पदाधिकारी, पालिकाका कर्मचारी, पर्यटन व्यवसायी होटल व्यवसायी, पत्रकार र स्थानीय गरी ४५ जनाको टोलीले रहेको थियो ।

गएको बिहीबारबाट सुरु भएको तीन दिने पदयात्रा शनिबार सम्पन्न भएको हो । हरिबोधिनी अर्थात् ठूलो एकादशीमा फिकुरी महादेव मन्दिरमा विशेष मेलासमेत लागेको लाग्ने गर्दछ । फिकुरिलेक उत्तरगया गाउँपालिका भित्र पर्दछ । स्थानीयको आर्थिक उपार्जनसँग जोडेर फिकुरीलाई पर्यटन क्षेत्रको रुपमा विकास गर्न गाउँपालकिा लागि परेको पालिका उपाध्यक्ष चमेली गुरुङले बताइन् । ‘पालिकाले निर्माण गर्न लागेको २० वर्षे गुरुयोजनाको पूर्वसन्ध्यामा आयोजित पदयात्राले पर्यटकीय क्षेत्रको विकास गर्न थप मद्दत पुगेको छ,’ उनले भनिन् ।

राजधानीबाट सबैभन्दा नजिक रहेको यो ट्रेल छोटो र लामो दुवै खालको ट्रेकिङका लागि पनि उपयुक्त ट्रेक भएको पर्यटन व्यवसायी शिव लामिछानेले बताए । ’फिकुरी हुँदै रुबीभ्याली, गणेश हिमाल, तामाङ हेरिटेज, लाङटाङ र गोसाइँकुण्डको पदयात्रामा जोडिन सकिन्छ,’ उनले भने । फिकुरी डाँडालाई नयाँ पहाडी गन्तव्यको रुपमा विकास गर्न सम्भाव्यता अध्ययनको आयोजना गरेको प्रमुख प्रशासकीय अधिकृत दीपक अधिकारीले बताए ।

नुवाकोटका एमसीसी प्रभावितलाई विशेष सेयर दिनुपर्छ : सांसद सुवेदी

सांसद बिमला सुवेदी ।

काठमाडौं । संघिय सांसद विमला सुवेदीले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अन्तर्गत नुवाकोट जिल्लाका प्रभावितलाई बिशेष रुपमा हेर्नको लागी माग गरेका छन् । 

प्रतिनिधिसभाको गएको आइतबारको शून्य समयमा बोल्नुहुँदै सांसद सुवेदीले नुवाकोटको बेलकोटगढी नगरपालिकाको वडा नम्बर ७ रातमाटेमा बन्ने सवस्टेशन प्रभावित जनतालाई विशेष सेयर दिन माग गरेका हुन् । उनले रातमाटे सवस्टेशनबाट हटौंडा र दमौलीतर्फ लगिने प्रसारन लाइन प्रभावित जनतालाई विशेष सेयर दिन माग गरेका हुन् । 

उनले त्यस क्षेत्रका ‘कोल्पुटार–बाघखोर–म्याङ्ली पोखरी–पातले सडक पूर्वाधारलगायत नुवाकोटका सडकहरू कालोपत्र गर्न समेत माग गरेका छन् । परियोजनाअन्तर्गत ५ वर्षभित्र करिब ३१५ किमि प्रसारण लाइन र ७७ किमि सडक मर्मत सम्भार गर्ने योजना रहेकोमा नुवाकोट जिल्ला बेलकोटगढी नगरपालिका वडा नम्बर ७ रातमाटेमा सवस्टेशन रहने र त्यहाँबाट हेटौंडा र दमौलीतर्फ एक एक प्रसारणलाइन लगिने योजना रहेकोले त्यस बापत स्थानियहरूलाई प्रतिफल दिनुपर्ने बताएका छन् । यस्तै, प्रशारण लाईनका कारण अब्यबस्थित बन्ने स्थानीय तहमानै पुर्बाधार बिकासको बजेट समेत खर्चिनुपर्ने माग गरेका छन् । सदनमा सम्बोधन गर्दै उनले नुवाकोटको आकाश माकुरोको जालोजसरी बिजुली तारले ढाकिने भएकोले त्यहाँका प्रभावित जनतालाई विशेष सेयरको व्यवस्था गर्न सांसद विमला सुवेदीले आग्रह गरेका छन् । 

सडक पूर्वाधारतर्फ कोल्पुटार–बाघखोर–म्याङ्लीपोखरी–पातले सडकलगायत नुवाकोटका सडकहरू कालोपत्र गर्न सभामुखमार्फत सरकार र सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराएका छन् । 

नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिकामा रातमाटे सब–स्टेसन, तनहुँ जिल्लामा नयाँ दमौली सब–स्टेसन र नवलपरासी पश्चिम जिल्लाको भुमहीमा नयाँ बुटवल सब–स्टेसन निर्माण गरिनेछ,’’ एमसीए नेपाल विकास समितिको वेबसाइटमा उल्लेख गरिएको छ । आयोजना अन्तर्गत प्रसारण लाइन काठमाडौंको लप्सीफेदी अनि मकवानपुर जिल्लाको नयाँ हेटौँडास्थित विद्यमान सब–स्टेसनहरूमा जोडिनेछ ।

रेडपाण्डा ट्रफी नौकुण्डलाई

ट्रफी प्रदान गरिदै । 

रसुवा । २८ औं वन्यजन्तु सप्ताहको अवसरमा सदरमुकाम धुन्चेमा आयोजना गरिएको ११ औं रेडपान्डा ट्रफी हात पार्न नौकुण्ड सफल भएको छ । २८ औं वन्यजन्तु सप्ताहको अवसरमा जिल्लामा विभिन्न कार्यक्रमको आयोजना गरिएको थियो । सोही अवसरमा सरसफाइ, चरा अवलोकन तथा रेडपान्डा ट्रफी भलिबल प्रतियोगिता गरिएको थियो । 

बिहीबार सम्पन्न भएको फाइनल खेलमा नौकुण्डले अकियासलाई सोझो तीन सेटमा पराजित गर्दै ११ औं रेडपन्डा ट्रफी हात पार्न सफल भएको हो । विजेता टिमलाई नगद १ लाख ११ हजार १ सय ११ सहित ट्रफी, प्रमाणपत्र र मेडल प्रदान गरिएको थियो ।

उपविजेता टिमले ७७ हजार ७ सय ७७ रुपैयाँ, प्रमाणपत्र र मेडल प्राप्त गरेका छन् । त्यस्तै दुई टिमलाई नगद २२ हजार २ सय २२ सहित प्रमाणपत्र र मेडल प्रदान गरिएको छ । प्रतियोगितामा जिल्लाका १० वटा टिमले सहभागिता जनाएका थिए ।

पोष्टबहादुर बोगटीको स्मृतिमा भलिबल

काठमाडौँ । विभागीय प्रतिद्वन्द्वी नेपाल पुलिसलाई हराउँदै अर्को विभागीय टोली एपीएफले प्रथम पोष्टबहादुर बोगटी स्मृति कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा गएको हप्ता सम्पन्न भएको फाइनल खेलमा एपीएफले पुलिसमाथि ३–१ सेटमा जित निकालेर च्याम्पियन बनेको हो । 

विभागीय तीन र दुई प्रदेशले सहभागिता जनाएको प्रतियोगिताको विजेता एपीएफले विजेताले ४ लाख रुपैयाँ तथा  उपविजेता पुलिसले २ लाख रुपैयाँ हात पारेको छ । लिग चरणको खेलमा पराजित भएको एपीएफले पुलिसविरुद्ध उत्कृष्ट प्रदर्शन गर्न सफल भयो । पहिलो सेटमा २५–२० ले जितेको एपीएफले दोस्रो सेट भने १७–२५ ले गुमाउन पुगेको थियो । १–१ को सेटपछि प्रतिस्पर्धात्मक बनेको तेस्रो सेटको खेलमा एपीएफले पहिलो सेटमा देखाएको प्रदर्शनलाई निरन्तरता दियो । तेस्रो सेटको सुरुवातमा पुलिसले खाता खोल्दै अगाडि बढे पनि २५–१६ को सहज जित निकाल्दै एपीएफ २–१ को सेटमा अगाडि रह्यो । चौथो सेटमा पनि एपीएफले उत्कृष्ट प्रदर्शनलाई निरन्तरता दिँदा २५–२२ ले खेल पक्षमा पार्दै च्याम्पियन बन्यो ।

प्रतियोगिता अन्तर्गत शनिवार नै तेस्रो स्थानका लागि भएको खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबले गण्डकी प्रदेशलाई गण्डकी प्रदेशलाई ३–० को सेटमा हराएर तेस्रो स्थान हासिल ग¥यो । आर्मीले गण्डकीमाथि २५–१८, २५–११ र २९–२७ ले हराएको हो । तेस्रो भएसँगै आर्मीले १ लाख र चौथो भएको गण्डकीले ५० हजार प्राप्त ग¥यो । पाँच टोलीले सहभागिता जनाएको प्रतियोगितामा एपीएफका टेकराज अवस्थी सर्वोत्कृष्ट खेलाडी चुनिँदै नगद १५ हजार रुपैयाँ हात पारे । यस्तै उत्कृष्ट स्पाईकर आर्मीका धनबहादुर भट्ट घोषित हुँदा उत्कृष्ट लिबेरोको उपाधि एपिएफका विनोद चन्दले पाए । 

यस्तै उत्कृष्ट सेटर एपिएफका लोकेन्द्र गिरी बन्दा, उत्कृष्ट ब्लकर एपिएफका सुनिल घर्ती मगर, उत्कृष्ट सरभर पुलिसका कप्तान इम राना मगर तथा उत्कृष्ट प्रशिक्षक एपिएफका महेश चौधरी चुनिए । उत्कृष्ट सबैले नगद १० हजार रुपैयाँ हात पारे । विजयी खेलाडीलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ र पोस्टबहादुर स्मृति फाउन्डेसनका पदाधिकारीले पुरस्कृत गरे । 

लाङटाङ पदयात्रामा मेरा खुट्टा रोकिए

लाङ्टाङ गाउँ

शाश्वत पन्त

क्यान्जिन रीको पहिलो पिक पुगेर अगाडि हेर्दा त्यति नै अग्लो अर्को चुचुरो देखियो । त्यो देखेर मन हल्का आत्तियो किनकी यो चुचुरो पुग्न करिब ९० मिनेट लागेको थियो । अर्को चुचुरो टेक्न झन् कति समय लाग्दो हो ! “यो क्यानजिन री २ हो र त्योभन्दा माथि यो पहाडको शिखर हो,” हाम्रो गाइड सोनमले भन्यो “तपाईंहरू त्यहाँ जाने कि नजाने ?”क्यन्जिन रीको साँघुरो भीरमा हिँड्ने योजना २०१७ देखि नै थियो । 

छ वर्ष पहिले म त्यो भिरालो बाटो नियालेर हेरेको थिएँ । म त्यहाँ जान चाहान्थें तर त्यो भिरालो बाटो तिर अगाडि बढ्न खोज्दा मेरा खुट्टा रोकिए । अघिका ती दिनहरूमा म उत्साहित थिएँ । मानिसहरूले मलाई र स्वरूपलाई डाँडाको भागको बारेमा भनेर धेरै अत्याउन खोजेका थिए । 

“मानिसहरू तल हेर्छन् र खुट्टा रोकिन्छन्,” एक जनाले भने । “मैले त्यस भागमा धेरै जना रोएको देखेको छु,” अर्कोले भन्यो । सायद यी सबै कुराले मेरो दिमागमा बेस्सरी प्रहार गर्यो किनभने जब म त्यो भिर नजिक पुगे मैले आफूलाई  प्रश्न गर्न थालेँ ।त्यो राम्रो संकेत थिएन । किनभने वर्षौंदेखि मैले पहाडहरूमा आफूलाई शंका गर्ने मानिसहरूलाई के हुन्छ देखेको छु । त्यसैले म फर्किएँ ।

लाङ्टाङ गाउँ फर्किँदा स्वरूपले सोधे, “हामीले सही निर्णय ग¥यौँ जस्तो लाग्छ ?”

व्यक्तिगत रूपमा  मलाई लाग्छ कि हामीले ठिक गर्यौं । हामी लाङटाङ पदयात्रामा हिमालको नजिक पुगेका थियौं । ४,२०० मिटरभन्दा माथि पुगेका थियौं। जता हे¥यौं  पहाड नै पहाड थियो हिमाल नै हिमाल थियो । लाङ्टाङ सामुन्ने थियो । दोर्जे लाक्पा, नयाँ काङ्ग्री, लोएन्पो ग्याङ, चाङ्बु, गाङ्चेन्पो, मोरिमोटो र गञ्जला झन् राम्रा थिएँ । त्यहाँ मेरा आँखा केन्द्रित थिए । क्यानजिन रीको चुचुरोमा नजाने निर्णयले हामीलाई भविष्यमा पछुतो हुन सक्छ तर मलाई खासै फरक पर्ने छैन किनभने केही सय मिटर बढी जाँदा दृश्यमा मेरा लागि उल्लेखनीय परिवर्तन हुने पनि त थिएन !

लाङटाङ  गाउँ पुगेर हातमा चिसो बियर लिएर सोच्दा मलाई कुनै पछुतो थिएन । किनभने मेरो लागि यो यात्रा कहिल्यै नबिर्सिने जस्तो भयो । क्यानजिन गुम्बा र त्यहाँका दृष्य मेरा आँखामा सधैंका लागि कैद भएका छन् । लाङटाङ पदमार्ग मेरो लागि एउटा यस्तो पदमार्ग हो जहाँ म फेरिफेरि जानेछु । किनभने यो नेपालको सबैभन्दा सजिलो पदयात्रा हो ।

लाङटाङ पदयात्रा रसुवाको स्याफ्रुबेसीबाट सुरु हुन्छ र तपाईंलाई क्यानजिन गुम्बासम्म लैजान्छ । त्यहाँबाट तपाईं क्यानगिन री (४,७०० मिटर) वा सेर्गो री (५, १०० मिटर) जस्ता चुचुराहरूमा पुग्न सक्नुहुन्छ । यति मात्र होइन, तपाईं विभिन्न भू–भाग हुँदै हिँडेर नेपाल मात्र नभएर विश्वकै सबैभन्दा सुन्दर उपत्यकामा रहेको क्याङ्गिन पुग्न सक्नुहुन्छ । लाङटाङ ट्रेल लाङटाङ खोलाको छेउबाट सुरु हुन्छ र जंगल, झोलुङ्गे पुल र बहुरंगी गुराँसका वनहरू पार गर्दै लाङटाङ राष्ट्रिय निकुञ्जमा पुग्छ । यो ट्रेल सम्भवतः नेपालमा सबैभन्दा सजिलो हो किनभने सम्पूर्ण पदयात्रामा केवल दुईवटा ठाडा उकाला छन् जसले तपाईंलाई जङ्गलबाट पहाडको फेदसम्मै लैजान्छ ।

लाङटाङ ट्रेकिङ ट्रेलमा रहेका लजहरू त्यति राम्रोसँग सुसज्जित छैनन् । तिनीहरू सामान्य र आधारभूत छन् । स्याफ्रुबेसी पछि, थाङ्सेप नपुगेसम्म तपाईंले बिजुली पाउनुहुन्न,  त्यसैले तपाईंले पावर बैंक वा सोलार चार्जरहरू प्याक गर्न‘होस् । नेपाली भएकाले कोठाको पैसा लाग्दैन होला भनेर नसोच्नुहोस् र करिब २ सयदेखि ५ सय रूपैयाँसम्म तिर्न तयार हुनुहोस् ।

लाङटाङ राष्ट्रिय निकुञ्ज देशकै पहिलो हिमाली राष्ट्रिय निकुञ्ज हो । लाङटाङ पदयात्राको क्रममा राष्ट्रिय निकुञ्जमा रहेका वनस्पति र जीवजन्तुहरूले तपाईंलाई अचम्ममा पार्ने निश्चित छ । एक रुखबाट अर्को रुखमा उड्ने लङ्गुरहरूदेखि पहाड छाड्ने घोरल र यताउता गर्ने  डाँफेहरू देख्न पाइन्छ  यहाँ । यदि भाग्यशाली छ भने, तपाईंले लोपोन्मुख हिउँ चितुवा र रातो पाण्डाहरू पनि देख्न सक्नुहुन्छ ।

मानिसहरू र खाना

हिमाली भेगका अधिकांश भागहरू जस्तै, लाङ्टाङ पदयात्राको क्रममा तपाईंले भेट्ने मानिसहरू अविश्वसनीय रूपमा न्यानो र अतिथि सत्कार गर्ने छन् । सुरूमा तपाईंले गाउँको जीवन देख्नुहुन्न किनकि त्यहाँ धेरैजसो गाउँहरू पदयात्राको अन्त्यमा मात्र, तर तपाईंले ट्रेलमा भेट्नु हुने मानिसहरूले तपाईंलाई ट्रेकको बारेमा सबै बताउँछन् । यस क्षेत्रका मानिसहरू धेरैजसो तामाङहरू हुन् जो शताब्दियौं अघि तिब्बतबाट बसाइँ सरेका थिए, तर यस क्षेत्रमा थोरै शेर्पाहरू पनि छन् ।

लाङटाङ पदयात्रामा पाइने खाना एकदमै मिठो छ । तपाईंले दाल भातदेखि टुना पिज्जासम्म विभिन्न परिकारहरू पाउनु हुन्छ । तथापि, सबैभन्दा राम्रो कुरा याकको चीज हो । भुटेको आलु, पास्ता वा स्पेगेटीसँग याक चीज खानुहोस् मजा लिनुहोस् । यो ठाउँको लोकप्रिय खान्की सिबकथर्न जुस पनि हो ।

उकालो चढ्दै जाँदा लाङटाङ पदयात्राको बाटो र भूगोल परिवर्तन हुँदै जान्छ । जति माथि गयो, नेपाल स्विट्जरल्यान्ड भन्दा पनि सुन्दर लाग्छ । तीन हजार मिटरभन्दा माथि जान थालेपछि रुखहरू हराउँछन् र हिमालहरू देखिन थाल्छन् । यो साँच्चै एक यस्तो ट्रेक हो जसले तपाईंलाई जीवनभरका लागि सम्झनाहरू दिन्छ । 

तीन दिनमै हिमालको यति नजिक कुनै अरू पदमार्ग लग्दैन । मेरो लागि लाङटाङ पदयात्राको मुख्य आकर्षण क्यानजिन गुम्बा हो। एक उपत्यकामा स्थापित ठाउँ, क्यानजिन गुम्बा र क्यानजिन री मैले कहिल्यै बिर्सिने छैन । क्यानजिन री चढ्न सजिलो छैन । यो ठाडो छ र समय लाग्छ । चढ्दै जाँदा पहाड र हिमालका उत्कृष्ट दृश्यहरू देखिन्छ । क्यानजिन रीको पहिलो चुचुरोले वरपरका लाङटाङ लिरुङ, दोर्जे लाक्पा र लाङ्शिशा री लगायतका हिमालहरूको मनमोहक दृश्य देखाएको थियो। शिखरबाट मनोरम दृश्यहरू साँच्चै शानदार छन् ।

तर त्यहाँको हावा छुट्टै छ । ४ हजार मिटर माथि गएपछि हावा पातलो हुन्छ । क्यानजिन री चढ्दै जाँदा तपाईंले त्यो महसुस गर्नु हुन्छ । धेरै जना यही पहिलो चुचुरोबाटै फर्किन्छन् । हामी पनि फर्कियौं तर कोही अझै माथि जान्छन् । तर दृष्यमा खासै फरक पर्दैन ।

लाङटाङ गाउँ

हाम्रो लागि लाङटाङ पदयात्रा लाङटाङ गाउँमा समाप्त भयो। २०७२ को भूकम्प पछि यो गाउँ धेरै फेरिएको छ । म गाउँ तिर लाग्दा हाम्रो गाइड सोनमले हामी भग्नावशेषलाई औंल्याउँदै त्यहाँ धेरै घर गाडिसकेको बताए । यो गाउँ परम्परागत घर, जीवन्त संस्कृति र आश्चर्यजनक प्राकृतिक सौन्दर्यको लागि परिचित थियो,  तर अहिले धेरै कुराहरू फरक छन् । तर गाउँमा अझै पुरानो भाव बाँकी नै छ । लाङटाङ पदयात्रा सजिलो छ । मैले विगत केही वर्षदेखि यसको बारेमा धेरै सुनेको थिएँ, यहाँ गएपछि मात्र यो किन चर्चित छ भन्ने कुरा थाहा पाएँ । अन्नपूर्ण सर्किटका केही भागहरू उत्कृष्ट थिए,  तर लाङटाङ एउटा पदयात्रा हो जुन मैले वर्षौंसम्म सम्झिरहनेछु किनभने म फेरि त्सेर्गो री चढ्न र सायद क्यान्जिन रीको चुचुरो चढ्न पनि जानेछु ।

रसुवा समाजवादीमा नयाँ नेतृत्व

एकीकृत समाजवादी रसुवा

विदुर । नेकपा एकीकृत समाजवादीले रसुवाको पदाधिकारी चयन गरेको छ । जिल्ला अध्यक्षसहित केही नेता नेकपा एमाले प्रवेश गरेपछि अध्यक्षमात्र घोषणा गरेको समाजवादीले बुधबार पदाधिकारी चयन गरेको हो । अध्यक्षमा शिव लामिछाने रहेका छन् भने उपध्यक्षमा दावा तमाङ र रामप्रसाद न्यौपने चयन भएका छन् । त्यस्तै सचिवमा सुजय लामा र उपसचिवमा नमिनाथ देवकोटा चयन भएका छन् ।

आउन थाले चिनियाँ पर्यटक

रसुवागढी नाकामा नेपाली र चिनियाँ अधिकारीहरु । 

रसुवा । कोरोना भाइरसको महामारीपछि बन्द भएको नाका पूर्ण रुपमा सञ्चालनमा आएसँगै चीनबाट स्थलमार्ग हुँदै पर्यटकहरू नेपाल भित्रन थालेका छन् ।

अध्यागमन विभागका अनुसार रसुवागढी नाकाबाट पर्यटक भित्रन थालेका छन् । विभागको तथ्यांक अनुसारगएको  सोमबार रसुवागढी नाका हुँदै १७ जना चिनियाँ नागरिक नेपाल आएका छन् । जसमा ३ जना महिला छन् । यो नाकाबाट २४ जना चिनियाँ बाहिरिएका छन् । जसमा ७ जना महिला छन् । नेपालमा यस दिन कुल ६ हजार २०८ जना विभिन्न नाका हुँदै नेपाल भित्रिएका छन् । जसमा भारतीय स्थल नाकाबाट भित्रने भारतीय र नेपाली नागरिकको भने गणना हुँदैन । चीनतर्फका अन्य नाकाबाट भने यात्रु अझै भित्रिएका छैनन् ।

गएको सोमबार त्रिभुवन विमानस्थलबाट कुल ५ हजार ९८० जना नागरिक नेपाल भित्रिएकोमा २ हजार ८५७ जना पर्यटक हुन् । काकडभिट्टा नाकाबाट ३८ जना भित्रिएकोमा ६ जना विदेशी हुन् । वीरगञ्जबाट ६ जना तेस्रो मुलुकका पर्यटक नेपाल भित्रिए । बेलहियाबाट ५७ जना विदेशी नागरिक नेपाल आएका छन् । यस दिन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट आएका कुल १०३ जना मध्ये सबै नेपाली नागरिकहरू रहेका थिए ।

मेयरले संविधान मिचे : तामाङ

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद हितबहादुर तामाङले काठमाडौंका मेयर बालेन शाहले संविधान मिचेको र कर्तव्य तथा जिम्मेवारीबाट भाग्ने काम गरेको आरोप लगाएका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले मेयर बालेनले बागमती नदी किनारको बस्ती हटाउन खोज्नु संविधान विपरीत र सिंहदरबारको फोहोर नउठाउनु कर्तव्य र जिम्मेवारी विपरीत भएको बताएका हुन् ।

‘काठमाडौंका मेयर साहेब अलि धेरै नै चर्चामा आउने गर्न‘भएको छ । चर्चा यस कारणले कि उहाँले पटक पटक हरेक सवालमा संविधान मिच्ने, आफ्नो कर्तव्य र जिम्मेवारी बोध नगर्ने र गैरउत्तरदायी ढंगले प्रस्तुत हुने तरिकाले यो अवस्था सिर्जना भइरहेको छ’ उनले भने । सांसद तामाङले ११ चैतमा काठमाडौं महानगरपालिकाले सुकुम्बासी बस्ती खाली गर्न भनी जारी गरेको सूचना संविधान विपरीत भएको पनि बताए । ‘२१ चैतमा काठमाडौैं महानगरपालिकाले एउटा सूचना जारी गरेको थियो । काठमाडौं उपत्यकाका नदी किनारमा रहेका अनधिकृत बसोबासलाई ७ दिनभित्र हटाउन अनुरोध गरिएको थियो, निर्देशन दिइएको थियो, यदि नहटाएमा त्यसलाई क्षतिपूर्ति सम्बन्धित व्यक्तिले तिर्ने गरी महानगरपालिकाले हटाउँछ । यो संविधान विपरीत कुरा हो’ उनले भने ।

नेपालको संविधानको अनुसूची ९ मा सुकुम्बासीसँग सम्बन्धित समस्या संघ प्रदेश र स्थानीय तहले समन्वयात्मक ढंगले समाधान गर्ने गरी साझा सूचीमा राखेको पनि तामाङले बताएका छन् । 

उनले सिंहदरबारभित्रको फोहोर नउठाउने र उठाउने कम्पनीको इजाजत खारेज गर्ने धम्की दिनु मेयर बालेनको कर्तव्य र जिम्मेवारी विपरीत भएको पनि बताए । काठमाडौं महानगरपालिकाले नुवाकोटको ओखरपौवा र बञ्चरेडाँडामा फोहोर फालेर त्यस क्षेत्रको जनताको स्वच्छ वातावरणमा बस्न पाउने हक हनन गरेको पनि सांसद तामाङले बताए ।

‘यो काठमाडौं महानगरपालिकाले बारम्बार संविधान मिच्ने र संविधानमा व्यवस्था भएको जनताको अधिकारलाई कुण्ठित तुल्याउने काम किमार्थ गर्न पाइन्न र त्यहाँका जनतालाई फोहोरसँग अलग राख्नको निमित्त वैज्ञानिक ण्ंगले जग्गाको रेखांकन गरेर त्यहाँका प्रभावित किसानहरूलाई जग्गाको अधिग्रहण गरी उनीहरूलाई मुआब्जा दिने व्यवस्था गरियोस्’ उनले भने । 

नुवाकोटबाट निर्वाचित सांसद तामाङले संसदले सर्वदलीय समिति बनाएर ओखरपौवा र बञ्चरेडाँडाको यथार्थ स्थितिको अध्ययन गरेर सरकारलाई सुझावसहितको प्रतिवेदन दिनुपर्ने माग गरेका छन् । ‘सभामुखमार्फत सरकारलाई र काठमाडौँ महानगरपालिकालाई त्यही किसिमको निर्देशन दिनको निमित्त म हार्दिक अनुरोध गर्न चाहन्छु’ तामाङले भने ।

म्युरजा डाँडा तथा छ्युर्तेन उद्घाटन

धनेश्वरी म्युरजा डाँडा तथा छ्युर्तेन उद्घाटन गर्दै हिरानाथ खतिवडा 

देउराली । नुवाकोटको म्यागङ गाउँपालिका वडा नं. ६ स्थित धनेश्वरी म्युरजा डाँडा तथा छ्युर्तेन उद्घाटन भएको छ । 

नेकपा माओवादी केन्द्र नुवाकोटका सहइञ्चार्ज तथा पुर्व प्रदेश सांसद हिरानाथ खतिवडाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा वाङ अभिषेकसहित विभिन्न पुजा तथा दुमाङ पाठ गरिएको हो ।  गएको बुधबार र बिहीबार दुई दिन भएको पुजापाठ वाङ तथा आशिर्वाद ग्रहणमा नेपाल अहिंसावादी विश्व शान्ति चक्र संघका केन्द्रीय महासचिव प्रेम दोर्जे बल लामाको उपस्थिति रहेको थियो । संस्कृति तथा पर्यटन मन्त्रालय बागमती प्रदेश सरकारको पर्यटन विकासबाट विनियोजित १० लाख रूपैयाँमा छ्युर्तेन निर्माण भएको हो । 

‘आइफोन’मा समाजले चुकाउँदै गरेको मूल्य

– मिलन पाण्डे

मानिसलाई खुसी केले दिन्छ ? यो बहस चलि नै रहनेछ । कालखण्डअनुसार उत्तर पनि फरक आउन सक्छ । सम्भवतः संसारकै सबैभन्दा लामो अनुसन्धानमार्फत यसको उत्तर खोज्ने प्रयास गरिएको छ ।हार्वर्डका अनुसन्धानकर्ताले ८५ वर्षदेखि (सन् १९३८ देखि सुरु गरेको) ७२४ मानिसमा गरेको अनुसन्धानले मानिसलाई खुसी केले दिन्छ भनेर खोजेको थियो । उनीहरूको काम, जीवनशैली, स्वास्थ्य, सम्बन्धलगायत विषयमा अध्ययन गरिएको थियो । अध्ययनले निकालेको एउटा महत्वपूर्ण निष्कर्ष हो, खुसी र स्वास्थ्य परिवार, साथीहरू तथा आफ्नो समुदायसँगको सम्बन्धमा निर्भर रहन्छ । जीवनमा खुसीको नाम, सम्पत्ति, सामाजिक स्तर, बौद्धिकतासँग सम्बन्ध छैन । 

अनुसन्धानका चौथा निर्देशक हार्वर्ड मेडिकल स्कुलका प्राध्यापक रोबर्ट वाल्डिंगरले गरेको अध्ययनअनुसार नराम्रो सम्बन्ध हुनेहरूमा रोग लाग्दा पनि बढी पीडा हुने देखियोर । एक्ला मानिसको आयु छोटो हुने देखियो ।  अध्ययन अनुसार ५० वर्षको उमेरसम्म राम्रो सम्बन्ध हुनेहरू ८० वर्षसम्म स्वस्थ रहने गरेको पाइयो । 

सोच्नुपर्ने तीन घटना 

पहिलो, विभिन्न जिल्लाको भ्रमणका दौरान युवा, विद्यार्थी र शिक्षकहरूसँगको संवादमार्फत म अहिलेका विद्यार्थीको अवस्था र मनोविज्ञान बुझ्ने प्रयास गर्छु । केही समययता, अझ कोभिडपछि विद्यार्थी पढाइबाट विमुख हुँदै गएका छन् । तथ्यांक नै त छैन, तर विद्यार्थीमा ‘डिप्रेसन’ बढ्दो छ ।

विद्यालय नआउने संख्या पनि बढ्दो छ । यस्तै विद्यालय नआउने एक विद्यार्थीसँग अन्तक्रिया गर्दा लामो संवाद र केही आत्मीयता पछि उनले खुलेर आफ्ना कुरा राखिन् । स्कुल नजानुको कारणबारे उनले भनिन्, ‘बुबा साउदीबाट नफर्केको १३ वर्ष भयो । उतै अर्को घरजम गरेको सुनिन्छ । यता आमाको पनि अर्कै मान्छेसँग सम्बन्ध छ । अहिले त ती व्यक्ति हाम्रै घर आएर हामीसँगै बस्न थालेका छन् । बिहान उठेर कलेज जान खोज्छु, तर मनै लाग्दैन, दाइ !’ मैले सुनिरहेँ, बोल्न सकिनँ ।

दोस्रो घटना, काठमाडौँकै हो । अघिल्लो साता एकजना साथीका बुबाको देहान्त भएकाले पशुपति पुगेँ । साथीलाई भेटेर समवेदना व्यक्त गर्दै कति भाइ छोराछोरी भनेर सोधेँ । साथीको उत्तर आयो— भाइ अमेरिका र बहिनी अस्ट्रेलियामा छन् । मैले भाइ आउँदै हो भनेर सोधेँ । उनले भाइलाई खबर गरेको, भाइ आउने भए अन्तिम संस्कारका लागि कुर्ने बताए पनि भाइले उता अफिस मिलाउन गाह्रो हुने भएकाले आफूलाई नकुर्नु भनेको तर १३ दिनभित्रै आउने योजना रहेको बताएर । मैले १३ दिनपछि भेट्दा फेरि सोधेँ, भाइ आउनुभयो त ? उत्तर आयो, ‘उसको मिलेन ।’

तेस्रो घटना, अघिल्लो साता आफन्तको व्रतबन्धमा पुग्दा भान्जाको कपाल काट्ने मामा नभएर गाउँकै दाइले कपाल काट्दै हुनुहुँदो रहेछ । देशबाहिर रहेका आफन्तलाई भिडियो च्याटमार्फत यो दृश्य देखाउँदै गरेको देखेँ । आफन्तले नजिक आएर भन्नुभयो, ‘धन्न मामाले लाइभ भए नि हेर्न भ्याए !’

आइफोनको मूल्य

यी त प्रतिनिधि घटना मात्र हुन् । गत डेढ–दुई वर्षमा नेपालका विभिन्न जिल्ला घुमेर धेरै कथाव्यथा बुझ्दा धेरै निराशा र केही आशा पाएको छु । तर, मैले यसबीच तीनवटा कुरा अधिकांश रूपमा पाएँ । पहिलो, मानिसहरू पैसा र धनी हुने कुरा गरिरहेका छन् । सायद पैसा नै यो समाजले आजको दिनमा सबैभन्दा बढी प्रयोग गर्ने शब्द होला ।

दोस्रो– गाउँगाउँमा भट्टी पुगेको छ । बियर र रक्सी अत्यधिक खपत हुँदै छ । तेस्रो– गाउँगाउँमा पनि सामान्य मान्छेको हातमा आइफोन देखिन्छ । म यहाँ तेस्रो विषयलाई बिम्बका रूपमा लिन चाहन्छु । अधिकांश ठाउँ मधेस र सुदूरपश्चिमका भित्री गाउँमा समेत  सामान्य नागरिकको हातमा आइफोन देखेँ ।

आइफोनको स्रोत खोज्दा कि मानिस विदेशबाट फर्किंदा ल्याइरहेको, कि विदेशमा रहेका आफन्तले पठाएको अवस्था देखिन्छ । अधिकांश आइफोनको मुख्य स्रोत रेमिटेन्स रहेको पाइन्छ । प्रत्येकचोटि जब आमनागरिकको हातमा आइफोन देख्छु, तब परिवारले चुकाउनुपरेको मूल्य सम्झन्छु । एउटा अमेरिकी या अन्य कुनै विदेशी नागरिकले बोक्नेभन्दा हामीले नेपालमा बोक्ने आइफोन धेरै महँगो छ । किनकि, हामीले आइफोन पैसा मात्र तिरेर होइन, हाम्रा सम्बन्ध र हाम्रा खुसीहरूसमेत तिरेर बोकिरहेका छौँ । आइफोनलाई आँसुसँग साट्दै छौँ ।

मर्दा छोरा–छोरी छैनन् । बिहेकै भोलिपल्ट श्रीमान् या श्रीमती छैन । छोरा–छोरीका बुबा–आमा साथमा छैनन् । व्रतबन्धमा मामा छैन । बिहेमा जुत्ता लुकाउने साली छैन भने हामी कस्तो जीवन बाँच्दै छौँ ? कस्तो समाज निर्माण गर्दै छौँ ? हामी कसका लागि समाज निर्माण गर्दै छौँ ? बिहेमा नाच्ने जन्ती छैन, मृत्युमा जाने मलामी छैन भने हामीले सोच्ने वेला आएको छ । बा मर्दा आमालाई अँगालो हाल्ने छोरा–छोरी छैनन् भने हामीले यहीँ अडिएर प्रश्न गर्ने वेला आएको छ ।

जीवनको अस्तित्व र मज्जा सम्बन्धहरूमा छ । आज श्रीमान् वा श्रीमतीले पठाएको पैसाले बर्गर र पिज्जा त खान पाइएला, तर श्रीमान्–श्रीमती सँगै बस्न पाइन्न । आज अधिकांश सम्बन्ध खोक्रा हुँदै छन् । आज सहरी क्षेत्रमा सासू–बुहारीको ‘तँ–तँ र म–म’ अधिकांश घरमा देखिन्न । त्यो सम्बन्धको पनि त बेग्लै मज्जा छ, अर्थ छ ।

अब वर्षमा एक दिन बितेका आफ्ना आमाबुबालाई सम्झेर गरिने श्रद्धा अर्थात् श्राद्धसमेत हुन छाडेको छ । हामीले रेमिट्यान्सका निम्ति जुन मूल्य चुकाउँदै छौँ, यसले हाम्रो समाजलाई कंगाल बनाउँदै छ । भविष्यलाई अन्धकारमय बनाउँदै छ । हाम्रा खुसी र स्वास्थ्य लुटिँदै छन् । समाज उत्पादनशील र उद्यमशील नहुँदा रेमिट्यान्सले धानेको अर्थतन्त्र पनि खोक्रो बन्दै छ । 

चिनजानकै दाइ २० लाखमा जग्गा बेचेर विदेश जानुभयो । बाहिर करिब सात वर्ष बसेर पैसा कमाएपछि फेरि त्यही जग्गा ७० लाखमा किन्नुभयो । उहाँ धनी हुनुभयो वा सात वर्षको लगानी हेर्दा गरिब हुनुभयो ? यो प्रश्न राज्य हाँक्ने नेतृत्वले सोच्ने वेला आएको छ । आज खाडीबाट फर्किने अधिकांश नेपाली शारीरिक समस्या लिएर फर्किरहेका छन् अनि युरोप–अमेरिका गएका अधिकांश मानिस उतै बस्ने ‘पिआर’ लिएर हिँडेका छन् । यसलाई कसरी सम्बोधन गर्ने ? मेरा उमेरका युवा देशमा छैनन्, भएका विदेश जान चाहन्छन् । यो मुद्दा कसले, कहिले सम्बोधन गर्ने ? देश र समाजलाई रेमिट्यान्सले बिस्तारै पोल्दै छ ।

खुसीकेन्द्रित अर्थतन्त्र 

कोरियासहित केही देशको विकासबारे अध्ययन गर्ने हो भने उनीहरूले रेमिट्यान्समार्फत समृद्धि हासिल गरे । एउटा बिन्दुमा पुगेपछि देश फर्कने माहोल सिर्जना गरे र बाहिर सिकेका सीप र स्रोतलाई समृद्धिका निम्ति सदुपयोग गरे । हामी यहीँ चुक्दै छौँ । हामी विनायोजना अघि बढ्दै छौँ । रेमिट्यान्सले धानेको अर्थतन्त्रले समाज खोक्रो बनाउँदै छ । त्यसैले अबको अर्थतन्त्रको मोडेल तयार गर्दै गर्दा हामीले खुसीलाई केन्द्रमा राख्न जरुरी छ । 

त्यसका निम्ति सरकारले नेपालमा उत्पादन र उद्यमलाई फस्टाउने नीति ल्याउन जरुरी छ । बाहिर गएका नेपालीमा आशा जगाएर नेपाल फर्काउने वातावरण बनाउन जरुरी छ । नागरिकको खुसीलाई केन्द्रमा राखेर अर्थतन्त्रलाई चलायमान बनाउने नीति आवश्यक छ । मानिसको समाज, परिवार र साथीभाइसँगको सम्बन्धलाई केन्द्रमा राखेर, अर्थतन्त्रको मोडेल निर्माण गर्न जरुरी छ । 

नोबेल पुरस्कार विजेता अर्थशास्त्री एंगस डिटन र मनोवैज्ञानिक ड्यानियर कानम्यानले २०१० मा करिब पाँच लाख अमेरिकीमाझ गरेको अध्ययनले ७५ हजार डलरसम्म खुसीलाई आम्दानीले प्रभाव पार्ने देखियो । त्योभन्दा बढी आम्दानीको खुसीसँग सम्बन्ध रहेनछ । त्यसैले, अहिले जिडिपीलाई खुसीमार्फत मापन गर्न थालिएको छ ।

१९७० पछि भुटानले जिडिपीको ठाउँमा ग्रस नेसनल ह्यापिनेसलाई सफलताको मापन मानिरहेको छ । भारतको मध्यप्रदेश, दुबईलगायत देशले खुसी विभाग नै खडा गरेर काम गरिरहेका छन् । पैसाले एउटा बिन्दुसम्म खुसी दिन सक्छ, तर मानिस खुसी हुन वैवाहिक सम्बन्ध, स्वास्थ्य, मानसिक स्वास्थ्य, सन्तान, काम गर्ने वातावरणलगायतको भूमिका हुन्छ ।

निष्कर्ष

युवाले सबैभन्दा बढी नाम र दाम खोज्छन् । दुवै महत्वपूर्ण छन्, तर हाम्रा सम्बन्धहरूको बदलामा यस्तो खुसी खोजिनु हुँदैन । हामीले नयाँ पुस्तालाई यो बुझाउन सकिरहेका छैनौँर । हाम्रो शिक्षा र अर्थनीतिले यसलाई सम्बोधन गर्न सकिरहेको छैन । हाम्रो नेतृत्वले समाजलाई दिशा दिन सकिरहेको छैन । फेरि भन्छु, आमाबुबा मर्दा छोराछोरी आउन नसक्ने समृद्धि कसैलाई चाहिँदैन ।

बाहिर जानु, रेमिटेन्स पठाउनु गलत भनेको होइन । तर कहिलेसम्म ? सरकारले योजना त बनाउनुपर्ला नि ? दलहरूले आशा जगाउँदै दिशा त दिनुपर्ला नि ? हो त्यही दिशाको खोजीका निम्ति यी प्रश्न उठ्न जरुरी छ । आज १२ पढ्ने अधिकांश युवा नेपालमा बस्न चाहँदैनन् । 

भरतपुरका एकजना साथी भन्दै हुनुहुन्थ्यो, त्यहाँका स्थायी शिक्षक र प्रधानाध्यापक नै खाडी जाने प्रक्रियामा छन् । केही दिनअघि भक्तपुरको बागेश्वरी माविबाट बिदाइ हुँदै गरेका कक्षा १२ का विद्यार्थीले साथीको सर्टमा लेखेका थिए– ‘खाडीमा भेटौँला ।’

हामीले समृद्धिको जुन मूल्य चुकाउँदै छौँ, त्यो ज्यादै महँगो छ भन्ने मेरो तर्क हो । तर, केही आशाका कथाहरू पनि छन् । अघिल्लो साता मुस्ताङको मार्फामा म एउटा पसलमा स्याउको सुकुटी किन्न पुगेँ । संवादका क्रममा मैले सोधेँ, ‘पसल कस्तो चल्दै छ ?’ साहुनीले भनिन्, ‘राम्रो चल्दै छ, हामीलाई त भ्याइ–नभ्याइ छ दाइ !’ ‘बाहिर जाने योजना छैन ?’ भनेर सोध्दा उनले भनिन्, ‘नजाने दाइ, मैले बिएस्सी नर्सिङ गरेको हुँ । अस्ट्रेलियाको भिसा लागेको थियो, तर हीँ काम गरेको । बुढाबुढीलाई भ्याइ–नभ्याइ छ यहीँ ।’ मेरा निम्ति २०७९ सालको सबैभन्दा प्रेरणादायी घटना ।

राज्यमा रोजगारीको माहोल बनाउने, शिक्षा र स्वास्थ्यमा लगानी गर्ने र देशमै केही गर्छ‘ भन्नेका निम्ति राज्य छ है भन्ने सन्देश मात्र प्रवाह गर्ने हो भने पनि हामीले नयाँ दिशा पाउन सक्छौँ । आमनागरिकमा आशा छर्न सक्छौँ । आशा छ, नयाँ वर्ष र असीको नयाँ दशकले सामान्य ‘आइफोन’का निम्ति यति चर्को आँसु र पीडा मिसिएको मूल्य चुकाउनुपर्नेछैन । 

२०८० साल बैशाख ४ गतेको सम्पादकीय

कहिले कम हुन्छ किसानलाई दुःख ?

नेपाल कृषि प्रधान मुलुक हो । यो वाक्य नसुन्ने कमै होलान्। कृषिका विषयमा बोल्ने र लेख्नेले त छुटाएकै हुँदैनन् । वाक्य गर्विलो छ, तर कृषि क्षेत्रभित्रको पीडा किसानलाई कम छैन । कृषिमा क्रान्ति गर्ने र किसानलाई विभिन्न सुविधा दिने घोषणापत्र बनाएर चुनाव जित्ने नेता पनि कम छैनन् । तर, खेती–किसानी गरेर मुलुकलाई खाद्यान्नमा अब्बल बनाउन प्रयास गर्ने र जीवन चलाउने किसानको मुहारमा खुसी भने छाउन सकेको छैन। आशा देखाउनेले मात्रै होइन, प्रकृतिले पनि किसानलाई ठग्ने गरेको छ । सरकारले बनाउने बजेट, योजना र कार्यक्रममा किसानका विषय पहिलो प्राथमिकतामा पर्दैनन्। प्राकृतिक विपत्को चपेटामा पर्दा राहतका लागि पनि हार गुहार गर्नुपर्छ । कृषि प्रधान मुलुकमा यस्तो अवस्था हुनु दुःखद् कुरा हो । कृषिमा आधुनिकीकरण गर्नु पर्छ भन्दै राज्यका नीति बन्छन् । 

कृषि बिमाको चर्चा चल्छ । बिउ र मलका लागि ठूलो बजेट छुट्टिन्छ । अर्गानिक खेतीमा लगानी गर्ने योजना र बजेट बन्छ । तर, ती धेरै कुरा कागजमा सीमित छन् । वास्तविक किसानभन्दा कागज मिलाउन सक्ने व्यक्ति कृषिको सरकारी अनुदानबाट मोटाउँछन् । वास्तविक अवस्था मुलुकको यस्तो हुँदा कृषि क्षेत्रमा समस्या बढ्दैछ । कृषि पेसा अँगाल्नेहरू पलायन हुन बाध्य बन्दैछन् । जनसंख्याको दुईतिहाइ अर्थात् ६५.५ प्रतिशत नागरिकले अँगालेको पेसालाई समेत सुरक्षित गर्न नसक्नु सरकारको कमजोरी हो । बाढी–पहिरोले किसानलाई नै बढी क्षति पु¥याउँछ । जलवायु परिवर्तनको बढी असर कृषिमा नै छ । सरकारबाट पाउने अनुदान, ऋण, सिँचाइ, बिमा, बिउबिजन, मललगायतका आधारभूत सुविधाबाट वञ्चित हुने पनि किसान नै हुन् । सबै अवस्थालाई केलाउँदा सबैभन्दा दुःखको पेसा नै कृषि नै हो भन्ने अवस्था मुलुकमा छ। पहिले लगाएको बाली उत्पादन गर्न समस्या हुन्छ । त्यसपछि बजारमा बिक्री गर्न गाह्रो पर्छ । अझ निर्वाहमुखी खेती गरेका किसानहरूको समस्या झन् कहालीलाग्दो छ ।

सरकारले दिएको अनुदानलगायतका सुविधा पनि अहिलेसम्म करिब १२ प्रतिशत किसानले मात्रै उपभोग गर्न पाएको कृषिविज्ञको दाबी छ । वास्तविक किसानभन्दा पनि पार्टीका कार्यकर्ता र दलालको हातमा कृषि अनुदान पर्छ । लगभग ९० प्रतिशत अनुदानको दुरुपयोग हुन्छ। यस्तै कारणले कृषिमा आत्मनिर्भर बनेको कागजमा देखिन्छ, व्यवहारमा छैन। परम्परागत खेती हटाएर कृषिलाई व्यवस्थित र आधुनिक बनाई कृषिमा क्रान्ति गर्ने कुरा भाषणमा नै सीमित छ । राज्यले कृषि क्षेत्रलाई सुधार र प्राथमिकतामा नराख्दा लाखौं युवाशक्ति विदेश पलायन हुनु परेको छ । कृषि अनुदानका नाममा राज्यको ढुकुटीको दुरुपयोग झनै बढेको छ । अनुदानको सही सदुपयोग भएको छ या छैन अनुगमन हुँदैन । भए त्यहाँ पनि मिलाउने काम बढी हुन्छ । यो अवस्था रोक्नुपर्छ । नेपालमा पशु बिमा हुन्छ तर ठूला फर्मको मात्रै बिमा हुँदा किसानलाई यसमा पनि राहत मिलेको छैन । कृषिका सबै क्षेत्रको बिमा गर्न आवश्यक छ । क्षति भएमा बिमा रकम सहज रूपमा दिनुपर्छ । सहुलियत ऋण लिन झन्झट बढी हुने किसानको गुनासो शून्यमा झर्नुपर्छ । किसानको क्षमता र पहुँचअनुसारको प्रक्रिया यस्ता कुरामा राख्नुपर्छ । समयमा बिउ, मल र बजारको व्यवस्था मात्रै गर्न सके पनि किसानको आधा समस्या समाधान हुन्छ। बिमा, ऋण र अनुदान दिन नियम कानुनले छेके त्यसलाई समयमा सुधार गर्नुपर्छ । यसो गरे मात्रै कृषि पेशा सम्मानित र नाफामूलक हुन सक्छ । अनि मात्रै कृषि प्रधान मुलुकको अर्थ रहनेछ भन्नेमा कसैको दुई मत छैन ।

उत्पादकत्व नघट्ने गरी जैविक खेतीको अभ्यास देशभर सुरु भएमा मात्र रासायनिक मलका लागि यति विघ्न तड्पिनुपर्दैन । तर, आजै त्यस्तो अवस्था छैन । जमिनको उर्वराशक्ति दीर्घकालसम्म कायम राख्न, पर्यावरण जोगाउन र स्वास्थ्यकर कृषि उत्पादनका लागि रासायनिक मलको प्रयोगलाई घटाउनुपर्ने भए पनि बिनायोजना एकैचोटि खेतीलाई पूर्ण रूपमा जैविक बनाउन खोज्दा श्रीलंकामा कृषि उत्पादनमा ठूलो ह्रास आएको तथ्य ताजै छ । कृषि उत्पादन र यसको वृद्धिदरको मात्रा नघट्ने गरी प्रांगारिक मल प्रयोगको विधि–ज्ञान आम किसानमा नहुँदासम्म रासायनिक मल प्रयोग गर्नुको विकल्प छैन । त्यसैले, विश्वबजारको प्रतिकूलता चिर्न तथा अनिश्चय हटाउन सरकारले भारतसित शीघ्र पहल गर्नुपर्छ । र जसरी हुन्छ, अहिलेको मल अभाव अन्त्य गरी सरकारले अर्को वर्ष समयमै मल किन्न स्रोत पनि सुनिश्चित गर्नुपर्छ ।

२०८० साल बैशाख ११ गते । वर्ष:१६ अंक:२७