Monday, May 01, 2023

एमाले सबै भन्दा धनी दल


काठमाडौं । राजनीतिक दलहरूले निर्वाचन आयोगमा आम्दानी र खर्चको विवरण प्रस्तुत गरेका छन् । प्रस्तुत गरेको विवरणअनुसार नेपाल कम्युनिस्ट पार्टी (एमाले) सबैभन्दा धनी दल रहेको छ । दोस्रो धनी दलमा राष्ट्रिय प्रजातन्त्र पार्टी देखिएको छ । संसद्को सबैभन्दा ठूलो दल नेपाली काँग्रेस भने घाटामा चलेको छ ।

एमालेबाट विभाजित नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले नौ महिनामा नै सात करोड रुपैयाँभन्दा बढीको सम्पत्ति जोडेको छ । एमाले सबैभन्दा धनी दल रहेको छ । निर्वाचन आयोगमा बुझाइएको विवरणअनुसार सो दलको मौज्दात करिब १३ करोड छ । कुल आम्दानी ४१ करोड छ । 

निर्वाचन आयोगको कानुन तथा राजनीतिक दल व्यवस्थापन महाशाखाका अनुसार ८३ वटा राजनीतिक दलले आय–व्ययको लेखापरीक्षण विवरण समयभित्रै बुझाएका छन् । आयोगमा कुल ११६ दल दर्ता छन् । एमालेको असार मसान्तसम्म ४१ करोड ७२ लाख २० हजार ३१७ रुपैयाँ आम्दानी रहेकोमा १५ करोड ७० लाख ७६ हजार ९८३ रुपैयाँ खर्च छ । कुल आम्दानीमा चल÷अचल सम्पत्तिसमेत गरेर ४१ करोड हुन सक्ने आयोग स्रोतले बतायो । प्रतिनिधि सभामा एमालेले ७८ सिट जितेको छ । 

प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनबाट सबैभन्दा ठूलो दल बनेको नेपाली काँग्रेस भने घाटामा रहेको आय–व्ययको विवरणमा जनाइएको छ । प्रतिनिधि सभामा उसको सिट संख्या ८९ छ । आर्थिक वर्ष २०७८/७९ सम्म सो दलले १४ करोड ८९ लाख ९४ हजार ८७ रुपैयाँ आम्दानी गरेको छ । तर सो दलको खर्च भने १७ करोड ९० लाख ७८ हजार २२२ रुपैयाँ छ । आयोगमा बुझाइएको विवरणबमोजिम काँग्रेसको तीन करोड ८४ हजार १३५ रुपैयाँ दायित्व छ । 

संसद्को तेस्रो ठूलो दल नेकपा (माओवादी केन्द्र) छ तर आयोगमा बुझाइएको विवरणबमोजिम राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भने दोस्रो धनी दल हो । प्रतिनिधि सभामा १४ सिट जितेको सो दलको मौज्दात करिब तीन करोड २१ लाख छ । माओवादी केन्द्रको आय र व्ययको विवरण दुईथरीको पाइएको छ । आम्दानी नौ करोड ८६ हजार ६४ रुपैयाँ छ भने सात करोड ४२ लाख ६४ हजार ४३ रुपैयाँ खर्च छ । करिब एक करोड ५८ लाख मौज्दात छ । अर्कोथरीको विवरणबमोजिम ३२ लाख २१ हजार ९७१ रुपैयाँ बचत छ । २०७८ भदौ १ गते एमालेबाट विभाजित भएको एकीकृत समाजवादीले एक वर्ष नपुग्दै एक करोडभन्दा बढी बचत गरेको छ । १करोड १० लाख ६० हजार ८४८ रुपैयाँ बचत छ । छोटो समाजवादीले करिब सात करोड रुपैयाँभन्दा बढी सम्पत्ति जोडेको छ । 

संघीय संसदमा प्रतिनिधित्व गरेको र मधेश प्रदेशमा लगातार दोस्रो कार्यकालका लागि नेतृत्व गरेको जनता समाजवादी पार्टी नेपालको बचत भने अन्य दलको अपेक्षा थोरै देखिएको छ । सो दलको बचत ११ लाख १८ हजार ८६२ रुपैयाँ छ । दल दर्ता गरेर छोटो अवधिमै निर्वाचनमा प्रतिस्पर्धा गरेका राष्ट्रिय स्वतन्त्र पार्टी र जनमत पार्टीको बचत भने थोरै छ । २०७९ असार ७ गते आयोगमा दर्ताका लागि निवेदन दिएको थियो । गत असार मसान्तसम्म एक महिनाको आय–व्ययको विवरणमा उसले चार लाख नौ हजार ७६० रुपैयाँ आम्दानी देखाएको छ । 

‘दरबार पुनर्निर्माण गराइयोस्’

भुकम्प अघिको नुवाकोट साततले दरवार । तस्विर : इमेज फाइल

ईश्वर लामिछाने

काठमाडौं । नेकपा माओवादी केन्द्रकी सांसद विमला सुवेदीले टेकोले अडाएर राखिएको नुवाकोटको साततले दरबार तत्काल पुनर्निर्माण गराई विश्व सम्पदा सूचीमा सूचीकृत गराउन सरकारको ध्यानाकर्षण गराएका छन् । 

प्रतिनिधिसभाको बुधबारको बैठकमा शून्य समयमा धारणा राख्दै सांसद सुवेदीले भूकम्पले क्षतिग्रस्त बनाएको नुवाकोट दरबार आठ वर्षदेखि अलपत्र रहँदा महत्वपूर्ण धरोहर विलुप्त हुन लागेको र पर्यटन व्यवसायसमेत धरासायी बनेकोले तत्काल पुनर्निर्माण अघि बढाउन सरकार र पुरातत्व विभागको ध्यानाकर्षण गराए । ‘आठ वर्षसम्म पनि पुनर्निर्माण नहुँदा एकातिर नुवाकोटको पर्यटन व्यवसाय धरासायी भइरहेको छ भने अर्कोतिर हाम्रा महत्वपूर्ण धरोहरहरू विलुप्त हुँदै जाने खतरा पैदा भएको छ । उक्त संरचनाहरू तत्काल पुर्ननिर्माण गर्नुका साथै नुवाकोट दरबार क्षेत्रलाई विश्व सम्पदा सूचीमा सुचीकृत गराउन सभामुखमार्फत सम्बन्धित मन्त्रालय र पुरातत्व विगागको गम्भीर ध्यानार्षण गराउँदछु,’ सांसद बिमला सुवेदीले भने । 

२०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्पले क्षतिग्रस्त बनाएको नुवाकोटको प्राचीन, ऐतिहासिक तथा सांस्कृतिक सम्पदा नुवाकोट साततले दरबार, गारद घर, रंगमहल, सेतोपाटी, लामपाटी, तुलजा भवानी मन्दिर, नारायण मन्दिर, विष्णु मन्दिरहरू पुनर्निमाण गर्ने जिम्मा लिएको चिनियाँ कम्पनीले ठेक्का पाएको वर्षौं बितिसक्दा पनि अहिलेसम्म काम सुरु गरेको छैन । नुवाकोट र नेपालकै महत्वपूर्ण पर्यटन गन्तव्यको रुपमा रहेको नुवाकोट दरबार टेकोको भरमा मुस्किलले अडिएको छ । 

एमसिए–प्रसारण लाइनले नुवाकोटका ५० बस्ती प्रभावित

विदुर । मिलेनियम च्यालेञ्ज एकाउन्ट नेपाल विकास समिति (एमसिए–नेपाल)मार्फत काठमाडौंको लप्सेफेदीबाट नुवाकोटको रातमाटे हुँदै हेटौँडा र तनहुँतर्फ लैजाने प्रसारण लाइन विस्तारले प्रभावित बन्ने बस्तीको प्रारम्भिक सूची प्रकाशित भएको छ ।

मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी)मार्फत निर्माण गर्न लागिएको प्रसारण लाइनका लागि गाड्नुपर्ने खम्बा र विस्तार गरिने तारको दायाँबायाँतर्फ प्रभावित बनाउने बस्तीको प्रारम्भिक सूची प्रकाशन गरिएको ‘प्रारम्भिक कारबाही अधिकृत’ हरिकृष्ण उप्रेतीले जानकारी दिए । उनका अनुसार अमेरिकी सहयोग अनुदानअन्तर्गतको एमसिसीमार्फत निर्माण गर्न लागिएको आयोजनाको नेपालको सरकारी निकाय एमसिए–नेपालमार्फत प्रसारण लाइन निर्माणको क्रममा प्रभावित हुने बस्तीको विवरण सार्वजनिक गरिरएको हो ।

प्रकाशित सूचीअनुसार नुवाकोटको बेलकोटगढी नगरपालिकासहित शिवपुरी, पञ्चकन्या, लिखु र तारकेश्वर गाउँपालिकाका १८ वडाका ५० वटा बस्ती प्रत्यक्ष प्रभावित हुने उल्लेख छ । जसमा भनिएको छ– ‘काठमाडौँको लप्सेफेदीबाट नुवाकोटको रातमाटे (बेलकोटगढी–७) सम्म चार सय केभी डबल सर्किटको प्रसारण ल्याइनका क्रममा निर्माण गरिने खम्बा र प्रसारण लाइनको दायाँबायाँ क्षेत्रमा प्रभावित बनाउने प्रारम्भिक बस्तीको विवरण सार्वजनिक गरिएको हो ।’

अधिकृत उप्रेतीले भने, “रातमाटे (सबस्टेशन)बाट एक लाइन नुवाकोटको कोल्पुटार (बेलकोटगढी–५) हुँदै हेटौँडातर्फ र अर्को लाइन नुवाकोटको तारुका (तारकेश्वर–२) हुँदै धादिङबाट तनहुँ पु¥याएर त्यहाँबाट बुटवल लैजान प्रसारण लाइन निर्माण गर्न लागिएको छ ।” प्रसारण लाइन विस्तारका क्रममा आवश्यक पर्ने जग्गाको जग्गाधनीलाई खम्बा गाड्ने ठाउँको मुआब्जा र प्रसारण लाइनको दायाँबायाँ 

२३–२३ मिटर दूरीसम्म क्षतिपूर्ति दिनका लागि प्रभावित हुने बस्तीको सूची सार्वजनिक गरेर सर्वेक्षण सुरु गर्न लागिएको एमसिए–नेपालका कार्यकारी निर्देशक खङ्गबहादुर विष्टले जानकारी दिए । उनका अनुसार नुवाकोटमा करिब ५३ किमी प्रसारण लाइन निर्माणका क्रममा १४७ वटा टावर गाड्नुपर्ने देखिएको छ ।

उक्त क्रममा जिल्लाको पाँच पालिकाको १८ वडाका ५० वटा बस्ती प्रत्यक्ष प्रभावित हुने देखिएको हो । ‘प्रभावित पालिकाको वडा र बस्ती किटान गरेर प्रारम्भिक सूची प्रकाशन भएसँगै अब निजी स्वामित्वको जग्गा सर्भे सुरु गर्न लागिएको छ’, कार्यकारी निर्देशक विष्टले भने, ‘सर्भेका लागि खटिएका प्राविधिक कर्मचारीलाई सहयोग पु¥याएर समयमा नै कार्य सम्पन्न गर्नका लागि स्थानीय समुदायको महत्वपूर्ण भूमिका रहन्छ ।’

उक्त आयोजनाअन्तर्गत सबस्टेशन निर्माण र प्रसारण लाइन विस्तारका क्रममा प्रभावित हुने बासिन्दाका लागि एमसिए–नेपालले बेवास्ता गरेको भन्दै यहाँका स्थानीय तह र प्रभावित बासिन्दा भने असन्तुष्ट छन् । सबस्टेशन निर्माणका लागि आवश्यक जग्गा खरिदको काम पूरा भइसकेको छ भने प्रसारण लाइन विस्तारका क्रममा खम्बा गाड्न चाहिने जग्गा खरिद र तार विस्तारबाट प्रभावित हुने क्षेत्रमा दिइने क्षतिपूर्ति निर्धारण बैठकलाई पालिकाहरूले बहिष्कार गर्दै आइरहेका छन् ।

मध्यपहाडी लोकमार्गको कुण्डल घलेभञ्याङ खण्ड, नापजाँच अनुसार काम भएन

कुण्डला–घलेभन्ज्याङ खण्डको स्थलगत अनुगमन

छहरे । नुवाकोटका जनप्रतिनिधिहरूले ‘शिवपुरी–पञ्चकन्या–दुप्चेश्वर’ सडकअन्तर्गत पञ्चकन्या गाउँपालिका ५ र ३ मा पर्ने निर्माणाधीन कुण्डला–घलेभन्ज्याङ खण्डको स्थलगत अनुगमन गरेका छन् । नुवाकोट क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सांसदमा निर्वाचित हितबहादुर तामाङ, समानुपातिक सांसद विमला सुवेदी, पञ्चकन्या गाउँपालिकाका अध्यक्ष तेजबहादुर तामाङ, सडक डिभिजन नुवाकोट प्रमुख अमृतमणि रिमाल, स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका नेताहरूले शनिबार संयुक्त रुपमा अनुगमन गरेका हुन् । मध्यपहाडी लोकमार्गको कुण्डला माध्यमिक विद्यालय छेउबाट घलेभन्ज्याङसम्म सडक तीव्र रुपमा बनिरहे पनि अनुगमनका क्रममा केही ठाउँमा कमसल सामग्री प्रयोग गरेको र टेण्डर आह्वान गरेको समयभन्दा फरक डिजाइनमा काम गरेको भन्दै डिभिजन प्रमुख रिमाललाई सहभागीले प्रश्न गरेका थिए ।

संघीय सांसद तामाङले ठेकेदारलाई जनताको गुनासो र भएका कमीकमजोरी सुधारेर छिटो सम्पन्न गर्न र गुणस्तरीय कायम गर्न निर्देशनसमेत दिएको स्थानीय रामहरि भण्डारीले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । यस्तै पञ्चकन्या गाउँपालिका अध्यक्ष तेजबहादुर तामाङले निर्माण प्रारम्भअघिको नापजाँच अनुसार काम नभएको भन्दै डिभिजन प्रमुख रिमाललाई सचेत गराएका छन् । अनुगमनका क्रममा संघीय सांसदद्वय तामाङ र सुवेदी, पञ्चकन्याका अध्यक्ष तामाङ, उपाध्यक्ष विमला केसी, शिवपुरी गाउँपालिका उपाध्यक्ष वीरबहादुर तामाङ, डिभिजन प्रमुख रिमाल, निर्माण कम्पनीका प्रमुख सुशीलप्रसाद फुँयाल, नेकपा माओवादी केन्द्र शिवपुरी गाउँपालिका कमिटी अध्यक्ष मिनबहादुर तामाङलगायत सरकारी प्राविधिक, कर्मचारी र स्थानीयहरू सहभागी थिए । पञ्चकन्या गाउँपालिका वडा नम्बर ५ र ३ मा पर्ने यो सडकखण्ड यही आर्थिक वर्षभित्र ग्राभेल गरिसक्ने लक्ष्यसहित निर्माण भइरहेको छ ।

नुवाकोटको पूर्वोत्तर दुप्चेश्वर गाउँपालिका, पञ्चकन्यावासीलाई काठमाडौं प्रवेशका लागि छोटो दूरी पर्ने ‘शिवपुरी–पञ्चकन्या–दुप्चेश्वर’ सडकअन्तर्गतको उक्त खण्डमा १० मिटर चौडा पारिएको छ । निर्माणाधीन सडक ७ किलोमिटर दूरी रहेको छ । निर्माणको जिम्मा जलुकुनी जेभी कम्पनीले पाएको छ । कम्पनीका सञ्चालक सुशील फुयाँलका अनुसार १० मिटरको सडकमा साढे ७ मिटर कालोपत्रे र बाँकी भाग ढलान गरिने छ । त्यसभित्र ९ सय मिटर ढलान र ६१ सय मिटर कालोपत्र हुनेछ ।

संघ सरकारले छुट्याएको ४० करोड रुपैयाँमा प्राविधिक स्टिमेटबमोजिम १५ किलोमिटर सडक कालोपत्र हुनेछ । जसमा मध्यपहाडी लोकमार्गको कुण्डला मावि भद्रुटार जिरो विन्दु मानिएको छ । 

जलुकेनी जेभीले यो सडक २५ करोड ५१ लाख रुपैयाँमा तीन वर्षे म्यादसहित ८ किलोमिटर बनाउने गरी २०७८ जेठ २४ मा सडक डिभिजन कार्यालय नुवाकोटसँग सम्झौता गरेको हो । एउटा निर्वाचन क्षेत्रमा एउटा रणनीतिक सडक बनाउने २०७६/०७७ मा नेपाल सरकारले निर्णय गरेको थियो ।

निर्वाचन क्षेत्र रणनीतिक सडक ०७६ सालमै ७७ जिल्ला १६५ निर्वाचन क्षेत्रबाट प्रत्यक्ष तर्फबाट निर्वाचित सांसदहरूको सिफारिसमा १ निर्वाचन क्षेत्रमा १/१ वटा सिफारिस गर्ने नीतिअनुसार सबै सांसदहरूले सिफारिस गरेका थिए । सिफारिस शीर्षकहरू २०७७ को रातो किताबमा उल्लेख भएर आएको थियो । काठमाडौंतर्फ स्तरोन्नतिका लागि छुट्न गएको उक्त सडक आयोजनाअन्तर्गत सुनखानी ढलानघर–स्याल्पिङखोला–बरभन्ज्याङ र शिवालयसम्मका लागि आउँदो बजेटमा रकम विनियोजन गराउन पहल भइरहेको सांसद तामाङले बताएका छन् ।

गुर्जे–छहरे सडक स्तरोन्नती धमाधम

टोखा–छहरे सडकखण्ड 

छहरे । पछिल्ला वर्षहरूमा तीव्र गतिमा स्तरोन्नति भइरहेको नुवाकोट गुर्जेभन्ज्याङ–छहरे सडक खण्डमा थप ६ करोड रुपैयाँको ठेक्का सम्झौतापछि धमाधम काम भइरहेको छ । अर्थ र भौतिक पूर्वाधार मन्त्रालयबाट बजेट प्राप्त हुने निश्चित भएपछि शिवपुरी गाउँपालिका–८ को वडा कार्यालय आसपास, थापागाउँ क्षेत्रमा ढलान, नाली निर्माण, मर्मत, कालोपत्रका लागि बागेश्वरी वाग्मती सिम्रन जेभीसँग गत चैत १३ गते ३ किलोमिटर सडक स्तरोन्नतिको सम्झौता भएको सडक डिभिजन कार्यालय नुवाकोटका इन्जिनियर तथा सूचना अधिकारी सुमन बस्नेतले ग्लोबल मिडियालाई जानकारी दिए । 

उक्त खण्डमा ७ करोड १३ लाख स्टिमेट गरिए पनि बागेश्वरीले ६ करोड (भ्याटसहित)मा निर्माण जिम्मा लिएको छ । सूचना अधिकारी बस्नेतका अनुसार चौडा नपुगेको ठाउँमा अधिकतम ७ मिटर पु-याउने, ‘असफाल्ट’ (गुणस्तरीय) कालोपत्रलगायत काम हुनेछ । 

चैत १३ गते ३ किमि सडकको लागि ६ करोड ठेक्का सम्झौता भएको हो भने उक्त रकमको लागि सडक डिभिजन कार्यालयले संघ र प्रदेशको निर्वाचनअघि नै फाइल तयार पारी भौतिक पूर्वाधार मन्त्रालयमा पेश गरेको थियो । निर्वाचनपछि टेन्डर आह्वान गरिएको थियो । सम्झौतापछि निर्माण कम्पनीले काम थालेको करिब दुई हप्ता पुगिसकेको छ । प्राविधिक सहायक सुपरभाइजर विशाल खड्काले थापागाउँ क्षेत्रमा कटिङ र नाली बनाउने काम भइरहेको बताए । उनका अनुसार जेठभरिमा पिचको काम सकाउने लक्ष्यसहित अहिले मेसिनरी वाल लगाउने, नाली बनाउने काम भइरहेको छ । डोजर, टिपरसहित झन्डै ५० जना सडक मजदुर खटिएका छन् ।

उधारोमा खोलिएको ठेक्का नरोकियोस् भनेर बजेटका लागि बारम्बार ताकेता गरिरहेको इन्जिनियर बस्नेतले बताए । ‘उधारोमा ठेक्का खोलेका हौं । समस्या आउँला भनेर बजेटका लागि भौतिक मन्त्रालयलाई पत्र लेखेर पठाएको छौं,’ उनले भने ।

निर्माण कार्य सम्पन्न भैसक्दा पनि कयौं निर्माण व्यवसायीहरूले समयमै भुक्तानी नपाउँदा निर्माण क्षेत्रमा नकारात्मक प्रभाव बढ्दै गइरहेको छ । जसले समग्र आर्थिक क्षेत्रमै ठूलो असन्तुलन पैदा भैरहेको अर्थका जानकारहरू बताउने गर्छन् ।

चापाबोट क्षेत्रमा जी टेक सर्भिसेसले काम गरिरहेको छ । उक्त ठेक्का चालु आर्थिक वर्षमा केन्द्रीय बजेटमा छुट्याइएको ६ करोड रुपैयाँमध्येबाट ४ करोड रुपैयाँमा सम्पन्न गर्ने गरी सम्झौता भएको छ । सूचना अधिकारी बस्नेतका अनुसार गत आर्थिक वर्षको दुई करोड दायित्व वहन गर्नुपर्ने भएकोले दुई किलोमिटरमा मर्मत र गुणस्तरीय पिचका लागि ४ करोडमा सम्झौता गरिएको हो ।

नुवाकोट प्रवेशको छोटो मार्ग टोखा–छहरे सडकखण्ड काठमाडौं सामाखुसीबाट नुवाकोट छहरेसम्मको दुरी २९ किलोमिटर रहेको छ । यो खण्डमध्ये काठमाडौं जिल्ला टोखा नगरपालिकाको झोरदेखि शिवपुरी राष्ट्रिय निकुञ्ज हुँदै छहरेसम्मै पाँच वर्षअघिसम्म बेहाल थियो, हिउँदमा जसोतसो गाडी चल्ने गथ्र्यो । तर बर्खायाममा नागरिकले कष्ट पाउँथे । नुवाकोट, रसुवा, धादिङका लागि काठमाडौंको नयाँ बसपार्क र सामाखुसी आपपासबाट छुटिने बस र अन्य सवारी साधन झोर क्षेत्रमै हिलोमा फसेर घान्टौं जाम पर्दा यात्रुले सास्ती बेहोनुपर्थ्यो । सामान्य यात्रुलाई सास्ती हुन्थ्यो नै बिरामी ओसारपसार गर्ने एम्बुलेन्ससमेत जाममा पर्दा बिरामीको अवस्था के हुन्थ्यो सहजै अनुमान लगाउन सकिने विषय रह्यो ।

तर, पछिल्लो करिब ४ वर्षको अवधिमा भने यो सडकले विस्तारै काँचुली फेर्दै गरेको आभाष हुन्छ । काठमाडौंतर्फ झोर र जगात क्षेत्रको कालोपत्र (पिच) तथा ढलानसहित पक्की सडक बनिसकेको छ । गुर्जेभञ्ज्याङदेखि गुरुङगाउँ, थानाभञ्ज्याङ, चाँपबोट क्षेत्रसम्मै कहींकतैबाहेक सडक बिनाअवरोध यातायात सञ्चालनको लागि बर्खायाममा पनि सहज बनेको छ । अब करिब ५ किलोमिटर जति स्तरोन्तति आफ्नो कार्यकालमा सकाउने लक्ष्य रहेको उक्त क्षेत्रबाट प्रतिनिधिसभामा निर्वाचित नेकपा माओवादी केन्द्रका सांसद हितबहादुर तामाङको भनाई छ । 

सांसद तामाङले अघिल्लो कार्यकालमा गुर्जेको माउन्टेन भ्यू रिसोर्ट आसपासदेखि गुर्जे सार्वजनिक शौचालयसम्म निर्माणका लागि संघ र प्रदेश सरकारबाट बजेट छुट्याउन सफल भएका छन् । 

सांसद तामाङ, वाग्मती प्रदेश सांसद राधिका तामाङ लगायत जनप्रतिनिधिहरूकै पहलमा गुर्जेको सार्वजनिक शौचालयदेखि गुरुङगाउँ, थानाभन्ज्याङ, सिस्नेरी भीर कटिङ हुँदै चाँपबोटसम्म आर्थिक वर्ष ०७७/७८ मा १० करोड र सडक बोर्डबाट ५ करोड बजेट परेको थियो । 

१० करोड बजेट प्रत्यक्ष निर्वाचित सांसदको सिफारिसबमोजिम योजनामा खर्च गर्न मिल्ने सरकारको नीतिअनुसार सांसद तामाङले सो सडक खण्ड निर्माणका लागि एकमुष्ठ सिफारिस गरेका थिए । अन्य निर्वाचन क्षेत्रका सांसदले भने उक्त १० करोड रकम ८/१० वटा योजनामा कनिका छरेझै  गरिएको पाइएको छ । 

त्यस्तै, थप बजेट आवश्यक परेको सिस्नेरी भीर कटिङलगायतका लागि सडक बोर्डबाट सांसद तामाङलगायतको पहलमा १० करोड रुपैयाँ पारिएको थियो । जसको काम सम्पन्न भइसकेको छ । 

२०७८/७९ मा तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले अध्यादेशबाट ल्याएको बजेटमा ७ करोड रहेको बजेटलाई नयाँ अर्थमन्त्री बनेका माओवादी नेता जनार्दन शर्माले प्रतिस्थापन विधेयकमार्फत उक्त सडकखण्डलाई १० करोड बजेट पु-याइदिएका थिए । चालु आर्थिक वर्ष २०७९/८० मा पनि ६ करोड रुपैयाँ परेको थियो । जसको ठेक्का सम्झौतापछि कार्यान्वयन जारी छ ।

क्याम्पसविरुद्धका दुवै रिट खारेज

बट्टार । नुवाकोट आदर्श बहुमुखी क्याम्पसविरुद्ध परेका दुई वटै रिट निवेदन खारेज भएका छन् । क्याम्पस सञ्चालक समिति अध्यक्ष, क्याम्पस प्रमुख नियुक्ति विरुद्ध परेको रिट निवेदन र क्याम्पसको संशोधित विधान खारेजीको माग राखि उच्च अदालत पाटनमा दायर भएका दुई रिट निवेदन खारेज भएका हुन् ।

उच्च आदालत पाटनका न्यायाधीश गोकर्ण डाँगी र सुदर्शनराज पाण्डेको इजलासले नुवाकोट क्याम्पसको विवाद निरुपण गरेको छ । न्यायाधीशद्वयको इजलासले सञ्चालका समिति अध्यक्ष र क्याम्पस प्रमुख कानून र कार्यविधि पुरा गरी नियुक्ति गरिएको ठहर गरेको छ । यो फैसलासँगै क्याम्पस सञ्चालक समितिको अध्यक्षको जिम्मेवारी सम्हालिरहेका श्रीराम श्रेष्ठ नै बैध अध्यक्ष भएका छन् । 

नुवाकोट आदर्श क्याम्पस सञ्चालक समितिका तत्कालित अध्यक्ष रामशरण प्याकुरेल र कामु क्याम्पस प्रमुख भोलाप्रसाद पाण्डेले त्रिभूवन विश्वविद्यालय, उपकुलपतिको कार्यालय, नुवाकोट आदर्श बहुमुखी क्याम्पस र क्याम्पस प्रमुख जीतेन्द्र अर्याललाई विपक्षी बनाइ दायर भएको रिट निवेदन पनि खारेज भएको छ ।

उच्च आदालत पाटनका न्यायाधीश गोकर्ण डाँगी र सुदर्शनराज पाण्डेको इजलासले निवेदकको माग बमोजिम आदेश जारी गर्न पर्ने अवस्था विधमान नदेखिएकाले क्याम्पस सञ्चालक समिति अध्यक्ष र क्याम्पस प्रमुख नियुक्तिविरुद्ध परेको रिट निवेदन खारेज गरिएको फैसलाको पूर्णपाठमा उल्लेख छ ।

नुवाकोट आदर्श बहुमुखी क्याम्पसका संस्थापक अध्यक्ष तथा प्रमुख संरक्षक वसन्तलाल श्रेष्ठ र मानार्थ आजीवन सदस्य नारायणलाल श्रेष्ठले नुवाकोट आदर्श बहुमुखी क्याम्पस, क्याम्पस सञ्चालक समिति अध्यक्ष श्रीराम श्रेष्ठ, क्याम्पस प्रमुख जीतेन्द्र अर्याल र क्याम्पस सञ्चालक समितिका ज्येष्ठ सदस्य छत्रराम डंगोललाई विपक्षी बनाई रिट निवेदन दायर गरेका थिए ।

क्याम्पसको संशोधित विधान खारेजीको माग राखि उच्च अदालत पाटनमा दायर भएको रिट खारेज गरी नुवाकोट क्याम्पसका नाममा परमादेश जारी गरिएको फैसलाको पूर्णपाठमा उल्लेख छ ।

तस्बिर समाचार

तादी गाउँपालिका वडा नं. ५ बोहोरेमा रहेको सरस्वती आधारभुत विद्यालयलाई कम्प्युटरसेट हस्तान्तरण गर्दै नेकपा माओवादी केन्द्रका नेता किरणकुमार रिजाल (दाँयाँबाट दोस्रो) । गएको साता विद्यालयमा आयोजित कार्यक्रममा रिजालले एक सेट कम्प्युटर, प्रिन्टर तथा विद्यार्थीहरूका लागि स्टेशननरी सामाग्री प्रदान गरेका छन् । तस्बिर : इमेज


जिल्ला प्रशासनमै कर्मचारी छैनन्

विदुर । जिल्ला प्रशासन कार्यालय नुवाकोट र इलाका प्रशासन कार्यालय सानविसेमा दरबन्दीअनुसारको कर्मचारी नहुँदा सेवा प्रवाह प्रभावित भएको छ । दरबन्दी छ, कर्मचारी नहुँदा सेवा प्रवाहको चाप थेग्न प्रशासन कार्यालयलाई सकस भईरहेको हो । 

प्रशासन कार्यालयमा ७ जना नायव सुब्बाको दरबन्दी भएपनि ३ जना मात्र कार्यरत रहेका छन् । तिनजनामध्ये एकजना नायव सुब्बाको सरूवा भईसकेको छ । पाँचजना नायव सुब्बा खाली छ । दरबन्दीअनुसारको चारजना खरिदार हुनुपर्नेमा अहिले एकजना मात्र कार्यरत रहेका छन् । सिमित कर्मचारीबाट सेवा दिनुपरेकोले सेवाग्राहीलाई घण्टौं लाम बस्नु परिरहेको छ । जिल्ला प्रशासन कार्यालयमा काम र जिम्मेवारी थपिंदै छ तर कर्मचारी भने दरबन्दीअनुसारका नहुँदा सेवाग्राहीलाई सेवा लिन समय लाग्ने, घण्टौं कुर्नु परिरहेको छ । जिल्ला प्रशासनमा लेखाका कर्मचारी समेत नहुँदा कोष तथा लेखा नियन्त्रक कार्यालयले खटाएका कर्मचारीबाट काम लिनुपर्ने अवस्था रहेको बताइएको छ । भएका कर्मचारी सरूवा हुने तर पठाउन सामान्य प्रशासन मन्त्रालयले समयमा नसक्ने हुँदा सेवाग्राहीले घण्टौं लाईनमा बस्नुपर्ने र थप झन्झट बेहोर्न बाध्य छन् ।

इलाका प्रशासन कार्यालय सातबिसेमा नायव सुब्बा दुई जनाको दरबन्दी भएपनि एक जना नहुँदा प्रमुख प्रशासकिय अधिकृत एकजना र कम्प्युटर सहायकलाई दैनिक सेवा दिन मुश्किल परिरहेको छ । 

लेखा एक, नायव सुब्बा दुई जना कर्मचारी नहुँदा र नेपाल टेलिकमको इन्टरनेट भरपर्दो नहुँदा राहदानी र राष्ट्रिय परिचयपत्र बनाउने कार्य गर्न सकेको छैन । नागरिकता राहदानी र राष्ट्रिय परिचयपत्र बनाउने सेवाग्राहीको चाप बढिरहेको छ तर कर्मचारीको अभावमा प्रशासन कार्यालयलाई सेवा प्रवाहमा निकै सकस परिरहेको छ । प्रमुख जिल्ला अधिकारी किरण थापाले दरबन्दीअनुसारको कर्मचारी नहुँदा सेवा प्रवाहमा समस्या रहेको र यसबारेमा माथिल्लो निकायमा जानकारी गराईरहेको बताए । 

गाउँगाउँमा नसर्ने रोग बढ्दै

धुञ्चे । रसुवाको उत्तरगया गाउँपालिका–३ मा रहेको ठूलोगाउँ स्वास्थ्य चौकीले दैनिक ओपिडीमा बढ्दो बिरामीको चापको रुपमा देखिएको नसर्ने रोगको परिक्षण सम्पन्न गरेको छ । स्वास्थ्य संस्थाका सिअहेव कृष्ण भण्डारीका अनुसार उच्च रक्तचाप, चिनीरोग, जन्डिस तथा युरिक एसिड जस्ता रोगको वास्तविक अवस्था पत्ता लगाउन ठुलोगाउ स्वास्थ्य चौकीको आर्थिक तथा प्राबिधिक सहयोगमा वयस्क तथा ज्येष्ठ नागरिकहरूको स्वास्थ्य परिक्षण गरिएको हो ।

स्वास्थ्य परिक्षणका लागि रगत जाँच कार्यक्रम साविक ठूलोगाउँ गाविसको सवै वडामा चैत्र २१ देखि २९ गतेसम्म स्वास्थ्य परिक्षण सम्पन्न गरिएको हो । सो संस्थाद्वारा ४३६ जनाको रगतमा चिनी बिलिरुबिन र युरिक एसिड जाँच गरिएको थियो । प्राप्त नतिजा अनुसार नसर्ने रोगको प्रकोप चिन्ताजनक रुपमा बढेको देखिएको छ । ४३६ जनामा गरिएको रक्तचाप तथा रगत परिक्षणबाट उच्च रक्तचापका शंकास्पद बिरामी ७३ जना, शंकास्पद चिनी रोगका बिरामी ७२ जना, शंकास्पद जन्डिस रोगका बिरामी ६६ र युरिक एसिडका बिरामी ४६ जना भेटिएका छन् । नियमित खानपिनमा भएको लापरबाही, तथा जाँडरक्सीको अत्यधिक सेवन एवं धुम्रपान लगायत बंशाणुगत कारणले नसर्ने रोगको जोखिम बढ्दै गईरहेको देखिन्छ ।

नसर्ने रोगको प्रकोपका बारेमा सम्बद्ध निकायले आवश्यक ध्यान नपु-याउदा जनचेतना मात्रैले न्युनिकरण गर्न सम्भव देखिदैन । पर्याप्त बजेटको अभावमा पर्याप्त सेवाग्राहीहरूलाई नसर्ने रोगको स्क्रिनिङमा समावेश गर्न नसकिएको पनि उहाँले बताउनुभयो । स्वास्थ्य संस्थासंग जनताको स्वास्थ्य प्रर्वद्धनका लागि प्रशस्त योजना भएतापनि बजेटको अभावमा सञ्चालन गर्न नपाउदा जनताले गुणस्तरीय स्वास्थ्य सेवा पाउनबाट बञ्चित हुनुपरेको छ । बजेटको अभावका बिच थप उपचार आवश्यक परेका शंकास्पद रोगीहरूलाई निकट भविष्यमा स्वास्थ्य संस्थाले सम्बद्ध रोग बारेमा सचेतना मुलक अन्तरक्रियात्मक गोष्ठी संचालन गर्ने एवं विशेषज्ञबाट उपचार सेवा उपलब्ध आवश्यक परेकालाई स्वास्थ्य बिमा कार्यक्रम मार्फत प्रेषण गरिने समेत उनले बताए ।

टोखा–छहरे सुरुङमार्गबारे छलफल

अर्थमन्त्री डा. महत चिनियाँ राजदुतसंग ।

विदुर । अर्थमन्त्री डा. प्रकाशशरण महत र नेपालका लागि चिनियाँ राजदूत छन् सोङबीच भेटवार्ता भएको छ । 

शुक्रबार भएको भेटमा टोखा–छहरे सुरुङ मार्ग छिट्टै निर्माण चरणमा प्रवेश गर्ने विषयमा छलफल भएको अर्थमन्त्रीको सचिवालयले जनाएको छ ।

त्यसैगरी मुस्ताङ, रसुवागढी जस्तै अन्य पहाडी भू–भागमा समेत सुरुङ मार्गहरू बनाउने विषयमा छलफल भएको छ । चीनबाट ठूलो संख्यामा पर्यटक नेपाल भित्राउने विषयमा पनि छलफल भएको सचिवालयले जनाएको छ । मन्त्री महतले चीनबाट प्राप्त हुने सहयोग नेपालको पूर्वाधार विकासकै क्षेत्रमा लगानी गरेर प्रतिस्पर्धी क्षमता बढाउने बताए ।

अर्थमन्त्री महतसँगको भेटमा चिनियाँ राजदूत सोङले नेपालको पूर्वाधारका विकासका लागि करिब ८० अर्ब रुपैयाँ उपलब्ध गराउन सक्ने जानकारी गराए । साथै उनले चीन सरकारले उपलब्ध गराउने सहयोग रकमको पूर्वाधार क्षेत्रमै उच्चतम प्रयोग हुने विश्वास व्यक्त गरेका छन् ।

विदुरका ६ हजार बढी विद्यार्थीलाई खाजा

कार्यक्रममा परियोजनाबारे जानकारी गराउदै  पदम उप्रेती

विदुर । राष्ट्रिय विद्यालय दिवा खाजा कार्यक्रम परियोजना कार्डसन नुवाकोटले गएको हप्ता स्थानीय उत्पादनमा आधारित विद्यालय दिवा खाजा कार्यक्रम ढाँचा सम्बन्धि १ दिने वडा स्तरीय अभिभुखिकरण कार्यक्रम विदुर नगरपालिका वडा नम्बर ५ को वडा कार्यलयमा सम्पन्न गरेको छ । 

नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गत शिक्षा तथा मानव स्रोत विकास केन्द्र निकट समन्वय तथा परामर्श जापान सरकारको आर्थिक सहयोगमा विश्व खाद्य कार्यक्रमको नेतृत्व तथा साझेदार संस्था शान्ति भोलेन्टियर एशोसियसन नेपाल र स्थानीय जिल्ला तहको साझेदार संस्था कार्डसन नेपालद्वारा परियोजनाको कार्यन्वयन भईरहेको छ ।

नुवाकोटको १२ वटै स्थानीय तहमा सञ्चालित यस परियोजनाको अवधि ३ वर्षे रहेको कार्डसन नेपाल नुवाकोटका अध्यक्ष पदम उप्रेतीले जानकारी दिए । उप्रेतीका अनुसार नुवाकोट जिल्लाभरिका १२ वटै पालिकाहरूमा रहेका सामुदायिक ४३४ वटा विद्यालयरुमा राष्ट्रिय दिवा खाजा सञ्चालन भईरहेको छ । 

विदुर नगरपालिका भित्र ६० वटा विद्यालयमा अध्यनरत  विद्यार्थी ६ हजार ३ तिन सय ३२ जनाले दिवा खाजा खाइरहेका छन् । उप्रेतीका अनुसार स्थानीयस्तरमा उपलब्ध पोषणयुक्त र स्वस्थकर दिवा खाजा खुवाउनका लागि होम ग्रोन स्कूल फिडिङ अप्रोच अपनाउँदै विद्यालय दिवा खाजा कार्यक्रम लाई सफलतापूर्वक कार्यन्वयन गर्न स्थानीय सरकारको क्षमता अभिवृद्धि गर्ने उद्देश्य कार्यक्रमको छ । कार्यक्रम नुवाकोटको ८८ वटै वडाका सामुदायिक विद्यालयका आधारभुत विद्यालय र माविमा बालविकास कक्षा देखि ६ कक्षासम्म अध्यनरत प्रतिदिन विद्यार्थीहरू लाई १५ रुपैयाँ को दरले वार्षिक १८० दिन खाजा खुवाउने कार्यक्रम रहेको उनले बताए । कार्यक्रममा विदुर–५ का वडा अध्यक्ष लिलानाथ न्यौपाने, वडा सदस्यहरू बिनोद चित्रकार, होमबहादुर कुमाल, वडा सचिव ममता तिमल्सिना, नेकपा एकीकृत समाजवादी नुवाकोटका सह–सचिव उद्धव पनेरु, नेकपा माओवादी केन्द्रका वडाका अध्यक्ष रामहरि घिमिरे, अक्कलादेवि कृषि सहकारीका अध्यक्ष राजकुमार अर्जेल लगायतले दिवा खाजा कार्यक्रमलाई निरन्तरता दिनुपर्ने र वडा नगरबाट सहयोग गरि कार्यक्रमलाई सफलता पूर्वक लैजानुपर्ने धारणा राखेका थिए ।

पानीको फोका जस्तै हुनेछौं : उपाध्यक्ष पाण्डे

नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे

बट्टार । नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले नयाँ शक्तिलाई कम आँक्न नहुने बताएका छन् । उनले नयाँ ढंगले सोचेर शासकीय सुधार गरेर जनताको काम गर्न नसकिए पानीको फोका जस्तो बन्ने बताए ।

‘यदि हामी शासकीय सुधार गरेर स्थापित हुन सक्छौं भने अहिले आएका कतिपय शक्तिहरू पानीका फोका भएर जान्छन्,’ प्रेस चौतारीले बुधबार आयोजना गरेको पत्रकार भेटघाटमा पाण्डेले बताए ‘होइन ती पानीका फोका हुन् तिनीहरूको कुरा गम्भीरतापूर्वक लिनुपर्दैन भनियो भने हामी पानीको फोकामा सावित हुन्छौं । त्यो समयले बताइरहेको छ ।’ तर देश कुनै नयाँ प्रणालीतर्फ नजाने उनको भनाइ थियो । नेकपा एमाले जिल्ला कमिटी नुवाकोटले बुधबार आयोजना गरेको मिसन ग्रासरुट अभियान समापन कार्यक्रममा आएका एमाले उपाध्यक्ष पाण्डेले भने, ‘किमार्थ कुनै प्रणालीतर्फ देश जाँदैन । राजा आफैंले टिकाउन नसकेर फर्किएर गएको व्यवस्था फेरि कसले ल्याइदिने ? आउँछ ? आफैंले नसकेको होइन ?, आफैंले नसकेको व्यवस्था फर्केर आउछ ? आउँदैन ।’

कसैलाई राजसंस्था आउला कि भन्ने लाग्नु अर्थहिन भएको उनको भनाइ थियो । राजाको निम्ति मानिसहरू त्याग र बलिदान गर्न तयार नरहेको स्मरण गराउँदै उनले बहुदलीय व्यवस्थाको विकल्प नरहेको बताए । ‘यो व्यवस्थाको विकल्प अर्को आउँदैन । तर यो व्यवस्था प्रयोगमा भएको शासकीय प्रबन्ध जुन छ, त्यो प्रबन्धप्रति मान्छे असन्तुष्ट छ । भनेको काम हुँदैन । समयमै काम हुँदैन,’ उनले भने ।

नेता पाण्डेले उपनिर्वाचनको नतिजाको नेकपा एमाले समीक्षा गर्ने भन्दै मिसन ग्रसरुटको प्रभाव निर्वाचन भएका जिल्लामा नभएको बताए । ‘जुनजनु जिल्लामा चुनाव भए ती जिल्लाहरूमा मिसन ग्रस रुटको प्रभाव सकारात्मक देखिएन,’ उनले भने ।

हदम्याद भ्रष्टाचारीलाई बचाउने प्रयास : केसी

काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले भ्रष्टाचारमा ५ वर्षे हदम्याद सबै भ्रष्टाचारीलाई बचाउने प्रयास भएको भन्दै विरोध जनाएका छन् ।

भ्रष्टाचारमा ५ वर्षे हदम्यादको व्यवस्था राखेर राष्ट्रिय सभाले दुई वटा विधेयक (भ्रष्टाचार निवारण ऐन र अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन संशोधन विधेयक) पारित गरेर प्रतिनिधिसभामा पठाएको छ । राष्ट्रिय सभाबाट पारित भएर आएको भ्रष्टाचार निवारण सम्बन्धी विधेयकमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै कांग्रेस सांसद केसीले भ्रष्टाचारमा हदम्याद लाग्ने विषयको विरोध गरेका हुन् ।

यस्तो व्यवस्था कुनै हालतमा स्वीकार गर्न नसकिने उनको भनाइ छ । ‘पाँच वर्ष भित्र भ्रष्टाचारको कारबाही गर्न‘पर्ने नत्र नगर्ने भन्ने कुरा सबै भ्रष्टाचार गर्नेहरू बच्नको निम्ति ल्याएको हो । यो कुनै हालतमा हुन्न’ सांसद केसीले भनेका छन् । राष्ट्रिय सभाबाट पारित भएर प्रतिनिधिसभामा गएको विधेयकमा भने प्रष्ट रुपमा हदम्याद सम्बन्धी व्यवस्था राखिएको छ । भ्रष्टाचार निवारणसम्बन्धी विधेयकको दफा १६ मा मुद्दा चलाउने अवधि सम्बन्धी व्यवस्था छ । जहाँ भनिएको छ, ‘भ्रष्टाचारजन्य कसुरमा मुद्दा चलाउने हदम्याद थाहा पाएको मितिले पाँच वर्ष हुनेछ ।’ ५ वर्षे हदम्यादबारे सोही दफामा थप लेखिएको छ, ‘कुनै राष्ट्रसेवकले पदमा बहाल रहँदाका बखत भ्रष्टाचार गरेको रहेछ र तत्काल निजउपर मुद्दा चल्न सक्ने रहेनछ भने निज जुनसुकै व्यहोराबाट अवकाश प्राप्त गरेको भए पनि अवकाश भएको मिति र निजले भ्रष्टाचार गरेको कुरा निज अवकाश भइसकेपछि थाहा भएकोमा थाहा भएको मितिले पाँच वर्षभित्र मुद्दा चलाउन सकिनेछ ।’

सम्पत्ति हिनामिना सम्बन्धी कसूरमा भने हदम्याद राखिएको छैन् । जहाँ भनिएको छ, ‘‘सरकारी, सामुदायिक संस्थाको स्वामित्व वा नियन्त्रणमा रहेको सम्पत्ति हिनामिना गरी भ्रष्टाचार गरेकोमा मुद्दा चलाउन कुनै हदम्याद लाग्ने छैन ।’ राष्ट्रिय सभाले पारित गरेर पठाएको यी व्यवस्थाहरूमाथि प्रतिनिधिसभामा छलफल सुरु भएको हो । सैद्धान्तिक छलफलमा भाग लिँदै सांसद केसीले विरोध गरेका हुन् ।

करणी आरोपमा एक पक्राउ

विदुर । जबरजस्ती करणीको आरोप लागेका नुवाकोट विदुर नगरपालिका १३ का २८ वर्षीय सागर थापा पक्राउ परेका छन् । ६ महिनाभन्दा बढी समयदेखि फरार रहेका उनलाई बाबुको १३ दिनको काजक्रिया सकेलगत्तै प्रहरीले पक्राउ गरेको हो ।

गत असोज २३ गते साँझ साढे ६ बजेको सोही वडाको खर्कटारस्थित सुनसान बाटोमा एक्लै आफ्नो घरतर्फ जाँदै गरेकी एक महिलालाई जबरजस्ती करणी गरेको आरोप लागेका उनी त्यसपछि फरार रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका डीएसपी खगेन्द्रबहादुर खड्काले बताए । विशेष सूचना र खोजतलासको क्रममा प्रहरीले पक्राउ गरी उनलाई नुवाकोट अदालतबाट सात दिनको म्याद लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

गोली लागेर एकको मृत्यु

विदुर । नुवाकोटको किम्ताङमा गोली लागेर एक युवाको गएको आनइतवार मृत्यु भएको छ । किम्ताङका २६ वर्षीय पञ्च घलेको गोलीको छर्रा लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । म्यागङ गाउँपालिका ४ किम्ताङमा शिकार खेल्न जंगल गएका २८ वर्षीय अमित तामाङले बोकेको भरुवा बन्दुक पड्किँदा पञ्च घलेको मृत्यु भएको प्रहरीले जनाएको छ ।

गङमरङ वनमा पञ्च घले र अमित तामाङ सिकार खेल्न हिँडेको र हिड्दा लडेर बन्दुक पड्किएको अमित तामाङले जिल्ला प्रहरी कार्यालयमा बयान दिएका छन् । अमितको जानकारीसँगै घटनाको बारेमा अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालयका नुवाकोटका डीएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।

गाँउपालिकाले २१ गते बाट आन्दोलन गर्ने

काठमाडौंको फोहोर बोकेर बञ्चरेडाँडामा लाम लागेका गाडी । 

ककनी । नुवाकोटको ककनी गाउपालिकाका अध्यक्ष सुमन तामाङले काठमाडौं माहानगरपालिका बिरुद्ध बैशाख २१ गते देखी सडकमा उत्रने बताएका छन् । काठमाडौ माहानगरपालिका, ककनी गाँउपालिका र धुनिवेशी नगरपालिकाको प्रभावित वडाअध्यक्षहरू बीच २०७९ जेठ २६ गते भएको सम्झौताहरू २०८० बैशाख अहिलेसम्म कार्यान्वयन नभएको उनले बताएका छन् । 

ककनी गाउपालिका वडा नम्बर २ सिसडोलका बासिन्दाहरूको स्वच्छ बाताबरणमा बाच्न पाउने मौलीक हकलाई काठमाडौं माहानगरले खोसेकोले सिसडोलबासीलाई त्यो हक उपलब्ध गराउन आफुहरू बाध्य भएर सडकमा जाने अवस्था आएको अध्यक्ष तामाङले बताएका छन् । 

बैशाख ५ गते ककनी गाँउपालिका र धुनिवेशी नगरपालिकाले सम्झौता अनुसार कार्यान्वयन नभए फोहोरको ढुवानी बन्द गर्नुका साथै दुवै पालिकाहरू सडकमा उतर्ने बताए पछि काठमाडौं माहानगरपालिकाका प्रवक्ता नविन मानन्धर सहितका टोलीले बैशाख १३ गते ककनी गाँउपालिकाका जनप्रतिनिधीहरूसंग बर्ता गरेको थियो । बार्तामा प्रवक्ता मानन्धरले फोहोर जहा बिर्सजन गर्ने हो ब्यवस्थापनको जिम्मेवारी पनि त्यहीका स्थानीय तहलाई दिनु पर्ने बताए । मानन्धरले स्थानीय पालिकाहरू बीचमा भएको सम्झौताहरू बैशाख २० गते भित्रनै कार्यान्वयनमा ल्याउने बताएका थिए । 

सिसडोलमा अहिले काठमाडौं सहित १८ वटा नगरपालिकाहरूको फोहोर बिर्सजन हुदै आएको छ । फोहोर मैला ब्यवस्थापनको लागी बैज्ञानिक तथा आधुनिक बिज्ञ टोली गठन गरी न्यून प्रभाव पर्ने गरी फोहोर मैला ब्यवस्थापन गर्ने र बञ्चरेडाँडाबाट निस्किएको लिच्चडलाई कोल्पुखोलामा मिश्रण नगरी अन्यन्त्र स्थानमा ब्यवस्थापन गर्नु पर्ने लगाएत ६ वटा मागहरू ककनी गाँउपालिका र धुनिवेशी नगरपालिकाले राखेको छ ।

गाउँपालिकाले दिन थाल्यो श्रम स्वीकृति

श्रम स्वीकृति प्रदान गर्दै गाउँपालिका अध्यक्ष तामाङ

घलेभञ्याङ । नुवाकोट जिल्लाको पञ्चकन्या गाउँपालिकाले श्रम स्वीकृति दिन थालेको छ । यसरी स्वीकृति दिने स्थानीय सरकार नुवाकोटमा पञ्चकन्या पहिलो हो । गाउँपालिकाका अध्यक्ष तेजबहादुर तामाङले गएको आइतबार पञ्चकन्या गाउँपालिकाबाट पहिलोपटक श्रम स्वीकृति दिएर सेवा प्रारम्भ गरे । श्रम स्वीकृति लिनेमा पहिलो सेवाग्राही पञ्चकन्या गाउँपालिका–३ का रवीन्द्र भण्डारी बनेका छन् । 

भण्डारीले खुसी हुँदै भने– ‘यसअघि काठमाडौं गएर श्रमसम्बन्धी स्वीकृति लिनुपर्दा झन्झट हुन्थ्यो, लागत पनि बढी पथ्र्यो तर अब गाउँपालिकाबाटै सेवा सुरु भएपछि सहज भयो ।’ श्रम स्वीकृति दिने क्रममा गाउँपालिका उपाध्यक्ष विमला केसी पाठक र रोजगार संयोजक सरोजकुमार खाती पनि सहभागी थिए । केन्द्र सरकारको निर्णयबमोजिम पञ्चकन्याले वैदेशिक रोजगारीका लागि विदेश जानेहरूका लागि व्यक्तिगत श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृतिसम्बन्धी सेवा वैशाख २ गतेदेखि नै प्रारम्भ हुने २०७९ चैत २९ गते सूचना प्रकाशन गरेको थियो ।

वैदेशिक रोजगारीलाई थप व्यवस्थित, सुरक्षित, मर्यादित, भरपर्दो तथा सहज बनाउन भन्दै २०८० वैशाख २ गतेदेखि वैदेशिक रोजगारीमा जानेहरूका लागि व्यक्तिगत श्रम स्वीकृति र पुनः श्रम स्वीकृतिका लागि आवेदन गर्ने कार्य स्थानीय तहको रोजगार सेवा केन्द्रबाट गराउने गत चैत १६ गतेको नेपाल सरकार (प्रधानमन्त्री तथा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री) स्तरीयनिर्णय भएको थियो । वैदेशिक रोजगार ऐन, २०६४ तथा वैदेशिक रोजगार नियमावली, २०६४ मा भएको व्यवस्था अनुसार वैदेशिक रोजगारीमा जाने हरेक नेपाली नागरिकले अनिवार्य श्रम स्वीकृति लिनु पर्ने व्यवस्था छ ।

सवारी लाइसेन्स नवीकरण १० वर्षमा गर्ने तयारीमा सरकार

विदुर । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले ५/५ वर्षमा गर्न‘पर्ने लाइसेन्स नवीकरण अब हरेक १० वर्षमा गर्नमिल्ने व्यवस्था लागू गर्ने तयारीमा सरकार रहेको बताएका छन् । 

प्रतिनिधिसभाको मंगलबारको बैठकलाई सम्बोधन गर्दै मन्त्री ज्वालाले लाइसेन्सका लागि नयाँ कानुनी व्यवस्था गर्न लागेको बताए ।

स्मार्ट लाइसेन्स ५/५ वर्षमा गर्नपर्ने नवीकरण अब हरेक १० वर्षमा गरे पुग्ने व्यवस्था लागू गर्ने कानुनी व्यवस्था गर्न लागेका छौं । उनले सरकारको स्मार्ट लाइसेन्स वितरणलाई सहज र सरल बनाउने कामलाई पनि तीव्रता दिने बताए । ‘पाँच वर्षमा नवीरकण गर्ने छिटो र झन्झटिलो हुने भएकाले १० वर्षमा नवीरकण गर्ने कानुनी व्यवस्था नै अगाडि बढाएका छौं । यसले नयाँ स्मार्ट कार्ड छाप्ने लोड पनि कम हुने विश्वास लिएका छौं,’ उनले भने । सवारी साधनमा जडान गरिने इम्बोस्ड नम्बर प्लेटको भाषामा तीन विकल्प राखिने पनि तयारी भइरहेको उनले बताए । 

मन्त्री ज्वालाले सवारी साधनमा इम्बोस्ड नम्बर अंग्रेजीमा मात्रै प्रिन्ट भएकोमा केही आलोचना र गुनासोहरू आएको भन्दै मन्त्रिपरिषद्बाट निर्णय गरेर अंग्रेजी, नेपाली र नेपाली र अंग्रेजी दुवै प्रयोग गर्न पाउने व्यवस्था गरेको बताए । 

नेपालमा उत्पादित ’यात्री’ मोटरसाइकलको दर्ताबारे कार्यविधि जारी गरेर अगाडि बढ्ने सरकारले निर्णय गरेको पनि मन्त्री ज्वालाले बताएका छन् ।

निर्माण सकिएको डेढ वर्षपछि हस्तान्तरण

सभाहल हस्तान्तरण कार्यक्रम 

विदुर । निर्माण सकिएको डेढ वर्षपछि जिल्ला समन्वय समितिलाई सभाहल हस्तान्तरण भएको छ । 

दुई साता अघि भएको जिल्ला समन्वय समिति नुवाकोटको छैटौं जिल्लासभामा नेकपा माओवादीका केन्द्रीय सदस्य एवं संघीय सांसद हितबहादुर तामाङको उपस्थितिमा जिल्ला समन्वय समिति प्रमुख रजिन्द्रविक्रमसिंह ठकुरीलाई सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय प्रमुख सुनिलकुमार ठाकुरले सभाहल सम्पन्न भएको प्रमाणपत्र बुझाएका हुन् ।

पञ्चायतकालमा बनेको उक्त सभाहल २०७२ वैशाख १२ गतेको भूकम्पले क्षति पुगेपछि नयाँ निर्माण गरिएको हो । सभाहलभित्र ३५८ सिट छन् । भवनमा एउटा ठूलो र अर्को सानो हल छन । सभाहलमा साना २६ वटा गाडीको लागि अन्डरग्राउन्ड पार्किङ छ । सभाहलको बाहिरपट्टि गार्ड हाउस, स्टोर रुम, क्यान्जिन, गेष्ट रुम, फायर फाइटिङ रुम, पम्प हाउस छन् । ठूलो हलको भुइँमा राखिएका सिट एकनासले राखिएकोले मञ्चमा कार्यक्रम हुँदा अगाडि सिटमा बसेकाले छेकिने छ ।

सभाहलको बाहिर घेरावाल पर्खालको पूर्वीभागमा तारले घेर्न बाँकी छ । हलको साउन्डसिस्टम भए पनि त्यसलाई सञ्चालन गर्न तालिम प्राप्त टेक्निसियन चाहिन्छ । यसअघि हल हस्तान्तरण नहुँदै सञ्चालनमा ल्याइएकाले बिजुलीको महशुल धेरै उठेको छ । बिजुलीको बिलको भुक्तानी कसले गर्ने भन्नेमा अन्योल भएपछि जिससले हल जिम्मा लिन मानेको थिएन ।

उक्त भवन लुम्बिनी/कोशी एन्ड न्यौपाने/बन्दनभगवती बत्तिपुतली काठमाडौं जेभीले भवन निर्माण गरेको हो । भवन २०७४ असार २० गते निर्माण ठेक्का भई कोरोनाका कारण म्याद थपपछि २०७८ साउन १९ गते सभाहल सघन सहरी तथा भवन निर्माण आयोजनाको कार्यालयलाई बुझाएको थियो । आयोजनाले सभाहल जिसस नुवाकोटलाई यही चैत तस्रो साता बुझाएको हो । यसको लागत २४ करोड ९५ लाख १३३ रुपैयाँ (भ्याटसहित)मा भए पनि ठेकेदारले २३ करोड ९५ लाख ६ हजार ६३८ रुपैयाँ ठेक्का सम्झौता गरी निर्माण सम्पन्न गरेको आयोजनाले जनाएको छ ।

सभाहल कार्यविधि बनाएर संचालनमा ल्याइने जिसस प्रमुख रजिन्द्रविक्रमसिंह ठकुरीले बताए । सभाहलको करिब ६ रोपनी जग्गा जिल्ला प्रशासन कार्यालय नुवाकोटको नाममा रहेको छ ।

के हो ‘रवि–स्वर्णिम’हरूको दूरदृष्टि ?

– डम्बर खतिवडा

पत्रकार विजयकुमार पाण्डेको कार्यक्रम ‘दिशानिर्देश’ को नयाँ प्रकरण युट्युबमा उपलब्ध छ । शीर्षक छ–आदर्शहरू नभएको समाज । जीवनभरि प्रश्न गरेका र मान्छेलाई प्रश्न गर्न सिकाएका पाण्डे यो प्रकरणसम्म आइपुग्दा प्रश्नहरूसँग निराशजस्तो देखिन्छन् । उनी प्रश्नहरूको अस्तित्व र उपादेयतामाथि नै प्रश्न गर्न लाग्दछन् । उनी आशंका गर्दछन्, कतै हामी प्रश्न मात्रै गर्ने त भएनौं ? देश ‘प्रश्नपुर’ जस्तो त भएन ? सबैले प्रश्न मात्र गर्ने हो भने उत्तर कसले दिने ?

ठीक हो, ती प्रश्नको कुनै सान्दर्भिकता हुँदैन, जसको कसैले उत्तर दिनुपर्दैन । लोकतन्त्र र जवाफदेही शासन व्यवस्थाको अर्थ सबैले प्रश्न मात्र सोध्ने, कसैले उत्तर दिनु नपर्ने भन्ने हैन । सबैले समस्याको चित्रण मात्र गर्ने, कसैले समाधान खोज्न, पर्गेल्न नपर्ने भन्ने त हुँदै हैन ।

लोकतन्त्रमा प्रश्न गर्न‘पर्ने र उत्तर दिनुपर्ने पनि हुन्छन् । कसैले प्रश्न गर्नुपर्छ, कसैले उत्तर दिनुपर्छ । यसो पनि हो– एउटै मान्छेले कसैलाई प्रश्न गर्ने र कसैलाई उत्तर दिने दोहोरो भूमिका गर्न‘पर्ने हुन्छ । एउटै संस्था एकसाथ कसैलाई प्रश्न गर्ने र कसैलाई उत्तर दिनुपर्ने जिम्मेवारीमा हुन सक्दछ । लोकतन्त्रको सौन्दर्य यसकारणले फक्रिने हो कि यस प्रणालीमा प्रश्न गर्न‘पर्ने र उत्तर दिनुपर्नेहरूको परिभाषित स्थान र हैसियत हुन्छ । त्यतिखेर जिम्मेवारी पूरा नगरेको मानिन्छ, जब प्रश्न गर्न‘पर्नेहरूले प्रश्न गर्दैनन्, उत्तर दिनुपर्नेहरूले उत्तर दिंदैनन् । उत्तर दिनुपर्ने स्थान र हैसियतमा भएकाहरू पनि प्रश्न मात्रै गरिबस्छन् भने लोकतन्त्र फक्रिएको हैन, टाक्सिएको हुन्छ । उत्तर दिनुपर्नेहरू प्रश्नसँग भाग्न खोज्छन् भने बुझ्नुपर्छ कि ती ‘पानी मरुवा’ हुन्, जो ‘कम्फर्ट जोन’ मा बसेर ‘मस्ती मार्ने’ सपना देखिरहेका छन् ।

हिजो रवि लामिछाने र स्वर्णिम वाग्लेहरू प्रश्न गर्ने ठाउँमा थिए । रास्वपा प्रश्न गर्ने ठाउँमा थियो । यो मान्न सकिन्छ कि उसको प्रश्न गर्ने स्थान र हैसियत पूरै समाप्त भएको छैन । अझै त्यो सरकार चलाइरहेको बहुमत प्राप्त सत्तारुढ दल हैन । करिब ११ प्रतिशत भोट ल्याएको चौथो ठूलो पार्टी मात्र हो । तसर्थ, त्यसले अझै ठूला दलहरूलाई, सत्तारुढ दलहरूलाई प्रश्न गर्ने अधिकार राख्दछ । तर, आज जनता र मतदातालाई, सञ्चार तथा बौद्धिक जगतलाई, त्यस पार्टीका विचार, सिद्धान्त, एजेण्डा, नीति, कार्यक्रम, कार्यशैली र अडानबारे रुचि र जिज्ञासा राख्ने जस कसैलाई उत्तर दिन सक्नुपर्दछ ।  अन्यथा माथि भनिएझैं ‘कम्फर्ट जोन’ मा बसेर ‘मस्ती मार्ने’ ‘पानी मरुवा’ हरूको सस्तो र प्रियतावादी राजनीति मात्र हुनेछ । आशा छ– ‘रवि–स्वर्णिम’ हरूले त्यो बाटो रोज्ने छैनन् । रास्वपाले त्यो बाटो रोज्ने छैन । यही अपेक्षाका साथ रास्वपालाई निम्न ११ प्रश्नहरू राख्न चाहन्छु– यस मानेमा कि यो पंक्तिकार प्रश्न गर्ने स्थानमै छ ।

एक– हामीले बुझेको संसदीय लोकतन्त्रको प्रणाली र मान्यतामा संविधानतः नै संसदभित्र पक्ष र विपक्ष हुन्छ । बहुमत प्राप्त पहिलो दलले सरकार बनाउँछ । बाँकी दलहरूले प्रतिपक्षको भूमिका निर्वाह गर्दछन् । यदि संसदमा कसैको बहुमत छैन, त्रिशंकु संसद छ भने सहयोगी दलहरूमध्येका विचार र एजेन्डाको निकटता भएका दलहरू साथ लिएर पहिलो दलले सरकार र दोस्रो दलले प्रतिपक्षको भूमिका निर्वाह गर्दछ । दोस्रो दलले बहुमत जुटाउन सके पहिलो दल पनि प्रतिपक्षमा बस्नुपर्ने हुन्छ ।

यसरी गठबन्धन बनाउँदा गणितलाई मात्र नहेरेर वैचारिक तथा एजेन्डागत निकटता पनि हेरिन्छ । रास्वपाले संसदीय लोकतन्त्रको यो विश्वव्यापी मान्यता मान्दछ वा मान्दैन वा यो मान्यता नै हैन, गलत भाष्य हो भन्ने ठान्दछ ?

मान्दैन भने कुरै सकियो, थप केही सोध्न आवश्यक भएन । यदि मान्छ भने रास्वपाले तेस्रो दलको नेतृत्वमा सरकार बन्दा र त्यसका प्रधानमन्त्रीले कहिले एमाले र कहिले कांग्रेससँग गठबन्धन बनाउँदा र तोड्दा दुवै अवस्थामा सरकारमा सामेल हुने र विश्वासको मत दिई समर्थन कायम राख्ने काम कुन मान्यताका आधारमा ग¥यो ? स्मरण होस् कि– यो प्रश्न यसो गर्न पाउने कानुनी तथा संवैधानिक अधिकार माथि हैन, नैतिक र राजनीतिक, मान्यता र मूल्यप्रणाली आधारित हो ।

दुई– सबैलाई थाहा छ कि यो संविधान जारी हुँदा बखत यो देशमा केही असन्तुष्टिहरू थिए । कसैले संविधानसभाभित्र असहमतिका बुँदाहरू राखेका थिए । कसैले आन्दोलन गर्दै संविधान पुनर्लेखन वा संशोधनको माग गरेका थिए÷छन् । यी माग र मुद्दाहरू अहिले पनि सकिएका छैनन् । शासकीय स्वरूप र निर्वाचन प्रणालीको बहस कायमै छ । संघीयताको प्रारूप सिमांकन तथा नामांकनको बहस कायमै छ । यी प्रश्नमा रास्वपा कहाँनेर छ ? कुनै दिन संसदमा यी प्रश्नले प्रवेश पाउँदा रास्वपाको पक्षधरता वा अडान के हुन्छ वा हुनेछ ?

तीन– रास्वपाले आफ्नो सिद्धान्तलाई ‘संवैधानिक समाजवाद’ भन्ने गरेको छ । यो भनेको के हो ? के यस्तो कुनै विचारधाराको अस्तित्व राजनीतिशास्त्रमा विद्यमान छ ? वा यो कुनै नयाँ सिर्जना हो ? यसको आँखाबाट हेर्दा देखिने, यसको हातबाट बुन्दा बुनिने, यसको खुट्टाबाट हिंड्दा तय हुने यात्रा कस्तो हो ? देशको विद्यमान राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक र भूराजनीतिक परिप्रेक्ष्यमा यस्तो समाजवादी विचारधाराका पूर्वानुमान वा परिकल्पनाहरू के हुन् ? अन्य समाजवादी विचारधाराका अन्य शाखासँग यसको समानता वा असमानता के हो ?

चार– रास्वपा र यसका नेताहरूलाई यो पनि थाहा हुनुपर्दछ कि देशमा नागरिकता विवाद जारी छ । संसदको बहुमतले दुई–दुई पटक पारित गरेको नागरिकता ऐन संशोधन विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरिकन हिंडिन् । यसबारे रास्वपाले अहिलेसम्म कुनै प्रष्ट धारणा बनाएको थाहा छैन । राष्ट्रपति भण्डारीले प्रमाणीकरण नगरेको समयमा पार्टीले एक ‘द्विअर्थी’ विज्ञप्ति जारी गरेको थियो । के तपाईंहरूको नजरमा संसदको बहुमतले दोहो¥याएर पारित गरेको विधेयक संवैधानिक राष्ट्रपतिले प्रमाणीकरण नगर्नु ठीक हो ? यदि हो भने संविधान, संविधानवाद, विधिको शासन, शक्तिपृथककीरण र नियन्त्रण तथा सन्तुलनको सिद्धान्त कसरी क्रियाशील हुन्छ ? यी सिद्धान्तप्रति रास्वपाको प्रतिबद्धता छ कि छैन ? छैन भने रास्वपाले बुझेको लोकतन्त्र के हो ? त्यसको प्रक्रिया के हो ? यदि छ भने राष्ट्रपतिले विधेयक प्रमाणीकरण गर्न‘पर्दछ किन भन्न सकेन ? भैगो, त्यो पुरानो कुरा भयो । अब के गर्ने ? त्यो मुद्दा त जस्ताको तस्तै छ । जन्मसिद्धको नागरिकता लिएका बाबु–आमाबाट जन्मिएका र अहिले वयस्क भएका पाँच लाख बढी युवायुवतीको भविष्यबारे धारणा के हो ? एनआरएन र ब्रिटिश गोर्खालाई दोहोरो नागरिकता दिनुपर्ने मागमा धारणा के हो ? महिला र पुरुष वा तिनका दम्पतीप्रति वैवाहिक अंगीकृतको प्रावधान समानताको सिद्धान्तमा आधारित हुनुपर्ने बारे धारणा के हो ?

पाँच– सबैले स्वीकार गरेको कुरा हो कि देशमा भ्रष्टाचार र कुशासन व्याप्त छ । सुशासन अत्यन्त जरूरी छ । विद्यमान राज्य प्रणाली, कर्मचारीतन्त्रको ढाँचा, सार्वजनिक खरिद ऐनका प्रावधान, दण्डाधिकारी निकाय विशेषतः संवैधानिक निकाय र अख्तियारको संरचना र कार्यशैलीबारे रास्वपाको सोच के हुन् ? के रास्वपाको विचारमा कुनै पार्टीको मन्त्रीले सार्वजनिक खरिद ऐनका प्रावधान अवज्ञा गर्ने अधिकार राख्दछ कि यदि मन परेको छैन भने पहिले त्यसलाई संशोधन गर्न‘पर्दछ ? यावत् सन्दर्भबीच रास्वपाले कल्पना गरेको सुशासन कस्तो हो र त्यो कसरी प्राप्त हुने हो ?

छ–रास्वपाले प्रदेशसभा निर्वाचनमा उम्मेदवारी नदिनुको कारण के हो ? रास्वपा संघीयता, प्रादेशिक स्वायत्तता, स्थानीय स्वशासन र शक्ति निक्षेपीकरण सिद्धान्तकै विरुद्धमा हो कि अहिलेको प्रारूपप्रति मात्रै विमति हो ? संघीयताकै विरुद्धमा हो भने सोध्न केही बाँकी रहेन । यदि हैन, अहिलेको प्रारूपको विरुद्धमा हो भने रास्वपाले कल्पना गरेको संघीयताको मोडेल के हो ?

सात–नेपाल एक बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक मुलुक हो भनेर नेपालको संविधानले स्वीकार गरेको छ । यो हाम्रो मुलुकको यथार्थ पनि हो । राष्ट्रको यो चरित्र राज्यको प्रबन्धनमा कसरी व्यक्त हुन्छ ? वा हुनुहुँदैन भन्ने रास्वपाको धारणा हो कि ? रास्वपाले समावेशिता, आरक्षण, भाषिक नीति, सीमान्तकृत वर्ग, समुदायको सशक्तीकरण र सांस्कृतिक नीतिहरूबारे अहिलेकै प्रबन्धन मान्छ ? रास्वपाले यस्तो खारेज गर्न‘पर्छ भन्ने ठान्छ वा अझ विकसित, ठोस र मूर्त बनाउनुपर्छ भन्ने धारणा राख्दछ ?

आठ– देशको अर्थतन्त्र, यसको संरचनात्मक समस्या र समाधानका उपायबारे रास्वपाको धारणा के हो ? आयात प्रतिस्थापन कुन–कुन क्षेत्रमा कसरी गर्ने ? निर्यातयोग्य उत्पादन केकेलाई ठान्ने ? श्रम वैदेशिक रोजगारमा पलायन हुने, कृषि अर्थतन्त्रको योगदान जीडीपीमा घट्दै र विप्रेषणको योगदान बढ्दै जाने प्रवृत्तिलाई सकारात्मक मान्ने कि अनुपयुक्त ? आन्तरिक तथा बाहृय आप्रवासनको कारण जटिल हुँदै गएको, जनसंख्या वितरण तथा क्षेत्रीय विकास असन्तुलनको समस्या हल गर्ने रास्वपाको योजना के हो ? वा यी हल गर्नुपर्ने कुनै समस्या नै हैनन् ?

जनशक्तिको अभावमा कृषियोग्य जमिन बाझिंदै जाने र देश भने कृषि उपज समेत आयात गर्ने अवस्थामा पुगेको कुरालाई कसरी लिने ? भूस्वामित्व वितरण, गुठी जग्गाको समस्या र भूमिहीन तथा सुकुम्बासी समस्याबारे रास्वपाको धारणा के हो ? औद्योगिकीकरण र रोजगार सम्बन्धी नीति के हो ? गरिबी न्यूनीकरणका लागि विपन्न वर्गको उत्थान गर्ने आर्थिक योजना के हो ?

   नौ– वार्षिक बजेटको संरचनामा कसरी परिवर्तन ल्याउने हो वा अहिलेकै जस्तो चलाउने हो ? राज्यको ऋण २२ खर्ब पुगेको छ ।

रास्वपाले यसबारे के भन्छ ? ऋण अझै बढाउँछ कि धेरै भयो ? धेर भयो, अब नलिने हो भने घाटा बजेटको कसरी पूर्ति गर्छ ?

सबैलाई थाहा छ– करिब विगत चार दशकदेखि वार्षिक बजेटको करिब ६४ प्रतिशत चालु र करिब २२ प्रतिशत मात्र पुँजीगत खर्च हुँदै आएको छ । यसबारे रास्वपाको धारणा के हो ? चालु खर्च कतिमा र कसरी झर्ने हो ? वा अझ बढाउने हो ? यदि चालु खर्च घटाउने हो भने गर्नुपर्ने संरचनात्मक सुधार के हो ? 

पुँजीगत खर्च कसरी बढाउने हो ? वा अहिलेकै जस्तो अनुपात कायम राख्ने हो ?

दश– शिक्षा, स्वास्थ्य, आवास, सार्वजनिक यातायात तथा संचार जस्ता आधारभूत सेवाप्रतिको रास्वपाको धारणा के हो ? निजीकरण तथा उदारीकरण प्रक्रियापछि यी क्षेत्रमा जे–जस्ता बेथिति र विभेद सृजना भएका छन्, तिनको हल गर्ने सोच के हो ? सार्वजनिक शिक्षा र स्वास्थ्यको गुणस्तर कसरी सुधार्ने ? त्यसका लागि चाहिने थप लगानी कहाँबाट कसरी जुटाउने ? निजी क्षेत्रमा केके दिने, केके नदिने ? रास्वपाको आर्थिक दर्शनको प्रारूप के हो ? समाजवादी, राज्य–पुँजीवादी, मिश्रति वा अन्य कुनै ? त्यो आर्थिक दर्शनले देशको अर्थतन्त्रलाई कसरी हेर्छ ? भौतिक तथा पूर्वाधार विकास प्रक्रियालाई कसरी हेर्छ ? के यस कुरामा पुराना दलका नीति र व्यवहारसँग कुनै भिन्नता छ कि उस्तै हो ?

एघार–राजनीतिक दलहरूको सुधार, अन्तरपार्टी लोकतन्त्र र कोष तथा राजनीतिक लागतको पारदर्शिताबारे रास्वपाको धारणा के हुन् ? पार्टी घोषणा गर्दा प्रतिबद्धता गरिएको प्राइमरी अहिलेसम्म गराएको देखिन्न, भविष्यमा हुन्छ भन्ने ग्यारेन्टी के ? पार्टी महाधिवेशन र आन्तरिक नेतृत्व निर्वाचनको मोडालिटी के हो ? प्रत्यक्ष लोकतन्त्र कि प्रतिनिधिमूलक महाधिवेशन ? डा. ढाकाकुमार श्रेष्ठ काण्ड यत्तिकैमा पच्यो कि ‘कोर टिम’ पनि छ र त्यसमाथि पनि छानबिन र कारबाही हुन्छ ?

पार्टीको नेतृत्व प्रणाली के हो ? सामूहिक कि व्यक्तिगत ? संस्थागत कि नायकत्व ? धेरै मानिसले आशंका गरिरहे जस्तो रास्वपाले ‘मध्य दक्षिणपन्थी प्रियतावाद’ र ‘नायकत्वको राजनीति’ गर्दैछ भन्ने कुरा सत्य हो कि आरोप मात्र ? यसले सामाजिक न्याय र प्रगतिशील–लोकतन्त्रलाई मान्छ वा त्यसको विरुद्धमा हुन्छ ?

यी प्रश्नहरूको प्रष्ट र पारदर्शी उत्तर आए, यी विषयमा रास्वपाको कल्पना, दूरदृष्टि, योजना र सोच कांग्रेस–कम्युनिष्ट–राजावादीहरूको भन्दा भिन्न, मौलिक, यथार्थ र विज्ञानसम्मत भए पत्याउँला कि देशमा साँच्चै एउटा नयाँ, वैकल्पिक र लोकतान्त्रिक दलको विकास भयो ।

माफ गर्न‘होला मित्रहरू ! अन्यथा यो भन्नुपर्ने हुन्छ– एउटा ‘नयाँ’ दल त आयो तर दुरुस्तै ‘पुराना’ जस्तै । अर्थात् यसो पनि भन्न सकिएला– अहिले नै यी यावत् प्रश्नको उत्तर दिन के जरूरी छ ? पार्टी त भर्खरै बन्दैछ, उत्तर दिंदै जाउँला ! के ठीक हुन्छ ? नीति बनाउँदै जाउँला !

तर राजनीति यति सजिलो कुरा हैन । राजनीतिमा जुन नीति र एजेण्डामा जनसमर्थन प्राप्त गरेको हो– त्यसको प्रयोग अन्यत्र गर्नु एक प्रकारको बेइमानी हुन्छ । आफूलाई लुकाएर शंकाको सुविधाबीच जनमत हासिल गर्ने र पछि त्यसलाई अन्य एजेन्डाका लागि प्रयोग गर्ने हो भने त्यो पारदर्शी र जिम्मेवार राजनीति मानिंदैन ।

लोकतान्त्रिक राजनीतिमा जनादेश प्राप्त भए जुनसुकै, जस्तोसुकै विचार, एजेन्डा, नीति तथा कार्यक्रम लागू गर्न पाइन्छ तर त्यो अगाडि नै जनता र मतदातालाई प्रष्ट र पारदर्शी ढंगले भनिएको हुनुपर्दछ । हैन र ?

२०८० साल बैशाख १८ गतेको सम्पादकीय

श्रम अधिकार सुनिश्चित होस्

यस वर्षको १३४औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस अर्थात् मे दिवस सोमबार विविध कार्यक्रम गरी मनाइँदैछ । दिवसको अवसरमा सरकारले सार्वजनिक विदा समेत दिएको छ । सन् १८८६ मा अमेरिकाको सिकागोमा ‘आठ घन्टा काम, आठ घन्टा मनोरञ्जन र आठ घन्टा आराम’ नारासहित सुरु भएको मजदुर आन्दोलनको सम्झनामा विश्वभर श्रमिक दिवस मनाइन्छ । सो आन्दोलनको क्रममा सिकागोको हेय मार्केट भन्ने ठाउँमा बम विस्फोट भयो । सो बम विस्फोट कसले गराएको भन्ने नखुले पनि प्रहरीले आन्दोलनरत मजदुरमाथि व्यापक दमन गर्यो । प्रहरीको गोली लागि सात जना मजदुरको मृत्यु भयो । मजदुर आन्दोलनले अन्ततः सफलतासमेत हासिल गर्यो । सन् १८८९ मा फ्रान्सको पेरिसमा सम्पन्न विश्वका श्रम सङ्गठन एवम् श्रमिक नेताको बैठकले विश्व श्रमिक दिवस विश्वभर मनाउने निर्णय गरेको हो । त्यस यता सन् १८९० देखि हरेक वर्ष अङ्ग्रेजी महिनाको मे १ तारिखमा श्रमिक दिवस मनाउन सुरु गरियो । विश्वका मजदुरले यस दिवसलाई पर्वका रुपमा लिँदै आफ्ना हकअधिकारको सुनिश्चितताका लागि सरकार र रोजगारदातालाई दबाब दिने उद्देश्यले विभिन्न कार्यक्रम गरी मनाउँछन् । नेपालमा समेत मजदुर सङ्गठनले विभिन्न कार्यक्रम गरी यो दिवस मनाउने तयारी गरेका छन् । नेपालमा विराटनरगमा २००७ सालमा मजदुर आन्दोलनसँगै यो दिवस मनाइन थालिएको हो । विसं २०४६ को राजनीतिक परिवर्तनसँगै नेपालमा यो दिवसमा सार्वजनिक बिदा दिन थालियो । 

प्रत्येक वर्ष मे १ मा मजदुर दिवस मनाई रहँदा मजदुरको पेसागत हक हित र उनीहरूको जीवनस्तर उँभो बनाउने निश्चित योजना प्रस्तुत गर्न‘को साटो मजदुर दिवसलाई राजनीति गर्ने प्रयोगशालाको रूपमा उपयोग गर्दा दलपिच्छे मजदुर सङ्गठन खुल्ने र ट्रेड युनियनहरूमा भित्रिएको अवसरवाद र संरक्षणवादी सोच र प्रवृत्तिले श्रमिकको वास्तविक एजेन्डा सही ढङ्गले उठ्न सकिरहेको छैन । वास्तविक श्रमिकको अवस्था आज पनि दयनीय छ । आफ्नो व्यक्तिगत स्वार्थ र हितलाई पूरा गर्न ट्रेड युनियनलाई भ¥याङ बनाउने र आफ्नो स्वार्थ पूरा भएपछि आन्दोलनलाई कमजोर बनाउने तथा पुँजीपति वर्गसँग आफ्नो व्यक्तिगत स्वार्थ अनुकूल सम्झौता गर्दा एकातिर ट्रेड युनियन आन्दोलन कमजोर बन्दै गएको छ भने अर्कोतिर श्रमिकहरू वास्तविक रूपमा असुरक्षित र निरीह बनिरहेका छन् । सडकमा दिनभर खाली खुट्टामा भारी बोक्ने भरियाको जीवनस्तर आज पनि उस्तै छ । होटेल र रेष्टुराहरूमा भाडा सफा गरेर जीविकोपार्जन गरिरहेका मजदुरहरूका जीवन उस्तै छ । चिया बगानमा काम गर्ने मजदुरको अवस्था उस्तै दयनीय छ । देशको आर्थिक विकासमा महत्वपूर्ण योगदान दिने वर्ग जो मुलुकमा पर्याप्त रोजगारीका अवसर नहुँदा खाडी मुलुकमा कष्टपूर्ण, अपहेलित र असुरक्षित काम गर्न बाध्य छ त्यसले श्रमिक दिवसबाट केही पाउन सकिरहेको छैन । संघीयतासँगै समायोजनका नाममा कर्मचारीले न्यूनतम रूपमा प्राप्त गर्ने सम्पूर्ण अधिकारहरू कुण्ठित गरी विभेदपूर्ण र असामान्य ढङ्गले निजामती श्रमिकहरूलाई घोक्रेठ्याक लगाएर काम गराउन बाध्य बनाइएको छ । अनुमानयोग्य सेवा सुविधा र अवसरको सुनिश्चितता विना श्रम गराउन बाध्य बनाइएको छ । निजामती कर्मचारीहरूबिच विभेद सिर्जना गरिएको छ । श्रमिक कर्मचारीहरूले पाउने सेवा सुविधा र वृत्ति विकासको अवसर तथा सुरक्षामा असमानता र अदूरदर्शिताको सिद्धान्त लागू गरिएको छ । यी सबै पक्षको अध्ययन गर्दा नेपालको ट्रेड युनियन आन्दोलन राजनीतिक र नीतिगत रूपमा सफल भए पनि आर्थिक, सामाजिक र नैतिक रूपमा सफल हुन सकेको देखिँदैन ।

श्रमिकको एकता नै विजयको पहिलो सुरुवात हो । अबको श्रमिक आन्दोलन एकल ट्रेड युनियन आन्दोलनको रूपमा अगाडि बढ्नु पर्ने देखिन्छ । सबै प्रकारका श्रमिकहरूको जीवनस्तरलाई माथि उठाउने र उनीहरूको सुख, शान्ति र समृद्धि हुने तथा देशको आर्थिक तथा सामाजिक क्रान्ति गर्ने दिशामा दृढ सङ्कल्पका साथ ट्रेड युनियन आन्दोलनलाई मर्यादित बनाउनु सम्पूर्ण ट्रेड युनियनकर्मीको उत्तरदायित्व हो । ट्रेड युनियन आन्दोलन साझा एजेन्डा र आन्दोलनमा केन्द्रित हुनु पर्छ । कुनै सीमित अवसर र स्वार्थका लागि गरिने आन्दोलन श्रमिकका लागि नभएर बुर्ज‘वाहरूकै लागि फलदायिक बनिरहेका दृष्टान्तहरू प्रशस्त रही आएका छन् । सबै समान हुने र सबैको अधिकार सुनिश्चित हुने सुन्दर बगैँचाको रूपमा चिनिँदै आएको लोकतान्त्रिक गणतन्त्रात्मक शासन सञ्चालन भएको देशमा श्रमिकले आफ्नो रगत र पसिना बेचेर श्रम गर्दा अनुकूल श्रम वातावरण, भेदभाव रहित कार्य व्यवहार एवम् पारिश्रमिक र सामाजिक सुरक्षा लगायतका श्रम अधिकार सुनिश्चित हुन सक्ने अवस्था सिर्जना गरोस् । संघीयता र समायोजनका नाममा सबै प्रकारका श्रमिकहरूलाई विभेद नगरियोस् । संविधानले प्रदत्त गरेको श्रमसम्बन्धी मौलिक हकको पूर्ण प्रत्याभूत गराइयोस् । भाषणका बदलामा मजदुरको पक्षमा काममा गरियोस् । मजदुर दिवस अर्थपूर्ण र मजदूरमैत्री बनोस् । सबै प्रकारका श्रमिकहरूलाई मजदुर दिवसको शुभकामना ।

२०८० साल बैशाख १८ गते । वर्ष:१६ अंक:२८