Monday, May 08, 2023

१९ विद्यालयको कक्षा घटुवा

बेलकोट

बाघखोर । विद्यार्थीको संख्या विवरण गतल तयार गरेर धेरै विद्यार्थीलाई पढाई रहेको प्रतिवेदन तयार गर्ने नुवाकोटको १९ वटा सामुदायिक विद्यालयहरूको कक्षा घटुवा भएको छ । नुवाकोटको बेलकोटगढी नगरपालिकाले विद्यार्थी संख्या कम भएका १९ सामुदायिक विद्यालयको कक्षा घटुवा भएको हो । उक्त कारबाहीलाई स्थानीय सरकारले तह समायोजन नाम दिइएको छ । 

शैक्षिक सत्र २०७८÷७९ मा निरन्तर विद्यार्थी संख्या घटेर न्यून भएपछि कार्यपालिका बैठकमार्फत कक्षा घटुवाको निर्णय गरिएको नगरप्रमुख जगतबहादुर गुरुङले जानकारी दिए ।

बेलकोटगढी नगरपालिकाले गठन गरेको ‘अनुगमन कार्यदल’ले पटक–पटक (भदौदेखि चैतसम्म) स्थलगत रुपमा गरेको अनुगमन र परीक्षामा सहभागी विद्यार्थी संख्यालाई यकिन गरेर कम विद्यार्थी भएका विद्यालयको माथिल्लो कक्षा नजिकैको अर्को विद्यालयमा समायोजन गरिएको हो । ‘विद्यालयले विद्यार्थी संख्या धेरै देखाए पनि विभिन्न स्रोतबाट त्यो संख्या गलत हो भन्ने  सूचना आएपछि अनुगमन गर्दा निकै कम विद्यार्थी उपस्थित हुने गरेको पाइयो’, नगरप्रमुख गुरुङले भने, ‘विद्यार्थी कम भएका विद्यालयले अनुगमनमा पुगेका कार्यदलका पदाधिकारीलाई घरमा चाडपर्व परेको, अभिभावक घरायसी काममा व्यस्त भएको लगायतका बहाना बनाए पनि परीक्षामा वास्तविक विद्यार्थी सहभागी हुने भएकाले अनुगमन र परीक्षामा सहभागी संख्याअनुसार न्यून पाइएको विद्यालयको माथिल्लो कक्षा अर्को व्यवस्था नभएसम्म घटुवा गरिएको हो ।’

कक्षा घटुवामा पर्नेमा आधारभूतसहित माध्यमिक तहको विद्यालयसम्म रहेका छन् । अधिकांश बालकक्षादेखि कक्षा १ सम्म पढाउन पाउने गरेर कक्षा घटुवा गरिएको छ । बेलकोटगढी–१२ मा रहेको चण्डीदेवी माविमा शैक्षिक सत्र २०७९ मा विद्यालयले एक सय १६ विद्यार्थी देखाए पनि नियमित उपस्थिति र परीक्षामा सहभागी विद्यार्थी ५१ जना मात्रै पाइएकाले उक्त विद्यालयलाई बालविकासदेखि कक्षा ३ सम्म अध्यापन गराउने भनेर कक्षा घटुवा गरिएको छ । 

सो विद्यालयसहित विभिन्न १९ विद्यालयले पेस गरेको तथ्याङ्कभन्दा अनुगमन र परीक्षामा सहभागी विद्यार्थी निकै न्यून रहेकाले बाध्य भएर कक्षा घटुवाको निर्णय गरिएको नगरउपप्रमुख शिवप्रसाद दाहालले जानकारी दिएका छन् ।

कक्षा घटुवामा परेका विद्यालयले प्रत्येक कक्षामा न्यूनतम १५ जना विद्यार्थी पु-याउन सकेमा उक्त निर्णय संशोधन तथा पुनः विचार गरिनेछ । ‘विद्यार्थी बढाएमा साबिकको कक्षा कायम गर्न सकिन्छ कि भनेर जारी रहेको भर्ना अभियानमा बालबालिका खोज्न व्यवस्थापन समिति र शिक्षक सक्रिय भएर लागिरहेका छन्’, उपप्रमुख दाहालले भने । बेलकोटगढी नगरपालिकाभित्र हाल १९ माध्यमिकसहित ५४ सामुदायिक विद्यालय सञ्चालित छन् । पालिकाको जनप्रतिनिधिले शिक्षाको गुणस्तर वृद्धिसहित विद्यार्थीलाई सामुदायिक विद्यालयप्रतिको आकर्षण बढाउने, स्थानीय पाठ्यक्रम लागू गर्ने, सीप तथा क्षमतासहितको प्राविधिक शिक्षालाई जोड दिने नीति अवलम्बनलाई प्राथमिकता दिँदै आएको बताएका छन् ।

सडकमा ७ करोड ६२ लाख निश्चित

सडकको लागि थपिएको बजेट ।

विदुर । काठमाडौंबाट नुवाकोट प्रवेश गर्ने महत्वपूर्ण मार्ग सामाखुसी टोखा–गुर्जे–छहरे सडक आयोजनालाई ७ करोड ६२ लाख स्रोत निश्चित भएको छ । 

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत सामाखुसी–टोखा–गुर्जे सडक आयोजनाका लागि सात करोड ६२ लाख रुपैयाँ बराबर स्रोत सहमति दिइएको हालै अर्थ मन्त्रालयले सार्वजनिक गरेको ‘२०७९ चैत महिनामा पुँजीगततर्फ एक करोड रुपैयाँ भन्दा बढीको एक उपशीर्षकबाट अर्को बजेट उपशीर्षकमा भएको रकमान्तरको विवरण’मा उल्लेख छ । स्रोत आउने आसमा उक्त सडक खण्डमा सडक डिभिजन नुवाकोटमार्फत उधारो ठेक्का लगाई यसअघि काम सुरु भएको छ । 

उक्त योजना तथा कार्यक्रमका लागि बहुवर्षीय ठेक्काको स्रोत सहमति दिइएको अर्थ मन्त्रालयले प्रस्ट पारेको छ । मन्त्रालयले नुवाकोटसँगै चालु आर्थिक वर्षको चैत महिनामा मात्र सरकारले ३३ अर्ब ३४ करोड ४५ लाख ८१ हजार बराबर रकमान्तर गरेको छ  । गुर्जे–छहरे सडकलाई ७ करोड ६२ लाख सहमति दिइए पनि ६ करोड रुपैयाँको ठेक्का सम्झौतापछि धमाधम काम जारी छ । जसअनुसार नुवाकोट शिवपुरी गाउँपालिका–८ को वडा कार्यालय आसपास, थापागाउँ क्षेत्रमा ढलान, नाली निर्माण, मर्मत, कालोपत्रका लागि बागेश्वरी वाग्मती सिम्रन जेभीसँग गत चैत १३ गते ३ किलोमिटर सडक स्तरोन्नतिको सम्झौता भएको सडक डिभिजन कार्यालय नुवाकोटका इन्जिनियर तथा सूचना अधिकारी सुमन बस्नेतले बताए । उक्त खण्डमा ७ करोड १३ लाख स्टिमेट गरिए पनि बागेश्वरीले ६ करोड (भ्याटसहित)मा निर्माण जिम्मा लिएको हो । बस्नेतका अनुसार चौडा नपुगेको ठाउँमा अधिकतम ७ मिटर पु¥याउने, गुणस्तरीय कालोपत्रेको काम हुनेछ । 

चैत १३ गते ३ किमि सडकको लागि ६ करोड ठेक्का सम्झौता भएको हो भने उक्त रकमको लागि सडक डिभिजन कार्यालयले संघ र प्रदेशको निर्वाचनअघि नै फाइल तयार पारी भौतिक पूर्वाधार मन्त्रालयमा पेश गरेको थियो । निर्वाचनपछि टेन्डर आह्वान गरिएको थियो । प्राविधिक सहायक सुपरभाइजर विशाल खड्काले थापागाउँ क्षेत्रमा कटिङ र नाली बनाउने काम भइरहेको बताए । जेठभरिमा पिचको काम सकाउने लक्ष्यसहित अहिले मेसिनरी वाल लगाउने, नाली बनाउने काम भइरहेको छ । डोजर, टिपरसहित झन्डै ५० जना सडक मजदुर खटिएका छन् । 

चापाबोट क्षेत्रमा जी टेक सर्भिसेसले काम गरिरहेको छ । उक्त ठेक्का चालु आर्थिक वर्षमा केन्द्रीय बजेटमा छुट्याइएको ६ करोड रुपैयाँमध्येबाट ४ करोड रुपैयाँमा सम्पन्न गर्ने गरी सम्झौता भएको छ । गत आवको २करोड दायित्व वहन गर्नुपर्ने भएकोले दुई किलोमिटर मर्मत र गुणस्तरीय पिचका लागि ४ करोडमा सम्झौता गरिएको हो ।

नुवाकोट प्रवेशको छोटो मार्ग टोखा–छहरे सडकखण्ड काठमाडौं सामाखुसीबाट नुवाकोट छहरेसम्मको दुरी २९ किलोमिटर रहेको छ । यो खण्डमध्ये काठमाडौं जिल्ला टोखा नगरपालिकाको झोरदेखि शिवपुरी राष्ट्रिय निकुञ्ज हुँदै छहरेसम्मै पाँच वर्षअघिसम्म बेहाल थियो, हिउँदमा जसोतसो गाडी चल्ने गथ्र्यो । 

तर बर्खायाममा नागरिकले कष्ट पाउँथे । नुवाकोट, रसुवा, धादिङका लागि काठमाडौंको नयाँ बसपार्क र सामाखुसी आपपासबाट छुटिने बस र अन्य सवारी साधन झोर क्षेत्रमै हिलोमा फसेर घान्टौं जाम पर्दा यात्रुले सास्ती बेहोनुपथ्र्यो । सामान्य यात्रुलाई सास्ती हुन्थ्यो नै बिरामी ओसारपसार गर्ने एम्बुलेन्ससमेत जाममा पर्दा बिरामीको अवस्था के हुन्थ्यो सहजै अनुमान लगाउन सकिने विषय रह्यो ।

तर, पछिल्लो करिब ४ वर्षको अवधिमा भने यो सडकले विस्तारै काँचुली फेर्दै गरेको आभाष हुन्छ । काठमाडौंतर्फ झोर र जगात क्षेत्रको कालोपत्रे तथा ढलानसहित पक्की सडक बनिसकेको छ । गुर्जेभञ्ज्याङदेखि गुरुङगाउँ, थानाभञ्ज्याङ, चाँपबोट क्षेत्रसम्मै कहींकतैबाहेक सडक बिनाअवरोध यातायात सञ्चालनको लागि बर्खायाममा पनि सहज बनेको छ । अब करिब ५ किलोमिटर जति स्तरोन्तति आफ्नो कार्यकालमा सकाउने लक्ष्य रहेको उक्त क्षेत्रबाट प्रतिनिधिसभामा निर्वाचित नेकपा माओवादी केन्द्रका सांसद हितबहादुर तामाङको भनाइ छ । 

सांसद तामाङले अघिल्लो कार्यकालमा गुर्जेको माउन्टेन भ्यू रिसोर्ट आसपासदेखि गुर्जे सार्वजनिक शौचालयसम्म निर्माणका लागि संघ र प्रदेशबाट बजेट छुट्याउन सफल भएका छन् । सांसद तामाङ, बागमती प्रदेश सांसद राधिका तामाङ लगायत जनप्रतिनिधिहरूकै पहलमा गुर्जेको सार्वजनिक शौचालयदेखि गुरुङगाउँ, थानाभन्ज्याङ, सिस्नेरी भीर कटिङ हुँदै चाँपबोटसम्म आर्थिक वर्ष ०७७/७८ मा १० करोड र सडक बोर्डबाट ५ करोड बजेट परेको थियो । 

१० करोड बजेट प्रत्यक्ष निर्वाचित सांसदको सिफारिसबमोजिम योजनामा खर्च गर्न मिल्ने सरकारको नीतिअनुसार सांसद तामाङले सो सडक खण्ड निर्माणका लागि एकमुष्ठ सिफारिस गरेका थिए । अन्य निर्वाचन क्षेत्रका सांसदले भने उक्त १० करोड रकम ८/१० वटा योजनामा कनिक छरेझै  गरिएको पाइएको छ । 

त्यस्तै, थप बजेट आवश्यक परेको सिस्नेरी भीर कटिङलगायतका लागि सडक बोर्डबाट सांसद तामाङलगायतको पहलमा १० करोड रुपैयाँ पारिएको थियो । जसको काम सम्पन्न भइसकेको छ । २०७८/७९ मा तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले अध्यादेशबाट ल्याएको बजेटमा ७ करोड रहेको बजेटलाई नयाँ अर्थमन्त्री बनेका माओवादी नेता जनार्दन शर्माले प्रतिस्थापन विधेयकमार्फत उक्त सडकखण्डलाई १० करोड बजेट पु¥याइदिएका हुन् । चालु आर्थिक वर्ष २०७९/८० मा पनि ६ करोड रुपैयाँ परेको थियो । जसको ठेक्का सम्झौतापछि कार्यान्वयन जारी छ ।

मुआब्जा नआउने फैसला

पिपलटार–ढुङ्गे मुआब्जाको बारेमा सर्वोच्च अदालतले गरेको फैसलाको पूर्ण पाठको एक अंश । 

विदुर । राष्ट्रिय गौरवको आयोजनाको रुपमा विस्तार भइरहेको ‘गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेसी–रसुवागढी’ अन्तर्राष्ट्रिय राजमार्गको विदुर नगरपालिका–५ पिपलटारदेखि विदुर–१ ढुङ्गेसम्मको करीब आठ किलोमिटर सडकको विस्तारमा ‘जग्गाको मुआब्जा दिनु नपर्ने तर, घर–टहराको क्षतिपूर्ति दिनु’ भनेर फैसलाको पूर्णपाठ आएको छ । 

योजना प्रमुख धुव्रकुमार श्रेष्ठका अनुसार जग्गाधनीको तर्फबाट विभिन्न तीन समूहले मुआब्जा माग्दै दायर गरेको रिटमाथि २०७९ साल पुस २८ मा भएको फैसलाको गएको हप्ता पूर्णपाठ प्राप्त भएको छ ।

‘गल्छी–रसुवागढी’ सडक योजना अन्तर्गत विस्तार भइरहेको सडकको मुख्य अवरोधको रुपमा रहेको नुवाकोटको विदुरस्थित बजार क्षेत्रको मुआब्जा समस्या समाधान भएको योजना प्रमुखको दावी रहेको छ । मुआब्जा मागगर्दै सर्वोच्च अदालत पुगेका स्थानीय जग्गाधनीलाई ‘मुआब्जा दिनु नपर्ने’ भनेर आदालतको फैसलाको पूर्ण पाठ आएसँगै लामो समयदेखि सडक विस्तारमा भइरहेको अबरोध हटेको श्रेष्ठले बताए । ‘चार वर्षदेखिको अवरोध हटेर सडक विस्तार गर्न बाटो खुला भएको छ’ श्रेष्ठले भने । 

फैसलाको पूर्णपाठअनुसार जग्गाधनीले मुआब्जा माग गरेको विदुर–५ पिपलटारदेखि विदुर–१ ढुङ्गेसम्मको सडक २०२१ साल फागुन ११ मा पासाङल्यामु राजमार्ग कायम भएको र २०३४ साल असार २० मा प्रकाशित सूचना अनुसार ‘सहायक राजमार्ग’ कायम भएको उल्लेख छ । उक्त सडकको दायाँबायाँ १५–१५ मिटर पहुँच क्षेत्रको सोही समयमा मुआब्जाको लागि सूचना आह्वान गरेकाले अहिले अन्तर्राष्ट्रिय राजमार्ग विस्तारको क्रममा मुआब्जा दिनु नपर्ने अदालतको फैसलामा भनिएको छ तर, नेपाल सरकारले ‘गल्छी–रसुवागढी’ सडक विस्तारको लागि सूचना जारी ९२०७२ फागुन ३० गर्नुअघि बनेका सबै किसिमका घरटहरा हटाउँदा त्यसको भने क्षतिपूर्ति उपलब्ध गराउन प्रभावित जग्गाधनीको मागअनुसार योजनाको कार्यालयलाई अदालतले दिएको उत्प्रेषण परमादेशको पूर्णपाठमा उल्लेख छ ।

काम भने सुस्त गतीमा 

धादिङको गल्छीबाट सुरु भएर नुवाकोटको त्रिशूली, रसुवाको बेत्रावती, मैलुङ, स्याफ्रुबेँसी हुँदै चीनसँगको सीमा रसुवागढीसम्मको ८२ किमी सडक अन्तर्राष्ट्रिय राजमार्गको रुपमा २०७२ साल मङ्सिर १७ को मन्त्रिपरिषद्को निर्णयले विस्तार थालिएको हो । पच्चीस महिनाभित्र काम सम्पन्न गर्ने जिम्मेवारीअनुसार गल्छी–मैलुङसम्मको ४६ किमी सडकको ठेक्का २०७३ साल मङ्सिरमा दिए पनि विविध समस्याले काम पूरा हुन अझै थप केही वर्ष लाग्ने देखिएको छ । 

गल्छी–मैलुङसम्मको सडक विस्तारको लागि मुख्य अवरोध रहेको विदुरको बजार क्षेत्रमा काम गर्न अब बाटो खुला भएसँगै नयाँ लक्ष्य लिएर सडक विस्तारलाई तीव्र बनाइने योजना कार्यालयका सूचना अधिकारी इन्जिनियर रामबिहारी चौधरीले जानकारी दिए । उनको अनुसार अब नुवाकोटको बट्टार बजारस्थित राममन्दिरदेखि गङ्गटेसम्मको पाँच किमी सडक चारलेनको अन्तराष्ट्रिय मापदण्डअनुसार निर्माण सुरु हुनेछ । अन्य स्थानमा भने ‘डेडिकेटेड’ दुई लेनमा निर्माण तथा विस्तार भइरहेको छ ।

धादिङको गल्छीबाट सुरु भएर चीनसम्मको सीमा रसुवागढीसम्म पुग्ने ८२ किमी सडकको विस्तार निर्माण व्यवसायी, नेपाली सेना र चीन सरकारमार्फत तीन खण्डमा अघि बढाइएको हो ।

तीन खण्डमा विभाजन

गल्छीबाट मैलुङसम्म ४६ किमी सडक कोभेक–टुण्डी–रसुवा कन्स्ट्रक्सनमार्फत भइरहेको छ । उक्त पहिलो खण्डको काम ८० प्रतिशत सम्पन्न भएको छ । दोस्रो खण्ड रसुवाको मैलुङदेखि स्याफ्रुबेँसीसम्म १८ किमि सडक नेपाली सेनामार्फत ट्रयाक खोलेपछि अहिले भारत कन्स्ट्रक्सन/सिद्धिसाई जेभीमार्फत निर्माण भइरहेको छ ।

उक्त खण्डमा लक्ष्यभन्दा निकै सुस्त गतिमा काम भइरहेकाले हालको प्रगति २० प्रतिशत मात्रै देखिन्छ । तेश्रो खण्ड रसुवाको स्याफ्रुबेँसीबाट रसुवागढीसम्मको १८ किमी सडक चीन सरकारमार्फत निर्माण गर्ने समझदारी भए पनि काम सुरु हुन बाँकी छ ।

१५ अर्ब ५० करोड बजेट 

अन्तर्राष्ट्रिय एशियाली मापदण्डको हैसियतमा ‘डेडिकेटेड डबल लेन’ अर्थात स्पष्ट दुईतर्फी गाडी चलाउन सकिने गरेर सडक विस्तारको लागि पूर्वाधारतर्फ नौ अर्ब ५० करोड रुपैयाँ र मुआब्जा तथा क्षतिपूर्तितर्फ छ अर्ब रुपैयाँ समेत गरेर कूल १५ अर्ब ५० करोड रुपैयाँको बजेट विनियोजन गरिएको छ । लक्ष्यभन्दा निकै ढिलो गरेर काम भएकाले विविध कारणले यो बजेटको आकार थपघट, परिवर्तन गर्नुपर्ने योजना प्रमुख धुव्रकुमार श्रेष्ठको भनाई छ ।

सबैभन्दा छोटो दूरी

उक्त सडकको निर्माण सम्पन्नपश्चात् चीनसँगको सीमा रसुवागढीदेखि त्रिशूलीबाट गल्छीहुँदै काठमाडौँको दूरी १२८ किमी र रसुवागढीबाट गल्छी हुँदै भारतीय सीमा पर्साको ठोरी पुग्न २७८ किमी पर्दछ । नेपाललाई अन्तर्राष्ट्रिय नाकासम्म पुग्न मात्र नभई त्रिदेशीय मार्गको सबैभन्दा छोटो दूरीको रुपमा रहेको छ । यसलाई सरकारले वैकल्पिक अन्तर्राष्ट्रिय मार्गका रुपमा ‘विशेष निर्णय’ गरेर प्राथमिकताका साथ र राष्ट्रिय गौरवको आयोजनाको रुपमा लिएको छ ।

उपभोक्ता हित संरक्षण मञ्च नुवाकोटका अध्यक्ष इन्द्रबहादुर पण्डितको अनुसार सडक निर्माणले त्रिदेशीय नाकाको रुपमा नेपाललाई व्यापारमा विविधीकरण र चीनसँगको इन्धन आयातमात्र नभई भारतसँगको निर्भरता कम गराई सिङ्गो मुलुकको आर्थिक विकासका लागि सामरिक महत्वका रुपमा लाभ लिन सकिन्छ । ‘गल्छी–रसुवागढी सडक निर्माणले रसुवा, नुवाकोट र धादिङसहित सिङ्गो मुलुकले आर्थिक क्षेत्रको सुधारमा महत्वपूर्ण योगदान पुग्दछ ।’ अध्यक्ष पण्डितले भने, ‘चीन सरकारले रसुवागढीसँगको केरुङ नाकालाई ‘अन्तर्राष्ट्रिय नाका’ घोषणा गर्दै केरुङ बजारसम्म रेलसमेत विस्तार गरिसकेकाले यसको लाभ नेपालले लिनको लागि यो सडक समयमा नै निर्माण सम्पन्न हुनुपर्छ ।’ 

माग सम्बोधन नभए प्रतिकार हुने

बञ्चरेडाँडामा थुप्रिएको काठमाडौंको फोहोर

बञ्चरेडाँडा । नुवाकोटका ककनी गाउँपालिका, बेलकोटगढी नगरपालिका र धादिङको धुनीबेंशी नगरपालिकाले आफ्नो क्षेत्रमा फोहोर व्यवस्थापन नभए कडा कदम चाल्ने चेतावनी दिएका छन् । 

प्रभावित क्षेत्रमा संयुक्त पत्रकार सम्मेलन गरी शनिबार बेलुका तीन बुँदे मागसहित तीनै पालिकाले फोहोर व्यवस्थापन नभए कडा कदम चाल्ने चेतावनी दिएका हुन् । वैज्ञानिक ढंगबाट फोहोरमैलाको व्यवस्थापन, प्रभावित स्थानीयहरूको उचित व्यवस्थापन, आवश्यकताको आधारमा मानव बस्तीको समेत व्यवस्थापन र यसअघिका सम्झौताहरूको पूर्णरुपमा कार्यान्वयन गर्न तीनै स्थानीय तहका अध्यक्ष तथा प्रमुखहरूले माग गरेका छन् । 

यसअघि १५ दिने अल्टिमेटम सकिएलगत्तै उनीहरूले उक्त माग सार्वजनिक गरेका हुन् । उनीहरूद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘फोहोर व्यवस्थापनका लागि फोहोर संकलन, प्रशोधन र व्यवस्थित रुपमा विसर्जन गरिनुपर्नेमा फोहोरको लिच्चड अव्यवस्थित रुपमा खोलामा मिसाउनाले यस वरिपरिको क्षेत्र दुर्गन्धित हुनुका साथै स्थानीय बसोबास गर्न समेत अयोग्य बनेको छ ।’ 

प्रभावित क्षेत्रमा वातावरण दूषित हुनुका साथै कृषियोग्य जमिनमा समेत खेती हुन छाडेको, चिल र गिद्धले फोहोर एक ठाउँबाट अर्को ठाउँमा ओसारपसार गर्दा प्रभावित क्षेत्रका स्थानीयलाई विभिन्न रोगको सिकार बनाएको बताएका छन् । प्रभावित क्षेत्रका बसिन्दामाथि खेलबाड भइरहेकाले जनप्रतिनिधिहरू टुलुटुलु हेरेर बस्ने अवस्था नरहेको तीनै पालिकाका प्रमुखहरूले बताए । 

सहरी विकास मन्त्रालयका साथै काठमाडौं महानगरपालिकासँगको सहमतिमा धादिङ र नुवाकोटको सीमामा पर्ने सिसडोल हुँदै बन्चेरेडाँडा कुडुलेमा विगत १८ वर्षदेखि काठमाडौं महानगरपालिकासहित १८ वटा पालिकाको फोहोर विर्सजन गरिँदै आएको छ ।

अर्थमन्त्री भन्छन् : स्रोत समस्याको बावजुत जे सम्भव हुन्छ, मबाट रोकिँदै

डा. महत

दुप्चेश्वर । अर्थमन्त्री एवं नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले राजस्व उठ्ने थोरै भएकाले सरकारसँग ठूलो अपेक्षा नराख्न आग्रह गरेका छन् । ‘हामीसँग राजस्वको हुने आम्दानी यो साल थोरै छ । त्यो आम्दानीलाई देशैभरि पु-याउनुपर्ने हुन्छ’, मन्त्री महतले भने, ‘स्रोत समस्याको बावजुत जे सम्भव हुन्छ, मबाट हुने काम रोकिँदैन ।’

दुप्चेश्वर गाउँपालिका–४ बेतिनीमा छेवाङ ग्लान ङारछ्यालिङ गुम्बामा निर्मित गुरु पद्मसम्भवको शनिबार मूर्तिको प्राण प्रतिस्थापन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री महतले आफू अप्ठ्यारो परिस्थितिमा मन्त्री बने पनि जनताका समस्या सम्बोधनमा क्रियाशील रहेको बताए । ‘हाम्रो अगाडि जनताको सेवा गर्न‘भन्दा अन्य उद्देश्य छैन,’ उनले भने, ‘जनताको विकास निर्माण, शिक्षा, स्वास्थ्य र रोजगारीका आवश्यकता पूर्तितर्फ हाम्रो सम्पूर्ण ध्यान केन्द्रित हुनेछ ।’ गुम्बा र मूर्ति निर्माणले यस क्षेत्रको सांस्कृति विकासलाई जगेर्ना हुने उनले बताए ।

गुरु पद्मसम्भव १ हजार २ सय वर्षअगाडि तपस्या गरेर तिब्बत र नेपाल प्रसिद्ध बनेको र उनले सिकाएको पाठले मानवीय जीवनपयोगी रहेको मन्त्री महतले बताए ।  उनले सुरुङमार्ग निर्माणका लागि धेरै पहिलेदेखि बहस भए पनि अब भने काम सुरु गर्न आवश्यक बजेटको विनियोजन गर्ने बताए । दुप्चेश्वर–४ बेतिनीस्थित छेवाङ ग्लान ङारछ्यालिङ गुम्बामा निर्मित ‘गुरु पद्मसम्भव’ मूर्तिको प्राण प्रतिस्थापन गर्दै उनले बुद्धपछिको बुद्ध भगवान्का रुपमा सम्मानित भगवान् पद्मा सम्भवको मूर्तिको स्थापनाले धार्मिक र सांस्कृतिक संरक्षणमा सहयोग पुग्ने बताए । ‘दण्ड–जरिवाना गराउने कानुनभन्दा नैतिकवान बनाउने धर्म, संस्कार र मान्यताले हामी चलेका छौं’ उनले भने, ‘हजारौँ वर्षदेखि एकअर्काप्रति सद्भाव कायम राख्दै जीवन चलाइरहेका छौं । हाम्रो महान धर्म, संस्कृति र सिकाएको पाठको नतिजा हो ।’

एक हजार दुईसय वर्षअघि बुद्ध धर्मको प्रचारमा तिब्बत र नेपाली भूमिमा योगदान पु¥याउनुभएका ‘गुरु पद्मसम्भव’लाई बौद्ध धर्मालम्वीले बौद्ध पछिको बौद्ध भगवान्को अवतारका रुपमा पुज्ने गरेका छन् । उनले सिकाइको पाठलाई अनुशरण गर्दै बौद्ध दर्शन अध्ययन केन्द्रका रुपमा छेवाङ ग्लान ङारछ्यालिङ गुम्बामा ‘गुरु पद्मसम्भव’को मूर्ति प्रतिस्थापन गरिएको गुम्बा व्यवस्थापन समितिका सल्लाहकार योविन्द्रसिंह तामाङले जानकारी दिए ।

एक हजार दुई सय वर्षअघि बुद्धधर्मको प्रचारका लागि विशेष गरेर तिव्बत र नेपाली भूमिमा समेत योगदान पु¥याउनुभएका ‘गुरु पद्मसम्भव’लाई बौद्ध धर्मावलम्बीले सिद्धार्थ गौतम बुद्धपछिको ‘दोस्रो ठूलो भगवान्’को अवतारका रूपमा पुज्ने गरेका छन् । बेतिनीस्थित नाम्सापुरानमा करिब १० रोपनी जग्गामा फैलिएको ‘गुरु पद्मसंभव’को मूर्ति निर्माणका लागि ७० लाख २० हजार रुपैयाँ लगानी भएकाले अझै थप व्यवस्थित बनाउन बाँकी रहेको गुम्बा व्यवस्थापन समितिका सल्लाहकार योविन्द्रसिंह तामाङले बताए । उनका अनुसार दुप्चेश्वर गाउँपालिका र बागमती प्रदेश सरकारमार्फत करिब ३८ लाख रुपैयाँ प्राप्त भएको र बाँकी ३२ लाख रुपैयाँ भन्दा बढी रकम स्थानीयवासीले चन्दा संकलन गरेर मूर्ति निर्माण गरिएको हो । ‘बेतिनीका छ सयभन्दा बढी घरधुरीको साझा सम्पदाका रूपमा निर्माण गरिएको पद्मसंभवको मूर्ति नै यस क्षेत्रको पहिलो र बौद्धमार्गीको एकमात्र आस्थाको केन्द्र हो’, दुप्चेश्वर गाउँपालिकाको निवर्तमान अध्यक्षसमेत रहनुभएका उनले भने, ‘पद्मसंभवको मूर्तिसँगै अब प्राचीन तथा ऐतिहासिक इतिहास बोकेको यहाँको छेवाङ ग्लान ङारछ्यालिङ गुम्बाको निर्माण गर्दै बौद्ध दर्शन अध्ययन केन्द्रको स्थापना गर्ने लक्ष्य छ ।’

उक्त स्थान नजिकै कुण्ड र डम्फूपार्कको समेत स्थापना गरिएकाले धार्मिक पर्यटनको प्रवद्र्धनमा समेत सहयोग पुग्ने गुम्बा व्यवस्थापन समितिका अध्यक्ष मुबिन्द्रसिंह तामाङले बताए । बुद्ध जयन्ती पर्वका अवसर बनाई विशेष पूजाआरधनासहित निर्माण गरिएको ‘गुरु पद्मसंभव’को मूर्ति प्राण प्रतिस्थापनमा बौद्धगुरु प्रमुख लामा डोल्पु गुम्चेन रिन्पोछेसहित नौ जना लामा गुरुबाट बुम्पा, छोक छ्याङ, बुन्छु, रिल्बु, दादर गर्दै वाङ (प्रसाद र दीर्घायुको कामना) वितरण गरिएको थियो । तीन दिनसम्म पूजा सञ्चालन भएको थियो । 

उक्त समारोहमा शनिबारसम्म पाँच हजार बौद्धमार्गीको सहभागिता रहेको गुम्बाका प्रमुख लामा पासाङ लामाले जानकारी दिए । जिल्लाको विकट र तामाङ–शेर्पा समुदायको बसोबास रहेको उक्त स्थानसम्म पुग्न सडक यातायातको पहुँच कमजोर भएकाले पद्मसंभवको मूर्ति प्राण प्रतिस्थापन गर्न शनिबार अर्थमन्त्री डा. प्रकाशरण महत हेलिकोप्टर मार्फत कार्यक्रम स्थलमा पुगेका थिए । 

त्यस क्रममा बोल्दै उनले सरकारले शिक्षा र पूर्वाधार क्षेत्रमा प्राथमिकतामा राखेको बताउँदै काठमाडौंबाट प्रदेश सरकारको लगानीमा खोलेगाउँ–महाकाली–बेतिनी जोडेर पक्की बाटो बनाइने बताए । त्यसैगरी समुन्द्रटार–गोल्फुभन्ज्याङ र ढिकुरेदेखि समुन्द्रटारसम्मको कालोपत्र काम अगाडि बढाइने आश्वासन पनि दिए । अर्थमन्त्री प्रकाशरण महतले काठमाडौँको टोखाबाट नुवाकोटको छहरेसम्मको सुरुङमार्ग निर्माण कार्य थालनी गर्न लागिएको बताएका हुन् । ‘नुवाकोट सहित रसुवा हुँदै चीनसँगको केरुङ बजारसँगको व्यापार बढाउन टोखा–छहरे सुरुङ मार्गको परिकल्पना गरिएकाले कार्यान्वयनमा लैजान लागिएको हो ।’ उनले भने, ‘कृषि र पर्यटनको विकास, उद्योग व्यवसायको वृद्धि, धार्मिक तथा सांस्कृतिक गतिविधिलाई चलायमान बनाएर केरुङ हुँदै चीनसँगको व्यापार बढाउन के–कति सकिन्छ आगामी आर्थिक वर्षमा बजेट तर्ज‘मा गर्न लागिएको छ । यसलाई कार्य प्रारम्भका रुपमा लिनुपर्छ ।’

संघीय सरकार आगामी आर्थिक वर्षको तयारीमा रहेकाले उत्पादक र ठूला योजनाका क्षेत्रमा बजेटले प्राथमिकता पाउने नेपाली कांग्रेसका प्रवक्तासमेत रहेका महतको भनाइ छ । ‘विकास निर्माणलाई कांग्रेसले सदैव प्रथामिकता दिँदै आएको छ । जनताको सुखदुःख, विकास निर्माण, धर्म र संस्कृति तथा मानवीय जीवनसँग जोडिएका पक्षमा काम गर्दै आइरहेको छु, उनले भने, ‘अहिले अर्थतन्त्र अप्ठ्यारो परिस्थितिको भएकाले धेरै अपेक्षा नराख्न तर, राम्रा र नमुना कामको थालनी हुन्छ भन्नेमा ढुक्क हुनुहोस् ।’ 

दुप्चेश्वर गाउँपालिका आफ्नै भवनमा

भवन उद्घाटन गर्दै मन्त्री मोदी । 

समुन्द्रटार । नुवाकोटको दुप्चेश्वर गाउँपालिकाको प्रशासनीक भवन निर्माण सम्पन्न भएर शुक्रवार उद्घाटन भएको छ । 

झण्डै चार वर्षदेखि निर्माण भइरहेको भवनको संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीलेले उद्घाटन गरेका हुन् । दुप्चेश्वर गाउँपालिका–६ समुन्द्रटारमा बनेको प्रशासकीय भवनमा १८ कोठे छन् । उक्त भवन २ करोड ४० लाख रुपैयाँ लागतमा निर्माण भएको पालिकाले जनाएको छ ।

नवनिर्मित प्रशासकीय भवन शुक्रबार उद्घाटन गर्दै मन्त्री मोदीले देशमा सुशासन कायम गर्न ठूला भ्रष्टाचारको अन्त्य गर्न सरकार लागि परेको बताएका छन् । उनले सुशासन र भ्रष्टाचार अन्त्यका लागि प्रधानमन्त्रीले गरेका कामलाई साथ दिनुपर्ने बताएका छन् । ‘यो देशमा सुशासन कायम गर्न ठूला भ्रष्टाचारहरूको अन्त्य गर्न सरकार लागि राखेको छ,’ उनले भने, ‘सुशासन र भ्रष्टाचार अन्त्यका लागि प्रधानमन्त्रीले गर्नभएको कामलाई सकारात्मक ढंगले साथ दिनुपर्छ ।’ उनले संघीयता कार्यान्वयन गर्नुपर्ने भूमिका र प्रशासनिक सुधार गर्नुपर्नेमा जोड दिए ।

मन्त्री मोदीले जनप्रतिनिधिलाई कर्मचारी पठाउने र भनिदिनु पर्ने कार्यका लागि मन्त्रालय लागिरहने बताए । आफ्नो ठाउँबाट नुवाकोटको विकास निर्माणका लागि भूमिका खेल्ने समेत आश्वासन दिए । जनतालाई सेवा र खुसी दिने कार्यमा लाग्नुपर्ने उनले बताए । ‘अहिले वडाध्यक्षदेखि प्रतिनिधिसभा र मन्त्रीसम्ममा जनता असन्तुष्ट छैनन् । सन्तुष्टी दिने सक्ने गरी कार्य गर्नुपर्छ,’ उनले भने, ‘नेपालीहरू अनुशासनको दायरामा छैनौं । देश बनाउने हो । सरकार, जनता, जनप्रतिनिधि र जनताबीच दोहोरो सम्बन्ध हुनपर्छ ।’ उनले मधेश÷तराई, पहाड मिलेर अगाडि बढ्नु पर्ने भन्दै सबैको एकता आवश्यक रहेको बताए ।

प्रतिनिधिसभाका सांसद एवं नेकपा माओवादीका पोलिटव्युरो सदस्य हितबहादुर तामाङले ठूलो संघर्ष, आन्दोलनबाट सिंहदरबारको अधिकारलाई जनताको घरदैलोमा ल्याएको बताए । उनले समुन्द्रटारदेखि ढिकुरे सडक चौडा गर्ने र समुन्द्रटारदेखि तालुकसेरीसम्म सडक विस्तार गर्नु आफ्नो पहल रहने धारणा राखे । यस्तै, बागमती प्रदेश सदस्य राधिका तामाङले भ्रष्टाचार नियन्त्रण र सूचना प्रवाहलाई चुस्त बनाउनुपर्नेमा कानुन निर्माण ढिलाई भएको बताइन् । उनले धार्मिक, सांस्कृतिक महत्व बोकेको दुप्चेश्वरलाई संघीय सरकारले प्राथमिकताका साथ बजेट विनियोजन गरिदिन मन्त्री मोदीसमक्ष आग्रह गरिन् ।

सम्पदा पुनर्निर्माण छिट्टै गर्ने चिनियाँ राजदूतको प्रतिवद्धता

चिनियाँ राजदुत छन सङ नुवाकोटको साततले दरवार परिषरमा । तस्बिर : इमेज

नुवाकोट । नेपालका लागि चिनियाँ राजदूत छन सङले कोरोना महामारीका कारण सात वर्षदेखि पुनर्निर्माण हुन नसकेको विदुर नगरपालिका वडा नं. २ मा रहेका ऐतिहासिक तथा पुरातात्विक साततल्ले दरबार र यस वरपरि रहेका सम्पदाहरूको छिट्टै पुनर्निर्माण गर्ने आश्वासन दिएका छन् ।

गएको सोमबार राजदूत छनले पुरातात्विक सम्पदाहरूको अवलोकन गरेपछि अब छिट्टै पुनर्निर्माण थालिन बताएका हुन् । यसका साथै चीनले तीन वर्षमा नुवाकोटका सबै पुरातात्विक सम्पदा पुनर्निर्माण गर्ने भएको छ । साततल्ले दरबार र वरपर पुनर्निर्माणका लागि आवश्यक पर्ने इँटा, सुर्की र काठहरू लैजाने बाटो साँघुरो भएकाले सडकको समेत स्तरोन्नति गर्नुपर्ने भएको छ ।

‘चाँडै काम सुरु गर्छौं । काम सुरु गरेको ३ वर्षमा काम सम्पन्न गर्नेछौं । ईन्द्र चोकदेखि दरबारसम्मको बाटो व्यवस्थापन गर्नुपर्छ,’ राजदूतको भनाइ उद्धृत गर्दै स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयका प्रमुख अर्जुन फुयाँलले भने, ‘बाटो समस्या र समान स्टोर गर्ने ठाउँ अभाव छ । तपाईंहरूले सहयोग गर्न‘स् । हामी सुरुमा साततल्ले दरबार सुरु गर्छौं र बिस्तारै सबै गर्छौं ।’

शल्यक्रियासहित प्रसूति सेवा

रसुवा जिल्ला अस्पतालमा शल्यक्रियासहित प्रसूति सेवा 

धुन्चे । रसुवा जिल्लाको सदरमुकाम धुन्चेमा रहेको जिल्लाकै पहिलो सरकारी अस्पताल रसुवा जिल्ला अस्पतालमा गएको सोमबारबाट शल्यक्रियासहित प्रसूति सेवा सुरु भएको छ । पहिलोपटक शल्यक्रियासहितको प्रसूति सेवा सुरु भएको हो ।

घरको आर्थिक अवस्था कमजोर भई त्रिशूली अस्पताल वा काठमाडौं जान नसकिरहेका स्थानीयस्तरमै सुत्केरी बेथा लागेका महिलालाई शल्यक्रियाबाट तत्काल बच्चा जन्माउन सुविधा पुगोस् भनेर अस्पतालले दक्ष चिकित्सकसहितको समूह तयार पारेको छ । बागमती प्रदेश सभा सदस्य प्रभात तामाङले वैशाख १८ गते सोमबार अस्पतालमा शल्यक्रियासहितको प्रसूति सेवा शुभारम्भ गरेका थिए । प्रसूति सेवा सञ्चालनलाई निरन्तरता दिन बागमती प्रदेश सरकारको तर्फबाट आफू सधैँ लागिरहने प्रदेश सभा सदस्य तामाङले प्रतिबद्धता व्यक्त गरे । शल्यक्रियासहितको प्रसूति सेवा जिल्ला अस्पतालबाट हुने भएपछि सुत्केरी बेथा लागेका महिलालाई अन्त लानुपर्ने समस्याको अन्त्य भएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष दुर्गाप्रसाद आचार्यले बताए ।

विपद् व्यवस्थापन अभ्यास

अभ्यास गर्दै नेपाली सेना

विदुर । नुवाकोट जिल्लाको विदुर नगरपालिका–९ त्रिशूली जलविद्युत उत्पादन केन्द्रको पानी थिग्राउने पोखरी सिलट्यांकीमा विपद् पूर्वतयारी तथा प्रतिकार्य अभ्यास गरिएको छ । बिहीबार बिहान सिलट्यांकीमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीले नदीमा पसेर घाइतेको उद्धार, उद्धारपछिका प्राथमिक उपचारलगायत कार्यको अभ्यास गरेका हुन् । 

पानी बाहिर निकाल्ने र घाइतेको मुखमा मुख जोडेर मुटु सक्रिय गराउने कार्य रेडक्रस सोसाइटीका स्वयंसेवकले गरेका थिए । त्यसपछि सुरक्षित तवरले प्राथमिक उपचारपछि अस्पताल पु¥याउने अभ्यास गरिएको थियो । नदी, ताल र खोलामा डुबेका घाइतेको उद्धारका लागि सुविधायुक्त साधन स्रोत नभएको खण्डमा स्थानीय स्रोत साधन प्लास्टिकका बोतल कम्मरमा बाँधेर, प्लास्टिकका ड्रमलाई किलाकाँटी ठोकेर पानीमा तैरिने बनाएर डुबेकाको उद्धार गर्न सकिने मनसुन अभ्यास गरिएको थियो । वर्षात्सँगै आएको बाढीले नदीमा फसेका, माछा मार्न जाँदा नदीमा डुब्दा, जलविहारको क्रममा अचानक डुब्न गएमा उनीहरूको खोज तथा उद्धार गर्न उक्त मनसुन नमुना अभ्यासले सहयोग पुग्ने जिल्ला विपद् व्यवस्थापन समिति अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी किरण थापाले बताए ।

जिल्ला विपद् व्यवस्थापन समितिको अगुवाईमा भएको अभ्यासमा जिल्ला प्रशासन, जबरजंग गण देवीघाट व्यारेक, जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी बल नेपाल १९ नम्बर गुल्म, जिल्ला अस्पताल, रेडक्रस सोसाइटी नुवाकोटको सहभागिता थियो । 

स्यानीटरी ल्याण्डफिल साइड बन्ने

शिलान्यासमा मेयर, उपमेर लगायत वडाअध्यक्षहरु ।

बट्टार । विदुर नगरपालिका वडा नम्बर ४ बट्टारको हावाघरमा स्यानीटरी ल्याण्डफिल साइट बन्ने भएको छ । स्यानीटरी ल्याण्डफिल साइडको गएको आईतवार विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठ, उपमेयर प्रभा बोगटी लगायतले शिलान्यास गरेका हुन् ।

स्यानीटरी ल्याण्डफिल साइड निर्माणको लागि गत बैशाख १० गते कर्मासाङ निर्माण सेवालाई भ्याट सहित ९४ लाख ९३ हजार ३७७ रुपैयाँमा निर्माणको जिम्मेवारी दिइएको छ । सो स्यानीटरी ल्याण्डफिल साइटको निर्माण आगामी असार २५ गतेसम्म काम सम्पन्न गर्न म्याद दिइएको नगरपालिकाका मेयर राजन श्रेष्ठले जानकारी दिएका छन् ।

स्यानीटरी ल्याण्डफिल साइटको निर्माण समयमा नै सम्पन्न गर्न सरोकार राख्ने स्थानीय र सबै सरोकारवालाहरूले चासो र ध्यानाकर्षण गर्नुपर्ने मेयर श्रेष्ठले बताएका छन् । उनले गुणस्तरीय कामको लागि नागरिक तथा सबै निकायले निर्माण कम्पनीलाई झक्झकाउनु पर्ने समेत उल्लेख गरे । 

स्यानीटरी ल्याण्डफिल साइड शिलान्यास कार्यक्रममा विदुर नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष निलमबाबु ढुङ्गेल, वडा नम्बर ६ का वडाध्यक्ष श्यामकृष्ण चालिसे लगायतको उपस्थिति रहेको थियो ।

कोल्पुखोलामा एक शव फेला

विदुर । नुवाकोटको बेलकोटगढी नगरपालिका–५ कोल्पुखोलामा बैशाख १७ गते एक शव फेला परेको छ । ओखलढुंगा घर भई कोल्पुखोलामा बालुवा चाल्ने र बिक्री वितरण गरी गुजारा चलाउँदै आएका अन्दाजी ५० वर्षका अनिल भन्ने व्यक्ति मृत भेटिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जानकारी दिएको छ ।

ती व्यक्ति ८/१० दिनदेखि बेपत्ता रहेको स्थानीयको भनाइ उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालय नुवाकोटका डिएसपी खगेन्द्रबहादुर खड्काले बताए मृतकको वास्तविक घर ठेगाना खुलेको छैन । उनी करिब १० वर्षदेखि त्यही क्षेत्रमा काम गर्दै आएका थिए ।

घिमिरेले तोडे आमरण अनशन

कृषिमन्त्री वेदुराम भुषालले जुस खुवाएर घिमिरेको अनशन तोडाए

विदुर । सरकार र आमरण अनशन बसेका नुवाकोटका किसान श्रीराम घिमिरेबीच सहमति भएको छ । 

सहमतिपछि घिमिरेले अनशन तोडेका छन् । उनी अनशन बसिरहेको नयाँ सडकको भुगोलपार्कमा पुगेर कृषिमन्त्री वेदुराम भुषालले जुस खुवाएर घिमिरेको अनशन तोडाएका हुन् ।

नुवाकोटको ककनी गाउँपालिका– २, चित्रे घर भएका घिमिरेले विगत ४ वर्षदेखि कालिज र कुखुरापालन व्यवसाय गर्दै आएका छन् । कृषि पेशामा सोचेजस्तो सफलता हासिल गर्न नसकेका उनले यसको प्रमुख कारण रहेको बताउने गरेका छन् । उनले किसानलाई बैंक ब्याजदर ६ प्रतिशत मात्र तोक्नुपर्ने, मल, बीउ, कृषि औजारमा अनुदान दिनुपर्ने, कृषि क्षेत्रमा कुल बजेटको १० प्रतिशत छुट्याउनुपर्ने, किसानलाई परियोजना धितोमा ५० लाख रुपैयाँसम्म १ प्रतिशत ब्याजदरमा ऋण दिनुपर्ने, कृषकको परिचयपत्र बनाई यातायात भाडामा ५० प्रतिशत छुट गर्नपर्ने लगायतका माग राखेर ५ वैशाखदेखि काठमाडौंको भूगोलपार्कमा आमरण अनशन सुरु गरेका थिए ।

बुद्ध पूर्णिमामा प्रभातफेरी र रथयात्रा

टुल्कु रेन्पोर्छे सोनाम गारवाङद्वारा भक्तालुहरूलाई आशिर्वाद प्रदान गर्दै । तस्बिर : सुनील श्रेष्ठ

विदुर । २५६७ औं बुद्ध पूर्णिमा तथा जयन्तीका अवसरमा नेपाल तामाङ घेदुङ नुवाकोटको आयोजनामा विदुर नगरपालिकाको बट्टार बजारदेखि कर्म देन्छेलिङ गुम्बा ढुंगेसम्म शुक्रवार प्रभातफेरी भएको छ । 

प्रभातफेरीपछि टुल्कु रेन्पोर्छे सोनाम गारवाङद्वारा भक्तालुहरूलाई आशिर्वाद प्रदान गर्नकोसाथै बुद्ध र बुद्धत्वसम्बन्धि प्रवचन वाचन गरिएको घेदुङका अध्यक्ष विरबहादुर तामाङले जानकारी दिए । 

यस्तै, सुगतपुर बिहार संरक्षण समितिद्वारा शोभा यात्रा त्रिशुली बजारभर परिक्रमा गरिएको समितिका अध्यक्ष आनन्द शाक्यले बताए । परिक्रममा समितिका पदाधिकारी, स्थानीयहरूको सहभागिता रहेको थियो । सोहिअवसरमा मोटरसाइकल आयोजना गरी नुवाकोटमा रहेको मण्डला, बट्टारमा रहेको बुद्ध मन्दिरमा झण्डा राखिएको उनले जानकारी दिए ।

नेपालको लुम्बिनीमा २५६७ वर्षअघि सिद्धार्थ गौतमको जन्म बैशाखशुक्ल पूर्णिमाकै दिनमा भएको थियो । यस्तै, भारतको बौद्धगयामा वैशाख शुक्ल पूर्णिमाकै दिन सिद्धार्थ गौतमले बुद्धत्व प्राप्त गरेका थिए । हिन्दूदर्शनले बुद्धलाई विष्णु भगवानको नवौँ अवतार मान्दछन् । यसै कारण वैशाख शुक्ल पूर्णिमामा हिन्दू र बौद्ध दुवै धर्मावलम्बीले बुद्धलाई पूजा गरी बुद्ध जयन्ती मनाउँछन् ।

बनेन भूकम्पले भत्काएको १७४ घर

रसुवा । गोरखा बारपाक केन्द्रविन्दु भएर गएको विनाशकारी गोरखा भूकम्पको मंगलबार वैशाख १२ गते आठ वर्ष पूरा भएको छ । 

२०७२ वैशाख १२ गतेका दिन बिहान ११ः५६ मा गएको ७.८ रेक्टर स्केलको भूकम्पले देशभर आठ हजार ९७९ जनाको मृत्यु भएको थियो भने २२ हजार तीन सय नौजना घाइते भएका थिए । भूकम्पमा परी गोरखामा मात्र ४७१ जनाको निधन भएको थियो ।

भूकम्पका कारण थातथलोमा पहिरो गएपछि विस्थापित भएका रसुवाका १७४ घरपरिवार अझै विस्थापित अवस्थामा रहेका छन् । उत्तरगया गाउँपालिका–५ खाल्टेस्थित त्रिशूली नदीको किनारामा रहेको टहरोमा भूकम्प गएपछि आठ वर्षदेखि आफ्नो गुजारा चलाइरहेका छन् । विस्थापितमध्येका छेकु लामा भन्छन्, ‘हामी विस्थापितलाई स्थापित गराउन प-यो भनेर आवाज त उठाइरहेका छौँ, आजसम्म सुनुवाइ भएकै छैन ।’ खाल्टेमा नै बस्न थालेका छेकुजस्तै अरू विस्थापित परिवार पनि जस्ताको टहरामा बस्न थालेको आठ वर्ष भयो । उनीलगायत धेरै छन् । थातथलो छोड्नुको पीडा एकातिर छ भने अर्काेतर्फ नदीको बगरको असुरक्षित बसाइ बर्खा लागेपछि रातभरि सुत्नै पाइँदैन, जाग्राम बस्नुपर्ने बाध्यता रहेको छ ।

पुस–माघ लागेपछि टहराबाट शीत चुहिने, बिहान उठ्दा ओड्ने भिज्छ । चैत–वैशाखमा आउने हावाहुरीले टहरो उडाउलाजस्तो गर्छ । यसको मारमा ज्येष्ठ नागरिक, बालबालिका, गर्भवती तथा सुत्केरी महिला अपाङ्गता भएका व्यक्ति रहेका छन् । थातथलोमा बस्नै नहुने भएपछि खोलाको बगरमा नै बसोवास गरिरहेको आठ वर्ष भयो । विस्थापित भूकम्पपीडितको समस्या ज्युँका त्युँ रहेको छ । सुरक्षित पुनः स्थापनाको आशा गरेको यहाँका नागरिकले भूकम्पको पीडा भुल्न रातदिन सम्बन्धित निकायमा धाइरहेको त्यहाँको स्थानीय छेकु लामा बताउँछन् ।

माथिल्लो मैलुङ–बि निर्माण हुँदै

बेत्राबती । रसुवाको मैलुङ खोलामा सम्भाव्यता अध्ययन भएको १७ मेगावाटको माथिल्लो मैलुङ ‘बी’ जलविद्युत आयोजना निर्माणको तयारी अघि बढेको छ । माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडले आयोजना अघि बढाएको हो । प्रस्तावित आयोजना रसुवाको उत्तरगया गाउँपालिका हुँदै बग्ने मैलुङ खोलामा निर्माण हुनेछ । 

विद्युत विकास विभागले सूचना निकालेर यो आयोजना निर्माण र सञ्चालन गर्दा कुनै प्रतिकूल असर पर्ने भए ३५ दिनभित्र लिखित राय/सुझाव पेस गर्न सरोकारवाला निकायहरूलाइ आग्रह गरेको छ । यो आयोजनाको सम्भाव्यता अध्ययन २०२१ मा नै भएको हो । प्रारम्भिक वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनसमेत तयार भइसकेको छ । यो नदी बहावमा आधारित आयोजना हो। जसबाट वार्षिक १०१.२ गिगावाट आवर विद्युत उत्पादन हुनेछ । आयोजनाका मुख्य भौतिक संरचनाहरू मैलुङ खोलाको दायाँ किनारमा हुनेछन् । हेडरेस सुरुङ करिब ३४६२.५० मिटरको हुनेछ ।  २२४ मिटर ठाडो र ५१ मिटर तेर्सो पेनस्टक पाइप राखिनेछ। भूमिगत विद्युतगृह निर्माण प्रस्ताव गरिएको छ । उत्पादित विद्युतलाई ११ किमि १३२ केभीए सिंगल सर्किट प्रसारणलाइनमार्फत त्रिशूली थ्री–बी हब सबस्टेसनमार्फत समाहित गरिनेछ । २०८३ चैतसम्ममा सम्पन्न गर्ने लक्ष्य छ ।

रुबीभ्यालीको सेर्तुङमा हेलिप्याड

 

नवनिर्मित हेलिप्याड

धादिङ । नेपाली सेनाले उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका– ३ सेर्त‘ङमा हेलिप्याड निर्माण गरेको छ ।

विपतमा परेका, जटिल अवस्थाका गर्भवती र सुत्केरी महिला तथा गम्भीर खालका बिरामीलाई आकस्मिक उद्धार गर्न सहज होस् भन्ने उद्देश्यका साथ हेलिप्याड निर्माण गरिएको नेपाली सेनाको शिवदल गण गजुरीका गणपति प्रमुख सेनानी अशोकराज बरालले बताए । धादिङको उत्तरी क्षेत्र रुबीभ्याली र गंगाजमुना गाउँपालिकामा सहज सडक सञ्जालको पहुँच नहुँदा स्थानीयहरू कष्टकर दैनिकी गुजारा चलाइरहेका छन् ।

उनले भने, ‘उत्तरी धादिङमा आपतकालीन अवस्था र जटिल खालका बिरामीको उपचार गर्न हेलिकोप्टर नै राम्रो विकल्प हो । सेर्तुङवासीको आवश्यकता मध्यनजर गरेर हेलिप्याड निर्माण गरेको हो,’ उनले भने । जनहित कार्यक्रम अन्तर्गत हेलिप्याड निर्माण गरी गाउँपालिकालाई हस्तान्तरण गरिएको उनले बताएका छन् । उक्त कार्यका लागि गाउन्पालिकाको पनि उस्तै सहयोग रहेको उनले बताए । 

उनले भने, ‘१० लाखमा बन्न त सम्भव थिएन । तर, अन्य सहयोग र श्रमदानबाट निर्माण गर्न सफल भयौँ । त्यसका लागि सबैलाई धन्यवाद दिँदै अब लाभग्राहीले सक्दो लाभ र उपयोग गर्न सके हाम्रा लागि त्यो नै सबै भन्दा ठूलो उपलब्धि हो,’ उनले भने ।

गाउँपालिकाको समन्वयमा सेनाले दश लाखको लगानीमा हेलिप्याड निर्माण गरेको हो। हेलिप्याड निर्माण भएपछि स्थानीय खुसी भएका छन् । अब अकालमै ज्यान गुमाउनुपर्ने बाध्यताको अन्त्य हुने उनीहरूको विश्वास छ । 

सूचना प्रविधि दिवसमा रक्तदान

क्यान नुवाकोटका अध्यक्ष पवन नेपाल रक्तदान गर्दै । 

बट्टार । कम्प्युटर एसोसिएसन नेपाल महासंघ नुवाकोटको आयोजनामा रक्तदान कार्यक्रम भएको छ । राष्ट्रिय सूचना प्रविधि दिवसको अवसरमा क्यान नुवाकोटको आयोजनामा रक्तदान कार्यक्रम भएको हो ।

बट्टारमा भएको कार्यक्रममा ३४ जनाले रक्तदान गरेको क्यान महासंघ नुवाकोटका अध्यक्ष पवन नेपालले जानकारी दिए । उनका अनुसार २ महिला र ३२  पुरुषले रक्तदान गरेका थिए । 

रक्तदानमा नेपाल रेडक्रस सोसाइटी नुवाकोट शाखा रक्त सञ्चार केन्द्रको प्राविधिक सहयोग र बल्ड अन रिक्वेस्ट इन नुवाकोटको समन्वयमा भएको हो । कार्यक्रममा रक्त सञ्चार केन्द्रकी प्रमुख लक्ष्मी श्रेष्ठले रक्तदान दानपछिको प्राप्ति नभएर मानविय सहयोगी भावना र आफ्नो स्वास्थ्य स्वस्थ्य राख्नको लागि गरिने भएकोले नियमित रुपमा रक्तदान गर्नुपर्ने बताईन् ।

सुरक्षित सूचना प्रविधि, सुशासन र समृद्धि भन्ने नाराका साथ सरकार र निजी क्षेत्रले संयुक्त रूपमा सञ्चार तथा सूचना प्रविधि दिवस मनाउन लागेको छ । हरेक वर्षको मे २ मा आइसिटी डे मनाइँदै आएकोमा नेपालमा निजी र सरकारी दुवै तवरबाट सञ्चार तथा सूचना प्रविधि दिवस मनाउइँदै आईरहेको छ ।

टोखा–छहरे सडक र रसुवागढी अवलोकन

 

गत हप्ता अर्थमन्त्री डा. महत र चिनियाँ रातदुत सोङ अर्थमन्त्रालयमा । तस्बिर : इमेज फाइल

विदुर । काठमाडौंको टोखा र नुवाकोटको छहरे जोड्ने सुरुङमार्गको प्रारम्भिक अध्ययन गरेको चार वर्ष बितिसक्दा पनि अध्ययनको थप कार्य अगाडि बढ्न सकेको छैन । चिनियाँ टोलीले काठमाडौंको टोखादेखि नुवाकोटको छहरे जोड्ने सुरुङमार्गको प्रारम्भिक अध्ययन गरेको चार वर्ष बितिसकेको छ । 

करिब २० जनाको चिनियाँ प्राविधिक टोलीले एक महिना लगाएर सुरुङ निर्माण गर्ने क्षेत्रको प्रारम्भिक अध्ययन गरेको थियो । चिनियाँ राजदूत सोङले सोमबार टोखा–छहरे सुरुङमार्ग र रसुवागढीबाट भइरहेको आयात–निर्यातको अवलोकन गरेका छन् । राजदूतको टोली स्थलमार्गको गल्छी–त्रिशूली धुन्चे हुँदै रसुवागढी पुगेर फर्कँदा नुवाकोटको थानसिंह–छहरे भएर काठमाडौंको टोखा बाटो फर्केका थिए । पछिल्लो यो महिना चिनियाँ सरकारी टोलीले चीनसँग जोडिएको नेपालतर्फका नाका पुनः सञ्चालन गर्न नेपालमा चिनियाँ लगानीमा भइरहेको निर्माणबारे चासो लिइरहेको छ ।

२०७६ फागुनमा आएको टोली माघमा अध्ययन सकेर चीन फर्किएको थियो । त्यसपछि यसमा कुनै प्रगति हुन सकेन । उनीहरू गएको केही समयपछि कोभिड महामारी सुरु भएकाले टोली सम्पर्कविहीन बनेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको पूर्वाधार निर्माण तथा यातायात महाशाखा प्रमुख एवं सहसचिव अर्ज‘नजंग थापा बताउँछन् । टोली अध्ययन गर्न आउँदा थापा मन्त्रालयअन्तर्गतकै विकास सहायता कार्यान्वयन महाशाखा प्रमुख थिए । ‘अध्ययन गरेर गएको टोली लामो समय सम्पर्कमा थिएन,’ थापाले भने, ‘अहिले आएर सुरुमा गरिएको प्रारम्भिक अध्ययनअनुसार वातावरणीय अध्ययन गर्न भनिएको छ ।’ टोलीले आठ महिनाअघि चिनियाँ दूतावासमार्फत इमेल पठाएर वातावरणीय अध्ययनको काम अघि बढाउन भनेको हो । ‘त्यसपछि विस्तृत अध्ययन गर्न आफूहरू तयार रहेको उनीहरूले बताएका छन्,’ उनले भने ।

चार वर्षअघि अध्ययन गर्न आएको टोलीले सुरुङ निर्माण गर्ने क्षेत्रको सडक सञ्जालको तथ्याङ्क, जनसंख्यालगायतबारे तथ्याङ्क मागेका थिए । ‘जे–जे उपलब्ध थियो, हामीले त्यो दियौँ,’ उनले भने, ‘टोलीले फिल्डमा गएर पनि प्रारम्भिक अध्ययन गरेको थियो ।’ सुरुमा प्रारम्भिक रिपोर्ट नेपाल पठाउन भने पनि पठाएनन् । तर, अहिले सम्पर्कमा आएर सामान्य खालको रिपोर्ट पठाए, जुन वातावरणीय अध्ययनका लागि पर्याप्त नभएको थापाले जनाए । अब सम्भाव्यता अध्ययन गर्नुपर्छ । त्यसपछि विस्तृत परियोजना रिपोर्ट (डिपिआर) तयार गर्ने गरी अध्ययन गर्न‘पर्छ । वातावरणीय अध्ययन गर्न डिपिआर तहको अध्ययन गरेको प्रतिवेदन चाहिने भए पनि त्यो रिपोर्ट नभएको उनले सुनाए । ‘डिपिआर तहको अध्ययनमा कति लम्बाइ, चौडाइ, कस्तो ढुङ्गा, माटो कस्तो, रूख कति काट्नुपर्ने हो, कति घर प्रभावित हुन्छन् भनेर रिपोर्टमा उल्लेख गरिएको हुन्छ,’ उनले भने, ‘चिनियाँ टोलीले सुरुकै प्रारम्भिक अध्ययनलाई टेकेर यसको अध्ययन गर्न भनिएको छ, त्यसैले वातावरणीय अध्ययन कसरी गर्ने भन्ने सम्बन्धमा तयारी गरिँदै छ ।’ सडक विभागको प्राविधिक टोलीले यसको अध्ययन गर्ने उनको भनाइ छ ।

प्रारम्भिक अध्ययनका क्रममा टोलीले फिल्ड अवलोकन, डाटा संकलन, गल्छी र बालाजु सडकको अध्ययन गरेको थियो । सुरुमा सुरुङको दूरी सात किलोमिटर हुने भनिएको थियो । तर, प्राविधिक टोलीले चार किलोमिटर हुन सक्ने प्रारम्भिक अध्ययनका क्रममा जानकारी गराएको थियो । लागतको कुरा आइसकेको छैन । सम्भाव्यता अध्ययनपछि लागत अनुमान निस्कनेछ । सुरुङ निर्माण भने चीन सरकारबाटै हुने जनाइएको छ । यस खण्डमा सुरुङ निर्माण गर्न‘को कारण रसुवागढी सडकको दूरी छुट्याउनु रहेको थापाले बताए । यसबारे सरोकार राख्ने सडक विभागअन्तर्गतको विकास सहायता कार्यान्वयन महाशाखा उपमहानिर्देशक विजय जैसी अध्ययनमा कुनै प्रगति नभएको जनाउँछन् । टोखाबाट गुर्जेभञ्ज्याङ–छहरे–गंगटे सडक अहिले चालू छ । ‘त्यो सडक तादी नदीको किनारैकिनार जान्छ,’ सहसचिव थापाले भने, ‘गल्छीबाट पृथ्वी राजमार्ग–थानकोट हुँदै काठमाडौं छिर्न‘भन्दा टोखाबाट धेरै नजिक पर्छ, त्यहीअनुसार सडकको दूरी छोट्याउन सुरुङ बनाउन अध्ययन गर्न लागिएको हो ।’

यता केही दिनअघि अर्थमन्त्री डा. प्रकाशशरण महतसँग चिनियाँ राजदूत छन सोङले भेटवार्ताका क्रममा टोखा–छहरे सुरुङ छिट्टै निर्माण चरणमा लग्न सकिने बताएका थिए । यस सुरुङमार्गको अध्ययन र निर्माण कसरी गर्ने भन्ने सम्बन्धमा अर्थमन्त्री महत र राजदूत सोङबीच छलफल भएको थियो । मुस्ताङ, रसुवागढीजस्तै अन्य पहाडी भू–भागमा समेत सुरुङमार्ग बनाउने विषयमा चिनियाँ राजदूत सोङले चासो जनाएका थिए । भेटमा चिनियाँ राजदूत सोङले नेपालको पूर्वाधार विकासका लागि करिब ८० अर्ब रुपैयाँ उपलब्ध गराउन सक्ने बताएका थिए । 

राजदूत सोङले योहप्ता नुवाकोट र रसुवाको स्थलगत भ्रमण गरेका छन् । उनले नुवाकोटको साततले दरबार र रसुवागढी नाकाको समेत स्थलगत अनुगमन गरेका छन् । सडकमार्ग हुँदै राजदूत नुवाकोट हुँदै रसुवागढी पुगेर आयात–निर्यातबारे जानकारी लिएका थिए । राजदूत सोङले टोखा–छहरे सुरुङमार्गको थप अध्ययन सुरु गर्ने र नुवाकोट दरबारको पुनर्निर्माण छिट्टै थाल्ने बताएका छन् ।

प्रशासनले गर्यो विदामा पनि काम

विदुर । २०८० सालमा सरकारले शनिबारबाहेक राजपत्रमा प्रकाशित बिदाका दिनमा समेत अत्यावश्यक सेवा प्रवाह गर्ने निर्णय गरेसँगै जिल्ला प्रशासन कार्यालय नुवाकोटले काम थालेको छ । जस अन्र्तगत बैशाख २२ गतेको सार्वजनिक विदामा समेत जिल्ला प्रशासनल कार्यालयले काम गरेको छ । 

प्रशासन कार्यालयले पनि बिदाको दिन राहदानी र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरणसम्बन्धी सेवा प्रवाह गर्ने तयारी गरिरहेको छ । प्रमुख जिल्ला अधिकारी किरण थापाका अनुसार गत चैत २ गते नेपाल राजपत्रमा प्रकाशित सार्वजनिक बिदाको दिनसमेत तीनवटा क्षेत्रको सेवा प्रवाह हुने जानकारी दिए । उनका अनुसार नागरिकतासम्बन्धी सेवा, राहदानीसम्बन्धी सेवा र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरणसम्बन्धी सेवा प्रवाह हुनेछ । राजपत्रमा उल्लेखित सार्वजनिक सेवा प्रवाह गर्ने कार्यालय, बैंक तथा वित्तीय संस्थालाई बिदामा कार्यालय सञ्चालन गर्नेबारे कार्यालय प्रमुखको बैठकमा छलफल गरेर आवश्यक व्यवस्था गर्न निर्देशन दिइएकोसमेत जानकारी दिए । 

साथै उनले कर्मचारीको अभावमा पनि भएका कर्मचारीलाई थप सुविधा दिएर बिदाको दिन सेवा सञ्चालन गर्न लागेको बताए । अब गणतन्त्र दिवस रहेको जेठ १५, रक्षाबन्धन रहेको भदौ १४, श्रीकृष्ण जन्माष्टमी रहेको भदौ २०, घटनास्थापना रहेको असोज २८, क्रिसमस डे रहेको पुस ९ र किराँत समुदायको उँधौली पर्व/योमरी पुन्ही/ज्यापू दिवस रहेको पुस १० सार्वजनिक बिदा भए पनि सेवा प्रवाह हुने भएको छ । यस्तै, तमु ल्होसार रहेको पुस १५, पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस रहेको पुस २७, माघेसङ्क्रान्ति/माघी पर्व रहेको माघ १, सोनाम ल्होसार रहेको माघ १५, जनयुद्ध दिवस रहेको फागुन १, राष्ट्रिय प्रजातन्त्र दिवस रहेको फागुन ७, महाशिवरात्रि/अन्तर्राष्ट्रिय महिला दिवस रहेको फागुन २५, ग्याल्पो ल्होसार रहेको फागुन २८, चैत ११ गते परेको फागुपूर्णिमा र इदुल फित्र, वकर इद (इद उल अजहा) का दिनसमेत उक्त तीन क्षेत्रको सेवा प्रवाह हुने प्रशासन कार्यालयले जनाएको छ ।

मिडियाको समृद्धिका लागि सार्थक बहस

– विपुल पोखरेल

विश्वभर प्रेस स्वतन्त्रता दिवस मनाइँदै गर्दा नेपाली प्रेस अझै पनि असुरक्षाको सामना गर्दै अघि बढिरहेको तथ्य हामीमाझ छ । प्रेसमाथिको निरन्तर आक्रमणलाई संसारभर नै रोक्न भने सकिएको देखिँदैन । नेपाल पनि अपवाद छैन । स्वतन्त्रताको प्रचुररूपमा उपयोग गर्ने, गर्नका लागि सबैलाई प्रोत्साहित गर्ने र स्वतन्त्रताको सधँै पैरवी गर्ने दायित्व बोकेको सञ्चार क्षेत्रले जस्तोसुकै परिस्थितिमा पनि आफूलाई त्यो दायित्व बहन गर्नबाट च्युत भने गरेको छैन । यो विशेषता नेपाली प्रेसले पनि निर्वाह गर्दै आएको छ । शाहीकाल, भूकम्पको काहालीलाग्दो अवस्था, कोरोनाकालजस्ता अत्यन्त असहज र असुरक्षित अवस्थामा पनि आफ्नो दायित्व निर्वाह गरेर नेपाली पत्रकारिता क्षेत्रले आफूलाई प्रस्तुत गर्दै आएको हो ।

नेपाल पत्रकार महासंघको अभिलेखअनुसार सन् २०२२ को मे ३ देखि २०२३ अप्रिल २६ सम्म प्रेस स्वतन्त्रता हनन्का ५५ वटा घटना भएका छन् । गत वर्ष यही अवधिमा ७५ वटा घटना अभिलेख भएका थिए । घटनाको संख्या अलिकति थोरै मानिएता पनि आक्रमणका शैली, प्रवृत्ति र नियत उस्तै छन् । तर यसले गर्दा नेपाली प्रेस सुरक्षित बन्दै छ भनेर निष्कर्ष निकाल्न सक्ने अवस्थामा हामी पुगेका छैनौँ ।

मे ३ तारिकका दिन विश्वभर प्रेस स्वतन्त्रता दिवस मनाइन्छ । युनेस्कोको आयोजनामा अफ्रिकी राष्ट्र नामिबियाको विन्डहक सहरमा भएको पत्रकारहरूको सम्मेलनले ‘बहुलवादी र स्वतन्त्र प्रेसको लागि विण्डहक घोषणापत्र’ जारी गरेको थियो । त्यसैको सम्झनामा सन् १९९३ देखि संयुक्त राष्ट्रसंघले यो दिवस मनाउने निर्णय गरेको थियो । राष्ट्रसङ्घको यो निर्णयसँगै आजको दिनलाई प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षधरहरूले महत्वपूर्ण दिनका रूपमा लिन्छन् ।

आज संसारभर प्रेस स्वतन्त्रताको महत्वका बारेमा चर्चा गरिँदैछ । वरिष्ठ पत्रकार, पत्रकारिताका प्राध्यापकहरू र स्वतन्त्रताका पक्षपातीहरूको सहभागितामा तयार पारिएको ‘बहुलवादी र स्वतन्त्र प्रेसको लागि विण्डहक घोषणापत्र’मा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा बलियो प्रतिबद्धता जनाइएको थियो भने स्वतन्त्र र बहुलवादी प्रेसका पक्षमा सो सम्मेलनले आफूलाई प्रष्टरूपमा उभ्याएको थियो । 

यो दिनमा प्रेस स्वतन्त्रताका पक्षमा लडाइँ लड्ने योद्धाहरूप्रति सम्मान गर्ने, उनीहरूको योगदानको चर्चा गर्ने, प्रेस स्वतन्त्रताको पक्षमा थप प्रतिबद्धता जनाउने र प्रेस स्वतन्त्रताको आन्दोलनलाई अझ अगाडि कसरी लैजाने भन्ने सन्दर्भमा अन्तरक्रियाहरू गर्ने गरिन्छ । प्रेस स्वतन्त्रताको आधारभूत सिद्धान्त, विश्वभर र आफ्नो देशभित्रको प्रेस स्वतन्त्रताको समग्र अवस्थाको समीक्षा, प्रेस स्वतन्त्रता हननका घटनाको सार्वजनिकीकरण र स्वतन्त्रताको प्रतिरक्षा एवं पत्रकारिता पेसा निर्वाहको क्रममा जीवन उत्सर्ग गर्नेहरूप्रति श्रद्धा व्यक्त गर्ने यो दिनको विशेष महत्व छ ।

यो वर्षका लागि युनेस्कोले ‘अधिकार सुनिश्चित गर्दै ः सबै मानवअधिकारको मूल अभिव्यक्ति स्वतन्त्रता’ भन्ने नारा तय गरेको छ । नागरिकले आफूलाई अभिव्यक्त गर्न सक्यो भने मात्र उसले सबै प्रकारका मानवअधिकारहरूको प्रयोग गर्न सक्नेछ भन्ने भावका साथ यो नारा तय गरिएको छ । अभिव्यक्ति स्वतन्त्रतालाई बढीभन्दा बढी प्रचलनमा ल्याउन र नागरिकलाई अभिव्यक्त गर्न प्रोत्साहित गर्न सञ्चार क्षेत्रले नै भूमिका निर्वाह गर्न सक्छ । त्यसकारण अधिकारको प्रयोगको दिशामा एउटा फड्को नै मार्ने गरी सञ्चार क्षेत्रले आफूलाई अझ क्रियाशील बनाउनका लागि काम गर्न यो वर्षको युनेस्कोले तय गरेको नाराले अपिल गरेको छ ।

नेपाली पत्रकारिता क्षेत्र अझै पनि सुरक्षाका दृष्टिकोणले सन्तोष गर्न सकिने अवस्था छैन । भौतिक हमला र पेसागत असुरक्षा दुवैले पत्रकारहरूलाई त्रासमा राखेको अवस्था छ भने इन्टरनेटमा आधारित प्रविधिको प्रयोग गर्दै पत्रकारहरूलाई निरुत्साहित गर्ने, अपमानित गर्ने खालका नयाँ प्रवृत्तिहरू पनि देखिन थालेका छन् । यस वर्ष पनि पत्रकारहरूको पेसागत सुरक्षाको अभाव जनाउँदै सैयौँ उजुरीहरू आएका छन् ।

बदलिँदो समयसँगै नेपाली पत्रकारिता क्षेत्रमा पनि नयाँ चुनौतीहरू थपिँदै गएका छन् । इन्टरनेटको विकाससँगै सुरु भएको डिजिटल पत्रकारिता आजको मुख्य चुनौती र अवसरका बीच सङ्घर्षरत छ । कमजोर साइबर सुरक्षाका कारण अनलाइन सञ्चारमाध्यमा अनधिकृत प्रवेश गरी समाचार हटाउनेजस्ता घटना बढ्न थालेका छन् । श्रमजीवी पत्रकार ऐन, २०५१ को पूर्णपालना नहुँदा आज पनि पत्रकारहरू पारिश्रमिकबाट बञ्चित छन् ।

इन्टरनेटको बढ्दो प्रयोगसँगै प्रेस स्वतन्त्रतामाथि आक्रमणका प्रवृत्तिहरू पनि बढेका छन् । सामाजिक सञ्जालमार्फत पत्रकारको बेडरुमसम्म पनि धम्कीका सन्देशहरू पुग्ने गरेका छन् । यस्ता धम्कीहरूको आधिकारिक तथ्याङ्क पाइँदैन । तर पनि पत्रकार महासङ्घका विभिन्न तहको नेतृत्व गर्ने नेतृत्वकर्ताहरूसँगको संवादका आधारमा यो सङ्ख्या सामान्यरूपमा अनुमान गरेभन्दा धेरै हुनसक्ने अड्कल गर्न सकिन्छ ।

प्रेस स्वतन्त्रतामाथिका यस्ता विविधखाले आक्रमणका प्रवृत्तिहरूलाई निरुत्साहित गर्नका लागि अभियान नै थाल्नुपर्ने अवस्था छ । डिजिटल सुरक्षा, मिडिया साक्षरताजस्ता अभियानहरू यतिबेला आवश्यक महसुस भएका छन् । पत्रकार महासङ्घले सुरु गरेको फ्रि मिडिया नेटवर्कजस्ता सञ्जालमार्फत मिडिया र नागरिक समाजका बीचमा नियमित अन्तक्र्रिया गर्दा पनि प्रेस स्वतन्त्रताका सवालमा नागरिक समाजको साथ पाउने अनुभव हामीले गर्न थालेका छौँ । त्यसैगरी संविधानले ग्यारेन्टी गरेको पूर्ण प्रेस स्वतन्त्रतालाई अभ्यासमा पनि महसुस गर्न सक्ने बनाउनका लागि आवश्यक कानुन निर्माण गर्ने कुरा उत्तिकै प्राथमिकतामा राख्न जरुरी छ ।

मुलुकले संविधानसभामार्फत निर्मित संविधानको आधारमा संघीयताको अभ्यास थालेको पनि आठ वर्ष भइसकेको छ । तर यतिका अवधि भइसक्दा पनि अझ पनि नेपालको पत्रकारिता क्षेत्रसँग सम्बन्धित विभिन्न कानुन निर्माण हुन सकिरहेका छैनन् । आमसञ्चार नीति, २०७३ को कार्यान्वयनका लागि कानुनको अभाव भएको छ । यसले गर्दा संघीय गणतन्त्रात्मक शासन व्यवस्थाले परिकल्पना गरेको जस्तो गरी पत्रकारिता क्षेत्रलाई अगाडि बढाउन सकिएको छैन । पत्रकारिता क्षेत्रमा आएका नयाँ आयाम र प्रविधिको सदुपयोग गर्दै अगाडि बढ्नुपर्ने चुनौतीलाई सम्बोधन गर्ने गरी कानुन निर्माण गरेर अगाडि बढ्नुपर्ने दायित्व यतिबेला हाम्रो काँधमा आएको छ । अघिल्लो संसद्मा पेस गर्नका लागि बनाइएका कानुनका मस्यौदालाई परिमार्जन गरेर नयाँ संसदमा पेस गर्नका लागि सरकारले काम गरिरहेको जनाएको छ । त्यो परिमार्जनले हामीले खोजेको जस्तो कानुन निर्माणको सुनिश्चितता गरोस् भनेर हामीले गम्भीर चासो दिन आवश्यक छ र दिई पनि राखेका छौँ ।

प्रेस स्वतन्त्रताका सन्दर्भमा राज्य र राजनीतिक शक्ति अझै पनि अनुदार रहेको अनुभूति हामीले गर्न‘ परिरहेको छ । सरकार र संसद्को प्राथमिकतामा सञ्चारसँग सम्बन्ध कानुन र मुद्दाहरू पर्ने गरेका छैनन् । सञ्चार क्षेत्रमाथि जिम्मेवार राजनीतिक नेतृत्वबाट सञ्चार संस्था घेराउ गर्ने धम्कीसमेत सुनिँदै आएको अवस्था छ । तर, यति हुँदाहुँदै पनि निरन्तर नागरिकलाई सूचना प्रवाह गर्ने, राज्यलाई खबरदारी गर्ने आफ्नो दायित्व निर्वाह गर्न नेपाली पत्रकारिता निरन्तर लागि परिरहेको अवस्था छ । 

प्रेसमैत्री कानुन निर्माणका लागि पनि हाम्रो खबरदारीले काम गरिरहेको छ । हाम्रो लडाइँका कारण स्थगित भएका कानुन निर्माणका प्रक्रियाहरूलाई सही ढङ्गले अगाडि बढाउन राज्यसँग हामीले प्रतिबद्धता खोजिरहेका छौँ ।

विश्व प्रेस स्वतन्त्रता दिवसका सन्दर्भमा हुने अन्तक्र्रियाहरूमा नेपालको यो अवस्थाका बारेमा पनि छलफल हुनेछ र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षधरहरूले यो अवस्थामा सुधार ल्याउनका लागि राज्यका संरचनाका साथै सरोकारवालाको ध्यानाकर्षण गराउने छ भन्ने विश्वास लिइएको छ । प्रेस स्वतन्त्रता प्रेसको मात्र मुद्दा होइन । नागरिकको सुसूचित हुन पाउने संवैधानिक हकलाई प्रचलनमा ल्याउनका लागि पनि प्रेस स्वतन्त्रता अनिवार्य हुन्छ । त्यतिमात्र होइन, प्रेस स्वतन्त्रता समग्र समाजको लोकतान्त्रिकीकरणको अभियानको एउटा महत्वपूर्ण अङ्ग पनि हो । नेपालको संविधानको प्रस्तावनामै पूर्ण प्रेस स्वतन्त्रता लेखिएको भएता पनि व्यवहारमा त्यसअनुरूप वातावरण बन्न सकेको छैन ।

पत्रकारिताको विश्वसनीयता अभिवृद्धि गर्नका लागि गम्भीरताका साथ काम गर्नपर्ने अवस्था पनि उत्तिकै छ । राजनीतिक धु्रवीकरण, इन्टरनेटको पहुँच विस्तारसँंगै सञ्चार संस्थाको संख्यामा भएको उल्लेख्य वृद्धि र त्यसअनुरुपको दक्ष जनशक्तिको अभावले पत्रकारितामा पनि असर पारिहरहेको छ । यी तीन चुनौतीका बीचबाट पत्रकारिता क्षेत्रप्रतिको विश्वसनीयता अभिवृद्धि गर्ने गरी पत्रकारिताको यात्रालाई अगाडि बढाउनुपर्ने दायित्व पनि आज प्रेस जगत्का बीचमा उपस्थित छ ।

आर्थिक संकटले सञ्चारसंस्थाहरूको दिगोपनामा समस्या पार्ने खतरा पनि हाम्रामाझ उपस्थित छ । यो विषयमा पनि गम्भीरताका साथ सोच्ने, योजना बनाउने र अगाडि बढ्ने कुरामा अब विलम्ब गरिनु हुँदैन । राज्यको नीतिगत भूमिका र लगानीको सुरक्षाका लागि ठोसरूपमा सोच्न जरुरी देखिएको छ । विश्व प्रेस स्वतन्त्रता दिवस मनाइरहँदा यी र यस्ता विषय जसले मिडिया क्षेत्रसँग सम्बन्ध राख्छन्, ती सवाललाई पनि छलफल र बहस बनाएर अगाडि बढ्ने हो भने हामी पक्कै पनि सही गन्तव्यमा पुग्नेछौँ । (लेखक नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष हुन्)


२०८० साल बैशाख २५ गतेको सम्पादकीय

खाद्य सुरक्षाका कार्यक्रम आवश्यक

विज्ञहरूले यो वर्ष नेपालमा खाद्यान्न संकट हुने चेतावनी दिएका छन् । हिउँदमा पनि आवश्यक वर्षा नभएको र आगामी मनसुनमा कम वर्षा हुने भएकाले खाद्य चक्रलाई सहज बनाउन सरकारले विशेष कार्यक्रम लागू गर्नुपर्ने विज्ञहरूको सुझाव छ । आगामी मनसुन सिजनमा कम वर्षा हुने मौसमविद्हरूको आँकलन रहेको भन्दै खाद्यान्न जोहो गर्नुपर्नेमा सरकार सचेत रहेको सरकारी अधिकारीहरूको भनाइ छ । मौसमविद्हरूको अनुमानलाई मध्यनजर गरेर सरकारले आवश्यक रणनीति बनाइरहेको छ । तर त्यो कत्तिको भरपर्दो हुनेछ भन्ने गम्भिर सवाल छ । विगतका वर्षहरूको तुलनामा यस वर्ष आकाशे पानी मनसुन सिजनमा कम हुने आँकलन छ । त्यसैले सो अनुसार धान रोप्ने बेलामा सिँचाइलाई विशेष जोड दिनुपर्ने अहिलेको अवस्था हो । नेपालमा यस वर्षको बर्खायाममा आवश्यक मात्रामा वर्षा नहुँदा सम्पूर्ण खाद्य प्रणालीमा नै समस्या देखिने र वातावरणीय समस्या उत्पन्न हुनेतर्फ सरकारलाई सचेत गराएका छन् । विज्ञहरूले गत वर्षको हिउँदमा पनि आवश्यकभन्दा कम वर्षा भएको र बर्खायाममा पनि खडेरी पर्ने हुँदा भोकमरीलगायतका समस्या सिर्जना हुन सक्ने भन्दै पूर्वतयारीका साथ रहनुपर्नेमा जोड दिएका हुन् । यसपटकको वर्षायाममा आवश्यक वर्षा नहुने भएकोले सरकारले खाद्य सुरक्षाका लागि आवश्यक रणनीति बनाई पूर्वतयारी थाल्नुपर्ने छ । गहुँ, धान, मकैलगायतका बाली उत्पादनमा कमी आउने र खाद्यान्न पहिलेभन्दा बढी आयात गर्नुपर्ने स्थिति आउन सक्ने छ । हिउँदे वर्षा हाम्रो २१ प्रतिशत मात्रै भयो । यो तुलनात्मक रुपमा अत्यन्तै न्यून वर्षा हो । त्यसले ल्याउने भोकमरी, कृषि उत्पादनमा हुने कमी, गहुँको मूल्य ह्वात्तै बढेको छ । यसपटक उत्पादन नहुने देखेपछि व्यापारीहरूले गहुँको मूल्य बढाइसकेका छन् । त्यसको सिधा असर गहुँ आयात गर्नुपर्ने देखिएको छ । 

यस वर्षको वर्षायाममा औसतभन्दा कम वर्षा हुने प्रक्षेपण भएको भन्दै उनले आकाशे खेतीहरू घट्ने अनुमान छ । दक्षिण एसिया क्षेत्रमै यसपटक कम वर्षा हुने आकलन गरिएकाले त्यसको असर नेपालमा पनि पर्ने छ । नेपालमा यो वर्षायाममा आवश्यक मात्रामा वर्षा नहुँदा सम्पूर्ण खाद्य प्रणालीमा नै समस्या देखिने र वातावरणीय समस्या उत्पन्न हुनेतर्फ सरकारलाई सचेत गराएका छन् । विज्ञहरूले गत वर्षको हिउँदमा पनि आवश्यक भन्दा कम वर्षा भएको र वर्षायाममा पनि सुक्खा खडेरी पर्ने हुँदा भोकमरी, कृषि उत्पादनमा कमी लगायतका समस्याहरू सिर्जना हुनसक्ने छ । आकाशे पानीमा भर परेर गरिने खेतीको उत्पादकत्व घट्छ, यसले खाद्यान्नमा असर पर्छ । आर्थिक अवस्था कमजोर भएका बेलामा झनै खाद्यान्न आयात गर्नुपर्ने अवस्था हुन सक्छ, हामीले आजैदेखि तयारी गर्नुपर्छ, त्यसको आँकलनका आधारमा योजना बनाउनुपर्ने आवश्यक छ । त्यसका लागि विशेष गरी स्थानीय सरकारहरूले खास र विशेष योजना तय गर्नु आवश्यक देखिएको छ ।  

२०८० साल बैशाख २५ गते । वर्ष:१६ अंक:२९