Monday, June 12, 2023

सुरुङमार्ग राष्ट्रको हितका निम्ति : प्रचण्ड

पञ्चकन्या गाउँपालिकाको कार्यक्रममा प्रधानमन्त्री प्रचण्ड

पञ्चकन्या । प्रधानमन्त्री पुष्पकमल दाहालले छहरे–टोखा सुरुङमार्ग निर्माण राजनीति गर्ने विषय नभई यो राष्ट्रको बृहत् हितका निम्ति हुने बताएका छन् । शनिबार पञ्चकन्या गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन कार्यक्रममा सम्बोधन गर्दै दाहालले छहरे–टोखा सुरुङमार्ग निर्माणमा सबैले राष्ट्रिय एकता प्रदर्शन गर्नुपर्ने बताए ।
    ‘कसले ग¥यो भन्दा पनि यसमा सबैले राष्ट्रिय एकता प्रदर्शन गर्नुपर्ने, राष्ट्रिय सहमति र राष्ट्रिय प्रतिबद्धता गर्नु पर्ने विषय हो,’ उनले भने, ‘छहरे–टोखा सुरुङमार्गले धेरैतिर बहुआयामिकरुपले नेपाल राष्ट्रको हित, आर्थिक क्रियाकलापमा हुने हुनाले हामीले राजनीतिक आग्रहबाट हेर्न हुँदैन ।’ प्रधानमन्त्री दाहालले भने, ‘राष्ट्रको आवश्यकतालाई हेरेर मैले कूटनीतिक तहमा र राजनीति तहमा पनि यो सुरुङमार्ग अगाडि बढाउन योगदान गरेर तपाईंहरूसँगै हिस्सेदार पाउँदा खुसी र गर्वको महसुस भएको छ ।’
    उनले यो पटक नुवाकोटले नीति तथा कार्यक्रममा पनि र बजेटमा पनि सकारात्मक हिस्सेदारी प्राप्त गरेको उल्लेख गरे । प्रधानमन्त्री दाहालले सरकारको नीति तथा कार्यक्रम र बजेटमा कृषि उत्पादन र उत्पादकत्व वृद्धि गर्ने कुरालाई प्राथमिकता दिएको पनि बताए । उनले रोजगारी सृष्टि गर्ने विषयमा बजेट केन्द्रित रहेको दाबी गरे । ‘जो उत्पादन कार्यक्रममा संलग्न छ उनीहरूको हातमा पैसा जाओस् भनेर कार्यक्रम ल्याइएको हो, विचौलियालाई होइन्,’ प्रधानमन्त्री दाहालले भने । सिंहदरबारको अधिकारलाई गाउँगाउँमा पु¥याउन धेरै संघर्ष र बलिदान गर्न परेको उनले बताए । नुवाकोटले संविधान र विकास निर्माणमा खेलेको भूमिकाको दाहालले स्मरण गराए ।
    पञ्ककन्या गाउँपालिका ३ लाकुरीभञ्ज्याङमा बनेको नयाँ तीनतले भवनमा २७ कोठा छन् । यसको लागत ६ करोड २ लाख रुपैयाँ रहेको गाउँपालिकाका अध्यक्ष तेजबहादुर तामाङले बताएको छन् । प्रधानमन्त्री दाहालले डिपबोरिङ, भवन अगाडिको बुद्धको मूर्तिसमेत उद्घाटन गरेका छन् । कार्यक्रममा अर्थमन्त्री डा. प्रकाशशरण महत, संघीय सांसद हितबहादुर तामाङ, वागमती प्रदेश सदस्य राधिका तामाङ, रमेशकुमार महत, एमाले नुवाकोट अध्यक्ष बद्री मैनालीले धारणा राखे ।

तादीमा दुईको ज्यान गयो

विदुर  । नुवाकोटको तादी गाउँपालिका ४ ढाँडेमा दुई फरक घटनामा दुई जानको ज्यान गएको छ ।
    ढाँडे स्थित शिवमन्दिरमा बिजुलीको तार वायरिङ गर्ने क्रममा स्थानीय २१ वर्षीय सुमन तामाङको करेन्ट लागेर मृत्यु भएको हो । अर्का स्थानीय १८ वर्षीय सरोज मिजार घाइते भएका हुन् ।
    यसै बीच, तादी गाउँपालिका–४ ढाँडेमा पौडी खेल्ने क्रममा शुक्रबार साँझ एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सिन्धुपाल्चोक ईन्द्रवती गाउँपालिका–८ बस्ने १८ वर्षीय अरुण श्रेष्ठ छन् । श्रेष्ठ खोलामा डुबेपछि स्थानीयको सहयोगमा प्रहरीले उद्धार गरी बाहिर निकालेको थियो । उनलाई अस्पताल लैजान नपाउँदै मृत्यु भएको प्रहरीले जनाएको छ ।

तस्बिर समाचार


पञ्चकन्या गाउँपालिकाको नवनिर्मित भवनको साँचो गाउँपालिका अध्यक्ष तेजबहादुर तामाङलाई शनिवार हस्तान्तरण गर्दै निर्माण व्यवसायी जनार्दन ढकाल (बाँयाँ) ।


सडकको आधा बजेट नुवाकोट, गोरखा र डडेलधुरामा

फाइल तस्बिर

काठमाडौं । प्रभावशाली नेताहरूको जिल्ला र निर्वाचन क्षेत्रका सडकमा बजेट छर्ने एउटा कार्यक्रम छ, वैकल्पिक सहायक राजमार्ग विकास कार्यक्रम । आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र शहरी विकास मन्त्रालय अन्तर्गत यो कार्यक्रम राखेर बजेट छुट्याएको छ भने प्रदेशमा दिएको सशर्त अनुदानमा पनि यो कार्यक्रम घुसाइएको छ ।
    यो कार्यक्रमका लागि भौतिक पूर्वाधार मन्त्रालयमा मात्र ५ अर्ब २० करोड ५७ लाख रुपैयाँ छुट्याइएको छ । तर यो रकमको झण्डै आधा रकम तीन नेता प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चुनाव क्षेत्र भएको गोरखा, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेलधुरा र अर्थमन्त्री डा. प्रकाशशरण महतको गृह जिल्ला नुवाकोट गरी तीन जिल्लाका सडक आयोजनामा पारिएको छ । मन्त्रालय स्रोतबाट प्राप्त विवरण अनुसार वैकल्पिक सहायक राजमार्ग विकास कार्यक्रम शीर्षक अन्तर्गत ५ अर्बको कूल रकममध्ये तीन वटा जिल्लामा २३२ करोड र बाँकी ७४ जिल्लामा २६८ करोड रकम छुट्याइएको छ ।
    सबभन्दा बढी रकम काँग्रेस सभापति देउवाको गृह जिल्ला डडेलधुराको सडकहरूमा एक अर्ब १० करोड रुपैयाँ बजेट परेको छ ।
    अर्थमन्त्री डा. महतले आफ्नो गृहजिल्ला नुवाकोटका २१ वटा सडकलाई वैकल्पिक सहायक राजमार्ग विकास कार्यक्रम अन्तर्गत राखेर ६७ करोड रकम विनियोजन गरेका छन् । २१ वटै योजनामा एक करोड भन्दा कम रकम छुट्याइएको छैन । तीन करोड, पाँच करोड, सात करोडका योजना छन् । तीनपिप्ले कुमारी फाँटपौवा बेलकोटगढी सडकका लागि १० करोड छुट्याइएको छ । ठाँटीभञ्ज्याङ पुरानीडाँडा, बाहुन डाँडा कार्यालय हुँदै गोल्फु भञ्ज्याङ सडकका लागि १० करोड रुपैयाँ छुट्याइएको छ ।
प्रधानमन्त्री प्रचण्डको निर्वाचन क्षेत्रसमेत भएको जिल्ला गोरखामा वैकल्पिक सहायक राजमार्ग विकास कार्यक्रम अन्तर्गत सबभन्दा धेरै ४१ वटा योजना पारिएको छ । ३०–४० लाखदेखि ५ करोडसम्मका गरी ४१ वटा योजनाका लागि ५५ करोड रकम छुट्याइएको छ । बुटार मकैसिङ साँधीखोला सडकका लागि ३० लाख, नाम्जुङ घैरुङ फुजेल सडक कालोपत्रे शहीद लखन सडकका लागि ४० लाख छुट्याइएको छ । यसमा शहरी विकास मन्त्रालय र प्रदेशमा सशर्त अनुदान अन्तर्गत गएका बजेट जोड्न बाँकी छ ।
सडक विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षमा २४ लाखदेखि ८ करोडसम्मका करिव ८०० आयोजना छन् । कुनै पनि आयोजनामा डीपीआर बनाएर योजनावद्ध काम भएको छैन । जति बजेट पर्छ, त्यो खर्च गर्ने काम मात्र हुने गरेको छ । ‘मन्त्रालयको नेतृत्वमा बस्ने, पहुँचवाला नेता र सांसदको क्षेत्रका सडकमा बजेट छर्ने कार्यक्रम हो’, एक अधिकारी भन्छन्, दिगो हुने कुरै भएन ।’ चालु आर्थिक वर्षमा जनता समाजवादी पार्टी (जसपा)का रेण्ुा यादव भौतिक योजना मन्त्री थिइन्, उनले आफूसँगै अध्यक्ष उपेन्द्र यादवको निर्वाचन क्षेत्र पर्ने सप्तरीका धेरै सडक राखिन् । केपी शर्मा ओली नेतृत्वको सरकारका पालामा भौतिक पूर्वाधारमन्त्री रहेका बसन्त नेम्वाङले पाँचथरका साथै झापामा बढी बजेट छरेका थिए ।
यो पटक बजेट छर्ने क्रम झन बढेको छ । अर्थ मन्त्रालयका अधिकारीहरूका अनुसार नयाँ र पुराना गरी आगामी आर्थिक वर्षमा करिव १८०० सडक आयोजनामा बजेट परेको छ । सडक विभागले ४ हजार ५०० सडक आयोजनाको प्रारम्भिक लिस्ट बनाएको थियो । त्यसमध्ये भौतिक पूर्बाधार मन्त्रालयले करिव १६०० सडक आयोजना छनोट गरेर अर्थ मन्त्रालय पठायो । मन्त्रालयले थपघट गरेर चालु ८०० र नयाँ करिव २०० सडक आयोजना राख्यो ।
यस्तै शहरी विकास अन्तर्गत पनि वैकल्पिक सहायक राजमार्ग विकास कार्यक्रम राखिएको छ भने केही सडक आयोजना प्रदेशहरूमा गएको सशर्त अनुदानमा राखिएको छ । सम्बन्धित मन्त्रालयबाट आएको लिस्टमा अर्थ मन्त्रालयले छानिछानी राख्ने र काट्ने क्रममा अर्थमन्त्रीले मनोमानी गरेका हुन् ।
भौतिक पूर्वाधार मन्त्रालयका एक अधिकारीका अनुसार डडेलधुरा, नुवाकोट र गोरखाका सडक आयोजना र त्यसका रकमहरू अर्थ मन्त्रालयबाटै आफूखुशी थपिएको हो । ‘स्रोतको दबाव छ भनेपछि हामीले सिलिङभित्र रहेर देशभर सन्तुलित रुपमा वितरण गर्ने गरी प्रस्ताव गरेका थियौं’, ती अधिकारी भन्छन्, ‘तर अर्थ मन्त्रालयले केही नेताको क्षेत्रमा आफूखुसी कार्यक्रम थप गरेको रहेछ ।’
बुधबार संसदमा पनि यसबारे प्रश्न उठेको छ । बजेटमाथि संसदमा भएको छलफलमा एकीकृत समाजवादीका सांसद अम्मरबहादुर थापाले तीन जिल्लामा आधा र बाँकी ७४ जिल्लामा आधा बजेट विनियोजन हुनु न्यायसंगत नभएको बताए । संघीयता अगाडि पनि नेपालमा धनुषा, काठमाडौं लगायतका केही महत्वपूर्ण जिल्लाहरू वा प्रभावशाली व्यक्तिहरूको जिल्लामा बढी बजेट जाने गरेको उल्लेख गर्दै उनले गणतन्त्रमा पनि यस्तो हुनु गलत भएको बताए । ‘संघीयता अगाडि पनि त्यस्तै हुन्थ्यो । प्रवुुद्ध व्यक्तिहरू भएका ठाउँमा मात्रै बजेट जान्थ्यो र त्यो बजेटले अन्यत्र छुँदैनथ्यो । त्यसैले संघीयता चाहिएको हो’, उनले अघि भने, ‘समानुपातिक वितरण होस् भनेर हामी संघीयताको पक्षमा लागेका हौं । आज पनि त्यस्तै हुने हो भने यो संघीयताको के औचित्य ?’
प्रभावशाली नेताले आफ्नो जिल्लामा बढी बजेट लैजाँदा संघीयताकै औचित्यमाथि प्रश्न उठेको उनको भनाइ छ । ‘जो छ उसैले हालीमुहाली गर्ने भए बहुदल, लोकतन्त्र, समावेशिता र संघीयताको के औचित्य छ ?’ सांसद थापाले भने, ‘बजेटलाई सही तरिकाले वितरण गरिएन भने दूरगामी असर पार्नेछ ।’

डीपीआर नै नबनेको सुरुङमार्गलाई बजेट

अर्थमन्त्री डा. महत

विदुर । आगामी आर्थिक वर्षको बजेटमा टोखा (काठमाडौं) –छहरे (नुवाकोट) सुरुङमार्ग निर्माणका लागि भन्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले एक अर्ब बजेट विनियोजन गरेका छन् । गृहजिल्ला नुवाकोट जोड्ने यो सुरुङमार्ग कस्तो डिजाइन र प्रविधिसहित बन्ने भन्ने तय नहुँदै अर्थमन्त्री महतले एक अर्ब बजेट विनियोजन गरेका हुन् ।
    बजेटमा ‘विस्तृत सम्भाव्यता अध्ययन, जग्गा प्राप्ति लगायत पूर्व तयारी पूरा भई कार्यान्वयनमा जान सक्ने आयोजनालाई वार्षिक बजेट तथा कार्यक्रममा समावेश गर्ने नीति लिएको घोषणा’ गरेका अर्थमन्त्री महतले विस्तृत परियोजना प्रतिवेदन, वातावरणीय प्रभाव मूल्याङ्कन, जग्गा प्राप्ति लगायतका प्रक्रिया सम्पन्न भई साइट क्लियरेन्स सुनिश्चित भएका तथा खरीद योजना स्वीकृत भएका आयोजनाको मात्र ठेक्का सम्झौता गर्ने व्यवस्था मिलाइने घोषणा गरेका छन् । तर, टोखा–छहरे सुरुङमार्ग तत्काल कार्यान्वयनमा जान नसक्ने जान्दा जान्दै किन प्राथमितकाक प¥यो भन्ने खुलेको छैन ।
    बजेटमा गरिएको घोषणाअनुसार आयोजना कार्यान्वयनका लागि कात्तिक महिनाभित्र ठेक्का व्यवस्थापन गरिसक्नु पर्ने हुन्छ । सो समयावधिमा ठेक्का प्रक्रिया अगाडि नबढेको कार्यक्रममा विनियोजित रकम रोक्का गर्ने घोषणा भएकाले यो सुरुङमार्ग पनि त्यही नीतिको ट्रयापमा पर्ने निश्चित रहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अधिकारीहरू बताउँछन् ।
    अहिलेसम्म यो आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) नै तयार नभएको सडक विभागले जनाएको छ । सम्भाव्यता अध्ययन सकिए पनि चीन सरकारले यसको प्रतिवेदन दिन बाँकी रहेको सडक विभागका प्रवक्ता रामहरि पोखरेलले जानकारी दिए । अहिलेसम्म यो आयोजनाको कुल लागत समेत टुंगो लागेको छैन ।
    ‘बजेट वक्तव्यमा घोषणा गरिएअनुसार १ अर्ब नै बजेट विनियोजन भएको हो भने त्यो सबै रकम यो वर्ष खर्च गर्न सकिंदैन,’ उनले भने, ‘आयोजनाको पूर्वतयारी नै सकिएको छैन, यो वर्ष हाम्रै स्रोतबाट अध्ययन सकाउने गरी काम गर्ने हो भने पनि ५–७ करोडको मात्रै काम हुन्छ होला ।’
    यो परियोजनाको डीपीआर टुंगो लगाएर त्यसअनुसार ठेक्का प्रक्रिया पुरा गर्न नै एक वर्षभन्दा बढी लाग्ने अधिकारीहरूको दाबी छ । यो वर्ष सरकारले सुरुङमार्ग विकास कार्यक्रमका लागि १ खर्ब ९५ करोड बजेट विनियोजन गरेको छ, यही कार्यक्रमअन्तर्गत टोखा छहरेको लागि एक अर्ब रुपैयाँ मात्रै हैन, निर्माण सुरु हुन लागेको सिद्धबाबा सुरुङमार्गको काम र विभिन्न सुरुङमार्गहरूको अध्ययन गर्न पनि बजेट छुट्याइएको छ । ठेक्का लागेर निर्माणको थालनी हुन लागेको सिद्धबाबा सुरुङमार्गको बजेट थोरै राखेर अर्थमन्त्रीले किन टोखा छहरे सुरुङमार्गमा खर्च नै हुन नसक्ने पैसा राखे भन्ने स्पष्ट छैन ।
सिद्धबाबा सुरूङमार्गबारे अध्ययन हुँदै
सरकारले वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) यो सुरुङमार्गको डीपीआर तयार गर्ने जिम्मा चीन सरकारलाई दिएको छ । तर, वातावरणीय प्रभाव अध्ययन पहिले गर्ने कि डीपीआर भन्नेमा नेपल र चीन सरकारबीच नै मतभेद छ ।
    चीनले पहिलो वातावरणीय प्रभाव अध्ययन हुनुपर्ने बताएको छ भने नेपाली अधिकारीहरूले डीपीआरले टुंगो लगाएको क्षेत्रमा मात्रै ईआईए गर्न सकिने बताउँदै आएका छन् । यसले गर्दा चिनियाँ पक्षले डीपीआर निर्माणको काम गर्न नै अलमल गरिरहेको छ ।
    १५ वैशाखमा अर्थमन्त्री डा. महत र नेपालका लागि चिनियाँ राजदूत छन् सोङबीच भएको भेटवार्ता पनि टोखा–छहरे सुरुङमार्ग निर्माणबारे छलफल भएको थियो । अर्थमन्त्री महतसँगको भेटमा चिनियाँ राजदूत सोङले नेपालभित्र पूर्वाधार क्षेत्रमै उच्चतम प्रयोग हुने गरी करिब ८० अर्ब रुपैयाँ उपलब्ध गराउन सक्ने जानकारी गराएका थिए ।
सम्भाव्यता अध्ययन
असोज २०७६ मा चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपाल भ्रमणमा आएका बेला टोखा–छहरे–गुर्जुभञ्ज्याङ र बेत्रावती–रसुवागढी (घट्टेखोला) सुरुङमार्गको अध्ययन गर्ने जिम्मा चीनले लिने सहमति भएको थियो । चीनसँगको समझदारीअनुसार सुरुङमार्गको डीपीआर बनाउन लाग्ने अध्ययन खर्च चीनले नै बेहोर्छ । डीपीआर बनेपछि बल्ल निर्माणको मोडालिटीमा छलफल हुने तय थियो ।
    तर, बजेटमा यो सुरुङमार्गका लागि नेपाल सरकार आफैंले ठूलो बजेट राखेपछि आन्तरिक स्रोतबाटै सुरुङ बनाउन खोजेको हुनसक्ने अनुमानन अधिकारीहरूको छ । यसअघि यो सुरुङमार्ग निर्माण, व्यवस्थापन, सञ्चालन र हस्तान्तरण (बुट) मोडलमा बनाउन चिनियाँ कम्पनीहरूले इच्छा देखाएका थिए ।
    नेपालले गरेको प्रारम्भिक अध्ययन र चीनले गरेको सम्भावइता अध्ययनले यो आयोजना बनाउन सम्भाव्य रहेको देखाइसकेको छ । अध्ययनमा काठमाडौंको टोखाबाट नुवाकोटको थानसिंह फाँटछेउ पुग्ने सुरुङमार्ग करिब चार दशमलव दुई किलोमिटरको सुरुङ बनाउन सकिने देखिएको थियो । अझ लगानी बढाउने हो भने ५ किलोमिटरभन्दा लामो सुरुङ बनाएर सडकको दुरी घटाउन सकिने विभागको भनाइ छ ।
    टोखाबाट थानसिंग फाँटबाट त्रिशुली हुँदै रसुवासम्म बन्ने सुरुङसहितको सडक गल्छी–स्याफ्रुबेंसी खण्डमा जोडिनेछ । सेनाले नदी किनारै–किनारै धुन्चे भएर जाने सडकको विकल्पमा गल्छी–स्याफ्रुबेंसी खण्डको ट्रयाक खोलिसकेको छ । त्यसैमा लगेर टोखाबाट जाने सडकलाई जोडिनेछ । स्याफ्रुदेखि रसुवागढीसम्म पनि चीनले अहिले सडक विस्तारको काम थालेको छ ।
यो सुरुङ र पहुँच मार्ग निर्माणपछि काठमाडौंबाट चीनको सीमासम्म मालबाहक सवारी पनि दुई घण्टामै पुग्न सक्ने विभागको भनाइ छ । यदि काठमाडौंसम्म सहज खालको दुई लेनको बाटो बनाउन सकियो भने चीनसँग नेपालको ब्यापार सहजीकरणमा पनि मद्दत पुग्ने भौतिक पूर्वाधार मन्त्रालयका अधिकारीहरू बताउँछन् ।
भूकम्पयता चीनले तातोपानी नाकालाई प्राथमिकतामा राख्न छाडेपछि रसुवाको केरुङवारिको रसुवागढी नाकासम्मका पूर्वाधार निर्माणलाई सरकारले महत्व दिएको छ । नाकासम्मको सडक बिजोक हालतमा रहेकाले यसको स्तरोन्नति गर्न विभिन्न परियोजनाहरू अघि बढेका छन् । त्यसमध्येको एक टोखा–छहेर सुरुङमार्ग पनि हो ।
केरुङ नाकासम्मको सडकको दुरावस्थाले अहिले पनि पटक–पटक दुःख दिने गरेको छ । सडकमा पहिरो खसिरहने कारण यो सडकमार्गमा दुर्घटनाको जोखिम पनि उच्च छ । प्रस्तावित सुरुङमार्ग बनेपछि तिब्बतबाट रसुवागढी नाका हुँदै नेपाल भित्रिने मालबाहक सवारी मात्रै नभएर चिनियाँ पर्यटककको संख्यामा पनि वृद्धि हुने अपेक्षा छ । पछिल्लो समयमा तिब्बतबाट केरुङ नाका भएर नेपाल भ्रमणमा आउने चिनियाँ पर्यटक पनि बढ्दैछन् । तर, नेपालतर्फका सडकको दुरावस्थाले धेरै पर्यटकलाई स्थलमार्ग भएर आउन रोक्ने गरेको छ ।
सडक विभागका अनुसार अहिले मालबाहक सवारीलाई रसुवागढीबाट काठमाडौं आइपुग्न १२० किलोमिटरको कष्टकर यात्रा तय गर्नपर्छ । उकालो–ओरालो, घुम्तीयुक्त सडकमा पहिरोको जोखिम उच्च छ भने धादिङको गल्छी आइपुग्दासम्म साँघुरा पुल र सडकका कारण सवारीलाई ६ घण्टा बढी समय लाग्छ ।
यो योजना पुरा हुँदा नाकासम्म सुविधायुक्त सडक मात्रै बन्ने छैन केरुङ र काठमाडौंको दुरी करिब ८० किलोमिटरमा छोट्टिने छ । प्रस्तावित सुरुङसहितको सडकमार्ग निर्माण भएपछि समग्र आपूर्ति व्यवस्थामा सुधार आउने र नाकाबन्दीजस्तो असहज अवस्था आएमा विकल्प पनि दिनेछ ।
तर, यो सुरुङमार्ग कहिलेदेखि निर्माणमा जान्छ भन्ने टुंगो छैन । अझ सुरुङमार्ग बनाएसँगै त्यसलाई उपयोग गर्ने गरी रसुवागढीसम्म जोड्ने नयाँ सडकमार्गको स्तरोन्नति कसरी गर्ने भन्ने समेत कुनै तयारी भएको छैन ।

कृषि उत्पादन गाउँपालिकाले किनिदिने

पञ्चकन्या । कृषि उपज बिक्री भएन ? अब चिन्ता नलिनुस् । यो चिन्ता लिन नपर्ने चाँही पञ्चकन्या गाउँपालिकाका किसानहरूले हो । गाउँपालिकाले ‘कृषकको ग्राहक गाउँपालिका’ कार्यक्रम अन्तर्गत किसानले उत्पादन गरेका कृषि उपजहरू बजारमा बिक्री नभएमा गाउँपालिकाले खरीद गर्ने कार्यक्रम अघि सारेको छ ।
    गएको शुक्रबार घलेभञ्ज्याङमा आयोजित सार्वजनिक सुनुवाई कार्यक्रममा गाउँपालिका अध्यक्ष तेजबहादुर तामाङ रमेशले बजारमा बिक्री हुन नसकेको किसानको उत्पादन गाउँपालिकाले खरीद गर्ने र खरीद गरेको कृषि उत्पादनको पालिकाले नै बिक्री गर्ने र यदी बिक्री नभएमा उपभोक्तालाई सित्तैमा वितरण गरिने बताए । चालु आर्थिक वर्षमा नै ‘कृषकको ग्राहक गाउँपालिका’ कार्यक्रमको लागि बजेट विनियोजन गरिए पनि कोही किसानहरू पनि आफ्नो उत्पादन बजारमा बिक्री भएन किनिदिन प¥यो भनेर नआएको अध्यक्ष तामाङले बताए । उनले यो आगामी आर्थिक वर्षमा पनि निरन्तरता दिने बताए ।
    अध्यक्ष तामाङ किसानहरूले आफ्नो उत्पादन खेर नजाओस्, बजार नपाएर कृषि कर्मबाट विमुख हुन नपरोस् भनेर यो कार्यक्रम ल्याइएको बताए ।
    पञ्चकन्या गाउँपालिकाले चालु आर्थिक वर्ष ०७९÷८० मा प्रवाह भएको सार्वजनिक सेवा तथा विकास निर्माणको प्रभावकारिता सम्बन्धी आयोजित सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागीहरूले विभिन्न विषयमा सवालहरू उठाएका थिए । धेरैजसो प्रश्नहरू सडक, कृषि, पूर्वाधार लगायतमा आएको थियो ।
    कर्मचारीको कमीले परेका समस्याहरू, बालविकास तथा शिक्षाका सवालहरू, निर्माण थालेर अलपत्र छाडिएको विकास निर्माणको कारण भएको जोखिम, समयमा काम सम्पन्न गराउनका गाउँपालिकाको भूमिका लगायत विषयमा पनि सहभागीहरूले गाउँपालिकाका जिम्मेवार पदाधिकारीलाई प्रश्न उठाए ।
    सार्वजनिक सुनुवाई कार्यक्रममा उठेका सवालहरूको गाउँपालिका अध्यक्ष तामाङ, उपाध्यक्ष विमला केसी, प्रमुख प्रशासकीय अधिकृत राममणि काफ्लेले जवाफ दिएका थिए ।
    कार्यक्रममा गाउँपालिकाको चालु आर्थिक वर्षको गतिविधी, प्रगतिको अवस्थाको बारेमा प्रमुख प्रशासकीय अधिकृत काफ्लेले जानकारी दिएका थिए । कार्यक्रममा स्थानीयबासी, विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ता, संघसंस्थाका प्रतिनिधीहरू, कर्मचारीहरूको सहभागिता रहेको थियो ।

गुर्जे–छहरे सडक दिउँसो बन्द

छहरे । सडक डिभिजन नुवाकोटले निर्माणाधीन गुर्जे–छहरे सडकमा गएको सोमबारदेखि असफाल्ट प्रविधिबाट कार्य गरिने भएकोले वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ ।
    कार्यालयका सूचना अधिकारी एवं इन्जिनियर सुमनराज बस्नेतले गएको आइतबार सूचना जारी गर्नुहुँदै गएको सोमबारदेखि जेठ ३२ गते (बिहीवार) सम्म बिहान ८ देखि दिउँसो ४ बजेसम्म असफाल्ट कार्य गर्दा सवारी आवागमन अवरुद्ध हुने भएकोले वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरे । उनले भने, ‘सडक पूरै बन्द भन्ने होइन, काफलडाँडा क्षेत्रमा पिच (कालोपत्र) प्रक्रिया जारी रहेको ठाउँमा असफाल्ट प्रविधिबाट काम गरिने भएकोले सवारी साधन आवागमनमा बेला बेला रोकिने भएकोले वैकल्पिक मार्ग प्रयोग गर्न भनेका हौं ।’
    गत चैत १३ गते ३ किलोमिटर सडक स्तरोन्नतिको सम्झौता भएबमोजिम शिवपुरी गाउँपालिका–८ को वडा कार्यालय आसपास, थापागाउँ क्षेत्रमा ढलान, नाली निर्माण, मर्मत, कालोपत्रका लागि बागेश्वरी वागमती सिम्रन जेभीले काम गरिरहेको छ । उक्त खण्डमा बागेश्वरीले ६ करोड (भ्याटसहित)मा निर्माण जिम्मा लिएको छ ।
    यस्तै चापाबोट क्षेत्रमा जी टेक सर्भिसेसले काम गरिरहेको छ । उक्त ठेक्का चालु आर्थिक वर्षमा केन्द्रीय बजेटमा छुट्याइएको ६ करोड रुपैयाँमध्येबाट ४ करोड रुपैयाँमा सम्पन्न गर्ने गरी सम्झौता भएको छ । सूचना अधिकारी बस्नेतका अनुसार गत आर्थिक वर्षको दुई करोड दायित्व वहन गर्न‘पर्ने भएकोले दुई किलोमिटरमा मर्मत र गुणस्तरीय पिचका लागि ४ करोडमा सम्झौता गरिएको हो ।

वाटरटावरको सरसफाई

 वाटरटावरको सरसफाई

बट्टार । विश्व वातावरण दिवसको अवसर पारेर सिद्धार्थ होटल वाटर टावरले नगर सरसफाई कार्यक्रम सम्पन्न गरेको छ ।
    विदुर नगरपालिका वडा नम्बर ४ घण्टाघर नजिक रहेको सिद्धार्थ होटल वाटर टावरले दिवसको अवसर पारेर होटल आसपासको विभिन्न स्थानमा सरसफाई गरेको होटलका प्रबन्धक किरण रिमालले जानकारी दिए । उनले आगामी सातादेखि हरेक हप्ता होटलले सरसफाइ कार्यक्रम गर्ने बताएका छन् ।
    प्रबन्धक रिमालले आफ्नो संस्था हरेक किसिमका सामाजिक कार्यमा अग्रसर हुने बताए । स्थानीयहरूको सहभागिता होटलमा पनि बढाउने उदेश्यले सिद्धार्थ होटल वाटर टावरले स्थानियलाई बर्थ डे, एनिभर्सरी बेबी सावर, आदि कार्यक्रम गर्दा फुड एण्ड वेभरेजमा १५ प्रतिशत छुट तथा निःशुल्क केक उपलब्ध गराउने, मिटिङ्ग सेमिनारमा निःशूल्क ए सी हल उपलब्ध गराउने, २९९ रुपैयाँमा ननभेज लन्च बक्स उपलब्ध गराउने तथा १० प्रतिशत छुटका साथहोटलका परिकारहरू होम डेलिभरी गर्ने रिमालले बताए ।

बालिकासँग पालिका कार्यक्रम

 बालिकासँग पालिका कार्यक्रम

खरानीटार । नुवाकोटको तादी गाउँपालिकाले विद्यालयमा बालिकासँग पालिका कार्यक्रम सञ्चालन गरेको छ । समुदायमा सानै उमेरमा किशोरीको विवाह हुने गरेको गुनासो आएपछि पालिकाले उक्त कार्यक्रम सञ्चालन गरेको हो ।
    पालिकाले उर्लेनीमा रहेको सुन्दरा माविमा बालविवाह न्यूनीकरण, मानव बेचबिखन नियन्त्रण तथा विविध सामाजिक सचेतनाका लागि बालिकासँग पालिका कार्यक्रम सञ्चालन गरेको हो । विद्यार्थी, अभिभावक तथा अन्य सरोकारवालाई बालविवाह र यसले पार्ने प्रभाव, असुरक्षित गर्भधारण, बेचविखन तथा मदिरा, जुवातास नियन्त्रण र नमूना गाउँका विषयमा गाउँपालिकाका उपाध्यक्ष सञ्जु प्याकुरेलले जानकारी दिइन् ।

पोल्ट्री अध्यक्षमा रिजाल

बट्टार । नुवाकोट पोल्ट्री व्यवसायी संघको अध्यक्षमा राजेन्द्र रिजाल निर्विरोध निर्वाचित भएका छन् । जेठ १५ गते भएको संघको प्रथम साधारणसभा तथा अधिवेशनले रिजालको नेतृत्वमा निर्विरोध कार्यसमिति चयन गरेको हो ।
    अधिवेशनले उपाध्यक्षमा कृष्णहरि गजुरेल सचिवमा सोमप्रसाद अर्याल र सह–सचिव रमेश चित्रकारलाई चयन गरेको छ भने कोषाध्यक्षमा रामकृष्ण प्याकुरेल निर्वाचित भएका छन् । सदस्यहरूमा श्यामकृष्ण चालिसे, इन्द्र न्यौपाने, पोस्तक अधिकारी, संन्जिव पौडेल र चिरञ्जीवी ओझा चयन भएका छन् । अन्य सदस्यहरूमा दिपक रिजाल, सुनिल तमाङ, हरिकृष्ण दुङगाना, याद कुमार जम्कटेल र निमेष नेपाल चयन भएको निर्वाचन समितिले जानकारी दिएको छ । नुवाकोट झण्डै २ हजार भन्दा बढी पोल्ट्री व्यवसाय आवद्ध रहेका छन् । नुवाकोट कुखुराको  अण्डा र मासुको लागि आत्मनिर्भर जिल्ला हो ।

अविवाहितलाई सम्मान

खरानीटार । नुवाकोटको तादी गाउँपालिकाले अविवाहित महिलालाई भत्ता प्रदान गरेको छ । गाउँपालिकाको योजना अनुसार महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखामार्फत पालिकाभित्र रहेका अविवाहित एकल महिलाको पहिचान गरेर उपाध्यक्ष सञ्जु प्याकुरेलले प्रोत्साहन भत्तासहित सम्मान गरेका थिए ।
    गाउँपालिकाका ४० वर्ष पूरा भएका ३४ जना एकल महिलालाई दोसल्ला ओढाएर सम्मान गर्न‘का साथै मासिक एक÷एक हजार रुपैयाँका दरले वार्षिक एकमुष्ट १२ हजार रुपैयाँ भत्ता प्रदान गरिएको हो ।

रास्वपाको लिखुमा मिश्र र पञ्चकन्या श्रेष्ठ सभापति

विदुर । राष्ट्रिय स्वतन्त्र पार्टीले पञ्चकन्या र लिखु गाउँपालिकामा पालिकास्तरीय समिति गठन गरेको छ ।
    लिखु र पञ्चकन्याको संयुक्त भेलाले लिखु गाउँपालिकामा विष्णुकुमार श्रेष्ठ र पञ्चकन्या गाउँपालिकामा निलकण्ठ मिश्रको सभापतित्वमा नयाँ पालिकास्तरीय समिति गठन भएको हो ।
    पञ्चकन्या गाउँपालिकाको सभापतिमा निर्वाचित मिश्र यस क्षेत्रका नेपाली काँग्रेसमा लामो समय योगदान दिएका व्यक्ति हुन् । उनी विगत ११ वर्षदेखि नेपाली काँग्रेससँग असन्तुष्ट रहँदै आएकोमा गत निर्वाचतमा कांग्रेसको क्रियाशील सदस्यता नविकरण गरिएको थियो । नेपाली काँग्रेसको पञ्चकन्या गाउँपालिका इकाई कोषाध्यक्षसमेत रहेका मिश्र काँग्रेससँग असन्तुष्ट हुँदै राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति बनेका हुन् ।
    २०२७ सालदेखि काँग्रेसमा क्रियाशील रहँदै हरेक आन्दोलनमा सहभागी हुँदै आएकोमा ११ वर्ष अघि भ्रष्टाचार बढाउने, विधि विधानमा सञ्चालन नभएको र विपिको विचारबाट काँग्रेस पछि हटेपछि कांग्रेस छाडेको उनी बताउँछन् ।
    १५ वर्षदेखि नेपाली कांग्रेस क्रियाशील थानसिंगका विष्णुकुमार श्रेष्ठ लिखु गाउँपालिकाको सभापति बनेका छन् ।
    दुई कार्यकाल नेपाली काँग्रेस थानसिंगको सचिव त्यसपछि थानसिंगको वडा सभापतिसमेत भएका श्रेष्ठ नेपाली कांग्रेस नेतृत्वको काम गराईको तरिका चित्त नबुझेर स्वतन्त्र पार्टीमा लागेको बताउँछन् । महेन्द्र माविको व्यवस्थापन समितिको अध्यक्षसमेत रहेका उनी पछिल्लो समय काँग्रेसको क्रियाशील सदस्य मात्रै रहेका थिए ।
    राष्ट्रि«य स्वतन्त्र पार्टीले सञ्चालन गरेका गतिविधिप्रति आकर्षित हुँदै बढ्दो राजनीतिक विकृतिको अन्त्य गर्नको लागि आफू स्वतन्त्र पार्टीमा लागेको उनले बताएका छन् ।
    राष्ट्रिय स्वतन्त्र पार्टीको लिखु पालिकास्तरीय कमिटिको उपसभापतिमा भवानी लामिछाने, सचिवमा विधान खड्का, कोषाध्यक्षमा कुमार पौडेल, र सदस्यहरूमा गोविन्दप्रसाद लामिछाने, प्रदिप लामिछाने, सुदर्शन श्रेष्ठ, सन्तबहादुर तामाङ, बोधकुमार ओझा, सुमन भण्डारी छन् ।

गाउँमा निःशुल्क आँखा शिविर

आँखा शिविर

शिवपुरी । नुवाकोट आइ केयर सेन्टर विदुर र आधारभुत स्वास्थ्य सेवा बिकास कार्यक्रम कबिलासको संयुक्त आयोजनामा शिवपुरी गाउँपालिकाको एक विद्यालयमा गएको हप्ता एक दिने आँखा शिविर सम्पन्न भएको छ ।
    कुम्भेश्वर माध्यमिक विद्यालयमा विद्यार्थी, शिक्षक तथा विद्यालयका कर्मचारीहरूको लागि निःशुल्क आँखा शिविर सम्पन्न भएको हो । शिविरमा शिक्षक विद्यार्थी गरी २ सय जनाको आँखा परिक्षण गरिएको छ । ती मध्ये १६ जना शिक्षक र २६ जना विद्यार्थी गरी ४२ जनालाई पावरवाला र एलर्जी भएको आँखामा प्रयोग हुने चस्मा वितरण हुने नुवाकोट आइ केयर सेन्टरका प्रमुख शंकर अधिकारीले बताए ।
    विद्यालयमा अध्ययनरत सम्पूर्ण विद्यार्थीहरूलाई सामान्य खालको चस्मासमेत वितरण गरिने अधिकारीले बताएका छन् । गाउँमा भएको उक्त शिविरमा आँखा परीक्षण पश्चात सिफारिस गरिएका दृस्टिदोष, एलर्जी भएका र नजिकको दृस्टि कमजोर भएका सम्पूर्ण विद्यार्थी शिक्षक र अन्य कर्मचारीहरूका लागि आवश्यकता अनुसार लेन्स फिटिङ्ग गरी एक साताभित्र चश्मा उपलब्ध गराइने उनले बताए । आधरभुत स्वास्थ्य सेवा विकास कार्यक्रम कबिलासको सहयोगमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

आधुनिक उपकरण हस्तान्तरण

 उपकरण हस्तान्तरण कार्यक्रम ।

खरानीटार । नुवाकोटको तादी गाउँपालिकाको चारवटा वडाका कृषकलाई आधुनिक उपकरण हस्तान्तरण गरिएको छ ।
    प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाई नुवाकोटले ९० प्रकारका कृषि उपकरण हस्तान्तरण गरेको हो । उपकरण ५० प्रतिशत अनुदानमा उपलब्ध गराइएको हो । किसान जागरण कार्यक्रम अन्तर्गत उपाध्यक्ष सञ्जु प्याकुरेलले हस्तान्तरण गरे । कृषियन्त्र कृषि सहकारी, कृषक समूह तथा कृषि फार्महरूलाई अनुदानमा उपलब्ध गराइएको इकाई प्रमुख कृष्णप्रसाद उपाध्यायले बताए ।
    प्रदान गरिएका सामग्रीहरूमा विषादी छर्कने स्प्रेयर ६१ थान, पेट्रोल लाग्ने मिनिट्रिलर २० थान, डिजेल लाग्ने  मिनिट्रिलर ६ थान, पिसानी गर्ने मेशिन दुई थान र धान झार्ने मेशिन एक थान रहेका छन् ।

वक्तृत्वकलाको उपाधि विविनाले जितिन्

बिजेतालाई प्रमाण पत्र वितरण गर्दै आयोजक

बट्टार । नुवाकोट जिल्लास्तरीय वक्तृत्वकला प्रतियोगिताको उपाधि विविना लामिछानेले हात पारेकी छिन् । बागमती प्रदेश सरकार सामाजिक विकास मन्त्रालय प्रदेश युवा परिषद् बागमतीको आर्थिक सहयोगमा जिल्ला युवा समिति नुवाकोटको आयोजनमा ‘युवा नवप्रबद्र्धन’ विषयमा भएको वक्तृत्वकला प्रतियोगिताको उपाधि बेलकोटगढी नगरपालिकाका विविना लामिछानेले हात पारेको जिल्ला युवा समिति नुवाकोटका अध्यक्ष उद्धव पनेरुले जानकारी दिए ।
यस्तै सुभेनियर वोर्डिङ्ग स्कुलकी सिम्रिका रिजालले दोश्रो स्थान हात पारेकी छिन् भने मंगलादेवि मावि सुर्यगढिकी सुनिता तामाङ तेस्रो भइन् । प्रथम भएकी लामिछानेले नगद १५ हजार रुपैयासँगै प्रमाणपत्र तथा वागमती प्रदेशस्तरिय वक्तृत्वकला प्रतियोगितामा सहभागी हुने अवसर प्राप्त गरेकी छिन् ।
दोस्रो भएकी रिजालले १० हजार र तेस्रो भएकी तामाङले ५ हजार रुपैयाँसहित प्रमाणपत्र हात पारेकी छिन् । प्रतियोगितामा विदुरका निशान नेपाली र सुभेनियर स्कुलका पुर्णिमा पाण्डेले सान्त्वना पुरस्कार एक हजार रुपैयाँसहित प्रमाणपत्र पाए ।
प्रतियोगिताको निर्णायक मण्डलमा प्राध्यापक तथा साहित्यकार शिवसुन्दर पुडासैनी, अधिवक्ता÷पत्रकार नवदिप श्रेष्ठ र साहित्यकार तथा गजलकार राजकुमार अर्जेल पुत्ला रहेका थिए । विजेताहरूलाई नुवाकोट आर्दश बहुमुखी क्याम्पस बट्टारका संचालक समितिका अध्यक्ष तथा साहित्यकार श्रीराम श्रेष्ठ लगायतले नगद तथा प्रमाणपत्र वितरण गरेक थिए ।

उजुरी छानविन गर्दै प्रशासन

विदुर । जिल्ला प्रशासन कार्यालय नुवाकोटले सरकारले दिएको समय सीमाभित्र संकलित मिटरब्याज पीडितहरूको उजुरीमाथि छानविन गरिरहेको छ ।  
    मिटर ब्याज पीडितहरूलाई उजुरी दिन आह्वान गरेपछि समय सीमाभित्र प्रशासनमा उजुरी दिन र परामर्श लिन जानेहरू धेरै रहेका थिए । कार्यालयको सहायता कक्षमा समयसीमा भित्रमा आठवटा लिखित उजुरी परेको छ ।
    नुवाकोटको विभिन्न स्थानीय तह ठेगाना भएका व्यक्तिहरूले आठ थान उजुरी दर्ता गरेकोमा सम्बन्धित उजुरीमाथि छानविन सुरु गरिएको सहायक प्रमुख जिल्ला अधिकारी वेदनिधि अधिकारीले जानकारी दिए ।
    उजुरी दर्ताका लागि जिल्ला प्रशासनले वैशाख मसान्तसम्मको समय तोकेकोमा दोस्रो पटक समयावधि थप गरेर यही जेठ १४ गतेसम्म कायम रहेको समयभित्र दर्ता भएका उजुरीमाथि छानविन सुरु गरेर सम्बन्धित व्यक्ति झिकाउने कार्य सुरु गरिएको उनले बताए । दर्ता भएका उजुरीलाई प्राथमिकता दिएर अनुसन्धान कार्य भइरहेको प्रमुख जिल्ला अधिकारी किरण थापाले जानकारी दिए ।

सहकारी संघको ध्यानाकर्षण

प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउदै संघका अध्यक्ष न्यौपाने

विदुर । सहकारी क्षेत्रमा देखिएको समस्यालाई समाधान गर्नको लागी नुवाकोटमा आवद्ध सहकारीकर्मीहरूले भुमी ब्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्रालयलाई ध्यानाकर्षण गराएका छन् ।
    आर्थिक बर्ष २०८०, ८१ को नीति तथा कार्यक्रममा सहकारीमा देखिएको समस्या समाधान गर्न‘को साटो अझै समस्या थपेको भन्दै सहकारीकर्मीहरूले नुवाकोटका प्रमुख जिल्ला अधिकारी किरण थापा मार्फत मन्त्रालय लाई ध्यानाकर्षण गराएका हुन् । ध्यानाकर्षण पत्रमा सहकारी संस्थाहरू निर्वाध रुपमा सञ्चालन गर्न तत्काल नेपाल सरकार, गृह मन्त्रालय मार्फत ७७ वटै जिल्ला प्रशासन कार्यालयमा सुरक्षा सम्बन्धी परिपत्र जारी गर्न‘ पर्ने, बिषम परिस्थितीका कारण कार्यालय सुचारु गर्न समस्यामा परेका केही सहकारी संघ संस्था सञ्चालनका लागी बाताबरण बनाउन कम्तिमा २ बर्षको ‘कुलिङ् पिरेड’ घोषणा गर्नु पर्ने लगाएतका १५ बुदा समावेश गरिएको छ ।
    यस अघि सहकारीमा नीतिगत समस्या र समाधानको लागी सरकारलाई सहकारी अभियानले १५ दिनको अल्टिमेटम दिइएपनि हालसम्म सहकारी अभियानको कुनैपनि माग सम्बोधन नभएको जिल्ला सहकरी संघ नुवाकोटका अध्यक्ष गोकर्णनाथ न्यौपानेले बताएका छन् ।

पञ्चकन्याको ५३ लाख चोरीमा तीन जनालाई अदालतको सफाई


दुई वर्षअघि पञ्चकन्या गाउँपालिका वडा नं. २ को वडा कार्यालय कविलासबाट ५३ लाख चोरी गर्दैको अवस्थाको सिसिटिभी फुटेज । तस्बिर : इमेज फाइल

विदुर । दुई वर्षअघि पञ्चकन्या गाउँपालिका वडा नं. २ को वडा कार्यालय कविलासबाट हराएको ५३ लाख रुपैयाँ कसले चोरेको भनेर अझै पत्ता लाग्न नसकेपछि स्थानीयबासी अन्यौलमा परेका छन् । नुवाकोट जिल्ला अदालतमा विचाराधीन मुद्दामा प्रतिवादीहरूले सफाई पाएसँगै रकम कसले चोरेको भनेर थप अन्यौल परेको हो ।
    उक्त रकम हराएको घटनामा पञ्चकन्या गाउँपालिका वडा नं. २ का तत्कालिन वडाअध्यक्ष ध्रुवप्रसाद मिश्रको जाहेरीमा तीन जना आरोपित छन् । तत्कालिन वडासचिव सरिता रावत, कार्यालय सहायक रामकुमार गिरी र कार्यालय सहयोगी नीलप्रसाद मिश्रलाई प्रतिवादी बनाइएको छ ।
    ‘अपराधिक विस्वासघात’ शीर्षकमा जिल्ला अदालतमा मुद्दा चलेको सरकारवादी यो मुद्दाले प्रतिवादीहरूले गत वैशाख १३ गतेको फैसलाबाट सफाई पाएका छन् । जिल्ला न्यायाधीश मदनबहादुर धामीको इजलासले गरेको अन्तिम फैसलामा अभियोग दावी नपुग्ने उल्लेख गरिएको छ ।
    फैसलाको विस्तृत विवरण सार्वजनिक भएको छैन । फैसलाका पूर्णपाठ आएपछिमात्र के के आधारमा प्रतिवादीहरूमाथि लागेको अभियोग दाबी नपुग्ने उल्लेख गरिएको थाहा हुने सरकारी वकिल कार्यालयका प्रमुख जिल्ला न्यायाधिवक्ता टेकराज भुसालले बताए । ‘के आधारमा अभियोग दाबी नपुग्ने भन्ने फैसलाको पूर्णपाठ आएपछि थाह हुन्छ ।’
    जिल्ला अदालतमा मुद्दा हारेपछि जिल्ला सरकारी वकिलको कार्यालय उच्च अदालतमा मुद्दा लिएर जाने तयारी थालेको छ । जिल्ला न्यायाधिवक्ता भुसालले फैसलाको पूर्णपाठ आएपछि उच्चमा जाने बताउँछन् । उनले जिल्लाबाट अभियोग दाबी नपुग्ने फैसला आउँछ भन्ने नलागेको बताए ।
    रकम हराएको घटनाको आवश्यक बलियो प्रमाणहरू पेश गरेको र अभियुक्त तीन जनाको पोलीग्राफ परीक्षण हुँदा पनि एक जनाले झुटो बोलेको परीक्षण प्रतिवेदनसमेत रहेको भुसालले बताए । जिल्ला न्यायाधिवक्ता भुसालका अनुसार आरोपितमध्ये कार्यालय सहायक रामकुमार गिरीले झुटो बोलेको पोलीग्राफ प्रतिवेदनसमेत संलग्न रहेको छ ।
    सरकारले अपराधिक विस्वासघातमा मुद्धा चलाएको हो । मुलुकी अपराध संहिताको दफा २५२ मा अपराधिक विस्वासघात गर्न नहुने विषय उल्लेख गरिएको छ । उक्त दफामा उल्लेख गरिएको छ– ‘आफ्नो जिम्मा वा संरक्षणमा रहेको अर्काको सम्पत्ति बेइमानीपूर्वक आफ्नो निमित्त प्रयोग गरेमा वा कुनै प्रकारले रुपान्तरण गरेमा वा त्यस्तो सम्पत्तिको उपयोग तत्सम्बन्धी करार वा शर्तनामा वा कानून विपरीत बेइमानीपूर्वक आफ्नो निमित्त उपयोग गरेमा वा अरु कसैलाई उपयोग गर्न दिएमा वा हक टुटाई अरुलाई दिएमा वा दिलाएमा र अर्काको कुनै काम कारोवार गर्ने जिम्मा लिएको वा कानूनी कर्तव्य पालन गर्नु पर्ने जिम्मेवारी भएको व्यक्तिले वा कुनै काम कारोवारका सम्बन्धमा अर्काको प्रतिनिधिको रुपमा काम गर्ने व्यक्तिले आफू वा अरु कसैलाई फाइदा पुर्याउनको लागि आफ्नो कर्तव्यको विपरीत कुनै काम गरी त्यस्तो व्यक्तिलाई कुनै हानि, नोक्सानी वा क्षति पु¥याएमा’ अपराधिक विस्वासघात गरेको ठहरिने लेखेको छ ।
    यस्तै कसैले अपराधिक विस्वासघात गरेकामा हुने सजाय पनि उल्लेख गरेको छ । ‘कुनै संस्थाको व्यवस्थापक, प्रबन्धक, कर्मचारी वा प्रतिनिधिको हैसियतले कुनै व्यक्तिले वा कुनै सम्पत्ति एक ठाउँबाट अर्को ठाउँमा पु¥याइदिने वा गोदाम वा अन्य कुनै ठाउँमा सुरक्षित साथ राख्ने जिम्मा लिएको वा त्यस्तो गर्ने कानूनी कर्तव्य भएको व्यक्तिले आपराधिक विश्वासघात गरेमा पाँच वर्षसम्म कैद र पचास हजार रुपैयाँसम्म जरिबाना’ हुने सकेत उल्लेख गरिएको छ ।
    जिल्ला अदालतले आरोपितहरूलाई सफाई दिएपछि उक्त रकम चोर को हो पत्ता लगाई दिन सरोकारावाला निकायहरूसँग पञ्चकन्या गाउँपालिकाका अध्यक्ष तेजबहादुर तामाङले आग्रह गरेका छन् ।
    ५३ लाख सरकारी पैसा कार्यालयबाट हराउनु भनेको गम्भीर विषय हो । यसलाई राज्यका निकायहरूले पनि गम्भीरतापूर्वक लिएका छन् । तर, अदालतबाट नै आरोपितले सफाई पाएपछि अब ५३ लाखको चोर को हो ? भन्ने प्रश्न पेचिलो बनेको छ ।
    उक्त रकम २०७७ चैत २४ गते राती चोरी वडा कार्यालयबाट चोरी भएको थियो । सामाजिक सुरक्षाको रकम चोरी भएपछि पञ्चकन्या गाउँपालिका वडा नं. २ का ज्येष्ठ नागरिक, अपांगता भएका, एकल महिला तथा दलित बालबालिकाले दुई वर्षअघिको सामाजिक सुरक्षा भत्ता पाउनबाट बञ्चित भएका छन् ।

जनसंख्या र घरधुरी घट्यो

विदुर । नुवाकोटको जनसंख्या दश वर्षअघिको भन्दा घटेको छ ।
    राष्ट्रिय जनगणना ०७८ को गएको आइतबार जिल्लास्तरीय नतिजा सार्वजनिक कार्यक्रमको क्रममा तथ्याङ्क कार्यालय नुवाकोटले सार्वजनिक गरेको तथ्याङ्क विवरणअनुसार नुवाकोटमा १४ हजार २६ जनसंख्या घटेको हो ।
    तथ्याङ्क कार्यालय नुवाकोटले सार्वजनिक गरेको नतिजाअनुसार जिल्लाको जनसंख्या दुई लाख ६३ हजार तीन सय ९१ रहेको छ । जसमा एक लाख २८ हजार ९९८ जना पुरुष र एक लाख ३४ हजार ३९३ जना महिला रहेका छन् ।
    कार्यालयका तथ्याङ्क अधिकृत दीपेन्द्रसिंह थामीले बताएअनुसार अहिलेको जनसंख्या दश वर्षअघिको जनगणना २०६८ अनुसार १४ हजार २६ घटेको छ । २०६८ को जनगणनाअनुसार नुवाकोटको जनसंख्या दुई लाख ७७ हजार ४७१ रहेको थियो ।
    दश वर्षको अवधिमा नुवाकोटको जनसंख्या घटेर दुई लाख ६३ हजार ३९१ हुन आएको छ ।
    दश वर्षको अवधिमा नुवाकोटमा घरधुरी संख्या नौ हजार ४६४ घटेको छ भने जनसंख्या १४ हजार २६ जना घटेको तथ्याङ्क कार्यालय नुवाकोटको तथ्याङ्क अधिकृत थामीले जानकारी दिएका हुन् ।
    घरजग्गामा महिलाको स्वामित्वलाई हेर्दा नुवाकोटमा घर मात्रै आफ्नो नाममा भएका महिला ८८२ जना, जग्गा मात्र आफ्नो नाममा भएका महिला चार हजार ९८४ जना, घरजग्गा नै आफ्नो नाममा भएका महिला ६ हजार ३६९ रहेको तथ्याङ्क कार्यालय नुवाकोटका प्रमुख थामीले जानकारी दिए ।

अध्यक्ष कप रिसाङ भूमि ठाडेलाई

फाइनल प्रतियोगिता

रसुवा । दोस्रो पालिका अध्यक्ष कप भलिबल प्रतियोगिताको ट्रफी रिसाङ भूमि ठाडेले हात पारेको छ । जेठ १५ गते सम्पन्न भएको फाइनल प्रतियोगितामा रिसाङ भूमि ठाडे टिमले जुनतारा ग्रेलाई २४–२६, २५–१८, २७–२५ र २५–१४ को सेटमा पराजित गर्दै प्रतियोगिताको ट्रफी हात पार्न सफल भएको हो ।
    गोसाइकुण्ड गाउँपालिकाले १६ औं गणतन्त्र दिवसको अवसरमा सदरमुकाम धुन्चेमा दोस्रो पालिका अध्यक्ष कप भलिबल प्रतियोगिताको आयोजना गरेको हो । विजेता टिमलाई नगद २ लाख रुपैयाँसहित ट्रफी, प्रमाणपत्र र मेडल प्रदान गरिएको छ । उपविजेता हुने टिमले नगद १ लाख ५० हजार रुपैयाँ, प्रमाणपत्र र मेडल पाएको छ । त्यस्तै तेस्रो हुने यार्सा टिमले नगद १ लाख रुपैयाँसहित प्रमाणपत्र र मेडल पाएको छ ।
    खेलको माध्यमबाट गोसाईकुण्ड गाउँपालिकाभित्र रहेको कला‚ संस्कृतिलगायत पर्यटकीय स्थलहरूको प्रचारप्रसार गरी पर्यटक भित्र्याउनका लागि भलिबल प्रतियोगिता तथा बृहत् सांकृतिक कार्यक्रमको आयोजना गरिएको गोसाईकुण्ड गाउँपालिका अध्यक्ष कैसाङ नुर्पु तामाङले बताएका छन् ।

गाउँकै उत्पादन खाजामा प्रयोग गर्न जोड

सचेतनाका कार्यक्रम

भोलाराज पौडेल (यो समय)

किस्पाङ । नुवाकोटमा परीक्षणको रुपमा सुरु गरिएको स्थानीय उत्पादनमा आधारित राष्ट्रिय विद्यालय दिवा खाजा कार्यक्रमलाई प्रभावकारी बनाउन सरोकारवालाहरूले जोड दिएका छन् ।
    सरकारले ०७५।०७६ देखि सञ्चालनमा ल्याएको दिवा खाजा कार्यक्रमलाई स्थानीय उत्पादनसँग जोड्नका लागि विश्व खाद्य कार्यक्रम र शान्ति भोलेन्टियर्स एसोसियन र कार्डसन नेपालले स्थानीय उत्पादनलाई प्रयोग गर्नको लागि विभिन्न सचेतनाका कार्यक्रम सञ्चालन गरिरहेका छन् । सरकारले कक्षा ६ सम्म अध्ययन विद्यार्थीका लागि दैनिक १५ रुपैयाँका दरले खाजावापतको रकम प्रदान गर्दै आइरहेको छ । सरकारले दिने उक्त रकम स्थानीय उत्पादन प्रयोग गर्दा विद्यालय क्षेत्रका अभिभावकले पनि फाइदा लिन सक्ने र पौष्टिक तत्व भएको उत्पादनमा जोड दिन सकिने किस्पाङ गाउँपालिकामा मंगलवार भएको कार्यक्रमका सहभागीहरूले बताएका छन् ।
    किस्पाङ गाउँपालिकामा निर्माण भएको दिवा खाजा भान्छा घर तथा सामूहिक हात धुने धाराको हस्तान्तरण कार्यक्रममा बोल्दै विश्व खाद्य कार्यक्रम दिवा खाजा कार्यक्रम इकाइ नेपाल डा. क्रिष्टिना मर्फीले विद्यालय र विद्यार्थीको विकास नै देश विकासको प्रमुख आधार भएको बताउँदै स्वस्थ, तन्दरुस्त एवं मानसिक एवं शारिरीक विकासका लागि चाहिने पौष्टिक आहार दिवा खाजामा दिन सके समुन्नत समाज निर्माणमा सहयोग पुग्ने बताइन् । ‘पौष्टिक आहारले नै वौद्धिक एवं शारिरीक विकास हुन्छ’, डा. क्रिष्टिनाले भनिन्–‘स्थानीय उत्पादनको प्रयोगले समुदायले ठूलो फाइदा लिन सक्छन् ।’
    कार्यक्रममा राष्ट्रिय विद्यालय दिवा खाजा कार्यक्रम परियोजना प्रमुख डा. दीपक गौतमले दिवा खाजा कार्यक्रमलाई प्रभावकारी बनाउन स्थानीय उत्पादन र स्थानीयलाई पनि रोजगार एवं कृषि पेशाप्रति आकर्षण बढाउनको लागि भूमिका खेल्नुपर्ने बताए । ‘सरकारले खाजा कार्यक्रमको लागि उपलब्ध गराउने रकम स्थानीयले विद्यालयको लागि खाजा विक्री गरी प्राप्त गरुन् भन्ने हाम्रो उद्देश्य हो’, गौतमले भने– ‘स्थानीय उत्पादन विद्यालयले खरिद गर्दा किसानलाई पनि विक्री केन्द्र बन्ने र आयस्रोतमा वृद्धि हुन्छ ।’
    कार्यक्रममा किस्पाङ गाउँपालिकाका उपाध्यक्ष अर्ज‘न न्यौपानेले सरकारले सामुदायिक विद्यालय र त्यहाँ अध्ययनरत बालबालिकाको वृद्धि विकासको लागि विभिन्न कार्यक्रम सञ्चालन गरेपनि शैक्षिक गुणस्तर कायम गर्न नसक्नु दुभाग्य भएको धारणा राखे । ‘हाम्रा सामुदायिक विद्यालयले निजी विद्यालयसँग प्रतिष्पर्धा गर्न नसक्नु दुर्भाग्य हो’ न्यौपानेले भने– ‘दिवा खाजासँगै शैक्षिक गुणस्तर वृद्धिमा सरोकारवाला सबै लाग्नुपर्छ ।’ जिल्लामा स्थानीय उत्पादनमा आधारित दिवा खाजा कार्यक्रम सञ्चालन गरिएपनि व्यवहारिक रुपमा केही कठिनाई रहेको बताउँदै उनले भावी दिनमा आफ्नो पालिकाले प्रभावकारी रुपमा अघि बढाउने बारेमा थप अध्ययन गरिरहेको बताए ।
    साझेदार संस्था कार्डसन नेपालका कार्यकारी निर्देशक पदम उप्रेतीले साझेदार संस्थाहरू कार्यक्रमबाट बाहिरिए पनि निर्वाध रुपमा स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने खालको दिवा खाजा कार्यक्रम सञ्चालन गर्न गाउँपालिकाले भूमिका खेल्नुपर्ने बताए । उनले यसका लागि गाउँपालिकाले प्रभावकारी निति कार्यान्वयन गर्न आवश्यक रहेको बताए ।
    शान्ति भोलेन्टियर एसोसियनका कार्यक्रम प्रमुख गणेशकुमार लामाले शैक्षिक गुणस्तर वृद्धिका लागि सरोकारवाला सबैको भूमिका प्रभावकारी नभएको गुनासो व्यक्त गरे । उनले विद्यालय सुधार योजना कागजी डकुमेन्टको रुपमा मात्र लागू भएकोले यसलाई व्यवहारिक कार्यान्वयनमा स्थानीय सरकारको भूमिका हुनुपर्ने बताए । इच्छाशक्ति भएमा स्थानीय सरकार, शिक्षक, अभिभावक तथा सरोकारवाला सबैको समन्वयमा शैक्षिक गुणस्तर वृद्धि योजना बनाउन सकिने बताए ।
    कार्यक्रममा वडा नं. ५ का वडा अध्यक्ष प्रकाश तामाङ, व्यवस्थापन समितिको तर्फबाट दिलकुमारी मोक्तान, शिक्षकहरूको तर्फबाट चुडामणि न्यौपाने, पालिकाका शिक्षा इकाई प्रमुख चक्र साउथ लगायतले खाजा कार्यक्रमले विद्यार्थीलाई नियमित विद्यालय जाने वानीको विकास, शैक्षिक गुणस्तरमा वृद्धि, बालबालिकाको शारिरीक तथा मानसिक विकासका साथै स्थानीय उत्पादनको बजारीकरणमा सहयोग पुगेको धारणा राखे ।
    कार्यक्रमा किस्पाङ गाउँपालिकामा निर्माण भएका ६ वटा दिवा खाजा भान्छाघर, ८ वटा सामूहिक हात धुने धारा विश्व खाद्य कार्यक्रमको तर्फबाट गाउँपालिकालाई हस्तान्तरण गरिएको थियो । जापान सरकारको आर्थिक सहयोगमा संयुक्त राष्ट्र संघ, विश्व खाद्य कार्यक्रमको प्राविधिक सहयोगमा किस्पाङ गाउँपालिको नुचेत आधारभुत विद्यालय, सप्चेत आधारभुत विद्यालय, जयबुद्ध आधारभुत विद्यालय, कालिका आधारभुत विद्यालय, कन्यादेवी आधारभुत विद्यालय, कालिकाभुमे आधारभुत विद्यालयमा भान्छा घर र सामूहिक हातधुने धारा निर्माण भएको छ भने सिम्राङचौर आधारभुत विद्यालय र कार्की मनकामाना आधारभुत विद्यालयमा बालमैत्री समूहिक धारा निर्माण भएको परियोजनाका इन्जिनियर सुमन दाहालले बताए । किस्पाङ गाउँपालिकामा निर्माण भएका संरचना ७२ लाख ९८ हजार ३० रुपैयाँको कुल लागतमा निर्माण भएको परियोजनाले जनाएको छ ।

बिद्यार्थीहरूलाई सचेतना कक्षा

सचेतना कार्यक्रम

विदुर । जिल्ला युवा समिति नुवाकोटले बिद्यार्थीहरूलाई लागु पदार्थ दुव्र्यसन तथा साइबर अपराध सम्बन्धि सचेत गराएको छ ।
    गएको बिहिवार जिल्ला युवा समिति नुवाकोटल विभिन्न विद्यालयका शिक्षक तथा विद्यार्थीहरू लाई लागु औषध भनेको के हो साइबर क्राइम भनेको के हो, यसबाट कसरी सचेत रहने र यस्ता घटनाहरू घट्न नदिनका लागी के कस्ता उपायहरू अवलम्बन गर्न सकिन्छ भन्ने जानकारी गराईएको थियो ।
    कार्यक्रममा नुवाकोटका साहायक प्रमुख जिल्लला अधिकारी बेधनिधी अधिकारीले लागु पदार्थ दुव्र्यसन र साइबर अपराधका बारेमा बिभिन्न घटनाहरू घटिरहेको तथ्याङक प्रस्तुत गर्दै त्यस्ता घटनाहरू घट्न नदिनका लागी हामी आफै सचेत हुनु पर्ने कुरामा जोड दिए ।
    यस्तै  जिल्ला युवा समिति नुवाकोटको अध्यक्ष उद्धव पनेरुले लागु पदार्थ र साइबर अपराधमा धेरै जसो युवा उमेरको बढी सक्रियता रहेकाले लागु पदार्थबाट बच्न र साइबर क्राइमबाट जोगिन सञ्चार माध्यमको प्रयोग सही तरिकाले गर्नुपर्ने बताए ।
    अध्यक्ष पनेरुले लागु पदार्थ दुव्र्यसनलाई अन्त्य गर्न सबै युवाहरू लागी पर्नुपर्ने कुरालाई समेत जोड दिएका थिए । पत्रकार महासंघ बाग्मतीका अध्यक्ष शिव देवकोटा, नुवाकोटका अध्यक्ष कपिलदेव खनाल, सचिव जगदिश खनाल लगातको उपस्थिती थियो ।

मानिसको दिमागमा चिप लगाउँदै एलन मस्क

एलन मस्क

ट्वीटर, टेस्ला, स्पेस एक्स लगायतका कम्पनीका मालिक एलन मस्कको अर्को कम्पनी न्युरालिंकले मानिसको मस्तिष्कमा चिप जडान गर्ने भएको छ । मानिसमा यस्तो परीक्षण गर्नका लागि न्युरालिंकले अमेरिकी खाद्य तथा औषधि प्रशासन (एफडीए) बाट स्वीकृति प्राप्त भएको हो । यो सँगै अब न्युरालिंकले मानिसको दिमागमा चिप लगाएर मानव परीक्षण गर्न सक्नेछ । न्युरालिंकले बाँदरको मष्तिष्कमा चिप जडानको सफल परीक्षण गरेको थियो ।
    न्युरालिंकले यस्तो स्वीकृतिका विषयमा ट्वीट पनि गरेको छ । उसका अनुसार एफडीएको अनुमति यस्तो महत्वपूर्ण कदम हो जसले भविष्यमा कम्पनीको सो प्रविधिबाट धेरै मानिसलाई सहयोग गर्ने मार्ग प्रसस्त गर्नेछ । यद्यपि न्युरालिंकले आफ्नो आगामी योजनाका बारेमा भने केही पनि उल्लेख गरेको छैन । न्युरालिंकको यो मष्तिष्क प्रत्यारोपण प्रविधि विभिन्न अर्थमा निकै उपयोगी सावित हुनेवाला छ । मष्तिष्कमा चिप लगाएर विभिन्न बिरामीहरुलाई ठूलो सहयोग गर्न सकिन्छ ।
    यदि यो ट्रायल सफल भएमा बोल्न नसक्ने तथा दिमागी रुपले असक्षम मानिसहरुका अलवा पक्षघात भएका विरामीहरुका लागि समेत बरदान सावित हुनेछ । एलन मस्कलाई आफ्नो यो प्रविधिप्रति यतिधेरै भरोसा छ कि गतवर्ष उनले आफ्नो बच्चाको मस्तिष्कमा समेत यहीँ चिप लगाउन तयार भएको बताएका थिए ।
    सन् २०१९ मै मस्कले सन् २०२२ सम्ममा न्युरालिंकलाई एफडिएबाट मानव ट्रायलका लागि स्वीकृति प्राप्त हुने दाबी गरेका थिए । तथापि एफडीएले भने न्युरालिंकको आवेदनलाई धेरैपटक अस्वीकार गरेको थियो । मानिसको दिमागमा जडान गर्ने भनेको चिपमा रहेको लिथियम ब्याट्रीप्रति एफडिएको सबैभन्दा ठूलो आपत्ति थियो । यदि कुनै कारणले चिपमा रहेको उक्त ब्याट्रीको रसायन मस्तिष्कमा चुहियो भने त्यसको परिणाम भयानक हुनसक्छ । न्युरालिंकको चिपमाथि सबैभन्दा ठूलो चुनौती मष्तिष्क कोशिकासँग रहेको छ ।
    न्युरालिंकले यसअघि बाँदरको मष्तिष्कमा चिप प्रत्यारोपण गरेर परीक्षण गरिसकेको छ । न्युरालिंकले त्यसरी प्रत्यारोपित बाँदरको भिडियो पनि सार्वजनिक गरेको थियो जसमा चिप जडान भएको बाँदरले कम्प्युटर गेम खेलेको देखाइएको थियो । न्युरालिंकको यो परीक्षणका सम्बन्धमा बाँदरलाई क्षति पुगे नपुगेको सम्बन्धमा अनुसन्धान पनि चलिरहेको छ । साथै चिपलाई मष्तिष्कमा सही ढंगले प्रत्यारोपण गरे नगरेको विषयमा पनि जाँच भैरहेको छ । – एजेन्सी

विद्युतीय गाडी : चलाउन सजिलो, खर्च पनि कम

सुमित्रा लुइटेल
अहिले नयाँ सवारीसाधन किन्न खोज्ने धेरैको झुकाव इलेक्ट्रिक गाडीमा देखिन्छ । तर अझै पनि कतिपय भने यसमा विश्वस्त हुन सकेको देखिंदैन ।
    अभिनेता तथा व्यवसायी सञ्जोग कोइरालाले विद्युतीय गाडी चलाउन थालेको पाँच वर्ष भयो । नयाँ प्रविधि र परिवर्तनलाई आत्मसात गरिहाल्ने स्वभावका कोइरालाले पनि नेपालमा इलेक्ट्रिक गाडीको चर्चा हुनासाथ यसलाई खरिद गरेर प्रयोग गर्न थालिहाले । ‘नयाँ प्रविधि र परिवर्तनलाई प्रयोग गरौं भन्ने सोच भएको मान्छे म । नेपालमा विद्युतीय सवारी साधन नयाँ थियो तर मैले भने विश्व बजारमा विद्युतीय गाडीको बारेमा अध्ययन गरिरहेको थिएँ । त्यसैले नेपालमा चर्चा हुन थाल्दा नै मैले विद्युतीय गाडी प्रयोग गर्न थालें,’ उनी भन्छन् ।
    आफूले विद्युतीय गाडी चढ्न थालेदेखि बाहिर चर्चा भएजस्तो कुनै पनि ठूलो समस्या नभोगेको उनी सुनाउँछन् । ‘विद्युतीय गाडीको ब्याट्री टिक्दैन, उकालो ओरालोमा कुदाउन मिल्दैन भनेर धेरैले भनेका थिए । तर त्यस्तो केही समस्या भोगेको छैन मैले,’ कोइराला भन्छन् । चार वर्षदेखि इलेक्ट्रिक गाडी प्रयोग गर्दै आएका नेपाल नवीकरणीय ऊर्जा कार्यक्रमका टिम लिडर सुमन बस्नेतको अनुभव पनि कोइरालाको जस्तै छ । पेट्रोलियम गाडीको भन्दा  विद्युतीय गाडीका धेरै फाइदा र सुविधा रहेको उनी बताउँछन् । ‘मेरी श्रीमती डा. सुधा बस्नेतले त झनै विगत १० वर्षदेखि विद्युतीय गाडी नै प्रयोग गर्दै आएकी छन् । छोराले पनि विद्युतीय स्कुटरको प्रयोग गर्छ,’ उनी भन्छन्, ‘विद्युतीय गाडीको सुविधा धेरै भएकाले गर्दा नै हाम्रो परिवारका हरेक सदस्यले यसलाई रोजेका हौं ।’
    पहिले पेट्रोलियम स्कुटर प्रयोग गर्ने स्वच्छ ऊर्जा नेपाल कार्यक्रमकी प्रबन्धक अञ्जु कोइरालाले आठ महिनादेखि भने विद्युतीय स्कुटरको प्रयोग गर्न थालेकी छन् । उनलाई पेट्रोलियम स्कुटरको तुलनामा विद्युतीय स्कुटर कम खर्चिलो लाग्यो । ‘पेट्रोलको लाइनमा घण्टौं उभिनु पर्दैन र सर्भिसिङमा पनि कम खर्च लाग्छ । साथै यसले ध्वनी प्रदूषण र वायु प्रदूषण पनि हुँदैन,’ उनी अनुभव सुनाउँछिन् ।
कम खर्चिलो
पेट्रोलियम गाडीको तुलनामा इलेक्ट्रिक गाडी निकै कम खर्चिलो हुन्छ । अभिनेता तथा व्यवसायी कोइराला भन्छन्, ‘पेट्रोलियम गाडीमा पोखरासम्म पुग्न केही हजार खर्च लाग्छ भने विद्युतीय गाडीमा ४०० सय रुपैयाँमा चार जना व्यक्ति पुगिन्छ ।’ नेपाल नवीकरणीय ऊर्जा कार्यक्रमका टिम लिडर बस्नेत गाडीको ब्याट्री समय–समयमा परिवर्तन गर्नुपर्ने भएपनि पेट्रोलको तुलनामा निकै कम खर्च लाग्ने बताउँछन् । ‘विद्युतीय गाडीको ब्याट्री समय–समयमा परिवर्तन गर्न‘पर्ने भए पनि पेट्रोलको भन्दा खर्च कम नै पर्छ । यसको ब्याट्रीको पनि निकै वर्षलाई ग्यारेन्टी दिइएको छ । अझ विद्युतीय गाडीको कर पनि कम पर्छ,’ उनी भन्छन् ।
चलाउन सजिलो, मर्मतमा कम खर्च
बस्नेत विद्युतीय गाडी चलाउन पनि सजिलो रहेको अनुभव सुनाउँछन् । अनावश्यक आवाज पनि यसबाट नआउने उनी बताउँछन् ।
    यसैगरी इलेक्ट्रिक गाडीको मर्मतसम्भारको लागत पनि कम पर्छ । कोइराला भन्छन्, ‘परम्परागत इन्धनबाट चल्ने कारमा आन्तरिक कम्बसन इन्जिन प्रयोग हुने भएकाले त्यसमा इन्जिन आयल, कुलेन्ट, ट्रान्समिसन फ्युल परिवर्तन गर्नेजस्ता काम गर्न‘पर्ने हुन्छ । तर विद्युतीय गाडीमा यी सबै खर्च हुँदैनन् ।’
राम्रो पिकअप, वातावरणमैत्री
कतिपयले विद्युतीय गाडीको पिकअप कम हुने टिप्पणी गरेको सुनिन्छ । तर यसका प्रयोगकर्ताहरु यसलाई खण्डन गर्छन् । ‘अहिले बजारमा डिजेल र पेट्रोल गाडीको जस्तै राम्रो पिकअप भएका विद्युतीय गाडी उपलब्ध छन् । साथै, यस्तो गाडीमा कुनै आवाज पनि नआउने भएकाले यसमा यात्रा गर्दा सजिलो र आरामदायी अनुभव हुन्छ,’ कोइराला भन्छन् । विद्युतीय गाडी कम खर्चिलो हुनुका साथै वातावरणमैत्री पनि छ । यसबाट धुवाँ ननिस्कने भएकाले वातावरण प्रदूषणको समस्याबाट पनि बच्न सकिन्छ ।
सुधार गर्नुपर्ने पक्ष
विद्युतीय गाडी पेट्रोलियमको तुलनामा निकै कम खर्चिलो भए पनि यसको ब्याट्री परिवर्तन गर्दा भने एकै पटक धेरै खर्च लाग्ने सुमन बताउँछन् । ‘तर ब्याट्री परिवर्तन गर्दा पनि पेट्रोलियम गाडीको भन्दा कम नै खर्च लाग्छ,’ उनी भन्छन् । अर्को कुरा नेपालमा चार्जिङ स्टेसनहरु कम रहेकाले लामो यात्रामा निस्कँदा समस्या हुन सक्ने कोइराला बताउँछन् । ‘चार्जिङ स्टेसन’ सबैतिर खोल्नुपर्छ । तर अहिलेकै अवस्थामा पनि हामीले यति पेट्रोल हाल्यौं भने यति किलोमिटर कुद्छ भनेर अनुमान गरेजस्तै यति चार्जले यति कुद्छ भनेर अनुमान गरेर हिंड्यौ भने खासै समस्या आइहाल्दैन,’ उनी भन्छन् । विद्युतीय गाडी धेरै उकालोमा चलाउँदा भने अलि गाह्रो हुन सक्ने ऊर्जा नेपाल कार्यक्रमकी प्रबन्धक कोइराला बताउँछिन् ।
    ‘नेपालको बाटो राम्रो छैन, त्यसैले पेट्रोलियम गाडीको तुलनामा विद्युतीय गाडी चलाउँदा अलि बढी ध्यान चाँही दिनुपर्छ । यस्ता कुरा सुधार भयो भने विद्यतुीय गाडी निर्विकल्प बन्न सक्छन् ।’

२०८० साल जेठ २९ गतेको सम्पादकीय

विद्यालय खाजाको इतिहास रचियोस्
सामुदायिक विद्यालयहरूमा दिवा खाजा कार्यक्रम प्रभावकारी रुपमा कार्यान्वयन गर्ने, गराउने दायित्व निर्वाह गर्ने प्रणालीको विकास गर्न आवश्यक देखिएको छ । स्थानीय तहका शिक्षा प्रमुख र जनप्रतिनिधिहरूलाई चाहिने आवश्यक न्यूनतम व्यस्थापकीय प्रशासनिक ज्ञान तथा प्राविधिक स्वास्थ्य मापन र पोषकतत्वको ज्ञान र सूक्ष्म र बृहद पोषक तत्वको स्रोत प्रयोग गरी सन्तुलित दिवा खाजाको व्यवस्थापन गर्ने सीप सहितको क्षमता अभिवृद्धि गर्नृु जरुरी देखिएको छ । यसलाई सम्बोधन गर्न नेपाल सरकारले कार्यक्रमलाई अगाडि बढाएको अवस्था छ । मानव पूँजी विकासको दृष्टिकोणले आधारभूत तहको विद्यालय तहमा बालबालिकाहरूलाई खुवाइने दिवा खाजाको महत्व अती धेरै छ । तर विद्यालय तहमा खुवाउन तोकिएको दिवा खाजाको मात्रा, गुणस्तर मापदण्ड एवं सुरक्षित र व्यवस्थापकीय प्रावधानको सजगता अति जरुरी हुन्छ । यसर्थ दिवा खाजाको प्रबन्ध गर्ने, स्रोत जुटाउने र पकाएर खुवाउने तथा लाभान्वित हुने विद्यार्थी र अभिभावक सहितका सरोकारवालाहरूलाई दिवा खाजाको वैज्ञानिक मापदण्ड सित राम्ररी सुसूचित गर्न, गराउन उच्च सचेतताको आवश्यकता हुन्छ । यसर्थ दिवा खाजासँग सम्बन्धित पोषण लगायत अन्य प्राविधिक विषयमा आवश्यक ज्ञान र क्षमता सरोकारवालाहरूमा अभिवृद्धि गर्न र गुणस्तरीय खाजाको सुनिश्चितता गर्न सरकार प्रतिवद्ध देखिन्छ । कुनै पनि बच्चालाई विद्यालयमा भोको पेटमा टिकाउन, सिकाउन र सिकाइलाई दिगो बनाउन असम्भव हुन्छ ।

जीवनको मुख्य आधार कृषि विकास र उत्पादन रहेछ, कृषि उत्पादन बढाउन, गाउँ समुदायमा आफ्ना बालबालिकालाई ताजा र स्वच्छ खाजा खुवाउन, पौष्टिक सन्तुलित आहारको व्यवस्था मिलाउन अति आवश्यक छ । विद्यार्थीलाई खाजा खुवाउने र खाजाको मात्रा, परिमाण सिकाउँदा शिक्षकले सामाजिक विषय, गणित विषय, भाषा विषय, विज्ञान विषय, स्वास्थ्य विषय, प्रकृति वातावरण, जीवजन्तु र सबै व्यवहारिक ज्ञान सिकाउने आधार दिवा खाजा मेनु तालिका हुन सक्छ । आज आफूले शिशु कक्षादेखि सिकेको र खाएको मात्रा क्रमशः घर परिवारमा लागू गर्न गराउन सहयोगी हुन सक्छ । आफूलाई बानी परेको खाद्य परिकार र शारीरिक, मानसिक तथा संवेगात्मक प्रभावको सिकाइलाई आफू आमा, बाबु र अभिभावक हुँदा पूर्ण रुपमा कार्यान्वयन गर्न सक्छन् । यसरी सम्पूर्ण स्वस्थ, स्वच्छ र सामाजिक अन्तरघुलन हुने जातपातको अमानवीय विभेदको अन्त्य गर्न अप्रत्यक्ष  भूमिका खेल्ने विद्यालय दिवा खाजा व्यवस्थापनमा सबै सरोकारवालाको सक्रीय सहभागिता आवश्यक छ । दिवा खाजाको लागि चाहिने स्थानीय उत्पादनमा आधारित खाद्य टोकरी र सो को आधारमा पोषणयुक्त सामान्य खाजा मेनु (सूची) को निर्माण गर्न सक्ने सीपको विकास गर्न, गराउन आवश्यक छ । विद्यालय दिवा खाजा कार्यक्रम व्यवस्थित रुपमा कार्यान्वयन गर्न आ–आफ्नो स्थानीय परिवेश अनुकूलको व्यवस्थापन प्रणाली छनोट गर्न र गुणात्मक खाजा प्रबन्ध गर्न स्थानीय तहहरूको सहयोग अपरिहार्य नै हुनेछ । दिवा खाजा सुरक्षित, गुणस्तरीय र पोषणयुक्त बनाउन आवश्यक पहल गर्ने, गराउने र सबै विद्यार्थीमार्फत समुदायस्तरमा सन्तुलित खानपिनको जग हाल्न विद्यालयहरू दिवा खाजा कार्यक्रमको माध्यमबाट सफल हुने नै छन् ।

दिवा खाजा तालिकाको सामग्री उत्पादन, गुणस्तरी मात्राको प्रयोग र पोषणतत्वलाई व्यवस्थापन गर्न कृषि र स्वास्थ्य सेवाको प्रभावकारीता बढ्ने नै छ । दिवा खाजामा मूल्यमान्यता बुझाउने स्रोत सामग्री एवं विधिहरूको उपयोग गरिएको मेनु तालिका सहित ७५३ स्थानीय तहमा जनशक्ति विकास र सिकाइ प्रक्रियालाई एकीकृत रुपमा अवलम्वन गर्न प्रशिक्षण सहजीकरण गर्न शिक्षाले केही प्रयासको काम त गरेको छ । तर सबै स्थानीय तह सम्म दिवा खाजा कार्यक्रम कार्यान्वयनलाई सहजीकरण गर्न आवश्यक पर्ने योजना, प्रणाली, नियम, टुल्स आदिको निर्माण गर्न अभिमुखीकरण गरेर यो अभियानलाई देशको अहम् मुद्दा स्थापित गराउन भने सकेको छैन । इमानदार व्यवस्थापन कुशलता सीप र असल नागरिकको जग विकासमा विद्यालय दिवा खाजाको इतिहास रचियोस् । सामाजिक न्यायको लोककल्याणकारी राज्यको अभिभावकत्वमा हाम्रा बालबालिकाहरू फस्टाउन सकून् । त्यसका लागि नुवाकोटका १२ वटै पालिकाले आफ्ना परिवेश, उपलब्धता र मौलिकता झल्काउने गरी खाजाको मेनु तयार गारएर सबै विद्यालयहरूमा लागू गराउनु आवश्यक छ ।

२०८० साल जेठ २९ गते । वर्ष:१६ अंक:३२