Monday, June 19, 2023

प्रअसंग स्पष्टिकरण माग

शिक्षकहरुको संयुक्त विज्ञप्ती

खरानीटार । आफ्ना मागहरू पुरा नभएको भन्दै आन्दोलनमा उत्रिएका सामुदायिक विद्यालयमा शिक्षकहरूले आइतवार गरेको विद्यालय बन्द समुदायस्तरमा आलोचित मात्रै भएको छैन, स्थानीय सरकारलाई लिखित जवाफ दिनुपर्ने कानूनी काम समेत सृजना भएको छ । नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिको आब्हानमा देशैभर आइतवार समुदायिक विद्यलायहरू बन्द गरिएको थियो । नुवाकोटमा समेत विभन्न पाँच राजनीतिक दलसंग नजिक रहेको शिक्षकहरूको भातृ संस्थाले विज्ञप्ती जारी गरेर सामुदायिक विद्यालय बन्दको आब्हान गरेका थिए ।
    तर, नुवाकोटको एक स्थानीय सरकारले भने मनलाग्दी रुपमा विद्यालय बन्द गरेर बन्द हड्तालमा उत्रिएका प्रधानाध्यापकहरूसंग लिखित जवाफ मागेको छ । नुवाकोटको तादी गाउँपालिकाले आफ्नो मातहतमा रहेको सामुदायिक विद्यालयहरू आइतवार बिना कारण बन्द भएको भन्दै स्पष्टिकरण सोधेको हो । सम्पुर्ण सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूलाई सम्वोधन गर्दै गाउँपालिकाका अध्यक्ष सन्तमान तामाङले दुई दिन भित्र चित्त बुझ्दो कारण लिखित रुपमा देखाउन सूचना जारी गरेको छ ।
    गाउँपालिकाले आइतवार सार्वजनिक गरेको पत्रमा लेखिएको छ ‘तादी गाउँपालिका अन्र्तगत सञ्चालित अधिकांश विद्यालयहरू स्थानीय सरकारको विना स्विकृति आइतवार बन्द रहेको पाइएकोले के कत्ति कारणले विद्यालयहरू बन्द गर्नुपरेको हो चित्त बुझ्दो जनवाफ सहित दुई दिन भित्र लिखित रुपमा गाउँपालिकामा अनिवार्य रुपमा स्पष्टिकरण पेश गर्नुुहन अनुरोध गरिन्छ ।’
    पेशाको ग्यारेन्टी, तलवमान कायम लगायतका माग राख्दै नुवाकोटमा क्रियाशिल शिक्षक, कर्मचारीका पेशागत घटकहरूले आइतवार जिल्लाका सम्पुर्ण सामुदायिक विद्यालय बन्दको आब्हान गरेका थिए । सोही आब्हानालाई मान्दै जिल्लाका प्रायः सामुदायिक विन्दाहरू आइतवार बन्द भए । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले आइतवार विद्यालय बन्द रहेको पाइएमा जागिर खाइदिने चेतनावनी शनिवार नै  िदएका थिए । जसले गर्दा शनिवार देखिनै शिक्षकहरूको उक्त आन्दोलन विवादित देखिएको थियो । विद्यालय नै बन्द गराएर शिक्षकहरू आन्दोलनमा उत्रनु अशोभनिय भन्दै समुदायस्तरमा नकारात्मक टिप्पणी भएको छ ।

विद्यालय नर्स कार्यक्रमले सुधारिँदै स्वास्थ्य

त्रिभुवन त्रिशुली माविमा विद्यार्थीको स्वास्थ्य परिक्षण गर्दै नर्स । तस्बिर : इमेज फाइल

सुनिता गुरुङ

विदुर । पढाई भइरहेको बेलामा स्कुलका किशोरीहरूमा महिनावारी भएमा बीचमै पढाई छाडेर घरै जानुपर्ने बाध्यता नुवाकोटका अधिकांश सामुदायिक विद्यालयमा अझै पनि छ । घण्टौँ हिँडेर विद्यालयसम्म पुग्नुपर्ने अर्को समस्या उस्तै छ । जसले विद्यार्थीहरूको स्वास्थ्यमा विभिन्न समस्याहरू देखिने गर्छ ।
    केही वर्ष अघिसम्म नुवाकोटको पञ्चकन्या गाउँपालिका वडा नम्बर ५ मा रहेको बच्छला माध्यमिक बिद्यालयका विद्यार्थीहरूको भोगाई पनि उस्तै थियो । सामान्य टाउको दुखेमा, पेट दुखेमा, विद्यार्थीहरू घरै जाने गर्थे । घाउ चोट लाग्यो भने, स्वास्थ्य चौकी र अस्पताल दौडाउनुपथ्र्यो । धेरै विद्यार्थी एकै पटक बिरामी भएमा विद्यालयलाई थप समस्या हुन्थ्यो । विद्यालयमा महिनावारी भएमा पढाई नै छोड्नुपर्ने अर्को समस्या थियो । महिनावारीकै कारण किशोरीहरूको धेरै दिन पढाई छुट्ने गथ्र्यो ।  जबदेखि विद्यालयमा ‘एक विद्यालय एक नर्स’ कार्यक्रम सञ्चालन भयो, विद्यार्थीहरूले त्यस्तो समस्या भोग्नु परेको छैन । विद्यालयमा २०७६ सालदेखि सञ्चालन भएको उक्त कार्यक्रमको प्रभावकारीता बढ्दै गएको छ । ‘एक विद्यालय एक नर्स’ कार्यक्रम लागू भएपछि विद्यार्थीहरूको स्वास्थ्यमा परिवर्तन आएको विद्यालय जनाएको छ ।
    कार्यक्रम सञ्चालन भएपछि विद्यालयमा स्वास्थ्य सेवा कक्षको व्यवस्था गरिएको छ । विद्यालयमा स्वास्थ्य सेवा कक्षको व्यवस्था भएकाले पनि विद्यार्थीको नियमित उपस्थिति भएको विद्यालयकी नर्स रबिना भट्ट बताउँछिन् । ‘कार्यक्रम लागू हुनु पहिले विद्यार्थी अस्वस्थ्य भएकै कारण पनि विद्यार्थीको उपस्थिति संख्यामा कमी देखिएको थियो,’ उनले भनिन्, ‘अहिले विद्यालयमै विद्यार्थीको नियमित स्वास्थ्य परीक्षण हुने भएकाले पनि विद्यार्थी उपस्थितिको संख्यामा वृद्धि भएको पाएका छौँ ।’ उनका अनुसार पढाई भइरहेको बेलामा विद्यार्थी बिरामी भए उनीहरू स्वास्थ्य सेवा कक्षमा आएर दुई÷तीन घण्टा आराम गरी औषधि उपचार पश्चात् पुनः पढाइका लागि आफ्नो कक्षा कोठामा जान्छन् । यदि बिरामीलाई विद्यार्थीलाई विद्यालयबाट उपलब्ध हुने सेवाबाट उपचार गर्न नसकिएमा विद्यालय र अभिभावकको समन्वयमा अस्पताल पठाउने गरिन्छ ।
    ‘एक विद्यालय एक नर्स’ कार्यक्रमको राम्रो प्रभाव किशोरकिशोरीमा देखिएको बच्छला माध्यमिक विद्यालयले जनाएको छ । विद्यालयको कक्षा ९ मा अध्ययनरत सानु तामाङ यस कार्यक्रमले आफूहरूको स्वास्थ्यमा धेरै परिवर्तनहरू आएको बताउँछिन् । यो कार्यक्रमले विशेष गरेर महिनावारीको समयमा धेरै सहजता प्रदान गरेको उनी सुनाउँछिन् । ‘पहिले पहिले विद्यालयमै महिनावारी भइयो भने के गर्ने÷कसो गर्ने हुन्थ्यो । महिनावारी लाजको विषय हुन्थ्यो,’ उनले भनिन्, ‘अहिले विद्यालयमा सञ्चालन भएको यो कार्यक्रमपछि हामी महिनावारीलाई लुकाउँदैनौँ । आफ्नो कुरा खुलेर भन्न सक्ने भएका छौँ ।’ विद्यालयले किशोरीहरूलाई निःशुल्क प्याङ वितरण गरेकाले पनि थप सहज भएको उनले बताइन् ।
    विद्यालयमा प्रजनन् स्वास्थ्य र यौन शिक्षाको बारेमा पनि शिक्षण गराउनुको साथै स्वास्थ्य परामर्श पनि दिइने भएकाले विद्यार्थीहरूले आफ्नो समस्या निर्धक्क भन्न सक्ने गरेको विद्यालयकी नर्स रबिना भट्ट बताउँछिन् । त्यसरकारण पनि यो कार्यक्रम  किशोरीहरूको लागि निकै नै प्रभावकारी भएको देखिन्छ । उनका अनुसार यो शिक्षणले किशोरीहरूको स्वास्थ्यमा समेत धेरै परिवर्तन आएको पाएका छौँ । ‘यस कार्यक्रम मार्फत विद्यार्थीहरूलाई बाल स्वास्थ्य, सरसफाई, पोषणयुक्त खाना, स्वास्थ्य परामर्श, यौन शिक्षा लगायतका विभिन्न विषयको बारेमा शिक्षण गराउने गरेका छौँ,’ उनले भनिन्, ‘यी विषयका शिक्षणकै कारण विद्यार्थीहरूको स्वास्थ्य र व्यवहारमा पनि परिवर्तन आएको पाएका छौँ ।’ उनका अनुसार विद्यार्थीहरूको स्वास्थ्य र सरसफाईमा आएको सुधारलाई कार्यक्रमको प्रमुख उपलब्धिको रुपमा लिएका छौँ ।
    ‘शौचालय प्रयोग गरेपछि साबुनपानीले राम्रोसँग हात धुनुपर्छ भन्ने बानीको विकास भएको छ,’ कार्यक्रमको प्रभावकारीता बारे बताउँदै उनले भनिन्, ‘उनीहरूमा आफ्नो स्वास्थ्यसँगै विद्यालय परिसर र कक्षा कोठाको सरसफाई गर्ने बानी बसेको छ ।’ विद्यार्थीहरूले विद्यालयबाट सिकेको यो अभ्यास आफ्नो घर परिवार र समुदायमा पनि लागू गर्ने गरेको अभिभावकहरू बताउँछन् ।  अभिभावकहरूले स्वास्थ्य र सरसफाई ध्यान दिन थालेका छन् ।
    विद्यालयमै नर्स भएपछि विद्यार्थीहरूको स्वास्थ्यमा सुधार आएको बच्छला माध्यमिक बिद्यालय पञ्चकन्या गाँउपालिका ५ भदु्रटार चनडाँडाका प्रधानाध्यापक रामकृष्ण गिरी बताउँछन् । उनका अनुसार विद्यार्थीहरूले आफ्नो स्वास्थ्यको सुरक्षा आफै राख्न सक्ने भएका छन् । ‘केही वर्ष अघिसम्म विद्यार्थी बिरामी भएमा शिक्षकहरूलाई धेरै तनाव हुन्थ्यो, के गर्ने ? कसो गर्ने ? कहाँ लैजाने ?,’ उनले भने, ‘अहिले विद्यालयमा नर्स भएपछि शिक्षकहरूलाई पनि धेरै सहज भएको छ । विद्यार्थीलाई स्वास्थ्यमा समस्या आए उनीहरू स्वास्थ्य सेवा कक्षमा गएर उपचार लिन्छन् ।’
    यो कार्यक्रम अहिले नुवाकोट जिल्लाको ४८ वटा बिद्यालयमा सञ्चालन भइरहेको छ । कार्यक्रमको  प्रभावकारिता बढेको प्रतिक्रिया आइरहेको जिल्ला शिक्षा समन्वय ईकाईले जनाएको छ । यो कार्यक्रम प्रत्येक विद्यालयमा सञ्चालन हुन आवश्यक छ । विद्यार्थीहरूको गुणस्तरीय शिक्षा र सुस्वास्थ्यका लागि यो कार्यक्रम निकै प्रभावकारी हुने शिक्षा बिज्ञहरूको सुझाब छ । विद्यालय नर्स कार्यक्रमले बिशेष गरी किशोरीहरूमा फाईदा पुगेको छ । झण्डै आफ्नै उमेरका दिदिहरूसँग आफ्नो समस्या खुलेर बताउन सक्ने अबस्थाले किशोरीहरू नर्ससँग नजिक हुन्छन् ।
    बागमती प्रदेशले सञ्चालन गरेको ‘एक विद्यालय एक नर्स’ अन्तर्गतको पहिलो चरणमा प्रदेशका २० वटा विद्यालयमा छनौटमा परेका थिए । जस मध्ये नुवाकोटको ४ वटा विद्यालय ‘पाइलटिङ’को लागि छनौट भएको उक्त विद्यालयमा कार्यक्रम प्रभावकारी भएपछि अहिले ४० विद्यालय पुगेको छ । एक पालिकाको ४ बिद्यालयमा अहिले यो कार्यक्रम सञ्चालन भैरहेको छ । १२ स्थानिय तह रहेको नुवाकोटमा बाग्मती प्रदेशबाट मात्रै ४८ बिद्यालयमा यो कार्यक्रम लागू भएको हो । त्यस बाहेक केही स्थानीय तह आफैले बिद्यालयको छनौट गरि विद्यालय नर्स समेत राखेका छन् । प्रदेश मार्फत सुरु भएको यो कार्यक्रमको प्रभाबकारीता बढे पछि स्थानीय तह समेत आफै अग्रसर भएको हो ।
    त्यसो त, पञ्चकन्या गाँउपालिकाले आफ्नै आन्तरिक श्रोतमा समेत विद्यालय नर्स राखेको छ । प्रदेशबाट सञ्चालित कार्यक्रमको नतिजा उत्कृष्ट आएसंगै पालिका भित्र रहेका सबै बिद्यालयमा एक जना विद्यालय नर्सको ब्यबस्थापन गाउँपालिका आफैले गरेको गाउँपालिका अध्यक्ष तेज बहादुर तामाङले जानकारी दिएका छन् ।
    उनका अनुसार कार्यक्रम सञ्चालनमा आएसँगै विद्यालयमा हेल्थ क्लब, अभिमुखिकरण, विद्यार्थीको नियमित स्वास्थ्य चेकजाँच गरी हेल्थ प्रोफाइल जस्ता गतिविधी सुचारु भएको छ । विद्यार्थीको स्वास्थ्य स्थितिबारेमा कक्षागत रुपमा विद्यार्थीका अभिभावक विद्यालयमा बोलाई जानकारी गराउने गरिएकाले यो कार्यक्रमको प्रभाव समुदाय स्तरमा राम्रो भएको पाइएको पालिका अध्यक्ष तामाङले बताए । 
    ‘एक विद्यालय एक नर्स’ कार्यक्रम किशोरीहरूको लागि निकै नै फलदायी भएको पञ्चकन्या गाँउपालिकाका अध्यक्ष तेजबहादुर तामाङले बताएका छन् । उनका अनुसार कार्यक्रम किशोर किशोरी, बालबालिका मात्र नभएर अभिभावकहरूलाई पनि प्रभावकारी भएको छ । यसले सबैलाई स्वास्थ्यप्रति सचेत बनाएको छ । ‘यो कार्यक्रमले किशोरीहरूको स्वस्थ्य सुरक्षित बनाएको छ,’ उनले भने, ‘विशेष गरेर किशोरीहरूले महिनावारीको समस्या बारे खुलेर भन्ने सकिरहेका हुदैँनन् । महिलाको समस्या महिलाले नै बुझ्ने भएकाले किशोरीहरूले आफ्ना समस्या नर्ससँग निर्धक्क राख्न सक्ने भएका छन् । उनीहरू आफ्नो स्वास्थ्यको ख्याल राख्न सक्ने भएका छन् ।’
    अहिले नुवाकोटको सबै पालिकामा रहेका सार्बजानिक बिद्यालयहरूमा सञ्चालन भएको उक्त कार्यक्रमको प्रभावकारीताकै कारण विद्यार्थीहरूको शैक्षिक गुणस्तरमा वृद्धि भएको छ । ‘विद्यार्थीको स्वास्थ्य राम्रो भएमा मात्र विद्यार्थीको शैक्षिक गुणस्तर राम्रो हुन्छ,’ ‘यो कार्यक्रम सञ्चालन भएको विद्यालयका विद्यार्थीहको स्वास्थ्य स्थिति राम्रो छ । विद्यालयमा स्वास्थ्य सेवा कक्ष पनि सञ्चालन भएकाले विद्यार्थीहरूको नियमित उपस्थिति भएको पाएका छौँ ।’
    यो कार्यक्रमले समुदाय स्तरमा स्वास्थ्य बारेमा जनचेतना फैलाउन मद्दत पुगेको पञ्चकन्या गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत राममणि काफ्लेले बताए । उनका अनुसार यो कार्यक्रमको प्रभावकारीतकै कारण स्वास्थ्य, सरसफाई, पोषणयुक्त खानेकुरा लगायतका विभिन्न विषयमा विद्यार्थीहरूले जानकारी पाएका छन् । उनीहरूले आफ्नो स्वास्थ्यको सुरक्षा आफै राख्न सक्ने भएका छन् । विद्यार्थीहरूलाई यिनै विषयमा केन्द्रित भएर स्वास्थ्य कक्षा पनि सञ्चालन भएकाले यसको प्रभाव राम्रो देखिएको उनले बताए ।
    किशोर–किशोरीको यौन तथा प्रजनन स्वास्थ्य सुधारको आवश्यकता महसुश गरी बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले ‘एक विद्यालय एक नर्स’ कार्यक्रम सञ्चालनमा ल्याएको थियो । विद्यालय तहबाटै बालबालिकालाई सन्तुलित र पोषिलो खानेकुराका साथै स्वास्थ्य सरसफाई र पोषण प्रबद्र्धन गर्न विद्यालयमा नर्स राख्ने कार्यक्रम मन्त्रालयले गरेको थियो ।

महिलाको नाममा स्वामित्व बढ्दै

रसुवा । मालपोत कार्यालयबाट हुने रजिस्टे«सनमा राजस्व छुट पाएका कारण महिलाका नाममा जग्गा जमिनको भू–स्वामित्व कायम गराउने बढ्न थालेको छ । महिलालाई अचल सम्पत्तिको मालिक बनाई जीवनयापनमा सहजको साथै पारिवारिकरूपमा हुने विभेद हटाउन सरकारले विगत लामो समयदेखि राजस्वमा ५० प्रतिशत छुट दिने प्रावधान ल्याएपश्चात् रसुवामा पछिल्लो समय महिलाको नाममा भू–स्वामित्व बढ्न थालेको हो ।
    रसुवा र नुवाकोट हेर्ने तथ्याङ्क कार्यालयले आम नागरिकलाई जनगणनाको नतिजाबारे जानकारी गराउन विवरण सार्वजनिकीकरण कार्यक्रम गरेको हो । राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्क गएको मङ्गलबार धुञ्चेमा सार्वजनिक गर्दै तथ्याङ्क कार्यालय नुवाकोटले ८२६ रसुवाली महिलाले एकलरूपमा भू–स्वामित्व कायम गरेको जानकारी दिएको हो । तीमध्ये १८८ महिलाको घर निर्माण र ६३८ महिलाको जग्गा मात्र रहेको छ । नौ सय ५० महिलाको भने श्रीमानबीच संयुक्त जग्गाधनी प्रमाण पुर्जा लिएको तथ्याङ्क अधिकृत दीपेन्द्रसिंह धामीले जानकारी दिए ।
    २२ हजार ६५४ महिला रहेको रसुवामा क्रमिकरूपले महिलाको नाममा भू–स्वामित्व बढ्दै गएको छ । महिलाको नाममा जग्गामध्ये सदरमुकाम क्षेत्रमा २५ प्रतिशत र अन्य क्षेत्रमा ५० प्रतिशत राजस्व छुट हुने प्रावधान रहेको मालपोत प्रमुख गणेश श्रेष्ठले जानकारी दिए । छब्बीस जातजाति रहेकोे रसुवाको कूल जनसंख्या ४६ हजार ६ सय तथा ८९ रहेको छ । तीमध्ये ३२ हजार १२७ तामाङ समुदायको बाहुल्यता रहेको तथ्याङ्कले देखाएको छ ।
यस्तै ६९.६० प्रतिशत साक्षर रहेको रसुवामा ११ हजार १३१ परिवारले आवास निर्माण गरेको बताइएको छ । रसुवाबाट वैदेशिक रोजगारका लागि जानेमा ९७३ महिला एवं एक हजार ३२९ पुरुष रहेको विवरण सार्वजनिक गरिएको छ ।

जग्गाको कित्ताकाट खुल्यो

बेलकोटगढी । बेलकोटगढी नगरपालिका भित्रको जग्गाको कित्ताकाट खुलेको छ । बुधबार साँझ भु उपयोग परिषद्ले नगरपालिकाभित्रको जग्गाको कित्ताकाट र अंशबण्डा खुलाउने निर्णय गरेको मालपोत कार्यालय नुवाकोटका प्रमुख होमनाथ सेढाईले जानकारी दिएका छन् ।
    संघीय सरकारले भू–उपयोग ऐन जारी गरेसगैं रोकिएको जग्गाको कित्ताकाट बेलकोटगढी नगरपालिकामा अब खुला भएको हो । मालपोत कार्यालयलाई प्राप्त निर्णयपत्रका अनुसार बेलकोटगढीको जग्गा वर्गीकरण विस्तृतमा उल्लेख भएसगैँ कित्ताकाट खुला भएको जानकारीको पत्र बुधबार पठाइएको सेढाइँले बताए ।
    पालिकाभित्रका जग्गाको कित्ताकाट खुला हुँदा नागरिकलाई राहत भएको नगर प्रमुख जगतबहादुर गुरुङले बताएका छन् । कित्ताकाट नखुलेका कारण घरजग्गा कारोबारको काम रोकिएको थियो । यसघि नुवाकोटका १२ स्थानीय तहमध्ये विदुर नगरपालिका, किस्पाङ र म्यागङ गाउँपालिकाले जग्गा वर्गीकरण गरेका थिए । भूमि व्यवस्था, सहकारी गरिबी निवारण मन्त्रालयले गत जेठ २३ गते राजपत्रमा भूउपयोग नियमावली, २०७९ जारी गर्दै जग्गा वर्गीकरण पश्चात मात्रै खुला हुने भन्दै कित्ताकाट बन्द गरेको थियो ।
    भू–उपयोग नियमावली अनुसार जग्गालाई मुख्यतः  कृषि क्षेत्र र गैह्र कृषि क्षेत्रमा विभाजन गर्न‘पर्छ । गैह्र कृषि क्षेत्रअन्तर्गत आवासीय, व्यावसायिक, औद्योगिक, खानी तथा खनिज, वन, नदी–खोला–ताल तथा सिमसार, सार्वजनिक उपयोग, सांस्कृतिक तथा पुरातात्विक महत्व र नेपाल सरकारबाट आवश्यकताको आधारमा तोकिने अन्य क्षेत्र भनेर कूल दश समूहसम्म वर्गीकरण गर्न पाइने उल्लेख छ ।

झाडापखालाबाट दुईको मृत्यु

समुन्द्रटार । नुवाकोटको दुप्चेश्वर गाउपालिका वडा नम्बर ४ होइमाङका ११ वार्षिया सुनिता तामाङ र ५ वार्षिया आइसानी तामाङको झाडापखालाको कारण मृत्यु भएको छ ।
    सुनिता र आईसानीको उपचारको क्रममा काठमाडौ स्थित शिक्षण अस्पतालमा मृत्यु भएको वडा नम्बर ४ का वडा अध्यक्ष ज्ञानबहादुर तामाङले जानकारी दिएका छन् । अध्यक्ष तामाङका अनुसार आमा चप्का तामाङको उपचार भईरहेको छ ।

पहिरोले पुरिएर एकको मृत्यु

विदुर । नुवाकोटको बेलकोटगढी नगरपालिका–२ लामाचौरमा सडक माथिबाट झरेको पहिरोले पुरिएर एक जनाको मृत्यु भएको छ । सडकको नाला सफा गर्ने क्रममा पहिरो झर्दा बिहीबार बेलकोटगढी–१२ का ३२ वर्षीय मनकुमार तामाङको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका डिएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।

आज समाजवादी मोर्चा घोषणा हुने

मोर्चाका नेताहरु

विदुर । संविधानप्रदत्त समाजवाद स्थापनालाई प्रमुख प्राथमिकतामा राखी आज सोमबार समाजवादी मोर्चा घोषणा हुने भएको छ । प्रधानमन्त्रीनिवास बालुवाटारमा आइतवार बसेको नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी नेपाल र नेत्रविक्रम चन्द नेतृत्वको नेकपालगायतका राजनीतिक दलले समाजवादी मोर्चा निर्माणमा सहमति जुटाएका हुन् ।
आज सोमबार दिउँसो ३ बजे राष्ट्रिय सभागृहमा एक कार्यक्रम गरी समाजवादी मोर्चा घोषणा हुनेछ । बैठकमा सहभागी जनता समाजवादी पार्टी नेपालका नेता राजेन्द्र श्रेष्ठका अनुसार आइतवारको बैठकमा समाजवादी मोर्चा र त्यसको न्यूनतम कार्यक्रमबारे आवश्यक सहमति भएको छ । समाजवादी मोर्चा बनाउने प्रयास धेरै पहिलेदेखि भए पनि औपचारिकता भने पाउन सकेको थिएन । माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले लगातार विभिन्न राजनीतिक दलसँग यसबारेमा संवाद गर्दै आएका थिए ।
आइतवारको बैठकमा शीर्ष नेताहरूको उपस्थिति थियो । बैठकले मोर्चाको न्यूनतम कार्यक्रमसमेत तय गरेको र सोमबार नै सार्वजनिक गरिने बताइएको छ । मोर्चामा डा. बाबुराम भट्टराई नेतृत्वको समाजवादी पार्टी नेपालसमेत सहभागी हुने बताइएको छ । यसअघि नै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अध्यक्ष भट्टराईबीचको भेटवार्तामा सो सहमति भइसकेको छ ।
    मोर्चाले संघीयता, लोकतन्त्र, सुशासन, समृद्धि र सामाजिक आर्थिक न्यायसहितको नेपाली विशेषताको समाजवादको स्थापना गर्न‘ मोर्चाको प्रमुख उद्देश्य हुने जनाएको छ । त्यस उद्देश्य प्राप्तिका लागि आफ्ना वैचारिक एवं राजनीतिक प्रतिबद्धताहरूलाई १५ वटा बुँदामा छ । जसका मुख्य बुँदाहरू यस्ता छन् ।
– संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र सुदृढीकरण गर्दै नेपाली समाजवादको विशेषताहरू पहिचान गरी समाजवादको नेपाली बाटो तय गर्ने ।
– नेपालमा सदियौंदेखि कायम रहिआएको वर्गीय, जातीय, भाषिक, क्षेत्रीय, लैङ्गिक र जात व्यवस्थाजन्य शोषण, उत्पीडन, असमानता र विभेदहरू अन्त्य गर्ने । त्यसका लागि निरन्तर जनपहल र जनदवाव सृजना गर्ने । मानव विकास सूचकाङ्कमा पछाडि परेका मधेश, कर्णाली र सेती–महाकालीलगायत पिछडिएको क्षेत्र र जनताको विकास र अवसरलाई विशेष प्राथमिकतामा राख्ने ।
– राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक रूपले बहिष्करणमा परेका वा पारिएका मधेसी, आदिवासी जनजाति, खस, दलित, मुस्लिम, थारु, पिछडा वर्ग, अल्पसंख्यक समुदाय, विपन्नवर्ग लगायतका सीमान्तकृत समुदायहरूको पहिचानको मान्यता, समावेशीकरण र सामाजिक न्यायको प्रत्याभूति गराउने कार्य अगाडि बढाउने ।
– जनताको नागरिक र राजनीतिक अधिकारका साथै आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारको प्रत्याभूति गराउँदै शान्तिपूर्ण, न्यायसंगत र समावेशी समाजको निर्माण गर्ने ।
– वित्तीय एकाधिकार तथा दलाल पूँजीवादको शोषण र हस्तक्षेपबाट मुक्त तथा सार्वजनिक, सहकारी र निजी क्षेत्रको समन्वयात्मक, सहकार्यात्मक र क्रियाशील भूमिकाका आधारमा समाजवादी अर्थ–राजनीतिक व्यवस्था अवलम्बन गर्ने । प्रगतिशील कर प्रणाली लागू गर्ने । देशको अर्थव्यवस्थामा नीतिगत तथा संरचनागत सुधार गरी उत्पादनमुखी अर्थतन्त्र, आपूर्ति व्यवस्थामा सुधार तथा समन्यायिक वितरणको व्यवस्था गर्ने ।
– आन्तरिक र बाह्य लगानीमैत्री वातावरण निर्माण गरी देशलाई औद्योगिकरण गर्ने, वैदेशिक रोजगारीबाट पूँजी र प्रविधिसहित फर्केका नेपालीहरूलाई देशभित्र रोजगारमूलक व्यवसाय गर्न प्रोत्साहित गर्ने र उत्पादनका क्रियाकलाप वृद्धि गरी रोजगारी प्रदान गर्ने । गरिबी उन्मूलन र रोजगार प्रर्बद्धनको क्षेत्रहरूमा लगानी बढाउन तीनवटै तहको सरकारहरूलाई क्रियाशील बनाउने ।

घटुवा विद्यालय शिक्षकको सरुवा

बेलकोट । बेलकोटगढी नगरपालिकाले विद्यार्थी संख्या कम भएका विद्यालयलाई नजिकैको विद्यालयमा स्थानान्तरण गरेपछि जगेडामा रहेका शिक्षकहरूको काज सरुवा गरेको छ ।
    नगरपालिकाको केही समय आगाडि बसेको कार्यपालिका बैठकले नगरभित्रका १९ वटा विद्यालयलाई नजिकैको विद्यालयमा भागिएको थियो । १५ जना भन्दा कम विद्यार्थी भएको कक्षालाई नजिकै रहेको विद्यालयमा गाभिएपछि त्यस विद्यालयमा रहेका शिक्षकहरू जगेडाको रुपमा थिए । उनीहरूलाई बिहीबार बसेको शिक्षा समितिले गठन गरेको कार्यदलले बुझाएको प्रतिवेदनका आधारमा काज सरुवा गरिएको नगरपालिकाका उपप्रमुख शिवप्रसाद दाहालले जानकारी दिएका छन् ।
    केही समयअघि नगरपालिकाले विद्यायहरूको अनुगमन गरेको र विद्यार्थी संख्याको वास्तविक तथ्याड्क संकलन गरेको थियो । सो आधारमा समायोजन गरिएको नगरपालिका शिक्षा शाखाका एक अधिकारीले बताए ।
    विद्यालय गाभिएको विषयमा अभिभावक तथा सरोकारवाला निकायहरूको सुझावका आधारमा बैशाख महिनाभरिमा घटुवा भएका विद्यालयले प्रति कक्षामा १५ जना विद्यार्थी भर्ना गराउन सकेको खण्डमा यथावत राख्ने निर्णय गरिएको थियो । सो अनुसार कतिपय विद्यालयले भने विद्यार्थी संख्या पु¥याउनका लागि निकै कसरत गरेपनि सम्भव नभएपछि नरपालिकाको निर्णय यथावत रहेको छ । यस्तै कतिपय विद्यालयले भने १० देखि १२ जना विद्यार्थी जम्मा गरेर पुरानै अवस्थामा कक्षा सञ्चालन गरेका छन् । नगरपालिकाले विद्यार्थी नभएका विद्यालयलाई अर्को विद्यालयमा गाभेको भएपनि राजनीतिक रुपमा यसको विरोध भएको हुँदै आएको थियो । कतिपयले गाभिएका विद्यालयमा पुग्नका लागि विद्यार्थीहरूलाई टाढा हुने भन्दै गैर न्यायिक ढंगबाट गरिएको निर्णय फिर्ता हुनुपर्ने बताउँदै आएका थिए ।
    तर नरपालिकाले विद्यार्थी नै नभएको विद्यालयमा शिक्षक पालेर राख्नु आवश्यक नभएको भन्दै विद्यालय गाभ्ने निर्णय लिएको थियो । नरपालिकाभित्र विद्यार्थी भएका विद्यालयमा जगेडा शिक्षक पठाएर पठनपाठनलाई सहज बनाउने निर्णय स्वरुप शिक्षक सरुवा गरिएको नगरपालिकाका प्रमुख जगतबहादुर गुरुङले जानकारी दिएका छन् । पछिल्लो समय ग्रामिण सामुदायिक विद्यालयमा विद्यार्थीको खडेरी नै लागेको छ । गाउँमा युवाहरू नबस्ने र उनका बालबच्चाहरू समेत अध्ययनका लागि सहर जाने गरेका कारण ग्रामिण भेगमा विद्यार्थीको संख्या कम हुदै गएको देखिन्छ ।

तोकियो बसको नयाँ भाडादर

विदुर । सार्वजनिक सवारीले बढी भाडा असुलेको गुनासो बढेपछि जिल्ला प्रशासन कार्यालय नुवाकोटले अनुगमनमा कडाइ गर्ने भएको छ । बुधबार बसेको सार्वजानिक यातायातका सरोकारवाला र यातायात व्यवसायीको बैठकले तोकिएको भाडादरको विवरण यात्रुले प्रष्ट देख्ने गरी नटाँसेको र बढी भाडा लिइएको पाइएमा सवारी साधनलाई कारवाही गरिने जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी वेदनिधी अधिकारीले बताए ।
    यात्रुवाहक सवारीहरूले यात्रुले दिने सुविधामा तोकिएअनुसार सेवा सुविधा प्रभावकारी रुपमा कार्यान्वयन गर्नपर्ने निर्णय गरेको छ । प्रत्येक महिनाको १५ र ३० गते अनुगमन गर्ने र सेवामा कमि कमजोरी देखि तत्काल सुधारको लागि सुझाव दिने निर्णय गरेको छ ।
    बैठकले यातायात भाडामा अस्वाभाविक रुपमा असुली गरेको जनगुनासो आएकोले त्रिशूलीदेखि गल्छीसम्मको भाडा एसी बसले १३० रुपैयाँ र अन्यले ११० रुपैयाँ, ढुंगेदेखि बेत्रावतीसम्म ४० रुपैयाँ, त्रिशूली काठमाडौंको एसी बसले ३७० रुपैयाँ र डिलक्स बसको ३१० रुपैयाँ भाडादर निर्धारण गरेको छ ।

वडा अध्यक्ष लामाको निधन

रानीपौवा । ककनी गाउँपालिका वडा नम्बर २ का अध्यक्ष तिलकबहादुर लामाको निधन भएको छ । बुधबार राती ३ बजे घरबाट उपचारका लागि काठमाडौं लैजाँदै गर्दा बाटोमै उनको निधन भएको गाउँपालिका अध्यक्ष सुमन तामाङले जानकारी दिएका छन् ।
    लामा लामो समयदेखि मिर्गौलासम्बन्धी रोगबाट पीडित भएको अध्यक्ष तामाङले बताए । ४५ वर्षीय लामाका परिवारमा आमा र एक भाइ छन् । उनको निधनमा नेपाली कांग्रेस जिल्ला कार्यसमितिका सभापति रमेशकुमार महतले दुःख व्यक्त गरेका छन् ।

बलात्कार मुद्दामा चार महिना कैद

विदुर । बलात्कार कसुरमा नुवाकोटमा एक युवकलाई अदालतले जरिवानासहित चार महिना कैद सजायको फैसला गरेको छ ।
    युवकलाई कारागार चलान गरिएको छ । १२ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा नुवाकोट जिल्ला अदालतले पश्चिमी भेगमा रहेको किस्पाङ गाउँपालिका–३ का २० वर्षीय परिमान तामाङलाई चार महिना कैद सजायको फैसला सुनाएको हो ।
    नुवाकोटका जिल्ला न्यायाधीश मदनबहादुर धामीको एकल इजलासले गरेको अन्तिम फैसलामा अभियोगमा आंशिक दाबी पुग्ने ठहर गर्दै चार महिना कैद सजायको फैसला गरेको हो । यसका साथै तामाङलाई १० हजार रुपैयाँ जरिवाना, २५ हजार रुपैयाँ पीडितलाई क्षतिपूर्ति भराउन र पाँच सय २० रुपैयाँ पीडित राहत कोषमा दाखिला गर्न आदेश भएको नुवाकोट जिल्ला अदालतले जनाएको छ ।
    तामाङले गत २०७८ माघ १२ गते बलात्कार गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा माघ १३ गते उजुरी दर्ता भएको थियो । पीडित बालिकाको नुवाकोट जिल्ला त्रिशूली अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको थियो । कसुरदार तामाङलाई जिल्ला अदालत नुवाकोटले गत २०७८ फागुन ५ गते पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो ।

बागमती प्रदेश सांसदलाई बजेट

विदुर । सरकारले वाग्मती प्रदेशका सांसदलाई बजेट विनियोजन गरेको छ । सांसदकै अगुवाइमा योजना छनौट तथा सञ्चालन गर्ने गरी आगामी आर्थिक वर्ष २०८०÷८१ मा प्रदेश विकास कार्यक्रम सञ्चालनका लागि प्रदेश सरकारले बजेट विनियोजन गरेको हो ।
    सांसदलाई आफ्नो निर्वाचन क्षेत्रका मतदाताहरूको विकाससम्बन्धी समस्या र गुनासो सम्बोधन गर्ने सहज वातावरण सिर्जना गर्दै लगिने बजेट वक्तव्यमा उल्लेख छ । ‘प्रदेशसभाका सदस्य र स्थानीय तहबीच सुमधुर सम्बन्ध कायम गरी अन्तरतह समन्वय प्रभावकारी बनाउन तथा विकास र शासनलाई थप जनमुखी बनाउन प्रदेशसभाका सदस्यको प्रत्यक्ष सहभागितामा विकास कार्यक्रम र आयोजनाहरू छनोट गरी कार्यान्वयन गर्न प्रदेश विकास कार्यक्रम सञ्चालनका लागि आवश्यक रकम छुट्याएको छु,’ आर्थिक मामिला तथा योजना मन्त्री बहादुरसिंह लामाले भने । बजेट पुस्तिकमा बजेटको अंक भार तोकिएको छैन ।
    प्रदेशसभा सदस्यका अनुसार प्रत्यक्ष निर्वाचित र समानुपातिक सांसदलाई क्रमशः ३ र १ करोड रुपैयाँ प्रदान गर्ने सहमति भएको छ । मन्त्री लामाका अनुसार वडा समाजवादी कार्यक्रमलाई यस वर्ष पनि निरन्तरता दिइएको बताए ।
    बजेटमा समाजवाद उन्मुख अर्थतन्त्रको अभ्यास स्थानीयस्तरबाट नै गरी प्रदेशको विकासमा गतिशीलता र प्रभावकारिता अभिवृद्धि गर्न भन्दै मानव विकास सूचकांकमा पछाडि फरेका १५ स्थानीय तहका एक÷एक वडामा नमुना वडा समाजवादी कार्यक्रम कार्यान्वयन गर्न १५ करोड विनियोजन गरेको छ । यस कार्यक्रमका लागि अघिल्लो सरकारले समेत बजेट विनियोजन गरको थियो ।

जलविद्युत आयोजना प्रभावित क्षेत्रको अध्ययन प्रतिवेदन विमोचन

प्रतिवेदन विमोचन

धुन्चे । रसुवा जिल्लामा निर्माणाधिन जलविद्युत आयोजना मध्ये सबै भन्दा ठूलो आयोजनाको रुपमा काम गरिरहेको माथिल्लो त्रिशुली–१, जलविद्युत आयोजना (२१६ मेगावाट)ले प्रभावित गरेको समुदायमा आधारित स्वतन्त्र अध्ययन प्रतिवेदन सार्वजनिक भएको छ । जिल्ला समन्वय समितिका प्रमुख अशोककुमार घिमिरेको प्रमुख आतिथ्यतामा प्रतिवेदन विमोचन भयो । विमोचन, २०८० जेठ २१ गते भएको हो ।
    स्वतन्त्र अध्ययनकर्ता नवीनकुमार राईद्धारा तयार गरिएको प्रतिवेदन सामुदायिक आत्मनिर्भर सेवा केन्द्र (सिएसआरसी) ले प्रकाशन गरेको हो । अध्ययन प्रतिवेदन नेपाली भाषा र स्थानीय तामाङ भाषा दुवैमा प्रकाशन भएको छ । अध्ययन प्रतिवेदन जिल्ला समन्वय समितिका प्रमुख अशोक कुमार घिमिरे, आयोजक संस्था सामुदायिक आत्मनिर्भर सेवा केन्द्रका संस्थापक एवं अनुसन्धान एवं नीतिविज्ञ जगत बस्नेत, आदिवासी जनजाति महासंघ जिल्ला समितिका अध्यक्ष लाक्पा तामाङ, नागरिक समाज रसुवाका अध्यक्ष बाबुलाल तामाङ, आयोजना प्रभावित क्षेत्रमा गठित आदिवासी जनजाती योजना सञ्चालन बोर्डका अध्यक्ष लाक्पा तामाङ, जिल्ला भूमि अधिकार मञ्चका अध्यक्ष भवानीप्रसाद न्यौपाने, स्थानीय आदिवासी समुदायमा महिला तथा पुरुषको सहभागितामा संयुक्त रुपमा प्रतिवेदन विमोचन भयो ।
    अध्ययन प्रतिवेदनले जलविद्युत आयोजना क्षेत्रमा आदिवासी तामाङ समुदायले परम्परादेखि प्रयोग गर्दै आएको जल, जङ्गल र जमिनमा पारेको प्रभाव समेटेको छ । साथै, आयोजनाले आदिवासी जनजाती समुदायले आफूले परम्परादेखि नै उपयोग गर्दै आएको र जीविका जोडिएको जल, जङ्गल र जमिन दिए वापत आयोजनाले स्थानीय समुदायलाई लाभ पुग्ने गरी दिन्छु भनेको सहयोग र उसले गरेको प्रतिवद्धताहरू पूरा नगरेको विषयहरू पनि समेटेको छ ।
के हो आयोजना ?
माथिल्लो त्रिशूली–१ आयोजनाको डाइभर्सन बाँध भोटेकोसी नदी र गोसाइँकुण्ड नदीको सङ्गम खोदल र गोम्बोखर्कमा पर्छ । डाइभर्सन बाँधबाट १५ किलोमिटर टाढा पर्ने मैलुङ र त्रिशूली नदीको सङ्गम मैलुङमा पावर हाउस बनाइएको छ । यो आयोजना अहिलेसम्मकै ठूलो वैदेशिक लगानी (६४७.४ मिलियन अमेरिकी डलर) करिव ६३ अर्ब मा बन्न लागेको हो । आयोजना विकास सम्झौता अनुसार कम्पनीले ३० वर्ष आयोजना  सञ्चालन गर्नेछ । लगानीकर्तामा आइएफसी, एडिबी, एआइआइबी र एफएमओ लगायत ९ वटा बैङ्क छन् ।
समुदायमा परेको प्रभाव
आयोजनाका कारण २१ गाउँ प्रभावित छन् । जसमध्ये १० गाउँ अति प्रभावित मानिन्छन् । अति प्रभावित मध्ये आमाछोदिङमो गाउँपालिकाको वडा नं. १ र २ स्थित नेसिङ, ठूलो हाकु, सानो हाकु, कक्सिङ, थाङ्कु र फूलबारी छन् । त्यसै गरी उत्तरगया गाउँपालिका–१ स्थित गोगने, तिरु र मैलुङ पर्छन् भने कालिकागाउँपालिका–१ को गुम्चेत पर्छ । विगतमा रसुवाका तामाङ समुदाय भूमि र प्राकृतिक स्रोतको व्यवस्थापन सामूहिक रूपमा गर्थे । यसरी व्यवस्थापन गर्दै आएको मध्ये २०१३ सालमा वन राष्ट्रियकरण गरियो । २०३२ सालमा राष्ट्रिय निकुञ्जमा ठुलो क्षेत्र समेटियो । त्यस यता पनि तामाङहरूको बस्ती तथा उपभोग गरिरहेका खेतीपाती, चरन र वन क्षेत्रमा विभिन्न जलविद्युत्् आयोजनाका कारण तिनै आदिवासी समुदाय ज्यादा प्रभावित भएका छन् । आयोजना प्रभावित क्षेत्रमा ९३.६ प्रतिशत तामाङ समुदायको बसोबास छ । उसै त यहाँका तामाङसँग थोरै मात्र जमिन छ । त्यसमा कतिपय गुठीको स्वामित्वमा छ ।
    तामाङ समुदायका पराम्परागत संस्थाहरू (जस्तो– गुम्बा, माने, छोप्पा, आमा समूह, बोन्पो/लम्बु, वन समिति, परम्परागत गीत गाउने समूह, गुठी समिति, परम्परागत आयुर्वेद विज्ञ, साङदुङ, ल्हप्ताप र लामा समिति) ले जङ्गल, चरन क्षेत्र र पानीको व्यवस्थापन गर्थे । जसमा घर/परिवारका सबैको सम्लग्नता हुन्थ्यो । तर आयोजनाले एफपिक सम्झौता गर्दा यस्ता कुरामा ध्यान नदिएकाले मुख्य विशेषता माथि बेवास्ता गरिएको तामाङ समुदायको गुनासो छ ।
के हो एफपिक ?
नेपालले आइएलओ अभिसन्धि–१६९ मा सन् २००७ मै हस्ताक्षर गरेको छ । जसअनुसार स्थानीय र आदिबासी समुदायलाई ठूला निर्माण आयोजनाका बारेमा सुसूचितहुने र अग्रिम सहमतिको अधिकार हुनुपर्छ । यही कारण नेपाल वाटर एन्डइनर्जी डेभलपमेन्ट कम्पनी (एनडब्लुइडिसी) ले आयोजनाका कारण प्रभावित हुने तामाङ समुदायमा पर्न जाने असरहरूका कारण स्वतन्त्र, अग्रिम र जानकारी सहितको मञ्जुरी (एफपिक) लिनु अनिवार्य भयो । कम्पनीले २०७५ कात्तिक १५ मा आयोजना प्रभावित समुदायसँग आदिवासी समुदाय योजना (आइपिपी) का लागि त्रिपक्षीय सम्झौतामा हस्ताक्षर गर्दै स्वतन्त्र, अग्रिम र जानकारी सहितको मञ्जुरी लियो ।
एफपिकको पालना
एफपिकआयोजना सुरु हुने बेलामै गरिनुपथ्र्यो तर योजना सुरु भएको ७ वर्षपछि मात्र गरियो । प्रभावित सबै क्षेत्र पनि समेटिएन । एफपिक प्रक्रियाले छलफलकै क्रममा धेरै बस्ती छुटाएको, वनउपभोक्ता समूह, प्रथा जनित संस्था, र महिलाहरूको निर्णय गर्ने भूमिकालाई पनि बेवास्ता गरिएको गुनासो रहँदै आएको छ । आयोजनाको त्रिपक्षीय सम्झौताले आइपिपी कार्यान्वयनका लागि ११.२५ मिलियन अमेरिकी डलर (करिव १४ करोड) छुट्याएको छ । तर एफपिक सम्झौता भएको ५ वर्ष बितिसक्दा पनि छुट्याइएको रकम समुदायमा पुग्न सकेको छैन ।
अब गर्नुपर्ने
आयोजना प्रभावित क्षेत्रका तामाङ समुदाय आफ्नो गुनासो कहाँ राख्ने भन्ने अन्योलमा छन् । आयोजनासँग सम्बन्धित कागजात स्थानीय भाषामा उपलब्ध छैन । पुस्तौँदेखि यहाँको भूमि, पानी, वनको संरक्षण गर्दै र त्यसैबाट संस्कृति र जीवन धानेका आदिवासीलाई विस्थापन हुनुपर्ने स्थितिबाट जोगाउन एफपिकको मर्म अनुरूप तयार पारिएको कार्य योजना लागु हुनुपर्छ । लागु हुनु पूर्व यसबारे सरोकारवालाबीच गहिरो छलफल आवश्यक छ । यसबाट प्रभावितहरूले अधिकतम लाभलिन सकून् ।

म्याद गुज्रिएका खाद्य वस्तु भेटिए

तारकेश्वरमा भएको बजार अनुगमन

तारकेश्वर । गुणस्तरीयतामा जोड दिंदै नुवाकोटको तारकेश्वरमा खाद्यान्न पसलहरूको अनुगमन गरिएको छ । अनुगमनका क्रममा  म्याद गुज्रिएका खाद्य सामग्री भेटिएको छ ।
    तारकेश्वर गाउँपालिकाको २, ५ र ६ नं. वडाका पसलको अनुगमन गरिएको थियो । सम्बन्धित वडाध्यक्ष तथा गापाका  कर्मचारीको नेतृत्वमा  अनुगमन गरिएको गापा अध्यक्ष शिव अधिकारीले जानकारी दिए । उनका अनुसार  अनुगमनका क्रममा म्याद गुज्रिएका र ढुसी परेका अखाद्य पदार्थ बरामद भएको हो । सो वस्तु नष्ट गरिएको छ ।

    अध्यक्ष अधिकारीले जनताको स्वास्थ्यमाथि खेलबाड गर्नेलाई कडा कारबाहीको चेतावनी दिएका छन् । पहिलो पटक व्यापारीलाई मापदण्डको पालना गरि सुध्रिन र उपभोक्तालाई सचेत रहन आग्रह गरिएको प्रमुख प्रशासकीय अधिकृत सीताराम थापाको भनाइ छ । अधिकारीले आगामी दिनमा यस्ता पदार्थ भेटिएमा कानुनी कारबाही गर्ने चेतावनी दिएका छन् । गाउँपालिकले सबै पसलको अनुगमन निरन्तर गरिरहेको बताए ।

पत्रकारलाई आत्म सुरक्षा तालिम

विदुर । नुवाकोटमा गएको आईतवार र गएको सोमवार दुई दिन जिल्लामा mित्रयाशिल ३३ जना पत्रकारहरूलाई लागि आत्म सुरक्षा तालिम दिइएको छ ।
    नेपाल पत्रकार महासंघ बागमती प्रदेशको आयोजना एवं पत्रकार महासंघ नुवाकोट शाखाको संयोजन र प्रदेश युवा परिषद् बागमती प्रदेशको सहयोगमा पत्रकारहरूका लागि आत्मरक्षा तालिम दिइएको हो । तालिममा विभिन्न बिपदको समयमा आफुलाइ सुरक्षित कसरी राख्ने भन्ने विषयमा शैद्धान्तिक र प्रयोगात्मक विषयमा तालिम दिइएको छ ।
    प्रशिक्षकको रुपमा खोज पत्रकार केपी ढुङ्गाना र जिल्ला प्रहरी कार्यालयको टोलीले समाचार संकलन गर्न जाँदा हुन सक्ने अवरोध भौतिक आक्रमणको डिफेन्स कसरी गर्ने भन्ने विषयमा सैदान्तिक र व्यवहारिक सिकाएका थिए । पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष शिव देवकोटाले विपद, भिडभाड र द्धन्द्धको समयमा कसरी समाचार संकलन गर्ने भन्ने विषयमा जानकारी दिनका लागि नुवाकोटमा आत्मरक्षा तालिमको आयोजना गरेको जानकारी दिए । उनले बागमती प्रदेशकै पत्रकारहरूको क्षमता विकासको लागि प्रदेश महासंघ सधैँ प्रतिवद्ध भएर लाग्ने बताए ।
    कार्यक्रममा पत्रकार महासंघका केन्द्रिय सदस्य ध्रुबकुमार रावल, पत्रकार महासंघ नुवाकोटका अध्यक्ष कपिलदेव खनाल, बागमाती प्रदेश सदस्य रामहरि गजुरेल, प्रेस चौतारी नुवाकोटका अध्यक्ष नवदिप श्रेष्ठ र प्रेस युनियन  अध्यक्ष नवराज सुवेदी ले तालिमले समाचार संकलनमा आइपर्न सक्ने सम्भावित असुरक्षालाई चिर्न मद्दत मिल्ने विश्वास गरे ।

पालिकाले बाढ्यो बाख्रा

खरानीटार । स्वरोजगारमा लाग्न प्रेरणा दिंदै नुवाकोटको खरानीटारमा फरक क्षमता भएकालाई समुदायमा पुर्नस्थापना कार्यक्रम अन्तर्गत आवश्यक प्रशिक्षणसहित बाख्रा प्रदान गरिएको छ । ४२ जना फरक क्षमता भएकाहरूलाई प्रशिक्षणपश्चात दुई–दुई वटा बाख्रा प्रदान गरिएको हो ।
    यसबाट तादी गापाको ६ वटै वडामा रहेका पहेलो कार्ड प्राप्त गरेका अपाङ्गता भएकालाई आयआर्जनमा मद्धत पुग्ने आशा गरिएको अध्यक्ष सन्तमान तामाङले बताए । फरक क्षमता भएकालाई  तादी गापा अध्यक्ष सन्तमान तामाङ,  उपाध्यक्ष सन्जु प्याकुरेलश्रेष्ठ, वडाध्यक्षहरू, कार्यपालिका सदस्यहरू, वडा सदस्यहरूले विउ बोकासहितको बाख्रा हस्तान्तरण गरे । यसबाट तादी गाउँपालिका भित्रका फरक क्षमता भएका व्यक्तिहरूलाई आय आर्जनमा मद्धत पुगेको कार्यक्रमकी अध्यक्ष तथा तादी गापाकी उपाध्यक्ष  सन्जु प्याकुरेलश्रेष्ठले बताइन् ।
    गापाका फरक क्षमता भएकाहरूलाई शिक्षा, स्वास्थ्य, आयआर्जनका विभिन्न कार्यक्रम पालिकाले सन्चालन गरिरहेको र सदैव गरिरहने प्रमुख अतिथि तादी गापाका अध्यक्ष सन्तमान तामाङको भनाइ छ । उनका अनुसार फरक क्षमता भएकाहरूलाई बाख्रपालनबारे जानकारी दिनुको साथै बाख्राले आम्दानी बढाउन मद्दत पु¥याउनेछ । 

बधशालाको लगानी : बालुवामा पानी

 बधशालाको लगानी : बालुवामा पानी

यो समय डटकमबाट

विदुर । विदुर नगरपालिकामा निर्माण भएको पशु वधशाला अलपत्र परेको छ । विदुर नगरपालिका वडा नं. ४ को सिमचौर नजिकै निर्माण भएको सुविधासम्पन्न बधशाला नगरपालिकाको वेवास्थाका कारण अलपत्र परेको हो ।
    करिव ४ रोपनी जमीनमा फैलिएको बधशाला सञ्चालनको लागि निर्माण हुनुपर्ने मुख्य संरचनाहरू सबै निर्माण भइसकेको छ । बधशाला सञ्चालनको लागि विदुर नगरपालिकामा सञ्जु पण्डित प्रमुख भएको समयमा वधशाला निर्माण भएको हो । वधशाला सञ्चालनको लागि आवश्यक विजुली वत्ति, खानेपानीको व्यवस्थापन, सडक जिर्ण भएको मर्मतसमेत गरी सञ्चालनको लागि तयारी अवस्थामा राखिएको छ । सफा नगरपालिका निर्माणको लागि वधशाला निर्माण आवश्यक छ । तर, बधशाला सञ्चालनको लागि नगरपालिकाले पहल नगर्दा करोडौको लगानी बालुवामा पानी सरह भइरहेको छ भने अर्कोतर्फ सदरमुकाम विदुर र आसपास क्षेत्र अस्वस्थ्य मासुको विक्री वितरणले मानव स्वास्थ्यमा प्रतिकुल असर पुगिरहेको छ ।
    २ करोड रुपैयाँको लागतमा संघीय सरकारको थप एक करोड गरी तीन करोड रुपैयाँको लगानीमा यो वधशाला निर्माण भएको हो । बधशाला निर्माण नहुँदा करोडौँको सम्पत्ति जिर्ण हुन थालेको पूर्व नगर सदस्य वसन्त रिजाल बताउँछन् । बधशाला सञ्चालनपछि हुने आम्दानीले विदुर नगरपालिका क्षेत्रका बासिन्दाहरूको विकास निर्माणमासमेत थप सहयोग पुग्न सक्ने भएपनि नगरपालिकाले बधशाला सञ्चालनप्रति रुचि नदेखाएको रिजाल बताउँछन् ।
    विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठले बधशाला सञ्चालन कसरी गर्न सकिन्छ भनेर छलफलकै क्रममा रहेको र सरोकारवालासँगको छलफलपछि मात्रै बधशाला कसरी सञ्चालन गर्न सकिन्छ भन्न सकिने बताए । ‘म नगरपालिकामा आउनुभन्दा पहिले नै यो वधशाला निर्माण भइसकेको हो’ प्रमुख श्रेष्ठले भने– ‘यसबारेमा विस्तृतमा बुझेपछि मात्रै बधशाला सञ्चालनको ठोस निर्णय गर्न सकिएला ।’
    बधशाला सञ्चालनपछि बधशालाबाट निस्किएका फोहोर बस्तुबाटसमेत रकम आर्जन सकिने उनी बताउँछन् । वधशालामा काटिने र तयार गरी राँगा, बोका, खसी, कुखुराको भुत्ला तथा लादी विसर्जन गर्नको लागि बायोग्यास उत्पादन गर्न सकिने गरी संरचना निर्माण भएको छ । बधशाला सञ्चालनमा ल्याई विदुर नगरक्षेत्रमा दैनिक काटिने पशुपन्छिबाट उत्पादन मासु स्वस्थ्य एवं गुणस्तरीयता कायम गर्न सकिने र नगरपालिकालाई स्वच्छ सफा बनाउन सकिने रिजाल बताउँछन् ।
    बाह्य भौतिक संरचना निर्माण सकिएको झण्डै तीन वर्ष पुग्दासम्म बधशाला सञ्चालनमा आउन सकेको छैन । निर्माण सकिएको लामो समयसम्म भवन सञ्चालनमा नआउँदा भित्ता चर्किएका छन् । बधशालाका लागि ल्याइएका उपकरणसमेत काम नलाग्ने हुँदै गएका छन् ।
    वधशाला सञ्चालनको दायित्व पाएको विदुर नगरपालिकाको बेवास्ताले बधशाला अलपत्र परेको यस क्षेत्रका व्यवसायीहरू बताउँछन् । वधशाला सञ्चालनमा कठिनाई भए वा कुनै कारणले सञ्चालन नै गर्न नसकिने अवस्था सिर्जना भएमा वा बधशाला स‘चालन नभएसम्मका लागि अन्य कुनै प्रयोजनमा लगाएर भएपनि संरचना नष्ट हुनबाट बचाउनुपर्ने धारणा पूर्व वडासदस्य रिजालको भनाई छ । ‘नगरपालिकाले भवन भाडामा लगाउने भनेर सुचना निकाल्यो भनेपनि ठूला ठूला गोदामको रुपमा भाडामा लगाउन सकिन्छ’ रिजाल भन्छन्– ‘वधशाला सञ्चालन नभएसम्मका लागि मासिक दुई लाख रुपैयाँसम्ममा भाडामै पनि यो संरचना लगाउन सकिन्छ ।’ भाडामा लगाएर भएपनि नगरपालिकाले आफ्नो दायित्व पूरा गर्न‘पर्ने विदुरवासीको भनाई छ ।
    बधशाला नभएका कारण नुवाकोटको विदुर, बट्टार, त्रिशूली, कोलोनी तथा आसपासका बजारहरूमा दैनिक बिक्री हुने मासुमध्ये ७५ प्रतिशत अस्वस्थकर रहेको छ । बधशाला सञ्चालनमा ल्याउन सके स्वस्थ्यकर मासु उपभोक्तासम्म पुग्ने थियो ।

प्रअ–नगरप्रमुखबीच सम्झौता

 प्रअ–नगरप्रमुखबीच सम्झौता

विदुर । विदुर नगरपालिकाले आफ्नो कार्यक्षेत्रमा रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक विकासको लागि कार्यसम्पादन सम्झौता गराएको छ ।
    विद्यालय व्यवस्थापन समितिको क्षमतम विकाससहित विदुर नगरपालिकाले सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूवीच कार्य सम्पादन सम्झौता गराएको हो । विदुरमा आयोजित एक कार्यक्रममा विदुर नगरपालिका प्रमुख राजन श्रेष्ठ र ६० वटा सामुदायिक विद्यालयका प्रधानाध्यापकवीच विद्यालयले गर्न सक्ने ३५ वटा सुचक वृद्धिको कार्य सम्पादन सम्झौतामा हस्ताक्षर गरिएको छ । परीक्षणका रुपमा सुरु गरिएको यो कार्यक्रमले विदुर नगरपालिकाको यो शैक्षिक शत्रको शैक्षिक एवं भौतिक गुणस्तरमा सहयोग पुग्ने विश्वास विदुर नगरपालिकाले गरेको छ ।
    शैक्षिक सत्र ०८० सम्ममा हरेक सामुदायिक विद्यालयको अहिलेको शैक्षिक अवस्था र शैक्षिक सत्रको अन्तसम्ममा के गर्न सकिन्छ भनेर विद्यालयका प्रधानाध्यापकहरूले नगरप्रमुख र सम्वन्धित विद्यालयका प्रधानाध्यापकहरूको हस्ताक्षरमा व्यवस्थापन समितिका अध्यक्ष र सम्वन्धित वडाअध्यक्षहरूलाई साक्षीको रुपमा राखिएको छ । यसअघि सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूलाई विदुर नगरपालिकाले विद्यालयका सुधार तथा शैक्षिक सुधारको बारेमा व्यवस्थापन समितिका अध्यक्षहरूलाई दुई दिने क्षमता विकास सम्वन्धि तालिम प्रदान गरेको थियो ।
    ३५ सुचकमा विद्यालयको अहिलेको अवस्था कस्तो छ र शैक्षिक सत्रको अन्तसम्ममा कस्तो बनाउन सकिन्छ भनेर तार्गेटसहितको सम्झौतामा हस्ताक्षर भएको विदुर नगरपालिका शिक्षा शाखाका प्रमुख देवीप्रसाद अधिकारीले बताए । तोकिएको लक्ष्य पूरा गर्ने वा त्यो भन्दा राम्रो गर्ने विद्यालयलाई विदुर नगरपालिकाले प्रोत्साहन गर्ने विदुर नगरपालिका प्रमुख राजन श्रेष्ठले बताए । लक्ष्या प्राप्त गर्न नसक्ने विद्यालयलाई कारवाहीसमेत गर्न सकिने सम्झौता भएको उनले बताए । कार्यक्रमलाई प्रभावकारी कार्यान्वयनको लागि अर्धवार्षिक तथा वार्षिक समीक्षा गर्ने नीति नगरपालिकाले लिएको छ ।
    कार्यक्रममा विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठ, उपप्रमुख प्रभा बोगटी, विद्यालय व्यवस्थापन समितिको तर्फबाट मानबहादुर डंगोल, प्रधानाध्यापकको तर्फबाट बाबुराम लामिछानेलगायतले विदुर नगरपालिकाले सामुदायिक विद्यालयहरूको शैक्षिक विकासको लागि सुरु गरेको कार्यसम्पादन सम्झौतालाई प्रभावकारी कार्यान्वयन गर्न सके विदुरले शैक्षिक फड्को मार्न सक्ने धारणा राखेका थिए ।

तादीमा मौरीको घार वितरण

मौरीको घार वितरण गर्दै गाउँपालिका अध्यक्ष सन्तमान तामाङ

खरानीटार । नुवाकोटको तादी गाउँपालिकाले फरक क्षमता भएकाहरूलाई मौरीसहितको घार वितरण गरेको छ ।
    गाउँपालिकाले फरक क्षमता (अपांगता भएका) व्यक्तिहरूका लागि समुदायमा पुनस्र्थापना  कार्यक्रम अन्तर्गत मौरीसहितको घार प्रदान गरिएको छ । १८ जना फरक क्षमता भएकाहरूलाई प्रशिक्षणपश्चात एक/एक थान मौरीसहितको घार प्रदान गरिएको हो ।
    यसले ६ वटै वडामा रहेका रातो र नीलो कार्ड प्राप्त गरेका अपांगता भएकाहरूलाई आयआर्जनमा मद्दत पुगेको तादी गाउँपालिकाका उपाध्यक्ष सञ्जु प्याकुरेलले जानकारी दिएका छन् ।

फुटबलको उपाधी २ नं. वडालाई

पुरस्कार वितरण समारोह

खरानीटार । फुटबल खेलको विकास र विस्तार गर्ने उद्धेश्यले नुवाकोटको पूर्वी भेगमा रहेको तादी गाउँपालिकामा अध्यक्ष कप फुटबल प्रतियोगिता सम्पन्न भएको छ । पालिकाका वडास्तरबाट खेलाडीले प्रतिस्पर्धा गरेको प्रतियोगिताको उपाधी तादी २ले जितेको छ ।
    तादी–३ द्वारा स्थानीय अमरज्योति माविको खेल मैदानमा आयोजित प्रतियोगिता दुई दिन सञ्चालन भएको थियो । प्रतियोगिताको फाइनल खेलमा तादी २ ले तादी ३ लाई एकका विरद्ध तीन गोल गरी उपाधी हात पारेको हो ।
    प्रतियोगिताको विजेता तथा उपविजेतालाई तादी गापा अध्यक्ष सन्तमान तामाङ, उपाध्यक्ष सन्जु प्याकुरेलश्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत खेमराज छिनाल वडाध्यक्ष सोनाम तामाङलगायतले नगदका साथै शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरेर पुरस्कृत गरे । विजेता तादी २ ले नगद ५० र उपविजेता तादी ३ ले नगद २५ हजार रुपैयाँ हात पारेको छ । पुरस्कार वितरण गर्दै तादी गापाका अध्यक्ष सन्तमान तामाङले खेल क्षेत्रको विकासका लागि पालिकाले कार्यक्रम अगाडि बढाउने योजना रहेको बताए ।
    पुरस्कार वितरण गर्दै गापा उपाध्यक्ष सन्जु प्याकुरेलश्रेष्ठले मानविय जीवनमा अनुशासन महत्वपुर्ण आयाम भएको र यसको विकास खेलको प्रवद्र्धन हुने बताइन् । उनले खेल र खेलाडीहरूको विस्तारका लागि तादी गापाले विविध कार्यक्रमहरू थप गर्ने योजना रहेको बताइन् । सो प्रतियोगितामा ६  समूह सहभागी थिए ।

स्वास्थ्य संस्थामा प्रसुती हुनेको संख्यामा कमी आयो

स्वास्थ्य प्रमुख अधिकारी ।

विदुर । परिवार नियोजन सुरक्षित मातृत्व तथा नवजात शिशु सम्बन्धी पत्रकारसंगको अन्तरक्रिया कार्यक्रममा स्वास्थ्य कार्यालय नुवाकोटले सार्वजनिक गरेको तथ्याङ्क अनुसार आर्थिक वर्ष ०७७/७८ मा ४९ प्रतिशत, ०७८/७९ मा ४२ प्रतिशत र २०८० को अर्धबार्षिकमा २२ प्रतिशत मात्र रहेको तथ्याङ्कमा रहेको छ ।
    त्यस अवसरमा सुरक्षित प्रसुती सेवालाई प्रभावकारी बनाउन सकिएमात्र मातृ मृत्युदर तथा बाल मृत्युदर कम गर्न सकिने धारण विदुरमा आयोजित एक कार्यक्रमका सहभागीहरूले बताएका छन् ।
    राष्ट्रिय स्वास्थ्य शिक्षा सुचना तथा सञ्चार केन्द्र टेकु काठमाडौं, स्वास्थ्य कार्यालय नुवाकोट तथा बुद्ध हेल्थ प्रोमोसन एण्ड उजुकेशन सेन्टर राजविराजको आयोजनामा विदुरमा भएको कार्यक्रममा बोल्दै जिल्ला स्वास्थ्य कार्यालय नुवाकोटका प्रमुख महेन्द्रध्वज अधिकारीले ५५ वटा स्वास्थ्य केन्द्रमा बर्थिङ सेन्टर सञ्चालन गरी सुरक्षित सुत्केरी सेवा प्रदान गरिएको बताए । उनले जिल्लामा हरेक वर्ष ५ हजार शिशु जन्मने गरेको तथ्याङ्कसमेत सार्वजनिक गरे ।
    सरकारले गर्भावस्थामा गर्नपर्ने स्वास्थ्य परीक्षण ४ पटकबाट बढाएर अहिले सरकारले ८ पटक पु-याएको छ । आठपटक गर्भजाँच गराएवापत ८ सय रुपैयाँ प्रोत्साहन भत्तासमेत सरकारले प्रदान गर्दै आइरहेको छ । सो अवसरमा दिगो विकास लक्ष्य अन्र्तगत सन् २०१५ देखि ०३० सम्म सरकारले स्वास्थ्य क्षेत्रमा गर्नुपर्ने सुधारको विषयमा पनि छलफल भएको थियो । सरकारले ३० मिनेट पैदल दूरीमा स्वास्थ्य संस्थाको व्यवस्था भएपनि अझै पनि स्वास्थ्य संस्थामा सुरक्षित सुत्केरी नगराउँदा शिशु तथा मातृ मृत्युदर कम गर्न नसकिएको स्वास्थ्य प्रमुख अधिकारीले बताए ।
    कार्यक्रममा राष्ट्रिय स्वास्थ्य शिक्षा सुचना तथा सञ्चार केन्द्रकी कृतिका प्रसाई, नेपाल पत्रकार महासंघका उपाध्यक्ष नवदीप श्रेष्ठलगायतले नुवाकोटको स्वास्थ्य सेवा प्रभावकारी बनाई नवजात शिशु, मातृ मृत्युदर घटाई दिगो विकास लक्ष्य हाँसिल गर्नको लागि सरोकारवाला सबै लाग्नुपर्नेमा जोड दिए ।
    सो अवसरमा नुवाकोटमा परिवार नियोजन, सुरक्षित मातृत्व तथा नवजात शिशु सम्वन्धी विभिन्न तथ्याङ्कसमेत सार्वजनिक गरिएको थियो । नुवाकोटमा साना ठुला गरेर १०९ वटा स्वास्थ्य संस्थाहरू रहेको छ । जस मध्य ५५ वटा स्वास्थ्य संस्थाहरूले प्रसुती सेवा दिदै आईरहेका छन् । ५५ बटा स्वास्थ्य संस्थाहरूबाट बार्षिक ५ हजार भन्दा बढी शिशुको जन्महुने गरेको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।

क्षमता प्रर्दशनमै संर्घषरत महिला जनप्रतिनिधि

सुनिता गुरुङ
विदुर । नुवाकोटको बिदुर नगरपालिकाका उपप्रमुख प्रभा बोगटीका अनुसार महिला जनप्रतिनिधिलाई राजनीतिक प्रतिनिधि वा जनपव्रतिनिधि नै नसोच्ने सामाजिक परिवेश छ । यसैले गर्दा नुवाकोटका अधिकांश स्थानीय तहमा महिला जनप्रतिनिधिमाथि पुरुषकै हस्तक्षेप हुने गरेको उनको भनाई छ ।
    ‘यहाँसम्म कि कार्यालयदेखि उपप्रमुखको जिम्मेवारीमा समेत पालिका प्रमुखले उपाध्यक्षका नातेदार अथवा श्रीमानसँग सहकार्य गर्ने गरेको देखिएको छ ।
    महिला जनप्रतिनिधिमा अधिकारको प्रयोग, निर्णय लिने क्षमता र बोल्न सक्ने आत्मविश्वासको कमी रहेकै कारण वडा अध्यक्ष देखि स्थानीय तहका प्रमुखहरूले महिला जनप्रतिनिधिलाई पात्रको रुपमा मात्रै लिदै आएको जस्तो देखिएको बताईन् । उनी आफै भने जनप्रतिनिधिको जिम्मेवारीप्रति आफू जवाफदेही रहेको दाबी गरिन् । ‘छलफल हुनु छुट्टै कुरा हो, निर्णय भने मेरै चल्छ,’ उनी भन्छिन्, ‘पुरुषले दबाउन नखोज्ने होइनन्, आफूलाई हेपिन नदिन सधैं चनाखो हुन्छु ।’
    जनप्रतिनिधि महिला भएका धेरै स्थानीय तहमा पुरुषले दैनिक काम गर्दै आएका छन् ।     परिवारभित्रका नभए कार्यालयमा समेत पुरुष कर्मचारी या पालिका प्रमुखको दबदबामा बस्नुपर्ने बाध्यता रहेको छ । महिला जनप्रतिनिधिलाई स्वावलम्वी आचरण विकास गराउन तालिम र प्रशिक्षणको खाँचो छ । महिलाहरू पारिवारिक सहकार्य र सहयोगको आवश्यकता हुनु स्वाभाविक हो । अर्थपूर्ण समावेशी हुनका लागि भने महिलाको नेतृत्वमा निर्णय समेत उनैको हुन जरुरी छ । पुरुषको सहकार्यले महिलाको कार्यक्षमता विकासमा सघाउ पुग्ने हुनुपर्ने हो । तर उपाध्यक्षमा निर्बाचित महिलाका श्रीमाननै गाँउपालिकामा अदृष्य तबरले दाउपेच गर्छन् ।
    नुवाकोटको एक गाँउपालिकाको उपाध्यक्षमा नेकपा माओबादी केन्द्रको तर्फबाट उम्मेदवार रही निर्बाचित भएका एक उपाध्यक्ष शिक्षित छिन् । कार्यालयमा आफ्नै हुकुमत रहेको देखाउछिन् । तर भित्री पाटो अर्कै रहेको छ । गाँउपालिका अध्यक्षले उपाध्यक्षसँग गर्नुपर्ने छलफल, भेटघाट उनका श्रीमानसँग गर्दै आएका छन् । बाहिरी आबरणमा देखिएको जस्तो उपाध्यक्ष नभए पछि योजना, निर्माण बजेट निर्माण तथा अनुगमनको बिषयमा समेत पालिका अध्यक्षले उपाध्यक्षका श्रीमानसँग समन्वय गर्नुपरेको हो ।
    उसो, त नुवाकोटको केही स्थानीय तहमा हेर्ने हो भने पालिका प्रमुखमा दाबी गरेका ब्यक्तिहरूकै श्रीमतीलाई उपाध्यक्ष बनाउने सम्झौता भएको थियो । उक्त गाउँपालिकामा नेकपा माओबादी केन्द्रबाट पालिका अध्यक्ष पदमा आकाङ्क्षी उनी आफै थिए । माओबादी केन्द्रसँग उम्मेदवावारीको लागी टिकट आफैले पाउनु पर्ने माग गर्दै आएका थिए । तर अन्तिम समयमा आफ्नो श्रीमतीलाई पालिका उपाध्यक्षमा उम्मेदवार बनाउने सम्झौता गरे पछि मात्रै उनी पछि हटेका ब्यक्ति हुन् ।
    सम्झौताको आधारमा यसरी श्रीमतीलाई पालिका उपाध्यक्ष बनाएकै कारण अधिकांश निर्णय र छलफलमा श्रीमानकै अदृष्य निर्णय रहने गरेको तादी गाँउपालिकाका एक कार्यपालिका सदस्यले बताए । गाँउपालिका अध्यक्ष समेत कार्यपालिका बैठक अगाडी उपाध्यक्षका श्रीमानसँग फोन बार्ता गर्ने गरेको बताउछन् ।
    स्थानीय तहको नीति निर्माण गर्ने प्रमुख वा अध्यक्षमा महिलाको सहभागिता नुवाकोटमा शुन्य छ । भने १२ वटा स्थानीय तहको उपप्रमुखमा जम्मा ८ जना मात्रै महिला छन् । एक नगरपालिका सहित ४ स्थानिय तहको प्रमुख र उपप्रमुख दुबैमा पुरुषनै छन् । त्यसैगरी नुवाकोटको ८८ ओटा वडा मध्यै एक वडामा मात्रै पहिला अध्यक्ष छिन् ।
    वडा अध्यक्षमा १ जना मात्रै उम्मेदवार बनेका थिए । प्राय सबै कार्यकारी पदहरूमा राजनीतिक दलहरूले पुरुषलाईनै उम्मेदवार बनाउने परिपाटीका कारण समेत महिला प्रतिनिधिको संख्या न्युन बनेको हो ।
    २०७९ सालको ३० मा सम्पन्न दोश्रो स्थानीय तहको निर्बाचनमा राजनैतिक दलहरू बीचको आपसी गठबन्धनका कारण पनि नुवाकोटमा महिला प्रतिनिधिको संख्या घटेको छ । म्यागङ गाँउपालिकाका उपाध्यक्ष सिता तामाङ भन्छन्– ‘गठबन्धनकै कारण नुवाकोटमा उपाध्यक्षमा महिलाको संख्या घट्यो । प्रमुखमा राजनैतिक दलहरूले महिलालाई उम्मेदवार नबनाए पनि गठबन्धन नँहुदा सबै पालिकाको उपप्रमुखमा महिला प्रतिनिधि निर्वाचित हुन्थे । तर गठबन्धनका कारण एक नगरपालिका सहित चार स्थानीय तहमा पुरुषनै हाबी भए ।’
    यता, वडा तहमा समेत संबैधानिक ब्यबस्था भएकै कारण मात्रै महलिा सदस्य र दलित महिला सदस्यको पँहुच बिस्तार भएको हो । संबिधानले नै मनोनयन प्रणालीमा वडा तहमा एक दलित महिला सदस्य र एक महिला सदस्य अनिवार्य ब्यबस्था गरेका कारण त्यस पदमा पुरुष आउन नपाउने भएका हुन् । ‘होईन भने त्यसमा समेत घुमाएर पुरुषनै उम्मेदवार बन्थे होलान ।’ म्यागङ गाँउपालिकाका उपाध्यक्ष सिता तामाङले भनिन् ।
    २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमार्फत नेपालको इतिहासमा पहिलो पटक विभिन्न जातजाति, अपाङ्गता भएका व्यक्ति, अल्पसंख्यक समुदाय तथा सीमान्तकृत समूहबाट ठूलो संख्यामा प्रतिनिधि निर्वाचित भएका छन् । २०७२ सालमा संविधान जारी भएपछि संघीय गणतन्त्र प्रणालीमा भएको यो पहिलो प्रदेश र स्थानीय निर्वाचन हो । यसमा निर्वाचन आयोगले तोकेको ४०.४ प्रतिशत कोटा महिलाले हासिल गरेका थिए । जसमा प्रमुख र उपप्रमुख उच्च पदमध्ये दलहरूले कुनै एक पदमा कम्तीमा एक जना महिला उम्मेदवार समावेश गर्न‘पर्ने थियो । तर उम्मेदवारी र पुरुष जनप्रतिनिधि महिला भन्दा बढी छन् ।
    स्थानीय तहमा निर्वाचित पदाधिकारीको यो संख्या मुलुकको इतिहासमै राजनीतिक तहमा अहिलेसम्मकै उच्च सहभागिता हो । यसले आगामी दिनमा स्थानीय तहमा महिलाको सहभागिता वृद्धि गर्न‘का साथै महिलाको सशक्तीकरण गरी उच्च तहको राजनीतिक संरचनामा पनि महिलाको सहभागिता बढाउन मद्दत पु¥याउँछ ।
    स्थानीय तहको पालिकाको सदस्यमा एक जना महिला सदस्य र एक जना दलित महिला सदस्य अनिवार्य हुनुपर्ने कानुनी व्यवस्थाका कारण स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिमा महिलाको संख्या सन्तोषजनक रूपमा बढेको छ । तर उनीहरू भूमिकामा भने खुम्चिएका छन् । प्रायः राजनीतिक दलका विभिन्न समिति र त्यसको निर्णायक तहमा महिलाको सहभागिता यथेष्ठ हुन सकेको देखिँदैन । संवैधानिक निकाय तथा कूटनीतिक क्षेत्रमा महिलाको सहभागितामा न्यून छ ।

शिक्षकलाई झोला

 शिक्षकलाई झोला

तारकेश्वर । नुवाकोटको तारकेश्वर गाउँपालिकाले २५० जना शिक्षकलाई झोला वितरण गरेको छ । गाउँपालिकाभित्र रहेका शिक्षकलाई झोला वितरण गरिएको हो । साथै पालिकाले ३४ विद्यालयलाई एउटा एउटा पेनड्राइभ पनि वितरण गरेको छ । पालिकाले शिक्षक उत्प्रेरणा कार्यक्रम सञ्चालन गरेको छ। पालिकाको कार्यालयमा आयोजित कार्यक्रममा अध्यक्ष शिव अधिकारीले झोला र पेनड्राइभ वितरण गरे ।

सहायक सामग्री वितरण

 सहायक सामग्री वितरण

काहुले । किस्पाङ गाउँपालिकाले फरक क्षमता भएकाहरूलाई पुनःस्थापना कार्यक्रम सञ्चालन गरेको छ । जीविकोपार्जनका लागि सहायक सामग्रीका साथै शैक्षिक सामग्रीहरू प्रदान गरिएको प्रमुख प्रशासकीय अधिकृत महाप्रसाद दंगालको भनाइ छ ।
    उनका अनुसार समुदायमा आधारित पुनःस्थापना कार्यक्रम अन्तर्गत १५ जनालाई सेतो छडी, व्हिलचियर, वैशाखी र १० जनालाई एक÷एक वटा बाख्रा र ६ जनालाई शैक्षिक सामग्री प्रदान गरिएको छ । सामग्री वितरण गर्दै गाउँपालिकाको उपाध्यक्ष अर्ज‘नप्रसाद न्यौपानेले यसबाट फरक क्षमता भएकाहरूको जीवन सञ्चालन गर्न सहयोग पुगेकोले कार्यक्रम निरन्तर हुने बताए ।

कार्यालय खारेजको विरोध

विदुर । नेपाल अतिरिक्त हुलाक कर्मचारी एसोसिएसन जिल्ला कार्यसमिति नुवाकोटले स्थानीय प्रशासनमा ज्ञापनपत्र बुझाएको छ । अध्यक्ष अन्जु बोगटी नेतृत्वको टोलीले सरकारले प्रस्तुत गरेको बजेट भाषणमा अतिरिक्त हुलाक कार्यालय खारेज गर्ने तयारी गरिएकोमा विरोध जनाउँदै ज्ञापनपत्र बुझाएको हो ।
    यदि अतिरिक्त हुलाक कर्मचारीलाई स्वेच्छाले हट्न चाहेमा १० वर्षदेखि २० वर्षसम्म कार्यरतलाई ५ लाख, २०देखि ३० वर्ष कार्यरत ७ लाख र ३० देखि ४० वर्ष कार्यरत कर्मचारीलाई १० लाख रुपैयाँ दिनुपर्ने मागपत्रमा उल्लेख छ ।
    नेपालमा अतिरिक्त हुलाक कर्मचारी १० हजार ८ सय ५३ जनाको तलब दुई वर्षदेखि नबढाएर विभेद गरेको ती कर्मचारीको भनाइ छ । नुवाकोटमा ५० वटा अतिरिक्त हुलाकमा १ सय ७४ जना कर्मचारी कार्यरत छन् । उनीहरूले माग पूरा नभए अतिरिक्त हुलाक कार्यालय र डाँक आदानप्रदानसमेत बन्द गर्ने चेतावनी दिएका छन् । असार ५ गते जिल्ला हुलाक कार्यालय घेराउ गर्ने कार्यक्रम रहेको एसोसियसनले जनाएको छ ।

क्रसर बिरुद्ध उजुरी

विदुर । बेलकोटगढी नगरपालिका वडा नं. १० मा रहेको तादी खोलामा रहेको प्रसुन निर्माण सेवाले सञ्चालनमा ल्याएको निरञ्जना रोडाढुंगा उद्योग बन्द गराउन राष्ट्रिय स्वतन्त्र पार्टी बेलकोटगढी नगर समितिले प्रशासनमा उजुरी दर्ता गराएको छ ।
    राष्ट्रिय स्वतन्त्र पार्टी बेलकोटगढी नगर समितिले जिल्ला प्रशासन कार्यालयमा दिएको उजुरीमा स्थानीय वासीलाई उक्त क्रसरले स्थानीयवासीलाई कुनैपनि सेवा नदिई ध्वनी तथा बायु प्रदुषण गरी कानुनको दुरुपयोग गरेको उल्लेख गरिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी नगरसभापति कृष्णप्रसाद पन्थद्वारा हस्ताक्षरित उजुरीमा उक्त क्रसरले सार्वजनिक सम्पत्तिको दुरुपयोग गरी खेतीयोग्य जमीनमासमेत बालुवा उत्खनन् गरेको आरोप लगाइएको छ । प्रसुन निर्माण सेवाले करसमेत छली गरी विल नकाटी सामान निकासी गर्ने गरेकोले अवैध रुपमा सञ्चालनमा आएको क्रसर बन्द गर्न सो पार्टीले जिल्ला प्रशासन कार्यालयमा उजुरी दर्ता गराएको हो ।

२०८० साल असार ४ गतेको सम्पादकीय

सास्तीमा महिला जनप्रतिनिधि
नेपालको संविधानमा स्थानीय सरकार हाँक्नका लागि प्रमुख वा उपप्रमुखमध्ये एक जना महिला अनिवार्यको व्यवस्था गरियो । त्यही व्यवस्थामा टेकेर स्थानीय तहको निर्वाचन पनि भयो । तर, महिलाहरूले प्रमुख बन्न विरलै पाए । प्रायः स्थानीय तहमा पुरुष नै प्रमुख भए, भने उपप्रमुख महिलालाई मात्रै प्रदान गरियो । महिला असक्षम भएर भने पक्कै होइन । पुरुष प्रधान देश भएकाले महिलाहरू अगाडी बढ्नु हुँदैन, भन्ने मानसिकताले त्यसमा काम गर्यो । उपप्रमुख भए पछि पनि सहज ढङ्गले काम गर्न भने पाएनन् । प्रमुखले एकलौटी गर्ने प्रवृत्ति नै हाबी भयो । उपप्रमुखलाई कुनै जानकारी नदिएर प्रमुखले एकलौटी ढङ्गले गर्न खोजेपछि ठाउँ–ठाउँमा विद्रोह पनि भयो । धेरै स्थानीय तहमा प्रमुख र उपप्रमुखबीच बोलचाल नै बन्द हुने अवस्था पनि आएको छ । केही जनप्रतिनिधि अधिकार खोसिएको भन्दै अदालत पुगेका छन् । बजेट बाँडफाँट, योजना तर्ज‘मा, निजी स्वार्थ, दलभित्रको गुटगत स्वार्थ लगायतका कारण विवाद चुलिएको हो । जनप्रतिनिधिबीच द्वन्द्व बढेपछि विकास निर्माणमा अवरोध पुगेको छ भने सर्वसाधारण सेवाग्राही मर्कामा परेका छन् ।
    स्थानीय सरकार सञ्चालन ऐनको दफा (१६) को उपदफा (४) को (ख) मा गाउँपालिका प्रमुखको अनुपस्थितिमा निजको कार्यभार उपप्रमुखलाई दिने व्यवस्था छ । तर, ऐनको यो अधिकार व्यवहारमा उपभोग गर्न नपाएको उपप्रमुखहरूको गुनासो छ । प्रमुख र उपप्रमुख मात्रै होइन, जनप्रतिनिधि र कर्मचारीबीच पनि उतिकै द्वन्द्व छ । सङ्क्रमणकालीन समयमा झन्डै २० वर्ष स्थानीय तहको नेतृत्व गरेका कर्मचारी र संघीय संरचनापछि दोस्रो पटक भएको स्थानीय तहको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिबीच असहमति बढ्दै जाने गरेका छन् । स्थानीय तह सञ्चालनमा भिन्न क्षमता र प्रवृत्ति देखिएको छ । सामुदायिक क्षेत्र, विद्यालय व्यवस्थापन समिति, सामुदायिक वनजस्ता संस्थाबाट आएका नेतृत्व तुलनात्मक रूपमा सफल देखिएका छन् । बैठकमा पर्याप्त छलफल गरेर निर्णय लिने, साना असन्तुष्टि पनि संवाद गरेर तत्काल सुल्झाइ हाल्ने उनीहरूको क्षमता देखिएको छ । त्यस्तै, राजनीतिक पार्टीको जिल्ला तहमा पुगिसकेर प्रमुख–उपप्रमुख हुनेहरूको नेतृत्व क्षमता तुलनात्मक रूपमा प्रभावकारी देखिएको छ । उनीहरूले योजना छनोटमा सहभागिता बढाउन र विकासमा पूर्वाग्रह हटाउँदै स्थानीय सरकारलाई प्रभावकारी बनाएका छन् । त्यसको तुलनामा ठेक्कापट्टालगायत विभिन्न पेसाबाट आएका नेतृत्वमा समन्वय गर्नको सट्टा एकले अर्कालाई पेलेर जाने प्रवृत्ति देखिएको छ । त्यसले विवाद निम्त्याएको छ । देशभरिका स्थानीय तहमा प्रमुख वा उपप्रमुखमध्ये एक महिला र वडामा एक महिला र दलित महिला सदस्य अनिवार्य निर्वाचित हुने कानुनी प्रावधान छ । तर, निर्वाचितहरूको नीति–निर्माणमा पहुँच नभएको तथ्यले स्थानीय तहमा निर्वाचित महिला जनप्रतिनिधिको दुर्दशा देखाउने गरेको छ ।
    स्थानीय तहमा निर्वाचित महिला जनप्रतिनिधि भूमिकाविहीन बन्न थालेका छन् । स्थानीय सरकार सञ्चालन ऐनले स्थानीय तहको वडा समितिको काम, कर्तव्य र अधिकार स्पष्ट गरे पनि निर्वाचित महिला जनप्रतिधि भने व्यवहारमा भूमिकाविहीन बन्दै गएका हुन् । स्थानीय सरकार सञ्चालन ऐनमा वडा समितिले वडाभित्रको योजना तर्ज‘मा कार्यान्वयन, अनुगमन गर्ने, तथ्याङ्क अद्यावधिक र संरक्षण गर्ने, स्थानीय तहको विकास कार्यमा सम्लग्न हुने, वडाभित्रका विकास निर्माणको कामको र उपभोक्ता समितिको नियम गर्ने व्यवस्था गरिएको छ । ती कामका लागि वडा समितिले आवश्यकता अनुसार वडा सदस्यलाई जिम्मेवारी प्रदान गर्न‘पर्छ । तर अधिकांश वडाध्यक्षले वडा सदस्यलाई जिम्मेवारी प्रदान नगर्दा स्थानीय तहका महिला वडा सदस्य भूमिकाविहीन बनेका हुन् । देशका ७५३ स्थानीय तहमध्ये अधिकांश स्थानीय तहका वडा महिला सदस्य बजेट र कानुन पारित गर्ने बेलामा ताली बजाउँदै साक्षी मात्र हुने गरेका छन् । स्थानीय तहमा वडाध्यक्षसहित महिला सदस्य एक जना, दलित महिला एक, दुई जना खुल्ला सदस्य गरी पाँच जनाको वडा समिति हुने कानुनी व्यवस्था छ । गाउँ र नगरसभामा भने सबै वडा सदस्य विधायिकाको भूमिका हुने कानुनी व्यवस्था छ । केही स्थानीय तहमा वडाध्यक्षको एकलौटी कार्यशैलीले पुरुष वडा सदस्यसमेत ओझेलमा छन् । यद्यपि महिलाको तुलनामा पुरुष टाठाबाठा हुँदा अधिकांश स्थानीय तहमा भने पुरुष सदस्यले भूमिका पाएका छन् । स्थानीय तहमा दलित महिला सदस्य झनै भूमिकाविहीन भएका छन् । संविधानले स्थानीय तहका प्रत्येक वडामा एकजना दलित महिला सदस्य अनिवार्य रूपमा निर्वाचित हुनुपर्ने व्यवस्था गरेको छ । संविधानको मर्मअनुसार निर्वाचित भएका दलित महिला सदस्य झनै भूमिकाविहीन भएका हुन् । वडा समितिले स्पष्ट जिम्मेवारी नदिनु र नियमित आम्दानीको स्रोत नहुने आदि कारणले दलित महिला सदस्य स्थानीय तहमा भूमिकाविहीन बनेका हुन् । पारिवारिक समस्याले वडा समितिको बैठकमा जान नभ्याउने समस्या पनि उस्तै छ ।
    परापूर्वकालदेखि नै पुरुष प्रधान रहेको नेपाली समाजमा नारीहरूले चर्काे स्वरमा आफनो अधिकार र स्वतन्त्रताका लागि आवाज उठाउँदै आएका छन् । तर, पनि व्यवहारिकरुपमा महिला र पुरुषबीचको भेदभाव र असमानता अझै विद्यमान छ । २१ औं शताब्दी शिक्षा, सामाजिक, चेतना, आधुनिकताको युग हो । यसका बावजुद लैंगिक विभेद कायम छ । आफूलाई शिक्षित सभ्य, सुसंस्कृत भएको घोषणा गर्ने परिवारमा समेत नारीको जीवन पुरुषकै नियन्त्रणमा बितिरहेको हुन्छ । समाज र त्यहाँका परिवेश अनुसार महिला हिंसा, बालविवाह, यौन हिंसा, दुव्र्यहार, बलात्कार, बोक्सी, दाइजोको नाममा गरिने अमानवीय व्यवहारको शिकार महिला भइरहेका छन् । वि.सं. २००७ सालदेखि ०४६ हुँदै ०६२/०६३ सालको आन्दोलन तथा त्यसपछि भएका आन्दोलनमा समेत सक्रियरुपमा सहभागी भएका थिए । तर, उनीहरूको लगानीको मूल्यांकन कुनै राजनीतिक पार्टीभित्र पनि हुन सकेन । नेतृत्व गर्ने क्षमता भएका महिलाहरूलाई नेतृत्व लिने अवसरसमेत दिइएन । योग्य र सक्षम महिलालाई नेतृत्व तहसम्म पुग्न अवसर नदिनु र अवसर पाइहाले भने पनि टिक्न नदिने, काम गर्ने वातावरण बन्न नदिने गरिन्छ । इतिहासको अध्ययन गर्ने हो भने सन १९५८ मा नेपालकी प्रथम महिला प्रतिनिधिसभा सदस्य द्वारीका देवी ठकुरानी हुन् । त्यसको ४० वर्षपछि नेपाली कांग्रेसले सरकारको नेतृत्व गरेको समयमा शैलजा आचार्यलाई मुलुककै पहिलो उपप्रधानमन्त्रीको रुपमा उभ्याएको थियो । आर्थिक सामाजिक रुपले कमजोर र कडा प्रतिस्पर्धाका वावजुद हिम्मत जुटाएर परिवार तथा समाजलाई चुनौती दिँदै वि.सं. २०४६ सालको प्रजातन्त्रको पुनर्बहालीपछि धेरै महिला दिदीबहिनीहरू राजनीतिमा लागेको देखिन्छ ।
    त्यसैले अब महिला जनप्रतिनिधिहरू स्वयंले क्षमता विकास गर्न‘पर्ने जरुरी देखिन्छ । साथै, प्रतिनिधित्वमा रमाएर बस्ने होईन, पाएको जिम्मेवारीलाई पुरा गरी नतिजा देखाउने समय यो हो । पदमा पुगेपछि आफ्नो कार्यक्षेत्रमा विकासको मोडलका उचित योजना अगाडी सारेर ईच्छा शक्ति आत्मबलका साथकाम गर्ने, जिम्मेवारी तथा कर्तव्य निर्वाह गर्न तयार हुनुपर्ने हुन्छ । आज उप प्रमुख भएपनि भोलि प्रमुख बन्ने क्षमता राख्छु भन्ने देखाउन सोही अनुसार अघि बढ्नुपर्छ । प्रदेश, जिल्ला र स्थानीय तहका महिला समेत संगठित भएर हातेमालो गर्दै जानुपर्छ । शताब्दीऔदेखि ओझेलमा पर्दै आएका ५० प्रतिशत भन्दा बढी जनसंख्यालाई विकासको मुलधारमा ल्याउन र राज्यको विभिन्न तहमा पु-याउन परम्परावादी पितृसतात्मक सोचमा परिवर्तन गर्न आवश्यक छ । महिला शिक्षित, स्वरोजगार बन्दै आत्मविश्वास तथा दृढ ईच्छा शक्ति तथा क्षमताको विकास गर्न‘ एकदमै जरुरी देखिन्छ । घर परिवारसँगै कार्यस्थलको जिम्मेवारी काँधमा बोकेर महिला प्रतिनीधिहरू आइपरेका बाधा अडचनको सामना गर्दै अघि बढिरहेको उदारण हाम्रो सामु प्रशस्तै छन् । यसले गर्दा आशाको किरण र विश्वास पलाएको छ कि मौका दियो भने महिलाले पनि स्थानीय तहको नेतृत्व निष्ठा र ईमान्दारीपूर्वक निर्वाह गर्न सक्छन् । तर, त्यसका लागि परिवार, समाज र पुरुषहरूको पनि साथ र सहयोग चाहिन्छ । किनभने पुरुषहरू महिला नेतृत्वमा भए पनि आफ्नो कुरा सुनेर निर्णय लिउन, वा आफूले भनेको मानुन् भन्ने चाहन्छन् । तसर्थ महिलाको यो लडाइँमा सकारात्मक चिन्तन भएका पुरुषको सहयोग र सहभागिता अनिवार्य छ । महिलाको समान अस्तित्व र भूमिकालाई भावनात्मकरुपमा घरदेखि बाहिरसम्म स्वीकार्ने वातावरण बनाउँदै लैजानुपर्छ ।

२०८० साल असार ४ गते । वर्ष:१६ अंक:३४