Monday, July 03, 2023

असार १५ : सुकिलालाई मात्रै रमाइलो

ब्यारेक भित्र नेपाली सेनाको जबरजंग गणले तयार गरेको एउटा गरोमा रोपाइँ गर्दै सरकारी अधिकारीहरू 

विदुर । धान खेतीका नुवाकोट पनि प्रसिद्ध जिल्ला हो । केही वर्षअघिसम्म धान खेती यहाँका अधिकांश किसानको मुख्य पेशा हुने गरेको थियो । पछिल्लो समय भने अव्यवस्थित भवन निर्माण र बजारिकरणले गर्दा खेतीयोग्य जमिनको आकार तीव्र रुपमा घट्दो छ । यद्यपि असार १५ अर्थात् धान दिवसमा यहाँ रोपाइँका औपचारिक कार्यक्रम भव्य रुपमा मनाउने गरिएको छ । यसपटक दुई दर्जन भन्दा बढी स्थानमा असार १५ मा विभिन्न औपचारिक कार्यक्रमहरू भए । मन्त्रीदेखि किसान नेताहरूको समेत उपस्थितिमा नुवाकोटमा छुट्टाछुट्टै कार्यक्रमहरू भए ।
    स्थानीय सरकार, संघीय सरकारका बेग्लाबेग्लै कार्यक्रम र किसानका पनि बेग्लाबेग्लै कार्यक्रमले असार १५ नुवाकोट जिल्लामा गौडागौडामा ‘रमाइलो’ बन्यो । त्यसो त नुवाकोटमा मात्रै हैन, अधिकांश जिल्लाहरूमा मन्त्रीहरूसहित विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ताहरू आफ्ना संगठनका ब्यानरसहित खेतमा उपस्थित भएका छन् । वास्तविक किसान भने कहिले मल अभावमा त कहिले बाढीपहिरोले बाली बगाइदिँदा समस्यामा पर्ने गरेका छन् । लम्पी स्किन संक्रमणले गोरु थलिएर रोपाइँका लागि तयार नहुँदा ठूलो संख्यामा किसानको रोपाइँ नै प्रभावित बन्न पुगेको छ ।
    मन्त्री, सांसद तथा दलका नेताहरू खेतमा पुगेर धान रोपेका तस्बिर त खिचाए । तर हरेक वर्ष किसानलाई चिन्तित बनाइरहेको मल अभाव र लम्पी स्किनको समाधान भने नेताहरूले पनि दिन सकेनन् ।
    यस्तैमा नुवाकोटका प्रायः वास्तविक किसानहरूले भने रोपाइँ कार्यक्रम गर्न खेतमा पुगेका जनप्रतिनिधिलाई सहजै मल नपाएको गुनासो गरेका छन् । रोपाइँको मौसम सुरु भए पनि सरकारले सर्वसुलभ रुपमा रासायनिक मल उपलब्ध नगराउँदा रोपाइँ नै प्रभावित भएको उनीहरूको गुनासो छ । धान दिवसका अवसरमा नुवाकोटको गेर्ख‘टार, मदानपुर, तादी, पञ्चकन्या, ककनी लगायतका स्थानमा शुक्रबार भएको धान महोत्सव सहभागी किसानहरूले अतिथिसँग रासायनिक मल उपलब्ध गराइदिन माग गरे । कार्यक्रममा सहभागी अतिथिहरूले पनि पहल गर्ने आश्वासन दिए । सबै कार्यक्रम हेर्दा किसनालाई झन् बढी चटारो र दुःख देखिन्थ्यो, अतिथि आएकालाई ‘रमाइलो’ ।
    बेलकोटगढी नगरपालिको बासुकी फाँटमा धान दिवस तथा रोपाइँ महोत्सवमा पर्यटन तथा नागरिक उड्डन  राज्यमन्त्री सुशीला शेर्पाली ठकुरीले किसानहरूको समस्या समाधान गर्न सरकार क्रियाशील रहेको बताइन् । कृषिप्रधान देश नेपालमा किसानलाई समस्या परेको र यसको समाधान सबै पक्षको सहकार्यबाट गरिने उनको भनाइ छ । कृषिमा आधुनिक यन्त्र उपकरणको प्रयोग गरेर उत्पादन बढाई युवा पलायन हुने कार्य नियन्त्रण गरिनुपर्ने राज्यमन्त्री ठकुरीले बताइन् । मदानपुर बासुकीफाँटमा भएको रोपाइँ महोत्सवमा विभिन्न मनोरञ्जनात्मक कार्यक्रम प्रस्तुत गरिएको थियो । बागमती प्रदेशका आर्थिक मामिला मन्त्री बहादुरसिंह लामासहित किसानहरूले धान रोप्दै ‘रमाइलो’ गरे । 

बेलकोगढी  नगरपालिकाको बासुकीफाँटमा असार १५ गते हिलोखेल्न खेतमा पसेकाहरू ‘अतिथिहरू’

खेताला अभाव

असार १५ गते तादी गाउँपालिका वडा नं. ५ बाहुवेही फाँटमा भएको रोपाइँ ‘महोत्सव’ मा सहभागी

शरण उत्सुक सापकोटा

विदुर । युवा बिदेसिने क्रमसँगै नुवाकोटमा कृषि कर्म गर्न श्रमिकको अभाव दिन प्रतिदिन बढिरहेको छ । धान रोप्न हल गोरु र खेताला नपाएर स्थानीय अहिले हैरान छन् । खेतालाको अभावसँगै कृषकले रासायनिक मल, गुणस्तरीय बिउ–बिजन र कीटनासक औषधि पाउनसमेत समस्या भोगिरहेका छन् । युवा भविष्य खोज्न वैदेशिक रोजगारीमा हानिएपछि घर रुँगेर बसेका बुढाबुढीलाई खेतबारीमा अन्न रोप्न समस्या छ ।
    यो नुवाकोटको मात्रै समस्या होइन । सिङ्गै देशमा यस्तै समस्या छन् । काम गर्ने मान्छे अभावकै कारण पहाडी क्षेत्रमा खेतीयोग्य जमिनमा तितेपाती फुल्न थालेको छ । खेतीयोग्य जग्गा बाँझिएका छन् । हिजो उब्जनी हुने खेतबारी अहिले जङ्गलमा परिणत भइरहेको छ भने तराईमा काँस उम्रेको छ । कुनै समय एकहल गोरु, एउटा लैनो भंँसीलाई अनिवार्य आवश्यकता मान्ने नेपाली किसान अहिले यति कमजोर भएका छन्, न हल गोरु पाल्ने हिम्मत गर्छन् न त लैनो भैँसीकै जोहो गर्न सक्छन् । गाउँ–गाउँमा दूध, दही, घिउ, सहरबजारबाट जाने गरेको छ । २०–२२ वर्ष उमेर कटेपछि श्रम गर्न विदेश जानैपर्ने लहरले गाउँ रित्तिँदै गएको छ । यदि कुनै कारण विदेश जान भिसा लागेन भने पनि सहरमै रुमल्लिनुपर्ने अर्को भ्रमले पनि गाउँका घर रित्ता भइरहेका छन् । जुन घरमा मानवीय चहल–पहल छ त्यो पनि मात्रै बुढाबुढीको भरमा । गाउँ रित्तिँदै जानु, सहर भरिँदै जानु आफैँमा एउटा समस्या हो ।
    स्थानीय सरकार गठनसँगै विकासको चक्र सहरबाट गाउँतिर उकालो लागे पनि युवा पुस्तालाई आफ्नै गाउँप्रति विश्वास नहुनु अर्को ठूलो समस्या हो । सडक र भौतिक पूर्वाधार गाउँघरमा पुगेपछि युवा अडिन्छ भन्ने गरिन्थ्यो । त्यो केवल भ्रम बनेको छ । सडक पुगेपछि गाउँघर खाली हुने क्रम तीव्र बनेको छ । अहिले धान रोप्ने खेताला पाइएन, भोलि खेत गोड्ने, कोदो रोप्ने खेताला नपाइएला, यही क्रम जारी रहे एक दिन मलामी जाने मान्छेकै पनि अभाव हुन सक्छ । तसर्थ गाउँघरप्रति युवा पुस्ताको विकर्षण रोक्नका लागि विशेष योजना बनाउन ढिला भइसकेको छ । कुनै पनि गाउँ सम्पन्न हुनका लागि पक्की सडक वा भव्य भवनलगायत अन्य पूर्वाधार बनाएर मात्रै हुँदैन । गाउँलाई जीवित राख्न मानवीय चहल–पहल पनि आवश्यक छ भन्ने बुझ्न तीन तहका सरकारले ढिला भइसक्यो । त्यसका लागि केवल ‘गाउँमै बस हावापानी राम्रो छ’ भनेर मात्रै हुँदैन । गाउँमा बस्न प्रेरित गर्ने खालका योजना ल्याउनुपर्छ ।
    हिजो केन्द्रीकृत शासन व्यवस्था हुँदा सिंहदरबारमा बस्नेले दूरदराजका सबै समस्या थाहा पाउँदैन थिए । अहिले गाउँ–गाउँमा सिंहदरबार पुगेको छ । गाउँ गाउँको सिंहदरबारमा बस्नेले आफ्नो क्षेत्रको श्रीवृद्धिका लागि मौलिक योजना बनाउन ढिला भइसकेको छ ।
अहिले प्रायः स्थानीय सरकारले पहाड खोस्रेर सकेसम्म धेरै मोटरबाटो खन्ने र बजेट भएसँगै दुई–चार किलोमिटर पिच गर्ने चलन संस्कारको रूपमा बसेको छ । स्थानीय जनप्रतिनिधिले पनि बुझ्न जरुरी छ, केवल नयाँ बाटो खनेर वा कालोपत्रे गरेर मात्रै युवालाई गाउँमै रोक्न सम्भव छैन । गाउँमा बसेर पनि केवल खेताला मात्रै होइन लाउन, खान सकिने हैसियत बनाउन सकिन्छ भन्ने सन्देश युवा पुस्तामा पु-याउन सकियो भने आगामी दिनमा खेताला नपाएरै धान, मकै, कोदो, गहुँ, तोरी छर्न नपाएको गुनासो कम हुनेछ ।

तस्बिर समाचार

बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक किरण राणा (प्रहरी तर्फको पहिलो पंक्तिमा) जिल्ला प्रहरी कार्यालय नुवाकोटमा असार ७ गते निरिक्ष्ण गर्ने क्रममा सेवाग्राही नागरिकसंग प्रहरीको सेवा प्रति धारणा बुझ्दै । साथमा जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्मुख एसपी रमेश पण्डित लगायतका प्रहरी अधिकृतहरू ।

पहिलो पटक अप्रेसनबाट सुत्केरी

धुञ्चे । रसुवा अस्पताल धुञ्चेमा पहिलो पटक शल्यक्रियाबाट बच्चा जन्माइएको छ । सुत्केरी व्यथा लागेर पनि सहज रूपले बच्चा जन्माउन नसकेपछि उत्तरी रसुवास्थित आमाछोदिङ्मो गाउँपालिका वडा नं. ५ टेचाङ्तेका गर्भवतीको जिल्ला अस्पतालले गएको सोमबार राती  शल्यक्रिया गरेर सुत्केरी गराएको हो ।
    रसुवा अस्पतालमा शल्यक्रियाका लागि ‘निक साइमन्स इन्स्टिच्युट’ नामक सँस्थाले दक्ष चिकित्सक सहित केही महत्वपूर्ण उपकरण समेत सहयोग उपलब्ध गराएसगैँ शल्यक्रिया गरेर सुत्केरी गराउन चिकित्सकलाई सहज भएको हो । सहयोगी निकाय र जिल्ला अस्पतालको अथक प्रयासबाट शल्यक्रिया मार्फत बच्चा जन्माउन सफल भइएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. अमितकुमार शाहले बताए ।
    १५ बेड क्षमताको रसुवा अस्पतालमा निक साइमन्स इन्स्टिच्युट’ले शल्यक्रियाका लागि नियमित रुपमा एक जना दक्षचिकित्सक उपलब्ध गराएसगैँ अस्पताले शल्यक्रिया सेवा दिन सुरु गरेको हो । सुत्केरी बेथाले छट्पटिएको रसुवा अस्पतालले सुरु गरेको शल्यक्रिया सेवालाई नियमित बनाउने जनाएको छ ।

खोला तर्ने क्रममा मृत्यु

विदुर । नुवाकोटको बेलकोटगढी नगरपालिका १२ स्थित तादीखोलामा नयाँपुलमुनि खोलाको किनारमा एक स्थानीय असार १५ गते शुक्रवार मृत अवस्थामा फेला परेको छ ।
लिखु गाउँपालिका ३ का ५५ वर्षीय रत्नबहादुर राई मृत फेला परेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका डीएसपी खगेन्द्रबहादुर खड्काले बताए । उनी लिखु गाउँपालिका १ ढिकुरेबाट घर जाँदै गर्दा तादी खोला तर्ने क्रममा खोलाले बगाएको प्रहरीले जनाएको छ ।

आयोजनाको म्याद ७ दिन मात्रै

विदुर नगरपालिका– १० मा रहेको तिरतिरे भीर बग्ने क्रम स्थायी रुपमा नियन्त्रणमा आएको छैन ।

विदुर । नेपाललाई भारत र चीनसँग जोड्ने गल्छी–त्रिशुली–मैलुङ–स्याफ्रुवेशी–रसुवागढी सडकको निर्माण कार्य भइरहेको छ । सडक निर्माणका लागि आठौं पटक थपिएको म्यादसमेत २०८० साल असार २५ गते सकिँदैछ । फेरी म्याद थपेर निर्माण कार्य गर्न‘पर्ने अवस्था रहेको छ । पृथ्वी राजमार्गको गल्छीदेखि नुवाकोटको विदुर हुँदै रसुवाको बेत्रावती–मैलुङ–स्याफ्रुवेशी–रसुवागढी मार्गसम्म जोड्ने सरकारी योजना अनुसार दुई लेनको पक्कि मोटरबाटो निर्माण भइरहेको छ ।
    हाल विदुर–वेत्रावती सडकखण्डको बीचमा रहेको तिरतिरे भीरको माटो तथा पहिरो सफाई गर्ने कार्य भइरहेको छ । विदुर नगरपालिका– १० मा रहेको तिरतिरे भीरमा स्काभेटरलगायतका आवस्यक उपकरणमार्फत भीर सफाई गर्ने कार्य भइरहेको गल्छी–त्रिशुली–मैलुङ–रसुवागढी सडक योजना प्रमुख ध्रुवकुमार श्रेष्ठको भनाई छ । उनका अनुसार हाल यस सडक अन्तर्गत रहेको विभिन्न स्थानमा सडक निर्माण तथा विस्तार कार्य भइरहेको छ ।  सो सडकमार्गको काम हाल ५० प्रतिशतभन्दा धेरै निर्माण कार्य सकिएको छ ।
    रसुवागढी हुँदै केरुङ जोड्नका लागि गत आ.व २०७२/०७३ देखि निर्माण सुरु भएको सो गल्छी–त्रिशुली–मैलुङ–स्याफ्रुवेशी–रसुवागढी सडक ८२ किलोमिटर दुरीको निर्माण भइरहेको छ । जसमध्ये नेपाल सरकारले ६५ किलोमिटर र चीन सरकारको अनुदानमा १७ किलोमिटर निर्माण हुने आयोजना प्रमुख श्रेष्ठले जानकारी दिए । उनका अनुसार सो सडकको हालसम्म ३५ किलोमिटर कालोपत्रे गरिसकिएको र हाल सडक चौडा, देवा पर्खाल निर्माण र नाली निर्माणको कार्य भइरहेको छ । कुल १५ अर्ब ५० करोड रुपैयाँ लागत रहेको सो सडक आयोजनामा हालसम्म आठ अर्ब ७५ करोड रुपैयाँ खर्च भइसकेको छ ।
    हालसम्म तीन अर्ब २५ करोड मुआव्जा तथा क्षतिपूर्तिका लागि र सांढे पाँच अर्ब  निर्माणको काममा खर्च भइसकेको  छ । सडकमार्गको बीचमा ३२ वटा पुल निर्माण गर्न‘पर्नेमा १३ वटा निर्माण सम्पन्न भइसकेको आयोजना प्रमुख श्रेष्ठले बताए । जसमध्ये पाँचवटा पुल निर्माणाधिन र चार वटा पुलको ठेक्का प्रक्रिया भइरहेको छ । सडकका लागि सातसय ६६ रोपनी जग्गा अधिग्रहण भइसकेको छ । यस सडक डवल लेनको हुने र केन्द्रविन्दुबाट १५/१५ मिटर हुने आयोजना प्रमुख ध्रुवकुमार श्रेष्ठले बताए । उनका अनुसार निर्माण गरिएको सडकमा ११ मिटर चौडाइमा कालोपत्रे र सात मिटरको अल्फाल्ट पिच गरिएको छ । चीन जोड्ने छोटो दूरीको मैलुङ–स्याफ्रुबेँसी सडक सञ्चालनमा आएसँगै कारोबारमा सहज भएको छ । मालबाहक कन्टेनर तथा साना सवारी साधन उक्त सडकखण्डबाट आवतजावत गरिरहेका छन् ।
    त्यसो त, राष्ट्रिय गौरवको योजना अन्तर्गत धादिङ जिल्लाको गल्छीदेखि नुवाकोटको विदुर–ढुङ्गे–बेत्रावती हुँदै रसुवाको मैलुङ–स्याफ्रुबेँसी–रसुवागढीसम्म निर्माणाधीन सडक निर्धारित समयमा सम्पन्न नहुँदा सडक प्रयोगकर्ताले सास्ती व्यहोर्न‘ परिरहेको छ । यो सडकमार्गको देवीघाटपारिको पहिरो र भैँसेनजिकको तिरतिरे पहिरो नियन्त्रण नहुँदा पानी पर्दा सडक घण्टौँ अवरोध भइरहँदा पनि सम्बन्धित निकायको ध्यान पुग्न सकेको छैन ।
    गल्छी–त्रिशुली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडक योजना अन्तर्गत ढुङ्गे–बेत्रावती खण्डको तिरतिरेभिर क्षेत्रको सडक र देवीघाट पुलसँगैको जिलिङको पहिरो समयमा नियन्त्रण नहुँदा वर्षा हुनासाथ अवरुद्ध हुने गरेको छ । उक्त दुवै क्षेत्रको पहिरो नियन्त्रणका लागि ठेक्का भएर ठेकेदारले काम अगाडि बढाइसकेका छन् । तर, ठेकेदारले ती क्षेत्रको डाँडोको माटो मात्रै खनेर छाडिदिएकाले वर्षा हुनासाथ लेदोसहितको भलपानी दुई–तीन फिटसम्म सडकमा जम्मा हुने गरेको छ ।
    विदुर नगरपालिका–१० को १ नम्बर पुलदेखि भैँसेसम्मको सडकमार्गमा दैनिक सयौँ सवारीसाधान फस्ने गरेका छन् । गत महिना जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी किरण थापाको कार्यकक्षमा गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडक योजनाको प्रतिनिधि, तिरतिरेभिरको पहिरो र देवीघाटपारिको पहिरो नियन्त्रणका लागि जिम्मेवारी पाएको ठेकेदार कम्पनीका प्रतिनिधि र अन्य सरोकारवालाबीच भएको छलफलमा बर्खाभरि हेभी इक्युपमेन्टसहित प्राविधिक जनशक्ति ठेकेदारले उक्त क्षेत्रमा व्यवस्था गर्ने सहमति भएको थियो । उक्त सहमति भएको महिना दिन बितिसक्दा पनि दुवै क्षेत्रमा वर्षा हुँदा सडकमा थुप्रेको लेदो हटाउन सवारीचालक आफैँ सक्रिय हुनुपरेको छ । दुवै पहिरोको क्षेत्रमा योजना कार्यालय, ठेकेदार कम्पनीको प्राविधिक र उपकरण नदेखिएको सडक प्रयोगकर्ताहरू बताउँछन् ।
    पानी आएपछि माथिबाट बगेको पानीसहितको लेदोले सडक पुरिने गरेको छ । सडक अवरुद्ध हुने गरेको जानकारी ठेकेदार र योजना कार्यालयलाई गराए पनि बेवास्ता गरिरहेका छन् । सडक अवरुद्ध हुँदा दैनिक सयौँ सवारीसाधन र स्थानीय सडक प्रयोगकर्ताले हैरानी र सास्ती पाइरहेका छन् । पहिरो नियन्त्रण गर्न ठेक्का लगाएको काम सुस्त गतिमा भएकाले र अहिले स्थगितजस्तै भएको छ । पहिरो नियन्त्रणको काम पूरा गरिसक्नुपर्ने समयमा मुख्य काम नै नहुँदा सडकमार्ग वर्षा हुँदा हिउँददेखि नै अवरोध हुँदै आएको थियो ।
    यो क्षेत्रको वैकल्पिक मार्गको भैँसे, तुप्चेको त्रिशुली नदीको पुलको वारिपारिको दायाँबायाा भाग निर्माण भइरहेकोले वर्षात् भएपछि रसुवागढीदेखि आएका सवारीसाधन घण्टौँ यस क्षेत्रमा रोकिनुपर्ने बाध्यता छ । बेत्रावती, भैँसे र त्रिशुली, ढुङ्गेका स्थानीयको सवारी आवत–जावतमा दैनिक अवरोध हुने गरेको स्थानीयहरूले जानकारी दिए । दैनिक यो सडकको दुर्दशाबारे जिल्ला प्रशासन कार्यालयदेखि सडक योजना कार्यालयलाई जानकारी गराउँदा पनि पहिरो पन्छाउने जिम्मेवारी कसको हो थाहा हुन नसकेको स्थानीय व्यापारी कृष्ण प्याकुरेलले गुनासो गरे । यस भेगका बासिन्दा बजार जान, कार्यालय र अन्य काममा विदुर, त्रिशूली आउन वर्षा हुँदा सकस व्यहोरिरहेका छन् ।

वडाबाटै राष्ट्रिय परिचयपत्रको तयारी

तयारी कार्यक्रम

तारकेश्वर । तारकेश्वर गाँउपालिकामा राष्ट्रिय परिचयपत्रको विवरण संकलन वडातहबाट नै सुरु गर्नको लागी आवश्यक तयारी, त्यससम्बन्धि अन्तरक्रिया तथा अभिमुखिकरण सम्पन्न भएको छ ।
तारकेश्वर गाँउपालिकाको सभाहलमा हिजो मंगलबार नुवाकोटको प्रमुख जिल्ला अधिकारी किरण थापा, सहायक प्रमुख जिल्ला अधिकारी वेदनिधि अधिकारी, प्रशासकीय अधिकृत सुरेश खतिवडा, जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख रमेश पण्डित, जिल्ला अनुसन्धान कार्यालय नुवाकोटका प्रमुख कमल थापा, राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण विभागका इञ्जिनियर अबुद अली, गाँउपालिकाको अध्यक्ष शिव अधिकारी ‘अविरल’, ६ वटै वडाको वडाध्यक्ष, सचिव र वडासदस्यहरू, गाँउपालिका र वडा कार्यालयमा कार्यरत कर्मचारीहरू लगायत सरोकारवालाहरूको सहभागितामा राष्ट्रिय परिचयपत्रको विवरण संकलनको लागी आवश्यक जानकारी सहित तयारी पूरा गरिएको हो ।
    कार्यक्रममा राष्ट्रिय परिचयपत्रको विवरण संकलनको क्रममा अपनाइने प्रक्रिया, त्यस सम्बन्धि कानूनी जानकारी सहितको प्रशिक्षणको क्रममा नुवाकोटका प्रमुख जिल्ला अधिकारी किरण थापाले सेवा प्रवाहलाई सरल, सहज र व्यावहारिक पक्ष समेतलाई दृष्टिगत गर्दै अभियानलाई सम्पन्न गर्नको लागी अनुरोध गरेका छन् । उनले राष्ट्रिय परिचयपत्र बनाउनको लागी नागरिकता अनिवार्य भएकाले नागरिकता बनाउन बाँकी रहेका नागरिकहरूको लागी समेत नयाँ नागरिकता बनाउन लगाएर अभियानको रुपमा सुरु भएको राष्ट्रिय परिचयपत्रको विवरण सकलन कार्यक्रमलाई सफल बनाउन तारकेश्वर गाँउपालिकालाई आग्रह गरेका छन् ।
    देशभर अभियानको रुपमा जारी रहेको राष्ट्रिय परिचयपत्रको विवरण संकलन कार्यक्रम तारकेश्वर गाँउपालिकामा पनि यो साताको अन्तिमबाट एकैसाथ ६ वटै वडामा विवरण संकलन सुरु गर्न लागिएको हो । राष्ट्रिय परिचय पत्रको विवरण संकलनमा सहभागी भएर सेवाको लाभ लिनको लागी गाँउपालिका अध्यक्ष शिव अधिकारीले अनुरोध गरेका छन् ।
    नुवाकोटमा म्यागङ गाँउपालिकामा राष्ट्रिय परिचयपत्र विवरण संकलनको काम पूरा भएको छ भने दुप्चेश्वर र किस्पाङ गाँउपालिकामा अभियान जारी रहेको छ ।

घरमै नागरिकता

 घरमै नागरिकता

विदुर । नुवाकोटको तारकेश्वर गाँउपालिका वडा नं ६ निवासी शारिरिक रुपमा पूर्ण अशक्त सन्तोषी रिमालले आफ्नै घरमा नेपाली नागरिकताको प्रमाणपत्र पाएका छन् । जन्मजात नै शारिरिक रुपमा कमजोर भएको कारण हिडडुल गर्न नसक्ने २१ वर्षीया रिमाललाई नुवाकोटका प्रमुख जिल्ला अधिकारी किरण थापाले गएको मंगलबार घरमै गएर नागरिकताको प्रमाणपत्र प्रदान गरेका हुन् ।
    उक्त वडाको वडाध्यक्ष नारायणप्रसाद रिमालले जिल्ला प्रशासन कार्यालय नुवाकोटमा पुगेर आवश्यक कागजात सहितको सिफारिस तयार गरेसगैँ उनलाई प्रशासन कार्यालयबाट प्रजिअ थापा सहित सहायक प्रजिअ बेदनिधी अधिकारी, प्रशासकीय अधिकृत सुरेश खतिवडा सहितले घरमा नै पुगेर आवश्यक प्रक्रिया पूरा गराई नागकिताको प्रमाणपत्र उपलब्ध गराए । शारिरिक रुपमा पूर्ण अशक्त रिमाललाई नागरिकताको अभावमा सरकारबाट प्राप्त हुने सामाजिक सुरक्षा भत्ता बापतको रकम पाउन समस्या भएको जानकारीमा आएकाले घरमै पुगेर नागरिकता प्रदान गरिएको प्रजिअ किरण थापाले बताए ।
    उनका अनुसार शारिरिक रुपमा कमजोर भएका तथा हिडडुल गर्न नसक्ने नागरिकहरूको हकमा घरमै गएर नागरिकता प्रदान गरिने भएकाले त्यस्तो कोही भएमा सम्पर्कमा आउनको लागी पनि अनुरोध गरिएको छ । घरमा नै नागकिरता प्राप्त गरेसगैँ खुसी हुनुभएका सन्तोषीको बुबा तोयबहादुर रिमालले असक्त छोरीलाई स्याहारसुसार तथा रेखदेखमा समस्या हुने गरेको गुनासो गरेका छन् । राज्यबाट उपलब्ध हुने भत्ताले सरसफाईको सामाग्रि खरिद गर्न समेत नपुग्ने गुनासो गर्दै शरिर कमजोर भएकाले पौष्टिकयुक्त खानेकुरा खुवाउनु र एक जना हेरालु खटिनुपर्ने भएकाले दीर्घकालीन सहयोगको कार्यक्रम भएमा प्रभावकारी हुने घरमै नागकिरता पाउनुभएका सन्तोषीको बुबा तोयबहादुर रिमालले बताए ।

ब्याडमिन्टनको उपाधी दिवाली जोडी र जोशी जोडीलाई

पुरस्कार वितरण समारोह

बट्टार । नुवाकोटमा सम्पन्न दोस्रो जिल्ला समन्वय खुला ब्याडमिन्टन प्रतियोगिताको उपाधी नारायण दिवाली र बिबेक जोशीको जोडीले हात पारेको छ ।
    समुह ए बाट बिबेक जोशीको जोडीले सुरज लामा र कुमार डंगोलको जोडिलाई २१–१८, २३–२१ र १९–८ ले पराजित गर्दै प्रोग्रेससेन्टको आधारमा प्रथम भएको छ ।
    त्यसैगरी, समुह बि बाट नारायण दिवाली र रोशन अधिकारीको जोडी र बिबेक जोशीको जोडीलाई २१–१८ र २१–१० को सोझो सेटले पराजित गरी प्रथम भएको आयोजकले जानकारी दिएको छ ।
    जल्ला समन्वय समिति नुवाकोटको आयोजनामा, जिल्ला खेलकुद विकास समिति नुवाकोट र जिल्ला ब्याटमिन्टन संघ नुवाकोटको प्राबिधिक तथा ब्यबस्थापन मा दोस्रो जिल्ला समन्वय खुला ब्याटमिन्टन प्रतियोगिता २०८० बिहीबारदेखि सुरु भएको थियो । प्रतियोगिता शनिवार सकिएको हो । तीन दिन दिनसम्म चलेको प्रतियोगितामा ५५ टिमको सहभागीता रहेको थियो ।
    प्रतियोगिताको समापन कार्यक्रममा बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिंह लामा तामाङले खेल क्षेत्रको विकासको लागी प्रदेश सरकार सकारात्मक रहेको बताए । मन्त्री तामाङले पछिल्लो समय खेलाडीको योगदानका कारण बिश्वसामु नेपालको परिचय गराएको समेत बताएका छन् ।
    समापन कार्यक्रममा जिल्ला समन्वय समिति नुवाकोट प्रमुख रजिन्द्रबिक्रमसिंह ठकुरीले मानव जिवन स्वास्थ्य र स्फुर्ती बनाईराख्नको लागी खेल अत्याबश्यक रहेको बताएका छन् । समन्वय प्रमुख ठकुरीले खेलले मानवीय उर्जा र खेलको विकास हुने बताउँदै खेलाडीहरूको उचित व्यवस्थाको लागि राज्यले पहल गर्नुपर्ने बताएका छन् ।
    समापन कार्यक्रममा बिदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठ, तादी गाउपालिकाका अध्यक्ष सन्तमान तामाङ, जिल्ला खेल खेलकुद विकास समितिका अध्यक्ष सन्तोष राई, नुवाकोट ब्याटमिन्टन संघका अध्यक्ष धनसिंग तामाङ, उद्योग बाणिज्य संघ बागमती प्रदेशका सदस्य गिता अमात्य, उद्योग बाणिज्य संघका अध्यक्ष राजेन्द्र श्रेष्ठलगायतको उपस्थिति र सहभागिता रहेको थियो ।

महिला बन्दीलाई प्रशिक्षण

 महिला बन्दीलाई प्रशिक्षण

ढुङ्गे । जिल्ला कारागार नुवाकोटका महिला कैदीबन्दीले सकारात्मक सोच विषयमा दुईदिने मनोपरामर्शको प्रशिक्षण लिएका छन् ।
कारागारमा रहेका महिला कैदीबन्दीलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय सिंहदरबार काठमाडौंको आयोजनामा असार ७ र ८ गते प्रशिक्षण दिइएको थियो । विभिन्न आरोप वा अपराधमा रहेका महिला कैदीबन्दीमा सकारात्मक सोचको विकास गराउन उक्त प्रशिक्षण दिइएको महिला सशक्तीकरण महाशाखाका प्रमुख महिला विकास अधिकृत ममता विष्टले बताइन् । जिल्ला कारागारमा १८ महिला कैदीबन्दी रहेको जेलर गंगालाल योगीले जानकारी दिए । मनोपरामर्शको प्रशिक्षण सरिता लामा र विष्णुकुमार वाइबाले दिएका थिए । जेलजीवनलाई सुधारगृहको रूपमा लिएर आफ्नो जीवन सुधार्न यो प्रशिक्षणले सघाउने नुवाकोटका प्रमुख जिल्ला अधिकारी किरण थापाले बताए ।

बाल विकासका शिक्षक आन्दोलित

 बाल विकासका शिक्षक आन्दोलित

विदुर । बाल विकासका शिक्षक स्थानीय तह विरुद्ध आन्दोलित भएका छन् ।
    गएको सोमबार विदुर नगरपालिका अन्तर्गतका सामुदायिक विद्यालयमा कार्यरत बाल विकास शिक्षकहरू नगर कार्यपालिका अगाडी धर्ना दिएका छन् ।
    नगर अन्तर्गत सामुदायिक विद्यालयमा कार्यरत बालविकास शिक्षिकाहरूले तोकिएको पारिश्रमिक उपलब्ध गराउन माग गरेपनि बजेटमा सुनुवाइ नगरेको भन्दै गएको सोमवारबाट आन्दोलित भएका हुन् । सरकारले निर्धारण गरेको तलब उपलब्ध गराउन नगरपालिकाले नदिने भएपछि बालविकास शिक्षिकाहरू धर्ना दिन सुरु गरेका छन् । माग पूरा नहुञ्जेलसम्म चरणबद्ध आन्दोलनका कार्यक्रमहरू अगाडि बढाउने नेपाल राष्ट्रिय प्रारम्भिक बाल विकास नुवाकोट विदुर नगर कार्यसमितिका अध्यक्ष भगवती खनालले चेतावनी समेत दिए ।
    नगरपालिकाले यस आर्थिक बर्षमा पनि केन्द्रले तोकेको न्यूनतम पारिश्रमिक १७ हजार नदिएपछि विद्ययालमा बालबालिकालाई अलपत्र छाडि धर्ना बस्न बाध्य भएको उनले बताईन् । नगरमा ६० वटा सामुदायिक विद्यालयका ८२ जना बालविकासका शिक्षिकाहरू कार्यरत छन् ।

स्वयम्भू महाचैत्यको पुनर्निर्माण सुरु

पुनर्निर्माण सुरु

नुवाकोट । बुद्धप्रति आस्था राख्ने र सम्पदा संरक्षण गर्नुपर्छ भन्ने जनसमूह तथा संघसंस्थाको साथ र सहयोगमा नुवाकोटको विदुर नगरपालिका–२ महामण्डल (अशोकबारी) क्षेत्रमा जिल्लाकै सबैभन्दा पुरानो ऐतिहासिक पुरातात्विक र धार्मिक स्वयम्भू चैत्यको उत्खनन गरेर पुरानै अवस्थामा पुनर्निर्माण सुरु भएको छ ।
    पुरातत्व विभागको समन्वयमा स्वयम्भू महाचैत्य कार्ययोजना बनाई चार चरणमा पुनर्निर्माण गर्ने लक्ष्य बनाइएको छ । यो क्षेत्रको संरक्षण र सम्बद्र्धन गर्न स्थानीय जनसमुदाय र संघसंस्था जुर्म‘राएका छन् । २३०० वर्षभन्दा अगाडिको पुरातात्विक ऐतिहासिक दुर्लभ स्वयम्भू चैत्य पुरानै अवस्थामा पुनर्निर्माण गर्नका लागि बज्रयानी तन्त्रअनुसार र विधिपूर्वक गएको शुक्रबार पूजापाठ, होम सम्पन्न भयो ।
    सम्राट अशोकले नुवाकोटको महामण्डल (अशोकबारी) क्षेत्रमा अशोक चैत्य बनाएको शिलालेखमा उल्लेख छ । यो ठाउँको महत्वलाई बुझेर स्थानीय गौतममान सिंहले पुरानो ऐतिहासिक पुरातात्विक र धार्मिक स्वयम्भू चैत्यको उत्खनन गरी पुनर्निर्माण, संरक्षण र सम्र्वद्धन गर्नका लागि नेतृत्वदायी पहल गरिरहेका छन् । गौतमको सक्रियतामा बुद्धप्रति आस्था राख्ने जनसमुदाय र संघसंस्था जोडिने क्रम दैनिक बढिरहेको विदुर नगरपालिका–२ का अध्यक्ष एवम् स्वयम्भु चैत्यको पुनर्निर्माणमा संलग्न दीपक कायस्थले जानकारी दिए । पुनर्निर्माण अभियानमा साथ र सहयोग विदुर नगरपालिकाले दिएको छ । विदुर नगरपालिकासहित यो निर्माण अभियानमा नुवाकोट युवा क्लब, विदुर नगरपालिका–२, बज्राचार्य युवा क्लब काठमाडौं, चिभाः चैत्य अर्गनाइजेसन, पदमावती महाविहार नःबहाल ललितपुर, लाइन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५, नुवाकोट उद्योग वाणिज्य सङ्घ आबद्ध भइसकेका छन् ।
    स्वयम्भू महाचैत्य पुनर्निर्माणका लागि इन्जिनियर सुरज लामाले डिपिआर तयार गरेका छन् । उक्त डिपिआरअनुसार कार्ययोजना बनाएर निर्माण कार्य अगाडि बढाउने र सहयोग जुटाउने कार्य भइरहेको निर्माण अभियन्ता गौतममान सिंहले जानकारी दिए । उनले दिएको जानकारीअनुसार निर्माण कार्य चार चरणमा गरिनेछ । निर्माणका लागि आवश्यक जग्गा स्थानीय भुवन पाण्डेले एक रोपनी निःशुल्क प्रदान गरेका छन् । चैत्य निर्माण क्षेत्रमा पाँच रोपनी र टुँडीखेलदेखि चैत्यसम्म बाटोसहित एक रोपनी गरी स्वयम्भू चैत्यका लागि आठ रोपनी लगभग जग्गा रहेको छ । महाचैत्य निर्माणका लागि पहिलो चरणमा टुँडीखेलदेखि स्वयम्भू चैत्यसम्म ढुङ्गेसिँढी निर्माण गर्ने र सिँढीको दायाँबायाँ बुद्धधर्मसँग सम्बन्धित चिभा, चैत्य, मूर्ति आदि निर्माण गर्ने । दोस्रो चरणमा सम्पूर्ण पाँच रोपनी जग्गालाई पूर्ण रूपमा ऐतिहासिक झलक आउने गरी ढुङ्गेपर्खाल निर्माण गर्ने । तेस्रो चरणमा स्वयम्भू महाचैत्यको निर्माण गर्ने र चौथो चरणमा सर्वसाधारण र सघंसंस्थालाई बौद्धधर्मको प्रचार–प्रसार र ध्यान साधना गर्न महास्तुपा, विहार, चैत्य, चिवा, बुद्धका मूर्ति निर्माण गर्ने रहेको छ ।
    पहिलो चरणमा टुँडिखेलदेखि स्वयम्भू चैत्यसम्म ढुङ्गेसिँढी निर्माण गर्ने । सिँढीको दायाँबायाँ र स्वयम्भू चैत्यको पश्चिमपट्टिको खाली स्थानमा बुद्ध, धर्म र संघ सम्बन्धित चिभाः, चैत्य तथा बुद्धका मूर्ति निर्माण गर्ने योजना भएको जानकारी निर्माण अभियन्ता गौतममान सिंहले दिए । इच्छुक महानुभाव तथा कुनै पनि सघंसंस्थाले स्वेच्छाले ढुङ्गेसिँढी एउटा अथवा चैत्य, चिभाः वा बुद्धमूर्ति दान दिई पुण्य कमाउनसमेत उनले अनुरोध गरेका छन् । ढुङ्गेसिँढी जसले पहिले सहयोग गर्न‘हुन्छ उसैलाई पहिलो प्राथमिकताको क्रममा राखिनेछ । पुण्य सञ्चय गर्ने कार्य भइरहेको हुनाले ‘एक व्यक्ति एक सिँढी’ अवधारणा भएको कारण आफ्नो पुर्खाको सम्झनामा आफ्नो स्थान सुरक्षित राख्नुहुन पनि सम्पूर्ण दातामा उनले अनुरोध गरेका छन् ।
    नुवाकोट युवा क्लबका अध्यक्ष सरोज डङ्गोलका अनुसार बन्दै गरेको स्वयम्भू चैत्य निर्माण कार्यमा सम्लग्न मजदुर राम तामाङले स्वेच्छाले पाँच दिनको ज्याला ६ हजार रुपैयाँ दान गरेका छन् । सम्पूर्ण जनसमुदाय र सङ्घसंस्थालाई टुँडिखेल क्षेत्रदेखि स्वयम्भू चैत्यसम्म निर्माण भइरहेको ढुङ्गेबाटोको पश्चिमपट्टिको ढुङ्गेपर्खालमा बुद्ध र बोधिसत्वका मूर्ति स्थापना गर्न सुरु गरिएको छ । यो ढुङ्गाको पर्खालमा १५ इन्चको खोपा बनाइसकेकाले १० इन्च र १२ इन्चको ढुङ्गेमूर्ति दान गर्नसमेत निर्माण समितिले आह्वान गरेको छ । स्वयम्भू महाचैत्यको स्थलगत अवलोकन गर्न र धार्मिक तथा सांस्कृतिक महत्वको जानकारी संकलनसहित संरक्षण तथा संवद्र्धनका लागि उत्प्रेरणा दिन बागमती प्रदेशका पर्यटन, उद्योग तथा सहकारीमन्त्री पुकार महर्जन, प्रदेशकै बिनाविभागीयमन्त्री रामकृष्ण चित्रकार, प्रदेशका सांसद शैलेन्द्र बज्राचार्य बिहीबार नुवाकोट आएका थिए ।
    महाचैत्य निर्माण अभियानमा सरिक हुँदै हौसलासहित सहयोग गर्न गएको बिहीबार नै नेपालका अग्रज पर्यटन व्यवसायी तथा सकारात्मक सोचका संरक्षक कर्ण शाक्य, कीर्तिपुर उद्योग वाणिज्य संघका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेश पर्यटन विकास समितिका अध्यक्ष राज्यलक्ष्मी शाक्य, गैरआवासीय नेपाली संघ अमेरिकाका प्रतिनिधि राजीव श्रेष्ठसहितको टोली पूजा कार्यक्रममा सहभागी थिए ।
    उक्त कार्यक्रममा नुवाकोटबाट संविधानसभामा प्रतिनिधित्व गर्ने संविधानसभा सदस्य राज्यलक्ष्मी श्रेष्ठ पाण्डे, जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख रजिन्द्रविक्रमसिंह ठकुरी, विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठ, विदुर नगरपालिका–१ का अध्यक्ष लेनिन रञ्जित, वडा नम्बर २ का अध्यक्ष दीपक कायस्थ, होटेल व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष सन्तोष उप्रेती, नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र श्रेष्ठ, नुवाकोट होटेल व्यवसायी संघका अध्यक्ष वासुदेव अधिकारीलगायतको सहभागिता पूजा कार्यक्रममा रहेको थियो ।

नुवाकोटमै बन्छ अण्डा राख्ने क्रेट

साथी रिसाईक्लिङ्ग ईष्डष्ट्री, जहाँ खेर कागजबाट अण्डा राख्ने क्रेट उत्पादन हुँदै आएको छ ।

भोलाराज पौडेल

पिपल्टार । नुवाकोटमा खेर जाने कागजबाट अण्डा राख्ने क्रेट उत्पादन गर्ने उद्योगले रोजगारी बढाएको छ ।
    चार वर्ष अघि ७५ लाख रुपैयाँको लगानीमा सुरु गरिएको साथी रिसाईक्लिङ्ग ईष्डष्ट्री प्रालिले सुरु गरेको यो व्यवसायमा अहिले २१ जनाले रोजगारी पाइरहेका छन् । चार वर्ष अघि जिल्लामा अण्डा उत्पादन हुने तर, प्याकेजिङ गर्ने क्रेट बाहिरबाट आयात गर्नुपर्ने परिस्थितिलाई ध्यानमा राखेर चाइनाबाट सो मेसिन खरिद गरी विदुर नगरपालिका वडा नं. ५ माझिटारमा यो उद्योग सञ्चालनमा ल्याएका हुन् । इश्वर राई, प्रकाश पाठक, सुरजमान श्रेष्ठ, नारायणप्रसाद खनाललगायतको टिमपनि यो उद्योग स्थापना गर्दा सहभागी थिए ।
    सुरुमा ७५ लाख रुपैयाँमा सुरु गरिएको यो व्यावसाय अहिले विस्तार गरेर एक मेसिन र टहरोसमेत थप गरी डेढ करोड भन्दा माथिको लगानी रहेको छ । उद्योग स्थापना हुँदा नेपालमै पहिलो पटक उच्च क्वालिटीको क्रेट उत्पादन गर्ने मेसिन भएपनि अहिले यस्ता मेसिन अरु जिल्लामा पनि स्थापना भइसकेको छ । उद्योगको दैनिक ५ सय वन्डल क्रेट उत्पादन क्षमता भएपनि सुकाउने जाली थप गरेर अहिले एक हजार वन्डलसम्म उत्पादन गर्दै आएको छ । नुवाकोटमा उत्पादिन लेयर्स कुखुराले पारेको अण्डा राख्नको लागि प्रयोग हुने क्रेट नुवाकोटसहित चितवन, सुनसरी र पोखरामा विक्री हुँदै आएको सञ्चालन रघुनाथ रिमालले बताए । पछिल्लो समय आर्थिक मन्दीका कारण उत्पादनलाई घटाउनु परेको उनको गुनासो छ । कुखुरापालन व्यावसाय नै कम भएका कारण पछिल्लो समयमा उत्पादनलाई केही घटाउनु परेको उनी बताउँछन् ।
    कागज, किताब, कापी, पत्रिका, कार्टुनलगायत कागजका खेर सामग्रीको प्रशोधन गरी क्रेट निर्माण हुने कम्पनीले जनाएको छ । पानी र कागजलाई मिलाएर मेशिनमा राखेपछि मेसिनले क्रेट तयार पार्दछ । घाममा सुकाएपछि क्रेट बिक्रीको लागि तयार हुन्छ । कम्पनीले फालिने कागजहरू घरघर मै पुगेर संकलन गर्ने रोजगारीसमेत उक्त उद्योगले प्रदान गरेको छ ।
    यसबाहेक विदुर नगरपालिकाले संकलन गरेको फोहोरमा उद्योगको लागि चाहिने कागज संकलन गर्ने र खरिद गर्ने व्यवस्थासमेत मिलाएको छ । ‘जाडो महिनामा आगो बाल्ने र अरु बेला कुहिएर खेर जाने कागज हामीले २० देखि २५ रुपैयाँ प्रतिकिलोमा खरिद गर्ने गरेका छाँै’ रिमालले भने– ‘३, ४ वटा गाडीमा घरघरमै पुगेर कागज खरिद गर्ने व्यवस्था छ ।’ विदुर नगरपालिकाको डम्पिङ साइडबाट संकलन हुने फोहोरको मात्रै कम्पनीले मासिक डेढदेखि दुई लाख रुपैयाँ तिर्दै आएको छ ।
    कतिपय बालबालिका, वृद्धवृद्धाहरू एक विटो कागज उद्योगमा बोकेर आउँदा कपि कलम तथा एक छाप टार्न सकिन्छ भन्ने मानसिकताले विक्री गर्न आउने गरेका रिमाल बताउँछन् । प्रयोगमा आएर खेर गएका कागजजन्य बस्तुहरू फाल्न फोहोरको ट्याक्टर कुर्नेहरू अहिले त्यही कागज बिक्री गरेर आम्दानीको स्रोत बनेको छ ।

बेलकोटमा निःशुल्क कल सेन्टर

निःशुल्क कल सेन्टरको उद्घाटन हुँदै ।

बाघखोर । नुवाकोटको एक स्थानीय सरकारले नागरिकहरूको कुरा फोन माफृत् निःशुल्क सुन्ने व्यवस्था मिलाएको छ । बेलकोटगढी नगरपालिकाले निःशुल्क कल सेन्टर सञ्चालनमा ल्याएको हो ।
    नुवाकोटमा निःशुल्क कल सेन्टर स्थापना गर्ने यो पालिका पहिलो हो । महिला, बालबालिका तथा जेष्ठ नागरिकको समस्या एवं सामाजिक घटना आदिको बारेमा सेवा प्रदान गर्ने उद्देश्यले कल सेन्टर सञ्चालन गरिएको नगरपालिका प्रमुख जगतबहादुर गुरुङ्गले जानकारि दिएका छन् । टोल फ्रि नम्बर १८१०५००००५५ मा कल गरेर आफ्नो गुनासोहरू टिपाउन नगरपालिकाले अनुरोध गरेको छ । यो नम्वरमा कल गरेर कुराकानी गर्दा कुनै शुल्क लाग्दैन ।

तस्बिर समाचार

रासायनिक मलको विकल्पमा कम्पोट मल किन्ने उपकरणको लागि आवश्यक बजेट बिनियोजन गरिदिन आग्रह गर्दै बागमती प्रदेश कृषि मन्त्री समक्ष नुवाकोटको बेलकोटगढी नगरपालिकाका प्रमुख जगतबहादुर गुरुङ (उभिएका) साथमा बागती प्रदेश सांसद राधिका तामाङ ।


झाडीभित्र प्याव्सन भवन

 झाडीभित्र प्याव्सन भवन

विदुर । सानो भए पनि आफ्नै भवन होस, त्यही भवनमा आफ्नो सस्थाको दैनिक क्रियाकलाप होस कुन संस्थाको सपना हुदैन र ? अहिले नुवाकोटमा दर्जनौ संघ सस्थाहरू आफ्नो भवन वनाउको लागि स्थानीय निकायहरूमा दैनिक दौडधुप गरिरहेका छन् । संघ र प्रदेशमा पनि आर्थिक सहयोगको लागि हात फैलाउदै हिडेका छन् ।
    तर, नुवाकोटको एक संस्था भने ‘माल पाएर चाल नपाएको’ भन्ने पुरानो भनाईलाई चरितार्थ गर्दै लाखौं खर्च गरेर वनाएको आफ्नो भवन ताल्चा लगाएर राखि मासिक हजारैं भाडा तिरेर व्यक्तिको घरमा वसिरहेको छ । त्यो संस्था हो । निजी तथा अवासिय विद्यालयहरूको छाता संगठन ‘प्याव्सन’को । बट्टार वसपार्क छेउमै रहेको त्यो भवन अन्य कोहिलाई अहिले पनि भाडामा दिने हो भने २०/२५ हजार सहजै आम्दानी गर्न सक्छ ।
    अहिले प्याव्सन नुवाकोटले विदुर नगरपालिका वडा नं. ४ बट्टारमा निर्माण गरेको भवन अलपत्र परेको छ । आर्थिक वर्ष ०७५।०७६ मा निर्माण सम्पन्न भएको भवन प्रयोगविहीन मात्र भएको छैन, प्याव्सनले आफ्नै कार्यालयको सेवासमेत सो भवनबाट दिएको छैन । आफैंले निर्माण गरेको कार्यालय भवन प्रयोग विहीन भइरहँदा प्याव्सन नुवाकोट भने भाडाको घरमा बसेर नियमित कार्य सञ्चालन गरिरहँदा कतिपय प्याव्सनका अग्रजहरू यसको विरोधसमेत गर्दै आइरहेका छन् ।
    तर, प्याव्सन नुवाकोटका अध्यक्ष ताराबहादुर कार्की भने निजी विद्यालयहरूको छाता संगठन प्याव्सनको दैनिक क्रियाकलाप गर्नको लागि उक्त भवन अनुपयुक्त भएको बताउँछन् । ‘प्रश्नपत्र निर्माणदेखि अन्य अफिसियल काम गर्न‘पर्ने हुन्छ’ अध्यक्ष कार्कीले भने– ‘दुई वटा सटर भएको भवनमा तत्कालै प्याव्सनको नियमित कार्यालय सञ्चालनको अवस्था छैन । चार कोठा हुने गरी निर्माण गरिएको भवनमा अहिले दुई वटा मात्रै सटर रहेका छन् । बीचमा गाह्रो लगाउने काम वाँकी रहेको र माथिल्लो तला थप विस्तार गर्न सकिएमात्र राम्रो हुने उनको तर्क छ । प्याव्सनको कार्यालय आफ्नै भवनमा सार्दा खर्च बढ्ने र प्याव्सनका पदाधिकारीहरूले साँझ विहान काम गर्न‘पर्ने बाध्यता रहेको कार्की बताउँछन् । ‘सुरक्षा, सजिलो र खर्चका हिसावले मात्रै प्याव्सन भाडामा बस्नु परेको हो’ कार्कीले भने– ‘भवन कसरी प्रयोगमा ल्याउन सकिन्छ भनेर धेरै पटक छलफल कार्यालय सार्नेसम्मको छलफल टुंगोमा पुग्न सकेको छैन ।’
ञ२०५७ देखि ०६३ सालसम्म प्याव्सनको संस्थापक अध्यक्ष रहेका ठाकुर पुडासैनीले प्याव्सनको भवन प्रयोगविहीन भएकोमा दुःख लागेको बताए । अहिले प्याव्सनका अध्यक्ष ताराबहादुर कार्की रहेका छन् । आफ्नो भवन प्रयोगविहीन भएको अवस्थाबारे पहिले भाडामा रहेको भवन भाडामा रहेको र भाडामा लिनेले छाडेर गएपछि प्रयोगविहीन भएको बताउँछन् । प्याव्सनको भवन अगाडी आँगनमा ढाकिएको झाडीले भवननै नदेखिने अवस्थामा पुगिसकेको छ ।
ञजिल्लाका निजी विद्यालयहरूमा विभिन्न पब्लिकेशनहरूबाट छपाई भएको किताव प्याव्सनका विद्यालयहरूले खरिद गर्ने र सो खरिद गरेवापत प्राप्त हुने कमिशन प्यााव्सन नुवाकोटमा संकलन गरी सो भवन निर्माण भएको हो । निजी विद्यालयहरूमा प्रयोग हुने किताव एउटै प्रयोग हुँदा परीक्षाको प्रश्नपत्रसमेत एउटै भए हुने र कोर्षमा एकरुपता हुने भएकाले सो विधिबाट प्राप्त हुने रकमबाट जग्गा खरिद गर्ने र भवन निर्माण गर्ने पूर्व तयारी अनुसार नै भवन निर्माण भएको प्याव्सनका पूर्व अध्यक्षहरू बताउँछन् ।
    बट्टार वसपार्क नजिकै खरिद गरिएको जग्गामा २०७६ सालमा निर्माण भएको भवन निर्माणको लागि किताव प्रयोग गरेवापतको कमिशनबाहेक विद्यालयहरूलाई भवन निर्माण शुल्कसमेत लगाइएको थियो । भवन निर्माणपछि पनि प्याव्सन नुवाकोट आफ्नै घरमा बसेको छैन । भाडामा बस्दै आएको प्याव्सनको कार्यालय आफ्नो कार्यालय भवन भाडामा लगाएर आफू भाडामा बस्दै आएको छ । कोभिड १९ का कारण भाडामा बस्नेहरू छाडेर गएपछि झण्डै तीन वर्षदेखि सो भवन अलपत्र परेको छ । कार्यालय भवन अलपत्र पारेर प्याव्सन नुवाकोट अहिले भाडामा बसिरहेको छ । भवन निर्माण र जग्गा खरिदको लागि तत्कालीन अवस्थामा ६५ लाख रुपैयाँ खर्च भएको छ । प्याव्सन नुवाकोटमा ४० वटा विद्यालय आवद्ध छन् ।
    निजी विद्यालयहरूको छाता संगठनको रुपमा रहेको प्याव्सनको भवन प्रयोग विहीन हुँदा निजी विद्यालयमा पढ्ने विद्यार्थी र अभिभावकले तिरेको शुल्कको दुरुपयोग भएको छ भने सार्वजनिक, संस्थागत सम्पत्तिको दुरुपयोग भएको छ । – यो समयबाट

मानवअधिकार सम्बन्धी छलफल

 मानवअधिकार सम्बन्धी छलफल

विदुर । नुवाकोटको मानवअधिकारको विषयमा सोमबार विदुरमा सरोकारवालाहरूबीच छलफल सम्पन्न भएको छ ।
    अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) नुवाकोटको आयोजनामा भएको कार्यक्रममा सरोकारवालाहरूले जिल्लामा मानव अधिकारसँग जोडिएका विभिन्न विषयमा छलफल भएको थियो । कार्यक्रममा सरकारी वकिल कार्यालयका प्रमुख जिल्ला न्यायाधिवक्ता कृष्णबहादुर ओलीले पीडितलाई ‘होस्टाइल’ हुन नदिनको लागि संघसंस्था र नागरिक समाज, मानवअधिकारकर्मीहरूको भूमिका रहेको बताए । उनले ऐनले साक्षी संरक्षणको व्यवस्था गरेपनि पनि पीडकबाट होस्टाइल हुँदा मुद्दा कमजोर हुने गरेकोले यसलाई रोक्न सबैको ध्यान पुग्नु पर्ने बताए ।
    कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी रमेश पण्डितले जिल्लामा पोके व्यापारीलाई निषेध भन्ने विषयमा चासो दिंदै राज्यलाई कर तिरेर व्यवसाय गर्नेलाई रोक्न नहुने बताए । उनले बालबालिकामाथि बढी हिंसा हुने गरे पनि त्यसलाई कानूनी दायरामा ल्याउन आवश्यक रहेको बताए ।
    कार्यक्रमम जिल्ला कारागारका प्रमुख गंगालाल योगीले कारागारको आधारभूत आवश्यकता पुरा गराउनको लागि सरकार ध्यान नदिएको कारण कैदी बन्दीलाई असुविधा भईरहेको बताए ।
    कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य धु्रबकुमार रावलले कुनै एउटा संस्थाले जिल्लामा व्यवसाय गर्न निषेध गर्न नपाउने बताउँदै दर्ता गरेर पनि कसैले झोलामा सामान राखेर बिक्री गर्दछ भने त्यसलाई रोक्न नहुने बताए । उनले पोके व्यवसायीको मानवअधिकार हनन भएको बताए ।
    कार्यक्रममा गैरसरकारी संस्था महासंघका जिल्ला अध्यक्ष लोचन भट्टराईले मानवअधिकारको दृष्टिमा अपांगता भएकाहरूको सवाललाई प्राथमिकता दिनुपर्ने बताए ।  नेपाल बार एसोसिएसनका पूर्व अध्यक्ष देवराज कँडेलले बालबालिकाहरूलाई विद्यालयहरूले प्रवेश परीक्षाको नाममा मानसिक तनाब दिएर बालबालिको विद्यालय छनौट गर्न पाउने अधिकारको हनन गरिरहेको विषय छलफलमा नै नआएको बताए ।  
    महिला मानवअधिकार रक्षकहरूको सञ्जाल नुवाकोटकी पूर्वअध्यक्ष शर्मिला थापामगरले आर्थिक अभावका शिक्षाबाट बञ्चित बालबालिकाहरूलाई स्थानीय सरकारले अभिभाकत्व लिएर शैक्षिक पहुँचमा लैजानको लागि मानवअधिकारकर्मीहरूले दबाब दिनुपर्ने बताइन् ।  
    मनोपरामर्शदाता रुपा राईले मानवअधिकारबाट पीडित भएकाहरूलाई उचित परामर्श दिएर मनमा परेको चोटबाट मुक्त गराउन आवश्यक रहेको बताइन् ।
    कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधी नवदीप श्रेष्ठले सन् २०२३ को जनवरीदेखि जुन २५ सम्म बलात्कारका ९ वटा, बलात्कार प्रयासका ६ वटा, बहुविवाहका ४ वटा, कर्तव्य ज्यानको एक वटा घटना भएकोे जानकारी दिएका थिए ।

तरुण दलमा नुवाकोटका १० जना

विदुर । नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलको केन्द्रीय सदस्यमा नुवाकोटका १० जना चयन भएका छन् ।
    नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले विद्वान गुरुङको अध्यक्षतामा गठन गरेको तरुण दलको तदर्थ समितिमा चयन गरको ४०० सदस्यमध्ये नुवाकोटका १० जना केन्द्रिय सदस्य रहेका छन् । नुवाकोटबाट केन्द्रीय सदस्य रहेकामा सुवन गिरी, कुमार गुरुङ, जयराम दाहाल, राजु कँडेल र प्रदिप थापा, निरन्जन थापा, संजिव गुरुङ, बलदेव थापा, आतम तामाङ र लावस राई रहेका छन् ।

८१ घरलाई पिउने पानी

धारा उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष

दाङसिङ । तारकेश्वर गाउँपालिकाको को दुई गाउँमा रहेको ८१ घरमा पिउने पानीको सुविधा पुगेको छ । गत माघ ६ गतेदेखि सञ्चालित लिफ्टिङ पिउने पानी योजना सञ्चालन भएसँगै सर्वसाधारण गाउँवासी खुसी भएका छन् । तारकेश्वर गाउँपालिका १ लर्केप र सेलडाडामा २५ लाख रुपैयाँको लागतमा लिफ्टिङ पिउने पानी योजना सञ्चालन भएको हो ।
    यसबाट ८१ घरका पाँच सय जना जनसंख्यालाई सुविधा पुगेको वडाध्यक्ष चक्रबहादुर तामाङले जानकारी दिएका छन् ।  निर्माण सम्पन्न भएको सो लिफ्टिङ पिउने पानी योजनाको तारकेश्वर गापाका अध्यक्ष शिव अधिकारीले उद्घाटन गरे । अध्यक्ष अधिकारीले गाउँवासीलाई पिउने पानीको सुविधा प्रदान गर्न सकिएकोमा गाउँवासीलाई बधाई दिँदै आफूले सदा पिउने पानी, शिक्षा, स्वास्थ्यमा क्रियाशीलता अपनाइरहेको बताए ।
    उद्घाटन कार्यक्रममा  वडाध्यक्ष चक्रवहादुर तामाङ, सहयोगी संस्था लिभिङ वाटर नेपालका प्रबन्ध निर्देशक विजय गुरुङले पिउने पानीको योजना सफल हुनुमा स्थानीयवासीको सहयोग प्रभावकारी रहेको बताए ।  गत माघ ६ गते सम्झौता गरेर सञ्चालित सो योजनावाट तारकेश्वर १ लर्केप र सेलडाँडाका ८१ घर धुरीलाई एक घर एक धारा लिफ्टिङ खानेपानी आयोजनाको सुविधा पुगेको छ । पिउने पानीको सुविधा भएसँगै वर्षौंदेखि समस्या भोग्दै आएका सर्वसाधारण निकै खुसी भएका छन् । सो योजनालाई तारकेश्वर गापावाट  व्यवस्थापन गर्न आवश्यक  सहयोग गरिने जनाइएको छ ।

तस्बिर समाचार


प्रतिनिधि सभा सदस्य विमला सुबेदी अखिल नेपाल किसान महासंघका पुर्व अध्यक्ष चित्रबहादुर श्रेष्ठलाई माटोको टिका लगाउँदै बेलकोटगढी नगरपालिका वडा नं. ३ को झ्याङलीमा शुक्रवार । माओवादी केन्द्र निकट किसान महासंघ बागमती प्रदेशले उक्त स्थानमा १५ गते रोपाइँ महोत्सवको आयोजना गरेको थियो ।


८२ करोड ८० लाख मानिस भोकमरीमा

कुपोषित हुनेमा सबैभन्दा धेरै एसियाका मानिसहरू । भोकमरीको शिकार बन्नेमा दुईतिहाइ महिला र ८० प्रतिशत जलवायु परिवर्तनको जोखिमयुक्त क्षेत्रमा बसोबास गर्नेहरू ।
    काठमाडौँ । विश्वका १० प्रतिशत जनसंख्या अर्थात् ८२ करोड ८० लाख मानिस हरेक रात भोकै सुत्ने गरेको तथ्यांक संयुक्त राष्ट्रसंघले सार्वजनिक गरेको छ । संयुक्त राष्ट्रसंघीय खाद्य र कृषि संगठन (एफएओ) को तथ्यांक अनुसार पछिल्लो एक वर्षमा मात्रै ४ करोड ६० लाख थप मानिसहरू भोकमरीको शिकार बनेका छन् ।
    भोकमरीबाट प्रभावित भएकामध्ये दुई तिहाइ महिला छन् । साथै ८० प्रतिशत जलवायु परिवर्तनको जोखिमयुक्त क्षेत्रका मानिसहरू रहेका छन् । मे २८ मा विश्व भोकमरी दिवसको अवसरमा यस्तो तथ्यांक सार्वजनिक भएको हो । लामो समयसम्म भोकमा रहँदा विशेषगरी बालबालिकामा आजीवन रुपमा मानसिक र शारीरिक स्वास्थ्य समस्या निम्त्याउने विशेषज्ञहरू बताउँछन् ।
    राष्ट्रसंघीय रिपोर्ट अनुसार हालैका वर्षहरूमा भोकमरीको अवस्था झन बिग्रँदो रुपमा गहिरिएको जनाइएको छ । सन् २०१९ देखि २०२१ मा १ करोड ५० लाख कुपोषित मानिसहरूको संख्या थपिएको थियो । जसको प्रारम्भिक कारण भने द्वन्द्व, जलवायु परिवर्तन, आर्थिक संकट र कोरोना महामारीलाई मानिएको छ ।
    यस्तै हालको विश्वव्यापी भोकमरी र कुपोषण संकटको मात्रा अत्यधिक बढेको बताइएको छ । ३४ करोड ५० लाखभन्दा धेरै मानिसहरू मानिसहरूले २०२३ मा उच्च स्तरको खाद्य असुरक्षाको सामना गरिरहेका छन् । जुन संख्या २०२० मा भन्दा दोब्बर बढी हो । साथै यसबीचमा खाद्यान्नको मूल्य पनि बढेको छ । साथै २०१९ देखि २०२२ को अवधिमा खाद्य मूल्य सूचकांक ९५.१ बिन्दुबाट बढेर १४३.७ बिन्दुमा पुगेको देखिएको छ । विश्वव्यापी रुपमा खाद्य वस्तुको मूल्य बढे पनि विभिन्न देशहरूमा त्यसको स्तर पनि फरक रुपमा रहेको ट्रेड एण्ड मार्केट्स डिभिजनकी अर्थशास्त्री मोनिका तोथोवाले बताएकी छन् ।
खाद्य सुरक्षा र पोषणको लागि संयुक्त राष्ट्रसंघको पछिल्लो प्रतिवेदन अनुसार विश्वमा अधिकांश एसियामै रहेका मानिसहरू कुपोषित रहेको देखिएको छ ।
जहाँ २०२१ मा ४२ करोड ५० लाख मानिसहरू भोकमरीमा रहेको रिपोर्टमा देखिएको छ । तर भोकमरीको व्यापकता भने अफ्रिकी मुलुकमा रहेको रिपोर्टले जनाएको छ । जहाँ त्यस वर्ष २७ करोड ८० लाख मानि प्रभावित भनेका थिए ।
यसैबीच, २०२२ मा सुरु भएको रुस–युक्रेन युद्धका कारण मुख्य अन्न, तेल र मलका ठूला विश्वव्यापी उत्पादकहरूको अन्तर्राष्ट्रिय आपूर्तिमा अवरोध निम्त्याउँदा अन्न, मल र ऊर्जाको मूल्य बढ्न पुगेको पनि रिपोर्टमा उल्लेख छ । यसवाहेक आगामी दिनमा पनि विश्वव्यापी रुपमा भोकमरीको अवस्था थप विनाशकारी रुपमा बढ्नसक्ने संकेत गरिएको छ ।

सहकारीमा कर्जा लिने, ऋण नतिर्ने बढ्यो ?

सुनील श्रेष्ठ

सहुलियतपूर्ण कर्जा लिई व्यवसाय वा कृषिको लागि ऋण लिनेको संख्यामा उल्लेखनीय वृद्धि भएको छ । योसँगै कर्जा भुक्तानी नगर्ने ऋणीको संख्यामा पनि वृद्धि भएको छ ।
    सहकारीमा कार्यसमिति सदस्य, शेयरसदस्य, सदस्य बचतको आधार र विश्वसनीयको आधारमा केहि नीतिगत रुपमा सहजसँगै ऋण प्राप्त हुने गर्दछ । सहकारीले सहजरुपमा व्यवसायिक मुनाफा र विश्वसनीयको लागि ऋण प्रवाह गर्ने गर्दछ । जसको फलस्वरुप ऋणीले ऋणको व्याज नतिर्ने, भाका नघाउने, सावाँसहित व्याज निर्त्ने र सम्पर्कमै आउने प्रवित्तिको हावी भईरहेको देखिन्छ । पछिल्लो समय कर्जाको साँवा ब्याज भुक्तानी गर्ने भाका नाघेका ऋणीहरूलाई कर्जा तिर्न आउने सुचनाले प्रायः पत्रपत्रिका र सहकारीका सामाजिक सञ्जालका वालहरू भरिने गरेको छ । त्यसमा कर्जा तिर्न आउने ३५ दिने, १५ दिने र ७ दिने अन्तिम म्याद सुचनासहित कालोसूचीमा ऋणीलाई सहकारीले सुचीकृत गर्ने दिनहुँ जसो अधिकांश सहकारीले सार्वजनिक गरिरहेका छन् ।
    दिनहुँ ऋणीलाई सम्पर्क गरी बारम्बार ऋण तिर्न ताकेता गर्दा पनि केहि समयपछि आउने, फोन नउठाउने, सम्पर्कमा नआउने, नम्बरनै परिवर्तन गर्ने लगायतका समस्या झेल्नुपरेको एक सहकारीका ऋण उपसमितिका संयोजकले जानकारी दिए । सहकारी संस्थासँग कर्जा लिएर समयमा कर्जाको ब्याज भुक्तानी नगर्ने र भाका नाघेका ऋणीहरूको लागि बारम्बार सार्वजनिक सूचना र पत्र नै काटिएको छ ।
    नुवाकोटको विदुर नगरपालिकाभित्र नगर समन्वय सहकारी समितिमा विभिन्न २६ वटा सहकारीको हक, हित र समस्या समाधानको लागि गठन भएको समितिले पनि गत महिना नियमित किस्ता बुझाउने गरी कर्जा कारोबारको भाखा सकिएको र लामो समयदेखि कर्जा रकमको साँवा–व्याज भुक्तानीका लागि पटकपटक ताकेता गर्दासमेत सम्पर्क नआएका ऋणी सदस्यले आफुने कारोबार गरेको सहकारी संस्थामा सम्पर्क गरी जेठमसान्तसम्म कर्जा रकम चुक्ता तथा नियमित गर्न अनुरोध गर्दै सूचना गरेको थियो। उक्त सूचनालाई अटेर गरी तोकिएको समयमा कर्जा रकम चुक्ता गर्न आएका ऋणीहरूको हकमा सहकारी ऐन, नियम, सहकारी संस्थाको विनियम र कर्जा असुली कार्यविधिअनुसार फोटोसहित तीनपुस्ते विवरण पत्रपत्रिका, टिभी, सामाजिक सञ्जाल लगायतका माध्यमबाट कालोसूची नामावली प्रकाशन गर्ने सुचित गरेको छ । सोहीअनुसार नगर समितिसँग आबद्ध सहकारीले कालोसूचीमा परेका ऋणी सदस्यहरूको नामावली एकपछि अर्को गर्दै नामावली सार्वजनिक गर्दै आईरहेको छ । नगर क्षेत्रमा सञ्चालित सहकारीका केहि खराब ऋणी सदस्यले गर्दा सहकारीलाई दुरावस्था समेत पुर्याएको छ भने कार्यसमिति सदस्य, सदस्य, कर्मचारी र सहकारीप्रतिको सम्बन्धमा बाँध खडा भएको छ ।
    सहकारी नगर समितिको सूचनालाई कार्यान्वयन गर्न आफ्नो वडा क्षेत्रमा सञ्चालित सहकारीबाट ऋण लिएका त्यस्ता ऋणी सहकारीका सदस्यलाई विदुर नगरपालिकाका केहि वडा कार्यालयले पनि छुट्टाछुट्टै सूचना जारी गरेको छ । विदुर नगरपालिका वडा नम्बर ७ र ९ को कार्यालयले वडाभित्रका सहकारी तथा सार्वजनिक संघ/संस्थाबाट ऋण लिएका व्यक्तिहरूले समयमा ऋण नतिरेको भनि वडामा निवेदन प्राप्त भएको कारणले ऋण लिएका व्यक्तिहरूले सहकारी तथा सार्वजनिक संघ/संस्थाले ताकेता गर्दा पनि अहिलेसम्म कुनै सुनुवाई नभएको भनि सहकारी तथा सार्वजनिक संघ संस्थाहरूबाट जानकारी हुन आएकोले ऋण लिएका व्यक्तिहरूले यथासिघ्र सहकारी तथा सार्वजनिक संघसंस्थामा सम्पर्क गरी ऋण भुक्तानी गर्न अनुरोध गरेको थियो । साथै सम्पर्कमा नआएको व्यक्तिहरूको प्राप्त नामावली वडा कार्यालयले सार्वजनिक गर्ने सुचित गरेको थियो ।
    नेपाल राष्ट्र बैंक ऐन, २०५८ मा भएको व्यवस्थाअनुसार आव ०५९/०६० देखि राष्ट्र बैंकले वार्षिक मौद्रिक नीति सार्वजनिक गर्दै आएको छ । मौद्रिक नीतिले सहुलियतपूर्ण कृषि कर्जा लिने ऋणीको संख्यामा उल्लेखनीय वृद्धि भएको जनाएको छ । यस्तै, नेपाली अर्थतन्त्रमा कोरोना माहामारीको असर पर्न थालेयता बैंक तथा वित्तीय संस्थाबाट ऋण लिने ऋणीहरू कालोसूचीमा परेका छन् । लकडाउनका बीचमा बैंक तथा वित्तीय संस्थाका ऋणीलाई राष्ट्र बैंकले कर्जाको साँवा ब्याज भुक्तानी छुट, सहुलियत दिएको थियो ।
कोपोमिसमा विश्वास नगर्दा
कोपोमिस सहकारी क्षेत्रको सूचना, तथ्यांकहरूलाई नियमित, विश्रुवसनिय, वास्तविक बनाई व्यवस्थापन सूचना प्रणालीमा आधारित अनुगमन, नियमन पद्धति स्थापित गर्न तयार गरिएको आधुनिक सूचना प्रणाली हो । सरकारले लागू गरेको कोपोमिस प्रणाली आबद्ध हुन बारम्बार सहकारीहरूलाई तालिम तथा अभिमुखीकरण कार्यक्रम गर्दा पनि लाभदायिक हुन सकिरहेको छैन ।
    संस्थाको सूचना बाहिरिन्छ भन्ने भ्रमले सहकारी संस्थाहरू कोपोमिसमा पूर्ण रुपमा विवरण अद्यावधिक गरेका छैनन् । नियमकारी जनप्रतिनिधि र कर्मचारी पनि कुनै एक सहकारीको शेयरसदस्य रहेकोले आफ्नो सहकारी संस्थाको र सदस्यको गोपनीयता भंग हुने डरमा सहकारी रहेको देखिएको छ भने प्रविधिमैत्री कर्मचारी व्यवस्थापन नहुदाँ उस्तै समस्या छ । कोपोमिसबाट कुनै पनि संस्था र त्यसका सदस्यको गोपनीयता बाहिरिने विषयमा समयसमयमा उठान हुने गर्दछ । कोपोमिस भरपर्दो र विश्वासिलो सफ्टवेयर भएकाले अधिकार प्राप्त निकायबाहेक कसैले पनि कोपोमिसमा राखिएको सूचना हेर्न नसक्ने जनाएको छ ।
    दश वर्षअघि नै विदुर नगर सहकारी सञ्जालले खराब कारोबार गर्ने, कालोसूचीमा रहेका सदस्य र ऋण लिएका सदस्यहरूको नामावली सहकारीले प्रविष्ट गरी कारोबार चुस्त राख्न त्रिशुली वेबको समन्वयमा “नुवाकोट सहकारी” अनलाईन प्रणाली विकास गरी भवितव्य हुने जोखिमबाट जोगिन खराब ऋणी पहिचानको निमित्त प्रविधि सञ्चालनमा ल्याएको थियो । अहिले सरकारलेनै कोपोमिस प्रणालीको विकास गर्दा पनि सहकारीले आफ्नो कारोबारको पूर्ण विवरण प्रविष्ट नगर्दा खराब ऋणी बढेको देखिएको पाईएको छ । कोपोमिसमार्फत आधुनिक प्रविधियुक्त अनुगमन तथा नियम पद्धति स्थापित गर्न र सहकारी क्षेत्रको जोखिम न्यूनिकरण हुने जनाएको छ । कार्य सम्पादन सहल, छिटो छरितो हुने सरकारको दाबी छ । उक्त प्रविधिभित्र छुट्टाछुट्टै सहकारीले आफ्नो सहकारीका
मासिक तथा वार्षिक प्रतिवेदन, निवेदन दाखिला, आन्तरिक कार्य, आर्थिक प्रतिवेदन, गरिबीको संख्यालगायत अद्यावधिक गर्ने व्यवस्था गरिएको छ ।
विदुर नगरपालिकामा सहकारी
विदुर नगरपालिकाभित्र सञ्चालित सहकारीहरूले करिब १ अर्ब ४ करोड ५६ लाख बराबरको रकम बचत गरेको विदुर नगरपालिकाको सहकारी शाखाको तथ्यांक छ । तथ्यांकअनुसार २३ करोड ७४ लाख ८२ हजार ८५० रुपैंयाँ शेयर लगानी र ९९ करोड ८८ लाख ५९ हजार बराबर रकम ऋण गरेको देखिएको उल्लेख छ । हाल नगरमा कृषि ७०, बचत तथा ऋण ३५, बहुउद्देशीय २२, अन्य १७, उपभोक्ता ४ र कफी १ सहकारी सञ्चालनमा रहेको छ ।
    सहकारीले दोहोरो अभिलेखिकरण र सहि तरिकाले सहकारी तथा गरिबी सम्बन्धि व्यवस्थापन सूचना प्रणालीको प्रयोग नगरी सहकारीले तथ्यांक अद्यावधिक गर्दा कोपोमिसमा कुल १४९ सहकारी देखिएकोमा नगरमा करिब ११५ सहकारीमात्र रहेको जसमा केहि निस्क्रिय समेत रहेको छ। नगरभित्र सञ्चालित सहकारीको शेयर सदस्य, कर्मचारी, शेयरपूंजी, लगानी, ऋण लगायतको विवरण छुट्टाछुट्टै के कति रहेको विवरण कोपिमिसमा नभएको देखिएको छ ।
    प्रदेश र केन्द्रमा दर्ता गरेका सहकारीहरूको नियमन गर्न कठिन भईरहेको जनाईएको छ । नगरपालिकामा दर्ता भएका सहकारीको मात्र नियमन र अभिलेखन गरिएको भएतापनि पूर्ण विवरण प्रविष्ट छैन । नगरले समयसमय कोपोमिससम्बन्धि अभिमुखीकरण तालिम पनि दिदैं आईरहेको छ ।
    सहकारी ऐन–२०७४ ले सहकारीलाई कार्यक्षेत्रका आधारमा तीन वटै तहमा हस्तान्तरण गर्ने व्यवस्था गरेको छ। स्थानीय तह, पालिका तथा प्रदेश सरकारले सहकारीको दर्तादेखि नियमनको जिम्मा पाएका छन्। कोपोमिस प्रणाली कार्यान्वयन गराउन पनि स्थानीय तहरूको कार्यक्षेत्रभित्र पर्छ। तर केही स्थानीय तहले यस विषयमा नबुझेर र केही स्थानिय तहले बुझ्दाबुझ्दै पनि अल्छी गरेर काम गर्न नखोजेको अवस्था पनि छ ।

२०८० साल असार १८ गतेको सम्पादकीय

कसरी बढाउन सकिन्छ धानको उत्पादन ?
धेरै नेपालीले खेत हिल्याएर धान रोप्न ठीक पारेका छन् । नेपालमा प्रतिव्यक्ति १३७.५ किलोग्राम चामल उपभोग हुन्छ । यो विश्वभरिमै सबैभन्दा बढी खपत दर हो तर नेपालको आवश्यकतानुसार धान उत्पादन भने हुनसकिरहेको छैन । यसबाहेक सडक विस्तार र राम्रो आम्दानी हुनु भनेको धेरैले चामल खान थाल्नुलाई मानिन थालिएको छ । ब्राण्डेड, मसिना र लामा चामलको माग बढिरहेको छ । कुल अन्न खपतमा चामलको हिस्सा ६७ प्रतिशतसम्म पुगिसकेको छ । धेरै मानिसले मकै, कोदो, फापर, जौ, कागुनो, लट्टे जस्ता परम्परागत पोषक अन्नहरू खान छाडेका छन् । फेरि पनि नेपालीहरूको दैनिक आहारमा ऊर्जाको ४० प्रतिशत र प्रोटिनको २३ प्रतिशत योगदान चामलकै रहेको छ । केवल २० प्रतिशत नेपाली किसानहरूसँग मात्रै कृषिसम्बन्धी उपकरणको उपलब्धता छ । धेरैजसो निर्वाहमुखी खेती गर्ने किसान छन् र त्यो पनि आकाशे पानीका भरमा गरिरहेका छन् । अहिलेसम्म धान नेपालको सबैभन्दा महत्वपूर्ण बाली हो । दुईतिहाइ भन्दा अधिक किसानको आजीविका र आम्दानीको प्राथमिक स्रोत पनि हो । यो देशको संस्कृतिसँग गहिरो गरी जोडिएको छ । नेपालमा धानको उत्पादन अन्तर धेरै छ– प्राप्ति योग्य उत्पादन र सम्भावित उत्पादनबीचको भिन्नता ४५–५५ प्रतिशतका बीचमा रहेको छ । धान उत्पादनमा ठूलो उतारचढाव हुनुले कम उत्पादन भएको स्पष्ट छ ।
    अहिलेसम्म धान नेपालको सबैभन्दा महत्वपूर्ण बाली हो । दुईतिहाइ भन्दा अधिक किसानको आजीविका र आम्दानीको प्राथमिक स्रोत पनि हो । यो देशको संस्कृतिसँग गहिरो गरी जोडिएको छ । यसले कृषि कुल गार्हस्थ्य उत्पादनमा २० प्रतिशत र कुल गार्हस्थ्य उत्पादनमा ७ प्रतिशतभन्दा बढी योगदान गरिरहेको छ । धान उत्पादन, उत्पादकत्व र नाफा बढाउन राम्रा धानका प्रजातिहरू, चुस्त व्यवस्थापकीय अभ्यासहरू प्रयोग गरेर धानमा आधारित कृषि खाद्य प्रणालीसँग जोड्ने विशेष ज्ञान आवश्यक पर्छ । प्रशिक्षणको अभाव, जलवायु परिवर्तन र मौसमी भिन्नताले हुने वर्षाले त्यस्तो हुनसकिरहेको छैन ।
    धान र बजारमा आइपुग्ने अन्य बालीका लागि सीमित बचत आश्चर्यजनक छ । नयाँ प्रविधि प्रयोग गरेर चैते धानको वास्तविक संभावना उजागर ग¥यो भने नेपालमा खाद्यसुरक्षा कायम हुन सक्छ । कोभिड–१९ पछि कृषि क्षेत्रलाई पूर्णरुपले रुपान्तरण गर्न सकिन्छ किनभने नेपालको ९० प्रतिशत भन्दा बढी जनसंख्यासँग अहिले मोबाइल फोन छ जसलाई धानको महत्वपूर्ण विकासको चरणमा प्राविधिक सूचना आदानप्रदानका लागि उपयोग गर्न सकिन्छ । राइस डाक्टर, राइस क्रप म्यानेजर र वी राइजजस्ता निर्णय गर्न सहयोग गर्ने प्रविधिहरू पनि उपलब्ध छन् यद्यपि तीमध्ये केहीलाई नेपाल अनुकूल बनाउनुपर्ने हुनसक्छ । नेपालको नेशनल एग्रिकल्चर एण्ड रिसर्च सिस्टम (एनएआरईएस) मा दक्ष जनशक्तिको अभाव छ, र भएका पनि नवीनता र विज्ञान प्रविधिमैत्री छैनन् । यसबाहेक त्यसको संस्थागत संरचनाले विद्यमान निर्वाहमुखी धान उत्पादन प्रणालीलाई प्रविधिमा आधारित प्रणालीमा रुपान्तरण गर्न तयार देखिंदैन ।
    धानको उत्पादकत्व बढाउने मुख्य प्रविधि नै असल र उन्नत जातको बिउ छनोट गर्नु हो । नेपाल धान उत्पादनका लागि उर्वर भूमि हो । तराईदेखि मध्यपहाड र हिमाली प्रदेशको ३०६० मिटर उचाइसम्म धानखेती गरिएको पाइएको छ । धानले खाद्य सम्प्रभुतामा महत्वपूर्ण योगदान पु¥याएको भए पनि देशको मागबमोजिम चामल आपूर्ति हुन नसक्दा देशले थुप्रै वैदेशिक मुद्रा व्यय व्यहोर्नुपरेको छ । विगतको कृषि तथ्याङ्कलाई केलाउने हो भने नेपालमा धानको उत्पादकत्व र उत्पादन बढ्दै गएको देखिन्छ । यसरी धानको उत्पादन र उत्पादकत्व बढ्दै जाँदा पनि देशले प्रत्येक वर्ष अर्बौं रुपैयाँको चामल आयात गर्दै आएको छ । विश्वका अन्य धान उत्पादन गर्ने मुलुकको तुलनामा हाम्रो देशको उत्पादकत्व कम छ । यसको प्रमुख कारण भनेको हाम्रो परम्परागत खेती प्रणाली, समयमा रासायनिक मलको अभाव, यान्त्रिकीकरणको कमी, महँगो ज्याला, खेतमा श्रम गर्ने व्यक्तिको अभाव, असल बिउको स्रोतमा पहुँचको कमी, रैथाने बिउको अत्यधिक प्रयोग, कृषि अनुसन्धान र विकासमा सरकारको उदासीनता आदि हुन् ।

करिब ३०–४० वर्ष पहिलेसम्म नेपालबाट धान–चामल भारत निर्यात हुन्थ्यो । तर, आज नेपालले बर्सेनी भारतबाट अर्बौं रुपैयाँको चामल आयात गर्छ । जबकि, त्यतिवेला नेपालमा धानको उत्पादकत्व आजको भन्दा निकै कम अर्थात् करिब दुई मेट्रिक टन प्रतिहेक्टरजति थियो । यसरी धानको उत्पादन र उत्पादकत्व बढ्दै जाँदा पनि आयात बढ्नुको मुख्य कारण नेपालीको खाने बानीमा परिवर्तन र सडक सञ्जालको विकासलाई लिन सकिन्छ । पहिलेका दिनमा विशेषगरी पहाडी र हिमाली क्षेत्रमा पक्की सडक सञ्जालको राम्रो व्यवस्था थिएन, जसले गर्दा त्यस भेगमा बस्ने आमनेपाली नागरिक दैनिक खानाका रूपमा मकैको ढिँडो र कोदोको रोटी बनाएर छाक टार्ने गर्थे । तर, पक्की सडकको निर्माण भएसँगै त्यस भेगका नागरिकको खानपिनमा व्यापक परिवर्तन देखियो । उनीहरूको प्राथमिकता चामलमा प¥यो । आजसम्म आइपुग्दा अधिकांश नेपालीको दैनिकी चामलको भातसँगै फेरिएको छ । यसैगरी, चामल आयात हुनुको अर्को प्रमुख कारणमा धानका खेतहरू अव्यवस्थित रूपमा ‘प्लटिङ’ परिवर्तन हुँदै जानु हो । जुन खेतमा धानका बालाहरू झुल्नुपर्ने हो, त्यो खेतमा बस्ती बस्न थालेको छ । यसकारण धान उत्पादन हुने उर्वर भूमि संकुचित हुँदै गएको छ र नेपालमा धानको आयात बढेको छ । बहुसंख्यक नेपाली वैदेशिक रोजगारीमा छन् । उनीहरूको आयस्तरमा वृद्धि भएको छ, खाद्यान्न किन्न सक्ने क्षमता बढेको छ । नेपाली समाजमा बास्नादार र मसिनो चामलको भात खानुलाई प्रतिष्ठाको रूपमा लिइन्छ । चामलको भात खानु प्रतिष्ठासँग गाँसिएको भएकाले पनि अधिकांश नेपाली आयातीत चामल किनेर दैनिकी चलाउने गर्छन् । चामल आयात बढ्नुका अन्य प्रमुख कारणमा धान लगाउने वेला रासायनिक मलको अभाव हुनु, खेतमा पर्याप्त सिँचाइ सुविधा नहुनु, उन्नत जातको बिउभन्दा रैथाने जातको बिउ प्रयोग गर्नु, उत्पादित धान चामल भण्डारण क्षमता कमी, समयमा बिउ उपलब्ध नहुनु, किसानले मौसम पूर्वानुमान गर्न नसक्नु वा मौसमसम्बन्धी जानकारी समयमै पाउन नसक्नु, धानखेतीमा यान्त्रीकरणको अभाव आदि हुन् ।  
    नेपाल सरकारले दीर्घकालीन धान मिसन कार्यक्रम सञ्चालन गर्नु जरुरी देखिन्छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका धान ब्लक, धान जोन कार्यक्रमलाई निरन्तरता दिन जरुरी छ, तिनीहरूको प्रभावकारिता समीक्षा गर्न आवश्यक छ । यस्तै, नेपालमा चैते धानखेतीको ठूलो सम्भावना भएकाले सरकारले चैते धानखेती गर्न सक्ने क्षेत्रहरू पहिचान गरी त्यस ठाउँमा चैते धान मिसन चलाउन जरुरी देखिन्छ । बर्खे धानको भन्दा चैते धानको उत्पादन बढी हुन सक्छ भनेर कृषकमा जनचेतना जगाउन आवश्यक छ । साथै, सरकारले धानको बिउ, मल र सिँचाइमा अनुदान दिनुपर्छ । नेपाल सरकारले स्थानीयस्तरमा दक्ष प्राविधिकको व्यवस्था गर्नुपर्छ । प्रत्येक नगरपालिका र गाउँपालिकामा स्नातक उत्तीर्ण प्राविधिक भए किसानले आफ्नो समस्या निराकरण गर्न पाउँथे । तर, अहिलेसम्म गाउँपालिका र नगरपालिकामा दक्ष जनशक्तिको खाँचो देखिएको छ । योसँगसँगै परम्परागत रूपमा धानखेती गर्दै आइरहेका किसानलाई नयाँ प्रविधि र नयाँ जातबारे सुसूचित गराउन तालिमको व्यवस्था गरिनुपर्छ । धानखेती हुने जग्गाको खण्डीकरण रोक्न सरकारले पहल गर्नुपर्छ । प्लटिङका काममा अंकुश लगाउन जरुरी छ । जग्गाको खण्डीकरण कम भयो र चक्लाबन्दी खेतीको व्यवस्था भयो भने यान्त्रिकीकरण गर्न सजिलो हुनेछ ।

२०८० साल असार १८ गते । वर्ष:१६ अंक:३६