Monday, July 17, 2023

गोरु पाल्न छोड्दै किसान

फाइल तस्बिर

विदुर । गाउँमा गोठ रित्तै छन् । उत्पादन हुने खेतीयोग्य जमिन घट्दै गएका छन् । युवा शक्ति शिक्षा तथा रोजगारीका लागि विदेश पलायन भएका छन् भने वृद्धवृद्धाले भारी काम गर्न सक्दैनन् । पहिलेपहिले गाउँमा गोठभरि गाईभैँसी, गोरु र बाख्रा हुन्थे । बस्तुभाउको गोबर र स्याउला मिलाएर मल बनाइन्थ्यो र त्यहीँ मल खेतीका लागि प्रयोग गरिन्थ्यो । छरछिमेकी भएर अर्मपर्म गरी खेतबारीमा मल पु-याइन्थ्यो र खेतीपाती गरिन्थ्यो ।
    भित्र्याउने बेला पनि छिमेकी मिलेर काम गर्थे । कसैलाई पनि पारिश्रमिक दिएर काम गराउनु पर्दैनथ्यो । काम गर्न जति पनि जनशक्ति पाइन्थ्यो । अहिले गाउँमा न काम गर्ने जनशक्ति पाइन्छन्, न अर्मपर्म गर्न छरछिमेकी नै । बजारसँगै गाउँमा पनि वस्तुभाउ पाल्नाको संख्यामा कमी आउन थालेपछि खेतबारीमा मल पु¥याउन गाह्रो परेको तादी गाउँपालिका वडा नं. –५ का किसान बद्रीप्रसाद अधिकारीले बताए । गाईभैँसी पाल्नेको कमी भएसँगै खेतबारीमा अहिले रासायनिक मलको प्रयोग बढ्न थालेको उनको भनाइ थियो । उनका अनुसार जोत्न आधुनिक हलो (मिनीटेलर) तथा ट्याक्टरको प्रयोग हुँदै गएका छन् ।
    एकदशक अगाडिसम्म सिँचाइ सुविधा नहुँदा आकाशे पानीको भरमा पनि धेरै क्षेत्रफल खेत रोपाइँ गर्ने किसानले अहिले सिँचाइको राम्रो व्यवस्था हुँदा पनि रोपाइँ गर्ने जमिन थोरै हुँदै गएको लिखु गाउँपालिका वडा नं. ६ का रमेश अधिकारीले बताए । उनले अहिले गाउँमा हल गोरु भेट्याउनै मुस्किल पर्ने जनाए । ‘बुढापाकाले पूर्णिमाका दिन खेतबारी जोत्न हुँदैन भन्ने परम्परागत मान्यता थियो । अहिले आधुनिक हलोको प्रयोग गरेर किसानले जहिले पनि खेतपानी जोत्ने गर्छन् । यसले हाम्रो सांस्कृमा समेत प्रभाव पारेको छ’, अधिकारीले भने, ‘पहिले एक हल गोरुले एक दिनमा गर्ने काम मिनीटेलरले दुई घन्टामै सक्ने हुँदा आधुनिक हलोको प्रयोग बढ्दै गएको हो ।’ उनले आफ्ना पालामा अहिलेको जस्तो आधुनिक हलको विकास नभएको हुँदा हल गोरुको विकल्प नभएको बताए । पछिल्लो समय आधुनिकताले गर्दा स्थानीयले गोरु पाल्न छोडेका उनको भनाइ थियो ।
    ‘हाम्रा बाउबाजेले गोठमा दुई÷तीन हल गोरु पाल्थे, खेतबारी जोत्ने बेला गाउँभरिका मान्छेको खेतबारी जोत्न जान्थे, अन्य समय वन पाखामा चराउने, गोबरबाट मल बनाउने गरिन्थ्यो, अहिले खेतमा मल पु¥याउनै सकिन्न, गाईभैँसी पाल्न छोडियो’, अधिकारीले भने, ‘बजार गयो युरिया मल किनेर ल्यायो, बारीमा खन्यायो। रसायनिक मलको प्रयोगले किसानलाई धेरै सहज बनाएको छ तर पशुचौपाया पाल्ने परम्परा हराउँदै गएको छ ।’
    पञ्चकन्या गाउँपालिका–२ का केशव मिश्रले सहरबजारमा मात्र नभई गाउँसम्म आधुनिक हलो आएपछि स्थानीयले गाईगोरु पाल्न छोडेको बताए । उनले अघिल्लो वर्षसम्म आफूले दुई हल गोरु पाल्दै आएकामा अहिले गोठ रित्तै रहेको बताए । पहिले २०÷२५ मुरी धान फल्ने खेतमा धान रोप्ने गरेको सुनाउँदै अहिले काम गर्न मान्छे नहुँदा १० मुरी मात्रै धान खेतमा रोपाइँ गरेको उनले बताए । गाउँलेको बजार मोहले ग्रामीण जनजीवन हराउन थालेको उनको भनाइ थियो । ‘असार लागेदेखि साउन नसकिदासम्म रोपाइँ हुन्थ्यो, त्यस अवधि पूरै पर्ममा गइन्थ्यो, गाउँभरिका खेताला हुन्थे, रोपाइँ गर्दा बारीमा मकै कुटाउँदै निकै रमाइलो पनि हुन्थ्यो, अहिले त्यो चलन हरायो’, मिश्रले भने ।
    उनी थप्छन्– ‘अहिलेका मान्छेले धेरै सुविधा खोज्न थाले, घरको काम गर्न पनि गाह्रो मान्छन् । युवा बजार बस्ने, विदेश जाने भन्छन्, पढे लेखेका छन् । हामीले जस्तो पशुचौपाया पाल्न खोज्दैनन्, त्यही भएर गाउँमा गाई, गोरु, भैँसी र पाठापाठी निकै कम छन् ।’
    उता, तादी गाउँपालिका वडा नं. ६ का सिरपेन तामाङ आधुनिक हलोले जोत्दा बाली उत्पादन राम्रो नहुने भन्दै आफूले गाउँमा खोजेरै भए पनि गोरुले जोत्ने गरेको बताउछन् ।  गोरुले जोत्ने पुरानो परम्परा रहेको हुँदा आफ्नो हात पाखुरा चल्दासम्म आधुनिक हलोको प्रयोग नगर्ने तामाङको भनाइ थियो । अहिले गाउँका धेरैजसो जमिनमा खेती नहुँदा वनमारा झारले भरिन थालेको उनले सुनाए ।
ग्रामीण क्षेत्रमा आधुनिकीकरणसँगै परम्परागत शैलीका खेतीपातीलाई पनि जोड दिने सोचमा स्थानीय सरकारहरू रहेका नुवाकोटमा देखिएको छ । केही वर्षयता गाउँका कृषकले आधुनिक हलो प्रयोग गर्न थालेको भन्दै गोरुमार्फत जोत्ने कृषकलाई पनि स्थानीय सरकारले प्रेरित गर्ने सोच रहन थालेको पञ्चकन्या गाउँपालिकाका अध्यक्ष तेजबहादुर तामाङ बताउछन् ।
    पछिल्लो समय आधुनिक हलो र रसायनिक मलको प्रयोग बढ्दै गएकाले पशुचौपाया पाल्ने किसानको संख्यामा कमी आएको बताउँदै अध्यक्ष तामाङले आगामी वर्षदेखि पशुपालन गर्ने कृषकलाई केन्द्रले अनुदान दिने र प्रोत्साहन गर्ने योजना बनाउनु पो पर्ने हो कि भनेर छलफल सुरु भएको बताएका छन् । ‘अहिले पनि धेरै किसानले आधुनिक हलो मनपराउनु भएको छैन । काम गर्ने जनशक्तिको अभाव र गोरु नपाएपछि बाध्यताले मिनिटेलर प्रयोग गरेका छन् । उनीरुलाई कृषि ज्ञान केन्द्रले सहयोग गर्नुपर्ने सामग्री अनुदानमा सहयोग गरिरहेको छ’, उनले भने, ‘बजारी क्षेत्रमा आधुनिक हलोको प्रयोग गरे पनि गाउँमा गोरुबाटै जोत्नुपर्छ भन्ने मान्यता रहेकाले गोरु पाल्ने कृषकलाई पनि अनुदान दिने व्यवस्था मिलाउनु पर्ने देखिएको छ ।’

रैथाने बाली लोप हुने अवस्थामा

भोलाराज पौडेल
विदुर । बेलकोटगढी नगरपालिकाका अधिकांश खेतमा १५ वर्ष अघिसम्म हिमाली, बासमति, पोखरेली, टाइचिन, चाइनाबलु, मंसुलीलगायतका धानखेती हुन्थ्यो । तर, अहिले यो नगरपालिकाका अधिकांश ठाउँमा यस्ता धान देख्न पाइँदैन । यी धानको सट्टा आयातित हाइव्रिट जातले स्थान ओगटेको छ । बेलकोटगढीमा मात्र होइन, नुवाकोट जिल्लाका तल्लो भेगमा परम्परागत रैथाने धान मासिँदै गएको छ ।
    छोटो समयमा धेरै उत्पादन लिन विदेश तथा नेपालमै उन्नतजातको विउ लगाउँदा रैथाने जातको बाली क्रमशः लोप हुँदै गएको छ । ‘हाम्रो पालाको धानको विउ अहिले हराएर गयो’ बेलकोटका कालिबहादुर तिवारी भन्छन्– ‘त्यतिबेलाको धान खेतमै बास्ना आउँथ्यो, अहिले एकादेशको कथा भएको छ ।’ थोरै जग्गामा अन्नबाली, तरकारी, फलफूल लगाएर उत्पादन धेरै लिनको लागि परम्परागत रुपमा लगाइने बालीको बाली लगाउन छाडेर उन्नत बीउ रोज्न थालेपछि रैथाने बाली लोप हुने अवस्थामा पुगेको हो । परम्परागत रुपमा लगाइने बालीबाट थोरै उब्जनी हुने हुँदा उत्पादन लागतसमेत बढ्न जाने भएपछि किसानहरू परम्परादेखि नै लगाउँदै आएका अन्नबाली, तरकारी तथा फलफुलका बिरुवा हिजोआज किसानले लगाउन छाडेका हुन् । ‘पुरानो जातका बीउले सोचेजस्तो आम्दानी गर्न सकिँदैन, आफ्नो परिवार पाल्न र त्यसबाट केही जोहो गर्नको लागि पनि उन्नत जातको लगाउनुपर्ने बाध्यता छ’ बेलकोटकै अर्का किसान कुवेर थपलिया भन्छन्– ‘धान, मकै र विभिन्न तरकारीका विउ पनि हाइव्रिट र उन्नजातकै लगाउने गरेको छुु ।’ उनी १५ वर्षदेखि अन्न तथा तरकारी बालीमा उन्नत तथा हाइव्रिट जातको विउ लगाउछन् ।
    स्थानीय जातको बीउ लगाउँदा लगानी अनुसारको उत्पादन हुन नसक्ने भएकाले आफूहरूको रोजाइमा उन्नतजातको विउ नै पर्ने गरेको किसानहरू बताउँछन् । हाइव्रिट जातका बाली लगाउँदा त्यसको विउ फेरी प्रयोग गर्न नसकिने भएको हुँदा वर्षेनी नयाँ विउ खरिद गर्नका लागि लाखौँ रकम बाहिरिने गरेको छ । घरायसी प्रयोगका लागि उत्पादन गरिने बालीमा त उन्नत तथा हाइव्रिटको विउ प्रयोग गर्न थालेपछि व्यावसायिक खेती गर्ने किसान त उन्नत जात भन्दा फरक लगाउनै चाहँदैनन् । रैथाने जातको प्रवर्धनको लागि रैथाने जस्तै देखिने खालका केही विउ बजारमा आएपनि यसको प्रवर्धन अझै हुन सकेको छैन । हाइव्रिटको तुलनामा उन्नत जातका विउ कम उब्जनी हुने भएपछि किसानहरू सकेसम्म हाइव्रिट नै प्रयोग गर्दछन् । जसले परम्परागत बालीहरू लोप हुने अवस्थामा पुगेका छन् ।
    स्थानीय जातका बाली विरुवामा धेरै प्रकारका रोग किराहरूले दुःख दिने गरेको गुनासोसमेत किसानहरूको छ । किसानहरूको रोजाइमा हाइव्रिट विउ पर्न थालेपछि यसको नकारात्मक असरसमेत बेला बेलामा देखिने गरेको छ । छिमेकी देश भारतसहित विभिन्न देशबाट नेपाल भित्रने कतिपय हाइव्रिट विउ नेपालको हावापानीमा उब्जनी नहुने र लगाएका बालीले उत्पादन नदिँदा बेला बेलाका ठगिने गरेकोसमेत गुनासो आउने गरेको छ । रैथाने बालीको विउ हरेक वर्ष एउटै प्रयोग गर्दा उत्पादनमा ह्रास आउनेक्रमलाई उन्नत तथा हाइव्रिटले रोकेपनि भावी पुस्ताको लागि रैथानेबाली कथाको रुपमा सीमित हुने अखिल नेपाल किसान महासंघ (समाजवादी)का केन्द्रीय नेता यमकुमार खाती बताउँछन् । परम्परागत बालीले जीवन यापनमा समस्या पर्नेहरू अहिले आएको उन्नतजातले उब्जनी त बढेको छ, यसका नकारात्मक असरहरू पनि धेरै छन्’ –खातीले भने ।
    किसानले बर्सेनी एकै जातको भण्डारण नगरिएका धान, तरकारी बालीको बीउ प्रयोग गर्दा लगानी उठाउन समस्या परेको थियो । बजारमा पछिल्लो समय तरकारी, धान, मकै, गहुँ, र फलफूलमा नयाँ जातको गुणस्तरको बीउ आएपछि खेती गर्न सहज र धेरै उत्पादन लिन पाइने भएपछि पुरानो जात छाडेर नयाँ जातको बीउ धेरैले प्रयोग गर्न थालेको बेलकोटगढी नगरपालिकाका उपप्रमुख शिवप्रसाद दाहाल बताउँछन् ।
रैथाने बालीमा पर्ने कोदो खेती अहिले विस्तारै हराउँदै गएको छ । कोदो खेतीको ठाउँमा तरकारी खेती हुन थालेपछि यो अन्नवाली नै लोप हुन लागेको हो । कोदोजन्य पदार्थमा कार्बोहाइड्रेटको अलावा प्रोटिन, फाइबर, भिटामिनको साथै क्याल्सियम, म्याग्नेसियम, आइरन जस्ता खनिज तत्व पाइन्छ । यसको प्रयोगले उच्च रक्तचाप, मुटु सम्बन्धी रोग, मधुमेह जस्ता नसर्ने रोग लाग्नबाट बचाउन सक्ने अध्ययनले देखाएपनि जिल्लाका अधिकांश स्थानमा यसको खेती नै गर्न छाडिएको छ ।
    थोरै जमिनमा धेरै उत्पादन भएपनि स्थानीय र उन्नत जातको खाँदा स्वादिलो हुने किसानहरू बताउँछन् । पछिल्लो समय स्थानीय उतपादनको माग केही बढेपछि उत्पादन भने घटेर गइरहेको किसानहरूको भनाई छ । आकर्षण र मागको तुलनामा उत्पादन बढ्न नसक्दा हाम्रा रैथाने बाली नै लोप हुने अवस्थामा पुिगसकेको स्वयंम् किसानहरू नै बताउँछन् ।

५५ प्रतिशतमात्रै रोपाइँ

काठमाडौं । मुलुकभर अहिलेसम्म ५५ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । मौसमका हिसाबले नेपालमा धान रोपाइँका लागि उपयुक्त असार महिना सकिन लाग्दासमेत यस वर्ष ५३ प्रतिशत मात्र रोपाइँ भएको कृषि तथा पशुपन्छी मन्त्रालयले जनाएको छ । प्रदेशसँगको समन्वयमा कृषि विभागले उपलब्ध गराएकोे तथ्याङ्कअनुसार गत वर्ष असार मसान्तसम्म ७० प्रतिशत रोपाइँ सम्पन्न भएको  थियो ।
    गत वर्षको तुलनामा यस वर्ष १२ प्रतिशतको हाराहारीमा कम रोपाइँ भएको मन्त्रालयका सहसचिव एव प्रवक्ता प्रकाशकुमार सञ्जेलले जानकारी दिए । मधेस प्रदेश, कोशी प्रदेश र बागमती प्रदेशमा मनसुन सुरु हुन ढिलो भएको तथा कर्णाली र सुदूरपश्चिम प्रदेशमा भने गोरुमा लम्पी स्किन रोगका कारण रोपाइँ थोरै प्रभावित भएको मन्त्रालयले जनाएको छ । विस्तारै मनसुन सक्रिय, रासायनिक मलको उपलब्धता सुनिश्चित र लम्पी स्किन रोगको प्रभाव कम हुँदै गएको खण्डमा रोपाइँँको प्रतिशत क्रमशः बढ्दै जाने अपेक्षा गरिएको छ ।

शिक्षकका सन्तान बोडिङ पढ्न नपाउने

चोकदे । सुर्यगढी गाउँपालिकाले सामुदायिक विद्यालयको सुधारका लागि शिक्षकबाट नै सुरु गरेको छ । आफ्नो पालिकाभित्रका सामुदायिक विद्यालयका शिक्षकहरूले छोरा छोरीलाई निजी विद्यालयमा पढाउन नपाउने नियमलाई कडाईकासाथ कार्यान्वयनमा ल्याएको छ ।
    यस्तै जनप्रतिनिधिहरूले पनि सरकारी विद्यालयमा पढाउनु पर्ने प्रस्ताव गरिएको छ । गाउँपालिकाले सामुदायिक विद्यालयमा छोरा छोरी नपढाउने शिक्षकको तलब समेत रोक्का गरेको छ । निजी विद्यालयमा पढाउने केही शिक्षकको तलब रोक्का गरेको गाउँपालिकाले आगामी शैक्षिक सत्रदेखि सामुदायिक विद्यालयमा नै पढाउने प्रतिवद्धता जनाएपछि तलब भुक्तानी गरेको थियो । अन्य शिक्षकहरूलाई पनि प्रतिवद्धता जनाउँदै तलब दिएको छ ।
    गाउँपालिकाका अध्यक्ष सन्तबहादुर घलेले सामुदायिक विद्यालयको स्तरलाई बढाउन र अन्य सर्वसाधारणलाई पनि सरकारी विद्यालयका शिक्षकले पनि आफूले पढाउने विद्यालयमा नै छोराछोरी पढाएका छन् भन्ने सन्देश जाने हुनाले यस्तो निर्णय गरिएको बताए । उनले आगामी वर्षदेखि यसलाई कडाईकासाथ लागू गरिने पनि जानकारी दिए । सुर्यगढी गाउँपालिकामा झण्डै तीन दर्जन विद्यालय छन् । पछिल्लो समय सामुदायिक विद्यालयका शिक्षकहरूले आफ्ना छोरा छोरीलाई निजी विद्यालयमा पढाएको विषयमा देशभरबाटै सरकारी शिक्षकको आलोचना हुने गरेको छ ।
    सामुदायिक विद्यालयका शिक्षकहरूले भने यसमा असहमती जनाएका छन् । कतिपयले आफ्ना छोराछोरीलाई समय परिस्थिति अनुसार उनीहरूको रोजाइको ठाउँमा पढाउन पाउनुपर्ने समेत बताएका छन् । गाउँघरमा पढ्ने उमेर समूहका बालबालिकाहरू नबस्ने अवस्थाका कारण धेरै विद्यालयहरू बन्द हुने अवस्थामा पुगेका छन् । सञ्चालनमा रहेका र नाम चलेका भनिएका विद्यालयहरूमा पनि विद्यार्थीको संख्या भने अत्यन्त न्युन रहेको छ । अर्कोतर्फ पुराना र तालिम नभएका, उमेर पाकेका शिक्षकहरू भएकाले पनि सामुदायिक विद्यालयको पढाई निजीको तुलनामा कमजोर देखिदै आएको छ । सुर्यगढीको यो निर्णयले सामुदायिक विद्यालयको सुधारमा थोरै भने पनि सहयोग पुग्ने सरोकारवालाहरूले बताएका छन् ।

फोहोरको गाडीले प्रवेश शुल्क तिर्नुपर्ने

ककनी प्रवेश गरेको फोहोर बोकेको गाडीको लाम

रानीपौवा । ककनी गाउँपालिकाले आगामी आज साउन १ गतेदेखि फोहोर बोकेर बञ्चरेडाँडा जाने सबै गाडीलाई प्रवेश शुल्क लिने भएको छ ।
    गाउँपालिकाका अध्यक्ष सुमन तामाङका अनुसार फोहोर बोकेर आउने ठूला गाडीका लागि प्रतिगाडी एक सय रुपैयाँ र अन्यका लागि एक हजार रुपैयाँ शुल्क लिने गरी गाउँ परिषद्ले गाउँपालिकाको आर्थिक विधेयक २०८० पास गरेको छ । ‘आगामी आर्थिक वर्ष २०८०/८१ सुरु हुने दिन १ साउनदेखि फोहोर बोक्ने गाडीसँग शुल्क लिन्छौं,’ उनले भने । तर, संविधानले सवारीको आगमनलाई प्रभावित गर्ने गरी स्थानीय तहले यस्तो सेवा शुल्क लिने अधिकार दिएको छैन । यसबारे अध्यक्ष तामाङले भने, ‘फोहोर व्यवस्थापन स्थानीय तहको जिम्मेवारी हो, यो गर्दा शुल्क लिन पाइन्छ, हामी ल्यान्डफिल साइट प्रभावित क्षेत्र भएकाले स्वभाविक रुपमा फोहोर व्यवस्थापन गर्नेहरूले हामीलाई प्रभावितका रुपमा व्यवहार गर्नुपर्छ ।’
    बञ्चरेडाँडमा फोहोर पठाउने सबै स्थानीय तहलाई १ साउनदेखि लागु हुने प्रवेश शुल्कबारे जानकारी दिन पत्र काटिएको उनले बताए । ‘फोहोर ल्याउने गाडीका चालकलाई पनि यसबारे जानकारी गराएका छौं,’ उनले भने । सामान्य अवस्थामा काठमाडौं र आसपासका नगरपालिकाबाट दैनिक औसत ११०० टन फोहोर बञ्चरेडाँडामा पुग्ने गरेको छ । काठमाडौंबाट दैनिक औसत ५११ टन र ललितपुर महानगरपालिकासहित आसपासका अन्य नगरबाट ५२३ टन फोहोर उठ्छ । काभ्रेको बनेपा र मण्डनदेउपुरबाट पनि बञ्चरेडाँडामा फोहोर जान्छ । ललितपुर महानगर क्षेत्रबाट १३० मेट्रिक टन फोहोर पु-याउने गरिएको छ । गोकर्णेश्वर नगरबाट दैनिक ६० मेट्रिक टन फोहोर उत्पादन हुन्छ । नागार्जुन, टोखा, तारकेश्वर र बूढानीलकण्ठ नगर क्षेत्र हरेकबाट ३५/३५ मेट्रिक टन फोहोर उत्पादन हुने गरेको छ । चन्द्रागिरि, महालक्ष्मी र मध्यपुर थिमि नगर क्षेत्रबाट दैनिक ३०/३० मेट्रिक टन फोहोर उत्पादन हुन्छ । गोदावरी र सूर्यविनायक नगर क्षेत्रबाट २५/२५ मेट्रिक टन, कागेश्वरी मनोहरा नगर क्षेत्रबाट २० मेट्रिक टन तथा दक्षिणकाली र चाँगुनारायण नगर क्षेत्रबाट १५/१५ मेट्रिक टन फोहोर संकलन हुन्छ । शंखरापुर नगर क्षेत्रमा ८ मेट्रिक टन र कीर्तिपुर नगरमा दैनिक ६ मेट्रिक टन फोहोर उत्पादन हुने गरेको छ ।

बसहरू त्रिशुली बसपार्क पुग्नै पर्ने

त्रिशुली । विदुर नगरपालिकाको वडा नम्बर १ त्रिशुलीमा रहेको बसपार्कलाई व्यवस्थित बनाउनको लागी यातायात व्यवसायीहरू सहमति भएका छन् । साउन १५ गतेदेखि अनिवार्य रूपमा काठमाडौंबाट आएका बसहरू त्रिशुली बसपार्कमा लैजाने विषयमा लामो दुरीका यातायात व्यवसायीहरू सहमत भएका छन् ।
    विदुर नगरपालिका वडा नम्बर १ को कार्यालयले बसपार्कमा आबाश्यक पूर्वाधारको क्रमशः व्यवस्थापन गर्दै लैजाने र रात्रिकालिन अवस्थामा समेत बसपार्कमा सुरक्षा प्रदान गर्ने भएपछि व्यवसायीहरूले आफ्ना सवारीहरूको अन्तिम र सुरु गन्तव्य त्रिशुली बसपार्कलाई बनाउने भएका हुन् । काठमाडौंबाट आएका सबै सवारीहरू अनिवार्य रूपमा त्रिशुली बसपार्क पुग्ने भएका छन् । यसका साथै, त्रिशुली बसपार्कबाट स्थानीय रूपमा चल्ने सवारीहरू त्रिशुली अस्पताल हुँदै घुमेर बट्टार तर्फ जाने रुट तय गरेको छ ।
    जसले गर्दा ढुङ्गेमा हुँदै आएको सवारी चाप समेत घट्ने भएको छ । रसुवाबाट आएका र रसुवा जाने सवारीहरू लामो समय सम्म ढुङ्गेमा रोकिदा सवारी र यात्रुहरूमा जोखिम रहँदै आएको थियो । त्यसलाई समाधान गर्न वडा कार्यालयले ढुङ्गे भन्दा केही माथि बस पार्क गर्नको लागी अस्थायी केन्द्रको स्थापना गर्ने भएको छ । ढुङ्गेमा यात्रुहरू ओराल्ने र चढाउने मात्रै गरेर रोकिने बस ढुङ्गे माथिे खाली स्थानमा राखिने भएको छ ।
सवारी सुरक्षाको लागी वडा कार्यालयले ढुङ्गे माथि चौडा रहेको सडक किनाराको व्यवस्थापन गर्ने र रातिको लागी समेत राख्न मिल्ने गरी बिजुलीको व्यवस्थापन गर्ने भएको हो ।
    यातायात ब्यबसायिहरू सँग छलफल गर्दै विदुर नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष लेनिन रञ्जितले वडा नम्बर १ मा सडक सुरक्षाको लागी कुनै कसुर बाँकी नराख्ने बताउँदै यातायात ब्यबसायिहरू लाई निर्देशन समेत दिएका छन् । ब्यवसायीहरूको र बसपार्कको व्यवस्थापनमा वडा कार्यालयले सहजीकरण गर्ने बताउँदै उनले यात्रुहरूको सहजताको लागी सवारीको सुरु बिन्दुबाट अन्तिम गन्तव्य सम्म अनिवार्य लैजानु पर्ने बताए । अधिकांश यात्रुबाहक सवारीहरूले काठमाडौंबाट त्रिशुलीका यात्रुहरू बोकेर ढुङ्गेमै छाड्ने गरेको गुनासो आएपछि वडा अध्यक्ष रञ्जितले यातायात ब्यबसायीहरूलाई निर्देशन दिएका हुन् ।

नुवाकोट काँग्रेसको सम्मेलन भदौभित्र

विदुर । नेपाली काँग्रेस नुवाकोट जिल्ला कार्यसमितिले जिल्लाका ८८ वटै वडा, १२ पालिका, चार प्रदेश क्षेत्र र दुई संघीय निर्वाचन क्षेत्रीय तहको सम्मेलन आगामी भदौ मसान्तभित्र गर्ने निर्णय गरेको छ ।
    जिल्ला कार्यसमितिको २० औँ बैठकले चारवटै तहको सम्मेलन गर्न प्रतिनिधि खटाउने र पार्टीको सदस्यतालाई बृहत् रूपमा वितरण गर्न अनलाइनबाट सदस्यता वितरण गर्ने अभियान सञ्चालन गर्ने निर्णयसमेत गरेको छ । कार्यसमितिका सचिव वैकुण्ठ मिश्रले गएको सोमबार जारी गरेको विज्ञप्तीमा नुवाकोट जिल्लाका स्वदेश तथा विदेशमा रहेका पार्टीसमर्थक लोकतन्त्रवादीलाई अनलाइन सदस्यता भर्न आह्वान गरिएको जनाइएको छ । बैठकले जिल्ला पार्टीले महाधिवेशन, महासमिति सदस्य, भ्रातृ तथा शुभेच्छुक संस्था र स्थानीय तहको जनप्रतिनिधिसँग साउन मसान्तभित्रछलफल गर्ने निर्णय गरेको जिल्ला उपसभापति राजु थापाले जानकारी दिए ।
    विधानबमोजिम नुवाकोट–काठमाडौं सम्पर्क समिति गठन गर्ने, केन्द्रीय कार्यसमितिको परिपत्र र निर्देशनअनुसार क्रियाशील सदस्यता नवीकरण तथा नयाँ सदस्यता वितरण पार्टीको विधान र नियमावलीअनुसार गर्ने र विधान अनुसार बुझाउनुपर्ने लेबी  बुझाउने सम्बन्धमा व्यवस्थित गर्न पत्राचार गर्ने उप सभापति थापाले जानकारी दिएका छन् ।
    पार्टी छाडेका स्वतन्त्र उम्मेदवार रहेका र स्वतन्त्र उम्मेदवारका समर्थक र प्रस्तावक रहेकाको विवरण वडा तहबाट पालिका, प्रदेश र क्षेत्रमार्फत जिल्ला कार्यसमितिमा माग गर्ने निर्णय भएको सचिव मिश्रले बताए ।

सूचनाको हक सम्बन्धी अन्तरक्रिया

अन्तरक्रिया

विदुर । राष्ट्रिय सूचना आयोगको आयोजना तथा जिल्ला प्रशासन कार्यालयको समन्वयमा विदुरमा सूचनाको हक सम्बन्धी अन्तरक्रिया कार्यक्रम भएको छ ।
    गएको सोमबार भएको कार्यक्रममा आयोगका सचिव दिवस आचार्यले सूचनाको हक र व्यवहारिक प्रयोगका बारेमा सहजिकरण गरेका थिए । नेपालमा सूचनाको हकको अभ्यास, यसका सिद्धान्तहरू, सार्वजनिक निकायको दायित्व र सूचनाको संरक्षण, सूचनाको दुरुपयोग र सूचनाको हकका सन्दर्भमा चुनौती लगायतका विषयमा जानकारी गराए ।
    कार्यक्रममा आयोगका आयुक्त कमला ओली थापाले सूचनामा नागरिकको सरल र सहज पहुँच हुनुपर्नेमा जोड दिईन् । प्रमुख जिल्ला अधिकारी किरण थापाले नुवाकोटका सरकारी कार्यालयहरूले आगामी आवबाट प्रत्येक तीन/तीन महिनामा कार्यालयको गतिविधि प्रकाशन गर्न निर्देशन दिए ।
    जिल्ला समन्वय समितिका प्रमुख जिल्ला समन्वय समितिका प्रमुख रजिन्द्रविक्रमसिंह ठकुरी, जिल्ला अधिकारी किरण थापा, पत्रकार महासंघ बागमती प्रदेश अध्यक्ष शिव देवकोटालगायतको आतिथ्यमा भएको कार्यक्रममा जिल्ला स्थित स्थानीय र सरकारी कार्यालयका प्रमुख तथा सूचना अधिकारीको सहभागिता रहेको थियो । कार्यक्रममा पत्रकार महासंघ जिल्ला शाखा नुवाकोटका अध्यक्ष कपिलदेव खनालले सूचनाको हक सम्बन्धि नीतिलाई सरकारी निकायका पदाधिकारी र आमनागरिकले हतियारको रुपमा लिएर दुरुपयोग गरेको बताए ।

खुल्ला बुद्धिचाल प्रतियोगिता हुने

विदुर । नुवाकोटमा आगामी साउन १९ गतेदेखि खुल्ला -यापिड बुद्धिचाल प्रतियोगिता हुने भएको छ । नुवाकोट बुद्धिचाल संघको आयोजना तथा विदुर नगरपालिका वडा नम्बर १ को मुख्य प्रायोजनमा प्रतियोगिता सञ्चालन हुन लागेको नुवाकोट बुद्धिचाल संघका अध्यक्ष प्रकाश जोशीले जानकारी दिए ।
    प्रतियोगिताको विजेताले १० हजार रुपैयाँ प्राप्त गर्नेछन् भने दोस्रो हुनेले ७ हजार रुपैयाँ पाउनेछन् । तेस्रो हुनेले नगद ५ हजार रुपैयाँ चौथो हुनेले ४ हजार रुपैयाँ पाँचौ हुनेले ३ हजार रुपैयाँ र छैठौँ देखि दशौं स्थान प्राप्त गर्नेले नगद २ हजार रुपैयाँ पाउने आयोजकले जनाएको छ । अन्तर्राष्ट्रिय रेटिङ्ग प्राप्त खेलाडीहरुसँग खेल्ने अवसर प्राप्त हुने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको संघका अध्यक्ष जोशीले बताए । प्रतियोगितामा आवश्यक खेलाडीहरुसँग खेल्नुपर्ने अन्तर्राष्टिूय फिडे नियम भएकोले केही जिल्ला बाहिरको खेलाडीहरुलाई वाईल्ड कार्डमार्फत प्रतियोगितामा समावेश गराईने छ ।
    प्रतियोगतामा जिल्लाका सबै बुद्धिचाल खेलाडीलाई सहभागी हुन नुवाकोट बुद्धिचाल संघले आह्वान गरेको छ । प्रतियोगितामा सहभागिता जनाउन साउन १८ गतेभित्र नाम दर्ता गर्नुपर्ने छ । जिल्लाका खेलाडीलाई दर्ता शुल्क तीन सय र जिल्लाबाहिरको खेलाडी लागि एक हजार रुपैयाँ तोकिएको छ ।

त्रिशुलीमा बगेर विद्यार्थी बेपत्ता

विदुर । बेलकोटगढी नगरपालिका–७ महादेवफाँटस्थित त्रिशुली नदीमा नुहाउने क्रममा बगाएर एक बालक बेपत्ता भएका छन् ।
    महादेव माविमा कक्षा ५ मा अध्ययरत १० वर्षीय रामचन्द्र बिक विद्यालयबाट छुटेर त्रिशुलीमा नुहाउने क्रममा असार २६ गते बगाएर बेपत्ता भएको प्रहरी कार्यालय नुवाकोट प्रमुख एसपी रमेश पण्डितले बताए ।

फेसबुकबाट उठ्यो उपचार खर्च

चेक हस्तान्तरण कार्यक्रम

तारकेश्वर । विगत दुई वर्षदेखि आर्थिक अभावकै कारण उपचार नपाएर गम्भिर स्वास्थ्य समस्याका कारण घरमै थलिएका नुवाकोट तारकेश्वर गाउँपालिका वडा नं. ३ चन्दनीका ३१ वर्षिय सन्तोष परियारले अब उपचार पाउने भएका छन् ।
    प्रेस चौतारी नेपालका केन्द्रिय सचिब तथा अर्थपथ डटकमका सम्पादक विष्णु तारुकेको पहलमा थालिएको फेसबुकमार्फत आर्थिक सहयोग संकलन अभियानबाट ४ दिनमै एक लाख ९७ हजार ८२० रुपैयाँ जम्मा भएको हो ।
    संकलित सहयोग रकम मंगलवार पत्रकार तारुके सहितको उपस्थितिमा परियारको परिवारलाई हस्तान्तरण गरिएको छ । तारकेश्वर गाउँपालिकाका पुर्व अध्यक्ष रमेशबहादुर वस्ती, वडा नं. २ का वडा अध्यक्ष शिव पनेरु र वडा नं. ६ का नारायण रिमालसहित घरमै पुगेर तारुकेले प्राप्त सहयोग रकमको चेक सन्तोषका श्रीमती रितु नेपालीलाई हस्तान्तरण गर्दै अब पैसा अभावकै कारण बिरामी सन्तोषको उपचार नरोकिने विश्वास व्यक्त गरे ।
    ‘पैसाकै अभावको कारण सन्तोषको उपचार रोकिने अवस्था छैन’, तारुकेले भने–‘उनलाई बचाउन हामीले थालेको अभियानमा सामाजीक सञ्जालबाटै सबैलाई आव्हान ग-यौँ । मानविय यस कार्यमा जोडिन आउनुभएका सबै सहयोगी मनबाट गरिबीकै कारण उपचार अभावमा थलिन पुगेका बिरामीको उपचार पनि सम्भव हुन्छ भन्ने अवस्था बनेको छ ।’ यस अभियानमा पत्रकार तारुकेसहित भारमा रहेका सोही गाउँका दिपक ढकाल, दिनेश परियारसहित धेरै व्यक्तिहरूले पहलकदमी दिएका थिए भने सामाजीक सञ्जालबाटै गरिएको अनुरोधमा करिब एकसय जना सहयोगीहरूले प्रभु बैंक रातमाटे शाखामा रहेको सन्तोषको श्रीमतीको खातामा रकम जम्मा गरिदिएका थिए ।
    दुई वर्षअघि वैदेशीक रोजगारीबाट घर फर्किएपछि अकस्मात् बिरामी भएका सन्तोषको एउटा खुट्टा नचल्ने र एउटा आँखा बन्द हुनपुग्यो । उपचारका लागि राजधानी काठमाडौंस्थित शिक्षण अस्पताल पुगेका उनलाई सुरुमै एकलाख रुपैयाँ डिजोजिड राख्नुपर्ने भनिएको थियो तर, आर्थिक अभावका कारण त्यति ठूलो रकम जम्मा गर्न नसकेपछि उपचार नै सुरु नगरी अस्पतालबाट निस्कनुपर्ने बाध्यता बन्यो ।
    त्यसपछि सन्तोषकी श्रीमती आफ्नै गाउँपालिकावासी समेत रहेका पत्रकार तारुकेलाई भेट्न पुगिन र आफ्नो दुःखको कहानी सुनाइन् । सन्तोषले गरिबीकै कारण उपचार नपाउने परिस्थिति आउन नदिन आफूले पहल गर्ने आश्वासन दिएका थिए । तारुकेले सहयोगका लागि सबैलाई गरेको आह्वानपछि बिरामीले उपचार पाउने वातावरण बनेको र सन्तोषले न्याय पाउने अवस्था बनेको तारकेश्वर गाउँपालिका २ का वडा अध्यक्ष शिव पनेरुले प्रशंसा व्यक्त गरे ।
    सहयोग संकलनको लागी तारुकावासी भारतमा रहेका दिपक ढकाललगायतले सहयोग गरेका थिए । करिव १ सयभन्दा बढी व्यत्तिहरूबाट संकलित १ लाख ९७ हजार रकम बिरामीको उपचारमा खर्च हुनेछ ।

तस्बिर समाचार

गाउँमा सिंहदरबार : नुवाकोटको तारकेश्वर गाउँपालिकाको वडा नं. २ को कार्यालयमा राष्ट्रिय परिचय पत्र बनाउनकान लागि जम्मा भएका नागरिकहरू र सरकारी कर्मचारी ।

कुमरी खोलामा स्टील ट्रस ब्रिज

बेलकोटगढी । बेलकोटगढीस्थित कुमरी खोलामा ‘स्टील ट्रस ब्रिज’ बन्ने भएको छ । बेलकोटगढी नगरपालिका वडा नं २ मा रहेको कुमरी खोलामा नगरपालिकाको २७ लाख १२ हजार रुपैयाँको लागतमा निर्माण हुन लागेको हो ।
    बिहीबार आयोजित कार्यक्रमकामा नगरपालिकाका उपप्रमुख शिवप्रसाद दाहालले शिलान्यास गरे । कार्यक्रममा उपप्रमुख दाहालले जग खनिएको स्थानमा ढुंगा राखेर शिलान्यास गरे । दाहालले पछिल्लो समय नगरपालिकासँग माग भए अनुसारको योजनाका लागि रकम नभएपनि प्राथमिकताका आधारमा नगरको विकासमा लागि आफूहरू क्रियाशिल रहेको बताए । उनले बिकासका लागि पूर्वाधार बिकास महत्वपूर्ण रहेको बताउँदै बिकास निर्माणका काममा नागरिकको निरन्तरको पहरेदारीले गुणस्तरिय काम हुनेमा जोड दिए ।
    कार्यक्रममा वडा नम्बर २ का वडा अध्यक्ष रामचन्द्र तिमिल्सिना, एमाले नगर अध्यक्ष रुपा सापकोटा, पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष अर्ज‘न न्यौपाने लगायतले पुल निर्माणले उक्त क्षेत्रको विकासमा ठूलो सहयोग पुग्ने धारणा राखेका थिए ।

मदिरा र सुर्तीको अनुगमन

विदुर । कोष तथा लेखा नियन्त्रण कार्यालय नुवाकोटले बजार अनुगमन समितिका संयोजक तथा सहायक प्रमुख जिल्ला अधिकारी बेदनिधी अधिकारीको अध्यक्षतामा मदिरा तथा सुर्तीजन्य बस्तुहरूको दर्ता तथा बजारको आज अनुगमन गरेको हो ।
    बजार अनुगमनका लागि कोष तथा लेखा नियन्त्रण प्रमुख भिमप्रसाद देबकोटा, नुवाकोट उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष सन्तोष उप्रेती, प्रहरी निरिक्षक पुष्प दर्लामी, विदुर नगरपालिका वडा नं. २ का अध्यक्ष दिपक कायस्थ लगायतका टोलीले बजार अनुगमन गरेका हुन् ।
    विदुर नगरपालिका अन्तर्गतका मुख्य ब्यापारिक केन्द्रहरू त्रिशुली बजार, ढुङ्गे, विदुर, बट्टार बजार, हावाघर क्षेत्रमा होटल, मदिरा ब्यबसायी, खाद्यान्न किराना, होलसेल पसलहरूमा मदिरा तथा सुर्तीजन्य पदार्थको अन्तःशुल्क दर्ता तथा नवीकरण गर्नको लागि अनुरोध तथा जानकारी गरााइएको उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष उप्रेतीले जानकारी दिएका छन् ।

पञ्चकन्यामा तयार हुँदै चिया बगान

 पञ्चकन्यामा तयार हुँदै चिया बगान

घलेभन्ज्याङ । नुवाकोटको पञ्चकन्या गाउँपालिकामा नौमती बाजा घन्काउँदै चिया रोपिएको छ । पालिकाको वडा नम्बर ४ घ्याङस्वारामा निर्माणाधीन ‘सहिद स्मारक पर्यटकीय पार्क तथा खेलमैदान’ आसपासमा श्रमदानसहित मंगलबार चियारोपण कार्यक्रम सम्पन्न भएको हो । मंगलबार चिया, सुन्तला, एभोकाडो गरी झन्डै १३ हजार बिरुवा रोपिएको छ । अध्यक्ष तेजबहादुर तामाङकाअनुसार चिया साढे १२ हजार, सुन्तला २ सय रोपिएका छन् ।
    पालिकाले ‘कोहीभन्दा छैन कम, पालिकालाई एकदिन श्रम’ भन्ने सन्देशसहित राखिएकोले कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, शिक्षक, विद्यार्थी, राजनीतिक दल, विभिन्न निजी तथा गैरसरकारी क्षेत्र, संघसंस्थाका प्रतिनिधिलगायतको उपस्थिति थियो । चियारोपण सकिएपछि पार्क क्षेत्रमा बाजाको तालमा अध्यक्ष, उपाध्यक्षलगायत नाचेका थिए भने खाजापानीको समेत व्यवस्था गरिएको थियो ।
    भविष्यमा गाउँपालिकाको आयस्रोतको माध्यम बनाउने उद्देश्यअनुरुप घ्याङस्वारामा पार्क निर्माण भइरहेको छ । झन्डै २० रोपनी क्षेत्रफलमा निर्माणाधीन पार्कस्थलबाट दक्षिण उत्तरतर्फ रहेको भुमेस्थान मन्दिरसम्म जाने सिँढी निर्माण सकिएको छ । भूमेथान मन्दिर नजिक भ्यूटावर निर्माण गर्ने, त्यसबाट पार्कस्थलमा झर्न जिपलाइन बनाउनेलगायतका योजना रहेको अध्यक्ष तामाङले जानकारी दिए । नयाँ आर्थिक वर्षको पालिकाको बजेटमा जिपलाइन सम्भाव्यता अध्ययन र खेलकुद मैदान सम्याउनका लागि समेत बजेट विनियोजन गरिइसकेको छ ।
    घ्याङस्वाराँबाट नुवाकोटका जिल्ला सदरमुकामका पूर्वीभेग, रसुवामा पर्ने गणेश हिमाल, राहुचुली हिमाललगायत हिमशृंखलालगायत दृश्य अवलोकन गर्न सकिन्छ । वनभोजमा जानेहरूका लागि आवश्यक सेटहाउस जस्ता संरचना, पाहुना गृह निर्माण भइसकेको छ । नेकपा माओवादीले सञ्चालन गरेको १० वर्षे जनयुद्धमा प्राण त्यागेकाहरूको सम्झनामा सहिद स्मारक पार्क निर्माण गरी गाउँपालिकाभित्रमा जनयुद्धकालमा सहिद भएका ११ जनाको अर्धकदको सालिक बनाएर अनावरण गरिसकिएको छ ।

लम्पी स्किनबाट तीन सय चौपाया मरे

संक्रमित चौपाया

विदुर । नुवाकोटका १२ वटै स्थानीय तहमा लम्पी स्किन तीव्र गतिमा फैलिएको छ । एक लाख २० हजार गाई र गोरुको तथ्याङ्क रहेको नुवाकोटमा अहिलेसम्म ११ हजार भन्दा बढी पशुचौपाया संक्रमित भइसकेका छन् ।
    सङ्क्रमितमध्ये विदुर नगरपालिका, बेलकोटगढी नगरपालिका र म्यागङ गाउँपालिकामा तीन सय चौपाया मरेका छन् । क्याप्री पक्स भाइरसको कारणले संक्रमण हुने यस किसिमको रोग फैलिएसँगै लम्पी स्किन रोगको प्रकोप जटिल बन्दै गएको छ ।
    गएको सोमबार कृषि तथा पशुपन्छी विकास मन्त्रालय बागमती प्रदेशले सार्वजनिक गरेको तथ्यांकअनुसार भने जिल्लामा छ हजार एक चौपाया सङ्क्रमित भएको तथ्याङ्क छ भने १७८ गाई मरेको छ । चार हजार ८२५ गाईलाई लम्पी स्किनविरुद्धको खोप लगाई सकेको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नुवाकोटका प्रमुख भरत पाण्डेका अनुसार जिल्लामा संक्रमण केही मत्थर भए पनि पूर्णरुपमा नियन्त्रणमा आइनसकेको बताएका छन् । दिनहुँ लम्पी स्किन रोगकाकारण गाईवस्तुहरू सङ्क्रमित भइरहेका छन् । अहिलेसम्ममा जिल्लामा गाई, गोरु र भैसीं गरी करिब ११ हजारभन्दा बढी चौपाया सङ्क्रमित भइसकेको उनले जानकारी दिए । स्थानीय तहले पनि यकिन तथ्यांक नपठाउँदा र दिनहुँ यस रोगबाट सङ्क्रमित हुने चौपायाको संख्या बढ्नेक्रम रहेकोले तथ्याङ्क यकिन गर्न कठिन भएको उनले बताए ।
‘यो रोगको लागि भेटेनरीले कुनै पनि औषधि प्राप्त भएको छैन’ उनले भने ‘जिल्लामा सञ्चालित निजीस्तरीय भेटेनरीले उपलब्ध गराउँदै आईरहेको छ भने कोहि किसानले काठमाडौंबाट ल्याई पशुचौपायाको उपचार गरिरहेका छन् ।’ लम्पी स्किन रोगकाकारण बिरामी भएका गाईको दुध खान हुन्छ तर दुधलाई अधिक मात्रामा उमालेर खाँदा मानिसमा नपर्ने सल्लाह दिए ।
    विदुर नगरपालिकामा लम्पी स्किन रोगकाकारण एक हजारभन्दा गाईवस्तु सङ्क्रमित भएको पशु शाखाका प्रमुख विष्णुप्रसाद रिजालले जानकारी दिए । ‘लम्पी स्किन रोगकाकारण गाई मर्नेको क्रम रोकिएको छैन’, उनले भने ‘हालसम्म करिब दुईसयभन्दा बढी गाई मरिसकेको छ । अवस्था भयाभय बन्दै गईरहेको छ ।’ सङ्क्रमित गाईको उपचारमा जटिल बन्दै गईरहेको छ । बिरामी गाईको घाउमा किरा पर्ने, घाउ निको नहुने समस्याले उपचारमा जटिलता थपेको उनले बताए ।
    यसैगरी बेलकोटगढी नगरपालिकामा ६० चौपाया मरेको पशु शाखाका प्रशान्त राईले जानकारी दिए । किसानले पालिका वा प्राविधिकलाई जानकारी गराए मात्र अभिलेख राख्ने गरिएको बताए । शाखाबाट खटिगएका प्राविधिकले नगरका वडा नम्बर ६, ७, १०, १२ र १३ क्षेत्रका दुईसय किसानका ७५० चौपायालाई खोप लगाएको जानकारी दिए । जसमा वडा नम्बर १२ र १३ मा बढी गाई, गोरु र भैसीं सङ्क्रमित रहेको बताए ।
    म्यागङ गाउँपालिकाका ८४० चौपाया सङ्क्रमित भएको छ । जसमा ३२ गाई र गोरु मरेको पशु शाखाका प्रमुख सुदर्शन सापकोटाले जानकारी दिए । पालिकाका कृषकहरूको १५० चौपायामा खोप लगाईए तापनि ६० प्रतिशतमा लम्पी स्किनको लक्षण देखिएकोले किसानले पनि आफ्नो वस्तुभाउलाई खोप लगाउन नमानेपछि खोप लगाउने कार्य बन्द गरिएको उनले बताए । पहिले दिनहुँ २० को हाराहारीमा चौपाया सङ्क्रमित हुने देखिएकोमा अहिले १२ वटा चौपायामा देखा पर्न थालेको उनले जानकारी दिए ।
    नेपाल भारत सीमा क्षेत्रमा शुरुमा फैलिएको लम्पी स्किन अहिले गढवाका सबै वडामा देखिएको छ । शुरुमा मुसी नाका र ६ नं. वडाको खबरीमा लम्पी स्किन देखिएको थियो । नियन्त्रणको लागी उपचार थालिएपनि समस्या समाधान भएको छैन ।
    यो रोगको संक्रमण भएपछि गाई, भैँसीको घाँटी र पुच्छरवरिपरिको भाग, पेट, थुनलगायत शरीरका विभिन्न भागमा साना ठूला गिर्खा (१ देखि ५ सेन्टिमिटर भन्दा ठूलो) देखिने, १०५ डिग्रीभन्दा बढी ज्वरो आउने, कचेरा र सिंगान बग्ने, मुखबाट फिँज धेरै निकाल्ने, खानेकुरा नखाने हुँदा ८० प्रतिशतसम्म दूध उत्पादन घट्ने, बाँझोपन हुने समस्या देखिने पशु सेवा विभागले जनाएको छर । रोगका कारण ४५ प्रतिशत गाईभैँसीमा संक्रमणको असर बढी देखिने तथा १० प्रतिशत गाईभैँसी मर्न सक्ने विभागले जनाएको छ । यो रोग मुख्यतया लामखुट्टे, टोक्ने झिँगा, किर्ना, भुसुनालगायतको टोकाइबाट सर्ने गरेको छर । उड्ने किराले संक्रमण फैलाउने गरेका छन्र । यसबाहेक संक्रमित गाई, भैँसीको ओसारपसारबाट समेत रोग सर्ने गरेको छ। यो रोग मूलतः दुधालु गाई, भैँसीमा छिटो संक्रमण हुने प्रकृतिको छ ।
    यसै बीच, पशु सेवा विभागले पशुमा देखिने लम्पी स्कीन रोगको उपचार गर्न सबै स्थानीय तहलाई आग्रह गरेको छ । सङ्क्रमण फैलिँदै गएकाले विभागले यथाशिघ्र औषधि उपचार तथा खोप खरिद गर्न आग्रह गरेको छ । विभागका महानिर्देशक डा. सम्झनाकुमारी काफ्लेले आज विज्ञप्ती जारी लम्पी स्कीन रोग फैलिने गएकोले स्थानीय तहलाई उपचार गर्न आग्रह गरे । विभागले महामारी नियन्त्रण गर्नका लागि फैलिएका स्थानीय तहमा एक लाख रुपैयाँ अनुदान उपलब्ध गराएको छ ।
    विभागले महामारी रोकथाम र नियन्त्रण गर्न प्रदेश र स्थानीय तहमा सम्पर्क व्यक्ति तोकेको उनले जानकारी दिए । विभागले लम्पी स्कीन रोग नियन्त्रण कक्ष स्थापनासहित प्रभावित क्षेत्रमा रोग अन्वेषण, उपचार र प्राविधिक सल्लाहका लागि टोली परिचालन गरेको छ । उनका अनुसार २०७९ चैतदेखि फैलिएको लम्पी स्कीन सङ्क्रमणबाट २५ हजार ८७२ पशु मरेका छन् । सङ्क्रमणमबाट देशभरि सात लाख नौ हजार दुई सय तीन पशुवस्तुमध्ये चार लाख ५३ हजार ८१९ पशु निको भइसकेका जनाइएको छ । अहिले पनि दुई लाख २९ हजार छ सय दुई पशु सक्रिय सङ्क्रमित रहेका छन् । रोग २०७९ चैत महिनादेखि कोशी प्रदेशबाट रोगको प्रकोप सुरु भई हालसम्म ७६ जिल्लामा रोग पुष्टि भइसकेको छ ।

रसुवामा पनि डेङ्गुको बिरामी

धुञ्चे । रसुवामा समेत डेङ्गुका बिरामी फेला परेको छ । बिरामीको हाल धुन्चेस्थित जिल्ला अस्पतालमा उपचार भइरहेको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. अमितकुमार शाहले एक जना डेङ्गुका बिरामीलाई अस्पतालको अन्तरङ्ग कक्षमा राखी उपचार भइरहेको जानकारी दिए ।
    समुद्र सतहदेखि दुई हजार मिटरको उचाइमा डेङ्गु रोगका बिरामी फेला परेपछि जिल्ला अस्पतालले लामखुट्टेप्रति सावधानी रहन अनुरोध समेत गरेको छ । जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा तापक्रम बढेपछि गर्मी स्थानमा मात्र हुने लामखुट्टे हिमाली क्षेत्रमा उक्लेको जनाइएको छ । मेडिकल सुपरिटेन्डेन्ट डा. शाहले डेङ्गु सार्ने लामखुट्टे बिहान सूर्यदयभन्दा अगाडि र साँझ सूर्यदयभन्दा पछाडि थोरै समय सक्रिय रहने भएकाले सो समयमा बढी सावधानी अपनाउनु पर्ने बताएका छन् ।
    ३ बर्ष अघीनै डेगुको जोखिम जिल्लामा सम्भावित जोखिम क्षेत्र पहिचान गरिएको थियो । उत्तरगया गाउँपालिकाको खाल्टे, सल्लेटार, बेत्रावती, बोगटिटार, पैरेबेँसी, माझगाउँ र मैलुङ, कालिका गाउँपालिकाको कालिकास्थान, धारापानी, बेतिनी, जिवजिवे र धुसेनी, नौकुण्डलाई सम्भावित जोखिम क्षेत्र पहिचान गरिएको थियो । यस्तै, गाउँपालिकाको भोर्ले, सरमथली र पारच्याङ, गोसाइँकुण्ड गाउँपालिकाको धुन्चे, भार्खु, स्याफ्रुबेँसी र टिमुरे र आमाछोदिङ्मो गाउँपालिकाको गोल्जुङ र चिलिमेलाई संभावित जोखिम क्षेत्र पहिचान गरिएको छ ।

रासायनिक मललाई थप माग गरिने

विदुर । किसानहरूलाई भलको अभाव हुन नदिने भन्दै नुवाकोट जिल्लामा प्राप्त भएको रासायनिक मललाई व्यवस्थित रुपमा वितरण गरिने भएको छ । जिल्ला समन्वय समितिका प्रमुख रजिन्द्रविक्रम सिंह ठकुरीको अध्यक्षतामा जिल्लाका सरोकारवाला निकायहरूको बैठकले जिल्लामा वितरण गरिने मललाई पनि व्यवस्थित रुपमा वितरण गर्नका लागि अनुगमन गर्ने लगायतका निर्णय गरिएको छ ।
    बैठकले नुवाकोट जिल्लका लागि आवश्यक पर्ने मलको लागि आवको प्रारम्भमा नै पहिचान गरि कृषि ज्ञान केन्द्र, सम्बन्धित पालिका, सरकार र जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरी मलको परिणाम वृद्धि गर्नका लागि सम्बन्धित निकायमा सिफारिस गर्ने निर्णय गरिएको छ । यस्तै प्राप्त मलको वितरण कार्यलाई गुनासो नआउने गरी छिटो छरितो, पारदर्शी, मितव्यी र जवाफदेही बनाई वितरण कार्यलाई व्यवस्थित गर्न जिल्ला समन्वय समिति नुवाकोटलाई सिफारिस गर्ने निर्णय पनि गरिएको छ ।
    बैठकले कृषि ज्ञान केन्द्र तथा साल्ट् ट्ेडिङ कर्पोरेशनले सहकारी संस्थालाई वितरण गरेको मलको विवरण जिल्ला प्रशासन कार्यालय तथा जिल्ला प्रहरी कार्यालयलाई नियमित रुपमा जानकारी गराउने निर्णय गरिएको छ । बैठकले जिल्लाको नगरपालिका र गाउँपालिकामा प्राप्त मलको कोटा कुनै पालिकालाई आवश्यक नभएमा सम्बन्धित पालिकाको सिफारिस र आवश्यक पर्ने पालिकाको पत्र समेतको आधारमा जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, कृषि ज्ञान केन्द्र, सहकारी संस्था, मल वितरण गर्ने संस्था, कार्यालयले आवश्यक निर्णय गरी जिल्ला भित्रको समस्या समाधान गर्न सहजिकरण गर्ने उल्लेख गरिएको छ ।
    प्राप्त अनुदानको मल दुरुपयोग भए÷नभएको, बढी मुल्यमा बिक्री गरे÷नगरेको बारेमा स्थानीय तह र स्थानीय प्रहरी चौकीले अनुगमन गर्ने र दुरुपयोग हुन नदिने र दुरुपयोग गर्ने उपर कारवाही गर्ने निर्णय गरिएको छ ।

साउने सोमबार : किन विशेष ?

दीपक दर्शन
साउन शिवजीसँग जोडिएको महिना हो । साउन महिनामा शिवको पूजा गरे सबै देवताको पूजा गरेबराबर फल प्राप्त हुन्छ भन्ने सनातन विश्वास छ । साउन महिना धार्मिक, प्राकृतिक एवं सांस्कृतिक दृष्टिकोणले महत्वपूर्ण भएकाले यो महिनालाई विशेष रूपमा लिइन्छ । विशेष गरी साउनको सोमबार शिवजीको व्रत एवं पूजा गर्ने चलन छ । पार्वतीले साउन महिनाभरि निराहर रही कठोर व्रत बसेर भगवान शिवलाई प्राप्त गरेको किम्वदन्ती सुनेका हुनाले महिलाहरूले यसलाई बढी महत्त्व दिन्छन् ।
    साउनको महिना व्रत बसी शिवको पूजा गरे आफू, श्रीमान, सन्तान एवं परिवार सबैको कल्याण हुने धार्मिक विश्वास छ । महिनाको अरू दिन नसके पनि सोमबार व्रत बसी शिवलाई शुद्ध जल चढाएर खुसी बनाउन सकिन्छ भन्ने शास्त्रीय मान्यता छ ।
साउने सोमवार
साउने सोमबारका दिन भगवान् शिवको विशेष पूजाआराधना गर्ने परम्परा छ । ज्योतिषशास्त्र अनुसार सोमवारको स्वामी भगवान् शिव भएकाले यो दिनको शिवोपासना विशेष मानिन्छ । अझ यो महिनाको सोमवार गरिने शिवको व्रत पूजा विशेष फलदायी हुने मान्यता छ । यस दिन आफू र आफ्नो परिवारको सुस्वास्थ्य, दीर्घायु एव विभिन्न कामना गर्दै व्रत बस्ने परम्परा छ । हस्ता नक्षत्रयुक्त सोमवारको व्रतको प्रभावले पार्वतीले महादेव स्वामी पाएको प्रसंग पुराणमा पाइन्छ ।
    हिन्दू धर्ममा साउनलाई धर्मकर्मको महिना भनिन्छ । यो महिनामा व्रत, दान, पूजापाठ आदि गर्दा धेरै गुना बढी फल प्राप्त हुन्छ भन्ने विश्वास गरिछ । पुराणहरूमा मुख्य तीनथरि व्रतको चर्चा पाइन्छ । ती हुन्– साउने सोमबार, र्सोह सोमबार एवं सोम प्रदोष । सोमबारको व्रत विधि पनि अन्य व्रतजस्तै हुन्छ । यो व्रत सूर्योदयदेखि प्रारम्भ भएर तेस्रो प्रहरसम्म बसिन्छ । दिनको तेस्रो प्रहर अर्थात् करिब तीन बजेतिर शिवजीको पूजा गरी कथा सुन्नुपर्छ । व्रत गरेको दिन बेलुका एकपटक सात्विक भोजन गर्नुपर्छ । यसरी व्रत बस्दा सारा समस्या समाधान हुने जनविश्वास छ ।
शिव को हुन् ?
शिव वैदिक देवता हुन् । शिवको अर्थ कल्याण हो। विधिपूर्वक आराधना गर्दा उनी खुशी हुन्छन् र मनोकामना पूर्ण गरिदिन्छन् भन्ने विश्वास गरिन्छ । शिवको उपासना गर्ने परम्परा वैदिक कालदेखि नै चलेको मानिन्छ । वेदमा रुद्रको रूपमा शिवको उपासना गरिएको छ । शुक्ल यजुर्वेदको सोह्रौ अध्यायमा रुद्रका विभिन्न वर्णन गरिएको छ । सुख प्रदान गर्ने, पाप नाश गर्ने र भक्तलाई कल्याण गर्ने रूपमा शिवको उपासना गरिएको छ । पौराणिक ग्रन्थहरूमा ब्रहृमालाई सृष्टि, विष्णुलाई रक्षा र शिवलाई संहारका देवता मानिएको छ ।
    शिवलाई सम्पूर्ण देवताका पनि देवता अर्थात देवाधिदेव महादेव भनिएको छ । शिवको अर्थ कल्याण भएकाले विधिपूर्वक आराधना गर्दा उनी खुशी हुन्छन् र मनोकामना पूर्ण गरिदिन्छन् भन्ने विश्वास गरिन्छ । वेदमा रुद्रको रूपमा शिवको उपासना गरिएको छ । शुक्ल यजुर्वेदमा सुख प्रदान गर्ने, पाप नाश गर्ने र भक्तलाई कल्याण गर्ने देवताको रूपमा शिवको उपासना गरिएको छ ।
साउनमा रुद्री
नेपाली समाजमा साउन महिनामा रुद्री लगाउने चलन छ । रुद्री भनेको शतरुद्रीय  वैदिक मन्त्र पाठ गरी शिवलिङ्गमा अभिषेक गर्नु हो । विशेषगरी साउनको सोमवार पारेर तथा त्यस दिन नजुरे साउनकै अन्य कुनै दिन ब्राहृमणहरूद्वारा रुद्रीभिषेक गराइन्छ । रुद्रीमा वैदिक मन्त्रोच्चारण सहित जलधाराले शिवको अभिषेक गरिन्छ। धर्म, अर्थ काम र मोक्ष यी चार कुराको इच्छा गर्नेहरूले रुद्री पाठद्वारा आशुतोष भगवान् रुद्रलाई प्रसन्न पार्छन् । रुद्री प्रसन्न हुनाले सम्पूर्ण इच्छा पूर्ण हुन्छ भन्ने विश्वास गरिन्छ । भिन्नभिन्न वस्तुले अभिषेक गरी रुद्रीपाठ गर्नाले भिन्नभिन्न कामना पूर्ण हुन्छन् भन्ने विश्वास छ ।
    साउन महिना नै शिवलाई बढी प्रिय लाग्नुको कारण के हो भने यो महिनामा अधिक वर्षा  हुन्छ जसले शिवको विषदग्ध तापयुक्त शरीरमा शीतलता प्रदान गर्छ । यो महिनामा प्रकृतिले नै रुद्रीभिषेक गर्छ । शिव पुराणअनुसार शिव स्वयं जल हुन् । भगवान् शिवले सनतकुमारहरूलाई साउन महिनाको महिमा बताउने क्रममा भनेका छन्– मेरा तीन आँखामध्ये दाहिने आँखा सूर्य, बायाँ आँखा चन्द्रमा तथा बीचको आँखा अग्नि हुन् ।
    हाम्रा महिनाहरूको नाम नक्षत्रका आधारमा राखिएको छ । श्रवण नक्षत्रको स्वामी चन्द्रमा हुन् । चन्द्रमा भगवान् शिवको मस्तकमा शोभायमान छन् । जब सूर्य मिथुनबाट कर्कट राशिमा प्रवेश गरेर साउन महिना सुरु हुन्छ तब सूर्य दक्षिणायन हुन्छन्, सूर्यको ताप कम तथा दिन छोटा हुन थाल्छन् । साथै सूर्यले ताप तथा  चन्द्रमाले शीतलता प्रदान गर्छन्, यसकारण सूर्य कर्कट राशिमा आएपछि वर्षा हुन्छ र यसले शिवलाई प्रसन्न तुल्याउँछ ।
साउने सोमवारका गन्तव्य
साउने सोमवारका दिन देशभरिका शिवालायहरूमा भक्तजनको भीड लाग्छ । काठमाडौं वरपरका क्षेत्रका श्रद्धालु साउन महिनाको सोमवारको प्रमुख गन्तव्य बन्ने गरेको छ– पशुतिनाथ क्षेत्र । पौराणिक ग्रन्थहरूमा पशुपतिनाथको ठूलो महिमा बताइएको छ । यसैगरी ललितपुरको कुम्भेश्वर, सन्तानेश्वर महादेव, खोटाङ हलेसी महादेव, काठमाडौंको कोटेश्वर, महोत्तरी जलेश्वर, म्याग्दीको गलेश्वर, धरानको पिण्डेश्वर काभ्रेको धनेश्वर, सिन्धुपाल्चोकको पाँचपोखरी, रसुवाको गोसाइँकुण्ड, नुवाकोटको दुप्चेश्वर लगायतका शिवालयमा साउने सोमबारका दिन घुइँचो हुन्छ । केही वर्षयता बोलबम यात्रा चल्ने गरेको छ ।
के हो बोलबम ?
कुनै पवित्र नदीमा स्नान गरी शुद्ध भएर जल उठाई बोलबमको नारा लगाउँदै डाक बम र बोलबम बनेर पहेँलो वस्त्रधारी भक्तजनले खाली खुट्टा पैदल हिँडेर शिवालयमा जल अर्पण गर्ने कार्यलाई बोलबम भनिन्छ । साउन महिनाको हरेक सोमबारका दिन पशुपति क्षेत्र, बराहक्षेत्रमा यस्तो मेला विशेष हुन्छ । पशुपतिमा सुन्दरीजलबाट तथा पिण्डेश्वर शिवालयमा धार्मिक तीर्थस्थल चतरा कौशिकी तट सप्तकोशी नदीबाट जल उठाएर ल्याई अर्पण गर्ने चलन छ । स्मरणीय के छ भने नेपालमा साउने सोमवार तथा बोलबम मनाउने चलन सुरु भएको धेरै भएको छैन ।

२०८० साल साउन १ गतेको सम्पादकीय

रैथाने बाली संरक्षणमा चासो राखौं
सरकारले परम्परागत तथा रैथाने बालीको संरक्षण र प्रवद्र्धनमा ध्यान पु-याउन सकेको छैन । विगतदेखि अहिलेसम्म धेरैजसो रैथाने जातका बालीहरू हराउँदै गएका छन् । अहिले ९६२ प्रकारका रैथाने जातका कोदो बालीमात्र जीन बैंकमा संरक्षित छ । कर्णाली प्रदेश सरकारले पनि आफ्नै रैथाने बालीको संरक्षण गर्न बिर्सेको छ । नेपालकै रैथाने बाली फापर पनि रसियाबाट आयात भइरहेको छ । पछिल्ला समयमा सरकारले रैथाने र जैविक बालीको संरक्षणका कार्यक्रम ल्याउने आशा गरिएपनि अहिले निराशा उत्पन्न भएको छ । कोदो र फापर जस्ता रैथाने खाद्यबालीलाई आधुनिक खालका खाना, परिकार तथा खाजाका परिकार बनाउने तौर तरिका र विधिका बारेमा तालिम तथा सचेतनामूलक कार्यक्रम दिनुपर्ने छ । अर्गानिक र रैथाने खाद्यबालीलाई नयाँ युवा पुस्ताका खानाका परिकार बनाउन प्रविधि हस्तान्तरण, तालिम, सहुलियत, अनुदान र सचेतनामूलक कार्यक्रम गर्नुपर्ने छ । कृषिको जैविक विविधता, खाद्य तथा पोषण सुरक्षामा जोखिम बढ्दै गएको छ । रैथाने बालीको संरक्षण र प्रवद्र्धन गर्दै खाद्य पोषणतर्फ कृषिलाई अघि बढाउन सरकारी क्षेत्रबाट व्यापक सचेतना, तालिम र बहस आवश्य छ । निजी क्षेत्रसँग सहकार्य गर्दै लोपोन्मुख तथा रैथाने बालीको उत्पादन बढाउन प्रविधि, सीप, बजार र अनुसन्धानमा अझै पनि कमी छ । दिगो विकासको लक्ष्य हासिल गर्न पनि रैथाने बाली तथा कृषिको जैविक विविधतामा जोड दिनुपर्ने विज्ञहरूले नै बताउँदै आएका छन् । तर, सरकारले रैथाने बालीको प्रवद्र्धनमा जोड नदिँदा कतिपय परम्परागत बालीहरू हराउन थालेको छ । पछिल्लो ५ वर्षमा ५० प्रतिशत रैथाने बाली र त्यसको महत्व हराएका छन् । अहिलेको परिवर्तीत समय र फेरिएको खानपान प्रवृत्तिले पनि हाम्रो समाजबाट रैथाने बालीको सँस्कार हराउने अवस्थाको सिर्जना भएको छ ।
    अहिले पनि नीति निर्मातामा रहेकाले रैथाने कृषि बालीका बारेमा ध्यान नदिँदा फापर पनि आयात गर्नुपर्ने बाध्यता रहेको छ । सरकारले नीति बनाउँदा पनि कृषिको जैविक विविधतामा ध्यान नपुर्याउदा रैथाने बाली संकटमा परेको हो । बैंकले पनि कृषिका अन्य क्षेत्रलाई ऋण पत्याउने तर, कोदो खेती गर्छु भन्दा बैंकले ऋण नै नदिने गरेको घटनाकत्ति पटक पटक सार्वजनिक भइसकेको छ । स्थानीय सरकारले पनि कृषि जैविकतामा आधारीत नीति, कार्यक्रम र सहभागीतामा जोड दिनुपर्ने हो । तर त्यसो भएको पायएको छैन । रैथाने बाली उत्पादन गर्ने किसानलाई इन्सेन्टिभ, सब्सिडिटी र पुरस्कार, प्रोत्साहन र पहँुच बढाउने नीति तथा कार्यक्रम अवलम्बन गर्नुपर्ने छ । कृषिमा आधुनिक फार्मिङको अभ्यासले रैथाने र कृषिको जैविक विविधता लोप हुन थालेको हो । प्रकृतिलाई जोगाउने र रैथाने बालीको संरक्षणको हकदार स्थानीय सरकार र स्थानीय किसानकै भूमिका महत्वपूर्ण छ ।
    त्यसो त, धेरै उत्पादन हुने हाईब्रिड बिउबिजनका कारण रैथाने बाली संकटमा परेका हुन् । धान, मकै, गहुँ जस्ता बालीमा हाईब्रिड बिउ प्रयोग गर्न थालिएको छ । अहिलेसम्म कोदो, फापर, जौ आदी भने रैथाने उत्पादन हुँदै आएका छन् । नेपाली भूमिमा उम्रने परम्परागत खाद्य बस्तु, जडीबुटी आदिको नेपाली खानपानलाई रैथाने नेपाली खाना भन्ने गरिएको छ । व्यक्तिको लागि जरुरी हुने पौष्टिकताको अलावा रैथाने नेपाली खानाको औषधीय खाद्यवस्तुको उत्पादन कसरी बढाउने भन्ने चुनौति देखिएको छ । उन्नत जातको बिउको प्रयोगसँगै रैथाने बिउ लोप हुने अवस्थामा पुगेका छन् । रैथाने बिउ लोप हँुदै गएपछि उन्नत जातको बिउले उत्पादन बढी दिने भए पनि विभिन्न खालका रोगकीराले संक्रमण गर्ने, समयमा नपाक्ने लगायतका समस्या आइरहेको छ । पहिलापहिला गाउँघरमा पाइने बिउ आजभोलि पाइनै मुस्किल हुने गरेको छ । उन्नत जातका बिउ स्थानीय हावापानीअनुसार मिल्दोजुल्दो नभएकाले उत्पादनमा समस्या आइरहेको छ । पुरानो बिउमा रोगकीरासँग लड्ने क्षमतासमेत रहेकाले उत्पादन राम्रो हुने र हावापानीसँग मिल्ने भएकाले उन्नतजातको भन्दा स्थानीय बिउ राम्रो मानिन्छ । पुराना तथा रैथाने जातका हरेक खाना मीठो हुने भए पनि उत्पादन कम हुने भएकाले किसानको आकर्षण उन्नत जातमा बढेको छ । उन्नत जातमा उत्पादन बढी भए पनि पुराना जातको जस्तो खानमा स्वादिलो भने हुँदैन । नेपालमा रैथाने बालीलाई जोगाउन सकेमात्रै भोलीका दिनमा राम्रो आम्दानी गर्न सकिन्छ ।
    रैथाने बाली संरक्षणका लागि महत्वपूर्ण कुरा भनेको बिउको संरक्षण गर्नु हो । यसका लागि कृषकलाई प्रोत्साहन गर्नु पर्दछ । यसको महत्व बुझाउनु पर्दछ । बाली उत्पादन भएपछि बजारीकरणको सुनिश्चितता हुनुपर्दछ । रैथाने बालिलाई व्यवसायिक बनाउनु पर्दछ । हरेक जिल्लामा अनेक प्रकारका रैथाने बाली उत्पादन हुने गरेका छन् । तिनको प्रचारप्रसार हुन सकेको छैन । स्थानीय सरकारहरूले रैथाने बाली वृद्धि गर्न अभियान चलाउनु पर्दछ । यसतर्फ किसानलाई प्रोत्साहन गर्नु पर्दछ । लोप हुँदै गएका बाली संरक्षण गर्ने दायित्व स्थानीय सरकारहरूको पनि हो । रैथाने खानाको उपभोग गरेपछि मात्र यसको उत्पादनलाई दिगो विकास गर्न सकिन्छ । त्यसैले रैथाने खाना खाने बानिको विकास गर्न जरुरी छ । अहिलेको नयाँ पुस्ताले आटो ढिडो नै रुचाउँदैनन् वा खान खोज्दैनन् । यसका लगि नेपाली परिकार बनाउन सकिन्छ । शहर बजारतिर रैथाने खाना खाने प्रचलन बढ्दै छ । तर गाउँघरतिर बिस्तारै हराउन थालेको छ । पोषणयुक्त खानाका बारेमा जनचेतना जगाउनु आवश्यकता छ ।

२०८० साल साउन १ गते । वर्ष:१६ अंक:३८