Monday, July 31, 2023

भाडामा मनोमानी

नुवाकोट–काठमाडौं सञ्चालन हुने बस

विदुर । नुवाकोटबाट सञ्चालन हुने यात्रुवाहक बसले लिने भाडादर अव्यवहारिक हुँदा नागरिकहरू ठगिँदै आएका छन् ।
    यातायात व्यवसायीहरूको चरम दादागिरीमा स्थानीय प्रशासन निरीह हुँदा नुवाकोट र रसुवाका नागरिकले सरकारले तोकेको भन्दा बढी भाडा तिर्न बाध्य छन् । सरकारले तोक्ने भाडा भन्दा बढाउन पनि नुवाकोटमा ठूलै राजनीतिक हुने गरेको छ । नुवाकोटमा आफुलाई नागरिक समाजको अगुवा र उपभोक्ता हकहित संरक्षणको नेता भनाउदाहरू पनि यसमा मौन रहनु रहस्यको विषय वनेको छ । दैनिक नुवाकोटको सडकमा चल्ने सर्यौ सवारी साधनहरूले हजारौं यात्रुलाई ठगीरहदा समेत स्थानीय जनप्रतिनिधि, नागरिक अगुवा, विभिन्न दलका विद्यार्थी संघ संगठनहरू, उपभोक्ता अधिकारवादीहरू नतमस्तक भएर हेरिरहेका छन् ।
    बागमती प्रदेशभित्र सञ्चालन हुने सवारी साधनको भाडा प्रदेश सरकारले तोक्ने गरेको छ । नुवाकोटमा सञ्चालन हुने यातायातका साधनको भाडा २०६८ सालमा देवीघाट गल्छी सडक स्तरोन्नतीको काम सकिएपछि चलखेलमा बढाइएको थियो । त्यतिबेला अन्य रुटमा भाडा घटाइँदा नुवाकोटमा घटाइएको थिएन । अहिले पनि सोही नियमलाई टेकेर भाडा बढ्ने गरेको छ । तत्कालीन समयमा सडकको स्तरोन्नती सकिएपछि घटाउनुपर्ने भाडा त्यसबेला नघटाइएका कारण यात्रुहरूले अहिले पनि महंगो भाडा तिर्न बाध्य हुनु परेको छ ।
    त्यसतिमात्र होइन, नुवाकोटका सीमित रुटहरूको मात्रै विवरण स्थानीय प्रशासनले प्रदेश सरकारलाई पठाएर यातायात व्यवसायीसँगको मिलेमतोमा व्यवसायीलाई नियमनमा लेराउन सकेको छैन । यसको उदाहरणको लागि बेलकोटगढी नगरपालिकाबाट विभिन्न रुटहरूमा यात्रुवाहक वस सञ्चालन हुन्छ । तर, उनीहरूको विवरण प्रदेश सरकार तथा यातायात व्यवस्था विभागमा पठाइएको छैन । बेलकोटगढीबाट वडा नं. ६ हुँदै गल्छीबाट काठमाडौं, वडा नं.९ बाट काठमाडौं तथा त्रिशुली, वडा नं. १ र २ बाट काठमाडौं, वडा नं. ११, १२ बाट काठमाडौं नियमित सवारी सञ्चालन हुन्छ उनीरुलाई नियमन गर्न प्रशासन चुकेको छ ।
तारकेश्वर गाउँपालिकाका विभिन्न क्षेत्रमा जाने सवारी साधनको रेकर्ड पनि प्रशासनसँग छैन । रेकर्ड नभएका सवारी रुटमा प्रतिकिमिटर कति भाडा तिर्नुपर्ने भन्ने आधिकारिता नहुँदा व्यवसायीले मनोमानी रुपमा भाडा असुल गरिरहेका छन् । यी रुटहरूमा काठमाडौं त्रिशूलीको भन्दा पनि महंगो भाडा तिरेर यात्रुहरू यात्रा गर्न बाध्य छन् । दुप्चेश्वर, शिवपुरी, म्यागङलगायतका ठाउँमा पनि नयाँ रुटहरू रहेका छन् । यी रुटको पहिचान गरी यात्रुलाई मर्का नपर्ने गरी भाडा तोक्न स्थानीय प्रशासले पहल लिनु जरुरी छ ।
    सरकारले पेट्रोलियम पदार्थको मूल्य घटवढ हुँदा सवारी साधनको पनि भाडादर समायोजन गर्ने गरेको छ । तर, नुवाकोटमा सञ्चालन हुने सवारीको भाडा सरकारले तोकेको भन्दा निकै बढी हुने गरेको यात्रुहरूले गर्दै आएका छन् । सरकारले तोकेको भाडामा एसी तथा डिलक्स वसले थप २५ प्रतिशत शुल्क लिन पाउने नियम भएपनि नुवाकोटका व्यवसायीले भने थप ६० प्रतिशत भन्दा बढी भाडा लिने गरेका छन् । यसमा स्थानीय प्रशासन, नागरिक समाज र उपभोक्तावादी संघसंस्था निरीह बनेर रमिता हेरिहेका छन् ।
    पहाडी जिल्लाका पक्की तथा ग्राभेल सडकहरूमा २५ किलोमिटरदेखि १ सय किलोमिटरसम्म प्रतिकिलोमिटर दुई रुपैयाँ ४९ पैसाका दरले भाडा तोक्न सक्ने नियम बनाएको छ । तर, यो नियममा बसेर नुवाकोट प्रशासनले कहिले पनि नुवाकोटको भाडा समायोजन गर्ने प्रयास गरेको छैन । यातायात व्यवसायीको सेटिङमा तयार पारिएको माइन्युटको पाना टाँस्ने र सही गराएर वैधानिकता दिने काममा मात्रै प्रशासन रमिते बन्नु हुन्न ।
    अव्यवहारिक भाडादरको साक्षी बनिरहेको जिल्ला प्रशासन कार्यालयले व्यवसायीको हित विपरितको कुनै निर्णय गर्न नसक्दा आम यात्रुहरू ठगिने क्रम जारी रहेको छ । त्रिशूलीदेखि गल्छीसम्मको भाडा नुवाकोट प्रशासनले नै तोकेको ८० रुपैयाँ हो । गल्छीदेखि काठमाडौंसम्मको भाडा एसी बसले लिने १४० देखि १५० रुपैयाँ हो । गल्छीसम्मको एसी बसको भाडा एक सय रुपैयाँ नै कायम गर्ने हो भने काठमाडौंसम्मको भाडा २५० रुपैयाँ हुन्छ । जवकी नुवाकोटका बसहरूले ३५० रुपैयाँ भाडा असुल गरिरहेका छन् । यस्तो महत्वपूर्ण विषयमा नुवाकोट प्रशासन निरीह हुनु भनेको माफिया र व्यवसायीको चंगुलमा नुवाकोट प्रशासन फसेको छ ।
अझ बीचबाट चढ्ने र ओर्लने यात्रुहरूले सहचालकले भनेको भाडा तिर्नुपर्ने बाध्यता रहेको छ । उनीहरूले जति रुपैयाँ भन्छन्, उत्ति रुपैयाँ भाडा तिरेर यात्रा गर्न नुवाकोटका यात्रुहरू बाध्य हुनुपरेको छ । त्यसैले प्रतिकिलोमिटर यति रुपैयाँ भाडा भनेर नतोकिएसम्म यात्रु ठगिने क्रम रोकिने वाला छैन । सरकारले तोक्ने नुवाकोटको भाडादर अरु जिल्लाको तुलनामा अत्यन्तै महंगो छ । त्यसमाथि स्थानीय प्रशासनसँगको मिलेमतोमा तोकिएको भन्दा बढी भाडा लिने व्यवसायीका कारण आम जिल्लावासी समस्या छन् ।

कहाँ जान कति लाग्छ ?

विदुर । बागमती प्रदेश सरकारले नुवाकोट रसुवा र धादिङसहित बागमती प्रदेशका जिल्लाहरूमा भाडा घटाएको छ । बागमती प्रदेशको श्रम रोजगार तथा यातायात मन्त्रालयलका सूचना अधिकारी खगेन्द्र पौडेलले भाडा घटेको बताए ।
    लामो दूरीको सार्वजनिक यातायातमा २.३० प्रतिशत, सिटी बसमा २.२६ प्रतिशत र मालवहाक सवारीमा ३.१८ प्रतिशत भाडा घटेको छ । अब त्रिशुली–काठमाण्डौको भाडा २४० रुपैयाँमा झरेको छ । यस्तै काठमाण्डौ–देविघाट–त्रिशुलीको भाडा २५१ रुपैयाँमा झरेको छ ।
त्यस्तै काठमाण्डौ–टोखा–त्रिशुलीको भाडादर २०६ पुगेको छ । काठमाण्डौ–टोखा–सातविसेको भाडादर २५० रुपैयाँ कायम भएको छ भने देविघाटबाट गल्छीसम्मको भाडा मात्र ६१ रुपैयाँ पुगेको छ । यस्तै त्रिशुली–आप्रहको भाडादर ६८ रुपैयाँ कायम भएको छ । त्रिशुली–चोकदे ५८ रुपैयाँ, त्रिशुली–देउराली ५० रुपैयाँ, र काठमाडांै–धुन्चेको भाडादर ४०७ रुपैयाँ कायम भएको छ ।

तस्बिर समाचार

म्या गाङ टुँडी ! म्यागाङ गाउँपालिकाको नामाकरण भएको ऐतिहासिक डाडा (गाङ)


तीन वर्षमा परिचयपत्र

जिल्ला प्रशासन कार्यालय नुवाकोटमा भएको परिचय पत्र वितरण कार्यक्रम ।

विदुर । जिल्ला प्रशासन कार्यालय नुवाकोटले राष्ट्रिय परिचयपत्र वितरण सुरु गरेको छ । बागमती प्रदेशमन्त्री, प्रदेशसभा सदस्यको उपस्थितिमा बिहीबार औपरचारिक समारोह आयोजना गरी कार्यालयले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र वितरण थालेको हो ।
    बागमती प्रदेश आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिंह लामा तामाङ, स्वास्थ्यमन्त्री उत्तम जोशी, प्रदेश सदस्य राधिका तामाङ, जिल्ला समन्वय समिति प्रमुख रजिन्द्रविक्रमसिंह ठकुरीलगायतले परिचयपत्र सेवाग्राहीलाई हस्तान्तरण गरेका थिए ।
    आर्थिक मामिला मन्त्री लामा ले राष्ट्रिय परिचयपत्र प्रदान गर्दै मुलुक डिजिटल प्रविधिमा गइरहेको बताए । उनले राष्ट्रिय परिचयपत्रको आधुनिक कार्ड हेर्ने मेसिन पनि छिट्टै ल्याउन आग्रह गरे । राष्ट्रिय परिचयपत्र नुवाकोटमा २०७७ असार ३१ गतेदेखि एउटा स्टेसनबाट सुरु गरिएको थियो । २०७८ चैत १ गतेबाट दुईवटा र २०७९ माघबाट थप गरी ३ वटा स्टेसनबाट काम सञ्चालन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी वेदनिधि अधिकारीले जानकारी गराए । हालसम्म ४४ हजार विवरण संकलन भइसकेको छ ।
    २०८० जेठ १२ गतेबाट परिचयपत्र अभियान टोली म्यागङबाट विवरण दर्ता संकलन थालिएको थियो । दुप्चेश्वर, किस्पाङ, तारकेश्वर गाउँपालिकामा विवरण दर्ता संकलन सकेको छ भने सूर्यगढी र लिखु गाउँपालिकामा विवरण दर्ता संकलन अभियान जारी रहेको प्रमुख जिल्ला अधिकारी किरण थापाले बताए । हालसम्म राष्ट्रिय परिचयपत्र विवरण दर्ता अभियान टोलीबाट २३ हजार ७८१ विवरण संकलन भइसकेको छ ।

थाई एयरवेजको टुक्रा ३१ वर्षसम्म

फेदीमा प्लेनको सामाग्रीहरूले बनाइएको गेट र सूचना पार्टीहरू । तस्बिर : बद्री प्याकुरेल

दुप्चेश्वर । नुवाकोटको दुप्चेश्वर गाउँपालिका वडा नं. १ घ्याङ्फेदीबाट उकालो लागेपछि सुरु पैदल यात्राको चार घण्टामा पुगिन्छ नुवाकोटको उच्च तहमा रहेको अन्तिम गाउँ ‘तालु’ । तालुबाट अर्को तीन घण्टा उकालो लागेपछि पुग्न सकिन्छ कुनै बेलाको चर्चित हवाई दुर्घटना स्थल घोप्टेभिर । यही घोप्टेभिर आसपासको जंगलमा ३१ वर्ष अघि दुर्घटना भएको थाई एयरवेजको विमानको टुक्राहरू आजभोली पनि असरल्ल पाउन सकिन्छ । यो भिर भन्दा माथी रहेको फेदी भन्ने ठाउँमा केही होटलहरू छन् । जहाँ भने त्यही विमानका सामाग्रीहरूले साइनबोर्डदेखि बाटोमा गेट समेत तयार गरिएको पाइन्छ । अझ विमान दुर्घटना भएको जंगलमा दिवंगत भएका यानत्रुहरूका ‘सग्ला’ कपडा समेत रुख, बुट्यानमा देख्न पाइने रहेछ ।
    सन् १९९२ मा आजकै दिन (जुलाई ३१) मा थाई एयरवेजको विमान नेपालमा दुर्घटना भएको थियो । नुवाकोटको घ्याङफेदीमा भएको एयरबस ए–३२० दुर्घटनामा ११३ जनाको ज्यान गएको थियो । मृत्यु हुनेमा ९९ यात्रु र १४ जना चालक दलका सदस्य थिएर । मानवीय क्षतिका आधारमा यो नेपाली आकाशमा भएको दोस्रो ठूलो दुर्घटना हो । १९९२ सेप्टेम्बर २८ मा पाकिस्तान एयरलाइन्सको जहाज ललितपुरको भट्टेडाँडामा ठोक्किँदा एक सय ६७ जनाको मृत्यु भएको थियो ।
    मानवीय क्षति हुने गरी नेपालमा एक सयभन्दा बढी हवाई दुर्घटना भइसकेका छन् । यी दुर्घटनामा अहिलेसम्म ९ सयभन्दा बढी मानिसको मृत्यु भइसकेको छ । आन्तरिकतर्फका दुर्घटनामा ज्यान गुमाउनेको संख्या करिब साढे ४ सय छ । त्यस्तै, अन्तर्राष्ट्रिय उडान दुर्घटनामा ज्यान गुमाउनको संख्या पनि चार सयभन्दा बढी छ । आन्तरिकतर्फ यती समूहले सञ्चालन गरेका यती एयरलाइन्स र तारा एयरका सबैभन्दा बढी जहाज दुर्घटनामा परेका छन् । अधिकांश दुर्घटनाको कारण प्राविधिक भएको बताइन्छ ।

गन्तब्य अस्पताल बन्दै त्रिशुली अस्पताल

त्रिशुली अस्पतालको ५९ औं बार्षिकोत्सवमा सहभागि अतिथथिहरू स्मारिका बिमोचन गर्दै ।

त्रिशुली । राजधानीका अस्पतालहरूको स्रोत अस्पतालको रुपमा रहँदै आएको त्रिशुली अस्पताल पछिल्लो समय रसुवा र धादिङका नागरिकहरूका लागि गन्तब्य अस्पतालको रुपमा बिकसित हुँदै आएको छ ।
    २०६० सालसम्म १ चिकित्सकको भरमा मात्र सञ्चालित अस्पतालमा अहिले १५ जना बिशेषज्ञ चिकित्सकहरू कार्यरत छन् । सुबिधासम्पन्न अस्पतालहरूमा पाईने सेवाहरू यहीँ पाईन थालेपछि नागरिकहरू उपचारकै लागि राजधानी धाउनुपर्ने बाध्यताबाट समेत मुक्त बन्ने अवस्थामा पुगेका छन् । सेवामा बिबिधता, प्रभावकारीता र व्यवस्थापकीय पक्ष चुस्तदुरुस्त रहँदा त्रिशुली अस्पतालमा संघ र प्रदेशस्तरमा पटक–पटक उत्कृष्टसमेत बन्दै आएको छ । स्थापनाको ५९ बर्षमा आईपुग्दा बिभिन्न आरोह–अवरोहसमेत पार गर्दै आएको छ । कमजोर आर्थिक अवस्था भएका नागरिकका लागि  जीवनदाता नै बन्दै आएको यो अस्पतालले आफ्ना सेवाहरूलाई अझै बिशिष्टिकृत र प्रभावकारी बनाउन सक्दा सरकारी अस्पतालले प्रवाह गर्ने स्वास्थ्य सेवाप्रति आम नागरिकको बिश्वास झनै बढ्न जाने बिश्वास छ ।
    अस्पतालको ५९ औं स्थापना दिवसको अवसरमा बिहीबार आयोजित बिशेष कार्यक्रमका सहभाागिहरूले पनि अस्पतालका सेवाहरूले नागरिकको मन जित्दै गएको बताउँदै सेवाहरू अझै बढी परिष्कृत हुनुपर्नेमा जोड दिए । अस्पतालका भौतिक र प्रशासनिक पाटोमा सुधार आवश्यक रहेको र त्यसको पूर्णता बिना प्रभावकारी स्वास्थ्य सेवा सम्भव नभएको पनि उनीहरूको भनाई थियो ।
    कार्यक्रममा बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री बहादुरसिंह लामा तामाङले त्रिशूली अस्पतालको सुधार र क्षमता बिस्तारमा प्रदेश सरकार प्रतिबद्ध रहेको बताउँदै प्रभावकारी स्वास्थ्य सेवाका लागि आवश्यक स्रोत र साधनको कुनै कमी हुन नदिईने प्रतिबद्धता ब्यक्त गरे । कार्यक्रममा बागमती प्रदेश सरकारका स्वास्थ्य मन्त्री उत्तम जोशीले स्थानीय स्तरमै प्रभावकारी स्वास्थ्य सेवा पाउने नागरिकको अधिकारको सम्मान गर्दे सरकारी अस्पतालमै प्रभावकारी उपचार हुन्छ भन्ने मान्यता स्थापित गर्न प्रदेश सरकार दृढ संकल्पित रहेको धारणा ब्यक्त गरे ।
    बागमती प्रदेशसभा सदस्यहरू राधिका तामाङ र रमेशकुमार महत, जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख रजिन्द्रबिक्रमसिंह ठकुरी, विदुरका मेयर राजन श्रेष्ठ, पूर्ब प्रदेशसभा सदस्य हिरानाथ खतिवडा, तादी अध्यक्ष सन्तमान तामाङ, दुप्चेश्वर अध्यक्ष शंकरबहादुर थापा, म्यागङ अध्यक्ष आशा तामाङ, विदुर उपप्रमुख प्रभा बोगटी, किस्पाङ उपाध्यक्ष अर्जुन न्यौपाने, सिडिओ किरण थापा, काँग्रेसका उपसभापति राजु थापा, माओवादी केन्द्रका सचिव कल्पना रिमाल, रास्वपा नुवाकोटका सभापति रामेश्वर गजुरेल, विदुरका पूर्ब नगर प्रमुख सञ्जु पण्डित, विदुर वडा नम्वर ९ का अध्यक्ष हरेराम भण्डारी, पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष शिव देबकोटा र अस्पताल सरोकार समितिका अध्यक्ष रमेश श्रेष्ठले अस्पतालले प्रवाह गरिरहेको सेवाहरूको चर्चा गर्दै प्रभावकारी स्वास्थ्य सेवाका लागि सबै पक्षको समन्वयात्मक प्रयास हुनुपर्नेमा जोड दिए ।
    कार्यक्रममा अस्पताल व्यवस्थापन तथा सञ्चालन समितिका अध्यक्ष राजु पण्डित र मेडिकल सुपेरिण्टेण्डेन्ट डा. प्रतिक सिंहले अस्पतालको बर्तमान अवस्थाको बारेमा जानकारी दिँदै सर्बसुलभ र प्रभावकारी स्वास्थ्य सेवाप्रतिको प्रतिबद्धता जाहेर गरेका थिए । कार्यक्रममा बर्षभरीमा उत्कृष्ट ठहरिएका डा. दिपेन्द्र तिमिल्सिनासहित बार्षिकोत्सवका अवसरमा आयोजित अतिरिक्त क्रियाकलापका उत्कृृष्टहरूलाई पुरस्कृत समेत गरिएको थियो ।
    २०२१ सालमा त्रिशुली जलबिद्युत केन्द्रका कर्मचारीहरूको स्वास्थ्य उपचारका लागि खोलिएको साधारण स्वास्थ्य केन्द्रको बिकसित रुप नै आजको त्रिशूली अस्पताल हो । २०३२ सालमा उक्त स्वास्थ्य केन्द्र आम नागरिकको लागि पनि खुला गरिएसंगै यो अस्पताल नुवाकोट, रसुवा र धादिङका नागरिकहरूको स्वास्थ्य उपचारका लागि उपयुक्त गन्तब्य बन्दै आएको छ । १५ बेडबाट सेवा दिन सुरु गरेको त्रिशुली अस्पतालको २०६९ सालमा ५० बेडमा स्तरोन्नती भयो । २०७२ सालको महाभूकम्पमा पूर्ण रुपमा क्षतीग्रस्त यो अस्पतालले अहिले कोरियन सहयोग संस्था कोईकाको सहयोगमा निर्मित अत्याधुनिक भवनबाट सेवा प्रवाह गरिरहेको छ । पटक पटक संघ र प्रदेश स्तरमा उत्कृष्ट ठहरिएको यो अस्पतालमा राजधानीमा उपलब्ध प्राय : सबै प्रकारका सेवाहरू र १५ जना चिकित्सकहरूबाट बिशेषज्ञ सेवा उपलब्ध छ । पछिल्लो समय डेक्सास्क्यान र डाईलोसिस सेवा दिईरहेको अस्पतालबाट चाँडै नै सिटीस्क्यान सेवा समेत सुरु हुने अस्पतालले जनाएको छ ।

त्रिशुली अस्पताल सय बेडको हुने

त्रिशुली । बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले जिल्ला अस्पताल त्रिशुलीलाई सय बेडमा स्तरोन्नति गर्ने बताएका छन् ।
    बिहीबार ५९ औं वार्षिकोत्सव तथा विविध सांस्कृतिक कार्यक्रममा मन्त्री जोशीले ५० बेडा भएको अस्पताललाई सय बेडया पु-याउने बताएका हुन् । ‘स्थानीयको मागलाई आगामी मन्त्रिपरिषद् बैठकमा लैजानेछु,’ मन्त्री जोशीले भने, ‘हुँदा खाने वर्गको पहुँचको रुपमा यो अस्पताललाई बनाइने छ । त्यसका लागि कार्यविधि बनाएर मन्त्रालयले कार्य गर्ने छ ।’ उनले ६५ वर्षभन्दा माथिकालाई निःशुल्क दन्त सेवाको कार्यक्रमसमेत ल्याइने जानकारी दिए । महिलाको पाठेघरको मुखको क्यान्सरको खोपका लागि संघीय स्वास्थ्य मन्त्रालयसँग पहल भइरहेको मन्त्री जोशीले बताए ।
    यस्तै आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिंह लामा तामाङले जिल्ला अस्पताल त्रिशुलीलाई अपग्रेड गर्न बजेट विनियोजन गरी अगाडि बढाउने आश्वासन दिए । ‘नुवाकोट, रसुवा र धादिङ जिल्लाको महत्वपूर्ण अस्पताल हो,’ उनले भने, ‘यसका लागि आवश्यक पर्ने पूर्वाधार र बजेट व्यवस्था गर्ने प्रतिबद्धता जनाउँछु ।’ उनले अस्पतालका प्रयोगशाला, कर्मचारी र चिकित्सकलाई सुव्यवस्थित बनाउन अस्पताल विकास समितिलाई निर्देशन दिए ।
    बागमती प्रदेशसभा सदस्य राधिका तामाङले जिल्ला अस्पताललाई आवश्यक जनशक्ति र बजेट व्यवस्था गर्न‘पर्नेमा जोड दिइन् । उनले अस्पतालभित्र राजनीति नगरी बिरामीको उपचारका लागि सबै एकजुट भएर लाग्न आग्रह गरिन् ।
    अस्पतालमा दैनिक २ सयदेखि ३ सय बिरामी उपचार गर्न आउँछन् । अस्पताल विकास समितिका अध्यक्ष राजु पण्डितले स्थायी चिकित्सकको खाँचो रहेको बताए । उनले छात्रवृत्तिमा आएका चिकित्सकले बिरामीको उपचार धानिरहेको बताउँदै स्थायी चिकित्सकसहितको जनशक्ति पठाइदिन प्रदेश सरकारसँग माग गरे । उनले अस्पतालको भौतिक पूर्वाधारका लागि जग्गा अभाव रहेकाले विद्युत् प्राधिकरणको जग्गा उपलब्ध गराइदिनसमेत आग्रह गरे ।
    त्रिशुली जलविद्युत् गृह निर्माणमा खटिएका नेपाल–भारतका कामदारहरूको उपचारका लागि २०२० सालमा खोलिएको स्वाथ्य उपचार केन्द्र नै हालको जिल्ला अस्पताल हो ।

सेवा सुधार गर्न त्रिशुली अस्पताललाई सुझाव


गोकर्ण पुडासैनी   
विगत इतिहासलाई कोट्याएर हेर्ने हो भने बिश्वको बिभिन्न ठाउँमा १०/१५ बर्षमा नयाँ नयाँ सरुवा रोगको महामारी देखा परिरहेको छ । यस्ता सरुवा रोगको प्रकोप नियन्त्रण तथा रोकथाम गर्न चिकित्सा विज्ञान लाई ठुलो चुनौती छ । मानव जातिले यस अघि विश्वभर देखिएको कोभिड–१९, डेंगु, प्लेग, स्पेनिसफ्लु, स्वाइन फ्लु, एचआईभी, पोलियो, दादुरा लगायतको महामारीको सामना गरिसकेको छ । यी सबैको समग्र पक्ष लाई हेर्दा हाम्रो देशको समग्र स्वास्थ्य सेवाको क्षमता, अवस्था र पूर्वतयारी कुन स्थितिमा रहेछ भन्ने छर्लंग पारिसकेको छ । यो बिषम परिस्थितिबाट पाठ सिकेर स्वास्थ्य सेवा सुधारका लागि आवश्यक कदम चाल्न सकेनौं भने निकट भविष्यमा हाम्रो स्वास्थ्य क्षेत्र र समग्र अर्थतन्त्र धर्मराउने स्थितिमा पुग्नेछ । हाल स्वास्थ्यको जिम्मेवारी अस्पताल ब्यबस्थापन समिति र स्थानीय तहले पाइसकेकाले उनीहरूले चाल्नसक्ने कदमका बारेमा केही सुझाव यहाँ प्रस्तुत गरिएको छ ।
गोकर्ण पुडासैनी
१. अस्पताल विकास समिति
सरकारी स्वास्थ्य संस्थाहरूमा जनताको अपनत्व होस या व्यवस्थापनको काममा अस्पताल प्रशासनलाई सहयोग होस् र कर्मचारीतन्त्र तथा राजनैतिक नेतृत्वबीच सेतुको काम गरोस् भनेर विकास समितिको अवधारणा ल्याइएको हो । स्वास्थ्य उपचारका धेरै जसो सेवाहरू निःशुल्क भएको अवस्थामा अस्पतालले क्रय शक्ति भएका सेवाग्राहीसँग शुल्क लिएर बिपन्न जनताको सेवामा उक्त रकम खर्च गरोस् साथै उक्त आम्दानीबाट आफूलाई आबश्यक मानवश्रोत तथा अन्य खर्च गर्न सकोस् भन्ने पनि यसको उद्देश्य हो । शैद्धान्तिक रुपमा यो राम्रो कदम भएपनि यसको उपादेयता कस्तो हुने भन्ने कुरा यसमा नियुक्त हुने पदाधिकारीमा निर्भर रहन्छ । सत्तारुढ दलतका कार्यकर्ता व्यवस्थापन गर्ने सहुलियतको रुपमा मात्र यसलाई बुझिनु हुन्न । जनतामाझ भिजेका, अस्पतालको निम्ति केहि गर्ने उर्जा र भिजन बोकेका र समन्वयकारी भूमिका निर्वाह गर्न सक्ने पदाधिकारी रोज्ने हो भने यसको उद्धेश्य पुरा हुन सक्छ । कुनै कार्यकारी अधिकार नहुने हो भने अस्पताल प्रशासनले गरेका कामहरूमा साक्षी किनारा बसेर त्यसलाई अनुमोदन गर्ने बाहेक यसको अर्को प्रयोजन रहन्न । कतिपय ठाउँमा अधिकार बाँडफाँडमा स्पष्टता नहुँदा अस्पताल प्रशासन र बिकास समितिबिच द्वन्द बढेको समेत देखिन्छ । सुविधा लोलुप पदाधिकारी नियुक्त हुँदा अस्पतालको श्रीबृद्धि भन्दापनि आफ्नो सुविधा,कर्मचारी भर्ना र पदको तुजुक देखाउने संरचना यो बन्न सक्छ । अतः अन्तर्द्वन्द बढाने भन्दा पनि सहजकारी भूमिकाको रुपमा काम गर्ने समिति अस्पताललाई उपयोगी हुनेछ ।
२. अस्पताल नेतृत्व/प्रशासन
कुनै पनि संस्थाको सर्वाङ्गिण विकास हुनुमा त्यसले पाएको नेतृत्वको ठूलो भूमिका हुन्छ । सफल चिकित्सक हुनु र सफल व्यवस्थापक हुनु पृथक कुरा हुन् । कुशल चिकित्सक अब्बल व्यवस्थापक नहुन सक्छ भने त्यसको विपरित पनि उत्तिकै सत्य । नेपालमा हालसम्म अस्पतालको नेतृत्व चिकित्सकलाई दिने गरिएको छ, तर त्यसमा पुनर्विचार गर्ने आवाज उठ्ने बित्तिकै हामी टक्टकिन्छौं । किन अस्पताललाई पनि अन्य व्यसायिक संस्थामा जस्तो कार्यकारी अधिकृत मोडेलमा नलैजाने ? यसो भन्दैमा हालको पद्दतिलाई तुरुन्त विस्थापित गर्ने भन्ने होइन ।
    हाल नेपाल सरकारमा कार्यरत कतिपय चिकित्सक व्यवस्थापनमा बढि चाख राख्ने हुन सक्छन् भने कतिलाई बिरामीको उपचार बाहेक व्यवस्थापनमा दिलचस्पी नहुन सक्छ । किन व्यवस्थापनमा इच्छुकहरूलाई थप तालिम दिएर ‘करिअर व्यवस्थापक’ को रुपमा विकास नगर्ने ? हालका दिनमा अस्पताल व्यवस्थापन भन्ने छुट्टै विषयको समेत पढाइ सुरु भैसकेको छ । किन अस्पताल व्यवस्थापकहरूमा उक्त विधाको ज्ञान र योग्यता नखोज्ने ? बरिष्ठता ठूलो वा कार्यदक्षता ? यसमा समेत राज्यको नीतिमा एकरुपता ल्याउन आबश्यक छ । आफ्नो अनुकुल व्यक्ति हुँदा बरिष्ठताको प्रावधान तेर्स्याउने तर ‘आफ्नो’ व्यक्ति नभेटिएमा कार्यदक्षताको बहाना भजाउने प्रवृत्तिमा समेत सुधार आबश्यक छ । त्यस बाहेक यस्तो जिम्मा दिंदा निश्चित लक्ष हासिल गर्ने गरि ‘टार्गेट’ दिएर निश्चित अवधिको निम्ति कार्यसम्पादन करार गर्नु वाञ्छनिय हुनेछ । कुनै व्यवस्थापकलाई आफ्नो भिजन लागु गर्न केहि समय चाहिन्छ । तर अस्थिर राजनीतिले गर्दा महिना दिन नपुग्दै अस्पताल प्रमुख फेरिनाले केहि नयाँ गर्ने भन्दा पनि दिन कटाउने मानसिकतामा धेरै प्रमुखहरू रहेको पाइन्छ । यस तर्फ पनि ध्यान दिनु जरुरि छ ।
३. स्वास्थ्य सेवा सुधार वर्ष
अहिलेको परिस्थिति भनेको स्वास्थ्य सेवा सुधारका लागि सुनौलो परिस्थिति हो । त्यसैले अबको आर्थिक वर्ष २०८०/८१ लाई ‘स्वास्थ्य सेवा सुधार वर्ष‘ का रूपमा मनाउनु आवश्यक देखिन्छ । यसका लागि स्वास्थ्य सूचङ्क, विश्व स्वास्थ्य संगठनको न्यूनतम स्वास्थ्य सेवा प्रवाह तथा पहुँचको मापदण्ड, हाम्रो भौगोलिक अवस्थिति एवं उपलब्ध स्रोत र जनशक्तिको भरपुर विश्लेषण गरी नीति कार्यक्रम तर्जुमा गर्नुपर्छ ।
४. मौलिक हक सुनिश्चितता हुनु पर्ने
संविधानले स्वास्थ्यलाई मौलिक हकका रूपमा स्थापना गरेको छ । कुनै पनि नागरिक स्वास्थ्य सेवाबाट वञ्चित हुनु भनेको संविधानतः सो परिस्थिति निम्तिनुमा स्वयं राष्ट्र नै दोषी ठहरिनेछ । सोको सुनिश्चितताका लागि सुरूदेखि नै हरेक अस्पताल र पालिकाले आवश्यक कदम चाल्नुपर्ने हुन्छ । त्यसका लागि सरकारले लागू गरेको स्वास्थ्य–बिमा कार्यक्रमलाई पूर्ण सफल बनाउने कार्यक्रम निर्धारण गरेर त्यसैका आधारमा सम्पूर्ण जनताको स्वास्थ्य सेवा अधिकार सुनिश्चित गर्न सकिन्छ ।
५. बजेट निश्चित हुनु पर्ने
हाल स्वास्थ्यमा छुट्ट्याइने बजेट अत्यन्तै न्यून रहेकाले सोही बजेटको आकारबाट स्वास्थ्य सेवामा आमूल परिवर्तन खोज्नु मूर्खता हो । केन्द्रले मात्र नभई हरेक स्थानीय तहसमेतले स्वास्थ्यमा विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार कम्तीमा १० प्रतिशत बजेट स्वास्थ्यमा छुट्ट्याउनपर्ने हुन्छ ।
६. कर्मचारी संरचना सुद्रिढ गर्नु पर्ने
हाल यस अस्पतालको विभिन्न शाखाको कर्मचारी संरचना र नेतृत्व प्रणालीमा दोष देखिन्छ । अझ भनौं यस अस्पतालको विभिन्न तहमा तह अनुसारको कर्मचारी उपलब्ध समेत नभएकाले तल्लो तहका कर्मचारीले नेतृत्व गरिरहेका छन् ।
    अस्पताल सञ्चालन गर्न आवश्यक पर्ने सामग्री र आवश्यक कामका लागि एक आठौं तहको चिकित्सकले आफूभन्दा कम तहका कर्मचारीसँग हारगुहार गर्नपर्ने अवस्था निम्ताउनुमा सरकारको नीति नै गलत भएको बुझिन्छ ।
     यसको समाधानका लागि अस्पताललाई प्रदेश तहको ध्यान पुग्न जरुरी छ । वा, स्वास्थ्य शाखाको संरचना परिवर्तन गर्नुपर्छ । होइन भने स्वास्थ्यको जिम्मेवारी असफल बन्नुमा ठूलो हात हुनेछ ।
७. प्रोत्साहन/पुरस्कृत गर्नु पर्ने
स्वास्थ्य एक विशेष किसिमको सेवा भएकाले आफ्नो स्वास्थ्यको जोखिम मोलेर काम गर्ने स्वास्थ्यकर्मी र चिकित्सकलाई देशले गरिरहेको उपेक्षा तुरुन्त अन्त्य गर्न‘पर्छ । सोहि अन्तर्गत यस अस्पतालमा पनि यस्तो समस्या नभएको होइन तर हाल लाई त्यो समाधान भएको छ स्वास्थ्यकर्मीलाई प्रोत्साहन स्वरुप जोखिम–भत्ता व्यवस्था गर्दै बढ्दो स्वास्थ्यकर्मी हिंसा कम गर्न समेत आवश्यक कदम चाल्नुपर्छ ।
८. युनिट स्थापना गर्नु पर्ने
अहिलेको अवस्थामा विभिन्न सरुवा रोगहरू जस्तै इन्फ्लुएन्जा, डेंगी, मलेरिया, दादुरा जस्ता महमारी बेला–बेलामा आउने गरेका छन् । यस्ता महामारीले ठूलो रूप लिए, अर्थतन्त्रलाई नै ठूलो असर पार्ने कुरा अहिलेको कोभिड–१९ महामारीले नै देखाइ सकेको छ । त्यसैले यस्ता विपद पूर्वानुमान गरी त्यसलाई उचित व्यवस्थापन गर्न सक्ने युनिट अस्पताल र हरेक स्थानीय तहमा आवश्यक पर्छ ।
९.डिजिटाइज गर्नु पर्ने
स्वास्थ्य सेवा प्रवाह कस्तो भइरहेको छ भन्ने जानकारीका लागि स्वास्थ्यका तथ्याङ्क र सूचनाहरूको महत्त्वपूर्ण भूमिका रहन्छ । चाहे महामारी पूर्वानुमान होस् या कार्यक्रम प्राथमिकीकरण, स्वास्थ्यका सूचकहरू केलाउन सक्यौं भने मात्र असल स्वास्थ्य नीति बनाउन सकिन्छ । त्यसैले यस अस्पतालले पनि आ–आफ्ना परिवेश र समय सापेक्ष नीति निर्माणका लागि स्वास्थ्य क्षेत्रलाई ‘डिजिटाइज’गर्न‘ अहिलेको आवश्यकता हो । अहिलेको अवस्थामा स्थानीय तहले पनि स्वास्थ्यसँग प्रत्यक्ष जोडिने विकास, जस्तै शुद्धखानेपानी व्यवस्था, फोहोरमैला व्यवस्थापन, विपद न्यूनीकरणलाई प्राथमिकतामा राखी विकास आयोजना छुट्ट्याउने जस्ता कार्यक्रम स्थानीय तहले ल्याउनुपर्छ । अस्पताल ब्यबस्थापन समिति र प्रशासनले स्थानीय निकाय सग समन्वय गरि कार्य गर्न सक्नु पर्छ । अनि मात्र ति समस्या न्यूनीकरण गर्न माथि उल्लेखित कार्यक्रमले पक्कै पनि केही सहयोग गरी यस त्रिशुली अस्पतालले कार्यक्रम बनाउन सहयोग पुग्नेछ । (अस्पतालका कानुनी सल्लाहकार पुडासैनीको यो लेख त्रिशुली अस्पतालको ५९ औं वार्षिकोत्सवको अवसरमा प्रकाशित स्मारिकाबाट साभार गरिएको हो ।)

पाँच लाखको क्षती

समुन्द्रटार । अविरल वर्षाका कारण दुप्चेश्वर गाउँपालिका–४ गोल्फुभन्ज्याङमा शनिवार राती पहिरोले एक स्थानीयको गोठ बगाउँदा पाँच लाख बराबरको क्षति भएको छ । स्थानीय श्याम गुरुङको गोठ बगाउँदा एउटा भैंसी, ६ वटा बाख्रा मरेका छन् । गोठभन्दा माथिबाट पहिरो गएपछि त्यहाँको स्थानीय सडक खण्डसमेत अवरुद्ध भएको वडाध्यक्ष ज्ञानबहादुर तामाङले जानकारी दिए । घर र गोठ अलग्गै भएकाले कुनै मानवीय क्षति भने नभएको उनले बताए ।

व्यवसायी र बैंकरबीच अन्तरक्रिया

 व्यवसायी र बैंकरबीच अन्तरक्रिया

विदुर । दैनिक पत्रपत्रिकामा बैंक तथा वित्तीय संस्थाले बढाएको ब्याजदर, लिलामी र कालोसूची विवरणको सूचनाबाट वाक्क–दिक्क भएका नुवाकोटका उद्योगी व्यवसायीले नुवाकोट उद्योग वाणिज्य संघलाई सहजीकरण गरिदिन आग्रह गरेका छन् । जिल्लामा सञ्चालनमा रहेका बैंक तथा वित्तीय संघ–संस्थाको बढेको ब्याजदर, म्याद थप नगरीकन लिलामी प्रक्रिया थालेको र नवीकरण गर्नका लागि किस्ता र ब्याज तिर्न सरलीकृत नगरी कालोसूचीमा राख्न थालेकाले उद्योगी–व्यवसायी त्रसित बनिरहेका छन् । केही व्यवसायीले बैंकको आतंकको कारण आत्महत्यासमेत गरेका छन् । गएको सोमबार नुवाकोट उद्योग वाणिज्य संघले गरेको उद्योगी–व्यवसायी र बैंक तथा वित्तीय संस्थाबीचको अन्तरक्रियामा व्यवसायीले बैंकको आतंकले त्रसित बन्नुपरेको बताए ।
    संघको आयोजनामा भएको अन्तरक्रियामा उद्योगी–व्यवसायीले ०७२ को भूकम्प र कोरोना महामारीले उद्योग–व्यवसाय दिनप्रति दिन धराशायी बन्दै गएको, अहिले बैंक तथा वित्तीय संस्थाको ब्याजदर बढाउने, लिलाम गर्ने र कालोसूचीमा राख्ने होडबाजीले जिल्लाका व्यवसायी थप संकटमा परेका होटेल व्यवसायी बासु अधिकारीले बताए । सो कार्यक्रममा उद्योगीद्वय सुदर्शन दुवाल र रघुनाथ रिमालले बैंकको ब्याजदर स्थिर नभएकाले उद्योग सञ्चालन गर्न नसकिने अवस्था रहेको बताए । अहिले कोरोना महामारी तथा रूस र युक्रेन युद्धको कारण चरम आर्थिक मन्दी भएकाले उत्पादित सामान बिक्री हुन नसक्दा उद्योग बन्द गर्न‘पर्ने अवस्थामा पुगेको उनीहरूले बताएका थिए ।
    सहकारीकर्मी गोकर्णनाथ न्यौपानेले बैंकको बढेको ब्याजदर र अन्य सेवाशुल्क र राज्यको विभिन्न निकायले विभिन्न शिर्षकमा लिइरहेको करको कारण ‘गर कि मर’को अवस्थामा व्यवसायी रहेको बताए । नबिल बैंक बट्टारका शाखा प्रबन्धक श्रीराम नेपालले ब्याजदर बढाउने बैंकको रहर नभएर बाध्यता भएको बताएका थिए । बैंकको बढेको ब्याजदर, नवीकरण र अन्य सेवा, शुल्क घटाउनेबारे अन्तरक्रियामा उठेका समस्या र गुनासो समाधानका लागि जिल्लामा रहेका सबै बैंकले केन्द्रमा अनुरोध गरी पठाउने प्रतिबद्धता जनाए ।
    कृषि विकास बैंकका शाखा प्रबन्धक ध्रुव कुँइकेलले व्यावसायिक पीडा बुझेर पनि सहयोग गर्न नसक्ने अवस्थामा रहेको बताए । बैंकले लगानी गरेर नाफाको रकमले बाँच्नुपर्ने भएकाले नियमानुसार लगानी गर्ने र ऋण उठाउनुपर्ने बाध्यतामा आफूहरू रहेको उनले बताए । राष्ट्रियस्तरको ‘क’ वर्गका स्ट्यान्डर्ड चार्टर्ड बैंकबाहेक सबै बैंकको शाखा रहेको नुवाकोटमा लगभग नौ अर्ब निक्षेप संकलन र १४ अर्ब लगानी रहेको सानिमा बैंक शाखा विदुरका प्रबन्धक मधुप्रकाश खतिवडाले जानकारी दिए । अन्य जिल्लाको तुलनामा नुवाकोटमा न्यून ऋणीको नाम मात्र कालोसूचीमा रहेको उनले दाबी गरे ।
    कर्जाको मागमा आएको कमीलाई सुधार गर्न उद्योगी–व्यवसायीलाई बैंक तथा वित्तीय संस्थाले ऋणीको सहमतिमा कर्जा पुनर्तालिकीकरण तथा पुनर्संरचना गर्न दिनुपर्ने, पुनर्कर्जाको सुविधा उपलब्ध गराउनुपर्ने, ब्याजमा न्यून प्रिमियम राख्न जिल्लाका उद्योगी–व्यवसायीका तर्फबाट सङ्घका वरिष्ठ उपाध्यक्ष सन्तोष उप्रेतीले उक्त कार्यक्रममा प्रस्ताव राखे । विगतमा जिल्लाको पहिचान बनाउन सफल रेन्बो ट्राउट माछापालन, स्ट्रबेरी तथा मुलाखेती गर्न, पशुपालन र कुखुरापालनमा बैंकले दिँदै आएको ब्याज अनुदानको सुविधालाई अहिले कटौती गरेकाले त्यसलाई कटौती नगरी निरन्तरता दिन जिल्लामा रहेका बैंकहरूलाई केन्द्रमा प्रस्ताव पठाउन आग्रह गरे । प्रमुख अतिथि विदुरका मेयर राजन श्रेष्ठले व्यवसायीको समस्यालाई बैंकहरूले बुझेर ऋण र ब्याज तिर्ने समय सरलीकृत गर्न‘पर्नेमा जोड दिए । आर्थिक गतिविधि शून्य रहेको अहिलेको अवस्थामा उद्योगी–व्यवसायीलाई त्रसित बनाउनेभन्दा पनि काम गर्ने उत्साह बढाउने गरी बैंकहरूले कार्यक्रममा ल्याउन उनले सुझाव दिए ।
    कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य ताराबहादुर कार्की, नेपाल उद्योग वाणिज्य संघका बागमती प्रदेशकी सदस्य गीता अमात्य, नुवाकोट उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष शरण उत्सुक सापकोटा, नुवाकोट चेम्बर अफ कमर्सका महासचिव केशव मिश्र लगायतले जिल्लामा उद्योगी–व्यवसायीको ब्याजदरलगायतको गुनासोलाई सकारात्मक ढङ्गले केन्द्रमा पु¥याइदिन बैंकका प्रतिनिधिलाई आग्रह गरेका थिए । सुझावलाई महासंघमार्फत बैंकको नीति, नियम बनाउने तहसम्म पु¥याउने प्रतिबद्धता संघका बरिष्ठ उपाध्यक्ष सन्तोष उप्रेतीले जनाए ।

जहाँ व्यबसाय त्यहीं दर्ता

व्यवसाय सञ्चालन भइरहेको स्थानमै पुगेर दर्ता प्रमाण पत्र दिदै जनप्रतिनिधिहरु ।

बेलकोटगढी । नगरपालिका भित्र सञ्चालित व्यवसायलाई व्यबस्थि तगर्दे उनीहरूलाई करको दायरामा समेत ल्याउन नुवाकोटको बेलकोटगढी नगरपालिकाले ‘जहाँ व्यबसाय त्यहीं दर्ता’, कार्यक्रम सञ्चालन गरेकोे छ ।
    आर्थिक बर्ष २०८०/०८१ को नीति तथा कार्यक्रममा उल्लेख भए अनुसार गएको सोमबारबाट उक्त कार्यक्रम कार्यान्वयनमा ल्याईएको नगरपालिकाले जनाएको छ । कार्यक्रमको सुरुवातमा नगरपालिकाका उपप्रमुख शिवप्रसाद दाहाल र प्रमुख प्रशासकीय अधिकृत सुर्यदर्शन पण्डित, शाखा अधिकृत शुक्रकुमार श्रेष्ठसहितको टोलीले गएको सोमबार वडा नम्वर ७ मा रहेको महादेवफाँट बजार तथा मंगलबार वडा नम्वर ५ को कोल्पुटार, क्यौरिनी तथा वडा नम्वर ७ को रातमाटेमा रहेका व्यवसायीहरूलाई उनीहरूको व्यवसायको प्रकृति अनुसार दर्ता गरि प्रमाणपत्र समेत उपलब्ध गराएको छ ।
    १३ वडा रहेको नगरपालिकाका अधिकांश व्यवसायीहरू बिबिध कारणले दर्ता प्रकृयामा नआउँदा नगरपालिकाले अपेक्षित राजश्व समेत उठाउन नसकेकोले नीति तथा कार्यक्रममै समेटेर अभियानकै रुपमा यो कार्यक्रम संचालन गरिएको नगरपालिकाले जनाएको छ । ‘जहाँ व्यबसाय त्यहाँ दर्ता’, कार्यक्रमको प्रभावकारी कार्यान्वयन पछि सबै व्यवसायीहरू सूचिकृत भई मर्यादित व्यवसायको वातावरण समेत निर्माण हुने र कर प्रणालीमा सहभागिताका कारण नगरपालिकाको कार्य संचालनमा समेत सहजता हुने दाहालले बताए ।

लम्पी स्किनबाट १५९ पशु मरे

रसुवा । रसुवामा लम्पी स्किन रोगका कारण धमाधम पशुचौपाया मर्न थालेका छन् । पशुचौपाया मर्न थालेछि यहाँका किसान चिन्तित बनेका छन् । हालसम्म लम्पी स्किनबाट एक सय ५९ पशुचौपाया मरेका छन् ।
    जिल्लाका पाँचवटै गाउँपालिकाका पशुचौपाया लम्पी स्किन रोग फैलिएको छ । बढी क्षति गोसाइँकुण्ड गाउँपालिकामा भएको छ । उक्त गाउँपालिकाको स्याफ्रुबेँसीमा कार्यरत पशुसेवा प्राविधिक प्रमुख सुरेश वडालका अनुसार छ वडामा लम्पी स्किनबाट हालसम्म २१ चौरी, एउटा याक र ४१  गाईगोरुको मृत्यु भएको छ । “नियन्त्रणको प्रयास भइरहेको छ, स्वास्थ्यको टोली वडा वडामा खटिएको छ”, उनले भने । गोसाइँकुण्डभित्र करिब आठ सय पशु लम्पी स्किनबाट सङ्क्रमित छन् । सङ्क्रमित पशुचौपायालाई छुट्टै क्वारेन्टाइनमा राख्नुपर्ने बडालको भनाइ छ । हिमाली क्षेत्रको खाली पाखामा पशुचौपाया छोड्ने चलनले रोग फैलिएको उनले बताए ।
    जिल्लाको नौकुण्ड, कालिका र उत्तरगया गाउँपालिकामा पनि लम्पी स्किन रोगबाट पशुचौपायामा क्षति भएको छ । आमा छोदिङ्मोबाहेक अन्य गाउँपालिकामा झण्डै एक हजार पाँच सय पशुचौपायाको उपचार भइरहेको सम्बन्धित गाउँपालिकाका प्राविधिकले जानकारी दिएका छन् । कालिका गाउँपालिकाका पशुसेवा शाखाका प्रमुख बुद्धिनाथ न्यौपानेले दक्षिणी रसुवाकाका पालिकका पशुचौपायामा लागेको लम्पी स्किन रोग नियन्त्रणका लागि प्राविधिक समूह खटिएको बताए ।

विवरण संकलन गर्ने टोली गाउँगाउँमा

टोली किस्पाङमा ।

विदुर । नुवाकोटमा रााष्ट्रिय परिचय पत्रको विवरण संकलन गर्न विवरण संकलन गर्ने टोलीहरू टोल टोलमा पुगेको छ । सर्वसाधारणको सुविधाका लागि नु

वाकोटमा पहिलो पटक राष्ट्रिय परिचयपत्र विवरण संकलन अभियान सञ्चालन भएको छ । नुवाकोटको १२ वटा स्थानीय तहका ८८ वटै वडाबाट पूर्ण विवरण संकलन गर्न टोली खटिएको हो ।
    गत जेठ १२ गतेबाट सुरु भएको बिवरण संकलन अभियान म्यागङ गाउँपालिकाबाट सुरु भई दुप्चेश्वर, किस्पाङ र तारकेश्वरमा समाप्त सकिएको छ भने सूर्यगढी र लिखु गाउँपालिकामा अभियान सञ्चालन भईरहेको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले विदुरमा सबै स्थानीय तहका जनप्रतिनिधि तथा सरोकारवालालाई सचेतना कार्यक्रम सञ्चालन गरेपछि टोली पालिकास्तरमा पुगेको हो ।
    हालसम्म नुवाकोटमा ४४ हजारभन्दा बढीको विवरण संकलन भइसकेको छ । २०७७ सालमा राष्ट्रिय परिचयपत्रका लागि आवेदन परेका एक हजार ४८१ जनाको हाल परिचयपत्र बनेर आएको छ ।
    नुवाकोटमा २०७७ साल असार ३१ देखि एउटा स्टेशनबाट बिवरण संकलन सुरु गरिएकोमा सेवाग्राहीको चाप बढ्दै गएपछि २०७९माघबाट ३ वटा स्टेशनमा विवरण संकलन गर्ने काम भईरहेको छ ।
    यसै बीच, नुवाकोटमा गत ०८० जेठ १२ गतेदेखि सुरु भएको राष्ट्रिय परिचयपत्रको विवरण दर्ता अभियान गएको सोमबारदेखि सूर्यगढी गाउँपालिकाको सबै वडामा सुरु भएको छ । राष्ट्रिय परिचयपत्रको विवरण दर्ता अभियान म्यागङबाट सुरु भएको थियो ।
    राष्ट्रिय परिचयपत्रको विवरण दर्ता अभियानबारे सूर्यगढी गाउँपालिकाका सबै वडाध्यक्ष र वडाका कर्मचारीलाई गत असार २८ गते बिहीबार अभिमुखीकरण गरिएको थियो । सो कार्यक्रममा नुवाकोटका प्रमुख जिल्ला अधिकारी किरण थापा, सहायक प्रमुख जिल्ला अधिकारी वेदनिधि अधिकारी, प्रशासकीय अधिकृत सुरेश खतिवडा, जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख रमेश पण्डित, जिल्ला अनुसन्धान कार्यालय नुवाकोटका प्रमुख कमलबहादुर थापा, राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका इन्जिनियर अबुद अली, सूर्यगढी गाउँपालिका– ४ का वडाध्यक्ष तथा प्रवक्ता रामशरण राई, पाँचवटै वडाको वडाध्यक्ष तथा सचिव, वडासदस्य, पालिका र वडा कार्यालयमा कार्यरत कर्मचारीलगायत अन्य सरोकारवालाको सहभागितामा राष्ट्रिय परिचयपत्रको विवरण दर्ताका लागि आवश्यक तयारीको छलफल भएको थियो ।
    कार्यक्रममा राष्ट्रिय परिचयपत्रको विवरण दर्ता गर्न अपनाइने ऐन, नियम, विधि र प्रक्रियाबारे सहायक प्रमुख जिल्ला अधिकारी वेदनिधि अधिकारीले प्रशिक्षण दिएका थिए । सो कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी थापाले सेवा प्रवाहलाई सहज बनाई व्यावहारिक ढङ्गले समेट्नुपर्ने बताए । सेवाग्राहीलाई सदरमुकाम विदुरसम्म धाउनुपर्ने बाध्यता हटेकाले यो अभियानमा बढीभन्दा बढी सहभागी गराउन जनप्रतिनिधि र वडाका कर्मचारीलाई उनले आग्रह गरे ।
    राष्ट्रिय परिचयपत्र बनाउन आवश्यक पर्ने नागरिकतालगायत कागजपत्र बनाउन स्थानीयलाई आग्रह गरिने सूर्यगढी गाउँपालिका–४ का वडाध्यक्ष एवम् प्रवक्ता राईले बताए । अहिले देशभर उक्त कार्यक्रम अभियानको रूपमा जारी रहेको छ । राष्ट्रिय परिचयपत्र दर्ता विवरण अभियानलाई सघाउन गाउँपालिकाको साथ–सहयोग रहने प्रमुख प्रशासकीय अधिकृत गणेशराम पोखरेलले बताए । एक वडामा सातदेखि १० दिनभित्रमा राष्ट्रिय परिचयपत्रको दर्ता विवरण संकलन कार्यक्रम गरिसक्ने बताइएको छ । साउनको पहिलो साताबाट पाँचवटै वडा कार्यालयमा प्राविधिक, रुजु अधिकारी बसेर काम थाल्ने तयारी भइरहेको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका इन्जिनियर अलीले प्राविधिक समस्या र समाधानका उपायमा आफ्नो कार्यपत्र प्रस्तुत गर्दै रुजु गर्ने र भर्ने तरिकाबारे जानकारी दिएका थिए ।
    जिल्ला प्रशासन कार्यालयले २०७७ असारदेखि जिल्लाबाट राष्ट्रिय परिचयपत्र विवरण संकलन सुरु गरेको थियो । कार्यालयबाट हालसम्म ४४ हजारले राष्ट्रिय परिचयपत्रको विवरण दर्ता गरिसकेका छन् । दर्ता गरेकामध्ये एक हजार ४८१ जनाको राष्ट्रिय परिचयपत्र कार्ड आइसकेको प्रमुख जिल्ला अधिकारी थापाले जानकारी दिँदै उक्त कार्ड यसै हप्ता वितरण गर्ने तयारी भइरहेको बताए । राष्ट्रिय परिचयपत्रको विवरण दर्ता अभियानमा अहिलेसम्म म्यागङका ६ हजार १२, किस्पाङका पाँच हजार ३८५, दुप्चेश्वरका आठ हजार ४३८ र तारकेश्वरका तीन हजार ६४६ ले विवरण भरिसकेको उनले जानकारी गराए । तारकेश्वर गाउँपालिकामा राष्ट्रिय परिचयपत्रको विवरण दर्ता अभियान जारी रहेको छ भने सूर्यगढीमा सुरु भइरहेको छ ।
    उता, लिखु गाउँपालिकमाा ५७३ जनाको रााष्ट्रिय परिचय पत्रको लागि विवरण संकलन भएको छ । साउन ११ गते बिहिबारसम्म वडा नम्बर २ का ५७३ जनाको विवरण संकलन भएको हो । यही साउन ६ गतेबाट सुरु भएको विवरण संकलन कार्यको पहिलो दिनमा ४२ जनाको विवरण संकलन गरिएको थियो ।
    यस्तै दोस्रो दिनमा १ सय २३ जना, तेस्रो दिनमा ८८ जना चौथो दिनमा ८७ जना पाँचौ दिनमा ११६ र सातौ दिनमा एकसय १७ जनाको विवरण संकलन गरिएको हो ।

डेंगु नियन्त्रण अभियान सञ्चालन हुने

अन्तरक्रिया

विदुर । विदुर नगरपालिकाले भोली मंगलबारबाट नगरपालिका भर डेंगु रोकथाम र नियन्त्रणका लागि बिशेष अभियान सञ्चालन गर्ने भएको छ ।
    आईतबार नगरपालिकाको बैठककक्षमा सम्पन्न डेंगु रोकथाम र नियन्त्रण सम्बन्धी सर्बपक्षिय बैठक एवं अन्तरक्रियामा नगर क्षेत्रका सबै पक्षको सहभागितामा बिशेष अभियान सञ्चालन गर्ने निर्णय गरिएको हो । त्यसक्रममा बिदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठ र उपप्रमुख प्रभा बोगटीले डेंगु रोकथाम र नियन्त्रणका लागि नगरपालिका आवश्यक सबै उपायहरू अवलम्वन गर्न तयार रहेको बताउँदै यो अभियानलाई सार्थक बनाउन समाजका सबै पक्षको ऐक्यबद्धता अपेक्षित रहेको धारणा ब्यक्त गरे । नुवाकोटका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रमेश पण्डित, विदुर नगरपालिका वडा नम्वर ७ का वडा अध्यक्ष रबिन्द्र नेपाल, वडा नम्वर ८ का वडा अध्यक्ष कमल श्रेष्ठ, वडा नम्वर १० का वडा अध्यक्ष गणेशकुमार नेपाल, पत्रकार महासंघका बागमती प्रदेश अध्यक्ष शिव देबकोटा, नुवाकोट अध्यक्ष कपिलदेब खनाल र नगरपालिका स्वास्थ्य शाखा प्रमुख पूर्णध्वज श्रेष्ठले डेंगु रोकथाम र नियन्त्रणका लागि अपनाईनुपर्ने रणनीतिहरूका बारेमा आ–आफ्नो धारणा ब्यक्त गरेका थिए ।
    कार्यक्रममा स्वास्थ्य कार्यालय नुवाकोटका फोकल पर्सन कृष्णप्रसाद रिजालले डेंगु रोकथाम र नियन्त्रणका लागि भए गरेका काम र जिल्लाको अवस्थाको बारेमा जानकारी दिएका थिए । त्यसक्रममा दिईएको जानकारी अनुसार नुवाकोटमा साउन १४ गतेसम्ममा ८२ जनामा डेंगुसंक्रमण देखिएकोमा ५५ प्रतिशत विदुर नगरपालिकाका छन् ।

बाँसुरी बजाउने तालिम सम्पन्न

त्रिशुली । नेवारी संस्कृतिभित्र पर्ने बाँसुरी बजाउने सीपलाई नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यले त्रिशुली–काठमाडांै समाजले आयोजना गरिएको एकमहिने तालिम शनिबार त्रिशुलीमा सम्पन्न भएको छ ।
    संस्थाका उपाध्यक्ष कल्पना अमात्यको सभापतित्वमा भएको समापन समारोहमा विदुर नगरपालिका वडा नं. १ का वडाध्यक्ष लेनिन रञ्जितको प्रमुख आतिथ्यता र त्रिभुवन–त्रिशुली बहुमुखी कलेजका अध्यक्ष नारायण श्रेष्ठ, त्रिभुवन–त्रिशुली माविका अध्यक्ष नवीन्द्रमान प्रधान, समाजसेवी कुलबहादुर खड्की विशेष अतिथि रहेका थिए ।
    संस्कृति नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यले त्रिशूली–काठमाडौं समाजले आयोजना गरेको बाँसुरी बजाउने तालिममा त्रिशूली क्षेत्रका २० जना युवायुवतीले भाग लिएको समाजका तालिम संयोजक राजेन्द्रभक्त अमात्यले जानकारी दिए । प्रमुख अतिथि लेनिन रञ्जितले समापन कार्यक्रममा बोल्दै तालिममा सिकेका ज्ञान र सीपलाई संस्कृति संरक्षणमा लगाउन अनुरोध गरे ।
    संस्कृति जगेर्ना गर्न आ–आफ्नो संस्थाबाट सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेका छन् । समाजकी उपाध्यक्ष कल्पना अमात्यले त्रिशुली–काठमाडौं समाजले विगतमा पनि ब्लड डोनेसन, उद्घोषण तालिम, सिलाइबुनाइ तालिम, हेल्थ क्याम्प र समय–समयमा चेलीबेटी भेटघाट कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिइन् । निकट भविष्यमा हार्मोनियम तथा वाद्यवादन र तबला प्रशिक्षण आयोजना गर्ने जानकारी समाजले दिएको छ ।

बीमा रकम भुक्तानी

 बीमा रकम भुक्तानी

विदुर । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले साढे दुई लाख रुपैयाँ मृत्यु दावी भुक्तानी रकम किस्पाङमा मृतकको परिवारलाई हस्तान्तरण गरेको छ ।
    किस्पाङ गाउँपालिका– १ का छिरिङ्ग तामाङको केही समय अगाडि काम गर्ने शिलशिलामा करेन्ट लागि मृत्यु भएको थियो । मृत्यु भएका तामाङका श्रीमती निरमाया तामाङलाई २ लाख ५० हजार रुपैयाँ मृत्यु दावी भुक्तानी रकम हस्तान्तरण गरेको सिटिजन लाइफ इन्स्योरेन्स नुवाकोटका शाखा प्रमुख दिनेश ढुङ्गानाले जानकारी दिए । ढुङ्गानाका अनुसार मृतक तामाङले दुई वर्ष अघि आफ्नो छोरा शिलास तामाङको नाममा २ लाख रुपैयाँको बीमा गरेका थिए ।
    ढुङ्गानाले काजक्रिया खर्च गरि २ लाख ५० हजार रुपैयाँ दावी भुक्तानी रकम हस्तान्तरणमा किस्पाङ गाउँपालिका–१ का वडा अध्यक्ष, प्रहरी लगायतको उपस्थितिमा सो बराबरको भुक्तानी दिइएको जानकारी दिए । कम्पनीका अनुसार बीमित शिलास तामाङको मासिक आम्दानी नाफा अन्तर्गत ४ हजार रुपैयाँ दरले प्रत्येक महिना बीमा अवधिमा भार भुक्तानी गरिने छ ।

आज साउन १५ अर्थात् खीर खाने दिन, खीर खाने प्रचलन कसरी सुरु भयो ?

आज श्रावण १५ गते । आजको दिनलाई खिर खाने विशेष दिनको रुपमा लिइन्छ अर्थात् श्रावणको मध्यविन्दु खिरको लागि प्रचलित छ । असार १५ मा दही च्यूरा भोजन गर्दै रोपाइँ गरेका रोपार तथा सहयोगीहरूले असारको व्यवस्तताबाट केही राहत मिलेपछि  खीर खाने गर्दछन् । वर्षाको झरीमा भिजेले शरीरलाई निरोगी बनाउन तथा उर्जामय राख्न खीर खाने गरिएको छ ।
    परापूर्वककालदेखि नै पुर्खाहरूले मौसम अनुसार श्रम र मानव स्वास्थ्यलाई सन्तुलनमा राख्न यस प्रकारको भोजनलाई चलनचल्तीमा ल्याएका हुन् । वर्षा ऋतुका बेला असार १५ गते दही, च्युरा र साउन १५ मा खिर खाने प्राचीनकालदेखिको नेपाली परम्परा छ । साउने झरी पर्ने बेलामा तातो खिरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खिर खाने गरिएको हो । हुन त साउन महिनाभर खीर खानु राम्रो हुने विश्वास पश्चिम नेपालमा रहेको छ ।
    नेपाली संस्कृतिमा ‘असार १५ दही चिउरा खानू, साउनको १५ खीर’ भन्ने भनाई छ । नेपाल कृषिप्रधान देश भएको र बहुसंख्यक नेपाली कृषि पेसामा आश्रित भएकोले कृषिकहरूले धान रोपेर काम सकेपछि खुसीयालीस्वरूप खीर खाने परम्परा विकास भएको संस्कृतिविद् डा. विष्णु दाहालले भनाई छ । भारतमा पनि साउन महिनामा खीर खाएमा धेरै शुभ हुने मान्यता रहेको छ । साउन महिनाको सुरुवातमा मासुभन्दा पहिले दुधको परिकार खानुपर्छ भनेर नेपालीहरूले साउने संक्रान्तिमा खीर खाने गर्दछन् ।
    साउन महिना शिवपुजन महिना भएकाले एक महिनासम्म माछा–मासु नखाएर शिवभक्तहरूले भगवान शिवको पूजा गर्ने गर्दछन् । गर्मी महिना भएकोले शरीरमा दाद, खटिरा र लुतोजस्ता रोगले संक्रमण गर्ने भएकोले रोगप्रतिरोधात्मक शक्ति बढाउनु पर्ने हुन्छ । जसको कारण साउन महिना दूध तथा दूधबाट बनेका परिकारहरू खासगरी खीर खाने चलन छ । यसको साथै साउनमा मासु, माछा नखाई ब्रत बस्ने तथा आप, नास्पाती, भूइकटहरलगायतका फलफूल खाने चलन छ ।
किन खीर खाइन्छ ?
रोपाई सकिन आँट्यो भनेर या चलिरहेको रोपाईसँगै यो दिनलाई खिर कैंयन दशकदेखि स्वादिलो बनाउँदै आएको छ । श्रावण महिनामा पानी पर्ने भएकाले जताततै हरिया घाँसहरू प्रशस्त हुने गर्दछन् जसलाई लैनो गाई तथा भैंसीहरूले अत्यन्त मन पराउने गर्दछन् जसका कारण प्रशस्त दूध पनि दिने गर्दछन् । दूधको कमी नहुने यो प्राकृतिक महिनामा खिर खाएर गति परिन्छ भन्ने धारणा छ ।
    भगवान श्री कृष्णले एकदिन साधारण साधूको भेष बदलिएर एउटा राजासंग बाघचाल खेल्न जानुभएको र जितको बदलामा बिभिन्न मन्दिरहरूमा निःशुल्क गरिब दीनदुखिहरूलाई खिर खुवाउने शर्त राख्नुभएको थियो । उक्त बाघचाल खेलमा भगवान श्री कृष्णले राजामाथि बिजय प्राप्त गरेको सम्झनामा अझैसम्म पनि मन्दिरहरूमा दीनदुखीहरूलाई खिर प्रसादका रुपमा बाँड्ने चलन रहेको छ । दक्षिण भारत, बङ्गलादेश, मालदिभ्स, सियाम राज्य अर्थात् थाइल्याण्ड लगायतका देशमा काँचो नरिवलको दूधबाट खिर बनाउने गरिन्छ । पाली चलनचल्तिमा खिर विभिन्न उत्सव, चाडवाड, पूजाआजा, विहे, ब्रतबन्धमा महत्वका साथ पस्किने गरिन्छ । यो नेपाली परिवारको अपरिहार्य परिकारको रूपमा नेपालीहरूबिच लोकप्रिय सांस्कृतिक पकवानको रूपमा परिचित छ । साल या भोर्लाको ठूल्ठूला पातलाई बाँसका कप्टेराका मसिना काँटी (छेस्का)हरूले गाँसेर बनाइएको हरिया दूना टपरीमा हालेर खाँदा पातको बास्ना र खिरको स्वाद अनि त्योसँगै सेलरोटीको नामै मात्रले पनि हामीमध्ये धेरैको जिब्रो रसाएर आउँछ ।मानव सभ्यतासंगै मानव र दूधको एउटा नमेटिने सम्बन्ध छ र यसबाट बन्ने कैंयन मिठा परिकारहरू विशेषतः शुद्धता, स्वास्थ्य र विशिष्ट स्वादकालागि विश्व समूदायमैं प्रिय बन्न सफल छ ।
    यस्तै परिकारहरूमध्ये अन्न र दूधको अनुपम समिश्रण यस परिकारमा भोजन, पोषण नै यसको आकर्षण हो । सेतो दूध र सेतो चामल मिसाइएको यो भोजनको सम्बन्ध देवताहरूले प्राचिनकालमा गरेको समुन्द्रमन्थनसंग सम्बन्धित छ, त्यसबेलादेखि अहिलेसम्म दूधलाई शुद्धिकरण गर्ने तत्व र पोषण मिसिएको बहूगुणी अमृतकै रुपमा लिइन्छ । आर्य“वेदमा समेत खिरलाई प्राचिन भोजनको रूपमा ब्याख्या गरिएको छ । खिर शब्दपनि संस्कृत शब्द ‘क्षिरमा’बाट आएको मानिन्छ । क्षिरमा अर्थात् दूध र अन्नबाट बनेको परिकार भन्ने अर्थ लाग्दछ । रोमन सभ्यतामा पनि खिरलाई खानाको एउटा अपरिहार्य तत्वकारुपमा सेवन गरिने चलन छ । यसलाई ‘पायस’ तथा कतैकतै यसलाई ‘तस्मै’ पनि भनिन्छ । वैदिक सनातन संस्कारमा पितृहरूलाई चढाउन पायस अर्थात् दूध र अन्नको मिश्रणका रुपमा खिर पकाउने चलन छ ।
    परम्परा अनुसार अक्षय तृतीयाका दिन जौको सातु र सर्वत खाने, कात्तिक महिनामा पर्ने हरिबोधनी एकादशीका दिन पिँडालु र सखरखण्ड खाने, माघको १५ गते मालपुवा खाने, हरितालिका तीजको पञ्चमीमा कर्कलोको गाभा खाने, जनैपूणिर्माका दिन नौथरि गेडागुडी मिसाएको क्वाँटी खाने चलन छ । त्यस्तै मंसिर पुणिर्णामा यमरी खाने चलन नेवार समुदायमा छ ।

२०८० साल साउन १५ गतेको सम्पादकीय

राष्ट्रिय परिचयपत्रबाट लाभ लिऔं
राष्ट्रिय परिचयपत्रलाई बुझ्न सबैभन्दा पहिला राज्यले आफ्ना नागरिकहरूलाई दिने परिचयत्रहरूको विषयमा जान्न जरुरी छ ।  मुख्यतः सरकारले आफ्ना नगरिकलाई दिने परिचयपत्रपत्र दुई किसिमका हुन्छन् । ती हुन् फाउण्डेशनल आईडी र फङ्सनल आईडी । व्यक्तिको पहिचान स्थापित गर्ने फाउण्डेशनल आईडीले राज्यभित्रका अनेक सेवा सुविधा तथा तथा प्रयोजनका लागि मान्यता पाउँछ । अहिले कायम रहेको त्यस किसिमको परिचयपत्रको रुपमा हामीले नागरिकतालाई लिन सक्छौँ । अर्कोतर्फ फङ्सनल आईडी कुनै विशेष प्रयोजनका लागि मात्रै दिने गरिन्छ । उदाहरणका लागि ड्राइभिङ लाइसेन्स, प्यान कार्ड, मतदाता परिचयपत्र यस किसिमको परिचयपत्रका उदाहरण हुन् ।  नेपालमा २००९ सालदेखि राष्ट्रिय परिचयपत्रको रुपमा नागरिकताको प्रचलन सुरु भएको हो । त्यसको शुद्धताका लागि हामीले सुरुवाती समयदेखि प्रमाणीकरणको चुनौती झेल्दै आएका छौँ । मानौँ तपाईं–हामीले आफ्नो नागरिकता कुनै निकायमा पेश ग¥यौँ भने, त्यसलाई प्रमाणीकरण गर्ने कुनै भरपर्दो संयन्त्र छैन । वास्तवमा अहिलेको समयमा नागरिकताका आधारमा व्यक्तिको पहिचान गर्न निकै नै चुनौतीपूर्ण भइसकेको छ । यसै किसिमको चुनौतिको सामना गर्न र सार्वजनिक सेवा सुविधा सहज र छिटो छरितो रुपमा नागरिकलाई प्रदान गर्नकै लागि राष्ट्रिय परिचयपत्र ल्याउन लागिएको हो ।
    अब आउने राष्ट्रिय परिचयपत्र मूलतः सूचना प्रविधिमा आधारित हुनेछ । त्यसमा नागिरकतामा हुने व्यक्तिको जनसांखिक विवरण बाहेक अनुहार (फोटो), दश ओटै औँलाको औंठाछाप, दुई आँखाको आइरिस लगायतको व्यक्तिको जैविक विवरणका साथै विद्युतीय हस्ताक्षरको रुपमा ई–सिग्नेचर समेत राखिनेछ । यस किसिमको राष्ट्रिय परिचयपत्रका आधारमा कुनै पनि निकायले परिचयपत्रका आधारमा अनलाइन तथा अफलाइन दुबै रुपमा व्यक्तिको पहिचान प्रमाणित गर्न सक्नेछ । फिङ्गरप्रिन्ट लगायतका केही विवरण कार्डमै समावेश गर्ने सरकारी योजना छ । एक व्यक्तिको विवरण अर्को व्यक्तिसँग जुध्न नदिन विशेष किसिमको प्रविधि अपनाइएको छ ।
    राष्ट्रिय परिचयपत्र र ई–पेमेन्टको सुविधा हुने वित्तिकै सबै सरकारी भुक्तानी अनलाइनबाटै गर्न सकिनेछ । यस्तो अवस्थामा कुनै कुनै सेवा लिन सरकारी कार्यालयमा जानै नपर्ने अपेक्षा गर्न सकिन्छ । यसको मतलब कुनै व्यक्तिको पहिचान पुष्ट गर्न भौतिक रुपमै अनिवार्य रुपमा उपस्थित हुनुपर्ने अवस्थाको अन्त्य हुनेछ । जार्नै पर्ने अवस्थामा समेत अहिलेको तुलनामा धेरै नै सहज हुनेछ । अहिले नागरिकता हराउँदा, च्यातिदा वा नष्ट हुँदाको जस्तो झञ्जट समेत हट्नेछ । न त पुनः नागरिकता बनाउने जस्तो झञ्जटिलो प्रक्रिया पार गर्न‘पर्ने अवस्था नै यसमा रहन्छ । अहिलेको अवस्थामा पहिचानको कमजोरीका कारण ठगी र किर्तेको समस्या निकै व्यापक छ । एउटाको नागरिकतामा बैंकबाट ऋण नै लिइदिने, कम्पनी नै दर्ता गरिदिने सम्मका घटनाहरू तपाईं हामीले सुनिरहेकै छौँ । त्यस किसिमको अवस्थाको समेत अन्त्य हुनेछ । राष्ट्रिय परिचयपत्रका आधारमा अनलाइन कारोबारको सीमा समेत बढाउन सकिने छ । सम्बन्धित व्यक्तिको पहिचान अनलाइनमार्फत नै सुनिश्चित हुने अवस्थामा करोडौँ रुपैयाँको कारोबार समेत अनलाइनबाटै गर्न सकिने अवस्था रहन्छ । अहिले व्यक्तिको पहिचान गर्ने त्यति भरपर्दो संयन्त्र नभएकै कारण जोखिम कम गर्न कारोबारको सीमा कम राखिएको हो । यसले बैंकिङ क्षेत्रको लागत र जोखिम दुबै कम गर्न सघाउ पु¥याउनेछ ।
    त्यसो त, अहिले तराईं तथा सीमा क्षेत्रमा गैर नागरिकले समेत नागरिकता लिइरहेको अवस्था छ । राष्ट्रिय परिचयपत्र कार्यान्वयनमा आएको अवस्थामा त्यस किसिमको जोखिम समेत कम हुने छ । अहिले एउटै व्यक्तिले दुई ओटा नागरिकता लिँदा समेत राज्यलाई थाहै नहुने अवस्था छ । यस किसिम ठगी तथा किर्तेको विषयमा समेत यो परियच पत्रले राज्यलाई तत्काल जानकारी हुन्छ । राष्ट्रिय परिचयपत्रबाट राज्यलाई समेत जिम्मेवार र जवाफदेही बनाउने र राज्यप्रति जनविश्वास समेत बढ्ने छ । अहिलेको समयमा राज्यले सामाजिक सुरक्षा वापत दिने सेवा सविधामा समेत ठूलो मात्रामा घोटाला हुने गरेको छ । त्यसलाई समेत नियन्त्रण गर्न सकिने भएकाले वार्षिक रुपमा राज्यको अरबौं रुपैयाँ जोगाउन सकिन्छ ।

२०८० साल साउन १५ गते । वर्ष:१६ अंक:४०