Monday, August 07, 2023

अन्तराष्ट्रिय सडक ८० प्रतिशत निर्माण

गल्छी–त्रिशुली–मैलुङ सडक अन्र्तगतको पिपल्टार सडक खण्ड

रोशन बोगटी

विदुर । राष्ट्रिय गौरवको आयोजनाको रुपमा निर्माणाधिन गल्छी –त्रिशुली–मैलुङ–स्याफ्रुवेशी –रसुवागढी सडक अन्तर्गत पहिलो चरणमा निर्माण भईरहेको गल्छी–त्रिशुली–मैलुङ खण्डको ३६ किलोमिटर सडक कालोपत्रे सहित ८० प्रतिशत निर्माण भएको छ ।  
    तत्कालिन अघोषित भारतिय नाकाबन्दीसंगै नेपाल र चीनबीच रसुवागढी–केरुङबाट हुने आर्थिक तथा व्यापारिक कारोवारलाई छिटोछरितो र सहज तुल्याउने उद्देश्यले आयोजनाको पहिलो चरण अन्तर्गत गल्छी–त्रिशुली–मैलुङ सडक २०७३ सालबाट निर्माण थालिएको हो । निर्धारित समय र तालिकाभन्दा निक्कै ढिलोगरी निर्माण भैरहेको गल्छी– त्रिशुली–मैलुंगको ४६ किलोमिटर मध्ये हाल ३६ किलोमिटर सडक अन्तराष्ट्रिय मापदण्ड बमोजिम कालोपत्रे भएको हो । सामुदायिक बनको रुख कटान तथा स्थानीय मुआब्जा बिवाद लगायतका समस्याका कारण निर्धारित समय र तालिकाभन्दा निक्कैढिलो निर्माण भैरहेको आयोजनाको हाल निर्मित्त संरचना तथा कालोपत्रेसंगै उक्त क्षेत्रको सौन्दर्य मनोरम देखिएको छ ।
गल्छी–त्रिशुली–मैलुङ अन्तर्गत धादिङको गल्छी देखि रसुवा र नुवाकोट सीमा बेत्रावतीसम्मका बिभिन्न क्षेत्रमा डबल लेनको चौंडा सडक हाल बिश्वमा प्रचलित आसफाल्ट प्रविधीमा कालोपत्रे भएको हो ।
    जसकाकारण विगतमा धुवाँ धुलोले आजित सर्वसाधाणहरू अहिले आफ्नो घरआँगन छेवैमा अन्तराष्ट्रिय स्तरको डबल लियर सहितको फराकिलो र चौंडा सडक निर्माणसंगै अहिले धुँवा, धुलोबाट राहत मिलेको बताए । निर्माण कार्यतालिका अनुसार २१ महिना अर्थात २०७५ भदौ ७ गते निर्माण सम्पन्न गर्नेगरी २०७३ साल कात्र्तिक अन्तिमबाट निर्माण थालिएको हो ।
    तीन अर्व ६३ लागतमा निर्माण भैरहेको उक्त गल्छी–त्रिशुली–मैलुङ खण्डको ४६ किलोमिटर सडक निर्माण कम्पनि कोवेक–तुन्दी र रसुवा ज्वाईन्टभेञ्चरद्धारा निर्माण भैरहेको हो ।

चिनियाँ टोली नुवाकोट दरबार पुनर्निर्माणका लागि भ्रमणमा आएका होइनन्

 
चिनियाँ टोली सहित दोभाषे नेपालीलाई दरवार क्षेत्रमा स्वागत गर्दै विदुर नपाका मेयर राजन श्रेष्ठ (हात मिलाउँदै सेटो टिसर्टमा)  । तर, चिनियाँहरू दरवार मर्मत होइन हेर्न र घुम्न गएका हुन् ।
समाचार टिप्पणी

कपिलदेव खनाल
बुधवार चिनियाँ टोली नुवाकोटमा सम्भाव्यता अध्ययन गर्न आएको र अलपत्र रहेको नुवाकोटको साततले दरवार अनुगमन गरे छिट्टै पुनर्निर्माण सुचारु गर्ने प्रतिबद्धता जनाएको समाचार सार्वजनिक भयो । तर भ्रमणमा आएका ति चिनियाँ टोली न साततले दरवार पुनर्निर्माणसंग सम्बन्धित हुन् न दरवार पुनर्निर्माणमा चासो राखेर दरवार उक्लिएका हुन् ।
    विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठ, वडा अध्यक्ष दिपक कायस्थ लगायतका जनप्रतिनिधिहरू समेत चिनियाँ टोली दरवार बनाउने विषय बुझ्न आए भन्दै हुर्तुराउँदै बुधवार बिहानै उनीहरू भेट्न नुवाकोट स्थित साततले दरवार परिषर पुगे । उनीहरू दरवार पुनर्निर्माणसंग कुनै सरोकार नराख्ने टोली हो भन्ने जानकारी वडा नं. २ का अध्यक्ष दीपक कायस्थलाई मंगलवार बेलुकानै थियो । तर पनि जनप्रतिनिधिहरूले ‘के के न हुने भयो र को को न आयो’ जस्तरी उनीहरूलाई किन प्राथमिकता दिए र दरवार पुनर्निर्माण गर्न चिनियाँ पक्ष तयार रहेको र छिट्टै काम सुरु हुने भयो भन्ने प्रचार गरियो अनौठो विषय छ ।
    नुवाकोट जिल्लाका सम्भावित बिभिन्न ठाउँमा रेल मार्ग सहित नुवाकोटको विकासका लागि अध्ययन गर्नका लागि चिनियाँ टोली नुवाकोट आइपुगेको भनेर बुधवार समाचारहरू लेखिए । विभिन्न क्षेत्रको विकासका लागि सर्भे तथा नुवाकोटमा सम्भाब्यता अध्ययन गर्न नेपाल आएको टोलीले पहिलो दिन बुधबार नुवाकोटको साततले दरवारसहित त्यहाँ रहेका अन्य प्राकृतिक तथा विभिन्न सम्पदाहरूको अवलोकन गरेको जनप्रतिनिधिहरूलेनै आपचारिक रुपमा बताइरहेका छन् । तर उक्त चिनियाँ टोली नुवाकोट मंगलवारको रात बसेको र बुधवार नुवाकोटको साततले दरवार हेर्न मात्रै गएका हुन् । तर उनीहरूको भ्रमणको उद्देश्य र तातपर्य समेत नबुझी मेयर सहितका ‘जम्बो’ टोलीले चिनियाँ टोलीले साततले दरबार, गारद घर, रंगमहल, तुलजा मन्दिर, लामपाटी, सेतोपाटी, नारायण मन्दिर र विष्णु मन्दिरको अबलोकन गराए । अनि मेयर श्रेष्ठले तत्काल दरवारको पुन निर्माणमा चासो दिन सम्बन्धित निकायलाइ ध्यानाकर्षण गराएको र आफ्नो आग्रहलाई चनियाँ पक्षले सकारात्मक रुपमा लिएको र  छिट्टै काम थाल्ने आश्वासन दिएको बताए ।
    मंगलवार केरुङ हुँदै रसुवागढी नाबाबाट भित्रिएका सात जनाको चिनियाँ टोली मंगलवार राती नुवाकोट बास बसेका हुन् । नुवाकोट आइपुगेको बेलामा उक्त चिनियाँ टोलीसंग नेपाल घरेलु तथा साना उद्योग महासंघ नुवाकोटले बट्टारमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको थियो । रामकृष्ण राजभण्डारीको पहलमा नेपाल चीन आर्थिक प्रबद्र्धन सम्बन्धी अन्तरक्रिया कार्यक्रम बट्टारको होटल होरतीमा साँझ ५ बजे भएको थियो । चिनियाँ टोलीमा भने चीनकै केही विश्वविद्यलायका प्राध्यापकहरू, चीन सरकारको रेल विभागमा समेत कार्यरत एक प्रतिनिधिहरू सहभागि थिए । त्यो कार्यक्रममा पुर्न सांसद नारायणप्रसाद खतिवडा, विदुर नगरपालिकाका पुर्व मेयर सञ्जु पण्डित, पुर्व उपमेयर गीता दाहाल, वडा अध्यक्षहरू, व्यवसायीक तथा पेशागत संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरूको बाक्लो उपस्थिति थियो । अन्तरक्रिया कार्यक्रममा नुवाकोटकका लागि चीनसंगको अपेक्षा सहितको अन्तरक्रिया भनिएपछि यो पंक्तिकारले नुवाकोटको साततले दरवार समेत पुनर्निमाण गर्न नसकेर अलपत्र पार्ने चिनियाँसंग नुवाकोटको केही अपेक्षा नरहेको बताइदिएँ । त्यसपछि चिनियाँ टोलीसंग आएका नेपालका एक दोभाषे प्रतिनिधिले दरवार बनाउने टोली र उनीहरू फरक रहेको प्रष्ट पारे । त्यसो भए चिनियाँ पक्षले गर्छु भनेर लिएको एउटा जिम्मेवारी पनि कस्तो अवस्थामा छ त्यो उनीहरूले पनि थाहा पाउनुपर्छ, त्यसका लागि दरवार लगेर लेखाइदिन यस पंक्तिकारले आग्रह गरेको थिएँ । सोही कार्यक्रममा व्यक्त भएको प्रतिबद्धता अनुसार नै ति चिनियाँहरू बुधवार बिहान दरवार हेर्न गएका हुन्, त्यो बन्दा बढी र दरवार पुननिर्माण हुनै लाग्यो भन्ने गरी वास्तविकता केही होइन । त्यही कार्यक्रममा विदुर नगरपालिका वडा नंं. १ का अध्यक्ष लेलिन रञ्जितले पाँच वर्ष पहिला पनि चिनियाँ पक्ष र विदुर नगरपालिकाबीच औपचारिक छलफल भएको र विदुरलाई चिनियाँहरूले व्ययवसायिक ‘ट्रान्जिट प्वइन्ट’ बनाउने गरी काम अघि बढेको जानकारी दिएर गएको र अहिलेसम्म त्यस विषयमा लिखित, मौखिक जानकारी नआएको र केही प्रक्रृया नै अगाडी बढेको बताए ।  
    यही बुधवार चिनियाँ टोलीले दरवार अवलोकन गरेको र निर्माणको काम अघि बढ्ने भयो भन्ने गरी फैलिएको समाचार र त्यसको बास्तविकताको एउटा साक्षीको रुपमा यस पंक्तिकार रहेकै कारण यस्तो भन्न मन लागिरहेको छः हामी हावाकै तालमा कुदिरहेका छौं । कुनै चिनियाँ नागरिक आफ्नो कामले वा अन्य कुनै प्रयोजनमा नुवाकोट आयो भनेपनि रेल झोलामै हालेर ल्याएका छन्, अब छाडेर जान्छन् ।

झिंगाका कारण ककनीमा विवाह भाडियो !

ककनी । राजधानी सहरको फोहोर बिनाकुनै योजना विसर्जन गर्दा बन्चरेडाँडा र आसपासका मानिसको सम्मानपूर्वक बाँच्न पाउने हकको गम्भीर हनन भएको भन्दै मानवअधिकारवादीले वैकल्पिक व्यवस्था गर्न काठमाडौं महानगरपालिकालाई आग्रह गरेका छन् । मानवअधिकारवादीको ‘जवाफदेही निगरानी समूह’ ले स्थलगत अवलोकनका क्रममा फोहोरका कारण स्थानीयको जनजीवन निकै कष्टकर बन्दै गएको देखिएको जनाएको छ ।
    नुवाकोट र धादिङको सिमानामा रहेको बन्चरेडाँडालाई काठमाडौं उपत्यकासँगै आसपासका २१ पालिकाको फोहोर विसर्जन गरिन्छ । ल्यान्डफिल व्यवस्थापनको जिम्मा काठमाडौं महानगरपालिकाले गरिरहेको छ । ल्यान्डफिलको योजनाअनुसार विसर्जन नगर्दा फोहोरले बन्चरेडाँडा आसपासका गाउँबस्ती दुर्गन्धित भएका छन् । निगरानी समूहका सदस्य गोपाल शिवाकोटीले जथाभावी फालिएको फोहोरले ७ सय घर परिवारको जीवन अस्तव्यस्त बनाएको बताए । ‘सिसडोल काठमाडौंको फोहोरले पुरै भरिएपछि अलि परको बन्चरेडाँडामा फोहोर फाल्न थालिएको रहेछ,’ प्रत्यक्ष अवलोकन गरेर फर्किएका निगरानी समूहका सदस्य उनले भने, ‘त्यस क्षेत्रको दुई किलोमिटर परिधिका बस्तीहरूमा सहनै नसक्ने दुर्गन्ध फैलिएको छ । बाक्लो झिंगाले मानिसहरूको घर, भान्सा र जीउ नै ढाक्दोरहेछ ।’
    शिवाकोटीका अनुसार सिसडोल नपुग्दै फोहोरको लिच्चड चुहिएर बस्ती आसपासको बाटो र खोलामा पसेको छ । ‘त्यो फोहोर यति विषाक्त रहेछ कि खुट्टामा पर्दा गाउँलेको क्यान्सरै भएको रहेछ,’ उनले भने, ‘त्यस क्षेत्रमा कि फोहोर फाल्न तत्काल रोक्नुप-यो, कि ती मानिसलाई अन्यत्र सार्नुप-यो ।
    ककनी गाउँपालिकामा पर्ने सिसडोल र बन्चरेडाँडा आसपासका बस्तीमा दुर्गन्धले जग्गा किनबेच पनि रोकिएको छ । बस्तीमा बस्नै नसकिने दुर्गन्ध र फोहोर तथा झिंगाको बाक्लो झुन्डले गर्दा त्यहाँको एक युवाको केही अघि तय भइसकेको विवाह अन्तिम समयमा भंग भएको शिवाकोटीले बताए । शिवाकोटी नेतृत्वको समूहले गरेको स्थलगत अवलोकनपछि जवाफदेही निगरानी समूहले मंगलबार एक विज्ञप्ति जारी गर्दै स्थानीय र संघीय सरकार तथा सरोकारवालालाई ल्यान्डफिल साइट पीडितहरूको संविधान प्रदत्त हक हनन नगर्न आग्रह गरेको छर ।
    ‘अत्यन्त अव्यवस्थित एवं खुला छोडिएको फोहोरको पहाड, फोहोरको आहालबाट नजिकै बगिरहेको खोलामा मिसिएको दुर्गन्ध, झिंगाको प्रकोप तथा सडकमा बग्ने हानिकारक लेदोका कारण सिसडोल र बन्चरेडाँडावासीको जीवनयापन, यातायात तथा हिँडडुल कष्टकर परिस्थिति उत्पन्न भएको छ,’ समूहले विज्ञप्तिमा भनेको छ, ‘यस्तो परिस्थिति फोहोर व्यवस्थापनसँग मात्र सम्बन्धित नभई स्वास्थ्य र सम्मानपूर्वक बाँच्न पाउने अधिकारको उल्लंघनसँग गाँसिएको छ ।’

‘फोहोरबाट मार्न पाइँदैन, बरु हामी गोली खाना तयार छौं’

ककनी । नुवाकोट ककनी गाउँपालिकाका अध्यक्ष एवं नेकपा माओवादी केन्द्रका नेता सुमन तामाङले फोहोरमैला व्यवस्थापनमा सहरी विकास मन्त्रालय र मन्त्रीको तदारुकता नदेखिएको भन्दै आक्रोश पोखेका छन् । काठमाडौं उपत्यकाबाट नुवाकोटको बन्चरेडाँडामा जाने फोहरबाट ककनी, धुनीबेंसी र आसपासका पालिकाहरूमा भएको गम्भीर प्रकृतिको प्रभाव र त्यसको अल्पकालीन र दिर्घकालीन समस्या समाधानका विषयमा सहरी विकासमन्त्री सीता गुरुङको अध्यक्षतामा मंगलबार सिंहदरबारमा बसेको बैठकमा अध्यक्ष तामाङ पूर्ववत् निर्णय कार्यान्वयन नगरिएको भन्दै आलोचना र आक्रोश व्यक्त गरे ।
    ‘बैठकबाट अर्को बैठक मात्रै हुने, वाक्कदिक्क भइसक्यौं । प्रधानमन्त्रीज्यूको नेतृत्वमा बसेको बैठकको तीन दिनभित्र कार्यान्वयन गरिसक्नु पर्ने निर्णय पनि अहिलेसम्म कार्यान्वयन भा’छैन । प्रधानमन्त्रीज्यूले नै भन्नुभएपछि त्यो कुरा हल हुनु पर्ला नि १ त्यो नभएको किन ? हाम्रै सुस्तता र कमजोही हो कि ? त्यो स्पष्ट पारिदिनस्’, अध्यक्ष तामाङले भने– ‘त्यसको जवाफदेही स्थानीय तह हुनुपर्छ भने पनि तपाईंहरूले झुन्डिन पर्छ भन्नुभयो भने हामी तयार छौं । गोली खाना पर्छ भन्यो भने पनि तयार छौं । भनिएका कुराहरू गरिनु पर्यो ।’
    अध्यक्ष तामाङले फोहोरमैला प्रभावित क्षेत्र ककनी र धुनीबेंसीका जनताले स्वच्छ वातावरणमा बाँच्न पाउने मौलिक हक समेत गुमाउनुपरेको उल्लेख गरे । उनले बैठक गर्न, निर्णय गर्ने हो भने बैठकको औचित्य नरहने भन्नुहुँदै ककनी र धुनीबेंसीका मान्छेलाई  मार्न नपाइने स्मरण गराए । ‘हामी स्थानीय तहको नेतृत्वमा आइसकेपछि तीन जना मन्त्रीज्यूहरू फेरिसक्नुभयो । तीन मन्त्रीजयूहरूकै अहिलेसम्मको क्रियाकलाप बैठकबाट बैठक बैठकबाट बैठकभन्दा केही छैन ।
निर्णय कार्यान्वयन नगर्ने हो भने यस्ता बैठक जरुरी छैन’, अध्यक्ष तामाङले भने, ‘ककनी र धुनीबेंसीका मान्छेलाई अब मार्न पाइँदैन । कि त तपाईंहरूले नै व्यवस्थापन गर्न‘होस् भन्ने  दुवै स्थानीय तहलाई अधिकार दिनोस् । त्यसमा फोहोर पुर्नेलगायत अरु सबै व्यवस्थापनका कुरा हामी आफ्नै नागरिकलाई साक्षी राखेर गर्न तयार छौं ।’
    ‘फोहोर मैला उत्पादन गर्ने निकायले आफ्नै स्थानीय तहमा व्यवस्थापन गर्न‘पर्छ भनेर २०६८ को ऐनले बकैदा लेखेको छ । त्योअनुरुप व्यवस्थापन गर्न अनुरोध गरेँ । विकल्प छैन भनेदेखिन्न । फोहोर र मान्छे सँगै राख्न हुँदैन । तत्काल व्यवस्थापन गर्न‘र्पयो । ककनी र धुनीबेंसीलाई फोहोर चाहिँदैन ।’ अध्यक्ष तामाङले भने ।
    बागमती प्रदेशसभा सांसद तथा नेपाली काँग्रेस नुवाकोटका जिल्ला सभापति रमेशकुमार महतले बैठकले तत्काल र दिर्घकालीन योजना तयार गरी फोहर व्यवस्थापन गर्न आवश्यक कार्यविधि तयार गरी कार्य अगाडि बढाउने निर्णय गरेको जानकारी गराए ।
    ‘काठमाडौं उपत्यकाबाट नुवाकोटको बन्चरेडाँडामा जाने फोहरबाट ककनी, धुनिबेंसी र आसपासका पालिकाहरूमा भएको गम्भीर प्रकृतिको प्रभाव र त्यसको अल्पकालीन र दिर्घकालीन समस्या समाधानको लागि प्रभावित क्षेत्रका सांसद र जनप्रतिनिधि र सहरी विकास मन्त्रालयका मन्त्रीज्यूको अध्यक्षतामा बैठक बस्यो ।
    बैठकले तत्काल र दिर्घकालीन योजना तयार गरी फोहर व्यवस्थापन गर्न आवश्यक कार्यविधि तयार गरी कार्य अगाडि बढाउने निर्णय गरेको छ’ महतले भने ।
 उक्त बैठकमा प्रभावित क्षेत्रका जन प्रतिनिधिहरूको  उपस्थितिथियो ।

करागारमै असुरक्षित

बन्दीहरुले प्रमुख जिल्ला अधिकारीलाई लेखेको निवेदन

धुञ्चे । रसुवा कारागारका कैदी बन्दीहरूले कारागार भित्रै असुरक्षित भएको भन्दै जीवन रक्षाको माग गर्दै प्रमुख जिल्ला अधिकारी गुहारेका छन् ।
    आफुसंगै रहेको बन्दहिरूले धम्याउने र मार्न खोज्ने भन्दै जिल्ला कारागारमा रहेको बन्दीहरूले सुरक्षा प्रमुखलाई निवेदन नै लेखेर विन्ति बिसाएका हुन् । जिल्ला कारागार रसुवामा रहेका कैदीबन्दीहरू भारतीय नागरिक अलि आन्ना, अर्जुन, अविनास, जसवाल, समिर, मिङमार सिङगी लगायतले अन्य कैदी बन्दीलाई धम्काउने, दुःख दिने गरेको भन्दै लिखित पत्र प्रमुख जिल्ला अधिकारीलाई पठाएका छन् । अहिले रसुवा जिल्ला कारागारमा ५ महिला र ६४ पुरुष गरि ६९ जना कैदी बन्दी छन् ।

तस्बिर समाचार

विदुर नगरपालिकामा डेंगु नियन्त्रणका लागि मुख्य सडक वरपर लामखुट्टे नष्ट गरिदै ।

आकर्षणमा भाङ्गे झरना

झरनाको निकास जमेको ठाउँ, जहाँ पर्यटकहरू नुहाउने र पौडी खेल्ने गर्छन् । तस्बिर : सुवास श्रेष्ठ

मैलुङ्ग । रसुवाको उत्तरगया गाउँपालिका–२ डाँडागाउँमा रहेको भाङ्गे झरनामा आन्तरिक पर्यटकको घुइँचो लागेको छ । केहि वर्ष अघि सम्म भाङ्गे झरनाको कतै चर्चा थिएन । सामाजिक सञ्जालमा भाइरल भएपछि झरना हेर्न र रमाउन आउनेको भीड लागेको हो । तल बाट माथि हेर्दा सिनेमाहरूमा देखिने झरना जस्तै भएकाले भाङ्गे झरनामा अहिले दिनहुँजसो मानिस आउने गरेका छन् ।
    बिदाको दिन भने झरना हेर्नेको भिड थामी नसक्नु हुने गर्दछ । झरना हेर्दै मनोरञ्जन लिन काठमाडौं उपत्यका लगायत नुवाकोट, धादिङ मकवानपुर लगायतका जिल्लाहरूबाट सयौंको संख्यामा यस ठाँउमा आउँदछन् । झरना हेर्न पुग्ने धेरैजसो युवायुवतीहरू पौडी खेल्ने, झरनामा नुहाउने, टिकटक बनाउने, फोटो खिच्ने, भिडियो बनाउने गर्छन् । यो झरना बेत्रावती–मैलुङ–स्याफ्रुबेंसी सडक खण्डमा छ ।
    झरना बेत्रावती बजारबाट करिब ५ किमिको दुरीमा उत्तरतर्फ पर्दछ । झरना हेर्नेको भीड बढ्न थालेपछि उत्तरगया गाउँपालिकाले यस ठाँउको पूर्वाधार बिकासका लागि डिपिआर तयार गरि सकेकोले आगामी बर्ष देखि यस ठाँउमा मनोरञ्जन लिन आउनेहरूका लागि आबश्यता हेरी पुर्वाधार निमार्ण हुने वडा नम्बर दुईका वडाध्यक्ष टुकु सुबेदी बताए ।
    यो झरना मौसमी झरना भएपनि निकै माथिबाट झरेकाले बार्षाका तीन महिना मनोरञ्जन लिनेहरूका लागि मनमोहक र आकर्षक बन्दै गएको छ ।

नुवाकोटमा १२ हजार जन्मिए

विदुर । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको तथ्याङ्कअनुसार नुवाकोटमा गत आर्थिक वर्ष २०७९/०८० मा करिब १२ हजार बालबालिका जन्मेका छन् ।
    जसमा ६ हजार १०९ जना बालक र पाँच हजार ८९२ जना बालिका रहेका छन् । विभागका अनुसार जिल्लाको १२ वटै स्थानीय तहकाको वडा कार्यालयहरूबाट जन्मका १२ हजार एक, मृत्युका तीन हजार १५९, बसाइँसराईका ८२५, विवाहका पाँच हजार ९९७ र सम्बन्धविच्छेदका ३३४ वटा गरी कुल २२ हजार ३१६ घटनाहरू पञ्जीकरण गरिएको पञ्जीकरण विभागले जनाएको छ ।
    गत आवमा विदुर नगरपालिकामा ३ हजार ३००, बेलकोटगढीमा २ हजार ९९३, किस्पाङ गाउँपालिकामा १ हजार ४०, म्यागङमा १ हजार २६५ र तारकेश्वरमा २ हजार ४८३ वटा सामाजिक घटना वडाको पञ्जीकरणमा दर्ता भएको छ । शिवपुरी गाउँपालिकामा १ हजार ९६०, दुप्चेश्वरमा २ हजार ३४३, पञ्चकन्यामा १ हजार ४८०, तादीमा १ हजार ६२३, सुर्यगढीमा १ हजार २४८, लिखुमा १ हजार २३७ र ककनीमा २ हजार २५५ वटा सामाजिक घटना वडाको पञ्जीकरणमा दर्ता भएको छ ।
    तथ्याङ्कअनुसार आव २०७९÷८० मा नेपालमा चार लाख ६४ हजार ५७१ बालक र चार लाख २६ हजार ५७५ बालिका गरी कुल आठ लाख ९१ हजार १७९ जना बालबालिका जन्मेका छन् । यस्तै, स्थानीय तहले अभिलेख गरिएको अनुसार १ लाख १७ हजार ४०७ पुरुष र १ लाख दुई हजार ४८७ महिला गरी कुल २ लाख १९ हजार ९१२ जनाको मृत्यु भएको तथ्याङ्क छ ।

तामाङको जनसंख्या ४३ प्रतिशत

विदुर । राष्ट्रिय जनगणना २०७८ अनुसार नुवाकोटमा तामाङ समुदायको जनसंख्या साढे ४३ प्रतिशत पुगेको छ । तथ्याङ्क कार्यालयका नुवाकोटका अनुसार हाल नुवाकोटको जनसंख्या २ लाख ६३ हजार ३९१ रहेको छ । जसमध्ये एकलाख ३४ हजार ३९३ जना महिला रहेका छन् भने एक लाख २८ हजार ९९८ पुरुष रहेका छन् ।
    जिल्लामा रहेको कुल जनसंख्यामध्ये सबैभन्दा बढी तामाङ समुदाय ४३.२१ प्रतिशत रहेका छन् । त्यस्तै ब्राह्मण समुदायका व्यक्तिहरू १७.१३ प्रतिशत र क्षेत्र समुदायका ११.९५ प्रतिशत रहेका छन् । यस्तै नेवार सुमदायका व्यक्तिहरू ७.७१ प्रतिशत रहेका छन् भने गुरुङ समुदायका व्यक्तिहरू १.०१ प्रतिशत रहेका छन् । नुवाकोटमा रहेको कुल जनसंख्या मध्ये २.६ प्रतिशत अपाङ्गताका भएका व्यत्तिहरूको रहेको छ ।

फरक फरक तीन वटा घटनाका तीन जना पक्राउ

विदुर । कुटपिट गरेर फरार रहेका व्यक्तिहरूलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायव उपरिक्षक खगेन्द्रबहादुर खड्काका अनुसार साउन ५ गते गते राती विदुर नगरपालिका वडा नं. ९ प्लास्टरमा वडा नं. ८ बस्ने २६ वर्षिय सुमन आले मगरलाई धारिलो हतियार प्रहार गरी गम्भिर घाईते बनाई फरार रहेको र घटनामा सम्लग्न व्यक्ति पक्राउ परेका हुन् ।
    धादिङ सत्यदेबी स्थायी घर भई हाल विदुर वडा नं.९ प्लास्टर बस्ने २६ बर्षिया अनन्त तामाङ र २५ वािषर््या अमिर तामाङ साउन १५ गते पक्राउ परेका हुन् ।
    यसै बीच, असार ११ गते सुर्यगढी गाउँपालिका वडा नंं ५ मा मोवाईल चोरी गर्ने लिखु गाउँपालिका वडा नं. ४ का २३ बर्षिया जुनिल राई साउन समेत पक्राउ परेका छन् । उनलाई प्रहरीले १५ गते चोरीका मोवाईल ४ थान सहित थानसिंगबाट पक्राउ गरेको हो ।
    यस्तै, ज्यान मार्ने उद्योगमा फरार रहेक एक जनालाई पक्राउ गरेको छ । २०७८ चैत्र ८ गते पञ्चकन्या गाउपालिका वडा नं ५ का ३७ बर्षिया जितबहादुर कार्कीलाई काफलडाँडा स्थित ठेक्कापट्टा साइडको काम सकी घरतर्फ फर्किने क्रममा आक्रमण गरी फरार रहेका युवालाई पक्राउ गरेको हो ।
   शिवपुरी गाउँपालिका ८ बस्ने वर्ष ३३ बर्षिया श्यामकुमार खड्काले पञ्चकन्या सुन्तलेडाँडा स्थित जितबहादुर कार्कीलाई हातहतियार लिई अन्धाधुन्ध प्रहार गरी गम्भीर घाईते बनाई सडक भन्दा करिब ५० फिट तल खोल्सामा फालेका थिए । साउन १४ गते शिवपुरी गाउँपालिका वडा नं ६ बाट खड्का पक्राउ परेका हुन् ।

सुख्खा बन्दरगाह निर्माणको काम ५५ प्रतिशत नै बाँकी

टिमुरे । रसुवाको रसुवागढीमा निर्माणाधीन सुक्खा बन्दरगाह (ड्राईपोर्ट)को ४५ प्रतिशत निर्माणको काम सम्पन्न भएको छ । चीन सरकारको सहयोगमा उत्तरी नाका रसुवागढीमा नेपाल इन्टरमोडल यातायात विकास समितिले बन्दरगाह निर्माण गरिरहेको छ ।
    दुई देशको आयात–निर्यात सहज गर्ने उद्देश्यसहित बन्दरगाह निर्माण गरिएको समितिले जनाएको छ । कोरोना संक्रमणका कारण लामो समयदेखि काम रोकिएकामा अहिले नियमित रूपमा निर्माण भइरहेको समितिले जनाएको छ । बन्दरगाह निर्माणको काम तिब्बत फुली कन्स्ट्रक्सन कम्पनीले गरिरहेको छ । कम्पनीका पबन्धक हवाब पिबले बन्दरगाह निर्माणको काम नियमित रूपमा भइरहेको जानकारी दिए ।
    सन् २०२५ सम्म बन्दरगाह निर्माण गरिसक्नपर्ने सम्झौता भएकाले पनि त्यसअघि नै निर्माण कार्य सम्पन्न गर्ने गरी काम भइरहेको उनले जानकारी दिए । नदी किनारमा पर्खाल लगाउने काम सकिएकाले अन्य काम छिटो हने बताए । भन्सार पास हुन आएका सवारी–साधन महिनौँसम्म बन्दरगाहमा पार्किङ गर्दा निर्माण कार्यमा समस्या भएको उनको भनाइ छ । दुई अर्ब १६ करोड ६० लाख रुपैयाँको लगानीमा बन्दरगाह निर्माण हनु लागेको हो । नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजरेलले उत्तरी नाका रसुवामा निर्माण हन लागेको बन्दरगाहले आयात निर्यातलाई सहज बनाउने जानकारी दिएका छन् ।
    नेपाल–चीनबीचको महत्वपूर्ण रसुवा नाकामा रामो पूर्वाधारसहितको बन्दरगाह तयार भएपछि व्यापार लागत घट्न सघाउ पुग्छ,’ उनले भने । रसुवा नाका नेपालको नजिक पर्ने हँुदा बन्दरगाह निर्माण भए पनि नियमित रूपमा सामान आउने हुँदा यसले व्यापारी र उपभोक्ता दुवैलाई फाइदा हुने उनको भनाइ छ । बन्दरगाहभित्र ३१३ साना र २३ वटा ठूला कन्टेनर रहनेछन् । बन्दरगाहभित्र इमिग्रेसन र पार्किबको व्यवस्था रहनेछ । त्यस्तै, कार्गो गोदाम र दुईवटा भवन निर्माण गर्ने योजना छ । समितिका अनसार बन्दरगाहमा एकीकृत भवनमा भन्सार, अध्यागमन, क्वारेन्टिन कार्यालय, बैंक र सुरक्षा लगायतका निकाय रहनेछन् ।
    रसुवामा बन्दरगाह निर्माण भएपछि भारतको विशाखपट्टनम हँदै आउने सामान छोटो समयमा रसुवा नाकाबाट आउने हुँदा लागत र समय कम लाग्ने व्यवसायीको भनाइ छ । अहिले चीनको सामान भारतको हँदै नेपाल ल्याउँदा ४५ दिनसम्म समय लाग्ने गरेको व्यवसायी बताउँछन् । रसवा नाकाबाट सामान आउँदा चिनियाँ सामानको ढवानी लागत घट्ने हुँदाु उपभोक्ताले सस्तो मूल्यमा सामान पाउने व्यवसायीहरूको भनाइ छ ।
    रसुवा नाकाबाट सामान आउँदा १० देखि १२ दिनमा काठमाडौं आउने व्यवसायीको अनुमान छ । चीनमा नेपालको व्यापार १३ प्रतिशत रहेको छ । तातोपानी नाका, रसुवा र हुम्लाको हिल्सा नाकाबाट सामान आयात निर्यात हने गर्छ । आयात नियमित रूपमा भइरहे पनि कोरोना सब्क्रमणका कारण लामो समयदेखि बन्द भएको रसवा नाका गत पुषमा खुलेर नियमित रूपमा निर्यात हन थालेको छ । हालसम्म नाकाबाट चीनमा ४७० कन्टेनर सामान निर्यात भएको रसवा भन्सार कार्यालयले जनाएको छ । हाल दैनिक १० देखि १५ वटा कन्टेनर सामान नेपालबाट चीन जाने गरेको कार्यालयको तथ्याङ्क छ । कार्यालयका चालू आवको जेठसम्म रसुवा नाकाबाट १६ अर्ब ३० करोड रुपैयाँको सामान आयात भएकोमा एक अर्ब ६२ करोड रुपैयाँबराबरको सामान निर्यात भएको छ । सामान आयात गरेर सात अर्ब २५ करोड राजस्व सब्कलन भएकोसमेत कार्यालयले जनाएको छ ।

रसुवागढी नाकामा चहलपहल बढ्यो

 रसुवागढी नाका

रसुवा । चीनसित जोडिएको उत्तरी नाका रसुवागढीमा पछिल्लो समय चहलपहल बढ्दै गएको छ । कोरोना महामारीपश्चात् आवतजावत बन्द भएको सो नाका गत चैत १८ गतेदेखि पुनःसञ्चालनमा आएपछि व्यापार तथा पर्यटकीय गतिविधि बढेको हो । सो नाका भएर नेपाल घुम्नका लागि चिनियाँ पर्यटकको आगमन सुरू भएको छ । नेपाल भित्रने चिनियाँ पर्यटकको संख्या दिन प्रतिदिन बढ्दै गएको छ । अध्यागमन कार्यालय टिमुरेका कार्यालय प्रमुख चूडामणि अर्यालका अनुसार चैत १८ गतेदेखि असारसम्म २ हजार ८३७ चिनियाँ रसुवागढी नाका भएर नेपाल भित्रिएका छन् ।
    तीन महिनाको अवधिमा रसुवागढी नाकाबाट ४६ देशका नागरिक नेपाल भित्रिएको तथ्याङ्क छ । सो अवधिमा ५ हजार २३६ महिलासहित १० हजार ६७७ पर्यटक उक्त नाका भएर नेपाल भित्रिएका अर्यालले बताए । कोरोना अवधिभर सुनसान रहेको रसुवागढी क्षेत्रबाट चिनियाँ पर्यटक नेपाल भित्रने र अन्यदेशका पर्यटक चीनतर्फ प्रस्थान गर्न थालेपछि उक्त नाकामा चहलपहल बढेको छ । पर्यटकको आगमनले सीमा क्षेत्रका बासिन्दामा  उत्साह थपिएको छ । रसुवागढी नाकाबाट रसुवाका बासिन्दा केरूङतर्फ जाने र चिनियाँ नागरिक पनि टिमुरे तथा स्याफ्रुबेँसी घुम्न आउने गरेका छन् ।
    रसुवा–केरूङ ओहरदोहर गर्न अध्यागमन कार्यालय टिमुरेले १५० रसुवाका नागरिकलाई परिचयपत्र प्रदान गरेको छ । बसाइँ सरी आएको कागजातका आधारमा गत चैत १८ गतेदेखि असारको पहिलो हप्तासम्म ४१ नयाँ परिचयपत्र जारी गरिएको, ३३ जनालाई प्रतिलिपि प्रदान गर्नुका साथै ७६ जनाको परिचयपत्र नवीकरण गरिएको अध्यागमन कार्यालयले जनाएको छ । २०७२ सालपछि हालसम्म नयाँ, प्रतिलिपि तथा नवीकरण गरी ३ हजार ३३३ जनाले सीमा परिचयपत्रको सुविधा लिएका छन् । भूकम्पकाले रसुवागढीस्थित अध्यागन कार्यालय भत्केपछि त्यहाँ रहेका अभिलेख नष्ट भएका थिए ।

२७ देशका कुकुर बिरालोको खान्की नेपालबाट

काठमाडौं । कुकुर तथा विरालोले खाने दाना निर्यातबाट नेपालले झण्डै साढे ३ अर्ब रकम भित्रिएको छ ।
    भन्सार विभागले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७९/८० को तथ्याङ्कले यस्तो देखाएको हो । विभागका अनुसार कुकुरको खानाका लागि प्रयोग हुने नेपाली छुर्पीको निर्यात बढेको हो ।
    गत आवमा ३ अर्ब ४० करोड ९० लाख ७३ हजार रुपैयाँ बराबरको कुकुर तथा विरालोको खाना निर्यात भएको छ । जुन, अघिल्लो आवमो तुलनामा भने १७.०७ प्रतिशतले बढी हो । अघिल्लो आवमा भने २ अर्ब ९१ करोड १९ लाख ३९ हजार रुपैयाँ बराबरको कुकुर तथा बिरालोको खाना निर्यात भएको थियो । भन्सार विभागका अनुसार गत आवमा कुल १ हजार ७८६ मेट्रिक टन दाना विदेशी मलुकहरूले नेपालसंग खरिद गरेका हुन् । हाल नेपालले विश्वका दुई दर्जन मुलुकमा कुकुर तथा बिरालोका लागि खाना निर्यात गर्दै आएको छ ।
    कुकुर तथा विरालोका लागि नेपाली दानाका लागि अमेरिका सबैभन्दा ठुलो बजार हो । अमेरिकाले सबैभन्दा धेरै नेपाली खाना खरिद गर्ने गरेको तथ्याङ्कले देखाउँछ । गत आवमा अमेरिका मात्रै २ अर्ब ९६ करोड ७६ लाख रुपैयाँ बराबरको १ हजार ५२६ मेट्रिक कुकुर तथा विरालोको खाना निर्यात भएको बताइएको छ ।
    जुन अघिल्लो आवको तुलनामा २१.३७ प्रतिशतले बढी हो । अघिल्लो आवमा पनि नेपालले २ अर्ब ४४ करोड ५० लाख रुपैयाँ बढीको दाना निर्यात गरेको थियो ।
    अमेरिका सहित क्यानडा, जापान, जर्मन, हङकङ, सिंगापुर, बेलायत, फिनल्याण्ड, कोरिया लगायतका २७ देशमा यस्तो खाना नेपालबाट निर्यात हुने गरेको छ । समिक्षा अवधिमा क्यानडाले भने २९ करोड ४२ लाख रुपैयाँ बराबरको १४४ मेट्रिक टन कुकुर बिरालोको खानका लागि निर्यात भएको छ । त्यसैगरि जापानामा ३ करोड ९३ लाख रुपैयाँ, बेलायतमा ३ करोड ४४ लाख, हङकङमा १ करोड २५ लाख, कोरियामा १ करोड १४ लाख, सिंगापुरमा १ करोड २५ लाख रुपैयाँ बराबरको निर्यात भएको छ । विभागका अनुसार युएई तर्फ ४४ लाख, ताइवान तर्फ ६१ लाख, फिलिपिन्स २८ लाख, स्पेन १५ लाख, नेदरल्याण्ड ८१ लाख, मलेशिया तर्फ ४२ लाख, ग्रीन्समा ४७ लाख र ११ लाख रुपैयाँ बराबरको खाना निर्यात भएको छ ।

नागुबमा दुर्लभ काँडेभ्याकुर भेटियो

विदुर । नेपालमा मात्रै पाइने पक्षी काँडेभ्याकुर रसुवाको नागुब क्षेत्रको जङ्गलमा भेटिएको छ । ८० वैशाख २ गते गोसाइँकुण्ड गाउँपालिका–६ नागुबको जङ्गलमा चरा अवलोकन गर्दा काँडेभ्याकुर देखिएको डिभिजन वन कार्यालय रसुवाका अधिकृत बदीप्रसाद ढुङ्गनाले जानकारी दिए । २ हजार ३५० मिटरको उचाइमा फेला परेको हो ।
    विश्वमा अन्त कतै नपाइने काँडेभ्याकुर ललितपुरको जङ्गगलमा पनि पाइन्छ । दुर्लभ चरा काँडेभ्याकुर चितवन, गोदावरी, धादिङको उत्तरी भेगमा पाइन्छ । काँडेभ्याकुर समुन्द्र सतहबाट १ हजार २०० मिटरभन्दा माथि रहेका डोटी र रारा तालवरपर पनि न्यून सख्यामा छ । ढुकुरभन्दा केही सानो, खरानी रङ्गको हुने र १ हजार २०० मिटरभन्दा माथि बस्न रुचाउने यो चरा करिब २६ सेन्टिमिटर लामो हुन्छ । यसले ओसिलो क्षेत्रमा आहारा खोज्छ । यसले एकपटकमा दुईवटासम्म अण्डा कोरल्छ । काँडेभ्याकुर प्राय समूहमा बस्न रुचाउँछन् । लजालु स्वभावको यो चरालाई सजिलै फेला पार्न सकिँदैन ।
    विशेषगरी मध्यपहाडी क्षेत्रमा पाउने चरा भएपनि जलवायु परिवर्तनका कारणले उच्च भागमा समेत देखापरेको हुन सक्ने डिभिजन वन कार्यालय रसवाका अधिकृत बदीप्रसाद ढुङ्गानाले बताए । धुन्चेदेखि अलिपर नागुबु गाउँनजिकैको जङ्गलमा वैशाख २ गते देखा परेको काँडेभ्याकर करिब २ हजार ३५० मिटरको उचाइमा फेला परेको हो ।

कथा लेखन कार्यशाला

देविघाट । विदुर नगरपालिका वडा नंं ५ देविघाटमा रहेको सहिद जगतप्रकाशजङ्ग शाह संस्कृत माध्यमिक विध्यालयमा तीन दिने कथा लेखन कार्यशाला गोष्ठी आयोजना गरेको छ । उक्त कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि युवा साहित्यकार श्रीराम श्रेष्ठले नेपाली समाजमा बालकथाहरूको अभाव रहेको सन्दर्भमा कथा कार्यशाला गोष्ठी उपलब्धिमूलक रहन जाने विश्वास व्यक्त गरे ।
    विद्यार्र्थीहरूको उमेर समुहका लागि भाषा, शैली, शिल्प, प्रस्तुतीको सही ढंगले संयोजन गर्न सकेको खण्डमा कथा स्तरीय हुनेमा जोड दिदै श्रेष्ठले भने– ‘माछा मारेर खुवाउनु भन्दा माछा मार्न सिकाउनु भन्ने चिनियाँ उखानलाई समरण गर्दै आधुनिक शिक्षा, विकसित प्रविधिको उपयोग गरेको खण्डमा कथा अब्बल हुन्छ ।’
    जिल्लाकै अब्बल विद्यालयको रुपमा रहेको उक्त विद्यालयमा भएको यस कार्यशालाले विद्यार्थीहरूमा थप हौसला बढाएको विद्यालयले जनाएकोे छ । प्राध्यानध्यापक मञ्जु चित्रकारको अध्यक्षतामा भएको कार्यक्रममा प्रशिक्षक युवा साहित्यकार विजयराज आचार्य, रुम टु रिडका प्रतिनिधि बटुराम भण्डारीलगायतले आआफ्नो मन्तव्य राखे ।
    विद्यालायमा आयोजित उक्त कार्यशाला गोष्ठीमा सहभागीमध्ये ४५ जना विद्यार्थीहरूले एक÷एक थान कथा लेखेका थिए । सोही कार्यशालमा लेखिएको छ वटा कक्षा कार्यक्रममा वाचन भएको थियो । जसमा अशु अधिकारी, युनिशा पुडासैनी, आदित्य डङ्गोल, दया रिमाल, अग्रिम न्यौपाने र निशा पुडासैनीको कथा थिए ।

काँग्रेसको दुई वटा ‘खीर कार्यक्रम’

केसीको कार्यक्रममा सहभागिहरु

विदुर । नेपाली काँग्रेसका नेता तथा कार्यकर्ताले साउन १५ गते काठमाडौंमा दुई ठाउँमा औपचारिक रुपमा खीर खाए । काँग्रेस नुवाकोटका निवर्तमान सभापति तथा संविधानसभा सदस्य जगदीश्वरनरसिंह केसीको निजी निवासमा र नेपाली काँग्रेस नुवाकोट क्षेत्र नं. १ ले पार्टी प्यालेसमा बेग्लाबेग्लै कार्यक्रम गरेर गएको सोमवार नेता तथा कार्यकर्ताहरूलाई खीर खुवाएका छन् । नेपाली काँग्रेसले एउटै कार्यक्रमलाई आफ्नो गुट अनुसार आयोजना गर्दा नेता कार्यकर्ताहरू पनि आफ्नो गुटको कार्यक्रममा मात्र सहभागि भएका थिए । कतिपय नेता कार्यकर्ताहरू भने दुवै कार्यक्रममा सहभागि भए ।
    क्षेत्रिय समितिले आयोजना गरेको कार्यक्रममा प्रमुख अतितिथिक रुपमा काँग्रेस सभापति शेरबहादुर देउवा पुगेका थिए भने केसी निवासमा काँग्रेसका शिर्ष नेताहरूको सहभागिता थियो ।
    देउवाले कार्यक्रममा कार्यकर्ताहरूलाई संवोधन गर्दै पार्टीभित्र र बाहिर समेत आपसी एकता आवश्यक भएको बताए । उनले नेपाली काँग्रेसले विकास निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको कुरा पनि स्मरण गराए क्षेत्रिय सभापति ध्रुब श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा पार्टीका प्रवक्ता तथा अर्थमन्त्री डा. प्रकाशशशरण महत, कँंग्रेस केन्द्रीय सदस्य तथा बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बहादुरसिंह लामा तामाङ, केन्द्रीय सदस्य अर्जुननरसिंह केसी, डा. रामशरण महत, जिल्ला सभापति तथा प्रदेशसभा सदस्य रमेश महत लगायतका नेताहरू थिए ।
    केसीले निजी निवास गोगंबुमा आयोजना गरेको खीर खाने कार्यक्रममा काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्मासहित नेता कार्यकर्ताको सहभागिता रहेको थियो । कार्यक्रममा माओवादी नेताहरू हितबहादुर तामाड, राधिका तामाड, बिमला सुवेदीको पनि सहभागिता  थियो । 

क्षेत्रिय समितिको कार्यक्रम

दाँत कोट्याएरै सकियो एक करोड १३ लाख

काठमाडौं । अर्थतन्त्रको मुख्य क्षेत्रमा उत्पादन पर्छ । कुनै पनि मुलुकको अर्थतन्त्र उत्पादन बिना सुदृढ हुने अवस्था रहँदैन ।
    अझ निरन्तर ठूलो व्यापार घाटा बेहोरिरहेको रहेको हाम्रोजस्तो मुलुकले उत्पादनमूलक अर्थव्यवस्थामा जोड दिनु अतिआवश्यक हुन्छ । तर हेर्दा सामान्य लाग्ने वस्तुसमेत आयात गरेर उपभोग गर्न‘पर्ने अवस्थाले मुलुकको उत्पादन क्षमता र स्तर एकदमै कमजोर रहेको पुष्टि भइरहेको छ ।
    भन्सार विभागले पछिल्लो समय सार्वजनिक गरेको आयात निर्यातको विवरणअनुसार मुलुकमा सामान्य प्रविधि र कच्चा पदार्थ प्रयोगमा उत्पादन हुने वस्तुसमेत ठूलो मात्रामा आयात भएको देखिन्छ । पछिल्लो समय विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार गत आर्थिक वर्षमा एक करोडभन्दा बढी मूल्यको दाँत कोट्याउने सिन्को (टुथपिक) आयात भएको देखिन्छ । विभागका अनुसार गत आवमा एक करोड १३ लाख ३७ हजार मूल्य बराबरको दाँत कोट्याउने सिन्को आयात भएको छ । बाँस र काठबाट बनेको यस्तो सिन्का मुख्यतया छिमेकी मुलुक चीनबाट भित्रिने गरेको ।
    त्यस्तै करिब एक करोड बराबरको कपडा झुण्ड्याउने ह्याङ्गर आयात भएको छ । विभागका अनुसार गत आवमा दुई करोड पाँच लाख ४९ हजार मूल्य बराबरको ह्याङ्गर निर्यात पनि भएको छ ।
दुई करोडको सियो र सेफ्टी पिन आयात
विभागका अनुसार गत आवमा लुगा सिउने सियो र सेफ्टी पिनको आयातमा दुई करोडभन्दा बढी रकम बाहिरिएको छ । गत आवमा एक करोड ७३ लाख ९१ हजारको सेफ्टी पिन र ६३ लाख १० हजार मूल्य बराबरको सियो आयात भएको छ । जसबाट सरकारले ६७ लाख ४९ हजार बराबरको राजस्व सङ्कलन गरेको छ ।
एक अर्बबढीको नटबोल्ट, स्क्रु आयात
विभिन्न यन्त्र उपकरण तथा सवारी साधानमा प्रयोग हुने नटबोल्ट र पेचकिलाजन्य वस्तु आयातमा समेत अर्बाैं रकम मुलुकबाट बाहिरिरहेको छ । सार्वजनिक विवरणअनुसार गत आवमा रु एक अर्बभन्दा बढी मूल्यको फलाम तथा स्टिलका नटबोल्ट आयात भएका छन् । एक वर्षमा एक अर्ब २६ करोड ५४ लाखभन्दा बढी मूल्य बराबरका पेचकिला (स्क्रु) तथा बोल्ट र १४ करोड ९४ लाख ३५ हजार मूल्य बराबरको नट आयात भएको छ । विभागका अनुसार गत आवमा १५ कारोड ८५ लाख बराबरको फलाम तथा स्टिलको किला आयात भएको छ ।

नुवाकोटमा मिडिया सम्मेलन हुने

विदुर । नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिको आयोजनामा आगामी भदौ २२ र २३ गते नुवाकोटमा बागमती मिडिया सम्मेलन हुने भएको छ ।
    महासंघ प्रदेश समितिको मंगलबार हेटौंडामा बसेको पदाधिकारी बैठकले उक्त निर्णय गरेको हो । मिडिया सम्मेलनमा प्रदेशभर रहेका स्वरोजगारमूलक सञ्चारमाध्यमहरूको समस्या, पत्रकार महिलाहरूका समस्या, सञ्चार क्षेत्रका चुनौतीहरू र समस्या समाधानमा राज्यका निकायहरूको भुमिकाका सन्दर्भमा छलफल गरिने प्रदेश समितिका महासचिव कृष्णसारु मगरले जानकारी दिए ।
    महासंघ प्रदेश अध्यक्ष शिव देबकोटाको अध्यक्षतामा बसेको बैठकले सदस्यता शुद्धिकरणका सन्दर्भमा स्थानीयस्तरमै पुगी जिल्लाको बस्तुस्थिती बुझ्ने र प्राप्त उजुरी र सिफारिसका बारेमा १५ दिन भित्र प्रतिबेदन पेश गर्न पदाधिकारीहरूको संयोजकत्वमा १० वटा कार्यदल समेत गठन गरेको छ ।
    नेपाल पत्रकार महासंघले यो साल शुद्धिकरण अभियान सञ्चालन गरेको छ । गैर पत्रकारहरू सदस्यता नविकरण नगर्ने देखि पेशामा भएकालाई मात्र सदस्यता प्रदान गर्नेगरी महासंघले अभियान जारी गरेको छ । नुवाकोट जिल्लाबाट समेत ६२ जानको मात्रै नविकरणका लागि प्रदेशमा सिफारिस भएको छ । यस अघि नुवाकोट शाखामा मात्रै १७४ जना पत्रकारको सदस्यता रहेको थियो ।

सवारी नियम उल्लङ्घन बढ्दै

विदुर । नुवाकोट जिल्लामा सवारी नियम उल्लङ्घन हुने घटनामा बृद्धि भएको छ । आर्थिक बर्ष २०७८/०७९ र २०७९/०८० मा गरिएको सवारी चेकजाँचका क्रममा सवारी नियम विपरित सवारी चलाउनेको संख्यामा बृद्धि देखिएको हो ।
    जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटले जिल्लाका बिभिन्न स्थानमा गरेको सवारी चेकजाँचका क्रममा गत आर्थिक बर्षमा सवारी नियम उल्लङ्घन गर्ने १८ हजार ४६८ सवारी साधनलाई कारबाही गरेको छ ।जुन संख्या आर्थिक बर्ष २०७८/०७९ मा १६ हजार १५० थियो । जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटले आर्थिक बर्ष २०७८/०७९ मा १६ हजार १५० सवारीलाई गरेको कारबाहीबाट एकरोड ३४ लाख ९ हजार ६ सय रुपैया राजश्व संकलन गरेकोमा आर्थिक बर्ष २०७९/०८०मा एककरोड ४८ लाख २५ हजार राजश्व संकलन गरेको छ ।
    आर्थिक बर्ष २०७९/०८०मा ८ हजार ११८ मोटरसाईकल, ४ हजार ७१७ ट्रक, २ हजार ४५० बस, २ हजार ५२४ कार/जिप र ६ सय ३८ ट्रयाक्टरलाई सवारी नियम विपरित सञ्चालन भएबापत कारबाही गरेको छ । सवारी कारबाहीका क्रममा आवश्यक कागजपत्र साथमा नराख्नेहरूको संख्या अत्यधिक देखिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
    ट्राफिक प्रहरीका अनुसार आर्थिक बर्ष २०७८ /०७९ मा कागजपत्र नभएका सातहजार ९८, सवारी चालक अनुमति पत्र नभएका २ हजार ५११, अधिकभार भएका २ हजार ९१२, रुट परमिट नभएका १ हजार ५५, बत्ति दुरुस्त नभएका ८ सय ६९, सिट क्षमता भन्दा बढी यात्रु बोकेका ६ सय २२ , मादक पदार्थ सेवन गरी सवारी चलाउने ५ सय ३७, छतमा यात्रु राख्ने ३७, सिटबेल्ट र हेल्मेट नभएका १ हजार ४०८ र तिब्र गतिमा चलाईएका ५ वटा सवारीलाई कारबाही गरिएको छ ।
    यसैगरी गत आर्थिक बर्षमा नुवाकोटमा ७९ वटा सवारी दुर्घटना भएको तथा दुर्घटनामा परि १४ जनाले ज्यान गुमाएको, ३१ जना गम्भीर घाईते भएको र १४२ जना सामान्य घाईते भएको समेत जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटले जानकारी दिएको छ ।

लाइसेन्स नभए पनि सावधानीपूर्वक मोटरसाइकल चलाउनु ठूलो अपराध होइन

काठमाडौं । सर्वोच्च अदालतले दुईपांग्रे निजी सवारीसाधन (मोटरसाइकल/स्कुटर) लाइसेन्स नभए पनि सावधानीपूर्वक चलाउनु ठूलो अपराध नहुने व्याख्या गरेको छ । एउटा पुरानो मुद्दाको फैसलाको हालै सार्वजनिक पूर्ण पाठमा यस्तो व्याख्या गरिएको हो । न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, प्रकाशमानसिंह राउत, सुष्मालता माथेमा, कुमार रेग्मी, मनोजकुमार शर्माको बृहत् पूर्ण इजलासले १० वर्षअघिको सवारी ज्यानसम्बन्धी घटनाको मुद्दामा गरेको फैसला हालै सार्वजनिक भएको हो । यो फैसलामा सवारीचालक अनुमतिपत्र नभए पनि व्यक्तिगत दुईपांग्रे सवारीसाधन सावधानीपूर्वक चलाएको बेला दुर्घटना भई ज्यान गएको घटनामा फरक व्याख्या छ ।
    यो मुद्दा जिल्ला, पुनरावेदन हुँदै सर्वोच्चसम्म आइपुगेको थियो । सर्वोच्चको बृहत् पूर्ण इजलासले जिल्ला र पुनरावेदनको फैसला उल्ट्याउँदै प्रतिवादीको सजाय घटाइदिएको छ । चालकले सावधानीपूर्वक मोटरसाइकल चलाएको अवस्थामा दुर्घटना भई पैदल यात्रुको मृत्यु भएको तर्कसहित सजाय घटाइएको हो । ‘दुईपांग्रे सवारीसाधन मोटरसाइकल चलाउनैपर्ने आवश्यक परेको अवस्थामा सावधानीपूर्वक चलाउँदा चालकका कारण नभई अन्य कारणले दुर्घटना भई मानिसको मृत्यु भएमा त्यसलाई न्यायपूर्ण तरिकाले न्यायिक विवेकको प्रयोग गरी सजाय गरिनुपर्ने हुन्छ,’ फैसलामा भनिएको छ । लाइसेन्स नभएको तथ्यलाई स्वतः लापरवाहीपूर्वक सवारी चलाएको भन्न नमिल्ने फैसलामा उल्लेख छ ।
    प्रतिवादीले आफ्नै साइडबाट मोटरसाइकल चलाएको, सवारी चलाउँदाको अवस्थामा कुनै किसिमको लागू औषध वा मादक पदार्थ सेवन नगरेको, मोटरसाइकलको यान्त्रिक अवस्थामा कुनै गडबडी नरहेको र गति पनि सीमित रहेको अवस्थामा लापरवाही गरेको भन्न नमिल्ने सर्वोच्चको ठहर छ ।
घटना के थियो ?
घटना २०६९ पुस ११ गतेको हो । नुवाकोटको विदुर नगरपालिका–४ बट्टार बजारमा एउटा मोटरसाइकल ढलेको अवस्थामा भेटियो । सँगै रगत लतपतिएको अवस्थामा एक व्यक्ति थिए । उनलाई तत्काल अस्पताल पु-याइयो र उपचारका क्रममा उनको मृत्यु हुन पुग्यो । मृतक थिए स्थानीय रामप्रसाद कुमाल । उनलाई दीपक तामाङले चलाइरहेको मोटरसाइकलले ठक्कर दिएको थियो । मृतकका भाइ रामप्रसाद कुमालले दीपकविरुद्ध ज्यान मार्ने कसुरमा किटानी जाहेरी दिए । साथै किरिया खर्च र क्षतिपूर्ति पनि माग गरे । कुमालको शव पोष्टमार्टम गर्दा मृत्युको कारण ‘दिमागबाट अत्यधिक रगत बग्नु’ उल्लेख थियो । दीपकसँग लाइसेन्स नभएकोले सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १६१ (२) र १६१ (४) बमोजिम सजाय मागदाबी गर्दै प्रहरीले अभियोगपत्र तयार पा¥यो । त्यतिबेलासम्म दीपक पनि घाइते भएर अस्पतालमा उपचाररत थिए ।
    ठीक भएपछि अदालतमा बयानका क्रममा उनले ‘मोटरसाइकल चलाउने क्रममा ३० मिटर जति अगाडि मानिस देखेर हर्न बजाएको, १५ मिटर अगाडि पुगेपछि फेरि हर्न बजाएको र दायाँतर्फ मोडिन लाग्दा ढुंगामा मोटरसाइकल ठक्कर खाएको’ बताएका छन् । त्यही क्रममा ती व्यक्ति पनि फर्की दायाँतर्फ नै आएको र आफ्नो मोटरसाइकलको लेग गार्डले लागेको उनले बयानमा भनेका छन् । मोटरसाइकल लडेपछि आफू बेहोस भएको र दुई दिनपछि अस्पतालमा होस आउँदा ठक्कर लागेका व्यक्तिको मृत्यु भएको थाहा पाएको दीपकको साविती बयान छ । आफूसँग त्यतिबेला लाइसेन्स नभएको र दुर्घटना लापरवाहीका कारण नभई अचानक भएको उनले दाबी गरेका छन् । थुनछेक बहसपछि जिल्ला अदालत नुवाकोटले उनलाई १५ हजार धरौटीमा छाड्ने आदेश दियो ।
    २०७० माघ १५ अर्थात् घटनाको एक वर्षपछि जिल्ला अदालतले दीपकलाई ६ महिना कैद र दुई हजार रुपैयाँ जरिवानाको फैसला सुनायो । दुर्घटना जेब्रा क्रसिङ भएको र चालकसँग लाइसेन्स पनि नभएको दाबी गर्दै जिल्ला सरकारी वकिलको कार्यालयले पुनरावेदन अदालत पाटनमा पुनरावेदन पत्र हाल्यो । ‘प्रतिवादीले चलाएको मोटरसाइकल बाट मृतकको ज्यान मर्न सक्छ भन्ने नदेखिएको अवस्थामा अभियोग दाबी पुग्दैन’ भन्दै पुनरावेदनले जिल्लाकै फैसला सदर गरिदियो । त्यसपछि वादी अर्थात् सरकारी वकिलको कार्यालय सर्वोच्च पुग्यो । तर्क थियो– प्रतिवादीसँग लाइसेन्स नभएको, लाइसेन्स नभएकोले स्वतः लापरवाही गरेको मानिने र मोटरसाइकल चलाउँदा सावधानी नअपनाएको । सरकारी वकिलले बहसका क्रममा यही जिकिर गरे भने प्रतिवादीका वकिलले निजी सवारीसाधन चलाउन लाइसेन्स लिनुपर्ने भए पनि आवश्यकता र औचित्यका आधारमा सवारी चलाएको अवस्थामा दुर्घटना भएमा अनुमतिपत्र नभएकै आधारमा लापरवाहीपूर्वक चलाएको भन्न नमिल्ने तर्क गरे ।
    त्यसपछि इजलासले यो मुद्दा बृहत् पूर्ण इजलासमा पठाउने निर्णय ग-यो । बृहत् पूर्ण इजलासले सवारी ज्यान मुद्दासम्बन्धी मुद्दामा प्रतिपादन भएका नजिर सिद्धान्तहरूको चर्चा गर्दै व्यक्तिगत र सार्वजनिक सवारी चलाउनेको सतर्कता भिन्नभिन्न मापदण्डका हुनुपर्ने फैसलामा उल्लेख गरेको छ । ‘लाइसेन्स नलिई सवारी चलाई चलाएर दुर्घटना भई कसैको ज्यान मरेमा स्वतः लापरवाही हुने हो वा दुर्घटनाको रुप, तथ्य वा परिस्थिति आदिबाट पनि हेरिनुपर्ने हो भन्ने प्रश्न पनि रहेको छ,’ फैसलामा भनिएको छ, ‘प्रतिवादी दीपक  तामाङले आफूले चलाउने गरेको निजी  मोटरसाइकल चलाएको अवस्थामा बाटोमा हिँडिरहेका पैदल यात्रुलाई ठक्कर दिई उपचारको क्रममा मृत्यु भएको र चालकसमेत घाइते भएर दुई दिनपछि होस आएको भन्ने देखिएकाले विशेष गरेर बिना अनुमतिपत्र मोटरसाइकल जस्ता दुईपांग्रे सवारीसाधन चलाई दुर्घटना भई मानिसको मृत्यु भएको हकमा विचार गर्न‘पर्ने देखिएको छ ।’
    उक्त मुद्दामा सर्वोच्चले प्रतिवादीले आफ्नै फर्निचर कारखानामा काम गर्ने व्यक्तिलाई मोटरसाइकलमा पु-याउन जाने प्रयोजनका लागि मोटरसाइकल चलाएको, चालक आफैं घाइते भई दुई दिनपछि होसमा आएको, चालकले ट्राफिक नियम उल्लंघन नगरेको, यात्रुलाई बचाउन हर्न बजाएको, मोटरसाइकल अर्कोतिरबाट लैजाने प्रयास गरेको, मादक पदार्थ वा लागु पदार्थ सेवन नगरेको, करिब २५–३० किलोमिटर प्रतिघण्टामा मोटरसाइकल चलाएको आदि अवस्थामा सावधानी अपनाउँदा–अपनाउँदै पनि दुर्घटना भई ज्यान गएकाले जिल्ला र पुनरावेदनले गरेको सजायको फैसला घटाउँदै ६ महिना कैद सजायमात्र हुने फैसला गरेको छ । अभियुक्त सजाय भुक्तान गरी जेलबाट छुटिसकेका छन् ।

जिल्लामा सवारी चेकजाँचमा कडाइ

विदुर । जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटले मातहतका क्षेत्रमा सवारी चेकजाँचमा कडाइ गर्न थालेको छ ।
    मादक पदार्थ सेवन गरी सवारीसाधन चलाउनेको जाँचदेखि द्रुतगति र आवश्यक कागजातसमेतको चेकजाँच गरिरहेको छ । जिल्लामा दैनिकजसो ढिकुरे, खरानीटार, गुर्जेभञ्ज्याङ, तारुकाघाट, ककनी, ओखरपौवा र विदुर चेकपोस्टले पटक–पटक फरक स्थानमा बेलुका साँझको समयमा मापसे गरी सवारीसाधन चलाएको हो कि होइन भन्ने चेकजाँच दैनिकजसो गरिरहेको छ ।
    आवश्यकभन्दा बढी गतिमा सवारी चलाएको पाइए सवारी र चालक दुवैलाई नियन्त्रणमा लिएर कारबाही गरिने ब्लुबुक र लाइसेन्ससहित कागजात साथमा नभएका सवारीलाई समेत कारबाही गरिरहेको प्रहरीले जानकारी दिए । जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी प्रमुख एसपी रमेश पण्डितले ट्राफिक नियमको पालना गर्नु सबैको कर्तव्य हुने भएकाले ट्राफिक नियम उल्लंघन हुन नदिने गरी काम अघि बढाउन जिल्ला ट्राफिक प्रहरी कार्यालय र मातहतका प्रहरी कर्मचारीलाई निर्देशन दिएको बताए । जिल्ला प्रहरी प्रमुख भएर आउनेबित्तिकै उनले आफ्नो ध्यान ट्राफिक नियमको पालना गर्ने–गराउनेतर्फ केन्द्रित गरिरहेका छन् । रसुवागढी नाकाबाट केही महिनादेखि आवत–जावत खुला गरिएसँगै अवैध सामान भित्र्निे आशङ्कामा नुवाकोट प्रहरीले जिल्लाभित्र राजमार्गमा सवारी साधनलाई रोकेर विशेष चेकजाँच कडा गरिरहेको छ ।

नुवाकोट–काठमाडौँ पत्रकार समाज गठन

काठमाडौँ । नुवाकोट घर भइ राजधानीमा क्रियाशील पत्रकारहरूको संगठन नुवाकोट– काठमाडौँ पत्रकार समाज गठन भएको छ । गएको सोमबार राजधानीमा आयोजित एक भेलाकाबीच रमेश जमकट्टेलको नेतृत्वमा ९ सदस्यीय तदर्थ समिति गठन गरिएको हो ।
    समाजको सहसंयोजकमा नवराज घिमिरे छन् । सदस्य सदस्यहरूमा प्रकाश पुडासैनी, राजन ढकाल, प्रशन्न ढुंगाना, हरिराम भेटवाल, आशिष ढुंगाना, प्रयास श्रेष्ठ र प्रतिमा मुडभरी रहेका छन् ।
    नुवाकोट स्थायी ठेगाना घर भइ राजधानीमा क्रियाशील पत्रकारहरू एकीकृत हुँदै नुवाकोटको विकास निर्माणका कार्यहरूमा संयोजन गर्नेगरी समाज गठन गरिएको बताइएको छ । संयोजक चयन भएपछि जमकट्टेलले समग्र नुवाकोटलाई जोड्न समाज सेतु बन्ने बताए । ‘राजधानी नजिकै भएपनि नुवाकोटमा विकास निर्माणलगायतका काममा विभिन्न समस्या र उल्झनहरू छन् । यी समग्र विषयमा पत्रकारिकताको माध्यमबाट समन्वय र सहकार्य गर्न हामी लाग्नेछौँ’, उनले भने ।
    उनले राजधानीमा क्रियाशील पत्रकारहरूलाई जोड्न विभिन्न कार्यक्रमदेखि तालिमलगायतका गतिविधि सञ्चालन गरेर संस्थालाई चलायमान बनाउने बताए ।

२०८० साल साउन २२ गतेको सम्पादकीय

 स्थानीय तहमा उपभोक्ता मार्फत् गरिने भ्रष्टाचार नियन्त्रण गरौं

मुलुकमा संघीयता कार्यान्वयनमा आयो । गाउँ–गाउँसम्म सिंहदरबार पुगे । जनतामा विकास र समृद्धिको सपना पूरा हुने अपेक्षासहित उत्साह पनि जाग्यो । तर, नागरिकले त्यो महसुस गर्न पाएनन् । गाउँका सिंहदरबारसँगै सिंहदरबारको भ्रष्टाचार र बेथिति पनि गाउँ–गाउँमा आयो । मुलुकमा संघीयता लागू भएपछि विकास निर्माणका काममा आर्थिक अनियमितताका ठूलाठूला घटनाहरू घटिरहेका छन् । हरेक विकास निर्माणका आयोजनाहरूमा सम्बन्धित क्षेत्रका मानिसहरूको सहभागितामा उपभोक्ता समिति गठन गर्ने गरियो। सम्बन्धित क्षेत्रका उपभोक्ताहरूको अपनत्वका लागि र प्रभावकारी विकासका लागि विकास आयोजनाहरूमा उपभोक्ताको परिकल्पना गरियो । तर, त्यसो भएन् । उपभोक्ता नै विकासी बजेटको ब्रमलुट गर्ने माध्यम बने । सरकारले पनि आर्थिक वर्ष सकिने बेला असारमा योजनामा विनियोजित बजेटको अख्तियारी दिन्छ । स्टमेटअनुसारको कामै हँुदैन । त्यो योजनामा हेर्ने प्राविधिक जनशक्तिले भएको कामअनुसार भुक्तानी दिने परिपाटी छैन । योजनाको अनुगमन नगरी अनुगमन गरेको कागज मिलाएर भुक्तानी गरिन्छ । यसरी मिलिजुली सार्वजानिक स्रोतको दुरुपयोग गर्ने परिपाटी भएको छ । पहिले नै कमिसन दिएर योजना पार्ने, स्थानीय र प्रदेश सरकारको नेतृत्वमा रहेका मानिसहरूको लापरबाही र गलत नियतका कारण बिचौलियालाई विभिन्न कोणबाट जिम्मेबार ठाउँमा महत्व दिने, सम्बन्धित निकायमा रहेका मानिसहरूको बढी कमाउने गलत आकांक्षाले आर्थिक अनियमिततामा बल पुग्यो । उपभोक्ता समितिहरूले पनि निर्माण व्यवसायीसँग मिलेर छिटो काम देखाउने र डोजरलाई काम दिने पद्धतिले विपन्न नागरिकहरूको आंशिक रोजगारी पनि खोसिएको छ । उपभोक्ता समितिमा राजनीतिक दलमा आबद्ध बाठाटाठाहरूको हालीमुहाली छ ।
     यस्तो काम ठूला भन्ने दलका जिम्मेबार मानिसहरूबाटै भएको छ । विकास निर्माणका योजनाहरूमा बिचौलियाको हालीमुहाली छ । यसले संघीयतामाथि नै प्रश्न उठाएको छ । संघीयताबाट नागरिकहरूले जति लाभ लिनुपथ्र्यो त्यसैगरी नागरिकले लाभ लिन सकिरहेको अवस्था छैन । जसका करण संघीयताको विरुद्धमा जनमत बढिरहेको छ । स्थानीय तहलाई स्वायत बनाएर जे गरे पनि हुन्छ भन्ने मानसकिता बढ्नु, संघीय सरकारले प्रदेश र स्थानीय तहलाई पर्याप्त कानुनी अभावमा राख्नुले पनि बजेटमा बिचौलिया र उपभोक्ताको ब्रमलुट भएको हो । अब हरेक विकास निर्माणका आयोजनाहरूको प्रभावकारी अनुगमन संयन्त्र बनाउन जरुरी छ । जिल्ला समन्वय समिति भत्ता खाने र राज्यको स्रोत साधनमा थप भारका रूपमा भइरहेका छन् । यसलाई प्रभावकारी अनुगमनको अधिकार दिने, भ्रष्टाचारका घटनाहरूलाई राजनीतिक संरक्षण बन्द गर्ने, गाउँमा आएको बजेटमा स्थानीय नागरिकहरूले कति बजेट, के कामका लागि ? कहाँ कति खर्च भयो जस्ता विषयमा प्रश्न गर्नका लागि जागरूक बनाउन आवश्यक छ । सरकारले प्रदेश सरकार र स्थानीय सरकारलाई प्रभावकारी अनुगमन गर्ने एक स्वतन्त्र अधिकार सम्पन्न निकाय बनाउनुपर्छ । भ्रष्टाचार गर्ने जोसुकै व्यक्तिलाई राज्यका कुनै पनि सार्वजानिक पदमा जान नपाउने नीतिगत व्यवस्था गर्ने, हरेक विकास निर्माणका योजनाहरूमा स्थलगत सार्वजनिक सुनुवाइ अनिवार्य गर्न‘पर्ने, सरकारका नेतृत्वहरूलाई नै जवाफदेही बनाउनका लागि उनीहरूको कामको पनि अनुगमन निरीक्षण गर्ने शक्तिशाली निकाय बनाउँदा मुलुकका हरेक तहका सरकारहरूमा सुशासन कायम हुने थियो ।

२०८० साल साउन २२ गते । वर्ष:१६ अंक:४१