Monday, August 21, 2023

केन्द्रीय कारागार निर्माण, हात्ति छिर्यो पुच्छर अड्क्यो

नुवाकोटमा निर्माणाधिन केन्द्रीय कारागार

विदुर । नुवाकोटमा सात हजार कैदीबन्दी अट्ने क्षमतासहितको अत्याधुनिक कारागार बनाउने कामको पहिलो र दोस्रो चरण मात्र सम्पन्न भएको छ । आवश्यक रकम तथा स्रोतको सुनिश्चितता नहुँदा निर्माणाधीन केन्द्रीय कारागारको तेस्रो तथा अन्तिम चरणको भवन निर्माणसम्बन्धी काममा अन्योल भएको छ ।
    विदुर नगरपालिकास्थित खम्बाली क्याम्पमा बन्ने कारागारमा २०७८ चैत मसान्तसम्ममा कैदीबन्दीलाई स्थानान्तरण गर्ने लक्ष्य थियो । तर कारागार निर्माणले अझै पूर्णता पाउन सकेको छैन । नेपाल सरकारद्वारा बृहत् गुरुयोजनासहित केन्द्रीय कारागार भवनको पहिलो र दोस्रो चरणको निर्माण कार्य पूरा गरी एक हजार पाँचसय कैदीबन्दी नुवाकोट स्थानान्तरणको तयारी भइरहेको छ । अर्थ मन्त्रालयले तेस्रो चरण अन्तर्गत विभिन्न संरचनासहित भवन निर्माणका लागि आवश्यक रकम तथा स्रोत सुनिश्चित नगरेका कारण कारागार निर्माणमा अन्योल आएको बताइएको छ ।  
    सघन शहरी विकास तथा भवन निर्माण आयोजना धादिङले केन्द्रीय कारागारको तेस्रो चरणको निर्माण कार्य अन्तर्गत आर्थिक वर्ष २०८०–८१ देखि निर्माण कार्य थालनी गर्ने गरी गतवर्ष २०७९–८० अन्तिममा विभागीय तवरमा कार्यक्रम स्वीकृत गरी बोलपत्रसम्बन्धी सम्पूर्ण प्रक्रिया पूरा गरेको थियो ।
    जसअनुसार आयोजनाले करिब साढे चार अर्ब लागतमा थप ५ हजार पाँचसय थुनुवा कैदीबन्दी राख्न बिभिन्न संरचनालगायत भवन निर्माणका लागि बोलपत्र आह्वानसहित दर्ता प्रक्रिया पूरा भएको थियो ।
    निर्माणाधीन कारागारमा सीप भएकाका लागि रोजगार कक्ष, खेल मैदान, विशेषज्ञसहितको अस्पताल, विद्यालय एवं क्याम्पस, पुस्तकालय, सीप प्रर्बद्धन केन्द्र, योग केन्द्र र किरियापुत्री कक्षलगायतको सुविधा रहने जिल्ला कारागार नुवाकोटका प्रमुख गंगालाल योगीले जानकारी दिए । उनका अनुसार कारागार निर्माण अन्तर्गत पहिलो र दोस्रो चरणको काम सकिएको छ । पहिलो तला मात्रै निर्माण सम्पन्न भएकाले अहिले नै कैदीबन्दी स्थानान्तरण गर्ने सम्भावना छैन । नयाँ कारागार भवन निर्माण र पुरानाको मर्मत सम्भारका लागि बजेट छुट्याइएको भनिए पनि कति बजेट भन्ने उल्लेख गरिएको छैन ।
    निर्माण कार्य अन्तर्गत अरु धेरै काम बाँकी छ । आयोजनाद्वारा दर्ता भएका बोलपत्रको प्राविधिक प्रस्ताव अध्ययनपछि आर्थिक प्रस्ताव मूल्याङ्कन गरी निर्माण कम्पनी छनोट कार्य भैसकेको छ ।
अर्थ मन्त्रालयले कारागार भवनको तेस्रो चरणको निर्माण कार्यका लागि रकम सुनिश्चित नगर्दा निर्माण कार्यमा अन्योल उत्पन्न भएको सघन शहरी विकास तथा भवन निर्माण आयोजनाका प्रमुख सुनिल ठाकुरले बताए । अर्थमन्त्री डा. प्रकाशशरण महतद्वारा आर्थिकवर्ष २०८०–८१ का लागि पारित सरकारी नीति तथा कार्यक्रम र बजेट वक्तव्यमा समेत समेटिएको सो कार्यक्रमलाई पछि अर्थ मन्त्रालयले स्रोत सुनिश्चित नगरेपछि बजेट विनियोजनमा समस्या भएको छ ।

खानेपानीमा ५० लाख क्षति

क्षतीग्रस्त पाइपको अवस्था नियाल्दै संस्थाका अध्यक्ष लगायतका पदाधिकारी र कर्मचारीहरू ।

बेत्रावती । दक्षिण एसियाकै नमुना खानेपानी आयोजना विदुर खानेपानीले आपूर्ति गर्दै आएको खानेपानीको फँलाखु ओला मुहानको मुख्य पाइप बाढीले बगाउँदा चारहजारबढी घरमा पानीको समस्या भएको छ ।
    गत साता लगातार दुई दिनको वर्षाले फँलाखु खोलाबाट ल्याईएको जडान गरिएका १३० मिटरको पाइप बगाएपछि संस्थाले वितरण गर्दै आईरहेको सदरमुकाम विदुर, बट्टार, पिपलटारलगायतका क्षेत्रमा खानेपानी समस्या भएको विदुर खानेपानी तथा सरसफाई खानेपानी संस्थाका अध्यक्ष सञ्जिवबहादुर श्रेष्ठले जानकारी दिए । बिहीबार संस्थाले प्राविधिकसहितको टोली लिएर मुहानदेखि करिब तीन किलोमिटर तल पानीको पाईप बाढी बगाएको स्थलगत अवलोकन र निरिक्षण गराएको छ । निरीक्षणपछि टोलीले ३५५ एमएमको पोलिथिन खानेपानी पाईप राख्न गर्न सुझाव दिएको छ ।
    पाईप, ढलान र ग्याबिन जाली बगाउँदा  ५० लाखभन्दामाथि क्षति भएको स्थलगत प्रारम्भिक अनुमानले देखाएको अध्यक्ष श्रेष्ठले जानकारी दिए । अस्थाई मर्मतको लागि १० दिन भन्दा बढी लाग्नेछ । मर्मतका लागि जिल्ला विपद व्यवस्थापन समिति र विदुर नगर पालिकालाई अनुरोध गरेको छ ।
निरिक्षणको क्रममा फँलाखु खोला मुहान सम्झौता अनुसारको संरचना निर्माण नभएको पाईएकोले तत्काल मुहान संरचना निर्माण गर्न निर्माण व्यवसायी सिको कालिका टुन्दी जेभीलाई ताकेता गरेको छ ।
    साथै, विदुर नगरपालिकाको वडा नम्बर १ ढुंगेदेखि वडा नम्बर ९ कोलेनीसम्मको मुख्य पाईपलाइन प्रयोगमा भएको सामाग्री गुणस्तरहीन पाईएकोले उक्त सामाग्री सम्झौता अनुसार गुणस्तरको सम्गारी प्रयोग गरी मर्मत कार्य सम्पन्न गराउन निर्माण पक्षलाई अनुरोध गरेको छ ।
    खानेपानी आपूर्तिको लागि वैकल्पिक रूपमा प्रयोग हुँदै आएको बट्टार र विदुरको डिपबोरिङको खानेपानी बुधबारदेखि नै खानेपानी वितरण गरिएको संस्थाका प्रबन्धक राजकुमार तिमिल्सिनाले बताए ।
    खानेपानी अभाव भएपछि वितरण गरिएको खानेपानी जोहो गरी उपभोग गर्न प्रबन्धक तिमिल्सिनाले अनुरोध गरेको छ ।

पूर्ण रुपमा रोकियो मध्यपहाडी लोकमार्गको काम

विदुर । राष्ट्रिय गौरव आयोजनाको रूपमा रहेको मध्यपहाडी लोकमार्गको काम नुवाकोटमा रोकिएको छ ।
    स्थानीय सामुदायिक वन समितिको अवरोधका कारण नुवाकोटमा निर्माणाधीन मध्यपहाडी लोकमार्गअन्तर्गत विदुर नगरपालिका–५ पिपलटारदेखि विदुर नगरपालिका–१३ देउडी खण्डको २० किलोमिटर निर्माण कार्य ठप्प भएको छ । राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको मध्यपहाडी लोकमार्गअन्तर्गत नुवाकोटमा ६० किलोमिटर कालोपत्रे सडक निर्माण तथा विस्तार भइरहेको छ । मान्द्रेढुंगास्थित सुनादेवी सामुदायिक वनको कारण पिपलटार–देउडी खण्डको २० किलोमिटर सडक निर्माणकार्य अवरुद्ध भएको हो ।
    आयोजना प्रमुख सुनिल कुमार रञ्जितकारले विदुर नगरपालिका–६ मान्द्रेढुङ्गास्थित उक्त सामुदायिक वन क्षेत्रमा पर्ने चेनेज नम्बर ४ प्लस ६०० देखि ६ प्लस ००० सम्मको १४ सय मिटर क्षेत्रमा रुख कटानका लागि लगत संकलन कार्यमा खटिएका कर्मचारी टोलीलाई उक्त सामुदायिक वन समितिका पदाधिकारीद्वारा वन प्रवेशमा रोक लगाएपछि निर्माण कार्य पूर्णरुपमा रोकिएको जानकारी दिए ।
    मध्यपहाडी लोकमार्गको विदुर–५ पिपलटार– विदुर ८ देउडी खण्डअन्तर्गत पिपलटारबाट बुनीवेशी–मुलथला–रानीस्वाँरा हुँदै देउडीसम्मको निर्माण कार्य १०÷१० किलोमिटर दुईवटा प्याकेजगरी एक अर्ब ३५ करोड लागतमा निर्माण भइरहेको प्रमुख रञ्जितकारले बताए । व्यक्तिगत तथा आवादी क्षेत्र छलाउँदै निर्माण भइरहेको लोकमार्गको विदुर नगरपालिका ६ स्थित मुलथला वन क्षेत्रमा निर्माण हुने लोकमार्गको कारण सडक निर्माणको क्रममा मान्द्रेढुंगाको बस्ती पहिरोको जोखिममा पर्ने भन्दै सडक निर्माण कार्यमा समितिद्वारा अवरोध भएको विदुर नगरपालिका–६ का वडाध्यक्ष श्यामकृष्ण चालिसेले जानकारी दिए । राज्यद्वारा बस्तीको सुरक्षाको प्रत्याभूति नभई निर्माण कार्य असहज हुने वडा अध्यक्ष चालिसेले बताए ।
    विदुर नगरपालिका–५ पिपलटारबाट बुनिवेशी–मुलथला–रानीस्वाँरा हुँदै वडा नम्बर १३ देउडी जोड्ने मध्यपहाडी लोकमार्गमा सुनादेवी लगायत झण्डै आधादर्जन सामुदायिक वन समिति पर्दछन् । तर अन्य सामुदायिक वन क्षेत्रमा कुनै समस्या नभएको आयोजनाले जानकारी दिएको छ । वन विभागद्वारा लोकमार्गको दुवै खण्डको वातावरणीय प्रभाव मूल्याङ्कन र रुख कटानी आदेश लगायत सम्पूर्ण काम मन्त्री परिषदद्वारा एकै पटक निर्णय गराउने विभागीय तयारीका कारण लोकमार्गको दुवै खण्डको निर्माण कार्य अवरुद्ध भएको छ । दुवैखण्डको निर्णय एकैपकट गर्ने विभागीय तयारी तथा अडानसँगै पछिल्लो मुलथला–रानीस्वाँरा क्षेत्रको १० किलोमिटर खण्डको काम पनि प्रभावित भएको हो । जसको कारण अहिले पिपलटारदेखि देउडीको २० किलोमिटरमा निर्माण कार्य अवरुद्ध छ ।
    ठुला आयोजनाको जानकारी समेटिएको सूचना बोर्ड आयोजना स्थलमा राख्नुपर्ने प्रावधान भए पनि नुवाकोटमा मध्यपहाडी लोकमार्ग विस्तार हुँदै गरेका स्थानमा केही कुनै सूचना बोर्ड राखिएको छैन ।
राष्ट्रिय राजमार्गको प्रावधानअनुसार विस्तार गरेमा सडक केन्द्रबाट दायाँबायाँ २५/२५ मिटर छाडेर थप ६ मिटरमा पनि पक्की संरचना बनाउन पाइँदैन ।
    तर मध्यपहाडी लोकमार्गको सीमा कति कायम भन्ने सरकारले निर्णय गरी राजपत्रमा प्रकाशित नभएकाले यति नै हुन्छ भन्न नसकिने आयोजना प्रमुख रञ्जितकारले बताए ।
    पूर्वमा नेपाल–भारत सीमानाको पाँचथर चियो भञ्ज्याङबाट सुरु भएको मध्यपहाडी लोकमार्ग २४ वटा पहाडी जिल्ला छिचोलेर सुदूरपश्चिमको नेपाल–भारत सीमानास्थित बैतडीको झुलाघाटमा पुगेर टुंगिने योजना सरकारले बनाएको छ । करिब १ हजार किलोमिटर पहिलेकै पुरानो चल्तीको सडक र थप ७५६ नयाँ ट्रयाक खोलेर सुरु भएको मध्यपहाडी लोकमार्गको पूर्व र पश्चिम दुई खण्डमा निर्माणको काम भइरहेको छ । मध्य पहाडी लोकमार्गले पूर्वका पाँचथर, तेह्रथुम, धनकुटा, भोजपुर, खोटाङ, ओखलढुंगा, उदयपुर, सिन्धुली, काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोकलाई जोड्ने छ । त्यस्तै काठमाडौंभन्दा पश्चिमका नुवाकोट, धादिङ, गोरखा, लमजुङ, कास्की, पर्वत, बाग्लुङ, रुकुम, जाजरकोट, दैलेख, अछाम, डोटी, डडेलधुरा, बैतडीलाई मध्यपहाडी लोकमार्गले समेट्छ ।
    यो लोकमार्गको मध्यविन्दु नुवाकोटको पाटीभञ्ज्याङलाई बनाइएको छ । सुरुमा काठमाडौं जोड्ने भनिए पनि पछि यो सडक काभ्रेको पाँचखालबाट सिन्धुपाल्चोक हुँदै नुवाकोट धादिङ हुँदै अगाडी बढ्ने भएको छ ।

तीनपिप्ले–रानीपौवा सडकमा १ अर्ब ३४ करोड

 तीनपिप्ले–रानीपौवा सडक

काठमाडौं । वर्षौंदेखि अलपत्र पारिएको पासाङल्हामु सडकको तीनपिप्ले–रानीपौवा खण्डलाई बहुवर्षीय ठेक्का प्रक्रियामा लगिने भएको छ ।
    काठमाडौंबाट नुवाकोट प्रवेश गर्ने सबभन्दा पुरानो मार्ग बालाजु–त्रिशुली सडकको तीनपिप्ले–रानीपौवा खण्डलाई बहुवर्षीय ठेक्काको सहमतिका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बिहीबार राष्ट्रिय योजना आयोगलाई लेखी पठाएको हो । मन्त्रालयका प्रवक्ता एवं सहसचिव भीमार्जुन अधिकारीले मन्त्रीस्तरीय निर्णयबाट तीनपिप्ले–रानीपौवा सडक बहुवर्षीय ठेक्का प्रक्रियाबाट निर्माणका लागि योजना आयोगमा सहमति मागिएको जानकारी दिए ।
    ‘चालु आ.व. २०८०/८१ को लागि तीनपिप्ले– रानीपौवा सडक खण्डको लागि ५० करोड रुपैयाँ विनियोजन भएको र उक्त सडकको चेनेज ९+०८५ देखि –१+६०० सम्म (१२.५१५ किमि) सडक स्तरोन्नतिको लागि १ अर्ब ३३ करोड ९३ हजार २६८ रुपैयाँको लागत अनुमान पेश भएकोले अन्य ठेक्काहरुसँग दोहोरोपना नहुने गरी, यसअघि सो खण्डमा भएको ठेक्काको सम्बन्धमा प्रचलित कानुन बमोजिमका एयकत–तभचmष्लबतष्यल का कार्यहरु सम्पन्न गरी साथै आयोजना कार्यान्वयनका सम्पूर्ण पूर्वतयारीका कार्यहरु सम्पन्न गरी प्रचलित कानुन तथा स्वीकृत मापदण्डको अधीनमा रही खर्च/कार्यान्वयन/व्यवस्थापन गर्ने गरी १ अर्ब ३३ करोड ९३ हजार ६८ रुपैयाँ रकम बराबरको बहुवर्षीय ठेक्का गर्न सहमति सम्बन्धमा अनुरोध गरी पठाइएको ब्यहोरा मिति २०८०/०४/३२ (मा. मन्त्रीस्तर) को निर्णयानुसार अनुरोध छ,’ शाखा अधिकृत अस्मिता पन्थीद्वारा हस्ताक्षरित पत्रमा उल्लेख छ ।
    सोही मार्ग (काठमाडौं–बालाजु–रानीपौवा खण्ड) को मुड्खु–तीनपिप्ले ५ किलोमिटर ‘फास्ट ट्रयाक’मार्फत गत वर्ष नै कालोपत्र गराइएको छ । बालाजु–रानीपौवाको १७.१० किलोमिटरमध्ये ५ किलोमिटर सडक स्तरोन्नति भएकाले अर्थको स्रोत सुनिश्चितासहित अब योजना आयोगले सहमति दिएपछि १२ किमि सडक असफाल्ट प्रक्रियाबाट निर्माणका लागि सडक सुधार तथा विकास आयोजना निर्देशनालयले ठेक्का आह्वान गर्नेछ ।
    बहुवर्षीय ठेक्कासम्बन्धी मापदण्ड २०७७ अनुसार आयोगमा आयोजना प्रस्ताव प्राप्त भएको मितिले सात दिनभित्र आयोगले मूल्यांकन गरी उपयुक्त देखिएको प्रस्तावका लागि स्रोतका सम्बन्धमा अर्थमन्त्रालयमा सहमति लिनु पर्ने व्यवस्था छ ।
    त्यसको अर्को सात दिनभित्र मन्त्रालयले सहमतिसम्बन्धी निर्णय आयोगलाई जानकारी दिनुपर्नेछ । त्यसपछि आयोगले मापदण्डबमोजिम सर्तको अधिनमा रही बहुवर्षीय ठेक्काको स्वीकृति दिन सक्नेछ भन्ने मापदण्डमा लेखिएको छ । दुई वर्षभन्दा बढी समय लाग्ने ठेक्कालाई बहुवर्षीय मानिन्छ ।
    नुवाकोट निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं पूर्वमन्त्री हितबहादुर तामाङले आफूहरुले लामो समयदेखि प्रतिनिधिसभा र सम्बन्धित मन्त्रालय अनि प्रधानमन्त्रीकहाँसमेत ध्यानाकर्षण र आवाज उठाइएकोले तीनपिप्ले–रानीपौवा सडकको स्तरोन्नतिको प्रक्रिया तीव्र गतिमा अगाडि बढेको जानकारी गराए । सांसद तामाङले आफ्नो सामाजिक सञ्जाल फेसबुकको आधिकारिक पेजमा शुक्रबार ‘पासाङल्हामु राजमार्गको तीनपिप्ले रानीपौवा सडकको भदौ महिनाभित्रै टेण्डर हुने’ सन्देश जारी गरेका छन् ।
    बालाजु–रानीपौवाको १७.१० किमि सडक स्तरोन्नतिका लागि ९ वर्षअघि भारतीय निर्माण कम्पनी एआईपीएलसँग शैलुङ कन्स्ट्रक्सनले संयुक्त ठेक्का लिए पनि काम हुन सकेको थिएन ।
    सात पटक म्याद थप्दा पनि आयोजनामा प्रगति नभएपछि सडक सुधार तथा विकास आयोजना निर्देशनालयले गत वर्षको असार ५ मा ठेक्का तोडेको थियो । ठेकेदार कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले गत भदौ ८ मा तीन वर्षका लागि कालोसूचीमा राखेको छ ।
    सुरुमा बालाजु–रानीपौवा खण्डको कुल ठेक्का रकम ३४ करोड ९४ लाख ७१ हजार रुपैयाँ रहेकामा १८ करोड ९५ लाख ४७ हजार रुपैयाँ भुक्तानीसमेत दिइएको थियो । रानीपौवा–त्रिशुली खण्डको पनि ठेक्का तोडिसकिएको थियो । पटक पटक म्याद थप्दा पनि प्रगति नभएपछि ठेक्का तोडिएको हो, जसको ठेक्का दिनेशचन्द्र आर अग्रवालसँग नागार्ज‘न–कोसी एन्ड न्यौपाने कम्पनीले जेभीमा लिएको हो । कम्पनीलाई तीन वर्षसम्म नयाँ ठेक्का नपाउने गरी गत वर्ष साउनमा कालोसूचीमा राखिएको हो । जुन खण्डको दूरी ३४.१८ किमि छ ।

गुठीको जग्गा व्यक्तिको नाममा गराउन आग्रह

अर्थमन्त्रीसंग पालिका अध्यक्ष र स्थानीयहरु

विदुर । सुर्यगढी गाउँपालिकाले गुठीको नाममा रहेको लालपुर्जा व्यक्ति नाममा गराइदिन अर्थमन्त्री डा. प्रकाशशरण महतको ध्यानाकर्षण गराएको छ । बुधवार सुर्यगढी गाउँपालिकाका अध्यक्ष सन्तबहादुर घले तामाङ र नेपाली काँग्रेस सुर्यगढी गाउँपालिकाका उप–सभापति कालू तामाङ, सचिव बासु लम्साल लगायतले अर्थमन्त्री डा. प्रकाशशरण महतलाई भेटी साबिक लच्याङ गाविस अन्तरगतका १,३,४,५,६,७,८ वडाहरूका सम्पुर्ण जग्गाहरू भैरबी गुठीको नाममा रहेकोले सो जग्गाको लालपुर्जा सम्बन्धित ब्यक्तिहरूको नाममा उपलब्ध गराउन ध्यानाकर्षण गराएको हो ।
    भैरबी गुठीको नाममा जग्गाको लालपुर्जा रहेकोले स्थानीयहरू विभिन्न प्रकारका सेवा सुविधाहरूबाट बन्चित भएकोले आफुहरूले अर्थमन्त्री महतको ध्यानाकर्षण गरेको सुर्यगढी गाउँपालिकाका अध्यक्ष सन्तबहादुर घलेले जानकारी दिए ।
    उनले परापुर्व कालदेखी लच्याङका स्थानीयहरूले जग्गाको जोतखन र भोगचलन गर्दै आएपनि आफ्नो नाममा लालपुर्जा नहुँदा अनेक समस्या भोगिरहेको बताए । समस्या सामाधनको लागि प्रकृया अगाडी बढाई कार्यान्वयनको व्यवस्था मिलाउन अर्थमन्त्रिको ध्यानाकर्षण गरिएको बताए । भेटको क्रममा अर्थमन्त्री महतले छिट्टै लच्याङवासीका समस्याको समाधान गरिदिने प्रतिवद्धता व्यक्त गरेको बताएका छन् ।

तीन सय असी हेक्टरमा सिँचाइ

रसुवा । क्रमिक रूपमा कुलो निर्माण हुनथालेसँगै रसुवाको खेती प्रणालीमा सुधार आएको छ । खेतीयोग्य जमिनमा आवश्यक पानीको आपूर्ति भएपछि कृषि प्रणाली सुधारिएको हो ।
    सिँचाइ डिभिजन कार्यालय रसुवाले किसानको आवश्यकता मूल्याङ्कन गरी गत आर्थिक वर्षमा १२ वटा नयाँ सिँचाइ कुलो निर्माण गरेको जनाएको छ ।
    विभागका अनुसार १० वटा भइराखेको सिँचाइ कुलो मर्मत गरेर रसुवाका उर्बरा भूमिमा पानीको आपूर्ति व्यवस्थित बनाएको छ । सिँचाइ डिभिजन कार्यालयका प्रमुख ईञ्जिनियर गोविन्द्रप्रसाद भुर्तेलका अनुसार रसुवामा गत वर्ष कूल ३८० हेक्टर जमिनमा सिँचाइको सुविधा पुर्याईएको छ । संघीय एवं प्रदेश सरकारको अनुदानबाट सिँचाइ कुलो निर्माण एवं मर्मत गरी सिँचाइ सुविधा पुर्याइएको छ भने जिल्लाका विभिन्न भागमा १७ वटा नदी नियन्त्रणका काम सम्पन्न गरिएका छन् ।
    सिँचाइ कुलो निर्माण एवं मर्मत सुधार तथा नदी नियन्त्रण लगायतका कार्य सम्पन्न गर्न गत आर्थिक वर्षमा कूल १३ करोड पाँच लाख रुपैयाँ बजेट खर्च भएको डिभिजन प्रमुख भुर्तेलले जानकारी दिए । उपभोक्ता समितिले जिम्मा पाएको प्राय सिँचाइ योजना निर्माण सम्पन्न भइसकेको र टेण्डर गरिएका काम भने विविध कारणले अगाडि बढ्न नसकेको प्राविधिकले बताएका छन् ।
    रसुवाको दक्षिणी भेकस्थित कालिका गाउँपालिका क्षेत्रभित्र अवस्थित जीवजिवेको आसपासमा पर्ने भदौरे गाउँ क्षेत्रमा निर्माण गरिएको नमूना थोपा सिँचाइ आयोजनाबाट ३५० रोपनी जमिनमा सिँचाइ सुविधा पुगेको छ । पाखोवारीलाई खेतमा रूपान्तरण गर्दै वर्षायाममा सौरेनी मूलको पानीबाट धान रोपाइँ गराउने र धाराबाट खेर जाने पानीलाई ट्याङ्कीमा संकलन गरी हिउँद याममा तरकारी उत्पादन गरिँदै आएको छ ।
    पानीको स्रोत नहुँदा बाँझो बस्ने जमिनलाई थोपा सिँचाइको अवधारणा ल्याई  २०७४ सालबाट क्रमागत रूपले निर्माण भएको भदौरे नामक थोपा सिँचाइ योजनाबाट ३५० घर परिवार लाभान्वित भएको बताइएको छ ।
अधिकांश समय बाँझो रहने जमिनमा गरिएको सिँचाइको व्यवस्थापनले मङ्सिरमा धान काट्ने र हिउँ याममा रोपिएका विभिन्न प्रकारका तरकारी टिप्न पाउँदा स्थानीय किसान खुशी भएका छन् । भदौरे थोपा सिँचाइ योजना देशकै नमूना बन्दै गएको सिँचाइसँग सम्बन्धित प्राविधिकले बताएका छन् ।

झकिझकाउ झिल्टुङ

नियात्रा

सिमसिम... सिमसिम... सिमसिम...।  परिरह्यो पानी । एकाबिहानैदेखि पानी दर्किन थालेपछि मन कस्तो कस्तो भो । बिरसिलो–ओसिलो । हो, एकदमै कस्तो खिन्न–खिन्न, नमिठो । अँध्यारो भयो छाती ।
    जानु छ पहाडतिर । पानी झन्–झन् चम्केर दर्केपछि लम्केका खुट्टा थच्चेलान् झैँ भए । पखेटा हालेर उडुँ–उडुँ भएको मन थन्किन पो खोज्यो ।
    लौ, पानीले बित्यास पार्ने भो । के पो गर्ने होला ? गड्याम्म ! बिजुली पनि दह्रैसँगै चम्कियो । बिहानको ५ बजेदेखि सिमसिमाएको झरी अब त उर्ली–उर्ली दर्किन थाल्यो । अरगज्ज परेर बसेको छु म– एउटा कुनामा टोलाई–टोलाई । खाटको अर्को कुनोमा मोजा, रुमाल, चस्मा र डायरी छन् ।
    “आज तिमेरलाई बोक्न जुर्ला जस्तो छैन !” खाटमा थपक्क बसेका ती सरसामान हेर्दै बोल्छु म । फेरि झ्याल खोल्छु, हात थाप्छु– अकासे पानीले हात धुन्छु । अकाशको मल्याकमिलिक उस्तै छ बेतोडले चम्किरहेको । झ्याल लाउँछु । अहिले त हावा पनि मिसिए छ, बाक्लिएको पानीमा ।“लु केटा आज जवाइ हुँदैन !” हावापानी झम्की–झम्की पर्न थाल्यो । “मच्यो–मच्यो, थच्चियो भयो केटा !” आफैँलाई लोप्पा खुवाएँ ।
०००
    असारको पहिलो साता, २०८० ।
    काठमाडौँ छोडेर धादिङ लाग्दा पनि पानी परिरहेकै थियो । मेरा जुत्ता, कुइनो, बाहुला सबै ल्याफल्याफी भिजेकै थिए ।
    नागढुङ्गाको नागबेली ओरालीमा भुइँ कुइरोले छोप्ने र उघारो पार्ने गरिरह्यो । पानी उस्ताको उस्तै छ । मलाई सर्लक्क टिपेर बेगिएको मोटर नौबिसेमा आएर रोकियो घ्याच्च । अनि पो मैले आफूसँग आएका साथीहरूको अनुहार मज्जाले पढेँ । मदन नेपाल, बद्री उप्रेती, सुरेश वैद्य र विनोद नेपाल मेरा वरिपरि थिए ।
    पानीमाथि पानी । थोपामाथि थोपा । थोप्लालाई जित्ने फिँज उठिरहेका बाटुला थोप्ला । झरी मात्र भनेर पुग्दैन कि आफ्नो यो असारे पानीलाई । किलिक–किलिक फोटो खिचिरहेका बद्री घरी बलेँसीबाट झरेका मुसलधारेतिर फर्किन्छन्, घरी हामीतिर । बेला–बेलामा अकाश मिलिक्क, बेला–बखत क्यामेराको झिलिक्क ।
   तातो चिया खाँदा मन चैँ चिसचिसै छ ।
    “कतै पहिरो गयो कि ? कतै ढुङ्गा खसेर बाटो छेकियो कि ? कतै भेल उर्लिएर बाटो बगायो कि ?” मनमा चिसो पस्न छोडेन । ओठ डामेको पनि ख्याल गरिन छु– स्टिलको गिलासले । चिया खाइए जस्तो मात्रै भयो नि ! “बद्रीजी, अरू एक कप कडा चिया खाने मन थियो ।” “तपाईं फोटो खिच्नमै व्यस्त । हत्तेरिका, त्यसो नगर्न‘ न,” गुनासो नै गरेँ ।
०००
    “लौ न, झिल्टुङ जाऊँ,” मैले भनेँ विनोदजीलाई ।
    “म नेपालको नालीबेली खोज्न त्यता जानु छ,” उनले भने ।
    “मलाई देवकोटाको केही मेलोमेसो बुझ्नु छ,” आफ्नो रहर पोखेँ ।
    झन्डै दुई हप्ता अगाडि बरालसिङ हुँदै गर्दा विनोदजी र मेरो कुरा भएथे । झिल्टुङ पुग्ने योजना धेरै खेप भए पनि मौका मिलेकै थिएन कत्ति नि । “ल, म मौका मिलाउँछु । जाउँला, पक्का–पक्की भो ।” विनोदजी र म त्यसपछि छुटेका थियौँ । अनि हिजै बेलुकी भनेथे– “७ बजे तल मूलबाटोमा झर्न“ । तपाईंलाई टिपेर हामी हुइँकिन्छौँ ।”
    उनले भनेकै समयमा राजमार्गमा पुग्दा घरछेउबाट टिपे, टपक्कै । अनि गल्छी पुगेथ्यौँ । “कलङ्की कट्यौँ है । चाँडो झर्न‘ ।” उनले फोनमा खेदेपछि म पनि चस्मा, मोजा, रुमाल र डायरी जिप्टाएर हुइँकिएको थिएँ । बाटैभरि झरी उस्तै थियो । कन्चट, कुइनेटो, किलकिलेमा पानीको धारो चर्कै थियो । अनि मोटरभित्र पसेको थिएँ । त्यसपछि साथी भयो धमिलो त्रिशूली खोला । उर्ली–उर्ली बगेको खोलाछेउको बाटोमा तुफानी दौड भइरह्यो । त्रिशूली र अकासे पानीको ठुङ हनाइ कत्ति नि घटेन । सुरेश र बद्रीको घोचपेच । मदन र विनोदको वंश केलाई–कुलाई । म परेँ तिनको कटुवाल । सुन्ने र नियाँनिसाफ छुट्याउने ।
०००
बाटो चुहिएर उत्तर लागेपछि अघि देखेभन्दा हरियोपरियो झन् थपियो । खेत, रुखबिरुवा, पाखोबारी सबै हरियालीले सिँगारिएथे ।
    महेश खोला भेटिएपछि बाटो तेर्छो भयो । फेरि केही दगुरेलगत्तै कोल्पु खोला भेटियो । त्यसउता रहेछ नुवाकोट । हामी गइरहेछौँ धादिङ नाघेर । “यो कोल्पु खोला,” मदनले चिनाए । काठमाडौँबाट कोड्कु नाउँ लिएर हिँडे पनि यहाँ आइपुग्दा कोल्पु भएछ यो खोला ।
    उकालो भएर हामी ठुलो समथर, उज्यालो, मलिलो टारबस्तीमा पुग्यौँ । यही थियो– झिल्टुङ । मोटर एकातिर थन्काएर हामी छेवैको भातभान्सा पाकेको ठामथलोतिर लाग्यौँ । फेरि चिया सुरुप्प पार्यौँ ।    
    “अब त मन पनि तातो होला,” बद्रीले सुनाए । “मौसम सुध्रेपछि सबै तातो हुन्छ,” मैले थपेँ ।
०००
विनोदले रहर पोखे– यता कतै नेपाल थरको पूजा गर्ने थान छ भन्ने सुनेथेँ । मदनले अघि लाएपछि हामी त्रिशूली खोलातिर झ¥यौँ । बर्खा, सिमसिमे पानी, जुका र भ्यात्लुङको बिगबिगी, सर्पको त्रास त्यत्तिकै । बाटो देखाउन गएका केदार नेपालले बखाने– नेपाल महात्म्य ।
    ओरालो र जङ्गलको सेपिलो चेप भएर गढतिर पुगियो । नेपालहरूको देवीथान रहेछ यो । बर्खे त्रिशूलीको गर्जन सुनेर मन भयो अर्कै–अर्कै । उर्ली–उर्ली बगेको त्रिशूलीसँग सबै खाले शक्ति थियो । त्यतिखेर हाम्रा आँखासँग त्यो नदीको नाच, भूमरी, उत्तुङ्ग छाल र अथाह गुजुल्टा बुझ्ने ल्याकत थिएन कत्ति पनि । एउटै त्रिशूलीका हजार ज्ञान, कला, सङ्गीत र रङको पूmर्तिफार्ती थियो । हामी अवोध तुजुगविहीन उभिइरहेथ्यौँ– बगरका ढुङ्गा गन्दै ।
०००
    गएकै बाटो फर्किंदा पनि पानी सिमसिमाउन छोडेन । भात थपी–थपी खायौँ । “यो सिमी कहाँको ? दाल नि ? गोरख नि ? घ्यू चैँ गाउँकै होला नि ?” सुरेश सोध्दै थिए । मदन र बद्री जोगाइरहेथे– “हो, यतैको–यतैको ।” मैले डल्ले खुर्सानी करक्क टोकेर भनेँ– “यो अकबरे होइन । यसको स्वाद हाम्रो पहाडको जस्तो छैन । एक थोपो छैन ।” “सबैतिर छासमिसे छ । रैथाने र विकासेको घोलघाल भइसक्यो । काँबाट पाउनु त्यो तिख्खर स्वाद त,” विनोदले कुरो मिलाए ।
०००
    महाकवि देवकोटाले झिल्टुङ बयान गरेका छन्– कुञ्जिनी र पहाडी जीवनमा । यै उनको वृत्तान्तले गरेको रसमा तानिएर म यो भेग डुल्न खोजेको हुँ । त्यसो त कोल्पु बिर्ता रहेछ– नेपालहरूको । कुनै बेलाको झिल्टुङ पञ्चायत, दुई पिपल गाउँ विकास समिति भएर अहिले थन्केको छ– बेलकोटगढी नगरपालिकामा ।
    नाउँको फेरफार जतिसुकै भए पनि झिल्टुङले दिने स्वाद, छाप र प्रभाव आजको झालेमाले उच्चारणले कहाँ दिन सक्छ र ? झिल्टुङसँग जे जति इतिहास, गौरव र आनन्दी छ– आज तोकिएको नाउँले त्यति उम्दा रस दिन नसक्दो हो ।
    कोल्पुटारमै अघि झिल्टुङ कथा निकै सुनियो ।
    “कोटमा दसैँको जमरा राख्दा भव्य पूजा गरिन्छ । त्यो बेला कोटघरमा बजाइने बाजागाजा पारिको बुधसिंह गाउँमा झ्याइँटुङ... झ्याइँटुङ... सुनिन्थ्यो । बुधसिंहकाले झ्याइँटुङ बज्ने गाउँ भन्दाभन्दै झिल्टुङ भएको हो,” केदारले भनेथे । “झिल्केश्वर महादेव छन् खड्का छापमा । तिनै झिल्केश्वरलाई सम्मान गर्दै बोलिँदा–भनिँदा पछि झिल्टुङ भनिन थालियो । अनि यो ठाउँको नामै झिल्टुङ हुन गयो,” नारायण नेपालले अरू थपे ।
    “ऊ बेला अलिक जालझेल गरेर यहाँका ठुलाबडाबाट गाउँलेलाई सताइन्थ्यो । पर–परकाले त्यहाँ न्यायनिसाफ गर्दा बढी झेल गर्ने भएकाले ‘झेली टुङ’ भन्दाभन्दै झिल्टुङ पनि भएको हो भन्छन् पाकाहरू,” गोकर्ण नेपालले सुनाएथे । तीन चक्के कुदेको कुदेकै छ । गाउँ–गाउँ भएर गइरहेका छौँ हामी ।
०००
मकै कतै सुत्लाएका, कतै छिप्पिएका र कतै धानचमरा हालेका सङ्केत देखिए । निकै माथि पुगेपछि बदामका चार÷पाँच पाते लहलहाएका गरा नाघ्न लाग्दा तीन चक्के रोकियो ।
    त्रिशूलीको ‘कान्छी बदाम’ भनेर कहलिएको भए पनि अचेल त्यसको रोपराप गर्ने चलन कम भएछ । हामी दिउरेनी, अँधेरी खोला, तीन सल्ले भएर लामाचौर पुगे छौंँ । विनोदजी र म एकै टेम्पोमा परे छौँ । उनी हरेक घर नेपालका होलान् भनी अड्कल काट्थे ।
    “यो घरमा देवकोटा बसेथे कि ?” म भन्थेँ ।
    माझगाउँ नाघेपछि डबली पुगियो । भन्ज्याङ जस्तो यो बस्तीमा नेवारहरू बाक्लै थिए । डबलीमा उक्लेर वरपर हेर्दा त्रिशूली नदीको अद्भूत सुन्दरताले छाती उफ्रियो बुद्रुकबुद्रुक । त्यहीँबाट बुधसिंह, देवीथान, महादेवफाँट, कोतघर, तारुका, खड्काभन्ज्याङ, बाङ्गेबेँसी बसिरह्यो आँखामा । डबलीमा लाखे नाच र गाईजात्रा उल्कैको हुने गोकर्णले सुनाएथे ।
    ओहो ! त्रिशूली नदीले बनाएका चित्र–विचित्र कति हेर्नु ? बस्तीहरू, वनपाखा र खोँचसँगै तरेली–तरेली खेतको सुन्दरताले आँखा रोकिइरहे टक्क–टक्क । उत्तर, पूर्व र पश्चिमतिरका अनेकौँ गाउँघरका झुरुप्प–झुरुप्प सौन्दर्यसँगै पसिना लहलहाएका फाँट र पखेरामा थामिन्छन् ढुकढुकीहरू । घिमिरेथोकपछि हामी पुगेका थियौँ– नेपालथोक । हामी करेसा छेवैको उकालो गोरेटो भएर माथि बस्ती पुग्यौँ । त्यहाँ नेपाल थरका समुदायका निम्ति फूलबारी, पानीट्याङ्की, पुस्तकालयसहित ठडिँदै थियो भव्य भवन । काम गर्ने जोशिला युवा थिए । अरनखटन गर्ने पाकाको हुल नि त्यत्तिकै ।
    त्यहीँनेर भेटिएका नारायण नेपालले झिल्टुङका धेरै कथा सुनाए । “विव्रmम संवत् १८६० तिर काजी बहादुर भण्डारीले यो बिर्ता पाएथे झिल्टुङ । उनी धनकुटा गौँडाका पहिलो प्रशासक थिए । १८७१–७२ को अङ्ग्रेजसँगको युद्धमा उनले मोरङमा मोर्चा सम्हालेका थिए ।” नारायण बोलिरहेका थिए– “१९०३ को कोतपर्वमा उनका छोरा बखत भण्डारी मारिए । २०१७ मा उनैका सन्तान ललितजङ्ग भण्डारी झिल्टुङ पञ्चायतका पहिलो प्रधानपञ्च भए । त्यो कोतको मौलो अहिलेसम्म सम्हाल्दै छन् विनोदजङ्ग भण्डारीले ।”
    मैले नेपालथोकबाट सरर्र चारैतिर हेरेँ । धानका रोपो लहलहाएका हरिया गराले झकिझकाउ झिल्टुङ औधी मोहक देखिन्थ्यो । ४४–४५ घर नेपालका र अधिकारी, दुलाल गरी अन्य थरको बसोबास भएको सुनाए । कोल्पुटारभित्रै झिल्टुङ पर्ने भएकाले कतै झिल्टुङ त, कतै कोल्पुटारको नाउँ अघिपछि भएको मैले ठानेँ । मेरा छेवैमा उभिएका द्वारिका नेपालले तीनघरे, टोड्के, डुम्रेचौर, कलेटार चिनाए । त्यहाँ रहेका टाँडे घर, माटे घर र दुई पाखे घरले पहाडी उज्यालो र चमकलाई अझै बचाएको देखिरहेथेँ म । “लौ है हेर्न र घुम्न अरू नि छ,” मदन नेपाल कड्किए ।
०००
    “झरौँ–झरौँ,” सबै यसै भन्दै झ–यौँ । अघि माधव नेपालको घर–सियाँलमा उभिएर मैले पानी खाएँ ।
एउटा काँक्रो चिरा खाएर ओरालो झरेँ । बाटो पश्चिम झिल्टुङ नेपाल समाजको पाटी टाँगिएको लामो पुरानो घर देखियो ।
    त्यसमै अडेसिएर हामीले फोटो खिच्यौँ पालैसान्ति । नेपाल थरका समुदायले मन्दिर बनाएको र कुलदेवताको पूजा गर्ने मुख्य थलो नि यहीँ रहेछ । सबै कुरा थाहा पाएरै विनोद नेपालको अनुहार उज्यालिएको म पाइरहेथेँ ।
०००
फेरि डबलीतिर हामी फक्र्यौं । अब खड्काछाप पुग्नु थियो । द्वारिकाले भनेको सम्झिरहेको थिएँ– “पहिला खुबै दुःख थियो पानीको । यहाँ सबै रातो छ– माटो नि, पानी नि । हामी त खोलाकै पानी खान्थ्यौँ । भातै रातो हुन्थ्यो ।”
    कोल्पुमा गहत, बदाम, मकै, मास उल्कै उत्पादन हुने रै’छ तर मधेशबाट ल्याएको बदामलाई रातो माटो दलेर त्रिशूलीको ‘कान्छी बदाम’ भनेर बेच्न थालेपछि यहाँको रैथाने बदाम ओझेलिएको नारायणले भनेको म सम्झिरहेथेँ ।      मदनले अघि भनेथे– “बयर घारीले छपक्कै थियो झिल्टुङ । अचेल त त्यो घारी काँ पुग्यो काँ ?” जङ्गलमा काला पुतली र राता कमिलाले बनाएका गुँड हेर्दै हामी हुइँकिरहेथ्यौँ । मगर र कुँवरको समेत निकै बसोबास रहेछ झिल्टुङमा । पुरकोट आएपछि तीन चक्केहरू उकालिन गाह्रो माने । गोकर्णले बाटोका ढुङ्गा मिलाएर उकालोमा ठेले, हिलो माटो सम्याए– अनि तीन चक्के नकुदेर धरै पाएनन् । “लामिछाने नि यता बेस्सरी छन् है,” द्वारिकाले थपेथे ।
    केरा र मकै खुबै हुने रैछ कोल्पुटारमा । गुह्येपिपलबाट हामी खड्काछापतिर लाग्दा पानी सिमसिमाउने र घाम चर्किने दुवै कुरा भयो । ‘कोटथोक’ निकै सुन्दर गाउँ थियो । डाँडाको लमतन्ने टारमा बसेको बस्तीका घरलाई मकैबारीले घ्वाप्प छोपेका थिए । जताततै पानीका भँगाला दगुरेका लाग्थे ।
    नारायणले भने– “२०७२ सालको भुइँचालोले पानीका मुहान सुके । गाउँले पानी खोज्दै तल बेँसी सरे । अहिले त्यहीँ छङछङ पानी आएको छ तर घर रित्ता छन् । मान्छेलाई के गरी आफ्ना आँगन टेकाउने होला ? घरका ताल्चा फोर्ने के गरी होला ?” ढुङ्गा छापिएको सरर्र बाटो भएर हामी गयौँ । अब महाकवि देवकोटा वास बसेको घरमा पुग्नु छ ।
    हामी गुडिरहेको बाटोको नाउँ थियो– महाकवि देवकोटा मार्ग । फूलको थुँगा भएर उज्यालिएथ्यो हृदय । शरीरमा एउटा नौलो हर्ष कुदिरहेथ्यो । अहिले म गइरहेको महाकवि मार्गमा कुनै बेला महाकवि आफैँ हिँडेका थिए । समयसँग कति ठुलो इमान र त्याग हुँदो रहेछ । अहिले श्रद्धाका पाइला र त्यो बेला सत्यको शरीर हिँडेको थियो– यो गोरेटोमा ।– गोरखापत्र

आईटी सेवा निर्यातबाट ६७ अर्ब आम्दानी

काठमाडौँ । नेपालमै बसेर विदेशीलाई सूचना प्रविधि सेवा निर्यात गरिरहेका करिब साढे ६६ हजार आईटी जनशक्तिमार्फत वार्षिक ६७ अर्ब रुपैयाँभन्दा बढी आम्दानी भइरहेको एक अध्ययनले देखाएको छ । यसबाट नेपालको द्रुत आर्थिक विकासमा सूचना प्रविधिले महत्वपूर्ण योगदान पु-याउन सक्ने देखिएको छ ।
    इन्स्टिच्युट फर इन्टिग्रेटेड डेभलपमेन्ट स्टडिज (आईआईडीएस) ले गरेको एक अध्ययनले नेपालमा आईटी क्षेत्रले वार्षिक ६७ अर्ब ४६ करोड ५० लाख रुपैयाँ (५१५ मिलियन डलर) आम्दानी गरिरहेको देखाएको छ । उक्त अध्ययनका आधारमा सन् २०२२ मा सूचना प्रविधि सेवा निर्यातबाट देशको कुल गार्हस्थ्य उत्पादनमा १.४ र वैदेशिक लगानी सञ्चितिमा ५.५ प्रतिशत योगदान देखिएको छ । पर्यटन, जलविद्युत्, विप्रेषणसँगै आईटी सेवा निर्यातले पनि नेपालको जीडीपी, विदेशी मुद्रा सञ्चिति र समग्र आर्थिक विकासमा महत्त्वपूर्ण योगदान पु-याइरहेको आईआईडीएस अध्ययनको निष्कर्ष छ ।
    ‘नेपालबाट आईटी सेवा निर्यातको लगभग ५१५ मिलियन डलर मूल्यांकन गरिएको छ,’ आईआईडीएसले गएको सोमबार सार्वजनिक गरेको नेपालमा सूचना प्रविधिको समग्र अवस्था र सेवा निर्यातसम्बन्धी प्रतिवेदनमा भनिएको छ, ‘आईटी सेवा निर्यातबाट भएको आम्दानी अघिल्लो वर्षको तुलनामा सन् २०२२ मा ६४.२ प्रतिशतले वृद्धि भएको देखिन्छ ।’ उक्त प्रतिवेदनले सन् २०२२ सम्म नेपालमा ७ हजार ६३७ वटा आईटी कम्पनीमध्ये १०६ वटाले सेवा निर्यात गर्ने र यसमा १४ हजार ७२८ फ्रिलान्सरसहित ६६ हजार ५०९ जना आईटीसम्बन्धी काम गर्ने जनशक्ति छ ।
    ‘आईटी क्षेत्रमा भइरहेको तीव्र आम्दानीले अन्तर्राष्ट्रिय बजारमा उच्च गुणस्तरको सेवा प्रदान गर्न नेपाली जनशक्ति सक्षम रहेको पुष्टि गर्छ,’ प्रतिवेदनमा भनिएको छ । नेपालबाट निर्यात हुने आईटी सेवाहरूमा प्रोग्रामिङ, कोडिङ, डिजाइनिङ, सफ्टवेयर डेभलपमेन्ट र टेस्टिङ मुख्य छन् । नेपाली कम्पनीमध्ये ७८ प्रतिशतले प्रोजेक्टमा आधारित काम पाउने गरेका छन् । ७७.८ प्रतिशत नेपाली कम्पनीले अमेरिकाबाट काम लिइरहेका छन् । हाल जापान, संयुक्त अरब इमिरेट्स र दक्षिण कोरियाबाट पनि नेपाली आईटी कम्पनी तथा फ्रिलान्सरलाई कामको अवसर आउने गरेको आईआईडीएसकी कन्सल्टेन्ट अमृता शर्माले बताइन् ।

वनदेवीको गुरुयोजना तयार, पाँच करोड खर्च हुने

 वनदेवीको गुरुयोजना

विदुर । नुवाकोटको प्रमुख धार्मिकस्थलमध्येको विदुर नगरपालिका–२ मा रहेको वनदेवी मन्दिर परिसरमा हरियाली पार्क निर्माणका गुरुयोजना तयार भएको छ ।  
    सहरी विकास मन्त्रालय भवन शाखा नुवाकोटले वनदेवी क्षेत्रलाई समेटेर हरियाली पार्कका लागि गुरुयोजना तयार गरिदिएको हो । गुरुयोजनाअनुसार करिब पाँच करोड रुपैयाँ पार्क निर्माण गर्न खर्च हुने बताइएको छ । वनदेवी हरियाली पार्क निर्माणका लागि आवश्यक स्रोत जुटाउन नगरपालिका र वडा कार्यालय सक्रिय भइरहेका छन् । उक्त पार्क बनाउन संसद् क्षेत्र विकास कार्यक्रमको पाँच करोड बजेटमध्ये प्रतिनिधिसभा क्षेत्र नं. २ का सांसद एवम् नेपाली काँग्रेसका नेता अर्ज‘ननरसिंह केसीले एक करोड दिने प्रतिबद्धता जनाएको वडाध्यक्ष दीपक कायस्थले जानकराी दिएका छन् ।
    चालू आव ०८०/८१ को संसद् क्षेत्र विकास कार्यक्रमको पाँच करोड बजेटमध्ये पूर्वाधार विकास कार्यक्रमअन्तर्गत एक करोड रुपैयाँको वनदेवी मन्दिरमा हरियाली पार्क निर्माणका लागि राख्ने प्रतिबद्धता जनाएका हुन् । पार्क निर्माणका लागि एक करोड रुपैयाँको स्रोत सुनिश्चित भएको छ । सहरी विकास मन्त्रालयले हरियाली पार्कको रूपमा विकास गर्नका लागि गुरुयोजना तयार पारे पनि त्यस योजनाअनुसारको काम सम्पन्न गर्न स्रोत जुटाउनका लागि वनदेवी मन्दिरप्रति चासो राख्ने विदुरका स्थानीयले सांसद केसीको ध्यानाकर्षण गराएका थिए । प्रतिनिधिसभाका सांसदले आफ्नो क्षेत्रका बढीमा पाँचवटा योजनाका लागि पाँच करोड रुपैयाँ खर्च गर्न पाउने प्रावधान रहेको छ । सोही प्रावधानअनुसार सांसद केसीले पाँच करोडमध्येबाट एक करोड रुपैयाँ वनदेवी क्षेत्रका लागि खर्च गर्ने भएका हुन् । थप स्रोतका लागि मन्त्रालयमा पहल गर्नेसमेत नेता केसीले बताए ।

‘सम्झनामा जीतसिंह खड्का’ सार्वजनिक

 ‘सम्झनामा जीतसिंह खड्का’ सार्वजनिक

काठमाडौं । पूर्वमन्त्री एवं नुवाकोटका पञ्चायतकालीन नेता जीतसिंह खड्काको स्मृतिमा लेखिएको कृति ‘सम्झनामा जीतसिंह खड्का’ सार्वजनिक भएको छ । राप्रपाका पूर्वअध्यक्ष एवं सांसद पशुपति शमशेर राणाले शनिबार पुस्तक विमोचन गरेका हुन् ।
    पुस्तक विमोचन गर्दै सांसद राणाले स्व. जीतसिंह खड्का निष्ठावान नेता भएको बताएका थिए । ‘उहाँसँग म पनि सँगै राजनीतिमा हिँडेको व्यक्ति हुँ,’ राणाले भने, ‘छातीमा हात राखेर भन्नुपर्दा उनीजस्तो निष्ठावान नेता पाइन्न ।’
    यस्तै सोही कार्यक्रममा नेकपा माओवादी केन्द्रका सांसद हितबहादुर तामाङले जीतसिंह खड्का साधारण जीवनशैलीको नेता भएको र उनी पञ्चायतका अन्य नेताभन्दा पृथक् रहेको प्रतिक्रिया दिए । ‘उहाँ पञ्चहरूको बारेमा हामीले सुनेको भन्दा फरक खालको नेता थिए । मान्छेले कुन राजनीतिक प्रणालीलाई अवलम्बन गर्छ भन्ने महत्वपूर्ण कुरा हो । त्यसबाहेक राष्ट्रलाई हेर्ने दृष्टिकोण, जनतालाई हेर्ने दृष्टिकोण र विकास निर्माणको सवालमा हेर्ने दृष्टिकोण र जनतासँग कस्तो व्यवहार गर्छ भन्ने महत्वपूर्ण हुन्छ,’ सांसद तामाङले भने ।
    स्वर्गिय नेता खड्कामाथि लेखिएको उक्त पुस्तकमा राष्ट्रकवि स्वर्गिय माधवप्रसाद घिमिरे, लेखक तथा राजनीतिज्ञहरू राजेश्वर देवकोटा, मोहनविक्रम सिंह लगायत ३७ जनाले उनको व्यक्तित्वमाथि चर्चा गरेको पाइन्छ ।

पुस्तकको कभर

त्यो जनयुद्ध र यो भ्रष्टाचार

– जानुका धमला
जनयुद्धताका पनि यदाकदा साना रकम भ्रष्टाचार भएको समीक्षा बैठकहरूमा सुनिन्थ्यो । भ्रष्टाचार तथा कुनै कसुर प्रमाणित भएमा श्रम शिविरमा पठाइन्थ्यो । नियम, अनुशासन कडा थियो । मर्न हिँडेको मान्छेलाई किन चाहियो निजी सम्पत्ति ? लहानको बंैक कब्जापछि ४ दिन ४ रात पैसाको भारी बोकेर हिँड्दा नै थाहा भएको हो बजारमा किन्ने सामान नहुँदा पैसाको मात्रै केही महत्व हुँदैन भनेर ।
    महिनामा मसलन्दबापत दिइने १५० रूपैयाँ पनि कहिलेकाहीँ सकिएको हुँदैनथ्यो हामीसँग । लगाउने कपडा पार्टीले किनिदिएको हुन्थ्यो । खान जनताले दिन्थे । खर्च चाहिने भनेको साबुन, ब्रस, मञ्जन र भित्री वस्त्रका लागि मात्रै थियो । त्यो पनि कहिलेकाहीँ बढी भएर पार्टीलाई नै फिर्ता दिने गरेका थियौँ ।
    सामूहिक जीवन, सामूहिक खानपान, सामूहिक बसाइ, एक प्रकार समाजवादको अनुभूति हुने गथ्र्यो जनयुद्धमा । यहाँ जात, धर्म, भाषा, संस्कार, संस्कृति वा कसैको बारेमा टिप्पणी हँुदैनथ्यो । अहिलेको समाजभन्दा मैले युद्धमा भोगेको समाज निकै उत्कृष्ट र चेतनशील र परिवर्तनशील थियो ।
    रामबहादुर थापा बादल र टोपबहादुर रायमाझीले आफ्नो स्वार्थका लागि कित्ता नै परिवर्तन गर्न‘को कारण नीतिगत भ्रष्टाचार गर्दा पनि कारवाही हुँदैन भन्ने सोच पो रहेछ । आफ्नो देशको नागरिकलाई अनागरिक बनाएर अमेरिका पठाउने र अर्बौंको मालिक बन्ने सपना देखेका टोपबहादुर, बालकृष्णहरू अनि आयल निगमको भ्रष्टाचार र ललिता निवास काण्डको छानबिन प्रक्रिया शुरु हुनु, भ्रष्टाचारी जेल चलान हुनुले पनि जनतामा केही आशा पलाएको छ । जबसम्म भ्रष्टाचार मौलाउँछ, तबसम्म देश विकासको सम्भावना न्यून हुन्छ । भ्रष्टाचारीको फाइल खोल्ने प्रसंगमा प्रचण्ड एक कदम अगाडि छन् । कसैले गर्न नचाहेको कामको शुरुवात गर्न‘ एक कदम अगाडि हुनु हो ।
    प्रचण्ड आजकल बल्ल प्रचण्डजस्तो देखिएका छन् । जस्तोसुकै चुनौती सामना गर्न तयार हुने प्रचण्ड पछिल्लो दुई दशक संसदीय व्यवस्थामै अल्मलिएजस्तो आभाष भएको थियो । अहिले तेस्रो पटक प्रधानमन्त्री बनेपछि भने फेरि एकपटक जुर्म‘राएका छन् । भ्रष्टाचारजस्तो गम्भीर र संवेदनशील विषयमा प्रवेश गरेर जनतालाई सुशासनको अनुभूति दिलाउन कोसिस गरिरहेका छन् । यसको अर्थ यो पनि हो– प्रचण्ड आफ्नो खुट्टामा आफैंले बञ्चरो पनि प्रहार गरिरहेका छन् । यो उनलाई चुनौती मात्रै होइन महाचुनौती हो । प्रचण्ड यदि सरकारको नेतृत्वबाट बाहिर निस्कँदा भोलि आफूमाथि लाग्ने उस्तै प्रकारका मुद्दाको समेत पर्वाह नगरी भ्रष्टाचारविरुद्धको गतिविधिमा लागिपरेका छन् । उनको कदमलाई गृहमन्त्री नाराणकाजी श्रेण्ठले साथ र एकबद्धता जाहेर गरेर अगाडि बढेका छन् ।
    भ्रष्टाचार दुर्गन्ध हो, जसलाई जो कसैले पनि सधैँ लुकाएर राख्न सक्दैन । विकृति, विसंगति, भ्रष्टाचार, बेथिति र विद्यमान राज्यसत्ताविरुद्ध माओवादी पार्टीले प्रचण्डको नेतृत्वमा ०५२ सालमा जनयुद्ध शुरू ग¥यो । के यसको परिाणम ३ दशकपछि तिनै प्रचण्डको नेतृत्वमा जनताले अनुभूति गर्न पाउँछन् त ? यो आजको यक्षप्रश्न हो ।
  सबैभन्दा बढी देश र राज्यको ढुकुटी रित्याउने भ्रष्टहरूको फाइल खोलेर कारबाही अगाडि बढाउनु सकारात्मक संकेत पक्का हो । प्रचण्डलाई क्यान्टोनमेन्टको हिनामिनाभन्दा अर्काे कुनै भ्रष्टाचारको आरोप लागेको छैन । क्यान्टोनमेन्ट अनमिनसँग जोडिएको विषय हो ।
    निराशाका बादल पक्कै फाटेको छ । यातायात कार्यालयमा घटेका भीड, राहदानी कार्यालयअगाडि मध्यरातदेखिको लाइनको अन्त्य, विद्यार्थीका हात हातमा समयमै पुस्तक, रासायनिक मलबारे राज्यबाट पहलकदमी शुरु हुनु सकारात्मक छ ।
    भ्रष्टाचारी धमाधम जेलचलान हुनु, लोडसेडिङ अन्त्यसँगै विद्युतीय उपकरणमा उपयोगका लागि राज्यको नीति बनेको खण्डमा देशलाई आत्मनिर्भरताको बाटोमा अगाडि बढाउन पक्कै मद्दत पुग्नेछ । गरिब निमुखाहरूका लागि हस्पिटलको बेड थपिने कुराले पनि जनतामा उत्साह थपिएको छ ।

क्रिकेट संघमा फेरि पाठक

बट्टार । नुवाकोट क्रिकेट संघको नयाँ कार्यसमिति चयन भएको छ । जसमा उपाध्यक्ष र कोषाध्यक्ष पदका लागि निर्वाचन भयो भने अन्य पदहरूमा निर्विरोध निर्वाचित भएको छ । प्रमुख दुई पदमा पुरानै अनुहारसँगै संस्थापक अध्यक्षसहित नयाँ कार्य समिति निर्वाचित भएको छ । आईतबार बट्टारमा भएको संघको चौथो अधिवेशनले अध्यक्षमा दुर्गाराज पाठकलाई पुनः अध्यक्षमा सर्वसम्मत चुनेको छ । पाठक नेपाल क्रिकेट संघ (क्यान) को केन्द्रीय कार्यबाहक सचिव हुन् ।
    अधिवेशनमा उपाध्यक्ष र कोषाध्यक्षबाहेक सबै पदमा सर्वसम्मत भएको थियो । उपाध्यक्ष पदमा विष्णु प्याकुरेलले बिनोद श्रेष्ठलाई ७ मतान्तरले हराउँदै विजयी भएका हुन् । प्याकुरेलले १२ मत र श्रेष्ठले ५ मत प्राप्त गरेका छन् । सचिवमा करण खतिवडा सर्वसम्मत निर्वाचित भएका छन् ।
    त्यस्तै, कोषाध्यक्ष पदमा राजेन्द्र पनेरुले विराटमानसिंह डंगोललाई ८ मतान्तरले हराउँदै विजयी भएका हुन् । पनेरुले १२ मत र डंगोलले ४ मत प्राप्त गरेका छन् । यस्तै, सदस्यहरूमा केशव मिश्र, अनुजमान श्रेष्ठ, रामधन ढकाल, प्रज्जवल सापकोटा, पारस अधिकारी, सुरज सिलवाल, उपेन्द्र भट्टराई र ओमप्रकाश श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका छन् ।

१४ अर्ब २७ करोडको बीमालेख ‘सरेन्डर’

काठमाडौं । अवधी (परिपक्वता) नसकिदैं सरेन्डर गरिने जीवन बीमालेख (लाइफ इन्स्योरेन्स पोलिसी) को संख्या र सरेन्डर रकम बढ्दै गएको छ । पछिल्लो समय पोलिसी सरेन्डर दोहोरो अंकले वृद्धि भएको हो ।
    गत आर्थिक वर्ष २०७९÷८० को असार मसान्तसम्ममा १ लाख ४ हजार ४०६ वटा पोलिसी सरेन्डर भएको छ । जुन, अघिल्लो आर्थिक वर्षको तुलनामा २७.६६ प्रतिशतले बढी हो । गत आवमा ८१ हजार ८६० वटा पोलिसी सरेन्डर भएको थियो । नेपाल बीमा प्राधिकरणले उपलब्ध गराएको तथ्याङ्कले यस्तो देखाएको हो । तथ्याङ्क अनुसार सरेन्डर रकम पनि बढ्दै गएको छ । समीक्षा अवधिमा १४ अर्ब २७ करोड ७५ लाख ८६ हजार रुपैयाँ बराबरको पोलिसी सरेन्डर भएको हो । यो रकम अघिल्लो आवको असार मसान्तसम्मको तुलनामा भने १७.२० प्रतिशतले बढी हो । अघिल्लो आवमा १२ अर्ब १८ करोड ८ लाख १८ हजार रुपैयाँ बराबरको बीमा शुल्क सरेन्डर भएको थियो ।
    आम मानिसले निश्चित अवधी तोकेर जीवन बीमा गर्ने गर्छन् । बीमा कम्पनीले पनि सोही अवधीभर नै सम्बन्धीत बीमितको जोखिम कभर गर्छ ।
    तर, उक्त अवधी नसकिदैं बीमितहरूले पोलिसी बन्द (सरेन्डर) गरेर आफुले पाउनुपर्ने रकम फिर्ता पनि लैजान सक्छन्, जुन प्रवृति पछिल्लो समय बढ्दै गएको कम्पनीहरू बताउछन् । पोलिसी सरेन्डर गर्दा बीमितले तिरेको बीमाशुल्क र पोलिसी सरेन्डर गर्ने मितिसम्मको बोनस रकम एकमुष्ठ बीमितलाई भुक्तानी गरिन्छ । त्यसपछि भने पोलिसी बन्द हुने गरेको छ ।
    बीमा विज्ञका अनुसार बीमा अभिकर्ताहरूले कमिशनको लोभमा बीमा गराउँदा पनि बीमितहरूले बीमालेख त्याग्नेको संख्या बढेको हो । उनले भने,–‘पछिल्लो समय अन्डरराइटिङ राम्रो नगरी र बुझ्दै नबुझी बीमा पोलिसी किनबेच भइरहेको पाइन्छ । त्यसले पनि सरेन्डर गर्ने बढेको छ ।’ बीमा योजनाको बारेमा राम्रोसंग बुझेर आफ्नो आवश्यकता अनुसार बीमालेख खरिद गर्ने अभ्यास नहुँदा पनि सरेडन्डर हुने गरेको ती विज्ञले बताए । बिशेषगरि पछिल्लो समय देखिएको आर्थिक संकटका कारण बीमालेख सरेन्डर बढ्दै गएको सरोकारवालाहरू बताउछन् । पछिल्लो समय आर्थिक संकटका कारण आम मानिसहरूमा आम्दानी प्रभावित भएको छ । बजार महंगी बढेको छ भने क्रय (खरिद) शक्ति घटेको छ । त्यो अवस्थामा कतिपय मानिसहरूले बीमालेख नविरकण गर्न सकेका छैनन् । साथै, आफ्नो आर्थिक समस्या समाधान गर्न बीमालेख सरेन्डर गरेर पैसा लिने गरेको प्राधिकरणका अधिकारीहरू बताउछन् ।
    प्राधिकरणका तथ्याङ्क अनुसार मासिक औसतमा ८ हजार ७०८ वटा पोलिसी सरेन्डर हुने गरेको छ । यो रकममा भने १ अर्ब १८ करोड ९६ लाख रुपैयाँ हुन आउँछ । तथ्याङ्क अनुसार सबैभन्दा धेरै सरेन्डर नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देखिएको छ । गत आवमा कम्पनीको ३२ हजार १२६ वटा पोलिसी सरेन्डर भएको छ ।
    समीक्षा अवधिमा नेपाल लाइफको ४ अर्ब ७८ करोड ८४ लाख ५६ हजार रुपैयाँ बराबरको रकम सरेन्डर भएको हो । कम्पनीको पोलिसी सरेन्डर २०.७६ प्रतिशतले बढेको हो । तर, रकमका आधारमा भने ४.५२ प्रतिशतले घटेको छ । अघिल्ला आवमा कम्पनीको ५ अर्ब १ करोड ५४ लाख ४९ हजार रुपैयाँ बराबरको २६ हजार ६०३ वटा पोलिसी सरेन्डर भएको थियो ।
    दोस्रो स्थानमा भने लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) रहेको छ । गत आवमा कम्पनीको ३ अर्ब ५१ करोड १८ लाख ९५ हजार रुपैयाँ बराबरको २० हजार १८० वटा पोलिसी सरेन्डर भएका छन् । कम्पनीको पोलिसी सरेन्डर अघिल्लो आवको तुलनामा १०४.५० प्रतिशतले वृद्धि भएको हो । यो रकममा भने १९.५८ प्रतिशतले बढोत्तरी देखिएको छ ।
    तेस्रो स्थानमा रहेको राष्ट्रिय बीमा संस्थानको भने १ अर्ब १७ करोड ४२ लाख ९६ हजार रुपैयाँ बराबरको सरेन्डर भएको छ । गत आवमा कम्पनीको १४ हजार ४११ वटा पोलिसी सरेन्डर भएको हो । अघिल्लो आवमा भने कम्पनीको ८५ करोड ५५ लाख ९४ हजार रुपैयाँ बराबरको १६ हजार ९१७ वटा पोलिसी सरेन्डर भएको थियो ।
    यस्तै, गत आवमा नेशनल लाइफको १ अर्ब ४४ करोड २३ लाख रुपैयाँ बराबरको ९ हजार ९ वटा, हिमालयन लाइफको ९३ करोड २१ लाख रुपैयाँ बराबरको ७ हजार ५६८, एशियन लाइफको ४९ करोड ३९ लाख बराबरको ६ हजार ५७९, मेट लाइफको ४२ करोड ७२ लाख बराबरको ४ हजार ४५६ र सूर्यज्योति लाइफको ७७ करोड ४४ लाख बराबरको ३ हजार ६६६ वटा पोलिसी बन्द भएका छन् ।
    गत आवमा रिलायवल नेपाल लाइफको ७ करोड ८८ लाख रुपैयाँ बराबरको १ हजरा ५०८ वटा, सिटिजन लाइफको ११ करोड ८४ लाख बराबरको १ हजार २९५, सानिमा रिलायन्सको १८ करोड ८५ लाख बराबरको १ हजार २२४ वटा र आइएमई लाइफको १० करोड २७ लाख रुपैयाँ बराबरको १ हजार ७१ वटा पोलिसी सरेन्डर भएका प्राधिकरणले जनाएको छ ।
    प्राधिकरणको तथ्याङ्क अनुसार साविकको प्रभु लाइफको १५ करोड ७३ लाख रुपैयाँ बराबरको ६५९ वटा, सन नेपाल लाइफको ४ करोड ८९ लाख बराबरको ४४२ वटा र साविकको महालक्ष्मी लाइफको ३ करोड ५७ लाख रुपैयाँ बराबरको ३१२ वटा पोलिसी सरेन्डर भएको छ ।

२०८० साल भदौ ४ गतेको सम्पादकीय

 घरेलु तरिकाबाटै डेंगु छल्न सकिन्छ
सन् २००४ मा नेपालमा डेंगुको पहिलो रिपोर्ट आएदेखि हालसम्म हज्जारौ डेंगुका बिरामीको रिपोर्ट भएको छ । सन् २०१८ मा डेंगुका बिरामी झन्डै पाँच गुणा बढेको थियो । सन् २०१९ मा यो संख्या १४० गुणा बढी थियो । अहिले देशैभरी डेंगुको संक्रमण बढ्दो छ । अन्य वर्षहरू भन्दा यो वर्ष धेरै गुणले यसको संक्रमण फैलिएको अनुमान छ । केही वर्षदेखि मध्य पहाड र त्यस बाहिर फैलिने क्रम बढेको छ । जलवायु परिवर्तन र हिमाली क्षेत्रमा बढ्दो तापक्रमका कारण लामखुट्टेको वृद्धिदर बढ्दो छ । पृथ्वीको बढ्दो तापक्रम, अनियन्त्रित शहरीकरण, बढ्दो यातायात र लामखुट्टे नियन्त्रण प्रभावकारी हुन नसक्दा डेंगु समतल र पहाडी क्षेत्रहरूमा फैलिएको हुनसक्छ । त्यसैले दिनप्रतिदिन डेंगु ज्वरोका कारण बिरामी हुने दर पनि बढ्दो छ । तसर्थ सरकारले सम्भावित प्रकोपको बारेमा छिटो छरितो सतर्कता अपनाएर र डेंगुको रिपोर्टिङ गर्ने प्रणालीको विकास गरेको छ । तथापि डेंगुको प्रकोपलाई रोक्न सरकार र स्वास्थ्य क्षेत्रको सक्रियता पर्याप्त भने हुन सकेको छैन । भविष्यमा डेंगुको महामारीलाई कम गर्न निदान र स्रोतहरूको उपलब्धता बढाउन तत्काल उपायहरू अपनाउन र जनचेतना फैलाउन पनि आवश्यक छ । तसर्थ यस लेखमार्फ जनचेतना अभिवृद्धि गर्ने जमर्काे गरिएको छ । डेंगु ज्वरो ‘आर्बाेभाइरस’ को कारणले हुन्छ । जुन भाइरस पोथी एडिस एजिप्टाई र एडिस एल्बोपिक्टस लामखुट्टेबाट सर्ने गर्दछ । डेंगु संक्रमित व्यक्तिलाई टोक्दा एडिस एजिप्टाई र एडिस एल्बोपिक्टस लामखुट्टे पनि डेंगु भाइरसबाट संक्रमित हुन्छ । यस लामखुट्टे वर्षाको मौसममा वृद्धि हुन्छ । तर, पानीले भरिएको फूलको भाँडो, प्लाष्टिकको झोला र क्यानमा वर्षैभरि वृद्धि भइरहन्छ । संक्रमित लामखुट्टेको टोकाइले रोग लाग्नसक्छ । तर, डेंगु ज्वरो सीधै एक व्यक्तिबाट अर्काेमा सर्दैन । डेंगु ज्वरोको कारक भाइरसलाई मध्यवर्ती भेक्टरको रुपमा लामखुट्टले एक व्यक्तिबाट अर्को व्यक्तिमा लैजान्छ । मानिसहरूमा डेंगु भाइरसका चार मुख्य सेरोटाइपहरूमा डेन भी– १, डेन भी– २, डेन भी– ३ र डेन भी– ४ हुन्छन् । यीमध्ये कुनै पनि सेरोटाइपको संक्रमणले मानिसहरूमा आजीवन प्रतिरक्षा प्रदान गर्दछ । मनसुनपछिको समयलाई डेंगु भाइरसको उच्च प्रभावित सिजन मानिए पनि नेपालमा प्रि–मनसुन, मनसुन र मनसुनपछिको सिजनमा डेंगु ज्वरोको प्रकोप देखिएको छ ।
    डेंगुको रोकथाम गर्न रोग निम्त्याउने भाइरस बोक्ने लामखुट्टेको नियन्त्रण वा उन्मूलन आवश्यक हुन्छ । लामखुट्टेको टोकाइबाट बच्न लामो पाइन्ट र लामो बाहुला भएको लुगा लगाउनुपर्छ । व्यक्तिगत सुरक्षाको लागि डेंगुको महामारी भएको ठाउँमा जाँदा लामखुट्टे निरोधक स्प्रेहरू प्रयोग गर्नुपर्छ । झूलको प्रयोग गरेर सुत्ने बनी बसाल्नुपर्छ । लामखुट्टेको वृद्धि कम गर्न घर वरिपरि भएका खाल्डाहरू पुर्ने र पानी जम्न दिनु हुँदैन । पानी जम्ने पोखरी तथा खाल्डाहरूमा कीटनाशक विषादी प्रयोग गर्नुपर्छ । लामखुट्टे भगाउने गुण भएका लेमनग्रास वा तुलसी भाँडोमा पनि रोप्न सकिन्छ । यदि बगैंचा छ भने नीमको रुख रोप्न सकिन्छ । सुकेका नीमका पातहरू जलाएर, आफ्नो वरपरको लामखुट्टेलाई भगाउन सकिन्छ ।
    घरेलु विधिबाट पनि डेंगुको उपचारमा सहयोग पुग्छ । मेवाको हरियो पातको रसले रगतमा प्लेटलेटको संख्या बढाउनुका साथै प्रतिरोधात्मक क्षमता पनि बढाउँछ । यसले डेंगुको उपचारमा पनि मद्दत गर्छ । मेवाको पातको रस दुई चम्चा दिनमा तीन पटक ६ घण्टाको अन्तरालमा सेवन गर्नु उपयुक्त हुन्छ । अम्बाको रसमा धेरै पोषक तत्वहरू हुन्छन् । भिटामिन सी प्रशस्त मात्रामा पाइने हुँदा रोग प्रतिरोधात्मक क्षमता बढाउन यसले मद्दत गर्छ । एक कप अम्बाको ताजा रस दिनमा दुई पटक पिउने वा ताजा अम्बा पनि खान सकिन्छ । मेथीको दानामा पनि धेरै पोषक तत्व जस्तै भिटामिन सी, के र फाइबर प्रशस्त पाइन्छ । एक कप तातोपानीमा मेथीको दाना भिजाइ पानी चिसो बनाएर दिनमा दुई पटक पिउँदा डेंगु ज्वरोलाई नियन्त्रण गर्न र रोग प्रतिरोधात्मक क्षमता बढाउन मद्दत गर्दछ । आहारमा रोग प्रतिरोधात्मक क्षमता बढाउने खानेकुराहरू सुन्तला, कागती, अमला, अनार, फर्सी, तीते करेला, लसुन, बदाम, बेसार, दालचिनी, तेजपत्ता, अदुवाको धूलो आदिको सेवन गर्न सकिन्छ ।

२०८० साल भदौ ४ गते । वर्ष:१६ अंक:४२