Monday, August 28, 2023

कुँहिदै सालका काठ र गाडी

जिल्ला बन कार्यालय नुवाकोटमा थन्किएको काठ र गाडी

रोशन बोगटी

विदुर । वन पदैवार सम्बन्धी कसुर तथा मुद्दामा कानूनी उल्झनका कारण समयमै न्यायिक निरुपण तथा छिनोफानो नहुँदा नुवाकोट जिल्लामा लाखौं मूल्यका सालका काठ र ढुवानीका सवारी साधनहरू कुहिने तथा कवाडी बन्दै गएको छ ।
    वन ऐन २०७६ अनुसार वन पैदावार सम्बन्धी मुद्दामा देखिएको क्षेत्राधिकार सम्बन्धी बिरोधाभाषका कारण अनुसन्धान तथा फैसलामा समस्या हुँदा प्रदेश सरकार मातहत रहेको डिभिजन वन कार्यालय नुवाकोटमा दर्तारत वन पैदावार सम्बन्धी मुद्धा लामो समयदेखि थाँती रहेको हो । जसकारकारण कार्यालय परिसरमा रहेको सयौं क्युफिट सालको काठ एवं वन पैदावार कुहिने अवस्थामा रहेको छ भने ढुवानी साधन समेत कवाडी बन्दै गएको हो ।
    वन ऐन २०७६ को दफा ६२ (१) अनुसार एक वर्षसम्म कैद सजाय हुने कसुर तथा मुद्दा प्रदेश सरकार मातहतको डिभिजन वन कार्यालयका अधिकृतले गर्ने भनिएको छ । तर सोही ऐनको दफा ६७ (१) मा सोही प्रकृतिको मुद्दामा नेपाल सरकार मातहतको डिभिजन वन कार्यालयका अधिकृतले गर्ने उल्लेख गरिएकोले क्षेत्राधिकार सम्बन्धी दुविधाका कारण प्रदेश सरकार अन्तर्गत रहेको डिभिजन वन कार्यालय नुवाकोटमा दर्ता भएको वन पैदावार सम्बन्धी अहिले १४ वटा मुद्दाको अनुसन्धान तथा न्यायिक निरुपणमा समस्या भएको हो ।
    सरकारद्धारा सामूदायिक वन फडाँनीलाई नियन्त्रण गर्ने उद्देश्यले करिव दशक अघिदेखि अवैध रुख कटान र सालको काठ ओसारपसारमा पुर्ण रोक लगाएको हो । जससंगै डिभिजन वन कार्यालय नुवाकोटद्धारा बिभिन्न समयमा पक्राउ तथा नियन्त्रणमा लिएका सालका गोलिया र तयारी सहित सयौं क्युफिट काठमा धुलिया लागेको छ । त्यस्तै  मिनिट्रकहरू समेत कवाडी बनेको छ ।
    बन मुद्दामा जोडिएकै कराण सवारी साधनका धनीहरू समेत गाडी छुटाउनका लागि ताकेता गर्ने वा त्यसको प्रक्रियाका बारेमा जानकारी लिन हच्किने गरेका छन् ।

सरकारी सवारी साधनको बढ्दो दुरुपयोग

भोलाराज पौडेल
विदुर । नुवाकोटमा सरकारी सवारी साधनको दुरुपयोग बढ्दो छ । जिल्लास्थित सरकारी कार्यालय र जनप्रतिनिधिहरूले सवारी साधनको दुरुपयोग गरेपछि सरोकारवाला निकाय भने मौन रहेका छन् ।
    जिल्लामा हुने सरकारी सवारी साधनको दुरुपयोग रोक्नको लागि पुर्नसंरचना हुनुभन्दा अघि राजनीतिक दल तथा तीनका भातृ संगठनले अभियान सञ्चालन गर्ने गरेका भएपछि पछिल्लो दश वर्षदेखि यिनीहरू निष्कृय छन् । राजनीतिक दल, भातृ संगठन तथा सामाजिक संघसंस्था निस्क्रि हुनुको मनग्य फाइदा जिल्लाका सरकारी तथा जनप्रतिनिधिहरूले उठाइरहेका छन् ।
    पुर्नसंरचनापछि जिल्लामा १२ वटा स्थानीय तह र ८८ वटा वडा भएको छ । जिल्लाका केही सरकारी कार्यालय हटेपनि सरकारी सवारी साधनको प्रयोग भने बढेको छ । हरेक पालिकामा ३ देखि ५ वटा सम्म चार पांग्रे सवारी साधन छ भने वडा अध्यक्ष र कर्मचारीका लागि मोटरसाइकलको व्यवस्था गरिएको छ । सरकारी सवारी साधनको दुरुपयोग रोक्नको लागि संघीय सरकारले छुट्टै नियम बनाएको छ । तर, यो नियम जिल्लामा लागू भएको पाइँदैन ।
    जिल्लामा सरकारी नम्बर प्लेट भएका सवारी साधन र ईन्धनको चरम दोहन भएको जनगुनासो आएपनि सरोकारवाला र सवारी पास उपलब्ध गराउने प्रशासन कार्यालय तेल हालेर बसेका छन् । व्यक्तिगत काम तथा पारिवारिक सदस्यले उपभोग गर्ने र बजार तथा भट्टी पसल अनि आफन्त कहाँ जानसमेत सरकारी साधनको प्रयोग गरिएको अनेरास्ववियु क्रान्तिकारीका नेता राजेन्द्र पनेरु बताउँछन् । ‘सरकारी सवारी साधनको चरम दुरुपयोगसँगै विदाको समय र घरायसी प्रयोजनमा खर्च हुँदा राज्यको व्ययभार बढेको छ ।’– पनेरुले भने ।
    सरकारी साधन भट्टी पसलसम्म आफन्त बोक्न र रमाइलोको लागि प्रयोग गर्न बन्द हुनुपर्ने उनी बताउँछन् । यसको नियन्त्रणको लागि सम्बन्धित व्यक्तिलाई मात्र सवारी दिने, पासको व्यवस्थापन र बिदाको दिन अनुगमनलाई प्रभावकारी बनाउन सकिने हो भने यसको नियन्त्रण हुने उनको बुझाई छ ।
    सरकारी पदमा रहेकाकालाई काममा सहज होस् भनेर प्रदान गरिएको सवारी साधन आफ्नो सरकारी काममा बाहेक व्यक्तिगत काममा प्रयोग गरेका छन् ।
    सार्वजनिक विदा वा कार्यालय समयभन्दा बाहिर सरकारी सवारी साधन प्रयोग गर्न पाइँदैन । काममा सहजता होस् भन्ने उद्देश्यले विदाको दिनमा पनि अतिआवश्यकका लागि पास बनाई प्रयोग गर्न पाइने व्यवस्था गरिएको छ । तर, पास व्यवस्थापनको कडाई जिल्ला प्रशासन कार्यालयले गर्न सकेको छैन ।
    नुवाकोट आदर्श बहुमुखी क्याम्पसका स्ववियु सभापति रविन दाहाल अहिले मात्र होइन, नुवाकोटमा धेरै पहिलेदेखि दुरुपयोग भइरहेको बताउँछन् । ‘आफन्त ओसार पसार गर्ने विवाह, व्रतबन्धमा प्रयोग भएको पाइन्छ ।’ दाहाल भन्छन्– ‘नियमन गर्नुपर्ने निकायहरूले दुरुपयोग गरिरहेका छन् ।’
उनले अझ मर्मत सम्भारमा धेरै खर्च देखाएर राज्य सम्पत्तिको दुरुपयोग भइरहेको बताए ।
चाहिने भन्दा बढी इन्धन माग गरेर पेट्रोल पम्पसँग विक्री गरेर पकेट खर्चसमेत निकाल्ने कर्मचारी र जनप्रतिनिधिका कारण राज्यको अर्वौ रुपैयाँ दुरुपयोग भएको उनी बताउँछन् । ‘तीन, चार वर्षमा मर्मत खर्च मात्रै सवारी किनेको भन्दा बढी रकम मर्मत मै खर्च भएका उदाहरण पनि छन्’ दाहाल भन्छन्– ‘यसको नियन्त्रणको लागि सचेत गराउँदा एक दुई दिन मात्रै रोकिने र त्यसपछि फेरी उस्तै हुने गरेको छ ।’
    अनुगमन गर्नुपर्ने निकायले नै नियमन नगर्दा समस्या निम्त्याएको उनी बताउँछन् । सरकारी सवारीसाधन कार्यालय समय बाहेक सञ्चालन गर्दा पास भए नभएको अनुगमन गर्ने ट्र«ाफिक प्रहरी अरुसँग परनिर्भर हुँदा पनि समस्या भइरहेको दाहाल बताउँछन् ।
    अनेरास्ववियु नुवाकोटका निवर्तमान अध्यक्ष सत्य रिमाल जिल्लामा बढ्दो सवारी दुरुपयोगलाई रोक्नको लागि सरोकारवाला सबैको अनुगमन आवश्यक रहेको बताउँछन् । अनुगमन र चेकजाँच गर्ने सरकारी निकायले नियमित चेकजाँच गर्ने र सरोकारवालाहरूको खवरदारी नियमित भयो भने मात्रै दुरुपयोग रोक्न सकिने उनले बताए । विद्यार्थी संगठनहरूले एउटा अभियान नै बनाउनुपर्ने उनको सुझाव छ । जनप्रतिनिधिहरूले ‘हामी २४ सै घण्टा जनताको सेवामा’ भन्दै सरकारी साधनको दुरुपयोग भएको उनको बुझाई छ ।
    केही वर्ष अघि अघि एक वर्ष अघि सरकार उच्चस्तरीय तलब सुविधा आयोगले बुझाएको प्रतिवेदनमा सवारी साधनको सुविधा दिने कर्मचारीको संख्या भन्दा ४ गुणा बढि सवारी साधनको उपयोग भएको भन्दै सचेत गराएको थियो । प्रतिवेदन अनुसार सवारी साधन खरिद र प्रयोग सम्बन्धी स्पष्ट मापदण्ड तोक्न नसक्दा सवारीसाधन खरिद र मर्मतमा वार्षिक बजेटको ठूलो रकम दुरुपयोग भइरहेको बताएको थियो । –यो समय डटकमबाट

फरक घटनामा तीनको मृत्यु

विदुर । नुवाकोटमा गत हप्ता भएकाने फरक फरक तीन वटा घटनामा तीन जनाको मृत्यु भएको छ ।
    विदुर नगरपालिका–१० शुभघाटमा जिप दुर्घटना हुँदा गएको सोमवार एक जनाको मृत्यु भएको छ । म्यागङ गाउँपालिकाबाट काठमाडौंतर्फ आइरहेको प्रदेश ०१–०२ झ ६०५६ नम्बरको जिप गल्छी–त्रिशुली–मैलुङ सडक खण्डको शुभघाटमा अनियन्त्रित भई पल्टिएर दुर्घटना हुँदा भरतपुर नगरपालिका–३ पुल्चोकका ५५ वर्षीय होमबहादुर बस्नेतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
    दुर्घटनामा परेका बस्नेत र जिप चालक म्यागङ गाउँपालिका–५ का ३५ वर्षीय जसवीर तामाङलाई जिल्ला अस्पताल त्रिशूलीमा लगेकोमा चिकित्सकले बस्नेतलाई मृत घोषणा गरेका थिए भने चालकको अस्पतालमा उपचार भइरहेको छ । मृतक बस्नेत लेखापरीक्षक थिए । उनी लेखापरीक्षकका रूपमा केही समयदेखि म्यागङका विद्यालयमा अडिट गर्दै आएकोमा गएको सोमबार फर्किंदै थिए । जिपमा बस्नेत र चालक गरी दुई जनामात्रै भएको प्रहरीले जनाएको छ ।
    यसै बीच, मजदुरी काम गर्ने पाँचथरकी एक महिला ककनी गाउँपालिका–१ ठूलो खोलामा मृत फेला परेकी छन् । पाँचथर पौवागाउँपालिका–५ का सन्तोष राईकी श्रीमती मनकुमारी सारुमगर मृत भेटिएको प्रहरीले जनाएको छ । सुतिरहेको अवस्थामा बोलाउँदा नबोलेकी उनलाई उठेर हेर्दा मृत फेला परेपछि राईले प्रहरीमा खबर गरेका थिए । उनको शव पोष्टमार्टमको लागि शिक्षण अस्पताल काठमाडौं लगिएको र त्यसबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका डिएसपी खगेन्द्रबहादुर खड्काले बताएका छन् ।
    उनीहरू ठूलो खोलामा निर्माणाधीन कोल्डस्टोरमा काम गर्दै आएको र सोही भवनको एक कोठामा बस्ने गरेको प्रहरीले जनाएको छ । उक्त कोल्डस्टोर बन्चरेडाँडा ल्यान्डफिल्ड साइटको फोहोर बिसर्जन गर्ने बाटो नजिक र नुवाकोट–काठमाडौं सिमानामा छ ।
    उता, भीरबाट खसेर बेलकोटगढी नगरपालिका–१० मैदानटोलका एक स्थानीयको मृत्यु भएको छ । गएको आइतबार अपराह्न ६५ वर्षीय स्थानीय कोपबहादुर सुनार आफ्नो घरदेखि करिब २ सय मिटर तल रुखको छहारीमा बसिरहेको अवस्थामा अचानक भीरबाट खसेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका डिएसपी खगेन्द्रबहादुर खड्काले बताए ।

वडा कार्यालयमा आगलागी

बुङताङ । म्यागङ गाउँपालिका वडा नम्बर २ को बुङताङस्थित कार्यालयमा आगलागी भएको छ ।
    गएको शनिबार राति आगलागी हुँदा वडा कार्यालयभित्र रहेका दुई थान कम्प्युटर, प्रिन्टर, सम्पूर्ण कागजपत्र, दराज, कुर्सी, सोफा, छाप, दलिनसमेत गरी चार लाख ३१ हजार बराबरको क्षति भएको नुवाकोट जिल्ला प्रहरी कार्यालका डीएसपी खगेन्द्रबहादुर खड्काले बताए । आगलागी के कति कारणले भएको हो भन्ने सम्बन्धमा अनुसन्धान भइरहेको डीएसपी खड्काले बताए ।

गोसाइँकुण्ड मेलाका लागि खाद्यान्न ढुवानी

 मेलाका लागि खाद्यान्न ढुवानी

रसुवा । गोसाइँकुण्ड पुग्ने भक्तजनलाई भोजनको व्यवस्था मिलाउन खाद्यान्न ढुवानी गरिएको छ । साथै यात्रीको आवश्यक औषधोपचारका लागि ठाउँ ठाउँमा चिकित्सकको टोली सहितको स्वास्थ्य ‘युनिट’को समेत प्रबन्ध गरिएको छ ।
    यही भदौ १४ गते जनैपूर्णिमासम्म लाग्ने पवित्र तीर्थ गोसाइँकुण्डको विशेष मेला भर्नका लागि १५ हजारभन्दा बढी  भक्तजन  नीलाद्री पर्वत पुग्ने आँकलन गर्दै स्थानीय व्यवसायीले खाद्यान्न ढुवानी गरेका हुन् । गोसाइँकुण्ड यात्राका लागि तिर्थयात्रीहरू अघिल्लो हप्तादेखिनै बाक्लो संख्यामा उकानलो लाग्न थालिसकेका छन् । रसुवाको धार्मिक तथा मुख्य पर्यटकिय स्थल गोसाइँकुण्डमा देशै भरीबाट तथा बाहिर देशबाट समेत पर्यटक तथा भक्तजनहरू आउने गरेका छन् ।
    तीर्थाटनका लागि फाट्टफुट्टरूपमा भक्तजन आउने क्रम सुरू भइसकेको र धार्मिकमार्ग अन्तर्गत खन्ती, देउराली,  डिम्सा, चन्दनबारी, चोलाङपाटी, लौरीविनायक र गोसाइँकुण्डसम्म खच्चरद्वारा खाद्यान्न ढुवानी गर्ने काम सम्पन्न भएको छ ।
    होटल व्यवसायी संघका जिल्ला अध्यक्ष रामशरण गजुरेलले खन्तीदेखि गोसाइँकुण्डसम्म ३० टन चामल, १० टन दाल, ३० टनभन्दा बढी आलु,  पाँच हजार लिटर खाने तेललगायत खाद्य सामग्री ढुवानी भइसकेकाले यात्रुलाई भोजनको समस्या नपर्ने बताए । देशका विभिन्न क्षेत्रबाट आएका भक्तजन धुञ्चेमा बास बसेर गोसाइँकुण्ड जाने गरेका छन् ।
    गोसाइँकुण्डको तीर्थका लागि सामान्य रुपमा हिड्ने यात्रीहरूको लागि समेत एक रात धुञ्चे अर्को दिन चन्दनबारीमा बास बस्दा सहज हुने गर्छ । उकालोमा आवश्यक पर्ने लठ्ठी, बाँस, निगालोको व्यवस्था गरी ल्याउन र धार्मिक क्षेत्रका वन जङ्गलको कुनै पनि वनस्पति नमास्न तीर्थालुलाई अनुरोध गरिएको होटल व्यवसायी संघ रसुवाले जनाएको छ ।
    यसै बीच, सुवाको गोसाइँकुण्ड आउने तिर्थयात्रुको उपचारका लागि चिकित्सक टोली तयार गरिएको छ । यही भदौ १४ गते जनैपूर्णिमाको दिन मुख्य रुपमा लाग्ने गोसाइँकुण्ड मेला भर्न आउने तिर्थालुलाई सहजताका लागि चिकित्सक टोली तयारी अवस्थामा राखिएको बताइएको छ ।
    निलाद्री पर्वत पुग्ने भक्तजनलाई लेक लाग्ने (अक्सिजन अभाव) को समस्या हुन सक्ने अवस्थालाई ख्याल गर्दै हिमालय उद्धार संघले औैषधिसहित चिकित्सक टोली तयार गरेको हो । गोसाइँकुण्ड मेला भदौ ७ गतेदेखि १४ गतेसम्म लाग्ने छ । गोसाइँकुण्ड १४ हजार एक सय फिटको उचाइँमा पर्छ । भक्तजनलाई उपचार सेवा प्रदान गर्न अक्सिजनसहित छ चिकित्सक तयारी अवस्थामा राखिएको हिमालय उद्धार संघका कार्यकारी निर्देशक गोविन्द बत्स्यालले बताए ।
    उक्त संस्थाका स्वास्थ्य सहायक प्रकाश खत्रीको अगुवाई एवं प्रत्यक्ष रेखदेखमा उपचार सेवा प्रदान गरिने छ । उक्त टोलीमा डा निसान्त जोशी, डा पशुपति पोखरेल, डा. श्रीयासी कार्की, डा. आयुस्का पन्त, डा. कृष्ण कँडेल र स्वास्थ्य प्राविधिक सचेत सुवेदी रहेका छन् । संघले दुई दशकदेखि कुण्ड क्षेत्रमा गोसाइँकुण्ड क्षेत्र विकास समिति, जिल्ला प्रशासन कार्यालय, जिल्ला स्वास्थ्य कार्यालय र जिल्ला अस्पताल रसुवासित सहकार्य गरी गोसाइँकुण्डमा विभिन्न सेवा दिँदै आएको छ । “दर्शनार्थीलाई चिकित्सकसहित औषधि, अक्सिजनलगायत सेवा उपलब्ध गराउँदै आएका छौँ”, कार्यकारी निर्देशक बत्स्यालले बताएका छन् । गोसाइँकुण्ड मेलाको आवश्यक प्रबन्ध मिलाउन विभिन्न उप–समितिसमेत गरिएको छ । गोसाइँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जिव डिएमका अनुसार १५ हजार भन्दा बढी भक्तजनलाई गोसाइँकुण्डमा सेवा प्रदान गर्ने लक्ष्यका साथ यात्रुको आवश्यक सेवा सुविधाका लागि संस्थाले काम गरिरहेको बताएका छन् ।

जनैपूर्णिमामा पार्वतीकुण्डमा मेला

धुन्चे । रसुवाको १०८ कुण्डमध्येको गोसाइँकुण्डपछिको ठूलो र धार्मिक महत्वको पार्वतीकुण्डमा यस वर्षदेखि जनैपूर्णिमाको अवसरमा विशेष मेला लाग्ने भएको छ ।
    पार्वतीकुण्डमा सन्तान नहुनेले पूजापाठ गर्दा सन्तान प्राप्त हुने र दुःख तथा समस्यामा परेका व्यक्तिको मनोकांक्षा पूरा हुने विश्वासमा जनैपूर्णिमाका दिन पूजापाठ गर्ने गरिन्छ । आफ्नो समस्या समाधान गर्न जनैपूर्णिमाको मेलामा लामा–झाँक्रीको मन्त्रबाट पूजा गरी वर माग्यो भने पाइन्छ र पार्वतीकुण्डले दिन्छिन् भन्ने कथन रहिरहेको छ । त्यही विश्वासमा भक्तजन त्यहाँ पुग्ने गर्छन् ।
    तर, त्यो व्यक्तिले जनैपूर्णिमा या फागुपूर्णिमाको दिन छोज्या गर्नुपर्दछ । छोज्या भनेको तीर्थमा आउने तीर्थालुलाई खाना, खाजा खुवाउने कार्य भन्ने बुझिन्छ । पार्वतीकुण्डको सम्बन्ध भारतको हिमाचलको बुद्धगयाको छोपेमाकुण्डसँग र गोसाइँकुण्डसँग धार्मिक सम्बन्ध जोडिएको विश्वास रहेको छ । यदि भारतको बुद्धगयाको छोपेमा कुण्डको दर्शन गर्न नसकेमा पार्वतीकुण्डको दर्शन गरे आफ्नो मनोकांक्षा पूरा हुने किंवदन्ती छ भने गोसाइँकुण्डको दर्शन गरेपश्चात् अनिवार्य पार्वतीकुण्डको दर्शन गरेमा मनका इच्छा पूरा हुने जनविश्वास रहेको स्थानीय समाजसेवी प्रभात लामाले बताए ।
    पार्वतीकुण्ड जान काठमाडौंबाट बिहानको ६ बजेर ३० मिनेटमा गत्लाङसम्मको सार्वजानिक बस छुट्छ वा आफू समूह मिलेर गाडी रिजर्भ गाडीमा आए पनि हुन्छ । पार्वतीकुण्ड सदरमुकाम धुन्चेबाट ३२ किलोमिटर दूरीमा पर्दछ । पार्वतीकुण्ड पुग्न धुन्चेदेखि ११ किलोमिटर स्याफ्रुबेँसी पुगेपछि कोमिन वा रोङ्गाखोला दुवै बाटो हँुदै पुग्न सकिन्छ । पहिल्लो बाटो स्याफ्रुबेँसी पुगेपछि कोमिन, बाहुनडाँडा हुँदै गत्लाङ जाने बाटोबाट पुग्न सकिन्छ भने दोस्रो बाटो स्याफ्रुबेँसी, रोङ्गाखोला, चिलिमे, गोल्जुङ हुँदै कुण्ड पुग्न सकिन्छ ।
    पार्वतीकुण्डबाहेक अरू ठाउँ पनि छन् । धार्मिक पाठपूजापश्चात् कुण्डको वरिपरि एक सय आठ धारा, बुद्धपार्क र भ्युप्वाइन्ट अवलोकन गर्न सकिन्छ । पार्वतीकुण्ड तामाङ सम्पदा मार्गमा पर्ने भएको हुँदा यस क्षेत्रको तामाङ समुदायको कालो गाउँले परिचित गत्लाङ गाउँ अवलोकनको साथै तामाङको कला, संस्कृति, परम्परा र रहन–सहनको अध्ययन गर्न पाउनुको साथै यहीँबाट नै रुबिभ्याली पर्यटन पथमार्ग पनि जोडिन्छ । यहाँबाट रुबिभ्यालीको पनि अवलोकनमा जान सकिन्छ । यस क्षेत्रको नजिकमा गत्लाङ याक चिज उत्पादन केन्द्र, जागेश्वरकुण्ड, नोज्येकुण्ड, नागकुण्ड र ज्यार्सातेन्जो भ्युप्वाइन्टसमेतको अवलोकन र भ्रमण गर्न सकिन्छ । प्रदेश सरकारको सहयोगमा अहिले पार्वतीकुण्डको लहरे झार हटाउने र धारा बनाउने काम रहेको छ । डाँडाको टुप्पामा रहेको यो कुण्डबाट गणेश हिमाल, लाङटाङ हिमालसहित नागबेली हिमशृङ्खलाको अवलोकन गर्न सकिन्छ ।

उपेक्षामा ‘लोकतान्त्रिक चौतारो’

लोकतान्त्रिक चौतारो

विदुर  । यो विदुरमा रहेको लोकतान्त्रिक चौतारो । यो चौतारोको ऐतिहासिक महत्व छ । मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्नको लागि २०६२/०६३ ताका हरेक दिन हरेक आन्दोलनकारीको पहिलो र अन्तिम सभा गर्ने ठाउँ । जुलुस तथा भेला आयोजना गर्न सुरुवातमा आन्दोलनकारी भेला हुने र त्यहीबाट आन्दोलनका थप कार्यक्रम सञ्चालन गर्ने र जुलुसको सुरुवात र अन्तिम कोणसभा गर्ने थलो लोकतान्त्रिक चौतारो । तर, अहिले यो लोकतान्त्रिक चौतारो आझेलमा परेको छ । नुवाकोट जिल्लाको समग्र आन्दोलनको रुपरेखा कोर्ने र आन्दोलनलाई थप सशक्त बनाउन भूमिका निर्वाह गर्ने विश्रामस्थल अहिले तीनै आन्दोलनकारी राजनीतिक दल तथा अन्य सामाजिक संघसंस्था र स्थानीयको उपेक्षाको शिकार बनेको छ ।
    मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भई मुलुक संघीयतामा प्रवेश गरी यसका दुई चरणका निर्वाचनसमेत सम्पन्न भइसकेको छ । त्यसभन्दा अघि पहिलो संविधानसभाले संविधान निर्माण गर्न नसकेपछि दोस्रो पटक संविधानसभाको निर्वाचनसमेत सम्पन्न भएको थियो । विदुर नगरपालिकाको विदुरमा रहेको लोकतान्त्रिक चौतारो त्यतिबेलाको आन्दोलनको एउटा सशक्त माध्यम थियो । ‘राजनीतिक दलहरूले लोकतान्त्रिक चौतारोमा आफ्ना कार्यकर्ता भेला गराउथेँ, आन्दोलनलाई सशक्त बनाउन कार्यकर्तालाई निर्देशन दिन्थेँ ।’ त्यतिबेलाका चर्चित राजनीतिककर्मी बासु सापकोटा भन्छन्– ‘सामाजिक संघसंस्थादेखि दलका भातृ संगठनको पनि आन्दोलन गर्ने मुख्य केन्द्रविन्दु यही चौतारो हो ।’
    आन्दोलनकारीको मुख्य अखडाको रुपमा विकास भएपछि यो चौतारोलाई लोकतान्त्रिक चौतारो नामाकरण गरिएको हो । पहिले विदुर चौतारोको नामले चिनिने यो चौतारो यिनै राजनीतिक दलको गतिविधि र आन्दोलन तय गर्ने उपयुुक्त थलोको रुपमा विकास भएपछि त्यतिबेला ‘लोकतान्त्रिक चौतारोको नामाकरण गरिएको सापकोटा बताउँछन्् ।
    देशमा ठुला ठुला निक्कै परिवर्तन भएका छन् । एकाध मान्छे जम्मा गरेर आन्दोलनको विगुल फुक्ने त्यही लोकतान्त्रिक चौतारमा नेपाली काँग्रेस एमाले र तिनीहरूको शुभेच्छुक संघ संस्थाहरूले सयौ कार्यक्रमक गरे होलान तर, वर्षौंदेखि चौतारामा लेखिएको बोर्ड खुईलिएको छ । खुईलिएको वोर्डलाई पछाडी पारेर घण्टौ कार्यक्रम गर्नछ देश र जनताको वारेमा हावादारी घोषण गर्दै गर्दा पछाडीको खुईलिइको बोर्डले गिज्याईरहेको छ ।
    लोकतन्त्र दिवस, प्रजातन्त्र दिवस, वेपत्ता दिवस, गणतन्त्र दिवस साथै राजनीतिक दल र केही संघ संस्थाहरूले दिप प्रज्ववलन गर्ने थालो मात्र वनेको छ अहिले लोतान्त्रिक चौतारो । देशको आमूल परिवर्तनको लागि महत्वपूर्ण हिस्सा बोकेको यो चौतारो आजभोली खिस्रिक परेको छ । बेलाबेलामा रंगरोगनले चिटिक्क देखिने चौतारो अचेल फुङ्ग उढेको छ । चौतारोको संरक्षणमा विदुर नगरपालिका, सामाजिक संघसंस्था कसैको पनि ध्यान पुग्न सकेको छैन ।–यो समय डटकमबाट

खेलको पूर्बाधार बिकासमा स्थानीय सरकारको जोड

पुरस्कार वितरण समारोह

पिपल्टार । विदुर नगरपालिकाका प्रमुख, उपप्रमुख र वडा नम्वर ५ का वडा अध्यक्षले विदुर नगरपालिकामा खेल पर्यटन प्रबर्धनको प्रचुर सम्भावना देखिएकाले सम्भावनालाई सार्थकतामा रुपान्तरण गर्न खेल पूर्बाधार बिकासमा जोड दिईने प्रतिबद्धता जनाए ।
    खेल पर्यटन प्रबर्धन मार्फत यहाँका नागरिकको आर्थिक जीवनमा समेत परिवर्तन देख्न सकिने बताउँदै त्यसक्रममा जनप्रतिनिधिहरूले बिकासको एउटा महत्वपूर्ण सूचकका रुपमा खेल क्षेत्रको बिकासलाई लिई सोही अनुसार नगर योजनाहरू कार्यान्वयनमा ल्याईने समेत स्पष्ट पारे । शुक्रवार बिदुर नगरपालिका वडा नम्वर ५ को पिपलटारमा आयोजित जिल्लास्तरीय अन्तर माध्यमिक बिद्यालय छात्र–छात्रा फुटसल प्रतियोगिता एवं बिद्यार्थी सम्मान कार्यक्रमको उद्घाटनका क्रममा बिदुर नगरपालिकाका प्रमुख श्रेष्ठले राजधानीबाट अत्यन्त छोटो दुरीमा रहेको विदुर नगर क्षेत्रमा राष्ट्रियस्तरका खेल प्रतियोगिता सञ्चालन गरि यो क्षेत्रलाई खेलकुदको उपयुक्त गन्तब्य बनाउनु पर्नेमा जोड दिए ।
    नगरपालिकाले माझिटारको च्वाडी माध्यमिक बिद्यालयमा क्रिकेट खेल मैदान बनाउने गरी आवश्यक तयारी गरिरहेको बताउँदै त्यसक्रममा नगरप्रमुख श्रेष्ठले भएका पूर्बाधारको बिकास र आवश्यक पूर्बाधारको निर्माण गरि खेल क्षेत्रको बिकासमा आवश्यक सबै काम गरिने प्रतिबद्धता समेत जनाए । त्यसक्रममा नगरपालिकाकी उपप्रमुख प्रभा बोगटी र वडा नम्वर ५ का वडा अध्यक्ष लिलानाथ न्यौपानेले खेल क्षेत्रको समुचित बिकासले राष्ट्रिय समृद्धि प्राप्तिमा समेत योगदान पु-याउने भएकाले यसका लागि सरोकारवाला सबैपक्षबिच समन्वयात्मक पहल हुनुपर्नेमा जोड दिए ।
    कार्यक्रममा नेपाल पत्रकार महासंघका बागमती प्रदेश अध्यक्ष शिव देबकोटा, नुवाकोट उद्योग बाणिज्य संघका अध्यक्ष राजेन्द्र श्रेष्ठ, बागमती प्रदेश फुटबल संघका सह–महासचिव सुरज श्रेष्ठ, विदुर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष सञ्जिबबहादुर श्रेष्ठ, चन्द्रज्योती माावि व्यवस्थापन समितिका अध्यक्ष छत्रराज डंगोल, समाजसेवी मोतीराम न्यौपाने र आयोजक पिपलटार फुटबल क्लवका अध्यक्ष उद्धव पनेरुले खेलक्षेत्र सम्बन्धि बिबिध बिषयहरूमाथि प्रकाश पारेक थिए ।
    यसै बीच, प्रतियोगिताको समापन शनिवार प्रदेश आर्थिक मामिला मन्त्री बहादुरसिंह लामा तामाङले गरेका थिए  । सो अवसरमा विदुरका मेयर श्रेष्ठ, नेपाली काँग्रेसका नुवाकोट उपसभापति राजु थापा, जिल्ला खेलकुद विकास ससमतिका अध्यक्ष सन्तोष राई लगायतको सहभागिता थियो ।

टोल टोलमै व्यवसायी खोज्दै विदुर नगरपालिका

तुप्चेमा पसल दर्ता गर्दै टोली

विदुर । विदुर नगरपालिकाले व्यवसाय दर्ता गर्न छुट भएका व्यवसायीहरूलाई करको दायरामा ल्याउने अभियान थालेको छ ।
    ‘‘छ व्यवसाय जहाँ, दर्ता हुन्छ त्यहाँ’ कार्यक्रमको सुभारम्भ गर्दै विदुर नगरपालिकाले व्यवसाय छुट भएका व्यवसायीहरूलाई करको दायरामा ल्याउने भएको हो । कार्यक्रमको सुरुवात विदुर नगरपालिका वडा नं. ७ सोलेबजारबाट गएको आइतवारदेखि सुरु भएको छ ।
    विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठले तुप्चेमा रहेको सोलेबजारस्थित कृष्णदाई किराना पसलको व्यवसाय दर्ता गरी प्रमाणपत्र प्रदान गर्दै अभियानको सुरु गरेका छन् । कृष्णदाइ किराना पसलकी कल्पना मोक्तानलाई प्रमुख श्रेष्ठले व्यवसाय दर्ता प्रमाणपत्र प्रदान गरेका थिए । उनले विदुर नगरपालिकाका १३ वटै वडामा व्यवसाय दर्ता गर्न छुट भएका व्यवसायीहरूलाई व्यवसाय गरेकै स्थानमा दर्ता गर्ने अभियान सञ्चालन भएको जानकारी दिएका छन् । विदुर नगरपालिकाले व्यवसायीहरूलाई कर तिरौ व्यवसायलाई व्यवस्थित र वैधानिक बनाउँ भन्ने नारा अघि सारेको छ । विदुरमा साना ठूला गरी ५ हजार भन्दा धेरै व्यवसायी रहेको अनुमान छ ।

‘नेताको फेरो समातेर चिनिनु छैन’

बासु सापकोटा

भोलाराज पौडेल

२०४२ सालमा च्वाडी स्कुलमा कक्षा ८ मा पढ्थेँ । पहिलो घण्डी लागेपछि स्कूलको प्राङ्गणमा आएर राष्ट्रिय गान राजाको गुणगान गाउनुपर्ने र त्यसपछि मात्रै कक्षामा जाने चलन थियो । शुक्रवार विद्यालयका शिक्षकहरूलाई प्रहरीले नियन्त्रणमा लिएको रहेछ । आइतवारको राष्ट्रिय गानपछि कक्षा ८ बन्द भन्ने कुरा मैले थाहा पाएँ । विद्यालयमा बामपन्थी शिक्षकहरूको बाहुल्यता थियो । शिवकुमार मिश्र, चद्र उप्रेती, भरत थापा, लवबहादुर डंगोललगायतका सरहरू जिल्लाको शैक्षिक आन्दोलनको हर्ताकर्ता थिए । पढाई नभएपछि घर आउने क्रममा बट्टारमा आदर्श विकास केन्द्र (हालको नुवाकोट आदर्श बहुमुखी क्याम्पस) त्यहाँ (शारदारमण, गणेश पण्डित) लगायतका सरहरू बसेर गतिविधि सञ्चालन गर्न‘हुँदो रहेछ । हामी विद्यार्थी झ्याल समातेर भित्रको गतिविधि हेरिरहेका थियौँ, प्रहरीको गाडी आयो । मलाई लाग्यो, त्यतिबेला लाग्यो, अव बट्टारदेखि विदुरसम्म हिँड्न नपर्ने भयो । त्यतिबेला मोटर चढ्ने रहर थियो । प्रहरीले घेरा हाल्यो, मसहित तीन जना विद्यार्थीहरू जो क्याम्पसको झ्यालबाट नियालिरहेका थियौँ, नजरमान श्रेष्ठ, ज्ञानु डंगोल, मसहितलाई प्रहरीले गाडीमा हाल्यो । मैले घर अगाडी पुगेपछि म ओर्लिन्छु भनेँ । प्रहरीले मलाई अपशब्द बोल्दै गाडीबाट ओलर्नै दिएन । आफूले चिनेका प्रहरी थिए । त्यसपछि मात्रै हामी विद्यार्थी पक्राउ परेको कुरा थाहा पायौँ । १७ जना सरहरूसहित हामी तीन जना गरी २० जना त्यस रात प्रहरी कस्टडीमा सुत्यौँ ।
    जेल परेको पहिलो दिन बेलुकी खण्डे थालमा जीवनमै पहिलो पटक खाना आइयो । आफ्नै सरहरूसँग बसेकाले पनि रमाइलो भयो । त्यसताका प्रहरीसँग राम्रै सम्वन्ध हुन्थ्यो, विदुरमा थोरै घर, हामी विदुरवासी नै भएकाले पनि सबैसँग सम्वन्ध राम्रै हुन्थ्यो । प्रहरीको बाहिरी सम्पर्क पनि कम हुने भएकाले हुन सक्छ । दुई रात थुनिएर हामी छुट्यौँ । सरहरूलाई भने बसमा हालेर नख्खु जेल पठाइयो ।
जब पञ्चायतले पिरोल्न थाल्यो
पक्राउ परेको भोलीपल्ट मलाई बयानका लागि बोलाइयो । पहिले फकायो, राम्रै कुरा ग¥यो, पुलिस आयो भनेर हल्ला गर्न बसेको हो ? भन्यो, मैले होइन मात्र भने । प्रहरीले वेस्सरी चड्कन हान्यो । १४ वर्षको मात्र थिएँ, निकै नरमाइलो लाग्यो । त्यसपछि तीन पाना नेपाली कागजमा सही गरेर म लगायत तीन जनालाई सिडिओ धनबहादुर बस्नेतले छाडिदिए । मलाई त्यति बेलासम्म राजनीति र पञ्चायत भन्ने थाहा थिएन । मेरो घरमा विभिन्न गाउँका प्रधानपञ्चहरू खाना खान आउने गरेका थिए । होटलको भात नखाने बाहुन पञ्चहरू मेरो आमालाई भात पकाउन लगाएर खाने गर्दथ्येँ । त्यसवापत उनीहरूले आमालाई पैसा पनि दिन्थे । सरहरूलाई समातेको र आफैं पनि पक्राउ परेपछि मलाई पञ्चायतले पिरोल्न थाल्यो ।
विष्णु आचार्य र पिपलबोट
काठमाडौं जानको लागि मलाई पैसा पर्दैनथ्यो । सीट खाली भए बस्न पाइन्थ्यो, नत्र पाइँदैनथ्यो । ठमेलसम्म वस जान्थ्यो । ठमेलबाट चावहिल मामाघर जानलाई महाभारत हुन्थ्यो । २०४४ सालमा स्व. युद्धविक्रम पाण्डे उहाँ अखिलको सिनियर कार्यकर्ता हुनुहुन्थ्यो । उहाँले चलाउनु भएको हर्कतभित्र म थाहै नपाई नेविसंघ भएछु । मेरो आदरणीय व्यक्तित्व भनेको स्वं. विष्णु आचार्य हुनुहुन्थ्यो । यस्ता सिनियर इतिहास भएको व्यक्तिको कांग्रेसमा लेखाजोखा हुँदैन । ‘विष्णु दाई’सँग विदुरको पिपलबोटमा (अहिलेको लोकतान्त्रिक चौतारो) मा भेट हुन्थ्यो । उहाँले धेरै कुरा सिकाउनु हुन्थ्यो । हरेक वर्ष साउन ५ गते र भदौ २३ गते पक्राउ पर्ने व्यक्ति नै विष्णु आचार्य हुन् । किनभने साउन ६ गते विपि जयन्ती र भदौ २४ गते विपिको जन्म दिन थियो । प्रहरी, प्रशासनले विष्णु आचार्यलाई पक्राउ गरेपछि नुवाकोटमा पञ्चायत विरुद्धको कांग्रेस गतिविधि बन्द हुन्छ भनेर अघिल्लो दिन नै पक्राउ गर्ने गर्दथ्यो । मैले विष्णुदाइलाई हत्कडी लगाएर लगेको देख्थ्येँ । यस घटनाले पनि मलाई नेपाली कांग्रेसमा आवद्ध भएर राजनीतिमा लाग्न बढी प्रेरित गरेको हो ।
२०४६ सालको सम्झना
२०४६ सालको आन्दोलनमा नेपाली कांग्रेस केन्द्रीय प्रचार विभागले पठाएको जनआन्दोलनको पक्षमा लाग्न उत्प्रेरित गर्ने खालको पोष्टर टाँस्ने जिम्मा पाएका थियौँ । आन्दोलनको प्रचार गर्ने अभियानमा हरिकृष्ण श्रेष्ठ म थियौँ । हरिकृष्ण श्रेष्ठ अहिले पनि पार्टी गतिविधिमै हुनुहुन्छ । त्यतिबेला हामीलाई साथ दिने निर्मल श्रेष्ठ पनि थिए । निर्मल अहिले सक्रिय राजनीतिमा छैनन् । रातको समयमा पोष्टर टाँस्ने क्रममा तत्कालीन सिडिओ भोजराज बरालको ढोका र जिल्ला पञ्चायतको ढोकामा हामीले पोष्टर टाँस्यौँ । अघिल्लो दिन हामीले सिडिओ र जिल्ला पञ्चायतको ढोकामा पोस्टर टाँसेका थियौँ, मेरो घरमा दुई जना प्रहरीको परिवारसहित बस्ने गरेका थिए । आफ्नै घरमा भएका प्रहरी परिचालन गरेर मलाई घरमै नजरबन्दमा राखियो । बाहिर जान दिइएन । म घर पछाडिबाट भागेर त्रिशूली बजार गएँ । प्रहरीले मलाई त्रिशूलीबाटै पक्राउ ग-यो ।
    प्रहरीले चर्को बयान लियो, मैले एक जनाको नाम भन्नै पर्ने भयो, मैले हरिकृष्ण र म भएर गरेको भनेँ । उहाँलाई पनि पक्राउ ग¥यो । चोकराज शाक्य र केशव खड्काले पोष्टर पठाउने काम गर्नुहुन्थ्यो । दुई महिना जेल बसियो । विष्णु आचार्य, चोकराज, नरेन्द्र महतलगायतका लक्ष्मण श्रेष्ठलगायतका यसअघि नै जेल पर्न‘भएको थियो । ठाकुर गजुरेललगायत २९ जना जेलमा रहेका थियाँै । स्व. पोष्टबहादुर बोगटीलाई ककनीबाट पनि पक्राउ गरेर ल्यायो । त्यतिबेला हामी सुत्ने ठाउँको ओढ्ने ओछ्याउने घरबाटै लैजानुपथ्र्यो । लक्ष्मणजी, पोष्टबहादुरजी र म मैले लगेको विस्तरामा सुत्ने गर्दथ्यौँ । बहुदल घोषणा भएसँगै हामी चैतको २६ गते राति ११ जना छुट्यौँ । कतिपय अघि नै छुटिसकेका थिए । ठाकुर गजुरेल र पोष्टबहादुर बामपन्थी विचारधारा र हामी सबै प्रजातान्त्रिक विचार बोक्ने रहेका थियौँ ।
एजेन्ट हुँदा नेता चिनेँ
काठमाडौंको गुणस्तर कार्यालय भएको ठाउँमा योगी नरहरीले कोटी होम लगाएका थिए । कोटीहोम दरवार र पञ्चायतको सपोर्टका लागि लगाएको भन्ने हल्ला थियो । त्यो कोटीहोमको नुवाकोटको एजेन्टको रुपमा काम गर्ने अवसर मैले पाएको थिएँ । कोटीहोमको एजेन्ट भएकाले मलाई एक दिन बिराएर सित्तैमा काठमाडौं जाने आउने सुविधा (पास) प्रशासनले दिएको थियो । संकलन भएको सामग्री, नगद पु¥याउनको लागि म काठमाडौं गइरहन्थ्येँ । र त्यहाँबाट पार्टीको निर्देशन र पोष्टर पम्प्लेट बोकेर नुवाकोट लेराउने गरेको थिएँ । संकलन भएको सामग्री कोटीहोम लगाएको ठाउँमा लगेपछि मेरो काम ठमेलमा जाने हुन्थ्यो । ठमेलमा कांग्रेस नेता चन्द्रशेखरजीहरू, स्व.विष्णु आचार्य, स्व.विष्णुप्रसाद अधिकारी (सठिया) डिल्लीबहादुर उप्रेती, क्याप्टेन प्रेमबहादुर रेग्मी, केशव भेटुवाललगायतसँग भेट हुन्थ्यो । पचास पैसा कप चिया खाएर हामी भेटघाट र योजनाहरू बनाउने काम गरिन्थ्यो । त्यतिबेला नेपाली कांग्रेसका नेताहरूसँग चिनजान राम्रैसँग बढ्दै गयो ।
अन्तर्घातको पूरानो रोग
प्रजातन्त्रको पुर्नवहालीपछि अर्ज‘ननरसिंह केसी कांग्रेसमा प्रवेश गर्ने हल्ला भयो । जिल्ला पञ्चायतको सभापति, सुर्यबहादुर थापाको राप्रपाको महामन्त्री रहेका र पञ्चायतको स्वास्थ्यमन्त्री बनेका केसीलाई पार्टी प्रवेश गराउने विषयमा तिब्र धु्रविकरण भयो । गणेशमान सिंहले पार्टीमा भित्र्याउनुपर्छ भन्ने र गिरिजाप्रसाद कोइरालालगायत पार्टीमा लिन हुन्न भन्ने लाइनमा विभाजन भयो । पहिलो पटक केसीको कांग्रेस प्रवेश गर्ने योजना असफल भयो । म अर्ज‘नदाईलाई कांग्रेसमा लेराउनुपर्छ भन्ने लाइनमा थिएँ । त्यतिबेला म उद्घोषण गर्ने कलामा पोख्त थिएँ । मैले पार्टीको हरेक गतिविधिमा उद्घोषण गर्दै आएको थिएँ ।
    दोस्रो पटक पुर्व राष्ट्रपति विद्या भण्डारीसँग कृष्णप्रसाद भट्टराईको चुनाव हुने भयो । उठ्न रोक्नु पथ्योँ, तर रोकिएन । भट्टराईलाई जिताउनको लागि हामी नुवाकोटबाट धेरै कार्यकर्ता त्यहाँ पुग्यौँ । सुरेन्द्र अधिकारी, हरिकृष्ण मेरो दुई ठाउँमा नामावली रहेको थियो । चुनाव प्रचारप्रसारमै रहँदा अर्ज‘ननरसिंह केसीसहितको गिरिजाप्रसाद कोइरालाको टोलीले आफ्नै सभापति हराएर विद्या भण्डारीलाई जिताउनको लागि सुर्य चिन्हमा मतदान गर्न आग्रह भएछ । हामीले यसको ठूलो प्रतिवाद ग¥यौँ । भट्टराईले चुनाव हारे । अर्ज‘नदाईको टोली भट्टराईलाई चुनाव हराउन लागेको प्रस्टै हामीले थाह पायौँ । आफ्नै पार्टीको सभापतिलाई हराउन शक्ति प्रयोग गर्नेसम्मको हर्कत नेताहरूबाट भयो । हामीले सिकेको, बुझेको र भोगेको कांग्रेस यर्थाथमा त्यो होइन रहेछ । २०५६ सालको निर्वाचनमा गिरिजाले हामी कृष्णप्रसाद भट्टराईको नेतृत्वमा चुनावमा जाँदैछौँ भनेर घोषणा गरेँ । कांग्रेसले जित्यो पनि । फेरी ६ महिना नै पुग्न नपाई गिरिजाले भट्टराईलाई पाखा लगाए । त्यसपछि गिरिजा आफैं प्रधानमन्त्री भए । ठूला उतावचढाव भए । नेपाली कांग्रेस यस्तै आन्तरिक कलहका कारण फुट्यो । पछिल्लो पटक कांग्रेस प्रजातान्त्रिकमा आवद्ध भए । नेताहरू धेरै जसो काठमाडौं बस्ने भएकाले सबै गतिविधि जिल्लाबाट मैले नै सम्हालेको थिए ।
२०६२/०६३ को जनआन्दोलन
२०६२/०६३ को जनआन्दोलनको सन्दर्भको कुरा गर्दा पहिलो कू मा मेरो अलि फरक मत थियो । जनताको निर्वाचित प्रधानमन्त्री पुर्नवहाली हुनुपर्छ भन्ने पक्षमा म थिएँ । दोस्रो कू को बेलामा सिष्टमको विरुद्धमा हामीले नाराबाजी सुरु ग¥यौँ । त्यतिबेला राजनीतिमा अत्यन्तै सक्रिय जुझारु नेता स्व. उपेन्द्र ओझा । गोविन्द नेपाली, विन्दा ढुंगानालगायतका बट्टार बजारबाट जुलुस निकालेर हामी विदुर आउने गर्दथ्यौँ । त्यतिबेला देशव्यापी आन्दोलनको कार्यक्रम घोषणा नै भएको थिएन । ज्ञानेन्द्रले नगर चुनावको घोषणा गरेका थिए । त्यो चुनावको विरुद्धमा हामी यहाँ आन्दोलनमा होमिएका थियौँ । हामीलाई मैथली व्यारेकबाट २९ जनालाई पक्राउ गर्यौ । हामी एक कम्तिमा एक महिना इलममा बस्यौं । कोही अलि चाडो र कोही अलि ढिलो निस्कएका थिए ।
आवश्यकतामा फिट हुने मान्छे
मान्छे आशावादी र महत्वकाक्षी स्वभावको हुन्छ । म रैतीबाट नागरिक बनाउने अभियानमा पटक पटक होमिएको थिएँ । म त्यतिबेला फिट भएँ । अहिले फिट रैनछु । म फेरी पनि भन्छु, आवश्यकता प¥यो भने यस्ता आन्दोलनमा सहभागी हुन्छु पनि । २०५४ सालको स्थानीय निर्वाचनमा मलाई वडा सदस्य पदको टिकट पाएको थिएँ ।
    झारपात सबै एमाले भएको बेला मैले शानदार मत ल्याएर चुनाव हारेँ । त्यो भन्दा ठूलो उपलब्धी मैले कांग्रेसमा लागेपछि प्राप्त गरेको छैन । पार्टीमा जिल्ला कमिटिको सदस्य धेरै पटक भएँ । कांग्रेसमा व्यक्तिको चाकडी गर्नेहरूले केही फाइदा लिएका छन् । पार्टी, संगठन र इमान्दारितापूर्वक काम गर्नेहरू जहिले पनि पछि परेका छन् । पार्टीको होइन, व्यक्तिको पछि लाग्नेहरूले फाइदा लिएका होलान् । स्वाभिमानमा विश्वास गर्ने, पार्टी निति र सिद्धान्तमा अडिक रहनेलाई स्वभाविक रुपमा पछि पार्दा रहेछन् ।
    तर, पनि मलाई कुनै गुनासो छैन । पार्टीले केही दिन्छ भनेर पार्टीमा लागेको होइन । व्यक्ति व्यक्तिको चाकडीमा आउने पदको कुनै लोभ मलाई छैन । अमुक नेताको फेर समातेर म यस्तो मान्छे भनेर चिनाउनु मलाई छैन । अहिले लागेको चाँहि अहिले प्रधानमन्त्रीले देशमा सर्वसत्तावाद लाद्न खोजेका छन् । यो कुरा स्वीकार्य छैन । कस्ता कस्ता शक्ति त ढलेका उदाहरण धेरै छन् । यस्ता झ्यास ओली धेरै दिन टिक्छन् जस्तो मलाई लाग्दैन । –यो समय डटकमबाट

नुवाकोटमा दुई ‘इलेक्ट्रिक चार्जिङ स्टेशन’

स्टेशन उद्घाटन गर्दै नगर प्रमुख श्रेष्ठ

विदुर । नुवाकोटमा पनि विद्युतीय सवारी साधन चार्जिङ स्टेशन निर्माण भएको छ । बट्टारको हावाघर र बट्टारकै बसपार्कमा निर्माण भएका चार्जिङ स्टेशन बुधवारदेखि सञ्चालनमा आएको छ ।
    विदुर नगरपालिका वडा नं. ४ बट्टार हावाघर र बट्टार वसपार्कमा नेपाल विद्युत् प्राधिकरणले दुई वटा चाजिङ स्टेशन निर्माण गरेकोहो । बुधवार विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठले उद्घाटन गरे । इलेक्टिक भेइकल चार्जिङ स्टेशन सञ्चालनमा आएपछि नुवाकोट आउने विद्युतीय सवारी साधन चार्ज गर्न सहज भएको छ । निजी सवारी साधनलाई हावाघरमा रहेको चार्जिङ स्टेशन र सार्वजनिक यातायातको सेवा प्रवाह गर्ने सवारी साधनलाई बसपार्कको चार्जिङ स्टेशनमा चार्जको व्यवस्था मिलाइएको छ ।
    हावाघरमा निर्माण भएको चार्जिङ स्टेशन प्राधिकरणकै जग्गामा निर्माण भएको हो भने बसपार्कमा निर्माण भएको स्टेशनको जग्गा विदुर नगरपालिकाले उपलब्ध गराएको हो । नुवाकोटमा विद्युतीय सार्वजनिक सवारीसाधनमार्फत सेवा दिँदा विदुर नगरपालिकाले आर्थिक सहयोग समेत उपलब्ध गराउने नगरप्रमुख राजन श्रेष्ठले प्रतिबद्धता जनाएका छन् । चार्जिङ स्टेशन स्थापना भएपछि विद्युतीय सार्वजनिक यातायातका साधन खरिद गरी सञ्चालनमा ल्याउने व्यवसायीलाई नगरपालिकाले प्रोत्साहनसमेत गर्ने नगर प्रमुख श्रेष्ठले प्रतिवद्धता व्यक्त गरे ।
    चार्जिङ स्टेशन उद्घाटन कार्यक्रममा विदुर नगरपालिकाका उपप्रमुख प्रभा बोगटी, विभिन्न वडाका अध्यक्षहरू, वडासदस्यहरू, स्टेशन निर्माण गर्ने नेपाल विद्युत प्राधिकरणका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

सुन सहित समातिएकाहरू विभाग पठाइयो

सुनसहित रसुवामा पक्राउ परेकाहरु ।

रसुवा । त्रिभुवन विमानस्थलबाट ६० किलो सुन बाहिरिएको विषयमा छानविन भेरहेका बेला फेरि चीनसँग जोडिएको उत्तरी नाकाबाट दुई किलो सुनसहित गत हप्ता पक्राउ परेका दुईजनालाई प्रहरीले राजश्व अनुसन्धान विभागमा पठाएको छ ।
    जिल्ला प्रहरी कार्यालय रसुवाको टोलीले २ किलो सुन सहित दुईजनालाई पक्राउ गरेको हो । प्रहरीले सिन्धुपाल्चोक भोटेकोशी ५ बस्ने २१ वर्षे सुदिप शेर्पा र सोहि जिल्ला वडा नम्बर १ का ३० बर्षे फुर्साङवु शेर्पालाई नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक सुवास बुढाथोकीले जानकारी दिए । गएको आइतवार बेलुका ६ बजेतिर पासाङल्हामु राजमार्ग स्याफ्रुबेशीबाट नियमित चेकचाजको क्रममा उनीहरूबाट २ किलो सुन सहित नियन्त्रणमा लिएको हो । वरामद सामान सहित थप अनुसन्धान तथा कारवाहीको लागि राजश्व अनुसन्धान विभागमा पठाइएको प्रहरीले जनाएको छ । केरुङ नकाबाट सुन तस्करी कम भएको भनिएपनि फेरि तस्करहरूले उक्त नाका प्रयोग गर्न थालेको देखिन्छ ।

एम्बुलेन्सको भाडादर निर्धारण

सुर्यगढी । सुर्यगढी गाउँपालिकाले पालिकाभित्रका लागि एम्बुलेन्सको भाडादर निर्धारण गरेको छ । गाउँपालिकाले भदौं १ गतेबाट लागू हुनेगरि भाडा दर निर्धारण गरेको गाउँपालिका अध्यक्ष सन्तबहादुर घलेले जानकारी दिएका छन् ।
    वडा नं. १ को साविक वडा नं. ३ बाट लच्याङ स्वास्थ्य चौकीसम्म ३ सय, त्रिशुली अस्पतालका लागि ६५० र काठमाडौंका लागि २ हजार ५ सय छ । साविक वडा नं. १, ४, ५ र ६ देखि लच्याङ स्वास्थ्य चौकीसम्मका लागि ४ सय , त्रिशुली अस्पतालसम्म ८५० र काठमाडौंका लागि २ हजार ५ सय रुपैयाँ रहेको छ । साविक वडा नं. ७ बाट लच्याङ स्वास्थ्य चौकीका लागि ३ सय, त्रिशुली अस्पताल ९ सय र काठमाडौं २ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको छ । साविक २, ८ बाट लच्याङ स्वास्थ्य चौकीसम्म ३ सय, विदुरसम्म ८ सय र काठमाडौसम्म २ हजार ४ सय रुपैयाँ निर्धारण गरिएको छ । वडा नं. २ को साविक वडा नं. १ र २ बाट कुवापानी स्वास्थ्य चौकीका लागि ३ सय, त्रिशुली ६ सय र काठमाडौ २ हजार १ सय रुपैयाँ निर्धारण गरिएको छ ।
    साविक वडा नं. ५ र ९ लच्याडबाट कुवापानी स्वास्थ्य चौकीसम्म ४ सय, त्रिशुली अस्पतालसम्म ७ सय र काठमाडौ २ हजार २ सय, साविक वडा नं. ६ र ८ बाट कुवापानी स्वास्थ्य चौकीका लागि ३ सय, त्रिशुलीसम्म ६ सय र काठमाडौंका लागि २ हजार ३ सय रुपैयाँ, वडा नं. ३ को साविक वडा नं. ७ र ९ बाट बागेश्वरी स्वास्थ्य चौकीसम्म ४ सय, त्रिशुली ५ सय र काठमाडौ २ हजार रुपैयाँ कायम गरिएको छ । साविक वडा नं. ३ र ४ बाट बागेश्वरी स्वास्थ्य चौकीका लागि ३ सय, त्रिशुली अस्पतालसम्म ६ सय र काठमाडौंसम्म २ हजार १ सय, वडा नं. ४ को साविक वडा नं. १ र ७ बाट गणेस्थान त्रिशुलीका लागि ७ सय रुपैयाँ, साविक ५ देखि ९ सम्मबाट त्रिशुली अस्पतालसम्म ८ सय छ । काठमाडौंका लागि क्रमश ः २ हजार १ सय र २ हजार २ सय रुपैयाँ कायम गरिएको छ । वडा नं. ५ अन्र्तरगत साविक १ देखि ४ बाट त्रिशुली ७ सय र काठमाडौ २ हजार १ सय रुपैयाँ कायम गरिएको छ । साविक वडा नं. ५ देखि ९ सम्म त्रिशुली अस्पतालका लागि ८ सय, काठमाडौका लागि २ हजार २ सय रुपैयाँ निर्धारण गरिएको छ ।

विरोध प्रदर्शन

विदुर । नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को विरोधमा सदरमुकाम विदुरमा मसाल जुलुससहित प्रदर्शन गरेको छ । शुक्रबार साँझ विदुर चोकमा एमसीसी खारेजीको माग गर्दै नेकपाका कार्यकर्ताहरूले मसाल बालेर नारा लगाउँदै विरोध गरेका छन् ।
    ‘राष्ट्रघाती एमसीसी धोका हो, देशद्रोही खड्गबहादुर विष्ट मुर्दावाद, एमसीसी खारेज गर’ भन्दै नारा लगाएका थिए । आगामी मंगलबार एमसीसीको विषयमा अन्तरक्रिया समेत गरिने नेताहरूले बताए ।

सुशासनका लागि भ्रष्टाचार नियन्त्रण आवश्यक

विदुर । नेकपा माओवादी केन्द्रका नेता तथा प्रतिनिधिसभा सांसद हितबहादुर तामाङले स्थानीय तह र सरकारी कार्यालयहरूमा मौलाउँदै गरेको भ्रष्टाचारलाई निरुत्साहित गर्न सकेमात्र सुशासन कायम हुने बताएका छन् ।
    जिल्ला समन्वय समिति नुवाकोटले गएको सोमबार र मंगलबार आयोजना गरेको समीक्षा गोष्ठीमा सम्बोधन गर्दै सांसद तामाङले भ्रष्टाचारमा संलग्न कर्मचारी, जनप्रतिनिधिलाई खबरदारी गर्न सकेमात्रै नयाँ संविधानले परिकल्पना गरेको सुशासन, सामाजिक न्याय, समृद्धि आउने बताए । ‘वास्तवमा नयाँ संविधानले परिकल्पना गरे जस्तो सुशासन, सामाजिक न्याय, समृद्धिको परिकल्पना त्यो समृद्ध समाजवादको पदार्पण गर्ने भनेर भनेको छ,’ नेता तामाङले भने ।
    उनले एकथरी संघीयताविरोधीले गाउँगाउँमा भ्रष्टाचार मौलाएको भन्दै राजनीतिक नेतृत्वप्रति वितृष्णा पैदा गराएकोमा असन्तुष्टि जनाए । ‘सिंहदरबार घर–घरमा पु¥याइयो भनिराखेका छौं,’ सांसद तामाङले भने, ‘तर त्यसलाई अरुले नेगेटिभ सेन्सबाट सिंहदरबार होइन्, सिंहहरू गाउँगाउँमा पु¥याउने काम गरिराखेका छौ । जसले गर्दा भ्रष्टाचार मौलाइरहेको अवस्था व्यापकरुपमा सिर्जना भइराखेको छ भन्ने हिसाबले पनि अहिलेको संविधान, व्यवस्था र अहिलेको राजनीति नेतृत्वप्रति वितृष्णा पैदा गराउने र कुनै न कुनै हिसाबले आक्रमण गर्ने र कमजोर बनाउने खालको अवस्था सिर्जना भइरहेको छ ।’
    उनले सोच्ने शैली र मानसिकताको विकास गर्दै नकारात्मकतालाई भत्काउनुपर्ने बताए । उनले प्रदेशले निर्माण गर्नुपर्ने कानुन निर्माण नगरी दिँदा स्थानीय पालिकाहरू र कार्यालयहरूले झेल्नु परेको स्थिति र अवस्था, समयानुकूल विकास भएका प्रविधिको देखा परिराखेका समस्याहरूमा आफू जानकार भएको बताए । जिल्लास्थित सबै पालिका, संघसंस्था र कार्यालयहरूले आव २०७९÷०८० को स्वीकृत वार्षिक कार्यक्रमको वार्षिक कार्यप्रगति प्रस्तुत गरेका थिए ।
    जिसस प्रमुख रजिन्द्रविक्रमसिंह ठकुरीले अनुगमनको पाटो जिससको भएकोले समन्वय गर्न आग्रह गरेका थिए ।

विद्यालयमा ‘फुड फेस्टिबल’

 ‘फुड फेस्टिबल’

चौघडा । मुलुकका सामुदायिक विद्यालयहरूमा अध्ययनरत विद्यार्थीहरू अतिरिक्त क्रियाकलापमा कमजोर रहँदै आएको भनेर त्यसप्रति आम रुपमा गुनासो बढिरहेका बेला नुवाकोट जिल्लाको लिखु गाउँपालिका वडा नं ४मा रहेको सामुदायिक विद्यालय क्षेत्रपाल माध्यमिक विद्यालयका विद्यार्थीहरू भने अतिरिक्त क्रियाकलापमा पनि अब्बल रहँदै आएका छन् ।
    नेपाल सरकारबाट नमुना विद्यालयको रुपमा वर्गिकृत रहेको क्षेत्रपाल मावि कक्षा १० मा अध्ययनरत विद्यार्थीहरूले आज आफ्नै मेहनमा विभिन्न परिकार बनाएर फुड फेस्टिबल मनाएका छन् । विद्यालयका प्रधानाध्यापक हरिप्रसाद सुवेदीका अनुसार कक्षा १० का विद्यार्थीहरूले आफ्नो परियोजना कार्य अन्तर्गत स्थानीय उत्पादनबाट खानाका विभिन्न स्वादिष्ट परिकारहरू बनाएर फुड फेस्टिबल मनाएका हुन । अंग्रेजी विषयको व्यवहारिक सिकाइका लागि विद्यार्थीहरूले उक्त कार्यक्रम आयोजना गरेका थिए । उक्त कार्यक्रमको संयोजन माद्यमिक शिक्षक कमला चुदाराले सहजिकरण गरेको विद्यालयले जनाएको छ ।
    विद्यार्थीले बनाएका परिकार स्थानीय उत्पादित वस्तुहरूबाट तयार पारिएको थियो । उनीहरूले बनाएका परिकारलाई विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक, विद्यार्थीहरूले निकै स्वादिष्ट मानेको विद्यालयले जनाएको छ । विद्यालयका प्रअ सुवेदीले विद्यार्थीहरूलाई व्यवहारिक शिक्षामा पनि ज्ञान प्रदान गर्नका लागि कार्यक्रम आयोजना गरिएको जानकारी दिए । जिल्लाकै पुरानो र उत्कृष्ट विद्यालयको रुपमा रहेको क्षेत्रपाल मावि पछिल्लो समय अतिरिक्त क्रियाकलाप सहित एसइईको परीक्षमा पनि उत्कृष्ट रहँदै आएको छ ।

२०८० साल भदौ ११ गतेको सम्पादकीय

 पठनपाठनको शैली बदलौं
केही दिनअघि कक्षा १२ को परीक्षाको नतिजा प्रकाशित गरिएको छ । यस वर्ष झण्डै आधा (४९ प्रतिशत) विद्यार्थी असफल (ननग्रेडिङ) मा दर्ज भएका छन् । राष्ट्रिय परीक्षा बोर्डले दाबी गरे जस्तो अघिल्लो वर्षभन्दा दुई प्रतिशत बढी विद्यार्थी उत्तीर्ण भइहाल्दैमा शिक्षामा सुधार आयो भन्न मिल्दैन । यसो त उत्तीर्ण विद्यार्थी एक÷दुई प्रतिशत घटबढ हुनुले परिवर्तन आइहाल्यो भन्ने अर्थ दिंदैन । केही वर्षसम्म लगातार राम्रो प्रतिशतका साथ विद्यार्थी उत्तीर्ण हुने दर बढ्दै गएमा त्यतिबेला शिक्षामा सुधार हुँदै गयो भन्ने हिच्किचाइरहनु परेन । तर, यो राष्ट्रिय परीक्षाको नतिजामा आधा विद्यार्थी असफल हुनु देशको शिक्षा अवस्था कति नाजुक छ भन्ने तस्बिर छर्लङ्ग पारिदिएको छ । यो शिक्षा क्षेत्रको मात्रै सरोकारको विषय होइन । यो समग्र देशको विषय हो । देशको अवस्थाको प्रतिबिम्ब हो । यदि देशमा जिम्मेवार प्रधानमन्त्री र सरकार हुन्थ्यो भने तत्काल शिक्षाको नीतिगत तहमा काम गर्ने सबै सरोकारवाला पक्षलाई बोलाएर शिक्षा व्यवस्था जे–जसरी चलिरहेको छ त्यसलाई बदल्न लक्ष्य सहितको स्पष्ट मार्गचित्र सहित अग्रसर हुन्थे । तर, यसो भइरहेको छैन । यसको परिणाम धेरै वर्ष पछिसम्म पनि लाखौं विद्यार्थीले परीक्षामा असफलताको ‘ट्याग’ टाँस्नुपर्ने अवस्था देखिंदैछ । ठूलो संख्यामा विद्यार्थी असफल हुँदै गर्दा देशको शिक्षा हाँक्ने र सञ्चालन गर्ने निकाय पनि असफल भएको बारे कमै मात्र बहस हुने गरेको छ । यसरी हरेक वर्ष विद्यालय र क्याम्पसमा उच्च संख्यामा विद्यार्थी असफल हुनुको अर्थ शिक्षा मन्त्रालय असफल भएको हो । शिक्षा मन्त्री र नीति बनाउने कर्मचारी असफल भएका हुन् । विश्वविद्यालयका पदाधिकारी असफल भएका हुन् । राष्ट्रिय परीक्षा बोर्ड असफल भएको हो । विद्यालय शिक्षा सञ्चालन गर्ने अधिकार पाएको स्थानीय निकाय असफल भएको हो । पाठ्यक्रम असफल भएको हो । शिक्षणको तौरतरिका असफल भएको हो ।
    परीक्षाले विद्यार्थीको स्तर मात्र जाँच गर्दैन शिक्षाको नीति, पाठ्यक्रम, शिक्षण विधि, परीक्षा स्वयंको पनि जाँच गरेको हुन्छ । धेरै विद्यार्थी असफल हुनु र परीक्षामा पास भएका विद्यार्थीले पनि केही गर्न नसक्नुको सन्देश हो, शिक्षा प्रक्रिया असफल छ, यसको तौरतरिका बदल भनेको हो । समस्या एकातिर मात्रै छैन । पाठ्यक्रम, शिक्षकको क्षमता, शिक्षण विधि, परीक्षा प्रणाली सबैतिर केही न केही समस्या छ । शिक्षामा राजनीति, अपर्याप्त बजेट, लक्ष्यविहीन शिक्षा प्रणालीले देशलाई आवश्यक उत्कृष्ट मानव पूँजीको उत्पादन गर्नबाट छेकेको छ । तैपनि दशकौं अघिदेखिको शिक्षा प्रणाली आज पनि कायम छ । उही प्रक्रिया दोहो¥याएर फरक परिणाम हासिल हुन सक्दैनथ्यो, भएन । आज विद्यालयमा पढ्दै गरेको विद्यार्थीले आफ्नो वरिपरि सर्वत्र विश्वविद्यालय पढेर बेरोजगार दाइदिदीहरू देखेका छन् । कैयौं दाइदिदी उच्च शिक्षा लिएर पनि खाडी मुलुकदेखि कोरियासम्मका मुलुकमा श्रम गर्न उडिरहेको देखेका छन् । यसले आज विद्यालयमा पढ्न गएका विद्यार्थीमा पढे पनि स्वदेशमा भविष्य राम्रो छैन भन्ने सन्देश प्रवाह गरेको छ ।
    यस हुनुको कारण पनि कक्षाकोठाको शिक्षण र विद्यार्थीको प्रोत्साहनसँग जोडिएको छ भन्ने कुरामा स्पष्ट छ । कोरियन भाषा ३ महिना पढेपछि विद्यार्थीले महिनामा लाखौं कमाउने सम्भावनाको ढोका खुल्छ । ३ महिनाको कोर्सले विद्यार्थीलाई उज्ज्वल सपना देख्न प्रेरित गर्छ । त्यसले विद्यार्थीमा ऊर्जा र उत्साह थप्न सक्नेभयो । तर, हाम्रो औपचारिक शिक्षामा १२ कक्षा सकेर मात्रै होइन, स्नातक, स्नातकोत्तर सक्दा पनि भविष्य अन्योल र अनिश्चित छ । यसले विद्यार्थीको उत्साह भर्न सकेन । गतिला सपना देख्न प्रेरित गरेन । त्यसैले विद्यार्थी पढ्दैनन्, मात्र विद्यालयमा ‘टाइम पास’ गर्छन् । कुनै पनि विद्यार्थी माथिल्लो तहमा पास नै नहुने गरी यत्तिकै कमजोर हुँदैन । हाम्रा विद्यालयका कक्षाहरूमा सिकाइ नै कमजोर भएको कुरा विभिन्न अध्ययनले समेत देखाएकै छन् । त्यसको प्रभाव माथिल्लो कक्षामा पर्ने नै भयो । विद्यालयको शिक्षा मुलुकको भविष्यसँग जोडिएको विषय हो । शिक्षण तरिका नै बदल्ने गरी बजेट व्यवस्था र शिक्षकको सशक्तीकरण गर्न‘पर्ने आवश्यकता एसईईदेखि कक्षा १२ सम्मको नतिजाले देखाइरहेका छन् । शिक्षकको निरन्तर पेशागत विकास नगरिकन शिक्षणमा सुधार हुँदैन । गाउँघरतिरका विद्यालयमा विषयगत शिक्षकको अभाव भएर अर्कै विषयको शिक्षकले पढाउनु परिरहेको छ । दक्ष शिक्षकको अभाव दिनप्रतिदिन बढ्दो क्रममा छ । त्यसैले विभिन्न जिल्लामा गणित÷विज्ञान जस्ता विषयका शिक्षक नपाएर ९÷१० पटक सम्म पनि विज्ञापन गरिरहनुपर्ने अवस्था सिर्जना भएको छ । यसले हाम्रो भविष्यको शिक्षामा थप कालो बादलका संकेतहरू देखा पर्दैछन् ।
    अर्कोतिर, दशकौं अघि नियुक्ति भएका शिक्षकहरूका लागि नयाँ ज्ञान र प्रविधिसँग ‘अपडेटेड’ गराउने अर्थपूर्ण तालिम भइरहेका छैनन् । पहिले कक्षा १० सम्म सञ्चालन भइरहेका विद्यालयमा कक्षाकोठा थपेर १२ कक्षासम्म सञ्चालन गराइयो । त्यसका लागि शिक्षकको नयाँ दरबन्दी सिर्जना भएन । तल्लो तहमै पढाइरहेका शिक्षकले माथिल्लो कक्षामा जसरी–तसरी पढाइरहेको देखिन्छ । उनीहरूका लागि अध्ययन, अनुसन्धानको तालिम दिन स्थानीयदेखि केन्द्र सरकारको चासो देखिन्न । यसको प्रभाव कक्षाकोठा र त्यसको नतिजामा देखिने नै भयो । विश्वविद्यालय अन्तर्गतको शिक्षा संकायले शिक्षक उत्पादन गर्ने जिम्मा लिएको छ । अहिले त अब लगभग जुनसुकै संकाय पढेकाले पनि शिक्षक लाइसेन्स प्राप्त गर्ने व्यवस्था गरिएको छ । शिक्षाको क्षेत्रमा उत्कृष्ट परिणाम निकालेर विकासको उचाइमा पुगेका देशहरूमा शिक्षक उत्पादन गर्ने तौरतरिका निकै विशिष्ट छ । त्यहाँ पढाइमा अब्बल व्यक्तिलाई शिक्षक बन्न आकषिर्त गरेर निकै मिहिनेतका साथ शिक्षक उत्पादन गरिन्छ । हामीकहाँ शिक्षक बन्न सजिलो भयो । यो पेशालाई बढी सामान्य ठानियो । राम्रो ज्ञान र तालिम नभएको डाक्टरले शरीर चिर्दा बिरामीको जीवन जति खतरामा पर्छ त्यस्तै खतरा अयोग्य शिक्षकलाई कक्षाकोठामा पठाउँदा विद्यार्थीको भविष्यमाथि हुन्छ । जो अहिले देखिइराखेको छ । अब्बल शिक्षकको उत्पादन र उसको निरन्तर पेशागत विकास गर्ने प्रणाली बसाल्नु आवश्यक छ । यस तर्फ आजैबाट मनन गरौं । सोच केन्द्रीत गरौं । 

२०८० साल भदौ ११ गते । वर्ष:१६ अंक:४३