Monday, September 04, 2023

रानीपौवा सडकमा फेरि ठेक्का

तीनपिप्ले–रानीपौवा सडकका लागि १ अर्ब ३३ करोड र रानीपौवा–पीपलटारका लागि २ अर्ब चाहिने

ककनी । काठमाडौंदेखि नुवाकोट जोड्ने तीनपिप्ले–रानीपौवा सडकको ठेक्का तोडेको एक वर्षपछि पुनः ठेक्का गर्ने तयारी भएको छ । त्यसका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमार्फत राष्ट्रिय योजना आयोग र अर्थ मन्त्रालयसँग स्रोत सुनिश्चितता माग गरिएको छ ।
    बालाजु–रानीपौवा–पीपलटार सडकको कुल दूरी ५५.५ किमि हो । यसमध्ये अहिले तीनपिप्ले–रानीपौवा सडकको दूरी मात्र १२.५ किमि छ । यो सडकको स्तरोन्नतिका लागि १ अर्ब ३३ करोड रुपैयाँ स्रोत सुनिश्चितता माग गरिएको हो । चालु आर्थिक वर्षमा विनियोजित ५० करोड रुपैयाँ अपुग हुने भन्दै थप रकमको स्रोत सुनिश्चितता मागिएको होर । उक्त सडकको सुरु ठेक्काअनुसार काम नभएपछि ठेक्का तोडेर दोस्रो ठेक्का गर्न लागिएको हो । सुरुमा बालाजु–रानीपौवा खण्डको ठेक्का भएको थियोर । तर, सात पटक म्याद थप्दा पनि काम सकिएन ।
    काममा कुनै प्रगति नभएपछि बालाजु–रानीपौवा खण्डको ठेक्का लिएको इन्फ्रा पावर लिमिटेड (एआईपीएल) र शैलुङ कन्स्ट्रक्सन जेभीसँग ०७९ असार ५ मा ठेक्का सम्झौता तोडेर तिनलाई सडक विभागअन्तर्गत सडक सुधार तथा विकास आयोजना निर्देशनालयले कालोसूचीमा राखी कारबाही गर्न सिफारिस गरेको थियो । यी कम्पनीलाई तीन वर्षका लागि गत वर्ष नै सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखिसकेको छ । अहिले उक्त खण्डमध्ये तीनपिप्ले–रानीपौवा १२.५ किमिमा ठेक्का गरेर स्तरोन्नति गर्न लागिएको हो । बालाजुदेखि तीनपिप्लेसम्मको सडकमा भने कुनै समस्या नरहेको सडक सुधार तथा विकास योजना कार्यालयका योजना प्रमुख मेघराज मरासिनीले बताए ।
    ‘ठेक्का तोडेको खण्डमा फेरि ठेक्का गरेर काम गर्न लागिएको हो,’ उनले भने, ‘त्यसका लागि स्रोत सुनिश्चितताको माग गरिएको छ, अर्थले सहमति दिए चालु आर्थिक वर्षमै ठेक्का गर्न सकिन्छ ।’ त्यस्तै रानीपौवा–पीपलटार खण्डको पनि यही आर्थिक वर्षमा ठेक्का गर्न परामर्शदातालाई सर्भे गर्न लगाइएको छ । त्यसका लागि परामर्शदाताले डेढ महिनाको समय मागेको उनले सुनाए । परामर्शदाताबाट फाइनल रिपोर्ट पेस भएपछि त्यसका लागि पनि स्रोत सुनिश्चितता माग गरिने आयोजनाले जनायो । रानीपौवाबाट पीपलटार ३४ किमि छ । यही सडकअन्तर्गत मुड्खु–तीनपिप्ले खण्डको करिब साढे ४ किमि सडक बनिसकेको छ ।
    रानीपौवा–पीपलटार सडकमा भने डेढ महिनापछि स्रोत सहमतिका लागि अर्थ र राष्ट्रिय योजना आयोग पठाइनेछ । ‘दुवै खण्डको ठेक्का चालु आर्थिक वर्षमै गर्ने गरी तयारी गरिरहेका छौं,’ उनले भने, ‘चालु आर्थिक वर्षमा दुवै खण्डका लागि बजेट सुनिश्चित भए ठेक्काको काम टुंगिन्छ ।’
    रानीपौवा–पीपलटार खण्डसम्म भारतीय एक्जिम बैंकको ऋण सहयोगमा काम गरिँदै छ । त्यसका लागि विस्तृत परियोजना रिपोर्ट (डीपीआर) गरेपछि ठेक्का लगाइनेछ । यहाँ २ अर्ब रुपैयाँ लाग्ने अनुमान छ । रानीपौवा–पीपलटार भारतकै दिनेशचन्द्र आर अग्रवाल र नागार्जुन–कोसी एन्ड न्यौपाने जेभीले ठेक्का लिएका थिए ।
उक्त निर्माण कम्पनीसँग पनि २०७७ असार ९ मा ठेक्का सम्झौता तोडिएको थियो । अहिले यो कम्पनीलाई कालोसूचीमा राखिएको छ ।
    नौ वर्षदेखि सडक स्तरोन्नति गर्ने भन्दै सडक भत्काएर अलपत्र पार्दा स्थानीय समस्या छन् । सडककै कारण व्यापार व्यवसाय चौपट बनेको उनीहरूको गुनासो छ । सडक भत्काएर वर्षौंसम्म नबनाउँदा स्थानीयको दैनिक जीवनयापन नै प्रभावित बनेको ककनी गाउँपालिकाका अध्यक्ष सुमन तामाङले बताए । ‘९ वर्षअघि स्तरोन्नतिका नाममा सडक भत्काएदेखि स्थानीयलाई जीवनयापनमा समस्या भएको छ, सडकको छेउछाउमा तरकारी, फलफूल र होटल व्यवसाय गरेर जीवन निर्वाह गर्नेहरू अहिले पलायन बनेका छन्,’ उनले भने, ‘तरकारी, फलफूल लगाउनेहरूले हिजोआज लगाउन छाडेका छन् ।’
    ट्राउट माछाको स्वाद लिन काठमाडौंदेखि आन्तरिक पर्यटक आउने गरे पनि अहिले सडकको अवस्थाले गर्दा त्यो क्रम घटेको उनको भनाइ छ । ‘अहिले होटल व्यवसाय बन्द भएर घरबासै उठेको अवस्था छ,’ उनले भने ।

यही वर्ष काम सक्ने प्रतिबद्धता

सांसदहरुको टोली प्रधानमन्त्रीसंग

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पासाङल्हामु राजमार्गअन्तर्गतको रानीपौवा–पिपलटार सडकखण्ड आन्तरिक स्रोत जुटाएर भए पनि यही वर्ष सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
    शनिबार नुवाकोट जिल्लाका सांसदहरूको टोलीसँगको भेटमा प्रधानमन्त्रीले उक्त राजमार्गको विषयमा आफू जानकार रहेको बताउँदै यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् । पासाङ ल्हामु राजमार्गअन्तर्गत तीनपिप्ले–पिपलटार सडकखण्डको तीनपिप्ले–रानीपौवा खण्डको लागि मात्र बजेट निकासा भएको विषयमा नुवाकोटका प्रतिनिधिहरूले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।
    यही वर्ष नै आन्तरिक स्रोत जुटाएर सो बाटोलाई पिपलटारसम्म कालोपत्र गर्न÷गराउन उनीहरूले प्रधानमन्त्रीसँग माग गरेका थिए । टोलीले बन्चरेडाँडा ल्यान्डफिल साइटले पारेको समस्या र पटक–पटक भएका सम्झौताको बेवास्ताप्रतिसमेत प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको सांसद अर्जुननरसिंह केसीको सचिवालयले जनाएको छ । भेटका क्रममा सांसद केसीले पासाङल्हामु राजमार्ग र बन्चरेडाँडा ल्यान्डफिल साइटको बारेमा सरकार गम्भीर नभए संसद् भवनभित्रै आमरण अनशन बस्ने चेतावनी दिएका थिए । प्रधानमन्त्री प्रचण्डले त्यस्तो परिस्थिति आउन नदिने प्रतिबद्धता व्यक्त गर्दैै अविलम्ब सम्बन्धित निकायसँग छलफल गरी दीर्घकालीन समस्या समाधानको उपाय खोज्ने आश्वासन दिए ।
    नुवाकोटका सांसदहरूले काठमाडौंको फोहोर बिसर्जन हुँदै आएको बन्चरेडाँडा ल्यान्डफिल साइडका कारण स्थानीयवासीको जीवन नारकीय बनेको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका हुन् । नुवाकोटबाट प्रतिनिधित्व गर्ने नेपाली कांग्रेसका सांसदहरू अर्ज‘ननरसिंह केसी र सीता मिजार तथा नेकपा माओवादी केन्द्रका सांसदहरू हितबहादुर तामाङ र विमला सुवेदी, कांग्रेस नेता जगदीश्वरनरसिंह केसीसहित जिल्लाका नेताहरू र जनप्रतिनिधिको टोली प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेको थियो ।

एमसीसीद्धारा जग्गा अधिग्रहण प्रक्रिया सुरु

विदुर । अमेरिकी सहयोग सम्झौता मिलिनियम च्यालेन्ज कर्पोरेसन अन्तर्गतको मिलेनियम च्यालेञ्ज अकाउन्ट नेपाल (एमसीए नेपाल)ले ४०० केभी प्रसारण लाइन निर्माणका लागि नुवाकोटमा जग्गा अधिग्रहण प्रक्रिया सुरु गरेको छ ।
    जिल्ला प्रशासन कार्यालय नुवाकोटले सूचना जारी गर्दै रातमाटे सबस्टेसनदेखि लप्सिफेदी सबस्टेसन, रातमाटे सबस्टेसनदेखि हेटौंडा सबस्टेसन र रातमाटे सबस्टेसनदेखि नयाँ दमौली सबस्टेसन खण्डमा पर्ने नुवाकोट जिल्लाका विभिन्न स्थानीय तहका जग्गाहरू अधिग्रहण गर्न लागिएको जनाएको छ ।
    नुवाकोटका शिवपुरी गाउँपालिका, पञ्चकन्या गाउँपालिका, लिखु गाउँपालिका, बेलकोटगढी नगरपालिका र तारकेश्वर गाउँपालिकामा पर्ने जग्गा तथा जग्गामा रहेका घर गोठ, टहरा, कटेरा तथा रुख विरुवा समेत स्थायी रूपमा अधिग्रहण गर्ने जनाएको छ ।
    सूचना प्रकाशित भएको २१ दिन भित्र सरोकारवाला व्यक्तिहरूलाई क्षतिपूर्तिका लागि जिल्ला प्रशासन कार्यालय मकवानपुरमा निवेदन दिन भनिएको छ । साथै जग्गा अधिग्रहण गर्न नपर्ने कुनै मनासिब कारण भएमा पनि सात दिनभित्र निवेदन दिन सकिने सूचनामा उल्लेख छ ।
    एमसीसी परियोजना औपचारिक रूपमा कार्यान्वयन (इन्ट्री इन्टु फोर्स)मा गएको छ । एमसीसी अन्तर्गतको प्रसारणलाइन निर्माणका लागि भने विभिन्न जिल्लामा जग्गा मुआब्जाका लागि सूचना प्रकाशन भइसकेको छ । परियोजना अन्तर्गत चारवटा प्रसारणलाइन, तीन सबस्टेसन र पूर्व–पश्चिम राजमार्गको ७७ किमि सडकखण्ड विस्तार तथा मर्मत गर्ने गरी २०१७ मा अमेरिकासँग सम्झौता भएको थियो ।
    यसका लागि एमसीसीको ५० करोड अमेरिकी डलर, नेपाल सरकारले सुरुमा तय गरेको १३ करोड अमेरिकी डलर र चालू आर्थिक वर्षमा थपिएको ६ करोड ७० लाख डलर गरी ६९ करोड ७० लाख अमेरिकी डलर कूल लागत छ ।
विद्युत् प्रसारणलाइनका लागि ८५४ वटा टावर निर्माण हुनेछन् भने रातमाटे, दमौली र बुटवलमा सबस्टेसन बन्नेछन् ।

‘देशलाई पराधिन बनाउने एमसीसी काम छैन’

एमसीसी परियोजना कार्यन्वयनविरुद्ध अन्तरक्रिया

विदुर । नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) नेपाल र नेपालीको हितमा नभएको भन्दै विरोध जनाएको छ ।
    मंगलबार विदुरमा आयोजित एमसीसी परियोजना कार्यन्वयनविरुद्ध अन्तरक्रियामा नेकपाका स्थायी कमिटी सदस्य भरतले स्वाधिन र स्वतन्त्र देशलाई पराधिन बनाउन एमसीसी लागू गर्न लागिएको बताए । उनले शान्त देशको सुखी नेपाली हुन चाहेको भन्दै एमसीसीले देश बनाउनेभन्दा उपनिवेश बनाउने खतरा बढेको र नेपाल युक्रेन जस्तो बन्ने दाबी गरे । ‘एमसीसी लागू भयो भने देश पूर्ण उपनिवेश बन्छ,’ उनले भने, ‘हाम्रो देशको स्वाधिनता र स्वतन्त्रता खतम हुन्छ ।’
    उनले एमसीसी नेपालको हितमा नभएपछि संसद्ले १२ बुँदे मसीसीमाथि १२ बुँदे व्याख्यात्मक टिप्पणी किन पास गरेको भनेर प्रश्न गरे । १२ बुँदे संसद्बाट नभई जनताबाट अनुमोदन गर्नुपर्ने उनको भनाइ थियो । उनले एमसीसी खारेजीको विरुद्धमा पूर्खाले नालापानीमा लडेजस्तै सबै एक ढिक्का भएर लड्नपर्ने बताए ।
    अखिल नेपाल महिला संघ क्रान्तिकारी केन्द्रीय समितिका महासचिव राजकुमारीले एमसीसी राष्ट्रको पक्ष नभएको बताइन् । ‘एमसीसी नेपाली जनता र हाम्रो पार्टीलाई स्वीकार्य छैन,’ उनले भनिन्, ‘नेपाली र नेपाललाई रणमैदान बनाउन खोजिएको छ । यसलाई खारेज गर्न सबै नेपाली दिदीबैनीहरू एकजुट भएर लडौं ।’
    पश्चिम ताम्सालिङ ब्युरो इन्चार्ज आजादले एमसीसीको नेपालको हितमा नभएको भन्दै परनिर्भरता बढाउने प्राकृतिक स्रोतसाधनमाथि विदेशीको हस्तक्षेप हुने बताए । नेपाल समाजवादी पार्टी नुवाकोटका अध्यक्ष भगवान रानामगर एमसीसीको विषयलाई पार्टीको माथिल्लो तहले निर्णय गर्ने बताए ।

ईन्द्रायणी चौरमा घटना, जसको घर भत्कियो उसैलाई मुद्दा

घर टहरा भत्काइएपछि आक्रोशित बनेका ईन्द्रायणी चौरमा बस्दै आएका भुकम्प पिडितहरू ।

विदुर । जिल्ला प्रहरी कार्यालयले गत शनिबार भएको घटनामा सात जनालाई पक्राउ गरि मुद्दा चलाउने भएको छ ।
    विदुर नगरपालिका, जिल्ला बिपद ब्यवस्थापन समिति तथा गृह मन्त्रालयको सिफारिसमा नेपाल सरकार मन्त्रिपरिषदको २०७९ भदौं २७ गतेको बैठकले विदुर नगरपालिका वडा नं. १ स्थित ईन्द्रायणी चौरमा रहेको साविक भैरवी –१ कित्ता नम्बर ५० को १४२–१०–२–३ रोपनी जग्गा क्षेत्रफल लिजमा सिटिइभिटी अन्तर्गतको पोष्ट बहादुर बोगटी बहुप्राविधिक शिक्षालयलाई दिने निर्णय भएकोमा २०७२ साल को भुकम्प पश्चात जिल्लाका बिभिन्न स्थानबाट आएर उक्त जग्गामा लामो समयदेखि अबैध रुपमा कब्जामा लिई टहरा बनाई बस्दै आएका थिए ।
    उक्त शिक्षालयले बिदुरनगरपालिकालाई जग्गा खालि गराउन अनुरोध गरे अनुसार वैशाख १७ गते गते बिदुर नगरपालिकाले सर्वदलीय बैठक मार्फत जग्गा खाली गराउने निर्णय गर्दै पटक पटक जग्गा खाली गर्न सूचना प्रकाशित गर्दै आएकोमा अटेरी गरेपछि भदौं ७ गते भएको जिल्ला सुरक्षा समितिको निर्णयानुसार ९ गते शनिवार जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोली लगायतको टोली जग्गा खाली गर्न उक्त स्थानमा पुगेको थियो । प्रहरी पुगेपछि उनीहरूले ढुंगामुढा गरि प्रहरी माथि आक्रमण गरेपछि घटनालाई नियन्त्रणमा लिन प्रहरीद्वारा ११ सेल अश्रुग्याँस प्रहार गरी स्थिति नियन्त्रणमा लिएको थियो । उक्त घटनामा प्रहरी निरीक्षक सहीत ७ जना प्रहरी घाईते भएका थिए ।
    घटनामा सम्लग्न ७ जनालाई पक्राउ गरि मुलुकी अपराध संहिता २०७४ अन्तर्गत अभद्र ब्यहार कसूरमा दिन ७ (सात) म्याद लिई अनुसन्धान अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । पक्राउ परि मुद्दा दर्ताका लागि म्याद थप भएकाहरूमा नुवाकोट किस्पाङ गाउँपालिका वडा नं. १ का ३६ वर्षीय तर्क बहादुर तामाङ, ४५ वर्षीय तेजबहादुर तामाङ, ३३ वर्षीय बहादुर बिक, ४५ वर्षीय श्रीमाया तामाङ, ४४ बर्षिया जितबहादुर तामाङ, रसुवा आमाछेदिङमो वडा नं. १ का ३५ वर्षीय तेन्जिङ तामाङ र रसुवा नौकुण्ठ गाउँपालिका वडा नं. ५ का २९ वर्षीय ठाकुर तामाङ छन् । 

आठ वर्षदेखि बसोवास रहेको ६५ घरटहरा भत्काइयो
विदुर । भूकम्पपछि सुरक्षित स्थान खोज्दै आएर विदुर नगरपालिका–१ सिम्बुटारमा बसेका ६५ घरधुरीलाई स्थानीय प्रशासनले शनिबार बल प्रयोग गरेर हटाइएको छ । नगरपालिकाको नेतृत्वमा प्रहरीले घरटहरा भत्काइदिएको हो । घरटहरा भत्काउने क्रममा सुकुम्बासी र प्रहरीबीच झडप भएको छ ।
    सुकुम्बासीको ढुंगामुडाबाट केही प्रहरी घाइते भएका छन् । प्रहरी निरीक्षक रुद्र कँडेलको टाउकोमा गहिरो चोट लागेको छ भने एक सहायक हवल्दार घाइते भएका छन् । सूचना दिएर बारम्बार आग्रह गर्दा पनि ठाउँ छाड्न नमानेपछि बल प्रयोग गर्न‘परेको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताएका छन् । स्थिति नियन्त्रणमा लिन प्रहरीले ११ सेल अश्रुग्यास प्रहार गरेको उनले बताए । ‘नगरपालिकाले पटक–पटक ठाउँ छाड्न गरेको आग्रहलाई अटेर गरेपछि सुरक्षाकर्मीको सहयोगमा हटाइएको हो,’ प्रजिअ पौडेलले भने, ‘०७५ सालदेखि विभिन्न निकायले पटक–पटक कोसिस ग¥यो । ३ पटक वडाले, ३ पटक नगरपालिकाले, सर्वदलीय बैठकबाट निर्णय गरेर आग्रहसहित माइकिङ गर्दा पनि नहटेपछि नगरपालिकाले नेतृत्व लिएर अगाडि बढ्न चाहेको बेलामा सुरक्षा दिएका हौ ।’
    भूकम्पपीडितले भने हटेर जाने समय नै नदिइ घरटहरा जबर्जस्ती भत्काएको बताएका छन् । सिम्बुटार बस्दै आएकी रसुवा ठूलोहाकुकी मिना घलेले बर्खाको बेला नहटाइदिन आग्रह गरे पनि प्रशासनले बलमिच्याइँ गरेको बताइन् । ‘बाढीपहिरो आएका बेलामा हामी कहाँ जाने ?,’ उनले भनिन्, ‘बर्खामासमा कहाँ गएर बस्ने ? समय दिनु प-यो । चराचुरुंगीले त गुँड खोजेर बसेको छ, हामी त मान्छे हो ।’ व्यवस्थित बसोबास भएपछि जान्छौं भने पनि जबर्जस्ती बिचल्ली पारिएको उनले बताइन् ।
    नुवाकोट किस्पाङ–१ भाल्चेका जीतबहादुर घले भूकम्पले गाउँ तहसनहस पारेकाले बस्ने ठाउँ नभएरै सिम्बुटारमा शरण लिएको बताए । ‘गाउँमा पहिरो छ । बर्खाको बेला नउठाइदिए हुन्थ्यो,’ उनले भने । सोही ठाउँकी श्रीमाया घलेले तीन महिनाजति समय दिए सर्न तयार रहेको आग्रह गर्दागर्दै घरटहरा भत्काएर बिजोग बनाइदिएको बताइन । उनले भनिन् ‘हामीलाई जाने ठाउँ व्यवस्था गरिदिनुस् जग्गा छोडिदिन्छु भनेका हौं ।’
    विदुर नगरप्रमुख राजन श्रेष्ठले पटकपटक समय दिँदा पनि नहटेपछि जबर्जस्ती गर्नु परेको बताए । ‘उहाँहरूलाई समय दिएका थियौं,’ उनले भने,‘जहिले पनि एक/एक वटा बहाना गरेर बस्दै आए । अति भएपछि बल गरेर हटाउनु प¥यो ।’
    २०७२ वैशाखको भूकम्पपछि विभिन्न ठाउँका विस्थापित सिम्बुटारमा बसोबास गर्दै आएका थिए । सुरुवातका केही वर्ष भूकम्पपीडितका बस्तीमा राहत पनि वितरण गरिएको थियो ।
    सुरुमा म्यागङ, किस्पाङ, सूर्यगढी गाउँपालिका र रसुवा हाकुका गरी ९३ घरपरिवार भूकम्पपीडित बसेका थिए । पछि २८ घरधुरी आफ्नो थातथलो फर्किए भने ६५ धुरी बसिरहेका थिए । भूकम्पपीडितका लागि निजी आवास निर्माणमा सघाउने सरकारी लाभग्राही सूचीमा परेर राहत लिए पनि थातथलो फर्किन नमानेकालाई विदुर नगरपालिकाले २०७५ देखि सिम्बुटारको जग्गा खाली ३÷३ पटक ताकेता गर्दा अटेर गरेको जनाएको छ ।
    सिम्बुटारमा भूकम्पपीडित बसेको जग्गा विदुर नगरपालिका, जिल्ला विपद् व्यवस्थापन समिति र गृह मन्त्रालयले २०७९ सालमा पोष्टबहादुर बोगटी बहुप्राविधिक शिक्षालयको नाममा सरकारले भाडामा दिएको छ । उक्त जग्गा १४३ रोपनी छ ।

त्रिशुली अस्पतालमा प्रसूति सेवा सुरु

त्रिशुली । दुई सातादेखि नुवाकोट जिल्ला अस्पताल त्रिशुलीमा बन्द रहेको प्रसूति सेवा सुरु भएको छ । अस्पतालमा गएको सोमवारबाट स्त्रीरोग विशेषज्ञ उपस्थित भएपछि सेवा सुरु भएको हो ।
    सम्बन्धित चिकित्सक नहुँदा अस्पतालमा गत साउन ३० गतेदेखि प्रसूति सेवा बन्द भएको थियो । नुवाकोट, रसुवा र धादिङका उत्तरी भेगका सर्वसाधारणको उपचार गर्दै आएको विदुर नगरपालिका–९ कोलोनीस्थित त्रिशुली अस्पतालमा सम्बन्धित चिकित्सक नहुँदा दुई सातादेखि प्रसूति सेवा प्रभावित भएको थियो । बागमती प्रदेश सरकारले प्रसूति रोग विशेषज्ञ डा. प्रशान्त शर्मा र डा. विदुर भण्डारीलाई खटाएपछि अस्पतालमा प्रसूति उपचार तथा शल्यक्रिया सेवा सुरु भएको अस्पतालका अध्यक्ष राजु पण्डितले जानकारी दिए । उनका अनुसार सम्बन्धित चिकित्सकले कार्य सुरु गरेपछि बिरामीहरूलाई निकै सुविधा पुगेको छ ।
    गत महिना त्रिशुली अस्पतालमा विरामीलाई आकस्मिक, बहिरंग, शल्यक्रिया लगायतका सेवा प्रदान गर्दै आएको सो अस्पतालमा कार्यरत दुई जना स्त्रीरोग विशेषज्ञ सरुवा भएपछि प्रसूति सेवा दुई साता समस्या परेको थियो ।
    त्रिशुली अस्पतालमा हाल विभिन्न १३ जना विशेषज्ञ र नौ जना मेडिकल अधिकृत कार्यरत रहेका छन् । अस्पतालमा स्त्रीरोग विशेषज्ञ आएर कार्य सुरु गरेपछि  दैनिक ८० देखि एक सय जना स्त्रीरोगको उपचार गर्न आउनेहरू लाभान्वित भएका छन् ।

आँखा पाक्ने प्रकोप सामान्यतर्फ

विदुर । मुलुकभरि देखिएको आँखा पाक्ने रोग ‘भाइरल कन्जक्टिवाइटिस’को प्रकोप सामान्य हुँदै गएको छ । नेत्र विशेषज्ञहरू यो संक्रमण भदौ मसान्त वा असोज पहिलो सातासम्ममा फाट्टफुट्ट रूपमा मात्रै रहने दाबी गर्छन् ।
    नेपाल–भारत सीमावर्ती क्षेत्रबाट सुरु भएको आँखा पाक्ने संक्रमण पछिल्लो एक महिनामा देशभरि महामारीकै रूपमा विस्तार भएको थियो । आँखाको सेतो भाग सुन्निने र पाक्ने यो कन्जक्टिवाइटिसलाई आई फ्लुसमेत भनिन्छ । मुलुकका विभिन्न आँखा अस्पतालका बहिरंग विभागमा आएका कुल बिरामीमध्ये आँखा संक्रमितको संख्या पछिल्लो सातादेखि अधिकतम २० प्रतिशतमा झरेको तथ्यांक छ । आँखा पाक्ने संक्रमण दर दिनहुँ घट्दो क्रममा रहेको चिकित्सकहरूले बताएका छन् । जिल्ल अस्पताल त्रिशुलीका अनुसार हाल संक्रमित दर पहिलेको दाँजोमा करिब ८० प्रतिशत घटिसकेको छर । सम्भवतः असोजदेखि संक्रमण खासै नदेखिने अनुमान छर । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष राजु पण्डितले संक्रमित दर बहिरंग विभागका कुल बिरामीमध्ये अधिकतम १० देखि १५ प्रतिशतमा सीमित भइसकेको बताए । ‘आँखा पाक्ने प्रकोप सामान्य अवस्थामा पुगेको देखिन्छ,’ उनले भने । उनले अस्पताल आएका बिरामीमध्ये २ देखि ३ प्रतिशतमा मात्र भाइरल कन्जक्टिवाइटिस देखिएको जनाए ।
    ३ देखि ४ प्रतिशतमा आँखाको नानीमा असर परेको छ । आँखा पाक्ने बिरामीमध्ये करिब ५ प्रतिशतका नानीमा असर देखिएको छ । यो संक्रमण हुँदा आँखा मिच्न र पानी छ्याप्न नहुने भन्दै नेत्र विशेषज्ञहरू बरु आँखालाई सफा रुमालले सेक्न सुझाव दिन्छन् । स्वास्थ्यकर्मीको सल्लाहबिना आँखामा राख्ने औषधि प्रयोग गर्नु हुँदैन ।

कानुन, मानव अधिकार समिति सभापतिमा सुवेदी

विदुर । प्रतिनिधिसभाका विषयगत कानुन, न्याय तथा मानव अधिकार समितिको सभापतिमा नेकपा माओवादी केन्द्रकी बिमला सुवेदी चयन भएकी छिन् । समितिले गएको आइतबार गरेको मनोनयनका आधारमा गएको सोमबार उनलाई सभापतिमा सर्वसहमत चयन गरेको हो ।
    उनले गएको आईतबार आफ्नो उम्मेदवारी मनोनयनका लागि दर्ता गराएकी थिईन् । उनको प्रस्तावकमा माओवादी सांसद पूर्णबहादुर घर्ती, समर्थकमा एमाले सांसद महेश बर्ताैला, कांग्रेस सांसद रमेश लेखक र राप्रपा सांसद ध्रुवबहादुर प्रधान रहेका थिए । सुवेदीलाई सभापति चयन गर्ने समिति बैठकको अध्यक्षता कांग्रेस सभापति शेरबहादुर देउवाले गरेका छन् । बैठकमा पदेन सदस्यका रुपमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि सहभागी भएका छन् ।
    यसै बीच, विषयगत समितिका सभापतिहरूले पद तथा गोपनियताको शपथ लिएका छन् । गएको सोमबार सभामुख देवराज घिमिरेले सभापतिहरूलाई शपथ खुवाएका हुन् । एमालेबाट सार्वनजिक लेखा समितिमा ऋषिकेश पोखरेल र महिला तथा सामाजिक समितिमा किरणकुमार साह, पूर्वाधार विकास समितिमा राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपककुमार सिंह, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा जनमत पार्टीका अब्दुल खान सभापति बनेका छन् ।
    अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सभापतिमा जनता समाजवादी पार्टी नेपालका राजकिशोर यादव, नेपाली काँग्रेसबाट राज्यव्यवस्था तथा सुशासन समितिमा रामहरि खतिवडा, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा आरजु राणा देउवा, अर्थ समितिमा सन्तोष चालिसे सभापति चुनिएका छन् । कानुन, न्याय तथा मानव अधिकार समितिको सभापतिमा नेकपा माओवादी केन्द्रकी बिमला सुवेदी र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिमा नेकपा (एकीकृत समाजवादी)का भानुभक्त जोशी निर्विरोध भएका छन् ।

सामुदायिक विद्यालयहरूलाई फर्निचर वितरण

विवतरण भएको फर्निचर

विदुर । नुवाकोटको तारकेश्वर गाउँपालिकाले आफ्नो गाउँपालिका भित्र रहेका ११ वटा विभिन्न सामुदायिक विद्यालयहरूलाई फर्निचर उपलब्ध गराएको छ । गएको मंगलवार एक कार्यक्रमको आयोजना गर्दै गाउँपालिकाका अध्यक्ष शिव अधिकारीले विद्यालयहरूलाई फर्निचर उपलब्ध गराएका हुन् ।
    केही महिना अगाडि गाउँपालिका अध्यक्ष अधिकारीले बिद्यालयहरूको अनुगमन गर्दा केही विद्यालयहरूमा फर्निचरको अति आवश्यक रहेको देखेपछि आज सो विद्यालयहरूलाई आवश्यकताको आधारमा दराज, कुर्सी, अफिस टेवल र लो टेवल वितरण गरिएको हो । वितरण गरिएको सामाग्रीहरूमा दाराज ११ थान, अफिस कुर्सी, ११ थान, अफिस टेबल ११ थान र लो टेबल ५५ थान रहेका छन् । विद्यालयलाई चाहिने आवश्यक फर्निचर वितरण गर्दै आउँपालिका अध्यक्ष अधिकारीले पछिल्लो समय पालिका भित्रको शैक्षिक सुधारका लागि शिक्षकहरूको सरुवा गर्ने निर्णयलाई लिएर अनावश्यक हौवा फैलाइएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।
    उनले पालिकाको शैक्षिक सुधार गर्ने काममा अवरोध सिर्जना गर्ने र भाँड्ने मानसिकताबाट मुत्त हुने सबैलाई आग्रह गरे । गाउँपालिका अध्यक्ष अधिकारीले पालिकाको शैक्षिक उनन्नयको लागि आफु विद्यालयहरूलाई जस्तो सुकै सहयोग गर्न समेत तयार रहेको प्रतिबद्धता व्यक्त गरे ।

काँग्रेस सभापतिसहितको राजीनामा

राजीनामा

विदुर । नेपाली काँग्रेस विदुर नगरपालिका वडा नम्बर ११ का पदाधिकारीहरूले पदबाट सामुहिक राजीनामा दिएका छन् । आन्तरिक किचलोका कारण विदुर नगरपालिका वडा नं. ११ का इकाई सभापतिसहित सचिव र कोषाध्यक्षले पदबाट राजीनामा दिएका हुन् । राजीनामा दिनेहरूमा कार्यवहाक सभापति ज्ञानप्रसाद प्याकुरेल, सचिव नमराज चालिसे र कोषाध्यक्ष कु प्रसाद तिमिल्सिना छन् ।
    उनीहरूले राजीनामा नेपाली काँग्रेस जिल्ला कार्यसमितिका सभापति रमेश महत, क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति जगत लामा र विदुर नगरपालिकाका नगर सभापति हरिलाल श्रेष्ठलाई बुझाएका छन् । सभापति सहित पदाधिकारीहरूले विकास निर्माणमा आफ्नो वडालाई पछि पारिएको, पार्टीभित्र गुट मौलाएको लगायतका विषय उल्लेख गर्दै राजीनामा दिएका छन् । राजीनामा पत्रमा आफूहरूले उठाएको विषयहरूमा सम्बोधन हुने विश्वास उनीहरूले गरेका छन् । नगरपालिकामार्फत हुने विकास निर्माणमा सहकार्य नभएको, वडामा बजेट विनियोजन गर्दा भेदभाव गरेको आरोप छ ।  
  विदुर ११ मा पार्टी सभापति शेरबहादुर घलेको निधन भए पछि प्याकुरेललाई केही दिन अघि मात्रै कार्यवहाक सभापति बनाएको थियो ।

एक किलो सुनसहित महिला पक्राउ

रसुवा ।  रसुवामा अवैध सुनसहित शनिबार एक जना महिला पक्राउ परेकी छन् । रसुवागढी नाकाको मितेरी पुलबाट गोसाइँकुण्ड गाउँपालिका–३ बृद्धिमका ४१ वर्षीया पाछेमु तामाङ गुरुङ पक्राउ परेकी हुन् ।
    शनिबार बिहान साढे ११ बजे रसुवागढीस्थित मितेरी पुलमा इलाका प्रहरी कार्यालय टिमुरेका प्रहरी निरीक्षक सुमन कुमार थापाको कमाण्डमा खटिएको प्रहरी टोली, सशस्त्र प्रहरी बल र रसुवा भन्सार कार्यालयको संयुक्त चेकिङ टोलीले उनलाई पक्राउ गरेको हो । चीनबाट नेपाल तर्फ पैदल आउँदै गरेकी उनको साथबाट ४ वटा टुक्रा पारी ल्याएको सुन फेला परेको हो । उक्त सुनको चौल एक किलो रहेको अनुमान गरिएको छ ।
    जिल्ला प्रहरी कार्यालय रसुवाका प्रमुख सुवास बुढाथोकीले केरूङबाट अवैधरूपमा एक किलो सुन लुकाइछिपाइ रसुवागढी नाकाबाट नेपाल भित्र्याउन लाग्दा सीमा सुरक्षाकर्मीले तामाङलाई पक्राउ गरेको जानकारी दिए । सुन ल्याउने महिला बिरामी परेको देखिएकाले सुरक्षाका साथ उपचारार्थ रसुवा अस्पताल भर्ना गरिएको उनले बताए । थप अनुसन्धान भइरहेको प्रहरीले जनायो ।

गाउँमै ‘अक्सिजन कन्सनटेटर’ मेसिन

सामाग्री हस्तान्तरण कार्यक्रम ।

कुमरी । नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिका वडा नं. २ मा रहेको आधारधुत स्वास्थ्य केन्द्रलाई विभिन्न स्वास्थ्य सामाग्री प्रदान गरिएको छ ।
    नेपाली काँग्रेसका नेता, बरिष्ठ चिकित्सक डा. केदारनरसिंह कसी मार्फत स्वास्थ्य सामाग्री वितरण गरिएको थियो । केसीको सक्रियतामा बिरामीहरू कृष्णमाया राई र रिता ढुंगानालाई डाक्टरको सिफारिस अनुसार नियमित अक्सिजन लगाउनु पर्ने भएकोले ले १/१ थान अक्सिजन कन्सन्टेटरसहित अन्य स्वास्थ सामाग्रीहरू स्वास्थ कार्यालय लाई हस्तान्तरण गरिएको थियो ।
     सो अवसरमा वडा अध्यक्ष तिमिल्सिनाले वडा नं. २ भित्र रहेका अति आवश्यक भएका व्यक्तिहरूका लागि हाल ८ वटा ‘अक्सिजन कन्सनटेटर’ मेसिन सञ्चालनको लागी तयारी गरिएको जानकारी दिए । उनले हाल वडा भित्र रहेका बासिन्दाहरूलाई अक्सिजनको अति आवश्यक परेमा आफ्नो आवश्यकता अनुसार वडा बाटै ‘अक्सिजन कन्सनटेटर’ मेसिन लिएर घरमै लगेर सेवा दिन सुरूवात गरिएको छ । हाललाई १० लिटरका चार वटा मेसिनहरू रहेको, ५ लिटरका ४ वटा र अवस्यकता अनुसार ४ वटा ठुलो सिलिन्डर उपलब्ध गरिएको छ । यसबाटै सेवा सुचारु गरिएको र मेसिन थपेर १० देखि १२ वटासम्म पुर्याउने तयारी रहेको तिमल्सिनाले जानकारी दिए ।
    वडा अध्यक्ष तिमल्सिनाल  स्वास्थ्य मन्त्रालय अन्तर्रगतको स्वास्थ्य सेवा विभागबाट हाललाई ७ वटा ‘अक्सिजन कन्सनटेटर’ मेसिन ल्याइएको र आगामी दिनमा यसलाई थप गरी विभिन्न सेवा सहित समावेश गरिने समेत बताए । वडाअध्यक्ष तिमल्सिनाले हाल आधारभुत स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा रहेको र जसमा चार जना कर्मचारी सहित हाल सञ्चालनमा रहेको सेवालाई अब आफ्नै भवनबाट सुचारु गर्न लागिएको समेत जानकारी दिए । उनले अत्याधुनिक आयुर्वेद औषधालय पनि छिट्टै आफ्नै भवनबाट सञ्चालन गर्ने तयारीमा रहेको बताए । अस्पतालको उपचार पश्चात् बिरामीहरूलाई अक्सिजन आवश्यक पर्ने हुनाले यसको सहजताका लागि वडा भित्र रहेका बासिन्दाहरूलाई स्वास्थ्य सेवा दिन आवश्यक ठानेर यस्तो काम गरिएको वडाअध्यक्ष तिमल्सिनाले जानकारी दिए । निकट भविष्यमा नै वडा बासिहरूलाई आधारभुत निशुल्क स्वास्थ्य सेवा सुचारु गरिने बताएका छन् । अति आवश्यक पर्दा वडामै आएर समेत सेवा लिन सकिने तिमल्सिनाले जानकारी दिए ।
    जनताको सुखदुःख मा निरन्तर सहकार्य गरिने केसीले बताए । आयुर्वेदिक चिकित्सा मार्फत वडा कार्यलयसँग सहकार्य गरेर सक्दो आयुर्वेदिक औषधालयमा विभिन्न किसिमको रोगको उपचारका साथै अत्याधुनिक सेवा बिस्तार गर्न आयुर्वेद मेडिकल काउन्सिलका प्रमुख प्रशासकीय अधिकृत दिपक भण्डारीले सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे ।

सुरुङमार्गमा चीनको सहयोग मागिदै

विदुर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ५ असोजदेखि गर्ने चीन भ्रमणमा नेपालले टोखा–छहरे सुरुङमार्ग निर्माण अघि बढाउन प्रस्ताव गर्ने भएको छ । प्रधानमन्त्रीको चीन भ्रमणमा काठमाडौंको टोखा र नुवाकोटको छहरे जोड्ने सुरुङमार्ग निर्माणका लागि अनुदान सहयोग माग्ने तयारी भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय स्रोतले जनाएको छ ।
    यातायातसम्बद्ध विभिन्न एजेन्डामध्ये यो विषयलाई सरकारले बढी प्राथमिकतामा राखेको छ । चालु आर्थिक वर्षको बजेटमा यो सुरुङमार्ग निर्माणका लागि अर्थमन्त्री डा. प्रकाशशरण महतले एक अर्ब बजेट छुट्याएका छन् । तर, चीनसँगको नाका केरुङ लक्षित यो सुरुङमार्ग कस्तो डिजाइन र प्रविधिमा बन्ने भन्ने तय हुन भने बाँकी छ ।
    असोज २०७६ मा चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपाल भ्रमणमा आएका बेला टोखा–छहरे–गुर्ज‘भञ्ज्याङ र बेत्रावती–रसुवागढी (घट्टेखोला) सुरुङमार्गको अध्ययन गर्ने जिम्मा चीनले लिने सहमति भएको थियो । नसँगको समझदारी अनुसार सुरुङमार्गको डीपीआर बनाउन लाग्ने अध्ययन खर्च चीनले नै ब्यहोरिरहेको छ । वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) भने नेपाल गर्न‘पर्नेछ । अध्ययन भइरहेको टोखा–छहरे सुरुङमार्ग खण्डको डीपीआर र ईआईए टुंग्याएर निर्माणमा जाने सहमति गर्न नेपाली पक्ष आतुर छ ।
    ‘चीनले अध्ययन गरिरहेको परियोजना भएकाले यसमा सहमति हुनसक्ने सम्भावना छ’, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय स्रोतले भन्यो, ‘चीनले अनुदानका लागि नेपाललाई दिएको सिलिङभित्रबाट मात्रै खर्च गर्ने अडान राख्यो भने ठूलो लागतको परियोजनामा समझदारी हुन सहज अवस्था पनि छैन ।’ १५ वैशाखमा अर्थमन्त्री डा. महत र नेपालका लागि चिनियाँ राजदूत छन् सोङबीच भएको भेटवार्ता पनि टोखा–छहरे सुरुङमार्ग निर्माणबारे छलफल भएको थियो ।
    अर्थमन्त्री महतसँगको भेटमा चिनियाँ राजदूत सोङले नेपालभित्र पूर्वाधार क्षेत्रमै उच्चतम प्रयोग हुने गरी करिब ८० अर्ब रुपैयाँ उपलब्ध गराउन सक्ने जानकारी गराएका थिए । नेपालले गरेको प्रारम्भिक अध्ययन र चीनले गरेको सम्भाव्यता अध्ययनले यो आयोजना सम्भाव्य रहेको देखाइसकेको छ । अध्ययनमा काठमाडौंको टोखाबाट नुवाकोटको थानसिंह फाँटछेउ पुग्ने करिब ४.२ किलोमिटरको सुरुङ बनाउन सकिने देखिएको थियो । अझ लगानी बढाउने हो भने ५ किलोमिटरभन्दा लामो सुरुङ बनाएर सडकको दुरी घटाउन सकिने सडक विभागका अधिकारीहरूको भनाइ छ । टोखाबाट थानसिंग फाँटबाट त्रिशुली हुँदै रसुवासम्म बन्ने सुरुङसहितको सडक गल्छी–स्याफ्रुबेसी खण्डमा जोडिनेछ । सेनाले नदी किनारै–किनारै धुन्चे भएर जाने सडकको विकल्पमा गल्छी–स्याफ्रुबेंसी खण्डको ट्रयाक खोलिसकेको छ । त्यसैमा टोखाबाट जाने सडकलाई जोड्ने सरकारको योजना छ ।
    स्याफ्रुदेखि रसुवागढीसम्म भने चीनले अहिले सडक विस्तारको काम गरिरहेको छ । यो सुरुङ र पहुँच मार्ग निर्माणपछि काठमाडौंबाट चीनको सीमासम्म मालबाहक गाडी पनि दुई घण्टामै पुग्न सक्ने अधिकारीहरू बताउँछन् । भूकम्पयता चीनले तातोपानी नाकालाई प्राथमिकतामा राख्न छाडेपछि रसुवाको रसुवागढी नाकासम्मका पूर्वाधार निर्माणलाई सरकारले महत्व दिएको छ । यो योजना पूरा हुँदा नाकासम्म सुविधायुक्त सडक मात्रै बन्ने छैन केरुङ र काठमाडौंको दुरी करिब ८० किलोमिटरमा छोटिनेछ । त्यसैकारण पनि यो एजेन्डालाई प्राथमिकता दिइएको परराष्ट्र मन्त्रालयका अधिकारीहरू बताउँछन् ।

दुर्घटनामा एकको ज्यान गयो

बेत्रावती । ट्रिपरले ठक्कर दिँदा एक पुरुषको निधन भएको छ । शनिबार दिउँसो विदुर नगरपालिका वडा नम्बर १० वेत्रावती बजारमा दुर्घटना भएको हो ।
    जिल्ला प्रहरी कार्यालय नुवाकोटको अनुसार बा ४ ख ४३४२ नम्बरको ट्रिपरले रसुवा जिल्ला उत्तरगया गाउँपालिका १ गोगनेका वर्ष ३७ का कामी तामाङलाई ठक्कर दिएको थियो । गाडी ‘ब्याक’ गर्ने क्रममा गम्भीर घाइते तामाङको उपचारका लागि त्रिशुली अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । घटना पश्चात स्थानीयको भीड नियन्त्रण गरी चालक वर्ष ३१ का सन्दीप तामाङलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान अगाडि बढाइएको बताइएको छ ।

रसुवाबाहिरकालाई पनि अनुमतिपत्र

धुञ्चे । रसुवाबाहेकका जिल्लाका ट्रक चालकलाई पनि चीनको केरुङसम्म जान अनुमतिपत्र जारी हुने भएको छ ।
    अध्यागमन विभागको निर्देशनपछि अध्यागमन कार्यालय टिम्मुरे रसुवाले अन्य जिल्लाका ट्रक चालकलाई पनि केरुङ प्रवेशको अनुमतिपत्र जारी गर्न लागेको हो ।
    अध्यागमन कार्यालय रसुवाका प्रमुख चूडामणि अर्यालले यसै महिनाको अन्तिमबाट केरुङ प्रवेशको पास जारी गर्ने तयारी भइरहेको बताए । ‘विभागबाट पास जारी गर्न निर्देशन भएको छ,’ अर्यालले भने, ‘अभिलेखीकरणका आवश्यक सबै बन्दोबस्त गरिरहेका छौं । यसै महिनाको अन्तिमबाट पास जारी हुन्छ ।’
    अहिले जिल्ला प्रशासनको अनुमतिका आधारमा रसुवाका स्थानीयहरू एक वर्षसम्म चीनतर्फ कामका लागि बस्न पाउने गरी पास जारी भइरहेको अर्यालले बताए । सोही प्रावधान अनुसार हाल मालवस्तु ढुवानी गर्ने ट्रक तथा कन्टेनर चालकका रुपमा रसुवा जिल्लाका चालकलाई मात्रै केरुङ प्रवेशको अनुमति प्राप्त हुन्छ । एउटै जिल्लाका चालकलाई मात्रै माल वस्तु आयात गर्ने अनुमति हुँदा जनशक्तिको अभावको समस्या भएको भन्दै व्यवसायीहरूले अध्यागमन विभागको ध्यानाकर्षण गराएका थिए । चिनियाँ पक्षसँग छलफल भइसकेको भन्दै गत साता विभागले अनुमतिपत्र जारी गर्ने तयारी थाल्न परिपत्र गरेको थियो ।
    २०७६ चैतमा कोभिड महामारी देखिएपछि नाकाबाट मानव आवजावत ठप्प भएको थियो । १८ चैत २०७९ मा नेपाल चीन स्थलमार्ग भएर मानिसहरूको आवजावत खुला गर्न नेपाल र चिनियाँ पक्षबीच समझदारी भएको थियो । त्यसलगत्तै रसुवाका नागरिकहरूले केरुङ प्रवेशको अनुमति पाउन थाले पनि अन्य जिल्लाका मानिसका लागि प्रवेश अनुमति अझै बन्द छ । कोभिड महामारी अघि नेपाली नागरिक, व्यवसायी, श्रमिक तथा चालकहरूले प्रवेशाज्ञा लिएर केरुङ प्रवेश पाउँथे । १८ चैतमा भएको समझदारीअनुसार रसुवागढी नाका सहज बनाउन र तातोपानी नाकाबाट पनि मानिसहरूको आवाजावत खुलाउने तयारी अन्तिम अवस्थामा पुगेको सिन्धुपाल्चोक जिल्ला प्रशासन कार्यालयले जनाएको छ । प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेका अनुसार १५ असोजसम्म तातोपानी नाकाबाट मानिसहरू आवाजावत खुल्ला गर्न चीनले सहमति जनाएको छ ।

खोलेगाउँका सुर्य अन्तराष्ट्रिय प्रतिस्पर्धामा

सुर्यकुमार तामाङ

विदुर । ५५ औं एसियाली शारीरिक सुगठन तथा फिजिक्स स्पोर्टस् च्याम्पियनसिपमा नुवाकोट शिवपुरी गाउँपालिका वडा नम्बर ६ खोलेगाउँका सुर्यकुमार तामाङले पनि प्रतिस्पर्धा गर्ने भएका छन् । एसियन शारीरिक सुगठन तथा फिटनेस महासंघको आयोजनामा काठमाडौंमा प्रतियोगिता हुन लागेको हो ।
    विभिन्न १७ राष्ट्रका २३६ खेलाडीले विभिन्न विधामा प्रतिस्पर्धा गर्ने प्रतियोगितामा तामाङले ७५ केजी तौलमा प्रतिस्पर्धा गर्ने भएका हुन् । खेलमा तामाङसहित १६८ पुरुष र ६८ महिला गरी २३६ खेलाडीहरूले विभिन्न ४५ विधामा प्रतिस्पर्धा गर्नेछन् । शारीरिक सुगठनको प्रतियोगितामा पहिलो पटक ठुलो प्रतियोगिताको रूपमा रहेको च्याम्पियनसिपमा नेपाल सहित भुटान, चीन, हङ्गकङ्ग चाइना, भारत, काजकिस्तान, मकाउ चाइना, मालदिभ्स, मलेसिया, म्यानमार, सिंगापुर, दक्षिण कोरिया, श्रीलङ्का, थाइल्यान्ड, ताजाकिस्तान, उज्बेकिस्तान र भियतनामको सहभागिता रहेको छ ।
    दरवारमार्गस्थित याक एण्ड यती होटलको रिगल बाल रुममा हुने च्याम्पियनसिपमा पुरुष तर्फ २८, महिला तर्फ १६ र मिक्स १ गरी ४५ विधामा प्रतिस्पर्धा हुनेछ । प्रतिस्पर्धा गर्ने सबै देशका खेलाडी, अफिसियल र डेलिगेट्सहरू नेपाल आईसकेको बताइएको छ । प्रतियोगिताको अन्तिम दिन शारीरिक सुगठन तर्फको ५५, ६०, ६५, ७०, ७५, ८०, ८५, १०, १०० र ११० केजी गरी १० समूहका प्रथम स्थान प्राप्त गर्ने खेलाडीहरूबिच प्रतिस्पर्धा गराई सर्वोत्कृष्ट हुने खेलाडीलाई मिस्टर एसिया २०२३ घोषित गरिनुका साथै ट्रफी प्रदान गरिने बताइएको छ ।

हराएका तीर्थयात्री तीन दिनमा भेटिए

रसुवा ।  जनैपूर्णिमाको दिन रसुवाको डिम्साबाट हराएका तीर्थयात्रु भेटिएका छन् । काभ्रेपलाञ्चोक भुम्लु गाउँपालिका–४ दुप्लुगाउँ घर भई काठमाडौँ लाजिम्पाट निवासी १६ वर्षीय प्रवेश तामाङ शनिबार अपराह्न फेला परेका हुन् । आमाको साथमा गोसाइँकुण्डबाट फर्कने क्रममा ढिम्सा क्षेत्र झरेपछि छुर्पी किन्न लाग्दा आमा छोराको दूरी फरक भई मुख्य बाटो भुलेर जङ्गलको बाटो पस्दा प्रवेश हराए ।
    उनको टाउको र शरीरमा चोटपटक भएका कारण रसुवा अस्पतालमा उपचार भइरहेको र स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. अमितकुमार शाहले बताए । प्रवेश हराएको सूचना पाउनासाथ नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलसमेतका सुरक्षाकर्मीले खोजीकार्य तीव्र बनाएको थियो । ठूलोस्याफ्रु, ब्रावल, भार्खु, डिम्सालगायतका क्षेत्रमा दैनिक ८०–९० जना सुरक्षाकर्मी परिचालित भएका थिए । शनिबार धुञ्चेपारिको खोपाङ भिर इलाकाको खोल्छामा उनी फेला परेका हुन् ।
    दुई दिनको प्रयासबाट घिस्रिँदै खोपाङ्को खोल्छाखोल्छै सडकमा पुगेका प्रवेशले सडकमा यात्रा गर्दै गरेका धुञ्चे निवासी सुशील थोक्रालाई भेटेपछि उनकै मोटरसाइकलबाट धुञ्चे पुगेका थिए ।

स्वर्ग जाने बाटो को कथा

शिवराम ढकाल (लिखु गा.पा.१, नुवाकोट)
“हिँडे देखि छेऊ लाग्छ बसे लेहुँ लाग्छ” भनेझैं जब हिडीन्छ जीवन र जगत को प्रत्यक्ष्य अनुभव गर्न पाइन्छ । बाइकमा ढिकुरे हुँदै पासाङ्गल्हामु राजमार्ग गंगटे भन्ने ठाउँबाट छिचोल्दै करिब ३ घण्टा जति को यात्राबाट धुन्चे पुगियो, आफ्नै कार्यालयका सरहरूको मिठो आतिथ्यमा धुन्चे बजारमा बिहानको खान खाइयो । केही बुझेको, केही सुनेको आधारमा ट्रेकिङ्का लागि आवश्यक बन्दोबस्त गरी बिहानको करिब ११ बजे धुन्चे बजारदेखि घट्टे खोला हुँदै यात्रा तय गर्ने तरखर गर्दै थियौ । गेटमै निःशुल्क स्वास्थ्य परामर्श सँगै आवश्यक औषधि वितरण, ठूलो आवाज सहित स्पिकरमा बजेका महत्वपूर्ण हटलाइन फोन नम्बरहरू, आकस्मिक सेवा लिग्न आग्रह गर्दै गरिरहनु हुने राष्ट्र सेवकहरू देखेसि झनै मनमा आनन्द र सुरक्षित यात्राको महसुश भयो ।
    स्थानीय सरकारले राजश्व आम्दानीलाई आत्मसाथ गर्दै त्यो गोरेटो बाटोसँगै बनाएको थुर्प‘ (कटेरो)सँगै राखिएको थुर्पु नम्बर, थुर्प‘ भित्रै पाकेका लोकल परिकारहरू, बाटो कै छहारी भित्रको हल्का चिसोले उत्ताउलो बनेको वातावरण अनि चराचुरुंगीहरूको चिर्बिराहट, झ्याउँकिरीहरूको लयात्मक संगीत अनि तामे ढुकुरझैं देखिने प्रेमील जोडीहरूको फिरफिराहट, त्यो गोरेटो पनि साँच्चिकै धर्तीको स्वर्ग जाने बाटोझैं प्रतीत हुन्थ्यो । अनि क्यामरामा कैद गर्न कोसिस गरिन्थ्यो, तर सकिदैनथ्यो । किन भने मन भित्रका उत्औंलो मज्जा कति कैद गर्न सकिन्थ्यो र ! करिब ३ घण्टाको नाकको डाँडी छुने उकालो हिँडाइबाट देउराली पुगेपछि केही तेर्सो सजिलो बाटो पार गरी चण्दनबारी हुँदै फेरि उकालो यात्रा तय गर्दै चोलाङपाटीमा साँझ बास बस्यौँ ।
    धुन्चे पछिको त्यो ८ घण्टाको यात्रा साच्चिकै जीवन र जगत लाई दृष्यहरू, अवस्था हरूको एकमुष्ट रसास्वादन गर्न सुवर्ण अवसरका रूपमा पाएको महसूस भयो । एकै दिन धेरै ट्रेकर्सहरू हिँडडुल गरेका कारण हामी कुनै एक हल जस्तै लामो थुर्प‘ अर्थात् कटेरोमा बास बस्यौ । म भने आँखा झिमिक्क पनि गर्न सकिनँ, बिहानको करिब २ बजेनै हामी लौरी र मोबाइलको उज्यालोको साहयताले बिस्तारै लौरी बिनाको उकालो अनि बुद्ध मन्दिर हुँदै बिहानको चिसो–चिसो हावासँगै खुलेको आकाश, लाङ्टाङ हिमालका दृश्य, धुन्चे बजारको दृश्य र कुइरो लुकामारी खेले झै गरी लुटपुटिन थालेको दृश्य अचम्मै मनमोहक लाग्यो ।
     सरस्वती कुण्ड (जहाँ नेपालको झन्डा जस्तै आकृति पनि देख्न सकिन्छ), भैरब कुण्डको आगमनसंगै अघाएर निदाइरहेको काखे बच्चा जस्तै गरी ढुंगाहरू पहाडका काखीमा च्यापेर बसेको त्यो मनमोहक दृश्य, आँखा भरीका डाँडाहरूमा भुइँ भरी फुलेका हरेक रंगका फूलहरू साँच्चै लालायित हुँदै झण्डै सात घन्टाको हिंडाइपछि जब आँखै अगाडी साक्षत रुपमा वर्षौंदेखि मानसपटलमा सजिएको गोसाइँकुण्ड जीवन्त दृष्य देखियो, कुण्डमा स्नान गरेपछि यात्राका सबै दुःखकष्टहरू कपास बनेर हावामा उड्न थाले । यात्राको थकानले भारी भएको शरीर बेलुनझैं आकाशमा उडेको प्रतीत हुन थाल्यो । केहीबेर निःशब्द भइयो । बस् केही क्षणका लागि सबै कुरा बिर्सिइयो किनकि आफ्नो आँखैमा थियो वर्षाैंको सपना कुण्ड, अर्थात् धर्तीको स्वर्ग गोसाइँकुण्ड ।

गोसाइँकुण्डमा १५ हजार पुगेको अनुमान

 गोसाइँकुण्ड

विदुर । जनैपूर्णिमा पर्वका अवसरमा स्नान तथा पूजाका लागि हजारौँ भक्तजन नीलाद्री पर्वतमा अवस्थित पवित्र तीर्थ गोसाइँथान (गोसाइँकुण्ड) पुगेका छन् । झण्डै १५ हजार भक्तजन गोसाइँकुण्ड पुगेका हुन् । जनैपूर्णिमा पर्वको अवसरमा रसुवावासी, धादिङ, नुवाकोट, लमजुङ, तनहुँ, कास्की, पर्वत, चितवन, नवलपरासी, मकवानपुर, रौतहट, बागलुङ, ललितपुर, काठमाडौँ, भक्तपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा, ओखलढुङ्गा, सिधुली, झापा, पर्सा, बारा र रामेछाप लगायतका जिल्लाबाट भक्तजन गोसाइँकुण्ड पुगेका छन् ।
    समुन्द्र मन्थन गर्दा निस्केको कालकूट विष सेवन गरी भगवान् शिवले प्राणी जगतलाई बचाउनुभएको विश्वासका साथ हरेक मानिस भक्तजनका रूपमा जिन्दगीमा एकपटक भए पनि गोसाइँकुण्ड दर्शन गर्ने चलन रहिआएको छ । समुन्द्र सतहदेखि चार हजार ३८० मिटरको उचाइमा अवस्थित पवित्र तीर्थमा जाने यात्रुलाई लेक लाग्ने समस्या न्यूनीकरण एवं उपचारका लागि लौरीविनायकमा गोसाइँकुण्ड गाउँपालिका, चोलाङपाटीमा नेपाली सेना र गोसाइँकुण्डमा हिमालय उद्धार संघबाट खटिएका चिकित्सक समूहले उपचार सेवा दिएको गोसाइँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जीव डिएमले जानकारी दिए ।
    कुण्ड गहिरो भएका कारण भक्तजनले स्नान गर्ने क्रममा हुनसक्ने जोखिम न्यूनीकरण गर्न संघीय सांसद मोहन आचार्य, गोसाइँकुण्ड गाउँपालिका, जिल्ला प्रशासन कार्यालय रसुवा, लाङटाङ राष्टिय निकुञ्ज, नेपाली सेना, सशस्त्र प्रहरी २० नम्बर गुल्म, जिल्ला प्रहरी कार्यालय, हिमालय उद्धार संघ, जिल्ला स्वास्थ्य कार्यालय, जिल्ला आयुर्वेद कार्यालय, नेपाल टेलिकम रहेका थिए । त्यस्तै गोसाइँकुण्ड गाउँपालिका वडा नम्बर ६ वडा कार्यालय, नौकुण्ड मध्यवर्ती उपभोक्ता समिति, होटल व्यवसाय, ल्यकोश, डिवाइटिडिएस, मानेकोर सोसाइटी, गोसाइँकुण्ड गाउँपालिका वडा नम्बर ५ वडा कार्यालय, सूर्यकुण्ड मध्यवर्ती उपभोक्ता समिति, नेपाल रेडक्रस सोसाइटी रसुवा, सक्षम नेपाल, नेपाल पत्रकार महासंघ, ट्राफिक प्रहरी कार्यालय, उद्योग वाणिज्य संघ, चेम्बर अफ कमर्स, नेपाल विद्युत प्राधिकरण रसुवा, अनुसन्धान कार्यालय, बस व्यावसायहरू परिचालित थिए ।
    मेलाको अवधिभर पार्किङ स्थलमा ११०६ सवारी साधनहरू पार्किङ गरिएको वडा अध्यक्ष दावासिदार वाइवाले बताए । सुरक्षाका लागि नेपाल प्रहरीका ३१ जना, उद्धारका लागि नेपाली सेना विष्णुदल गणका ८० जना, लाङटाङ राष्ट्रिय निकुञ्जका १० जना, सशस्त्र प्रहरी २० नम्बर गुल्मका १३ जना तैनाथ थिए ।

‘घ्याङ्फेदी–सुर्यकुण्ड हुँदै गोसाइँकुण्ड’ नयाँ रुट

गोसाइँकुण्ड र भैरबकुण्ड

विदुर । रसुवाको प्रशिद्ध गोसाईंकुण्ड जान अहिले नुवाकोट दुप्चेश्वर गाउँपालिका–१ बाट नयाँ पदयात्रा (रुट) खुलेको छ ।
    यस पटकको जनैपूर्णिमाका लागि यहाँबाट दैनिक ५ सयभन्दा बढी तीर्थयात्रीहरू गोसाईंकुण्ड गइरहेको दुप्चेश्वर गाउँपालकाले जनाएको छ । यो रुटबाट एकै दिन गोसाईंकुण्ड पुग्न सकिने गाउँपालिकाका अध्यक्ष शंकरबहादुर थापाले बताए । यो रुट काठमाडौंबाट टोखा, छहरे÷गंगटे, ढिकुरे, समुद्रटार, दुप्चेश्वर, घ्याङफेदी, शिशिपु, तालु, थाईविमान दुर्घटनास्थल, फेदी, सूर्यकुण्ड हुँदै गोसाईंकुण्ड पुगिन्छ ।
त्यस्तै तीर्थयात्रीहरू पुरानो रुटमा काठमाडौं–धुन्चे हुँदै गोसाईंकुण्ड जाने र अर्को काठमाडौंको सुन्दरीजल, चिसापानी, पाटीभन्ज्याङ, गोल्फुभन्ज्याङ, कुटुङसाङ, सूर्यकुण्ड हुँदै गोसाईंकुण्ड जाने गर्छन् ।
    यसै बीच, प्रसिद्ध धार्मिकस्थल गोसाईंकुण्डमा मेला लागेको छ । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमा अर्थात् जनैपूर्णिमाको अवसरमा यहाँ मेला लाग्ने गर्छ । मेलाका लागि स्वदेश र विदेशदेखि पुगेर तीर्थयात्रीहरूले गोसाईंकुण्डमा दान, स्थान र पूजा गरेका छन् । बिहीबार जनै र रक्षाबन्धन (डोरो) बाँधिरहेका छन् भने बौद्धमार्गी र धामीझाँक्रीहरू आफ्नो आराध्यदेवसँग वर माग्दै मन्त्र सिद्धिको कामना गरेका छन् । कुण्डमा स्नान, दान र पूजा गर्ना मनोकांक्षा पूरा हुने जनविश्वास रहिआएको छ । गोसाईंकुण्डमा साउन शुक्ल एकादशीदेखि नै भीड लाग्ने गर्छ । मेला व्यवस्थापन गर्न गोसाईंकुण्ड क्षेत्र विकास समितिले तीर्थयात्रीलाई स्थानीय प्रशासनको समन्वयमा बास र खानाको मूल्य निर्धारण गरेको छ ।
    यसैगरी तीर्थयात्रीको घट्टेखोला, देउराली, चन्दनवारी, चोलाङपाटी, लौरीविनायक, बुद्ध मन्दिर र गोसाईंकुण्डसम्म आवश्यक पर्ने स्वास्थ्य शिविर, बिरामी परेकालाई स्वास्थ्य संस्थासम्म ल्याएर उपचार गराउने सुरक्षाकर्मी, रेडक्रस, नेपाल स्काउट र स्वयंसेवक परिचालन भएका थिए । प्रत्येक वर्ष गोसाईंकुण्डमा गंगादशहरा र जनैपूर्णिमा मेला लाग्छ । गोसाईंकुण्ड समुद्री सतहबाट ४ हजार ३८० मिटरको उचाईमा अवस्थित छ । तीर्थयात्रीका लागि रसुवा र नुवाकोटका विभिन्न स्थानमा दर्जनौं अस्थायी बास (थर्प‘) को व्यवस्था गरिएको थियो ।
गोसाईंकुण्डको उत्पत्ति
हिमवत खण्डमा उल्लेख भएअनुसार सत्ययुगमा देव र दानवले समुद्र मन्थन गर्दा निस्केको कालकुट विषले संसार भष्म गर्न लाग्दा महादेवले उक्त विष आफ्नो घाँटीमा राखेर जलन शान्त पार्नका लागि हिमालय पर्वतको उत्तराखण्डतर्फ लागेका थिए । रसुवाको पूर्वीभेग पहरामा आफ्नो त्रिशुलले भित्तामा हानेपछि निस्किएको गंगाजलले भगवान् शिवको घाँटीमा रहेको विषको डाह शान्त पारेको थियो । त्रिशुल रोपेको ठाउँबाट पानीका धारा बग्यो । त्यही बगेको पानी जमेर कुण्ड बन्यो । सोही कुण्डलाई गोसाईंकुण्ड भन्न थालियो । यहीँ भगवान् शिव विराजमान भएको किंवदन्ती पाइन्छ ।
    यसै बीच, जनैपूर्णिमा पर्वका अवसरमा स्नान तथा पूजाका लागि झण्डै १५ हजार भक्तजन गोसाइँकुण्ड पुगेको छन् । गोसाइँकुण्ड क्षेत्र विकास समितिले जनाएको छ ।

तस्बिर समाचार

गाइजात्रामा विदुरका मेयर राजन श्रेष्ठ र वडा नं. २ का अध्यक्ष दीपक कायस्थ । 


माओवादीको रूपान्तरण अभियान

तीन महिने अभियान शनिबारदेखि सुरु भएको छ

विदुर । नेकपा माओवादी केन्द्रको ‘जनतासँग माओवादी विशेष रूपान्तरण’ तीन महिने अभियान शनिबारदेखि सुरु भएको छ । २५ लाख जनताबीच पुग्ने लक्ष्यसहित माओवादीले तीन चरणको अभियान सुरु गरेको हो ।
    अभियानलाई सफल बनाउन नेताहरू तोकिएका आ–आफ्ना क्षेत्रमा छन् । सम्बन्धित वडाले बनाएको कार्यतालिका अनुसार तीन चरणको अभियान सञ्चालन हुनेछ । वडा–वडाले तोकेको कमान्डरको नेतृत्वमा अभियान सञ्चालन बताइएको छ । अभियानमा समाजवादी मोर्चाको अवधारण पत्र, पार्टीको दस्ताबेज, केन्द्रीय समितिले तय गरेका नारा तथा कार्यक्रम लिएर सबै जना जनताको घरघर पुग्ने लक्ष्य राखिएको छ । स्थानीय तहमा पुग्दा जनताको काम जनतासँगै गर्ने र बस्दा, हिँड्दा, बोल्दा पार्टीको कुरा गर्ने गरी निर्देशिका नै बनाइएको छ । सम्बन्धित प्रदेशका इन्चार्ज, केन्द्रीय सदस्य र प्रदेशका पदाधिकारी बसेर केन्द्रले जारी गरेको  परिपत्रअनुसार नेताहरूको कार्यविभाजन, जनपरिचालन, अभियानको मोडालिटी लगायत विषय टुङ्गिएको सचिव डिलाराम आचार्यले बताए ।
    माओवादीमा सात प्रदेशबाहेक उपत्यका विशेष, सम्पर्क समन्वय र प्रवास गरी तीन वटा गैर भौगोलिक प्रदेश छन् । प्रवासमा ६ वटा क्षेत्रमध्ये दक्षिण एसियाका नेता तथा कार्यकर्ता आ–आफ्नै वडामा पुगेर अभियानमा सहभागी हुने र बाँकी क्षेत्रका व्यक्तिहरूले आर्थिक संकलन गरी अभियानलाई सहयोग गर्ने निर्णय गरेको छ । उपत्यका विशेष र सम्पर्क समन्वय समितिका पदाधिकारी तथा सदस्यहरू उपत्यकाका अन्तरजिल्ला पर्ने गरी कार्यविभाजन गरिएको छ ।
    ‘घर–घरमा माओवादी, जन–जनमा माओवादी’ नारासहित ७५३ पालिकाको ६ हजार ७४३ वडामा ८८ समूह बनाएर एकसाथ अभियान सुरु गरेको छ । उदटनको दिन सबै केन्द्रीय सदस्यहरू वडा तहमा पुगेको र बाँकी वडामा प्रदेश कमिटीका पदाधिकारी र सदस्यहरू पुग्ने व्यवस्था मिलाइएको सचिव आचार्यको भनाइ छ ।
कसले के गर्छन् ?
परिपत्रअनुसार प्रदेश इन्चार्जहरूले आ–आफ्नो प्रदेशको अभियानको संयोजन गर्ने व्यवस्था गरिएको छ । अभियानलाई प्रभावकारी बनाउन प्रदेशमा खटिएका स्थायी समिति सदस्यहरू र प्रदेश अध्यक्ष पदेन रहने गरी प्रदेश इन्चार्जको संयोजकत्वमा अभियान सञ्चालन सचिवालय गठन गरी सञ्चालन गर्ने व्यवस्था गरिएको छ । त्यस्तै स्थायी समिति सदस्य नरहेका प्रदेशहरूमा वा स्थायी समिति सदस्यहरू भए पनि केही वरिष्ठ केन्द्रीय सदस्यहरू समेत समावेश गर्न‘पर्ने आवश्यकता देखिएमा सोही अनुसार समावेश गरी अभियान सञ्चालन सचिवालय गठन गर्न सकिने व्यवस्था मिलाइएको छ ।
    अभियान सञ्चालन सचिवालयमा प्रदेश सभाका दल नेताहरू नपरेमा, दल नेताहरूलाई आमन्त्रित गर्ने व्यवस्था गरिएको छ । अभियानमा सम्पूर्ण जनवर्गीय संगठन मोर्चाहरूलाई परिचालन गर्नका लागि जनवर्गीय संगठन मोर्चाहरूको प्रकृति अनुसार पदाधिकारीको नेतृत्वमा संयोजन समिति बनाएर सञ्चालन गर्ने व्यवस्था गरिएको छ ।
    यसैगरी तीन महिने अभियानलाई वडा केन्द्रित गर्ने व्यवस्था गरिएको छ । वडा केन्द्रित अभियानको नेतृत्व केन्द्रीय सदस्य÷आयोग सदस्य÷सल्लाहकार आदि केन्द्रीय निकायको वरिष्ठ सदस्यले गर्नेछ ।
    एउटा अभियान टोलीको जिम्मामा १०/११ वडा पर्न सक्नेछन् । जिम्मेवारी तोकिएका बाहेक अन्य नेताहरूको कार्यविभाजन आ–आफ्नो मतदाता नामावली भएको वडामा अभियानमा जोडिने व्यवस्था गरिएको छ । पार्टी केन्द्रीय अध्यक्षदेखि साधारण सदस्यसम्म कुनै न कुनै वडाको अभियानमा सहभागी हुने व्यवस्था गरिएको छ । अभियान टोलीमा सोही क्षेत्रमा खटिरहेका पार्टी कमिटीका नेताहरू, सम्बन्धित क्षेत्रका जनप्रतिनिधिहरू, सोही क्षेत्रका जनवर्गीय संगठन मोर्चाका सदस्यहरू सहभागी हुने व्यवस्था गरिएको छ । उपत्यकाका काठमाडौँ, ललितपुर र भक्तपुरको अभियानको लागि बागमती प्रदेश, उपत्यका विशेष प्रदेश र सम्पर्क समन्वय प्रदेशको संयुक्त टोलीले अभियान सञ्चालन गर्नेछ ।
के हो अभियानको लक्ष्य ?
१. नवीकरण र विस्तारको माध्यमबाट पार्टी सदस्यता संख्या ८ लाख पु¥याउने गरी पार्टी र जवस÷मोर्चाका सबै कमिटीका बैठक सम्पन्न गर्ने ।
२. कम्तीमा २५ लाख मतदातासँग प्रत्यक्ष भेटघाट गरी सरकारले सुशासन, समृद्धि र सामाजिक न्यायको क्षेत्रमा गरेका कामहरूको बारेमा जानकारी गराउने ।
३. आत्मनिर्भरता बढाउने उद्देश्यका साथ पार्टीको नेतृत्वमा सञ्चालित स्थानीय सरकारहरूले कम्तीमा १÷१ वटा उत्पादन र उद्यमसँग सम्बन्धित कार्यक्रम सुरु गर्ने । संघीय सरकारले कृषि तथा वनमा आधारित साना उद्योग, उत्पादन र बजारीकरणको क्षेत्रमा पार्टी प्रदेश समितिको सिफारिसबमोजिम ७ वटै प्रदेशमा एक÷एक वटा आयोजना सञ्चालनको सम्भाव्यता अध्ययन गर्ने ।
४. अभियानको संयोजन र सञ्चालन सम्बन्धित प्रदेशका इञ्चार्जहरूले गर्ने ।
५. अभियान अवधिभर सामान्यतया केन्द्रीय पदाधिकारीहरूलाई अन्तर प्रदेश, स्थायी समिति सदस्य र केन्द्रीय सदस्यहरूलाई अन्तर जिल्ला तथा प्रदेश सदस्यहरूलाई अन्तर पालिका खटाउने गरी कार्यक्षेत्र विभाजन गरिनेछ । जहाँ जनता त्यहाँ संगठनको मान्यता अनुसार अस्थायी बसोबास स्थलमा समेत कार्यक्षेत्र तोकी पठाइनेछ ।
६. सामान्य कार्यक्षेत्र प्रदेश, जिल्ला पालिका तोकिए पनि मुख्य कार्यक्षेत्र (योजना कार्यान्वयनको क्षेत्र) वडालाई बनाउनुपर्नेछ ।
७. पार्टी केन्द्रीय सदस्य÷आयोग सदस्य÷सल्लाहकार सदस्यहरूको नेतृत्वमा पार्टी प्रदेश कमिटी सदस्य, जिल्ला समन्वय समिति सदस्य, पालिका पदाधिकारी, केन्द्रीय र प्रदेश विभागका सदस्य, जवस÷मोर्चाका केन्द्रीय सदस्य र प्रदेश समिति पदाधिकारीहरू सम्मिलित वडा केन्द्रित अभियान टीम बनाइनेछ ।
८. अभियान टिमले पालिका, वडा र टोलस्तरसम्म कार्यक्रमहरू सञ्चालन गर्नेछ । अभियान टिममा कलाकार, संस्कृतिकर्मीहरूलाई पनि सहभागी गराउनुपर्नेछ ।
९. अभियान सञ्चालनका लागि प्रदेशमा एक सचिवालय गठन गरिनेछ ।

२०८० साल भदौ १८ गतेको सम्पादकीय

सहयोगी सिद्ध हुनसक्छ एमसीसी
सरकारले सम्झौता गरेको ६ वर्षपछि र संसद्बाट अनुमोदन गरेको डेढ वर्षपछि अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) कार्यान्वयनको चरणमा आइपुगेको छ । गएको हप्ता परियोजना कार्यान्वयनको घोषणा गरेसँगै कार्यान्वयनको म्याद सुरु भइसकेको छरु। २०८० भदौ १३ को मितिबाट लागू हुने गरी एमसीसी परियोजनाको समय सुरु भएको छ । आगामी पाँच वर्षभित्र परियोजना सम्पन्न नभए रकम फिर्ता नै हुने सर्त सम्झौतामा छ । कार्यान्वयनको चरण सुरु नै भइसकेकाले अब त्यसका लागि वातावरण बनाउनुको विकल्प छैनरु। सम्भावित चुनौती सामना गर्न नेपालका सरकार, त्यसको कार्यान्वयन गर्न स्थापित मिलेनियम च्यालेन्ज अकाउन्ट (एमसीए) नेपाल विकास समिति, प्रभावित क्षेत्रका जिल्ला प्रशासन कार्यालय, आयोजना कार्यान्वयनका अन्तरसम्बन्धित निकाय, पालिका, प्रभावित स्थानीयहरूको सकारात्मक पहलकदमी र अमेरिका सरकारको समन्वयकारी भूमिकाले मात्रै परियोजनाको सफलता सुनिश्चित हुनेछ । एमसीसी अमेरिकाको वैदेशिक सहायता गर्ने एजेन्सी हो । यसले खासगरी गरिबी न्यूनीकरणका लागि काम गर्छरु। यसको स्थापना अमेरिकी कंग्रेसले सन् २००४ मा गरेको थियोरु। एमसीसीले अवधि तोकिएका अनुदान कार्यक्रमलाई सहयोग गर्छ, ती आर्थिक वृद्धि, गरिबी न्यूनीकरण, संस्थागत सुदृढीकरणसँग सम्बन्धित हुन्छन् । नेपालमा भने सन् २०११ देखि एमसीसीले चासो दिएको हो । सन् २०१४ मा एमसीसीले आफ्नो कार्यक्रमका लागि नेपाललाई ‘योग्य’ भनेर छनोट गरेको थियो । त्यसपछि नेपालको निरन्तरको पहलपछि अमेरिकाले एमसीसीमार्फत ५० करोड अमेरिकी डलर अनुदान दिने निर्णय गरेको हो । यो कार्यक्रममा नेपाल सरकारले समेत १३ करोड अमेरिकी डलर लगानी गर्दै छ । यसरी एमसीसीको परियोजनामा ६३ करोड अमेरिकी डलर (करिब ८३ अर्ब रुपैयाँ) लगानी हुँदै छ । यो नेपाल सरकारले कार्यान्वयन गर्ने कार्यक्रम हो । यो कार्यक्रम कार्यान्वयन गर्न नेपाल सरकारले एक कार्यालय खोलेको छ, जसलाई मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल (एमसीए–नेपाल) भनिन्छ । यो विकास समिति ऐन २०१३ अन्तर्गत गठन आदेशमार्फत स्थापना भएको हो ।  
    देशका प्रमुख शहरको विद्युत् मागलाई सहज रुपमा सम्बोधन गर्ने लक्ष्यका साथ सरकारले नै तयार पारेको गुरुयोजनाको आधारमा मिलेनियम च्यालेन्ज अकाण्ट नेपाल (एसीए नेपाल) ले उच्च क्षमताको प्रसारण लाइन निर्माण गर्न लागेको हो । विशेषगरी काठमाडौं उपत्यका, कास्कीको पोखरा, नारायणगढ, भरतपुर तथा बुटवल र त्यसको आसपासको क्षेत्रमा सहज रुपमा बिजुली पु¥याउने र आर्थिक समृद्धिको आधार तयार पार्ने लक्ष्यका साथ प्रसारण लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखिएको हो । सरकारले देशभित्र निर्माण हुने प्रसारण लाइनको गुरुयोजना यसअघि नै तयार पारेको छ । सोही गुरुयोजनाको केन्द्र भागमा रहेको प्रसारण लाइन निर्माणका लागि सरकारको आग्रहअनुसार नै मिलेनियम च्यालेन्ज कर्पोरेशनले दुई महत्वपूर्ण परियोजनालाई सहयोग उपलब्ध गराउन लागेको हो । त्यसमा काठमाडौंको नाङ्लेभारबाट शुरु हुने प्रसारण लाइन नुवाकोटको रातमाटे जोडिन्छ । रातमाटेबाट एउटा खण्ड हेटौंडातर्फ जानेछ भने अर्को खण्ड तनहुँको दमौली हुँदै नवलपरासी पुग्नेछ । सरकारले प्राथमिकतामा राखेको र रणनीतिक महत्वको रही सोही आधारमा छनौट भएकाले एमसीसीले पनि अनुमोदन गरेको हो । आगामी डेढ दशकसम्म काठमाडौं उपत्यका र केही प्रमुख शहरको बिजुली माग धान्नका लागि यो प्रसारण लाइन सहयोगी हुने छ । सोही सहयोगका आधारमा दाङको भालुवाङबाट बाँकेको सिमानामा रहेको शिवखोलासम्म ७७ किलोमिटर लामो सडक नयाँ प्रविधिमा आधारित भएर निर्माण हुनेछ । उक्त सडकको चौडाइ १४ मिटरको हुनेछ । काठमाडौंको नाङलेभारेदेखि शुरु हुने ४०० केभी क्षमताको ३१५ किलोमिटर लामो प्रसारण लाइन र मकवानपुर जिल्लाको हेटौँडास्थित नेपाल विद्युत् प्राधिकरणका विद्यमान सब–स्टेशनमा जोडिनेछ । यस्तै, विद्युत् प्रसारण आयोजनाअन्तर्गत तीन वटा नयाँ ४०० केभी क्षमताको इण्डोर ग्यास इन्सुलेटेड सब(स्टेशन–जीआईएस) निर्माण हुनेछ ।
    नुवाकोटको बेलकोटगढी नगरपालिकामा रातमाटे सब–स्टेशन, तनहुँको नयाँ दमौली सब–स्टेशन र नवलपरासीको भुमहीमा नयाँ बुटवल सब–स्टेशन निर्माण गरिनेछ । प्रसारण लाइन लप्सेफेदी, रातमाटे, दमौली हुँदै नवलपरासी पुग्नेछ । नयाँ बुटवल सवस्टेशन हुँदै ४०० केभी क्षमतामा नै प्रसारण लाइन भारतको गोरखपुर जोडिनेछ । सो प्रसारण लाइन निर्माण गर्ने विषयमा भारतसँग सहमति भइसकेको छ । सरकारले दोस्रो अन्तरदेशीय प्रसारण लाइनको रुपमा त्यसलाई राखेर काम अगाडि बढाएको छ । सो प्रसारण लाइन निर्माण गर्ने सम्बन्धमा नेपाल र भारतका ऊर्जा सचिवस्तरीय बैठकले यसअघि नै सहमति जनाइसकेका छन् । नेपाल विद्युत् प्राधिकरण र भारतको समकक्षी प्राधिकरणले समान हिस्सेदारीमा सो प्रसारण लाइन निर्माण गर्नेछ । जानकारहरूका अनुसार काठमाडौंको लप्सेफेदीबाट सुरु हुने प्रसारण लाइनले तीन हजार मेगावाट बिजुली बोक्न सक्छ । नेपालमा बढी भएको बिजुली भारत पठाउन र नेपाललाई आवश्यक परेको सोही प्रसारण लाइनबाट आयातसमेत गर्न सकिन्छ । काठमाडौं उपत्यकाभित्र ठूलो क्षमताको प्रसारण लाइन निर्माण गर्न अनेक जटिलता भएकाले शिवपुरी राष्टिूय निकुञ्जको उत्तरबाट नुवाकोटको रातमाटे जोड्न लागिएको हो । यसले काठमाडौं उपत्यकाको प्रसारण मेरुदण्डको रुपमा काम गर्नेछ । सिन्धुपाल्चोक, दोलखा लगायतका जिल्लामा रहेका आयोजनाबाट उत्पादित बिजुली काठमाडौं ल्याउने गरी लप्सेफेदीमा निर्माण हुने सवस्टेशनले काम गर्नेछ । रातमाटेमा रहेको सवस्टेशनमा नुवाकोट र रसुवा तथा धादिङमा निर्माण हुने आयोजनाको बिजुली जोडिनेछ । त्यस्तै दमौलीमा रहने सवस्टेशनले त्यसक्षेत्रका बिजुली जोड्न सहयोग पुग्नेछ । नवलपरासीमा निर्माण हुने उच्च क्षमताको सब–स्टेशनमा कालीगण्डकी करिडोरमा निर्माण सकिएका र निर्माणमा जाने तयारीमा रहेका आयोजनाको बिजुली जोडिनेछ । खासगरी बढी बिजुली माग हुने प्रमुख शहरमा सहज रुपमा ऊर्जा उपलब्ध गराउन आयोजना सहयोगी सिद्ध हुने छ ।

२०८० साल भदौ १८ गते । वर्ष:१६ अंक:४४