Monday, September 18, 2023

तस्करको सुन गाल्ने मेशिन रसुवागढी नाकाबाट

तस्करबाट जफत गरिएको सुन गाल्ने मेसिन, जुन रसुवागढी नाकाबाट आएको थियो ।

काठमाडौँ । सुन तस्करले चीनबाट नै सुन गाल्ने मेशिन ल्याएको थाहा भएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले काठमाडौँका चार ठाउँबाट १० वटा सुन गाल्ने मेशिन बरामद गरेको छ ।
    ती मेशिनहरू तस्कर समूहले चीनबाट ल्याएको देखिएको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् । ६० किलो ७ सय १६ ग्राम सुन तस्करीमा संलग्न समूहले जहाजमार्फत मोटरसाइकल र स्कुटरको ‘ब्रेक प्याड’ मा लुकाएर सुन ल्याएका थिए । तर, गाल्ने मेशिनचाहिँ सडकमार्गबाट ल्याएको पाइएको छ । सुन तस्करले रसुवागढी नाकाबाट सुन गाल्ने मेशिन ल्याएका हुन् । चीनको केरुङबाट नेपालतर्फ ल्याएर भन्सार जाँचपास गरेरै मेशिन ल्याएको भेटिएको अनुसन्धानमा संलग्न एकजना अधिकृतले बताए । उनले भने, ‘सुन गाल्ने मेशिन भनेरै भन्सार जाँचपास गरेको भेटिएको छ ।’
    रसुवागढी नाका रसुवाको गोसाइकुण्ड गाउँपालिका वडा नम्बर–२ मा पर्छ । तस्करको गोदामबाट साना–ठुला १० थान मेशिन बरामद गरिएको सीआईबीकी निर्देशक किरण बज्राचार्यले बताइन् । उनले भनिन्, ‘टोखा, चावहिल, बालुवाटार र सोह्रखुट्टेबाट गाल्ने मेशिन बरामद गरेका छौँ ।’
    टोखा स्थित गोदामबाट ५ वटा, चावहिल गोदामबाट १ थान, बालुवाटारबाट २ थान र सोह्रखुट्टेबाट २ थान मेशिन राजस्व विभाग र सीआईबीले बरामद गरेको थियो । बालुवाटार र सोह्रखुट्टेमा सुन कारोबारीले सटर लिएर गोदाम सञ्चालन गरेका थिए ।
    टोखामा सञ्चालिन कारखाना याओ पुचेङ्ग समूहले ह्याण्डल गरेका थिए । सुन तस्करीमा टोखा समूह र लाजिम्पाट समूह सक्रिय देखिएको केन्द्रीय अनुसन्धान ब्यूरोको अनुसन्धान निष्कर्ष छ ।
    तस्करीमा लाजिम्पाट समूहको प्रमुख चोङ चिङ छ्वान उर्फ श्याम हुन् । श्याम फरार छन् । उनको समूहका जीक्वाङ लिन ब्यूरोको हिरासतमा छन् ।

छोरीलाई शिक्षक बनाउन अरुको दरखास्त अस्वीकार

सुदीप कैनी
काठमाडौँ । नुवाकोट सूर्यगढी गाउँपालिका–१ स्थित मंगलादेवी माध्यमिक विद्यालयका प्रधानाध्यापक दत्तप्रसाद न्यौपानेले आफ्नै छोरीलाई राहत शिक्षकमा नियुक्ति गर्न अन्य प्रतिस्पर्धीको दरखास्त लिन अस्वीकार गरेको पाइएको छ ।
    शिक्षा विकास तथा समन्वय इकाइ नुवाकोटको स्वीकृतिमा दुई जना राहत अनुदान दरबन्दीमा शिक्षक नियुक्ति गर्न भदौ १२ गते विद्यालयले विज्ञापन गरेको थियो । गोप्य रूपमा गरिएको विज्ञापनको सूचना बाहिरिएपछि दरखास्त दिन पुगेका अन्य प्रतिस्पर्धीको निवेदन दर्ता गर्न रोकिएको विद्यालय स्रोतले जनाएको छ ।
    राहत दरबन्दी शिक्षा मन्त्रालयले तलबसुविधा अनुदान दिने कोटा हो । उक्त पदमा निवेदन दिन जाँदा प्रअ न्यौपानेले दर्ता गर्न अस्वीकार गरेको विदुर नगरपालिका–४ की नानुमैया नेपालले बताइन् । उनी शिक्षक सेवा आयोगको खुल्ला प्रतिस्पर्धामा गत चैतमा वैकल्पिकमा परेर करार सूचीमा सूचीकृत भएकी थिइन् । यस्ता उम्मेदवारलाई स्वतः राहत दरबन्दीमा नियुक्ति दिनुपर्ने व्यवस्था छ । उक्त कुरा विज्ञापनमा पनि उल्लेख छ । शिक्षा तथा मानवस्रोत विकास केन्द्रले आयोगका करार सूचीमा परेकालाई प्राथमिकता दिएर शिक्षक नियुक्ति गर्न देशभर सर्कुलरसमेत गरेको छ । नेपाललाई नियुक्ति गर्दा छोरी अञ्जु न्यौपाने प्रतिस्पर्धाबाट स्वतः बाहिरिने भएपछि दरखास्त नै दर्ता नगरिएको विद्यालयका एक शिक्षकले बताए ।
    नेपाल गएको आइतबार दरखास्तसहित विद्यालय पुगेकी थिइन् । ‘प्रअले अहिले दरखास्त दिन मिल्दैन, दर्ता पनि हुँदैन भन्नुभयो, दर्ता गर्नैपर्ने भए २६ गते आउनु भन्नुभयो,’ उनले भनिन्, ‘त्यसपछि हामीले गाउँपालिका कार्यालय र शिक्षा इकाइमा उजुरी दिएका छौं ।’ सोमबार उजुरी दिइएको हो । मंगलबार आवेदन दिने अन्तिम दिन थियो । दुई पदका लागि अन्तिम दिनसम्म तीन जनाको मात्रै दरखास्त परेको प्रअ न्यौपानेले बताए ।
‘सकभर विद्यालयमा कार्यरत र स्थानीयलाई नियुक्ति दिने हाम्रो कुरा भएको थियो,’ उनले भने, ‘त्यही भएर अरू दरखास्त दर्ता नगरिएको हो ।’ उनले विद्यालयको आन्तरिक कारण बाहिरको दरखास्त लिन नसकिएको स्वीकार गरे । ‘१५÷१६ वर्षदेखि करारमा काम गर्दै आएका शिक्षक छन्, उहाँहरूको व्यवस्थापन गर्नुपर्नेछ,’ उनले भने ।
    विद्यालयका एक शिक्षकका अनुसार प्रअकी छोरी एक महिनाअघि मात्र करारमा नियुक्त भएकी थिइन् । उनलाई राहत दरबन्दीमा राख्न चलखेल गरिएको हो । उनका अनुसार गाउँपालिका प्रमुख सन्तबहादुर घले (तामाङ) ले अर्को एक जनालाई नियुक्त दिन मिलेमतो गरिएको हो ।
    प्रअ न्यौपानेले भने कागजात अपुरो भएका कारण अञ्जुको दरखास्त नपरेको जनाए । करारमा कार्यरत शिक्षक सरस्वती श्रेष्ठ, स्थानीय अप्सरा अधिकारी र कुमारी तामाङको मात्र आवेदन दर्ता भएको उनको भनाइ छ । ‘पहिले करारका सरस्वती र अञ्जुले आवेदन दिने कुरा थियो, पछि अञ्जुको प्रक्रिया पुगेन,’ उनले भने । प्रस्तावित शिक्षा विधेयकमा राहत शिक्षकलाई स्वतः स्थायी दरबन्दीमा परिणत गर्ने र स्थायी हुन निश्चित प्रतिशतलाई आन्तरिक प्रतिस्पर्धा गराउने प्रस्ताव गरिएको छ । सोही कारण छोरीलाई जसरी पनि नियुक्ति दिन जिल्लाभित्रै र बाहिरबाट आएका थुप्रै निवेदन अस्वीकार भएको एक शिक्षकले बताए । गाउँपालिका अध्यक्षसँगकै मिलेमतोमा यसअघि पनि आफन्तलाई करारमा नियुक्ति हुँदै आएको ती शिक्षकको भनाइ छ ।
    गाउँपालिकाका अध्यक्ष घलेले प्राविको दरखास्त आह्वान गरे पनि माविसम्म पढाउन सक्ने शिक्षक चाहिएकाले निवेदन दर्ता नभएको हुन सक्ने प्रतिक्रिया दिए । ‘प्राविको शिक्षक भए पनि माविमा अंग्रेजी, गणित पढाउनुपर्छ, विषय नमिलेर दर्ता नभएको हुन सक्छ, सबै दरखास्त दर्ता नभएको होइन, करार सूचीको मात्र दर्ता नभएको होला,’ उनले टेलिफोनमा भने, ‘माविमा शिक्षक छैन, प्राविकै शिक्षकले माविसम्म पढाउन सक्ने गरी शिक्षक राख्न खोजिएको हुनुपर्छ, हाम्रो बाध्यता पनि तपाईंहरूले बुझिदिनुपर्छ ।’ दरखास्त दर्ता नभएको विषयमा गाउँपालिकामा कुनै पनि उजुरी नआएको समेत उनले दाबी गरे ।
    विद्यालयकै शिक्षकले भने गाउँपालिका र विद्यालयको मिलेमतोमा अन्य थुप्रै दरखास्त नलिएको जनाएका छन् । आफन्तलाई जागिर खुवाउन बहाना बनाइएको हुन सक्ने एक शिक्षकको भनाइ छ । विद्यालय र पालिकाको मिलेमतोमा करारमा शिक्षक र कर्मचारी नियुक्ति हुने गरेको स्थानीय अभिभावक बताउँछन् । इकाइ प्रमुख तुलबहादुर महतले उजुरी परेपछि गाउँपालिका अध्यक्षसँग कुराकानी भएको जनाए । ‘गाउँपालिका अध्यक्षले पालिकाले समस्या मिलाउँछ भन्नुभएको छ । समन्वय भइरहेको छ । त्यसरी कसैको पनि दरखास्त इन्कार गर्न मिल्दैन,’ उनले भने, ‘म पनि शुक्रबार सूर्यगढी जाँदै छु, छलफल गरेरै कुराकानी मिल्छ ।’ –कान्तिपुरबाट साभार

नुवाकोट र रसुवामा १२ सय पशु मरे

विदुर । देशैभरि फैलिएको ‘लम्पी स्क्रिन’ रोगको कारण नुवाकोट र रसुवाका पशुपालक कृषकले करोडौँको क्षति व्यहोरेका छन् । नुवाकोट र रसुवामा ‘लम्पी स्क्रिन’ रोगबाट एक हजार २७० भन्दा बढी पशु चौपाया मरेको तथ्याङ्क भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नुवाकोटले सार्वजनिक गरेको छ ।
    नुवाकोटमा गत २०७९ चैत ३१ गते सूर्यगढी गाउँपालिका–५ को फेदीबेँसीमा बिरामी पशु चेकजाँच गर्दा ‘लम्पी स्क्रिन’ रोगको पुष्टि भएको थियो । रोग पुष्टि भएको साढे चार महिनाको अवधिमा नुवाकोटमा एक हजार ३४ पशु चौपाया मरेका छन् भने रसुवामा यो अवधिमा २३६ पशु चौपया मरिसकेका छन् । लम्पी स्क्रिन रोगको महामारी फैलिएसँगै नुवाकोट र रसुवा जिल्लामा पशु चौपायालाई लम्पी स्क्रिनविरुद्धको खोप लगाउन सुरु गरेको भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नुवाकोटले जानकारी दिएको छ । दुई जिल्ला कार्यक्षेत्र रहेको उक्त कार्यालयले स्थानीय तह र प्रदेश सरकारबाट प्राप्त लम्पी स्क्रिनविरुद्धको खोप पालिकासँग समन्वय गरेर यो अवधिमा १३ हजार पाँच सय पशुलाई लगाएको कार्यालय प्रमुख भरत पाण्डेले जानकारी दिए ।
    नुवाकोटको १२ पालिकामा प्रदेशबाट प्राप्त तीन हजार नौ सय र स्थानीय तहबाट प्राप्त आठ हजार सात सय खोप भदौ १४ गतेसम्म लगाइसकेको विवरण कार्यालयले सार्वजनिक गरेको छ ।
    रसुवाका पाँच पालिकामा समेत लम्पी स्क्रिन रोगको महामारी फैलिएसँगै भदौ १४ सम्म प्रदेशबाट प्राप्त एक हजार चार सय र स्थानीय तहबाट खरिद भएको चार हजार पाँच सय खोप लगाइसकिएको छ । खोपको माग बढिरहे पनि कार्यालयले तत्काल खोप उपलब्ध गराउन सक्ने अवस्था छैन । महामारीबाट नुवाकोटमा १५ हजार पाँच सय ५६ र रसुवामा दुई हजार १९३ पशु सङ्क्रमण रहेको तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको छ । महामारीबाट नुवाकोटमा सङ्क्रमणमुक्त पशु चौपायाको संख्या १६ हजार ५२८ र रसुवामा दुई हजार तीन सय २९ रहेको कार्यालयका पशु चिकित्सक डा. बबलु ठाकुरले जानकारी दिएका छन् ।
हरेक हप्ता सङ्क्रमणमुक्त पशुको संख्या घट्ने क्रममा रहेको उनले बताए । गत हप्ता सङ्क्रमणमुक्त पशु चौपायाको संख्या नुवाकोटमा १५ हजार पाँच सय ५६ रहेको थियो भने यो हप्ता सङ्क्रमणमुक्तको संख्या बढेर १६ हजार ५२८ पुगेको छ ।
    त्यसैगरी, रसुवामा अघिल्लो हप्ता सङ्क्रमणमुक्त पशु चौपायाको संख्या दुई हजार १९२ रहेकोमा यो हप्ता बढेर सङ्क्रमणमुक्त संख्या दुई हजार ३२९ पुगेकोसमेत उनले जानकारी दिए । नुवाकोटमा प्रभावित पशुको संख्या गत हप्तासम्म १९ हजार ४४५ रहेकोमा सबैभन्दा बढी प्रभावित पशुको संख्यामा गाईगोरु १९ हजार १७८, भैँसी २३८, चौँरी २९ रहेको छ । त्यसैगरी, रसुवामा प्रभावित पशुको संख्या दुई हजार ७४० मध्ये गाईगोरुको संख्या दुई हजार चार ४४६, भैँसीको संख्या १६, चौँरीको २७८ रहेको छ । लम्पी स्क्रिन रोगबाट मृत्यु भएका पशुको संख्या नुवाकोटमा एक हजार ३४ मध्ये सबैभन्दा बढी विदुर नगरपालिकामा ३२० र सबैभन्दा कम किस्पाङ गाउँपालिकामा २६ रहेको छ । मृत्यु हुने पशुमध्ये नुवाकोटको १२ पालिकामा एक हजार ३१ गाईगोरु र चौँरीको संख्या तीनवटा छ ।
    विज्ञ केन्द्रको तथ्याङ्कअनुसार लम्पी स्क्रिन रोगबाट नुवाकोटमा हालसम्म भैँसीको मृत्यु भएको छैन । प्रभावित पशुको संख्यामा पनि गाईगोरुको अनुपातमा भैँसीको संख्या कम रहेको छ । रसुवाको पाँच पालिकामध्ये लम्पी स्क्रिन रोगबाट प्रभावित पशुको संख्या सबैभन्दा बढी गोसाइँकुण्ड गाउँपालिकामा १ हजार ३२५ रहेको छ । गोसाइँकुण्डमा एक हजार एक सय ५० गाईगोरु र १७५ चौँरी रोगबाट प्रभावित भएको छ । रसुवामा लम्पी स्क्रिन रोगबाट सबैभन्दा कम प्रभावित पशुको संख्या उत्तरगया गाउँपालिकामा १७५ रहेको छ । प्रभावित पशु सबै गाईगोरु रहेका छन् ।
    कार्यालयले पालिकासँगको समन्वयमा किसानको गोठगोठमै पुगेर पशु प्राविधिकले लम्पी स्क्रिनको नियन्त्रणका लागि प्राप्त खोप लगाइसकेका छन् । कार्यालय प्रमुख पाण्डेका अनुसार भेटेरेनरी अस्पतालको समन्वयमा रोग नियन्त्रणका लागि स्थानीय तहले पशु प्राविधिकलाई खटाएको छ । किसानलाई पशुमा लम्पी स्क्रिन देखिनासाथ सगोलमा रहेको पशुलाई छुट्याएर राख्न सुझाव दिएको उनले बताए । पशुलाई टोक्ने लामखुट्टे, झिँगाबाट जोगाउन किसानलाई सचेतना जोगाउने काम पनि भएको छ । प्रमुख पाण्डेले भने, ‘नुवाकोटमा विशेषगरी गाईभैँसीपालन व्यावसायिक रूपमा हुने गरेकाले पशुमा क्षति नपुगोस् भनेर लम्पी स्क्रिनविरुद्धको खोप लगाइसकेका छौँ ।’ थप खोपका लागि प्रदेश र स्थानीय तहमा माग गरेर यसको नियन्त्रणका लागि भेटेरेनरी अस्पतालले परामर्श दिइरहेको छ ।

तस्बिर समाचार

नुवाकोटको चौघडास्थित चौतारोमा बटुवालाई पानी खुवाउन राखिएको गाग्रो ।


छहरे सुरुङमार्ग सरकारको प्राथमिकतामा

स्थलगत अवलोकन एवं निरीक्षण

नुवाकोट । काठमाडौँको टोखाबाट नुवाकोटको शिवपुरी आवतजावत लागि निर्माण गर्न लागिएको ‘टोखा छहरे सुरुङमार्ग’सरकारको राष्ट्रिय गौरव र प्राथमिकताप्राप्त आयोजनाका रूपमा अगाडि बढाइने भएको छ ।
    उक्त सुरुङमार्गको वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) सुरु गर्न सोमबार अर्थमन्त्री डा प्रकाशशरण महत, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, वन तथा वातावरणमन्त्री डा. वीरेन्द्रप्रसाद महतो लगायतले स्थलगत अवलोकन एवं निरीक्षण गरेका हुन् ।
    सुरुङमार्ग निर्माणका लागि चालु आर्थिक वर्षमा एक अर्ब २५ करोड रुपैयाँ विनियोजन गरिएको र बाँकी स्रोतको व्यवस्थापनका लागि जतिसक्दो छिटो इआइए सुरु गर्न विषयगत मन्त्रालयको तर्फबाट अनुगमन गरिएको अर्थमन्त्री महतले जानकारी दिए ।
    उनको अनुसार सुरुङमार्ग निर्माणका लागि प्रारम्भिक अध्ययन पूरा भइसकेकाले सम्भावित स्थानलाई केन्द्रित गरेर आयोजना निर्माणबाट लिनसक्ने लाभ र पुग्नसक्ने प्रभावको सम्बन्धमा इआइए गर्न लागिएको हो । ‘सुरुङमार्ग निर्माण अघि बढिसकेकाले कामलाई तीव्र बनाउन देखापर्ने समस्या समाधान गर्न संयुक्तरूपमा लागेका छौँ’, अर्थमन्त्री डा महतले भने, ‘प्रधानमन्त्रीसहितको नेपाली पक्षको आसन्न चीन भ्रमणमा सुरुङ निर्माणमा चिनियाँ सहयोग खोजिने छ ।’
चीन सरकारको सहयोगमा यसअघि गरिएको सुरुङमार्गको प्रारम्भिक अध्ययनमा ‘उपयुक्त हुने’ देखिएकाले काम सुरु गर्न लागिएको भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले बताए । उनका अनुसार सुरुङ निर्माण गर्न काठमाडौँतर्फ टोखा नगरपालिका वडा नं १ झोरमा दुईवटा बिन्दुको पहिचान गरिएको छ भने नुवाकोटतर्फ शिवपुरी वडा नं ७ र ८ मा तीनवटा बिन्दु सम्भावित देखिएका छन् ।
    ‘थोरै लगानी र छोटो समयमा नै निर्माण गर्न सक्ने गरेर प्रारम्भिक अध्ययनमा देखिएकाले निर्माण सुरु गर्न लागिएको हो’, मन्त्री ज्वालाले भने, ‘मुख्य चुनौती लगानीको भएकाले आर्थिक स्रोतका लागि  नेपाली टोलीको आसन्न चीन भ्रमणमा ‘टोखा–छहरे’ सुरुङमार्गसहित सडकतर्फ सातवटा आयोजनामा सहयोग माग्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले प्रस्ताव तयार गरेको छ ।’
    सुरुङ निर्माणका लागि शिवपुरी राष्ट्रिय निकुञ्ज लगायतका क्षेत्रमा इआइएसहितको काम अघि बढाउन आवश्यक कानुनी बाटो मन्त्रालयबाट खुला गरिने वन तथा वातावरण मन्त्री डा. वीरेन्द्रप्रसाद महतोले बताए । उनले आयोजना निर्माणबाट वन तथा निकुञ्जलाई दीर्घकालीन जोखिम नपर्ने देखिएकाले काम अघि बढाउन कानुनी समस्या नहुने बताए ।
    टोखा–छहरे सुरुङमार्ग निर्माणले चीनसँगको व्यापारिक गतिविधिमा उल्लेख्य योगदान पुग्ने भएकाले सरकारको प्राथमिकता प्राप्त र राष्ट्रिय गौरवको आयोजनाका रूपमा काम सुरु गर्न लागेसँगै विषयगत मन्त्रालयका मन्त्री, सचिवसहित नुवाकोटबाट प्रतिनिधिसभा सदस्यद्धय हितबहादुर तामाङ, विमला सुवेदी लगायतका सरोकारवालाबाट स्थलगत अवलोकन गरिएको हो ।
    प्रारम्भिक अध्ययनको क्रममा सुरुङमार्ग निर्माणका लागि विभिन्न तीनवटा बिन्दुलाई केन्द्रित गरेर थप अध्ययन गर्न लागिएको छ । तीन दशमलव तीन, तीन दशमलव छ र चार दशमलव दुई किलोमिटर लम्बाइको हुनसक्ने अध्ययनमा देखिएको छ ।
    सुरुङमार्ग निर्माणले नुवाकोटबाट काठमाडौँ जानका लागि अहिले सञ्चालनमा आइरहेको छहरेबाट टोखा पुग्न शिवपुरी निकुञ्ज पार गर्दै जानुपर्ने करिब १२ किमी सडक छोटो हुनेछ ।
के आयो निष्कर्ष ?
अलोकनका क्रममा नुवाकोटतर्फ सुरुङमार्ग निस्कने तीनवटा विकल्प तयार पारिएको छ । यस्तै टोखा नगरपालिकाको झोरतर्फ भने दुईवटा विकल्प तयार पारिएको छ । उक्त विकल्प अनुसार सबैभन्दा छोटो दुरी साढे तीन किलोमिर रहेको सो दुरी टोखा नगरपालिकाको टोखा झोरहुँदै शिवपुरीको चापाबोटसम्म मात्र हुनेछ ।
    चापाबोटबाट छहरे पुग्न अझै १० किलोमिटर रहेको छ । यसरी सुरुङमार्ग बनाउँदा त्यति धेरै उपलब्धि हुने दखिएको छैन । जम्मा १० किलोमिटर सडककमा सुरुङ बनाउँदा ४ किलोमिटर मात्रै सुरुङ बन्ने छ । जसको लागत करिब ४० अरब खर्च हुने अनुमान गरिएको छ । टोखा–छहरे सुरुङमार्ग बने ७ किमिको हुनेछ । भौगोलिक रुपका कारण टोखाबाट चापाबोटसम्म मात्र सहज हुने देखिएको छ । त्यो भन्दा तल बोहेरेखोलासम्म जाँदा ओरालो बढि हुने र त्यसले सुरुङमार्ग लागि उपयुक्त नहुने देखिएको छ ।
    यस्तै चीन सरकारले वातावरणीय प्रभाव, घर जग्गा पर्ने अवस्था, निकुञ्जको क्षेत्रफल प्रयोग हुने विभिन्न विषयहरू अघि सारेर निर्णय लिएको छैन । चीनले मुख्य रुपमा वातावरणीय प्रभावका विषयमा चासो राखेपछि सरकारी टोलीले उक्त क्षेत्रको निरीक्षण गरेको हो । उसले वन क्षेत्र र त्यसले पार्ने असरका विषयमा निकुञ्जलाई सोधेको र निकुञ्जले पनि विभिन्न प्रश्नहरू तयार पारेर आफू मातहतका निकायहरूलाई सोधेपछि त्यसको जवाफ समेत पेश भएको छैन । जसका कारण सरकारी टोली नै अन्योलमा थियो ।
    वातावरणीय प्रभावका विषयमा सकारात्मक प्रतिक्रिया दिने वितिक्कै चीन सुरुङमार्ग निर्माणका लागि सहमत हुने मन्त्री महतको विश्वास छ । सरकारी टोलीले उक्त सुरुङमार्ग  निर्माण गर्दा वातावरणीय प्रभाव नपर्ने र निकुञ्जक्षेत्रलाई पनि प्रभाव नपार्ने निश्कर्ष निकालेको छ । तर सो अनुसार निर्माण गर्दा चापबोटसम्म मात्रै सुरुङमार्ग लैजान सकिने देखाइएको छ । अन्य दोस्रो र तेस्रो विकल्पको रुपमा भने बोहेरेखोलासम्म पुग्ने अवस्था रहेको छ । सुरुङमार्ग जति लामो भयो त्यति नै केही आरोलो गर्दै जान सकिने भएकाले केही तलसम्म लैजान सकिने सरकारी टोलीको निश्कर्ष रहेको थियो । निरीक्षणसँगै सरकारले वातारणीय प्रभावका बारेमा तत्काल चीनलाई पत्र लेख्ने तयारी गरिरहेको छ ।
    काठमाडौंको टोखाबाट छहरेसम्म सुरुङमार्ग निर्माणका नेपाल सरकारले यस आर्थिक वर्षका लागि एक अरब बजेट विनियोजन गरेको छ । प्रधानमन्त्री चीन भ्रमणअघि नै वातावरणीय प्रभाव मुल्याङ्कन गर्ने उद्देश्यकासाथ सरकारका मन्त्रीहरू उक्त मार्गको अवलोकनका लागि आएका हुन् । टोलीमा सडकको अवस्था, उक्त क्षेत्रमा पर्ने वन जंगलको वास्तविक तथ्याङ्कका साथै अन्य विषयमा जानकारी लिनका लागि मन्त्रीहरूको टोलीले उक्त क्षेत्रको अवलोकन गरेको छ ।
    चीनको सहयोगमा राजधानी काठमाडौं र रसुवागढी जोड्ने सडक निर्माण तथा स्तरोन्नति गर्ने सहमति भएको थियो । चिनियाँ राष्ट्रपति सी चिनफिंगको भ्रमणका क्रममा काठमाडौं टोखा–छहरे नवाकोटको सदरमुकाम विदुर हुँदै बेत्रावती र स्याफ्रुवेंसीसम्म सुरुङ सहितको सडक निर्माण गरिदिन चीन सहमति भएको थियो । सुरुङमार्ग निर्माण सहयोग सम्बन्धमा अर्थ मन्त्रालय र चीन अन्तराष्ट्रिय विकास सहयोग एजेन्सीबीच सम्झौता भएको थियो । चीनसँग भएका २० समझदारीमध्ये यो पनि एक हो ।
    हाल सञ्चालनमा रहेको प्रमुख मार्ग काठमाडौं–गल्छी–स्याफ्रुबेशी र रसुवागडी पुग्न १२८ किलोमिटर लाग्छ । काठमाडौंको बाइपास, नुवाकोटको विदुर, रसुवाको धुन्चे र स्याफ्रुबेशी हुँदै रसुवागडीको दुरी १५२ किमि छ । टोखा–छहरे–गंगटे ४४ किलोमिटर छ । गल्छी–छहरेमा निर्माण गर्दा यो खण्ड १२ किमि घट्छ । गँगटे–वेत्रावती १७ किमि, वेत्रावती–मैलुङ १० किमि, मैलुङ–स्याफ्रुबेशी १९ किमि, स्याफ्रुबेशी–रसुवागढी १६ किमि छ । दोस्रो चरणमा निर्माण हुने भनिएको मैलुङ–स्याफ्रुबेशी सुरुङमार्ग भने सरकारले नबनाउने निश्कर्ष निकालेको छ । मैलुङस्याफ्रुबेशी नेपाली सेनाले ट्रयाक खोलेर २०७५ जेठ ६ गते हस्तान्तरण गरिसकेको छ । अहिले यो खण्ड सहित धादिङको गल्छीदेखि रसुवागडीसम्म सडक निमाधीन अवस्थामा छ ।
    चीन सरकारले स्याफ्रवेंसी–रसुवागडी १६ किमि सडक विस्तार गर्दैछ । मुस्किले एकलेनको सडक दुई लेनमा विस्तार हुँदैछ । यो सुरुङमार्ग सहितको सडक निर्माण भइ सञ्चालनमा आएमा मालबहाक सवारी रसुवागडीदेखि काठमाडौंसम्म दुई देखि तीन घण्टामा आइपुग्नेछ । सुरुङमार्ग बनेको खण्डमा सिंगो मुलुक त्रिदेशीय व्यापारिक क्षेत्र बन्ने सम्भावना रहेको छ । अझ यसबाट नुवाकोटसहित रसुवा र धादिङसम्मका नागरिकले बढी लाभ लिनेछन् ।

माथिल्लो त्रिशूली–१ शिलान्यास

 माथिल्लो त्रिशूली–१

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले नेपालको आन्तरिक खपतका लागि कोरियन कम्पनीको प्रत्यक्ष वैदेशिक लगानीमा रसुवामा निर्माण हुने २१६ मेगावाटको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको शिलान्यास गरेका छन् ।
    मंगलबार आयोजित विशेष समारोहकाबीच मन्त्री बस्नेतले सो आयोजनाको बाँध लगायतका संरचना (हेडवक्र्स) निर्माणको शिलान्यास गरेका हुन् । रसुवाको आमाछोदिङमो गाउँपालिका–१ हाकुमा बाँधलगायतका संरचना र उत्तरगया गाउँपालिका–१ मा भूमिगत विद्युत्गृह लगायतका संरचना निर्माणाधीन छन् ।
    शिलान्यास समारोहमा मन्त्री बस्नेतले नेपालको जलविद्युत् विकासमार्फत आर्थिकरुपमा समृद्धि हासिल गर्न यस क्षेत्रमा सरकारले स्वदेशी तथा विदेशी लगानीका लागि वातावरण बनाइरहेको उल्लेख गरे । समारोहमा आयोजनाको मुख्य लगानीकर्ता कोरिया साउथ–इस्ट पावर (कोइन)का सभापति एवम् प्रमुख कार्यकारी अधिकृत होउ चुन किमले नेपालको अपार जलस्रोतको प्रयोग गरी स्वच्छ हरित ऊर्जाको आन्तरिक रुपमा खपत बढाई अतिरिक्त ऊर्जा छिमेकी देशहरूमा निर्यात गरी आर्थिक समृद्धि हासिल गर्न र जलवायु परिवर्तनको असर न्यूनीकरणमा ठूलो योगदान गर्न सकिने बताए ।
    समारोहमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, नेपाल विद्युत् प्राधिकरण, विद्युत् नियमन आयोग, लगानी बोर्ड, नेपाल, विद्युत् विकास विभाग लगायतका उच्चपदस्थ पदाधिकारीहरू, नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क थियोङ, आयोजनामा ऋण प्रवाह गर्ने संस्थाका प्रतिनिधिहरू, निजी क्षेत्रका ऊर्जा उद्यमी लगायत उपस्थिति थिए ।
    आयोजनाको मुख्य निर्माण गत २०७८ पुसदेखि सुरु गरिएको थियो । भूमिगत विद्युत्गृह, मुख्य सुरुङ, बाँध लगायतका सम्पूर्ण संरचनाहरूको निर्माण सबैतिरबाट तीव्र गतिमा भइरहेको छ । आयोजनाको समग्र भौतिक प्रगति २२ प्रतिशत रहेको छ । आयोजनाको बाँध वर्षायाम सकिएपछि मात्रै निर्माण सुरु गरिने बताइएको छ ।
    आयोजना निर्माणमा हाल करिब एक हजार श्रमिक परिचालित छन् । त्यसमध्ये करिब पाँच सय रसुवा जिल्लाका स्थानीय बासिन्दा छन् । आयोजना निर्माण अवधि (५ वर्ष)मा एक हजार नेपाली श्रमिकले दैनिक रुपमा रोजगारी पाउनेछन् । आयोजना सञ्चालन अवधि (३० वर्ष)मा नियमित रुपमा ८० जनाले रोजगारी पाउनेछन् । आयोजना निर्माणका लागि इन्जिनियरिङ, खरिद र निर्माण मोडलमा कोरियन कम्पनी डुसान एनबेलेटीले काम गरिरहेको छ ।
    आयोजनाको प्रवद्र्धक नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट कम्पनीमा कोरियन सरकारको स्वामित्वमा रहेको कोएन, विश्व बैंक समूह अन्तर्गतको अन्तर्राष्ट्रिय वित्त निगम लगायतको सेयर लगानी छ ।
आयोजनाका लागि ७० प्रतिशत ऋण र ३० प्रतिशत इक्विटीबाट जुटाउने गरी वित्तीय व्यवस्थापन गरिएको छ ।
    कुल अनुमानित लागत ६४ करोड ७३ लाख अमेरिकी डलर (निर्माण अवधिको ब्याजसहित) रहेको आयोजनामा नौ अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरूले ४५ करोड ३२ लाख अमेरिकी डलर लगानी गर्ने सम्झौता गरेका छन् । बाँकी रकम स्वपूँजी (इक्विटी)बाट जुटाइएको छ । आयोजनाबाट वार्षिक रुपमा एक अर्ब ५३ करोड ३१ लाख युनिट ऊर्जा उत्पादन हुने छ । आयोजनाबाट उत्पादन हुने कूल वार्षिक ऊर्जामध्ये ३८.७५ प्रतिशत हिउँदयाममा र ६१.२५ प्रतिशत वर्षायाममा उत्पादन हुने छ । उत्पादित ऊर्जा नेपाल विद्युत् प्राधिकरणले निर्माण गरिरहेको त्रिशूली–३ ‘बी’ हब सबस्टेसनमा जोडी राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह हुने छ । कम्पनी र प्राधिकरणबीच विद्युत् खरिद बिक्री सम्झौता सम्पन्न भइसकेको छ ।
  काठमाडौँ ‘लोड सेन्टर’बाट नजिक रहेको र विद्युत् अत्यधिक माग हुने हिउँदमासमेत एक सय चार मेगावाट विद्युत् प्राप्त हुने भएकाले मुलुकको विद्युत् प्रणालीका लागि आयोजना आकर्षक मानिएको छ । आयोजनाबाट वर्षभरि नै एक सय चार मेगावाट स्थिर (फार्म) ऊर्जा प्राप्त हुने छ । आयोजनाको निर्माण २०८३ को मङ्सिरभित्र सक्ने लक्ष्य छ ।

तीन दिन संविधान दिवस मनाइने

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतको सूचना तथा प्रसारण विभागले संविधान दिवस राष्ट्रिय दिवसको रुपमा तीन दिन मनाउन अपिल गरेको छ ।
    असोज २, ३ र ४ गते  संविधानका विषयमा विशेष संवाददेखि स्मारिका, लेख प्रकाशन र कार्यालयहरूमा दीप प्रज्ज्वलन गर्न अनुरोध गरिएको छ ।
    तीन दिन साँझ सबै सरकारी तथा सार्वजनिक निकायका कार्यालयहरूमा दीप प्रज्ज्वलन गरिने छ । ३ गते सेनाद्वारा सैनिक–मञ्च, टुँडिखेल, काठमाडौंमा बिहान सूर्योदयसँगै विगुल (रिभ्याली) बजाउने, तोप र बन्दुकको बढाइँ, सबै मठ–मन्दिर, बुद्ध–विहार, मस्जिद, चर्च, गुरुद्वारलगायतका धार्मिक स्थलहरूमा नित्य–पूजा, पाठ गर्दा राष्ट्र, राष्ट्रियता, स्वतन्त्रता, लोकतन्त्र र संविधानका लागि जीवन उत्सग गर्ने ज्ञात–अज्ञात शहीदको आत्माको चीरशान्तिको कामनासहित उच्च सम्मानसाथ श्रद्धासुमन अर्पण गरिने छ । सोही दिन टुँडिखेलमा मूल समारोहको औपचारिक कार्यक्रम आयोजना हुनेछ ।

महिला सिपाही दीक्षित

 महिला सिपाही

बट्टार । बलाधिकृत रथी सरोजप्रताप राणाले श्री नं. १ सैन्य तालिम केन्द्र बट्टारमा २०७९ मंसिर १ गतेबाट सञ्चालन भएको सि.सं. ७८ सैन्य आधार तालिमको गएको सोमवार अन्तिम दलेल कवाजको सलामी ग्रहण तथा निरीक्षण गरी तालिमको समापन गरेका छन् ।
    ९ महिना अवधिको उक्त तालिममा महिला शिक्षार्थी २८९ जनाले सफलतापूर्वक तालिम सम्पन्न गरेका छन् । ९ महिनाको कठोर परिश्रम, लगनशिलता र मिहेनत पश्चात गौरवमय इतिहास बोकेको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा स्वच्छ छवि बनाएको नेपाली सेना जस्तो गरिमामय संस्थाको सिपाही दर्जामा नियुक्त भएकोमा तालिमे सिपाहीहरूलाई हार्दिक बधाई दिदै आउँदा दिनहरूमा सफल सैनिक जीवनको शुभ–कामना दिए । सैन्य आधार तालिमलाई सफलतापुर्वक सम्पन्न गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नु हुने शिक्षक अधिकृत, पदिक तथा बिल्लादारहरू र केन्द्रका केन्द्रपति लगायत सम्पूर्ण सकलदर्जाहरूलाई उनले धन्यवाद समेत दिए ।
    यसै बीच, जबरजंग गण नुवाकोटमा सञ्चालित सैन्य आधार तालिमबाट ९८ जना नेपाली सेनाका सिपाही दीक्षित भएका छन् । गएको सोमबार नै एक कार्यक्रममा उनीहरूलाई मध्यपृतना मुख्यालयका महासेनानी मनोज थापा क्षेत्रीले दीक्षित गर्दै सेवा प्रवेश गराएका हुन् ।
    विदुर नगरपालिकाको देवीघाट ब्यारेकमा नौ महिने तालिम पूरा गरेकाहरूलाई एक समारोहको आयोजना गरेर दीक्षान्त गरिएको हो । सि.सं. १० सैन्य आधार तालिमको दीक्षान्त समारोह सम्पन्न भएको गणका गणपति चिरञ्जीवी पौडेलले जानकारी दिए । कार्यक्रमलाई सम्बोधन गर्दै सहायक रथी थापाले दीक्षितहरूलाई निर्देशन दिदैं राष्ट्रले योग्य व्यक्तिका रुपमा छनौट गरेकाले कार्य क्षेत्रमा खटिदा राष्ट्र, नेपाली जनता र नेपाली सेनाको शिर उच्च राख्ने गरी काम गर्नुपर्ने बताएका छन् ।
    तालिम अवधिभर विभिन्न विधामा उत्कृष्ट हुन सफल भएका सिपाहीलाई महासेनानी थापाले पुरस्कार वितरण गरे ।

विदेश गइरहेको देश

तथ्याङ्क

रमेश कुमार

मुलुकमा आफ्नो भविष्यसँग आश्वस्त नभएर सिङ्गो तन्नेरी पुस्ता नै विदेश हिंड्न तम्तयार हुँदा मुलुकको उन्नतिको सम्भावना भने थप खुम्चँदो छ ।
    काँधमा खादा वा माला लगाएका युवा र बिदाइमा तिनलाई अँगालो हालिरहेका प्रियजन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पटाङ्गिनी विदेश जाने युवा र तिनका आफन्तजनले खचाखच भरिएको हुन्छ । दिनहुँ सरदर दुई हजार ४०० भन्दा बढी युवा मुलुक छोडेर काम र पढाइका लागि विदेश उड्न थालेपछि विमानस्थलमा सधैं घुइँचो लाग्छ । यसरी देश छोडिरहेकामध्ये कैयौं युवाले सधैंका लागि विदेशमा बसोबास गर्ने योजना बनाएका हुन्छन् ।
    बितेको वर्ष मात्रै काम र अध्ययनका लागि करीब नौ लाख युवाले देश छोडे । वैदेशिक रोजगार विभागका अनुसार आर्थिक वर्ष २०७९/८० मा कामका लागि सात लाख ७५ हजार युवा विदेश पुगेका छन् । त्यस्तै, गत वर्ष एक लाख १० हजार नेपाली विद्यार्थी अध्ययनका लागि विदेशिएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको तथ्याङ्क छ । यो चानचुने संख्या होइन, देशको युवा उमेरसमूह १६–४० को करीब सात प्रतिशत हो ।
    यसअघि एकै वर्ष यति धेरै संख्यामा युवाले देश छोडेको अभिलेख छैन । योभन्दा पनि महत्त्वपूर्ण त युवा पलायनको तीव्रता मत्थर हुने छाँटकाँट छैन । मुलुकमा आफ्नो भविष्यसँग आश्वस्त नभएर सिङ्गो तन्नेरी पुस्ता नै विदेश हिंड्न तम्तयार देखिन्छ । जसकारण गाउँघरमा युवा छिटपुट मात्रै फेला पर्न थालेका छन् भने कलेज–विश्वविद्यालयमा विद्यार्थी संख्या घट्दो छ । समाजशास्त्री डा. गणेश गुरुङ भन्छन्, ‘न युवा जमात देशमा भविष्य देख्छ न त बाबुआमा नै उनीहरूलाई मुलुकमा राख्न चाहन्छन्। यस्तो लाग्छ– सिङ्गो देश नै विदेश गइरहेको छ ।’
देश छोड्ने हतारो
रसुवाको कालिका–३ का ६ युवा एकैसाथ भदौको पहिलो साता कामका लागि यूरोपेली देश क्रोएशिया प्रस्थान गरे । देशमा बसेर उन्नति गर्न नसकिने निचोड सहित अध्ययन, व्यवसाय र जागीर छोडेर उनीहरूले सात समुद्रपारि पसिना बगाउने निधो गरेका थिए । तिनैमध्येका एक भुवन न्यौपानेको चाहना यूरोपमा दीर्घकालसम्म स्थायी रूपमा बस्न पाइने अनुमति पाइन्छ कि भन्नेमा छ । देश छोड्नुअघि उनले सुनाए, ‘भाग्यले साथ दिए क्रोएशियाबाट यूरोपको अर्को मुलुकमा सरेर स्थायी आवास अनुमति(पीआर) पाइएला !’
    नुवाकोटको विदुरका विनोद पौडेलको दैनिकी खल्तीमा हात हालेर यताउता बरालिएर बित्छ । बेरोजगार पौडेल अहिले राहदानी वैदेशिक रोजगार व्यवसायीलाई बुझाएर विदेशिने दिन कुरिरहेका छन् । ‘यता के गरेर बस्ने? भएका साथीभाइ जति सबै विदेश गइसके,’ उनी भन्छन् ।
    विद्यालय शिक्षा (कक्षा १२) सक्ने बित्तिकै तरुणको ध्यान थप उच्च शिक्षा हासिल गर्ने होइन, विदेश गएर कमाउनेतिर गइरहेको छ । भर्खरै कक्षा १२ सकेकी काठमाडौंको बालाजुकी आकृति तिमल्सिना क्यानडा वा अस्ट्रेलियामध्ये एक देश पढ्न जान तयारी गरिरहेकी छन् । स्टडीपोर्टलको एक अध्ययनमा सन् २०२२ मा संसारभरिको वैदेशिक अध्ययनमा जानेमध्ये आधा विद्यार्थी नेपाल सहितका १४ देशबाट रहेको उल्लेख छ । नेपालले कुल अन्तर्राष्ट्रिय विद्यार्थीको १.७ प्रतिशत हिस्सा ओगटेको छ ।
    अर्थशास्त्री डा. समीर खतिवडा मानिसको आधारभूत चरित्र नै अवसर खोज्दै हिंड्ने भएकाले राम्रो भविष्यका लागि युवाले नेपाल छोड्न खोज्नु स्वाभाविक भएको मान्छन् । खतिवडा भन्छन्, ‘जसलाई पनि भोलिको दिन राम्रो होओस्, छोराछोरीको जिन्दगी राम्रो बनोस् भन्ने लाग्छ । नेपालमा त्यस्तो आशा नदेखेपछि हिंड्न खोज्नु अस्वाभाविक होइन ।’
    हुन पनि नेपाली युवाका लागि विदेशको गन्तव्य बाध्यता र रहर दुवै बनिरहेको छ । समाजशास्त्री दिनेश प्रसाईं नेपाल समाज लाहुरे संस्कृतिसँग अभ्यस्त भएकाले परिवारका सदस्य विदेश जानु गर्वको कुरा भएको अनुभूतिबाट गुज्रिंदै आएको बताउँछन् । त्यसमाथि पछिल्लो समय त सिङ्गो नेपाली समाजले देशबाट आशा नै गुमाइसकेकाले विदेश विकल्प बनेको देख्छन् । प्रसाईं भन्छन्, ‘राजनीतिप्रति आशा नै भएन । मुलुक सप्रिन्छ भन्ने आशा नै नभएपछि सबैलाई विदेश जाऔं भन्ने लागेको छ ।’
    त्यसो त नेपाली समाजमा लाहुर जाने र कमाएर ल्याउने परम्परा नौलो होइन् । १९औं शताब्दीको शुरूतिर नै ‘पन्जाब केशरी’ रणजीत सिंहको लाहोर छाउनीमा नेपाली युवा भर्ती भएर धन कमाउन थालिसकेका थिए । सन् १८१६ को सुगौली सन्धिपछि त नेपाली युवाका लागि विदेशी सेनामा गोर्खा भर्तीको औपचारिक ढोका नै खुल्यो । विश्वव्यापीकरण र आर्थिक उदारीकरणको युग शुरू भएपछि बितेका तीन दशकमा भने आम्दानी बढी हुने सम्पन्न र विकासोन्मुख मुलुकतिर नेपाली कामदार ओइरिन थाले ।
    पछिल्लो दशकमा भने अध्ययनका लागि विदेशिने विद्यार्थी पनि उत्तिकै बढेका छन् । वैदेशिक अध्ययनका लागि देश छोडे पनि प्रकारान्तरले विदेश पुगेकाको उद्देश्य स्वदेश फर्किने होइन, उतै स्थायी बसोबास गर्ने हुन्छ ।
    आर्थिक सर्वेक्षण २०७९÷८० का अनुसार, २०७९ फागुनसम्म ५५ लाख २६ हजार ७०० जनाले वैदेशिक रोजगारीमा जान औपचारिक श्रम स्वीकृति लिएका छन् । वैदेशिक अध्ययनका लागि जाने विद्यार्थीको संख्या पनि सानो छैन । यस हिसाबले भारत बाहेकका तेस्रो मुलकमा रोजगारी, अध्ययनका लागि औपचारिक तथा अनौपचारिक रूपमा पुगेका नेपालीको संख्या ५० लाख हाराहारी रहेको अनुमान गरिन्छ । परिवारबाट अलग भई अक्सर विदेशमा बसोबास गर्ने नेपालीको संख्या करीब २२ लाख रहेको राष्ट्रिय जनगणना, २०७८ ले देखाएको छ । यद्यपि अध्ययन र कामकाजका लागि विदेशमा रहने नेपालीको संख्या योभन्दा कैयौं गुणा धेरै छ ।
    मुलुकबाट बाहिरिने ताँतीमा श्रम बेच्न मध्यपूर्व वा मलेशिया हिंडेका मात्र होइन, उच्च सीप र शिक्षायुक्त दक्ष जनशक्ति समेत आश्चर्यलाग्दो गरी बढिरहेको छ । देशमा भविष्य नदेखेपछि उच्च शिक्षा अध्ययन गरेका र प्राविधिक ज्ञान पाएको जनशक्ति सुरक्षित भविष्य र आकर्षक आम्दानीका लागि पलायन भइरहेको छ ।
    देश छोड्नेमा चिकित्सक, इन्जिनीयर, चार्टर्ड एकाउन्टेन्ट (सीए), नर्स, भेटेरिनरी डाक्टर, कृषिविज्ञ, प्राध्यापकदेखि भौतिकशास्त्र, रसायनशास्त्र, जीवविज्ञान लगायतका विषय पढेका जनशक्तिको लर्को छ । नेपालबाट बर्सेनि कति संख्यामा पेशागत दक्ष र बौद्धिक समुदाय पलायन हुन्छ भन्ने तथ्याङ्क सरकारसँग छैन । समाजशास्त्री गणेश गुरुङ पेशागत विशेषज्ञ र दक्ष जनशक्ति पलायन हुनुले देशको अधोगतिलाई संकेत गरेको देख्छन् ।
किन देश छोड्दै छन् युवा ?
समाजशास्त्री दिनेश प्रसाईं युवा जनशक्तिको विदेश आकर्षणमा आम्दानीको अवसरलाई कारण मान्छन् । एक त देशमा पर्याप्त रोजगारीको अवसर छैन, काम मिलिहाले पनि तलब–ज्याला विदेशका तुलनामा थोरै छ । यही आम्दानीको असमानताका कारण मजदूरी गर्ने मात्र होइन, सीप र व्यावसायिक दक्षता भएका युवा मुलुक छोड्न खोजिरहेका छन् ।
    त्योभन्दा पनि महत्वपूर्ण चाहिं राजनीतिप्रति नेपाली समाजको नै आशा झन् हराएको प्रसाईंको तर्क छ । ‘राजनीति, प्रशासन सबै भ्रष्ट छन् भन्ने सबैलाई थाहा छ । मुलुक भविष्यसम्मै बन्दैन, सुधार हुँन्न भन्नेमा आमनागरिक विश्वस्त भएकाले छोराछोरीलाई गच्छे अनुसार देश पठाउन चाहिरहे छन्,’ समाजशास्त्री प्रसाईं भन्छन् ।
अर्थशास्त्री खतिवडा पनि आर्थिकलाई नै युवा विदेशिने प्रमुख कारण मान्छन् । नेपालमा अर्थतन्त्रको स्वरूप नै आम्दानी र खर्चका बीचमा मेलमिलाप नहुने स्थितिमा पुगेको छ । निश्चित आम्दानी भएका घरपरिवारलाई आधारभूत चिजबिज किनेर घर चलाउनै कठिन पर्ने स्थिति छ । ‘जागीर गरेर घर, गाडी जोडौं, छोराछोरी राम्रोसँग पढाऔं वा रोग लाग्दा उपचार गरौं भन्ने स्थिति छैन । यसैले धेरैलाई विदेशतिर धकेलिरहेको हो,’ खतिवडा भन्छन् ।
    समाजशास्त्री गुरुङ दशक लामो द्वन्द्व र राजनीतिक संक्रमणपछि मुलुकले उन्नति र समृद्धिको बाटो समात्ने नागरिक आशा पूरा नभएपछि आमनिराशा बढेको बताउँछन् । उनका अनुसार कोभिड–१९ महामारी मोचनपश्चात् देशमा आर्थिक गतिविधिको सुस्तताका कारण व्यवसाय र रोजगारीको अवसर खुम्चिएकाले युवाको विदेश जाने क्रम बढेको छ । त्यसैमाथि सरकारको कमजोर कार्यसम्पादन, राजनीतिक अस्थिरता, लथालिङ्ग प्रशासन, यत्रतत्र भ्रष्टाचारले युवालाई देश छोड्न बाध्य पारिरहेको उनको तर्क छ । गुरुङ भन्छन्, ‘पछिल्लो समयमा त यो मुलुकमा भविष्य छैन भनेर उच्च मध्यमवर्गीय परिवार समेतले विदेशमा घरघडेरी किनेर दुई देशमा खुट्टा राख्न खोजेको देखियो ।’
    राष्ट्रिय योजना आयोगका पूर्व सदस्य डा. पुष्कर बज्राचार्य मुलुकबाट युवा बाहिरिने अहिलेको प्रवृत्ति भयावह स्तरमा पुगिसकेको बताउँछन् । बज्राचार्य नेपाली समाज छिटो प्रतिफल चाहने, छिटो धनी हुने लालसाले ग्रस्त बनिसकेकाले देशको अवसरभन्दा विदेशै ताकिरहेको देख्छन् । ‘एकाध दशकअघिका तुलनामा मान्छेको अपेक्षा अनपेक्षित तरीकाले बढेको छ । उपभोग गर्ने प्रवृत्ति उसैगरी फेरिएको छ । त्यसले सबैलाई विदेशतिर आकर्षित गरिरहेको छ, नेपाली समाजका लागि यो चानचुने संकट होइन,’ बज्राचार्य भन्छन् ।
आत्मविहीन मुलुक
नेपालीको लाहुर गएर धन कमाउने प्रवृत्तिले नेपाली समाजको अर्थ–राजनीतिक चरित्रमा ठूलो फेरबदल ल्याएको तथ्य बिर्सनै मिल्दैन । संसारभरि छरिन पुगेका नेपालीको कमाइ उनीहरूको परिवारको अर्थोपार्जनका लागि मात्रै होइन, देशको अर्थतन्त्रका लागि पनि मुख्य टेको बनिरहेको छ । मुलुकको विदेशी मुद्रा आम्दानीको भरपर्दो आधार रेमिटेन्स छ ।
    तीन दशकअघि दुईमध्ये एक जना नेपाली गरीब थिए । गरीबीको दर करीब १७ प्रतिशतमा झार्न मुख्य रूपमा विदेशकै धनले काम गरेको मानिन्छ । त्यति हुँदाहुँदै पनि युवाको निरन्तर पलायनले मुलुकलाई ठूलो चुनौती खडा गरेको छ, दीर्घकालसम्मै ।
    राष्ट्रिय जनगणना, २०७८ अनुसार मुलुकमा काम गर्न सक्ने उमेर समूह १५–६४ को संख्या कुल जनसंख्याको झन्डै ६५ प्रतिशत छ । उच्च श्रम गरेर कमाउन सक्ने उमेर समूहको जनसंख्या धेरै हुनु मुलुकको उन्नतिका लागि हितकर मानिन्छ । अर्थशास्त्री र जनसंख्याविद्हरूले यसलाई ‘जनसांख्यिक लाभ’ भनेर अथ्र्याउने गरेका छन् ।
    तर, नेपालमा उपलब्ध श्रमशक्तिको लाभ लिन मुलुक चुकिरहेको त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र विभागका प्रमुख डा. शिवराज अधिकारी बताउँछन् । अधिकारी भन्छन्, ‘जनसांख्यिक लाभ मुलुकले सधैं पाउँदैन । यो अवसर छोप्न सके मुलुकले काया फेर्न सक्छ, उपयोग गर्न नसके देश बूढो हुँदै जान्छ र मुलुकको गति पछाडि पर्छ । नेपालमा काम गर्न सक्ने युवा धमाधम विदेशिइरहेकाले अवसर गुमिरहेको छ ।’
    कुनै पनि देशको जनसांख्यिक लाभको अवस्था लामो समय टिक्दैन। विगतमा उच्च जन्मदर भएका वेला जन्मिएकाको ठूलो संख्या क्रमशः तन्नेरी र युवामा रूपान्तरित भई तिनको श्रमले मुलुकलाई छिट्टै समृद्ध बनाउन सक्ने सम्भावना हुक्छ । तर, जन्मदर कम हुँदै जाँदा र वृद्धवृद्धाको अनुपात बढ्दै जाँदा कुल जनसंख्यामा युवा शक्तिको अनुपात घट्छ । यसले श्रम गर्ने भन्दा उत्पादनमा न्यून सक्रिय र अरूप्रति आश्रितको अनुपात धेरै बनाउँछ ।
    २०७८ सालको जनगणना अनुसार देशको औसत जनसंख्या वृद्धिदर ०.९२ प्रतिशतमा ओर्लिएको छ । दुई दशकअघि मात्रै जन्मदर २.२४ प्रतिशत थियो । अहिले ६५ वर्षमाथिका वृद्धवृद्धाको संख्या कुल जनसंख्याको झन्डै सात प्रतिशत पुगेको छ ।
    औसत आयुमा वृद्धि, खानपान–स्वास्थ्योपचारको सुधारका कारण बढी समय बाँच्ने वृद्धवृद्धाको संख्या बढ्दै जानेछ । जसले गर्दा देशमा ज्येष्ठ नागरिकको अनुपात बढ्दै जान्छ । तर, ती ज्येष्ठ नागरिकलाई रेखदेख गर्ने छोराछोरी नेपालमा हुनेछैनन् । जसले गर्दा तिनको वृद्धावस्था एक्लो बित्नेछ ।
    राष्ट्रिय योजना आयोगको डेमोग्राफिक चेन्ज अफ नेपालः ट्रेन्ड्स एन्ड पोलिसी इम्प्लिकेसन्स प्रतिवेदनका अनुसार नेपालले जनसांख्यिक लाभ पाउने समय सन् १९९२ बाट शुरू भएको हो र यो सन् २०४७ सम्म कायम रहन्छ । अर्थात्, श्रम शक्ति उच्च हुने समयावधिबाट अवसर लिन नेपालसँग अब अढाई दशक मात्रै बाँकी छ । तर, श्रम शक्ति धमाधम विदेशी भूमिमा पुगेपछि त्यो अवसर समात्ने सक्नेमा सन्देह उब्जिएको छ ।
    श्रम गर्न सक्ने क्षमता भएका जनशक्ति र बौद्धिक पलायनले नेपाल जस्तो अति कम विकसित देशको उन्नतिको अवसर समाउने प्रयत्नमा असर परिरहेको अर्थशास्त्री डा. अधिकारी बताउँछन् । उनी राजनीति र सरकारले नागरिकलाई उत्साहित र देशमै काम गर्न प्रोत्साहन गर्न नसकेको तर्क गर्छन् । अधिकारीका मतमा तरुण वयका युवालाई देशमै अवसर सिर्जना गर्न सकिने वा विदेश जाँदाका जोखिमबारे सही सूचना नै पुगिरहेको छैन । अधिकारी भन्छन्, ‘अर्धसूचनाका भरमा धेरै युवा विदेश गइरहेका छन् । सही सूचना दिने हो भने सबैथोक छोडेर विदेश हाम फाल्ने प्रवृत्ति रोकिन्छ ।’
    समाजशास्त्री प्रसाईंका मतमा देश छोडेर विदेश हानिन खोज्ने अहिलेको प्रवृत्ति नेपाली समाजको नैतिक सङ्कट नै हो । ‘यो संकटको आत्मसमीक्षा नीतिनिर्माता, राजनीतिज्ञ कसैले पनि गरेको छैन । कसैलाई केही मतलब नै छैन । तर, युवा रित्तिंदै गएको मुलुक भने झन् झन् आत्माविहीन भइरहेको छ,’ उनी भन्छन् ।
    अर्थशास्त्री बज्राचार्य विदेशिने युवाका लागि देशभित्रै कामको अवसर सिर्जना गर्न, आशा देखाउन हतारोसाथ काम थाल्नुपर्ने बताउँछन् । हरेक वर्ष विदेशिनेमध्ये निश्चित प्रतिशतलाई देशभित्र राख्ने, अवसर सिर्जना गर्नेमा चरणबद्ध रणनीति र योजना अघि सार्न‘पर्ने उनको भनाइ छ । ‘विदेश जाने अहिलेकै प्रवृत्ति कायम रहे भविष्यमा नेपालको राजनीतिक, सामाजिक र आर्थिक मात्रै होइन, सार्वभौमसत्ताकै संकट आउने जोखिम छ,’ बज्राचार्य भन्छन् । त्यसो त युवा जनशक्ति द्रुत गतिमा विदेशिएकोमा सरकार र राजनीतिक नेतृत्व खुशी छैन । अर्थमन्त्री प्रकाशशरण महतले भदौको दोस्रो साता एक सार्वजनिक कार्यक्रममा विदेश जानैपर्छ भन्ने नेपालीको मानसिकता परिवर्तन गर्न‘पर्नेमा जोड दिए । प्रधानमन्त्री पुष्पकमल दाहालले एक सार्वजनिक कार्यक्रममा पनि देशमा निराशाको खेती भइरहेको बताएका थिए ।
    अर्थमन्त्री महतले त पढ्न जाने युवालाई छात्रवृत्ति बाहेक जानै दिन नहुने तर्क समेत गरे । तर, अर्थशास्त्री खतिवडा यस्तो तर्क घातक रहेको बताउँछन् । उनी भन्छन्, “देशमा गुणस्तरीय जीवनयापन हुने वातावरण नबनाउने, तर विदेश जान नदिन हातखुट्टा बाँध्ने प्रवृत्ति बिल्कुल सही होइन । यो झन् घातक हुन्छ ।”–हिमाल खबरबाट साभार

नुवाकोटलाई डिजिटल बनाईने

क्यानको कार्यक्रममा नगर प्रमुख श्रेष्ठ

विदुर । कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघ नुवाकोट शाखाको चौथो वार्षिक साधारणसभा तथा आईटी सम्मेलन बिहिबार बट्टारमा सम्पन्न भएको छ ।
    क्यानले स्थापनाकालदेखि निरन्तर रुपमा आफ्नो कार्यलाई अघि बढाउँदै सर्वसाधारणसम्म सूचनाको पहुँच र प्रविधिको जानकारी गराउने कार्यको साथै सामाजिक कार्य गर्दैं आइरहेको छ । साधारणसभा विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठको प्रमुख आतिथ्यता तथा जिल्ला अध्यक्ष पवन नेपालको अध्यक्षतामा भएको थियो । कार्यक्रममा क्यानको संस्थागत गतिविधि तथा प्रगतिमाथि छलफल हुनुका साथै प्राविधिक कक्षा समेत सञ्चालन गरिएको थियो ।
    नगर प्रमुख श्रेष्ठले विदुर नगरपालिकाले प्रवाह गर्ने सेवा प्रविधिमैत्री बनाउन क्यान नुवाकोटसँग सहकार्य र समन्वय गरिने प्रतिबद्धता व्यक्त गरे । क्यान महासंघ केन्द्रीय सदस्य भानुभक्त शर्माले सूचना प्रविधिको विकासको लागि क्यान नेपालले माईक्रोसफ्टको समन्वयमा शैक्षिक तथा सरकारी क्षेत्रको लागि निःशुल्क रुपमा माईक्रोसफ्ट ३६५ प्रदान गरिरहेको बताए ।
    क्यान महासंघ नुवाकोटका अध्यक्ष पवन नेपालले वार्षिक प्रतिवेदन र भावी योजना प्रस्तुत गर्दै सबै स्थानीय तहसँग समन्वय गरेर डिजिटल अवधारणा ल्याउन तथा सूचना तथा सञ्चार प्रविधिको विकासमा क्यानको महत्वूर्ण भूमिकालाई सक्रिय बनाउने बताए  ।
    उक्त कार्यक्रममा क्यान महासंघ नुवाकोटका सचिव नारायणकुमार घलेले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।

अर्बको सूचीमा बट्टारको पेट्रोल पम्प

बट्टार । सात वटा पेट्रोल पम्प रहेको नुवाकोटका एउटै पम्पले एक अर्ब रुपैयाँ भन्दा बढीको पेट्रोलियम पदार्थ विक्रि गरेको छ । बट्टारमा रहेको भैरवी आयल स्टोरले बितेको आर्थिक बर्षमा एक अर्ब रुपैयाँभन्दा बढीको कारोवार गरेको हो । उक्त आयल स्टोरले एक अर्ब २ करोड ८९ लाख ९२ हजार रुपैयाँको पेट्रोल र डिजेलको कारोवार गरेको नेपाल आयल निगमले जनाएको छ ।
    गत आर्थिक बर्षमा एक अर्ब रुपैयाँभन्दा बढी कारोबार गर्ने पेट्रोल पम्पको संख्या यो सहित १४ पुगेको छ । नेपाल आयल निगमकाअनुसार देशभरको पम्पहरूमध्ये १४ वटा पम्प सर्वाधिक कारोबार गर्ने सूचीमा दरिएको हो । विगतमा इन्धन कारोबारमा प्रहरी, शसस्त्र, सेना र सहकारी पम्पहरूको बाहुल्यता थियो । निगमको तथ्याङ्क अनुसार गत आर्थिक बर्ष २०७९÷८० मा देशभरमै सबैभन्दा बढी धादिङको भैरवी इन्टरप्राइजेजले पेट्रोल र डिजेलको कारोबार गरेको थियो । नेपाल आयल निगमको थानकोटस्थित बागमती प्रादेशिक कार्यालयका प्रमुख शैलेन्द्र भुसालका अनुसार भैरवीले उक्त आर्थिक बर्षमा १ अर्ब ७९ करोड ४० लाख ११ हजार रुपैयाँको पेट्रोल र डिजेल खरिद गरि बिक्री गरेको थियो ।
    भुसालकाअनुसार भैरवी पम्पले गत आर्थिक बर्षमा दैनिक १२ हजार लिटर पेट्रोल र ६० हजार लिटर डिजेल खरिद गरि कारोबार गरेको थियो । त्यो बर्षमा भैरवीले कूल १ करोड ८ लाख ६१ हजार ९५७ लिटर पेट्रोलियम पदार्थ खरिद गरेको थियो ।
    ‘यसमध्ये ८० प्रतिशतका दरले ८७ लाख ५४ हजार ३७ लिटर डिजेल बिक्री गरेको थियो,’ भुसालले भने ।
    देशभर १ हजार ५ सयभन्दा बढी पेट्रोल पम्प सञ्चालनमा छ ।

चार्जिङ्ग स्टेसनको निर्माण हुँदै

 चार्जिङ्ग स्टेसनको निर्माण हुँदै

त्रिशुली । विदुर नगरपालिका वडा नम्बर १ को त्रिशुली वसर्पाकमा टिमुरे यातायात प्रालिले आफ्नै लगानीमा विद्युतिय चार्जिङ्ग स्टेसनको निर्माण शुरु गरेको छ । छिट्टै उक्त कम्पनीले काठमाडौं–त्रिशुलीमा सञ्चालन गर्न लागेको ई–माईक्रोको लागि विद्युतिय चार्जिङ्ग स्टेसनको निर्माण गर्न लागेको टिमुरे यातायात प्रालिका अध्यक्ष प्रकाश जोशीले बताए ।
    विदुर नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष लेनिन रन्जितको पहलमा विद्युत प्राधिकरणले ट्रान्सफरमर सहित अन्य प्राविधिक सहयोग गरेको छ । त्यस बाहेक नै चार्जिङ्ग स्टेसनको निर्माण गर्न झण्डै ३० लाख रुपैयाँ लाग्ने उनले बताए ।
    आन्तरिक रुपमा विद्युत खपत बढाउने महत्वपूर्ण क्षेत्र यातायात भएकोले सकारको नितिलाई सहयोग गर्नका लागि आफुहरूले ई–माईक्रोको सञ्चालन गर्न लागेको अध्यक्ष जोशीको भनाई छ । पहिलो चरणमा दशैबाट काठमाडौं–त्रिशुलीको रुटमा १० ओटा ई–माइक्रो सञ्चालन गर्ने तयारी गरिएको उनले बताएका छन् ।

तीज पर्वको रहस्य के छ ?


तीज पर्व भन्नासाथ हामी चेलीमाइती भेटघाट गर्ने, रमाइलो गर्ने, दर खाने अवसरको रूपमा बुझ्छौं । यस अवसरमा चेलीहरू माइत आउँछन् । दुग्धजन्य परिकार सेवन गर्छन् । उपवास बस्छन् । रातो, हरियो, पहेंलो रंगको पहिरनमा सजिन्छन् । चुरा, पोते लगाउँछन् । नाचगान गर्छन् । गीतको माध्यमबाट मनको वह पोख्छन् । अहिले तीजको स्वरूप पनि फेरिदै गएको छ । चेलीमाइतीबीच सुमधुर सम्बन्ध राख्ने, माइतघर जाने, दुग्धजन्य परिकार खानेभन्दा पनि पार्टी प्यालेसमा भोजभतेर आयोजना गर्ने, अघोषित रूपमा गरगहना, पहिरनमा प्रतिस्पर्धा गर्ने, मासुमाछा र मदिराजन्य तामसी परिकार खाने प्रवृत्ति बढ्दो छ । खासमा तीज के हो ? किन मनाइन्छ ? कसरी मनाउन सुरु गरियो ? यससँग जोडिएको अर्थ र वास्तविकता के हो ?तीज किन मनाइन्छ ?
    नेपाली हिन्दू महिलाहरूको महान् चाड हरितालिका तीजको रौनक नेपालका के सहर के  गाउँ, जताततै फैलिइसकेको छ । यो पर्वमा महिलाहरू आफ्नो स्वास्थ्य र श्रीमानको  दीर्घायु कामना गर्दै व्रत बस्छन् । यद्यपि समयसँगै हाम्रो संस्कार र संस्कृतिमा निकै परिवर्तन आएको छ जुन कुरो हाम्रा पर्वहरूमा सहजै दृष्टिगोचर हुन्छन् । हिजोआज तीज भड्किलो हुँदै छ भने तीजको रमझममा पनि पश्चिमेली शैली मिसिन थालेको देखिन्छ । फलस्वरूप तीज केही उत्ताउलो समेत हुन थालेको र यसको मौलिकता पनि हराउन थालेको गुनासो बढ्न थालेको छ । तीज यही बेलादेखि सुरु भएको भन्ने ठ्याक्कै मिति निर्धारण त गर्न सकिँदैन तैपनि यो भारत वर्ष विशेष गरी उत्तर भारत एवं नेपालमा पौराणिक कालदेखि नै चलिआएको बुझ्न सकिन्छ ।
    विशेष गरी तीज भारतभन्दा पनि नेपालमै बढी चलेको पर्व हो । नेपाली समाजमा यो पर्वको मौलिक स्वरूप विकास भएको हुनाले तीज विशुद्ध नेपाली पर्व हो र यो नेपालका महिलाहरूले मात्र मनाउँछन् भन्न सकिन्छ । नेपाली जनजीवनको सामाजिक, धार्मिक, सांस्कृतिक आदि पहिचान व्यक्त गर्ने यो पर्वले नेपाली महिलाहरूको इतिहासलाई बोकेको छ जुन विभिन्न रूपले यो पर्वमार्फत प्रकट हुन्छ । धार्मिक कथनअनुसार हिमालयपुत्री पार्वतीले महादेव स्वामी पाऊँ भनी व्रत बसेकी र उनको व्रत पूर्ण भई महादेव पति पाएको दिनलाई हिन्दू नारीहरूले हरितालिका तीजका रूपमा मनाउँदै आएका छन् । पार्वतीले महादेवलाई श्रीमानका रूपमा पाउन १ सय ७ जन्मसम्म घोर तपस्या गरे पनि १ सय ८ औं जन्ममा मात्र उनको तपस्या पूरा भएको कुरा केही शास्त्रहरूमा बताइएको छ । यही मान्यतालाई अनुशरण गर्दै विवाहित महिलाले आफ्ना श्रीमानको दीर्घायु एवं अविवाहित महिलाले सुयोग्य वर पाऊँ भनी तीजको व्रत बस्ने नेपाली चलन छ ।
धार्मिक महत्व
तीज हिन्दु धर्मावलम्बीहरूको एक महत्वपूर्ण पर्व हो । यो पर्व भाद्रशुक्ल पक्ष तृतीयाका दिनमा पर्दछ । भाद्रशुक्ल तृतीयाका दिनमा हस्त नक्षत्र र सोमवार परेमा तीजको महत्व बढ्छ । यी तीन चीजबाट जन्मिएको हुनाले त्रीज भन्ने संस्कृत शब्दबाट तीज शब्दको प्रयोग भएको देखिन्छ । तीजको धार्मिक र ऐतिहासिक पक्षमा विचार गर्दा शिवगौरी संवादसम्म पुग्नुपर्ने हुन्छ । थोरै परिश्रमले ज्यादा फल मिल्ने व्रत उपवासको बारेमा उठेको पार्वतीको जिज्ञासामा शिवजीले हरितालिकाको व्रत विधान बताएका थिए । जसमा माथि भनिए अनुसारका तीनै चीजको संयोग भएको समयमा उपवास गरी उपासना र आराधना गर्नाले सम्पूर्ण किसिमका पापराशिहरूबाट मुक्ति पाउने कुराको उल्लेख पाइन्छ । त्यस्तो समयको व्रतलाई उत्तम कोटिको व्रत मानिन्छ । त्यस्तो संयोग यदाकदा मात्र सम्भव हुन्छ ।
भाद्रमासे सिते पक्षे तृतीया हस्तसोमयुक् ।
तदनुष्ठानमात्रेण सर्वपापैः प्रमुच्यते ।।
    शिवजीलाई नै पति रूपमा प्राप्त गर्ने पार्वतीको चाहना र तपस्या विरुद्ध हिमालय पर्वतले विष्णुलाई विवाह गरिदिने कुराको विद्रोह गर्दै पार्वतीका संगीसाथीहरूले जङ्गलमा लगेर लुकाएर राखेको हुनाले यसलाई हरितालिका भनिएको हो । संस्कृतमा आलि भनेको साथी हो र आलिभिर्ह्रिरता साथिहरूद्वारा हरण गरिएकी भनेर हरितालिका नाम रहन गएको हो । यसको नामको सम्बन्धमा शिवजीले पार्वतीलाई यसरी बताएका छन् ः
नामस्य व्रतराजस्य श्रृणु देवि यथाभवम् ।
आलिभिह्ररिता यस्मात्तस्मात्सा हरितालिका ।।
    तीजको इतिहास पार्वती र शिवसँग जोडिने हुनाले अनादिकालदेखि नै यस पर्वको अस्तित्व रहेको बुझिन्छ । विशेष गरी यो पर्वले व्रत–उपवास र उपासना–आराधनाको माध्यमबाट धार्मिक तथा सांस्कृतिक पक्षको पोषण गर्दै महिला जातिको अस्तित्वलाई शिखरमा लैजाने प्रयास गरेको कुरा बुझ्न सकिन्छ ।
    हरेक वर्ष भाद्र शुक्ल तृतीयाका दिन मनाइने यो पर्वमा अघिल्लो रात अर्थात् द्वितीयाका दिन दर खाइन्छ । तीजका दिन व्रत बसिन्छ । चौथीका दिन स्नान गरी व्रतको पारण गरेर खाना खाइन्छ भने तीजको तेस्रो दिन अर्थात् ऋषिपञ्चमीका दिन व्रतालु महिलाहरूले ३६५ वटा दतिवनले दाँत माझेर माटो लेपन गरी स्नान गर्छन् ।
    अपमार्ग लेपनले छालामा हुने एलर्जी हटाउँछ । पञ्चमीका दिन अरुन्धतीसहित कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि तथा वशिष्ठ ऋषिको पूजा गरी हलोले नजोतेको अन्नको भात र एक सुइरे भएर उम्रने कर्कलो आदिको तरकारी वा एकदलीय अन्न मात्र खाइन्छ । यो दिन श्रीमान्ले पकाएको भोजन खाए आपसी आत्मीयता एवं सद्भाव बढ्ने विश्वास छ । तीजमा प्रयोग हुने गहना र पहिरनको पनि आफ्नै महत्व छ । धार्मिक संस्कारयुक्त तीज सर्वमान्य हुन्छ । तीजका दिन महिलाले लगाउने रातो साडी सुख, समृद्धि एवं साहसको प्रतीक मानिन्छ । रातो रंगले महिलालाई एक किसिमको शक्ति प्रदान गर्ने धार्मिक विश्वास छ । पोतेले शान्ति र आनन्द प्रदान गर्छ भने रातो टीका सौभाग्यको प्रतीक हो । हृदय स्वच्छ भए मनोकांक्षा पूर्णहुने धार्मिक विश्वास तीजको व्रतमा अन्तरनिहित छ ।
    तीजमा महिलाहरूले निर्जल, निराहार उपवास बस्नुपर्ने धार्मिक मान्यता छ । एक प्रकारले हेर्दा यसले महिलालाई पुरुषको अन्धभक्त बनाउन खोजेजस्तै देखिन्छ । पुरुषभक्त हुन गरिने व्रत तीजमा महिलाले गरेको धार्मिक विधिले श्रीमानको दीर्घायु, सुस्वास्थ्य, प्रगति हुने मान्यता छ ।
सामाजिक महत्व
नेपाल कृषिप्रधान मुलुक हो । तीज बालीनाली रोपिसकेपछि केही फुर्सदको समयमा मनाइने पर्व हो । आपसी प्रेम बढाउने यो पर्वले महिलाहरूको दुखेसो पोख्ने वातावरण सिर्जना गरिदिन्छ । बालीनाली लगाइसकेपछि केही फुर्सदको समयमा माइतीबाट बाबु वा दाजुभाइ गएर छोरीचेलीलाई भेट्ने र सकेसम्म माइती लिएर र्फकने प्रचलन छ जसले माइती चेलीको आपसी सम्बन्धलाई मजबुत बनाउँछ । विवाह भएर टाढा पुगेका दिदीबहिनीबीच भेट गराएर यो पर्वले उनीहरूको मन हलुका पार्न र सुख–दुःखका कुराकानी गर्ने अवसर जुटाइदिन्छ ।
    केही वर्षयतादेखि व्रतको अघिल्लो दिन खाइने दरको स्वरूपमा परिवर्तन हुँदै गएको छ । कतिपय मध्यम वर्गीय घरमा सामाजिक संस्कार फेरिएका छन् । विवाह भएको पहिलो वर्ष छोरीको घरमा दर पठाउनुपर्ने चलन बढ्न थालेको छ । यसले माइती पक्षलाई छोरीका निम्ति थप आर्थिक भार बेहोर्न‘पर्ने बाध्यता सिर्जना गरिदिएको छ । दर पठाउने क्रममा माइतीबाट छोरीको घरमा सम्धिनीलाई मात्र नभएर जेठानी, नन्द, आमाजूसमेतलाई गरगहना, पहिरन, जुत्ता, शृंगार सामग्री आदिका साथै ११ किसिमका परिकार पठाउनुपर्ने चलनको थालनी भएको छ ।
    यसका साथै महिनौं अघिदेखि दर खाने–खुवाउने नाममा हुने तडकभडकले पनि यो पर्वको पवित्रता एवम् मूल मर्ममाथि प्रहार भएको देखिन्छ ।  हुनेखाने वर्ग त यस्तो चलनमा रमाउलान्, हुँदा खाने वर्गले पनि देखासिकी गर्न खोज्दा समस्या जटिल हुनसक्छ ।  यसले समाजमा वर्गीय विभेदको नयाँ समस्या जन्माउन सक्ने कुरा प्रति पनि नजरअन्दाज गर्न सकिँदैन । यो चलनको दुष्प्रभावस्वरूप धेरै बुहारी भएको घरमा कसले कति ल्याउने भन्ने अनावश्यक टिप्पणी हुने गर्छ । कम ल्याउने बुहारीलाई होच्याउने, अपमान गर्ने र बढी ल्याउने बुहारीलाई बढी सम्मान दिने गलत र अनावश्यक प्रतिस्पर्धाले हाम्रो सामाजिक सद्भाव र मेलमिलापमै असर पार्न सक्छ । यस्ता व्यवहारले तीजको वास्तविक उद्देश्यलाई ओझेलमा पारेको छ ।
यस्ता गलत प्रवृत्ति हटाउने हो भने तीजको सामाजिक महत्व अत्यन्त ठूलो छ ।
सांस्कृतिक महत्व
मानिस जति आधुनिक भए पनि उसले जन्मसँगै पाएको संस्कार एवं संस्कृति छोड्न सक्दैन । नेपालमा रहेका हिन्दू समुदायले मनाउने तीज पर्वलाई अहिले अन्य जातिले पनि मनाउन थालेको पाइन्छ । तीजलाई महिलाको रमाइलो पर्वका रूपमा समेत लिइने भएकाले युवतीहरू पनि यसमा रमाउँछन् । कामबाट केही समय अवकाश लिँदै परिवार, साथीभाइ जमघट, घुमघाम, नाचगान यो पर्वको अर्काे विशेषता बन्दैछ । तीजमा गीत–संगीतको विशेष महत्व रहन्छ । महिलाहरू विद्युतीय उपकरण र साधन नहुँदा समूहमा भेला भई गीत गाउँथे भने अहिले रेडियो र टेलिभिजनमा आधुनिक शैलीका गीत र नृत्य गुञ्जिन थालेका छन् । तीजका गीतमा छोराछोरीबीचको विभेद, पीडा, सासूबुहारीको कचकच, दुःख, ईष्र्या आदि विषय समावेश हुन्थे तर अहिले तीज गीतका विषय पनि परिवर्तन भएका छन् । सांस्कृतिक मान्यतास्वरूप महिलाहरू गीत गाउँदै नजिकैको मन्दिर वा समूहमा भेला भएर विभिन्न भाकामा तीजका लय गुञ्जाउँछन् ।
    चुल्हो–चौको एवं घरधन्दाको व्यस्ततामै अल्झिएका अधिकांश महिला तीजमा मन खोलेर आफ्नो व्यथा पोख्छन् । अहिले सबै नेपाली नारीको घरमा यस्तो अवस्था छैन । टोलटोलमा समूह बनाएर एक महिनाअघिदेखि नाचगान र खानपिनका कार्यक्रम संचालन गरिन्छन् । कतिपय संघसंस्थाले तीज प्रतियोगिता पनि आयोजना गर्छन् । यसले तीजको खास अर्थ र महत्वलाई मारेको मात्र छैन, संस्कार र संस्कृतियुक्त तीजलाई भड्किलो र उत्ताउलो बनाउँदै लगेको छ । यद्यपि तीजको संस्कृति अन्य जात वा समुदायका महिलामा पनि प्रवेश गर्न‘ राम्रो कुरा हो । तीजलाई हामीले परम्परागत मान्यता र विधि नमर्ने गरी परिस्कृत गर्दै लानुपर्छ । शिक्षित र सभ्य समाजमा हुर्किएका आधुनिक महिलाले अन्धविश्वास चिर्दै तीजलाई उल्लासमय एवं संस्कारयुक्त बनाउन पहल गर्नुपर्छ । तीजलाई आधुनिकीकरण गर्ने नाममा भड्किलो र असभ्य बनाउनु हुँदैन ।
    आफूलाई आधुनिक र सहरिया मान्ने महिलाहरू होटलमा भेला भएर पार्टी आयोजित गर्छन् र लठ्ठनिे गरी मदिरामा डुब्छन् । तीजका नाममा भित्रिएको यो सबैभन्दा दुर्गन्धित पक्ष हो । इज्जत र सभ्यता अनि सुन्दर देखिन नभई अरूको देखासिकी र प्रतिस्पर्धाका लागि गहना लगाउने चलन पनि भित्रिएको छ । त्यसले आर्थिक भार पनि बढिरहेको हुन्छ । यस्तो व्यवहारले मौलिक संस्कृतिलाई पनि ओझेलमा पार्छ । यो पर्वको सांस्कृतिक महत्वको जगेर्ना गर्न विकृतिहरू हटाउँदै जानु आवश्यक छ ।
पारम्परिक महत्व
हिमालयपुत्री पार्वतीबाट  सुरु भएको मानिने तीजको परम्परा निकै पुरानो छ । हरितालिका तीजको व्रत बस्दा अविवाहितले चिताएको वर पाइने, विवाहितले आफ्ना पतिको दीर्घायु तथा सुस्वास्थ्य प्राप्त गर्ने परम्परागत मान्यता छ । त्यस्तै हरितालिका तीजको व्रत सकिएपछि मनाइने पञ्चमीको परम्परागत महत्व भने फरक छ । चाहे विवाहित हुन् वा अविवाहित सम्पूर्ण नारीले यो दिनलाई आफ्ना लागि मनाउँछन् । पञ्चमीमा टोकिने ३ सय ६५ वटा दतिवनका डाँठले वर्षभरि जान–अञ्जानमा भए–गरेका कायिक, वाचिक एवं मानसिक गल्तीबाट मुक्ति पाइन्छ भन्ने भनाइ छ ।
    यो दिनलाई महिलाको रजस्वलासँग प्रत्यक्ष जोडेर हेर्ने परम्परा छ । युवतीहरू प्रथम रजस्वलापछि मात्र पञ्चमी पूजामा सरिक हुन्छन् भने विवाहित प्रौढ एवं महिलाहरू रजस्वलाका बखत छुन नहुने चीज वा देवीदेवतालाई भूलवश छोइएको भए पनि दतिवन टोकेपछि सम्पूर्ण पाप पखालिने कुरामा विश्वास गर्छन् । तीज पर्वको परम्परागत महत्व सम्बन्धसँग जोडिएर आएको छ । सम्बन्ध सुधार गर्ने, यसलाई अझ प्रगाढ बनाउने तथा सम्बन्धमा भएका मनमुटावलाई प्रेममा बदल्ने पर्व हो तीज । अहिले पनि  यसको आस्था र महत्व उत्तिकै छ । अडिलो चाम्रे, अनदीको लट्टे, तिलको छोप हालिएको करेलाको अचार आदि परिकारको स्वादसँगै पुराना भाका र शैलीका गीत गाउने, पानी नपिई व्रत बस्ने, पञ्चमीको पूजापछि कर्कलो खानेजस्ता परम्परागत संस्कार हाम्रो छ । पहिलो पुस्तासँगको संगतबाट संस्कार सिकिन्छ त्यति अरूले गरेको देखेर प्राप्त हुँदैन ।
निष्कर्ष
पहिले नेपाली महिलाहरू आत्मनिर्भर तथा स्वावलम्बी नभएका हुँदा एकदिन भए पनि मीठो–मसिनो ख्वाउन माइती पक्षकाहरू लामो समयदेखि दरको जोहोमा जुट्थे भने चेलीबेटीहरू पनि महिनौं अगाडिदेखि पर्खेर बस्थे । त्यही दिनलाई उनीहरू आफ्नो बह पोख्ने र स्वतन्त्र रूपले  रमाउने दिनका रूपमा उपभोग गर्थे । सासूले खटाउने संस्कारबाट आएका नेपाली महिलाले एकै दिन भए पनि राम्रो लाउने, मीठो खाने, स्वतन्त्र हुने अनि मनका गथासो खोल्दै धक फुकाएर नाचगान गर्ने मौका पाउने भएकाले यो पर्व नेपाली महिलाको आत्मीय पर्व हो जसको पर्खाइमा उनीहरू व्यग्र हुन्थे । यद्यपि आजको पुस्ताले देख्ने तीज पहिलेको तुलनामा निकै फरक छ ।  अहिले तीजको धार्मिक पक्षभन्दा पनि अन्य पक्षहरूलाई नै बढी जोड दिएजस्तो देखिन्छ । हिजोआज तीज पर्वका सन्दर्भमा नितान्त भिन्न संस्कृतिको विकास भइरहेको छ । पारिवारिक जमघटमा मात्र नभई सामाजिक राजनैतिक तथा संस्थागत रूपमा समेत आयोजना गरिने तीज कार्यक्रमको समय अवधि प्रतिवर्ष लम्बिंदै छ भने अनावश्यक रूपले खर्चिलो समेत बन्दै गइरहेको छ । तीजको प्रमुख पक्ष गौण बन्दै अन्य पक्षले प्रमुख स्थान पाउँदै गइरहेको देख्दा यो पर्व नै विकृत हुने हो कि भन्ने आशंकाले चिन्तित हुनु स्वाभाविक देखिन्छ । – अनलाइनखबर

२०८० साल असोज १ गतेको सम्पादकीय

बदलिदो तीजको स्वरुप
तीज महिलाहरूद्वारा मनाइने एउटा पर्व हो । आधुनिक समाजमा तीजको महत्वलाई जुनरूपले व्याख्या गरिए पनि यो एक पौराणिक कालदेखि चलिआएको परम्परा हो । सृष्टि र समाज चल्नको लागि पूर्वीय मान्यता अनुसार महिलाहरू विवाह पश्चात् आफ्नो श्रीमानको साथमा उसको घरमा बसी बाँकी जीवन बिताउनु पर्ने हुन्छ । यसरी आफू जन्मेको घर, माता, पिता, भाइबहिनी, इष्टमित्र र समाज छोडी पराइघरमा जीवन विताउँदा आउने माइतीको यादलाई कमी गर्ने एउटा अवसरको रूपमा तीज पर्वको गहन महत्व रहेको छ । तीजमा महिलाहरूलाई मीठा मीठा भोजनका परिकारहरू खुवाइन्छ, नयाँ लुगा कपडा दिइन्छ । महिलाहरूलाई पराइघरको विभिन्न जिम्मेवारी, तनाव, साथै माइतीको सम्झनाको खाडललाई कम गर्न यो पर्वको ठूलो भूमिका रहेको छ । यो चाडमा माइतीले (बाबु आमा, दाजुभाइ) छोरी÷चेली लाई घरमा गई लिएर आउने वा बोलाएर मीठा–मीठा परिकार खुवाउने तथा मनका भावना एवम् सुखदुख साटासाट गरी एउटै ठाउँमा खाने–बस्ने चलन छ । यस दिन विशेष महत्वकासाथ दर खाने गरिन्छ । यहि दर खाने दिन बाट नै तिज पर्वको आरम्भ भएको मानिन्छ । दरमा ठाउँ अनुसार विभिन्न मिठा–मिठा परिकार साथै खीर, ढकने, सेलरोटी, केरा लगायतका खाना, फलफुल खाने गरिन्छ ।आधुनिकता सँगसँगै यसमा खाइने परिकारमा परिवर्तन आउँदै गएको छ । सामान्यतया दर मध्यरात १२ बजेअघि खाने चलन बसिसकेको छ । भोलिपल्ट दिनभर पानी सम्म पनि नखाई बस्नुपर्ने भएकोले दर खाने दिन राती ढीलासम्म बसेर पेटभरी खाने प्रचलन बसेको हो । यो चाड भाद्र शुक्ल द्वीतिया देखि पञ्चमी सम्म ४ दिन मनाइन्छ । तीजमा भगवान शिवको आराधना गरिनुका साथै नाचगान मनोरञ्जन समेत गर्ने गरिन्छ । नेपाली हिन्दू महिलाहरूद्वारा स्वतन्त्र र आनन्दमय रूपमा मनाइने तीज अन्य धर्म र जातजातिका नेपाली महिलाहरूले पनि हर्षोल्लासका साथ मनाउन थालेका छन् । तीजमा विवाहिता महिलाहरू आफ्ना पतिको दीर्घायुको कामना गर्दै व्रत बसी नाचगान र मनोरञ्जन गर्छन् भने अविवाहिता सुयोग्य वरको आशा राखी व्रत बस्छन् । ब्रतको समयमा महिलाहरूले तीजको ब्रतकथा सुन्ने र समापनमा पूजा लगाई ब्राह्मणब्राह्मणीहरूलाई दान दक्षिणा गर्ने चलन रहेको छ । तीजको व्रत अन्य व्रत भन्दा फरक ढंगले लिइन्छ । यस दिन पानीसम्म पनि नखाई ब्रत बस्नुपर्ने परम्परागत मान्यता रहेको भएपनि कतिपय महिलाहरू महादेवको पुजा आराधना पश्चात फलफुल ग्रहण गर्दछन्।यो दिन महिलाहरू विहान चाँडै उठी नुहाई धुवाई गरेर दिनभरी जल, अन्न ग्रहण नगरी ब्रत बस्ने गदैछन । बेलुकी पख घर गाउँ र छिमेकका महिलाहरू भेला भई पूजाका सामान तथा मण्डप तयार गरी भगवान शिवको आराधना गर्ने प्रचलन रहेको छ । निर्जला ब्रत भनिएपनि आजभोली महिलाहरू मध्यान्हमै पुजा आराधना पश्चात फलफूल ग्रहण गर्ने गर्दछन । कतिपय महिलाहरू नजीक रहेको शिवमन्दिरमा गई शिव आराधनाका साथै नाच गान तथा रमाईलो गर्ने गर्दछन् ।
    पूर्विय वैदिक सनातन धर्म परम्पराका बिभिन्न पौराणिक एबं आध्यात्मिक ग्रन्थहरूमा, खासगरि स्कन्द पुराण र भविष्योत्तर पुराणमा बर्णन भए बमोजिम राजा हिमालयले आफ्नी पुत्री गौरीको बिबाह भगवान बिष्णुसंग गरिदिने निधो गरे पश्चात साथीहरूले हरेर (सखीहरूको सहयोगमा) बिकट स्थानमा पुर्याए र त्यही गौरी (पार्वती)ले कठोर तपस्या गरिन र उनको तपस्याबाट महादेव प्रशन्न भएर भाद्र महिनाको शुक्ल पक्षको तृतीया तिथी हस्ता नक्षत्रका दिन स्वयं प्रकट भई गौरीको तपस्या स्वीकार्दै आशिर्वाद दिएर तपस्या सफल तुल्याईदिएकाले हरेक वर्ष भाद्र महिनाको शुक्ल पक्षको तृतीयाका दिन तीज पर्व मनाउंदै आएको पाईन्छ ।सखीहरू (आलीका)बाट हरेर तपस्या गराई सफल भएकोले तीज पर्वलाई हरितालिका तीज पनि भनिन्छ । सोही तिथीदेखि हिन्दू नारीहरूले यस दिनलाई उत्सवका रूपमा मनाउन थाले र यो तीजको रूपमा मनाउने चलन पौराणिक कालदेखि चल्दै आएको मानिन्छ ।  यसै दिन पार्वतीले आफ्नो तपस्या पूरा गरी शिवजी पाएको विश्वास गरिने हुनाले यस दिनलाई हर्षोल्लासका साथ नाचगान गरी मनाइने गरिन्छ ।
    तीज पर्व सामान्य हर्षोल्लासका निमित्त मनाउने चाड मात्र नभएर यसको आफ्नै सामाजिक, सांस्कृतिक, आध्यात्मिक एवं तात्विक महत्व रहेको छ।त्यसो त हाम्रा अधिक चाडहरू यिनै महत्वले ओतप्रोत छन् । सामाजिक सद्भाव,मेलमिलाप एवं समाजका विवीध बिसंगति र सामाजिक अधिकारलाई उजागर गर्ने पर्बको रूपमा हजारौं हजार वर्ष देखि यो चाड मनाईदै आएको छ । स्वयं माता पार्वतीले पनि नारी जातीको आफ्नो अनुकूलको योग्य वर छान्न पाउने जन्मसिद्ध नैसर्गिक अधिकारलाई ब्यबहारीक रूपमा स्थापित गराउन तपस्या (सत्याग्रह÷शान्ति पूर्ण आन्दोलन) गरेर आफु अनुकूल वर छानि ब्यबहारीक रूपमा समाजमा स्थापित गरेको देखिन्छ । यस अर्थमा हामी माता पार्वतीलाई नारी जातीको अधिकार र स्वतन्त्रताको बिगुल फुक्ने पहिलो महिला अभियन्ताको रूपमा लिन सक्छौं । यो चाडले साँस्कृतिक रितिरीवाज परम्परा एवं गीत संगीत अनि भेषभुषालाई संरक्षण र संबर्द्धन गर्दै आएको छ।हालका दिनहरूमा संसारभर छरिएर रहेका नेपालीहरू मार्फत तीजको माध्यमबाट साँस्कृतिक पहिचान गराउने काम भईरहेको छ ।
    समय परिबर्तनशील र गतीशील छ । समयको परिबर्तनशीलता र गतीशीलता संगसंगै मानव समाज र सभ्यताहरूको परिबर्तन हुंदै आएका छन् । समयको गतीसंगै भएका सकारात्मक एवं श्रृजनशील परिबर्तनहरूले समाज र सभ्यताहरूलाई वैभवता प्रदान गर्दै बिकासको उचाईमा पुर्याएका छन् । समयको बदलिदो प्रबाह संगसंगै नकारात्मक र अश्रृजनशील परिबर्तनहरूले समाज र सभ्यताहरूलाई बदनाम गर्दै बिनाशको बिन्दूसम्म पुर्याएका छन् । तीज पर्ब पनि समयको परिबर्तित चक्र संगसंगै परिबर्तन हुदै आएको छ र समय अनुकूल मूलभूत यथार्थ, मूल्य र मान्यतामा आँच नआउने गरि परिबर्तन हुन आवश्यक छ । तर बिगत केही वर्षहरू देखि आधुनिकताको तीजलाई बिकृति, बिसंगति र यौन स्वच्छन्दताको शिकार बनाईदै छ । जीवन्त समाज र बैभवशाली सभ्यताका बिनाशका कारक बन्न सक्ने यस्ता गलत कृयाकलापहरू रोक्न आवश्यक देखिन्छ ।

२०८० साल असोज १ गते । वर्ष:१७ अंक:०१