Monday, September 25, 2023

त्रिदेशिय मार्ग निर्माण अलपत्र

अझै निर्माण हुन नसकेको रसुवा खण्डको सडक

विदुर । राष्ट्रिय गौरवको गल्छी–त्रिशूली–स्याफ्रुबेँसी–रसुवागढी सडक योजनाको निर्माणकार्य अहिले अलपत्र परेको छ । निर्माणाधीन यो योजनाले सडक निर्माणलाई तीन खण्डमा विभाजन गरेर स्तरोन्नतिको काम आव ०७२/७३ बाट सुरु भएर ०७७/७८ मा निर्माण सम्पन्न गर्ने कार्यतालिका थियो ।
    निर्माण काम सम्पन्न भइसक्नुपर्ने समयमा योजनाको भौतिक प्रगति बल्ल ५० प्रतिशत नाघेको छ । निर्माण सुरु भएको आठ वर्षमा योजनाको वित्तीय र भौतिक प्रगति ५५.६४ प्रतिशत पुगेको विवरण कार्यालयले सार्वजनिक गरेको छ । निर्माण काम सुरु भएदेखि नै ठेकेदारलाई काम गर्ने सहज वातावरण नै बनेन । भूकम्प, भारतीय नाकाबन्दी, कोरोना सङ्क्रमण, मुआब्जा विवाद, कार्यालय प्रमुख फेरिरहनेदेखि (साइट क्लियर) काम गर्ने क्षेत्र खाली नहुने, स्थानीयको अवरोधको साथै जनप्रतिनिधि र स्थानीय प्रशासनको सहयोग नहुँदा निर्माणकार्यले गति लिन सकेन । पाँच वर्षमा सक्नुपर्ने योजनाको काम आठ वर्षमा बल्ल–बल्ल ५५.६४ प्रतिशत वित्तीय र भौतिक प्रगति भएको जानकारी योजना प्रमुख ध्रुवकुमार श्रेष्ठले दिए ।
    सडक योजनाको कुल लम्बाइ ८२ किलोमिटरमध्ये नेपाल सरकारबाट निर्माण हुने ६५ किलोमिटर (दुई खण्डमा विभाजित गरी) र चिन सरकारबाट निर्माण गर्ने १७ किलोमिटर रहेको छ । पहिलो खण्ड गल्छी–त्रिशूली–मैलुङ ४६ किलोमिटर, दोस्रो खण्ड मैलुङ–स्याफ्रुबेँसी १९ किलोमिटर र चीन सरकारबाट बनाउने स्याफ्रुबेँसी–रसुवागढी १७ किलोमिटर खण्ड रहेको छ । तीन खण्डमध्ये गल्छी–मैलुङमा ८१ प्रतिशत भौतिक प्रगति भएको छ भने दोस्रो खण्ड मैलुङ–स्याफ्रुबेँसीको निर्माणकार्य छाडेर निर्माण व्यवसायी सम्पर्कविहीन भएको कारण रोकिएको छ । उक्त रोकिएको निर्माणकार्य अगाडि बढाउने पटक–पटक निर्देशन दिइएको भए पनि निर्माण व्यवसायीका प्रतिनिधि सम्पर्कमा आउने काम नथालेकाले कारबाहीको प्रक्रियासमेत सुरु गरेको योजना प्रमुख श्रेष्ठले बताए ।
    योजनाको तेस्रो खण्ड चीन सरकारले बनाउने स्याफ्रुबेँसी–रसुवागढीको निर्माण सुरुसमेत हुन सकेको छैन । साइड क्लियरेन्स नेपाल सरकारबाट हुनुपर्ने उक्त खण्डमा स्याफ्रुबेँसी र टिमुरे बजारमा हालसम्म पनि जग्गाको मुआब्जा निर्धारण हुन नसकेको, विद्युत्को पोल केही स्थानमा भौगोलिक कठिनाइले स्थानान्तरण नहुँदा निर्माणको कार्य सुरुसमेत भएको छैन ।
    गल्छी–त्रिशूली–मैलुङ सडकखण्डको पिपलटारचोकमा रहेको शिवप्रसाद गजुरेलले सडक निर्माणमा अवरोध गर्दै उच्च अदालतमा दिएको मुद्दाको फैसला भई कार्यान्वयनमा जान नसकेको, यो खण्डको पिपलटार–ढुङ्गे मुद्दामा अदालतबाट परमादेश जारी भए पनि घर, टहरा हटाउन स्थानीय प्रशासन, विदुर नगरपालिकाले समन्वय नगर्दा ८ किलोमिटर सडकमा काम सुरु भएको छैन । बेत्रावती पुलदेखि बेत्रावती वाई–जङसनसम्म सर्वोच्च अदालतमा मुद्दा विचारधीन रहेकाले तीन सय मिटर सडक निर्माणको काम रोकिएको छ । उक्त क्षेत्रमा जग्गा प्रगतिदेखि निर्माणकार्य पूर्ण रूपमा सुरु हुन सकेको छैन । यसै गल्छी–मैलुङखण्डको एक किलोमिटर शान्तिबजार क्षेत्रमा स्थानीयले मुआब्जा र घर, टहराको क्षतिपूर्ति पनि नबुझ्ने र निर्माणकार्य पनि गर्न नदिएर तीन वर्षदेखि निर्माण रोकिएको छ ।
यसमा पनि स्थानीय प्रशासन र स्थानीय तहले समन्वय र सहयोग नगर्दा निर्माणकार्य अलपत्र परेको छ ।
    तत्कालीन अघोषित भारतीय नाकाबन्दीसँगै नेपाल र चीनबीच रसुवागढी–केरुङबाट हुने आर्थिक तथा व्यापारिक कारोबारलाई छिटो–छरितो र सहज तुल्याउने उद्देश्यले योजनाको पहिलो चरणअन्तर्गत गल्छी–त्रिशूली–मैलुङ सडक ०७३ साल कात्तिक ७ गतेबाट निर्माण थालिएको थियो । पारित समय र तालिकाभन्दा निक्कै ढिलो गरी निर्माण भइरहेको गल्छी–त्रिशूली–मैलुङको ४६ किलोमिटरमध्ये विभिन्न आरोह–अवरोहका बाबजुद पनि आ.व. ०७९/८० को असार मसान्तसम्म ३६ किलोमिटर सडक अन्तर्राष्ट्रिय मापदण्डबमोजिम कालोपत्रे भइसकेको छ ।
    सामुदायिक वनको रूख कटान तथा स्थानीय मुआब्जा विवादलगायतका समस्याका कारण निर्धारित समय र तालिकाभन्दा निक्कै ढिलो निर्माण भइरहेको योजनाको हाल निर्मित्त संरचना तथा कालोपत्रेसँगै उक्त क्षेत्रको सौन्दर्य मनोरम देखिएको छ ।
 गल्छी–त्रिशूली–मैलुङअन्तर्गत धादिङको गल्छीदेखि रसुवा र नुवाकोट सीमा बेत्रावतीसम्मका विभिन्न क्षेत्रमा डबल लेनको चौडा सडक हाल विश्वमा प्रचलित आसफाल्ट प्रविधिमा कालोपत्रे हुनेछ । जसका कारण विगतमा धुँवा, धुलोले आजित सर्वसाधाण अहिले आफ्नो घर–आँगनसंगै अन्तर्राष्ट्रियस्तरको डबल लियरसहितको फराकिलो र चौडा सडक निर्माणसँगै अहिले धुँवा, धुलोबाट राहत मिलेको बताएका छन् । निर्माण कार्यतालिकाअनुसार २१ महिना अर्थात् ०७५ भदौ ७ गते निर्माण सम्पन्न गर्ने गरी ०७३ साल कात्तिक अन्तिमबाट निर्माण थालेको यो सडक योजनाको पहिलो खण्ड तीन अर्ब ६३ लागतमा निर्माण भइरहेको छ ।
    गल्छी–त्रिशूली–मैलुङ खण्डको ४६ किलोमिटर सडक निर्माण कम्पनी कोबेक–तुन्दी र रसुवा ज्वाइन्ट भेञ्चरमा निर्माण भइरहेको हो ।
    यो सडक खण्डको निर्माणकार्य ८१ प्रतिशत सम्पन्न भएको छ । यसै खण्डमा निर्माण हुन बाँकी रहेको स्थानका लागि टेवा पर्खालको परिणाम पर्याप्त नभएकाले निर्माण व्यवसायीले पेस गरेको भिओभी (भेरिएसन आदेश)को चरणमा रहेको जानकारी योजना प्रमुख श्रेष्ठले दिए । गल्छी–त्रिशूली–मैलुङ खण्डको मैलुङ र सिम्लेमा मात्र सबबेसको काम भइरहेको छ ।
    यो खण्डको ठेकेदारले काम गर्ने ठाउँ योजना कार्यालयले खाली नगरिदिएको, समन्वय र सहयोग नगरेको आरोप लगाएको छ । योजना प्रमुखदेखि कार्यालयमा रहेका कर्मचारी सरुवाका लागि खुट्टा उचालिरहेको हुनाले कार्यालय साउन महिना लागेदेखि नै सुनसान छ ।
    सर्वोच्च अदालतबाट परमादेश जारी भएर गल्छी–त्रिशूली–मैलुङ सडकखण्डको पिपलटारदेखि ढुङ्गेसम्म घर, टहरा हटाउन र सडक सीमाङ्कन गर्न गएको प्राविधिक टोलीलाई स्थानीयले लखेटेपछि यस क्षेत्रमा सडक विस्तारको काम अन्योल भएको छ । सदरमुकाम र मुख्य बजार क्षेत्र रहेको पिपलटार–ढुङ्गे क्षेत्रमा अदालतको आदेश अनुसार कार्यस्थल खाली गराउन स्थानीय जनप्रतिनिधिले सहयोगभन्दा पनि विवाद सिर्जना गर्न लागेको कारण सडक विस्तारले गति लिन नसकेको नागरिकहरू बताउछन् । यसै सडकखण्डको फलाखु खोलाको बेत्रावती पुल निर्माण सम्पन्न भएको दुई वर्ष भइसक्दा पनि स्थानीयको अवरोधको कारण सञ्चालन गर्न भएको छैन ।

१७५औं सम्झौता पनि कार्यान्वयन भएन

ककनी । बञ्चरेडाँडा ल्याण्डफिल साइट वरपरका बासिन्दाले सहमति अनुसार फोहोर व्यवस्थापन नगरेको भन्दै फोहोर फाल्न नदिने चेतावनी दिएका छन् ।
    बञ्चरेडाँडा ल्याण्डफिल साइट प्रभावित क्षेत्र सरोकार समितिले गएको सोमबार पत्रकार सम्मेलन गरी यसअघि भएका सहमति पालना नभए फोहोर फाल्न नदिने चेतावनी दिएका छन् । समितिका संयोजक श्रीराम ढुंगानाका अनुशार ल्याण्डफिल साइट प्रभावित क्षेत्रलाई विशेष सम्वेदनशील क्षेत्र घोषणा गर्नुपर्ने, प्रभावित क्षेत्रलाई अधिग्रहण गरेर मानव बस्तीरहित हरियाली क्षेत्र कायम गर्न‘पर्ने, अस्पतालजन्य, विषादीजन्य र औद्योगिक फोहोरमैला फाल्न नपाइने मागहरू पुरा गर्ने सहमति भएको थियो ।
    उपत्यकाको फोहोर नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनिवेशी नगरपालिकाको सिमानामा पर्ने बञ्चरेडाँडामा फाल्ने गरिएको छ । स्थानीय बासिन्दाले बेला बेलामा आन्दोलन गरेपनि अस्थायी समाधान खोजेर फोहोर फाल्ने गरिएको छ । ककनी गाउँपालिका अध्यक्ष सुमन तामाङले प्रभावित क्षेत्रका बासिन्दाले स्वतःस्फुर्त आन्दोलनको तयारी गरेको बताए । ल्याण्डफिल साइटको धादिङको धुनीबेशी नगरपालिका र नुवाकोटको ककनी गाउँपालिकाले आधिकारिक रुपमा रोक्ने निर्णय नगरेको भएपनि स्थानीयहरू मग पुरा नभएमा फोहोर रोक्ने तयारीमा रहेको उनको भनाई रहेको छ ।
    ल्याण्डफिल साइट क्षेत्रका बासिन्दाले फोहोर फाल्न नदिएर आन्दोलन गरेपछि १ भदौ २०७९ मा शहरी विकास मन्त्रालय र काठमाडौं महानगरपालिकाले स्थानीय बासिन्दासँग ४ बुँदे सहमति गरेका थिए । स्थानीय बासिन्दाका अनुसार उक्त सहमति १७५ औं हो ।
    प्रभावित क्षेत्रमा १० बेडको अस्पताल सञ्चालन गर्न पहल गर्ने, धुनिवेंशी नगरपालिका वडा नं. १, ३ र ४ तथा ककनी गाउँपालिकाको १,२ र ३ नम्बर वडाका स्थायी बासिन्दाको स्वास्थ्य बीमा गर्न एक हप्ताभित्रै काम सुरु गर्ने, विकास अनुदान रकम बढाउनुपर्ने, १० दिनभित्र ल्यान्डफिल साइटको दुर्गन्ध हटाउने गरी रसायन छर्ने प्रतिवद्धता शहरी विकास मन्त्रालयले गरेको थियो ।
स्रोतमै फोहोर छुट्याएर मात्रै ल्यान्डफिल साइटमा लैजाने, ६ महिनाभित्र सिसडोलको डम्पिङसाइटमा पोस्ट क्लोजर प्रक्रिया सुरु गर्ने पनि सहमति भएको थियो ।
    ककनी गाउँपालिकाका अध्यक्ष सुमन तामाङका अनुसार यो सम्झौता पनि कार्यान्वयन हुन सकेन । उपत्यकाको फोहोर पहिलो पटक २०६२ जेठमा सिसडोलमा फाल्न थालिएको थियो ।
    बञ्चरेडाँडामा ब्यवस्थित ल्याण्डफिल साइट नबनुन्जेल सम्म ३ वर्षका लागि सिसडोलमा फोहोर फाल्ने भनिए पनि लगातार १७ वर्ष फालिएको थियो । त्यसपछि गत वैशाखदेखि सिसडोलदेखि केही पर बञ्चरेडाँडामा फाल्न थालिएको थियो ।

तस्बिर समाचार

संविधान दिवस–२०८० को अवसरमा नुवाकोटमा आयोजित प्रभात फेरी


नुवाकोटको पृथ्वी मावि बागमतीमा उत्कृष्ट

विदुर । विदुरमा रहेको पृथ्वी मावि बागमती प्रदेशकै दोस्रो उत्कृष्ट विद्यालय बनेको छ । एसइइको औसत नतिजामा ३.३४७ जिपए प्राप्त गर्दै पृथ्वी प्रदेशकै दोस्रो उत्कृष्ट विद्यालय घोषित भएको हो । सामूदायिक विद्यालयहरू शिक्षक र व्यवस्थापन समितिको चरम द्धन्द्धले समस्याग्रस्त हुनेक्रममा बढी रहेको समयमा नुवाकोटको पृथ्वी माविले भने आफूलाई नमुना घोषित गरेको छ ।
    शिक्षा दिवसको अवसरमा मंगलबार पृथ्वी माविले सरकारका तर्फबाट सम्मान प्राप्त गरेको छ । बागमती प्रदेश सामाजिक विकास मन्त्रालयले बागमती प्रदेश भित्रका १३ जिल्लाका झण्डै दुई हजार सामूदायिक विद्यालयहरूको २०७९ को एसइई परीक्षाको नतिजालाई आधार मानेर मूल्याङ्कन गरेको हो । मूल्याङ्कनमा सामूदायिकतर्फ मेधा मावि तेखापुखु भक्तपुर प्रथम, पृथ्वी मावि नुवाकोट द्धितिय, श्रम राष्ट्रिय मावि कुमारीगाल काठमाडौं तृतीय, पृथ्वीनारायण मावि तारकेश्वर काठमाडौँ चौथो र बलम्बु मावि बलम्बु काठमाडौं पाँचौं भएका छन् । उत्कृष्ट पाँचमध्ये उपत्यका बाहिरको पृथ्वी मावि मात्र छ ।
    खुशी प्रकट गर्दै विद्यालयका प्रधानाध्यापक बाबुराम लामिछानेले उपलब्धिलाई अब सिङ्गो नुवाकोटले आफ्नो पुँजी मानेर गर्व गनुपर्ने बताए । प्रअ लामिछानेले आफ्नो समाजिक सञ्जाल फसेबुक मार्फत बधाई दिनेहरूले पनि नुवाकोटलाई बधाई दिनुपर्ने समेत बताएका छन् ।
    उत्कृष्ट पाँचमध्ये उपत्यका बाहिरको पृथ्वी मावि मात्र रहेको छ । २०७९ को एसइई परीक्षाको नतिजामा पृथ्वी मावि बागमती प्रदेशभरिको दोस्रो उत्कृष्ट विद्यालय प्रमाणित भएको छ । सामुदायिकतर्फ मेधा मावि तेखापुखु भक्तपुर प्रथम, पृथ्वी मावि विदुर नुवाकोट द्वितीय, श्रम राष्ट्रिय मावि कुमारीगाल काठमाडौं तृतीय, पृथ्वीनारायण मावि तारकेश्वर काठमाडौँ चौथा र बलम्बु मावि बलम्बु काठमाडौं पाँचौं भएका छन् ।  लामिछाने भन्छन्– ‘पृथ्वी मावि अब नुवाकोटको मात्रै उत्कृष्ट विद्यालय रहेन । यो उपलब्धिलाई सिङ्गो नुवाकोटले आफ्नो पुँजी मानेर गर्व गरौँ । बधाई दिनेहरूले पनि नुवाकोट लाई बधाई दिऊँ ।’
एसइई २०७९ को नतिाजमा पृथ्वी मावि जिल्लाकै प्रथम भएको थियो । उक्त विद्यालयमा अध्ययनरत विद्यार्थीहरूमध्ये कृष्मा श्रेष्ठ र बन्दना पुडासैनीले ३.९५ जिपिए ल्याउन सफल भएका थिए । यस्तै सोही विद्यलायका अन्य विद्यार्थीहरूले पनि उत्कृष्ट नतिजा ल्याउन सफल भएका थिए ।
    संस्थागत विद्यालयतर्फ रिलाइन इन्टरनेशलन एकेडेमी प्रथम, ह्वाइटकिड स्कुल बालुटार द्धितिय र प्लोरोसेन्ट स्कुल गोंगबु तेश्रो बनेका छन् ।

काँग्रेस सभापतिले भने : ‘योजना चाँहिए राधिका तामाङलाई भन्नुस्’

तरुण दलको कार्यक्रममा सहभागी काँग्रेसका नेता तथा कार्यकर्ता

पञ्चकन्या । नेपाली काँंग्रेसको भ्रातृ संगठन तरुण दल नुवाकोट जिल्ला नेता सुरज तामाङले पार्टी नेतृत्व नसच्चिए कांग्रेसको भविष्य नरहने बताएका छन् ।
    पञ्चकन्या गाउँपालिका वडा नम्बर ३ मा तरुण दल कार्यसमिति गठन कार्यक्रममा गएको शनिबार सम्बोधन गर्दै तामाङले काँग्रेसको जिल्ला नेतृत्व र पालिका नेतृत्व जनता र पार्टी कार्यकर्ताको विषयमा गम्भीर नबनेकोमा असन्तुष्टि पोखेका छन् ।
    पञ्चकन्या गाउँपालिका काँग्रेस सचिवसमेत रहेका तामाङले बागमती प्रदेश सांसद एवं जिल्ला सभापति रमेशकुमार महतले आफ्नो जिम्मेवारी र दायित्व भूलेर आफूहरूलाई बेवास्ता गर्ने गरेको उल्लेख गरेका छन् । नेता तामाङले चालु आर्थिक वर्ष २०८०/०८१ को बजेट सार्वजनिक हुनुभन्दा एक हप्ता अगाडि पञ्चकन्या ३ का योजनाहरूबारे जिल्ला सभापति महतलाई जानकारी गराउँदा माओवादीका नेता तथा प्रदेश सांसद राधिका तामाङलाई भन्नु भनेर पन्छिएको भन्दै गुनासो गरे ।
    ‘रमेशकुमार महत प्रदेश सांसद भइसकेपछि बजेट भाषण हुने क्रममा मैले दाइ यो यो ठाउँमा केन्द्रबाट सम्बोधन भएन, तपाईंले यसलाई यसरी सम्बोधन गर्न‘ है भनेको, राधिका तामाङलाई भन्न जाऊ भन्नुभयो’ त्यसपछि त म कुन पार्टीको कार्यकर्ता हुँ भन्ने नै बिर्सिएछ,’ नेता तामाङले भने, ‘हिजो माओवादी थिएँ । न मलाई माओवादी नै सम्झिएछ कि ! मलाई अचम्म लाग्यो । कुरा त्यो होइन । उहाँ हामीले बनाएको जिल्ला पार्टी सभापति हो । हामीले नबनाए पनि जिल्लाको पार्टी सभापति हो । जिल्ला सभापतिको जिम्मेवारी के रहन्छ भने सम्पूर्ण जिल्लावासीको समस्या हेर्न‘पर्ने उहाँको कर्तव्य हो । तर उहाँले त्यो रुपमा हेर्न‘ भएन । यो लाइभ भिडियो रमशेकुमार महतसमक्ष पुग्ने गरी हालिदिन साथीहरूलाई म अनुरोध गर्छु ।’ सभापति महतले पार्टीका नेता, कार्यकर्तालाई बेवास्ता गर्छ भने आफूहरूले पनि बहिष्कार गर्ने चेतावनी उनको थियो ।
    ‘यदि रमेशकुमार महतले विकास निर्माणका कुराहरूमा, हामीलाई बाइकट गर्छ भने उहाँलाई पनि हामीले स्वागत गरिरहनु पर्ने जरुरत म देख्दिनँ,’ नेता तामाङको भनाइ थियो । उनले पञ्चकन्या गाउँपालिका संगठन समितिका सभापति माधवप्रसाद खनाललाई पनि पार्टी नेतृत्वसँग वडा र पालिकाको विषय पु¥याउन आग्रह गरे ।
    कार्यकर्ता, गाउँपालिकाका विषयमाथि पु¥याउन नसके नेता खनालको राजनीतिक भविष्यसमेत अन्धकार हुने उनको भनाइ थियो । खनाल यसपटक स्थानीय तह चुनावमा पञ्चकन्या गाउँपालिका अध्यक्षको उम्मेदवार भई पराजित भएका थिए ।
    ‘३ नम्बर वडामा विकासले निकै पछि परेको छ । ३ नम्बरलाई विशेष प्राथमिकता दिनु होला भन्ने म अनुरोध गर्न चाहन्छु । ४ नम्बरको कुरा गर्ने हो भने राधिका तामाङले अलि अलि हेरिराछ त्यहाँनिर । राधिका तामाङले पार्टीका साना साना कार्यकर्ताले लेखेका योजना पनि ल्याइदिएका छन्,’ नेता तामाङको गुनासो थियो, ‘हाम्रो त पार्टी संगठनले लेखेको एउटा बाटोमा पनि बजेट छैन । एउटै ठाउँको मान्छे आउँदा यहाँ (तरुण दलको भेलामा) सय जना हुन्थ्यो । किनकि एउटै बाटोका लागि मागेको १० लाख पैसा केन्द्रदेखि प्रदेशसम्म हाल्न सक्दैन । अनि काँग्रेसका कार्यक्रममा मान्छे कसरी आउँछन् ।’
    नेता तामाङले करिब ८ महिनाको अवधिमा हुने तरुण दलको महाधिवेशनको तयारीमा जुट्न मातहतका संगठनलाई आग्रह गरे । भेलाबाट पञ्चकन्या गाउँपालिका वडा नम्बर–३ मा सागर कार्कीको अध्यक्षतामा तरुण कार्यसमिति गठन गरिएको छ ।
    बाबुराम राईको नेतृत्वमा पञ्चकन्या गाउँपालिकाको वडा १ मा तरुण दल कार्यसमिति गठन गरिएको थियो । कार्यक्रममा काँग्रेस पञ्चकन्या सभापति माधवप्रसाद खनाल, तरुण दल पञ्चकन्या अध्यक्ष सुनिल दोर्जे लगायतको उपस्थिति थियो ।

अशोकबाटिकामा चैत्य स्थापना

 अशोकबाटिकामा चैत्य स्थापना

नुवाकोट । र नगरपालिका वडा नम्बर २ स्वयम्भू महाचैत्य, महामण्डलमा स्वयम्भू महाचैत्य क्षेत्र भित्र १०८ वटा चैत्य बनाउने अभियान अन्र्तगत चार वटा चैत्य स्थापना भएको छ ।
    शनिवार औपचारिक कार्यक्रम गरी चैत्य स्थापना गरिएको वडा नं. २ का अध्यष दीपक कायस्थले जानकारी दिएका छन् । नुवाकोट जिल्लाकै सबैभन्दा पुरानो ऐतिहासिक, पुरातात्विक र धार्मिक स्थलमा निर्माणाधीन स्वयम्भू महाचैत्य क्षेत्रभित्र १०८ वटा चैत्य बनाउने योजना अनुसार चार वटाको स्थापना गरिएको उनले बताए । अशोकबाटिकामा बुद्धको मुर्तीमा र चैत्य (चिवाहाल)को प्राण प्रतिष्ठा गरिएको छ । त्यस अवसरमा शनिवार बिहान धार्मिक -याली निकालिएको थियो । जसले नुवाकोट धार्मिक स्थल सहित बजार परिक्रमा गरेको थियो ।

तस्बिर समाचार

विदुर खानेपानी सरसफाई तथा उपभोक्ता संस्थाले विदुरमा पानी आपुर्ती गरिरहेको मुहान नजिकै गएको पहिरोका कारण मुख्य पाइप लाइनमा क्षती पुगेपछि त्यसको व्यवस्थापनका लागि अनुगमन गर्दै जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख रजिन्द्रविक्रमसिंह ठकुरी (दाँयाँबाट दोश्रो) र साथमा संस्थाका पदाधिकारीहरू । दुई साता अघि बाढीका कराण सोही मुहानमा पुगेको क्षतीको मर्मत गरि पानी आपुर्ती भएकोमा मुख्य पाइप लाइन ल्याइएको स्थान माथी सडक मर्मतका नाममा विदुर नगरपालिका वडा नं. १० को कार्यालले डोजर लगाउँदा आएको सुख्खा पहिरोबाट संस्थाले पुनः क्षती व्यहोरोको छ । पानी बन्द हुँदा विदुरका ४ हजार ५ सय घरधुरीलाई पानीको हाहाकार परेको छ ।
तस्बिर : इमेज

शिक्षक सरुवा रोक्न अन्तरिम आदेश

नुवाकोट । तारकेश्वर गाउँपालिका भित्र अन्तर विद्यालय काज सरुवा भएका शिक्षकहरूको सरुवा रोकिएको छ ।
    गाउँपालिकाले गरेको शिक्षक सरुवाको विरोधमा उच्च अदालतमा पाटनमा परेको रिटमा शिक्षहरूलाई सरुवा नगर्न र उक्त विषय यथास्थितिमा राख्न अन्तरिम आदेश भएसँगै शिक्षक सरुवा रोकिएको हो । पालिकाका ४६ जना शिक्षकहरूले शुक्रबार उच्च अदालतमा शिक्षक सरुवा बदर गरिपाउँ भनि रिट निवेदन दिएका थिए ।
    सो रिट निवेदनका विषयमा सुनुवाई गर्दै उच्च अदालत पाटनका न्यायाधीश विष्णुप्रसाद तिवारीको इजलासले तारकेश्वर गाउँपालिको नाममा अन्तरिम आदेश जारी गरेको गाउँपालिकाका शिक्षक राजु रिमालले जानकारी दिए । यस्तै अदालतले शिक्षक सरुवाको कारण समेत माग गरेको छ । गाउँपालिकाले ८६ जना शिक्षकलाई अन्तरविद्यालय सरुवा गरेको थियो । शिक्षक सरुवाका विषयमा शिक्षक संघ संगठन सहित राजनीतिक दलहरूले विरोध जनाएका थिए ।
    उनीहरूले शिक्षक सरुवाका विषयमा पालिका घेराउँदेखि अभिभावकहरूलाई समेत उतारेर पालिकाको निर्णयलाई रद्द गराउने प्रयास गरेका थिए । तर पालिका अध्यक्षले उल्टो स्पष्टिकरण सोधेपछि भने शिक्षकहरू अदालत पुगेका थिए । अदालतको आदेशसँगै शिक्षकहरू आ आफ्नो विद्यालयमा नै फर्कने आन्दोलनरत शिक्षकहरूले बताएका छन् ।
    शिक्षकहरूको नेतृत्व गर्दै अदालतमा पुगेका शिक्षक हरि गाउँलेले समाजिक सञ्जाल फेसबुकमा आफूहरूको माग पूरा भएको भन्दै शिक्षकहरूलाई सम्बन्धित विद्यालयमा नै जाने बाटो खुला भएको उल्लेख गरेका छन् ।
    अदालतको आदेश अनुसार दुवैपक्षबीच आगामी पेशीमा बहस हुनेछ र न्यायाधीशको इजलासले पूर्ण आदेश जारी गर्नेछ । त्यतिन्जेलका लागि लागि भने शिक्षक सरुवाको निर्णय कार्यान्वयन गर्न रोक लागेको छ । त्यसपछि भने अदालतको आदेशमा निर्भर गर्दछ ।

विद्युतिय माइक्रोबस सञ्चालन हुँदै

नेपाल माइक्रोबस कम्पनीको पत्रकार सम्मेलन

बट्टार । दुई दशकदेखि सेवा दिदैं आईरहेको नेपाल माइक्रोबस प्रालिले यहि दशैंअघि विद्युतिय माइक्रोबस सञ्चालनमा ल्याउने भएको छ । बिहिबार बट्टारमा पत्रकार सम्मेलन गर्दै कम्पनीका सल्लाहकार राजेन्द्र आचार्यले दशैँअघि विद्युतिय माइक्रोबस सञ्चालनमा ल्याउने जानकारी दिए ।
    आरामदायी, आकर्षक डिजाइन, विभिन्न नवीनतम् फिचर, ध्वनी प्रदुषणरहित र वातावरणमैत्री माइक्रोबसले यात्रुको यात्रा सहज गर्ने भएकोले किङलङ्ग माइक्रो बसको उत्पादन र सिजी मोटर्सको सहकार्यमा उक्त विद्युतिय माइक्रो बसहरू त्रिशूली–काठमाडौं र नगर यातायातको रुटमा सञ्चालनमा ल्याएको उनले बताए । माईक्रोबस सञ्चालनमा दुईदशको लामो अनुभव बटुलेका कारण अन्य यातायात कम्पनीको तुलनामा जिल्लामा आफ्नो कम्पनीको सेवाले फड्को मार्ने उनले दावी समेत गरे । विद्युतिय सवारीसाधन सञ्चालनको लागि आवश्यक चार्जिङ स्टेशन, चालक र सहचालकको छनौट तथा तालिम कार्य अघि बढी सकेको कम्पनीका अध्यक्ष नवराज आचार्यले जानकारी दिए । हाललाई १५ माईक्रो बस थप गरिने र सेवा विस्तार गर्दै थप गर्दै १४ र ११ सिटको सेवा सुरु गरिने उनले बताएका छन् ।
    हाल कम्पनीको ३५ वटा माईक्रोबस सञ्चालनमा रहेको नेपाल माइक्रोबस कम्पनीका नुवाकोट ईञ्चार्ज सन्तोष उप्रेतीले जानकारी दिए । जसमा ६ वटा त्रिशूली–काठमाडौं रुटमा र अन्य २९ वटा नुवाकोटभित्र सञ्चालनमा रहेको उनले बताए ।

तस्बिर समाचार

 

नेकपा माओवादी केन्द्र निकट अनेरास्ववियु (क्रान्तिकारी) द्धारा बुधवार नुवाकोट आर्दश बहुमुखी क्याम्पस बट्टारमा आयोजित ‘नेपालको संविधिान–२०७२र शिक्षा क्षेत्र’ विषयक अन्तरक्रियामा कार्यपत्र प्रस्तुत गर्दै अनेरास्ववियु (क्रान्तिकारी) का नुवाकोट अध्यक्ष निराजन बोगटी । तस्बिर : इमेज


बढ्यो पुतलीका कारण हुने ‘सापू’को जोखिम

नुवाकोटको भैरबी मन्दिरमा जम्मा भएको सेतो पुतली, जसका कारण आँखामा सापू लाग्न सक्छ ।

विदुर । सेतो पुतली मुख्य कारक मानिने दृष्टिनाशक रोग ‘सिजनल हाइपर एक्युट प्यानयुभाइटिस’ (सापू)का बिरामीहरू केही समयता विभिन्न ठाउँमा देखिएको छ । प्रायः वर्षा यामपछि भदौदेखि मंसिर महिनासम्म विशेष गरी नेपालको मध्य पहाडी भेगमा सापू महामारीका रूपमा देखिन्छ ।
    बीपी कोइराला लायन्स नेत्र अनुसन्धान केन्द्रकी सहप्राध्यापक तथा युभिआइटिस स्पेसलिस्ट डा. रञ्जु खरेल सिटौलाका अनुसार पहिले प्रायः गण्डकी प्रदेशमा मात्र देखिने यो वर्ष काठमाडौँको विभिन्न ठाउँमा पनि देखिन थालेको छ । उनी भन्छिन्, ‘केही वर्ष पहिले एकदम फाट्टफुट्ट मात्र देखिन्थ्यो राजधानीमा । बालुवाटार, स्वयम्भू, भक्तपुर, बूढानीलकण्ठ आदि ठाउँबाट केस रिपोर्टेड भएर आएका छन् ।’ डा. सिटौला भन्छिन्, ‘बाग्लुङ, कास्की, र गोरखालगायत ठाउँमा पनि देखिन सुरु भइसकेको छ । १० वटा केस जति आइसक्यो भन्ने छ । काठमाडौँमा पनि धेरै बिरामी देखिन सुरु गर्न‘ भनेको सेतो पुतलीले पनि बासस्थान फेरिरहेको देन्खिन्छ । मध्यपहाडी भागमा मात्र यसको विशेष पकड देखिए तापनि अब भने सबैतिर फैलिने भइरहेको छ । सबैजना सचेत भएर बस्नुपर्ने हुन्छ ।’
    नेपालमा मात्रै देखिने यो रोग सन् १९७५ मा आँखारोग विशेषज्ञ डा. मदन उपाध्यायले पत्ता लगाएका हुन् । सेतो धर्से पुतलीको संसर्गबाट यो रोग लाग्ने अध्ययनले देखाएका छन् । यो रोग पहिलोपटक पोखराको नारायणटार भन्ने ठाउँमा देखिएको थियो । र अहिले पनि बढी केस पोखरा आसपासका क्षेत्रमा देखिँदै आएको छ । सामान्यतया प्रत्येक दुई वर्षमा देखिने आँखा रोग देखिने गरेको यो रोगको लक्षण देखा परेको २४ देखि ४८ घण्टा सम्म उपचार हुन नपाए आँखाको दृष्टि गुम्न सक्ने चिकित्सक बताउँछन् ।
    सन् २०२१ मा करिब १५५ वटा केशहरू भेटिएका विभिन्न अस्पतालको तथ्याङ्कले बताउँछन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा(ईडीसीडी)ले यो वर्षदेखि देशभरका आँखा अस्पतालबाट संक्रमितको तथ्यांक राख्न थालेको छ । विज्ञहरूका अनुसार यो रोग सधैं एउटै आँखामा हुन्छ र अर्को आँखाबाट अर्कोमा सर्दैन । साथै एक व्यक्तिबाट अर्को व्यक्तिमा पनि सर्दैन र वयस्कभन्दा प्रायः बालबालिकामा नै देखिने हुन्छ । अस्पतालमा आउने बिरामीको अनुपातले त्यही पुष्टि गर्छ ।
    राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान (न्याम्स)की सहप्राध्यापक तथा तिलगंगा प्रतिष्ठानकी युभिआइटिस विशेषज्ञ डा. अनु मानन्धरले भदौ अन्तिम सातादेखि सापुका लक्षण लिएर बिरामी आउन थालेको बताउँछिन् । उनी भन्छिन्–‘हालसम्म १० जना संक्रमित आइसकेका छन् । ३ वटा केस काठमाडौँका छन् भने बाँकी जिल्लाबाहिरका । लक्षण लिएर आउने अधिकांश बालबालिका नै छन् । ’
    डा. मानन्धरका अनुसार उज्यालो हेर्दा गाह्रो हुने, अचानक एउटा मात्र आँखा रातो हुने, आँखाको गेडी दुख्ने र दृष्टि एकदम छिटो कम हुनेलगायत यसका लक्षण हुन् । ‘बिरामी समयमा आइपुगे जटिल हुन पाउँदैन । उपचार गर्न आँखामा आइ ड्रप्स मात्र पुग्दैन त्योसँगै एन्टिबायोटिक इन्जेक्सन हालिन्छ । जटिल भएमा सर्जरी भिट्रेक्टोमी गरिन्छ,’ उनी भन्छिन् । उनले आँखामा हुने ३ पत्रमा पिप जमेको खण्डमा तुरुन्त अपरेसन गरेर नफाले ४८ घण्टा देखि ७ दिनमा आँखाको भित्री पत्र कुहिने र अन्धोपन नै हुन सक्ने बताउँछिन् ।
    बीपी कोइराला लायन्स नेत्र अनुसन्धान केन्द्रले सापुको यकिन कारण पत्ता लगाउनका लागि यसको नमुना संकलन पनि गरिरहेको छ । हालसम्मको अध्ययनले सेतो पखेटामा कालो तेर्सो धर्को भएको सेतो पुतलीले संक्रमण गराएको बताउँछिन् डा. सिटौला । त्यो सेतो पुतलीको शरीरको अन्तिम भागमा बाक्लो खैरो रौँजस्तो थुप्रिएको हुने र त्यो रौँभित्र विषादी हुने उनको भनाइ छ ।
    नेपाल आँखा अस्पताल त्रिपुरेश्वरका मेडिकल डाइरेक्टर डा कमल खड्काले असोज महिनामा हालसम्म ४ वटा संक्रमित अस्पताल आइपुगेको बताउँछन् । आँखामा संक्रमण गराउने यो पुतली विशेषगरी उच्च उज्यालोमा आउने भएकाले धेरै उज्योलोमा नबस्ने, सेतो पुतलीको सम्पर्कमा नआउने, झुल भित्र सुत्न उनको सुझाव छ ।
    विज्ञहरूका अनुसार यो रोग लागेको शंका लागेमा तुरुन्तै अस्पताल वा आँखा उपचार केन्द्र जानुपर्छ । उपचार गर्न आफूखुसी औषधि वा जडिबुटीको प्रयोग गर्न‘हुँदैन । डा. सिटौला भन्छिन्, ‘काठमाडौँमा पनि केस बढ्न थालेका छन् । पानी पर्न रोकिएपछि बत्ती सकेसम्म कम चलाउने, अनावश्यक ठाउँमा बत्ती नबाल्ने र आफ्नो कोठाभित्र सेतो पुतली छिर्न र बस्न नदिनका लागि झ्याल ढोकामा जाली राख्ने र सुत्ने बेलामा पनि झुल लगाएर सुत्नु राम्रो हुन्छ ।’ उनका अनुसार यो रोग जटिल भएमा ज्योति गुम्ने त छँदैछ, बिस्तारै त्यो आँखाभित्रको पानी सुकेर आँखा सानो हुँदै पनि जान्छ ।
लक्षणहरू के–के हुन् ?
–एक्कासि एउटा आँखा रातो हुनु
–आँखा दुख्नु
–चिप्रा नलाग्नु
–उज्यालोमा हेर्न नसक्नु
–आँखाको दृष्टिमा तत्कालै कमी हुनु
–ढिला उपचार भएमा नानीमा सेतो देखिनु
रोकथाम कसरी गर्ने ?
–सेतो पुतलीको संसर्गबाट टाढै रहने
–धेरै उज्यालो सेतो बत्ती नबाल्ने
–साँझ र राति झ्यालढोका बन्द गर्ने
–सम्भव भएसम्म झ्यालढोकामा जाली हाल्ने
–सुत्ने कोठामा बत्ती निभाउने वा मधुरो बत्ती बालेर झुल लगाएर मात्र सुत्ने

मुटु ठिक राख्ने तरिका

डा. अनिल भट्टराई, वरिष्ठ मुटु रोग विशेषज्ञ

हाम्रो शरीरमा धेरै अंग छन् । धेरै अंगहरू दुईवटा भएपनि मुटु एउटा मात्रै हुन्छ । मष्तिस्कको पनि दुई भाग हुन्छ । किड्नी, फोक्सो दुईवटा हुन्छ । कलेजो दायाँ बायाँ दुई भाग हुन्छ । बाहिरबाट हेर्दा मुटु मुठ्टी आकारको हुन्छ।मुटुमा चारवटा कोठा हुन्छन्, दुईवटा तल हुन्छन् र दुईवटा माथि हुन्छन् ।
    मुटुबाट दुईवटा नसा निस्किएका हुन्छन् जसमध्ये एउटा  टाउकोबाट आएको हुने गर्छ भने अर्को शरीरको तल्लो भागबाट आउँछ । तलबाट आउने नसाले फोहर रगत लिएर आउछ । यसरी आएको रगत मुटुको दायाँ भाग हुँदै फोक्सोमा जान्छ । फोक्सोमा पुगेपछि अक्सिजन युक्त रगत मुटुको देब्रे भागमा चारवटा नलि मार्फत फर्किन्छ । मुटुले पम्प गरिसकेपछि त्यो रगत शरीरभरी सञ्चार हुन्छ । स्वस्थ मुटुले यसरी काम  हुन्छ । स्वस्थ मुटु प्रतिमिनेट ६० देखि ९० पटक सम्म धड्किन्छ । भर्खर जन्मिएको बच्चाको १ मिनेटमा १ सय ४० पटक धड्किन्छ । उमेरसँगै मुटुको धडकन कम हुदै जान्छ ।
मुटु रोगहरू
मुटुरोग दुई किसिमका हुन्छन् । एउटा जन्मजात र अर्को वयस्कमा हुने मुटुरोग । जन्मजात हुने मुटुरोगका कारण र वयस्कमा हुने मुटुरोगका कारण फरक फरक हुन्छन् । उमेर बढेसँगै हुने मुटु रोगका पनि कारण फरक हुन्छ । जन्मजात मुटुरोगमा पिडीय भन्ने हुन्छ । जहाँ अक्सिजनको मात्रा कमी हुन्छ, त्यहाँ पिडियको समस्या हुन्छ । नेपालमा पिडियको समस्या अन्य देशमा भन्दा बढी छ । अर्को बाथ ज्वरो बिग्रीएर मुटुको भल्भहरू खराब हुने समस्या धेरै छ । जुन नेपालमा सबैभन्दा ठूलो स्वास्थ्य समस्याको रुपमा रहेको छ । विकसित देशहरूमा त यो समस्या निर्मुल नै भइसकेको छ ।
    कर्नरीआरटीडिजिज भनेको मुटुमा रक्तसञ्चार गर्ने नलीहरू बन्द हुने समस्या हो । जसले कालान्तरमा हृदयघात गराउँछ । यो खानपान र जीवनशैलीको कारणले हुन्छ । यो वंशानुगत पनि हुन्छ तर बढी मात्रामा खानपान र जीवनशैलीबाट नै हुन्छ । खानपान बढी मात्रामा गर्ने तर शारीरिक व्यायाममा ध्यान नदिने समस्याले गर्दा यस्तो हुन्छ । मोटोपना धेरै भएकाहरू, धुम्रपान र मद्यपान धेरै गर्नेहरूलाई यो समस्या हुन्छ । थोरै मद्यपान गर्नेहरूलाई यो समस्या हुँदैन तर अत्याधिक मात्रामा मद्यपान गर्नेहरूलाई यो समस्या हुनसक्छ ।
    सुगर र प्रेसर नियन्त्रण नगर्नेहरूलाई पनि यो समस्याले सताउँछ । यसको औषधि नियमित नखाने र यसलाई नियन्त्रणमा पनि नराखे मुटुको नली बन्द हुन्छ । जसले गर्दा हृदयघात हुनसक्छ । कोलस्टोरको नियन्त्रण भएन भने पनि समस्या निम्त्याउँन सक्छ ।
मुटु स्वस्थ राख्ने कसरी राख्ने ?
शरीरको तौल नियन्त्रण हुनुपर्छ । अहिले सहरीया जिवनशैलीका कारणले शरीरको वजन एकदमै बढिरहेको छ । यसको लागि शारीरिक ब्यायम गर्नुपर्छ । यसको लगि कम्तिमा ३० मिनेट पसिना आउने गरि ब्यायम गर्नुपर्छ । तारेको भुटेको खानेकुराहरू सकेसम्म खान भएन । कार्वोहाइड्रेट बढि हुने भात आलु गुलियो पदार्थहरू कम खानुपर्छ ।
    धुम्रपान र मद्यपानबाट टाढा रहनुपर्छ । चिन्तारहित जिन्दगी जिउने प्रयास गर्न‘पर्छ । नियमित रुपमा स्वास्थ्य परिक्षण गर्न‘पर्छ । विशेष गरि ३५ वर्षभन्दा माथिको उमेर भएकाहरूले बर्षमा २ पटक स्वास्थ्य परिक्षण गर्नुपर्छ । यसैगरी सुगर र कोलस्ट्रोललाई नियन्त्रण गर्न‘पर्छ भने चिल्लो र बोसोजन्य खाना अनि मासु कम खानुपर्छ ।
    दौडादौडको दैनिकीले मानिसलाई भागिरहने–दौडिरहने बनाएको छ । यसले गर्दा मुटुको धडकन पनि बढ्न जान्छ । यसलाई पनि नियन्त्रण गर्न सक्नुपर्छ । पर्याप्त मात्रामा सुत्नपर्छ । यदि सुताइ पुगेन भने मुटुको चालमा गडबढी हुन सक्छ । हरियो सागसब्जी फलफुल हरियो तरकारी भिटामिन भएका खानाहरू र स्वच्छ अनि ताजा खानेकुरामा बढि जोड दिनुपर्छ ।

विदुरको बजार क्षेत्रको ढल व्यवस्थापन सुरु

 विदुरको बजार क्षेत्रको ढल व्यवस्थापन सुरु

विदुर । नुवाकोट जिल्लाको सदरमुकाम विदुरसहित नगरपालिकाको त्रिशूली बजारसहितका क्षेत्रको ढल व्यवस्थापनको काम सुरु भएको छ । विदुर नगरपालिका मेयर राजन श्रेष्ठले ढल व्यवस्थापनको शिलान्यास गरे । त्रिशूली बजार ढल व्यवस्थापन तथा प्रशोधन केन्द्रका सञ्चाालित उक्त आयोजनाको लागत ६२ करोड ३४ लाख ६२ हजार छ ।
    खानेपानी तथा ढल व्यवस्थापन आयोजना भरतपुर चितवनकोले कार्यान्वयन गर्ने उक्त आयोजनाको कार्य सञ्चालन मिति असोज ८ गते र सम्पन्न मिति २०८२ पुस १ गते रहेको छ । जसको ठेक्काको जिम्मेवारी गौरी पार्वती गुलीभर जेभी काठमाडौंले पाएको छ । उक्त आयोजनाबाट विदुर नगरपालिका भित्रको वडा नं १, २, ४, ८ र ९ का बासिन्दाले राहत पाउने छन् । कार्यक्रममा प्रमुख अतिथि मेयर श्रेष्ठले ढल निर्माणसंगै नगरपालिकालाई व्यवस्थित गर्न सकिने बताए । वडा नं. १ का अध्यक्ष लेलिन रञ्जितले पनि ढल व्यवस्थापनको कार्य सम्पन्न भएसँगै जिल्ला सदरमुकामा नागरिकलाई राहत हुने बताए ।

श्रीमानको कुटपिटबाट मृत्यु

धुञ्चे । रसुवामा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ ।
    गोसाइँकुण्ड गाउँपालिका वडा नं. ६ धुन्चे स्थित त्रिशूली खोला माथि रेड पाण्डा पार्क गुम्बा नजिक बस्ने सुकलाल बिकको कुटाईबाट ६० वर्षिया श्रमती सीता विकको मृत्यु भएको हो । झगडा पर्दा श्रीमानको लठ्ठी प्रहारबाट गएको सोमबार साझ श्रीमतीको घटना स्थलमा नै निधन भएको प्रहरी निरीक्षक नेत्रप्रसाद पौडेलले बताए ।

रुडेकले खर्चियो तीन करोड रुपैयाँ

रुडेक नेपालको १५ औं बार्षिक साधारण सभामा कर्मचारीलाई पुरस्कृत गर्दै जिसस प्रमुख ठकुरी ।

बट्टार । ग्रामीण बिकास तथा सशक्तिकरण केन्द्र (रुडेक) नेपाल को १५ औं साधारणसभा शनिवार बट्टारमा सम्पन्न भएको छ । २२ वर्ष अघि नुवाकोटमा स्थापना भएको रुडेक नेपालले शिक्षा, स्वास्थ्य, कृषि लगायतका नागरिकको दैनिकीमा जोडिएको सामाजिक कार्यमा हातेमालो गर्दै आएको छ । दुप्चेश्वर गाउँपालिकाको कँडेनी गाउँमा आलु उत्पादन गरेर संस्थाले गरेको बजारिकरण यसपालि लोकप्रिय बनेको थियो ।
    ४४ औं सामाजिक सेवा दिवसको अवसरमा संस्थाले आयोजना गरेको आफ्नो १५ औं बार्षिक साधारण सभामा बितेको आर्थिक वर्षमा भए गरेका कामको विवरण प्रस्तुत भएको थियो भने चालु आर्थिक वर्षमा गर्ने कामहरूको समेत जानकारी सो अवसरमा साधारण सभामा प्रस्तुत गरिएको रुडेक नेपालका अध्यक्ष मिनकुमार केसीले जानकारी दिएका छन् । बितेको आर्थिक वर्षमा संस्थाले ३ करोड ४ लाख रुपैयाँ नुवाकोटमा खर्चेको छ । साथै चालु आर्थिक वर्षमा ४ करोड ८ लाख रुपैयाँ खर्च गर्ने गरी परियोजना सञ्चालन गर्दै आएको संस्थाका कोषाध्यक्ष शोभा पण्डितले जानकारी दिइन् । रुडेक नेपालले हाल नुवाकोटको पञ्चकन्या, दुप्चेश्वर, तादी र शिवपुरी गरी चार वटा स्थानीय तहमा आफ्नो कार्यक्रम सञ्चालन गर्दै आएको छ । यस अघि सञ्चालन भएका परियोजनाहरू सहित रुडेक नेपालले जिल्लाको १२ वटै स्थानीय तहमा कार्यक्रम गरेको र जसबाट २५ हजार घर परिवार लाभान्वित भएका संस्थाको सचिव राजन आचार्यले जानकारी दिएका छन् ।
    संस्थाको बार्षिक साधारण सभा जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख रजिन्द्रबिक्रमसिंह ठकुरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा तादी गाउँपालिका अध्यक्ष सन्तमान तामाङ, शिबपुरी गाउँपालिका अध्यक्ष गोबिन्दप्रसाद थपलिया, तादी गाउँपालिका उपाध्यक्ष सञ्जु प्याकुरेल, नेपाल पत्रकार महासंघ नुवाकोटका अध्यक्ष कपिलदेव खनाल, पञ्चकन्या बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष मणिनाथ लामिछाने लगायतले शुभकामना मन्तब्य राखेका थिए ।
    नुवाकोट जिल्ला केन्द्रित कार्य क्षेत्र रहेको यो संस्थाले काठमाडौं, लमजुङ, कास्की लगायत नेपालका ६ जिल्लामा आफ्नो गतिविधि सञ्चालन गरेको छ ।  २०७९/८० मा संस्थाले रूम टु रिड नेपाल एससिएआई अष्ट्रेलिया र जिएनआई नेपालसंग समन्यव गरी ३ वटा विकाससंग सम्बन्धित परियोजनाहरू सञ्चालन गरेको थियो । यो परियोजना पञ्चकन्या गाँउपालिका, विदुर नगरपालिका, सूर्यगढी गाँउपालिका, दुप्चेश्वर गाँउपालिका, शिवपुरी गाँउपालिका, ककनी गाँउपालिका, लिखु गाँउपालिका, बेलकोटगढी नगरपालिका र तादी गाँउपालिकाको २७० वटा विद्यालयमा परियोजना सञ्चालन भएको थियो । जसबाट १३ हजार ५०० विद्यार्थी २ हजार ५७० शिक्षक र ६ हजार ४७६  अभिभावक प्रत्यक्ष लाभान्वित भएको संस्थाले जनाएको छ ।  
    एससिएआई अष्ट्रेलियाको सहयोगमा सन् २०१८ देखी सञ्चालित विपन्न समुदायको लागि छात्रवृत्ति तथा जिबिकोपार्जन सहयोग कार्यक्रमको पहिलो चरण सम्पन्न भएको छ । दुप्चेश्वर र पञ्चकन्या गाँउपालिकामा सञ्चालित उक्त कार्यक्रममा ४०० जना अभिभाबकबिहिन, टुहुरा तथा कमजोर आर्थिक क्षमता भएका बालबालिकालाई माध्यामिक शिक्षा १२ कक्षाको शिक्षा सुनिश्चित गराउने उद्देश्यका साथ परियोजनामा समावेश गरिएको थियो । ५ वर्षे परियोजना सहयोगमा ५७ जनाले १२ कक्षा उतिर्ण गरी ८ जना स्नातक तहमा समेत अध्ययनरत छन् । परियोजनाकै सहयोगमा १६ जना प्राबिधिक शिक्षामा पोष्टबहादुर बोगटी प्राबिधिक शिक्षालय लगायतका कलेजहरूमा अध्ययनरत रहेको रुडेक नेपालका अध्यक्ष मनिकुमार केसीले जानकारी दिए । परियाजेनाको सहयोगमा १६० जनाले एससिई उतिर्ण गरेका छन् भने हाल विद्यालय शिक्षामा १९६ जना विद्यार्थी अध्ययनरत छन् । यस बर्ष देखी तादी गाँउपालिकामा समेत कार्यक्रम विस्तार गरी ७३ जना छात्राहरूलाई थप गरी २६९ जनालाई विद्यार्थीको माध्यामिक शिक्षा सुनिश्चिता गराउन कार्यक्रम सञ्चालन गरिने उनले बताए । उक्त कार्यक्रमबाट आगामी ५ वर्षमा पञ्चकन्या, दुप्चेश्वर र तादीमा ११८ जना प्राविधिक जनशक्ति उत्पादन हुने छन् । यसको लागि हाल पोष्टबहादुर बोगटी प्राबिधिक शिक्षालयमा १२ जना, बालाजु इन्जिनियरिङ कलेजमा २ जना विद्यार्थीलाई संस्थाले छात्रवृत्ति सहयोग उपलब्ध गराएको छ ।
    दुप्चेश्वर र पञ्चकन्या गाउँपालिकाको ४८ वटा सामुदायिक विद्यालय, १० वटा स्वास्थ्य चौकी र  एक हजार ३९८ जना विद्यार्थी तथा  एक हजार ३९८ जना अभिभावक  प्रत्यक्ष लाभान्वित हुने कार्यक्रम समेत संस्थाले अघि सारेको छ । यस आर्थिक वर्षमा एक हजार ३९८ जनालाई पोशाक तथा शैक्षिक सामग्री उपलब्ध गराएको छ । त्यस्तै २ जनालाई विद्यार्थीलाई आपत्कालिक औषधोउपाचर सेवा, पञ्चकत्या अस्पताललाई उपकरण सहयोग, १ हजार ३९८ जनाको स्वास्थ्य परिक्षण स्वास्थ्य संस्था सहयोगमा शिखरबेशी, राउतबेशी, थप्रेक र पञ्चकन्या स्वास्थ्य चौकीलाई उपकरण सहयोग गरेको संस्थाका सचिव राजन आचार्यले जानकारी दिएका छन् । ७ वटा बाल विकास केन्द्रको स्तरोन्नती तथा शैक्षिक सामग्री सहयोग, १ वटा विद्यालयको आइ सिटी सहयोग, २ वटा सामुदायिक विद्यालयमा पुस्तकालय स्थापना, दुप्चेश्वर माध्यामिक विद्यालयमा सुविधा सम्पन्न महिनावारीमैत्री शौचालय निर्माण तथा हस्तान्तरण सम्पन्न भएको उनले बताएका छन् ।
    जिविकोपार्जन गतिबिधि अन्र्तगत पञ्चकन्या गाउपालिकाको वडा नं. २ मिश्रगाँउमा सुन्तला खेती मार्फत आर्थिक रूपान्तरणका लागि ७५ घर परिवार समेटेर  एक हजार ७०० उन्नत जातको सुन्तला रोप्ने कार्य सम्पन्न भएको बताइएको छ । दुप्चेश्वर गाउपालिकाको कँडेनीमा लोपउन्मुख बर्खे आलु प्रर्बद्धनन सहयोग गरी करिब २०० मुरी आलु उत्पादन गरी संस्थाले नै विक्रिका लागि बजारिकरण गरेको छ । पञ्चकन्या गाँउपालिका वडा नं. ४ को माथिल्लो भेगमा तरकारी पकेट क्षेत्र निर्माण गर्न २७ जना किसानसंग सहकार्यको शुरूवात गरिएको छ ।

नुवाकोटमा बजार अनुगमन तिब्र

५० हजार जरिवाना गराइएको माछा पसल ।

विदुर । नुवाकोटमा गुणस्तरहीन वस्तु जफत गरिएको छ । संयुक्त बजार अनुगमन टोलीले मंगलबार अनुमगमनका क्रममा गुणस्तरहीन वस्तु जफत गरेको हो । टोलीले विदुर नगरपालिका वडा नं. २ र ४ मा रहेको बट्टार बजारका विभिन्न किराना तथा मासु पसलको अनुगमन गरेको हो । एकैदिन १० वटा खाद्यान्न तथा मासु र माछा पसल व्यवसायमा अनुगमन गरिएको घरेलु तथा साना उद्योग कार्यालय नुवाकोटले जनाएको छ ।
    १० वटा पसलमा अनुगमन गरिएको कार्यालय प्रमुख किशोर सापकोटाले जानकारी दिए । उनका अनुसार अनुगमनका क्रममा पाँचवटा किराना पसल र पाँचवटा मासु तथा माछा पसल संयुक्त अनुगमन टोलीले अनुगमन गरेको हो । प्रमुख सापकोटाका अनुसार बट्टार बजारको न्यू फिस हाउसलाई  उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३९ को ’घ’ बमोजिम ५० हजार रुपैयाँ जरिवानासमेत गरिएको छ । यसका साथै बट्टारकै स्वस्तिक  सप्लायर्समा मापदण्डविपरीत लेवल नभएको ३० किलोग्राम तौलको २४ बोरा ढुटो जफत गरी नष्ट गरिएको सापकोटाले बताए । उनका अनुसार बरामद गरी नष्ट गरिएको ढुटो ३१ हजार २०० रुपैयाँ बराबरको रहेको छ ।

चालकको निःशुल्क स्वास्थ्य परिक्षण

 चालकको स्वास्थ्य परिक्षण

विदुर । नुवाकोट जिल्लामा सञ्चालित यसार्वजनिक यातायातका चालकहरूको निःशुल्क स्वास्थ्य परिक्षण भएको छ ।
    समुदाय प्रहरी साझेदारीको अवधारणा अनुसार चालकसँग एक दिन कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालय नुवाकोट र जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटको संयुक्त आयोजनामा त्रिशुली अस्पताल नुवाकोटका चिकित्सकहरूको सहयोगमा चालकहरूको स्वास्थ्य परिक्षण गरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनायो ।
    चालकहरू अस्वस्थ, बिरामी, थकित तथा स्वास्थ्यमा समस्या आइ सवारी साधन चलाउँदा हुन सक्ने सम्भावित सवारी दुर्घटना र त्यसबाट हुन सक्ने जनधनको क्षतिलाई न्यूनीकरण गर्ने उद्देश्यका साथ चालकहरूको स्वास्थ्य परिक्षण गरिएको कार्यालयले जनाएको छ । सो अवसरमा जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायव उपरीक्षक खगेन्द्रबहादुर खड्का, जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटका प्रमुख प्रहरी वरिष्ठ नायव निरीक्षक राजिवकुमार तिवारी, त्रिशूली अस्पताल नुवाकोटका डा. बिष्णुमहरी मरहठ्ठा सहितको टोलीहरूको सहभागितामा शनिबार बिहान तीन घण्टा स्वास्थ जाँच गरेका थिए ।
    पासाङल्हामु राजमार्ग अन्तर्गत गल्छी–त्रिशूली सडक खण्ड भएर आवत जावत गर्ने विभिन्न ३९, ट्रक÷टिप्पर–१९, माईक्रो बस–१६, पिकअप भ्यान–२१, मोटसाइकल–५, अटो–४ गरी जम्मा १०४ वटा सवारी साधनहरूका चालकहरूको निःशुल्क स्वास्थ्य परिक्षण गरिएको जनाइएको छ । चेकजाँचमा रक्तचाप, दृष्टि दोष र सुगरको मात्रा चेकजाँच गरिएको थियो ।
    जसमा २१ जना चालकहरूमा उच्च रक्तचाप, ११ जना चालकरुमा दृष्टि दोष र १५ जना चालकहरूमा सुगरको मात्रा बढी भेटिएकोमा आवश्यक उपचारको लागि उचित परामर्श दिईनुका साथै सहभागी सम्पूर्ण चालक तथा सह–चालकहरूलाई सवारी दुर्घटना न्यूनीकरण र स्वास्थ्य सम्बन्धि आवश्यक प्रशिक्षण समेत दिई दिइएको थियो ।

गाउँपालिकाले औषधि वितरण गर्ने

जेष्ठ नागरिकलाई निःशुल्क औषधीको कार्ड वितरण गर्दै गाउँपालिका अध्यक्ष गोविन्द थपलिया ।

शेराबगर । नुवाकोट जिल्लाको शिवपुरी गाउँपालिकाले ६० वर्ष उमेर कटेका जेष्ठ नागरिकलाई निःशुल्क औषधि वितरण गर्ने भएको छ । अध्यक्षसग वृद्धवृद्धा कार्यक्रम अनुसार गाउँपालिकाले उक्त कार्यक्रमको शुभारम्भ गरेको छ । गएको शुक्रबार गाउँपालिकाका अध्यक्ष गोबिन्द थपलियाले सिक्रे स्वास्थ्य चौकीमा एक कार्यक्रमका बीच सो सेवाको शुभारम्भ गरे ।
    अध्यक्ष थपलियाले ६० वर्ष माथि उमेरका जेष्ठ नागरिकलाई निशुल्क स्वास्थ्य सम्बन्धि औषधिको ब्यवस्थापन गर्ने उदेश्यले कार्यक्रम सुरु गरिएको बताए । गाउँपालिकाले राज्यबाट पाउने ९८ प्रकारका औषधि बाहेक सुगर, प्रेसरसहित १६ थरी औषधि निः शुल्क वितरण गर्न लागेको गाउँपालिकाले जनायो ।
    यसअघि सुर्यगढी, पञ्चकन्या लगायतका पालिकाले पनि जेष्ठ नागरिकलाई राज्यबाट दिने भन्दा थप औषधि वितरण गर्दै आएको छ । गाउँपालिकाको उक्त निर्णयसँगै शिवपुरीका एक हजार भन्दा बढि औषधि खानुपर्ने बिरामीहरूलाई थप राहत पुगेको छ । गाउँपालिकाको उक्त निर्णयको स्थानीयले स्वागत गरेका छन् ।

माओवादीको वन(जन)वास

 माओवादीको वन(जन)वास

भवानी बराल

गएको भदौ १६ गतेदेखि नेकपा माओवादी केन्द्रले सुरु गरेको जनसम्पर्क अभियान आउँदो मंसीर २५ गतेसम्म चल्नेछ । माओवादी, मुख्य सत्तारुढ राजनैतिक दल हो । राजनैतिक दलसँग दैनिक जनसम्पर्क भएकै हुन्छ । पार्टी, जनवर्गीय तथा शुभेच्छुक संगठन मार्फत दैनिक क्रियाकलाप पनि भइराखेकै हुन्छ । कुनै विशेष घटना, निर्वाचन वा विकसित परिस्थितिमा जनसभा वा अभियान गर्नु अर्को कुरा हो । तर माओवादीले यतिखेर नै यो अभियान गर्नुपछिको मकसद के होला ?
    यतिवेला माओवादीको संगठनमा कुनै भवितव्य आइलागेको पनि छैन । पार्टी पूरै एकमना छ । भर्खरै केन्द्रीय कमिटीको बैठक सकिएको हो । त्यही बैठकले ४०९ जनाको जम्बो केन्द्रीय कमिटी बनाइसकेको छ । यस मानेमा असन्तुष्टहरूलाई बिलो लगाएर भाग पु-याइदिएको छ । राष्ट्रिय राजनीतिमा प्रतिगामी परिदृश्य पनि देखिएको छैन । सत्ता तल–वितल होला भन्ने योग पनि छैन । तर किन फेरि तीन महिना जनतामा जाने अभियानको थालनी गरेको हो ? राजनीतिका पारखीहरूले पनि बुझिसकेका छैनन् ।
    भारतीय समाजवादी नेता डा. राममनोहर लोहियाले पार्टीलाई चलायमान बनाइराख्न कुनै कार्यक्रम नभए चलिरहेको रेल, बसमा कार्यकर्तालाई ढुंगामुढा गर्न लगाउँथे रे ! यसो हुँदा मिडियाले समाचार बनाउँथे र पार्टीको नाम जीवन्त रहन्छ भन्ने उनको उद्देश्य रहन्थ्यो रे ! तर माओवादीले त लोहियाको जस्तो अनुकरण पनि गरिरहेको होइन ।
    माओवादीले ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’ नामको ‘थिम’ लिएर जाँदैछ । यो थिमभित्र माओवादीको ‘जिन’ कहाँनेर फिट हुन्छ ? त्यसमाथि रूपान्तरण हुने कुराको चुरो चैं के हुन्छ ? अलिक आलोचक र समीक्षात्मक टिप्पणी गर्ने हो भने प्रश्नै–प्रश्नको घेरामा माओवादी अभियान हुनेछ । माओवादी रूपान्तरण भएर जनताबीच जाने कि जनताले भने अनुसार रूपान्तरित हुने ? प्रश्न अनुत्तरित नै छ ।
वनवास कि जनवास ?
हिन्दु धर्मतान्त्रिक मिथकमा ‘भगवान’ रामको जन्म लंकाधिपति रावणलाई बध गर्ने उद्देश्यले भएको मानिन्छ । तर कथाको बाहिरी रूप चैं राम राजा भए राजपाटमा रानी कौशल्याको प्रभाव पर्ने भयले अर्की रानी कैकेयीले वनवास जान बाध्य पारिएको कथा मञ्चित हुन्छ । यसैले कैकेयीले राजा दशरथलाई मनाएर रामलाई वनवास जान बाध्य बनाएको, मनाएको कथाको पेटबोली हाम्रो कञ्चटमा आउँछ ।
    तर राम जन्मको उद्देश्य अनुसार रावण बध गर्ने कार्यभार पूरा गर्न जंगल जान सहजै मानेका हुन् । जंगलमा जानुको खसोखास कुरा हनुमानसँग संयुक्त मोर्चा गर्न‘थियो र यसो नगरी रावणको बध गर्न सकिन्नथ्यो । वास्तवमा राम वनवासको सार यही थियो । मिथक अनुसार पृथ्वीबाट पापलाई मुक्त गर्न उनले रामलीलाको भूमिका निभाउनु थियो, जसलाई राम राज्य भनेर हामी सबैले जान्ने गरेका छौं ।
    तर, माओवादी ‘तत्कालीन प्रतिक्रियावादी’ हरूले भन्ने गरेको ‘वनवास’बाट फर्केको धेरै हिउँद बर्खा बितिसकेको छ । माओवादी त्यही वनवासबाट फर्किएपछि जे जस्तो परम्परागत प्रणालीको बध भयो त्यसको जानकार हामी सबै छौं । त्यस्तै वनवास जाने माओवादीको कुनै योजना हैन । तर, यति नै वेला राजनीतिको कुन घटनालाई बध गर्न माओवादी हतारहतार ‘जनवास’ जान खोज्दैछ ? यो प्रश्न पनि अनुत्तरित हुनुहुन्न ।
जनवासमा जाने बन्दोबस्ती
माओवादी केन्द्रले महाधिवेशनदेखि निष्क्रिय रहेको प्रचार तथा प्रकाशन विभागलाई पुनर्गठन गरेको छ । पार्टीका उपाध्यक्ष एवम् प्रवक्ता अग्नि सापकोटाको कमाण्डमा बनेको विभागले अभियानमा जाने कार्य योजना सार्वजनिक गरिसकेको छैन । प्रवक्ताले अभियानको लक्ष्य ‘निर्देशक सिद्धान्तलाई पुनस्र्थापित गर्ने’ बताएका छन् । तर निर्देशक सिद्धान्तको रूपरेखा भने बाहिर आएको होइन ।
    प्रचार भन्नासाथ प्रोपोगाण्डा शब्द अगाडि आउँछ । अमेरिकी विद्वान् नोम चोम्स्कीले प्रोपोगाण्डा शब्दको सकारात्मक र विशद व्याख्या ‘प्रोपोगाण्डा एण्ड द पब्लिक माइण्ड’ पुस्तकमा गरेका छन् । नत्र पत्रकारिताको बुर्जुवा पाठ्यक्रममा सेतो (ह्वाइट) र कालो (ब्ल्याक) प्रोपोगाण्डा मात्र छ । यी दुई प्रोपोगाण्डा नकारात्मक अर्थका हुन् । तर पनि बुर्जुवाहरूले यसैको उपयोग गर्दै आएका छन् । यसर्थ माओवादीले विकास गर्नुपर्ने रातो (रेड) प्रोपोगाण्डा होला । यस्तो रातो प्रोपोगाण्डाको भाष्य निर्माण भइसकेको छैन । अथवा यहाँ जनमुखी प्रोपोगाण्डा पनि भन्न सकिएला ।
    यसै मेसोमा माओवादीलाई डिजिटलाइजेसन गर्न आईसीटी फोरम नामको अर्को संगठन बनाएको छ । अभियानको पूर्वसन्ध्यामा बनेको यी फोरम माओवादी तीन महिने अभियानको अर्को बन्दोबस्तीको साजोसामान होला । माओवादीका यी दुई संगठन त साधन मात्र हुन् । यी साधन मार्फत लैजाने अन्तरवस्तु के हुने प्रश्नको जवाफ खुट्टिएको छैन । डिजिटलाइजेसन मार्फत लैजाने ‘लोकरिझ्याइँ’ ग्रीकमा धेरै सय वर्ष अगाडि प्रयोग भइसकेको ‘डेमागग्’ प्रवृत्तिको नयाँ रूप हो । माओवादी मार्फत जनताले खोजेको डेमागग् प्रवृत्ति हैन । यो प्रवृत्ति त रास्वपा र नवीन राप्रपाको प्राधिकारभित्र परिसकेको छ । जहाँ सिद्धान्त, दर्शन हुँदैन, त्यहाँ डेमागग् प्रवृत्तिले जनता अल्मल्याउनुको विकल्प हुन्न ।
    रह्यो माओवादी पार्टी संगठन सात प्रदेशका ७५३ पालिका र ६ हजार बढी वडामा ‘अलरेडी’ माओवादीका सक्रिय–निष्क्रिय संगठन हुँदै होलान् । प्रत्येक वडामा पुगेर माओवादीले के गर्छन्, के भन्छन् ? व्यवस्था बदल्यौंः अब अवस्था बदल्छौं ? यो नारा भनिरहन पर्दैन । घरी–घरी सत्तामा पुगेको वेला गर्ने आम कर्तव्य हो । ‘सच्चिन्छौं कि सिद्धिन्छौं’ यो वाक्य पनि दोहो¥याई तेह¥याइरहनु पर्दैन । खराखरी सच्चिए भइहाल्छ । सच्चिए नसच्चिएको जनताले कसी लगाइहाल्छन् ।
    यो अभियानमा माओवादीले लैजाने सुशासनको मुद्दा होला । स्वशासनको मुद्दा त भर्सेलामा परिसकेको छ । भ्रष्टाचार अनियमिततामा भइरहेको अनुसन्धान कारबाहीले माओवादीको लोकप्रियतामा केही ग्राफ बढेको होला । तर यति नै सबै कुरा होइन । भ्रष्टाचार, संगठित अपराधका मुद्दा अदालतमा पुगेपछि ‘टाय टाय फिश’ हुने सम्भावना बढी छ । अहिलेका चर्चित मुद्दाहरू ललितानिवास, नक्कली शरणार्थी र सुन प्रकरणमा अनुसन्धानमै ठूला माछालाई उन्मुक्ति दिएको प्रसंगमा कसैको विमति देखिन्न ।
    ललितानिवास प्रकरणमा प्रहरीको अनुसन्धानबाट आएको संगठित अपराधलाई सरकारी वकिलको कार्यालयले किर्ते जालसाजीमा पतन गराइसकेको छ । अनुसन्धानमा किटान भएका केहीलाई मुद्दा नचलाउने निर्णय गरिसकेको छ । मुद्दा संगठित अपराधबाट किर्तेमा पतन गराउनासाथ यो मुद्दाको न्यायिक निरुपणमा आकाश–जमिनको फरक पर्नेछ ।
    यसर्थ यस्ता अस्थायी मुद्दाले पार्टीको साखलाई दीर्घकालीन बनाउन सक्दैन । माओवादीका केन्द्रीय नेताहरू विभिन्न अनैतिक काण्डहरूमा संलग्न भएको बेहोरा बाहिर आएकै छ । नाम आएका ती पात्रहरूलाई पार्टीले निलम्बन नगरेकोमा केन्द्रीय नेताहरूकै असन्तुष्टि व्याप्त छ । ल्हारक्याल लामाको नियुक्तिले त पहिलो गाँसमै ढुंगा लागेको छ ।
    हिन्दु धर्मसापेक्ष मुलुक बनाउनुपर्ने, संघीयता खारेज गर्न‘पर्ने, भरसक राजतन्त्रलाई पनि स्पेस दिनुपर्ने गणतन्त्रको विपक्षमा पक्षपोषण गर्दै हिंड्ने माओवादी केन्द्रीय समितिकै केही नेता छन् । यस्ता सदस्यहरूलाई जनताको दैलो–ठेलोमा लैजाँदा जनतामा कस्तो सन्देश दिन्छन् ? यस्तै पात्रहरूलाई अभियानमा लिएर गए भने जनताले सीधै पिठ्युँ फर्काउने छन् ।
    माओवादी नेताको बेमेल, गुटबन्दीको पोको बोकेर जनताको घरदैलोमा जाँदा के हुन्छ अहिले नै यकिन गर्न सकिन्न । अर्थात् यी विषयको उत्तर जनतामा जाँदा के हुन्छ त्यसको आधारमा जनमूल्यांकन हुनेछ ।
अभियान, विधान र महाधिवेशन
यो अभियान सकिएपछि माओवादीले विधान अधिवेशन र विशेष महाधिवेशन गर्ने निर्णय  गरेको छ । अर्थात् माओवादी रूपान्तरण भइसकेपछि विधान अधिवेशन र महाधिवेशन हुनेछ । अब प्रश्न उठ्छ यसपछि माओवादीको विधान विधिसम्मत हुन्छ ?
गोजीसम्मत हुँदैन ? यो प्रायश्चित गरेपछि आइन्दा माओवादीहरू विधिमा विश्वास गर्ने लायक बन्छन् ?
     रह्यो महाधिवेशनको कुरा । माओवादीले महाधिवेशनमा लिने कार्यदिशाले पार्टीको भविष्य निश्चित गर्छ । समाजवादको आधारशिला तय गर्ने रणनैतिक रूपरेखा कथनी र करणीको विश्वसनीयताले नै पार्टीको आगामी यात्राको प्रस्थानविन्दु खोल्नेछ । माओवादी केन्द्रलाई यति चैं फाइदा छ कि मौजुदा राजनैतिक दलहरूमा माओवादी केन्द्र ‘हिङ नभए पनि हिङ बाँधेको टालो’ हो । तर नारा वा थिम लिएर घरदैलो गर्दैमा राजनीतिको रथारोहण गुड्दैन ।
    सन् २०१४ मा भारतीय कम्युनिष्ट पार्टी माक्र्सवादीको नराम्रो पराजय पछि उसले ‘जाग एक होउ र हराउ’ नारा ल्याएको थियो । तर पश्चिम बंगाल र त्रिपुरामा झनै नराम्रो पराजय भोग्नुपरेको थियो । कुनै समयमा भारतको राष्ट्रिय एवम् प्रमुख प्रतिपक्षी र तीन प्रान्त पश्चिम बंगाल, त्रिपुरा र केरलामा सरकार चलाएको पार्टी लोकसभामा यतिवेला तीन सिटमा खुम्चिएको छ । यसर्थ नारा र अभिभारामा तालमेल भएन भने यस्तै नियति दोहोरिन बेर लाग्दैन । माओवादी नेतृत्वलाई यी कुराहरू पच्न सक्छ सक्दैन तर भारतीय कम्युनिष्टको पराजयबाट सिक्न जरूरी छ ।

२०८० साल असोज ८ गतेको सम्पादकीय

संविधानको पूर्ण कार्यान्वयन आवश्यक
नेपालमा संविधान जारी भएको ८ वर्ष पूरा भएको छ । यो संविधान धेरै नेपालीको सपना साकार पार्ने अपेक्षाका साथ जारी गरिएको हो । यो संविधान यही रुपमा जारी हुनु आफैंमा महत्वपूर्ण उपलब्धी हो । यो संविधानको कार्यान्वयन कुन दिशामा गयो ? हाम्रा अपेक्षाहरू पूरा भए कि भएनन् ? यसमा समस्या छन् कि छैनन् ? निराकरणका लागि समीक्षा गरेमा मात्रै संविधान दिवस मनाउनुको सार्थकता रहला । संविधानको औचित्य त्यसमा के लेखिएको छ भनेर होइन, त्यसको अवलम्बन गरियो कि गरिएन भन्ने विषय महत्वपूर्ण हो । संविधानमा लेखिएर मात्रै के हुन्छ र ? खान मिल्दैन, भोग्न मिल्दैन । संविधान कार्यान्वयन हुँदा नेपाली जनताले महसुस गर्नेगरी के रुपान्तरण भयो ? त्यो महत्वपूर्ण हो । यो संविधान जति राम्रोसँग लेखिएको छ, कार्यान्वयन त्यति राम्रोसँग भएको छैन भन्ने अवस्थामा हामी पुगेका छौं । गणतन्त्र, कानूनी राज्य, समावेशिता, धर्मनिरपेक्षता र संघीयताजस्ता अवधारणा यो संविधानका महत्वपूर्ण पक्ष हुन् । यी मूल्यवान शब्दको रुपान्तरणका लागि कति प्रयास गरियो र तिनको रुपान्तरित अवस्था कस्तो रह्यो भनेर हेर्नु आजको आवश्यकता हो । गणतन्त्र कार्यान्वयन यो संविधानको महत्वपूर्ण पक्ष हो । तर गणतन्त्र भनेको राजा फालेर कुनै व्यक्तिलाई स्थापित गर्नु मात्रै होइन । लोकतान्त्रिक गणतन्त्र भन्नु संवैधानिक सर्वोच्चता स्वीकार्नु हो, विधिको शासनको पालना गर्नु हो । सामन्तवादको अत्य भयो कि भएन ? त्यो महत्वपूर्ण कुरा हो । राज्यका सबै संरचनामा सामन्तवादी चरित्र र अवशेष रहने हो भने हामीले गणतन्त्रको पालना ग¥यौं कि गरेनौं भनेर फर्केर हेर्नुपर्ने हुन्छ । हाम्रोमा जुन अर्थमा कानूनी राज हुनुपर्ने थियो, त्यो अर्थमा भइरहेको छ ? कानूनलाई मान्ने भन्दा पनि तोड्नेहरू बलिया हुँदै गएको देखिएको छ ।
    हाम्रो संविधानमा केन्द्रलाई बढी अधिकार दिएर संघीयताको परिकल्पना गरिएको छ । अधिकार प्रत्यायोजनमा उदासीन भएको देखिन्छ । संघीयतामा ३५ हजार जनप्रतिनिधिको खर्च राज्यले बेहोर्नुपर्छ । तर त्यसको उत्पादकत्व के हो भनेर मूल्यांकन गर्नसक्ने अवस्थामा हामी पुगेका छैनौं । उनीहरूको क्षमता विकास गरिदिनुपर्ने कामले गति लिएको छैन । अधिकार क्षेत्र अस्पष्ट छ । यी सबै कुराले जनतामा असन्तुष्टि बढ्दै गएर संघीयता चाहिदैन भन्ने ढंगको प्रश्न बढ्दो छ । यसरी प्रश्न आउनु भनेको हामीले संघीयतामाथि गम्भीर दृष्टिकोण राखेनौं भन्ने निश्कर्षमा पुग्नु हो । संविधानले अधिकार बाँडफाँटका लागि अनुसूचीको व्यवस्था गरेको छ । अनुसूची कतिपय अवस्थामा आफैंमा विरोधाभाषपूर्ण छ । स्थानीय र प्रदेश सरकारहरू हुनुपर्ने जति स्वायत्त हुन सकेका छैनन् । संविधानले सुनिश्चित गर्ने तर व्यवहारमा भोग्न नपाइने अवस्थामा हामी आइपुगेका छौं । लोकतन्त्र हलुका रुपमा लिने विषय होइन । लोकतन्त्रले हाम्रो दैनिक जीवन नै प्रभावित पार्छ । हामीले अहिले देखिएका चुनौतीलाई गम्भीर रुपमा लिएनौं भने हाम्रो लोकतन्त्र अमर र जीवित रहन्छ भनेर सुनिश्चित हुन सकिदैन । हामीले लोकतन्त्र विरुद्ध मडाइरहेका संकेतहरूलाई सम्बोधन गर्ने हिम्मत राख्नुपर्छ ।
    समाज एक प्रगतिशिल भएकोेले संविधान र कानूनहरू पनि समयसापेक्ष रुपमा संशोधन हुन्छन् । कानून संशोधन एक गतीशिल प्रक्रिया हो । अहिले पूर्ण भएको विषय भोलि अपूर्ण हुनसक्दछ ।  संविधान संशोधन भइरहँदा कानूनमा पनि प्रभाव पर्दछ । तसर्थ संविधान संशोधन हुँदा मौजुदा कानूनहरूलाई संशोधनको प्रक्रियामा लानुपर्ने हुन्छ । हालसम्म नेपालमा ३१५ वटा मौजुदा कानूनहरू छन् ।  नयाँ संविधान आएपछि १९३ वटा मौजुदा कानूनमा रहेका विभिन्न भाषाहरूमा परिवर्तन गरि संविधानसापेक्ष बनाईसकिएको छ भने संविधान कार्यान्वयन गर्न तत्कालै ११० वटा थप संघीय कानूनसहित १३८ वटा नयाँ कानूनहरू ब्नाउनुपर्दछ । र सरकार ती कानूनहरू बनाएर नयाँ संविधान लागू गर्न लागि परिरहेको छ । आदिवासी जनजातिहरू यो संविधानमा पाएको अधिकारहरूलाई संस्थागत गर्दै अपुरो र अधुरो संवैधानिक हकअधिकार प्राप्तिका लागि आन्दोलन, बहस र पैरवीका माध्यमबाट सक्रिय हुन जरुरी छ । संविधान जसरी बनेको छ त्यो बनोट अनुसार राज्यले जति सुविधा दिनुपर्ने हो, जति कानून, नियमहरू पारित गर्नुपर्ने हो, त्यो पारित गर्न नसकेको अवस्था छ । त्यसैले स्थानीय तह र प्रदेश सरकार रनभुल्लमा देखिन्छन् । संघीय, स्थानीय तथा प्रदेश सरकारले जनताको आकांक्षा अनुसार काम गर्न सकेको छैन् । यदि नागरिक समाज र अगुवाहरूले सोचेनन् भने संविधानप्रति जनआस्था कमजोर हुँदै जाने सम्भावना रहन्छ छ । जनताले अनुभूति गर्नुपर्ने ढंगले संविधान कार्यान्वयन हुनसकेको छैन । त्यसैले अहिले पनि चुनौतिपूर्ण अवस्था छ ।
    संविधान पूर्ण रुपमा कार्यान्वयन नभएपछि अहिले केही निराशाहरू भने पैदा भएका छन् । अझै पनि संबिधान कार्यान्वयनले पूर्णता पाउन सकेको छैन् । कानुन निर्माण भईरहेका छन्, तर अझै सबै कानुनहरू नबन्दा अन्यौलता कायमै छन् । अझै पनि मुलुक संक्रमणकालमै छ । तर जनताको लामो संघर्ष र बलिदानीबाट जारी गरिएको संंविधानलाई कार्यान्वयनको पाटोमा अघि बढाउनु हामी सबैको दायित्व हो । अहिले नै संविधानको पूर्ण उपलब्धी आउँदैन । संविधानको उपलब्धी आउन अझै केही बर्ष कुर्नुपर्छ । परिबर्तन एकैपटक हुने कुरा होईन्, परिवर्तन क्रमिक रुपमा हुने प्रक्रिया भएकाले पनि अहिले संबिधान कार्यान्वयनको प्रक्रिया क्रमिक रुपमा अघि बढिरहेकाले पनि निराश हुनुपर्ने अवस्था छैन । तर पनि ८ वर्ष भनेको चाँही राज्य सञ्चालन प्रत्र,ृयाका लागि छोटा अवधि भएपनि मानिसको व्यक्तिगत जीवनका लागि निक्कै लामो समय हो । त्यसैले पनि हामीले संविधान कार्यान्वयनका लागि हातमा हात मिलाउनु पर्ने र त्यसले परिकल्पना गरेका विषयहरूलाई छिट्टै कार्यान्वयमा ल्याएर नागरिकहरूका दैनिक फर्नु आवश्यक छ ।

२०८० साल असोज ८ गते । वर्ष:१७ अंक:२