Monday, October 09, 2023

एउटा पुल बन्न आठ वर्ष

खोलाको बहाव नियन्त्रणमा लापरबाही भएसँगै पाँच वर्षसम्म अलपत्र भएको पुल अहिले सञ्चालनमा

विदुर । एउटा पक्की पुल निर्माण सम्पन्न हुनकालागि कत्ति अवधी लाग्ला ? सायदै एक/दुई आर्थिक वर्षमा सम्पन्न हुने गरेको छ । तर नुवाकोटको विदुर नगरपालिका–५ र बेलकोटगढी नगरपालिका–१२ को तादी खोलामा निर्माण थालेको आठ वर्षपछि मोटरेबल पक्की पुलको निर्माण सम्पन्न भएर सञ्चालनमा आएको छ ।
    निर्माण सम्पन्न गरिसक्नुपर्नेभन्दा थप पाँच वर्ष ढिलो गरेर पुल निर्माण सम्पन्न भएको सडक डिभिजन नुवाकोटले जानकारी दिएको छ । विदुर नगरपालिका–५ र बेलकोटगढी नगरपालिका–१२ तादी–सिन्दुरे मोटरेबल पुल निर्माण सम्पन्न भएपछि अनौपचारिक रूपमा गत असार मसान्तदेखि नै सञ्चालनमा आएको हो ।
    ठेक्का लागेर निर्माण सुरु भएपछि खोलाले बाटो परिवर्तन गर्दा निर्माण अन्योल भएको थियो । उक्त पुलको दायाँ–बायाँ, वारि–पारि, तल्लो भाग, माथिल्लो भागमा तटबन्दी निर्माण गरेर खोलाको बहाव नियन्त्रणका लागि थप निर्माणकार्य गर्न २०७७ बाट सुरु भएको थियो । पुर्व डिभिजन प्रमुख (दुई साता अघि नुवाकोटबाट सरुवा भएका) अमृतमणि रिमालका अनुसार पुल निर्माणका क्रममा परिवर्तन गरिएको खोलाको बहाव नियन्त्रणमा लापरबाही भएसँगै पाँच वर्षसम्म अलपत्र भएको पुल अहिले सञ्चालनमा आएको हो ।
    ११ मिटर चौडा रहेको उक्त पुलको लम्बाइ दुई सय ५४ मिटर लामो छ । उनले भने, ‘पुल निर्माणको क्रममा तादी खोलाको बहावले विदुरतर्फ खोलाको बहाव परिवर्तन भएसँगै अहिले बनाएको पुलको दूरी जत्तिकै थप स्पान आवश्यक पर्ने जनाउँदै काम रोकिएको थियो । खोलाको बहाव नियन्त्रण गरेसँगै पाँच वर्षसम्म जुन अवस्थामा रहेको थियो, सोही अवस्थाकै पुललाई अहिले सञ्चालनमा ल्याइएको हो ।’
    पुल निर्माणको क्रममा डिपिआरमा औँल्याइएको र सुरुवाती ठेक्काको समयमा गरिएको सम्झौताअनुसार १२ करोड ५९ लाख लगानीमा निर्माण सम्पन्न भएको डिभिजन कार्यालयका इन्जिनियर सुमनराज बस्नेतले जानकारी दिए । उनका अनुसार पुल निर्माणको जिम्मेवारी पाएको शर्मा–वाइबा जेभी कम्पनीलाई अझै दश प्रतिशत रकम भुक्तानी दिन बाँकी छ । तादी र सिन्दुरे खोलाको दोभानमा निर्माण गरिएको उक्त पुलले नुवाकोटको सदरमुकाम विदुरलाई राजधानी काठमाडौंसँग जोड्न सबैभन्दा छोटो दूरी पर्छ ।
    विदुरबाट पाँच किलोमिटरको दूरीमा रहेको उक्त पुल हुँदै ककनीसम्मको दूरी १८ किलोमिटर पर्दछ । अझै यो पुलबाट सीधा मध्यपहाडी सडकको सेराको जोड्ने हो भने हालको दूरीभन्दा कम हुनेछ ।
    हाल सडक घुमाउरो पाराले क्रसर, कोल्ड स्टोर हुँदै मध्यपहाडी सडकखण्डको गँगटे सेरामा जोडिँदाभन्दा पुलबाट सीधै मध्यपहाडी सडकको सेरामा जोड्दा डेढ किलोमिटर कम हुने इन्जिनियर बस्नेतले बताए । मध्यपहाडी सडकमा जोडिँदा नयाँ बस्ती विकास हुने र उक्त क्षेत्रको जग्गाको मूल्याङ्कन वृद्धि हुनेछ ।
    पुलको लम्बाइ दुई सय ५४ मिटर र डेढ मिटर फुटपाथबाहेक ७.५ मिटरमा मोटर गुड्नेछ । प्रिस्ट्रेस आरसिसी पुलको ६ स्पान रहेको छ । साबिकको पासाङल्हामु राजमार्गअन्तर्गत ककनीबाट बालाजु २२ किलोमिटरको दूरीमा रहेकाले नुवाकोटको सदरमुकामबाट काठमाडौं जोड्न तादी खोलाको अहिले सञ्चालनमा आएको पुल सबैभन्दा बढी उपयोगी हुने ककनी गाउँपालिकाका अध्यक्ष सुमन तामाङले बताएका छन् ।
    उनका अनुसार पुलबाट सवारीसाधन आउजाउ गर्न थालेसँगै ककनी गाउँपालिका पूरै र बेलकोटगढी नगरका पाँच वडाका बासिन्दालाई अहिले प्रयोग गर्दै आएको पासाङल्हामु राजमार्गको भन्दा आधा दूरी छोटो पर्दछ । उनले भने, ‘ककनीमा उत्पादित कृषि सामग्री जिल्लाको सदरमुकामसम्म पु-याउँदा काठमाडौं घुमाएर अर्को सडकको प्रयोग गर्नपर्ने बाध्यता टरेको छ । सडकलाई बाह्रै महिना सञ्चालनमा ल्याउन आवश्यकता अनुसार स्तरोन्नतिमा तीनै तहका सरकारले प्राथमिकता दिएका छौं ।’

धान भित्र्याउने बेलामा फड्के किराको प्रकोप

विदुर नगरपालिका वडा नं. ७ को तुप्चे फाँटका किसानहरू । तस्बिर : देवचन्द्र भट्ट

विदुर । बियाँ लाग्ने बेला भएको अवस्थामा नुवाकोटको अधिकांश स्थानमा धानबालीमा रोगको प्रकोप बढेको छ ।
    गत असार र साउनमा रोपिएको धानमा फड्के किराले आक्रमण गरेपछि नुवाकोटमा हजारौ किसानले लगाएको धान नष्ट भएको छ ।
    विदुर र बेलकोटगढी नगरपालिका, लिखु र सुर्यगढी गाउँपालिकामा लगाइएको धानबालीमा फड्के किराको संक्रमण रहेको जिल्ला कृषि ज्ञान केन्द्र नुवाकोटले जनाएको छ । दुई सातादेखि नुवाकोटका एक जार पाँच सय रोपनी क्षेत्रफलमा लगाइएको धान खेतीमा फड्के किराले आक्रमण गरेको छ । सो किराले आक्रमण गरेपछि बियाँ लाग्दै गरेको धानको बोट मरेको कार्यालयकी अधिकृत रुक्मिणी अधिकारीको भनाइ छ । उनका अनुसार धानमा फड्के किराले आंक्रमण गरेपछि विषादि छर्कने अभियान सुरु गरिएको छ । कृषि ज्ञान केन्द्र नुवाकोटले विदुर र लिखुमा तीन सय प्याकेट विषादी किसानलाई वितरण गरेको छ । लाखौ रुपैयाँ बराबरको धानबाली किराले नष्ट गरेपछि किसानहरू निकै चिन्तित भएका छन् । किसानहरूलाई तीनै तहको सरकारले क्षतिपूर्ति र राहत दिनुपर्ने विदुर–५ का किसान कृष्णप्रसाद पुडासैनीले बताए ।

एक सातामा नियमित पानी

मुहानमा भइरहेको निर्माण कार्य ।

विदुर । गत साउनको २७ र २८ गतेको अविरल वर्षासँगै आएको बाढीले विदुर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले पानी ल्याएको फलाखु खोलाको बगाएको मुहान मर्मत सम्पन्न भएको दुई दिनमै फेरि सुक्खा पहिरोले मुहान क्षेत्र पुरिएपछि अहिले पानी वितरणमा समस्या परेको छ । प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल र जिल्ला समन्वय समितिका प्रमुख रजिन्द्रविक्रमसिंह ठकुरीको विशेष पहलमा मुहानमा विद्युत् लाइन पु-याएर मोटरपम्पबाट पानी तान्ने कार्य सुरु भइरहेको छ ।
    विदुर नगरपालिका वडा नम्बर १, २, ४, ५, ६, ८ र ९ का उपभोक्ताले उपभोग गरिरहेको पानीको मुहान मर्मत गर्न अझै एक हप्ताभन्दा बढी लाग्ने भएको छ । मुहानसँगैको क्षेत्रको डाँडै फुटेर ढुङ्गै–ढुङ्गाले दुई सय मिटर पाइप पुरिएपछि पुरानो मुहानभन्दा तलबाट पम्पले पानी तानेर पाइपलाइनमा ल्याउनका लागि आवश्यक भौतिक निर्माणको काम भइरहेको संस्थाका अध्यक्ष सञ्जीवबहादुर श्रेष्ठले जानकारी दिए । मुहानको उक्त पहिरोसहितको ढुङ्गा हटाएर टेवा पर्खाल नलगाए पानीको पाइप बिछ्याएर पानी ल्याउन सक्ने अवस्था नरहेकाले अस्थायी विकल्पको रूपमा मुहानसम्म नेपाल विद्युत् प्राधिकरणको सहयोगमा थ्री फेज विद्युत् लाइन विस्तार गरेर मोटर पम्पबाट पानी तान्न लागेकोसमेत उनले बताए । संस्थाले सिँचाइमा दुईवटा र ढुङ्गेको कृषि ज्ञान केन्द्रको परिसरमा एक गरी तीनवटा डिपबोरिङ गरे पनि पानीको आपूर्ति असहज भएको थियो । विदुरको ६ वडाका लगभग ५० हजार उपभोक्ताले उपभोग गरिरहेको पानीको माग प्रतिसेकेन्ड ८० लिटर र आपूर्ति २० लिटर प्रतिसेकेन्ड रहेको संस्थाका सचिव राजेन्द्र पाण्डेले जानकारी दिए ।
    अस्थायी मर्मतका लागि आवश्यक खर्च व्यवस्थापनका लागि नुवाकोटका प्रमुख जिल्ला अधिकारी पौडेल र जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख ठकुरीले सरोकारवाला निकायमा पहल गरिरहेका छन् । तेस्रो साना सहरी खानेपानी आयोजनाले २०७८ सालदेखि विदुरको खानेपानीको सहज र दिगो व्यवस्थापनका लागि काम गर्न ठेक्का लगाएको थियो ।
फलाखु मुहान सम्झौताअनुसारको संरचना निर्माण नभएको पाइएकाले मुहानको संरचना निर्माण गर्न निर्माण व्यवसायी सिको कालिका टुण्डी जेभीलाई संस्थाले पटक–पटक ताकेता र सम्पर्क गर्दा पनि वास्ता नगरेको कारण खानेपानी मुहानको भौतिक संरचना डिजाइनअनुसार नबनेको कारण बेलाबेलामा समस्या आइरहेको छ । यसअघि गत महिना पनि अविरल वर्षाको कारण आएको बाढीले फलाखु खोलाको मुहानमा क्षति पु-याएपछि विदुर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले बजार क्षेत्रमा पानीको अभाव हुन नदिन बट्टारको बोरिङबाट खानेपानी आलोपालो गरी वितरण गरिरहेको छ ।

बडा दशैंको उत्तम साइत सार्वजनिक

विदुर । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको बडा दशैंको साइत सार्वजनिक गरेको छ । जसअनुसार दशैंको उत्तम साइत कात्तिक ७ गते बिहान ११ः०२ बजे रहेको छ ।
    यस वर्षको बडा दशैं अर्थात् दुर्गा पक्षको सुरुआत भने असोज २८ गते आइतबार हुनेछ । जसलाई नवरात्रारम्भ पनि भनिन्छ । त्यस दिन बिहान ११ः२९ बजे घटस्थापना गर्ने साइत रहेको समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले राससलाई जानकारी दिए ।
    घटस्थापनाका दिन चित्रा नक्षत्र र वैधृति योग परेकाले दुवैको शान्ति गरेर घटस्थापना गर्न‘ शास्त्रसम्मत् हुने पनि उनले बताए । कात्तिक ७ गते विजयादशमीका दिन बिहान १०ः३७ बजे देवी विसर्जनको साइत रहेको छ । देवी विसर्जन सकेपछि दुर्गाको प्रसाद ग्रहण गर्न दिनभर कुनै बाधा नभए पनि साइत खोज्नेका लागि बिहान ११ः०२ बजेको साइत दिइएको समितिले जनाएको छ । गत साउन महिनामा अधिकमास परेका कारण यस वर्ष असोज अन्तिमदेखि नेपालीको महान् पर्व बडा दशैं सुरु हुँदैछ । कात्तिक पहिलो साता बडा दशैंैँको मुख्य दिनअर्थात् विजयादशमी परेको छ । कात्तिक ११ गते कोजाग्रत पूर्णिमा मनाएपछि १५ दिन लामो बडादसैँ पर्व समाप्त हुन्छ ।

नुवाकोटका बजारमा तिब्र र प्रभावकारी अनुगमन

म्यागङ गाउँपालिकाको औषधि पसल अनुगमन । तस्बिर : इमेज साप्ताहिक

विदुर । चाडपर्व नजिकिएसँगै नुवाकोटमा बजार अनुगमनलाई सरकारी निकायहरूले तीव्रता दिएको छ । सदरमुकामका साथै ग्रामिण भेगमा समेत बजार अनुगमन तिब्र भएको छ । अनुगमनका क्रममा फेला परेका अनियमित कार्यलाई कानूनी कारबाहीमा ल्याएको छ ।
    बजारमा गुणस्तरहीन सामग्री बिक्री वितरण भइरहेको उपभोक्ताबाट गुनासो आएपछि म्यागङ गापाको विभिन्न बजारमा अनुगमन गरिएको छ । गाउँपालिकाका विभिन्न बजारबाट गुणस्तरहीन वस्तु जफत गरी नष्ट गर्नुका साथै पसललाई जरिवाना समेत गरिएको छ । संयुक्त बजार अनुगमन टोलीले नुवाकोटको म्यागङ गाउँपालिका २ र ३ मा रहेका विभिन्न वजारमा  विभिन्न ३८ वटा किराना पसल, एग्रोभेट, खाद्यान्न पसल, मदिरा पसल र सप्लायर्सको अनुगमन गरेको घरेलु तथा साना उद्योग कार्यालयले जनाएको छ ।
    मापदण्ड विपरीत गरिएको फेला परेपछि एउटा औषधि पसललाई उपभोक्ता संरक्षण ऐन २०७५ बमोजिम जरिवाना गरी सात हजार रुपैयाँ जरिवाना गरिएको कार्यालय प्रमुख किशोर सापकोटाले जानकारी दिए ।
    अनुगमनका क्रममा म्यागङबाट म्याद नाघेका, लेबल नभएका तथा मापदण्ड विपरीतका विभिन्न सामग्रीसमेत गरि कुल ८५ हजार ४६० रुपैयाँ बराबरको अखाद्य वस्तु जिल्ला बजार अनुगमन समितिको रोहवरमा नष्ट गरेको छ ।
    उता, बजारमा गुणस्तरहीन वस्तुको बिक्री वितरण भइरहेको गुनासो आएपछि नुवाकोटमा बजार अनुगमन भएको छ । अनुमगमनका क्रममा किस्पाङबाट गुणस्तरहीन वस्तु जफत गरी नष्ट गरिएको हो । संयुक्त बजार अनुगमन टोलीले किस्पाङ गाउँपालिकाको १४ वटा किराना पसल, होटेल, मासु पसल र औषधि पसलको अनुगमन गरेको हो । एकै दिन किस्पाङ गापा २, ३ र ५ मा रहेका पसलमा अनुगमन गरिएको छ । अनुगमनका क्रममा अखाद्य वस्तु नष्ट गरिएको गरिएको छ । २ वटा पसललाई उपभोक्ता संरक्षण ऐन २०७५ बमोजिम १० हजार जरिवाना भएको कार्यालय प्रमुख किशोर सापकोटाले जानकारी दिए ।
उनका अनुसार किस्पाङ २ को ऋतु सप्लायर्सलाई ५ हजार, किस्पाङ २  कै न्यौपाने खाद्य स्टोर्सलाई नगद ५ हजार रुपैयाँ नगद जरिवाना गराइएको हो । अनुगमनका क्रममा अन्य कतिपय पसलहरूलाई समेत मापदण्ड अनुसार सञ्चालन गर्न निर्देशन दिइएको छ ।
    यसका साथै बजार अनुगमनको क्रममा म्याद नाघेका, लेबल नभएका तथा मापदण्ड विपरितका विभिन्न सामग्रीसमेत गरी कुल ३५ हजार ५ सय १५ रुपैयाँ बराबरको अखाद्य वस्तु जिल्ला बजार अनुगमन समितिको रोहवरमा नष्ट गरिएको घरेलु कार्यालयका प्रमुख किशोर सापकोटाले जानकारी दिए  । उनका अनुसार अनुगमनका क्रममा सबै पसलमा मापदण्ड तथा गुणस्तरीयताका सम्बन्धमा वजार अनुगमन गरिएको छ ।   बजार अनुगमनको क्रममा देखिएका कमजोरी तत्काल हटाउन निर्देशन दिंदै, सुधार गर्न र केही व्यवसायीलाई आवश्यक कागजातसहित घरेलु तथा साना उद्योग कार्यालय विदुर, नुवाकोटमा उपस्थित हुन निर्देशन दिइएको कार्यालय प्रमुख किशोर सापकोटाको भनाई छ ।
    सर्वसाधारणले भने वर्षको एक–दुई पटक औपचारिकता निभाउन मात्र बजार अनुगमन गर्ने गरेको गुनासो गर्दै यसलाई निरन्तरता दिन माग गरेका छन् । दसैं, तिहार तथा नयाँ वर्ष आसपासको समयमा मात्रै बजार अनुगमन हुने गरेको र अन्य बेलामा भने अनुगमन नहुने गरेको उपभोक्ता बताउँछन् । खाद्य वस्तुमा गुणस्तरीयताको स्वस्थ्यताको विषयमा उपभोक्ताहरूको उजुरी तथा गुनासो छन् ।
    यसै बीच, नुवाकोटको बट्टारबजारका पसलबाट गुणस्तरहीन सामान जफत गरी जरिवाना गरिएको छ । नुवाकोटको संयुक्त बजार अनुगमन समितिद्वारा अनुगमनका क्रममा अखाद्य वस्तु नियन्त्रणमा लिएर पसलवाट जरिवाना गरिएको गरिएको घरेलु तथा साना उद्योग कार्यालय नुवाकोटले जनाएको छ । मापदण्ड विपरित गरिएको फेला परेपछि २ वटा पसललाई उपभोक्ता संरक्षण ऐन २०७५ बमोजिम जरिवाना गरी १०÷१० हजार रुपैयाँ जरिवाना गरि राजश्व संकलन भएको कार्यालय प्रमुख किशोर सापकोटाले जानकारी दिए । उनका अनुसार विदुर–२ को आरके ट्रेडर्सलाई १० हजार, विदुर ४ को न्यु दाजुभाई जनरल स्टोर्सलाई नगद १० हजार रुपैयाँ नगद जरिवाना गराइएको हो । अनुगमनका क्रममा अन्य कतिपय पसललाई मापदण्ड अनुसार सन्चालन गर्न निर्देशन दिइएको छ ।
    यसका साथै बजार अनुगमनको क्रममा म्याद नाघेका, लेबल नभएका तथा मापदण्ड विपरितका विभिन्न सामग्रीसमेत गरि कूल १३ हजार ९२० रुपैयाँ बराबरको अखाद्य वस्तु जिल्ला बजार अनुगमन समितिको रोहवरमा जफत गरिएको छ । ति सामग्रीहरू नष्ट गरिने घरेलु कार्यालयका प्रमुख किशोर सापकोटाले जानकारी दिए  । सापकोटाका अनुसार अनुगमनका क्रममा गुणस्तरीयता, लेवल, व्यवसाय दर्ता नवीकरण, मुल्यसूची, नापतौल, खाद्यवस्तु खरिद बिल र बिक्रि बिलको निरीक्षण गरिएको हो । संयुक्त बजार अनुगमन समितिद्वारा दुई साताको अवधिमा ७२ वटा विभिन्न पसलहरूमा अनुगमन गरिएको छ । विभिन्न पसलहरूवाट एकलाख २५ हजार रुपैयाँ नगद जरिवाना गरिएको प्रमुख सापकोटाले जानकारी दिए ।

दलित बटुकको सामुहिक व्रतबन्ध

दलित बटुकको सामुहिक व्रतबन्ध

देवीघाट । उपल्लो जात भन्नेले मात्र धारण गर्ने जनै नुवाकोटका दलित समुदायका पुरुषले गत हप्ता वैदिक विधिपूर्वक धारण गरेका छन् । अनाथ बालबालिका उद्धार केन्द्र विनपा–३ र दलित सामुदायिक संस्था सूर्यगढी–४ को आयोजनामा असोज ५ र ६ गते धार्मिकस्थल देवीघाटमा रहेको जालपा मन्दिरमा ब्राह्मण गुरुपुरोहितबाट २७ जना पुरुषले जनै धारण र १७ जना महिलाले लक्ष्मी गायत्रीको मन्त्रसहित किताब पाएका छन् । पहिलोपटक नुवाकोटमा दलित बालकको उपनयन (व्रतबन्ध) सातजनाको भएको छ । दलित समुदायभित्रका पुरुष र महिलालाई मन्त्र दीक्षा प्रदान गरिएको अनाथ बालबालिका उद्धार केन्द्रमा अध्यक्ष अर्जुन नेपालीले जानकारी दिए ।
    उक्त कार्यक्रम विशिष्ट गुरु श्रीश्रीश्री १००८ तन्त्र युगरत्न ज्ञान उत्तमानन्द उपाधिबाट विभूषित गुरु विश्वमोहनीबाट महिलालाई लक्ष्मी गायत्री मन्त्र प्रदान गर्नुका साथै पुरुषलाई जनै धारण गराएका थिए । झन्डै पाँच लाख खर्च गरेर पहिलोपटक आयोजना गरिएको कार्यक्रममा दलित समुदायले खासै चासो नदिएको उपस्थितिको संख्याले देखिएको विदुर नगरपालिका कार्यपालिकाका सदस्य एवं विनपा–७ तुप्चेका शिवबहादुर विकले बताए ।
    व्रतबन्ध तथा मन्त्र दीक्षा कार्यक्रममा एक दर्जन गुरु पण्डितद्वारा विश्वशान्तिका लागि होम होमादी गरेका थिए । आयोजकलाई कार्यक्रमको खर्च जुटाउन आश्वासन दिने विदुर नगरपालिका र अन्य संघ–संस्थासँग आयोजकले अनुनयविनय गरिरहेको छ । हिन्दू धर्मको हिमायतीहरूले हिन्दू धर्मभित्र अट्न सक्ने स्थान दलित समुदायको हुँदाहुँदै पनि हेप्ने, चेप्ने र तिरस्कृत गर्ने गरेको कारण जिल्लामा रहेका दलित समुदाय अहिले क्रिश्चियन र अन्य धर्म मान्न बाध्य भइरहेका छन् ।
    हिन्दू धर्मको मूल भावनाअनुसार सांस्कारिक बनाउन पहिलोपटक जिल्लामा पवित्र कान्तिको थालनी गरेका आयोजक संस्था दलित सामुदायिक संस्थाका अध्यक्ष दीपक परियारले बताए । कार्यक्रमको समीक्षा गर्दै आयोजकले यस्ता कार्यक्रम बर्षेनी गर्दै जाने निर्णय गरेको छ । दलित एवम् पिछडिएका समुदायको चेतनाको अभिवृद्धि गर्दै देश निर्माणमा अरूसरह लाग्नेसमेत आयोजकले प्रण गरेको छ ।

मेयरले दिए विद्यार्थीलाई ट्रयाकसुट

वितरण समारोह

बट्टार । विदुर–२ को भिमसेन माध्यामिक विद्यालयका २६५ जना विद्यार्थीहरूलाई विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठले नगरपालिकाबाट पाएको सेवा–सुविधाको रकम र विद्यालयको व्यस्थापन समितिका अध्यक्ष सुरजमान श्रेष्ठको व्यक्तिगत खर्चमा विद्यार्थीहरूलाई ट्रयाकसुट वितरण गरिएको हो ।
    मेयर राजन श्रेष्ठले नगरपालिकाको मेयरमा निर्वाचित भएदेखि नै आफुले प्राप्त गरेको तलव भत्ता सामाजिक काममा खर्च गरिरहेको बताए । उनले यो पटक भिमसेन स्कुलका विद्यार्थीहरूलाई सहयोग पाउँदा खुशी व्यक्त गरे । उनले विदुर नगरपालिकाले नगर क्षेत्रभित्र रहेका सबै विद्यालयहरूको शैक्षिक गुणस्तर वृद्धि गर्न शिक्षक समायोजन गरिएको समेत जानकारी दिए ।
    किार्यक्रममा विदुर नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष दिपक कायस्थ, विद्यालय व्यवस्थापन समितिका सदस्यहरू, नुवाकोट उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष शरणउत्सुक सापकोटा लगायतको उपस्थिति रहेको थियो ।

अपहरणमा सम्लग्न तामाङ पक्राउ

विदुर । बीपी मेमोरियल क्यान्सर अस्पताल भरतपुर चितवनका तत्कालीन कार्यकारी निर्देशक डा. भक्तमान श्रेष्ठको अपरहरणमा सम्लग्न नुवाकोटका सुब्बा तामाङ १३ वर्षपछि दुर्य सात अघि पक्राउ परेका छन् ।
    श्रेष्ठको अपहरणमा दोषी ठहरिएका नुवाकोटको विदुर नगरपलिका–१२ का ३९ वर्षका तामाङलाई घर नजिकै आफन्तको घरमा लुकिरहेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काको अनुसार घटनापश्चात फरार रहेका उनलाई पक्राउ गरेर फैसला कार्यान्वयनको लागि चितवन जिल्ला अदालतमा बुझाइएको हो । ‘अपहरण तथा शरीर बन्धक मुद्दा’ मा चितवन जिल्ला अदालतले उनलाई दोषी ठहर गर्दै १३ वर्ष कैद र एक लाख रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो ।
    २०६७ जेठ ४ मा डा. श्रेष्ठको अपहरणमा संलग्न तामाङसहित छ जनालाई अदालतले २०६९ जेठ २४ मा कैदसहित जरिवाना तोकेका थियो । चिकित्सक भक्तमान श्रेष्ठको अपहरण र त्यसपश्चात तीन किलो सुन फिरौती माग्न सम्लग्न भएकाहरू मध्ये केही यसअघि नै पक्राउ परेका थिए भने केही अझै फरार रहेका छन् ।

शिक्षालय र -याडिसनबीच सम्झौता

सम्झौता पत्रमा हस्ताक्षर पछि

विदुर । नुवाकोटमा रहेको पोष्टबहादुर बोगटी बहुप्राविधिक शिक्षालयमा अध्यापन हुने होटल व्यवस्थापन संकायमा अध्ययन गरिरहेका प्रशिक्षार्थीहरूको प्रशिक्षणवृत्ति होटल -याडिसन होटेलमा हुने भएको छ ।
    उक्त संकायका विद्यार्थीहरूले होटल -याडिसनमा प्रशिक्षणवृत्ति गर्न शिक्षालयबीच सम्झौता भएको छ ।
    गएको शुक्रबार प्रशिक्षणवृत्ति लागि शिक्षालयका प्रमुख कपिल पाण्डे र होटलका निर्देशक किरण पन्तले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । प्राविधिक शिक्षा व्यवसायिक तालिम परिषद् अन्तर्गत नुवाकोट र रसुवा जिल्लाकै एकमात्र आङ्गगिक शिक्षालयमा अध्यापन हुने होटल व्यवस्थापन संकायको तेस्रो वर्षको दोस्रोखण्डमा अध्ययन गरिरहेका प्रशिक्षार्थीहरूको छ महिने प्रशिक्षणवृत्तिको लागि उक्त होटलसँग लिखित सम्झौता गरेको पोष्टबहादुर बोगटी बहुप्राविधिक शिक्षालयले जानकारी दिएका छ ।उक्त सम्झौता सिटिइभिटी प्रणालीमै पहिलो सम्झौताको रुपमा रहेकोे शिक्षालयको होटल व्यवस्थापन विभागका विभागीय प्रमुख प्रकाश रैलाले जानकारी दिए । त्यसैगरी शिक्षालयले नेपालका पाँचतारे होटलहरू सोल्टी, मल्ल, एभरेस्ट र पोखराको रुपाकोट रिसोर्टमा आफ्ना प्रशिक्षार्थीहरूलाई प्रशिक्षणवृत्तिको व्यवस्था मिलाइएको शिक्षालयका विभागीय प्रमुख रैलाले जानकारी दिए । उनका अनुसार प्रख्यात पाँचतारे होटलहरूको तालिमले प्रशिक्षार्थीहरूमा उत्साह थपिनुका साथै र राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमै प्रशिक्षार्थिहरू दक्ष हुने बताए ।
    नुवाकोट होटल आतिथ्यता क्षेत्रमा बामे सर्दै गरेको अवस्थामा रहेकाले सम्बन्धित निकायको साथ र सहयोग अझ पाउने हो भने पोस्टबहादुर बोगटी बहुप्राविधिक शिक्षालय नुवाकोट र रसुवामै कोशेढुङ्गाको रुपमा सावित हुने विभागीय प्रमुख रैलाले बताए ।

नुवाकोट सामुदायिक आँखा केन्द्र र त्रिशुली अस्पतालले संयुक्त सेवा दिँदै

गएको हप्ता बेलकोटगढीमा सामुदायिक आँखा केन्द्रले गरेको निःशुल्क शिविर । तस्बिर : इमेज

विदुर । सर्वसाधारणको सुविधाका लागि नुवाकोटका विभिन्न स्थानमा आँखा उपचार परीक्षण शिविर सञ्चालन गरिएका छन् । आँखाको परीक्षणबाट पहिचान भएकाहरूको मोतियाविन्दुको निःशुल्क शल्यक्रिया गरिने छ । नुवाकोट सामुदायिक आँखा केन्द्र विदुर र तिलगंगा आँखा प्रतिष्ठानको आयोजनामा बेलकोटगढी नगरपालिका ९ बाघखोरमा १ दिने मोतियाविन्दु पहिचान शिविर सम्पन्न भएको छ । उक्त शिविरमा ८५ जनाले आँखा परीक्षण गरेका छन् ।
    जसमध्ये ६ जनाको मोतियाविन्दुको शल्यक्रिया गरिनुपर्ने भएको छ । उनीहरूको विदुरमा तिलगंगा आँखा प्रतिष्ठानका वरिष्ठ नेत्ररोग विशेषज्ञद्वारा नुवाकोट सामुदायिक आँखा केन्द्रको शल्यक्रिया कक्षमा मोतियाविन्दुको शल्यक्रिया गरिने केन्द्रका प्रमुख तारा वाइवाले जानकारी दिए ।  यसका साथै म्यागङ गापाको देउरालीमा १ दिने मोतियाविन्दु छनौट शिविर सम्पन्न भएको छ ।  उक्त शिविरमा १२७ जनाले आँखा परीक्षण गरेकामा २५ जनाको मोतियाविन्दुको शल्यक्रिया गर्न‘पर्ने पहिचान भएको छ । असोज २२ र २३ गते विदुरमा तिलगंगा आँखा प्रतिष्ठानका वरिष्ठ नेत्ररोग विशेषज्ञद्वारा आंखाको मोतियाविन्दुको शल्यक्रिया गरिने केन्द्रका अध्यक्ष निरन्जनप्रसाद आचार्यको भनाइ छ । यसका साथै बिदुर नगरगाउँपालिकामा विद्यालय शिक्षक तथा विद्यालय नर्सहरूका लागि  एक दिने आँखाको प्राथमिक उपचार तालिम सम्पन्न भएको छ ।
    सामुदायिक आँखा केन्द्र नुवाकोटको शुक्रबार सामाजिक लेखा परिक्षण सम्पन्न भएको छ । जिल्ला समन्वय समितिका प्रमुख रजिन्द्रविक्रमसिंह ठकुरी, प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल लगायतको उपस्थिति केन्द्रको स्थापनाकालदेखि वर्तमान अवस्थाको बारेमा जानकारी र सामाजिक परीक्षण कार्यक्रम गरिएको आँखा केन्द्रका प्रमुख ताराबहादुर वाईबाले बताए ।
केन्द्रले चालुआर्थिक वर्षमा त्रिशुली अस्पतालसँग सहकार्य गरी जिल्लामा आँखा उपचार सेवालाई सहज र परिष्कृत गर्दै लगिने केन्द्रका अध्यक्ष निरञ्जनप्रसाद आचार्यले बताए । अब बन्ने केन्द्रको दुईतले पक्की भवनबाट नुवाकोट जिल्लाको साथै रसुवा र धादिङका आँखाका बिरामीहरूमा आँखा उपचारमा थप टेवा पुग्ने उनले बताए । कार्यक्रममा तिलगंगा आँखा प्रतिष्ठानका वरिष्ठ कार्यक्रम अधिकृत हरिबहादुर कार्की र परियोजना व्यवस्थापक रवि गौतमले प्रतिष्ठान र आँखा केन्द्रले जिल्लामा पुर्याएको सेवा, सुविधा र कार्यक्रमबारे प्रस्तुति गरेका थिए ।
    केन्द्रले ग्रामिण आँखा केन्द्रको अवधराणा, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका, शिक्षक, विद्यालयका नर्सहरू लगायतलाई प्राथमिक आँखा उपचार तालिम समेत दिई सकेका छन् ।
    केन्द्रले स्थापनादेखि अहिलेसम्म तीनलाख ५० हजार आँखाका बिरामीलाई उपचार सेवा प्रदान गरेको छ भने करिब पाँचसय बिरामीको शल्यक्रियाद्वारा आँखाको ज्योती फर्काइएको छ ।

पुर्व उपमेयरको पुस्तक लोकार्पण

पुस्तक लोकार्पण समारोह

काठमाडौं । बेलकोटगढी नगरपालिकाका पूर्वउपप्रमुख कविता ढुङ्गानाद्वारा लिखित पुस्तक ‘स्थानीय सरकार अपेक्षा र अवस्था’ को आज लोकार्पण भएको छ ।
    काठमाडौंमा आयोजिक एक कार्यक्रमकाबीच प्रधानमन्त्री पुष्पकमल दाहालले पुस्तकको लोकार्पण गरेका हुन् । स्थानीय सरकारले के कसरी काम गर्न सक्छ र जनताका लागि त्यो केकति महत्वपूर्ण हुन्छ भन्ने विषयलाई समेटेर, आफ्नो अनुभवसमेत त्यसमा उल्लेख गरिएको ढुङ्गानाको उक्त पुस्तक खोजी प्रकाशनले प्रकाशन गरेको हो ।
    नेकपा माओवादी केन्द्रका नेता तथा जिल्ला विकास समिति नुवाकोटका तत्कालिन जिल्ला सभापति स्वर्गिय भरतप्रसाद ढुङ्गानाकी छोरी कविताको उक्त पुस्तकले स्थानीय सरकारले गर्ने काम, त्यसको अनुभवसहित विषय पुस्तकमा उल्लेख गरिएको छ । ढुङ्गाना नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिकाको पहिलो उपमेयर हुन् ।
    कार्यक्रममा पुस्तक लोकार्पणपछि प्रमुख अतिथि प्रधानमन्त्री दाहालल ढुङ्गानाको पुस्तक स्थानीय सरकारका भोगाइ र अनुभवसहितको शैद्धान्तिक र व्यावहारिक कृति भएको भन्दै यस्तो महत्वपूर्ण कृतिका लागि लेखकलाई बधाई दिए । प्रधानमन्त्री दाहालले संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्ने जिम्मेवारी राष्ट्रिय कार्यभार भएको बताउँदै संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्ने कानुनहरू निर्माण गर्ने चरणमा रहेको बताए । प्रधानमन्त्री दाहालले संघीय लोकतान्त्रिक गणतन्त्रले परिकल्पना गरेका ऐन, कानुन लागू राम्रोसँग नगरिदिने र यो व्यवस्था नै ठिक छैन भनेर फेरि पुरानै सामन्ती निरंकुशतातिर फर्काउन चाहने कसरत देखापरेको उल्लेख गरे ।
    ‘यस्तो बेलामा स्थानीय सरकारको महत्व के हो र त्यसको आवश्यकता किन हो  भन्नेबारे स्थानीय जनप्रतिनिधि जसले आफैँले अनुभव गरे उनीहरूले जनतालाई अझै प्रशिक्षित गर्नुपर्ने आवश्यकता पहिलेभन्दा बढेको छ । हाम्रो अवस्था पनि फेरियो र दैनिक जीवनमा सकारात्मक परिवर्तन भएको छ भन्ने अनुभूत नभएसम्म यसलाई सिद्धान्तले मात्र पुष्टि गरेर हुन्न’, प्रधानमन्त्री दाहालले भने ।
    कार्यक्रममा नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले स्थानीय सरकारको काम कारबाहीका बारेमा बुझ्न पुस्तक सहयोगी हुने बताए । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका अध्यक्ष बालानन्द पौडेल र राष्ट्रियसभा सदस्य देवेन्द्र दाहालले जनताको घर आँगनको सरकारका रूपमा रहेको स्थानीय निकायलाई के कसरी सबल र सक्षम बनाउन सकिन्छ भन्नेबारेमा सरोकार भएका सबैको उत्तिकै साथ र सहयोग जरुरी रहेको बताए ।

कलाकार र खेलाडीको सम्मान

 कलाकार र खेलाडीको सम्मान

विदुर । सामुदायिक रेडियो नुवाकोट एफएमको १५औं वार्षिक साधारणसभाको अवसरमा लोकगायक स्रस्टा बलराम खतिवडा र तेक्वान्दो रेफ्री जगन्नाथ अधिकारीलाई सम्मान गरेको छ ।
    गएको शनिबार विदुरमा आयोजित समारोहकाबीच सम्मानित द्वय खतिवडा र अधिकारीलाई जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख रजिन्द्रविक्रमसिंह ठकुरीले दोसल्ला ओढाई सम्मान गरेका हुन् ।
    साहित्य सङ्गीतकलामा पोख्त भई कुरीति, कुसंस्कार विरुद्ध तथा सामाजिक समानताको लागि आवाज बुलन्द पारी लोकगीत संगित कामर्मज्ञ गायक खतिवडाको योगदानको कदर गर्दै सम्मान गरिएको एफएमका स्टेशन म्यानेजर श्रीराम अधिकारीले जानकारी दिए । दुप्चेश्वर गाउँपालिकाका निवासी स्रस्टा खतिवडाका ‘बाँसको लिङ्गो गरालो, मनै बरालो’ बोलको गीत प्रख्यात छन् ।
    समारोहमा नेपाली तेक्वान्दो राष्ट्रिय रेफ्री तथा संयुक्त अरब इमिरेट्स (युएइ) मा तेक्वान्दो खेलको पहिलो राष्ट्रिय रेफ्री बन्न सफल भएकोमा अन्तर्राष्ट्रियस्तरमा समग्र नुवाकोट जिल्ला र देशकै नाम राख्न सकेकोमा विदुर नगरपालिका–८ निवासी जग्गनाथ अधिकारीलाई सम्मान गरेको छ ।
    वि.सं. २०६० सालदेखि तेक्वान्दो डोज्याङबाट खेल जीवन सुरु गरेका अधिकारीले हाल युएइमा तेक्वान्दो खेलको प्रशिक्षण दिईरहेका छन् । यसैगरी नुवाकोट एफएमले समारोहमा दुई दर्जनभन्दा बढी पूर्वकर्मचारीहरूलाई समेत सम्मान गरेको छ ।
ओमकारेश्वर भजन समूह प्रथम
नुवाकोट एफएमको वार्षिक साधारणसभाको अवसरमा आयोजित खुला खैँजडी भजन प्रतियोगितामा नुवाकोटको बेलकोटगढीको ओमकारेश्वर भजन समूह प्रथम भएको छ ।
    भजन प्रतियोगितामा बेलकोटगढी नगरपालिकाको भजन समूह प्रथम भएको हो । दोश्रोमा बागभैरम भजन समुह भैरमकोट भएको छ । विजेताहरू प्रथम, द्वितीय र तृतीयले क्रमशः रुपैंयाँ २० हजार, १५ हजार र १० हजार नगद पुरस्कारसहित प्रमाणपत्र प्राप्त गरेको एफएमका स्टेशन प्रबन्धक श्रीराम अधिकारीले जानकारी दिएका छन् ।

दुई वर्षमा काँग्रेसले चुन्यो कोषाध्यक्ष

कोषाध्यक्षलाई मनोनित पछि स्वागत गर्दै सभापति महत ।

विदुर । पार्टीको जिल्ला अधिवेशन भएको झण्डै दुई वर्षपछि नुवाकोट काँग्रेसल कोषाध्यक्ष पाएको छ । काँग्रेस विधान अनुसार पार्टीको जिल्ला कार्यससमितिमा निर्वाचित सदस्यलाई कोषाध्यक्षमा मनोनित गर्ने व्यवस्था रहेको छ । काँग्रेसको पदाधिकारी मध्ये कोषाध्यक्ष मात्रै मनोनित गर्ने प्रावधान रहेको छ । सो अनुसार नेपाली कांग्रेस नुवाकोटले पार्टीको कोषाध्यक्ष र प्रवक्ता चयन गरेको छ ।
    शनिबार बसेको जिल्ला कार्यससमतिको बैठकमा सभापति रमेशकुमार महतले कोषाध्यक्षमा काँग्रेस जिल्ला कार्यससमति सदस्य प्रल्हाद पन्तलाई मनोनित गरेका हुन् । यस्तै प्रवक्ताको जिम्मेवारीमा नारायण अधिकारीलाई दिइएको छ । महिला विभाग समेत गठन गरेको छ । विभागको प्रमुखमा सुर्यगढी गाउँपालिकाका उपाध्यक्ष मञ्जु बुढाथोकीलाई मनोनित गरेको छ ।

वाईसीएल पञ्चकन्या अध्यक्षमा सुरेन्द्र

सुरेन्द्र तामाङ

घलेभन्ज्याङ । नेकपा (माओवादी केन्द्र) को युवा संगठन योङ्ग कम्युनिस्ट लिग (वाईसीएल) नेपाल पञ्चकन्या गाउँपालिका अध्यक्षमा सुरेन्द्र तामाङ चयन भएका छन् ।
    पञ्चकन्या–३ घलेभनञ्ज्याङमा गएको शनिबार भएको सम्मेलनबाट तामाङको नेतृत्वमा ७१ सदस्यीय नयाँ समिति सर्वसम्मत चयन भएको हो । समितिको उपाध्यक्षमा प्रकाश खतिवडा, विवश बोहोरा, भुवन ढकाल, सचिव रोशन तामाङ, सहसचिवमा केशव खनाल, सुनिल तामाङ, सुवास तामाङ, श्रीकृष्ण श्रेष्ठ र कोषाध्यक्षमा आइतमान तामाङ (उमेश) चयन भए । सम्मेलन माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा संघीय सांसद हितबहादुर तामाङले उद्घाटन गरेका थिए ।
कार्यक्रममा माओवादी केन्द्रका केन्द्रीय सदस्यहरू पुष्पबिक्रम मल्ल, ईश्वरचन्द्र ज्ञवाली, माओवादी केन्द्र बागमती प्रदेश सदस्य तथा नुवाकोट क्षेत्र नं–१ का पार्टी संयोजक प्रमोदलाल श्रेष्ठ, वाग्मती प्रदेश पार्टी सदस्य तथा नुवाकोट क्षेत्र नं–१ प्रदेश–१ का पार्टी इन्जार्ज एवम् पञ्चकन्या गाउँपालिका निर्वाचित अध्यक्ष तेजबहादुर तामाङ, प्रदेश समिति सदस्य सुवास तमाङ, वाईसीएल नेपालका वाग्मती प्रदेश सहइन्चार्ज सुरज तामाङ, जनसांस्कृतिक महासंघका केन्द्रीय सदस्य जितेन्द्रसिंह ठकुरी, माओवादी केन्द्र पञ्चकन्या गाउँ संगठन समिति अध्यक्ष मणिनाथ लामिछानेलगायत पदाधिकारीहरू, पञ्चकन्या गाउँपालिका उपाध्यक्ष विमला केसी, पार्टीका जनवर्गीय संगठन तथा मोर्चाका पदाधिकारी र सदस्यहरूको उपस्थिति रहेको थियो ।

नुवाकोटमा पर्यटकहरूलाई सम्मान

पर्यटकहरूलाई सम्मान

ढुङ्गे । विश्व पर्यटन दिवस २०२३ को अवसर पारेर नुवाकोटमा आएका पर्यटकहरूलाई सम्मान गरिएको छ ।
    ढुङ्गेको मन्जरी होटलमा आयोजित एक कार्यक्रममा नुवाकोट होटल तथा रेस्टुरेन्ट व्यवसायी संघले जिल्लामा भित्रिएका पर्यटकहरूको सम्मान गरेको हो ।
    काठमाडौँबाट रसुवाको लाङटाङ जाँदै गरेका जर्मनी नागरिक र केहि जिल्ला वाहिरका पर्यटकलाई सम्मान गरिएको हो । कार्यक्रममा बोल्दै होटल तथा रेस्टुरेन्ट व्यवसायी संघका केन्द्रिय उपाध्यक्ष सन्तोष उप्रेतीले नुवाकोट त्रिदेशिय मार्गको रुपमा विस्तार भइरहेको भन्दै पर्यटकहरूलाई लक्षित गरि विभिन्न कार्यक्रम आयोजना गरिने बताए । उनले जिल्लाका पर्यटन व्यवसायीहरूलाई एकतावद्ध बनाएर विभिन्न स्थानका पर्यटकिय क्षेत्रहरूको प्रर्वद्धन गरिने समेत उल्लेख गरे ।
    पर्यटन दिवसको अवसरमा आफुहरूलाई सम्मान गरेको भन्दै जर्मन नागरिकले खुशी व्यक्त गरे । उनले नेपालमा आफुहरूलाई राम्रो आतिथ्यता प्रदान गरेको भन्दै उनले सबैलाई नेपाल आउन प्रेरित गर्ने बताए । त्यस्तै नुवाकोट होटल तथा रेष्टुरेन्ट व्यवसायी संघका अध्यक्ष वासुदेव अधिकारीले विश्व पर्यटन दिवसको अवसर पारेर एक साता नुवाकोटका होटल तथा रेष्टुरेन्टहरूमा खानमा १० प्रतिशत र वसाईमा १५ प्रतिशत छुट दिने बताए । नुुवाकोट होटल तथा रेष्टुरेन्ट व्यवसायी संघमा जिल्लाका २७३ होटलहरू आवद्ध छन् ।

२०८० साल असोज २२ गतेको सम्पादकीय

किन मनाइन्छ चाडपर्व ?
पछिल्लो समय चाडपर्व खर्चिलो बन्दै गएको छ । घाँटी हेरी हाड निल्नु भन्ने मान्यता विपरीत जसरी पनि मिठोमसिना खानैपर्छ, जसरी पनि राम्रो लगाउनै पर्छ भन्ने चाहना र तडकभडकले चाडपर्व बोझ र तनावपूर्ण बन्दै गएको छ । कमजोर आर्थिक अवस्था भएका व्यक्तिहरूका लागि दशैँ तिहार दशाकै रूपमा परिणत हुँदै गएको छ । चाडपर्वलाई फजुल खर्च गर्ने अवसरको रूपमा होइन । आफूलाई उत्साहित गर्ने आपसी सम्बन्ध प्रगाढ बनाउने, माया प्रेम र सद्भाव बढाउने अवसरको रूपमा लिनु पर्दछ । चाडपर्वको बेला जुवातास खेल्ने, होहल्ला गर्ने, रक्सी खाने, झै झगडा गर्ने जस्ता नकारात्मक पाटोलाई भने हटाउन आवश्यक छ । हिन्दु धर्मको बहुलता रहेको विभिन्न जाति र भाषाभाषीको बसोबास रहेको नेपालमा हरेक दिनजसो कुनै न कुनै पर्वहरू परिरहेका हुन्छन् । किन मनाइन्छ चाडपर्व ? चाडपर्वका सामाजिक, धार्मिक, सांस्कृतिक र मानव स्वास्थ्य रक्षाका दृष्टिले हेर्न सकिन्छ । सामाजिक महत्व चाडपर्व पारिवारिक वा सामाजिक सम्बन्धलाई मजवुत पार्ने तथा नविकरण गर्ने सेतु हो । यस्तै जीवनरूपी उकालीओरालीको बीच आउने चौतारी हुन् चाडपर्व । उकाली चढ्दा वा ओराली झर्दा लागेको थकाइ मेट्न चौतारी सहायक भएजस्तै मानिसको व्यस्तताबीच आउने चाडपर्वले चौतारीकै काम गर्छन् । चाडपर्वका अवसरमा घरका सदस्य वा आफन्त एकै ठाउँमा भेला हुने खानपान, मनोरञ्जन गर्दै सुखदुःख बाँड्ने चलन छ । वर्ष दिनसम्म टाढा रहे पनि दशैँमा घर जाने बाबुआमा वा मान्यजनको आशीर्वाद थाप्नेजस्ता कार्य नेपालीहरूको वर्षौँदेखिको परम्परा हो । तिहारलाई बिहाबारी गरेर टाढा भएका दिदीबहिनी र दाजुभाइबीच मिलन हुने आत्मीयता बढ्ने पर्व मानिन्छ ।
    चाडपर्व संस्कृतिको उत्पत्तिमा ऋतु परिवर्तन र उत्पादन पद्दतिको महत्वपूर्ण भूमिका रहेको छ । आदिममानव जातिले खाना, छाना, नाना र सुुरक्षाका खातिर जोहो गरेका यावत् क्रियाकलाप र प्रयासहरूले पछिल्ला दिनहरूमा प्रारम्भिक स्वरूप र यथार्थ तथ्यलाई ओझेलमा राखेर विभिन्न धार्मिक जामा र रंगरोगन लगाइदै आएको भेटिन्छ । यथार्थमा हरेक चाडपर्व, उत्सव र जात्रा, गीत संगीत र नृत्यहरूको उद्गमको प्रमुख आधार ऋतु परिवर्तन र मानवजातिको श्रम नै हो । यसमा उनीहरूको बौद्धिक र शारीरिक श्रमले नेतृत्वदायी भूमिका खेलेको छ । त्यसैले हरेक चाडपर्वहरू प्रारम्भमा विशुद्ध सांस्कृतिक पर्व उत्सव नै थिए तर पछिल्ला दिनमा विभिन्न धर्म समुदायले सांस्कृतिक पर्वहरूलाई धार्मिक पर्वको रंग रोगन लेपन गरेर प्रस्तुत गर्दै आएको पाइन्छ र दशैं पर्व, तिहार पर्व, तीज पर्व, छठ पर्व वा अन्य कुनै पनि पर्वहरू सांस्कृतिक पर्व भएकाले कुनै अमुक धर्म सम्प्रदायको घेरामा राख्न वा अमुक धर्म सम्प्रदायको पर्व भनेर ठप्पा लगाउन उचित हुँदैन । विश्वका सबै पर्वहरू मानव जातिका साझा पूर्व हुन् । पर्व संस्कृतिले मानवजातिको प्रारम्भिक अवस्थाको ऐतिहासिक सूचना प्रवाह गरिरहेको छ । यसलाई परम्परागत ढंगले सीमित घेरामा राखेर होइन व्यापकता र आम मानवजातिको हितवद्र्धन सम्वद्र्धनको टेवा र सेवामा लगाउने बुझ्न बुझाउन र ग्रहण गर्र्न सके हरेक पर्व संस्कृति महत्त्व झल्किने देखिन्छ । अतः चाडपर्व संस्कृतिलाई साँघुरो घेरामा सीमित गर्नुभन्दा व्यापकतामा खोज्ने र चाडपर्व संस्कृतिलाई प्रकृति र उत्पादन पद्धति, निर्माण पद्धतिमा राखेर यसको महत्वबारे वस्तुवादी अध्ययन, अनुसन्धान र उपयोग गर्नतिर लागे चाडपर्व संस्कृतिको संरक्षणर लोकप्रियतामा वृृद्धि हुने देखिन्छ ।
    दशैँतिहारलाई वर्ष दिनसम्म नभेटिएका साथीसंगी इष्टमित्र भेट्ने अवसर मानिन्छ । शहरिएका र परदेशिएकाहरू जम्मा हुने र आफूले पाएका ज्ञान बाँड्ने, सामाजिक कार्यमा उपस्थित हुने र सकेको सहयोग गर्ने कार्यले समाज जोड्ने सूत्रलाई कसिलो पारेको हुन्छ । अझ काठमाडौंलगायतका स्थानमा चाडपर्वका अवसरमा निकालिने जात्रा, नाच त समाजका विभिन्न तह र तप्काका व्यक्तिहरूको एकताविना त कल्पनै गर्न सकिन्न । पेशा व्यवसायमा तल्लीन भइरहँदा निरस भएको मानव जीवनलाई चाडपर्वमा हुने आफन्त भेटघाट, खानपान, मनोरञ्जन आदिले पुनर्ताजगी दिन मद्दत गर्छन् । धार्मिक महत्व हामीले मनाउने अधिकांश चाडपर्वसँग धार्मिक मान्यताहरू जोडिएका रहेका  पाइन्छन् । हिन्दूहरूको दशैँतिहारको धार्मिक रूपमा मात्र होइन, सामाजिक, सांस्कृतिक र मनोवैज्ञानिक रूपमा पनि ठुलो महत्व रहेको छ । हाम्रा सबै चाडपर्वहरू कही न कही धर्मसँग जोडिएर आउने गर्दछन् । तर दशैँतिहार जस्ता महत्वका चाडपर्वलाई धर्मसँगमात्र सम्बन्धित नबनाएर परम्परा र संस्कृतिका रूपमा विकसित गरिंदै लैजानु पर्दछ ।

२०८० साल असोज २२ गते । वर्ष:१७ अंक:३