Monday, October 16, 2023

कारागार निर्माण अलपत्र

 नुवाकोटमा निर्माणाधिन केन्द्रीय कारागार

विदुर । केन्द्रीय कारागार नुवाकोटमा सार्न संघीय सरकारले भौतिक संरचना निर्माण गर्न थालेको आठ वर्ष पूरा भएको छ । हाल निर्माणाधीन काम अलपत्र अवस्थामा रहेको छ । निर्माण कम्पनीलाई छैटौँपटक म्याद थप गर्दासमेत पूर्वाधार निर्माण ९० प्रतिशत मात्र पूरा भएको छ । सात हजार कैदीबन्दी अट्ने क्षमतासहितको अत्याधुनिक कारागार बनाउने तोकिएको समयमा पूरा नहुँदा आयोजनाको लगानी अलपत्र अवस्थामा रहेको छ ।
    विदुर नगरपालिका–६ खम्पाली क्याम्पमा निर्माण भइरहेको कारागारमा २०७८ चैत मसान्तसम्ममा कैदीबन्दीलाई स्थानान्तरण गर्ने लक्ष्य राखिएको थियो । निर्धारित मिति दुई वर्ष गुज्रिसक्दा पनि कारागार निर्माणले अझै पूर्णता पाउन सकेको छैन । नेपाल सरकारद्वारा बृहत् गुरुयोजनासहित केन्द्रीय कारागार भवनको पहिलो चरणमा घेराबारा लगाउने काम सम्पन्न भएको छ । कारागार निर्माणको दोस्रो चरणको निर्माण कार्य पूरा भएको छैन । हालसम्मको प्रगति ९० प्रतशत रहेको सघन सहरी तथा भवन निर्माण आयोजना धादिङका इन्जिनियर अजय भट्टराईले बताए ।
    सम्झौता भएको संरचनाको काम सम्पन्न भए एक हजार तीन सय कैदीबन्दी नुवाकोट स्थानान्तरण हुनेछन् । लामा÷रमण जेभीले २०७६ असोज २९ मा निर्माण सम्पन्न गर्ने गरी २०७३ असोज ३० गते ४७ करोड ८१ लाख रुपैयाँमा सम्झौता गरेको थियो । छैटौँपटक थप गरिएको म्याद पनि २०८० असोज २ गते सकिएको छ । आर्थिक वर्ष २०७९/८० का लागि आठ करोड ७४ लाख बजेट थियो । सोमध्ये आठ करोड ७४ लाख रुपैयाँ खर्च भइसकेको छ ।
    सघन सहरी विकास तथा भवन निर्माण आयोजना धादिङले केन्द्रीय कारागारको तेस्रो चरणको निर्माण कार्यअन्तर्गत आर्थिक वर्ष २०८०/८१ देखि निर्माण कार्य थालनी गर्ने गरी गत वर्ष २०७९/८० अन्तिममा विभागीय तवरमा कार्यक्रम स्वीकृत गरी बोलपत्रसम्बन्धी सम्पूर्ण प्रक्रिया पूरा गरेको छ । आयोजनाले करिब साढे चार अर्ब लागतमा थप पाँच हजार पाँच सय थुनुवा कैदीबन्दी राख्ने संरचनालगायत भवन निर्माणका लागि बोलपत्र आह्वानसहित दर्ता प्रक्रिया पूरा गरिसकेको छ ।
    कारागारमा सीप भएकाहरूका लागि रोजगार कक्ष, खेलमैदान, विशेषज्ञसहितको अस्पताल, विद्यालय एवम् क्याम्पस, पुस्तकालय, सीप प्रवद्र्धन केन्द्र, योग केन्द्र र किरियापुत्री कक्षलगायतको सुविधा रहने जिल्ला कारागार नुवाकोटका प्रमुख गंगालाल योगीले जानकारी दिए । बोलपत्रको प्राविधिक प्रस्ताव अध्ययनपश्चात् आर्थिक प्रस्तावउपर मूल्याङ्कन गरी निर्माण कम्पनी छनोट कार्य भइसकेको छ ।
अर्थ मन्त्रालयले कारागार भवनको तेस्रो चरणको निर्माण कार्यका लागि आव २०८०/८१ का लागि ४० करोड रकम सुनिश्चित गरेको सघन सहरी विकास तथा भवन निर्माण आयोजनाका प्रमुख सुनील ठाकुरले बताए । ५३४ रोपनी क्षेत्रफलमा निर्माणाधीन केन्द्रीय कारागार अझै पाँच हजार सात सय कैदीबन्दीका लागि राख्न भवन बनाउनुपर्ने आयोजना प्रमुख ठाकुरले बताए ।

दशैंका लागि सापटी नपाएपछि हत्या

अभियुक्त श्यामबहादुर तामाङ

विदुर । नुवाकोटको पञ्चकन्या गाउँपालिका गएको हप्ता भएको वृद्ध हत्या दशैं खर्च माग्दा नपाएको रिसमा भएको खुलासा भएको छ ।
    घरमा एक्लै बस्दै आएका ७१ वर्षिय नुरकुमारी थापाको बिहीवार बिहान आफ्नै घरमा बिभत्स हत्याको घटनापछि जिल्ला प्रहरी कार्यालय नुवाकोटले हत्यामा संलग्न ति युवक र घटनालाई सार्वजनिक गरेको छ ।
    प्रहरीले शुक्रवार पत्रकार सम्मेलन मार्फत् हत्यामा सम्लग्न पञ्चकन्या गाउँपालिका वडा नं. ३ का २७ वर्षीय श्यामबहादुर तामाङलाई सार्वजनिक गरेको छ । उनलाई असोज २५ गते अपरान्ह ३ बजे पक्राउ गरिएको थियो । पक्राउ परेका तामाङको साथबाट मृतकले लगाएको कानको सुनको मुन्द्रा २ थान, हत्या गर्दा प्रयोग गरेको रगतले लत्पतिएको लागेको खुकुरी र रगतले लत्पतिएको सर्ट बरामद गरिएको नुवाकोट प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) सञ्जयसिंह थापाले जानकारी दिए ।
    प्रहरीले सार्वजनिक गरेको घटना विवरण अनुसार असोज २३ गते नजिकै जंगलमा कोदालो तथा खुर्पाको बिड खोजी फर्कने क्रममा अन्दाजी बेलुका ८ बजेको समयमा एकान्तमा रहेको घरमा विगत १० बर्षदेखी एक्लै बसोवास गर्दै आएकी मृतक नुरकुमारी थापाको घरमा पुगे । दशैं मान्न वृद्धासँग पैसा सापटी मागे । वृद्धाले दिन ईन्कार गरेपछी निज एक्लै भएको मौका छोपी आफूसंगै साथमा लिई आएको खुकुरीले टाँउकोमा प्रहार गरी हत्या गरेर फरार भएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।
    असोज २५ गते बिहान बिहान ९ बजे थापाको आफ्नै घरमा बिभत्स हत्या भई रक्तामय अवस्थामा लाश भेटिएको भनि प्रहरीलाई सूचना प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय नुवाकोटबाट खटिएको प्रहरी टोलीले घटनाको सुक्ष्म अनुसन्धान गरेको थियो । तामाङलाई उनकै घरबाटै प्रहरीले पक्राउ गरेको हो । प्रहरीले घटना अनुसन्धानको लागि केनाइन महाशाखाबाट तालिम प्राप्त कुकुरको समेत सहयोग लिएको थियो ।
अभियुक्तलाई जिल्ला अदालत नुवाकोटमा पेश गरि अनुसन्धानको लागि १५ दिनको म्याद लिई अनुसन्धान कार्य जारी रहेको नुवाकोट प्रहरीले जनाएको छ ।

चाडपर्वका लागि हावाघरमा सुपथ मूल्य पसल

साल्ट ट्रेडिङ कर्पोरेशनले बट्टारको हावाघरमा सुरु गरेको सुपथ मुल्य पसल उद्घाटन कार्यक्रम

बट्टार । नुवाकोटको बट्टार बजार स्थित हावाघरमा दशैं, तिहार, छठलगायत चाडपर्वमा उपभोक्तालाई सहुलियत दरमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले शनिबारदेखि सुपथ मूल्य पसल सञ्चालनमा आएको छ ।
    विदुर नगरपालिका–४ हावाघरमा साल्ट ट्रेडिङ कर्पोरेशनको सहकार्यमा सञ्चालनमा आएको सुपथ मूल्य पसलको उद्घाटन संघका अध्यक्ष राजेन्द्र श्रेष्ठले गरेका हुन् । अत्यावश्यक खाद्य तथा उपभोग्य वस्तु सहुलियत मूल्यमा उपलब्ध गराउन चाडवाड अवधिभर यस्ता पसल सञ्चालनमा आउँदा उपभोक्तामा आंशिक राहत पुग्ने संघका अध्यक्ष श्रेष्ठले बताए ।
    बाघ बच्छला किराना स्टोरमा सुरु भएको सुपथ पसलमा प्रचलित मूल्यभन्दा दुईदेखि ४३ रुपैयाँसम्म छुट दिएको छ । खानेतेल, चिउरा, मैदा, आटा र दालमा ७÷७ रुपैंया सहुलियत छ भने खानेनुनमा प्रति प्याकेट २ रुपैयाँ र चिनी प्रति किलोग्राममा ४३ रुपैयाँ कम मुल्यमा पाईने छ । पसलबाट बजार मूल्य नियन्त्रण र गुणस्तरीयता कायम गरी सरल, सहज र सर्वसुलभ रूपमा उपलब्ध गराउने साल्ट ट्रेडिङ कर्पोरेशनको उद्देश्य छ ।
    चाडबाडको समयमा उपभोक्ता बजारमा निजी क्षेत्रको एकाधिकार हुन नदिन सहुलियत मूल्य पसल सञ्चालनमा ल्याएको उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष सन्तोष उप्रेतीले बताए ।

यात्रु सहायता कक्ष सञ्चालन

 यात्रु सहायता कक्ष सञ्चालन

विदुर । चाडपर्व लक्षित गरी नुवाकोटको विभिन्न स्थानमा जिल्ला प्रहरी कार्यालयले यात्रु सहायता कक्ष सञ्चालनमा ल्याएको छ ।
    गएको आइतबारदेखि यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख सञ्जयसिंह थापाले जानकारी दिए । प्रहरीले विदुर नगरपालिकाको ढुङ्गे र बट्टार बसपार्क, तादी गाउँपालिकाको खरानीटार र लिखु गाउँपालिकाको ढिकुरेमा सहायता कक्ष सञ्चालन गरेको छ । चाडपर्वमा हुने सवारी–साधन तथा यात्रु भिडभाड हुने स्थानमा यात्रु सहायता कक्षको स्थापना गरी यात्रुको गुनासो सुन्न, यात्रा सहज बनाउन, यात्राको क्रममा माल–सामान, नगद चोरी भएमा तत्काल प्रहरीलाई जानकारी गराउनसमेत प्रहरीले अनुरोध गरेको छ ।
    सवारीसाधनले दिनुपर्ने सहुलियत शुल्क तथा सेवा नदिएमा, गन्तव्यमा पु-याउन सवारीले ढिलाइ गरेमा, बढी भाडादर लिएमा प्रहरीलाई जानकारी गराउन र यात्रालाई सहज बनाउने उद्देश्यले यात्रु सहायता कक्ष स्थापना गरिएको प्रहरीले जनाएको छ । यसअघि  जिल्ला प्रवेश गर्ने नाका कोल्पुटार र गुर्जेभञ्ज्याङमा जाँचको व्यवस्था गरेको थियो ।
सवारीसाधनको सिट क्षमता, बढी भाडादर, ट्राफिक नियम पालना भए–नभएकोसम्बन्धी चेकजाँच गरी नियमविपरीत सञ्चालन भएका सवारीसाधनलाई कानुनी कारबाहीको दायरामा ल्याइने प्रहरी प्रमुख थापाले जानकारी दिए ।

प्रसारणलाइन पुससम्म निर्माण हुनुपर्ने

कुलमान घिसिङ लगायतका टोली चिलिमे–त्रिशूली २२० केभी प्रसारणलाइनको निरिक्षणमा ।

विदुर । चिलिमे–त्रिशूली २२० केभी प्रसारणलाइन र सबस्टेसनहरूको निर्माण अगामी पुसभित्र सक्ने गरी समय सीमा तय गरिएको छ । त्रिशूली नदी र त्यसका सहायक खोलाहरूमा निर्माणाधीन तथा निर्माण हुने जलविद्युत् आयोजनाहरूको विद्युत् राष्ट्रिय प्रणालीमा प्रवाहका लागि चिलिमे–त्रिशूली २२० केभी प्रसारणलाइन आयोजना निर्माणाधीन छ ।
    आयोजनाअन्तर्गत रसुवाको आमाछोदिङमो गाउँपालिकास्थित थम्बुचेत र नुवाकोटको किस्पाङ गाउँपालिकाको पहिरेबेंंसीमा २२०/१३२/३३ केभीको क्रमशः चिलिमे हब र त्रिशूली थ्रीबी हब सबस्टेसन निर्माणाधीन छन् । साथै, चिलिमे–त्रिशूली थ्रीबी हब २८ किलोमिटर २२० केभी डबल सर्किट प्रसारणलाइन निर्माण भइरहेको छ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र प्रसारण निर्देशनालयका उपकार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठ सम्मिलित उच्चस्तरीय टोलीले शनिबार र आइतबार निर्माणाधीन सबस्टेसन तथा प्रसारणलाइनको स्थलगत अनुगमन गरी आगामी पुसभित्र काम सक्ने समयसीमा तय गरेको हो ।
    आयोजना व्यवस्थापन, परामर्शदाता र ठेकेदार कम्पनीबीच छलफल गरी निर्माण कार्यमा ढिलाइ नगर्न, कामदार थपेर कामलाई तीब्रता दिन निर्देशन दिंदै टोलीले बाँकी रहेका हरेक काम सम्पन्न गर्ने तालिका तय गरी सोहीअनुसार कार्यसम्पादन गर्न निर्देशन दिएको छ । टोलीले निर्माण प्रगतिको नियमित अनुमगन गर्ने छ । कार्यकारी निर्देशक घिसिङले प्रसारणलाइन अभावमा चिलिमे जलविद्युत् कम्पनीको अगुवाइमा निर्माणाधीन १११ मेगावाटको रसुवागढी र ४२.५ मेगावाटको सान्जेन जलविद्युत् आयोजनाको विद्युत् खेर जाने अवस्था आउन नदिन सबै गम्भीर भएर बाँकी रहेका काम सम्पन्न गर्न लाग्नु पर्ने बताए । दुवै आयोजनाहरूबाट आगामी पुसभित्रमा विद्युत् उत्पादनको लक्ष्य राखी अन्तिम चरणका काम भइरहेका छन् ।
    ‘यस वर्षको हिउँदको विद्युत् माग व्यवस्थापनका लागि दुई आयोजनाबाट उत्पादित विद्युतले धेरै सहयोग गर्छ, प्रसारणलाइन अभावमा विद्युत् जोड्न नसक्ने अवस्था आएमा राज्यलाई नै ठूलो घाटा हुन्छ, यसतर्फ सबै गम्भीर र संवेदनशील बनौं,’ घिसिङले भने ।
‘धेरै गाह्रो ठाउँहरूमा टावर निर्माण गर्नु पर्ने छ, टावरको जग हाल्ने, खडा गर्ने, तार तान्ने, सबस्टेसनका उपकरणहरू जडान गर्ने लगायतका सबै कामहरू समानान्तर रुपमा जनशक्ति थपेर अगाडि बढाउनुहोस्, ठेकेदार कम्पनीले बेहोरिरहेको नगद प्रवाह, सामाजिक समस्या समाधानका लागि सहजीकरण गर्न हामी सधैं तयार छौं’ उनले भने ।
    भौगोलिक रुपमा अत्यन्तै जोखिमयुक्त र कठिन हिमाली क्षेत्रमा टावर बनाउनु पर्ने, भीरैभीर रहेको र सडक पनि नभएकाले ढुंगा गिट्टी, बालुवा, टावरका सामान, पानीलगायतका निर्माण सामग्री मान्छे या खच्चडबाट बोकाएर लैजानु पर्ने, बाढीपहिरो, ठेकेदारको कमजोर कार्यसम्पादन, वन क्षेत्रको जग्गा प्रयोगको समस्या, स्थानीयको अवरोध, कोभिड–१९लगायतका कारण आयोजनाको निर्माण प्रभावित हुँदै आएको छ । पछिल्ला दुई वर्षमा आयोजनाको ठेकेदार चिनियाँ कम्पनी पिङगाओ ग्रुप अफ कम्पनीजले कार्यसम्पादनमा केही सुधार गरेको छ । कम्पनीले पुसभित्र निर्माण सक्ने प्रतिबद्धता जनाएको छ ।
    दुवै सबस्टेसनहरू उपकरण राख्ने सिभिल संरचनाको निर्माण अन्तिम चरणमा छ । सबस्टेसनमा रहने पावर ट्रान्सफर्मर, जीआईएसलगायतका मुख्य–मुख्य उपकरणहरू आयोजना स्थलमा ल्याइसकिएको छ । यता प्रसारणलाइनका टावर, कन्डक्टरलगायतका सम्पूर्ण उपकरणहरू निर्माण स्थलमा आपूर्ति भइसकेका छन् । कुल २८ किलोमिटर प्रसारणलाइनमा पर्ने ७६ वटा टावरहरूमध्ये ५६ वटाको जग हालिएको छ । बाँकी टावरको जग हाल्ने काम भइरहेको छ । ४८ वटा टावर खडा गरिएको छ । १० किलोमिटर तार तानिएको छ । खडा गरिएका टावरमा तार तान्ने काम भइरहेको छ । आयोजनाको समग्र निर्माण प्रगति ९० प्रतिशत छ ।
    चिलिमे –त्रिशूली थ्री बी हब प्रसारणलाइन अन्तर्गत चिलिमे–मैलुङ खण्ड २० किलोमिटर डबल सर्किट र मैलुङ–त्रिशूली थ्री बी हबसम्म ८ किलोमिटर चार (मल्टी) सर्किट निर्माण गर्ने छ । कोरियन कम्पनीहरूको अगुवाइमा निर्माणाधीन २१६ मेगावाटको माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजनाको विद्युत जोड्नका लागि मल्टी सर्किट लाइन बनाउन लागिएको हो । माथिल्लो त्रिशूली–१ले मल्टी सर्किट लाइन बनाउँदा भएको खर्चको ६० प्रतिशत रकम बेहोर्ने छ ।
    प्रसारणलाइन र सबस्टेसन निर्माणका लागि पिङगाओसँग २०७४ को कात्तिकमा ठेक्का सम्झौता भएको थियो । ठेक्का सम्झौता २०७४ को पुसमा कार्यान्वयनमा आएको थियो । अनुमानित लागत तीन करोड ९० लाख अमेरिकी डलर रहेको आयोजनामा नेपाल सरकार र प्राधिकरणको लगानी एवम् जर्मन विकास बैंक र युरोपेली लगानी बैंकको सहुलितपूर्ण ऋण रहेको छ ।

नुवाकोटमा काँग्रेसको चियापान

 नुवाकोटमा काँग्रेसको चियापान

विदुर । नेपाली काँग्रेस नुवाकोटले बडा दशैं, दिपावली, नेपाल सम्वत तथा छठ पर्वका अवसरमा शनिवार बिहान चियापान कार्यक्रमको आयोजना गरेको छ ।
    नेपाली कांग्रेस पार्टी कार्यालय विदुरस्थित पार्टी कार्यालयमा आयोजित चियापान कार्यक्रममा बागमती प्रदेशका आन्तरिक मामिला तथा योजना मन्त्री बहादुरसिंह लामा तामाङ, नेकपा माओवादीका नेता तथा प्रतिनिधिसभा क्षेत्र नं. १ का सांसद हितबहादुर तामाङ, नेकपा एमालेका अध्यक्ष बद्री मैनाली, माओवादीका नेता हिरानाथ खतिवडा, जिल्ला समन्वय समितिका प्रमुख रजिन्द्रबिक्रमसिंह ठकुरीको उपस्थिति थियो ।
    विगतमा पार्टीका नेता कार्यकर्ताहरूलाई जम्मा गरेर आयोजना गर्दै आएको काँग्रेसले यस पटक भने अन्य दलका नेताहरूलाई समेत निमन्त्रण गरेर राजनीतिकदलभित्रको आपसी एकता र सहकार्यको यात्रा सुरु गरेको छ । पुराना दलहरूप्रति आम जनताको विश्वास हराउँदे गरहेका बेला चियापान कार्यक्रममा सहभागि नेता तथा कार्यकर्ताल लोकतन्त्रलाई संस्थागत रुपमा विकास गर्नका लागि राजनीतिक दलहरूबीच आपसी एकता र सहकार्य हुनुपर्नेमा जोड दिए । हितबहादुर तमाङले काँग्रेसले दलहरूबीच  एकताको खाँचो महसुस गरेर कार्यक्रम आयोजना गरेकोमा धन्यवाद दिए ।
काँग्रेस बागमती प्रदेशका संसदीय दलका नेता तथा आन्तरिक मामिला तथा योजनामन्त्री बहादुरसिंह लामा तामाङले नेपालीहरूमो महत्वपूर्ण चाडको रुपमा रहेको बडा दशैंका अवसरमा शुभकामना सासाट गर्ने अवसर प्रदान गरेकोमा जिल्ला कार्यसमितिलाई धन्यवाद दिँदै आसपी एकता र भाइचाराबाट नै मुलुकलाई बलियो बाउन सकिने धारणा राखे । नेकपा एमाले नुवाकोटका अध्यक्ष बद्री मैनालीले लोकतन्त्रलाई बलियो बनाउन दलहरूबीच आपसी एकता र सहकार्य आवश्यक रहेकोमा जोड दिए ।
    काँग्रेस जिल्ला सभपाति रमेश महतको सभापतितवमा भएको कार्यक्रममा अतिथिहरूलाई सभापति महत उपसभापतिद्धय सन्तबहादुर तामाङ र राजु थापा, सचिव श्रीराम श्रेष्ठ, बैकुण्ठ मिश्र लगायतका पदाधिकारीले अतिथिहरूलाई स्वागत गरेका थिए ।

उपमेयरले गरे अक्षयकोषको स्थापना

जिलिङ । बेलकोटगढी नगरपालिकाका उपमेयर एवं नेपाली काँग्रेस नुवाकोटका पूर्व जिल्ला सचिव शिवप्रसाद दाहालले आफ्ना स्वर्गिय पिता नेत्रप्रसाद दाहालको स्मृतिमा अक्षयकोष स्थापना गरेका छन् । कल्याणीदेबी माध्यमिक बिद्यालयमा कोषको स्थापना भएको हो ।
    विद्यालयद्वारा शुक्रबार आयोजित दशैँ तिहारको विशेष शुभकामना आदान प्रदान कार्यक्रममा प्रमुख अथितिको रुपमा सहभागी हुँदै उपप्रमुख दाहालले सो अवसरमा ५० हजारौंको चेक विद्यालयलाई हस्तान्तरण गरे । सो रकम स्वर्गिय पिता नेत्रप्रसाद दाहालको नाममा अक्षयकोष रहने गरी जुनियर रेडक्रस सर्कल कल्याणीदेबी माविको नाममा हस्तान्तरण गरिएको छ ।
    उपमेयर दाहालले यसअघि आफ्ना पिताको स्मृतिमा देबीघाट जेष्ठ नागरिक प्रतिष्ठानलाई पनि ५० हजार रुपैयाँ सहयोग गरेका थिए ।

सुर्यगढी गाउँपालिकाले किन्यो डोजर

सुर्यगढी गाउँपालिकाले खरिद गरेको डोजर

चोकदे । नुवाकोटको सुर्यगढी गाउँपालिकाले आफ्नै  जेसिबि (ब्याक हु लोडर) खरिद गरेको छ ।
    खरिद गरेर ल्याइएको जेसिबि गएको आईतवारदेखि सञ्चालनमा ल्याइएको छ । जेसिबि सञ्चालनमा आएसँगै गाउँपालिकाको ५ वटै वडाको तत्काल ६२ किलो मिटर बाटो सफा गरिने गाउँपालिकाका अध्यक्ष सन्तबहादुर घले तामाङले जानकारी दिए । उनले पहिला प्राथमिकताको आधारमा पर्ने सडकहरू सफा गरेर शाखा सडकहरू सफा गरेर चाडपर्वमा सबै वडामा वस चल्ने वातावरण मिलाइने अध्यक्ष घलेले बताए ।
    गाउँपालिका क्षेत्रका सडक निर्माण, विस्तार, स्तरवृद्धि र अन्य पूर्वाधारको कामका लागि आफ्नै डोजर खरिद गरिएको अध्यक्ष घलेले बताए । गाउँमा सडक निर्माण, स्तरवृद्धि र पूर्वाधार निर्माणका कामलाई मितव्ययी तथा व्यवस्थित बनाउन आफ्नै डोजर खरिद गरेर ल्याइएको उनले बताए । यसअघि पालिकामा डोजर नहुँदा वर्षायाममा निकै समस्या हुँदै आएको थियो । सडक अवरुद्ध हुँदा धेरै दिन कुर्नु पर्ने र पाए पनि चर्को भाडा तिर्न‘ पर्ने समस्या अबदेखि हटेर जाने गाउँपालिकाका अध्यक्षेले जानकारी दिए ।
    डोजरको नियमित सञ्चालनका लागि चालक समेत नियुक्त गरिएको छ । अबदेखि पालिकाका ५ वटै वडाका जुनसुकै टोलमा सडक निर्माण गर्नुपरेमा वा पुरानो सडक मर्मत तथा स्तरोन्नती गर्न‘परेमा आफ्नै डोजरको प्रयोग गरिने भएको छ ।

हुलाक दिवसमा कर्मचारीहरूको सम्मान

कर्मचारीहरूको सम्मान

विदुर । १४९औँ विश्व हुलाक दिवसको अवसरमा जिल्ला हुलाक कार्यालय नुवाकोटमा कार्यरत कर्मचारीहरूको गएको सोमवार सम्मान गरिएको छ ।
    कार्यालयले खरीदार शंकर ओली, हुलाकी कृष्ण गजुरेल, रामचन्द्र खड्की र ठाकुर तिमल्सिना सम्मान गरेको छ । साथै ८० वर्ष उमेर भएका लामोसमयदेखि कार्यरत अतिरिक्त हुलाकका कर्मचारीहरूलाई सम्मान गरेको हो । कार्य सम्पादनका आधारमा कार्यरत कर्मचारीलाई सम्मान गरिएको कार्यालयका प्रमुख नन्दकिशोर यादवले जानकारी दिए ।
    सूचना प्रविधिको विकाससँगै हुलाक सेवा लिनेको संख्या उल्लेख्य मात्रामा घटेको छ । यद्यपि, सरकारी कामकाज, पत्रिका दर्ताका लागि भने अझै हुलाक सेवाको प्रयोग हुँदै आएको छ । सन् १८७४ अक्टोबर ९ तारिखमा विश्व हुलाक संघ स्थापना भएको दिनको सम्झनामा हरेक वर्ष हुलाक दिवस मनाउने गरिएको छ । नेपालले भने सन् १९७६ मा विश्व हुलाक संघको सदस्यता पाएपछि मात्र हुलाक दिवस मनाउन थालेको हो ।
    यसै बीच, हुलाक कार्यालयले पहिलो सेवाग्राहीलाई सम्मान गरेको छ । टिकट खरीदको लागि कार्यालय पुगेका विदुर नगरपालिका–४ विदुरका श्रीकृष्ण आचार्यलाईसम्मान गरेको हो । हिमालयन एभरेष्ट ईन्स्योरेन्स लिमिटेडका नुवाकोट शाखा प्रमुख रहेका आचार्य कार्यालयको कामले टिकट खरिद गर्न हुलाक पुगेका थिए ।

सामुदायिक कुकुरको बन्ध्याकरण

कुकुरको बन्ध्याकरण

विदुर । विदुर नगरपालिकाले आफ्नो क्षेत्रका सामुदायिक १६५ कुकुरहरूको स्थायी बन्ध्याकरण गर्नुको साथै रेबिज विरुद्धको खोप लगाईएको छ ।
    नगरपालिकाले चालुआर्थिक वर्षको स्वीकृत कार्यक्रम अनुसार सामुदायिक कुकुरहरूको स्थायी बन्ध्याकरण तथा रेविज विरुद्धको खोप लगाईएको जनाएको छ । रेबिज रोग नियन्त्रणका लागि सामुदायिक कुकुरहरूको स्थायी बन्ध्याकरण र रेबिज विरुद्धको खोप लगाईएको नगरप्रमुख राजन श्रेष्ठले बताए । गत असोज ७ गतेदेखि ९ गतेसम्म सञ्चालन भएको कार्यक्रममा नेशनल जुनोसिस एण्ड फुड हाइजिन रिसर्ज सेन्टर काठमाडौंको सहजीकरण गरेका थिए ।

मोतीविन्दुको शल्यक्रिया

विदुर । नुवाकोटमा एक हजार ३१६ जना आँखाका बिरामीको परीक्षण गरी मोतीविन्दुको शल्यक्रिया भएको छ । जिल्ला सामुदायिक आँखा केन्द्र, तिलगंगा आँखा प्रतिष्ठान र नेपाल रेडक्रस नुवाकोटको संयुक्त आयोजनामा जिल्लाका विभिन्न स्थानमा सञ्चालन गरेको शिविरबाट छनौट गरिएको ८५ जनाको मोतीविन्दु भएका बिरामीको शल्यक्रिया गरिएको केन्द्रका प्रमुख ताराबहादुर वाइबाले जानकारी दिएका छन् ।
    असोज २३ र २३ गते दुई दिन भएको शल्यक्रियामा चार जना बिरामीको आँखामा मासु पलाएको शल्यक्रिया गरी उपचार गरिएको छ । शल्यक्रियामा तिलगंगा आँखा प्रतिष्ठाका नेत्ररोग विशेषज्ञ डा. होम गुरुङको नेतृत्वको समुह सफल शल्यक्रिया गरेको छ ।
    विदुर र बेलकोटगढी नगरपालिका, लिखु, तादी, तारकेश्वर, सूर्यगढी र म्यागङ गाउँपालिकामा भदौ २६ गतेदेखि असोज १८ गतेसम्म मोतीयाविन्दु छनौट कार्यक्रमबाट पहिचान भएका मोतीविन्दुका बिरामीहरूको शल्यक्रियाबाट आँखाको ज्योति फर्काइएको केन्द्रका प्रमुख वाइबाले बताए ।
    यस्तै, केन्द्रले स्थापनादेखि अहिलेसम्म तीनलाख ५१ हजार बढी आँखाका बिरामीलाई उपचार सेवा प्रदान गरेको छ भने ५८५ बिरामीको सफल शल्यक्रियाद्वारा आँखाको ज्योती फर्काइएको छ ।

साईकल दुर्घटनामा एकको मृत्यु

विदुर । नुवाकोट जिल्लामा साइकल दुर्घटनाका गएको सोमवार एक जनाको निधन भएको छ । जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार विदुर नगरपालिका वडा नं. ७ सानुगाउँ स्थित सोही वडा साहुँगाउँका वर्ष ६० को दक्षमान तामाङले आफै चलाएको साईकल ओरालोमा अनियन्त्रित भई ५ मिटर तल लड्दा घटनास्थल मै मृत्यु भएको हो ।

गाडी दुर्घटना हुँदा तीनको मृत्यु

रसुवा । रसुवाको आमाछोदिङमो गाउँपालिका–२ नेसिङ खोलामा गाडी दुर्घटना हुँदा ३ जनाको गएको सोमवार घटनास्थलमै मृत्यु भएको छ । आमाछोदिङमा २ नेसिङबाट ग्रेतर्फ आलु बोकेर जाँदै गरेको बा ५ ख ५७८ नम्बरको आइचर गाडी दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा आमाछोदिङमा–२ का ३० वर्षिय फुर्पा छोवाङ, सोही स्थानकी ४० वर्षिया पेम्बाडोल्मा तामाङ र ३० वर्षिय अक्कलबहादुर तामाङ रहेको रसुवा जिल्लाका प्रहरी नायव उपरीक्षक सुवास बुढाथोकीले जानकारी दिए । दुर्घटनामा परी ५ जना घाइते भएका छन् । गाडी सडकबाट करिब २ सय मिटर तल खसेको बुढाथोकीले बताए ।

बन्दरगाहको निर्माणकार्य ५० प्रतिशत

रसुवा बन्दरगाहा

धुन्चे, । नेपाल र चीनबीचको आयात–निर्यात सहज गर्ने उद्देश्यले रसुवाको रसुवागढीमा निर्माणाधीन सुक्खा बन्दरगाह (ड्राईपोर्ट)को निर्माणकार्य ५० प्रतिशत सम्पन्न भएको छ ।
    रसुवा सुक्खा बन्दरगाह निर्माण गर्न नेपाल र चीनबीच समझदारी भएको आठ वर्षपछि चिनियाँ पक्षले गत वर्षदेखि निर्माणलाई बल्ल तीव्रता दिएको छ । सुक्खा बन्दरगाह दुई हजार ८० वर्गमिटरमा फैलिएको छ । प्रस्तावित डिजाइनअनुसार पाँच सय वर्गमिटर क्षेत्रफलमा प्रशासकीय भवन, ७५० वर्गमिटरमा गोदाम बन्नेछ । बन्दरगाहमा ३५० वटा कन्टेनर अट्नेछन् । जाँचपास बिन्दु दुईवटा हुनेछन् ।
    चीन सरकारको सहयोगमा  दुई देशको आयात–निर्यात सहज गर्ने नेपाल इन्टरमोडल यातायात विकास समितिको व्यवस्थापनमा बन्दरगाह निर्माणको काम भइरहेको छ ।
    कोरोना सङ्क्रमणका कारण लामो समयदेखि काम रोकिएकामा अहिले नियमित रूपमा निर्माण भइरहेको समितिले जनाएको छ । बन्दरगाह निर्माणको काम तिब्बत फुली कन्स्ट्रक्सन कम्पनीले गरिरहेको छ । सन् २०२५ सम्म बन्दरगाह निर्माण गरिसक्नुपर्ने सम्झौता भएकाले पनि त्यसअघि नै निर्माणकार्य सम्पन्न गर्ने गरी काम भइरहेको कम्पनीले जनाएको छ । समितिको कार्यकारी निर्देशक आशिष गजुरेलले बन्दरगाहको निर्माणको काम ५० प्रतिशत सकिएको जानकारी दिए ।
    रसुवामा निर्माण हुन लागेको बन्दरगाह निर्माण सम्पन्न भएपछि आयात–निर्यातलाई सहज बनाउने जानकारी दिए । ‘नेपाल–चीनबीचको महत्वपूर्ण रसुवा नाकामा राम्रो पूर्वाधारसहितको बन्दरगाह तयार भएपछि व्यापार लागत घट्न सघाउ पुग्छ,’ उनले भने । रसुवानाका नेपालको नजिक पर्ने हुँदा बन्दरगाह निर्माण भए पनि नियमित रूपमा सामान आउने हुँदा यसले व्यापारी र उपभोक्ता दुवैलाई फाइदा हुने उनको भनाइ छ ।
    अहिले बन्दरगाहभित्र भवन निर्माण, रिटनिङ वालमा माटो भर्ने, बाटो निर्माणको काम भइरहेको उनले जानकारी दिए । बन्दरगाहको लागत दुई अर्ब १६ करोड ६० लाख रुपैयाँ रहेको छ । बन्दरगाहभित्र ३१३ साना र २३ वटा ठूला कन्टेनर रहनेछन् । बन्दरगाहभित्र इमिग्रेसन, पार्किङको व्यवस्था रहनेछ । त्यस्तै, कार्गो गोदाम र दुईवटा भवन निर्माण गर्ने योजना छ । समितिका अनुसार बन्दरगाहको एकीकृत भवनमा भन्सार, अध्यागमन, क्वारेन्टाइन कार्यालय, बैंक र सुरक्षा निकाय रहनेछन् ।
    रसुवामा बन्दरगाह निर्माण भएपछि भारतको विशाखापट्नम हुँदै आउने सामान छोटो समयमा रसुवा नाकाबाट आउने हुँदा लागत र समय कम लाग्ने व्यवसायीको भनाइ छ । अहिले चीनको सामान भारत हुँदै नेपाल ल्याउँदा ४५ दिनसम्म समय लाग्ने गरेको व्यवसायी बताउँछन् । रसुवा नाकाबाट सामान आउँदा चिनियाँ सामानको ढुवानी लागत घट्ने हुँदा उपभोक्ताले सस्तो मूल्यमा सामान पाउने व्यवसायीको भनाइ छ ।
रसुवा नाकाबाट सामान आउँदा १० देखि १२ दिनमा काठमाडौं आउने व्यवसायीको अनुमान छ । चीनमा नेपालको व्यापार १३ प्रतिशत रहेको छ । तातोपानी नाका, रसुवा र हुम्लाको हिल्सा नाकाबाट सामान आयात–निर्यात हुने गर्छ । अहिले सबैभन्दा धेरै रसुुवा नाकाबाट सामान आउने गरेको छ । चिनियाँ पक्षले भूकम्पपछि तातोपानी नाका छाडेर रसुवा नाकाकेन्द्रित काम गरिरहेको छ । अहिले चीनसँगको व्यापार जोड्ने एक मात्रै नाका रसुवा बनेको छ । चिनियाँ पक्षले रसुवामा अनुदानमै ठूला संरचना निर्माण केन्द्रित गरेको छ ।
    रसुवा भन्सार कार्यालयका अनुसार हाल दैनिक रसुवा नाकाबाट दैनिक २० देखि ३० कन्टेनर सामान आयात हुने गरेको छ । कार्यालयका प्रमुख रामप्रसाद पाठकले दसैँको सिजन भएकाले पनि सामान आउने क्रम बढ्दै गएको जानकारी दिए । हाल दशैँलाई लक्षित गरेर सामान आयात हुनेगरेको भनाइ छ ।
    कार्यालयका अनुसार चालू आर्थिक वर्षको असोज १६ सम्म १२ अर्ब २२ करोड तीन लाख रुपैयाँको सामान आयात भएको छ । सामान आयातबाट चार अर्ब ३३ करोड राजस्व संकलन भएको कार्यालयले जनाएको छ । सो अवधिमा सबैभन्दा धेरै सवारीसाधन आयात भएको छ । तीन अर्ब आठ करोड २४ लाख रुपैयाँबराबरको एक हजार ८६ वटा सवारीसाधन आयात भएको कार्यालयले जनाएको छ । गाडी आयात गरेर एक अर्ब २४ करोड राजस्व संकलन भएको छ । चालू आवमा ११ अर्ब ९४ करोड रुपैयाँ राजस्व संकलन लक्ष्य लिएकामा असोज १६ सम्म चार अर्ब ४४ करोड राजस्व संकलन गरेको कार्यालयले जनाएको छ ।
    कार्यालयका अनुसार गत आर्थिक वर्ष ०७९÷८० मा ३३ अर्ब ७१ करोड रुपैयाँको सामान आयात भएको थियो । सो अवधिमा सामान आयात गरेर आठ अर्ब २४ करोड रुपैयाँ राजस्व संकलन भएको कार्यालयले जनाएको छ । आयात बढ्दै गए पनि नेपालबाट सामान निर्यात भने न्यून रहेको छ ।

फोहोरबाट ऊर्जा निकाल्न कोरियन टोली ककनीको डम्पिङ क्षेत्रमा

 फोहोरबाट ऊर्जा निकाल्न कोरियन टोली ककनीको डम्पिङ क्षेत्रमा

ककनी । एनआरएनए विनोद कुँवरले काठमाडौँको फोहोर व्यवस्थापनमा चाँसो व्यक्त गरेका छन् । विनोद कुँवरको पहलमा आधुनिक प्रविधिबाट काठमाडौँको फोहोर व्यवस्थापनबारे छलफल थालिएको छ । कुँवरसहित कोरियन कम्पनी सेन्जेन ग्रीन एन्ड इनर्जीका उपाध्यक्ष वाङ चोइ र प्रोडुसर जोङ होउसहितका प्रतिनिधि मण्डलले फोहर व्यवस्थापन केन्द्रको अवलोकन  गरेको छ ।
    प्रतिनिधि मण्डलले स्थानीय र कर्मचारीहरूसँग फोहोर व्यवस्थापनबारे छलफल गरेको छ । कुँवरसहितको टोलीले फोहोर व्यवस्थापनबारे सहरी विकास मन्त्रालयमा मन्त्री सिता गुरुङ तथा मन्त्रालयका प्रतिनिधिहरूसँग पनि टोलीले छलफल गरेको छ । कुँवरका अनुसार कम्पनीले विश्वका अन्य देशहरूमा प्रयोगमा ल्याएको फोहोर व्यवस्थापन प्रविधि र त्यसबाट कसरी हरित ऊर्जा उत्पादन गर्न सकिन्छ भन्ने बारेमा प्रस्तुतिकरण गरेको थियो । उपाध्यक्ष चोइले परियोजनालाई आवश्यक सम्पूर्ण सहयोग गर्न कम्पनी तयार रहेको र आवश्यक पुँजीको समेत सहुलियत दरमा व्यवस्थापन गर्न सकिने जानकारी दिए ।
    छलफलको क्रममा मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठले नेपाल सरकारले किसिमका प्रविधिहरूको अध्ययन र अवलोकन गरिरहेको भन्दै छिट्टै ग्लोबल टेन्डर आह्वान गरेर कार्य अगाडि बढाउने बताए । एनआरएनए र कोरियन कम्पनीले चाँसो देखाएपछि सिसडोलबासीले फोहोर व्यवस्थापन हुने अपेक्षा गरेका छन् ।

सुरुङ मार्गको डीपीआर ईआईएको सर्त के के हुन् ?

नुवाकोट । शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जमा टोखा–गुर्जे–छहरे सुरुङ मार्गको विस्तृत परियोजना प्रस्ताव (डीपीआर) र वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) गर्न वन तथा वातावरण मन्त्रालयले अनुमति दिएको छ ।
    भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको अनुरोधमा वन मन्त्रालयले बुधबार मन्त्री प्रकाश ज्वालाको निर्देशनमा सचिवस्तरीय निर्णय गर्दै डीपीआर र ईआईए कार्य अघि बढाउने अनुमति दिएको हो । ‘शिवपुरी नागार्ज‘न राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र पर्ने टोखा–गुर्जे सुरुङमार्गको वातावरणीय प्रभाव मूल्यांकन अध्ययन सहमति उपलब्ध गराइदिनको लागि यस मन्त्रालयलाई अनुरोध भई आएकोमा निम्नानुसारका सर्तहरूको अधिनमा रही वन्यजन्तुमैत्री पूर्वाधार निर्माण निर्देशिका, २०७८ को दफा ४ को उपदफा १ अनुकूल हुने र राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को मर्म र प्रावधान हुनेगरी विस्तृत आयोजना प्रस्ताव र ईआईएको प्रक्रिया अगाडि बढाउन बाधा नहुने गरी सहमति प्रदान गर्ने भनी वन तथा वातावरण मन्त्रालय (सचिवस्तर) मिति २०८०/५/२७ को निर्णयानुसार अनुरोध छ,’ वन अधिकृत ज्ञानेन्द्र कायस्थद्वारा हस्ताक्षरित पत्रमा उल्लेख छ ।  
    वन मन्त्रालयले आठ वटा सर्तहरू राखी डीपीआर र ईआई प्रक्रिया अगाडि बढाउन सहमति दिएको उल्लेख गर्दै भौतिक मन्त्रालयका सिनियर डिभिजन इन्जिनियर सुनिलबाबु पन्तले सुरुङको थप अध्ययन कार्य अगाडि बढाउन परराष्ट्र मन्त्रालयमार्फत चिनियाँ पक्षलाई जानकारी पठाउन अनुरोधसहित बुधबार नै अर्थ मन्त्रालयलाई पत्र काटेको छ । उक्त प्रस्तावित सुरुङको चीन सरकारको सहयोगमा पूर्वसम्भाव्यता अध्ययन कार्य सम्पन्न भइसकेको छ । अब भौतिक पूर्वाधार मन्त्रालयले ईआईए गर्ने छ । डीपीआर भने चिनियाँ सरकारको अनुदान वा ऋण सहायता भन्ने विषयले निर्धारण गर्नेछ ।
    यो करिब ४ किमि सुरुङमार्ग निर्माणका लागि कम्तीमा २० अर्ब लागत अनुमान गरिएको छ । साथै सडकसमेतको लागत अनुमान भने २५ देखि ३० अर्ब रहने जानकारी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले दिएको प्रतिनिधिसभा सांसद हितबहादुर तामाङले  बताए ।
के के छन् तोकिएका सर्तहरू ?
१. प्रस्तावित आयोजना निर्माण र सञ्चालन गर्दा दुर्लभ र लोपोन्मुख वन्यजन्तु र यिनीहरूको बासस्थान, जैविक विविधता र पारिस्थितिकीय प्रणालीमा के कस्ता नकारात्मक असर र प्रभाव पर्न सक्छन्, सो सम्बन्धमा वन्यजन्तुमैत्री पूर्वाधार निर्माण निर्देशिका, २०७८ अनुसार विस्तृत अध्ययन तथा विश्लेषण गरी गराई नकारात्मक असर र प्रभाव न्यूनिकरणका उपाय पालना तथा कार्यान्वयनको व्यवस्था प्रतिवेदनमा समेट्नु पर्ने ।
२. प्रस्तावित आयोजनाको सम्भाव्यता अध्ययन गर्दा विभिन्न विकल्पहरू अध्ययन गरी सो विकल्पहरू मध्ये तथ्य र तथ्याङ्कको आधारमा जैविक विविधता र समग्र वातावरणमा न्यून नकारात्मक प्रभाव पुर्याउने एवं राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्रको वन क्षेत्र न्यूनतम प्रयोग गर्ने विकल्पको छनौट गरी अध्ययन गर्नुपर्ने ।
३. प्रस्तावकले अध्ययन प्रतिवेदनमा Alternative designs हरू प्रस्ताव गरी कम वातावरणीय क्षति हुने एवं राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्रको वन क्षेत्र न्यूनतम प्रयोग गर्ने Design छनौट गरेको विस्तृत विवरण प्रतिवेदनमा समेट्नु पर्ने ।
४. सम्भाव्यता अध्ययन गर्दा शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज कार्यालयका अधिकृतस्तरका प्राविधिक कर्मचारीलाई सम्लग्न गराउनु पर्ने ।
५. अध्ययन गर्दाको सबै चरणहरूमा शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज कार्यालय, सम्बन्धित स्थानीय तह, मध्यवर्ती उपभोक्ता समितिका प्रतिनिधिहरू र सरोकारवाला कार्यालय, संघसंस्थाहरूसंग अनिवार्य अन्तरक्रिया गरी प्राप्त राय प्रतिवेदनमा समेट्नु पर्ने ।
६. सम्भाव्यता अध्ययन गर्दा वन्यजन्तुमैत्री पूर्वाधार निर्माण निर्देशिका,
२०७८ ले तोकेको प्रक्रिया पूरा गरी सोही निर्देशिकाले व्यवस्था गरे अनुसारको विज्ञहरूको प्राविधिक टोलीबाट गर्नु गराउनु पर्ने ।
७. सम्भाव्यता अध्ययनबाट प्रस्तावित आयोजना सम्भाव्य देखिएमा वन्यजन्तुमैत्री पूर्वाधार निर्माण निर्देशिका, २०७८ अनुसारका वयहरू समावेश गरि प्रतिवेदन तयार गर्नु पर्ने ।
८. जैविक विविधता एवं समग्र पारिस्थितिकीय प्रणालीमा पर्नसक्ने असरलाई न्यूनिकरण गर्नको लागि टनेल निर्माण गर्दा Blasting को ET Tunnel Boring Machine (TBM) लगायतका उपयुक्त प्रविधिको प्रयोग गर्न प्राथमिकता दिने ।

२०८० साल असोज २९ गतेको सम्पादकीय

बडादशैंको शुभकामना
संस्कृति पहिचान हो । संस्कृति सभ्यता हो । संस्कृति मानव जातिको स्थायी सम्पत्ति हो । संस्कृतिको जन्म, विकास, विस्तार र विनास समय कालखण्डमा हुँदै आएको छ । कुनै संस्कृति व्यक्तिबाट सुरू भयो । जसको लिखित ईतिहास छ । कुनै संस्कृति कसले सुरू गर्यो ? कहिले सुरू भयो, त्यसको कुनै लिखित ईतिहास छैन । जुन निरन्तर संस्कारको रूपमा चल्दै आएको छ । चाड र पर्वहरू संस्कृतिका आधार हुन् । दशैं लोक संस्कृति हो । आज आफ्नो संस्कृतिको अवहेलना गर्ने र बाह्य संस्कृतिको अन्धानुकरण गर्ने प्रवृत्ति बढ्दै गएको छ । यसले बिस्तारै नेपाली पहिचान हराउँदै जाने देखिन्छ । बहुलवाद र बहुुल साँस्कृतिक परम्परा हाम्रो साझा पहिचान हो । विविधता भित्रको एकता, सद्भाव र सहिष्णुता हाम्रो बिशेषता हो । भनिन्छ दशैँ हिन्दुहरूको महान चाड हो । यो पर्व सबैभन्दा लामो समयसम्म मनाइने पर्वका रुपमा पनि लिइन्छ । अर्को तर्फ नारी शक्ति र शसक्तिकरणको प्रतिकका रुपमा पनि यो पर्व केन्द्रित छ । दशैंमा नवदुर्गा (हिन्दु धर्म की शक्तिस्वरुपा देवी दुर्गा) को नौ वटा रूप शैलपुत्री, व्रह्मचारणी, चन्द्रघन्टा, कुशमन्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी र सिद्धिधात्री विशेष पुजा तथा आराधाना गरिन्छ । नवदुर्गा भवानीका यी नव रूपको आश्विन शुक्लपक्ष प्रतिप्रदाकाका दिनदेखि महानवमीका दिनसम्म क्रमशः एक एक दिन गरी नौ दिनसम्म पूजा गर्ने गरिन्छ । दशौँ दिन विजयादशमीमा भगवतीले दानवी शक्तिमाथी र रामले रावणमाथी विजय हासिल गरेको उपलक्ष्य र खुसीयालीमा नवदुर्गा भवानीको प्रसाद स्वरुप मान्यजनबाट रातो टिका र जमरा लगाएर र आशिर्वाद थापेर मनाइन्छ । टाढा–टाढाबाट आउने पाउनाहरूले पूर्णिमा सम्मै पनि टीका लगाएर आशिर्वाद लिने–दिने प्रचलन छ ।

दशैं पर्वमा देखिएको रौनकसँग यसका पछाडि कैंयौं दुःख, पीडा, समस्या, विकृतिहरू पनि छन् । पछिल्ला वर्षहरूमा दशैं निको महङ्गो हुने गरेको छ । पहिले नयाँ कपडा लगाउनु पर्छ, पिङ खेल्नु पर्दछ, इष्टमित्र, आफन्त भेटेर घरमा जेजस्तो छ त्यसैमा रमाइलो गरी मनाउनु पर्दछ भन्ने मान्यता र व्यवहार थियो । तर, आजकल पर्वमा गाडी किन्ने, टाढा–टाढा भ्रमण जाने, घरमै खसी–बोका काट्ने लगाएतका महङ्गा गतिविधि हुने गरेका छन् । पर्वको अवसरमा घरमा सवारी भित्राउनु, मिठो खानु र घुम्नु सकारात्मक पक्ष हुन् । तर, यस्ता गतिविधिलाई महङ्गो बनाउनु, साखका रुपमा लिनु, देखाउनुले पर्वका नाम खर्च र भड्किलो भएको होकि भन्ने देखिन्छ । कैंयौंले नयाँ तथा महङ्गो गाडी किनिरहेको अवस्थामा, पर्वका नाममा कैंयौं दिनदेखि खर्च गरिरहँदा दैनिक काम गरे मात्रै खान पुग्ने, एकदिन मिठो खान, राम्रो लगाउन पनि धौं–धौं हुने, जिविकोपार्जनकै लागि वैदेशिक रोजगारमा जाने गरिब तथा विपन्न वर्गलाई पर्वमा झन् पीडा हुन सक्दछ । आफ्नो क्षमताअनसार पर्व मनाउनु सबैको अधिकार हो । तर, आफ्नो क्षमता प्रदर्शन गर्दा आफूभन्दा कमजोरलाई पीडा नहुनेगरी मनाउनु उत्तम हुन्छ । अर्कोतर्फ पर्वले आफन्त, इष्टमित्र, छिमेकी सबैको मन जोड्ने महत्व राख्दछन् । तसर्थ दशैं केवल धार्मिक मान्यता र क्षणिक खुशियालीको माध्यम मात्रै नभई सबैको जीवनमा शान्ति कायम गर्ने आशिर्वाद र शक्तिको स्रोत बनोस् । दशैं आफन्तको विछोड र आर्थिक अभावले त्रसित हुने गरिबका लागि समृद्धिको प्रेरणादायी स्रोत बनोस्, बास्तवमै सबैको साझा पर्व बनोस् । बडादशैंको सम्पूर्ण पाठकहरूमा हार्दिक मंगलमय शुभकामना ।

२०८० साल असोज २९ गते । वर्ष:१७ अंक:४