Wednesday, November 08, 2023

महंगोमा मेसिन किन्नकै लागि सरुवा

 महंगोमा मेसिन किन्नकै लागि सरुवा

उपेन्द्र खड्का/उकेरा डटकम
काठमाडौँ । तीन जिल्लाका अस्पतालका लागि तीन वटा सिटी स्क्यान मेसिन किन्न बागमती प्रदेश सरकारले २४ करोड बजेट छुट्टायो । नुवाकोट, सिन्धुली र भक्तपुर अस्पतालमा आठ करोडका दरले तीन वटा सिटी स्क्यान मेसिन खरिद प्रक्रिया अगाडि बढिसकेको छ ।
    त्यसमध्ये नुवाकोटको त्रिशूली अस्पतालका लागि सिटी किन्ने प्रक्रिया टेन्डर भएर प्रिबिड मिटिङ समेत सकिइसक्यो । इमानदार भएर किन्ने हो भने यी तीनै मेसिन करिब  १५ करोडमा जडान गर्न सकिन्छ । तर केन्द्रदेखि प्रदेशसम्मको स्वास्थ्यमन्त्रीको इन्ट्रेस्टमा सिधै नौ करोड बढी मूल्यमा सिटी किन्ने तयारी गरेका छन् । यसमा प्रत्यक्ष सम्लग्न देखिए स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत । प्रदेशको स्वास्थ्य मन्त्रालयका सचिव बद्री खड्का, सम्बन्धित अस्पतालका प्रमुखसम्म उनका सहयोगी देखिएका छन् । सेटिङ मिलाउन मन्त्री बस्नेतको नाताले भान्जा पर्ने ज्ञानेन्द्र थापा देखिएका छन् ।
    सेटिङमा मेसिन आपूर्ति गर्नेमा ‘मेट्रोनिक्स नेपाल प्रालीका कार्यकारी निर्देशक धिरज थपलिया अनि भण्डारी सर्जिकल हाउसका मालिक आरएस भण्डारी सक्रिय छन् । त्रिशूली अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. प्रतीक सिंह यो समूहको मुख्य सहयोगी बनेका छन् । सिटी स्क्यान खरिदकै लागी उनलाई त्रिशूली अस्पतालमा सरुवा गरिएको हो ।
    सिन्धुली र भक्तपुर अस्पतालले पनि त्रिशूलीकै मूल्यमा सिटी स्क्यान मेसिन खरिदको तयारी गरेका छन् । भक्तपुर अस्पतालका मेडिकल सुपरीटेण्डेण्टमा डा. त्रिभुवनचन्द्र झा छन्। उनले सिटी स्क्यान राख्ने ठाउँ लगायतका बारेमा अध्ययन अगाडि बढाइसकेका छन् ।
    सिन्धुली अस्पतालमा निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. अविशेक थपलिया छन् । सिन्धुलीमा खरिद प्रक्रिया अगाडि बढाउन खरिद इकाई गठन भइसकेको खुल्यो । मिलेमतोमा हुन लागेको खरिदमा बिचौलियाको रूपमा नातामा स्वास्थ्यमन्त्रीका भान्जा पर्ने थापा सबैभन्दा धेरै सक्रिय देखिए । सम्बन्धित अस्पतालको प्रमुखसँग भेट्ने, आफू निकट आपूर्तिकर्ताको प्राविधिक स्पेशिफिकेशन अनुसारकै स्पेशिफिकेशन बनाउन लगाउन उनी सक्रिय देखिए । स्वास्थ्यमन्त्री बस्नेतले प्रदेशको स्वास्थ्यमन्त्री उत्तम जोशीलाई बाइपास गर्दै प्रदेश सचिव मार्फत काम अगाडि बढाएको विश्वस्त स्रोतले उकेरालाई जानकारी दियो । जोशीसँग उकेराले खरिदबारे कुरा गर्दा उनले त्यही संकेत गरे ।
क्यानननै सिटी किन्न स्पेक लक
सो समूहले तीनवटै अस्पतालमा क्यानन–तोसिवाको सिटी स्क्यान मेसिन खरिद गराउन सोही अनुकूल स्पेशिफिकेशन बनाउन लगाएका छन् । त्रिशूलीको स्पेशिफिकेशन लक्ड छ । अन्त पनि सोही स्पेशिफिकेशन अनुसार टेन्डर आव्हान गर्ने तयारी अगाडि बढिसकेको देखियो । क्यानन–तोसिवा एउटै कम्पनीका दुई ब्रान्च भएकाले यीमध्येबाटै सिटी खरिदको तयारी गरिएको छ । दुई वर्ष अघि मेसिन उत्पादक कम्पनी ‘तोसिवा’लाई ‘क्यानन’ले लिएको हो । क्यानन जापानी मेसिन हो । क्याननको आधिकारिक नेपाली सप्लायर्स (कम्पनी) ‘मेट्रोनिक्स नेपाल प्रा.ली.’ हो । यसका प्रमुख धिरज हुन् । भण्डारी सर्जिकल हाउसका मालिक आरएस भण्डारी हुन् । उनी ह्याम्स अस्पतालका अध्यक्ष समेत हुन् । स्वास्थ्य मन्त्री बस्नेतका भान्जा ज्ञानेन्द्र थापा, धिरज र आरएसका मुख्य सहयोगी हुन् । मेसिन उत्पादक कम्पनी क्याननको आधिकारिक नेपाली सप्लायर्स (कम्पनी) ‘मेट्रोनिक्स नेपाल प्रा.ली.’ भए पनि मेट्रोनिक्सले यो सिटीको टेन्डर प्रस्ताव नगरी आरएस भण्डारीले भण्डारी सर्जिकल वा उनी निकट अन्य कम्पनीमार्फत त्रिशूलीको सिटी खरिदका लागि टेन्डर पार्ने रणनीति रहेको देखिन्छ ।
    यी सबै चाँजोपाँजो मिलाउन सक्रिय देखिएका थापासँग उकेराले सम्पर्क गर्दा उनले ‘आफू स्वास्थ्य मन्त्री बस्नेतको आफ्नै भान्जा नभए पनि नाताले भान्जा पर्ने’ बताए । उनले आरएस भण्डारीसँग पनि चिनजान भएको स्विकारे । ‘आरएस भण्डारी चिन्छु,’ थापाले भने । उनले मिलेमतोमा सिटी स्क्यान मेसिन किन्न आफू संलग्न रहेको झुटो भएको दाबी गर्दै भने ‘म मन्त्रालयमा केहीमा पनि छैन । खरिदमा न मेरो फर्म छ, न यो विषयमा मलाई केही थाहा छ । मैले यो विषयमा अहिलेसम्म काम गरेको पनि छैन । जिरो छु, खासै मलाई केही थाहा पनि छैन ।’
    उनले जे दाबी गरे पनि उकेराले प्राप्त गरेको तथ्यहरूले उनी सिटी मेसिन खरिद प्रक्रिया आफू अनुकूल बनाउन सक्रिय रहेको देखिन्छ । थापाले ‘माथिको आदेश’ भन्दै त्रिशूली, सिन्धुली र भक्तपुरमा सिटी खरिदका लागि सिटीको खरिद प्रक्रिया चाँडो अगाडी बढाउनका दबाब दिँदै आएका छन् । तीन अस्पतालमध्येका एकका कर्मचारीले भने ‘छिटो गर्नुपर्यो भन्ने हिसाबले मलाई प्रेसर आइरहेको छ ।’ खरिद प्रक्रियामा संलग्न एक जनाले स्वास्थ्यमन्त्री बस्नेतका भान्जा बताउँदै थापाले आफूलाई भेटेर खरिदमा मलाई सहयोग गर्नुपर्यो भनेको उकेरालाई बताए ।
    त्रिशूली अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. सिंहले एउटा कम्पनीको मेसिनसँग मात्रै मिल्ने गरी प्राविधिक स्पेशिफिकेशन नबनाएको र मेसिन खरिदमा कमिसनको खेल नरहेको दाबी गरे । बागमती प्रदेश स्वास्थ्य मन्त्रालयबाट सिटी खरिदको प्राविधिक तथा आर्थिक लगायतको कागजात स्वीकृति भएर आएको उनले बताए । ‘स्पेशिफिकेशन प्रदेश (स्वास्थ्य) मन्त्रालयबाट नै अप्रुभ भएर आउने हो,’डा. सिंहले भने । पाँच करोड भन्दा बढी मूल्यको सामान खरिद गर्दा प्रदेश स्वास्थ्य मन्त्रालयबाट खरिद अनुमति लिनुपर्ने उनले जानकारी दिए । उनले दिएको जानकारीबाटै यो खरिद बदमासीमा प्रदेशको स्वास्थ्य मन्त्रालयका अधिकारीको संलग्नता थप पुष्टि गर्छ । सिटी खरिदको विषयमा आरएस भण्डारीले आफू संलग्न नरहेको दाबी गरे । ‘मैले २५ वर्षको करिअरमा आजका दिनसम्म एउटा सिटी पनि बेचेको छैन,’ भण्डारीले भने, ‘सिटी स्क्यान मेसिन सप्लाई गर्दा पनि गर्दिनँ । मसँग कम्पनी पनि छैन ।’ उनले आफूसँग कम्पनी नरहेको दाबी गरे पनि भण्डारी सर्जिकल हाउस उनकै हो । उनले अहिले सो कम्पनी आफ्नो भाइहरूले चलाउने गरेको खुलाए । ‘६–७ वर्षदेखि यो (मेडिकल) बिजनेस मेरो भाइहरूले हेरिरहेका छन्, म हेर्दिन,’ उनले दाबी गरे ‘भण्डारी सर्जिकल हाउस भन्ने मेरो हैन, भाइहरूले गर्छन् । म त्यसमा इन्भल्भ छैन । म अहिले ह्याम्समा मात्रै इन्भल्भ छु ।’
त्रिशूलीमा प्रिबिड, अन्त खरिद तयारी
नुवाकोटको त्रिशूली अस्पतालले ‘१२८’ स्लाइसको सिटी स्क्यान मेसिन किन्ने प्रक्रिया अगाडि बढाइसकेको छ । उसले सो मेसिन करिब आठ करोडमा खरिद गर्ने गरी टेन्डर (बोलपत्र) आह्वान नै गरिसकेको छ । त्रिशूली अस्पतालले २०८० असोज दुई गते (२०२३, सेप्टेम्बर १९) मा सिटी स्क्यान मेसिन खरिदका लागि टेन्डर आह्वान गरेको थियो । त्रिशूली अस्पतालले किन्न लागेको सिटी स्क्यान मेसिनको करिब पाँच करोड रुपैयाँ लागत पर्ने जानकारस्रोतले बतायो ।
    सिन्धुली अस्पताल र भक्तपुर अस्पतालले पनि त्रिशूलीकै मूल्यको सिटी स्क्यान मेसिन खरिदको तयारी गरेका छन् । भक्तपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. त्रिभुवनचन्द्र झाले अहिले सिटी स्क्यान राख्ने ठाउँ लगायतका बारेमा अध्ययन भइरहेको जानकारी दिए । ‘सिटी कहाँ राख्ने, कस्तो किसिमको किन्ने भन्ने बुझ्न एउटा टिमलाई लगाएका छौँ, ’डा. झाले भने, ‘उहाँहरूको रिपोर्ट आइसकेपछि मात्रै खरिद प्रक्रिया अगाडी बढ्छ ।’
    सिन्धुली अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. अविशेक थपलियाले प्राविधिक नभएकाले सिटी स्क्यान मेसिनको खरिद प्रक्रिया अगाडी नबढेको र प्रक्रियामा रहेको जानकारी दिए । डा. थपलियाका अनुसार सिटी किन्नेबारे प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रसँग समन्वय भइरहेको छ । ‘हामीले आपूर्तिलाई पठाएका छौँ, हाम्रोमा कोही पनि टेक्निसियन हुनुहुन्न,’ उनले भने, ‘खरिद इकाइहरूमात्रै गठन भएको छ, खासै केही पनि भएको छैन ।’
त्रिशूलीमा तीन करोडको खेल
त्रिशूली अस्पतालका प्रमुख सिंह नै निश्चित कम्पनीको उत्पादनसँग मात्रै मिल्ने गरी प्राविधिक स्पेशिफिकेशन बनाउन सक्रिय देखिए । खरिदमा जोडिएका अस्पतालका केही कर्मचारीले निश्चित कम्पनीको उत्पादनसँग मात्र मिल्ने गरी स्पेशिफिकेशन नबनाई खुल्ला प्रतिस्पर्धामा जान सुझाव दिएका थिए । उनले माथिबाटै दबाब छ भन्दै स्पेशिफिकेशन बदल्न मानेनन् नै बरु खरिद प्रक्रिया सुरु भएपछि बायोमेडिकल इन्जिनियरलाई नै निकाले । डेढ वर्ष अघि (२०७८, फागुन) मा स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, बागमती प्रदेश (हेटौँडा) ले पाँच वटा सिटी स्क्यान मेसिन खरिदका लागि टेन्डर आह्वान गरेको थियो । त्यो बेला प्रदेशले आह्वान गरेको टेन्डर चाहेको कम्पनीलाई दिने प्रयास गर्दा कमिसनमा विवाद निम्तिएपछि प्रक्रिया नै रद्द भएको थियो । जापानी कम्पनी हिताचीको नेपाली सप्लायर्सले गत वर्ष यही मुख्य प्राविधिक स्पेशिफिकेशन भएको सिटी स्क्यान मेसिन करिब पाँच करोडमा ल्याइदिनेगरी प्रस्ताव गरेका थिए ।
    क्यानन–तोसिवाले करिब ६ करोड ४० लाखको टेन्डर हालेको थियो । स्पेशिफिकेशन अहिले जुन हो मुख्य बुँदा अहिले पनि त्यही नै हो । त्यो बेला पाँच वटा सिटी स्क्यान मेसिन खरिदका लागि टेन्डर सूचनामा सिटी स्क्यान मेसिनको खरिदका लागि बोलपत्र प्रस्तावक कम्पनी (बिडर)ले कम्तीमा ८० लाख बोलपत्र जमानत रकम (बीड सेक्युरिटी अमाउण्ट) राख्नुपर्ने उल्लेख गरेको थियो । सो जमानत रकमको आधारमा हेर्दा औसतमा पाँच वटा सिटी स्क्यान मेसिन करिब ३२ करोडमा किन्न टेन्डर भएको पुष्टि हुन्छ ।
    यसरी हेर्दा स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, बागमती प्रदेश (हेटौँडा) ले डेढ वर्ष अघि खरिद गर्न खोजेको एउटा सिटीको लागत मूल्य करिब ६ करोड ४० लाख देखिन्छ । यो त मेसिन खरिदका लागि छुट्टाइएको बजेटको सिलिङ हो । मेसिन यो रकम भन्दा कममा खरिद हुन पनि सक्थ्यो । तर, डेढ वर्षको अन्तरालमा नै त्रिशूली अस्पतालले त्यही किसिमको मेसिन करिब तीन करोड बढी मूल्यमा किन्न टेन्डर गर्यो ।
    स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, बागमती प्रदेश (हेटौँडा) ले सिटी स्क्यान मेसिनको टेन्डर गर्दा उसले पाँच वर्षको वारेन्टी राखेको थियो । ‘दी वारेन्टी पिरियड फर दीज् आइटम्स स्यालबी फाइव एयर्स कम्प्रिहेन्सीभ वारेन्टी इन्क्लुडिङ एक्स–रे ट्युब, अल पार्टस् एन्ड लेवर’, डेढ वर्षअघि आपूर्ति व्यवस्थापन केन्द्रले गरेको सिटीको टेन्डरको कागजातमा भनिएको थियो ।
    तर, त्रिशूली अस्पतालले ‘दी वारेन्टी पिरियड फर दीज आइटम इन्क्लुडिङ एक्स–रे ट्युब स्यालबी टु एयर्स आफ्टर सक्सेसफुल इन्स्टलेशन अगेन्स्ट एनी म्यानिफ्याक्चर डिफेक्ट्स’ लेखेर अहिले सिटी मेसिनको वारेन्टीको समय दुई वर्ष मात्रै राखेको छ ।
    वारेन्टीको समय घटाउनासाथ मेसिनको मूल्य कम हुनुपर्ने हो । तर उल्टो बढ्यो । वारेन्टीको अवधिभर मेसिनमा कुनै समस्या आए कम्पनीले बेहोर्न‘पर्ने हुन्छ । तर, वारेन्टीको समय सकिएपछि मेसिन खरिद गर्ने संस्थाले नै मर्मत लगायतका खर्च बेहोर्न‘पर्ने हुन्छ । जति छोटो समयको वारेन्टी राख्यो मेसिन ल्याउने सप्लायर्सलाई त्यति बढी फाइदा हुन्छ । वारेन्टी पाँच वर्षबाट घटाएर दुई वर्ष बनाउँदा मेसिनको मूल्य नै करिब तीन करोड कम हुने एक जानकारले बताए । ‘दुई वर्ष वारेन्टी राखेको छ भने त तीन करोड जति फरक हुन्छ,’ ती जानकारले भने, ‘बजेट बढ्ने भनेकै वारेन्टीले हो यस्तोमा ।’
    यो मेसिनमा जुत्ता किन्दा छुट्टै तुना किन्नुपर्छ भन्ने जस्तै गरी प्राविधिक स्पेशिफिकेशन बनाइए देखिन्छ । तर डा. सिंह आठ वर्षको कम्प्रिहेन्सिभ पिरियड भएकाले दुई वर्षपछि मेसिन बिग्रिए पनि अस्पताललाई आर्थिक भार नपर्ने कुतर्क गर्छन् । ‘आठ वर्षको कम्प्रिहेन्सिभ पिरियड छ । दुई वर्षको वारेन्टी छ । त्यो स्ट्याण्डर्ड नै हो भनेका छन्,’ उनले भने, ‘सीएमसी छ, उनीहरूले आएर बनाउँछन् ।’ कुराकानीका क्रममा डा. सिंहले मेसिनै छनोट भइसकेजस्तै गरी कुरा गरेका थिए । ‘जुनजुन कम्पनीको बीडमा परेन नि, यिनीहरूले ठ्याक्कै यही–यही प्रश्न गरेको छन्,’ डा. सिंहले भने ।
कर्मकाण्डी प्री–बिड मिटिङ
त्रिशूलीको टेन्डर सूचनामा सिटी स्क्यान मेसिन खरिदका लागि बोलपत्र प्रस्तावक कम्पनी (बिडर) ले कम्तीमा २१ लाख १३ हजार दुई सय बोलपत्र जमानत रकम (बीड सेक्युरिटी अमाउण्ट) राख्नुपर्ने उल्लेख छ । सो जमानत रकमको आधारमा हेर्दा औसतमा करिब आठ करोड ४५ लाख २८ हजार मूल्यको सिटी स्क्यान मेसिन खरिदको लागि टेन्डर भएको देखिन्छ । तर, यो सिटी खरिदका लागि बजेटको सीमा आठ करोड मात्र हो ।
    सामान्यतया टेन्डर आह्वान गर्न‘ अघि खरिद गर्ने मेसिनको लागत अनुमान तयार गर्न मेसिन खरिदका लागि बोलपत्र (टेन्डर) पेस गर्ने सम्भावित सप्लायर्स कम्पनीहरूलाई खरिद गरिने मेसिनको स्पेशिफिकेशन पठाइन्छ । सप्लायर्सले दिएको मेसिनको लागत अनुमानलाई आधार मानेर टेन्डर गर्ने संस्थाले मेसिन खरिदका लागि लाग्ने सम्भावित लागत अनुमान तयार गर्छ । सामान्यतया कम्तीमा तीन वटा कम्पनीसँग दररेट मागेर लागत तयार गरी टेन्डर प्रक्रिया अगाडी बढाउनुपर्ने हुन्छ ।
    त्रिशूलीको टेन्डर आह्वानको सूचनामा ‘प्रि–बिड मिटिङ’ हुने मिति कात्तिक एक गते बुधवार दुई बजे (अक्टोबर १८)  लाई तोकिएको थियो । तोकिएको समयमा अस्पतालले ‘प्रि–बिड मिटिङ’ पनि राखेको देखिन्छ । टेन्डर आह्वानपछि ‘प्रि–बिड मिटिङ’को छलफलमा नै खरिद गरिने मेसिनको स्पेशिफिकेशन र बोलपत्रका सर्तमा विभिन्न सप्लायर्स कम्पनीले आ–आफ्नो तर्फबाट मेसिनको विशेषता तथा गुणस्तर लगायतका बारेमा प्रस्तुति दिने हो ।
    प्रि–बिड मिटिङको छलफलमा नै सप्लायर्स कम्पनीहरूले टेन्डर प्रक्रियामा रहेको खरिद गरिनुपर्ने मेसिनको कुनै प्राविधिक विषयमा चित्त नबुझेको खण्डमा संशोधनको सुझाव सहितको लिखित माग गर्न सक्छन् । त्रिशूली अस्पतालको ‘प्रि–बिड मिटिङ’मा पुगेका सप्लायर्स कम्पनीका प्रतिनिधिहरूले खरिद हुने सिटी स्क्यान मेसिनको प्राविधिक स्पेशिफिकेशन लगायतका बुँदामा असहमति जनाउँदै लक्ड भएका बुँदा संशोधनको माग समेत गरेका थिए । अस्पतालले क्यानन–तोसिवालाई मात्रै मिल्नेगरी प्राविधिक स्पेशिफिकेशन बनाएको विषय सप्लायर्सहरूलाई थाहा हुने नै भयो । उनीहरूले प्राविधिक स्पेशिफिकेशनका बुँदा संशोधनको माग पनि गरे ।
    अस्पतालले कात्तिक १३ गते सोमबार (अक्टोबर, ३०) मा सिटी स्क्यान मेसिनको प्राविधिक स्पेशिफिकेशनका केही सामान्य बुँदाहरू संशोधन गरेको देखिन्छ । तर, प्रमुख बुँदाहरूमा भने झन् बढी क्यानन–तोसिवाकै सिटी स्क्यान मेसिनको स्पेशिफिकेशनसँग मिल्नेगरी संशोधन गरियो । करिब २४ घण्टा (साउन १९ गते) भित्रमा स्पेशिफिकेशन बुझाउन ‘माथिबाटै अर्डर आएको छ’ भन्दै अस्पतालकै एक कर्मचारीले साउन दुई गते त्रिशूली अस्पतालका सम्बन्धित कर्मचारीलाई स्पेशिफिकेशन सहित पठाएको म्यासेज उकेरासँग सुरक्षित रहेकाले यसले समेत खरिदमा भइरहेको मिलेमतो पुष्टि गर्छ ।
    डा. सिंहले गरेको कुराकानीबाट समेत निश्चित कम्पनीको उत्पादकसँग मिल्नेगरी स्पेशिफिकेशन बनाएको पुष्टि हुन्छ । उनले प्रि–बीड मिटिङमा ४–५ वटा सप्लायर्स सहभागी भएको र प्रि–बीडमा आएको राय अनुसार स्पेशिफिकेशन थप खुला गरेर सबैजसोले टेन्डर हाल्न पाउने वातावरण बनेको दाबी गरे । ‘स्पेशिफिकेशन पब्लिष्ट भएपछि तीन वटा जस्तोले मात्रै बीड गर्न पाउँछ डाक्टरसाप भनेर कुरा आयो । (बीड गर्न) अरू नपाउनेहरू आए,’ डा. सिंहले भने, ‘प्रि–बिडमा सबैको राय लियौँ । अब त लगभग सबैलाई नै ओपन छ त्यो ।’
त्रुटि देखिए खरिद रोक्न लगाउँछु
खरिद प्रक्रियामा संलग्नताबारे स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतसँग सम्पर्क गर्ने प्रयास सफल भएन । उता बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले भने सिटी खरिद प्रक्रियामा कुनै त्रुटिका गुनासो आए र त्रुटि देखिए प्रदेश सचिवमार्फत खरिद प्रक्रिया नै रोक्न निर्देशन दिने बताए । उनले त्रिशूली, सिन्धुली र भक्तपुरमा सिटी आवश्यक देखिएपछि खरिदका लागि बजेटको व्यवस्थापन गरेको जोशीले बताए । ‘त्यस्तो भएको भए, उजुरी केही परेको भए म सचिवज्यूमार्फत त्यो (खरिद प्रक्रिया) रोक्न लगाउँछु, हेर्न लगाउँछु,’ स्वास्थ्यमन्त्री जोशीले भने, ‘त्रुटि छ भने त (खरिद प्रक्रिया रोक्न) निर्देशन दिन सकिहालिन्छ नि ।’
    स्वास्थ्यमन्त्री जोशीले सिटी खरिदका लागि अस्पताललाई तोकेर नै बजेट विनियोजन भएको बाहेक आफूलाई खरिद प्रक्रियाको बारेमा जानकारी नभएको बताए । ‘प्रक्रिया अगाडी बढाउने काम अस्पतालको हो,’ मन्त्री जोशीले भने, ‘त्यो (काम) मन्त्रालयको हैन ।’
    मिलेमतोबारे जिज्ञासा राख्दा उनले मन्त्रालय आफैँले यस्तो खरिदको काम गर्नु हुँदैन र नीति नियम बनाउने काम हो भन्ने  आफ्नो मान्यता रहेको तर्क गर्दै उनले मन्त्रालय आफैँले सामान खरिद गर्ने काम गर्नु हुँदैन भनेर अस्पतालहरूलाई जिम्मा दिएको बताए ।

विदुरको कोसेली घर र वधशाला सञ्चालनको तयारीमा

 विदुरको कोसेली घर र वधशाला

विदुर । नुवाकोटको विदुर नगरपालिका–४ बट्टार बसपार्कमा निर्माण सम्पन्न भएर सञ्चालनको तयारीमा रहेको कोसेली घर । नगरपालिकाले उपलब्ध गराएको जग्गामा दुई तलाको (भुइँ र पहिलो तला) कलात्मक शैलीमा निर्माण भएको कोसेली घर ।
    नगरपालिका र जिल्लाका लघु उद्यमी तथा कृषकले उत्पादन गरेको सामग्री प्रदर्शनी र बिक्री गर्ने र विकास निर्माणलाई आर्थिक उपार्जनमा जोड्ने उद्देश्य रहेको कोसेली घरको रहेको छ । नगरपालिका र घरेलु तथा साना उद्योग कार्यालय नुवाकोटको लागत साझेदारीमा निर्माण सम्पन्न भएको भवनको कुल लागत ८५ लाख रहेको भए पनि उपभोक्ता समितिमार्फत निर्माण हुँदा ७० लाखमा सम्पन्न भएको छ ।
    भवन निर्माणमा नगरपालिकाको २२ लाख र घरेलु तथा साना उद्योग कार्यालयको ४८ लाख लगानी रहेको उपभोक्ता समितिले जानकारी दिएको छ ।
    २०७७ सालमा निर्माण सुरु भएको कोसेली घर ०७९ मा सम्पन्न भएको थियो । नगरको आय–आर्जनसँग जोडिएको कोसेली घर र वडा नम्बर ४ सिमचौरको घुमाउनेमा निर्माण सम्पन्न भएको वधशाला सञ्चालनको पर्खाइमा रहेको छ ।

विदुरमा लक्ष्यभन्दा बढी राजस्व संकलन

विदुर । विदुर नगरपालिकाले चालु आर्थिक वर्ष २०८०÷८१ को पहिलो त्रैमासिकमा आन्तरिक स्रोतबाट लक्ष्य भन्दा बढी राजस्व संकलन गरेको छ । नगरपालिकाले चालु आवको तीन महिनामा एक करोड ५४ लाख ६० हजार ५२९ रुपैयाँ राजस्व संकलन गरेको छ । जुन, गत वर्षको सोही अवधिको तुलनामा भने ३८.९३ प्रतिशतले वृद्धि हो ।
    गत वर्षको पहिलो त्रैमासमा नगरपालिकाले एक करोड ११ लाख २८ हजार ६२८ राजश्व संकलन गरेको थियो । गत आर्थिक वर्षको तुलनामा ४३ लाख ३१ हजार ९०१ रुपैयाँ राजश्व वृद्धि भएको विदुर नगरपालिका नगर उपप्रमुख प्रभा बोगटीले जानकारी दिएका छन् । यस नगरपालिकाले सबैभन्दा धेरै एकीकृत सम्पत्ति  शिर्षकबाट राजस्व संकलन गरेको छ । सो शिर्षकबाट रु १४ लाख २७ हजार ८९० रुपैयाँ संकलन भएको हो ।
    अन्य भूमिकरमा १४ लाख २१ हजार ५१४ रुपैयाँ र व्यवसाय दर्ता करमा ६ लाख ७४ हजार २२० रुपैयाँ संकलन गरेको छ । विज्ञापन करमा ३२ हजार एक सय रुपैयाँ, दस्तुर तथा सेवा शुल्कमा चार लाख २० हजार २२० रुपैयाँ, निकासी करमा एक हजार, वहाल करमा २१ लाख ४५ हजार ७२१ रुपैयाँ, पञ्जीकरण दर्तामा दुई लाख २२ हजार आठ सय रुपैयाँ संकलन भएको छ । नक्सा पासबाट १५ लाख ३६ हजार ४७८, नाता प्रमाणितमा एक लाख ४६ हजार पाँच सय रुपैयाँ, सिफारिस दस्तुरमा १९ लाख ९८ हजार २९९ रुपैयाँ, शिक्षा क्षेत्र शुल्क तथा दस्तुरमा तीन हजार चार सय रुपैयाँ संकलन भएको छ ।
    राजस्व वृद्धिमा वडागततर्फ गत आवभन्दा चालुआवमा सबैभन्दा बढी १३ नम्बर वडाको १०७.९१ प्रतिशत र सबैभन्दा कम ९ नम्बर वडाको ३.०९ प्रतिशत राजस्व वृद्धि भएको देखिएको छ । यस्तै चालु आवमा वडा नम्बर ४ ले सबैभन्दा बढी र सबैभन्दा १३ नम्बर वडाले कम राजस्व संकलन गरेको छ । चालुआर्थिक वर्षमा १ नम्बर वडाले ११ लाख नौ हजार २०१ रुपैयाँ, २ नम्बर वडाले १३ लाख ५९ हजार १० रुपैयाँ, ३ नम्बर वडाले छ लाख ७७ हजार १६९ रुपैयाँ, ४ नम्बर वडाले २२ लाख ७० हजार ६६३ रुपैयाँ र ५ नम्बर वडाले १४ लाख ६६ हजार ६३९ रुपैयाँ राजस्व संकलन गरेको छ ।
    ६ नम्बर वडाले सात लाख ८३ हजार ५६२ रुपैयाँ, ७ नम्बर वडाले चार लाख ९८ हजार ५११ रुपैयाँ, ८ नम्बर वडाले छ लाख ६८ हजार ४९१ रुपैयाँ, ९ नम्बर वडाले १३ लाख तीन हजार ७२० रुपैयाँ, १० नम्बर वडाले चार लाख २९ हजार ६५० रुपैयाँ, ११ नम्बर वडाले तीन लाख ३८ हजार ५६२ रुपैयाँ, १२ नम्बर वडाले दुई लाख ९२ हजार १२० रुपैयाँ र १३ नम्बर वडाले पाँच लाख ५२ हजार ५४८ रुपैयाँ राजस्व संकलन गरेको छ ।

किस्पाङमा अस्पताल बन्ने

 किस्पाङमा अस्पताल

काहुले । नेपाल सरकारको संघीय मन्त्री परिषद्ले नुवाकोटको किस्पाङ गाउँपालिकामा रहेको ४ रोपनी जग्गा सोही गाउँपालिकामा ५ बेडको आधारभूत अस्पताल भवन निर्माणका लागि उपलब्ध गराउने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रीपरिषद् बैठकले यस्तो निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिएका छन् ।
    यसै बीच, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको सिफारिसमा सरकारले नुवाकोट जिल्लाको किस्पाङ गाउँपालिकामा अस्पताल भवन निर्माणका लागि उक्त जग्गा उपलब्ध गराउने निर्णय गरेको मन्त्री शर्माले जानकारी दिइन् ।

लामटाङमा विदेशी भन्दा स्वदेशी पर्यटक बढी

 लामटाङमा स्वदेशी पर्यटक

रसुवा । नेपालको तेस्रो पर्यटकीय गन्तव्य रसुवा जिल्लाको लामटाङ विदेशीभन्दा स्वदेशी पर्यटकले अहिले भरिभराउ भएको छ । गोरो छाला हुनेलाई मात्र पर्यटक मान्ने नेपालीको सोचाइलाई लामटाङ पदमार्गमा स्वदेशी पर्यटकको भिडले सोच बदलेको छ ।
    यस क्षेत्रमा पर्यटकीय सिजन वर्षको ६ महिना अर्थात् असोज, कात्तिक, मंसिर र फागुन, चैत, वैशाख रहेको छ । यस वर्षको पहिलो पर्यटकीय सिजनमा विदेशीभन्दा स्वदेशी पर्यटक ओइरिएपछि यहाँका होटेल, लज भरिभराउ भएका छन् । लामटाङ राष्ट्रिय निकुञ्जमा रहेको यो क्षेत्र गोसाइँकुण्ड गाउँपालिका– ४ मा पर्छ । लामटाङ पदमार्ग स्याफ्रुबेँसीबाट सुरु हुन्छ । स्याफ्रुबेँसीदेखि लामटाङसम्म २९ किलोमिटर रहेको छ । काठमाडौंबाट स्याफ्रुबेँसीसम्म सडकमार्ग छ ।
    लामटाङका व्यवसायीलाई असोज लागेपछि पर्यटकलाई वास राख्न र खुवाउन भ्याइनभ्याई भइरहेको वडा नम्बर ४ का अध्यक्ष ढिण्डुप जाङ्वाले बताए । यसपटक नेपाली पर्यटक अत्यधिक आएकोसमेत उनले जानकारी दिए । कोरोना महामारीपछि बिस्तारै लामटाङमा पर्यटक संख्या र गतिविधि बढ्दै गएको छ ।
    दसैँ, तिहारको समयमा रसुवाको लामटाङ र गोसाइँकुण्ड क्षेत्रमा घुम्न आउने पर्यटकको सङ्ख्या बढेको पर्यटन होटेल व्यवसायी संघ रसुवाका अध्यक्ष रामशरण गजुरेलले बताए । मौसम खुलेको समय र दसैँ, तिहारको लामो बिदाको समयमा प्राकृतिक सुन्दरतामा रमाउन चाहनेका लागि पहिलो रोजाइमा गोसाइँकुण्ड र लामटाङ क्षेत्र पर्ने गरेका छन् ।
    काठमाडौंबाट छोटो दूरी र छोटो समयमा पदयात्रा गर्न सकिने भएकाले पनि रसुवाका यी दुई क्षेत्र विदेशी र स्वदेशी पर्यटकको रोजाइमा पर्ने गरेका हुन् ।
    गत साता ललितपुर गोदावरीका अशोक सिलवाल चारजना साथी लिएर रसुवाको सदरमुकाम धुन्चे हुँदै स्याफ्रुबेँसीबाट लामटाङ प्रस्थान गरेका थिए । प्राकृतिक सुन्दरताको आनन्द लिँदै हिमालको दृश्य अवलोकन गर्न गोदावरीबाट दसैँको बिदामा आएको उनले बताए । रसुवा कालिकास्थानका प्रह्लाद खतिवडा पनि दसैँको टीका लगाएर ६ जनाको दलबलसहित लामटाङको दृश्यावलोकनका लागि गत हप्ता प्रवेश गरेका थिए । उनी मात्र होइन, सर्वोच्च अदालतका न्यायाधीशसहित उच्च अदालतका न्यायधीशको टिमले समेत दसैँअगाडि यस क्षेत्रको भ्रमण गरेको क्यान्जिन गुम्बाका होटेल व्यवसायी तेन्जिन डोल्मा लामाले बताइन् । विदेशीका अलावा लामटाङ क्षेत्रको भ्रमण गर्नेमा नेपाली सेनाको उच्च तहका व्यक्तिसमेत रहेका छन् । नेपाली सेनाका अवकाशप्राप्त सहायकरथी (जर्नेल) शंकर पण्डितले त यस वर्षको दसैँ यतै बिताए । दसैँ यस वर्ष नभएकाले काठमाडौंबाट नजिकको पदयात्रामार्ग लामटाङ हिमालको दृश्य अवलोकन गर्न रोजेको उनले बताए ।
    लामटाङ राष्ट्रिय निकुञ्जभित्र पर्ने लामटाङ पदमार्ग क्षेत्र घुम्न आन्तरिक तथा बाह्य पर्यटकको पहिलो रोजाइमा पर्दै गएको छ । विगतमा दसैँको समयमा बाह्य पर्यटकको मात्र चहल–पहल हुने गरेकामा यस वर्ष नेपालीको चाप थेग्नसमेत होटेल व्यवसायीलाई गाह्रो परिरहेको छ ।
    विदुरका ओमराज श्रेष्ठ दाजुभाइ दसैँ बिदाको समय सदुपयोग गर्न लामटाङ भ्रमणमा आएको भेटियो । उनी भन्छन्, ‘लामो समयदेखि लामटाङ आउने योजना थियो, बल्ल यस वर्ष आउने समय मिल्यो ।’ लामटाङ आएर यहाँको प्रकृतिसँग रमाउनुको मज्जा नै बेग्लै रहेको श्रेष्ठको भनाइ छ । ‘हामी धेरै पछाडि छौँ, प्रकृतिसँग खेल्न र प्रकृतिलाई बुझ्न सकेका छैनौँ, यहाँको सुन्दरता छाडेर विदेश घुम्ने योजना बनाउँछौँ, पहिले आफ्नो देशको प्रकृतिलाई बुझ्न सक्नुपर्छ, अनि विदेश भ्रमण गर्ने हो, यहाँ छ असली प्रकृति र संस्कार, संस्कृति, हामीले घुमेर र बुझेर नै प्रवद्र्धन गर्न सक्नुपर्छ,’ उनले भने ।
    श्रेष्ठजस्तै नुवाकोट बट्टारकी रिता कार्की पनि आफन्तको टोली बनाएर आइतबार लामटाङको प्राकृतिक सौन्दर्यसँग रमाउन व्यस्त थिइन् । ‘लामटाङबाहेक अरू कुन ठाउँ हुन सक्छ स्वर्ग ? यही हो, एकपटक आउनैपर्ने ठाउँ नै लामटाङ हो, जीवित अवस्थामा नै स्वर्ग पुगेको आभास भइरहेको छ,’ कार्कीले भनिन् । ‘मरेपछि स्वर्ग पुगिन्छ–पुगिँदैन, जिउँदै आएका छौँ हामी त स्वर्गमा, यस ठाउँमा एकपटक सबै नेपाली आउनुपर्छ, प्रकृतिको असली स्वर्ग घुम्न जरुरी छ,’ उनले भनिन् ।
    चिसो बढ्दै गरेको अवस्था र जोखिम बढी हुने क्षेत्र भएकाले यहाँ आउँदा भने जानकारी लिनु पनि आवश्यक रहेको कार्कीको सुझाव छ । सात सय वर्षभन्दा पुरानो क्यान्जिङ गुम्बा, एसियाकै पहिलो उच्च स्थानमा रहेको याक चिज उत्पादन केन्द्र, लामटाङ बेसक्याम्प, हिमाली दृश्यावलोकन गर्ने क्यान्जिन रीलगायत अवलोकन गर्ने ठाउँ रहेको छ ।
    यहाँ पुग्ने पर्यटकले लामटाङ पदमार्गको हिमाली दृश्यको साथसाथै तामाङ संस्कार, संस्कृति र परम्परालाई अनुभवसँगै लामटाङको आतिथ्य सत्कारलाई भरपूर रूपमा आनन्द लिन सक्छन् । यहाँका बाटोमा आउँदा झरना, खोला, खोल्सा, भिर, पहाड, उकाली–ओरालीको भरपूर रूपमा घुम्दै एक हप्ता बिताउन सकिन्छ । कार्कीले भनिन्, ‘यहाँ आएपछि त फर्किन नपरोस् जस्तो पो लाग्ने रहेछ, यहाँका प्रकृतिसँग रमाउँदै बस्न पो मन लाग्ने रहेछ ।’ यहाँ आएर हिमालको एकदम नजिक पुगेजस्तो भइरहेको छ । बिदाको समय सदुपयोगसँगै नयाँ ठाउँको भ्रमण र प्रवद्र्धनमा टेवा पुग्ने उनको भनाइ छ ।
    यसले प्रस्ट हुन्छ कि नेपाली समाजमा भ्रमण गर्ने प्रचलन बढेको छ । नेपालीमा बिस्तारै भ्रमण गर्ने योजनासहित नयाँ स्थानको भ्रमण तथा अवलोकन गर्ने प्रचलन बढ्दै गएको छ । बिदाको समयलाई नेपालीले भरपूर सदुपयोग गर्न थालेका छन् । यसमा हिन्दूहरूको महान् पर्व बडादसैँ र तिहार यस वर्ष एउटै महिनामा परेको छ । अहिले नेपालीले बिदाको समय पूर्ण रूपमा भ्रमणमा सदुपयोग गरिरहेका छन् ।
    दसैँ र तिहार मनाउनका लागि विदेशबाट स्वदेश फर्किएका नेपाली र कलेज, स्कुल अध्ययनरत विद्यार्थी लामो बिदाको सदुपयोग गर्दै लामटाङ भ्रमणमा निस्कने गरेको पाइन्छ । अहिले नेपालका विभिन्न स्थानबाट हिमाली जिल्ला लामटाङ आउने आन्तरिक पर्यटक बढेका छन् । दसैँ र तिहार बिदामा पर्यटकीय क्षेत्र लामटाङको भ्रमणमा आउने बढेको स्थानीय बताउँछन् । विगतको तुलनामा आन्तरिक पर्यटक बढ्नुले नेपालीमा भ्रमण तथा अवलोकनमा निस्कने प्रचलन बढेको वडाध्यक्ष ढिण्डुप जाङ्वाले बताए । उनका अनुसार दसैँको बिदामा दैनिक रूपमा लामटाङ आउने आन्तरिक पर्यटक ह्वात्तै बढेका छन् । आन्तरिक पर्यटक बढ्दै गर्दा कोभिडका कारण सुस्ताएको व्यवसाय उकासिने अपेक्षासहित व्यवसायीमा खुसी छाएको छ ।
    स्थानीय होटेल व्यवसायी निमा लामा भन्छिन्, ‘आन्तरिक पर्यटक आगमन हुँदा रात परेको थाहै भएन, काम गर्न भ्याइनभ्याई छ ।’ दसैँको बिदामा दैनिक आन्तरिक पर्यटक एक हजार पाँच सयभन्दा बढी आइसकेको लामाले बताइन् । ‘हामीलाई भ्याइनभ्याई भएको छ, स्थानीय होटेल व्यवसायीलाई त पर्यटकको स्वागतमा नै व्यस्त हुँदा दसैँ आउँदाको भन्दा बढी खुसी छाएको छ,’ उनले भनिन् । अहिले लामटाङका सबैजसो होटेल भरिभराउ रहेको उनले बताइन् ।
    आन्तरिक पर्यटकले लामटाङलाई गन्तव्य बनाएर आउँदा होटेल तथा पर्यटन व्यवसायी बन्द–व्यापार चलायमान भएको बताउँछन् । बाह्य पर्यटकसँगै आन्तरिक पर्यटकको आगमनले दुई वर्ष कोभिडले थलिएको व्यापारमा उत्साह थपिएको स्थानीय होटेल व्यवसायी याङजिन तामाङले बताए । ‘यस वर्ष लामटाङ पर्यटकीय स्थल हो भनेर आभास भएको छ, नभए दुई वर्ष त सिजनमा पनि सुनसान भएको थियो, यस वर्ष आन्तरिक तथा बाह्य दुवै खालका पर्यटकको आगमन बढेको छ,’ उनले भने । पर्यटकले यस क्षेत्र प्रवेश गर्दा मौसम र वासस्थानका लागि भने आवश्यक जानकारी लिनुपर्ने उनको सुझाव छ । चिसो मौसममा होटेल नपाउने समस्या हुन सक्ने अवस्था रहेकाले आवश्यक जानकारी लिएर आउन उनको सुझाव छ ।
    तामाङले भने, ‘विगतमा बाह्य पर्यटकको मात्रै आगमन हुने यस सिजनमा यस वर्ष आन्तरिक पर्यटकको पनि उल्लासमय आगमन भइरहेको छ ।’ यसले गर्दा सुस्ताएको व्यापारमा आशा पलाएको उनले बताए । पर्यटकीय सिजन भएकाले सबै प्रकारका होटेलमा पर्यटक रहेका वडाध्यक्ष जाङ्वाले जानकारी दिए । आन्तरिक पर्यटकको तथ्याङ्क राख्ने काम नभए पनि उल्लेख्य आगमन भएको उनले बताए ।
    ‘जुनसुकै होटेलमा धेरथोर भए पनि पर्यटक रहेको पाइन्छ,’ जाङ्वाले भने । हिउँद लाग्ने बेलामा र वर्षायाम सुरुवातको समयमा गरी दुई सिजनमा लामटाङ घुम्न अनुकूल समय मानिन्छ । यसै समयलाई मध्यनजर गरी लामटाङमा पर्यटक घुम्न आउने गर्दछन् ।
    पर्यटक हिमाल, पहाडका दृश्य, उच्च पहाड, लामटाङवासीको रीतिरिवाज, प्राकृतिक सुन्दरता हेर्नुका साथै लामटाङ हिमाल चढ्न र पुरानो ऐतिहासिक गुम्बा (७ सय वर्ष पुरानो) तथा एसियाकै पहिलो याक चिज उत्पादन केन्द्र (२००९ सालमा स्थापना भएको) को अध्ययन गर्न लामटाङ आउने गरेको चिज उत्पादन केन्द्रका प्रमुख (विगत २७ वर्षदेखि कार्यरत) ग्याल्बो तामाङले बताए । लामटाङ पदमार्गमार्फत पदयात्रामा आएका पर्यटकले त्यस क्षेत्रका होटेलले लिने शुल्क एकरूपता नभएकोबारेमा गुनासो गर्ने गरेका छन् । पदमार्गका होटेलले खाना र वासको शुल्क तल्लो क्षेत्र बम्बो, रिन्चेन, लामा होटेलमा भन्दा माथिल्लो क्षेत्र घोडातबेला, लामटाङ, क्यान्जिङ गुम्बा क्षेत्रमा केही सस्तो रहेको सञ्चारकर्मी एवम् डबली खबर अनलाइनका सञ्चालक सुनील श्रेष्ठले बताए ।
    पर्यटकीय पदयात्रामार्ग पहिलो सगरमाथा बेसक्याम्प, दोस्रो अन्नपूर्ण बेसक्याम्प र तेस्रो लामटाङ बेसक्याम्प रहेको पर्यटन व्यवसायी एवम् तारागाउँ विकास समितिका सञ्चालक सदस्य शिव लामिछानेले जानकारी दिए । पर्यटन व्यवसाय आतिथ्यतामा आधारित व्यवसाय भएकाले स्थानीय व्यवसायीमा त्यो गुण हुनुपर्नेसमेत उनले बताए ।
    लामटाङ क्षेत्रका व्यवसायीले सगरमाथा बेसक्याम्पकै जति खाना, नास्ता र वासलगायत अन्य खाद्य तथा पेयपदार्थको मूल्य रहेको यस क्षेत्रमा आउने पर्यटक र गाइडहरूले बताउने गरेका छन् । यस क्षेत्रमा आउने पर्यटकले गुणस्तरीय परिणाम र स्वाभाविक मूल्य हुनुपर्ने सुझाव दिने गरेका छन् ।
    जिल्लाका सरोकारवाला निकायले गुणस्तरीय परिणाम र स्वाभाविक मूल्य भए–नभएको अनुगमन गरेर यो मार्गको भ्रमण गर्ने पर्यटकले यस क्षेत्रको बारेमा सकारात्मक सन्देश लैजाने वातावरण बनाइदिन सके पर्यटकको सङ्ख्या वृद्धि हुने पर्यटन व्यवसायी एवम् तारागाउँ विकास समितिका सञ्चालक सदस्य लामिछानेको धारणा रहेको छ । वर्षको ६ महिना स्वदेशी तथा विदेशी पर्यटक ओइरिने यो मार्गको कतिपय ठाउँमा बाटो बगेको, कतिपय ठाउँमा फड्के र पुल हाल्नुपर्ने, पदयात्रीका लागि ठाउँठाउँमा जानकारीमूलक सूचना बोर्ड अपडेट सम्बन्धित निकायले गरिदिनुपर्नेसमेत उनले सुझाव दिए ।
    यो पदमार्गमा घोडा, खच्चर र स्थानीय व्यवसायी तथा पर्यटक जोखिम मोलेरै आवत–जावत गर्ने गरेका छन् । गत वर्ष यो मार्गमा विदेशी र स्वदेशी दुई–दुईजनाको लडेर र ढुङ्गाले लागेर मृत्यु भएको थियो ।

२०८० साल कात्तिक २० गतेको सम्पादकीय

तिहारको हार्दिक शुभकामना
उज्यालो/झिलिमिली चार्ड तिहार । नेपालीहरूको घर–घरमा भित्रिन अब चार दिनम ात्रै बाँकी छ । बजारमा तिहार लक्षित किनमेल बढेको छ । नेपालीहरूले मनाउने विभिन्न चाडपर्वमध्ये तिहारको आफ्नै महत्व छ । तिहार पारिवारिक रूपमा दिदीबहिनी र दाजुभाइको पुनर्मिलन मात्र नभई सामाजिक रूपमा सद्भाव अभिवृद्धिको चाड हो । तिहारको देउसी–भैलो सामाजिक सद्भाव र पुनर्मिलनको प्रतिक हो । काग, कुकुर, गाई–गोरु आदिको पूजा गरी जनावर एवम् प्रकृतिसँगको मानवसम्बन्ध दर्शाउने पर्वका रुपमा लिइने यस तिहार पर्वले सामाजिक, सांस्कृतिक र धार्मिक महत्व बोकेको छ । साथै दाजुभाइ–दिदीबहिनीको सुमधुर स्नेहलाई बलियो बनाउन पनि यस चार्डले विशेष भूमिका निभाएको हुन्छ । तिहारको पहिलो दिन कागको पूजा गरिन्छ । कागलाई शुभ र अशुभ दुवै किसिमका सन्देश ल्याउने पक्षीका रूपमा लिइन्छ । दोस्रो दिन कुकुरको पूजा गरिन्छ । कुकुरलाई घरको रक्षक, आज्ञाकारी र सेवकका रूपमा लिइन्छ । तिहारको तेस्रो दिन गाई तिहार मानिन्छ । यो दिन गाईको पूजा गर्नुका साथै यही दिन धनधान्यकी देवी लक्ष्मीको पनि पूजाअर्चना गरिन्छ । प्राचीन तथा वैदिक कालदेखि गाईलाई गौमाता भन्दै आमाका रूपमा लिइँदै आएको हो । त्यसैले यो दिन बिहान गाई पूजा र साँझ धनकी प्रतीक लक्ष्मीको पूजा गर्ने गरिएको हो । पूजाअर्चना मात्र होइन, यो दिनमा वर्षकै सबैभन्दा बढी उज्यालो र झिलिमिली पनि पारिन्छ । तिहारको चौथो दिन गोवर्धन पूजा गरिन्छ जसलाई गोरु तिहार पनि भनिन्छ । तिहारको पाँचौं अथवा अन्तिम दिनमा भाइटीका मनाइन्छ जुन दिन दिदीबहिनीले दाजुभाइको पूजा गर्छन् । पौराणिक मान्यताअनुसार यस दिन यमुनाले दाजु यमराजको पूजा गरेकी थिइन् । त्यही सम्झनामा यो दिन दिदीबहिनीले दाजुभाइलाई पूजा गर्ने र टीका तथा माला लगाइदिने चलन चलेको हो । यस दिन दिदीबहिनीले दाजुभाइलाई सप्तरंगी टीका, मखमली माला लगाइदिने र मिष्ठान्न भोजन तथा खानेकुरा खान दिने गर्छन् । दाजुभाइले पनि दिदीबहिनीहरूलाई दक्षिणा, वस्त्र, गहनालगायत सामग्री दिने परम्परा तथा प्रचलन रहँदै आएको छ ।
    भाइ पूजामा प्रयोग गरिने सप्तरंगी टीका, मखमली माला लगायतका सामग्री दीर्घायु र सुस्वास्थ्यका प्रतीक मानिन्छन् । भाइटीकाका क्रममा प्रयोग गरिने ओखर, तिल, तेलको घेराले भने दीर्घ जीवनको प्रतिनिधित्व गर्छन् जसका कारण यी सामग्रीलाई दीर्घायु र स्थायित्वका प्रतीकका रूपमा लिने गरिन्छ । तिहारको अन्तिम दिन भाइटीकाको दिन दाजुभाइको पूजा हुने र दिदीबहिनीलाई पनि टीका लगाई दक्षिणा, वस्त्र र गहना दिने प्रचलन रहेकाले यो पर्वलाई दाजुभाइ तथा दिदीबहिनीको पर्वका रूपमा लिने गरिन्छ । एक हिसाबले भन्ने हो भने यो पर्व र दिनलाई दाजुभाइ र दिदीबहिनीबीचको सम्बन्ध र मेलमिलाप अझ बलियो हुने रूपमा लिने गरिन्छ । यसका साथै यही दिनदेखि नेपाल संवत्अनुसार नयाँ वर्षको प्रारम्भ पनि हुन्छ ।

नेपालीहरूको बडा दशैं पछिको दोस्रो ठुलो पर्व तिहारको चौतर्फी उत्साह र रौनकता लगभग भाइनै सकेको छ । शहदेखि गाउँसम्म तिहार पर्वको खुशियाली छाएको छ । उज्यालो पर्वको रुपमा मनाइने यस पर्वमा झिलिमिलि बत्तीले घरहरू रंगिने सुरसार भएका छन् । शहर बजारमा फूल र अरु व्यापार व्यवसायको चहलपहल सुरु भएको छ । तिहार उज्यालो पर्व त हुँदै हो । यसका अतिरिक्त रंगहरूको पर्व पनि हो । नेपालमा पर्वहरूको धार्मिक रंग मलिनो हुँदै गएको अवस्थामा तिहारमा प्रयोग गरिने रंगले सांस्कृतिक चमक बढाइरहेको छ । दसैंजस्तै तिहार पनि कुनै जात, समुदाय वा सम्प्रदाय विशेषमा सीमित छैन । शरद् ऋतुको मध्यमा पर्ने तिहारमा काग, कुकुर, गाई, गोरु, गोवर्धन पर्वत, दाजु, भाइ, दिदी, बहिनी सबैलाई सम्मान गर्दै पाँच दिनसम्म पूजा गर्ने प्रचलन छ ।
    केही वर्ष यता छठ पर्व पहाडमा पनि मनाउन थालिएको छ । तिहार पर्वले पनि दशैं जस्तै सर्वत्र व्यापकता पाउदै गएको छ । तिहारले पनि राष्ट्रिय महत्व पाएको छ । बडादशैं पछि नेपाल सरकारले सबै भन्दा धेरै दिन सार्वजनिक विदा दिने गर्दछ । यस पर्वको मुख्य सन्देश र भावना नै आपसी सद्भाव, आदर–सम्मान, मेलमिलाप, भ्रातृत्व र सहिष्णुता हो । चाहे त्यो पशुपंक्षी, मान्छे र प्रकृति बीचमा होस् या दाजुभाइ, दिदीबहिनीहरूका बीचमा होस् । तिहारले छुट्टै खालको आत्मियता, हार्दिकता र भावनात्मक सम्बन्धलाई स्थापित गर्छ । यस वर्षको तिहारले पनि नेपाली समाजमा सबैका माझमा अझी बढी आपसी सद्भाव र सामाजिक सहिष्णुताको विकास गर्न सकोस् । समग्रमा तिहार पर्वको मुख्य सन्देश र भावना नै आपसी सद्भाव, आदर–सम्मान, मेलमिलाप, भ्रातृत्व र सहिष्णुता हो । त्यसैले यो तिहारले समाजमा अझै बढी सद्भाव र सहिष्णुताको विकास गरोस् । तपाई सम्पूर्ण पाठक महानुभावहरूमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि र प्रगतिको शुभकामना व्यक्त गर्दछौ ।

२०८० साल कात्तिक २० गते । वर्ष:१७ अंक:६